`

सशस्त्र प्रहरीद्वारा ११ करोड १० लाख बढीको विल विजक नभएका सामान बरामद

भद्रपुर (झापा), २० असार : सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, रु ३० लाख ६१ हजार पाँच सय ७० मूल्य भएको सात सय ७९ गोलिया काठ, रु ५३ लाख ३४ हजार दुई सय मूल्य पर्ने एक हजार ८१ वटा पशु चौपाया, रु तीन लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ । रु ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, रु ८८ हजार बराबरको मदिरा र रु १७ लाख ५१ हजार सात सय ७० बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ ।

चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल भित्रिदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सप्रउ राईले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधि बरामद गरिएको छ ।

“सशस्त्र प्रहरी बल २ नं गणले झापा जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चारवटा टोली २४÷७ नै पैदल गस्ती परिचालन भएको छ”, सप्रउ राईले भन्नुभयो ।

सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको सशस्त्र प्रहरी बल २ नं गणले जनाएको छ । साथै भारतीय समकक्षी एसएसबीसँग आवश्यकताअनुसार निरन्तर बैठक बस्ने गरेको सशस्त्र प्रहरी २ नं गण झापाले जनाएको छ ।

बर्षात्सँगै पहिरो खस्न थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दी, २० असार : म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्”, बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको लाममा फस्नुभएका उहाँले भन्नुभयो, “अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ ।”

मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताउनुभयो । “पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।” रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताउनुभयो ।

दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर एक जना सवारी चालकको ज्यान गएको थियो । मङ्गलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा०२६च ७०५३ नम्बरको इको भ्यान पुुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुुइठेभिरमा गुुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन् । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख धु्रुवकुुमार झाका अनुसार १४ वटा पहिरो छन् ।

“पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ ।”

सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो । बैसरी पहिरोको बुधबार स्थलगत निरीक्षण गर्नुभएका प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी दिनुभयो ।

पुटिन र सीबीच मध्य एसियाली शिखर सम्मेलनमा प्रभाव पार्ने होडबाजी

रुस र चीनका नेताहरू पश्चिमविरोधी गठबन्धनलाई बलियो बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउने प्रयासमा क्षेत्रीय सम्मेलनका लागि बुधबार कजाकिस्तानमा थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन साङ्घाई सहयोग सङ्गठन (एससिओ) बैठकमा सहभागी हुन बुधबार बिहान कजाकिस्तानको राजधानी अस्ताना आइपुग्नुभयो । बेइजिङको नेतृत्वमा रहेको क्षेत्रीय ब्लक एससिओले मध्य एसिया, भारत र इरानलाई समेट्छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि मस्को र बेइजिङले उनीहरूको राजनीतिक, सैन्य र आर्थिक सम्बन्धलाई गहिरो बनाएका छन् । 

मङ्गलबार कजाकिस्तान पुग्नुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङको साथमा यो जोडीले एससिओलाई युरेसियामा आफ्नो रणनीतिक चासोलाई अगाडि बढाउने महत्त्वपूर्ण मञ्चका रूपमा हेरेको छ ।

“हामी यो सङ्गठनभित्र साझेदारी सहयोगलाई अत्यन्त धेरै महत्त्व दिन्छौँ”, क्रेमलिनका सहयोगी युरी उसाकोभले पुटिनको आगमनअघि रुसी राज्य मिडिया आउलेट्सलाई भन्नुभयो, “एससिओ, साथै ब्रिक्सको दोस्रो प्रमुख सङ्गठन नयाँ विश्व व्यवस्थाको मुख्य स्तम्भ हो, यो वैश्विक मामिलामा वास्तविक बहुपक्षवाद स्थापना गर्ने सन्दर्भमा गतिशील छ भन्ने हामी विश्वास गर्छौं ।”

रुस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गरेका छन् । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यसै साताको प्रारम्भमा एससिओ शिखर सम्मेलनले ‘सबै पक्षबीच अधिक साझा सहमति बनाउन सहयोग गर्ने, सदस्य मुलुकहरूको सुरक्षा, स्थिरता र विकासलाई बढावा दिन योगदान गर्ने र विश्वमा स्थायी शान्ति र साझा समृद्धिलाई अगाडि बढाउने’ मा बेइजिङको विश्वास रहेको बताउनुभएको थियो ।

प्रतिद्वन्द्वी

रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही दिनअघि ‘कुनै सीमा छैन’ रणनीतक साझेदारीमा हस्ताक्षर गरे पनि मस्को र बेइजिङ मध्य एसियाली क्षेत्रमा प्रभावका लागि प्रतिद्वन्द्वी बनेका छन् ।कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानसहितका पाँच मुलुक पूर्वसोभियत गणतन्त्र हुन् र रुससँग उनीहरूको ऐतिहासिक सांस्कृति, भाषिक र आर्थिक सम्बन्ध छ ।  

