`

कास्की–तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने

गण्डकी, ३ असार : गण्डकी प्रदेश सरकारले कास्की–तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा औद्यागिक पूर्वाधारका रूपमा प्रादेशिक औद्यागिक क्षेत्र र औद्योगिक ग्रामको न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । गण्डकी प्रदेशमा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीनवटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले बताउनुुभयो ।

महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सबलीकरण, सम्भावना बोकेका उद्यमहरूको स्तरोन्नतिका लागि स्थानीय तह तथा साझेदार संस्थासँगको लागत तथा प्राविधिक साझेदारीमा प्रदेशभित्रका पाँच स्थानीय तहमा वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई परीक्षण परियोजनाका रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुुभयो ।

‘उत्पादन, उद्यमशीलता र उद्यमः गण्डकी समुन्नतिको माध्यम’ अभियानलाई प्रवर्द्धन गर्न उद्योग, कृषि, रोजगार वृद्धिसम्बन्धी कार्यक्रम एकीकृत रूपमा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

रोजगारी सिर्जना हुने योजनाका लागि सहुलियतपूर्ण कर्जा दिन विश्व बैंकलाई नेपालको आग्रह

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् ।

काठमाडौँमा मङ्गलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा–२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए ।

आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् । भेटमा मन्त्री पुनले नेपालमा आइडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताए । उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

बैठक भव्यरुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उनको थियो । विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गरे ।

उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे । सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे । उनले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे ।

फरक प्रसङ्गमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे । विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए । नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो ।

पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल

काठमाडौँ, ३ असार : नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महाधिवेशनबाट पारित गरिने दस्तावेजले नेपाली विशेषताको समाजवादलाई कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताको सामूहिक छलफलबाट दस्तावेज निर्माण गरिएकाले पार्टीभित्र वैचारिक मतभेद नरहेको प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि समाजवादी मोर्चा हुँदै वैचारिक दृष्टिकोण र विचार मिल्ने समूह तथा राजनीतिक शक्तिलाई एकताबद्ध गर्नुपर्ने भन्दै त्यसले समाजवादको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने धारणा राख्नुभयो । उहाँले आफ्नो पार्टीले समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला सारेको बताउनुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले सहमतिका साथ नेतृत्व निर्माणका लागि पार्टीको दस्तावेज तयार गरिएको र अझै परिस्कृत गरेर पारित गरिने बताउनुभयो । पूर्वप्रधानमन्त्री रहनुभएका नेता खनालले एउटा वैचारिक राजनीतिक कार्यदिशाका साथै नीति, सिद्धान्त र लक्ष्यका आधारमा एकता र सहमति खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीका उपाध्यक्ष एवं अनेमसङ्घका अध्यक्ष जयन्ती राईले महाधिवेशनमा महिला समानुपातिक प्रतिनिधित्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा अनेमसङ्घका विभिन्न प्रकाशन विमोचन गरिएका थिए ।

जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी

आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताउनुभएको छ ।

नियमित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।”

गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो ।

शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पु¥याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ ।”

गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ ।

इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई भङ्ग गर्नुभएको अधिकारीहरूले सोमबार बताएका छन् ।

युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले प्रधानमन्त्रीको युद्ध व्यवस्थापन गर्ने तरिकालाई लिएर निराशा व्यक्त गर्दै सरकारको आलोचना गरेको केही दिनपछि यस्तो कदम चालिएको हो ।

यसै महिनाको प्रारम्भमा मध्यमार्गी पूर्व सैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएपछि यस्तो कदमको व्यापक अपेक्षा गरिएको थियो ।

सरकारबाट गेन्ट्जको अनुपस्थितिले नेतान्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि अधिक निर्भर बनाएको छ र युद्ध मन्त्रिपरिषद्को विघटनले गाजामा आठ महिना लामो युद्धका रूपमा भएको परिवर्तनलाई जोड दिएको छ ।

नेतान्याहुले युद्धसँग सम्बन्धित संवेदनशील मुद्दाका लागि आफ्ना केही सरकारी सदस्यसँग सानो फोरम राख्नुहुने आफ्नो नाम उल्लेख नर्गे सर्तमा एक अधिकारीले बताए ।

यसमा युद्धविराम सम्झौताको विरोध गर्ने र गाजामाथि पुनः कब्जा गर्नका लागि समर्थन गर्ने अतिदक्षिणपन्थी शासक साझेदार रहेको सुरक्षा मन्त्रिपरिषद् पनि समावेश छ ।

गेन्ट्ज विपक्षी दलको नेता तथा नेतान्याहुका प्रतिद्वन्द्वी रहेको बेला युद्ध मन्त्रिपरिषद्को गठन युद्धको सुरुआती दिनमा गरिएको थियो । अक्टोबर ७ मा दक्षिणी इजराइलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल हुनुभएको थियो ।

उहाँले नेतान्याहुको सरकारका अतिदक्षिणपन्थी सदस्यहरूलाई किनारा लगाउन सानो निर्णय गर्ने निकायले युद्धको नेतृत्व गर्नुपर्छ भन्ने माग गर्नुभएको थियो ।

युद्ध मन्त्रिपरिषद्मा तीन सदस्य गेन्ट्ज, नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट हुनुुहुन्थ्यो । उहाँहरूले मिलेर युद्धका क्रममा महत्त्वपूर्ण निर्णय गर्नुभएको थियो ।

इजराइलले थप महत्त्वपूर्ण निर्णयको सामना गर्नुपरिरहेको बेला युद्ध मन्त्रिपरिषद् समाप्त गर्ने कदम चालिएको छ ।

हमासको आक्रमणका क्रममा बन्धक बनाइएका मानिसहरूको रिहाइको बदलामा इजराइल र हमासले युद्धविरामको पछिल्लो प्रस्तावमाथि विचार गरिरहेका छन् ।

इजराइली सेना अहिले पनि गाजा पट्टीमा फसेका छन् । उनीहरू दक्षिणी सहर रफाह र अन्य स्थानमा हमासको पुनरुत्थानविरुद्ध लडिरहेका छन् । साथै इजराइल र लेबनानी हिजबुल्लाह लडाकू समूहबीच हिंसा जारी छ ।

सम्पूर्ण युद्धमा नेतान्याहुले इजराइलको शीर्ष सहयोगी अमेरिका, युद्धको बढ्दो विश्वव्यापी विरोध तथा आफ्ना सरकारी सहयोगीहरू वित्तमन्त्री बेजेलेज स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरको दबाबबीच सन्तुलन बनाउने भूमिका निर्वाह गर्नुभएको छ ।

दुवै मन्त्रीले इजराइलले युद्धविराम सम्झौतामा अघि बढेमा सरकार ढाल्ने धम्की दिनुभएको छ । विचाराधीन पछिल्लो प्रस्ताव युद्ध अन्त्य गर्न सहयोग गर्नका लागि बाइडेन प्रशासनको सबैभन्दा केन्द्रित प्रयासको हिस्सा हो ।

योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन

गलेश्वर (म्याग्दी), ३ असारः जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।

सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्र भए पनि बिरुवा–क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्र गर्ने सुरसार छैन । निर्माण कम्पनी बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

विसं २०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति तथा कालोपत्रको काम तीन खण्डमा विभाजन गरेर अलग–अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए । त्यसमध्ये दुई वटा खण्ड कालोपत्र भइसकेका छन् । यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । निर्माण कम्पनीको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासी सास्ती पाउने गरेका छन् ।

मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म सात किमी सडक कालोपत्र गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत वैशाख पहिलो सातादेखि निर्माण व्यवसायी आयोजनास्थलमा नदेखिएका स्थानीयले बताएका छन् ।

निर्माण कम्पनी सम्पर्कविहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माण अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समस्या देखिन थालेको मालिका गाउँपालिका–६ तोलाबाङकी पूर्णकली विकले गुनासो गर्नुभयो । सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले बताउनुभयो ।

निर्माण व्यवसायीले चार किमीमा सब बेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने गर्दछन् । सो खण्डको कालोपत्र योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कायालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनरको सम्मान

बर्लिन (जर्मनी) । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आएका हुन् ।

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच

सिरहा, ३ असार : आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ ।

सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर परेको छ । दुर्घटनाको जोखिम उत्तिकै बढेको स्थानीयवासी बताउँछन् । “दिनानुदिन आँप व्यापारीहरुले सडक क्षेत्र मिचेका छन् । यसले गर्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको जोखिम बढिरहेको छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले भन्नुभयो, “व्यापारीलाई हामीले कारबाही गर्न मिल्दैन । स्थानीय बजार व्यवस्थापनको जिम्मेवारी पालिकाको भएकाले लहान नगरपालिकासँग समन्वय गरी सवारी आगमन सहज बनाउन पहल गरिरहेका छौँ ।”

स्थानीय व्यापारीहरु भने आँप खरिद बिक्रीका लागि व्यवस्थित ठाउँ नतोकिँदा सडक पेटीमै बसेर बिक्रि गर्न बाध्य भएको बताउँछन् । “आँप बिक्री गर्ने उपयुक्त ठाउँ तोकिएको भए त्यहाँ राखेर बिक्री गर्नुहुन्थ्यो । सडक पेटीमा बसेर आँप बेच्न नगरपालिकालाई कर तिरिरहेका छौँ,” स्थानीय व्यापारी रविन महतोले भन्नुभयो । उहाँले नगरपालिकाले व्यवस्थित ठाउँ बनाई दिए सहज हुनेसमेत बताउनुभयो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ सुरु गरिएको छ । आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ तथा बजारीकरण गरी लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादीरहित शुद्ध आँप उपभोग गर्ने वातावरण मिलाइरहेको नगरपालिकाले जनाएको छ, तर स्थानीय बजार व्यवस्थापन गर्न नसक्दा व्यापारी, उपभोक्ता तथा यात्रुले समस्या खेप्नु परेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताउनुभयो ।

“नजिकै खाली जग्गा नहुँदा समस्या भएको छ,” प्रमुख हलुवाईले राससलाई भन्नुभयो, “व्यवस्थित बजार बनाउन सम्भव भइरहेको छैन । हामी यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उपाय खोजिरहेका छौँ । अहिले आँप खरिद बिक्रि भइरहेको ठाउँलाई पनि सडक क्षेत्रमा असर नपुग्ने गरी कम्तीमा दश फिट पछाडि सार्न सकिन्छ । त्यसका लागि पहल गरिरहेका छौँ ।”

लहान बजारको उत्तरतर्फ खुट्टीखोला किनारमा नगरपालिकाले लामो समयदेखि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक साताको सोमबार र शुक्रबार दुई दिन हाटबजार लाग्ने सो स्थान बढ्दो जनघनत्वसँगै साँघुरो भएको हो । त्यसैले पूर्व—पश्चिम राजमार्गमा तरकारी तथा आँप व्यापारीले सडक ढाक्ने गरेको स्थानीयवासी सन्तोष गुप्ताको भनाइ छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले पकेट क्षेत्रका रुपमा उत्पादन हुने लहानको आँप बजारलाई व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउनुभयो । “हामीसँग राजमार्ग क्षेत्रमा सार्वजनिक जग्गा अभाव छ । निम्नवर्गका सर्वसाधारणले सडक क्षेत्रमै साना व्यवसाय गरेर आयआर्जन गर्ने गरेकाले व्यवस्थापनमा चुनौती देखिएको छ,” मेयर चौधरीले भन्नुभयो, “तसर्थ चाँडै सडकक्षेत्र मिचिएर राखिएका आँपको व्यवस्थापनका लागि ठोस नीति बनाएर उचित विकल्प दिने गरी अघि बढ्छौँ ।”

एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल’ भ्रमण वर्ष मनाइने

काठमाडौँ, ३ जेठ : सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । आज पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिनुभयो

उहाँले सात वर्षदेखि टे«लको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको बताउनुभयो । त्यसका लागि खाना, बस्न, खानेपानी, शौचालय, पार्टीपौवालगायत सङ्ख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । “पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ । सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ । यसो गरेमा तोकिएको सङ्ख्यामा पर्यटक पु¥याएर स्थानीयले अझबढी आर्थिक लाभ लिनसक्ने हाम्रो विश्वास छ”, अध्यक्ष राईले भन्नुभयो ।
भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने आयोजकको योजना छ । मुन्दुम टे«लमा किराती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभालगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् । यो टे«ल सहज पदमार्गका रूपमा परिचित छ ।

पूर्वपर्यटनमन्त्री सुदन किरातीले मुन्दुम ट्रेल सांस्कृतिक मार्ग भएकाले यो अरु मार्गभन्दा भिन्न रहेकाले त्यसको ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “मुन्दुम टे«ल सांस्कृतिक मार्ग हो त्यसैले यो अरुभन्दा भिन्न छ । यसको ब्रान्डिङ गर्दै ऋतुअनुसार पर्यटकलाई आकर्षित बनाउनुपर्ने आवश्यकता छ । यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी विकास गर्नसके धेरै राम्रो हुन्छ किनकि कसैलाई लालीगुँरास हेर्न मनपर्ला कसैलाई कुहिरो । रैथाने संस्कृति तथा प्रकृति संरक्षण गर्दै खुला सांस्कृतिक सङ्ग्रहालयको अवधारणाअनुसार अगाडि बढौँ ।”

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले स्थानीय तहले अपनत्व नलिएसम्म यो ट्रेलको प्रवर्द्धन हुन नसक्ने बताउनुभयो । “यस्ता खालका पर्यटकीय टे«ललाई स्थानीय तहले नै प्रवर्द्धन गर्ने हो । कति धेरै टे«लहरु हराएर गएका छन् । त्यसलाई हामी बचाउन खोजिरहेका छाँै । गाडीको बाटो चाहिन्छ तर ट्रेल बनाइरहँदा वैकल्पिक बाटो पनि खोज्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा पाँच जनालाई मुन्दुम ट्रेल पर्यटन दूत पनि घोषणा गरिएका छन् । गायक राजेशपायल राई, कलाकार दयाहाङ राई, अल्ट्रा धावक मिरा राई, विश्व साइकल यात्री पुष्कर शाह र माउण्टेन गाइड तथा पर्वतारोही पेम्बा वाङचु शेर्पालाई पर्यटन दूत घोषणा गरिएको हो ।

कर्णाली प्रदेशमा योजना छनोट तथा प्राथमिकीकरणका लागि आयोजना बैंक

कर्णाली, ३ असार : कर्णाली प्रदेश सरकारले योजना छनोट तथा प्राथमिकीकरण गरी बजेट विनियोजन गर्न आयोजना बैंक बनाउने भएको छ ।

आर्थिक वर्ष २०८१÷८२ बजेट सन्दर्भमा आज आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको ‘पत्रकार भेटघाट’ कार्यक्रममा मन्त्री महेन्द्र केसीले योजनाको प्रभावकारी कार्यान्वयनका लागि आयोजना बैंकको आवश्यकता महसुस गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आवमा कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया अगाडि नबढेका आयोजनाको रकम रोक्का गरिने छ । अवण्डा रकम राखिएको छैन । नयाँ संरचना स्थापना गरिने छैनन् ।”

कुनै पनि योजनामा विनियोजित बजेटको चार गुणासम्म बढीमा तीन वर्षका लागि स्रोत सुनिश्चिताको सहमति दिन सकिने र स्रोत सहमति दिएको छ महिनाभित्र ठेक्का नलागेमा उक्त सहमति स्वतः खारेज भएको मानिने मन्त्री केसीले बताउनुभयो । सशर्त अनुदानलाई व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गरिने र व्यक्तिगत जग्गामा सार्वजनिक पूर्वाधार निर्माण गर्न अनुदान नदिइने सरकारको नीति रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले सङ्घीय सरकारबाट प्राप्त अनुदान रकम घटेका कारण कर्णाली सरकारको बजेटको आकार पनि घटेर आएको बताउनुभयो । मन्त्री केसीका अनुसार सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट रु नौ अर्ब ३८ करोड ५३ लाख र वित्तीय समानीकरणबाट अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ३६ करोड ६३ लाख, सशर्त अनुदानबाट रु तीन अर्ब ७१ करोड ५० लाख परिचालन गरिनेछ ।

सङ्घीय सरबारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ रु एक अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ रु ६७ करोड ६५ लाख परिचालन गरिनेछ । सङ्घीय सरबारबाट सर्शत अनुदानमा प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि रु एक करोड ३३ लाख ५० हजार स्रोत परिचालन हुनेछ । आगामी आवमा रु १० करोडभन्दा माथिका आयोजनाको चौमासिक मूल्याङ्कन गरिने व्यवस्था गरिएको पनि उहाँको भनाइ छ ।

मन्त्रालयका सचिव रविलाल शर्माले स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्याउन र युवा लक्षित रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा जोड दिइएको बताउनुभयो । चालु खर्च २२ प्रतिशत घटाउने लक्ष्य राखिएको बजेटमा पुँजीगत खर्च रु तीन प्रतिशत बढेको उहाँले जानकारी दिनुभयो । प्रदेशप्रति आमनागरिकको भरोशा जगाउन प्रणालीको सुधार, आयोजनाको प्रभावकारी कार्यान्वयन र हरेक कार्यक्रममा पारदर्शिता आवश्यक रहेको उहाँको भनाइ छ ।

बागमती प्रदेश सरकारको प्राथमिकतामा सडक, भवन र सहरी पूर्वाधार

बागमती, ३ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी रु २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ ।

प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई ‘बृहत् हेटौँडा सहर’ का रूपमा रूपान्तरण गर्न आगामी आवमा सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको प्रदेश सरकारले सङ्घीय सरकारको समन्वयमा विपद् जोखिमयुक्त बस्तीहरूमा स्थान्तरण गरी सामूहिक बस्ती विकास पाइलट परियोजना सुरुआत गर्ने जनाएको छ । प्रदेश लोकमार्ग तथा प्रदेश मार्ग निर्माण तथा स्तरोन्नति गर्ने र सडकको सीमा तोक्ने कार्यलाई प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गत कार्यान्वयन हुने गरी विशेष प्राथमिकता दिने र काठमाडौँ उपत्यका तथा प्रदेश राजधानी हेटौँडाका नदी करिडोर व्यवस्थापनका लागि आवश्यक अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने प्रदेश सरकारको योजना छ ।

प्रदेश सरकार गठन भएयता चालु आव २०८०/८१ को फागुन महिनासम्म एक हजार ६८ किलोमिटर नयाँ सडक, नौ सय सात किलोमिटर ग्राभेल र एक हजार ४२ किलोमिटर कालोपत्र भएको गरिएको बागमती प्रदेशमा आगामी आवमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकाका खस्र्याग खोला, महादेव खोला, हनुमन्ते खोला, चितवनको कयर, लदरी नदी करिडोरको सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसँग सहकार्य गरिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गतका सडकमा पर्ने नदी, खोला तथा खोल्सीहरूमा सडक, पुल तथा झोलुङ्गे पुल निर्माणका लागि आगामी आवमा रु दुई अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।

अति सिमान्तकृत चेपाङ, बनकरिया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम, खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम र गरिब तथा विपन्न वर्गका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिन रु ४० करोड बजेट विनियोजन गरिएको प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । यस्तै आगामी आवमा रुवी भ्याली एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले मानव विकास सूचाङ्कमा पछाडि परेका थप स्थानीय तहमा एकीकृत विकास कार्यक्रम विस्तार गर्ने गरी बजेट तथा योजना अगाडि सारेको छ ।

वर्षासँगै परेको चट्याङ लागेर प्रजाको मृत्यु

बागमती, ३ असार : वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर अचानक चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

काठमाडौँ, ३ असार : नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ । ‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा आइतबार काठमाडौैँमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा भारत–नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षाैंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सीमापार आवतजावतमा कुनै प्रतिबन्ध नहुनुले आपसी सम्बन्धमा प्रगाढता रहेको बताउनुभयो ।

कार्यक्रममा हाल नेपालमा बस्दै आएका बेलायती नागरिक गारी देला पोमेराइ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव रामप्रसाद सुवेदी, ‘इडियु टेक नेपाल’का अध्यक्ष मदन दाइना सिलवाललगायतले आर्थिक समृद्धिका सवालमा आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भारतको विहारस्थित ‘हबी बेल्स–आइसक्रिम वैशाली’का प्रबन्ध निर्देशक शत्रुधन चौधरीलाई ‘गोल्ड स्टार एसिया इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको थियो ।

विकट गाउँका नागरिकलाई पुलको चिन्ता : एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ

ढोरपाटन (बागलुङ), ३ असार : भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ । तर बर्खामा सबै खोलानालामा पानीको बहाव बढ्ने हुँदा गाडी तर्न सक्दैनन् । केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा हिउँदको समयमा साढे दुई घण्टा लाग्छ । यस गाउँमा पुग्न पाँच वटा पुल तर्नुपर्ने हुन्छ । गाउँपालिकाले चालु आर्थिक वर्ष एउटा घाटमा पुल निर्माण गरेको छ भने अन्य चार स्थानमा बन्न सकेका छैन् । पुल नबनेपछि यस वर्षको बर्खामा पनि नर्जाखानीमा गाडी चल्ने छैनन् । विसं २०७६ मा सडकले जोडिएको बागलुङको सबैभन्दा टाढाको बस्ती हो ।

हिउँदको समयमा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खाको समय करिब चार महिना अवरुद्ध हुन्छन् । बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि चार वटा खोलामा पुल बन्नुपर्छ । नर्जाखानी पुग्न घट्टबोटघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरि चार स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ । अहिलेसम्म भिकोसघाट मा मात्रै पुल बनेको छ । वडा नम्बर ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइ घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नम्बर २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्खानीघाटमा मोटरेवल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् ।

तमान खोलावासीलाई बाह्रै महिना यातायातको सुविधा दिनका लागि नौवटा पुल निर्माण हुनुपर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । अब ठूलो वर्षा भए सबै सडक बन्द हुने उहाँको भनाइ छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या हुने अध्यक्ष बुढा मगरको भनाइ छ । तमानखोलाको छ वटा वडाका बस्तीहरुमा पुग्न धेरै भिर पहरा र खोलाहरु पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको पर्ने हुँदा त्यसका लागि पालिकाको स्रोत साधानले नभ्याने हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

“यहाँका नागरिकको सामस्या हामीहरुले राम्रोसँग बुझेका छौँ, कतिपय समस्या पालिकाबाटै समाधान गर्न सकिने रैछ भने कतिपय चाहेर पनि सकिँदोरहेनछ, बर्खामा धेरै गाउँ बस्तीमा गाडी चल्दैनन्, दर्जन ठाउँमा पुल बनाउनुपर्छ, एउटै पुल बनाउन करोडौँ खर्च लाग्छ, तर त्यो बजेट पालिकासँग हुँदैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “केन्द्र र प्रदेश सरकारसँग बजेटको माग गरिरहेका छौँ, सबै ठाउँमा एकै पटक काम नहोला तर विस्तारै पुल बन्नेमा आशावादी छौँ ।”

बर्खाको करिब चार महिना सडक बन्द हुने हुँदा वर्षा नहुँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने तमानखोला गाउँपालिका–६ का दिलबहादुर छन्त्यालले बताउनुभयो । बर्खामा सबैभन्दा बढी समस्या बिरामीलाई अस्पताल पु¥याउँदा हुने उहाँको भनाइ छ । विकट गाउँमा सडक पुगे पनि पुल नबन्दा सस्ती भौग्नुपर्ने अवस्था रहेको छन्त्याल बताउनुहुन्छ । उहाँले सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको बताउनुभयो ।

बकर इद : नेपालगन्जमा सामूहिकरुपमा नमाज पढ्दै मुस्लिम समुदाय

मुस्लिम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा सोमबार बिहान नेपालगन्ज विपी चोकस्थित इदगाहमा सामूहिकरुपमा नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : राकेशकुमार मिश्र

दाङ, ३ असार :

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सोलुखुम्बु, ३ असार : सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट टे«किङ टे«ल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा रु २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रु २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा रु २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा रु २५ लाखको विनियोजन गरिएको छ ।

रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवगमनलाई थप सहज बनाउने उहाँले बताउनुभयो ।

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले निकै महत्व साथ हेरेका छन् । पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यीनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो । पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइेत तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउनुहुन्छ । तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ । यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउनुहुन्छ ।

यस्तै गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको रु २५ लाखको लगानीमा धमाधम भइरहेको छ । यसअघि पर्यटन सिजन चलिरहेकाले पूर्वाधार निर्माणको काम गर्दा पर्यटकको आवगमनमा असर पर्ने भएकाले सिजन कम भएसँगै काम सुरु गरेको र उक्त पदमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

विश्वको छैटौँ अग्लो आठ हजार एक सय ८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।

प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्षअघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ । डरलाग्दो भीर कट्टान गरी पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ । सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महँगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताउनुभयो ।

जोक्पे तथा घोडा खच्चड हिँड्ने बाटोसमेत एउटै हुँदा फोर्चे क्षेत्रको पदमार्गमा पर्यटकलाई असहज हुने गरेको पर्यटक गाइड तथा भरियाको गुनासो छ । प्रदेश सरकारसँगको समन्वयमा निर्माण सुरु गरिएको उक्त पदमार्ग सम्पन्न भएपछि सो समस्यासमेत समाधान हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो ।

सगरमाथा क्षेत्रले सोलुखुम्बुलाई मात्रै नभई देशलाई नै पालिरहेकाले यहाँको विकासमा कन्जुस्याँय गर्न नहुने सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीको बताउनुहुन्छ । वार्षिक हजारौँ विदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणकै लागि आउने भएकाले यहाँको पूर्वाधार विकास आजको प्रमुख आवश्यकता भएको उहाँको भनाइ छ ।

फोर्चेदेखि सगरमाथा जाने र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माण कार्यले पनि गति लिइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । यी पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यमा पुग्न सहज हुने स्थानीय होटल व्यवसायी काजी शेर्पाको अपेक्षा छ । “पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणले पदमार्ग सहज छ भन्ने सन्देश प्रवाह हुन्छ र सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा समेत वृद्धि हुन्छ”, होटल व्यवसायी शेर्पाले भन्नुभयो ।

सडक यातायातको पहुँच नपुगेको यस क्षेत्रमा पदमार्ग यात्रा लुक्ला विमानस्थलबाटै सुरु हुन्छ । काठमाडौँ वा रामेछापको मन्थलीबाट हवाइमार्ग भएर लुक्ला विमास्थलमा ओर्लिएका पर्यटक पदमार्ग हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्ने गर्दछन् । लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको दूरी झण्डै ६५ किलोमिटर रहेको छ । हेलिकप्टरबाहेक अन्य सवारी साधनको सुविधा नभएकाले पर्यटकलाई पैदलयात्रामार्फत लुक्लाबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सातदेखि आठ दिन लाग्ने गर्दछ ।

सगरमाथा पदयात्रा पदमार्ग भएर प्रत्येक वर्ष ५० देखि ५५ हजार जनासम्म पर्यटक सगरमाथा क्षेत्र पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । उच्च हिमाली क्षेत्र भएकाले सो क्षेत्रमा पर्ने चट्टान तथा पहाडका खोचहरु छिचल्दै पर्यटक सगरमाथाको आधार शिविर पुग्ने गर्छन् ।

पदमार्ग क्षेत्रमा विगतमा निर्माण गरिएका ढुङ्गाका स्टेप भत्किएका कारण सगरमाथा क्षेत्रमा पुग्ने पर्यटकले विगतमा सास्ती खेप्तै आएका थिए तर अब पदमार्गको पूर्वाधार निर्माणले सहज हुने पर्यटन गाइड साङ्गे शेर्पाको विश्वास छ । कयौँ पटक पर्यटक तथा जोक्पेसमेत लड्ने गरेको लार्चादोभान क्षेत्रमा अहिले स्तरीय पदमार्ग निर्माण भएपछि अत्यन्त सहज भएको खुम्बुका ल्हाक्पा शेर्पाको भनाइ छ । सडक यातायात नपुगेकाले खुम्बु क्षेत्रमा पदमार्ग निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्ने भए पनि विगतमा त्यसो नगर्दा यस क्षेत्रको पर्यटन विकासले गति लिन नसकेको अर्का स्थानीय रिन्छेन पल्मु शेर्पा बताउँछन् ।

पदमार्ग क्षेत्रमा पर्यटकलाई बिसाउने चौतारा तथा आराम गर्ने स्थलसमेत आवश्यक रहेकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने पर्यटक गाइड डिकबहादुर दर्नालको सुझाव छ । उहाँले भन्नुभयो, “यस क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक घुम्न आउने भएकाले यहाँको पूर्वाधार विकासमा कमजोरी हुँदा गलत सन्देश जान्छ, त्यसैले पूर्वाधार विकासमा हामी गम्भीर हुनुपर्छ, अहिले सुरु भएको पदमार्ग निर्माणले सकारात्मक सन्देश दिएको छ ।”

स्थानीय संस्कृतिको प्रवद्र्धनमा ध्यान दिनुपर्ने

पूर्वाधारको निर्माणसँगै पदमार्गका विभिन्न स्थानमा सांस्कृतिक सम्पदा, विभिन्न जातजातिका संस्कार संस्कृति झल्किने पूर्वाधार पनि निर्माण गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । यस्ता कार्यले स्थानीय संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटकलाई थप आकर्षित गर्ने अवलोकनकर्ता प्रजिता कार्कीको भनाइ छ । केही ठाउँमा शेर्पा समुदायको गुम्बा तथा माने भए पनि राई, तामाङसहित अन्य समुदायको जाति तथा धार्मिक संस्कार संस्कृति झल्कने सामग्री पदमार्ग क्षेत्रमा राख्न सके पर्यटकलाई थप लोभ्याउन सकिने उहाँको विश्वास छ ।

आर्थिक वर्षनै विकासको बाधक

 सामान्यतया देशका अन्य स्थानमा आवको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आव नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउनुहुन्छ । सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने हुँदा यस क्षेत्रमा हिउँद सिजनमा निर्माणको काम सुरु गर्न नसकिने उहाँको भनाइ छ । 

 भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकास निर्माणका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् । खुम्बुमा वर्षको दुई सिजन चैतदेखि जेठ र असोजदेख मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय  सिजनमा पदमार्ग क्षेत्रमा संरचना निर्माण गर्दा पर्यटकलाई हिँडडुल गर्न असहज हुने र अन्य सिजनमा चिसो तथा अन्य कारणले पूर्वाधार निर्माणको काम गर्न समस्या हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।  

संसारकै गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’

विश्वकै अग्लो सगरमाथादेखि अन्य उच्च हिम शिखरसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरिका पर्यटकको गन्तव्यस्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौँ अग्लो चोयु (८, १८८ मिटर) खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङ्खलामै छन् । यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्योलगायतका ताल, हिउँ चितुवा र हाब्रेलगायतका दुर्लभ हिमाली जनावर पाइन्छन् । लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् । त्यसैले यस क्षेत्रमा गरिने विकास र पूर्वाधार निर्माणले विशेष महत्व राख्दछ ।

१६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धता संसारभर फैलिन थालेको हो । आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै पर्यटन व्यवसाय पनि जीविकोपार्जनको स्रोत बन्न थालेको विश्व पर्वतारोहण महासङ्घका सदस्य आङ छिरिङ शेर्पाको भनाइ छ । संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभ लिनबाट अझै खुम्बु क्षेत्र बञ्चितनै रहेको उहाँको भनाइ छ ।

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पर्यटन पूर्वाधार विकासमा चालु आवमा रु ८३ करोडभन्दा बढीको योजना सञ्चालन गरेको छ । प्रदेश सरकारले पर्यटन विकासअन्तर्गतका योजनाबाट कोशीका १४ वटै जिल्ला समेटिएको कोशी प्रदेश पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख कुलप्रसाद यादवले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रुपमा विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

सरकारले ताप्लेजुङमा रु तीन करोड २५ लाख, पाँचथरमा रु छ करोड २५ लाख, इलाममा रु १० करोड २५ लाख, झापामा रु १२ करोड ६५ लाख, मोरङमा रु १७ करोड ९५ लाख र सुनसरीमा रु १४ करोड ७५ लाख रकमको कार्यक्रम सञ्चालन गरेको छ । यस्तै धनकुटामा रु २७ लाख, एक करोड ५० लाख, भोजपुरमा रु एक करोड ४५ लाख, सङ्खुवासभामा रु ९० लाख, खोटाङमा रु चार करोड २५ लाख, ओखलढुङ्गामा रु एक करोड ८५ लाख, उदयपुरमा दुई रु करोड र सोलुखुम्बुमा रु तीन करोड बराबरको योजना सञ्चालन भएको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शिखरमध्ये छवटा हिमशिखर यसै प्रदेशमा पर्दछ । त्यसैले यस प्रदेशमा पर्वतारोहरण पर्यटनदेखि जलयात्रा, पदयात्रा, वन्यजन्तु अवलोक, दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक, जङ्गल पर्यटनलगायत पर्यटनका विविध गतिविधिको सम्भावाना रहेको छ । पर्यटन क्षेत्रका विविध गतिविधिको पहिचान र सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्नसके छिमेकी मुलुक भारतको विहार र पश्चिम बङ्गालबाट बर्सेनि हजाराँै पर्यटक भित्र्याइ प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ ।

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौँ, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।

इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताउनुभयो ।

प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताउनुभयो । उहाँले आपसी सद्भावको चाडको रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले यसपर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने आशा गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

मुग्लिन (चितवन) । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

फ्रान्समा ‘स्टड फार्ममा’ आगलागी हुँदा ७० घोडा मरे

उत्तरपश्चिमी फ्रान्सको एक स्टड फार्ममा लागेको आगलागीमा ७० वटा घोडा मरेको स्थानीय सरकारले आइतबार जनाएको छ ।क्याल्भाडोस, नर्मन्डीको बर्नेस्क स्टड फार्ममा रहेको पाँच सय वर्गमिटर शेडमा आगो आइतबार बिहानै आगो लागेको थियो । उक्त शेड घोडाहरू प्रजनन गर्न समर्पित थियो । आइतबार साँझ पनि अग्निनियन्त्रकहरू घटनास्थलमा थिए ।

स्थानीय अधिकारीले भन्नुभयो, “जाँचहरू आवश्यक रहेको छ । यहाँ ७० घोडा मरेको रिपोर्ट गरिएको छ । यसमा घोडी र बच्चाहरु समेत रहेका थिए ।”आगलागीको कारण आकस्मिक भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको यकिन कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका २२ नदीमा बाढी आएको क्षेत्रीय जलविज्ञान केन्द्रले आइतबार जनाएको छ ।गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ ।हेजियाङ नदीको हेझाउ हाइड्रोलोजिक स्टेशनले एक दशकमा सबैभन्दा ठूलो बाढीको रिपोर्ट गरेको छ ।

शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म हेची, लिउझाउ, युलिन, हेझाउ र बाइसेलगायत गुआङ्सीका करिब आधा दर्जन प्रान्त–स्तरका सहरमा भारी वर्षा भएको छ ।हेची सहरको एउटा टाउनशिप र लिउझाउ शहरको अर्को स्थानमा दिनभरि करिब एक सय ४० मिलिमिटर वर्षा भएको थियो ।आगामी २४ घण्टामा कतिपय स्थानीय नदीमा पानीको बहाव एक मिटरसम्म बढ्ने पनि केन्द्रले जनाएको छ ।

सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा

काठमाडौँ, ३ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले इस्लाम धर्मावलम्बरुले ‘बकर इद’ लाई पवित्र पर्वका रुपमा मनाउँदै आएका जनाउँदै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा नेपाल–प्राचीनकालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ भनिएको छ ।

सभापति देउवाले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले ‘बकर इद ’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

बङ्गलादेशले नेपालाई दियो एक सय सात रनको चुनौती

काठमाडौँ, ३ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।

यससँगै नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको छ । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । खेलमा बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे । यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ /१२ रन जोडे भने लिटन दासले १० रन बनाए ।

तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए । बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

बकर इद मनाइँदै : सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौँ, ३ असारः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।

“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।

 यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् । 

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

  निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह

काठमाडौँ, ३ असार : जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उहाँले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गर्नुभयो । “जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियो । सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराउनुभएको थियो । साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली सङ्घका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाको अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो । राष्ट्रपति पौडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच आज औपचारिक भेटवार्ता हुनेछ ।

मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरण कार्य अगाडि बढाउन छलफल

गोदार (धनुषा)- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ ।उहाँले आईतबार नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पनि कृषि विद्युतीकरणलाई प्रदेशको गौरवको परियोजनाको रूपमा समावेश गरिएको छ । आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि रु एक करोड विनियोजन गरिएका बारे मुख्यमन्त्रीले जानकारीसमेत गराउनुभएको विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले किसानका लागि कृषि विद्युतीकरणको कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राय लिनुभयो । पुराना अव्यवस्थित तार र संरचनालाई व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ ।”

यसैगरी बिजुली बत्ती नपुगेका विपन्न बस्तीको तथ्याङ्क सङ्कलन गरी त्यहाँ विद्युत् पुगाउने विषयमा पनि छलफल भएको थियो । मुख्यमन्त्री सिंहले यहाँका विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउन राखेको प्रस्तावमा प्राधिकरण सकारात्मक भएको प्रमुख ठाकुरले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले पठायो १८ जिल्लामा उपसचिव

काठमाडौँ- राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ । मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनका क्रममा रहेका उपसचिवहरुलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि भन्दै उहाँहरुलाई देशका विभिन्न १८ जिल्लामा खटाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहजीकरणका लागि उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उपसचिव चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, उपसचिव परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु, दाङ, उपसचिव उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र उपसचिव टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको छ ।”

गृहसचिव एकनारायण अर्यालको सचिवस्तरीय निर्णयबाट उहाँहरुलाई जिल्लामा खटाइएको हो । सम्बन्धित जिल्लाहरुमा खटिएका उपसचिवहरुले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरण गर्नुपर्ने भएको प्रवक्ता एवं सहसचिव भट्टराईले बताउनुभयो ।

“सामाजिक सुरक्षा भत्ता लिँदा समेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएपछि अहिले जिल्लामा सेवाग्राहीको भीड बढेको छ”, उहाँले भन्नुभयो, “उहाँहरुले राष्ट्रिय परिचयपत्रको सेवाप्रभावमा सहजी करण गर्नुहुनेछ ।”

जिल्ला प्रशासन कार्यालयहरुले प्रदान गर्दै आएका सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीका लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौटलगायतका प्रशासनिक कामहरु सम्पादन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन गई समग्र कार्यालयको काम कारवाही व्यवस्थापन गर्न समस्या परिरहेको भन्ने गुनासोहरु आएपछि उपसचिवहरुलाई सहजीकरणका लागि जिल्लामा खटाइएको गृहसचिव एकनारायण अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले जिल्लामा पनि केही सहज हुन्छ, त्यहाँका वस्तुस्थितीबारे मन्त्रालयमा समेत विवरण आउँछ, सेवाग्राहीसहित कर्मचारीका लागि पनि यो राम्रो अवसर हुनेछ ।”

पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध,सवारीसाधन बाटोमा नै रोकिए

भरतपुर, ३ असार : पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम जारी रहेको उहाँले बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

इद-उल-अत्ज्हा त्याग, समर्पण र बलिदानको प्रतीकः कार्यवाहक राष्ट्रपति

काठमाडौँ, ३ असारः कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गर्नुभएको छ । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ ।

कार्यवाहक राष्ट्रपति यादवले समाजमा समानताको भावनालाई पनि उत्तिकै बढावा दिने यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभएको छ । यसले समाजमा सामूहिकता, सहानुभूति र सहयोगको पवित्र भावनालाई प्रोत्साहित गर्ने उहाँको भनाइ छ । यो पर्वले हामीलाई आफ्नो सुख–दुःखलाई साझा गर्न र अभावमा रहेकालाई सहयोगका लागि सदैव तत्पर रहन पनि सिकाउने उहाँले बताउनुभएको छ ।

“आफ्नो धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण यो पर्वले हामीलाई एकजुटता र मानवताको उच्च मूल्यहरुलाई स्मरण पनि गराउँदछ । ‘इद–उल–अज्हा’ले हामीलाई यो पनि सिकाउँदछ कि सही बलिदान त्यही हो जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ”, कार्यवाहक राष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो । कार्यवाहक राष्ट्रपति यादवले नेपालमा मनाइने पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले ‘इद-उल-अज्हा’ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्दै लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभएको छ ।

बकर इद पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायमः सभामुख घिमिरे

काठमाडौँ ३ असारः सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

सभामुख घिमिरेले नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको उल्लेख गर्नुभएको छ । “सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको हाम्रो देशमा बकर इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।” शुभकामना सन्देशमा भनिएको छ ।

नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी रहेको छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् । उहाँले सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार भएको बताउनुभयो ।

सभामुख घिमिरेले बकर इद इस्लाम समुदायको सबैभन्दा महत्वपूर्ण र विश्वभरका मुस्लिमले मनाउने दोस्रो प्रमुख इस्लामिक चाड भएको भन्दै उक्त पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ ।

आज बकर इद मनाइँदै

काठमाडौँ, ३ असारः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।

“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नेता र कार्यकर्ता आदर्शपात्रका रुपमा स्थापित हुनुपर्छः महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले बागमती प्रदेश कमिटीले च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी तथा जनसङ्गठनका पदाधिकारीसहितको शपथ ग्रहण समारोहका अवसरमा उहाँले जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने विषय उचित नभएको बताउनुभयो ।

महासचिव पोखरेलले एमाले अहिले पनि चुनौतीको बीचमा रहेको भन्दै चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको नेता जनताको बीचमा जाने क्रम घटेको बताउनुभयो ।

“हामी जनताको बीचमा जान छाडेका छौँ, जसको कारण पार्टीको जनतासँगको सम्बन्ध टुटेको छ”, उहाँले भन्नुभयो, “जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुन्छ । जनतासँग जाने कुरालाई बाक्लो गराउनुपर्दछ ।” महासचिव पोखरेलले नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको बताउनुभयो । उहाँले युवालाई राजनीतिमा नल्याएसम्म पार्टीको भविष्य सुरक्षित नहुने तर्क गर्नुभयो ।

महासचिव पोखरेलले आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको समेत बताउनुभयो । उहाँले नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठूलो पैसा भारत लैजाने गरेको बताउनुभयो । उहाँले देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नुपर्ने भन्दै विदेशमा बसेर देशलाई गाली गरेर देश नबन्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीका नेताहरुले देश र सन्ततिलाई हेरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका नेताले आज गरेको कामको प्रभाव भोलिका सन्ततिलाई पर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सेती नदी संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

कास्की, २ असारः पोखरा बजारको मध्य भाग भएर बग्ने सेती नदीको संरक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।

सेती नदी संरक्षण अभियानका पदाधिकारीहरुले आज प्रधानमन्त्री दाहालसँग भेट गरी मानवीय दोहनले कुरुप बनेको नदीको दीर्घकालीन संरक्षणका लागि माग गरेको हो । अभियानका अध्यक्ष हेम पौड्यालले सेती नदीको वर्तमान दूरावस्थाबारे जानकारी गराउँदै सेती नदीको सीमाङ्कन, नदी संरक्षण तथा व्यवस्थापनका लागि गुरुयोजनाको निर्माण, नदीमा आठदेखि १० स्थानमा चेक ड्याम निर्माण गर्न माग गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पवित्र सेती नदी अहिले मानवीय कारणले अत्यन्त कुरुप बन्दै गएको छ । सेतीमा वर्षौंदेखि हुँदै आएको नदीजन्य पदार्थको उत्खनन र किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरि तरिकाले दोहन बढेपछि नदीको सीमाङ्कन गरेका हौँ ।”

नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेको कारण बर्सातमा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको अभियन्ता पौडेलले बताउनुभयो ।

यसैगरी कोत्रेदेखि नदीको मुहानसम्म दुवै किनारामा हरित पैदल तथा साइकलमार्ग बनाउन र नदीको दुवै किनारामा वृक्षरोपण तथा चौतारा निर्माण, नदीमा बिसर्जन भइरहेको फोहर अविलम्ब रोक लगाउनुपर्ने माग समितिको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखरा भएर बग्ने सेती नदीका बारेमा चासो राख्दै संरक्षणका लागि पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

प्रधानमन्त्रीले नदी संरक्षणको अभियानमा जुटेका समुदायलाई धन्यवाद दिनुहुँदै सरकारले यो विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको समितिका सदस्य भुवनेश्वर पोखरेलले बताउनुभयो ।

यसैगरी अभियानको टोलीले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललाई समेत भेट गरी नदीको सीमाङ्कन, गुरुयोजनालगायतका विषयमा छलफल गरेको थियो ।

अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन माग

बागमती -बागमती प्रदेशसभामा रहेका विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरुले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन बागमती प्रदेश सरकारसँग माग गरेका छन् ।

हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध गठित संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको विरोध सभामा एक्यबद्धता जनाउन पुगेका नेपाली कांग्रेस संसदीय दलका नेताबहादुर सिंह लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा र नेकपा (एकिकृत समाजवादी पार्टी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले हेटौँडा अस्पतालको पहिचानलाई कायम गर्न माग गर्नुभयो ।

‘‘हेटौँडा अस्पताललाई स्तरोन्नति गर्नुपर्दथ्यो, त्यो नगरी तत्कालीन प्रदेश सरकारले ऐन ल्याएर अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिने निर्णय गरेको छ, त्यो हामीलाई मान्य छैन”, विरोध सभामा बोल्नुहुँदै कांग्रेस संसदीय दलका नेता लामाले भन्नुभयो, “त्यसैले वर्तमान प्रदेश सरकारले सो ऐन संशोधन गरी हेटौँडा अस्पताल अहिलेको पहिचानलाई कायम गर्नुपर्छ ।” हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभिने निर्णय आफूहरुलाई स्वीकार्य नभएको उहाँको भनाइ थियो ।

“यस विषयमा हामी प्रदेशसभाको बैठकमा बोल्दै आएका छौँ, फेरि पनि बोल्छौँ तर सरकारले ऐन संशोधन गरेर हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट बाहिर राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभामा नेकपा (एकीकृत समाजवादी पार्टी) संसदीय दलका नेता खनालले स्थानीयको दबाब नपुगेरे हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने ऐन पारित भइसकेकाले यसलाई सच्याउनुपर्ने धारणा राख्नुभयो । “ऐन संशोधन नहुदाँसम्म हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानमै रहन्छ”, उहाँले भन्नुभयो, “तर ऐन संशोधन गरे यो निर्णयमा पुनर्विचार गर्ने निष्कर्षमा हामी पुगिसकेको छौँ, छिट्टै यसको निष्कर्ष निष्कन्छ ।”

राप्रपा संसदीय दलका नेता थापाले आफ्नो छुट्टै पहिचान बोकेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने निर्णय गरेर प्रदेश सरकारले मदन भण्डारीजस्तो नेताको नामलाई विवादमा ल्याउने काम गरेको टिप्पणी गर्नुभयो ।

सरकारको सो कदमले अस्पतालको अस्तित्व नै खतरामा परेको बताउनुहुँदै उहाँले प्रदेश सरकारबाट यो विषयमा ऐन संशोधन गर्न प्रस्ताव आए आफूहरुले पनि सघाउने बताउनुभयो ।

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

पाटन (ललितपुर) – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत रहेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पुँजीगततर्फ रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च गरेको बताउनुभयो ।

“पुँजीगततर्फ यस आवमा रु चार अर्ब २९ करोड ४६ लाख पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ”, उहाँले भन्नुभयो, “बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।”

अघिल्लो आव २०७९/०८० को जेठमसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उहाँले जानकारी दिनुभयो । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी गराउनुभयो । “गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्ययअनुसार चालु आवमा रु दुई अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार सङ्कलन भएको छ । प्रस्तावित राजस्व सङ्कलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अध्यावधिक गर्ने चरणमा छौँ”, थापाले भन्नुभयो । यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ ।

यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ । “पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु रु ५८ करोडभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ”, धिमालले रासससँग भन्नुभयो ।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार पक्राउ

काठमाडौँ, २ असारः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचकर्ताको रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरुकिर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षकसानुराम भट्टराईले जानकारी दिनुभयो ।

उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपार्टीमा खोलिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अध्यक्ष थापा बिसं २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको प्रहरीको भनाइ छ ।

थापा अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत अध्यक्ष भइसकेको तथा बैंकिङ कसुरका पाँच वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा रहेको अनुसन्धानबाट खुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँच सय ६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, रु दुई अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

प्रहरीले उनीहरुको साथबाट मोबाइल छ थान, पेनड्राइभ तीन थान, केही चेक तीन थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान गाडी एक, यती टेक्निकको छाप र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरिएको जनाएको छ ।

बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरुले दिएको उजुरीका आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), २ असार: आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा रु दुई अर्व ६६ करोड ८० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

गत आवको ११ महिनामा रु दुई अर्ब ५० करोड १९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो । आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । “व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व सङ्कलनको लक्ष्य नभेटिए पनि हालको सङ्कलन दर कायम राख्नुपर्ने चुनौती छ”, उहाँले भन्नुभयो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब २२ करोड, भाडा आयकरबाट रु तीन करोड चार लाख, ब्याजबापत रु १० करोड २१ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ११ करोड ९५ लाख, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा रु तीन अर्व ७९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग

काठमाडौँ, २ असार : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले तत्काल कानुनबमोजिम दर्ता भएका उद्योग नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योग नवीकरण गरी सञ्चालन गर्ने वातावरण निर्माणको माग गर्दै आज सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध र्‍याली गरेको थियो ।

महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित मापदण्ड पुगेका क्रसर उद्योगको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । “तत्कालीन कानुनअनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गरी सहजरूपमा काम गर्ने वातावरण बनाउन आवश्यक छ । यसमा सरकारको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो ।

महासचिव रेग्मीले विसं २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आजसम्म कार्यान्वयन नगर्दा क्रसर उद्योगी ठूलो मारमा परेका उल्लेख गर्नुभयो । कानुनसम्मत दर्ता भएर पनि नवीकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नवीकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव

धनुषा, २ असार: जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको बताउनुभएको छ ।
महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजन गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भीडले आफूलाई उत्साही बनाएको बताउनुभयो ।

सङ्घीयता पक्षधर मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकूलताका बीच पनि समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भइसकेको दाबीसमेत गर्नुभयो ।

हिमाल पहाड र मधेसको एक्यबद्धताले जनता समाजवादी पार्टीको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको उहाँको भनाइ थियो ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेता हरिनारायण यादव, डा सुरेन्द्र यादव, लालकिशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेलद्वारा जर्मनीमा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन् । उनले जर्मनीको पोट्सडामस्थित ती संस्थाहरूको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनीहरूलाई आग्रह गरेका थिए ।

“जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ । अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो”, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, “नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिसके ।

हिमालयहरू काला पहाडमा परिणत भइसकेका छन् । अब विकसित मुलुकहरूमा पनि असर पर्नेछ । त्यसैले तपाईहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आवश्यक छ, जसले पृथ्वीलाई जोगाउन सकोस् ।”

जर्मन रिसर्च सेन्टर फर जिओसाइन्स (जिएफजेड) साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्युट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) अनुसन्धान समूहका प्रमुख युर्गन पि क्रप, नेपाली रिसर्च इन्स्टिट्युट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लिडर डा महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । उनी प्रथम महिला सविता पौडेलका साथ सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी गएका हुन् ।

उनले जर्मनीको पोट्सडाममा अवस्थित जिएफजेडको अवलोकन गरे । यो ठोस पृथ्वी विज्ञानका लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो ।

यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तक्र्रिया गर्ने उपचक्रहरू र यसका कारण तथा प्रभाव शृङ्खलाहरूका विस्तृत सञ्जालका साथै पृथ्वीको भूगोलजस्ता जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।

सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् ।

यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्वसूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।

यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गरेका जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो ।

यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यकासाथ अनुसन्धान गर्ने बताइएको छ ।

मे २०१२ देखि प्रो मार्क लरेन्स (आरआइएफएसका वैज्ञानिक निर्देशक) को निर्देशनमा डा महेश्वर रुपाखेतीले योे संस्थामा एक अनुसन्धान समूहको नेतृत्व गर्दै काम गरिरहेको र यो समूहले नेपाललाई केन्द्रित गर्दै दक्षिण एशियामा वायु प्रदूषण र जलवायु परिवर्तनको अध्ययन गरिरहेको बताइएको छ ।

नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदूषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एसियामा विशेष गरी नेपालमा अनुसन्धान र सम्वादको संयोजनमार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रुपाखेतीले जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले अवलोकन गरेको अर्को सन् १९९२ मा स्थापना भएको इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले विश्वव्यापी स्थिरताको लागि अन्तर क्षेत्रगत जलवायु प्रभाव अनुसन्धानमा वैज्ञानिक सीमालाई अगाडि बढाउने र सुरक्षित तथा न्यायपूर्ण जलवायु भविष्यको लागि ज्ञान र समाधानमा योगदान गर्ने दुईवटा लक्ष्य लिएको पनि अवलोकन भ्रमणका क्रममा जानकारी दिइयो ।

पिआइकेले नेपाललाई साझेदार मुलुक मान्दै परियोजना सञ्चालन गरेको थियो । यसले अहिले फर एचआइएम एसडिजी सञ्चालन गरिरहेको जनाइएको छ ।

प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम

घोडाघोडी (कैलाली), २ असार : कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुनुहुन्छ तर उहाँ स्वास्थ्य संस्था नगई शिक्षकजस्तै नियमित विद्यालय जानुहुन्छ ।

सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमअन्तर्गत उहाँ सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत हुनुहुन्छ । यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उहाँको दैनिकी बित्छ । यसका साथै उहाँले विद्यार्थीलाई व्यक्तिगत तथा वातावरण सरसफाई, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन शिक्षा, लागुपदार्थ दुव्र्यसनीलगायत विषयमा जानकारी तथा परामर्शसमेत दिनुहुन्छ ।

सङ्घीय सरकारले महत्वका साथ सुरूआत गरेको उक्त कार्यक्रमअन्तर्गत उहाँले २०७९ भदौदेखि उहाँले यस्तै सेवा दिइरहनुभएको छ । खड्काले सुरूमा पालीकामा रहेका धेरै विद्यालयमा सेवा दिनुपरेकाले सेवा प्रभावकारिताबारे गुनासो आएपछि हाल एउठा विद्यालयमा केन्द्रीत हुनुपरको बताउनुभयो । “पालिकाभित्र ५१ वटा सामूदायिक विद्यालय छन् । पहिले धेरै विद्यालयमा गएर सेवा दिनुपथ्र्यो तर अहिले एउटा विद्यालयमा केन्द्रीत भएर काम गरिहेकी छु । विद्यार्थीले घरपरिवार तथा शिक्षकसँग खुलेर भन्न नसकेका समस्या पनि मलाई भन्ने गरेका छन्”, खड्का भन्नुहुन्छ,“किशोरीले विशेष गरी महिनावारी तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा खुलेर भन्ने गरेका छन् । उनीहरुको समस्या समाधान गर्न सहज भएको छ ।”

प्रधानाध्यापक उमाकान्त मिश्रले विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीका समस्या समाधान गर्न सहज भएको बताउनुभयो । “विद्यालय समयमा विद्यार्थीमा केही स्वास्थ्य समस्या आएमा तत्काल प्राथमिक उपचार पाउने भएकाले पठनपाठन पनि प्रभावकारी भएको छ । विद्यार्थीसमेत व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका सम्बन्धमा सजग भएका छन्”, उहाँले भन्नुभयो ।

घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउनुहुन्छ । उहाँले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताउनुभयो । “सुरुमा उहाँले नै यहाँका धेरै विद्यालयमा सेवा दिनुहुन्थ्यो, त्यो प्रभावकारी नभएपछि एउटा विद्यालयमा केन्द्रीत गरेका छौँ तर आवश्यकतामा अन्य विद्यालयमा पनि सेवा दिइरहनुभएको छ”, सिंहले भन्नुभयो,“अब अन्य विद्यालयमा पनि विद्यालय नर्सको व्यवस्था गर्न अपरिहार्य छ । यस विषयमा सरोकार भएकाहरूको ध्यानाकर्षण गराइरहेका छौँ ।”

स्वास्थ्य कार्यालय कैलालीका सिनियर अनमी रमा गिरीले यो कार्यक्रम जिल्लाका चारवटा स्थानीय तहका छ विद्यालयमा लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिकाको त्रिनगर र चैतन्य मावि, भजनी नगरपालिकाको महुन्याल मावि, घोडाघोडी नगरपालिकाको कान्ति राज्यलक्ष्मी मावि र जानकी गाउँपालिकाको सरस्वती र महेन्द्र शिशुु माविमा यो कार्यक्रम लागू छ ।

सोही कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले यो कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थी र विशेष गरी किशोरीको स्वास्थ्य समस्या समाधान तथा सरसफाइमा राम्रो प्रभाव परेको प्रतिक्रिया आएको बताउनुभयो । आगामी आर्थिक वर्षमा थप दुई विद्यालयमा कार्यक्रम विस्तार गर्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन, वातावरण तथा व्यक्तिगत सरसफाइमा सुधार ल्याउन, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार, महिनावारी व्यवस्थित गरी विद्यालय जाने वातावरण सिर्जना गर्न र जटिल प्रकारका स्वास्थ्य समस्या समयमै समाधानका लागि पहल गर्न ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६’ नेपाल सरकारले जारी गरेको छ ।

निर्देशिकामा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि प्रत्येक विद्यालयमा एकजना नर्स राख्ने व्यवस्था गरिएको छ ।