`

अफगानिस्तान प्रतिबन्धमा तालिबानले अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने

तालिबान अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको शिखर सम्मेलनमा विशेष प्रतिनिधिहरूसँग दोहामा पहिलोपटक भाग लिँदा अफगानिस्तानका लागि उनीहरूले आर्थिक प्रतिबन्धहरूका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने सोमबार बताएका छन् ।

दुई दिवसीय बैठक आइतबार सुरु भयो र यो एक वर्षभन्दा केही बढी समयमा कतारमा हुने तेस्रो शिखर सम्मेलन हो । यद्यपि सन् २०२१ मा अफगानिस्तानमा सत्ता कब्जा गर्ने तालिबान अधिकारीहरूलाई सहभागी गराउने यो पहिलो शिखर सम्मेलन हो ।

विदेश मन्त्रालयका वरिष्ठ अधिकारी जाकिर जलालीले सामाजिक सञ्जाल एक्समा तालिबान सरकारको प्रतिनिधिमण्डलले सोमबार बैठकलाई ‘वित्तीय तथा बैंकिङ प्रतिबन्ध’ र अफगानिस्तानको अर्थतन्त्रका लागि उत्पन्न ‘चुनौैतीहरू’ लाई सम्बोधन गर्नका लागि प्रयोग गर्ने बताउनुभयो ।

उहाँको उक्त भनाइपछि आइतबार राति तालिबान प्रतिनिधिमण्डलका प्रमुख एवं प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० भन्दा धेरै राजदूत र राष्ट्रसङ्घका अधिकारीहरूलाई सम्बोधन गर्नुभयो ।

‘विदेशी आक्रमण र हस्तक्षेपका कारण झन्डै आधा शताब्दीसम्म युद्ध र असुरक्षा’ पछि जारी प्रतिबन्धहरू ‘निष्पक्ष अभ्यास’ हो कि भनी प्रश्न गर्दै मुजाहिदले भन्नुभयो, “अफगानहरूले एकपक्षीय र बहुपक्षीय प्रतिबन्धहरूका आधारमा उनीहरूलाई किन एकजुट बनाइँदैछ भनेर प्रश्न गरिरहेका छन् ।”

चार करोडभन्दा धेरै जनसङ्ख्या भएको गरिब मुलुकसँग बढ्दो संलग्नता र आर्थिक मुद्दा तथा लागुऔषधविरुद्धका प्रयाससहित अधिक समन्वित प्रतिक्रियामा छलफल गर्नका लागि वार्ता भइरहेको छ ।

तालिबान सत्तामा फर्किएपछि अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानको नयाँ शासकप्रति आफ्नो दृष्टिकोणलाई लिएर चिन्तित छ । काबुलमा सत्ता सम्हालेपछि तालिबान सरकारलाई कुनै पनि अन्य सरकारले आधिकारिकरूपमा मान्यता दिएका छैनन् ।

तालिबानले इस्लामको कडा व्याख्या थोपरेको छ र महिलाहरूलाई संयुक्त राष्ट्रसङ्घद्वारा ‘लिङ्ग रङ्गभेद’ का रूपमा चित्रण गरिएको कानूनको अधीनमा राखेको छ ।

तालिबान प्रतिनिधिमण्डललाई सहभागी गराउँदै नागरिक समाज र महिला अधिकार समूहरूलाई बाहिर राखेकामा आक्रोश बढेको छ । सङ्गठनहरूले राष्ट्रसङ्घ र सहभागीहरूमाथि तालिबान सरकारको नीतिहरूलाई वैधानिक बनाएको आरोप लगाएका छन् ।

एमनेस्टी इन्टरनेसनलका प्रमुख एग्नेस कालामार्डले वार्ताअघि एक विज्ञप्तिमा भन्नुभयो, “वार्तामा आफ्नो सहभागिता सुनिश्ति गर्न तालिबानका सर्तहरू समावेश हुँदा उनीहरूको लिङ्ग–आधारित संस्थागत दमनलाई वैधानिक बनाउने जोखिम हुनेछ ।”

तालिबान अधिकारीहरूले बारम्बार इस्लामिक कानूनअन्तर्गत सबै नागरिकहरूको अधिकारहरू सुनिश्चित गरिएको बताएका छन् ।

मुजाहिदले नीतिमा ‘स्वाभाविक’ भिन्नता भए पनि कूटनीतिज्ञहरूले टकरावको सट्टा वार्ता र समझदारीको बाटो खोज्नुपर्ने बताउनुभयो ।

“अफगानिस्तानको इस्लामिक इमिरेट्स पश्चिमी मुलुकहरूसँग पनि रचनात्मकरूपमा जोडिन इच्छुक छ”, उहाँले भन्नुभयो, “कुनै पनि सार्वभौम राज्यजस्तै हामी केही धार्मिक र सांस्कृतिक मूल्य र सार्वजनिक आकांक्षाहरूलाई कायम राख्दछौँ, यसलाई स्वीकार गर्नुपर्छ ।”

कांग्रेसद्वारा निर्देशक समिति गठन

काठमाडौँ, १८ असारः नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने÷गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सो अवधिसम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता सङ्घ र नेपाल थारू सङ्घको हकमा लागू हुने उहाँले जानकारी गराउनुभयो ।

ललितपुर महानगरको बजेट नगरसभाबाट पारित

पाटन (ललितपुर – ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ ।

यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गर्नुभएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट र आर्थिक विधयेक आजको नगरसभाको बैठकले सर्वसम्मतिले पारित भएको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो । महानगरले रु सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो ।

“वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट रु तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ”, प्रवक्ता महर्जनले भन्नुभयो ।

प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ रु दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । यस वर्षको वार्षिक बजेटमा वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराउनुभयो ।

“चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्यौं, नगरसभामा घनिभूत छलफलपछि नगरसभाका सदस्यहरुले राख्नुभएको केही संशोधनसहित बजेट पारित भयो, वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, ज्येष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख महर्जनले भन्नुभयो ।

वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका साथै पोखरीको संरक्षण गर्दै सहरी सौन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ ।

गण्डकी प्रदेशसभाबाट बजेट पारित

गण्डकी, १७ असारः गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गर्नुुभएको बजेट गण्डकी प्रदेशसभाको आजको बैठकले पारित गरेको हो ।

मन्त्री गुुरुङले आव २०८१/८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गर्नुुभएको थियो । बजेटमध्ये चालुतर्फ रु १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ ।

चालुतर्फ कूल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कूल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो । यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुुभएको थियो ।