तर चीनको बढ्दो आर्थिक शक्ति र यस क्षेत्रमा व्यापक लगानीले रुसी प्रभावलाई चुनौती दिएको छ । मध्य एसिया चीनको प्रमुख बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय पूर्वाधार विकास परियोजनाका लागि महत्त्वपूर्ण छ । यो क्षेत्र प्राकृतिक स्रोतले समृद्ध छ तथा चीन र युरोपबीच मालसामानको स्थल ढुवानीका लागि महत्त्वपूर्ण छ ।   युक्रेनमाथि रुसको युद्धलाई परम्परागतरूमा मस्कोसँग संलग्न भएका यस क्षेत्रमा अन्य शक्तिहरू प्रवेश गर्ने अवसरका रूपमा पनि हेरिएको छ । 

कटेनी नदीको बाढीमा बगेर २० वर्षीया सुस्मिताको मृत्यु

सुदूरपश्चिम-कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको बुधबार मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता हुनुभएको थियो । तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उहाँको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा खोलामा बढेको पानीको बहावका कारण कैलालीको घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदीको काठेपुल, र डोडा नदीको काठे पुल बगाएको छ । पुल बगाउँदा आवागमन बन्द भएको छ । वर्षासँगै भजनी नगरपालिका, कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार नजिकैको अग्लो स्थानमा रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोललगायत बस्ती जलमग्न भई कतिपय परिवारको घरमा पानी पसेको छ । वर्षासँगैको डुबानले जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभागका बस्ती प्रभावित भएका छन् । अविरलको वर्षापछि जिल्लाका मोहना, खुटिया

जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान

जनकपुर- मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएका छन् ।सुरक्षा व्यवस्था थप चुस्त बनाउन हालसम्म जनकपुरधामका वडा नं २ मा २० र वडा नं ३ मा १० वटा सिसिटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सिसिटिभी जडानका लागि वडा नं २ मा रु १० लाख र वडा नं ३ मा रु पाँच लाख बजेट छुट्याइएको थियो ।

सिसिटिभी जडानले आपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति

तुलसीपुर- दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति सुरु भएको छ । बबई गाउँपालिका पूर्वाधार शाखाका इञ्जिनियर राजेश देवकोटाले करिब रु ६५ लाख ६५ हजार एक सय ८५ रुपैयाँको लागतमा सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न थालिएको जानकारी दिनुभयोे । बबई गाउँपालिका–५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने करिब नौ सय मिटर सडक कालोपत्रको काम भइरहेको हो ।

सङ्घ सरकार र स्थानीय सरकारको ५०/५० प्रतिशत लागत सहभागितामा सडक स्तरोन्नतिको काम अगाडि बढेको देवकोटाले बताउनुभयो। सडक स्तरोन्नतिसँगै यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास गरिएको छ । स्थानीय दीपक शाहका अनुसार विगतमा राम्रो बाटो नहुँदा यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको थिएन ।

“विगतमा सडक नहुँदा वर्षात्को समयमा पर्यटक आउँदैनथे तर अहिले सडक स्तरोन्नतिको भएको छ । ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा वर्षात्मा पनि त्यहाँ दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।”

विराटनगर महानगरद्वारा डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

विराटनगर- विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ ।डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार टायरमा जमेको पानी, स्थिर रूपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसी पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्छ । डा यादवले डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर महानगरपालिकामा डेङुको सङ्क्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’ लाई तीव्रता दिएको विराटनगर बताउनुभयो । १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेङ्गु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

मापदण्ड विपरीत तेल उत्पादन गर्ने उत्पादक कम्पनीलाई कामपाले आठ लाख जरिवाना गरायो

काठमाडौँ, १९ असार : काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई रु आठ लाख जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो ।

मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भइ सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच/लट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।   

प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच÷लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच÷लट नं ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रा लि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।   

विसं २०८० माघमा उत्पादन भएको, ब्याच/लट नं १० को फेमिली ब्रान्डको आयातीत तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो । उक्त ब्रान्डहरुको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरुलाई कारबाही गरिएको हो । 

“नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो”, प्रमुख न्यौपानेले भन्नुभयो । मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई कामपाले पत्राचार गरेको छ ।  

काभा यू–२० महिला भलिबल टोलीको घोषणा

काठमाडौँ, १९ असार : नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

टोलीमा बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । यस्तै लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट तथा  सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री टोलीमा समेटिएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर रहेका छन् । प्रतियोगिता यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । 

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

   नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिनुभयो ।     मङ्गलबार साँझ पुणेमा ५५ वर्षीया महिलामा जिका भाइरसको सङ्क्रमण भेटिएपछि सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । तर, पहिले पोजेटिभ भनिएको एउटा केस पछि नेगेटिभ पाइएको थियो ।

   जुन २६ मा जिका भाइरस सङ्क्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो । त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो । उहाँको १५ वर्षीया छोरीमा पनि पोजेटिभ देखिएको छ ।

   सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य अधिकारीहरूमा चिन्ता बढेको छ । यद्यपि एनआइभीका अधिकारीहरूले महाराष्ट्रमा जिकाका केसहरू देखेर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

   यसैबीच, पुणे नगर निगमले निगरानीलाई तीव्र पारेको र हालसम्म पुणे सहरको अपमार्केट आवासीय छिमेक कोथरुडमा १४ हजार तीन सय १४ जनामा सर्वेक्षण गरेको छ ।    अधिकारीहरूले दुई सय घरमा लामखुट्टे प्रजनन स्थलहरू पत्ता लगाइएको बताएका थिए । लामखुट्टेको प्रजनन रोक्न सतर्कता अपनाउन फगिङ र फ्युमिगेशनको काम थालिएको छ ।

