`

दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

दाङ – यहाँको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई मंगलबार खोलाले बगाउँदा मृत्यु भएको हो ।

गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन् । खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गृहसचिव अर्याल स्वदेश फिर्ता – नेपाली सुरक्षाकर्मीले भोग्नुपरेका समस्यालगायत बारेमा छलफल भयो

काठमाडौँ – गृह सचिव एकनारायण अर्याल अमेरिकामा भएको चौथो ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’ मा सहभागी भई मंगलबार स्वदेश फर्कनुभएको छ । सचिव अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा यही असार १२ देखि १३ गतेसम्म सञ्चालन भएको उक्त समिटमा सहभागी भएको थियो ।

समिटमा गृह सचिव अर्यालसँगै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की सहभागी हुनुभएको थियो । गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, गृह मन्त्रालयका पदाधिकारीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृह सचिव अर्यालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापनामा पु¥याएको योगदानको उच्च प्रशंसा भएको उल्लेख गर्दै भ्रमणमा नेपाली सुरक्षाकर्मीको सङ्ख्या, सुविधा, तालिम र शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले भोग्नुपरेका समस्यालगायत बारेमा छलफल भएको बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्रसङ्घमा नेपाली सुरक्षाकर्मीको सङ्ख्या घटिरहेको सन्दर्भमा महिला, सम्बन्धित विषयका विशेषज्ञ र महत्वपूर्ण पदमा नेपालीलाई सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । सो अवसरमा गृह सचिव अर्यालको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र सङ्घका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ अधिकृत एवं टर्की, फ्रान्स, बेलायत, क्यानडा, अमेरिका, दक्षिण कोरिया, नाइजेरिया, घानालगायतका देशका प्रतिनिधिसँग दुईपक्षीय तथा बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र सङ्घमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्नुभएको थियो । गृह सचिव अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल उक्त समिटमा सहभागी हुन यही असार १० गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

कानुनी दायरामा नआउने शिक्षण संस्थालाई बन्द गराउन सुझाव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वसचिव शङ्कर कोइरालाको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थालाई कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ ।

  त्यस्ता सम्बन्धनका विषयमा अध्ययन गर्न गठित उक्त ‘विज्ञ समितिको प्रतिवेदन, २०८१’ मा विधायिकी कानुनको परिधिभित्र ती संस्थालाई ल्याउनुपर्ने, सोअन्तर्गत नआउने शिक्षण संस्थालाई बन्द गराउनुपर्ने सुझाव समितिले दिएको हो ।

गत वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकबाट निर्मित समिति गठन गरिएको थियो । सो समितिको प्रतिवेदन मंगलबार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । हाल ‘ए लेभल’का ३२, स्नातक र स्नातकोत्तर तहका ५९ शिक्षण संस्थाहरु विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित छन् ।  

एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार

काठमाडौँ, १८ असार : नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो ।

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ ।

बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, १८ असार : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभएको छ ।स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक कार्यक्रममा अध्यक्ष भट्टराईले गिरिजाबाबुले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

“शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ, शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न दलहरु प्रतिबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाबाबुको नेतृत्वमा सुरु गरिएकाले त्यसलाई पूर्णता दिने विषयमा दलहरु एकठाउँमा उभिनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । “शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाबाबुप्रति उचित सम्मान हुन्छ”, उहाँले भन्नुभयो–“सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला गर्न हुँदैन ।”

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउन सकेमात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुङ्गिने बताउनुभयो । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

‘विपद् पूर्वतयारीमा तीनै तहका सरकारबीच सहकार्य जरुरी’ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा) १८ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विपद्जन्य पूर्वतयारीमा तीनै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘विपद् व्यवस्थापनका लागि अन्तर सरकार सुदृढीकरण’ विषयक अन्तरक्रियामा उहाँले थोरै लगानीमा पूर्वतयारी गरिए विपद्बाट हुनसक्ने ठूलो क्षति कम गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले प्राकृतिक विपद्मा परेर घर गुमाएकालाई राहत स्वरुप  एक लाख र गरिबलाई रु तीन लाखको घर बीमा गरिदिने जानकारी दिुनभयो । प्रदेश सरकारले प्राकृतिक विपद्को सामना गर्न स्रोत र साधनले भ्याएसम्म  सबै तयारी गरेको उहाँको भनाइ थियो । मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले विपद्पछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको धारणा राख्नुभयो । 

अन्तरक्रियामा मधेस प्रदेशका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको थियो ।

बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, १८ असार : बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताउनुभयो ।

सूचना अधिकारी पोखरेलका अनुसार पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने छ । आयोजना कार्यालयले काठेपुल राख्न उक्त स्थानको निरीक्षण गरिसकेको छ । पानी निरन्तर परिरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम छ ।

यसैबीच निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।

सभापति देउवासँग अध्यक्ष नेपालको भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

मंगलबार अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए ।

नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए ।

उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, १८ असार : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

यसअघि, न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो । सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गत जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश दिएको हो ।

‘दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ’ – शेखर कोइराला

पर्सा, १८ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षत्रीय समितिले आज वीरगञ्जमा आयोजना गरेको स्व गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरलाले प्रधानमन्त्री र मन्त्री कोे बन्ने विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता अल्झिन नहुने बताउनुभयो । नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न उहाँले दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव दिनुभयो ।

अब बन्ने कांग्रेस र एमालेसहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, शङ्कर भण्डारीलगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले पार्टी र राष्ट्रलाई बलियो बनाउन खेल्नुभएको भूमिकाबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

वीरगञ्जको छपकैयाको इदगाह चोकमा स्व कोइरालाको पूर्णकदको सालिक पुनःनिर्माण गरिएको हो ।

पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम हस्तान्तरण

गुल्मी, १८ असार : गुल्मीको मालिका गाउँपालिका–६ स्थित कँडेलपाटामा शनिबार पहिरोमा परी मृत्यु भएका भेषबहादुर विकको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । प्रजिअ शर्माले आज सङ्घीय सरकार र प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त रु ११ लाख रकम मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल एवं वडाध्यक्ष दीपक भण्डारीसहितको रोहबरमा मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले विपद्को घडीमा पालिकावासीलाई धैर्य रहन आग्रह गर्दै पालिकाको तर्फबाट पीडत परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

गत शनिबार जिल्लाको मालिका गाउँपालिका–६ स्थित कँडेलपाटामा आएको पहिराले भेषबहादुर विकको घर पुरिँदा उहाँसहित उहाँकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीहरू विपना विक र सपना विकको घटनास्थलमै मृत्यु भएको थियो । पहिराका कारण सोही गाउँका अन्य घर जोखिममा छन् ।

कांग्रेस र एमालेबीच भएको सरकार बनाउने नयाँ सहमतिप्रति राप्रपा सकारात्मक

काठमाडौँ, १८ असार-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै कांग्रेस र नेकपा एमालेबीच भएको सरकार बनाउने नयाँ सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो ।