पोखरा महानगरपालिकाद्धारा कृषकलाई १४ हजार बढी फलफूलका बिरुवा वितरण

गण्डकी, १७ असार : पोखरा महानगरपालिकाले कृषकलाई १४ हजार पाँच सय ५० फलफूलका बिरुवा वितरण गरेको छ ।महानगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुसार तीन सय ७८ कृषक तथा कृषक समूहलाई बिरुवा वितरण गरिएका हुन् ।

महानगरपालिकाले एक÷एक हजार सङ्ख्यामा आँप, लिची, एबोकाडोका बिरुवा वितरण गरेको छ । यस्तै कागतीका एक हजार पाँच सय बिजु र चार हजार कलमी बिरुवा तथा सुन्तलाका एक हजार पाँच सय बिजु र तीन हजार कलमी बिरुवा वितरण गरिएको छ । यस्तै, एक हजार ५० अम्बा र पाँच सय मेकाडामिया नटका रिुवा वितरण गरिएको कडरियाले जानकारी दिनुुभयो । 

कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति बिरुवा आँँप रु ५०, लिची रु ४०, अम्बा रु २५, कागती बिजु रु ३०, कलमी रु ६०, सुन्तला बिजु रु ३०, कलमी रु ६०, मेकाडामिया नट रु ५०, एबोकाडो रु ५० मा उपलब्ध गराइएको उहाँले बताउनुभयो । वितरण गरिएका फलफूलका बिरुवाको तीन गुणा बढी माग भए पनि सीमित साधनस्रोतका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको महानगरले जनाएको छ ।

मोलुङको गौरीडाँडामा पहिराले पाँच परिवार विस्थापित, २३ जोखिममा

ओखलढुङ्गा, १७ असार : ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण आज बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन् ।

पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन् । जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

पहिराका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् । पहिराले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भँैसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिराको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ ।

पहिराले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युत्मा पनि क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कोशी प्रदेशकी सरिता थुलुङलाई स्वर्ण

काठमाडौँ – पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले आज स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ६७ केजीमाथि तौलसमूहमा सरिताले ६५ केजी भारवहन गरिन् । वाग्मती प्रदेशकी सङ्गीता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउँदै क्रमशः रजत र स्वर्ण हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् । अनुले ४२ केजी वजन उचालिन् । कोशीकै सम्झना वन दोस्रो तथा गण्डकीकी शर्मिला विश्वकर्मा तेस्रो भए । सम्झनाले ४० तथा शर्मिलाले ३६ केजी भार बहन गरे ।

उक्त प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो भइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा चार र महिलामा तीन गरी सात स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभाः कांग्रेससँग नौ बुँदे सहमतिपछि गतिरोध अन्त्य

कर्णाली, १७ असारः प्रतिपक्षी दल नेपाली कांग्रेससँग नौबुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सत्रौं बैठक सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट विनियोजन असन्तुलित, अन्यायिक र असमानुतिक भएको भन्दै यही असार ५ गतेदेखि नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो । आइतबार कांग्रेसको चर्को असन्तुष्टिसँगै सदनमा असामान्य अवस्था सृजना भयो ।

धरकपडाका बीचमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सदनमा सदस्यहरुले उठाएका प्रश्न तथा जिज्ञासामाथिको जवाफ दिनुभएको थियो । कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेपछि गतिरोध अन्त्य गर्न आज सभामुख नन्दा गुरुङको अध्यक्षतामा प्रदेश सरकार, प्रतिपक्षसहित चारवटै दलको बैठक बसेको थियो । उक्त बैठकबाट व्यक्तिको नाम, निजी फर्म, सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजन हुने गरी आएका योजनालाई कार्यान्वयन हुन नदिने, क्रमागत र बहुवर्षीय आयोजनालाई प्राथमिकता निर्धारण गरी निर्माणलाई प्राथमिकता दिने सहमति भएको छ ।

सहमतिअनुसार प्रदेश सरकारबाट विनियोजित कार्यक्रमअन्तर्गत कृषि, सशर्त, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणका हकमा रु १५ लाख र भवन तथा सडक निर्माणका हकमा रु ३० लाख कम बजेटका आयोजना कार्यान्वयन नगर्ने, समान वितरण गरिनुपर्ने विषयलाई आत्मसात गर्दै निश्चित विधिअनुसार योजना निर्माण तय गर्ने नीति लिने निर्णय भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र, भूगोल तथा जनसङ्ख्यालाई आधार बनाइ आगामी आवमा छुट भएका आयोजनाहरु छलफल गरी प्राथमिकता साथ समावेश गर्ने, समपुरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिका समावेश गर्ने निर्णय भएको छ । साथै प्रदेश सरकारले तर्जुमा गरेका कृषितर्फका कार्यक्रम बाहेक रु ३० लाखमाथिका सबै आयोजना ठेक्का (टेण्डर÷बोलपत्र) प्रक्रियामार्फत सञ्चालन तथा प्रक्रिया पूरा गरी छनोट भइसकेका ‘एक जिल्ला, एक नमूना विद्यालय’ कार्यक्रम कार्यान्वयन गर्ने र शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कम्तीमा ४० विद्यालयको भवन निर्माण गर्ने निर्णय भएको छ ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौँ, १७ असारः पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को आज बसेको बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धाबाट जोशी छनौट हुनुभएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर झण्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिनुभएको छ । नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधिअनुसार आफू छनोट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराअनुसार त्यहाँको वस्तु स्थितिअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले पशुपति विश्वकै हिन्दूहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा इँट्टा थप्ने आफ्नो प्रयत्न हुने बताउनुभयो । पछिल्लो समय पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यस पटक मन्त्री तामाङको निर्देशनमा खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो । कोषको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गत जेठ २३ गते आवेदन माग गरिएको थियो ।

कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । जोशीले आजै पदभार ग्रहण गर्नुभएको कोषले जनाएको छ ।

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार

इजराइल रक्षा बल (आइडीएफ) ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ ।रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो ।

आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गाजाको खान युनिस क्षेत्रबाट करिब २० वटा रकेट प्रहार भएको पहिचान गरिएको थियो ।”

प्यालेस्टिनी इस्लामिक जिहाद, गाजामा मुख्यालय रहेको सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा आफ्नो सैन्य आक्रमण सुरु गरेको थियो । यस क्रममा हमास लडाकूहरूले दक्षिणी इजराइलमा घुसपैठ गरेका थिए ।