   राम्ररी नढाकिएका पानीको कन्टेनरहरू खाली गर्न नागरिक निकायका अधिकारीहरूले बासिन्दाहरूलाई आग्रह गरेका छन् ।

   जिका लामखुट्टेबाट सर्ने भाइरस हो । यो रोग एक हल्का, आत्म–सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ ।       जिका भाइरस सङ्क्रमण लगभग ३० देशमा गम्भीर जन्म दोषहरूसँग जोडिएको छ । यसमा माइक्रोसेफली समावेश छ, जहाँ बच्चाहरू असामान्यरूपमा सानो टाउको र प्रतिबन्धित मस्तिष्क विकासका साथ जन्मिन्छन् ।      यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्छ ।  

‘नेपाललाई विश्वमाझ चिनाउन टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण’ : मन्त्री तामाङ

काठमाडौँ, १९ असार : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई विश्वमाझ चिनाउन टुरिष्ट गाइडको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को आयोजनामा आज सुरु भएको ‘आठौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को उद्घाटन गर्दै उहाँले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाका बारेमा विश्वमाझ चिनाउन टुरिष्ट गाइडको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

“पर्यटकमाझ नेपालका बारेमा टुरिष्ट गाइडले जे वर्णन गर्छन्, त्यो नै पर्यटकका लागि वास्तविक साबित हुने भएकाले टुरिष्ट गाइडको भूमिका  महत्वपूर्ण छ,” उहाँले भन्नुभयो । मन्त्री तामाङले टुरिष्ट गाइडलाई समयानुसार तालिम प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष थानेश्वर देवकोटाले सम्पदा क्षेत्रमा हुने अनधिकृत गाइड रोक्न पर्यटक प्रहरी र सम्पदा क्षेत्रका कर्मचारीले स्वचालित तथा नियमित लाइसेन्स चेकजाँचको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यका विदेशी पाहुनालाई टुरिष्ट गाइडबाट सम्पदा क्षेत्रको अवलोकन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो । टुर्गानले नेपाल सरकार तथा पर्यटन बोर्डबाट देश तथा विदेशमा हुने पर्यटन प्रवद्र्धनका कार्यक्रममा टुर्गानलाई समेट्नुपर्ने बताएको छ ।

अध्यक्ष देवकोटाले सांस्कृतिक राजदूतका रुपमा रहेका टुरिष्ट गाइडलाई सरकारले एक अभिन्न अङ्गका रुपमा स्वीकार गरी सोहीअनुरुप उनीहरुलाई नियमित पुनर्ताजगी, तालिम, उपयुक्त अवसर र व्यावसायिक हकको ‘ग्यारेन्टी’ गर्नुपर्ने बताउनुभयो ।

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा कोइराला

इनरुवा, १९ असार : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताउनुभयो ।

प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गर्नुभयो । कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ ।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्नुहुँदै उहाँले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिनुभयो।

नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने

मलेखु (धादिङ), १९ असार : नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ ।त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो । “पुलको आरसिसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भन्नुभयो, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”

हेभी इक्पिमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ । चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उहाँले बताउनुभयो ।
उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के शीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

कांग्रेस र एमालेबीच भएको सहमतिले देशलाई स्थिर सरकार दिने आशा: नेता केसी

महेन्द्रनगर (धनुषा), असार १९ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताउनुभएको छ ।लिभर फाउन्डेसन नेपालद्वारा आज जनकपुरधाममा आयोजित लिभर स्वास्थ्यसम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा नेता केसीले संविधान संशोधन अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका नेता केसीले विसं २०७२ मा जारी संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको धारणा राख्नुभयो । सो संविधान असफल भएमा दुर्भाग्यपूर्ण अवस्था आउने उहाँको भनाइ छ । त्यस्तो अवस्था आउन नदिन संविधान संशोधन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

केसीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको पछिल्लो सहमतिले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामूहिक मिसनका रुपमा लिएर जानुपर्छ ।” नेता केसीले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा संसद्मा प्रतिपक्षको भूमिका कमजोर हुनसक्ने भएकाले प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जीवन्त राख्न सक्नुपर्ने बताउनुभयो ।

कार्यशालामा डा इम्तिहान अहमद, डा सञ्जयकुमार यादव, डा शाहजहा खातुन, हरि लम्साल र सल्ला अधिकारीले कलेजो स्वास्थ्यसम्बन्धि प्रस्तुति गर्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेशका विभिन्न पालिकाका प्रमुखहरु र स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । लिभर फाउन्डेसन नेपालका अध्यक्ष उमेशजङ्ग रायमाझीको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको हो ।

युरोपेलीहरू युक्रेनलाई समर्थन गर्छन् तर युद्ध कसरी अन्त्य गर्ने भन्नेमा विभाजित छन्– अध्ययन

रुसी सेनालाई रोक्न सङ्घर्ष गरिरहेको र किएभमा हतियारको ढुवानी बढाउने पक्षमा रहेको युक्रेनलाई युरोपेलीहरू धेरै हदसम्म समर्थन गर्छन् । यद्यपि बुधबार प्रकाशित एक सर्वेक्षणअनुसार युद्धलाई कसरी समाप्त गर्ने भन्नेमा उनीहरू विभाजित छन् ।

रुसले युक्रेनमा किएभको कमजोर सेनाविरुद्ध केही प्रगति हासिल गरिरहेको छ । मस्कोले नियमितरूपमा थप पूर्वी गाउँहरू कब्जा गरेको दाबी गर्दै आएको छ ।
अमेरिकी कांग्रेसका दक्षिणपन्थी सदस्यहरूको विरोध प्रदर्शनका कारण युक्रेनका लागि नयाँ अमेरिकी कोषमा महिनौँको ढिलाइपछि लाभ हासिल भएको छ । यसबीचमा जुनमा युरोपेली संसद्को निर्वाचनमा मतदाताहरू दक्षिणपन्थीतिर परिवर्तन भएको देखिएको छ ।

वैदेशिक सम्बन्धमा युरोपेली परिषद् (इसिएफआर) ले नयाँ सर्वेक्षणमा भनेको छ, “युक्रेनको लड्ने दृढ प्रतिबद्धता र युक्रेनलाई हतियार दिनका लागि युरोपेली समर्थनलाई युद्धको मैदानमा रुसी प्रगतिले असर गरेको छैन ।”

उक्त प्रतिवेदन युक्रेनसहित १५ युरोपेली मुलुकमा गरिएको जनमत सर्वेक्षणमा आधारित थियो । सर्वेक्षण करिब २० हजार उत्तरदाताहरूको प्रतिक्रियामा भर परेको थियो ।

परिषद्ले भनेको छ, “अधिकांश मुलुकहरूमा बहुसङ्ख्यक (वा कम्तिमा पनि महत्त्वपूर्ण बहुलता) नागरिकहरूले युक्रेनलाई हतियार र गोलाबारुदको आपूर्ति बढाउने विचारको समर्थन गरेका छन् ।”    रुसविरुद्ध युक्रेनको लडाइँका लागि समर्थन युरोपभर प्राय स्थिर रहेको छ । अधिकांश उत्तरदाताहरू किएभको जीतको सम्भावनाका बारेमा धेरै उदास थिए । 

“संक्षेपमा युक्रेनीहरू विजय हासिल गर्न हतियार चाहन्छन् तर अधिकांश युरोपेलीहरू यसको स्वीकार्य अन्तिम समाधानमा सहयोग प्राप्त हुने आशामा हतियार पठाउँछन्”, प्रतिवेदनले भनेको छ । 

किएभले लामो समयदेखि युद्ध समाप्त गर्ने शर्तका रूपमा रुसले कब्जा गरेका सबै क्षेत्र पुनः हासिल गर्ने कुरामा जोड दिँदै आएको छ । प्रतिवेदनअनुसार युक्रेनीहरूको ठूलो बहुमतले नाटो सदस्यताको बदलामा रुसलाई आफ्नो क्षेत्र सुम्पिने विचारको विरोध गर्दछ । 

“अधिकांश मुलुकहरू (इस्टोनियाबाहेक) मा द्वन्द्व एउटा सम्झौता समाधानका साथ समाप्त हुनेछ भन्ने प्रचलित दृष्टिकोण छ”, इसिएफआरले भनेको छ । 

किएभको सबैभन्दा बलियो समर्थकमध्येका इस्टोनिया, पोल्यान्ड र स्विडेनका अधिकांश जनताले युक्रेनलाई उसको कब्जा गरिएको क्षेत्रलाई पुनः हासिल गर्नका लागि लड्न सहयोग गर्न चाहेको अध्ययनले बताएको छ । 

यद्यपि बुल्गेरिया, ग्रिस र इटाली जस्ता मुलकका अधिकांश जनताले हतियारको आपूर्ति बढाए पनि युक्रेन युद्धको मैदानमा जीत हासिल गर्न सक्छ भन्नेमा सन्देह प्रकट गरेका छन् ।     यी सबै स्थानका बीचमा चेक गणतन्त्र, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन र स्विट्जरल्यान्डलगायतका देशले अहिले पनि युद्ध र त्यसमा युरोपेली सङ्घको भूमिकामा राष्ट्रिय सहमतिलाई बलियो बनाउन सङ्घर्ष गरिरहेका छन् । 

संरक्षित वन्यजन्तु ‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

गुलरिया (बर्दिया), १९ असार : लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ । संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले आज त्यस क्षेत्रको अवलोकन भ्रमण गरेको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक तुलसी चौधरीले कृष्णसारलाई बाह्य जनावरको आक्रमणबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । कृष्णसारको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको अहम् भूमिका रहने उल्लेख गर्दै उहाँले त्यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “कृष्णसारको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन जरूरी छ । त्यसका साथै यहाँ आउने पर्यटकलाई केही दिन टिकाउनसक्ने पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने गरी सरकारले पहल गर्नुपर्छ”, उहाँले चौधरीले भन्नुभयो ।

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले कृष्णसार संरक्षण क्षेत्रको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बासस्थान क्षेत्रमा घाँसेमैदान व्यवस्थापन र मिचाहा प्रजातिको न्यूनीकरण आवश्यक देखिएकाले कृष्णसारको बासस्थान क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सूर्य खड्काले त्यहाँको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले स्याल, चितुवालगायत भुस्याहा कुकुरको आक्रमणका कारण कृष्णसार संरक्षणमा चुनौती रहेको बताउनुभयो । हाल खेरापुर क्षेत्रमा दुई सय २४ कृष्णसार रहेका जानकारी दिनुहुँदै उहाँले संरक्षण क्षेत्रको अतिक्रमित बस्ती व्यवस्थापन नहुँदा समस्या भएको जानकारी गराउनुभयो । खड्काले भन्नुभयो, “संरक्षण क्षेत्रभित्र व्यवस्थापन गर्नुपर्ने बासस्थान (गोठ) को सङ्ख्या एक सय ४२ रहेकामा हाल त्यो सङ्ख्या एक सय ९६ पुगेको छ । तिनको व्यवस्थापनका साथै यहाँ पर्या–पर्यटन प्रवर्द्धनका लागि कार्यालयले योजना बनाएको छ । आगामी वर्ष सोही योजनाअनुरुप काम अघि बढाउँछौँ ।”

अनुगमनमा समितिका सभापति लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, जन्मजय तिमिल्सिना, तुलसीप्रसाद चौधरी, खेमबहादुर सारु, भगवती चौधरी र तुलसीराम शर्मा रहनुभएको थियो ।

अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दम्पती पक्राउ

काठमाडौँ, १९ असार : अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् । इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र निजकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूको साथबाट १९ हजार ५९ अमेरिकी डलर, आठ हजार नौ सय ६६ चिनियाँ युआन र ६० हजार दुई सय बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको छ ।  

यसैबीच कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ । 

ललितपुर महानगरले भत्कायो अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना

पाटन (ललितपुर), १९ असार : ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

“स्थानीय र गुिठयारको विरोधपछि मिचिएको जग्गामा बनेको पर्खाल भत्काउन महानगरले आदेश दिएको थियो, उक्त आदेश अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा सुमित्रा अमात्य र दिवस अमात्यको घरको कम्पाउण्ड पर्खाल आज दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो”, प्रवक्ता महर्जनले भन्नुभयो ।

चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

“वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना आज हामीले डोजर लगाएर भत्कायौँ । हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनुभएन, गुठियारले धेरै आग्रह गरेपछि आज डोजर नै चलाउनुप-यो”, नगरप्रमुख महर्जनले भन्नुभयो ।

गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उहाँले जानकारी गराउनुभयो । “हामी समयसापेक्ष कार्यान्वयन गर्न लागिपर्नेछौँ, सार्वजनिक, पर्ती जग्गा संरक्षण गर्नेगरी महानगरको नगरसभाबाट निर्णयसमेत भएको छ । चार पाँच वटा गुठीको भोज गर्ने स्थानलाई तहसनहस पार्न खोजिएकाले भत्काइदिएका हौँ”, उहाँले भन्नुभयो ।

पाटनका स्थानीय तथा गुठियार कुलाल डङ्गोलले अमात्यहरुको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताउनुभयो । “पटकपटक स्थानीयलाई दुःख दिएर गुठीको जग्गा दुरुपयोग गर्न खोजिएको र स्थानीय सरकारलाई लत्याएर गरिएको कामको विरोध गरेका हौँ”, डङ्गोलले भन्नुभयो ।

तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिनुभयो । “त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ । कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ”, उहाँले भन्नुभयो ।

मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो

रामेछाप, १९ असार : मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ । मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ ।

विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो । यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो । असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठले बताउनुभयो । “चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो । मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?”, उहाँले प्रश्न गर्नुभयो ।

सडकका अन्य ठाउँमा पनि कालोपत्र उप्किएको छ । स्थानीय लालप्रसाद पोखरेलले लिखुतामाकोशी गाउँपालिका–६ को खिम्ती (तल्लो) बजारमा गरिएको कालोपत्रमा पनि उप्किन लागेको बताउनुभयो । यहाँ १० मिटरभन्दा बढी सडकको कालोपत्र उप्किसकेको उहाँले जानकारी दिनुभयो ।

वडाका वडाअध्यक्ष शिवप्रसाद न्यौपानेले आवश्यक मापदण्ड पूरा गरी नगरी हिलो माटोमाथि नै कालोपत्र गरिएकाले चाँडै नै भत्किएको बताउनुभयो । निर्माण कम्पनीलाई भत्किएका ठाउँमा फेरि कालोपत्र गर्न लगाइएको छ । अध्यक्ष न्यौपानेले भन्नुभयो, “निर्माण व्यवसायीले सडक मर्मतमा गुणस्तरीय काम गर्न गरेन, हिलो माटोमाथि नै कालोपत्र गरिएपछि यस्तो समस्या भयो । काम गरिरहेकै बेला हामीले ध्यानाकर्षण गराएकै थियौँ, अटेर गरेपछि अहिले त्यसको परिणाम देखियो । १५ दिनमै कालोपत्र उप्किनुले चरम लापरवाही प्रष्ट भएको छ ।”

सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले समस्या भएको र आवश्यक परीक्षण गरी चाँडै मर्मतको काम गर्न लगाइने बताउनुभयो । “कालोपत्रको काम गुणस्तरीय र मापदण्डअनुसार नभएकाले यस्तो समस्या आयो, अब चाँडै नै आवश्यक कारबाही अगाडि बढाउँछौँ । व्यवसायीलाई पुनः आवश्यक मापदण्डसहित कालोपत्र गर्न लगाउने तयारी भइरहेको छ”, इन्जिनियर ढुङ्गेलले भन्नुभयो ।

इन्डोनेसियामा फर्निचर गोदाममा आगलागी हुँदा एकै परिवारका पाँच जनाको मृत्यु

इन्डोनेसियाको राजधानीको बाहिरी सहर बेकासीमा बुधबार बिहान फर्निचर गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार स्थानीय समयानुसार बिहान ६ः४५ बजे जटियासिह क्षेत्रमा घरभित्र आगलागी भएको थियो । आगो निभाउन कम्तिमा १२ वटा दमकल परिचालन गरिएको बेकासीको दमकल तथा उद्धार एजेन्सीका प्रमुख एसेङ सोलेहुदिनले बताउनुभयो ।

  उहाँका अनुसार आगलागीबाट एक अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ६१ हजार अमेरिकी डलर) बराबरको क्षति भएको छ ।     यसैबीच, जटियासिहका प्रहरी प्रमुख सुरोतोले आगलागी हुँदा सबै पीडित गोदामको स्नानगृहमा फसेको बताउनुभयो ।   पीडितहरू भवनबाट बाहिर निस्कन चाहन्थे, तर आगो तीव्ररूपमा फैलिन थालेको र बाहिर निस्कने बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान जारी छ ।  

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

झापा, १९ असार : विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र रु १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो ।

हावाहुरीबाट रु दुई करोड ७६ लाख ४० हजार, बाढीबाट रु एक करोड ५० लाख, आगलागीबाट रु नौ करोड ८३ लाख ६ सय र चट्याङले रु आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ ।

त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिनुभयो ।

मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा

मनहरी, १९- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म करिब ३३ हजार बिरामीले आयुर्वेद सेवा लिएका छन् । कार्यालय प्रमुख डा ललिता पाण्डेले मकवानपुरमा त्यस अवधिमा ३२ हजार नौ सय ९१ जनाले सेवा लिएका जानकारी दिनुभयो ।

उहाँले पाँचवटा नागरिक आरोग्य सेवा केन्द्र र तीनवटा औषधालयबाट सेवा दिइएको बताउनुभयो । “कार्यालयमै आएर १७ हजार ६ सय ८०, हटिया आयुर्वेद औषधालयबाट दुई हजार दुई सय ३९, चुरियामाईबाट एक हजार तीन सय ८०, काँकडाबाट दुई हजार तीन सय र नागरिक आरोग्य सेवा केन्द्रबाट नौ हजार तीन सय ९२ जनाले सेवा लिएका छन् ”, डा पाण्डेले भन्नुभयो ।

चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ मा महिला स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण, पूर्वकर्म—पञ्चकर्म कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

चिकित्सालयले बहिरङ्ग सेवा, निःशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म, पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श, पथ्यआहार कार्यक्रम, ज्येष्ठ नागरिक तथा अकुपञ्चरलगायत सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयबाट २३ थरीका औषधि निःशुल्क रूपमा वितरण भइरहेका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल जारी

काठमाडौँ, १९ असार : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल आज पनि जारी रह्योे । आज ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय’, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय’, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय’, ‘गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय’, ‘राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय’, ‘प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालय’ र ‘राष्ट्रिय योजना आयोगको सचिवालय’ मा छलफल भएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको अन्त्यमा भोलि असार २० गते बिहीबार हुने बैठकमा ‘वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बिहीबार अपराह्न १२ः१५ बजे बस्नेछ ।

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताउनुभएको छ ।“राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,” अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताउनुभएको हो ।

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ । “यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,” ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भन्नुभयो ।

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ ।

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताउनुभयो । घोषणापछि उमेरोभले अस्टिनलाई उहाँको समर्थनका लागि धन्यवाद दिनुभयो । साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताउनुभयो । “आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,” नेटोबारे रक्षामन्त्री उमेरोभले भन्नुभयो ।

सशस्त्र प्रहरीका असइ हत्या प्रकरणमा फरार रहेका पूर्व सांसद यादव पुर्पक्षका लागि जेल चलान

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला आदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । मधेस आन्दोलनका क्रममा विसं २०७२ भदौ २५ गते विकको हत्या भएको थियो ।

उक्त प्रकरणमा सङ्लग्न भएको आरोपमा गत शनिबार पक्राउ परेका पूर्वसांसद यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले बुधबार कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो । यादवलाई आगजनी मुद्दामा पाँच हजार जरिवानासमेत गरिएको स्रेस्तेदार नुतन झाले जानकारी दिइन् ।

यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले विसं २०८० मङ्सिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो । सोही मुद्दामा महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो ।

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

काठमाडौँ १९ असार : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ ।

बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिनुभएको थियो ।
सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताउनुभयोे ।

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

दाङ, १९ असार : दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले रु तीन करोड ५० लाखको लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल बनिरहेको बताउनुभयो ।

यहाँ पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरु खुसी भएका छन् । तुलसीपुर निवासी रामचन्द्र केसीले भन्नुभयो, “बर्सातमा भेल आउँदा वारपार गर्न निकै समस्या हुने गरेको छ । पुल निर्माण सुरु भएपछि समस्या समाधान हुनेछ । निर्धारित समयमै पुल निर्माण गर्न हाम्रो आग्रह छ ।”


घोराही–तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन । 

यसअघि तुलसीपुर–लमही सडकखण्डअन्तर्गत कटुवा खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला र सक्राम खोलामा पुल निर्माण भइसकेका छन् ।

नेपालमै पहिलो पटक काखीमुनि प्वाल पारेर मुटुको माइट्रल भल्भ परिवर्तन

काठमाडौँ, १९ असार : मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ । सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो । डा अनिल भट्टराईले एक साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो ।

“अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन ग¥यौँ,” उहाँले भन्नुभयो, “हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौँ ।” उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । 

डा भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताउनुभयो । मुटुमा चारवटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो । “छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले बिरामीलाई धेरै सहज हुन्छ,” उहाँले भन्नुभयो, “ठूलो घाउ हुँदैन । रगत पनि धेरै बग्दैन । चाँडै सञ्चो हुन्छ र बिरामी घर पनि चाँडै जान्छन् ।”

उहाँका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा रु २४ लाख लाग्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न रु सात लाख लाग्ने जनाएको छ ।  

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो

लमजुङ, १९ असार : अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ खण्ड सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताउनुभयो । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।

बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्दा …

चितवन, १९ असार : बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय पवनकुमार पासवान एबं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका –६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।

लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोरोको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पसल सञ्चालक विनोद स्वयम्ले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाइ जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताउनुभयो । बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाउँदै उहाँले मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिएको बताउनुभयो ।

धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट रु दुई करोड १७ लाख ५४ हजार चार सय १५ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए । चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ । पक्राउ परेका माथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट छ दिनको म्याद पाएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने

नेपालगन्ज – मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताउनुभएको छ ।

नेपालगन्जमा भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उहाँले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताउनुभयो ।

नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग एवं शैक्षिक संस्थाहरुबीच आवश्यक भएकामा जोड दिँदै उहाँले भन्नुभयो, “यस्ता साझेदारीले हाम्रो शैक्षिक प्रयासलाई अझ सुदृढ बनाउने छभने लुम्बिनी प्रदेशमा राष्ट्रको सामाजिक आर्थिक विकासमा योगदान गर्ने अवसर प्राप्त हुनेछ ।”

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गर्दै शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ, दुर्गाबहादुर चौधरीलगायत वक्ताले विश्वविद्यालयको शैक्षिक उन्नयनका विविध विषयमा मन्तव्य व्यक्तभएको थियो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा गणेशमान गुरुङले विश्वविद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’

नवलपुर (नवलपरासी), १९ असार : हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वल्र्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् ।

त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य माध्यमिक विद्यालय र प्राविधिक धारको जनता माध्यमिक विद्यालय अरुणखोला छन् । सन्राइजले सात विद्यार्थी, वल्र्ड लाइटले छ विद्यार्थी, रत्नराज्यले आठ विद्यार्थी तथा जनता माविले २२ विद्यार्थी एसइईमा सहभागी गराएकामा सबै विद्यार्थी ‘अनुत्तीर्ण’ भएका एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी विनयी त्रिवेणीमा एक÷एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । उहाँका अनुसार विनयी त्रिवेणीको संस्थागततर्फ दाउन्नेको अहिंसावादी महाबौद्ध अनाथ माध्यमिक विद्यालय तथा सामुदायिकतर्फ कुदापानीको भवानी माध्यमिक विद्यालयले एसइईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । अहिंसावादी विद्यालयबाट चार र भवानी माविबाट १० विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

जिल्लाको गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार दमारको बालज्योति माध्यमिक विद्यालय र श्रीमद् रामानुज बेद विद्याश्रमको नतिजा शून्य आएको हो । बालज्योतिबाट ११ एवं बेद विद्याश्रमबाट तीन जना विद्यार्थी एसइईमा सहभागी थिए । गैँडाकोटको दमारमा रहेको विद्यालय जिल्लाकै बिकट ठाउँको विद्यालयको रुपमा रहेको उहाँले बताउनुभयो ।

हुप्सेकोटको जनता माध्यमिक विद्यालय गुहेरी र जनकल्याण राष्ट्रिय माध्यमिक विद्यालय शङ्खदेवको नतिजा शून्य आएको छ । ती दुवै सामुदायिक विद्यालय हुन् । जनता माविबाट १५ जना विद्यार्थी र जनकल्याणबाट १८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । जिल्लाको बुलिङटारबाट एसइईमा सहभागी भएका विद्यालयमध्ये गोरखकाली माध्यमिक विद्यालय अर्खला र जनजागृति माध्यमिक विद्यालय ढाडबेँसीको नतिजा शून्य आएको छ ।

नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात र जनजागृतिबाट चार विद्यार्थी एसइईमा सामेल भएका एकाइ प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन् । रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय मुकुन्दपुर र डेढगाउँ माध्यमिक विद्यालयबाट एसइईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए ।

जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार पाँच सय २३ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये एक हजार आठ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ उत्तीर्ण विद्यार्थी ४० प्रतिशत रहेका जनाउँदै एकाइ प्रमुख शर्माले सामुदायिक विद्यालयबाट दुई हजार छ सय ७० विद्यार्थी ‘अनुत्तीर्ण’ भएका जानकारी दिनुभयो । संस्थागततर्फ ५२ विद्यालयका एक हजार चार सय चार विद्यालय एसइईमा सहभागी भएकामध्ये नौ सय ८७ विद्यार्थी उत्तीर्ण भएका शमाएको भनाइ छ ।

संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० रहेको रहेको जनाउँदै उहाँले संस्थागत विद्यालयबाट चार सय १७ विद्यार्थी एसइईमा ‘अनुत्तीर्ण’ भएका बताउनुभयो । जिल्लामा अनुत्तीर्ण भएका तीन हजार ८७ विद्यार्थी साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल भएर उत्तीर्ण भए कक्षा ११ मा अध्ययन गर्न पाउने एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो ।
जिल्लाका एक सय ३९ विद्यालयबाट एसइईमा सहभागी भएका पाँच हजार नौ सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय ४० विद्यार्थी उत्तीर्ण भएका उहाँले बताउनुभयो । जिल्लामा एसइईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत ४७ दशमलब ९२ रहेको उहाँको भनाइ छ ।

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

म्याग्दी, १९ असार : बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिनुभयो ।

“कम्पोजित पर्खाल निर्माण गर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “पर्खालको पछाडितर्फ माटो राखेर फिलिङ गर्न सुरु भएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।” सो योजनाका लागि २०७९ फागुनमा रु १२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । अठार महिनाको ठेक्का अवधि भएको योजना निर्धारित समयमै सकिए पनि भुक्तानी नपाएको सञ्चालक खड्काले गुनासो गर्नुभएको छ ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर नरजङ्ग गुरुङले बताउनुभयो । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा दुई सयभन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा यसअघि करिब चार सय मिटर पक्की पर्खाल निर्माण भएको थियो । परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सात वटा ठेक्काको योजना सम्पन्न हुने चरणमा छन् । भसभसे पहिरो र कटान नियन्त्रण योजनाको काम गत वर्षनै सकिएको थियो ।

परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताउनुभयो । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गरिएको हो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष रु एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आर्थिक वर्षमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताउनुभयो ।

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध,सवारी साधन आवतजावत ठप्प

ढोरपाटन (बागलुङ), १९ असार- अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताउनुभयो । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उहाँले जानकारी दिनुभयो । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पु¥याएको छ ।

खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

दमौली (तनहुँ)- तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो

स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताउनुभयो ।

जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिनुभयो । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उहाँको भनाइ छ ।

नारायणगढ–बुटवल सडक : म्याद सकिन लाग्दा पूर्वी खण्डमा ५२ प्रतिशत काम

त्रिवेणी (नवलपरासी), १९ असार : नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।

यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ । ”

कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताउनुभयो । बेस तयार भएको काम सके यात्रुलाई छ÷सात किलोमिटर थप यात्रामा सहज हुने उहाँले बताउनुभयो ।

हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उहाँको भनाइ छ । “म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सोअनुसार स्रोत परिचालित पनि भएन, उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ”, योजना प्रमुख मगरले भन्नुभयो ।

म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उहाँले बताउनुभयो । “नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ, हालकै निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ”, उहाँले भन्नुभयो, “छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्नेनै हो ।”

सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीन वटाको समेत काम सुरु गरिएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । करिब रु १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।
वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ ।

दाउन्ने क्षेत्रमा समेत वर्षाका कारण सडक चिप्लो हुँदा सडक अवरुद्ध हुने गरेको छ । तर दाउन्नेभन्दा अहिले चोरमार, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा रातो माटोका कारण सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम रहेको योजना प्रमुख मगरले बताउनुभयो । रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उहाँले बताउनुभयो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन बैठक आज

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो ।

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ ।

बैठक आज बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।

नेपालगञ्जमा करेन्ट लागेर ३५ वर्षीय एक युवकको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर मंगलबार ३५ वर्षीय एक युवकको मृत्यु भएको छ । घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका– २० का विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

घरका एक्ला छोरा विकासकी श्रीमती र ११ वर्षीया छोरी छन् । विकासकी श्रीमती नौ महिनाअघि मात्र वैदेशिक रोजगारीमा जानुभएको थियो ।

बाँकेमा पाँच किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले पाँच किलो आठ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जाजजरकोटको शिवालय गाउँपालिका–७ घर भइ बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो ।

हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरुको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्वरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनीहरुलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।