“अहिले कांग्रेस र एमालेबीच नयाँ सहमतिका साथ सरकार बनाउने कुरा आएको छ जुन स्वागतयोग्य छ”, बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, “यो सहमतिको मूल विन्दु भनेको संविधान संशोधन हो । संविधान संशोधनका लागि मुख्य र दोस्रो दल मिलेर सरकार बनाउने विषय सकारात्मक छ ।”

राप्रपाले लामो समयदेखि संविधान संशोधनको विषय उठाउँदै आएको र त्यसका निम्ति नयाँ समझदारी कायम गरेर जानुपर्ने धारणा पार्टीको रहेको अध्यक्ष लिङ्देनको भनाइ छ ।  बैठकले विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अहिले नै ठोस धारणा बनाएर निष्कर्षमा नजाने निचोड निकालेको छ ।

यसका निम्ति सबै राजनीतिक दलहरुबीच नयाँ समझदारी बन्नुपर्ने राप्रपाको धारणा छ । अध्यक्ष लिङ्देनले पछिल्लो विकसित राजनीतिबारे राजनीतिक दलहरुसँग निरन्तर छलफल रहने उल्लेख गर्नुभयो ।

श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत

श्रीलङ्काको मन्त्रिपरिषद्ले महिलाहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन बाधाहरू हटाउन विशेष ऋण योजना लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले उद्यम क्षेत्रलाई पुनः सुदृढ गर्न लगानी योजनाका रूपमा २० अर्ब श्रीलङ्काली रुपैयाँ (छ करोड ५० लाख अमेरिकी डलर) विनियोजन गर्ने निर्णय गरेको सरकारको सूचना विभागले जनाएको छ ।

   त्यसमध्ये दुई अर्ब रुपैयाँ (६५ लाख अमेरिकी डलर) महिलासम्बन्धी ऋण योजना कार्यान्वयन गर्न खर्च गरिनेछ ।       श्रीलङ्काको आर्थिक मामिलामा महिलाको सहभागिता अन्य क्षेत्रीय र एसियाली देशहरूको तुलनामा न्यून रहेको पाइएको छ ।

   श्रीलङ्काका कार्यबलको सन् २०२२ सर्वेक्षणअनुसार आर्थिकरूपमा सक्रिय जनसङ्ख्याको ३५ प्रतिशत महिला छन् । यसले आर्थिक सहभागिताको लैङ्गिक योगदान दरमा ठूलो असमानता देखाएको विभागले उल्लेख गरेको छ ।       महिलाको सीमित वित्तीय साक्षरता र ऋण लिन आवश्यक पर्ने सम्पत्ति वा सुरक्षाको अभावजस्ता कारणले वित्तीय स्रोतमा पहुँचको अवसर सीमित भएको विभागले जनाएको छ ।

एकल महिला सुरक्षा कोषको रकम उपयोग गर्न माग

काठमाडौँ, १८ असार : एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गर्नुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त कोषको रकम उपयोग गर्न माग गर्नुभएको हो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिला सवाललाई आयोगको तर्फबाट कायान्र्वयन गर्न सिफारिस गर्ने बताउनुभयो । साथै उहाँले आयोगले चालु आर्थिक वर्षमा सात वटै प्रदेशमा एकल महिलासम्बन्धी कार्यक्रम गरेर अवस्था अनुगमन गरेको जानकारी दिनुभयो । “यही आवाजलाई हामी सरकार समक्ष पु¥याउने मात्रै होइन, कार्यान्वयन गराउनसमेत जोड दिने छौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रियमानव अधिकार आयोगका सदस्य लीली थापाले एकल महिलाको संरक्षण गर्न बनाएको एकल महिला सुरक्षाकोष पाँच वर्षसम्म उपयोग नहुनुले मुलुकका सात प्रतिशत जनसङ्ख्या भएका एकल महिलाले कठिनाइ भोगेको बताउनुभयो । “पाँच वर्षमा चार महिलामन्त्री परिवर्तन हुनुभयो, तर, कोषको उपयोग हुनसकेन”, उहाँले भन्नुभयो, “कोषमा छ करोड बजेट फ्रिज भएको छ, एकल महिलाले दुःख पाएका छन् ।” उहाँले महिला मन्त्रालयले कोषको उपयोगमा तुरुन्तै ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कविता पाण्डेले एकल महिलाको अवस्थामाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले विश्वभरी एकल महिलाको अवस्था दयनीय रहेको तथ्य देखाउँदै नेपाली एकल महिलाको स्थीति दर्दनाक रहेको बताउनुभयो । “राज्यले एकल महिलाको न्यायका लागि राम्रा कानुन बनायो तर, कार्यान्वयन गराउन सकेन,” उहाँले भन्नुभयो, “बनेका कानुन र नीति तुरुन्तै लागू गर्न सरकारलाई दबाब दिन आवश्यक छ ।”

भ्रष्टाचार समाजको नियति बनेकामा सांसदहरू चिन्तित

काठमाडौँ, १८ असार : प्रतिनिधिसभा सदस्यहरूले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन् ।

सङ्घीय संसद् सचिवालय मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित ‘नेपालमा भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्था ः समस्या र सुझाव’ कार्यक्रका वक्ताले कानुन कार्यान्वयनको अवस्था, व्यावहारिकता र वर्तमानमा भइरहेका अभ्यासले कोही गम्भीर प्रकृतिका अनियमिततामा पनि उम्किने र कोही सामान्य त्रुटिका कारण जीवनभर अप्ठेरोमा परेका दृष्टान्त सुनाउनुभयो ।

केही वक्ताले विद्यालय पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइएपछि भ्रष्टाचार अझ मौलाएको बताउनुभयो ।

सांसद रञ्जुकुमारी झाले कानुन निर्माणको जिम्मेवारीमा रहेका सांसद सदनमा अनुपस्थित हुनु पनि भ्रष्टाचारकै एउटा रुप भएको तर्क गर्नुभयो ।अर्का सांसद नारायणी शर्माले पहुँच र प्रभावका आधारमा मुद्दाको छिनोफानो हुने आम बुझाइ रहेको बताउनुभयो ।

सांसद रणेन्द्र बराइलीले भ्रष्टाचारमा संलग्नमाथि भएका कारबाही र उन्मुक्तिको अवस्था विश्लेषण गर्दा यो वर्गीय, सत्तापक्ष र प्रतिपक्षमा विभाजित देखिएकाले राज्य सञ्चालकलाई प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।

अर्का सांसद उर्मिला माझीले भ्रष्टाचार समाजको शत्रु भएकोले त्यसलाई घटाउन कठिन छ भन्नुभयोे ।प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले भ्रष्टाचार व्यक्तिको आचरणसँग सम्बन्धित भएकाले कानुनभन्दामाथि कोही छैन भन्ने संस्कार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दीपा शर्माले देशमा भ्रष्टाचार मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो । सांसद किरण साहले राजनीतिक हस्तक्षेप र कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा भ्रष्टाचार बढेको बताउनुभयो ।