लगातार इजराइली भूमि र हवाई आक्रमणले गाजामा कम्तिमा ३७ हजार नौ सय मानिसको ज्यान लिएको छ ।

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौँ, १७ असार : प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको उक्त विधेयक बहुमतले पारित गरिएको हो ।

सरकारले गत वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरेको थियो । सरकारले लगानीसम्बन्धी नीतिगत सुधार गरेको तथा कानुन परिमार्जन गरेको प्रत्याभूति दिलाउन सम्मेलनलाई लक्षित गर्दै अध्यादेशमार्फत् विधेयक ल्याएको थियो । विधेयकमार्फत स्टार्टअप उद्योगको दर्ता, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणमा स्पष्टता, उद्योग सञ्चालनको म्याद थपसम्बन्धी व्यवस्था, करारमा वस्तु उत्पादन गर्ने विषयलगायत व्यवस्थालाई संशोधन र परिमार्जन गर्न खोजिएको छ । यस्तै विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियत वृद्धि, वन क्षेत्रमा प्राथमिकता प्राप्त उद्योग स्थापना गर्न सहज बनाउने विषय विधेयकमा राखिएका छन् । सरकारको स्वीकृति लिइ खरिद गरेको हदबन्दीभन्दा बढी जग्गाको ५० प्रतिशतसम्म उद्योगको क्षमता वृद्धिका लागि धितो राख्न पाउने व्यवस्था विधेयकमा छ ।

लगानीको वातावरणलाई थप सहज बनाउन भन्दै सरकारले यो विधेयकमार्फत औद्योगिक व्यवसाय ऐन २०७६, भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, जग्गा प्राप्ति ऐन २०३४, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र वन ऐन, २०७६ मा संशोधन गर्न लागेको छ ।

प्रतिनिधिसभाको आजको बैठकले ‘जलस्रोत विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २३ गते आइतबार बस्नेछ ।

मन्त्रिपरिषद् बैठक : जापान सरकारबाट प्राप्त हुने ३८ करोड को अनुदान सहायता स्वीकृत गर्ने

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ ।
      
मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले जापान सरकारबाट मानवसंशाधन विकासका लागि प्राप्त हुने ३८ करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।  

सरकारका प्रवक्ता मन्त्री शर्माले धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको  जानकारी दिँदै उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६, लाई संशोधन गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको बताइन् ।
      
यसैगरी, बैठकले तमोर करिडोर लिपिङ खोला जलविद्युत् आयोजना, बुर्तिबाङ–पौदी–अमराई–तम्घास गोरुसिङ्गे एक सय ३२ किलोभोल्ट प्रसारण लाइन, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घलेम्दी जलविद्युत् आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाका लागि कैलालीको लम्कीचुहा नगरपालिकास्थित एक सय सात हेक्टर जग्गा प्रदान गर्ने निर्णय गरेको छ ।

व्यवसायीमाथि धरपकड नगर्न श्रममन्त्रीलाई नाट्टाको आग्रह

काठमाडौँ, १७ असार : नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानुनी धरपकड बन्द गर्न आग्रह गरेको छ ।नाट्टाको प्रतिनिधिमण्डलले आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेट गरी वैदेशिक रोजगार विभागले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरू माथि गरेको कानुनी धरपकडका विषयमा ध्यानाकर्षण गराएको हो ।

जवाफमा श्रममन्त्री अर्यालले यस्तो प्रक्तिका घटना निराकरणका लागी प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयमा तत्काल परिपत्र गरी यस्ता प्रकृतिका विषयमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसँगं सोधपुछ, छानविन तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने आश्वासन दिनुभएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियालले जानकारी दिनुभयो ।

मन्त्री अर्यालले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरुले आधारभूत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिनुभएको पनि थपलियाले जानकारी दिनुभयो ।

अध्यक्ष थपलियाले विभागले हवाई टिकट बिक्रेतामाथि टिकट बिक्री गरेकै भरमा विना कुनै छानबिन, स्पष्ट अध्ययन नगरी व्यवसायीलाई त्रसित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताउनुभयो ।भेटका क्रममा नाट्टाको टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रवर्द्धनका लागि सात बँुदे सुझाव पनि पेश गरेको थियो ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको ब्रिफिङः गठबन्धन लामो समय जाने स्थिति बनेको छ, बाहिरको हल्लामा सत्यता छैन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छन् ।

सोमबार साँझ मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन् ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताइन् ।

‘गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन’, उनले भने, ‘गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताए ।

‘अन्तर्राष्ट्रियस्तरमा महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासको अनुशरण गर्नुपर्छ’ – मन्त्री चौधरी

काठमाडौँ, १७ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयास अनुशरण गरी नेपालमा पनि प्रभावकारी काम गर्न आग्रह गर्नुभएको छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा निर्वाचित नेपालकी बन्दना राणालाई बधाई दिन आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासबाट सिक्दै नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभएको हो ।
मन्त्री चौधरीले महिला अधिकारका क्षेत्रमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन् तर अझै पनि हामीले थुप्रै काम गर्न बाँकी छन् । त्यसका निम्ति सबैको एकीकृत प्रयत्न हुन जरुरी छ”, उहाँले भन्नुभयो, “तपाईंले अन्तर्राष्ट्रिय रूपमा नेपालका तर्फबाट राम्रो काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासबाट सिक्दै नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।”

मन्त्री चौधरीले महिला अधिकार संरक्षणका लागि नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन भूमिका खेल्नसमेत आग्रह गर्नुभयो । “महिलाका क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेका छौँ, संविधान, ऐन, कानुनले गरेका व्यवस्था कार्यान्वयन गर्न बाँकी छ । थप काम गर्नका लागि आर्थिक व्यवस्थापन पनि महत्वपूर्ण हुन आउँछ, त्यसैले यहाँहरुले महिला अधिकार संरक्षणका लागि लगानी भित्र्याउन पनि भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्नतिर लाग्न राणालाई आग्रह गर्नुभयो ।

सिड कमिटी सदस्य राणाले लैङ्गिक समानताका लागि विद्यमान गलत मानसिकता सबैभन्दा ठूलो अड्चन रहेको बताउनुभयो । अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालका तर्फबाट आफू सिड कमिटी सदस्यमा तेस्रो कार्यकालका लागि निर्वाचित भएकाले यसपटक आफूले अध्यक्ष पदका लागिसमेत तयारी गरेको जानकारी दिनुुभयो ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालयअन्तर्गतका विभाग र महिला विकास कार्यालय खारेज हुँदा कार्यक्रम सम्पादन गर्न प्रदेश तथा स्थानीय तहमा निर्भर हुनुपरेकाले थुप्रै कठिनाइ झेल्नुपरेको गुनासो गर्नुभयो ।

अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै तेस्रोपटक विजयी हुनुभएको हो ।

सशस्त्र प्रहरी निरीक्षक स्व दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार रायन घिमिरेलाई

काठमाडौँ, १७ असारः सशस्त्र प्रहरी निरीक्षक स्व दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सङ्घकी उपाध्यक्ष सावित्रा कुमारी जैसीले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयो ।

यसअघिका वर्षमा सो पुरस्कार नेपाल एपिएफ स्कुल कीर्तिपुरका छात्र आशिष रोकाया, साइजित पाण्डे, अनिष थापामगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।

स्व पाठको स्मृतिमा सिसं ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीद्वारा सामूहिकरुपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला सङ्घको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपिएफ स्कुलमा अध्ययनरत सङ्गीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आइएको छ ।

स्व पाठकले ‘पक्षी र निन्द्रा लाग्दैन’ गरी दुई वटा एल्बम बजारमा ल्याउनुभएको थियो । गीतसङ्गीतमा रुचि राख्ने पाठक २०६०÷६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल तथा आठौँ कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधिसमेत हात पारेका थिए ।

गीत लेख्ने, सङ्गीत दिने र आफँै गाउने क्षमता भएका स्व पाठकको प्रतिभालाई अमर राख्नका लागि उक्त अक्षयकोष स्थापना गरिएको हो । कर्तव्यपालनाको सिलसिलमा २०७२ चैत २८ गते धादिङको मलेखुमा भएको सडक दुर्घटनामा परी उहाँको निधन भएको थियो ।

इरानी राष्ट्रपति निर्वाचनको नतिजालाई मान्यता प्राप्त

इरानको संवैधानिक परिषद्ले आइतबार देशको १४औँ राष्ट्रपति निर्वाचनको पहिलो चरणको नतिजालाई मान्यता दिएको छ ।

निर्वाचनको प्रक्रिया र नतिजा हेर्ने संस्था काउन्सिलका प्रवक्ता हादी ताहान नाजिफले सरकारी आईआरआईबी टिभीलाई दिएको एक टेलिभिजन अन्तर्वार्तामा उक्त घोषणा गर्नुभएको हो ।

उहाँले अनुसन्धान र समीक्षापछि संस्थाले नतिजा पुष्टि गरेको बताउनुभयो ।

पहिलो चरणको निर्वाचनमा भाग लिने चार उम्मेदवारमध्ये कसैले पनि उजुरी दिने कानुनी समयावधिमा निर्वाचन परिणाममा कुनै आपत्ति नजनाएको बताउँदै उहाँले बिहीबार बिहानसम्म वा निर्वाचन सुरु हुनुभन्दा २४ घण्टाअघिसम्म निर्वाचन अभियान सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । तीन पटकसम्म लम्ब्याइएको मध्यावधि राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार बिहानैदेखि सुरु भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले विजयी घोषणाका लागि आवश्यक पर्ने कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेका थिएनन् ।

पहिलो चरणमा पूर्व स्वास्थ्यमन्त्री सुधारवादी मसूद पेजेस्कियानले ४२ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको थियो भने तेहरान र विश्व शक्तिराष्ट्रबीचको आणविक वार्ताका पूर्व प्रमुख वार्ताकार सइद जलिलीले ३८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिनुभएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गर्नुभएको थियो ।

जुलाई ५ मा हुने दोस्रो चरणको प्रतिस्पर्धामा पहिलो चरणमा बढी बत ल्याएका दुई प्रतिस्पर्धी पेजेस्कियान र जलिलीबाच प्रतिस्पर्धा हुनेछ ।

सन् २०२५ का लागि तय भएको राष्ट्रपतीय निर्वाचन इरानका पूर्व राष्ट्रपति इब्राहिम राइसीको मे १९ मा हेलिकप्टर दुर्घटनामा अप्रत्यासित निधन भएपछि सारिएको थियो ।

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ ।

इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो ।

ग्लोबल इन्डिया एआई शिखर सम्मेलन २०२४ ले विज्ञान, उद्योग, नागरिक समाज, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन र शिक्षाविद्लगायत विभिन्न क्षेत्रका हितग्राहीका लागि महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ ।

सम्मेलनले प्रमुख एआई मुद्दाहरू छलफल गर्न, अन्तरदृष्टि साझा गर्न र एआई इकोसिस्टमले सामना गर्ने चुनौतिलाई सम्बोधन गर्नेछ ।

शिखर सम्मेलनको आयोजनाबाट भारतले सुरक्षित समाजका लागि फाइदाजनक उन्नत प्रविधिमा ध्यान केन्द्रित गर्दै विश्वव्यापी एआई समुदायमा एक सक्रिय खेलाडीको रूपमा आफ्नो भूमिकालाई पुनः पुष्टि गरिरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (जिपिएआई) मा ग्लोबल पार्टनरसिपको प्रमुख अध्यक्षको रूपमा भारतले विश्वसनीय एआई अभ्यासहरूमा जिपिएआईको प्रतिबद्धतालाई अगाडि बढाउन सदस्य देशहरू र विशेषज्ञहरूको आयोजना गर्न तयार छ ।

शिखर सम्मेलनको उद्देश्य एआई डोमेनमा नेतृत्व गर्ने भारतको क्षमता प्रदर्शन गर्नु हो र एआई लाभमा सबैको पहुँच सुनिश्चित गर्ने देशको लक्ष्यलाई जोड दिई राष्ट्रको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउनु हो ।

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ ।

सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन् ।

उहाँको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीर र गाजाको एक चिकित्सा स्रोतले सामाजिक सञ्जालमा गरेका छन् । सात महिनाभन्दा बढी हिरासतबाट मुक्त भएपछि उहाँले सोमबार आफूलाई इजरायलले ‘यातना’ दिएको बताउनुभयो ।

एक इजरायली मन्त्री र घेराबन्दी गरिएको क्षेत्रका चिकित्सा स्रोतका अनुसार अल–शिफाका अस्पताल निर्देशक साल्मिया ५० भन्दा बढी प्यालेस्टिनीमध्ये रिहा भई उपचारका लागि गाजा फर्किएका हुन् । निर्देशक साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको बताउँदै यातनाले गर्दा आफ्नो औँला भाँचिएको जानकारी गराउनुभयो ।

