`

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडाँै, १७ असार : चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ ।

बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ ।

चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दति खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगर प्रमुख गिरीले बालबालिका १८ वर्ष पुगेपश्चात् उनीहरुको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिका १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न रकमले केही सहजता प्रदान गर्न सक्छ । नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकलाई पनि आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित गर्न म आग्रह पनि गर्दछु ।”

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गरेर बालबालिकाको नाममा रु पाँच हजार रकम सङ्कलन गरिदिन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले बालबालिकाको भविष्यमा सकारात्मक दूरगामी प्रभाव पर्दछ । यसले बाल मैत्री स्थानीय शासनलाई थप प्रवर्द्धन गर्दछ । ”

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत खनिया र सतुङ्गल शाखाका प्रमुख सुधा दाहालले बालबालिकाको नाममा मुद्दति खाता सञ्चालन गर्न नगरपालिकासँग सहकार्य गर्न पाउनु बैंकका लागि गर्व रहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गीलगायतकोे उपस्थिति रहेको थियो ।

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बलेवा (बागलुङ), १७ असार : बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनीभन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास भए पनि कटान रोक्न नसक्दा नगरपालिकाले काम अगाडि बढाउन नसकेको हो ।

सुरुआती समयमा जमिन सम्याउने, घेराबार लगाउने र केही उद्योग स्थापित गरिहाल्ने गरी संरचना निर्माणको ठेक्का लगाए पनि अहिले समस्या परेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नदीले गाडी चल्ने ट्रयाक बनाएको जमिन बगाएको छ । अहिले यो स्थानको झण्डै ३० रोपनी जमिन कालीगण्डकीमा मिसिइसकेको छ ।

वडा नं १३ को ‘कालाखोला औद्योगिक ग्राम’ धरापमा परेको हो । औद्योगिक ग्राम बगर बन्ने खतरा भएपछि नगरपालिकाले उद्योग खोल्ने तयारी स्थगित गर्नुपरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चार वर्षअघि गण्डकी प्रदेश सरकारले एक स्थानीय तह, एक औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार कालाखोलाको झण्डै सय रोपनी जमिनलाई बागलुङ नगरपालिकाले औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।

झण्डै रु २० लाख बढी रकम लगानी भइसकेपछि काम अलपत्र परेको हो । पूर्वतर्फ पर्वतको सहश्रधारामा नदी दोहन बढेपछि नदीको धार परिवर्तन भएको थियो । उक्त धारले औद्योगिक ग्राम कटानमा परेको हो । “सर्वोच्च अदालतको आदेशपछि हामीले चार वर्षदेखि नदीजन्य वस्तु उत्खनन गरेका छैनौँ, तर अवैध दोहन गर्नेले जथाभावी गर्दा नदीले धार परिवर्तन भयो” नगर प्रमुख श्रेष्ठले भन्नुभयोे, “त्यसको मार हामीले खेपेका छौँ ।”

नदी कटानले स्थानीयका दर्जन बढी घरसमेत जोखिममा परेका हुन् । उनीहरुले तत्काल नदीको किनारमा तटबन्धन नगरे बस्तीनै बग्ने, सयौँ रोपनी खेतीयोग्य जमिन बगर बन्ने अवस्था आएको स्थानीय महेन्द्र रोकाले गुनासो गरेका छन् । एकातर्फ दोहन हुँदा अर्कोतर्फ नदीको धार परिवर्तन हुने गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नदी किनारका जोखिम स्थानको अवलोकन गरेर नदीको धार परिवर्तन भएकाले रोक्नुपर्ने बताउनुभयो । उहाँले दोहन गर्नेलाई कारबाही गर्न पहल गर्नेसमेत बताउनुभयो । “नदीलाई सहजै बग्न दिए त केही नहोला, नत्र जोखिम बढेकै देखियो”, उहाँले भन्नुभयो, “तटबन्धनको काम गरेमात्र जोगाउन सकिन्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रजिअ सुवेदी, नगरप्रमुख श्रेष्ठ र प्राविधिकको टोलीले अनुगमन गरेर नदी दोहन रोक्ने, तटबन्धन गर्ने र थुप्रिएको सामग्री ‘घाटगादी’ गरेर तत्कालको समस्या समाधान गर्न सकिने सुझाउनुभएको छ ।

खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका खत्री

गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री ।

शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् । तस्बिरः रुपनी जि एम

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

रसुवा, १७ असार : आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिनुभयो । उहाँले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताउनुभयो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए । अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ ।

टीकापुर नगरपालिकाले असल करदातालाई गर्‍यो सम्मान

टीकापुर (कैलाली), १७ असार : कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो ।

यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल , पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी हुनुहन्छ छ । यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ ।

सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताउनुभयो । “पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ ।”

यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भन्नुभयो, “ समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।”

नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिनुभयो । “पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनुपर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ”, उहाँले भन्नुभयो, “कर सङ्कलन भएर देश चलेको छ । यसैले करदाता सम्मानको हकदार हुनुहुन्छ ।”

टर्कीका इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते

टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भएको थियो ।

टिआरटीले घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको र घटनास्थलमा आपत्कालीन टोलीहरुद्वारा अनुसन्धान भइरहेको रिपोर्ट गरेको छ ।विष्फोटपछि दमकल टोलीहरूले तुरुन्तै अर्को आगो निभाएका थिए ।

इज्मिरका गभर्नर सुलेमान एल्बानले टिआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिनुभयो ।विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।

परिवर्तनको आह्वानका बीच इरानको निर्वाचनमा मतदाताहरूको समर्थनमा गिरावट

इरानको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा सुधारवादी र रूढिवादीहरू दुवैका लागि समर्थन घट्दै गएको विश्लेषकहरूले बताएका छन् । यद्यपि केही मतदाताहरूले एकमात्र सुधारवादी उम्मेदवारलाई समर्थन गरेर परिवर्तनका लागि जोड दिइरहेका छन् ।

गत महिना हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अतिरूढिवादी राष्ट्रपति इब्राहिम रायसीको स्थान लिनका लागि शुक्रबार भएको निर्वाचनमा सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान र अतिरूढिवादी सइज जलिलीले नेतृत्व गर्नुभएको थियो ।

इन्टरनेसनल क्राइसिस ग्रुप थिङ्क ट्याङ्कका अली वेजले भन्नुभयो, “शुक्रबार भएको मतदानमा ऐतिहासिकरूपमा कम मतदान भयो, यसबाट सुधारवादी र रूढिवादीहरू दुवैको आधार धेरै सङ्कुचित भएको स्पष्ट भएको छ ।”

निर्वाचनको नेतृत्वमा पूर्वराष्ट्रपति मोहम्मद खतामी र उदारवादी हसन रुहानीको समर्थनमा इरानको मुख्य सुधारवादी गठबन्धनले पेजेस्कियानलाई समर्थन गर्यो ।

“सुधारवादीहरूले सबैभन्दा शक्तिशाली मानिस र सङ्गठन तयार गरे र आफ्नो आधारलाई परिचालन गर्न सक्दो प्रयास गरे तर यो बिल्कुल अपर्याप्त थियो”, सामाजिक सञ्जाल एक्समा वेजले भन्नुभयो, “यसैगरी जबर्जस्त स्रोतहरू परिचालन गरेर पनि रूढिवादीहरू पर्याप्त मत हासिल गर्न असफल भए ।”

जलिली र तेस्रो स्थानमा रहनुभएका रूढिवादी संसदीय सभामुख मोहम्मद बघेर गालिबफको संयुक्त भोट कूल एक करोड २८ लाख भएको बताउनुभयो । उक्त आँकडा सन् २०२१ को निर्वाचनमा रायसीको करिब एक करोड ८० लाख मतभन्दा धेरै कम थियो ।

छ करोड १० लाख योग्य मतदाताहरूमध्ये ४० प्रतशितले मात्र मतदान गरेका छन् । यसले इरानमा रेकर्ड कम मतदानलाई देखाउँछ र केही मानिसले यो प्रक्रियामा विश्वास गुमाएको देखाएको छ । निर्वाचनमा १० लाखभन्दा धेरै मत्र बदर भएका छन् ।

वेजका लागि सन् २०२१ बाट करिब ४९ प्रतिशतले मतदानमा कमीले सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँग अन्तिम राजनीतिक शक्ति भएको इरानमा नेतृत्वका लागि वास्तविक लज्जास्पद थियो ।

राजनीतिक टिप्पणीकार मोहम्मद रजा मनाफीले पेजेस्कियानको नेतृत्वले अर्थतन्त्र र बाँकी विश्वसँगको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ का लागि धक्कालाई देखाएको बताउनुभयो ।

“पेजेस्कियानको समर्थन गर्नेहरूले ‘कुनै चमत्कार वा द्रुत समाधानको अपेक्षा गर्दैनन्’ तर उहाँले विस्तारै स्थितिलाई बिग्रनबाट रोक्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो ।

बढ्दो मुद्रास्फीति, उच्च बेरोजगारी र अमेरिकी डलरको तुलनामा इरानी रियालको भाउमा कीर्तिमानी न्यूनतासँगै इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आर्थिक प्रभावसँग सङ्घर्ष गरिरहेको छ ।

इजराइल र तेहरानको सहयोगी हमासबीचको गाजा युद्ध र इरानको आणविक कार्यक्रममा कूटनीतिक तनावलाई लिएर बढ्दो क्षेत्रीय तनावका बीच पनि मतदान भएको छ ।

सन् २००८ देखि संसद्मा उत्तरपश्चिमी सहर ताब्रिजको प्रतिनिधित्व गर्नुहुने हृदयरोगका शल्य चिकित्सक पेजेस्कियान ‘आर्थिक भ्रष्टाचारको कुनै पनि आरोपबिना सफेद रेकर्ड’ का कारण शीर्षमा आउनुभएको मनाफीले बताउनुभयो ।

आधिकारिक आँकडामा पेजेस्कियानलाई ४२ दशमलव चार प्रतिशत र जलिलीलाई ३८ दशमलव छ प्रतिशत मत प्राप्त भएको छ ।

सुधारवादी नेता पेजेस्कियानले ‘इरानलाई उसको एक्लोपनबाट बाहिर निकाल्न’ का लागि वासिङ्टन र युरोपेली राजधानीहरूसँग ‘रचनात्मक सम्बन्ध’ गर्न आग्रह गर्नुभएको छ ।

यसको विपरीत जलिलीलाई उहाँको असहज पश्चिमविरोधी अडानका लागि व्यापकरूपमा चिनिन्छ । उहाँ पूर्व आणविक वार्ताकार हुनुहुन्छ र हाल इरानको सर्वोच्च सुरक्षा संस्था सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा खमेनीका प्रतिनिधि हुनुहुन्छ ।

आफ्नो निर्वाचन अभियानका क्रममा उहाँले पश्चिमप्रति ‘कुनै सम्झौता होइन, कुनै आत्मसमर्पण होइन’ भन्ने नाराअन्तर्गत कट्टरपन्थी समर्थकहरूको एउटा ठूलो आधार तयार गर्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिका र अन्य विश्व शक्तिहरूसँगको सन् २०१५ को आणविक सम्झौताको दृढताका साथ विरोध गर्नुभयो । यसबाट प्रतिबन्धबाट राहतको बदलामा इरानको आणविक गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

सो समयमा जलिलीले सम्झौताले आणविक स्थलहरूको निरीक्षणलाई स्वीकार गरेर इरानको ‘लाल रेखा’ को उल्लङ्घन गरेको तर्क दिनुभएको थियो । उक्त सम्झौता सन् २०१८ मा पतन भयो ।

समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा श्रीलङ्काका पाँच मछुवाको मृत्यु

शनिबार समुद्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाएका पाँच श्रीलङ्काली मछुवाको आइतबार दिउँसो मृत्यु भएको नौसेनाका प्रवक्ता क्याप्टेन गायन विक्रमसुरियाले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “पीडितहरू टङ्गले फिशरीज हार्बरबाट यात्रा गर्ने छ जना चालक दलका सदस्य हुन् । उनीहरूले तटीय क्षेत्रबाट करिब तीन सय २० नटिकल माइल टाढा उक्त बोतल फेला पारेको र त्यसमा मदिरा भएको मानिने सामग्री गरेका थिए ।”

विक्रमसूर्याले एक जना बाँचेको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक उपचार भइरहेको जानकारी दिनुभयो ।

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।

मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न सङ्घर्ष गरिरहेका छन् ।

रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ ।

मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ । मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ ।

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, १७ असार : म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।

बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दिपेश केसीले बताउनुभयो । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।

विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताउनुभयो । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताउनुभयो । पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताउनुभयो । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।

गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ । बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको रु ७० लाख र बेनी नगरपाकिलाको रु ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताउनुभयो । यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले रु ७६ लाख २१ हजार एक सय ९९ मा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।

सैपाल हिमालस्थित रानीसैनमा भीस्याट प्रविधिबाट टेलिकमको सेवा सञ्चालन

काठमाडौँ – नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा यही असार ९ गतेदेखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो ।

हुम्लाको नाम्खा गाउँपालिका–३ माअवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एकदिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीयवासी सोनाम लामाले बताउनुभयो । यो भन्दापहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव छ सय बासिन्दाले सहज रुपमा आफन्तसँग टेलिफोन गर्न सक्ने उहाँले बताउनुभयो ।

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुने छन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पु¥याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले त्यस क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिङ्कर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथाङ्कालगायतका स्थानमा भी–स्याटमार्फत सेवा सञ्चालन गरिए नेपाल टेलिकमले जनाएको छ ।

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

महेन्द्रनगर (कञ्चनपुर) – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप बरामद गरी आइतबार नष्ट गरिएको छ ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिनुभयो । भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहले पनि बजार अनुगमनमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारका डेरी पसलदेखि मिठाइ पसलसम्म अनुगमन तीव्र पारिएको जानकारी दिनुभयो ।

बजार अनुगमनको संयोजकसमेत रहनुभएका प्रजिअ सापकोटाले भन्नुभयो, “स्थानीयस्तरबाट बजार अनुगमन हुन सकेमा बढी स्वस्थता कायम गर्न सकिन्छ, सबै ठाउँमा सेवा प्रवाह हुनसक्छ ।” खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन हालेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताउनुभयो ।

नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ । यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रमका उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्रलाई आमसञ्चारको सशक्त माध्यमको रुपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका चलचित्रलाई हामीले सघाउने घोषणा पनि गरिसकेका छौँ । किनकि चलचित्र मनोरञ्जन मात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो ।”

उहाँले विसं २०२६ मा तयार भई लागू भएको चलचित्र ऐनलाई परिमार्जन गर्नुपर्नेमा आफू र सरकार स्पष्ट रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । “पुरानो ऐनले अहिलेका कठिनाई सम्बोधन गर्न सक्दैनन् भन्नेबारेमा मन्त्रालय स्पष्ट छ तर त्यसैले सम्पूर्ण चलचित्रकर्मी र यसमा जोडिएका सङ्घसंस्थाको राय सुझाव लिँदै प्रक्रियागत रुपमा काम अगाडि बढाएका छौँ । त्यो अहिले अन्य मन्त्रालयसँग सहमति लिने प्रक्रियामा छ”, मन्त्री शर्माले भन्नुभयो । उहाँले बोर्डले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा उपयुक्त नीति तय गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले चलचित्र जीवन, साहित्य र समाजको ऐना रहेको बताउनुभयो । उहाँले बोर्ड गठन हुँदा बनाइएका योजनामध्ये केही पूरा भएका र बाँकी पूरा गर्ने गरी आफूहरुले काम गरिरहेका बताउनुभयो ।

बोर्डको २४औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचनलगायत कार्यक्रम गरिएका थिए ।

काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेयपदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेका छन् । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेयपदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेयपदार्थको गुणस्तरियतालाई ब्राण्डिङ गरेर विश्व समक्ष पु¥याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको कामपाले जनाएको छ ।

यो कार्यक्रमलाई कामपा सहकारी विभागले अगाडि बढाएको हो । कामपा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, “अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था गरेर सम्भावनालाई नतिजामा रुपान्तरण गर्नेछौँ ।”

उहाँहरुले पेयपदार्थ उत्पादनका लागि आवश्यक कच्चापदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, कामपाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुको मात्र अध्ययन हुनेछ । पहिलो चरणको अध्ययन सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ । त्यसपछि आवश्यक कानुनी व्यवस्था गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने बताइएको छ ।

मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ

काठमाडौँ – अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताउनुभएको छ ।

गृह मन्त्रालयका अधिकारी, मिटरब्याजसम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच यहाँ भएको छलफलमा हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताइएको हो ।

जाहेरी परेको दिनदेखि हदम्याद सुरु हुने र फौजदारी अभियोगमा निषेधाज्ञाका कारण अनुचित लेनदेनको निवेदन रोक्नु नपर्ने निष्कर्ष निकालिएको छ । पीडितले चाहेमा पुराना निवेदन पुनःदर्ता गराएर भए पनि प्रक्रिया अगाडि बढाउन सकिनेमा तीनवटै संस्थाका अधिकारीसहमत भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आयोगको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय दुवैले पीडितको उजुरी लिएर कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने गरी निर्देशन भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुवै स्थानबाट एउटै उजुरी नलिने तर पीडितलाई पायक पर्ने गरी जिल्ला प्रशासन वा प्रहरी कार्यालयमध्ये एक स्थानबाट छानबिन अगाडि बढाउन स्पष्ट निर्देशन भइसकेको छ’, प्रवक्ता भट्टराईले भन्नुभयो ।

कानुनले तोकेभन्दा बढी ब्याज लिने, कागज गर्दा छलछाम गर्ने र रकम उठाउन बल प्रयोग वा हिंसा भएमा त्यस्तो लेनदेनलाई अनुचित मानेर कारवाही गर्न सकिने व्यवस्था रहेको अधिकारीहरुले बताउनुभएको छ ।

आयोग बनेपछि पनि अनुचित लेनदेनसम्बन्धी सुनुवाइले गति नपाएको गुनासा बढेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा प्रहरीसम्म पुगेका निवेदनको किसिम, त्यस उपर कारवाहीका लागि भएको कानुनी अड्चन र सम्बोधनका उपायबारे परामर्श भएको थियो ।

आयोगका पदाधिकारीले प्रहरी प्रशासनले निवेदन लिन नमानेको गुनासा आइरहेका विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

फ्रान्समा हुने पारालिम्पिकमा भीमबहादुरले खेल्ने

काठमाडौं, १६ असार : पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने ‘पेरिस २०२४ पारालिम्पिक’मा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी सङ्घ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । भीमले पुरुष ५० मिटर ‘फ्रि स्टाइल’मा प्रतिस्पर्धा गर्ने छन् । यो स्पर्धामा उनकै नाममा ३५ दशमलव ०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

गोरखाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो खेल जीवनमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

पछिल्लोपटक उनले खेलेको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालिम्पिक छनोटको आधारसमेत रहेको थियो । सिङ्गापुरमा गत मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर ‘फ्रि स्टाइल’मा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

भीमले पारालिम्पिकका लागि कालोपुलस्थित ‘वेस्ट भेन्यु’मा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । भीमले पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए ।

“पारालिम्पिक जस्तो ठूलो प्रतियोगितामा छनोट भएकोमा एकदमै खुशी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिएँ । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,” भीमले भने । अध्यक्ष श्रेष्ठले भीमको सहभागिताका लागि सङ्घले पनि धेरै पहल गरेको बताए । भीमसहित पेरिस पारालिम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले ‘वाइल्ड कार्ड’ पाएका थिए ।

एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले दुई विषयमा ’नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएका थिए । 

यद्यपि शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बोर्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उनले जानकारी दिए ।

साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ ।  पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । 

गत बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार ’नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेबाट सञ्चालन गर्ने जनाएको हो ।

‘प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने’ – बागमती प्रदेश

पाटन (ललितपुर), १६ असार : बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानअनुसार आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र भए पनि स्रोतको अभावले समस्या भएको बताउनुभयो । उहाँले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

“सबै अस्पताललाई बागमती प्रदेश सरकारले औषधि, खोप, तालिम, गोष्ठीलगायत सहयोग गर्नेछ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछौँ, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरुको जीवन बीमा र बजेट व्यवस्था गरिएको छ । कसरी राम्रो गर्न सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालयले काम गरिरहेको छ ।”

उहाँले उत्पादनसँग जोडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याको सिकार बनिरहेकाले न्यूनीकरण गर्न मनोसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको जानकारी गराउनुभयो । उहाँले समुदायसँग मिलेर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनेलगायत कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेको बताउनुभयो ।

अनुभवले आर्जन गरेको सीपलाई पुस्तान्तरण गर्न महिला स्वयंसेविकालाई उहाँको आग्रह थियो । निराश नभई क्रियाशील रहन उहाँले अनुरोध गर्नुभयो । “आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुको सुरक्षामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान प्राप्त गर्न सफल भएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले ललितपुरको हकमा पाटन अस्पतालले मात्रै बिरामीको चाप थेग्न नसकेकाले प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुको क्षमता र सेवा सुविधा वृद्धि गर्नुपर्ने बताउनुभयो । महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले सरकारले उपलब्ध गराएको सेवा सुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष रु १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको जानकारी निुभयो । “निःस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ, आगामी दिनमा पनि गाउँटोलमा सेवा पु-याउनु हुनेछ भन्ने विश्वास छ”, अध्यक्ष केसीले भन्नुभयो ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले संविधानले शिक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भए पनि सङ्घ र प्रदेशका कार्यालयले गरेका कामका बारेमा जानकारी नहुने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने विषयमा महिला स्वास्थ स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन र जनचेतना फैलाउन गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बागमती गाउँपालिकाले स्वयंसेविकाको हितलाई ध्यान दिइ सङ्घ र प्रदेशको अलावा थप सुविधा उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले महिला स्वयंसेविकाहरुले बाल मृत्युदर, मातृ मृत्युदर घटाउन पु-याएको योगदानका कारण नेपालले सहस्राब्दी विकास लक्ष्य हासिलको पुरस्कार प्राप्त गरेको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले छ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गर्नुभएका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रमाणपत्रसहित नगद रु १९ हजार आठ सय उपलब्ध गराएको हो ।

सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्य पूरा गर्न र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्य अनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका रूपमा परिणत गरेको थियो ।

अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली

काठमाडौँ, १६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको बताउनुभएको छ ।

पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आज यहाँ आयोजित ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण’ विषयक नीति संवाद कार्यक्रममा अध्यक्ष ओलीले यथास्थितिमा देश अगाडि जान नसक्ने भन्दै उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “यथास्थितिमा देश अगाडि जान सक्दैन । त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो, त्यसमा पनि कृषिको आधुनिकीरणमा जोड दिनुपर्छ, जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

कृषिमा आधारित उद्यमले निर्यातमूलक उद्योगको रुप लिन सक्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा आधुनिकीकरण गर्न नीतिगत पहल जरुरी रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कृषिको आधुनिकीकरणका लागि ठोस नीति निर्माण हुनुपर्छ । हामीसँग भएको जमिनको उपयोग गरी समाजलाई गरिबीबाट माथि उठाउने योजनासहित काम गर्नुपर्ने आवश्यकता छ, त्यसमा सरकारले ध्यान दिनुपर्छ ।”

उहाँले कृषि क्षेत्रबाटै नेपालमा असाधारण परिर्वतन ल्याउन सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि पाँच वर्षभित्रमा ठोस योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो उर्बर माटो बिग्रिँदै गएको छ, जसकारण उत्पादनमा ह्रास आउँदैछ । यो अवस्थामा सुधार गर्दै माटोका अवस्था थप बिग्रिन नदिन लाग्नुपर्नेछ । त्यसैले सरकार साना–साना विषयमा अड्किनेभन्दा पनि मुलुकको समग्र विकासका निम्ति गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष ओलीको भनाइ थियो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको विकासका लागि जतिसक्दो चाँडो कृषिसँग सम्बन्धित नयाँ ऐन ल्याउन जरुरी रहेको बताउनुभयो । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले कृषि क्षेत्र राज्य संरक्षित र समाजवादउन्मुख उत्पादन प्रणाली हुनुपर्नेमा जोड दिनुभयो ।

साउन महिनाभर यी चर्चित कलाकारहरु पशुपतिमा भेटिनेछन्

पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुन लागेको कोटिहोम महायज्ञलाई सफल बनाउन कलाकारहरुले विशेष भूमिका खेलेका छन् । नेपाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरदेखि, राधिका हमाल हुँदै बहुचर्चित पशुपती शर्मादेखि इन्द्रेणीका कृष्ण कँडेलहरुले समेत साउन १ गतेदेखि सुरु हुने कोटिहोम महायज्ञलाई सफल बनाउन लागिपरिरहेका छन् ।

आयोजक मानव सेवा फाउण्डेसनका अनुसार प्रतिष्ठानकी अध्यक्ष रितालाई ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा आयोजना हुने राष्ट्रिय भजन प्रतियोगीताको संयोजकका नियुक् भगरिएको श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीले जानकारी दिए ।

साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्ने यस ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा पशुपति शर्मा र रिता थापा मगरजस्तै कैयौँ कलाकारहरुको सहभागिता रहने श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीले जानकारी दिए । जसमा इन्द्रेणीका संचालक तथा गायक कृष्ण कँडेलको पनि महत्वपूर्ण भूमिका रहेको आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अनुसार कार्यक्रममा नेपालका चल्तिका सबैजसे गायक गायिकाहरुको उपस्थिती रहनेछ ।

यसैबिच कोटिहोम महायज्ञमा सहभागी हुन श्रीराम कथा वाचिका चन्द्रकला सखीले सबैमा आग्रह गरेकी छिन् । श्रीराम कथा वाचिका चन्द्रकला सखी आँफु ब आँफु लण्डनदेखि श्रीराम कथा वाचन गर्न आउने हुँद समैसँग भेट हुने सुअवसरका लागि प्रतिक्षारत रहेको भन्दै खुशी व्यक्त गरेकी छिन् । उनले साउन १६ गतेदेखि ३२ गतेसम्म आफ्नो प्रस्तुती रहने पनि जनाएकी छिन् । हाल बेलायतमा रहेकी श्रीराम कथा वाचिका चन्द्रकला सखीले जन्मभूमि आउने यो सुवर्ण अवसरका लागि आयोजक मानव सेवा फाउण्डेसनलार्य धन्यावाद समेत ज्ञापन गरेकी छिन् ।

यसैबिच श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउनमा हुने कोटीहोम महायज्ञको तयारीको ८५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभालगायतले कथावाचन गर्ने जनाइएको छ। एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ ।

यसअघि मानवसेवा फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पु¥याउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ। अभिभावकवीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ।

पप गायक विष्टको गीतमा ४० वर्षपछि ‘श्रव्यदृश्य’

काठमाडौँ, १६ असार : नेपाली सङ्गीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिनुभएको ‘मलाई छोडी दू्र नजाउ’ गीतको श्रव्यदृश्य सामग्री आज सार्वजनिक गरिएको छ ।

पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्यदृश्यको विजयराज भूर्तेलले निर्देशन गर्नुभएको छ । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्यदृश्यसमेत सार्वजनिक गरियो । भूषण खरेलको शब्द, जेम्स प्रधानको सङ्गीत रहेको गीतको श्रव्यदृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँले करिब एक सय गीत रेकर्ड गरिसक्नुभएको छ । उहाँ सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट अवकाश हुनुहुन्छ ।

गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सहकारी ठगीको अभियोगमा अध्यक्षसहित चार पक्राउ

काठमाडौँ, १६ असार ः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अभियोगमा एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संंस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही महानरपालिका–४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर भैँसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ चावहिल बस्ने ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन् ।

उनीहरूले आकर्षक ब्याज दिने र चाहिएका बेला जम्मा भएको रकम झिक्न मिल्ने भनी विश्वास दिलाइ सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी निक्षेप अपचलन तथा ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहकारीमा २२ हजार बचतकर्ताको करिब रु ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ । प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको आचार्यले बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौँ, १६ असार : नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ । काठमाडौँमा आज सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गर्नुभयो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी हुनुभयो ।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको छ । महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए ।

सत्ती भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन

लम्की (कैलाली), १६ असार : कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा रु नौ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।

सत्ती भन्सार कार्यालयले चालु आवमा रु १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताउनुभयो ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले रु १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा रु सात करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताउनुभयो । “यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उहाँले भन्नुभयो ।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत रु ६४ हजार, बेरुजुबाट रु एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ रु ४१ हजार, अन्तःशुल्क आयातमा रु २३ लाख ११ हजार, भन्सार महशुल आयातमा रु पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा रु एक लाख आठ हजार, भन्सार सम्बन्धी अन्य आयमा रु ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा रु चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट रु चार हजार राजश्व सङ्कलनभएको प्रमुख सापकोटाले बताउनुभयो ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी

बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेनले आइतबार आगामी आम निर्वाचनमा मुलुकको लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्न प्रयास गर्ने रुसजस्ता शत्रुतापूर्ण तत्वबाट खतरा रहेको बताउनुभएको छ । बेलायतमा बिहीबार मतदान हुँदैछ । निर्वाचनले सत्ताधारी दक्षिणपन्थी कन्जरभेटिभलाई हटाउने र विपक्षी लेबर पार्टीलाई सत्तामा ल्याउने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले क्रेमलिन समर्थक वार्ताका विन्दुहरू फैलाउने पाँच फेसबुक पेज पत्ता लगाएको खुलासा गरेपछि उहाँको यस्तो टिप्पणी आएको हो । तीमध्ये केहीले सत्तारू कन्जरभेटिभका लागि ठूलो चुनौतीका रूपमा रहेको ब्रेक्सिटियर (बेलायतलाई युरोपेली सङ्घबाट निकाल्ने पक्षधर) निगेल फराज नेतृत्वको कट्टर दक्षिणपन्थी रिफर्म युके पार्टीका लागि समर्थन गर्न प्रोत्साहित गरेका छन् । “सबै निर्वाचनमा खतरा छ, र वास्तवमा यो निर्वाचनमा शत्रुतापूर्ण राज्य अभिनेताहरूबाट निर्वाचन अभियानको नतिजालाई प्रभावित गर्ने प्रयास गरिरहेको देख्छौँ”, उपप्रधानमन्त्री डाउडेनले भन्नुभयो, “रुस यसको प्रमुख दृष्टान्त हो, र यो रुसी प्लेबुकबाट एउटा उत्कृष्ट उदाहरण हो ।”

यद्यपि उहाँले ‘उदाहरण अपेक्षाकृत विशिष्ट, निम्नस्तरीय सामग्री’ रहेको उहाँले बताउनुभयो । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक फराजले बकवास शब्दका लागि बेलायती ‘स्ल्याङ’ शब्दको प्रयोग गर्दै रुसी बटहरूले निर्वाचनमा हस्तक्षेप गर्न सक्छन् भन्ने दाबीलाई अस्वीकार गर्नुभयो । युक्रेनमा रुसको आक्रमणलाई पश्चिमले उक्साएको भन्दै निर्वाचन अभियानमा उहाँको आलोचना भएको थियो । उहाँको अध्यागमनविरोधी पार्टीलाई प्रधानमन्त्री ऋषि सुनकको टोरीजबाट मत खोसेर केन्द्रको विपक्षी लेबर पार्टीको भारी जीतमा योगदान पुर्याउने सर्वेक्षणकर्ताहरूको भनाइ छ ।

निर्वाचन अभियानका क्रममा लेबर पार्टीलाई २० भन्दा धेरै अङ्कको चुनावी अग्रता प्राप्त भएको छ तर प्रधानमन्त्री सुनकले आइतबार जोड दिँदै उहाँ शुक्रबार बिहान पनि प्रधानमन्त्री हुने बताउनुभएको छ । बिबिसीसँग उहाँले भन्नुभयो, “मैले धेरै कठिन सङ्घर्ष गरिरहेको छु र मलाई लाग्छ कि जनता लेबर सरकारको वास्तविक खतराप्रति जागरुक भइरहेका छन् ।” प्रभावशाली दक्षिणपन्थी अखबार सन्डे टाइम्सले आफ्नो पार्टीलाई समर्थन गरेपछि केइर स्टार्मरको नेतृत्वमा रहेको लेबरलाई थप अर्को अग्रता प्राप्त भएको छ । बेलायती गायक एन्टन जोनले पनि लेबर पार्टीलाई समर्थन गरेको घोषणा गर्नुभएको छ ।

रवीन्द्र जडेजाद्वारा टि–२० बाट सन्न्यास घोषणा

भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।

जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टि–२० मा डेब्यू गर्नुभएको थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल हुनुभयो ।

जडेजाले सन् २०२१ को आइसिसी टि–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिनुभएको थियो । अर्कोतर्फ, ब्याटका साथ उहाँको उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो । उक्त खेलमा उहाँले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गर्नुभएको थियो ।

अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आइसिसी टि–२० विश्वकपको उपाधि जितेको छ ।

यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आइिसीसी उपाधि जित्दै ११ वर्ष लामो आइसिसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ ।

प्रतियोगिताको अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एक समय ३४÷३ को अवस्थामा विराट (७६) र अक्षर पटेल (३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन) बीचको प्रतिआक्रमणकारी साझेदारीले खेलमा भारतको स्थिति पुनःस्थापित गरेको थियो ।

विराट र शिवम दुबे (१६ बलमा तीन चौका र एक छक्कासहित २७ रन) बीचको ५७ रनको साझेदारीले भारतले २० ओभरमा १७६÷७ मा पुर्याएको थियो ।

विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको छ’- शङ्कर पोखरेल

काठमाडौँ, १६ असार : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद’ (जबज) विषयक विचार गोष्ठीमा उहाँले विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको बताउनुभयो ।

महासचिव पोखरेलले लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्नु आजको समस्या रहेको उल्लेख गर्नुभयो । सामाजिक सञ्जालबाट लोकप्रियता प्राप्त मान्छेले राजनीतिमा आएर राजनीतिलाई विकल्प दिन्छौँ भन्ने गलत भाष्य स्थापित हुन खोजेको उहाँको भनाइ थियो ।

उहाँले क्रान्तिबाट नभई शान्तिपूर्ण र वैधानिक तरिकाबाट समाजवादमा पुग्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनाँै र जान सक्दैनौँ । जाँदा क्रान्ति र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।”

महासचिव पोखरेलले जबजले देखाएको बाटो पछाडि परेका वर्ग र क्षेत्रका पक्षमा रहेको स्पष्ट पार्नुभयो । जबजले रेखाङ्कन गरेको कुरालाई कम चर्चा गर्दा समाजको रुपान्तरणको प्रक्रिया बन्द भएकोे उहाँको भनाइ छ । उहाँले राजनीतिक परिवर्तनले निर्माण गरेको उत्पादन सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले स्पष्ट दिशानिर्देश गर्ने राजनीतिक दलले मात्र नेपाली समाजको रुपान्तरण गर्ने बताउनुभयो । अहिले बनेका संयुक्त सरकारले पनि समाज रुपान्तरण गर्न नसक्ने उहाँको धारणा छ । मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजले समाजमा रहेका बेथितिलाई समाधान गर्दै समाजलाई समानतामा आधारित बनाउन भूमिका खेल्ने बताउनुभयो ।

अनेमसङ्घका अध्यक्ष टुका हमालले पार्टीको मार्गदर्शन सिद्धान्तको रुपमा रहेको जबजले महिलाका अधिकार सुनिश्चित भएको स्पष्ट पार्नुभयो ।

वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी, नेपाली श्रमिकले किन छाड्छन् कम्पनी ?

काठमाडौँ, १६ असार :वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो ।

कैदमा रहेकामध्ये कागजपत्रसम्बन्धी ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका आठ प्रतिशत र आपराधिक गतिविधिसम्बन्धी कारणले तीन प्रतिशत श्रमिक पक्राउ परेका अध्ययनले देखाएको छ ।

पिएनसीसीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी ‘मलेसियामा ठगी, गिरफ्तारी र थुनामा रहेका नेपाली आप्रवासी श्रमिक’ बारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । अध्ययनले पिएनसीसीमा सन् २०२० देखि २०२३ सम्म दर्ता भएका सात सय ५८ व्यक्तिका मुद्दाको विश्लेषण गरेको थियो । मलेसियामा नेपाली श्रमिकलाई आप्रवासनको यात्रा अझै पनि जोखिमपूर्ण र शोषणपूर्ण हुने गरेकोे अध्ययनले देखाएको छ ।

कैदमा पर्नुका कारण

रोजगारीका लागि मलेसिया पुगेका नेपाली मुख्यतया कागजातसम्बन्धि समस्या रहेको छ । कैदमा पर्ने ६१ प्रतिशत आवश्यक कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशत श्रमिक अनुमतिपत्र बाँधिएको रोजगारदाताकहाँबाट भागेको र त्यस कारण वैध भिसा वा काम गर्ने अनुमतिपत्र नभएकाले नौ प्रतिशत श्रमिक कैद परेका हुन् । नेपालका एजेन्ट वा भर्ना एजेन्सीबाट ठगिएर कागजपत्रविहीन भएर कैद पर्ने तीन प्रतिशत थिए । यस्तै राहदानी वा परिचयपत्र नभएकाले कैदमा पर्नेको सङ्ख्या एक प्रतिशत रहेको थियो । कतिपय अवस्थामा रोजगारदाताले राहदानी कागजपत्र नवीकरण नगर्दा श्रमिकलाई सास्ती हुने गरेको छ ।

सार्वजनिक स्थानमा हिँडडुल गर्दा केही कारण प्रहरीले पक्राउ गरे आवश्यक परिचयपत्र र राहदानी देखाउन नसक्ने श्रमिकसमेत कैद परेका छन । रोजगारदातालाई पक्राउबारे जानकारी नहँुदा लामो समय श्रमिक कैदमा परेका मुद्दा पनि छन् ।

यस्तै, आफ्ना सहकर्मी वा रोजगारदातासँग झगडा गरेर कैद पर्ने नेपाली आप्रवासी श्रमिक आठ, आपराधिक गतिविधिका कारण तीन, हत्या, चोरी, अवैध लागूऔषध बेच्ने, सेवन गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरणको मुद्दामा कैदमा पर्ने नेपाली श्रमिक धेरै सङ्ख्यामा रहेका अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार कैदभित्र पनि नेपाली आप्रवासी ठगिमा पर्छन् । न्यायका लागि सञ्चारसम्म पहुँच नहुने र सहयोग कहाँबाट लिने भन्ने जानकारी नहुने धेरैले कैदमुक्त गर्ने आश्वासनमा ठगिएका छन् ।

अध्ययनका क्रममा पिएनसीसीमा सन् २०२० देखि २०२३ सम्म दर्ता भएका सात सय ५८ जना कैदमा परेका श्रमिकको तथ्याङ्क विश्लेषण र त्यसमध्ये १३ जनासँग अन्र्तवार्ता गरिएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार सन् २०२२÷२३ मा मलेसियाका लागि दुई लाख १९ हजार तीन सय ५७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । मलेसिया जाने श्रमिकमध्ये अधिकांश मधेश, लुम्बिनी र कोशी प्रदेशका रहेका छन् । त्यहाँ उत्पादन क्षेत्रमा सबैभन्दा बढी ६६ दशमलव छ प्रतिशत, प्राथमिक पेशा, कृषि, चालक, मेसिन अप्रेटरलगायत क्षेत्रमा श्रम गर्दै आएका छन् ।

सन् २००८ देखि २०२२ सम्म मलेसियामा तीन हजार पाँच सय १९ जना नेपाली श्रमिकको मृत्यु भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

नेपाली श्रमिकले किन छाड्छन् कम्पनी ?

धेरैजसो आप्रवासी श्रमिकले शोषणकारी रोजगार र रोजगार करारसँग सम्बन्धित समस्याका कारण रोजगारदाता एवम् कम्पनी छोड्ने गरेका छन् । सम्झौताअनुसार काम र सुविधा उपलब्ध नहुँदा रोजगारदाता वा कम्पनी छोडने श्रमिक ५७ प्रतिशत छन् । उनीहरुले सम्झौताभन्दा कम ज्याला र ज्याला चोरीका कारण कम्पनी छोडने गरेको देखिएको छ । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाडने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भर्ना प्रक्रियामा समस्या

पिएनसीसीले गुनासो दर्ताको समयमा ७२ दशमलव पाँच प्रतिशत श्रम स्वीकृति नभएको देखिएको उल्लेख गरेको छ । कुल ९७ दशमलव छ प्रतिशतसँग गन्तव्य देशको कागजात अर्थात रोजगार स्वीकृति, भिसा र बसोबास परमिट नभएको पाइएको थियो ।

यस अध्ययनले श्रमिकले अझै पनि अत्यधिक भर्ना शुल्क तिर्दै आइरहेको देखाएको छ । पिएनसीसीमा सन् २०२० र २०२३ का बीच मुद्दा दर्ता गर्ने मलेसिया गएका ५० प्रतिशत नेपाली आप्रवासी श्रमिकले रु एक लाखदेखि दुई लाखसम्म भर्ना शुल्कवापत तिरेको पाइएको छ ।

अध्ययनअनुसार झण्डै ८४ प्रतिशत आप्रवासी श्रमिक मलेसिया आप्रवासनका लागि वैदेशिक रोजगार व्यवसायीमा (म्यानपावर कम्पनि) भरपर्ने गरेको देखाएको छ । त्यसका साथै करिव १५ प्रतिशत आप्रवासी श्रमिक व्यक्तिगतरूपमा वा आफन्त वा एजेन्टमार्फत मलेसिया पुगेका छन् ।

प्रतिवेदनको सुझाब

सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीको घर फिर्तीमा सहजीकरणका लागि गर्दै आएको प्रयास प्रयाप्त नभएको अध्ययनले देखाएको छ । त्यसैले सरकारले अप्ठ्यारामा परेका, काजगपत्र, जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्ययोजनासहित काम गर्न सुझाव दिएको छ । नेपाली आप्रवासी श्रमिकको सफ्ट सीपमा अभिवृद्धि र स्वदेश फिर्ता भएका आप्रवासी श्रमिकलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनसमेत प्रतिवेदनले सुझाएको छ ।

‘दोहा वार्तामा अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने’

अफगान्स्तानको विषयमा हुन लागेको दोहा सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ नेतृत्वको बैठकअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानका आन्तरिक मुद्दाहरूमा छलफल नहुने र राष्ट्रका आन्तरिक मुद्दा कुनै पनि हिसाबले संयुक्त राष्ट्रसङ्घको विषय नभएको बताउनुभएको छ ।

तेस्रो दोहा बैठक जुन ३० देखि जुलाई १ सम्म कतारमा हुनेछ ।मुजाहिदका अनुसार तालिबानले दोहा शिखर सम्मेलनमा अफगानिस्तानसँग अन्तरक्रिया गर्न देशहरूलाई आमन्त्रित गरेको छ ।

“यो बैठकमा हाम्रो सहभागिता कुनै पनि पक्षको विरुद्धमा नभई सबै पक्षहरूसँग संलग्नता हो,” तालिवान प्रतिनिधिले भन्नुभयो । “तेस्रो दोहा शिखर सम्मेलनमा अफगानिस्तानको आन्तरिक समस्याहरू सम्बोधन गरिने छैन किनभने यो राष्ट्रसङ्घको नभई देशको सान्दर्भिकताको विषय हो,” उहाँले भन्नुभयो ।

मुजाहिदले केही सर्तहरूमा तालिबानले यस सम्मेलनमा भाग लिइरहेको बताउनुभयो । तर यसबारे विस्तृत जानकारी भने दिनुभएन ।

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानप्रति साझा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न मे २०२३ मा दोहामा तालिबानबिना पहिलो अफगानिस्तान सम्मेलन आयोजना गरÞेको थियो । यस वर्षको फेब्रुअरीमा कतारको दोहामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दोस्रो अफगानिस्तान सम्मेलन आयोजना गर्नुभएको होे ।

राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि उपमहासचिव रोजमेरी डिकार्लोले मे १८ देखि २१ सम्म अफगानिस्तानको भ्रमण गर्नुभएको थियो ।फेब्रुअरी २०२० मा संयुक्त राज्य अमेरिका र तालिबानले मे २०२१ सम्म अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । अप्रिल २०२१ मा नेटोका विदेश र रक्षामन्त्रीले केही महिनाभित्र अफगानिस्तानबाट सबै सहयोगी सेनाहरू फिर्ता लिने निर्णय गरेका थिए ।

अमेरिका र नेटो सेनाले देशबाट फिर्ता हुने घोषणा गरेपछि तालिबानले प्रमुख सहरहरूमा आक्रमण सुरु गरÞेको थियो । एक हप्ताभन्दा कम समयमा तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये सातवटा कब्जा गरेको थियो ।

पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विगत पाँच दिनदेखि परेको वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अधिकारीहरूले आइतबार बताएका छन् ।

हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारीसाधन अलपत्र परेका छन् ।अलपत्र यात्रुको उद्धार र राहत कार्यका लागि विशेष टोली पठाइएको पिडिएमएले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार देशमा आगामी दिनमा थप वर्षा हुने सम्भावना रहेकाले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

यसअघि देशको पञ्जाब प्रकोप व्यवस्थापन प्राधिकरणले जुलाईमा प्रान्तका केही भागमा भारी मनसुनी वर्षाका कारण शहरी बाढीको चेतावनी दिएको थियो । यस वर्ष ३५ प्रतिशत बढी वर्षा हुने अनुमान गरिएको थियो ।

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, १६ असार : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताउनुभएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पार्टीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले उक्त पार्टीमा रहेका अनुभवी नेताहरुले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरुले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमजनता र नेतृत्वका बीचमा मत फरक भएपछि समस्या आउने गरेको धारणा राख्दै दलहरु जनताप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रोजगारी वृद्धि गर्न, शिक्षा, सहकारीलगायतका राष्ट्रिय समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौँ सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरुको ठूलो योगदान रहेको बताउँदै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरुले सोहीअरूप आचरण सरल बताउनुपर्ने बताउनुभयो ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधिनता बलियो बनाउन सबै दलहरुबीच सहमतिको खाँचो औँल्याउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक आर्थिक रुपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

तराईमा सुख्खा मौसमले दूध उत्पादनमा कमी

मकवानपुर, १६ असार : सुख्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ ।

सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो । सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो ।

हाल दैनिक छ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक चार हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ ।

मधेस प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ । आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब १२ हजार कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक रु एक करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिनुभयो ।

आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ । लालमोहन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाइहरु आयोजनाले हेटौँडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ ।

हेटौँडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दूध विकास बोर्ड हेटौँडालाई धुलो दूध उत्पादन गर्न दुई देखि तीन दिनको अन्तरमा दुई हजार लिटर दूध पठाउने गरेको छ । बोर्डलाई दूध नपठाइएको दिनमा दुई हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागी खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिनुभयो ।

तराईमा बर्षात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ ।

व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरान (सुनसरी), १६ असारः धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहनुभएको बताउनुभयो ।

उहाँले २०४५ सालदेखि बेसारको खेती गर्दै आउनुभएको छ । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उहाँ सुनाउनुहुन्छ । उहाँले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आउनुभएको छ । जसबाट वार्षिक रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी रु दुई सय ८० देखि तीन सयसम्ममा बिक्री हुने गरेको छ ।

बेसार उत्पादक तुलसिङले भन्नुभयो, “मैले चार कठ्ठा जग्गामा बेसारखेती गरेको छु, तीन÷चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।” यहाँ उत्पादित बेसार धरान–१७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौँ, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ ।

व्यावसायिक रूपमा बेसारखेती गर्दै आउनुभएका अर्का किसान धरान उपमहानगरपालिका–२० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसारखेतीबाट राम्रै आम्दानी हुने गरेको बताउनुहुन्छ । “चार÷पाँचकठ्ठा जमिनमा बेसारखेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

धरानको विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसारखेती हुन्छ । ४१ वर्षदेखि बेसारखेती गर्दै आउनुभएका राईले भन्नुभयो, “बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दुःख बिर्सन्छु, खुसी हुन्छु ।”

सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसारखेती गरिरहनुभएको छ । यस क्षेत्रका उहाँ पुराना किसान हुनुहुन्छ । उहाँ पनि वार्षिक रु तीनदेखि चार लाख यसै खेतीबाट आम्दानी गर्न सफल हुनुभएको छ । बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पु¥याउने काम सजिलो छैन, यो मेरो पुख्र्यौली खेती हो, उहाँको प्रतिक्रिया छ ।

विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बुले बताउनुभयो ।

अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसारखेती गर्ने दुईसयको हाराहारीमा किसान छन् । उहाँहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाहअनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।

विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ ।

विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी बेसार धरान उपमहानगरपालिका–२० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्याङ्क छ ।”

विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा रु ४५ करोडको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता छ भन्नुभयो ।

पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ ।

डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे

काठमाडाैँ, १६ असारः डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग राससकर्मी बुनु थारुले गरेको कुराकानीको सम्पादित अंश:

डेङ्गु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ?

नेपालमा पहिलोपटक सन् २००४ मा डेङ्गु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ । डेङ्गु सङ्क्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । पानी पर्न सुरु भएसँगै अब सङ्क्रमणको सम्भावना पनि सुरु भइसक्यो । हाल तथ्याङ्क हेर्दा भने ७२ वटा जिल्लामा एक हजार तीन सय ४४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

विशेषगरी डेङ्गु कहिलेदेखि बढी देखिने गर्दछ ?

जुनबेला तापक्रम बढ्छ, पानी पर्छ, अनि पाँच सात दिन पानी जम्मा भएर लामखुट्टेको जीवनचक्र पूरा भएपछि त्यो लामखुट्टेको सङ्ख्या बढी हुन्छ । जब मनसुन अगाडि बढ्छ त्यसरी नै सङ्क्रमण बढ्ने हो । लगातार पानी परिराख्यो भने सङ्क्रमण त्यति बढ्न पाउँदैन किनकी पानी एकै ठाउँमा जम्मा भइरहने अवस्था हुँदैन । नेपालमा असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको सम्भावना बढी हुन्छ ।

दुई तीन वर्षको अन्तरालमा महामारी देखिने भन्नुभयो ? तर २०२२ मा ८८ जना र २०२३ मा डेङ्गुले २० जनाको ज्यान लियो, यस वर्ष महामारीको सम्भावना कस्तो रहन्छ ?

केही अघिल्ला वर्षको ट्रेन्ड हेर्दा दुई तीन वर्षको अन्तरालमा देखिन्छ । तर त्यो समग्रमा भनेको होइन । जस्तो कुनै ठाउँमा पहिले नै महामारी फैलिसकेको छ भने अर्को पटक त्यहाँ देखिन नसक्ला । तर हामीले रोकथामका उपायहरु कति अपनाउछौँ भन्ने विषय पनि जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । कुन ठाउँमा बढी देखिन सक्छ भनेर ‘म्यापिङ’ गरेका छौँ । कसैलाई लक्षणरहित पनि डेङ्गु देखिन सक्छ । लक्षण देखिएर समस्या भएपछि जाँच गराउन आउने हुन्छन् त्यसैले पनि सबै सङ्क्रमितको सङ्ख्या गणना हुँदैन । डेङ्गुका पाँच वटा प्रकार हुन्छन् । पहिला एउटा देखिसक्यो भने अर्को पटक अर्के प्रकार देखिन सक्छ जुन घातक हुन सक्दछ ।

डेङ्गु नियन्त्रण रोकथामका लागि कस्तो तयारी भएको छ ?

लामखुट्टे नियन्त्रण गर्न सचेतना फैलाउन उत्तिकै महत्वपूर्ण छ । नियन्त्रण गर्न कस्ता उपयाहरु अपनाइरहेका छौँ भन्ने मुख्य विषय हो ? सचेतनाका कुरा हेर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिल गरिरहेको छ । हामीले पनि विभिन्न माध्यमबाट सचेतना फैलाइरहेका छौँ । सातै वटा प्रदेशका सचिवहरु तथा स्वास्थ्य निर्देशनालयसँग विभिन्न अभियानकालागि छलफल भएको छ । स्थानीय निकायले लामखुट्टेको बासस्थान ‘खोज्ने र नष्ट’ गर्ने अभियानमा बढी जोड दिनुपर्छ । साथै टायर, गमलाको फुलदानीमा जमेका पानी हटाउनेलगायतका कुराहरु पनि छन् । यस्ता यावत अभियान सञ्चालन गर्नका लागि स्थानीय तहसम्म पुग्ने गरी प्रदेशसँग समन्वय गरेका छौँ । बिरामी भएपछि जति छिटो उपचार भयो सर्ने सम्भावना कम हुन्छ । उपचारमा पनि कमी हुन दिने छैनाँै । विज्ञहरुसँग छलफल गरेर अगाडि कसरी बढ्ने भन्न विषयमा पनि राय लिने काम पनि गरिरहेका छौँ । समन्वयात्मक तरिकाले अगाडि बढिरहेका छौँ । डेङ्गु मात्र नभई अरु किटजन्य रोगहरुमा पनि हामीले नियमित अभियान सञ्चालन गरि नै रहेका छौँ ।

डेङ्गु परीक्षणका लागि किटको उपलब्धता कत्तिको छ ?