त्यस अवसरमा नेपाल ल क्याम्पसका सहप्राध्यापक बलरामप्रसाद राउतले दण्ड वा जरिवाना बढाउँदैमा भ्रष्टाचार घट्ने वा बढ्ने नभई भ्रष्टाचार नगर्ने मानसिकताको विकास गर्नेतर्फ समाज जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले भ्रष्टाचार नियन्त्रणका लागि कानुनलाई समयानुकूल तुल्याउन जनप्रतिनिधिले कानुन निर्माणका बखत ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा

काठमाडौँ, १८ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्घाटन गर्दै उहाँले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सधै चिरस्मरणीय रहने बताउनुभयो ।

सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त उल्लेख गर्नुभयो । “गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको उहाँले बताउनुभयो । गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको उहाँले बताउनुभयोे ।

प्रजातन्त्रबाट लडेर देशमा गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुमपा गिरिजाबाबु भएको सभापति देउवाले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेताले अभिरुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।

न्यायिक समितिबाट एक सय १५ मुद्दाको मिलापत्र

मनहरी (मकवानपुर), १८ असार : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ ।

उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षको उपस्थितिमा मिलापत्र गराएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले जानकारी दिनुभयो । समितिमा गत आवका २८ सहित चालु आवको जेठ मसान्तसम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएका थिए । उहाँले भन्नुभयो–“हामीले ३६ निवेदकलाई अदालत जान सल्लाह दिएका छौँ ।”

नगरभित्रका वडामा रहेका मेलमिलाप केन्द्रमा छलफल हुने गरेको र त्यहाँ टुङ्ग्यो नलागेका मुद्दा नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक एवं उपप्रमुख बानियाँले बताउनुभयो । समितिले चार निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र तीनवटा निवेदन तामेलीमा राखेको छ ।

वडा मेलमिलाप केन्द्रमा छलफलको प्रक्रियामा ५२ निवेदन रहेका तथा न्यायिक समितिमा २९ निवेदन प्रक्रियामा रहेका छन् । प्रायजसो न्यायिक समितिमा जग्गा÷साँध सिमानासम्बन्धी र आर्थिक लेनदेनसम्बन्धी विवादका उजुरी बढी आउने गरेका छन् । समितिमा जग्गा÷साँध सिमानासम्बन्धी ६२, आर्थिक लेनदेनसम्बन्धी ५१, पतिपत्नीसम्बन्धी २१, बाटोसम्बन्धी २९, घरायसी÷अंशसम्बन्धी १९, ज्याला मजदुरी नपाएका १६, घरबहाल नपाएको/कोठा खाली गरी पाउँ भन्नेबारे १४ तथा सहमति कार्यान्वयनका १२ उजुरी परेका सचिवालयले जनाएको छ ।

श्रीलङ्ककाले द्विपक्षीय ऋण सम्झौताबाट पाँच अर्ब डलर बचाउने

श्रीलङ्काले आफ्नो द्विपक्षीय ऋणको पुनःर्गठन पछि पाँच अर्ब डलर बचत गर्ने राष्ट्रपति रनिल विक्रमसिङ्घेले बताउने भएको छ । उहाँका अनुसार ऋण मध्ये धेरै चीनलाई तिर्न बाँकी छ, जुन ब्याज दर घटाएर र लामो पुनः भुक्तानी तालिकाको माध्यमबाट तिर्ने छ ।

टापु राष्ट्र श्रीलङ्काले सन् २०२२ मा अभूतपूर्व आर्थिक सङकटको समयमा आफ्नो विदेशी ऋण पुर्व निर्धारित गर्यो जसले महिनौ खाना, ईन्धन र औषधिको अभाव निम्त्यायो ।

राष्ट्रपति रनिल विक्रमसिङ्घेले गत हप्ता भएको सम्झौताले ऋण भुक्तानीमा सन् २०२८ सम्म स्थगन सुरक्षित गरेको, ऋणको अवधि आठ वर्ष विस्तार गरी ब्याज दर औसत २।१ प्रतिशतमा कटौती गरेको बताउनु भयो ।

राष्ट्रपति विक्रमसिङ्घेले सरकारको सबैभन्दा ठुलो एकल ऋणदाता चिनको नेतृत्वमा द्विपक्षीय ऋणदाता आफ्नो ऋण काट्न सहमत नभएको तर सहमत भएका सर्तहरूले श्रीलङ्ककालाई मद्दत गर्ने बताउनु भयो ।

सहमती भएका पुनर्संरचना उपायहरूले गर्दा श्रीलङ्काले पाँच अर्ब डलर बचत गर्ने, ऋण सम्झौता व्यवस्थापिकामा आफ्नो पहिलो सम्बोधनमा विक्रमसिङ्घेले संसदलाई भन्नु भयो ।

उहाँका अनुसार चीनबाट श्रीलङ्ककाले लिएको केही ऋण उच्च ब्याज दरमा रहेको छ, दोस्रो ठूलो ऋणदाता जापानबाट लिएको ऋणको तुलनामा लगभग आठ प्रतिशतले बढेको छ, जुन एक प्रतिशत भन्दा कम छ ।श्रीलङ्ककाले चीन र जापान, फ्रान्स र भारत लगायत बाँकी द्विपक्षीय ऋणदाताहरूसँग छुट्टै सम्झौता गर्यो ।

मार्च देखि ट्रेजरी डाटाका अनुसार श्रीलङ्काकको ३७ अर्ब डलरको विदेशी ऋणको २८।५ प्रतिशत द्विपक्षीय ऋणदाताहरूको रहेको छ । यसले सरकारी ग्यारेन्टी गरिएको बाह्य ऋणहरू समावेश गर्दैन ।श्रीलङ्ककाले अन्य देशबाट लिएको १०.५८ अर्ब डलर ऋणमा चीनको हिस्सा ४.६६ अर्ब डलर रहेको छ ।

विक्रमसिङ्घेले चीन विकास बैंकबाट २.१८ अर्ब डलरसहित थप १४.७ अर्ब डलरको बाह्य व्यापारिक ऋणको पुनर्गठन चाँडै सम्पन्न हुने अपेक्षा गर्नु र्भको छ ।

श्रीलङ्ककाको सन् २०२२ को सङ्कटले महिनौंको सार्वजनिक विरोधलाई जन्मायो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई क्रोधित भिडले उहाँको परिसरमा आक्रमण गरेपछि राजीनामा दिन बाध्य तुल्यायो ।

विक्रमसिङ्द्देले पदभार ग्रहण गर्दा देश आर्थिक मन्दीले ग्रसित भएको र गत वर्ष आफूले प्राप्त गरेको २।९ अर्ब डलरको अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट टापुको अन्तिम हुने आशा गरेको बताउनु भयो ।

योगिनी एकादशी व्रत: पाप नाश भई पुण्य पाइने विश्वास

काठमाडौँ, १८ असार : आषाढ कृष्णपक्षमा पर्ने योगिनी एकादशीको व्रत बस्नाले पाप नाश गर्ने विश्वास छ । यस दिनमा बिहान स्नान, प्राणायाम, सन्ध्यावन्दन गरी लक्ष्मीनारायण भगवान्को पूजा गर्नाले पुण्प्राप्त हुने जनविश्वास छ । हरिको दिन भएकाले खानुहुँदैन र यसोगर्दा शरीर स्वस्थ हुने धार्मिक विश्वास छ । कुवेरको सेवक हेममालीले शिव पूजा गर्न कुवेरलाई दैनिक फूल लैजाने गरेकामा एकदिन पत्नीको प्रेममा टाँसिएर फूल लिएर दरबारमा जान बिर्सिएकाले कुवेरले श्राप दिएको उल्लेख छ । त्यही श्रापले हेममालीका दुर्दिन सुरु भएर रोग, भोकले युक्त भए, वनमा भड्किँदै हिँड्न बाध्य भए ।

हिमालय पर्वतमा मार्कण्डेय ऋषिबाट योगिनी एकादशीको व्रत गर्ने उपदेश पाए । त्यसको प्रभावले सबै रोग निको भएर गुमेको पद र स्त्रीप्राप्त हुन्छ भन्ने मार्कण्डेयबाट सुनेपछि हेममालीले भगवान् पुण्डरीकाक्ष अर्थात् विष्णुको यथोपचार पूजाअर्चना गर्री पञ्चामृत स्नान गराएर चरणामृत आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्के र आफूले पिएका थिए । यस कर्मद्वारा कुष्ठ र चर्म रोगीको पीडा समाप्त हुने र रोगमुक्त हुन्छ भन्ने मानिन्छ । हेममालीले चन्दन, पुष्प, धूप, दीप, नैवेद्य आदि सामग्रीद्वारा पूजा गरेर प्रत्येक एकादशीका दिन विष्णु सहस्रनामको जप एवं भगवान् विष्णुको कथा सुने, परहिंसा त्यागे, कुनै किसिमको कुभलो चिताएनन्, यथासम्भव रातको समयमा जागरण गरे, भजन, कीर्तन एवं श्री हरिको स्मरण गरे ।

अन्त्यमा योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गरकाले सबै रोगव्याधिको अन्त्य भयो । मनमा आफन्तसित भिन्न भई बस्ने भावना हरायो र विछोड भएका वा छुट्टिएका परिवारजनँग मिलन भयो । त्यो हेममालीले सबै कर्म गरेर आषाढकृष्ण एकादशी योगिनीको व्रत अनुष्ठान गरेकाले रोग निको भएको, गुमेको मान र स्त्री प्राप्त भएको विश्वास गरिन्छ । त्यसैले सत्कर्ममा मन लगाई आँखाले प्रभुको दर्शन, कानले हरिकथा श्रवण, जिब्रोले प्रभुको कीर्तन गाउनु, नाकले प्रसाद सुँघेर लगाउनु, शिर प्रभुको चरणमा निहुराउनु, हातले मन्दिर सफा गरी प्रभुको पूजा र नमस्कार गर्नु, गोडाले तीर्थाटन र प्रभुको कथा भएको ठाउँमा जानु तव मनुष्य जीवन सफल हुन्छ भन्ने गरिएको हो ।

योगिनी एकादशीको व्रत बस्नाले ८८ हजारलाई भोजन गराए बराबर फल मिल्ने, यस कथालाई पढे वा सुनेमा पनि फल पाइने विश्वास गरिन्छ । विधिपूर्वक व्रतको पालना गर्नाले सबै पापबाट मुक्त हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो ।

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते

कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ।

केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो ।

केएनसीएचआर रेकर्डले “देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा“ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तीले जनाएको छ ।

अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताउनुभएको थियो । उहाँले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गर्नुभयो ।

“केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरुको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ“, आयोगले जनाएको छ ।

“प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ“, यसले बतायो । आयोगले संसद र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।

राष्ट्रपति रूटोले कर वृद्धि सम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्।

प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी जेट विमान नष्ट गरेको रुसको दावी

लामो समयदेखि प्रतीक्षा गरिएको एफ– १६ लडाकु विमानको आगमनका लागि किभ तयारी गरिरहेको समयमा हवाई अड्डामा गरिएको आक्रमणमा पाँच युक्रेनी सैन्य जेटहरू नष्ट गरेको रुसले मङ्गलबार दावी गरेको छ ।

रुसको रक्षा मन्त्रालयले रुसको सीमाबाट करिब १५० किलोमिटर टाढा रहेको मध्य युक्रेनी सहर मिरगोरोड नजिकैको हवाई अड्डामा इस्कान्डर–एम क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

रुसी सेनाको आक्रमणको परिणामस्वरूप, पाँच परिचालन एसयू–२७ बहुउद्देश्यीय लडाकुहरू नष्ट हुनुका साथै मर्मत अन्तर्गत रहेका दुई क्षतिग्रस्त भएको टेलिग्राममा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सार्वजनिक गरेको आक्रमणको फुटेजमा एयरफिल्डमा खैरो धुवाँ उडिरहेको देखाइएको थियो, जहाँ केही पार्क गरिएका विमानहरू देखिएका थिए, माटो जलेको कालो भएको थियो ।

यसअघि रुसी र युक्रेनी सैन्य ब्लगरहरूले सोमबार आक्रमणको खबर दिएका थिए ।युक्रेनको वायुसेनाले भने टिप्पणी गर्न अस्वीकार गरेको छ ।

केही क्रोधित कमान्डरहरूले पर्याप्त सुरक्षा बिना खुला ठाउँमा विमानहरू पार्क गरेकोमा युक्रेनी सैन्य संवाददाताहरूले किभले हिटमा उपकरणहरू गुमाएको थियो ।

लडाकू जेटहरूको प्रयोग द्वन्द्वभरि अपेक्षाकृत सीमित भएको जनाउदै तेस्रो वर्षमा किभले पश्चिमी एफ–१६ लडाकुहरूको आगमनले रूसी बमबारीबाट आफूलाई अझ राम्रोसँग बचाउन सक्षम बनाउने आशा गरेको छ । द्वन्द्व सुरु भएदेखि नै युक्रेनले अमेरिकामा निर्मित जेटहरू माग गर्दै आएको छ ।

धेरै नेटो सदस्य देशहरूले उनीहरूलाई आपूर्ति गर्ने वाचा गरी र महिनौँदेखि युक्रेनी पाइलट र चालक दलहरूलाई तालिम दिइरहेका छन् ।नेदरल्यान्ड्स, बेल्जियम र डेनमार्कसहितका पहिलो निर्यात चाँडै देशमा आइपुग्ने अपेक्षा गरिएको छ ।

यता रुसले भने उनीहरूलाई लक्षित गरी नष्ट गर्ने वाचा गरेको छ ।युक्रेनले एफ–१६ विमानलाई कहाँ राख्ने भन्ने कुरा भने बताएको छैन ।आक्रामक रुसी सैन्य ब्लगरहरूले यस वर्ष युक्रेनी एयरबेसहरू विरुद्ध रुसी आक्रमणहरू अपेक्षित निर्यात भन्दा अगाडि बढेको कुरा औंल्याएका छन् ।

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ ।घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिनुभएको छ ।

उहाँले घाइतेलाई तत्काल अस्पताल पु¥याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो ।जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उहाँले निर्देशन दिनुभयो ।

झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु

झापा, १८ असार : मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो”, घाइते भीममायाका पति डिल्ली राईले भन्नुभयो,“साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।”

जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिँदै बस्नुपर्ने अवस्था छ । असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट ग¥यो । “हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो,“मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !”

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छजनाको मृत्यु भएको र १३ जना घाइते भएका बताउनुभयो । सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उहाँले जानकारी दिनुभयो ।

यहाँका किसान हात्ती मात्र होइन, वर्षायाममा बाढी र चट्याङको त्रासदीबाट पनि गुज्रिरहेका छन् । नदीमा पर्याप्त तटबन्धन नहुनु, भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउने मनसुनजन्य विपद्ले बर्सेनि यहाँ मानवीय तथा भौतिक क्षति हुने गरेको छ । मेची, निन्दा, विरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले बर्सेनि ठूलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगर बनाइरहेको छ । यसको रोकथामका लागि भने ठोस प्रयास हुन सकेको छैन ।
गत असार ३ गते परेको चट्याङले मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराई दुःखमा परेका छन् । वर्र्षौदेखि हुर्काएका एक हल राँगा मरेको पीडा त छँदैछ खेत जोत्न एक हल राँगा किन्नु पर्ने र त्यसका लागि रु डेढलाख ऋण काड्नुपर्ने अवस्थाले उहाँलाई थप समस्यामा पारेको छ ।

यस्तै यही असार १२ गते बिहान गौरीगञ्ज र कमल गाउँपालिकामा परेको छुट्टाछुट्टै चट्याङ लागेर खेतमा काम गरिरहेका दुईजनाको मृत्यु र एक घाइते भए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरी र कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो ।

वर्षायाममा सर्पदंशको समस्यासमेत त्यस्तै छ । असार ११ गते बेलुका ५ः३० बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको सोफा बसिरहेका बेला विषालु सर्पले डस्यो । उपचारका लागि लैजाँदै गर्दा उहाँको मृत्यु भयो ।

स्व गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा तस्बिर प्रदर्शनी

काठमाडौँ, १८ असार : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा तस्बिर प्रदर्शनी सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित प्रदर्शनीमा कोइरालाको जीवनका महत्वपूर्ण तस्बिर राखिएका छन् । उहाँको सक्रिय राजनीतिक जीवनकालमा विभिन्न फोटो पत्रकारले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभयो ।

प्रदर्शनीमा एक सय ५१ भन्दा बढी तस्बिर राखिएका छन् । केन्द्रीय कार्यालयको सभाहलमा जारी प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँगका तस्बिरहरु छन् । प्रदर्शित तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछि शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिविम्बित गरेका छन् । शान्ति तथा विकास निर्माणको चरण, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । तस्बिर प्रदर्शनीको साथमा विमर्शसभा र वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २००४ मा विराटनगरमा भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिनुभएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहनुभएको थियो । विसं १९८१ असार १८ गते जन्मिनुभएका उहाँको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

उहाँले क्रान्तिदेखि शान्ति प्रक्रियामा पु-याउनुभएको योगदान वर्तमान र भावी पुस्तालाई जानकारी गराउने उद्देश्यले तस्बिर प्रदर्शनी गरिएको विभागले जनाएको छ । प्रदर्शनी आज साँझसम्म रहने कांग्रेसले जनाएको छ ।

रोल्पा जिप दुर्घटना : सात जनाको मृत्य्, आठजना घाइते

लुम्बिनी, १८ असारः रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ ।

घाइते मध्ये छजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छजनाको पहिचान भएको छ भने एकजना बालिकाको पहिचान भएको छैन । दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी – ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशङ्का गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

घाइते आठजनामध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका छजनालाई भने थप उपचारका लागि गएराति नै बुटवल ल्याइएको छ । सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको जनाइएको छ । चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको हुनसक्ने आशंका गरिएको छ ।

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो । जिपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा जिपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ ।तालाबाङ गाउँ शोक परेको छ । जिप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, १८ असारः विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।

वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), १८ असारः अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेकोे बताउनुभयो । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।” यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।

फिनल्यान्डद्वारा अमेरिकासँगको रक्षा सन्धि अनुमोदन

फिनिश संसद्ले सोमबार संयुक्त राज्य अमेरिकासँगको रक्षा सम्झातालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सम्झौताले फिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति र रक्षा सामग्रीको भण्डारण गर्न अनुमति दिनेछ ।

डिसेम्बरमा फिनिश सरकारले रक्षा सहयोग सम्झौता (डिसिए) मा हस्ताक्षर गरेको थियो । फिनल्यान्डको सुरक्षा र रक्षा क्षमताहरू सदृढ पार्ने उद्देश्यले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसको आक्रमण र सन् २०२३ मा नर्डिक मुलुक नाटोमा सामेल भएपछि यो सम्झौता भएको हो ।

गत वर्ष नाटो गठबन्धनमा सामेल भएपछि फिनल्यान्डको छिमेकी रुससँगको सम्बन्ध तीव्ररूपमा तनावपूर्ण भएको छ । फिनल्यान्ड र रुसले एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्छन् ।

सम्झौताले अमेरिकालाई फिनल्यान्डमा १५ सैन्य अड्डासम्म पहुँच प्रदान गर्नेछ र अमेरिकी सेनाको उपस्थिति तथा प्रशिक्षण र फिनिश क्षेत्रमा रक्षा सामग्री तयार गर्न सक्षम बनाउने छ । सम्झौताले सङ्कटको अवस्थामा दुवै मुलुकबीचको सहयोगलाई पनि सुदृढ बनाउने छ ।

स्विडेनले जुन १८ मा उसको डिसिए सम्झौतालाई अपनाउँदा सन्धिले मुलुकमा आणविक अतियारको तैनाथीको ढोका खोलेको भन्दै मतदानअघि आलोचकहरूसँग चर्को बहस भएको थियो ।

फिनल्यान्डमा विवादास्पद विषय भए पनि कानून निर्माताहरूले सन्धिले आणविक हतियारहरूमा राष्ट्रिय कानून लागु हुने सुनिश्चित गरे । कानूनअनुसार आणविक हतियारको आयात र ट्रान्जिट फिनिश क्षेत्रमा प्रतिबन्धित छ ।

सरकार र विदेश मामिला समिति दुवैले रक्षा सम्झौता फिनल्यान्डको सार्वभौमसत्ता, कानून र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत दायित्वको सम्मानमा आधारित भएको बताएका छन् ।

विदेश मामिला समितिका अध्यक्ष सांसद किम्मो किलजुनेन (सोसल डेमोक्रेटिक पार्टी) ले सोमबारको पूर्ण सत्रमा डिसिए सम्झौतालाई ‘ऐतिहासिक क्षण’ का रूपमा स्वीकार गर्नुभयो ।

“यो सम्झौताको काम नाटो सदस्यताको जस्तै फिनल्यान्ड र फिनिश जनताको सुरक्षालाई बलियो बनाउनु हो”, उहाँले भन्नुभयो ।