कैदीहरूलाई धेरै यातना दिइने बताउदै ‘धेरै कैदीले खाना र औषधिबाट वञ्चित रहनुपरेको र उनीहरूको मृत्युसमेत हुने गरेको’ उहाँले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो । दुई महिनासम्म कुनै पनि कैदीलाई दिनको एक रोटीभन्दा बढी खान नदिएको बताउदै साल्मियाले कैदीलाई शारीरिक र मनोवैज्ञानिक अपमान गरिएको उल्लेख गर्नुभयो ।
इजरायली सेनाले अल–शिफामा छापा मारी साल्मियालगायत सयौँलाई नोभेम्बरमा हिरासतमा लिइएको थियो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलले गाजामा जवाफी आक्रमण गर्दा उहाँले काम गरेको अस्पताल लगातार छापा मारेर भग्नावशेषमा परिणत भएको छ ।
साल्मिया र अन्य मुक्त कैदीहरू खान युनिसको पूर्वमा इजरायलबाट गाजा फर्किएको देइर अल–बलाह
को अल अक्सा अस्पतालको चिकित्सा स्रोतले बताएको छ ।
पाँच जनालाई अल–अक्सा अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई खान युनूसको अस्पतालमा पठाइएको स्रोतले जनाएको छ ।

इजरायलले हमासलाई गाजा पट्टीका अस्पतालहरूलाई सैन्य अपरेसन र पूर्वाधारका लागि आवरणको रूपमा प्रयोग गरेको आरोप लगाएको छ भने यस क्षेत्रलाई चलाउँदै आएको हमास समूह र अस्पताल प्रशासनले आरोपको खण्डन गर्दै आएका छन् ।

मे महिनामा प्यालेस्टिनी अधिकार समूहले अल–सिफा शल्यचिकित्सकलाई हिरासतमा लिएपछि इजरायली जेलमा मृत्यु भएको बताएका थिए । इजरायली सेनाले मृत्युको बारेमा थाहा नभएको बताएको छ ।

युद्ध हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको थियो जसमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।हमासको नियन्त्रण क्षेत्र गाजास्थित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायलको जवाफी कारबाहीमा हालसम्म अधिकांश नागरिकसहित कम्तीमा ३७ हजार ८७७ जनाको मृत्यु भएको छ ।

उत्तरी म्यान्मामा बाढी, दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ ।

काचिन राज्य सरकारका एक सदस्यले भन्नुभयो, “उद्धार कार्य जारी छ । प्रभावित बासिन्दाहरूलाई यस क्षेत्रका ३० विद्यालय, चर्च र गुम्बाहरूमा अस्थायी आश्रयमा सारिएको छ ।”

स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण माइट्काइना र वाइङ्माव सहरमा एक हजारभन्दा बढी मानिस फसेका छन् । मौसम तथा जल विज्ञान विभागले सोमबार दिएको जानकारीअनुसार मित्किना नगरपालिकाको अय्यारवाडी नदी खतराको सङ्केतभन्दा करिब पाँच फिट माथि बगेको छ ।

आगामी दुई दिनमा नदीको बहाव अझै दुई फिट बढ्ने र माइट्काइना टाउनसिपको खतराको सङ्केतभन्दा माथि रहने अनुमान गरिएको छ ।

युवाको पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ : उद्योगमन्त्री

काठमाडौँ, १७ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आज लघु साना तथा घरेलु उद्योगको विकासका लागि सुझावसहितको दिएको ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशीलताको विकासले युवालाई विदेश पलायन हुनबाट रोक्न सहयोग पुग्ने बताउनुभएको हो । “अहिले युवामा देखिएका निराशलाई चिरेर आशा जगाउनु सरकारको प्रमुख लक्ष्य हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ । उद्योग मन्त्रालयले उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको छ”, मन्त्री भण्डारीले भन्नुभयो ।

विभागका प्रमुख उर्मिला थपलियाले मुलुकको आर्थिक विकासका लागि साना, मझौला तथा घरेलु उद्योगलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ ले कर्जा आवेदकबाट नवीन पद्धतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो पद्धतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने बताउनुभयो । विभागले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा आगामी मौद्रिक नीतिमार्फत वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निश्चित प्रतिशत स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग लक्षित हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

विद्यालयदेखि विश्वविद्यालयस्तरसम्म स्टार्टअप र उद्यमशीलतासम्बन्धी पाठ्यक्रम तर्जुमा, आइटी क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न र गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नका लागि नेपालका स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवाको निकासीलाई सहज बनाउनसमेत विभागले सरकारसँग माग गरेको छ ।

स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगको विकासलाई गति दिन त्यस्ता उद्योग दर्ता र सञ्चालनमा समन्वयका लागि समर्पित विशेष निकायको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८०’ ले परिकल्पना गरेको ‘स्टार्टअप बोर्ड’ लाई स्टार्टअप क्षेत्रमैत्री बनाउन युवा स्टार्टअप उद्यमीको उल्लेख्य प्रतिनिधित्व हुनेगरी नीतिगत पुनःसंरचनासहित अविलम्ब गठन गर्नुपर्ने विभागको माग छ ।

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

काठमाडौँ, १७ असार : कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ ।

आज बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उहाँलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिरिनुभयो । यस वर्षको कोसी क्वीनको ‘फस्ट रनर अप’ गङ्गादेवी तिमल्सिना, ‘सेकेन्ड रनर अप’ कमला घिमिरे र ‘थर्ड रनर अप’ कमलमाया श्रेष्ठ हुनुभयो । उहाँहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने तयारीमा : स्वास्थ्यमन्त्री

काठमाडौँ, १७ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) को काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति बढाउन हामी काम गरिरहेका छौँ । त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौँ । यो कार्यान्वयन भयोभने धेरै समस्या हल हुन्छन् ।”

फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताउनुभयो ।

“जनता निरास छन् । श्यया पाएका छैनन् । फार्मेसीमा औषधि पाइँदैन । शल्यक्रियाका लागि समय नपाउने समस्या छ । सोर्स लगाउनुपर्ने अवस्था छ, त्यस्तो अवस्थाको अन्त्यका लागिपरेको छु”, स्वास्थ्यमन्त्रीले भन्नुभयो । उहाँले अस्पताल तथा फार्मेसीको अनुगमनले काम गर्ने उर्जा दिएको र स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई नियाल्न पाएको बताउनुभयो ।

