`

पोलियो उन्मूलन प्रयासलाई तीव्र बनाउने पाकिस्तानी प्रधानमन्त्रीको सङ्कल्प

Nepal One HD ११ असार २०८१ १८:५३
विश्व

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमबार देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स र स्थानीय अधिकारीहरूका साथमा पोलियो उन्मूलनसम्बन्धी राष्ट्रिय कार्यदलको बैठकको अध्यक्षता गर्दै सरिफले महत्त्वपूर्ण प्रगतिका लागि अग्रपङ्क्तिमा कार्यरत कर्मचारी, सरकारी नेतृत्व र साझेदारको सहयोगको प्रशंसा गर्नुभयो ।

उहाँले पोलियो उन्मूलन कार्यक्रममा गेट्स फाउन्डेसनको प्रमुख साझेदारी र लामो समयदेखि सहयोग गरेकोमा प्रशंसा गर्दै यो भाइरस सर्ने र बालबालिकालाई पक्षाघात भइरहँदासम्म यसको निर्मूलनका लागि सरकारको पहल पूर्णरूपमा जारी रहने बताउनुभयो ।

सन् २०२४ मा पाँच पोलियो केस र एक सय ८५ वातावरणीय नमूना पोलियोभाइरस पोजिटिभ भएको रिपोर्ट आउनुलाई ठूलो चिन्ताको विषय भएको भन्दै उहाँले पोलियो खोप टोलीलाई सुरक्षा दिन र राष्ट्रिय प्रयासलाई तीव्रता दिन पाकिस्तानमा सबै स्रोत परिचालन गर्न निर्देशन दिनुभयो ।

बिल गेट्सले आफ्नो टिप्पणीमा जटिल चुनौतीहरूको सामना गर्दै पोलियो उन्मूलन गर्ने देशको प्रयासहरू सबैको स्वास्थ्य सुधारमा संलग्न सबैको कडा परिश्रम र समर्पणको एउटा उदाहरण हुने भन्नुभयो ।

“म विश्वस्त छु कि सँगै काम गर्न जारी राखेर, नवीन दृष्टिकोणहरू लागू गरेर र सतर्क रहँदा पाकिस्तानले पोलियो अन्त्य गर्न ठूलो प्रगति गर्नेछ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया