`

अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन माग

बागमती -बागमती प्रदेशसभामा रहेका विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरुले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन बागमती प्रदेश सरकारसँग माग गरेका छन् ।

हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने बागमती प्रदेश सरकारको निर्णयविरुद्ध गठित संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको विरोध सभामा एक्यबद्धता जनाउन पुगेका नेपाली कांग्रेस संसदीय दलका नेताबहादुर सिंह लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा र नेकपा (एकिकृत समाजवादी पार्टी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले हेटौँडा अस्पतालको पहिचानलाई कायम गर्न माग गर्नुभयो ।

‘‘हेटौँडा अस्पताललाई स्तरोन्नति गर्नुपर्दथ्यो, त्यो नगरी तत्कालीन प्रदेश सरकारले ऐन ल्याएर अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिने निर्णय गरेको छ, त्यो हामीलाई मान्य छैन”, विरोध सभामा बोल्नुहुँदै कांग्रेस संसदीय दलका नेता लामाले भन्नुभयो, “त्यसैले वर्तमान प्रदेश सरकारले सो ऐन संशोधन गरी हेटौँडा अस्पताल अहिलेको पहिचानलाई कायम गर्नुपर्छ ।” हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभिने निर्णय आफूहरुलाई स्वीकार्य नभएको उहाँको भनाइ थियो ।

“यस विषयमा हामी प्रदेशसभाको बैठकमा बोल्दै आएका छौँ, फेरि पनि बोल्छौँ तर सरकारले ऐन संशोधन गरेर हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट बाहिर राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभामा नेकपा (एकीकृत समाजवादी पार्टी) संसदीय दलका नेता खनालले स्थानीयको दबाब नपुगेरे हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने ऐन पारित भइसकेकाले यसलाई सच्याउनुपर्ने धारणा राख्नुभयो । “ऐन संशोधन नहुदाँसम्म हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानमै रहन्छ”, उहाँले भन्नुभयो, “तर ऐन संशोधन गरे यो निर्णयमा पुनर्विचार गर्ने निष्कर्षमा हामी पुगिसकेको छौँ, छिट्टै यसको निष्कर्ष निष्कन्छ ।”

राप्रपा संसदीय दलका नेता थापाले आफ्नो छुट्टै पहिचान बोकेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने निर्णय गरेर प्रदेश सरकारले मदन भण्डारीजस्तो नेताको नामलाई विवादमा ल्याउने काम गरेको टिप्पणी गर्नुभयो ।

सरकारको सो कदमले अस्पतालको अस्तित्व नै खतरामा परेको बताउनुहुँदै उहाँले प्रदेश सरकारबाट यो विषयमा ऐन संशोधन गर्न प्रस्ताव आए आफूहरुले पनि सघाउने बताउनुभयो ।

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत

पाटन (ललितपुर) – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत रहेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पुँजीगततर्फ रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च गरेको बताउनुभयो ।

“पुँजीगततर्फ यस आवमा रु चार अर्ब २९ करोड ४६ लाख पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ”, उहाँले भन्नुभयो, “बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।”

अघिल्लो आव २०७९/०८० को जेठमसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उहाँले जानकारी दिनुभयो । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी गराउनुभयो । “गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्ययअनुसार चालु आवमा रु दुई अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार सङ्कलन भएको छ । प्रस्तावित राजस्व सङ्कलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अध्यावधिक गर्ने चरणमा छौँ”, थापाले भन्नुभयो । यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ ।

यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ । “पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु रु ५८ करोडभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ”, धिमालले रासससँग भन्नुभयो ।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार पक्राउ

काठमाडौँ, २ असारः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचकर्ताको रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरुकिर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षकसानुराम भट्टराईले जानकारी दिनुभयो ।

उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपार्टीमा खोलिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अध्यक्ष थापा बिसं २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको प्रहरीको भनाइ छ ।

थापा अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत अध्यक्ष भइसकेको तथा बैंकिङ कसुरका पाँच वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा रहेको अनुसन्धानबाट खुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँच सय ६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, रु दुई अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

प्रहरीले उनीहरुको साथबाट मोबाइल छ थान, पेनड्राइभ तीन थान, केही चेक तीन थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान गाडी एक, यती टेक्निकको छाप र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरिएको जनाएको छ ।

बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरुले दिएको उजुरीका आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), २ असार: आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा रु दुई अर्व ६६ करोड ८० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आवको सोही अवधिको तुलनामा १६ करोड ६० लाख ९५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

गत आवको ११ महिनामा रु दुई अर्ब ५० करोड १९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो । आन्तरिक राजस्व कार्यालयले ११ महिनामा राखेको लक्ष्यको ८३ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । “व्यापार व्यवसायमा मन्दी आउँदा राजस्व सङ्कलनको लक्ष्य नभेटिए पनि हालको सङ्कलन दर कायम राख्नुपर्ने चुनौती छ”, उहाँले भन्नुभयो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब २२ करोड, भाडा आयकरबाट रु तीन करोड चार लाख, ब्याजबापत रु १० करोड २१ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ११ करोड ९५ लाख, अन्तःशुल्कबापत ५८ करोड ७३ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवमा रु तीन अर्व ७९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग

काठमाडौँ, २ असार : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले तत्काल कानुनबमोजिम दर्ता भएका उद्योग नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योग नवीकरण गरी सञ्चालन गर्ने वातावरण निर्माणको माग गर्दै आज सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध र्‍याली गरेको थियो ।

महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित मापदण्ड पुगेका क्रसर उद्योगको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । “तत्कालीन कानुनअनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गरी सहजरूपमा काम गर्ने वातावरण बनाउन आवश्यक छ । यसमा सरकारको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो ।

महासचिव रेग्मीले विसं २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आजसम्म कार्यान्वयन नगर्दा क्रसर उद्योगी ठूलो मारमा परेका उल्लेख गर्नुभयो । कानुनसम्मत दर्ता भएर पनि नवीकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नवीकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव

धनुषा, २ असार: जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको बताउनुभएको छ ।
महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजन गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भीडले आफूलाई उत्साही बनाएको बताउनुभयो ।

सङ्घीयता पक्षधर मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकूलताका बीच पनि समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भइसकेको दाबीसमेत गर्नुभयो ।

हिमाल पहाड र मधेसको एक्यबद्धताले जनता समाजवादी पार्टीको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको उहाँको भनाइ थियो ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेता हरिनारायण यादव, डा सुरेन्द्र यादव, लालकिशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेलद्वारा जर्मनीमा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन् । उनले जर्मनीको पोट्सडामस्थित ती संस्थाहरूको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनीहरूलाई आग्रह गरेका थिए ।

“जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ । अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो”, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, “नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिसके ।

हिमालयहरू काला पहाडमा परिणत भइसकेका छन् । अब विकसित मुलुकहरूमा पनि असर पर्नेछ । त्यसैले तपाईहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आवश्यक छ, जसले पृथ्वीलाई जोगाउन सकोस् ।”

जर्मन रिसर्च सेन्टर फर जिओसाइन्स (जिएफजेड) साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्युट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) अनुसन्धान समूहका प्रमुख युर्गन पि क्रप, नेपाली रिसर्च इन्स्टिट्युट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लिडर डा महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । उनी प्रथम महिला सविता पौडेलका साथ सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी गएका हुन् ।

उनले जर्मनीको पोट्सडाममा अवस्थित जिएफजेडको अवलोकन गरे । यो ठोस पृथ्वी विज्ञानका लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो ।

यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तक्र्रिया गर्ने उपचक्रहरू र यसका कारण तथा प्रभाव शृङ्खलाहरूका विस्तृत सञ्जालका साथै पृथ्वीको भूगोलजस्ता जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।

सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् ।

यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्वसूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।

यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गरेका जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो ।

यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यकासाथ अनुसन्धान गर्ने बताइएको छ ।

मे २०१२ देखि प्रो मार्क लरेन्स (आरआइएफएसका वैज्ञानिक निर्देशक) को निर्देशनमा डा महेश्वर रुपाखेतीले योे संस्थामा एक अनुसन्धान समूहको नेतृत्व गर्दै काम गरिरहेको र यो समूहले नेपाललाई केन्द्रित गर्दै दक्षिण एशियामा वायु प्रदूषण र जलवायु परिवर्तनको अध्ययन गरिरहेको बताइएको छ ।

नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदूषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एसियामा विशेष गरी नेपालमा अनुसन्धान र सम्वादको संयोजनमार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रुपाखेतीले जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले अवलोकन गरेको अर्को सन् १९९२ मा स्थापना भएको इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले विश्वव्यापी स्थिरताको लागि अन्तर क्षेत्रगत जलवायु प्रभाव अनुसन्धानमा वैज्ञानिक सीमालाई अगाडि बढाउने र सुरक्षित तथा न्यायपूर्ण जलवायु भविष्यको लागि ज्ञान र समाधानमा योगदान गर्ने दुईवटा लक्ष्य लिएको पनि अवलोकन भ्रमणका क्रममा जानकारी दिइयो ।

पिआइकेले नेपाललाई साझेदार मुलुक मान्दै परियोजना सञ्चालन गरेको थियो । यसले अहिले फर एचआइएम एसडिजी सञ्चालन गरिरहेको जनाइएको छ ।

प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम

घोडाघोडी (कैलाली), २ असार : कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुनुहुन्छ तर उहाँ स्वास्थ्य संस्था नगई शिक्षकजस्तै नियमित विद्यालय जानुहुन्छ ।

सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमअन्तर्गत उहाँ सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत हुनुहुन्छ । यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उहाँको दैनिकी बित्छ । यसका साथै उहाँले विद्यार्थीलाई व्यक्तिगत तथा वातावरण सरसफाई, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन शिक्षा, लागुपदार्थ दुव्र्यसनीलगायत विषयमा जानकारी तथा परामर्शसमेत दिनुहुन्छ ।

सङ्घीय सरकारले महत्वका साथ सुरूआत गरेको उक्त कार्यक्रमअन्तर्गत उहाँले २०७९ भदौदेखि उहाँले यस्तै सेवा दिइरहनुभएको छ । खड्काले सुरूमा पालीकामा रहेका धेरै विद्यालयमा सेवा दिनुपरेकाले सेवा प्रभावकारिताबारे गुनासो आएपछि हाल एउठा विद्यालयमा केन्द्रीत हुनुपरको बताउनुभयो । “पालिकाभित्र ५१ वटा सामूदायिक विद्यालय छन् । पहिले धेरै विद्यालयमा गएर सेवा दिनुपथ्र्यो तर अहिले एउटा विद्यालयमा केन्द्रीत भएर काम गरिहेकी छु । विद्यार्थीले घरपरिवार तथा शिक्षकसँग खुलेर भन्न नसकेका समस्या पनि मलाई भन्ने गरेका छन्”, खड्का भन्नुहुन्छ,“किशोरीले विशेष गरी महिनावारी तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा खुलेर भन्ने गरेका छन् । उनीहरुको समस्या समाधान गर्न सहज भएको छ ।”

प्रधानाध्यापक उमाकान्त मिश्रले विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीका समस्या समाधान गर्न सहज भएको बताउनुभयो । “विद्यालय समयमा विद्यार्थीमा केही स्वास्थ्य समस्या आएमा तत्काल प्राथमिक उपचार पाउने भएकाले पठनपाठन पनि प्रभावकारी भएको छ । विद्यार्थीसमेत व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका सम्बन्धमा सजग भएका छन्”, उहाँले भन्नुभयो ।

घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउनुहुन्छ । उहाँले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताउनुभयो । “सुरुमा उहाँले नै यहाँका धेरै विद्यालयमा सेवा दिनुहुन्थ्यो, त्यो प्रभावकारी नभएपछि एउटा विद्यालयमा केन्द्रीत गरेका छौँ तर आवश्यकतामा अन्य विद्यालयमा पनि सेवा दिइरहनुभएको छ”, सिंहले भन्नुभयो,“अब अन्य विद्यालयमा पनि विद्यालय नर्सको व्यवस्था गर्न अपरिहार्य छ । यस विषयमा सरोकार भएकाहरूको ध्यानाकर्षण गराइरहेका छौँ ।”

स्वास्थ्य कार्यालय कैलालीका सिनियर अनमी रमा गिरीले यो कार्यक्रम जिल्लाका चारवटा स्थानीय तहका छ विद्यालयमा लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिकाको त्रिनगर र चैतन्य मावि, भजनी नगरपालिकाको महुन्याल मावि, घोडाघोडी नगरपालिकाको कान्ति राज्यलक्ष्मी मावि र जानकी गाउँपालिकाको सरस्वती र महेन्द्र शिशुु माविमा यो कार्यक्रम लागू छ ।

सोही कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले यो कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थी र विशेष गरी किशोरीको स्वास्थ्य समस्या समाधान तथा सरसफाइमा राम्रो प्रभाव परेको प्रतिक्रिया आएको बताउनुभयो । आगामी आर्थिक वर्षमा थप दुई विद्यालयमा कार्यक्रम विस्तार गर्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन, वातावरण तथा व्यक्तिगत सरसफाइमा सुधार ल्याउन, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार, महिनावारी व्यवस्थित गरी विद्यालय जाने वातावरण सिर्जना गर्न र जटिल प्रकारका स्वास्थ्य समस्या समयमै समाधानका लागि पहल गर्न ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६’ नेपाल सरकारले जारी गरेको छ ।

निर्देशिकामा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि प्रत्येक विद्यालयमा एकजना नर्स राख्ने व्यवस्था गरिएको छ ।

चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवन, २ असार : विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रबिधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको जनाएको हो ।

अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका विज्ञ, प्रध्यापक र विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिनुभयो ।
सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मी, योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा रमेशचन्द पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब डा राजेन्द्रप्रसाद मिश्र, नाष्टका सचिब डा रविन्द्र ढकाललगातत नेपालका कृषिसँग सम्बन्धित विश्वविद्यालय र सङ्घ संस्थाका विज्ञ, प्रध्यापक र विद्यार्थीको उपस्थिति रहने छ ।

यस्तै भारतको महात्मागान्धि चित्रकुट विश्वविद्यालयका डिन डा डिपि राई, आइसिएआर कानपुरका निर्देशक डा सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने उहाँले जानकारी दिनुभयो । अमेरिका, इन्डोनेसीया, चीन, अष्ट्रेलियाबाट विज्ञ, प्रध्यापक र विद्यार्थीसमेतको उपस्थिति रहने सम्मेलनमा एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने जनाइएको छ । यसैगरी कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा समेत छलफल हुनेछ ।

कृषि विश्वविद्यालयको स्थापना तथा भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको र सम्मेलनमा तीन सय जनाको सहभागिता रहने अनुसन्धान निर्देशक डा कट्टेलले जानकारी दिनुभयो ।

गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा १७ श्रद्धालु बोकेको डुङ्गा पल्टिएको छ । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल छन् ।

बारहका एसडिएम शुभम कुमारले भन्नुभयो, “यहाँ एउटा सानो डुङ्गा पल्टिएको थियो । डुङ्गामा १७ जना सवार थिए, तीमध्ये ११ जना सकुशल छन् भने छ जना बेपत्ता भएका छन् ।”

दक्षिणी चीनमा प्राचीन दुई जहाजको भग्नावशेषबाट नौ सय टुक्रा सांस्कृतिक अवशेष फेला

चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ राजवंश (सन् १३६८ देखि सन् १६४४) को समयका दुई प्राचीन जहाजको भग्नावशेषबाट एक हजार पाँच सय मिटर गहिराइमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला पारेको छ ।

अनुसन्धान संस्थान र स्थानीय सङ्ग्रहालयको संयुक्त प्रयासमा सन् २०२३ देखि सन् २०२४ को अवधिमा उत्खनन कार्य गरिएको थियो । त्यहाँ पहिलो जहाजको भग्नावशेषबाट तामाका सिक्का साथै सेरामिक र माटोका भाँडाका टुक्रासहित कूल आठ सय ९० प्राचीन वस्तु निकालिएको थियो । 

दोस्रो जहाजको भग्नावशेषबाट काठ, सेरामिक र माटोका सामान, हरिणको सिङ र अन्यसहित ३८ प्राचीन वस्तु फेला परेको थियो ।    “यो खोजले चिनियाँ पुर्खाहरूले दक्षिणी चीन सागरको विकास, प्रयोग र यात्रा गरेको प्रमाण दिन्छ”, चिनियाँ राष्ट्रिय सम्पदा प्राधिकरणका उपाध्यक्ष गुआन कियाङले भन्नुभयो, “दुवै भग्नावशेष प्राचीन सामुद्रिक रेशम मार्गका साथ व्यापार र सांस्कृतिक आदानप्रदानका महत्त्वपूर्ण साक्षी हुन् ।”

महोत्तरीका मुस्लिम बस्तीमा बकर इदको चहलपहल

महोत्तरी, २ असार: अहिले महोत्तरीका गाउँनगर बस्तीमा इस्लाम धर्मावलम्बीको दोस्रो मुख्य चाड इद–उल–जोहाको चहलपहल छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन बकर इद पनि भनिने यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान भोलि सोमबार इद–उल–जोहा मनाउने तयारीमा छन् । इद–उल–जोहा इस्लाम परम्परामा इद–उल–फित्रपछिको मुख्य पर्व मानिन्छ ।

पर्वले गर्दा मुस्लिम बाहुल्य बस्तीमा निकै चहलपहल बढेको छ । महोत्तरीका १५ वटै स्थानीयतहमा मुस्लिम बसोबास छ । यीमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, रामगोपालपुर र भङ्गाहाका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्य छन् । यी बस्तीमा पर्वको एक दिनअघि नै कुर्बानी (बलि) का लागि खसी, राँगा जुटाइँदैछन् । यसैगरी मुस्लिम बसोबासका अन्य बस्तीमा पनि बकर इदको रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केेपछि परिवारजनमा खुसी थपिएको छ ।

बकर इद पर्वमा कुर्बानीका लागि पशु किन्दा मुस्लिम सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ । पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (इश्वर) लाई समर्पित गर्दै पशु कुर्बानी दिन्छन् । यसलाई कुविचार तथा अहंकारको कुर्बानीको प्रतीकात्मक रुपमा बुझ्न सकिने भङ्गाहा–४ का सहबुल अन्सारी बताउनुहुन्छ । इस्लाम धर्मावलम्बीले कुर्बानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ ।

निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् । सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोरा जस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्बानी भएको हुँदा यसै घटनालाई सम्झेर बकर इदमा पशु कुर्बानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्बानी अल्लाहमा समर्पित मानिन्छ ।

घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वी (धर्मगुरु) लाई कुर्बानीस्वरुप रकम पठाउने गर्छन् । बकर इद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् । यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पुज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउनुहुन्छ ।

आत्मशुद्धि, अल्लाहको पुकारा र अहंकारको त्याग (कुर्बानी) पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरुका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो । इद–उल–जोहा पर्वका लागि सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ ।

आगामी आवका लागि हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट

मनहरी, २ असार : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । आइतबार १५औँ नगरसभा बैठकमा हेटौँडाका उपप्रमुख राजेश बानियाँले चालु आवको तुलनामा रु ४६ करोड ७२ लाख २० हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशत कम बजेट प्रस्ताव गर्नुभएको छ । उपप्रमुख बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, सङ्घ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताउनुभयो ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट रु ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट रु ११ करोड १७ लाख रुपैयाँ रहेको छ । उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ रु ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ रु सात करोड ५६ लाख, सामाजिक विकासतर्फ रु ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड १२ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि रु ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु दुई करोड ५१ लाख विनियोजन गरिएको समेत बानियाँ जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि रु १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि रु दुई करोड आठ लाख, नागस्वती फुटबल रङ्गशाला निर्माणका लागि रु एक करोड ७२ लाख, हेटौँडा चक्रपथअन्तर्गत १५, १६ र १७ नम्बर वडाका लागि रु दुई करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ , आजको नगरसभाले नगर प्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आव २०८१÷०८२ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

मान्म (कालीकोट), २ असार : नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएर एक वर्ष लामो उपचारपछि निको हुनुभएका सचेतक विष्टका भोगाइ समेटिएको पुस्तक विमोचन गर्नु भएको हो ।

त्यसअवसरमा उपसभापति खड्काले एउटा कालखण्डका जीवनभोगाइ भावी पुस्तासम्म लैजान पुस्तक उपयोगी हुने बताउनुभयो । ‘कोभिड सङ्क्रमणपछि उहाँले जीवनको अन्तिम समय कस्तो हुन्छ भनेर नजिकबाट भोग्नुभयो । उहाँको त्यतिबेलाको अवस्थाबारे मैले निरन्तर डाक्टरसँग जानकारी लिइरहेको थिए । त्यो कठिन अवस्था जितेर उहाँले नयाँ जीवन पाउनुभएको हो । यो कुरा सबैले थाहा पाउने छन्, सायद कोभिडमा धेरैका अनुभव यस्तै थिए ।”

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मान्छे मिति नपुञ्जेल न जन्मिछ न मर्छ’ भनेको कुरा स्मरण गर्दै उपसभापति खड्काले धेरै नेपालीले कोभिड १९ महामारी र सशस्त्र द्वन्द्वका बेला यी विषय नजिकबाट अनुभव गरेका धारणा राख्नुभयो ।

लेखक विष्टले कोभिड सङ्क्रमणपछि आफूले जीवन र पीडालाई नजिकबाट हेरेको सुनाउनुभयो । ‘त्यस व्याधिले वर्षभरी थलिए । फोक्सो र टिभी (क्षयरोग)बाट सञ्चो हुन निकै लामो समय लाग्यो, त्यो समयले धेरै कुरा सिकाएको छ”, विष्टले भन्नुभयो,“फेरि गत चुनावमा टिकट पाएकै बेला डेङ्गी रोगले समात्यो । तिनै अनुभूति, सहानुभूति र समानुभूति पुस्तकमा समेटेको छु ।” साहित्यमा आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजना हुने भन्दै उहाँले दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ भन्ने मान्यतासहित आफ्ना सुख दुःख यस किताबमा राखेको उहाँको भनाइ छ । यसअघि विष्टले द्वन्द्व दरार (२०६७) र जय पराजय(२०७७) प्रकाशन गरिसक्नुभएको छ ।

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

काठमाडौँ, २ असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उहाँले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभएको हो ।

“सूचना प्रविधि दशक सफल पार्न मन्त्रालयले समग्र गुरुयोजना बनाउने नै छ”, मन्त्री शर्माले भन्नुभयो, “त्यसलाई सहयोग गर्ने गरी हरेक निकायले क्षेत्रगत योजना बनाउन आवश्यक छ ।” मूलतः यसमा सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतको नेतृत्वदायी भूमिका रहने भए पनि आवश्यक प्रचारप्रचारका लागि आमसञ्चार क्षेत्रले पनि योजना बनाउनुपर्ने उहाँले बताउनुुभयो । सबै निकायले आन्तरिक योजना बनाउँदा सूचना प्रविधि दशकलाई नै केन्द्रमा राखेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत मन्त्रालयको विनियोजन विधेयकमाथि संसद्मा उठेका प्रश्नको क्षेत्रगत जवाफ तयार गरेर बुझाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । संसद्मा उठेका प्रश्नको यथार्थ जवाफ दिनुपर्ने सरकारको दायित्व भएको उल्लेख गर्दै मन्त्री शर्माले मन्त्रालय मातहतका हरेक निकायको अपनत्व स्थापित हुने गरी प्रगति विवरण तयार गर्ने परिपाटीको थालनी गरिएको बताउनुभयो ।

संसद्मा जनप्रतिनिधिले उठाउने प्रश्नप्रति सरकारका हरेक निकाय उत्तिकै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले जनप्रतिनिधिले उठाउने सवालप्रति गम्भीर बन्ने र जनप्रतिनिधिमार्फत सरकारले गरेका क्रियाकलाप जनतासम्म पु¥याउने परिपाटीले लोकतन्त्र बलियो बनाउने स्पष्ट गर्नुभयो । संसद्मा सूचना प्रविधि दशकको घोषणा महत्वाकाङ्क्षी होइन तर यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धताको कमी हुन्छ कि भन्ने प्रश्न उठेको उल्लेख गर्दै उहाँले सरकारका सबै निकाय यो परियोजना सफल पार्न पूर्ण प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालय मातहतका हरेक निकायले आफूले गरेका काम तथ्यगतरुपमा पेस गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रगतिको तथ्य अरुलाई पनि यथार्थ हो भन्ने लाग्ने गरी प्रस्तुत गर्नुपर्ने स्पष्ट गर्नुभयो । कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गर्नुभएको थियो ।

चिनियाँ राजदूतावाससँगको सहकार्यमा काठमाडौँमा चिनियाँ शैक्षिक प्रदर्शनी हुँदै

काठमाडौँ, २ असार : मंगलबार काठमाडौँको बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजले भाग लिने आयोजक कमिटिले जनाएको छ ।

नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहका अनुसार ३१ वटा विश्वविद्यालयका स्टल रहने, प्रत्येक स्टलमा नेपानी विद्यार्थी र तिनका अभिभावकलाई चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनुहुनेछ । मंगलबार बिहान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्तरूपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । “प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइए छ । प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकसँग अनुरोध गर्दछौँ,” साहले भन्नुभयो, “साथै विद्यार्थी स्वंय उपस्थित भई उच्च शिक्षाबारे आवश्यक जानकारी लिउन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।”

उहाँले चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो भने त्यसयता प्रत्येक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको साहले जानकारी दिनुभयो । “चीनमा एक सय ६० देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ,” उहाँले भन्नुभयो, “पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थीबाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएका छौँ ।”

यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।

गङ्गादशहरा पर्वका अवसरमा बेहडाबाबा मन्दिरमा मेला

कैलाली, २ असार : धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेला आजबाट सुरु भएको छ ।धार्मिक महत्व बोकेको उक्त मन्दिरमा पूजाआजाका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थीको भीडभाड रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

गङ्गाशहरा मेलाको दर्शन तथा पूजाआजाका लागि यहाँका स्थानीय मात्र नभई छिमेकी मुलक भारतबाट लाखौँको सङ्ख्यामा भक्तजन तथा दर्शनार्थीहरू यहाँ आएका अध्यक्ष जोशीले बताउनुभयो ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवम् इच्छाएको कुरा पुग्ने जनआस्थाअनुसार यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

मेलादर्शन तथा पूजाका लागि आउने भक्तजनका लागि मन्दिरका चारै ढोका खुला गरिएका छन् । भक्तजनहरुका लागि महाभण्डारा चलाइनुका साथै निःशुल्क खाना र पानीको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मेला भर्न १० देखि १५ लाखको दर्शनार्थी यहाँ आउने आयोजकको अनुमान छ ।

स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल असार १३ गते

काठमाडौँ, २ असार : स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल यही असार १३ गते हुने भएको छ । स्टार्टअप वर्ल्डकप नेपालले आज यहाँ पत्रकार सम्मेलन गरी यही असार १३ गते नेपाल एडिसन २०२४ को फाईनल कार्यक्रम राष्ट्रिय नाचघरमा हुने जनाएको हो ।

स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडौँसँगको सहकार्यमा विश्वभरका एक सय देशमा हुने स्टार्टअपको प्रतिस्पर्धा नेपालमा आयोजनामा गर्ने लागेको हो ।

समन्वय समितिका संयोजक शन्तोष बुढाथोकीले अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुआत गरेको हो । नेपालमा वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वल्र्डकप नेपाल भित्र्याएको वर्ल्डकप नेपालका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिनुभयो । उहाँले स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअप मध्यबाट असार १३ गते नेपाल च्याम्पियन छानिने एक जनालाई अमेरिकाको सान-फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो ।

स्टार्टअप वर्ल्डकपको कोअर्डिनेटिङ पार्टनरका रूपमा जिल्ला समन्वय समिति काठमाडौँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यसैगरी अन्य सहआयोजकमा आइसिटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाललगायत यस क्षेत्रमा कार्यरत सङगठनहरू रहेका छन् । स्टार्टअप विश्वविजेता बन्न सकेमा एक मिलियन डलर (रु १३ करोड नेपाली बराबर) लगानी पुरस्कार पाउने वल्र्डकप नेपालका अध्यक्ष पोखरेलले बताउनुभयो ।

श्रीलङ्कामा सन् २०२५ सम्ममा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हट्ने

श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइएमएफका अनुसार यो योजना सन् २०२४ को तेस्रो त्रैमासिकमा सार्वजनिक यात्रु र विशेष प्रयोजनका सवारी साधनको आयातसँगै सोही वर्षको चौथो त्रैमासिकमा सामान ढुवानीका सवारी साधनको आयातबाट सुरु हुनेछ ।

सन् २०२५ सम्ममा श्रीलङ्काले सबै मोटर वाहनहरूमा आयात प्रतिबन्धहरू पूर्णरूपमा हटाउने आइएमएफले उल्लेख गरेको छ ।

श्रीलङ्काले सन् २०२१ र सन् २०२२ मा कोरोनाभाइरस महामारीको प्रभावका कारण सवारी साधन आयातमा प्रतिबन्ध लगाएको र त्यसपछि देशले सामना गरेको आर्थिक सङ्कटका कारणले उक्त निर्णयलाई जारी राखेको थियो ।

श्रीलङ्का सरकारले आर्थिक सङ्कटका कारण सन् २०२२ अगस्टमा एक हजार चार सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको तर विभिन्न अवसरहरूमा धेरैजसो वस्तुमाथिको प्रतिबन्ध हटाएको थियो ।

आधिकारिक तथ्याङ्कले सन् २०२२ मा श्रीलङ्काको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखाएको छ । यो सन् २०२१ को तुलनामा ११ दशमलव चार प्रतिशतले घटेको छ ।

कुन प्रदेशको कस्तो कर नीति ?

काठमाडौँ, २ असारः सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । प्रदेशहरुले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन् । प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दरहरु केहिले परिमार्जन गरेका छन् भने केहिले यथावत् राखेका छन् । सवारी साधन दर्ता तथा नवीकरण, उद्योग दर्ता तथा नवीरकणलगायतका विभिन्न शूल्कमा भएको परिवर्तन र प्रदेशहरुले आगामी आर्थिक वर्षको बजेटमार्फत् तय गरेका राजस्व नीतिबारे राससले समीक्षा गरेको छ ।

कोशी प्रदेश

 कोशी प्रदेशले राजस्वसम्बन्धी गरेको नयाँ व्यवस्थाअनुसार निजी सवारी साधनधनीले चाहेमा लाग्ने सवारी साधन कर पाँच वर्षसम्मका लागि एकमुष्ठ रुपमा बुझाई नवीकरण गर्न सक्नेछन् । अन्य प्रदेशको सरुवा सहमतिबाट यस प्रदेशमा दर्ता भएका सवारी साधनहरुलाई लाग्ने सवारी साधन करमा ५० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

प्रदेशभित्रका सिमेन्ट तथा इँटा, कङ्क्रिट ब्लक उद्योग, नदीजन्य पदार्थ प्रशोधन उद्योगमा वातावरण तथा औद्योगीकरण व्यवस्थापन दस्तुर लगाइएको छ । विगतका आर्थिक वर्षको सङ्कलित मनोरञ्जन कर एकमुष्ठ बुझाउँदा सोमा लाग्ने ब्याज छुटको व्यवस्था कोशी प्रदेशले बजेटमा व्यवस्था गरिएको छ । 

प्रदेश सरकार र स्थानीय तहबाट पर्यटकीय पूर्वाधार निर्माण भई समिति वा अन्य सङ्गठित संस्थाबाट सञ्चालनमा रहेका पर्यटकीयस्थलबाट उठ्ने रकमको २० प्रतिशत सम्बन्धित स्थानीय तहको विभाज्य कोषमा जम्मा गर्ने व्यवस्था ल्याइएको छ । कोशी प्रदेश सरकारअन्तर्गतका निकाय र स्थानीय तहका सरकारी निकाय लगायतका अन्य निकायले आफ्नो कार्यसँग सम्बन्धित कुनै विज्ञापन, सूचनाको प्रसारण वा प्रकाशन गर्दा लाग्ने रकम सम्बन्धित सञ्चारमाध्यम वा विज्ञापन एजेन्सीलाई भुक्तानी गर्दा तीन प्रतिशतका दरले विज्ञापन कर कट्टा गरी स्थानीय तहको विभाज्य कोषमा दाखिला गर्नुपर्ने व्यवस्था ल्याइएको छ ।

यसैगरी, ट्राफिक नियम उल्लङ्घन गरेबापत हुने दण्ड जरिवानाबापतको रकम कोशी प्रदेशभित्रका ट्राफिक प्रहरी कार्यालयले प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा एकाइ कार्यालयमार्फत प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था बजेटमा राखिएको छ । कोशी प्रदेशले राजस्व व्यवस्थापनलाई थप प्रभावकारी बनाई आन्तरिक आय अभिवृद्धि गर्नका लागि आगामी आर्थिक वर्षमा कोशी प्रदेश कर तथा गैरकर ऐन, २०७५ लाई प्रतिस्थापन गर्न नयाँ ऐन तर्जुमा गर्ने नीति लिएको छ । आन्तरिक राजस्व सम्भाव्यता अध्ययन प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयनका लागि राजस्व सुधार कार्ययोजना तर्जुमा गरी नीतिहरुको कार्यान्वयन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

मधेस प्रदेश

मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा राजस्व प्रशासन सुदृढीकरण गरी कर तथा गैर कर चुहावट न्यूनीकरण गरिने गर्ने व्यवस्था मिलाइने उल्लेख छ । त्यस्तै, उक्त प्रदेशको राजस्व अभिवृद्धिका लागि गरिएको अध्ययन अनुसन्धान प्रतिवेदनको सुझावहरुलाई प्राथमिकता निर्धारण गरी क्रमशः कार्यान्वयन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशभित्र दर्ता भई २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनका धनीले आफ्नो सवारी साधनको दर्ता खारेज गराउन चाहेमा २०८१ पुस मसान्तसम्म २० वर्ष अवधिसम्मको तिर्न बुझाउन बाँकी सवारी साधन कर र नवीकरण दस्तुर बुझाएमा जरिवानामा ८० प्रतिशत छुट हुनेछ ।

सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, विष्टर/नाटकघर, दोहोरी साँझ, डान्सबार, नाइट क्लब, क्यासिनो, पार्क प्रवेश, फुटसल, स्वीमिङ पल, जिपलाइन, स्वीड, आकाशे सीसाको पुल, बन्जी जम्पलगायतको कर परिमार्जन गरिएको छ ।

 व्यावसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग, निजी र साझेदारी फर्म तथा व्यवसायले पछिल्लो तीन आर्थिक वर्षको नवीकरण दस्तुर र जरिवाना रकम आगामी पुस मसान्तभित्र दाखिला गरेमा सोभन्दा अगाडिका वर्षहरुमा दाखिला गर्नुपर्ने जरिवाना मिनाहा गरी नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिइने व्यवस्था बागमती प्रदेशले बजेतमार्फत ल्याएको छ ।

 प्रदेशको आन्तरिक स्रोत परिचालनलाई दिगो र भरपर्दो बनाउन आय परिचालनका थप क्षेत्र पहिचान गर्ने तथा प्रदेशको स्रोत परिचालन सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न विज्ञसहितको कार्यदल गठन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको कृषि आयमा लाग्ने करको क्षेत्र तथा आधार निर्धारण गर्ने सम्बन्धमा अध्ययन गरिने विषय बागमती प्रदेशको बजेट वक्तव्यमा राखिएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले भूमि सुधार/मालपोत कार्यालयबाट मानो जोडिएकोमा लाग्ने लिखतबापतको शुल्कलाई समायोजन गरेको छ । भूमि सुधार/मालपोत कार्यालयबाट जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट भई दाखिल खारेज हुन आउँदा लाग्ने सेवा शुल्कलाई समायोजन गरी सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक बस, मिनिबस तथा माइक्रोबसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट दिने व्यवस्था बजेटमा राखिएको छ । यस्तो छुट सहुलियत दिएबापत त्यस्ता सवारी साधनकाधनीलाई सवारी साधन करमा ६० प्रतिशत छुट दिने व्यवस्था ल्याइएको छ ।

 गण्डकी प्रदेशको राजस्व परिचालनका लागि आर्थिक मामिला मन्त्रालयअन्तर्गत प्रदेश राजस्व व्यवस्थापन कार्यालय स्थापना गर्न आवश्यक तयारी गरिने बजेट वक्तव्यमा उल्लेख छ । त्यसैगरी, शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा र भाषा सिकाइ केन्द्रको अनुमति तथा नवीकरण शुल्क जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयबाट हुँदै आएकोमा आगामी आवदेखि त्यस्तो कार्य जिल्लास्थित सामाजिक विकास कार्यालयले गर्ने व्यवस्था गण्डकी प्रदेशको बजेटमा राखिएको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारबाट विभिन्न व्यक्ति, समूह, संस्थालगायतलाई नगद अनुदान उपलब्ध गराउँदा निश्चित सीमासम्मको अनुदानमा छुट दिने र सो सीमाभन्दा बढीमा न्यून दरमा सेवा शुल्क लगाई असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेशको एकल अधिकार क्षेत्रभित्र रहेको कृषि आयमा लाग्ने करका दरहरु घटाइएको छ । प्रदेशभित्र सवारी साधनसम्बन्धी दण्ड जरिवानाबापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था ल्याइएको छ । यातायात व्यवस्था कार्यालयबाट सङ्कलन हुँदै आएको टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा लाग्ने सवारी साधन कर आगामी आर्थिक वर्षदेखि सम्बन्धित स्थानीय तह आफैँले उठाउने व्यवस्था लुम्बिनी प्रदेशको बजेटमा राखिएको छ ।

यसअघि अन्य प्रदेश वा प्रदेशभित्रका अन्य कार्यालयमा सवारी साधन लैजाँदा सरुवा सहमती दस्तुर लाग्दै आएकोमा यस्तो दस्तुर नलाग्ने व्यवस्था ल्याइएको छ । त्यसैगरी, प्रदेशभित्र इजाजतपत्र नलिएका वा नवीकरण नगरी सञ्चालनमा रहेका पर्यटन व्यवसायलाई एक पटकका लागि न्यून शुल्कमा इजाजतपत्र प्राप्त गर्न वा नवीकरण गर्न सक्ने मिलाउनुका अतिरिक्त निजी तथा साझेदारी फर्मलाई विवरण बुझाउँदा लाग्ने तथा शुल्कमा छुट दिने व्यवस्था बजेटमा राखिएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको राजस्व परिचालनको सम्भाव्यताको आँकलन तथा अध्ययन गरी सुझाव दिन एक अध्ययन सुझाव कार्यदल गठन गरिने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेश र स्थानीय तहको साझा अधिकारअन्तर्गत स्थानीय तहबाट सङ्कलन भई प्रदेशमा बाँडफाँटमार्फत प्राप्त हुने राजस्वलाई अनुमानयोग्य, स्वचालित र व्यवस्थित बनाउने उल्लेख छ ।

कृषि प्रयोजनका लागि दुई वा दुईभन्दा बढी व्यक्तिले आपसी सहमतिमा जग्गाको चक्लाबन्दी गर्न उद्योगको नाममा लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुट दिने व्यवस्था ल्याइएको छ । कर्णाली प्रदेशभित्र सुर्ती र मदिराजन्यबाहेकका उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्क शतप्रतिशत छुट दिइएको छ । आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको सवारी साधन कर बुझाउन छुट भएका सवारी साधन धनीले आव २०८०/८१ सम्मको सवारी साधन कर २०८१ चैत्र मसान्तसम्म दाखिला गरेमा आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको सवारी साधन करमा लाग्ने जरिवाना रकम छुट हुने व्यवस्था ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले घरजग्गा रजिस्ट्रेसनतर्फको सेवा शुल्क बढाएको छ । स्रोत, साधन, प्रविधि तथा जनशक्ति व्यवस्थापन एवं कानुनी व्यवस्था भई नसकेका स्थानीय तहहरूको हकमा टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा प्रदेश सरकारले कर लगाउने तथा उठाउने व्यवस्था गरी त्यस्तो सङ्कलित करको बाँडफाँट गर्ने व्यवस्था बजेटमा राखिएको छ ।

त्यस्तै, सवारी साधन कर, दस्तुर र शुल्कमा केही संशोधन गरिएको छ । प्रदेशभित्र विद्युतीय सूचना प्रणालीमा आधारित राइड सेयरिङ एपमार्फत सार्वजनिक सवारी साधन प्रयोग गरी सेवा दिने संस्थाको दर्ता तथा नवीकरण र दुई पाङ्ग्रे सार्वजनिक सवारी साधन करसम्बन्धी नयाँ व्यवस्था ल्याइएको छ ।

कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म नियमानुसार बुझाउनुपर्ने सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको हकमा सवारी साधन कर तथा नवीकरणको जरिवानामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । सामुदायिक तथा साझेदारी वनको आन्तरिक तथा बाह्य बिक्री वितरणबाट हुने आम्दानीमा लाग्ने बिक्री शुल्कलाई क्रमशः १० र २५ प्रतिशत कायम गरिएको छ । प्रदेशका निजी तथा साझेदारी व्यवसायलाई औपचारिक अर्थतन्त्रको परिधिमा ल्याउन प्रोत्साहन गर्दै दर्ता तथा नवीकरण दस्तुरलाई घटाइएको छ । नवीकरणको म्याद समाप्त भई पाँच वर्ष नाघिसकेका व्यवसायीहरू नवीकरण गर्न आएमा जरिवानाको १० प्रतिशत मात्र लिने विशेष व्यवस्था सुदूरपश्चिम प्रदेशले ल्याएको छ ।

सत्ता समीकरणमा कुनै समस्या आएको छैनः गृहमन्त्री लामिछाने (अन्तर्वार्ता)

काठमाडौँ, २ असारः टेलिभिजन पत्रकारिताका माध्यमबाट राष्ट्रिय राजनीतिमा छोटो समयमै स्थापित र लोकप्रिय हुनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत हुनुहुन्छ । उपप्रधानमन्त्री लामिछानेसँग गणतन्त्र दिवसका अवसरमा राससको केन्द्रीय कार्यालयमा जारी विकास र पूर्वाधारसम्बन्धी तस्बिर प्रदर्शनी अवलोनकनपछि मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको संवादको सम्पादित विवरण:

तपाईँले पछिल्लोपटक मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनका उपलब्धिका विषय सार्वजनिक गरिसक्नुभएको छ तर कतिपय चुनौतीहरु विद्यमान देखिएका छन् । जस्तो, बारामा हालै एक क्याम्पस प्रमुखको हत्या भएको र त्यसमा छिमेकी मुलुकबाट ‘सुटर’हरु आएर यस्ता घटना गराइएको विषय आज पनि सङ्घीय संसद्मा उठेको छ । यस्ता घटना रोक्ने योजना के छ ?

अवश्य पनि चुनौती छन् । यसबीचमा प्राकृतिकरुपमा दुःखद् घटना भएका छन् । हत्याका दुःखद् घटना भएका छन् । यसको न्यूनीकरणका लागि हामीले एक सय दिनका अवधिमा केही योजना बनाएका छौँ । सीमा क्षेत्र सुरक्षाका दष्टिले पहिलेदेखि नै चुनौतीपूर्ण हुँदै आएको हो । हामीले विद्यमान सूचना संयन्त्रलाई कसरी प्रभावकारीरुपमा उपयोग गर्ने र भएका स्रोत साधन तथा जनशक्तिको सही परिचालनका लागि कस्तो योजना बनाउने भन्ने आधार बनाउने काम गरेका छौँ । केही सुधारका काम भएका छन् तर यी काम पर्याप्त छैनन् । हामी प्रयास जारी राखेका छौँ । विभिन्न प्रदेशका सुरक्षासम्बन्धी छलफलमा हामीले दिएका रणनीतिक सुझावको कार्यान्वयन हुने क्रम पनि सुरु हुँदैछ । मलाई विश्वास छ, आगामी दिनमा यस्ता घटना हुँदैनन् । दोषी र फरार अभियुक्त कोही पनि उम्किदैँनन् । हामीले फरार अभियुक्तको खोजी अभियान सुरु गरिसकेका छौँ ।

राजनीतिक सन्दर्भमा कुरा गरौँ, अहिले सत्ता समीकरणमा केही समस्या आएको हो ? किनकी तपाईँकै पार्टीका एक मन्त्रीले राजीनामा खल्तीमा छ भनेर अभिव्यक्ति दिनुभएको छ, वास्तविकता के हो ?

हुन त त्यो कुरा बजेटका विषयलाई लिएर आएको हो । बजेटका विषयमा र यसको तौरतरिकाका सवालमा सत्तारुढ दलभित्र असन्तुष्टि जरुर छ । जुन ढङ्गले हामीले बजेट ल्याइरहेका छौँ, यसमा प्रक्रियागत सुधारका कुराहरु छन् । कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन । हामी देखिएका समस्याका विषय लुकाउनु हुँदैन, बाहिर ल्याउनुपर्छ, हामीसँग आफ्ना कामकै सवालमा असन्तुष्टिका विषय छन् । हामीले जनताका अपेक्षाबमोजिम अझै काम गर्नुपर्छ । त्यसकारण यस्ता विषय आएका हुन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई सहमतिका आधारमा छिट्टै पारित गर्ने भनिएको धेरै भयो । अब त ढिलाइ नहोला कि ?

मेरो विचारमा यो विधेयकमा सहमतिका लागि अन्तिम चरणमा पुगेको छ । शीर्ष राजनीतिक तहमा यसले चाँडै प्रवेश पाउनेछ । वास्तवमा अन्तर्राष्ट्रिय मानव अधिकारका मूलभूत सिद्धान्त र पीडितमैत्री भएर शीर्ष नेतृत्व र पुराना ठूला दल एक ठाउँमा उभिँदा सहमति हुन्छ । उहाँहरुमा यसलाई राजनीतिक विषय नबनाउने प्रतिबद्धता भने चाहिन्छ । सत्तामा भएको र नभएको भन्ने आधारमा आफ्ना दलीय तर्क र भनाइलाई फरक फरकरुपमा प्रस्तुत गरिनुहुन्न । यसलाई दलगत लाभ हानिको विषय नभई पीडितमैत्रीरुपमा सम्बोधन गर्न खोज्दा सहमतिमा पुग्न सकिन्छ । हामी नयाँ दलका हैसियतले यसमा सहमतिका लागि सहजीकरण र संवाद गर्न तयार हुनेछौँ । त्यसैले यो विधेयक चाँडै टुङ्ग्याउनुपर्छ र टुङ्गिन्छ भन्ने लाग्छ ।

नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग उपलब्ध गराउने घोषणा

नर्वेले युक्रेनको ऊर्जा पूर्वाधारको मर्मत सम्भार गर्न र आगामी हिउँदअघि नै देशको विद्युत् आपूर्ति सुरक्षित गर्न युक्रेनलाई १.१ अर्ब क्रोनर (१० करोड ३० लाख अमेरिकी डलर) उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रधानमन्त्री जोनास गाहर स्टोरले एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, “रूसले विद्युत उत्पादन केन्द्रलाई ध्वस्त बनाउन व्यापक तथा व्यवस्थित आक्रमण गरिरहेको छ । तर युक्रेनी अधिकारी र विदेशी सहयोगीले युक्रेनको लागि आवश्यक विद्युत आपूर्ति कायम राख्न दिनरात काम गरिरहेका छन् ।नयाँ अनुमानअनुसार युक्रेनको विद्युत् उत्पादन क्षमताको ५० प्रतिशतभन्दा बढी नष्ट भएको छ ।

“हामी युक्रेनसँग यो कोषको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा नजिकको संवादमा छौँ । युक्रेनी आफैलाई के आवश्यक छ भन्ने बारेमा सबैभन्दा राम्रो अन्तर्दृष्टि छ,” स्टोरले भन्नुभयो । जाडो सुरु हुनु अघि पूर्वाधार मर्मत सुरु गर्न महत्त्वपूर्ण छ ।

नर्वेले हालै रूसी आक्रमणबाट सबैभन्दा बढी प्रभावित खार्किभ क्षेत्रमा १२ करोड क्रोनर मर्मतका लागि जाने निर्णय भइसकेको जनाएको छ ।स्विट्जरल्याण्डमा युक्रेनको शान्ति शिखर सम्मेलनमा भाग लिने क्रममा स्टोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खार्किभ क्षेत्रका सातवटा प्रसूति एकाइ र सञ्चालन थिएटरमा सौर्य प्यानल जडान गरिनेछ ।सन् २०२२ मा नर्वेले युक्रेनी ऊर्जा क्षेत्रमा दुई अर्ब १० करोड क्रोनर र गत वर्ष एक अर्ब ९० करोड क्रोनर अनुदान उपलब्ध गराएको थियो ।स्क्यान्डिनेभियन देशले युक्रेनलाई सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षको अवधिका लागि ७५ अर्ब क्रोनर सैन्य तथा नागरिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न

काठमाडौँ, २ असार : विनियोजन विधेयक, २०८१ अन्तर्गत आज विभिन्न तीन मन्त्रालयका शीर्षकमा छलफल सम्पन्न भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सम्पन्न भएको हो । छलफलमा सांसदहरूले दलीय आधारमा ती मन्त्रालयका विभिन्न शीर्षकमा टिप्पणी र सुझाव प्रस्तुत गर्नुभयो ।

सभाको अर्को बैठक यही असार ४ गते मङ्गलबार बिहान ११ बजे बस्ने छ । उक्त बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने

काठमाडौँ, २ असारः आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।

समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ । 

विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेल पनि भोलि नै हुनेछ ।

भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो ।

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा चार अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

प्रस्तुत बजेट चालु आर्थिक वर्षको भन्दा दुई अर्बले कम हो । चालु आवका लागि ३३ अर्बको बजेट पेस भएको थियो । अर्थमन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए ।

साथै बजेट सात उद्देश्य, सात प्राथमिकता र सात रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उनले बताए । प्रदेशको गरिबी घटाउन बजेटले ध्यान दिइएको उनले बताए ।

बजेट भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको छ । केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् ।

विगतदेखि नै सञ्चालनमा रहेको मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । ‘गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी’ कार्यक्रमबाट १६ हजार बेरोजगारलाई आंशिक रोजगारी प्रदान गर्ने लक्ष्य छ ।

चालु आवको तुलनामा कृषि मन्त्रालयलाइ कम बजेट विनियोजना भएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि एक अर्ब ८६ करोड विनियोजन गरिएको छ । उद्यमशीलतासम्बन्धी कार्यक्रम विगतभन्दा केही सुधार गरेर भएका छन्भने दलित आयआर्जन कार्यक्रमका लागि रु पाँच करोड विनियोजन भएको छ ।

बजेटमा निजी क्षेत्रसँगको सहकार्यमा वीरेन्द्रनगरका उत्तरी क्षेत्रलाई ‘हिलस्टेशन’का रूपमा विकास गरी ‘हाइकिङ’ क्षेत्रका रूपमा विकास गरिने नयाँ योजना समावेश गरिएको छ ।

रारा, काँक्रेविहार, बुलबुले उद्यान र स्यापुताललगायत पर्यटकीयस्थलको गुरुयोजना कार्यान्वयन गर्न  १४ करोड विनियोजन गरिएको छ । कर्णालीलाई जडीबुटीको केन्द्रका रूपमा विकास गर्न केही रकम छुट्याइएको छभने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि एक अर्ब ९४ करोड विनियोजन गरिएको छ ।

अन्तर प्रदेश सडक निर्माण गर्न ३९ करोड बजेट विनियोजन गरिएको छ । अहिलेसम्म स्थानीय तहको केन्द्रसम्म सडक नपुगेका पालिकाका केन्द्रमा सडक सञ्जाल जोडिने महात्वाकाङ्क्षी योजना बजेटमा समेटिएका छन् । सडक र पुल निर्माण गर्न ६८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा डोल्पाको रिग्मो बस्ती विकासका लागि ८६ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम विगतदेखिकै निरन्तरता हो । विपन्नका घर निर्माणलाई निरन्तरता दिइएको छभने जनता आवास कार्यक्रमलाई पनि समावेश गरिएको छ । सुरक्षित बस्ती निर्माणकोलाई पनि यथावत राखिएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आवका लागि रु १० अर्ब ४६ करोड विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लडबैंक स्थापना गरिनेदेखि सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पोषण भत्ता उपलब्ध गराइनेलगायत कार्यक्रम बजेटमा छन् ।

स्वास्थ्यतर्फ पनि धेरैजसो विगतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । ‘कर्णाली स्वास्थ्य नागरिक अभियान’ कार्यक्रमका लागि आठ करोड रकम विनियोजन गरिएको छ ।

आगामी आवमा तीन सय ७० वटा विद्यालयको भौतिक सुधारका लागि रु एक अर्ब १० करोड रकम विनियोजन गरिएको छभने भूकम्पबाट भत्किएका शिक्षण संस्था निर्माण गर्न ५० करोड छुट्याइएको छ । शिक्षासम्बन्धी यसअघिको नीति तथा कार्यक्रममा समाविष्ट अधिकांश नारा र कार्यक्रमलाई यो बजेटमा पनि निरन्तरता दिइएको छ ।

बजेट वक्तव्यअुनसार कर्णाली प्रदेशको भाषा, साहित्य संरक्षणका लागि ऐन निर्माण तथा कला, संस्कृतिको संरक्षणमा जोड दिइएको छ । सामाजिक विकास मन्त्रालयका लागि  पाँच अर्ब ७२ करोड विनियोजन गरिएको छ ।

जलविद्युत् क्षेत्रमा ‘कर्णालीको पानी, जनताको लगानी’ नाराका साथ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि रु दुई अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ । विपद् व्यवस्थापनको क्षेत्रमा पनि केही कार्यक्रम समेटिएका छन् । विपद् व्यवस्थापन कोष र घर बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ । जुन विगतभन्दा कम हो । बजेट वक्तव्यमा गाई, भैँसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न दूध उत्पादन तथा बिक्रीवितरणका आधारमा साविकको कर्णालीका किसानलाई प्रतिलिटर दूधमा १० रुपैयाँ र जाजरकोट, दैलेख, सल्ल्यान र सुर्खेतका किसानलाई प्रतिलिटर पाँच रुपैयाँ उत्पादनका आधारमा प्रदान गरिने अनुदानको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले निर्माण गरेका शीतभण्डार, सङ्कलन केन्द्र, उच्च प्राविधिका नर्सरीको स्तरोन्नति गरी सञ्चालनमा ल्याइने तथा सम्भाव्यता अध्ययनका आधारमा डोल्पालगायत हिमाली जिल्लामा अङ्गुर प्रशोधन, भेडा च्याङ्ग्राको ऊन तथा पस्मिनाबाट कपडा, गलैचा, राडीपाखी बनाउने उद्योगको विकास र बजारीकरण गरिने बजेट वक्तव्यमा उल्लेख छ । मुख्यमन्त्री डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि १० करोड रकम विनियोजन गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा हिमाली जिल्लामा आवासीय विद्यालय निर्माण गर्न दुई करोड ५० लाख विनियोजन भएको छ । एक जिल्ला एक उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ ।

मानव सेवा आश्रमको पूर्वाधार विकास निर्माणका लागि एक करोड रकम विनियोजन गरिएको छ । कर्णाली प्रदेशलाई भाषा, कला र संस्कृतिको अनुपम प्रदेशका रूपमा विकास गर्नका साथै बिजुली नपुगेका स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न १४ करोड ७६ लाख विनियोजन गरिएको छ ।

सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौँ, २ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत हुनुहुन्थ्यो भन्नुभएको छ ।सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गर्नुभएको बताउनुभयो ।

“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।” सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी, २ असारः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।
बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन भएको यो सडकका लागि रु २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो । हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने भइरहेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार
तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गरिने छ । यो बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो ।

यसैगरी, चालु आवमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु दुई करोड बजेटबाट वडा नं ६ को एक्लेपिपलबाट वडा नं ९ को किराखोरसम्म एक किलोमिटर दुई सय मिटर सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाललगायत काम सकेर कालोपत्र र ढलानको तयारी गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटर सडक कालोपत्र र ढलान गरेर स्तरोन्नति भइसकेको छ ।

बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी रहेको प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

प्रदेश सरकारमार्फत म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन रु एक अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रिया अघि प्रारम्भ भएको अर्का प्रदेशसभा सदस्य रेशम जुग्जालीले राससलाई बताउनुभयो ।

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

दमौली (तनहुँ), २ असारः भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो । भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छभने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् ।

भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गर्नुभएको हो । उहाँका अनुसार रु ७१ लाख ३१ हजार पाँच सय १८ को लागतमा पुल निर्माण हुनेछ । विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ ।

कुरिलोखेतीबाट एकै याममा सबै खर्च कटाएर सात लाख नाफा

त्रिवेणी (नवलपरासी), २ असारः बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले राससलाई बताउनुभयो ।

हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती गर्नुभएक छ । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उहाँले बताउनुभयो । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताउनुभयो । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउनुहुन्छ । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लाग्नुभएको हो । उहाँको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

आज गंगा दशहरा, यस्तो छ पौराणिक महत्व

महोत्तरी, २ असारः हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।

गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आपूm नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ ।

जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर–५ पतैलीका मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।आज बिहानैदेखि महोत्तरीका रातु, मरहा, अङ्कुशी र जङ्घासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान गर्नेको भीड छ ।

तीस वर्षपछि झापाको राईसिंह खोलामा बन्यो पक्की पुल, बाहुनडाँगीका स्थानीयलाई यात्रा गर्न सहज

झापा- : झापाको मेचीनगर नगरपालिकास्थित राइसिंह खोलामा तीन दशकपछि पक्की पुल निर्माण भएको छ । मेचीनगर–२ र ४ का बासिन्दाले लामो समयदेखि उक्त पुल निर्माणको माग गर्दै आएका थिए । रु सात करोड २६ लाखको लागतमा पुल निर्माण गरिएको हो । हात्ती प्रभावित साविक बाहुनडाँगी बजार र भृकुटी क्षेत्रलाई जोड्ने सो पुल निर्माणका लागि २०५१ सालदेखि पहल गरिँदै आएको थियो । एक दशकअघि रु ४० लाखको लागतमा तत्कालीन जिल्ला विकास समितिले राइसिंह खोलामा पुल निर्माण थालेको थियो । तर बजेट अभावमा सो पुल बन्न सकेको थिएन । सो पुलदेखि उत्तरतर्फ २०७७ सालमा अर्को पुल निर्माण थालिएको थियो ।

बजेट अभावका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको कोशी प्रदेश पूर्वाधार विकास कार्यालयका अधिकृत सुरेन्द्रप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो, “भुक्तानी बक्यौताका कारण पुल हस्तान्तरणमा ढिलाइ भएको हो, चालु आवभित्रै भुक्तानी गछौँँ ।”

पुल बनेपछि मेचीनगरको हात्ती प्रभावित बाहुनडाँगीका १८ हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । तीन दशकदेखि प्रत्येक निर्वाचनमा  उम्मेदवारहरुले उक्त पुल बनाउने प्रतिबद्धता जनाउँदै आएका थिए । पछिल्लोपटक कोशी प्रदेश सरकारले प्राथमिकतापूर्वक बजेट सुनिश्चित गरेपछि पुल निर्माण सम्पन्न भएको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले बताउनुभयो । पुलको लम्बाई ५१ मिटर तथा चौडाई ८ दशमलव ४० मिटर रहेको छ । हस्तान्तरण गर्न बाँकी भएपनि आवतजावतका लागि पुल खुला गरिएको छ ।

मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु चौपायाले दुःख पाउदै

नेपालगञ्ज (बाँके)- मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका छन् । सरकारले २०६४ सालमा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको ‘एनिमल नेपाल’ नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताउनुभयो । उहाँले लामो दूरीबाट पशुचौपाया ढुवानी गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रमुख राणाले भन्नुभयो, “पशुचौपाया टाढाबाट ढुवानी गरेर लैजाँदा उनीहरूले सास्ती नझेल्ने गरी लैजानुपर्छ । तर त्यस्तो अवस्था देखिँदैन ।” उहाँले लामो दूरीबाट ढुवानी गर्दा उनीहरूलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गर्नुभयो । विसं २०५५ को पशु सेवा ऐन र विसं २०५६ मा जारी भएको नियमावलीअनुसार २०६४ सालमा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको थियो ।

पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्ने, शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी नपाइने, राँगाभैँसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैँसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर बाँध्न नपाइने, राँगाभैँसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने पशुचौपाया ढुवानी मापदण्ड छ ।

पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्ड छ । पशु ढुवानी गर्दा गाडीको गति प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्ने, जथाभावी ब्रेक लगाउन नपाइने मापदण्ड रहेको छ ।

बारा, पर्सा, बर्दिया, कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैँसी काठमाडौँ पठाउने गरिएको एनिमल नेपालले जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले मापदण्डविपरीत काम गर्नेलाई रु पाँच हजारसम्म जरिवाना गरिएको उल्लेख गर्दै यसमा नियमनको काम भइरहेको बताउनुभयो ।

पशु क्वारेन्टाइन कार्यालय कञ्चनपुरका प्रमुख टीकाराम खनालले पशु ढुवानी गर्दा दाङको भालुबाङ र चितवनको रामनगरमा आन्तरिक चेकपोष्ट स्थापना गरिएको जानकारी दिँदै समस्या देखिए त्यहाँबाट दरपिठ हुने बताउनुभयो । “चेकपोष्टमा जनावर भोकै छ वा छैन, ढुवानी गर्दा के कसरी राखिएको छ, सबै हेरिन्छ”, उहाँले भन्नुभयो

जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गर्नुभएको छ ।क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ ।

यसले सन् २००२ मा, जी–७ को २८ औँ शिखर सम्मेलनको आयोजनासमेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा मा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।

सन् २०१८ मा क्यानाडाले आयोजना गरेको अन्तिम जी–७ शिखर सम्मेलन विवादित बनेको थियो । त्यसपछि बैठक छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्ना प्रतिनिधिहरूलाई नेताहरूको सन्देशलाई समर्थन नगर्न निर्देशन दिनुभएको थियो ।

पिएम किसान योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गरिने

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि (पिएम–किसान निधि) योजनाअन्तर्गत २० हजार करोड रुपैयाँ जारी गर्न जुन १८ (मङ्गलबार) वाराणसीको भ्रमण गर्नुहुनेछ ।पिएम–किसान योजनाको १७औँ किस्ता जारी गरेपछि मोदीले ३० हजार भन्दा बढी स्व–सहायता समूहहरूलाई कृषि सखीहरूका रूपमा प्रमाणपत्र प्रदान गर्नुहुने केन्द्रीय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले शनिबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

यो कार्यक्रम उत्तर प्रदेश सरकारको समन्वयमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रालयले आयोजना गर्नेछ ।प्रधानमन्त्री मोदीले गत सोमबार प्रधानमन्त्री किसान निधिको १७औँ किस्ता जारी गर्ने अधिकार दिएर आफ्नो तेस्रो कार्यकालको सुरुआत गर्नुभयो । यसको लक्ष्य नौ करोड ३० लाख किसानलाई फाइदा पु¥याउने र करिब २० हजार करोड रुपैयाँ वितरण गर्ने रहेको छ ।

सन् २०१९ फेब्रुअरीमा सुरु गरिएको यो योजनाले वार्षिकरूपमा छ हजार रुपैयाँको तीन बराबर किस्तामा दुई हजार रुपैयाँ सिधै किसानहरूको आधार–बीज बैंक खाताहरूमा स्थानान्तरण गर्दछ ।

मन्त्री चौहानले प्रधानमन्त्री मोदीलाई एक सय दिने योजनामा काम गर्ने जिम्मेवारी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पिएम–किसानको १७औँ किस्ता, २० हजार करोडभन्दा बढीको रकम, नौ करोड २६ लाखभन्दा बढी लाभार्थी किसानहरूलाई प्रधानमन्त्रीद्वारा वाराणसी, उत्तर प्रदेशबाट बटनको एक क्लिकमा वितरण गरिनेछ ।”

कार्यक्रममा देशभरबाट करिब दुई करोड ५० लाख किसान सहभागी हुने कृषिमन्त्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले ३० हजारभन्दा बढी स्व–सहायता समूहहरू (एसएचजी) लाई कृषि सखीहरूका रूपमा प्रमाणपत्र प्रदान गर्ने र टोकन इशाराका रूपमा पाँच कृषि सखीलाई प्रमाणपत्र वितरण गर्नुहुनेछ ।

असैन्यीकृत क्षेत्रभित्र उत्तर कोरियाले सडक र पर्खाल बनाउँदै

उत्तर कोरियाको सेनाले असैन्यीकृत क्षेत्र (डिएमजेड) भित्र सडक र पर्खाल निर्माण गरिरहेको योनहाप समाचार एजेन्सीले शनिबार बताएको छ । उक्त क्षेत्रले उत्तर र दक्षिण कोरियालाई विभाजन गर्दछ । दक्षिण कोरियाली एजेन्सी योनहापले अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै डिएमजेडको बीचबाट जाने सैन्य सीमाङ्कन रेखा (एमडिएल) को उत्तरमा निर्माण गतिविधिहरू भइरहेको बताएको छ ।

गत साता उत्तर कोरियाली सैनिकहरूले केही समयका लागि एमडिएल पार गरेपछि दक्षिण कोरियाली सेनाले चेतावनीका रूपमा गोलीबारी गरेको घटनाको रूपमा यो रिपोर्ट आएको छ ।दक्षिण कोरियाली अधिकारीहरूले सम्भवतः यो आकस्मिक भएको बताएका छन् । योनहापले एक सैन्य प्रवक्तालाई उद्धृत गर्दै केही उत्तर कोरियालीहरूले औजार बोकेर जाँदै गरेको बताएको छ ।

शनिबार योनहापका अनुसार सैन्य स्रोतले भनेको छ, “हालै उत्तर कोरियाली सेनाले सैन्य सीमाङ्कन रेखा (एमडिएल) र डिएमजेडमा उत्तरी सीमा रेखाको बीचको केही क्षेत्रमा पर्खाल लगाइरहेको छ, जमिन खनिरहेको छ र सडक निर्माण गरिरहेको छ ।”

उनीहरूले के निर्माण गरिरहेका थिए भन्नेबारे स्पष्ट नभएको स्रोतले योनहापलाई बताएको छ । रिपोर्टबारे सोधिएको प्रश्नमा दक्षिण कोरियाली सेनाले विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाली सेनाको गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ र निगरानी गरिरहेका छौँ, थप विश्लेषण आवश्यक छ ।”

सेनाले थप विवरण प्रदान नगरी ‘अपरेसनका साथ अगाडि बढिरहेका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न’ यी कार्यहरूमा दक्षिण कोरियाली प्रतिक्रिया साझा गर्न नसक्ने बताएको छ ।

दक्षिण कोरियाको गुप्तचर एजेन्सीले यसै साता उत्तर कोरियाले दुवै मुलुकलाई जोड्ने रेलवे लाइनका केही भागलाई भत्काइरहेको सङ्केत प्राप्त भएको बताएको थियो । त्यसपछि दुवै कोरियाबीच प्रचार युद्ध बढेको छ ।

उत्तर कोरियाले फोहरले भरिएका एक हजारभन्दा बढी बेलुन दक्षिणतिर पठायो । यसलाई प्योङयाङविरोधी कार्यकर्ताहरूले अर्को तरिकाले पठाएको प्रचार बेलुनहरूको प्रतिशोध भएको बताए ।

त्यसपछि दक्षिण कोरियाले सीमामा जडान गरिएका लाउडस्पिकरहरू प्रयोग गर्दै उत्तरमा के–पप गीत र समाचार प्रसारण पुनः सुरु गर्यो । लाउडस्पिकर अभियानको पुनः सुरुआतले उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङलाई अनिर्दिष्ट ‘नयाँ जवाफी उपाय’ को धम्की दिन उक्सायो ।

उत्तर कोरियाले आफ्नो सीमभित्र सूचना प्रवाहलाई कडाइका साथ नियन्त्रण गर्छ र आफ्ना जनतालाई दक्षिण कोरियाली सामग्री विशेषगरी पप संस्कृतिसम्म पहुँच प्राप्त गर्नेबारेमा अत्यन्त संवेदनशील छ ।

उत्तर कोरियाले यसअघि दक्षिण कोरियाली लाउडस्पिकरविरुद्ध तोप हमला गर्ने धम्की दिएको छ । यो सन् १९५०–५३ को कोरियाली युद्धको समयमा प्रयोग गरिएको मनोवैज्ञानिक युद्ध रणनीति हो ।

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

काठमाडौँ, २ असार : थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ ।दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहनुभएको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाली राजदूत धनबहादुर वलीले नवगठित संस्थाले आफ्नो उद्देश्य हासिल गर्न आगामी दिनमा आयोजना गर्ने हरेक कार्यक्रममा राजदूतावासको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ ।

प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी क्षेत्रसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने बताए ।

पर्यटन व्यवसायीसँगको सहकार्यमा विभिन्न पर्यटकीय प्याकेज तयार गरी ‘पहिले घरदेश अनि परदेश’लाई अभियानको रूपमा सञ्चालन गरिने उनले बताए । पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँगको सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेटको व्यवस्था गरिएको आर्थिक मामिला गुरुङले बताउनुुभयो । ‘पदमार्गको संरक्षण–पर्यटनको प्रवर्द्धन’ भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धवलागिरि, माछापुच्छ«े, मर्दीलगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । सनातन धर्मावलम्बीको पवित्रस्थल गजेन्द्रमोक्ष धाम, मुक्तिनाथ, मनकामना क्षेत्रलगायतका प्रदेशभित्रका प्रमुख धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनको लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्दै मन्त्री गुरुङले यसबाट प्रदेशभित्र धार्मिक पर्यटनको विकास हुने अपेक्षा गरिएको बताए ।

‘होमस्टे जाउ स्थानीय कला संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ ग्रामीण पर्यटनलाई उत्पादन र रोजगारीसँग जोड्न घरवासमा पूर्वाधार निर्माण तथा क्षमता विकास कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । साइक्लिङमार्फत पर्यटन प्रवर्द्धनका लागि मुस्ताङको जोमसोम, तनहुँको बन्दीपुर र पोखरामा लेक टु लेक साइक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै मन्त्री गुरुङले राउन्ड फेवा भ्यू फेवा कार्यक्रमलाई उच्च प्राथमिकतासाथ कार्यान्वयनमा जोड दिइएको बताए ।

हिमाल आरोहणसम्बन्धी जनशक्ति उत्पादनका लागि तालिम कार्यक्रम सञ्चालन गर्न र हिमाल आरोहण गर्ने प्रदेशवासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्ययक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

पूर्वाधारतर्फ १२ अर्ब ७० करोड बजेट

गण्डकी प्रदेश सरकारले सडक, पुललगायत भौतिक पूर्वाधार योजनामा रु १२ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । शनिबार प्रदेशसभा बैठकमा प्रस्तुत प्रदेश सरकारको आगामी आवको कुल बजेट रु ३२ अर्ब, ९७ करोड ८५ लाख ७५ हजार बजेटमध्ये ठूलो रकम पूर्वाधारतर्फ छुट्याइएको हो ।

चालु आवमा सो क्षेत्रमा रु ११ अर्ब १६ करोड बजेट विनियोजन गरिएको थियो । बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ ।

दिगो र उत्थानशील पूर्वाधार विकासको लक्ष्यसहित सरकारले योजनाको प्राथमिकीकरण गरेको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । गरिब, अशक्त, अहसहाय, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित आवासको व्यवस्था गर्न जनता आवस कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

उत्तर–दक्षिण सडकअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्ड, मनाङमस्र्याङ्दी सडक, शालिग्राम करिडोर र बुद्धसिंहमार्ग निर्माणलाई विशेष प्राथमिकतासाथ बजेट बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए ।

एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रममार्फत गोरखाको अवुवा–बिर्दी–सेराबजार–पौवाटार, बागलुङको अदालत चौतारी–तित्याङ सालबोट–दह भकुण्डे–रायडाँडा–दमेक हुँदै बरेङ, कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ र नवलपुरको आलोक चक्रपथ कालोपत्र हुने भएको छ । ती योजनाअन्तर्गत ८० किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ ।

प्रदेशसभाको भवन निर्माणका लागि रु नौ करोड बजेट विनियोजन गरिएको छ । सङ्घ र स्थानीय तहको समन्वयमा झोलुङ्गे, ट्रष्ट ब्रिज पुल निर्माण र मर्मतकार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । पदयात्रा र साइक्लिङका लागि गोरखाको मनास्लु, लार्केपास–मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गर्न आवश्यक बजेट विनियोजना गरिएको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए ।

प्रदेश गौरव, प्रदेश लोकमार्ग र रणनीति महत्वका सडक निर्माण, स्तरोन्नति एवं मर्मतसम्भार कार्यलाई तीव्रता दिइने भएको छ । स्थानीय तहको केन्द्र जोड्ने ‘एक निर्वाचन क्षेत्रः एक सडक तथा सडक पुल’ निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले टुक्रे योजना कटौती गर्दै ठूला र रणनीतिक महत्वका सडक निर्माणलाई प्राथमिकता दिँदै आएको छ ।

पूर्वाधारतर्फको धेरै बजेट सडक र पुलका बहुवर्षीय आयोजनामा खर्च हुने गरेको छ । पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन् । पक्की पुलमा भने सरकारले लगानी थपेको छ । पुल नबनेकै कारण कतिपय सडक बाह्रैमास चल्न नसकेको स्थिति छ । एकातिर स्तरहीन सडक त्यहीँमाथि पुलसमेत नहुँदा वर्षात्का बेला ग्रामीण भेगको यातायात सेवा प्रभावित हुने गरेको छ ।

सडकको मर्मतसम्भार र दिगो व्यवस्थापनसहित बाह्रैमास यातायात सञ्चालनका गर्न आपत्कालीन मर्मत तथा पुनःनिर्माणका लागिसमेत बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १३ अर्ब १६ करोड पाँच लाख र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार बजेट विनियोजन गरेको हो । वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड बजेट विनियोजन गरेको सरकारले आन्तरिक राजस्वबाट रु पाँच अर्ब १७ करोड उठाउने लक्ष्य लिएको छ ।

सङ्घ सरकारको वित्तीय समानीकरणबाट रु सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब ६१ करोड, सशर्त अनुदानबाट रु तीन अर्ब १० करोड ११ लाख, रोयल्टीबापत रु ४८ करोड १० लाख बजेटमा समावेश गरिएको छ । यस्तै सङ्घ सरकारको समपूरक बजेटबाट रु एक अर्ब १९ करोड र विशेष अनुदानबाट रु ६५ करोड ५५ लाखको स्रोत व्यवस्थापन हुने आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । वित्तीय हस्तान्तरणतर्फ प्रदेश सरकारले रु एक अर्ब १६ करोड स्थानीय तहलाई उपलब्ध गराउने भएको छ । आगामी आवमा प्रदेश सरकारले रु एक अर्ब ७० करोड आन्तरिक ऋण लिने जनाइएको छ ।

चालु आवमा रु दुई अर्ब ९४ करोड मौज्दाता बाँकी रहने र नपुग रु एक अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत प्राथमिकतामा परेका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयतर्फ रु दुई अर्ब नौ करोड २१ लाख सात हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यक्रम तथा योजनाका लागि रु ९१ करोड ५१ लाख ४१ हजार बजेट विनियोजन गरिएको छ । शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ रु पाँच अर्ब ४७ करोड ७४ लाख र ऊर्जा, खानेपानी र जलस्रोतको क्षेत्रमा रु चार अर्ब दुई करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।

कृषिमा विशेष जोड

रोजगारीका लागि युवा विदेश पलायन भइरहेको अवस्थामा गण्डकी प्रदेश सरकारले बजेटमा कृषि क्षेत्रको व्यावसायिक विकासमा विशेष जोड दिँदै पहिलो प्राथामिकतामा राखेको छ ।

आव २०८०÷८१ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान २६ दशमलव ४० प्रतिशत रहेको अवगत गराउँदै मन्त्री गुरुङले गण्डकी प्रदेशमा उत्पादन र उत्पादकत्वका वृद्धि गर्दै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट विनियोजन भएकोे छ ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र विविधिकरण गरी जग्गाको चाक्लाबन्दी गर्दै सहकारी तथा करार खेती प्रणालीमा विकास गर्ने योजना उहाँले अगाडि सार्नुभएको छ । किसानले लिने कृषि कर्जाको ब्याज अनुदान उपलब्ध गराउने, कृषि र पशुजन्य उत्पादनको निकासी र पैठारी गर्नेतर्फ बजेट केन्द्रित छ ।

औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थको उत्पादनका लागि गाँजाखेती गर्न आवश्यक कानुनी व्यवस्था गर्दै कार्यान्वयनको मार्गचित्र बनाउने बजेटमा उल्लेख छ । माटो परीक्षण र मलको गुणस्तर नियमन कार्यलाई सघाउन मोबाइल माटो परीक्षण अस्पताल सञ्चालनमा ल्याउन र भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन बजेट विनियोजन गर्नुभएको छ । त्यस्तै सुन्तलाखेती उत्पादन र प्रवर्द्धन गर्न बगैँचा स्थापना र पिसीआर परीक्षणका गर्न बजेट छुट्याइएको छ ।

गण्डकी प्रदेशलाई खाद्यान्न, तरकारी, माछामासु, फलफूल र आलु उत्पादनमा आत्मनिर्भर बनाउन रु १२ करोड ६२ लाख विनियोजन गरिएको छ । पशु नश्ल तथा पाडाबाच्छी हुर्काउने कार्यक्रमलाई विशेष प्राथामिकता दिँदै बजेट विनियोजन गर्नुभएको छ । दूध, माछा र अण्डा उत्पादनमा वृद्धि गर्दै निर्यात प्रवर्द्धनका लागि बृहत्तर पशु विकास प्रवर्द्धन र मस्त्य विकास कार्यक्रमका लागि रु तीन करोड ५१ लाख विनियोजन भएको छ ।

मध्यमहाडी लोकमार्गले छोएका गोरखाका स्थानीय तहमा नमूना परियोजनाका रूपमा करिडोर लक्षित बाख्रा विकास कार्यक्रमका ल्याइएको छ र त्यो कार्यक्रम सञ्चालन गर्न रु दुई करोड १२ लाख छुट्याइएको छ । पशुमा पूर्णखोप तथा बीमा कार्यक्रम प्रभावकारी बनाउन र पशु स्वास्थ्य उपकरण खरिदका लागि बजेट विनियोजन गरिएको छ । परम्परागत बाली र पशुपक्षंी संरक्षण, उत्पादन र उपभोगमा वृद्धि गर्नुको साथै प्राङ्गारिक वस्तु उत्पादनको बजारीकरणका लागि रु दुई करोड २३ लाख छुट्याइएको छ ।

असल कृषि तथा पशुपालन अभ्यास, असल उत्पादन अभ्यास तथा पशु कल्याणमा बजेट विनियोजन गर्नुका साथै स्थानीय तहको समन्वयमा भूमि बैंक निर्माण गरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म सम्भाव्यता अध्ययन गरी सामूहित एकीकृत कृषि विकास कार्यक्रम गर्न मन्त्री गुरुङले बजेट विनियोजन गर्नुभएको छ । कृषिसँग गरिबी न्यूनीकरण, स्थानीय रोजगारी, उत्पादन र उद्यमशीलतासँगै जोडिएको छ ।

शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

बजेटमा शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ । शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ रु पाँच अर्ब ४७ करोड ७४ लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा सीपयुक्त मानव पुँजी निर्माणका लागि शिक्षा प्रणालीको सामयिक सुधार गरी कार्यक्रम सञ्चालन, व्यावसायिक, प्राविधिक, जीवनोपयोगी, व्यावहारिक र नैतिक शिक्षा प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालनमा बजेटले जोड दिएको छ ।

स्थानीय तहसँगको साझेदारीमा दुर्गम तथा छरिएका बस्ती क्षेत्रमा आवश्यकतानुसार ‘बिग र लिड विद्यालय’ तथा आवासीय विद्यालय विस्तार गरिने छ । सरकारले यस कार्यक्रमलाई प्रोत्साहन गरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका विद्यालयको शैक्षिक तथा संरचनात्मक सुधारका लागि बजेट छुट्याएको छ । गत वर्षदेखि चलेको ‘सामुदायिक क्याम्पससँग गण्डकी प्रदेश’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

राष्ट्रिय भाषा आयोगको सिफारिसमा मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन आवश्यक कानुनी व्यवस्था गरिने छ । प्रदेशभित्र बोलीचालीमा रहेका अन्य भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ भने बजेटमार्फत ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’, प्रविधिमैत्री सिकाइ र ‘फ्राइडे फर फ्युचर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले ‘स्वस्थ जीवन, हाम्रो अभियान’मार्फत नागरिक शिक्षा, अभिभावक शिक्षा साथै ध्यान तथा योग शिविरसहितको गण्डकी जागरण अभियान सञ्चालनमा जोड दिएको छ । प्रदेश मातहतका अस्पताल तथा ‘वर्थिङ सेन्टर’मा तालिमप्राप्त ‘मिडवाइफ’मार्फत सेवा प्रवाहको सुनिश्चितताका लागि आगामी आर्थिक वर्षदेखि प्रवीणता प्रमाणपत्र तहको मिडवाइफरी शैक्षिक कार्यक्रम बागलुङस्थित धवलागिरि अस्पतालमा अध्यापन गराइने छ ।

बजेटअनुसार जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धारलगायत सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने छ । प्रदेश सरकारले मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शय्या क्षमतामा स्तरोन्नति गर्ने तथा गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिवाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याइने छ ।

प्रदेश मातहतका आयुर्वेद संस्थाहरूको सुदृढीकरण गर्ने, धवलागिरि र गण्डकी आयुर्वेद औषधालयको स्तरोन्नति गरी अन्तरङ्ग सेवा सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गर्न नागरिक आरोग्य अभियानमार्फत ‘भान्छा सुधारः आरोग्यताको आधार’ कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरुङले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको छ ।

‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रित कोशीको बजेट

विराटनगर – ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित कोशी प्रदेश सरकारले शनिबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले सो अठोटका साथ आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालु आवमा रु नौ खर्ब तीन अर्ब रहने अनुमान गरिएको छ । प्रदेशको प्रतिव्यक्ति आय नौ सय ३४ अमेरिकी डलरबाट बढेर एक हजार तीन सय ३६ डलर पुगेको छ । चालु आवमा कोशीमा विद्युत् उत्पादन एक सय २१ मेगावाटबाट पाँच सय ७७ मेगावाट पुगेको छ भने ९७ दशमलव सात प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवाको पहुँच पुगेको छ । प्रदेशको वन क्षेत्र ४३ दशमलव दुई प्रतिशतबाट बढेर ४८ दशमलव नौ प्रतिशतमा विस्तार भएकाले प्रदेशलाई ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउन सहज हुने देखिन्छ ।

‘सामाजिक न्यायसहितको समुन्नत प्रदेश निर्माण हुने’ समष्टिगत लक्ष्य लिएको प्रदेशको प्रथम आवधिक योजनाले तय गरेको ६६ गन्तव्य सूचक र २३ परिमाणात्मक लक्ष्यमध्ये ५० प्रतिशत सूचकमा पूर्ण उपलब्धि हासिल भएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सार्वजनिक बजेटमार्फत जानकारी दिनुभएको छ ।

कोशी प्रदेशमा पाँच बजेट कार्यान्वयन भइसकेका छन् । पुँजीगत खर्च गर्ने क्षमतामा अन्य प्रदेशभन्दा कोशी प्रदेश आगाडि रहेको समीक्षासहित आव २०७८÷७९ मा विनियोजित पुँजीगत बजेटको ८९ दशमलव आठ प्रतिशत खर्च भएको बजेटले विश्लेषण गरेको छ । कोशी प्रदेशको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडक पहुँच पुगेको छ ।

प्रदेश सरकारले आव २०७५÷७६ देखि निर्माण सुरु गरेका ७८ बहुवर्षीय प्रादेशिक सडकमध्ये २२ वटा सम्पन्न भएका छन् । निर्माण सम्पन्न बहुवर्षीय सडकमध्ये पाँच सय २८ किमी सडक कालोपत्र, एक हजार दुई सय ५७ किमी ग्राभेल, एक हजार एक सय दुई किमी कच्ची सडक र मर्मत तथा ट्रयाकओपनसहित चार हजार तीन सय ६६ किमी सडक निर्माण तथा स्तरोन्नति भएको छ । चालु आवमा ८० मोटरेबल पुल र एक सय ८४ झोलुङ्गे पुल निर्माण हुनु प्रदेश सरकारले गरेको कामको सुखद पक्ष भएको मन्त्री मगरले सार्वजनिक बजेटमार्फत जानकारी दिनुभएको छ ।

यस्तै प्रदेश सरकारले हालसम्म ३३ सरकारी भवन निर्माण, एक सय पाँच सामुदायिक भवन निर्माण, ११ भ्यूटावर निर्माण, १८ बसपार्क निर्माण, ४६ उद्यान निर्माण र ५४ एकीकृत बस्ती विकास गरी जनता आवास कार्यक्रमबाट आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायकका पाँच हजार नौ सय १० परिवारको आवास निर्माण गर्न सफल हुनु प्रदेश सरकारको ठूलो उपलब्धि भएको मन्त्री मगर बताउनुहुन्छ ।

आगामी आर्थिक वर्षको बजेटले गर्ने विषयगत काम

कोशी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कृषि, पूर्वाधार तथा सहरी विकास, खानेपानी, सिँचाइ तथा ऊर्जा खानेपानीलगायतलाई प्रथामिकता दिइएको छ ।

कृषि

प्रदेश सरकारले कृषि क्षेत्रका विविधिकरण, व्यवसायीकरण र बजारीकरण तथा सहकारी क्षेत्रको समुचित विकास गर्न रु दुई अर्ब ६७ करोड विनियोजन गरको छ । सरकारले ‘कृषिमा लगानी दशक’सम्बन्धी घोषणाअनुरुप निजी तथा सहकारी क्षेत्रबाट कृषिमा उल्लेख्य लगानीका आधार निर्माण हुने विश्वास लिएको छ ।

सरकारले यसअन्तर्गत प्रदेशमा नै गुणस्तरीय बीउ उत्पादन, आपूर्ति र नियमनको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा कोशी प्रदेशलाई धानको बीउको स्रोत केन्द्रका रूपमा विकास गर्न रु एक करोड १८ लाखको व्यवस्था गरेको छ । स्वच्छ माटो र स्वच्छ बाली कार्यक्रमका लागि रु दुई करोड ७५ लाख, विगतका वर्षमा किसानलाई दिइने अनुदान हटाइ व्यावसायिक रूपमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बद्ध उन्नत प्रविधि प्रयोग तथा व्यवसाय विस्तारका लागि अधिकतम् किसानको पहुँच पुग्नेगरी बैंक, वित्तीय संस्था र तथा सहकारी संस्थामार्फत सर्वुलभ रूपमा कर्जा उपलब्ध गराइ उक्त कर्जाको ब्याज अनुदानका लागि रु ४५ करोड बजेटको व्यवस्था गरिएको छ ।

पूर्वाधार तथा सहरी विकास

स्रोत सुनिश्चितता भएका बहुवर्षीय सडक, पुल, झोलुङ्गे पुललाई सम्पन्न गर्न र निरन्तरता दिन रु चार अर्ब बजेट विनियोजन भएको छ । प्रदेशको गौरवको योजनाका रूपमा रहेको मोरङको पुष्पलाल चोकबाट विराट चोकसम्मको चार लेनको बाटोलाई बजेटमा समेटिएको छ ।

विराटनगर विमानस्थलको स्तरोन्नति गर्न, आर्थिक अवसर सिर्जना हुनेगरी प्रदेशमा सात बजार केन्द्र, चतरा–दूधकोशी जलमार्गलगायत रणनीतिक महत्वका आयोजनाको सम्भाव्यता अध्ययन गर्न नेपाल सकारसँग आवश्यक समन्वय गर्नेलगायत काम गर्न प्रदेश सरकारले सडक पूर्वाधार तथा सहरी विकासका लागि जम्मा रु १० अर्ब ४१ करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा

झापाको कन्काई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गर्नुका साथै खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि रु चार अर्ब ७६ करोड बजेट विनियोजनले यस क्षेत्रमा परिवर्तन आउने आशा गरिएको छ ।

स्वास्थ्य

मेची प्रादेशिक अस्पताललाई उत्कृष्ट सेवा केन्द्रका रूपमा विकास गर्नुका साथै प्रदेश मातहतका पाँचथर, धनकुटा, उदयपुर, सङ्खुवासभा र खोटाङ जिल्ला अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्न रु ६० करोड ५५ लाख बजेट विनियोजनले ती क्षेत्रका जनताले स्वास्थ्य क्षेत्रमा लाभ लिनसक्ने भएका छन् । प्रदेश मातहतका सबै अस्पतालबाट विशेषज्ञ सेवा सुनिश्चितताका लागि स्वास्थ्यकर्मीलाई विशेष भत्ताका लागि रु ६ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सेवा सुधार र विस्तारका लागि रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरिएको छ ।

सामाजिक क्षेत्रको विकास लागि रु एक अर्ब ९८ करोड बजेट विनियोजनसँगै ‘कोशी प्रदेशको विकासको आधार, सवल पर्यटकीय पूर्वाधार’ नारालाई मूर्तरुप दिन, विसं २०८२ लाई पर्यटन वर्ष घोषणा कार्यक्रम सम्पन्न गर्न, वन तथा वातावरणको क्षेत्रमा उल्लेख्य काम गर्न रु दुई अर्ब ८२ करोड बजेट विनियोजन भएको छ ।

सरकारले आमनागरिकलाई शान्ति सुरक्षा तथा कानुनी शासनको अनुभूति दिलाउन रु एक अर्ब तीन करोड बजेट विनियोजनसँगै मानवअधिकार, सुशासन र सेवा प्रवाहलाई चुस्त एवं दुरुस्त बनाउन तथा विविधि कार्यक्रम एवं योजनाका लागि रु ३८ करोड ४५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सार्वजनिक गर्नुभएको बजेटमा अर्थ, योजना, तथ्याङ्क र विकास कार्यक्रमका लागि रु ६० करोड ६२ लाख बजेटको व्यवस्था गरेको छ ।

बजेटका निम्ति राजस्व परिचालनका नीति तथा कार्यक्रम

कोशी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन गरेसँगै राजस्व परिचालनको नीति पनि सार्वजनिक गरेको छ ।

सो नीति तथा कार्यक्रमअनुसार आर्थिक क्रियाकलापमैत्री कर प्रणालीको माध्यमबाट प्रदेशको आर्थिक वृद्धिमा योगदान पुर्याउने गरी राजस्व प्रणालीमा सुधार, करको दायरा विस्तार गर्न राजस्व व्यवस्थापनको लागि संरचना सुधार, राजस्व प्रणालीलाई प्रविधिमैत्री र स्वचालित बनाइ करदाताको सहभागिता र कर परिचालन अभिवृद्धि गरिने, राजस्व प्रशासनमा कार्यरत कर्मचारीको क्षमता विकास गरिने, सरोकारवाला निकायबीचको समन्वयलाई सुदृढ बनाइ राजस्व चुहावटलाई नियन्त्रण गरिने तथा गैरकरको दरमा समयसापेक्ष परिमार्जन गरी गैरकर राजस्वलाई लागत प्रभावी बनाउनेजस्ता नीति सरकारले अवलम्बन गर्ने भएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री मगरले आव २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयकलाई सदनमा टेबुल गर्नुभयो ।

बागमती प्रदेश सरकारले बजेट ल्याएको चालु आवको भन्दा बढी, कार्यान्वयन हुनेमा विपक्षीको आशङ्का

बागमती- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा रु एक अर्ब ८४ करोडभन्दा बढीको बजेट ल्याएको छ । चालु आवकै हाराहारीमा बजेट ल्याउने अनुमान गरिरहेका बेला शनिबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आव लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभयो । जबकी चालू आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरिएको थियो ।

कूल विनियोजितमध्ये चालुतर्फ रु २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ रु ६३ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट रु २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट रु छ अर्ब ५१ करोड १६ लाख ७९ हजार, सङ्घीय वित्तीय हस्तान्तरणबाट रु १५ अर्ब ५७ करोड ५६ लाख, चालू आव २०८०÷८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट रु १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार बेहोरिने अनुमान बजेटमा गरिएको छ ।

प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका लागि रु २२ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि रु छ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रूपमा अगाडि बढाउने घोषणासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि रु दुई अर्ब ६२ करोड विनियोजन गरिएको छ ।
प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले सभालाई जानकारी गराउनुभयो ।

उपेक्षित, उत्पीडित तथा अतिसिमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि रु तीन अर्ब ९१ करोड बजेट छुट्याइएको छ । यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि रु दुई अर्ब ४६ करोड, वन तथा वातावरण मन्त्रालयका लागि रु तीन अर्ब २१ करोड, रोजगार तथा यातायात मन्त्रालयका लागि रु ९३ करोड विनियोजन गरिएको छ ।

बजेटमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु १० करोड बजेट विनियोजना गरेको सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु ७४ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि रु ४४ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्रका लागि रु २४ करोड दुई लाख तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि रु ५० करोड ६४ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशका सामुदायिक विद्यालयमा सञ्चालित एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि रु चार अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले चालू आव २०८०÷८१ का लागि रु ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरेको थियो ।

जनताको भावना र रोजगारी सृजना गर्ने खालको बजेट आएनन् : प्रतिपक्षी दल

  प्रतिपक्षी दलका नेताहरुले भने प्रस्तुत बजेटले जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसक्ने  टिप्पणी गर्नुभएको छ । बजेटपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बजेट मनगढन्ते र दिशाहीन भएकाले यसले जनताको चाहना र भावनालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । बजेटले रोजगारी अभिवृद्धि र आर्थिक समृद्धिमा टेवा पु¥याउन नसक्ने दाबी गर्दै उहाँले घाटा बजेटले समस्या थप बल्झिन सक्ने खतरा रहेको बताउनुभयो ।  

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुननसक्ने बताउनुभयो । ‘‘नाराहरू धेरै उपयुक्त छान्नु भएको छ, मेहनत धेरै गर्नुभएको छ तर बजेट वस्तुपरक छैन”, नेता थापाले भन्नुभयो, ‘‘सङ्घीय सरकारबाट अनुदान घटेको बेला चालु आवको भन्दा ठूलो बजेट ल्याएको छ, जुन कार्यान्वयन हुननसक्ने अवस्थाको छ ।”

कांग्रेस जनताको हितका लागि प्रतिपक्षमा बसेर काम गर्छ : नेता निधि

जनकपुर-नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले कांग्रेसले जनताको हितका लागि प्रतिपक्षमा बसेर काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको प्रशिक्षण शाखाले शनिबार जनकपुरधाममा आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नेता निधिले सत्ताका लागि हरेक दल प्रयासरत रहने गरेका भए पनि कांग्रेसले अहिले प्रतिपक्षमा नै बसेर सरकारलाई खबरदारी गर्ने उल्लेख गर्नुभयो ।

“कांग्रेस सरकार सरह नै काम गरेर जनताको सहानुभूतिका लागि अग्रसर हुनुपर्छ”, उहाँले भन्नुभयो ।     कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलालगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।