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

काठमाडौँ, १७ असारः नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने

पाटन (ललितपुर), १७ असार : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनीका साथै विमर्श सभा हुने भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भोली मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा स्व कोइरालासँग जोडिएका तस्बिर, वृत्तचित्र प्रदर्शनीका साथै विमर्श सभा हुने जानकारी दिइएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रदर्शनीमा विभिन्न समयमा पत्रकारले कैद गरेका एक सय ५१ भन्दा बढी तस्बिर राखिने जानकारी दिनुभयो । “केन्द्रीय कार्यालयको सभाहलमा हुने प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँग सम्बन्धित तस्बिरहरु रहनेछन्, ती तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछिको शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिबिम्वित गर्नेछन्”, उहाँले भन्नुभयो । शान्ति तथा विकास निर्माणको चरणमा विकास पूर्वाधार निर्माणका सन्दर्भ, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विश्वकर्माले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने प्रदर्शनीको प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तित्वले अवलोकन गर्ने जानकारी दिँदै उहाँले त्यसअवसरमा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग र फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्शसभा हुने बताउनुभयो ।

‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वगृहमन्त्री तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवाली वक्ता रहनुहुने र उक्त सत्रको सहजीकरण डा गेजा शर्मा वाग्लेले गर्नुहुने जनाइएको छ ।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार ‘समुन्नतिको दोस्रो जग’ विषयक विमर्शमा डा अच्युत वाग्ले, डा हरि शर्मा र डा मञ्चला झाले विमर्श गर्नुहुने र डाक्टर विश्व पौडेलले सहजीकरण गर्नुहुनेछ । यस्तै ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयक विमर्शमा गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेले विमर्श गर्नुहुनेछ भने पत्रकार सुधीर शर्मा र जगत नेपालले सहजीकरण गर्नुहुनेछ । प्रदर्शनी र विमर्शसभाका साथै कार्यक्रममा स्व कोइरालासँग जोडिएका सन्दर्भमा वृत्तचित्रसमेत प्रदर्शनी गरिने छ ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २००४ मा विराटनगर भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिनुभएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहनुभएको थियो । विसं १९८१ असार १८ गते जन्मिनुभएका उहाँको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै

काठमाडौँ । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ ।

आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्य र ऐतिहासिक कार्यको होष्टेमा हैसे गरिरहेका छन । अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ ।

कार्यक्रम स्थल वनकाली हंसमण्डप,कैलाशडाँडा लगायत पशुपति क्षेत्र सरसफाईको कार्य देखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाई रहेको छ । उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमासयौको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन ।त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहानेको संस्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ । यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १७ असारः उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भू–राजनीतिक अवस्थाको विश्लेषण जरुरी रहेको बताउनुभएको छ । रराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदारलगायत विश्वसमुदायसँग सम्बन्ध राख्ने तथा विकसित भू-राजनीतिक घटनाक्रमको मापन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक, प्राविधिक एवं सैन्य क्षमताको सन्दर्भ जोड्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीति नै पहिलो र अन्तिम प्रतिरक्षाको माध्यम हो ।”

कूटनीति एवं वार्ता, अन्तर्राष्ट्रिय सम्बन्धको उपयुक्त सञ्चालनका कारण नेपाल एशियामा पुरानो देशमध्ये रहेको उल्लेख गर्नुहुँदै उहाँले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्नेमा जोड दिनुभयो । 

जलवायु परिवर्तन, साइबर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, कृत्रिम बौद्धिकताजस्ता नवीन र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको उहाँले उल्लेख गर्नुभयो । 

भू-राजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाका कारण कूटनीतिज्ञको महत्व झनै बढेको धारणा राख्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नयाँ चुनौतीको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपूर्णता हुनुपर्छ ।”

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह

काठमाडौँ, १७ असार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गर्नुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२आँै स्थापना दिवस तथा ३०आँै वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आज उहाँले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

मन्त्रि अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराउनुभयो । “हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा सङ्लग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्”, उहाँले भन्नुभयो ।

भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रुपमा रु दुई खर्ब एक अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरिरहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राख्नुभयो ।

इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र पूरा

फिक्कल (इलाम), १७ असार : इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो ।

कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । रु ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ को लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताउनुभयो ।

सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो । सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ ।

सो कार्यका लागि निर्माण कम्पनीसंग सम्झौता भएको थियो । विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो । विसं २०७६ देखि नै काम सुरु भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताउनुभयो ।

सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ । सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

“पहिले बर्खामा याममा सडक हिलाम्मे हुने भएकाले दैनिक उपभोग्य सामग्री ल्याउन फिक्कल बजारसम्म पुग्न धेरै कष्ट भोग्नुपर्दथ्यो”, माइजोगमाई गाउँपालिका–१ का किसान बिनु खड्काले भन्नुभयो, “सडक कालोपत्रे भएसँगै यो वर्षदेखि त्यो कष्ट अन्त्य भएको छ, पहिले चार घण्टा समय खर्चेर फिक्कल पुग्नुपर्दथ्यो, अहिले आधा घण्टामा पुग्न सकिन्छ ।”

सडक कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत सहज भएका माइजोगमाई –१ नयाँ बजारका देवी अधिकारी बताउनुहुन्छ । “विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण बिरामीलाई अस्पतालसम्म पु¥याउनसमेत हम्मेहम्मे पर्दथ्यो”, उहाँले भन्नुभयो, “सडक कालोपत्र भएपछि सहजरुपमा सवारी साधन गुडाउन तथा बिरामीलाई अस्पताल पु¥याउन सकिने भएको छ ।”

सडक कालोपत्रसँगै कृषकलाई धेरै फाइदा पुगेको उनीहरु बताउँछन् । “सडक कालोपत्र भएपछि कृषि उत्पादन बजारसम्म पु¥याउन निकै सहज भएको छ, व्यवसायी गाडी लिएर गाउँगाउँसम्म आउन थालेका छन्”, स्थानीय मनिकुमार राईले भन्नुभयो, “यहाँ उत्पादित कृषिउपज बारीबाटै बिक्री हुन थालेको छ, आउँदो दिनमा कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

सुर्खेतमा पहिरोले पुरिँदा छोराको मृत्यु, बुबा घाइते

काँक्रेविहार (सुर्खेत), १७ असार : भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडाँै, १७ असार : चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ ।

बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ ।

चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दति खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगर प्रमुख गिरीले बालबालिका १८ वर्ष पुगेपश्चात् उनीहरुको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिका १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न रकमले केही सहजता प्रदान गर्न सक्छ । नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकलाई पनि आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित गर्न म आग्रह पनि गर्दछु ।”

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गरेर बालबालिकाको नाममा रु पाँच हजार रकम सङ्कलन गरिदिन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले बालबालिकाको भविष्यमा सकारात्मक दूरगामी प्रभाव पर्दछ । यसले बाल मैत्री स्थानीय शासनलाई थप प्रवर्द्धन गर्दछ । ”

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत खनिया र सतुङ्गल शाखाका प्रमुख सुधा दाहालले बालबालिकाको नाममा मुद्दति खाता सञ्चालन गर्न नगरपालिकासँग सहकार्य गर्न पाउनु बैंकका लागि गर्व रहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गीलगायतकोे उपस्थिति रहेको थियो ।

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बलेवा (बागलुङ), १७ असार : बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनीभन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास भए पनि कटान रोक्न नसक्दा नगरपालिकाले काम अगाडि बढाउन नसकेको हो ।

सुरुआती समयमा जमिन सम्याउने, घेराबार लगाउने र केही उद्योग स्थापित गरिहाल्ने गरी संरचना निर्माणको ठेक्का लगाए पनि अहिले समस्या परेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नदीले गाडी चल्ने ट्रयाक बनाएको जमिन बगाएको छ । अहिले यो स्थानको झण्डै ३० रोपनी जमिन कालीगण्डकीमा मिसिइसकेको छ ।

वडा नं १३ को ‘कालाखोला औद्योगिक ग्राम’ धरापमा परेको हो । औद्योगिक ग्राम बगर बन्ने खतरा भएपछि नगरपालिकाले उद्योग खोल्ने तयारी स्थगित गर्नुपरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चार वर्षअघि गण्डकी प्रदेश सरकारले एक स्थानीय तह, एक औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार कालाखोलाको झण्डै सय रोपनी जमिनलाई बागलुङ नगरपालिकाले औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।

झण्डै रु २० लाख बढी रकम लगानी भइसकेपछि काम अलपत्र परेको हो । पूर्वतर्फ पर्वतको सहश्रधारामा नदी दोहन बढेपछि नदीको धार परिवर्तन भएको थियो । उक्त धारले औद्योगिक ग्राम कटानमा परेको हो । “सर्वोच्च अदालतको आदेशपछि हामीले चार वर्षदेखि नदीजन्य वस्तु उत्खनन गरेका छैनौँ, तर अवैध दोहन गर्नेले जथाभावी गर्दा नदीले धार परिवर्तन भयो” नगर प्रमुख श्रेष्ठले भन्नुभयोे, “त्यसको मार हामीले खेपेका छौँ ।”

नदी कटानले स्थानीयका दर्जन बढी घरसमेत जोखिममा परेका हुन् । उनीहरुले तत्काल नदीको किनारमा तटबन्धन नगरे बस्तीनै बग्ने, सयौँ रोपनी खेतीयोग्य जमिन बगर बन्ने अवस्था आएको स्थानीय महेन्द्र रोकाले गुनासो गरेका छन् । एकातर्फ दोहन हुँदा अर्कोतर्फ नदीको धार परिवर्तन हुने गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नदी किनारका जोखिम स्थानको अवलोकन गरेर नदीको धार परिवर्तन भएकाले रोक्नुपर्ने बताउनुभयो । उहाँले दोहन गर्नेलाई कारबाही गर्न पहल गर्नेसमेत बताउनुभयो । “नदीलाई सहजै बग्न दिए त केही नहोला, नत्र जोखिम बढेकै देखियो”, उहाँले भन्नुभयो, “तटबन्धनको काम गरेमात्र जोगाउन सकिन्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रजिअ सुवेदी, नगरप्रमुख श्रेष्ठ र प्राविधिकको टोलीले अनुगमन गरेर नदी दोहन रोक्ने, तटबन्धन गर्ने र थुप्रिएको सामग्री ‘घाटगादी’ गरेर तत्कालको समस्या समाधान गर्न सकिने सुझाउनुभएको छ ।

खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका खत्री

गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री ।

शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् । तस्बिरः रुपनी जि एम

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

रसुवा, १७ असार : आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिनुभयो । उहाँले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताउनुभयो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए । अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ ।

टीकापुर नगरपालिकाले असल करदातालाई गर्‍यो सम्मान

टीकापुर (कैलाली), १७ असार : कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो ।

यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल , पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी हुनुहन्छ छ । यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ ।

सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताउनुभयो । “पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ ।”

यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भन्नुभयो, “ समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।”

नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिनुभयो । “पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनुपर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ”, उहाँले भन्नुभयो, “कर सङ्कलन भएर देश चलेको छ । यसैले करदाता सम्मानको हकदार हुनुहुन्छ ।”

टर्कीका इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते

टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भएको थियो ।

टिआरटीले घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको र घटनास्थलमा आपत्कालीन टोलीहरुद्वारा अनुसन्धान भइरहेको रिपोर्ट गरेको छ ।विष्फोटपछि दमकल टोलीहरूले तुरुन्तै अर्को आगो निभाएका थिए ।

इज्मिरका गभर्नर सुलेमान एल्बानले टिआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिनुभयो ।विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।

परिवर्तनको आह्वानका बीच इरानको निर्वाचनमा मतदाताहरूको समर्थनमा गिरावट

इरानको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा सुधारवादी र रूढिवादीहरू दुवैका लागि समर्थन घट्दै गएको विश्लेषकहरूले बताएका छन् । यद्यपि केही मतदाताहरूले एकमात्र सुधारवादी उम्मेदवारलाई समर्थन गरेर परिवर्तनका लागि जोड दिइरहेका छन् ।

गत महिना हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अतिरूढिवादी राष्ट्रपति इब्राहिम रायसीको स्थान लिनका लागि शुक्रबार भएको निर्वाचनमा सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान र अतिरूढिवादी सइज जलिलीले नेतृत्व गर्नुभएको थियो ।

इन्टरनेसनल क्राइसिस ग्रुप थिङ्क ट्याङ्कका अली वेजले भन्नुभयो, “शुक्रबार भएको मतदानमा ऐतिहासिकरूपमा कम मतदान भयो, यसबाट सुधारवादी र रूढिवादीहरू दुवैको आधार धेरै सङ्कुचित भएको स्पष्ट भएको छ ।”

निर्वाचनको नेतृत्वमा पूर्वराष्ट्रपति मोहम्मद खतामी र उदारवादी हसन रुहानीको समर्थनमा इरानको मुख्य सुधारवादी गठबन्धनले पेजेस्कियानलाई समर्थन गर्यो ।

“सुधारवादीहरूले सबैभन्दा शक्तिशाली मानिस र सङ्गठन तयार गरे र आफ्नो आधारलाई परिचालन गर्न सक्दो प्रयास गरे तर यो बिल्कुल अपर्याप्त थियो”, सामाजिक सञ्जाल एक्समा वेजले भन्नुभयो, “यसैगरी जबर्जस्त स्रोतहरू परिचालन गरेर पनि रूढिवादीहरू पर्याप्त मत हासिल गर्न असफल भए ।”

जलिली र तेस्रो स्थानमा रहनुभएका रूढिवादी संसदीय सभामुख मोहम्मद बघेर गालिबफको संयुक्त भोट कूल एक करोड २८ लाख भएको बताउनुभयो । उक्त आँकडा सन् २०२१ को निर्वाचनमा रायसीको करिब एक करोड ८० लाख मतभन्दा धेरै कम थियो ।

छ करोड १० लाख योग्य मतदाताहरूमध्ये ४० प्रतशितले मात्र मतदान गरेका छन् । यसले इरानमा रेकर्ड कम मतदानलाई देखाउँछ र केही मानिसले यो प्रक्रियामा विश्वास गुमाएको देखाएको छ । निर्वाचनमा १० लाखभन्दा धेरै मत्र बदर भएका छन् ।

वेजका लागि सन् २०२१ बाट करिब ४९ प्रतिशतले मतदानमा कमीले सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँग अन्तिम राजनीतिक शक्ति भएको इरानमा नेतृत्वका लागि वास्तविक लज्जास्पद थियो ।

राजनीतिक टिप्पणीकार मोहम्मद रजा मनाफीले पेजेस्कियानको नेतृत्वले अर्थतन्त्र र बाँकी विश्वसँगको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ का लागि धक्कालाई देखाएको बताउनुभयो ।

“पेजेस्कियानको समर्थन गर्नेहरूले ‘कुनै चमत्कार वा द्रुत समाधानको अपेक्षा गर्दैनन्’ तर उहाँले विस्तारै स्थितिलाई बिग्रनबाट रोक्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो ।

बढ्दो मुद्रास्फीति, उच्च बेरोजगारी र अमेरिकी डलरको तुलनामा इरानी रियालको भाउमा कीर्तिमानी न्यूनतासँगै इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आर्थिक प्रभावसँग सङ्घर्ष गरिरहेको छ ।

इजराइल र तेहरानको सहयोगी हमासबीचको गाजा युद्ध र इरानको आणविक कार्यक्रममा कूटनीतिक तनावलाई लिएर बढ्दो क्षेत्रीय तनावका बीच पनि मतदान भएको छ ।

सन् २००८ देखि संसद्मा उत्तरपश्चिमी सहर ताब्रिजको प्रतिनिधित्व गर्नुहुने हृदयरोगका शल्य चिकित्सक पेजेस्कियान ‘आर्थिक भ्रष्टाचारको कुनै पनि आरोपबिना सफेद रेकर्ड’ का कारण शीर्षमा आउनुभएको मनाफीले बताउनुभयो ।

आधिकारिक आँकडामा पेजेस्कियानलाई ४२ दशमलव चार प्रतिशत र जलिलीलाई ३८ दशमलव छ प्रतिशत मत प्राप्त भएको छ ।

सुधारवादी नेता पेजेस्कियानले ‘इरानलाई उसको एक्लोपनबाट बाहिर निकाल्न’ का लागि वासिङ्टन र युरोपेली राजधानीहरूसँग ‘रचनात्मक सम्बन्ध’ गर्न आग्रह गर्नुभएको छ ।

यसको विपरीत जलिलीलाई उहाँको असहज पश्चिमविरोधी अडानका लागि व्यापकरूपमा चिनिन्छ । उहाँ पूर्व आणविक वार्ताकार हुनुहुन्छ र हाल इरानको सर्वोच्च सुरक्षा संस्था सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा खमेनीका प्रतिनिधि हुनुहुन्छ ।

आफ्नो निर्वाचन अभियानका क्रममा उहाँले पश्चिमप्रति ‘कुनै सम्झौता होइन, कुनै आत्मसमर्पण होइन’ भन्ने नाराअन्तर्गत कट्टरपन्थी समर्थकहरूको एउटा ठूलो आधार तयार गर्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिका र अन्य विश्व शक्तिहरूसँगको सन् २०१५ को आणविक सम्झौताको दृढताका साथ विरोध गर्नुभयो । यसबाट प्रतिबन्धबाट राहतको बदलामा इरानको आणविक गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

सो समयमा जलिलीले सम्झौताले आणविक स्थलहरूको निरीक्षणलाई स्वीकार गरेर इरानको ‘लाल रेखा’ को उल्लङ्घन गरेको तर्क दिनुभएको थियो । उक्त सम्झौता सन् २०१८ मा पतन भयो ।

समुन्द्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाँदा श्रीलङ्काका पाँच मछुवाको मृत्यु

शनिबार समुद्रमा तैरिरहेको बोतलमा भेटिएको सामग्री खाएका पाँच श्रीलङ्काली मछुवाको आइतबार दिउँसो मृत्यु भएको नौसेनाका प्रवक्ता क्याप्टेन गायन विक्रमसुरियाले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “पीडितहरू टङ्गले फिशरीज हार्बरबाट यात्रा गर्ने छ जना चालक दलका सदस्य हुन् । उनीहरूले तटीय क्षेत्रबाट करिब तीन सय २० नटिकल माइल टाढा उक्त बोतल फेला पारेको र त्यसमा मदिरा भएको मानिने सामग्री गरेका थिए ।”

विक्रमसूर्याले एक जना बाँचेको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक उपचार भइरहेको जानकारी दिनुभयो ।

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।

मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न सङ्घर्ष गरिरहेका छन् ।

रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ ।

मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ । मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ ।

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, १७ असार : म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।

बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दिपेश केसीले बताउनुभयो । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।

विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताउनुभयो । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताउनुभयो । पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताउनुभयो । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।

गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ । बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको रु ७० लाख र बेनी नगरपाकिलाको रु ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताउनुभयो । यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले रु ७६ लाख २१ हजार एक सय ९९ मा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।