अमेरिकाले फिनल्यान्डका नर्डिक छिमेकीहरू स्विडेन, नर्वे र डेनमार्कसहित ११ अन्य नाटो मुलुकसँग यस्तै प्रकारको डिसिए सम्झौता गरेको छ ।

चीनद्वारा डिजिटलाइज्ड सवारी दर्ता लाइसेन्स जारी

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक व्यवस्थापन सेवामार्फत परिष्कृत गर्न डिजिटाइज्ड सवारीसाधन दर्ता गर्ने नीति सुरु गरेको छ ।

चिनियाँ कानूनले सवारी चलाउँदा चालकले सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र दुवै बोक्नुपर्छ ।

मन्त्रालयले सोमबार बेइजिङ र तियानजिनलगायतका ६० सहरमा २१ करोड ५० लाखभन्दा बढी डिजिटलाइज्ड इजाजतपत्र जारी गरेको छ ।

मन्त्रालयले यसको ट्राफिक व्यवस्थापन १२१२३ प्लेटफर्ममा अटो रिप्लेसमेन्ट सब्सिडी कार्यक्रम प्रवर्द्र्धन गर्न अनलाइन ट्राफिक सेवाहरूमा पनि सुधार गरेको छ । यसबाट ६३ हजारभन्दा बढी चालक लाभान्वित भएका छन् ।

सुधारिएको अनलाइन ट्राफिक सेवाले ४० लाखभन्दा बढी व्यक्ति र उद्यमलाई शुद्धता र सुविधा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

दमौली (तनहुँ), १८ असारः तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।

बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास (होमस्टे) को संरक्षण, प्रवर्द्धन, घरबासमा पूर्वाधार निर्माणमा सहयोग गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ । यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताउनुभयो ।

पर्यटनलाई आम्दानीको मुख्य स्रोत ठान्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्कने कार्यक्रम सञ्चालन गर्ने सोचमा छौँ ।”

गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित बन्दीपुरका छवटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि बन्दीपुर गाउँपालिकामा पर्यटकीय केन्द्र बनाइने अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका पर्यटकीयस्थलको संरक्षण गर्ने नीति अगाडि सारिएको छ ।

आवासीय सुविधासहित एसइईको तयारी कक्षा

तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसइईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आजदेखि रामशाह मावि र मित्रता माविमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकहरूले सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई विद्यालयको नतिजा शून्य छ । छिम्केश्वरी मावि र कन्यादेवी माविका सबै विद्यार्थी एसइईमा अनुत्तीर्ण भएका छन् । छिम्केश्वरीका १४ र कन्यादेवीका १९ विद्यार्थी परीक्षामा अनुत्तीर्ण छन् । कुल चार सय ३३ विद्यार्थीमध्ये ३.६–४ जिपिए ल्याउने १६, ३.२–३.६ जिपिए ल्याउने ४५, २.८–३.२ जिपिए ल्याउने ५२, २.४–२.८ जिपिए ल्याउने ३६ र २.०–२.४ जिपिए ल्याउने दुई विद्यार्थी छन् ।

अध्यक्ष चुमानले एसइईको नतिजाले जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको माध्यमिक शिक्षा परीक्षामा आँबुखैरेनी गाउँपालिका नराम्रोसँग फेल भएको छ । यो नतिजाको अनुत्तीर्णमा बच्चाहरूको नाम देखिए पनि खास फेलचाहिँ हामी सरकारमा बसेर जिम्मेवारी लिने ठूला मान्छे पल्टिएकाहरू, केही हदसम्म विद्यालय प्रशासन र विषय शिक्षक भएको जस्तो लाग्छ ।”

म्याग्दीको पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी, १८ असार- म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताउनुभयो । “खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”

स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ । स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा रु १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहनुभएका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु छ लाख ९१ हजार, अष्टे«लियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट रु एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०/८१ मा रु सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले रु आठ लाख १८ हजार पाँच सहयोग गरेका छन् । पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु ११ हजार र पाखापानी गाउँबाट रु नौ हजार सहयोग प्राप्त भएको थियो ।

स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरू खिम पुन र भीम पुनले रु तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गर्नुभएको छ । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताउनुभयो ।

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

काठमाडौँ- वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोगगरी देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धिगरी भविष्यमा सहज जीविकोपार्जन गराउने उद्देश्यका साथ सञ्चालित वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी देखिएको छ ।

सो कार्यक्रमअन्तर्गत सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालगायत क्षेत्रमा विभिन्न क्रियाकलाप हुँदै आएका छन् । सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको क्षेत्रमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदारका रुपमा सन् २०१९ देखि कार्य गर्दै आइएको छ ।

डिप्रोक्सले वैदेशिक रोजगारमा रहेका विप्रेषण प्राप्त घरपरिवारका सदस्यलाई लक्षित गरी २१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्दै आइरहेको छ । तेस्रो चरणको कार्यक्रमअन्तर्गत हालसम्म ३८ जिल्लाका एक सय ५६ स्थानीय तहमा दुई हजार तीन सय ९९ वित्तीय साक्षरता कक्षा सम्पन्न भएका डिप्रोक्सका निर्देशक कैलाश रिजालले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।

वित्तीय साक्षरता तथा मनोपरामर्श कार्यक्रममा ५८ हजार छ सय ९४ महिला र एक हजार एक सय ९९ पुरुष गरी कूल ५९ हजार आठ सय ९३ जनाको सहभागिता रहेको थियो । डिप्रोक्सले सामी परियोजना सञ्चालन नभएको थप एक स्थानीय तहका एक सय ८४ जनालाई पनि वित्तीय साक्षरताका विविध आयामबारे जानकारी गराएको थियो ।

डिप्रोक्सले चलाएको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षमा सहभागीमध्ये अधिकांशले औपचारिक वित्तीय संस्थाबाट विप्रेषण प्राप्त गर्ने गरेको जानकारी गराएका थिए । बैंकिङ च्यानलबाट विप्रेषण प्राप्त गर्ने सहभागीको सङ्ख्या ९९ दशमलव ७२ प्रतिशत रहेको डिप्रोक्सले जनाएको छ । जुन वित्तीय साक्षरता कक्षा सञ्चालन अघि ६६ प्रतिशत मात्र थियो ।

नियमित बचत गर्ने, औपचारिक वित्तीय संस्थामा खाता खोल्ने, आम्दानी तथा खर्चको हिसाब राख्ने तथा आकस्मिक कोषको स्थापना गर्ने सहभागीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको निर्देशक रिजालले जानकारी दिनुभयो । यस्तै ६१ प्रतिशतले विदेश जाँदा लिएको पूरै ऋण तिरिसकेका तथा जीवन बीमा कार्यक्रममा सहभागिता जनाउने सहभागीको प्रतिशत ११ दशमलव २१ अङ्कले वृद्धि भएको डिप्रोक्सले जनाएको छ ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी हुनुअघि शून्य दशमलव ५४ प्रतिशतले गरेको व्यवसाय तथा चार दशमलव ३० प्रतिशतले गरेको व्यवसाय विस्तार कार्यक्रममा सहभागितापश्चात् तीन दशमलव १० प्रतिशतले व्यवसाय प्रारम्भ तथा १२ दशमलव ९१ प्रतिशतले विस्तार गरेको तथ्याङ्क छ ।

विभिन्न २१ वटा स्थानीय तहले वित्तीय साक्षरतालाई स्थानीय तहमा मूल प्रवाहीकरण गर्न वित्तीय साक्षरता रणनीति तयार गरेका निर्देशक रिजालको भनाइ छ । थप पाँच वटा स्थानीय तहमा रणनीति निर्माणको प्रक्रियामा रहेको छ ।

वित्तीय साक्षरता कार्यक्रम कार्यान्वयनसँगै वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानी दिगो र नियमित नहुने महशुस भई आम्दानीको स्रोतहरु खोज्न थालेका, भइरहेका व्यवसाय विस्तार तथा नयाँ व्यवसाय सुरुआत गरी वैदेशिक रोजगारमा भइरहेका व्यक्तिको पुनःएकीकरणमा सहयोग भएको डिप्रोक्सका निर्देशक रिजाल बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको कागजपत्र परिवारका सदस्यले राख्ने बानीको विकास हुँदा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न सहज भएको तथा आम्दानी खर्चको ‘रेकर्ड’ राख्ने बानीका कारण परिवारमा पारदर्शीता कायम भई अनावश्यक खर्च कम गर्न सहयोेग पुग्नुका साथै केही विछोडिएका परिवारकोसमेत पुनःमिलन भएको उहाँको भनाइ छ ।

कार्यक्रमअन्तर्गत डिप्रोक्स नेपालले वित्तीय साक्षरता पाठ्यक्रम, पाठ्यपुस्तक, प्रशिक्षक निर्देशिका तथा तालिम सामग्रीका साथै विधिको निर्माण गरी वित्तीय साक्षरता सहजकर्ता परिचालित गरेको छ ।

डिप्रोक्सले स्थानीय साझेदार सेवा प्रदायक, स्थानीय सरकारका साथै अन्य सरोकारवलाको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्राविधिक सहयोग, कक्षाको नियमित अनुगमन, स्थानीय, प्रदेश र सङ्घ सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर सम्पर्क समन्वय गर्दै आइरहेको छ ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । सन् २०१८ देखि २०२४ सम्म सामीको तेस्रो चरण चलिरहेको छ । कार्यक्रमको प्रथम तथा दोस्रो चरण सन् २०११ देखि २०१८ सम्म सञ्चालन भएको थियो ।

गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ !

नारायन गाउँले । गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ !

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् !

सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो !

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट’ भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

नेपालको राजनीति !

एक लाख रकम लिएको अभियोगमा फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक पक्राउ

ताप्लेजुङ- फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट रु एक लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२ तारीबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट हुसेनले अतिरिक्त रकम लिएको निर्माण व्यवसायीको दाबी छ ।

फुङलिङ नगरपालिका–२ का वीरबहादुर तामाङले आफूले ठेक्कामार्फत काम गरेको र प्राविधिकले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको बताउनुभएको छ ।

काम गरेवापतको रु छ लाख ६४ हजार पाँच सय ४१ भुक्तानी लिएको र भुत्तानीको चेक लिनुअघिदेखि नै हुसेनले मलेपको टोलीलाई दिनुपर्छ भनेर २० प्रतिशत पैसा मागेको तामाङले बताउनुभयो । आफूले पैसा दिन नसकिने भनेपछि पटकपटक फोन गरेर २० बाट घटेर १५ प्रतिशत मागेको उहाँको भनाइ छ । त्यसपछि अख्तियारको कार्यालयमा खबर गरेर अख्तियारको टोली आएपछि उहाँको निवासमा गएर उहॉले मागेको १५ प्रतिशत पैसा दिएको तामाङले बताउनुभयो ।

काम सम्पन्न गरेर पनि आफूलाई भुक्तानी लिन निकै हैरानी दिएको तामाङको गुनासो छ । नगरपालिका उपप्रमुख नेतृत्वको टोलीले अनुगमन गर्नुपर्ने, अनुगमन गरेरपनि उपप्रमुखले पहिला प्राविधिकलाई सही गराउनु भन्ने, प्राविधिकले उपप्रमुखलाई सही गराउनु भन्ने जस्ता हैरानी दिएको तामाङको भनाइ छ ।

‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’ – योगेश भट्टराई

लुम्बिनी, १८ असारः प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठिन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् । यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरुयोजनाका विषयमा छलफल गरिएको थियो ।

सो अवसरमा सदस्य भट्टराईले लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले कोषको ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउँदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केञ्जोटागेले निर्माण गरेको लुम्बिनी गुरूयोजनाका बाँकी काम सकेर गुरूयोजनालाई पनि समय अनुकूल बनाउनुपर्छ । ” सांसद भट्टराईले लुम्बिनी विकास कोषको वार्षिक आम्दानी निकै न्यून रहेको, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

त्यसैगरी टोलीले लुम्बिनी गुरुयोजनाका काम, लुम्बिनीको विद्युतीय बस सञ्चालन, विभिन्न विकास निर्माणलगायतका विषयमा चासो राखेको थियो । संसदीय टोलीसँग लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले सरकारले गुरूयोजनाका लागि मात्रै त्यो पनि निकै न्यून बजेट छुट्याउने गरेको बताउनुभयो । उहाँले लुम्बिनीसँगै प्राचीन कपिलवस्तु तिलौराकोट दरबार, अस्तुधातु रहेको रामग्राम, मावली देवदहको विकासका लागि बजेट अभावले काम गर्न नसिकएको छैन भन्नुभयो ।

यस्तै लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुति गर्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भए पनि संरचना स्वीकृत हुन नसकेको बताउनुभयो । भ्रमण टोलीमामा संयोजक भट्टराईसहित प्रतिनिधिसभा सदस्यहरू अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँड, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सहभागी रहनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी आज मनाइँदै

काठमाडौँ – नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उहाँको जन्म भएको थियो । विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । उहाँ कांग्रेसको पाँचौँ सभापति बन्नुभएको थियो । कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहनुभयो । विसं २०४८, २०५५ र २०५६ मा गरी उहाँ २०६२÷२०६३ को आन्दोलनअघि उहाँ तीनपटक प्रधानमन्त्री बन्नुभएको थियो ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गर्नुभएको थियो । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफँै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत हुनुभएको थियो । जसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । आन्दोलन सफल भएपछि उहाँ चौँथोपटक प्रधानमन्त्री बन्नुभएको थियो । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उहाँकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उहाँका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिष्पर्धामा सहभागी भएको थियो ।

चारपटक प्रधानन्त्री बन्नुभएका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो । राजा ज्ञानेन्द्र निलम्वनमा पर्नुभएसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्क्षको भूमिका निर्वाह गर्नुभएको हो । उहाँकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको हो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १००औँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांगे्रसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाका जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने जनाइएको छ । प्रदर्शनीको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

गोदार (धनुषा) – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधाममा आयोजित बैठकमा उहाँले प्रदेशमा चोरी, डकैतीजस्ता घटना न्यूनीकरण र तस्करी रोकथाममा गम्भीर भएर लाग्न आठै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो । “प्रदेशमा विभिन्न हिंसा, आपराधिक क्रियाकलाप, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । यसले तपाईं हाम्रो भूमिकामा समेत प्रश्न उठ्छ । त्यसैले यस्ता क्रियाकलाप रोक्न र समाजमा अमनचयनको अवस्था बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ, यहाँहरुले थप प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार सम्पूर्ण रुपमा सहयोग गर्न तयार छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो ,

सुन्दर र शान्त मधेस प्रदेश बनाउने सङ्कल्पसहित कार्ययोजना बनाएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

प्रहरी अधिकारीहरुले मुख्यमन्त्री सिंहलाई आफ्नो आगामी योजनाबारे जानकारी गराएका थिए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आठवटै जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।

अफगानिस्तान प्रतिबन्धमा तालिबानले अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने

तालिबान अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको शिखर सम्मेलनमा विशेष प्रतिनिधिहरूसँग दोहामा पहिलोपटक भाग लिँदा अफगानिस्तानका लागि उनीहरूले आर्थिक प्रतिबन्धहरूका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने सोमबार बताएका छन् ।

दुई दिवसीय बैठक आइतबार सुरु भयो र यो एक वर्षभन्दा केही बढी समयमा कतारमा हुने तेस्रो शिखर सम्मेलन हो । यद्यपि सन् २०२१ मा अफगानिस्तानमा सत्ता कब्जा गर्ने तालिबान अधिकारीहरूलाई सहभागी गराउने यो पहिलो शिखर सम्मेलन हो ।

विदेश मन्त्रालयका वरिष्ठ अधिकारी जाकिर जलालीले सामाजिक सञ्जाल एक्समा तालिबान सरकारको प्रतिनिधिमण्डलले सोमबार बैठकलाई ‘वित्तीय तथा बैंकिङ प्रतिबन्ध’ र अफगानिस्तानको अर्थतन्त्रका लागि उत्पन्न ‘चुनौैतीहरू’ लाई सम्बोधन गर्नका लागि प्रयोग गर्ने बताउनुभयो ।

उहाँको उक्त भनाइपछि आइतबार राति तालिबान प्रतिनिधिमण्डलका प्रमुख एवं प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० भन्दा धेरै राजदूत र राष्ट्रसङ्घका अधिकारीहरूलाई सम्बोधन गर्नुभयो ।

‘विदेशी आक्रमण र हस्तक्षेपका कारण झन्डै आधा शताब्दीसम्म युद्ध र असुरक्षा’ पछि जारी प्रतिबन्धहरू ‘निष्पक्ष अभ्यास’ हो कि भनी प्रश्न गर्दै मुजाहिदले भन्नुभयो, “अफगानहरूले एकपक्षीय र बहुपक्षीय प्रतिबन्धहरूका आधारमा उनीहरूलाई किन एकजुट बनाइँदैछ भनेर प्रश्न गरिरहेका छन् ।”

चार करोडभन्दा धेरै जनसङ्ख्या भएको गरिब मुलुकसँग बढ्दो संलग्नता र आर्थिक मुद्दा तथा लागुऔषधविरुद्धका प्रयाससहित अधिक समन्वित प्रतिक्रियामा छलफल गर्नका लागि वार्ता भइरहेको छ ।

तालिबान सत्तामा फर्किएपछि अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानको नयाँ शासकप्रति आफ्नो दृष्टिकोणलाई लिएर चिन्तित छ । काबुलमा सत्ता सम्हालेपछि तालिबान सरकारलाई कुनै पनि अन्य सरकारले आधिकारिकरूपमा मान्यता दिएका छैनन् ।

तालिबानले इस्लामको कडा व्याख्या थोपरेको छ र महिलाहरूलाई संयुक्त राष्ट्रसङ्घद्वारा ‘लिङ्ग रङ्गभेद’ का रूपमा चित्रण गरिएको कानूनको अधीनमा राखेको छ ।

तालिबान प्रतिनिधिमण्डललाई सहभागी गराउँदै नागरिक समाज र महिला अधिकार समूहरूलाई बाहिर राखेकामा आक्रोश बढेको छ । सङ्गठनहरूले राष्ट्रसङ्घ र सहभागीहरूमाथि तालिबान सरकारको नीतिहरूलाई वैधानिक बनाएको आरोप लगाएका छन् ।

एमनेस्टी इन्टरनेसनलका प्रमुख एग्नेस कालामार्डले वार्ताअघि एक विज्ञप्तिमा भन्नुभयो, “वार्तामा आफ्नो सहभागिता सुनिश्ति गर्न तालिबानका सर्तहरू समावेश हुँदा उनीहरूको लिङ्ग–आधारित संस्थागत दमनलाई वैधानिक बनाउने जोखिम हुनेछ ।”

तालिबान अधिकारीहरूले बारम्बार इस्लामिक कानूनअन्तर्गत सबै नागरिकहरूको अधिकारहरू सुनिश्चित गरिएको बताएका छन् ।

मुजाहिदले नीतिमा ‘स्वाभाविक’ भिन्नता भए पनि कूटनीतिज्ञहरूले टकरावको सट्टा वार्ता र समझदारीको बाटो खोज्नुपर्ने बताउनुभयो ।

“अफगानिस्तानको इस्लामिक इमिरेट्स पश्चिमी मुलुकहरूसँग पनि रचनात्मकरूपमा जोडिन इच्छुक छ”, उहाँले भन्नुभयो, “कुनै पनि सार्वभौम राज्यजस्तै हामी केही धार्मिक र सांस्कृतिक मूल्य र सार्वजनिक आकांक्षाहरूलाई कायम राख्दछौँ, यसलाई स्वीकार गर्नुपर्छ ।”

कांग्रेसद्वारा निर्देशक समिति गठन

काठमाडौँ, १८ असारः नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने÷गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सो अवधिसम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता सङ्घ र नेपाल थारू सङ्घको हकमा लागू हुने उहाँले जानकारी गराउनुभयो ।

ललितपुर महानगरको बजेट नगरसभाबाट पारित

पाटन (ललितपुर – ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ ।

यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गर्नुभएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट र आर्थिक विधयेक आजको नगरसभाको बैठकले सर्वसम्मतिले पारित भएको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो । महानगरले रु सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको थियो ।

“वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट रु तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ”, प्रवक्ता महर्जनले भन्नुभयो ।

प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ रु दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । यस वर्षको वार्षिक बजेटमा वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराउनुभयो ।

“चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्यौं, नगरसभामा घनिभूत छलफलपछि नगरसभाका सदस्यहरुले राख्नुभएको केही संशोधनसहित बजेट पारित भयो, वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, ज्येष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख महर्जनले भन्नुभयो ।

वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका साथै पोखरीको संरक्षण गर्दै सहरी सौन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ ।