`

‘ललितपुरलाई अपाङ्गतामैत्री सहर बनाउँछौँ’ – चिरीबाबु महर्जन

Nepal One HD १८ मंसिर २०८१ २१:३०
राजनीति

पाटन (ललितपुर), १८ मङ्सिर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई अपाङ्गतामैत्री सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ललितपुर महानगरपालिकाद्वारा आज जावलाखेलमा आयोजित कार्यक्रममा प्रमुख महर्जनले अपाङ्गतामैत्री पूर्वाधार निर्माण, सूचना प्रवाह र सेवा प्रवाहमा ध्यान दिएको जानकारी गराउनुभयो ।

“हामीले यसको सुरूआत गरिरहेका छौँ, हामीले धेरै राम्रो कामहरू गरिरहेका छौँ, अरू स्थानीय तहले फलो गरिरहेका छन्, एकान्तकुनामा लिप्टसहितको अपाङ्गतामैत्री पुल बन्दैछ, धोबिघाटबाट कीर्तिपुर जाने पुल पनि अपाङ्गतामैत्री हुनेछ, हामीले निर्माण गरेका सबै संरचना अपाङ्गतामैत्री छन्, अपाङ्गतामैत्री फुटपाथलगायत संरचना निर्माण गर्ने पहिलो स्थानीय तह हौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले अपाङ्गतामैत्री पूर्वाधारका साथै प्रविधिको विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गताको जीवन जीउनु रहर नभई बाध्यता भएको भन्दै बाध्यताका कष्टकर जीवनयापन गरिरहेकालाई सहयोग गर्नु र माया गर्नु कर्तव्य र दायित्व हो भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवरत्न पौडेलले समयसमयमा हुने यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई थप हौसला प्रदान गर्ने बताउँदै यस्ता मञ्चबाट उहाँहरूले समान अवसर पाउनका लागि आफ्ना कुराहरू व्यक्त गर्ने अवसर पाउने बताउनुभयो ।

विपद् व्यवस्थापन समितिका सदस्य एवं महानगरको कार्यपालिका सदस्य लक्ष्मी शर्माले संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार सुनिश्चितताका लागि दिवस मनाउन सुरू गरिएको जानकारी गराउँदै सन् १९९३ देखि नेपालमा हरेक वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन सुरू गरिएको उल्लेख गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूको स्थानीय तह समन्वय समितिका सदस्य भोजराज श्रेष्ठले स्थानीय तहले प्रदान गर्ने सेवामा आफूहरूको पहुँचका लागि ललितपुर महानगरले भौतिक पूर्वाधार निर्माण र सेवा प्रवाहमा ध्यान दिएर आत्मसम्मान दिएको बताउनुभयो । ललितपुर महानगरको महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुभयो ।


प्रतिक्रिया