किटको कुरा गर्दा सबैलाई परीक्षण गरेर सकिँदा पनि सकिँदैन । लक्षण देखिएपछि मात्र परीक्षण गर्न आउने हुन्छन् । सबै स्वास्थ्य संस्थामा आवश्यकताअनुसार किट पठाएका छाँै । अभाव भयो भने खरिद प्रक्रियाबाट पनि हामी पूरा गर्छौं ।

डेङ्गु नियन्त्रणमा कसको बढी जिम्मेवारी छ ?

हाल ७२ जिल्लामा डेङ्गु पुगिसकेको हुँदा आउदा दिनमा सङ्क्रमण बढ्ने सम्भावना अधिक नै छ । खोज र नष्ट गर्ने अभियान, ¥यापिड रेस्पोन्स टिम, प्रदेश र स्थानीय तहसँगको पनि सजगकताका हिसाबले यस वर्ष महामारी नियन्त्रण गर्ने सकिँदैन भन्ने होइन । बढ्दै जान सक्ला तर बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने र मृत्यु हुने गरी उपचार गर्ने नसकिने अवस्थामा नपुगौँला भन्ने अपेक्षा गरेका छौँ । तयारी पनि गरेका छौँ । नीतिगत र लजिस्टिकका कुरामा सङ्घको बढी महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका बढी रहन्छ । स्थानीय तहले खोज र नष्ट अभियानमा बढी केन्द्रित रहनुपर्छ । बजेट जहाँजहाँ समस्या बढी हुन्छ भनेर म्यापिङ गरेर सोहीअनुसार बजेट पनि गएको छ । समन्वयात्मक हिसाबले काम अघि बढाएका छौँ ।

डेङ्गु नियन्त्रणमा तीन तहको समन्वय अभावले रोकथाम हुन नसकिरहेको हो त ?

एउटाले अर्कालाई दोष दिने कुरा पनि गर्नुहुन्न । हाम्रो जिम्मेवारी समन्वयात्मक हिसाबले जति सकिन्छ गर्ने हो । स्थानीय तहसँग जोड्न पुलका हिसाबमा प्रदेशको भूमिका धेरै हुन्छ । सङ्घबाट हामी महामारी र आपतकालीन अवस्थामा रेस्पोन्स गर्ने जिम्मा इडिसिडीको भएको हुनाले हामीले सातवटै प्रदेशको मन्त्रालय र निर्देशनालयसहित जिल्ला पनि समन्वय गरेर समीक्षा गरेका छाँै । रिपोर्ट ल्याउने कुरामा पनि निरन्तर संवाद हुन्छ । हरेक हप्ता छलफल गरिरहेका छौँ । रिपोर्टिङ पनि नियमित आउँछ भनेर आशावादी छाँै । हरेक पक्षबाट समन्वयलाई गर्न सक्यौँ भने स्वास्थ्य प्रणालीको विकास गर्न सक्छाँै ।

डेङ्गुबाट बच्न के मा ध्यान पुर्‍याउनुपर्छ ?

म सुरक्षित छु, मेरो घर सफा छ, पानी पनि त्यस्तो छैन भनेर सुरक्षित भएर ढुक्क बस्नु हुँदैन । वातावरणमा भएका ‘रिस्क फ्याक्टर’ जस्तै बट्टा, टायर, गमलाका फुलदानी, पातमै पानी जम्मा भएर लामखुट्टेले अण्डा पार्न सक्छ । सबैले मिलेर सरसफाइ नियमित गरौँ । परिवारका सदस्यले पनि आफ्नो घरमा नियमित सफाइ गरौँ । अव्यवस्थित सहरी ठाउँमा यसको झन् बढी जोखिम छ । लामखुट्टे घरभित्र नजान दिन जाली, झुलको प्रयोग गर्न सकिन्छ । बाहुला पूरा भएको लुगा लगाउँदा लामखुट्टेले टोक्ने सम्भावना कम हुन्छ । बिहान र साँझ बढी टोक्ने भएकाले सजग रहनुपर्छ । व्यक्तिगत हिसाबमा सबैले जोगिँदा पनि समुदाय जोगिन सक्छ । डेङ्गुबाट बच्नका लागि लक्षण पनि थाहा पाउनुपर्ने हुन्छ । ज्वरो, टाउको दुख्ने, आँखाको गेडी निस्केला जस्तो हुने, हड्डी भाँचिएला जस्तो हुनेलगायत लक्षण देखिन सक्छन् । जटिल भएको खण्डमा स्वास्थ्य संस्था गइहाल्नुपर्छ । राजनीतिकर्मी, के शिक्षक, विद्यालय, सामाजिक अगुवा, सर्वसाधारण सबैको डेङ्गु नियन्त्रणमा भूमिका हुन्छ ।

पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान

मनाङ, १६ असारः जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतिविद्यार्थी रु ५० हजार गाउँपालिकाले उपलब्ध गराउनेछ ।

उहाँले भन्नुभयो, “हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्वपूर्ण छ । यहाँको स्थानीयबाट नै प्रवद्र्धन गर्न टेवा पुग्नेछ ।” यस विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको अध्यक्ष धनबहादुरले बताउनुभयो ।

गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैङ्क नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी रु दुई हजारका दरले खाता खोलीे बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई रु एक लाख छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही रु २० हजार पुरस्कार वितरण गरिनेछ । प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र विक्ने शैक्षिक केन्द्रका रुपमा नमूना विद्यालयका रुपमा विकास गरी सबैको रोजाई विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ ।

चितवनका एक हजार सात सय जनामा डेङ्गु सङ्क्रमण

चितवन, १६ असार : चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेङ्गु सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो ।

यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताउनुभयो । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेङ्गु देखिएको छ । खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

डेङ्गु रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो । यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेङ्गु सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिनुभयो ।

जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ, १६ असार : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले देशका अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले परिवर्तनको आन्दोलनमा योगदान गरेका नेताले जनअपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिने जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका नेताले अझ ठूलो परिवर्तनका निम्ति एवम् नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरी एकपटक सङ्कल्प लिन र एकताबद्ध हुन जरुरी छ ।”

सबै लोकतन्त्रवादी एवम् देशभक्त शक्ति राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा एवम् राष्ट्रिय आत्मसम्मानका निम्ति एकठाउँमा उभिन जरूरी रहेको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्न केन्द्रित हुन आह्वान गर्नुभयो ।

देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै अध्यक्ष दाहालले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादी विचार र सही राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिष्ट एकता, राष्ट्रिय एकता एवम् राष्ट्रको समुन्नतिका निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न एकीकृत समाजवादीलाई सुझाव दिनुभयो । “देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी र प्रतिगमनकारी भाष्य हो”, उहाँले भन्नुभयो, “भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुप¥यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुप¥यो ।”

हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले परिस्थितिअनुरूप विश्लेषण गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एकता, सङ्घर्ष र रूपान्तरणसहित नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ, यसमा हामी भुक्तभोगी नै छौँ । हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौँ, त्यसैले अतितमुखी होइन, भाविष्यमुखी भएर सोच्छौँ । हामी निराशावादी होइन, आशावादी भएर सोच्छौँ । क्रान्तिकारितासहितको आशावादिता कम्युनिष्टको विशेषता हो ।”

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारी एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न लाग्नुुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नका लागि पनि एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिनुभएको थियो । बैठकले सांसद सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

काठमाडौँ, १६ असार : अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताउनुभयो ।

उहाँले आर्थिक विधेयकको अभिन्न अङ्गका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट गर्नुभयो । मन्त्री पुनले भन्सारविन्दुमा सामान आयात गर्दा न्यूनतम् भन्सार लिने र क्रमशः मुलुकको उत्पादनवृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताउनुभयो ।

छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गर्नुभएको थियो । विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो ।