`

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ ।

प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी क्षेत्रसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने बताए ।

पर्यटन व्यवसायीसँगको सहकार्यमा विभिन्न पर्यटकीय प्याकेज तयार गरी ‘पहिले घरदेश अनि परदेश’लाई अभियानको रूपमा सञ्चालन गरिने उनले बताए । पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँगको सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेटको व्यवस्था गरिएको आर्थिक मामिला गुरुङले बताउनुुभयो । ‘पदमार्गको संरक्षण–पर्यटनको प्रवर्द्धन’ भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धवलागिरि, माछापुच्छ«े, मर्दीलगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । सनातन धर्मावलम्बीको पवित्रस्थल गजेन्द्रमोक्ष धाम, मुक्तिनाथ, मनकामना क्षेत्रलगायतका प्रदेशभित्रका प्रमुख धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनको लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्दै मन्त्री गुरुङले यसबाट प्रदेशभित्र धार्मिक पर्यटनको विकास हुने अपेक्षा गरिएको बताए ।

‘होमस्टे जाउ स्थानीय कला संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ ग्रामीण पर्यटनलाई उत्पादन र रोजगारीसँग जोड्न घरवासमा पूर्वाधार निर्माण तथा क्षमता विकास कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । साइक्लिङमार्फत पर्यटन प्रवर्द्धनका लागि मुस्ताङको जोमसोम, तनहुँको बन्दीपुर र पोखरामा लेक टु लेक साइक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै मन्त्री गुरुङले राउन्ड फेवा भ्यू फेवा कार्यक्रमलाई उच्च प्राथमिकतासाथ कार्यान्वयनमा जोड दिइएको बताए ।

हिमाल आरोहणसम्बन्धी जनशक्ति उत्पादनका लागि तालिम कार्यक्रम सञ्चालन गर्न र हिमाल आरोहण गर्ने प्रदेशवासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्ययक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

पूर्वाधारतर्फ १२ अर्ब ७० करोड बजेट

गण्डकी प्रदेश सरकारले सडक, पुललगायत भौतिक पूर्वाधार योजनामा रु १२ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । शनिबार प्रदेशसभा बैठकमा प्रस्तुत प्रदेश सरकारको आगामी आवको कुल बजेट रु ३२ अर्ब, ९७ करोड ८५ लाख ७५ हजार बजेटमध्ये ठूलो रकम पूर्वाधारतर्फ छुट्याइएको हो ।

चालु आवमा सो क्षेत्रमा रु ११ अर्ब १६ करोड बजेट विनियोजन गरिएको थियो । बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ ।

दिगो र उत्थानशील पूर्वाधार विकासको लक्ष्यसहित सरकारले योजनाको प्राथमिकीकरण गरेको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । गरिब, अशक्त, अहसहाय, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित आवासको व्यवस्था गर्न जनता आवस कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

उत्तर–दक्षिण सडकअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्ड, मनाङमस्र्याङ्दी सडक, शालिग्राम करिडोर र बुद्धसिंहमार्ग निर्माणलाई विशेष प्राथमिकतासाथ बजेट बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए ।

एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रममार्फत गोरखाको अवुवा–बिर्दी–सेराबजार–पौवाटार, बागलुङको अदालत चौतारी–तित्याङ सालबोट–दह भकुण्डे–रायडाँडा–दमेक हुँदै बरेङ, कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ र नवलपुरको आलोक चक्रपथ कालोपत्र हुने भएको छ । ती योजनाअन्तर्गत ८० किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ ।

प्रदेशसभाको भवन निर्माणका लागि रु नौ करोड बजेट विनियोजन गरिएको छ । सङ्घ र स्थानीय तहको समन्वयमा झोलुङ्गे, ट्रष्ट ब्रिज पुल निर्माण र मर्मतकार्यलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ । पदयात्रा र साइक्लिङका लागि गोरखाको मनास्लु, लार्केपास–मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गर्न आवश्यक बजेट विनियोजना गरिएको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए ।

प्रदेश गौरव, प्रदेश लोकमार्ग र रणनीति महत्वका सडक निर्माण, स्तरोन्नति एवं मर्मतसम्भार कार्यलाई तीव्रता दिइने भएको छ । स्थानीय तहको केन्द्र जोड्ने ‘एक निर्वाचन क्षेत्रः एक सडक तथा सडक पुल’ निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले टुक्रे योजना कटौती गर्दै ठूला र रणनीतिक महत्वका सडक निर्माणलाई प्राथमिकता दिँदै आएको छ ।

पूर्वाधारतर्फको धेरै बजेट सडक र पुलका बहुवर्षीय आयोजनामा खर्च हुने गरेको छ । पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन् । पक्की पुलमा भने सरकारले लगानी थपेको छ । पुल नबनेकै कारण कतिपय सडक बाह्रैमास चल्न नसकेको स्थिति छ । एकातिर स्तरहीन सडक त्यहीँमाथि पुलसमेत नहुँदा वर्षात्का बेला ग्रामीण भेगको यातायात सेवा प्रभावित हुने गरेको छ ।

सडकको मर्मतसम्भार र दिगो व्यवस्थापनसहित बाह्रैमास यातायात सञ्चालनका गर्न आपत्कालीन मर्मत तथा पुनःनिर्माणका लागिसमेत बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १३ अर्ब १६ करोड पाँच लाख र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार बजेट विनियोजन गरेको हो । वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड बजेट विनियोजन गरेको सरकारले आन्तरिक राजस्वबाट रु पाँच अर्ब १७ करोड उठाउने लक्ष्य लिएको छ ।

सङ्घ सरकारको वित्तीय समानीकरणबाट रु सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब ६१ करोड, सशर्त अनुदानबाट रु तीन अर्ब १० करोड ११ लाख, रोयल्टीबापत रु ४८ करोड १० लाख बजेटमा समावेश गरिएको छ । यस्तै सङ्घ सरकारको समपूरक बजेटबाट रु एक अर्ब १९ करोड र विशेष अनुदानबाट रु ६५ करोड ५५ लाखको स्रोत व्यवस्थापन हुने आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । वित्तीय हस्तान्तरणतर्फ प्रदेश सरकारले रु एक अर्ब १६ करोड स्थानीय तहलाई उपलब्ध गराउने भएको छ । आगामी आवमा प्रदेश सरकारले रु एक अर्ब ७० करोड आन्तरिक ऋण लिने जनाइएको छ ।

चालु आवमा रु दुई अर्ब ९४ करोड मौज्दाता बाँकी रहने र नपुग रु एक अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत प्राथमिकतामा परेका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयतर्फ रु दुई अर्ब नौ करोड २१ लाख सात हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यक्रम तथा योजनाका लागि रु ९१ करोड ५१ लाख ४१ हजार बजेट विनियोजन गरिएको छ । शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ रु पाँच अर्ब ४७ करोड ७४ लाख र ऊर्जा, खानेपानी र जलस्रोतको क्षेत्रमा रु चार अर्ब दुई करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।

कृषिमा विशेष जोड

रोजगारीका लागि युवा विदेश पलायन भइरहेको अवस्थामा गण्डकी प्रदेश सरकारले बजेटमा कृषि क्षेत्रको व्यावसायिक विकासमा विशेष जोड दिँदै पहिलो प्राथामिकतामा राखेको छ ।

आव २०८०÷८१ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान २६ दशमलव ४० प्रतिशत रहेको अवगत गराउँदै मन्त्री गुरुङले गण्डकी प्रदेशमा उत्पादन र उत्पादकत्वका वृद्धि गर्दै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट विनियोजन भएकोे छ ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र विविधिकरण गरी जग्गाको चाक्लाबन्दी गर्दै सहकारी तथा करार खेती प्रणालीमा विकास गर्ने योजना उहाँले अगाडि सार्नुभएको छ । किसानले लिने कृषि कर्जाको ब्याज अनुदान उपलब्ध गराउने, कृषि र पशुजन्य उत्पादनको निकासी र पैठारी गर्नेतर्फ बजेट केन्द्रित छ ।

औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थको उत्पादनका लागि गाँजाखेती गर्न आवश्यक कानुनी व्यवस्था गर्दै कार्यान्वयनको मार्गचित्र बनाउने बजेटमा उल्लेख छ । माटो परीक्षण र मलको गुणस्तर नियमन कार्यलाई सघाउन मोबाइल माटो परीक्षण अस्पताल सञ्चालनमा ल्याउन र भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन बजेट विनियोजन गर्नुभएको छ । त्यस्तै सुन्तलाखेती उत्पादन र प्रवर्द्धन गर्न बगैँचा स्थापना र पिसीआर परीक्षणका गर्न बजेट छुट्याइएको छ ।

गण्डकी प्रदेशलाई खाद्यान्न, तरकारी, माछामासु, फलफूल र आलु उत्पादनमा आत्मनिर्भर बनाउन रु १२ करोड ६२ लाख विनियोजन गरिएको छ । पशु नश्ल तथा पाडाबाच्छी हुर्काउने कार्यक्रमलाई विशेष प्राथामिकता दिँदै बजेट विनियोजन गर्नुभएको छ । दूध, माछा र अण्डा उत्पादनमा वृद्धि गर्दै निर्यात प्रवर्द्धनका लागि बृहत्तर पशु विकास प्रवर्द्धन र मस्त्य विकास कार्यक्रमका लागि रु तीन करोड ५१ लाख विनियोजन भएको छ ।

मध्यमहाडी लोकमार्गले छोएका गोरखाका स्थानीय तहमा नमूना परियोजनाका रूपमा करिडोर लक्षित बाख्रा विकास कार्यक्रमका ल्याइएको छ र त्यो कार्यक्रम सञ्चालन गर्न रु दुई करोड १२ लाख छुट्याइएको छ । पशुमा पूर्णखोप तथा बीमा कार्यक्रम प्रभावकारी बनाउन र पशु स्वास्थ्य उपकरण खरिदका लागि बजेट विनियोजन गरिएको छ । परम्परागत बाली र पशुपक्षंी संरक्षण, उत्पादन र उपभोगमा वृद्धि गर्नुको साथै प्राङ्गारिक वस्तु उत्पादनको बजारीकरणका लागि रु दुई करोड २३ लाख छुट्याइएको छ ।

असल कृषि तथा पशुपालन अभ्यास, असल उत्पादन अभ्यास तथा पशु कल्याणमा बजेट विनियोजन गर्नुका साथै स्थानीय तहको समन्वयमा भूमि बैंक निर्माण गरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म सम्भाव्यता अध्ययन गरी सामूहित एकीकृत कृषि विकास कार्यक्रम गर्न मन्त्री गुरुङले बजेट विनियोजन गर्नुभएको छ । कृषिसँग गरिबी न्यूनीकरण, स्थानीय रोजगारी, उत्पादन र उद्यमशीलतासँगै जोडिएको छ ।

शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

बजेटमा शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ । शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ रु पाँच अर्ब ४७ करोड ७४ लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा सीपयुक्त मानव पुँजी निर्माणका लागि शिक्षा प्रणालीको सामयिक सुधार गरी कार्यक्रम सञ्चालन, व्यावसायिक, प्राविधिक, जीवनोपयोगी, व्यावहारिक र नैतिक शिक्षा प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालनमा बजेटले जोड दिएको छ ।

स्थानीय तहसँगको साझेदारीमा दुर्गम तथा छरिएका बस्ती क्षेत्रमा आवश्यकतानुसार ‘बिग र लिड विद्यालय’ तथा आवासीय विद्यालय विस्तार गरिने छ । सरकारले यस कार्यक्रमलाई प्रोत्साहन गरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका विद्यालयको शैक्षिक तथा संरचनात्मक सुधारका लागि बजेट छुट्याएको छ । गत वर्षदेखि चलेको ‘सामुदायिक क्याम्पससँग गण्डकी प्रदेश’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

राष्ट्रिय भाषा आयोगको सिफारिसमा मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन आवश्यक कानुनी व्यवस्था गरिने छ । प्रदेशभित्र बोलीचालीमा रहेका अन्य भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ भने बजेटमार्फत ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’, प्रविधिमैत्री सिकाइ र ‘फ्राइडे फर फ्युचर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले ‘स्वस्थ जीवन, हाम्रो अभियान’मार्फत नागरिक शिक्षा, अभिभावक शिक्षा साथै ध्यान तथा योग शिविरसहितको गण्डकी जागरण अभियान सञ्चालनमा जोड दिएको छ । प्रदेश मातहतका अस्पताल तथा ‘वर्थिङ सेन्टर’मा तालिमप्राप्त ‘मिडवाइफ’मार्फत सेवा प्रवाहको सुनिश्चितताका लागि आगामी आर्थिक वर्षदेखि प्रवीणता प्रमाणपत्र तहको मिडवाइफरी शैक्षिक कार्यक्रम बागलुङस्थित धवलागिरि अस्पतालमा अध्यापन गराइने छ ।

बजेटअनुसार जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धारलगायत सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने छ । प्रदेश सरकारले मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शय्या क्षमतामा स्तरोन्नति गर्ने तथा गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिवाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याइने छ ।

प्रदेश मातहतका आयुर्वेद संस्थाहरूको सुदृढीकरण गर्ने, धवलागिरि र गण्डकी आयुर्वेद औषधालयको स्तरोन्नति गरी अन्तरङ्ग सेवा सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गर्न नागरिक आरोग्य अभियानमार्फत ‘भान्छा सुधारः आरोग्यताको आधार’ कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरुङले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको छ ।

‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रित कोशीको बजेट

विराटनगर – ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित कोशी प्रदेश सरकारले शनिबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले सो अठोटका साथ आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन चालु आवमा रु नौ खर्ब तीन अर्ब रहने अनुमान गरिएको छ । प्रदेशको प्रतिव्यक्ति आय नौ सय ३४ अमेरिकी डलरबाट बढेर एक हजार तीन सय ३६ डलर पुगेको छ । चालु आवमा कोशीमा विद्युत् उत्पादन एक सय २१ मेगावाटबाट पाँच सय ७७ मेगावाट पुगेको छ भने ९७ दशमलव सात प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवाको पहुँच पुगेको छ । प्रदेशको वन क्षेत्र ४३ दशमलव दुई प्रतिशतबाट बढेर ४८ दशमलव नौ प्रतिशतमा विस्तार भएकाले प्रदेशलाई ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउन सहज हुने देखिन्छ ।

‘सामाजिक न्यायसहितको समुन्नत प्रदेश निर्माण हुने’ समष्टिगत लक्ष्य लिएको प्रदेशको प्रथम आवधिक योजनाले तय गरेको ६६ गन्तव्य सूचक र २३ परिमाणात्मक लक्ष्यमध्ये ५० प्रतिशत सूचकमा पूर्ण उपलब्धि हासिल भएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सार्वजनिक बजेटमार्फत जानकारी दिनुभएको छ ।

कोशी प्रदेशमा पाँच बजेट कार्यान्वयन भइसकेका छन् । पुँजीगत खर्च गर्ने क्षमतामा अन्य प्रदेशभन्दा कोशी प्रदेश आगाडि रहेको समीक्षासहित आव २०७८÷७९ मा विनियोजित पुँजीगत बजेटको ८९ दशमलव आठ प्रतिशत खर्च भएको बजेटले विश्लेषण गरेको छ । कोशी प्रदेशको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडक पहुँच पुगेको छ ।

प्रदेश सरकारले आव २०७५÷७६ देखि निर्माण सुरु गरेका ७८ बहुवर्षीय प्रादेशिक सडकमध्ये २२ वटा सम्पन्न भएका छन् । निर्माण सम्पन्न बहुवर्षीय सडकमध्ये पाँच सय २८ किमी सडक कालोपत्र, एक हजार दुई सय ५७ किमी ग्राभेल, एक हजार एक सय दुई किमी कच्ची सडक र मर्मत तथा ट्रयाकओपनसहित चार हजार तीन सय ६६ किमी सडक निर्माण तथा स्तरोन्नति भएको छ । चालु आवमा ८० मोटरेबल पुल र एक सय ८४ झोलुङ्गे पुल निर्माण हुनु प्रदेश सरकारले गरेको कामको सुखद पक्ष भएको मन्त्री मगरले सार्वजनिक बजेटमार्फत जानकारी दिनुभएको छ ।

यस्तै प्रदेश सरकारले हालसम्म ३३ सरकारी भवन निर्माण, एक सय पाँच सामुदायिक भवन निर्माण, ११ भ्यूटावर निर्माण, १८ बसपार्क निर्माण, ४६ उद्यान निर्माण र ५४ एकीकृत बस्ती विकास गरी जनता आवास कार्यक्रमबाट आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायकका पाँच हजार नौ सय १० परिवारको आवास निर्माण गर्न सफल हुनु प्रदेश सरकारको ठूलो उपलब्धि भएको मन्त्री मगर बताउनुहुन्छ ।

आगामी आर्थिक वर्षको बजेटले गर्ने विषयगत काम

कोशी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कृषि, पूर्वाधार तथा सहरी विकास, खानेपानी, सिँचाइ तथा ऊर्जा खानेपानीलगायतलाई प्रथामिकता दिइएको छ ।

कृषि

प्रदेश सरकारले कृषि क्षेत्रका विविधिकरण, व्यवसायीकरण र बजारीकरण तथा सहकारी क्षेत्रको समुचित विकास गर्न रु दुई अर्ब ६७ करोड विनियोजन गरको छ । सरकारले ‘कृषिमा लगानी दशक’सम्बन्धी घोषणाअनुरुप निजी तथा सहकारी क्षेत्रबाट कृषिमा उल्लेख्य लगानीका आधार निर्माण हुने विश्वास लिएको छ ।

सरकारले यसअन्तर्गत प्रदेशमा नै गुणस्तरीय बीउ उत्पादन, आपूर्ति र नियमनको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा कोशी प्रदेशलाई धानको बीउको स्रोत केन्द्रका रूपमा विकास गर्न रु एक करोड १८ लाखको व्यवस्था गरेको छ । स्वच्छ माटो र स्वच्छ बाली कार्यक्रमका लागि रु दुई करोड ७५ लाख, विगतका वर्षमा किसानलाई दिइने अनुदान हटाइ व्यावसायिक रूपमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बद्ध उन्नत प्रविधि प्रयोग तथा व्यवसाय विस्तारका लागि अधिकतम् किसानको पहुँच पुग्नेगरी बैंक, वित्तीय संस्था र तथा सहकारी संस्थामार्फत सर्वुलभ रूपमा कर्जा उपलब्ध गराइ उक्त कर्जाको ब्याज अनुदानका लागि रु ४५ करोड बजेटको व्यवस्था गरिएको छ ।

पूर्वाधार तथा सहरी विकास

स्रोत सुनिश्चितता भएका बहुवर्षीय सडक, पुल, झोलुङ्गे पुललाई सम्पन्न गर्न र निरन्तरता दिन रु चार अर्ब बजेट विनियोजन भएको छ । प्रदेशको गौरवको योजनाका रूपमा रहेको मोरङको पुष्पलाल चोकबाट विराट चोकसम्मको चार लेनको बाटोलाई बजेटमा समेटिएको छ ।

विराटनगर विमानस्थलको स्तरोन्नति गर्न, आर्थिक अवसर सिर्जना हुनेगरी प्रदेशमा सात बजार केन्द्र, चतरा–दूधकोशी जलमार्गलगायत रणनीतिक महत्वका आयोजनाको सम्भाव्यता अध्ययन गर्न नेपाल सकारसँग आवश्यक समन्वय गर्नेलगायत काम गर्न प्रदेश सरकारले सडक पूर्वाधार तथा सहरी विकासका लागि जम्मा रु १० अर्ब ४१ करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा

झापाको कन्काई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गर्नुका साथै खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि रु चार अर्ब ७६ करोड बजेट विनियोजनले यस क्षेत्रमा परिवर्तन आउने आशा गरिएको छ ।

स्वास्थ्य

मेची प्रादेशिक अस्पताललाई उत्कृष्ट सेवा केन्द्रका रूपमा विकास गर्नुका साथै प्रदेश मातहतका पाँचथर, धनकुटा, उदयपुर, सङ्खुवासभा र खोटाङ जिल्ला अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्न रु ६० करोड ५५ लाख बजेट विनियोजनले ती क्षेत्रका जनताले स्वास्थ्य क्षेत्रमा लाभ लिनसक्ने भएका छन् । प्रदेश मातहतका सबै अस्पतालबाट विशेषज्ञ सेवा सुनिश्चितताका लागि स्वास्थ्यकर्मीलाई विशेष भत्ताका लागि रु ६ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सेवा सुधार र विस्तारका लागि रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरिएको छ ।

सामाजिक क्षेत्रको विकास लागि रु एक अर्ब ९८ करोड बजेट विनियोजनसँगै ‘कोशी प्रदेशको विकासको आधार, सवल पर्यटकीय पूर्वाधार’ नारालाई मूर्तरुप दिन, विसं २०८२ लाई पर्यटन वर्ष घोषणा कार्यक्रम सम्पन्न गर्न, वन तथा वातावरणको क्षेत्रमा उल्लेख्य काम गर्न रु दुई अर्ब ८२ करोड बजेट विनियोजन भएको छ ।

सरकारले आमनागरिकलाई शान्ति सुरक्षा तथा कानुनी शासनको अनुभूति दिलाउन रु एक अर्ब तीन करोड बजेट विनियोजनसँगै मानवअधिकार, सुशासन र सेवा प्रवाहलाई चुस्त एवं दुरुस्त बनाउन तथा विविधि कार्यक्रम एवं योजनाका लागि रु ३८ करोड ४५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सार्वजनिक गर्नुभएको बजेटमा अर्थ, योजना, तथ्याङ्क र विकास कार्यक्रमका लागि रु ६० करोड ६२ लाख बजेटको व्यवस्था गरेको छ ।

बजेटका निम्ति राजस्व परिचालनका नीति तथा कार्यक्रम

कोशी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन गरेसँगै राजस्व परिचालनको नीति पनि सार्वजनिक गरेको छ ।

सो नीति तथा कार्यक्रमअनुसार आर्थिक क्रियाकलापमैत्री कर प्रणालीको माध्यमबाट प्रदेशको आर्थिक वृद्धिमा योगदान पुर्याउने गरी राजस्व प्रणालीमा सुधार, करको दायरा विस्तार गर्न राजस्व व्यवस्थापनको लागि संरचना सुधार, राजस्व प्रणालीलाई प्रविधिमैत्री र स्वचालित बनाइ करदाताको सहभागिता र कर परिचालन अभिवृद्धि गरिने, राजस्व प्रशासनमा कार्यरत कर्मचारीको क्षमता विकास गरिने, सरोकारवाला निकायबीचको समन्वयलाई सुदृढ बनाइ राजस्व चुहावटलाई नियन्त्रण गरिने तथा गैरकरको दरमा समयसापेक्ष परिमार्जन गरी गैरकर राजस्वलाई लागत प्रभावी बनाउनेजस्ता नीति सरकारले अवलम्बन गर्ने भएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री मगरले आव २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक र विनियोजन विधेयकलाई सदनमा टेबुल गर्नुभयो ।

बागमती प्रदेश सरकारले बजेट ल्याएको चालु आवको भन्दा बढी, कार्यान्वयन हुनेमा विपक्षीको आशङ्का

बागमती- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा रु एक अर्ब ८४ करोडभन्दा बढीको बजेट ल्याएको छ । चालु आवकै हाराहारीमा बजेट ल्याउने अनुमान गरिरहेका बेला शनिबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आव लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभयो । जबकी चालू आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरिएको थियो ।

कूल विनियोजितमध्ये चालुतर्फ रु २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ रु ६३ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट रु २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट रु छ अर्ब ५१ करोड १६ लाख ७९ हजार, सङ्घीय वित्तीय हस्तान्तरणबाट रु १५ अर्ब ५७ करोड ५६ लाख, चालू आव २०८०÷८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट रु १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार बेहोरिने अनुमान बजेटमा गरिएको छ ।

प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयका लागि रु २२ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि रु छ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रूपमा अगाडि बढाउने घोषणासहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि रु दुई अर्ब ६२ करोड विनियोजन गरिएको छ ।
प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले सभालाई जानकारी गराउनुभयो ।

उपेक्षित, उत्पीडित तथा अतिसिमान्तकृत समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि रु तीन अर्ब ९१ करोड बजेट छुट्याइएको छ । यस्तै, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका लागि रु दुई अर्ब ४६ करोड, वन तथा वातावरण मन्त्रालयका लागि रु तीन अर्ब २१ करोड, रोजगार तथा यातायात मन्त्रालयका लागि रु ९३ करोड विनियोजन गरिएको छ ।

बजेटमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु १० करोड बजेट विनियोजना गरेको सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु ७४ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि रु ४४ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्रका लागि रु २४ करोड दुई लाख तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि रु ५० करोड ६४ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशका सामुदायिक विद्यालयमा सञ्चालित एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि रु चार अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले चालू आव २०८०÷८१ का लागि रु ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरेको थियो ।

जनताको भावना र रोजगारी सृजना गर्ने खालको बजेट आएनन् : प्रतिपक्षी दल

  प्रतिपक्षी दलका नेताहरुले भने प्रस्तुत बजेटले जनताको इच्छा र चाहनालाई सम्बोधन गर्न नसक्ने  टिप्पणी गर्नुभएको छ । बजेटपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बजेट मनगढन्ते र दिशाहीन भएकाले यसले जनताको चाहना र भावनालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । बजेटले रोजगारी अभिवृद्धि र आर्थिक समृद्धिमा टेवा पु¥याउन नसक्ने दाबी गर्दै उहाँले घाटा बजेटले समस्या थप बल्झिन सक्ने खतरा रहेको बताउनुभयो ।  

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुननसक्ने बताउनुभयो । ‘‘नाराहरू धेरै उपयुक्त छान्नु भएको छ, मेहनत धेरै गर्नुभएको छ तर बजेट वस्तुपरक छैन”, नेता थापाले भन्नुभयो, ‘‘सङ्घीय सरकारबाट अनुदान घटेको बेला चालु आवको भन्दा ठूलो बजेट ल्याएको छ, जुन कार्यान्वयन हुननसक्ने अवस्थाको छ ।”

कांग्रेस जनताको हितका लागि प्रतिपक्षमा बसेर काम गर्छ : नेता निधि

जनकपुर-नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले कांग्रेसले जनताको हितका लागि प्रतिपक्षमा बसेर काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको प्रशिक्षण शाखाले शनिबार जनकपुरधाममा आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नेता निधिले सत्ताका लागि हरेक दल प्रयासरत रहने गरेका भए पनि कांग्रेसले अहिले प्रतिपक्षमा नै बसेर सरकारलाई खबरदारी गर्ने उल्लेख गर्नुभयो ।

“कांग्रेस सरकार सरह नै काम गरेर जनताको सहानुभूतिका लागि अग्रसर हुनुपर्छ”, उहाँले भन्नुभयो ।     कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलालगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

वाग्मती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि मुहानस्थल वाग्द्वारमा सफाइ

काठमाडौँ- वाग्मती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको मुहानस्थल वाग्द्वारमै पुगेर पहिलोपटक सफाइ गरिएको छ । माथिल्लो वाग्मती सफाइ अभियानको ५३९औँ हप्ता र मुहान सफाइ अभियानको चौथो हप्ताका अवसरमा शनिबार नदीको मुहानस्थल वाग्द्वार पुगेर अभियानकर्मीको समूहले सफाइ गरेको हो । सुन्दरीजलबाट करिब चार घण्टाको दूरीमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बाटो वाग्द्वार पुगेर करिब एक सय ५० जना अभियानकर्मीले सफाइ गरेका हुन् ।

सुन्दरीजलबाट माथि लागेपछि नै निकुञ्जबीचको सडक दायाँबायाँ पानीका बोत्तल, प्लाष्टिकलगायत फोहर फालेको दृश्य देखिन्थ्यो । अभियानकर्मीले यो फोहरसमेत टिप्दै हिँडेका थिए । सफाइमा वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याल, मुहान क्षेत्रको सफाइका लागि विशेष अभियान चलाउनुभएका बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, माथिल्लो वाग्मती सफाइ अभियानका उत्तम पुडासैनी, मानवअधिकार तथा शान्ति समाज काठमाडौँका अध्यक्ष भगवान् पुडासैनीलगायत अभियानकर्मीको नेतृत्वमा मुहान क्षेत्रको विशेष सफाइ गरिएको हो ।

मुहान क्षेत्र वाग्द्वारको सफाइ गर्नुअघि वैदिक विधिअनुसार वाग्मतीको मुहान सफा राख्ने सङ्कल्पसहित पूर्वमुख्यसचिव पौडेल, अभियानकर्मी पोखरेल र पुडासैनीले सबै अभियानकर्मीको प्रतिनिधित्व गर्दै पूजा गर्नुभएको थियो । स्थानीय पण्डित दण्डपाणि खनालले पूजा गराउनुभएको थियो । केही वर्षअघिसम्म पानीको पोखरी भएको स्थलमा गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले सिमेन्ट प्रयोग गरेर बनाएको पोखरीमा पानी नहाली यत्तिकै रहेको छ । स्थानीयवासीका अनुसार यहाँ पानी आउने बाटो नै बन्द भएको छ ।

वाग्द्वारबाट खसेको पानी नालीबाट नदीमा आउने अवस्था मुहानमै बनेको छ । यहाँका दुई स्थानीय तहको बजेटले यो संरचना बनिसकेपछि सञ्चालन भए÷नभएको अनुगमन पनि कसैले गरेका छैनन् । सफाइ अभियानलाई सम्बोधन गर्दै पूर्वमुख्यसचिव पौड्यालले आफू २०७३ सालमा आएको भन्दा अहिले मुहानमै कम पानी देखिएको बताउनुभयो ।

वाग्द्वार क्षेत्रमा गरेको फोहर खानेपानीमार्फत काठमाडौँ उपत्यकावासीका घरघरमा पुग्ने भएकाले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । मानिसमा जागरण आउनेगरी सफाइ महाअभियानले फेरि वाग्द्वारबाट चोभारसम्म पदयात्रा गर्नुपर्ने सफाइ महाअभियानको नेतृत्व गर्दै आउनुभएका पौड्यालले सुनाउनुभयो ।

सफा अभियानकर्मी पोखरेलले १२ वर्षसम्म वाग्मती सफाइ महाअभियान जारी हुँदा पनि मुहान क्षेत्रको सफाइ हुन नसकेकाले आजको कार्यक्रम राख्नुपरेको बताउनुभयो । वाग्मती गङ्गामा नमिसिँदासम्म नाम परिवर्तन नहुने भएकाले यसको महत्व रहेको भनाइ उहाँले राख्नुभयो ।

माथिल्लो वाग्मती सफाइ अभियानका अभियानकर्मी पुडासैनीले मुहानदेखिकै फोहर सङ्कलन गरेर स्रोतमै व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । धर्तीलाई बचाएपछि नै मानिसको जीवन रहने भएकाले ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने भावनालाई आत्मसात् गरेर सबैले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।पछिल्लो समय वाग्मतीको मुहान क्षेत्रमै सफाइको अभियान चलेको पनि आज एक महिना पूरा भएको छ । यो अभियानलाई पनि अब निरन्तर रूपमा जारी राखिने जनाइएको छ ।

मधेस प्रदेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड २१ लाखको बजेट

धनुषा- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार (३६.४५ प्रतिशत) तथा पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत) रहेको छ । यो बजेट चालु आवको तुलनामा ०.५० प्रतिशतले घटी हो ।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री साहले जानकारी दिनुभयो । प्रस्तुत बजेटमा स्थानीय तहसँग समन्वय गरी मधेस प्रदेशका एक सय ३६ वटै स्थानीय तहमा पशु नश्ल केन्द्र स्थापना र सञ्चालन गर्न रु पाँच करोड २८ लाख रकम विनियोजन गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ रु दुई अर्ब ७९ करोड १९ लाख विनियोजन गरिएको छ । वन तथा वातावरण मन्त्रालयतर्फ रु दुई अर्ब ४२ करोड ४० लाख २५ हजार विनियोजन गरिएको छ । लघु, घरेलु, साना मझौला उद्यम व्यवसायमार्फत आन्तरिक स्वरोजगार प्रवर्द्धन गर्न प्रदेश सरकारले मधेस स्टार्टअप र नवप्रवर्द्धन केन्द्रका लागि रु १५ करोड विनियोजन गरिएको छ । १० हजार नागरिकका लागि प्रदेश सरकारले बजार माग तथा आवश्यकतामा आधारित रहेर विभिन्न प्रकारका सीप विकास तालिम प्रदान गर्नेछ ।

श्रम तथा यातायात मन्त्रालयतर्फ रु ९९ करोड ९७ लाख ४८ हजार विनियोजना गरिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु दुई अर्ब ९८ करोड ५८ लाख २२ हजार विनियोजन गरिएको छ । विसं २०८२ लाई ‘घुमौँ मधेस, बुझौँ मधेस’ मूल नाराका साथ मनाइने मधेस पर्यटन वर्षको पूर्वतयारीका लागि आवश्यक रकम विनियोजन गरिएको छ । शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ रु दुई अर्ब ९० करोड ५१ लाख ७६ हजार विनियोजन गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रका ३९ सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक धार सञ्चालन भएका विद्यालयलाई सहयोग गर्न रु तीन करोड ९० लाख, प्रत्येक जिल्लामा एउटा सामुदायिक सिकाई केन्द्रलाई प्रविधियुक्त पुस्तकालयको रुपमा विकास गर्न रु दुई करोड, प्रदेशका आठवटै जिल्लाको संसदीय निर्वाचन क्षेत्रमा एक÷एक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न भौतिक पूर्वाधार तथा क्षमता विकास गर्न रु १६ करोड बजेट विनियोजन गरिएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयतर्फ रु ७७ करोड ५७ लाख चार हजार विनियोजन गरिएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ रु पाँच अर्ब १७ करोड ९६ लाख ४२ हजार विनियोजन गरिएको छ । खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ रु एक अर्ब ९५ करोड ८३ लाख ५० हजार विनियोजन गरिएको छ ।

मधेस प्रदेशभित्र बसोबास गरेका भूमिहिन, विपन्न, सिमान्तकृत वर्गलाई मुख्यमन्त्री आवास सुरक्षा योजनामार्फत प्राकृतिक रुपमा हुने विपद् जोखिम विरुद्धको कार्यक्रमका लागि रु तीन करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार विनियोजन गरिएको छ । मुख्यमन्त्री जनधन सुरक्षा कार्यक्रमका लागि रु एक करोड विनियोजन गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु पाँच अर्ब २१ करोड ६५ लाख ६  हजार विनियोजन गरिएको छ । सबै पालिकालार्ई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार रु एक अर्ब १८ करोड आठ लाख ४० हजार प्रदान गरिने छ । स्थानीय तह आफैँले आयोजना छनौट गर्ने गरी मधेसको सुक्खाग्रस्त समस्याको सम्बोधन गर्न महानगरलाई रु एक करोड ७५ लाख, उपमहानगरपालिकालाई रु एक करोड २५ लाख, नगरपालिकालाई रु ९५ लाख र गाउँपालिकालाई रु ८० लाखको दरले जम्मा रु एक अर्ब २१ करोड ७५ लाख अनुदान प्रदान गरिने छ ।

प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले आफूले प्रस्तुत गरेको बजेटको कार्यान्वयनबाट उपलब्ध स्रोतसाधनको अधिकतम तथा फराकिलो आर्थिक वृद्धि हुने अपेक्षा गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौँ, २ असारः राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उहाँकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।
राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु हुनुहुन्छ ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ ।

विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।

गण्डकी बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम

कास्की, १ असार : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले विशेषगरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जनाएको हो ।

आगामी आव २०८१÷८२ को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री डा टकराज गुरुङले उच्च उचाइ (हाइ अल्टिच्युड) खेल तालिम केन्द्रको पूर्वाधार निर्माणमार्फत खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जानकारी दिनुभयो ।

प्रदेश सरकारका अघिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा हिमालपारिको जिल्ला मुस्ताङमा उच्च उचाइ खेल पूर्वाधार निर्माण गर्ने योजना पर्ने गरे पनि कार्यान्वयन हुन सकेको थिएन । मुख्यगरी जग्गा प्राप्तिलगायतका कारणले योजना अघि बढ्न सकेको छैन ।

मन्त्री गुरुङले आगामी वर्ष उच्च उचाइ खेल तालिम केन्द्रको निर्माण सुरु गरिने जानकारी दिनुभयो । “उच्च उचाइ खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि सङ्घ र स्थानीय सरकारबीच सहकार्य र साझेदारी गरिने जनाएको छ । मन्त्री गुरुङले भन्नुभयो, “सहकार्य र साझेदारी गर्दै खेलाडीहरूको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।”

प्रदेशका ख्यातिप्राप्त खेलाडीहरूको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । सरकारले आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट ल्याएकामा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका लागि रु पाँच अर्ब ४७ करोड ७४ लाख १६ हजार छुट्याइएको छ ।

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का

महेन्द्रनगर (कञ्चनपुर), १ असार : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उहाँले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राख्नुभयो ।

“संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ”, खड्काले भन्नुभयो, “सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ ।” पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने बताउँदै उहाँले सङ्गठन विस्तार अभियानमा लागेको जानकारी दिनुभयो ।

 “अहिले जनताको सुखदुःखको साथी बन्ने अभियानमा कांग्रेस लागेको छ”, उहाँले भन्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य नारायणप्रकाश साउदलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेकोे बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ । वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताए ।

कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिए । गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाखको बजेट ल्याएको थियो । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड १४ लाख ३१ हजारले वृद्धि भएको हो ।

सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । यसैगरी आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले सीप वर्ष घोषणा गर्ने पनि जनाएको छ ।

किसानलाई प्रोत्साहन गर्न लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’

सिरहा, १ असार : स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको हो ।

गत वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवं वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताउनुभयो । 

यहाँको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उहाँले जानकारी दिनुभयो । 

“गत वर्षभन्दा यस वर्ष व्यवस्थित रूपमा यहाँको उत्पादित आँपको ब्राण्डिङ गरी बजारीकरण गर्ने योजनाअनुसार आजदेखि काम सुरु गरेका छौँ । यहाँको सरस्वती कृषि फार्मसँग सम्झौता गरी आँपमा लोगो लगाएर काठमाडौँ पठाउने तायारी गरिएको छ”, संयोजक चौधरीले भन्नुभयो, “किसानले असार सुरु भएसँगै मालदह आँप बजारमा ल्याउन थाल्ने भएकाले सङ्कलन गरी पठाउन सम्पूर्ण तयारी गरिएको छ ।”

नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा ‘होम डेलिभरी’का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिनुभयो । 

उहाँका अनुसार यहाँ उत्पादित आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ ।

स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँका किसानलाई उत्साहित बनाउन नगरपालिकाले आँपको ब्राण्डिङ गरेको हो । यसले यहाँ उत्ािपदत आँपको पहिचान बनाउने छ । योसँगै उपभोक्ताले विषादीरहित नेपाली आँप बजारमा पाउनेछन् ।” नगरप्रमुख चौधरीले आँपलाई लामो समयसम्म भण्डारण गरिराख्न चिस्यान केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगका लागि अनुरोधसमेत गर्नुभयो ।    लहानलाई आँपको पकेट क्षेत्रका रूपमा चिनिन्छ । मुख्यगरी यहाँको वडा नं १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ मा किसानले बीघौबीघा आँपखेती गर्ने गरेका छन् ।

कमला ह्यारिसद्वारा युक्रेनका लागि एक अर्ब ५० करोड डलर सहायता घोषणा

अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गर्नुभयो । स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी हुनुभएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर नयाँ कोष समावेश भएको जानकारी दिनुभयो । यसअघि घोषित युएसएआइडी कोषमा थप ३२ करोड ४० लाख डलर पनि आपत्काली ऊर्जा आवश्यकताहरू पूरा गर्नका लागि पुनःनिर्देशित गरिनेछ ।

“यो कोषले युद्धमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्नेछ, विद्युत् उत्पादनको विस्तार गर्नेछ, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेछ र ऊर्जा पूर्वाधारको संरक्षण गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले एक वक्तव्यमा भन्नुभयो, “यी प्रयासहरूले युक्रेनलाई मर्मत र पुनरप्राप्तिको समर्थन गरेर, ऊर्जा आपूर्ति व्यवधानप्रति युक्रेनको लचिलोपनमा सुधार गरेर र ऊर्जा प्रणालीको मर्मत तथा विस्तारका लागि आधार तयार गरेर उसको पूर्वाधारमा रुसको पछिल्लो आक्रमणलाई जवाफ दिन सहयोग प्राप्त हुनेछ ।”

युएसएआइडी र विदेश मन्त्रालयको नयाँ प्याकेजमा ३७ करोड ९० लाख डलरभन्दा बढी मानवीय सहायता सामेल छ ।    “यसले युक्रेनी जनताविरुद्ध रुसको क्रुर युद्धबाट प्रभावित शरणार्थीहरू, आन्तरिकरूपमा विस्थापितहरू र द्वन्द्व–प्रभावित समुदायहरूको तत्कालको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ”, ह्यारिसले भन्नुभयो । उहाँका अनुसार कांग्रेसको समर्थनमा विदेश मन्त्रालयले युक्रेनी नागरिक सुरक्षा सहायतामा थप ३० करोड डलर प्रदान गर्नेछ । 

“यो समर्थनले उनीहरूलाई युक्रेनी क्षेत्रको रक्षा गर्न, क्रेमलिनको आक्रमणबाट लक्षित नागरिकलाई बचाउन, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण गर्न र युद्ध अपराध तथा अन्य अत्याचारका एक लाख २० हजारभन्दा बढी दर्ता भएका मुद्दाहरूको अनुसन्धान गर्न सुरक्षितरूपमा युद्धको अग्रमोर्चामा काम गर्न सहयोग गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले भन्नुभयो । 

रुसी बमवर्षक विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको स्विडेनको भनाइ

स्विडेनको सेनाले शनिबार एक रुसी एसयु–२४ बमवर्षक विमानले रणनीतिक बाल्टिक सागर टापु गोटल्यान्डनजिकै स्विडिस हवाई क्षेत्रको उल्लङ्घन गरेको बताएको छ । सेनाका अनुसार स्विडेनले दुई जेएएस–३९ लडाकू विमान पठाएपछि मात्र उक्त बमवर्षक विमान त्यहाँबाट हटेको थियो ।

शुक्रबारको उक्त घटना स्क्यान्डिनेभियन मुलुक स्विडेन दुई शताब्दीको सैन्य गैर–गठबन्धन त्यागेर नाटोको पूर्ण सदस्य भएको तीन महिनापछि भएको हो । 

“शुक्रबार दिउँसो एक रुसी एसयु–२४ जेट लडाकू विमानले गोटल्यान्डको दक्षिणी छेउको पूर्वमा स्विडिस हवाई क्षेत्रको उल्लङ्घन गर्यो, स्विडिस हवाई युद्ध कमान्डले मौखिक कल गरेर रुसी विमानलाई चेतावनी दियो”, स्विडिस सशस्त्र बलले भनेको छ, “जब यसलाई ध्यान दिएन र विमान आफ्नो मार्गबाट विचलित भएन तब यसलाई दुई जेएएस–३९ ग्रिपेन्सद्वारा स्विडिस हवाई क्षेत्रबाट खारेज गरियो ।”

सेनाले उल्लङ्घन ‘संक्षिप्त’ थियो भनेको छ । स्विडेनको वायु सेना प्रमुख जोनास विकम्यानले भन्नुभयो, “रुसी कार्यहरू अस्वीकार्य छ र यसले हाम्रो क्षेत्रीय अखण्डताप्रति सम्मानको अभाव देखाउँछ ।” गोटल्यान्ड कलिनिनग्रादको रुसी एक्सक्लेभबाट तीन सय ५० किलोमिटरभन्दा कम दूरीमा रहेको छ ।

स्विडेनको सैन्य सिद्धान्तले गोटल्यान्डलाई नियन्त्रण गर्ने जो कोहीले बाल्टिक सागरमा हवाई र नौसैनिक गतिविधिहरूलाई व्यापकरूपमा नियन्त्रण गर्न सक्षम हुन्छ भन्ने मान्यता राख्दछ । वर्षौंसम्म सैन्य खर्चमा कटौतीपछि स्विडेनले सन् २०१८ मा गोटल्यान्डमा आफ्नो ग्यारिसनलाई पुनः खोलेको छ । यसलाई सन् २००४ मा बन्द गरिएको थियो ।

सन् २०१४ मा रुसले क्रिमिया प्रायद्वीपमा एकपक्षीय रूपमा कब्जा गरेपछि स्विडेनले आफ्नो सेनालाई फेरि बढाउन सुरु गरेको थियो । सन् २०२२ मा मस्कोले युक्रेनमाथि पूर्णस्तरमा आक्रमण गरेपछि स्विडेनले नाटो सैन्य गठबन्धनमा संलग्न हुने ऐतिहासिक निर्णय लियो । पछिल्लो पटक रुसले स्विडिस हवाई क्षेत्रको उल्लङ्घन सन् २०२२ मार्चमा गरेको थियो । त्यतिबेला स्विडिस लडाकू विमानहरूले गोटल्यान्डमा दुई एसयु–२४ र दुई एसयु–२७ लडाकू विमानलाई रोकेका थिए ।

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ: अध्यक्ष ओली

काठमाडौँ, १ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताउनुभएको छ ।

एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थका आधारमा एमालेविरुद्ध कतिपय हल्ला चलाइए पनि देश बनाउने एमालेको विचार र यात्रामा कसैले रोकावट गर्न नसक्ने जिकिर गर्नुभयो ।

भ्रम चिर्दै विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न एमाले अडिग र सक्षम रहेको बताउँदै उहाँले देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश हुँदा पनि केही पक्षले उडाउन नछाडेको टिप्पणी गर्नुभयो ।समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गर्नुका साथै विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुवँर

काठमाडौँ, १ असारः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन अतिआवश्यक रहेको बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका अवसरमा महानिरीक्षक कुँवरले कार्यक्रमा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत आध्यात्मिक चिन्तनले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रहरीको जीवनशैली चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्मचिन्तन, आत्मानुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको उल्लेख गर्नुभयो । “जीवनमा आइपर्ने विभिन्न बाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्नसमेत यो ध्यान शिविरले मद्दत पुर्याउने विश्वास लिएको छु’, महानिरीक्षक कुँवरले भन्नुभयो,“शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधैँ विवेकशील र व्यावसायिक ढङ्गले आफ्नो कर्तव्यपालन गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यका रूपमा आफूलाई सावित गर्नसमेत यसले महत्वपूर्ण काम गर्नेछ ।”

कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षक कुवेरसिंह राना र नेपाल विपस्यना केन्द्रका क्षेत्रीय आचार्य डा रूप ज्योतिले ध्यान शिविरको महत्वलगायत विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १८२औँ समूहका एक सय ४६ जनाको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र तनहुँ विजयी

कास्की, १ असार : कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनुहँ विजयी भएका छन् । दुवै जिल्ला लगातार दोस्रो खेलमा विजयी भएका भएका हुन् ।

आज भएको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात विकेटले पराजित ग¥यो । म्याग्दीले टस जितेर ब्याटिङ गर्दै  १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७५ रन बनायो । ‘म्यान अफ दि म्याच’ घोषित कास्कीका कृष्ण पौडेलले चार विकेट लिए । यस्तै सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले दुई दुई तथा विपिन खत्री र आदित्य थापाले एक एक  विकेट लिए ।

ब्याटिङतर्फ म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । 

कास्कीका लागि अर्जुन कुमालले अविजित रहँदै ३१ बलमा पाँच चौका प्रहार गरी ३६ रन बनाए । सिव्रीन श्रेष्ठले १० बलमा १६ तथा रोहित चन्दले ११ बलमा २१ रन बनाए ।

दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई ब्याटिङको निम्तो दियो । बागलुङले निर्धारित २० ओभरको खेलमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागलुङका कप्तान आकाश तामाङले ३० बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए । यस्तै चन्द्रदिप यादवले २५ रन बनाए ।

बलिङतर्फ तनहुँका लागि क्रिश ऐरले तीन ओभरमा १२ रन खर्चिएर दुई विकेट लिए । यस्तै चन्द्रकान्त पौडेलले दुई विकेट लिए ।

जितका लागि एक सय २४ रन पछ्याएको तनहुँले १९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । जितसँगै कास्की र तनहुँले समान चार चार अङ्क बटुलेका छन् । आइतबार कास्की र तनहुँबीच तथा बागलुङ र म्याग्दीबीच खेल हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । उक्त प्रतियोगिताबाट कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टोली छनोट गरिने उहाँले बताउनुभयो । 

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखी सुरु भएको प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा आठ जिल्ला सहभागी छन् । कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ समुह ‘ए’ मा तथा स्याङ्जा, नवलपुर, गोरखा र पर्वत समुह ‘बि’ रहेका छन् । 

सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस

सुदूरपश्चिम, १ असार- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ ।
प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रस्तुत बजेटमा कूल विनियोजित बजेटमध्ये चालूतर्फ रु ११ अर्ब सात करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रहेको ल्याइएको जनाइएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु दुई अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थातर्फ रु १० करोड विनियोजन गरिएको छ । विनियोजित कूल बजेटको चालुतर्फ ३५ प्रतिशत, पुँजीगततर्फ ५५ दशमलव ४२, अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत नौ दशमलव २५ र वित्तीय व्यवस्थातर्फ शून्य दशमलव ३१ प्रतिशत हो ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ६० करोड ७० लाख १५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ९९ करोड १९ लाख रहेको छ ।

यसैगरी सङ्घीय रोयल्टी बाँडफाँटवापत प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ७२ करोड २७ लाख, चालु आवको विनियोजनबाट बचत हुने अनुमानित रकम रु छ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रु तीन अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रु एक अर्ब ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमानित रु ५५ करोड ६० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी, १ असार : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको उल्लेख छ । कूल विनियोजनमध्ये चालुतर्फ ३९ दशमलव ९१ प्रतिशत र पुँजीगततर्फ ५९ दशमलव १९ प्रतिशत बजेट हो । प्रदेश सरकारको वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी बजेटमा आन्तरिक राजस्वबाट रु पाँच अर्ब १७ करोड उठाउने लक्ष्य लिएको छ । सङ्घ सरकारको वित्तीय समानीकरणबाट रु सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब ६१ करोड, सशर्त अनुदानबाट रु तीन अर्ब १० करोड ११ लाख र समपूरक अनुदानतर्फ रोयल्टीवापत रु ४८ करोड १० लाख प्राप्त हुने जनाइएको छ ।

यस्तै सङ्घ सरकारको समपूरक बजेटबाट रु एक अर्ब १९ करोड र विशेष अनुदानबाट रु ६५ करोड ५५ लाखको स्रोत व्यवस्थापन हुने छ भने वित्तीय हस्तान्तरणतर्फ प्रदेश सरकारले रु एक अर्ब १६ करोड स्थानीय तहलाई उपलब्ध गराउने आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो । आगामी आवमा प्रदेश सरकारले रु एक अर्ब ७० करोड आन्तरिक ऋण लिने जनाइएको छ । चालु आवमा रु दुई अर्ब ९४ करोड मौज्दात रहने र नपुग रु एक अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने गुरुङले बताउनुभयो ।

बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र प्राथमिकतामा परेका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयतर्फ रु दुई अर्ब नौ करोड २१ लाख सात हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यक्रम तथा योजनाका लागि रु ९१ करोड ५१ हजार बजेट विनियोजन गरिएको छ ।

शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ रु पाँच अर्ब ४७ करोड ७४ लाख, भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रमा रु १२ अर्ब ७० करोड १६ लाख र ऊर्जा, खानेपानी र जलस्रोतको क्षेत्रमा रु चार अर्ब दुई करोड ५३ लाख बजेट विनियोजन गरिएको छ । गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी, आयआर्जन, सामाजिक न्याय, समुन्नति र सुशासन अभिवृद्धिको उद्देश्यमा केन्द्रित भएर बजेट ल्याइएको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिनुभयो ।

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन ।

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उहाँले बताउनुभयो ।

कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

विराटनगर, १ असार : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो । सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । चालु खर्चमध्ये सङ्घीय अनुदान फिर्ता रु तीन अर्ब रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ४० करोड आठ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ करोड ९४ लाख, समपूरक अनुदानबाट रु ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट रु ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने तथा बाँकी नगद मौज्दातबाट रु तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट रु १० करोड ५९ लाख व्यहोर्ने आज सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

सत्ता केन्द्रीत राजनीतिले अस्थितरता बढायोे : नेता डा कोइराला

धनुषा, १ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता केन्द्रीत राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उहाँले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताउनुभयो । नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरूरी रहेकामा जोड दिनुभयो ।

“राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटकपटक सरकार बदल्ने र अस्थिरता मच्चाइरहने अवस्था देखियो । यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन”, डा कोइरालाको भनाइ थियो ।

अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

यसैगरी उहाँले अस्थिर राजनीतिका कारण विकासले गति नपाउने मात्र नभइ राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । “हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ । कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन् । यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण हो” उहाँले भन्नुभयो ।
सोही कार्यक्रममा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई डा कोइरालाले स्वागत गर्नुभएको थियो ।

बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

ढोरपाटन (बागलुङ), १ असार: बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् ।

झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएका हुन् ।

पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन् ।

गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक÷एक गरी दुई पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी छ पुल निर्माण भएको उहाँको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी पाँच झोलुङ्गे पुल बनेको इञ्जिनियर चापागाईंले बताउनुभयो ।

चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उहाँले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउनुहुन्छ । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताउनुभयो ।

पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्तीमगरले बताउनुभयो । उत्तरगङ्गा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उहाँको भनाइ छ । बर्खाको समयमा उत्तरगङ्गा नदीले बर्सेनि दुई÷तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हिउँदका समयमा बस्तुभाउ वारिपारी खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुविस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरु पनि सजिलै वारपार गर्नेछन् ।”

विश्वकप क्रिकेटः न्यूजिल्याण्डको पहिलो जित

काठमाडौँ, १ असारः आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ । चार खेले खेलेको युगान्डाको २ अङ्क छ ।

युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे ।

बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई÷दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे ।

जब सांसदले बोल्दै गरेको रोस्टम नै विदेशी काठबाट बनेको भनेपछि…

काठमाडौँ । स्वदेशी काठ उत्पादन र बिक्रीवितरणमा विद्यमान नीतिगत झन्झटप्रतिको आक्रोश सर्वसाधारणले पोख्दै आएको धेरै भयो । शुक्रबार भने सांसदहरुले नै सदनमा त्यस्तै आक्रोश पोखे । 


प्रतिनिधिसभा बैठकमा हाल विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सोही क्रममा सांसद देवप्रसाद तिमिलसेनाले भने, “नेपालको जस्तो गुणस्तरीय काठ कही छैन् भनेर सबैले कुरा गर्नुहुन्छ । तर अहिले मैले बोल्दै गरेको रोष्टम पनि विदेशबाट ल्याएको हो कि जस्तो लाग्छ । नेपालमा उत्पादन हुने काठ सबै स्वदेशी काठ डढेलोमै डढाउने हो त ?”


उनले नेपालमा उत्पादन भएको काठ नेपालमै खपत गर्न र वनजङ्गलमा लाग्ने डढेलो नियन्त्रण गर्न उचित नीतिगत व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।


“बर्सेनि खर्बौं रुपैयाँको काठ वनमा डढेर, कुहिएर गइरहेको छ । यसपाली पनि ठूलोमात्रामा काठ डढेर गयो । खै त्यतातिर सरकारको ध्यान । त्यसैका लागि यो सरकार हो । मेरो एउटा आग्रह पनि छ । वन क्षत्रेलाई जनताको आम्दानीसँग जोडन सकिन्छ ।  स्वदेशी काठ समयमा किन्न पनि पाइँदैन । यसबारेमा कहिले कानुन बनाउने हो”, सांसद तिमिलसेनाले भने ।


‘हरियो वन नेपालको धन’ स्थापित लोकप्रिय नारा हो । नेपालले पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल गर्नुका साथै ४५ प्रतिशत वन क्षेत्र बनाइसकेको छ । तर विडम्बना मुलुकभित्रको काठ वनमा कुहिँदै आएको छ भने विभिन्न मुलुकबाट  विदेशबाट काठ आयात हुँदै आएको छ ।


सांसद उर्मिला माझीले पनि हरियो वन नेपालको धन भनेको धेरै भयो, तर त्यसलाई धनमा परिणत गर्ने दिशामा ठोस काम नभएको बताइन् । उनले भनिन्, “सालका रुख छुनै नपाउने नीतिले गर्दा बूढा पुराना सालका रुखले स्थानीयका घर, बाटोमा कति बेला ढलेर क्षति पुर्याउने हो भन्ने त्रास सिर्जना भएको छ । त्यस्ता रुखहरु अनुगमन गरी काटन पाउने सहज व्यवस्था गर्नुपर्ने देखिन्छ ।”


मलेसियालगायत विदेशबाट सालका काठ आयात गर्दा विदेशी मुद्रा पलायन भइरहेको उल्लेख गर्दै सांसद माझीले नीतिगत झण्झटताका कारण नेपालमा भएका सालका काठ उपयोग गर्न नसकिएको बताइन् । यसलाई वृक्षरोपण र कटानको उपयुक्त विधि बनाएर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव थियो ।


साथै उनले बर्सेनि लाखौँ सालका रुखहरु डढेलोबाट नष्ट हुँदै आएकाले डढेलो नियन्त्रणमा विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन् । सांसद माझीले जलवायु परिवर्तनले निम्त्याएको असरले नेपालजस्ता देश आक्रान्त भएको बताउँदै त्यसलाई न्यूनीकरण गरी नेपालले भोगेका समस्याको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय जगतमा निरन्तर दबाब सिर्जना गर्नु आवश्यक रहेकामा जोड दिइन् ।


वन तथा भूसंरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेसका जङ्गलमा दुई सयदेखि पाँच सय वर्ष पुराना सालका रूख छन् । जबकी सालको रूखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो ।


सांसद रुपा विकले मानव र वन जङ्गलको सम्बन्ध अन्योन्यास्रित रहेको बताउँदै हाल कायम रहेको ४५ प्रतशित वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोडनका लागि आवश्यक नीतिका बारेमा औँल्याइन् ।


हरियो वन नेपालको धन नारा कार्यान्वयन गर्न वनजन्य र नदीजन्य सामग्रीको दिगोरुपमा उपयोग गर्ने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिँदै उनले भनिन्, “यी सामग्री हामीले कति प्रयोग गर्न पाएका छौँ । यसको संरक्षणमा भूमिका कस्तो छ । हेर्दा नमिलेको जस्तो देखिएको छ । मौजुदा वन, कृषि र भूमिसम्बन्धी ऐन समयसापेक्ष परिमार्जन गर्न आवश्यक छ ।”


सांसद विकले विद्यमान केही कानुनी प्रावधान विकास, मानव, र व्यवहारमैत्री नभएको देखिएकाले कही विकास विरोधी, कही मानव विरोधी, कही समुदाय विरोधीको आरोप लागिरहेको बताइन् । “त्यही भएर पहिलो नीतिगत सयमसापेक्ष संशोधन गर्नुको विकल्प छैन । यो परिमार्जन गरिएन भने निकुञ्ज र समुदायबीचको द्वन्द्व नियन्त्रण हुदैन । बजेटमा यो विषय आएको देखिएन”, उनले भनिन् ।


त्यस्तै सांसद प्रभु साहले जङ्गली जनावरबाट भएको क्षतिका लागि प्रभावित स्थानीयलाई बजेट नछुट्याइएको बताउँदै सरकारको ध्यानाकर्षण गराए । साथै उनले जङ्गलको सदुयोगको नीति के छ भनी सरकारलाई प्रश्न गर्दै भने, “स्वदेशी काठ बर्सेनि कुहिएर जाने, विदेशी काठको नेपालमा बजार बढ्दै जाने, यो दुभाग्र्यपूर्ण स्थितिको अन्त्य कहिले हुन्छ । वनजन्य सामग्रीको सदुपयोग नीति के हामी जान्न चाहन्छौँ ।”


सरकारले आगामी आवको बजेटमा वन पैदावार सङ्कलन, बिक्रीवितरण तथा ओसारपसारलाई राष्ट्रिय एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ । साथै वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको उल्लेख छ ।


प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । शुक्रबार वन तथा वातावरणलगायत चार मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल भएको हो ।


गत आर्थिक वर्षमा साढे ६ अर्बको काठ आयात


वन नीति, २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवद्र्धन गर्ने उद्देश्य लिएको भए पनि बर्सेनि अर्बौं रुपैयाँको काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ । वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रूख बढ्दो क्रममा रहेका भए पनि कानुनी झन्झटता कारण ती रूख सडेर खेर गइरहेका छन् ।


मुलुकको आवश्यकतानुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा दुई अर्ब ३३ करोड, २०७८/७९ मा  सात अर्ब ९९ करोड र २०७९/८० मा रु छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।


नेपालमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट काठका गोलिया, चिरान, प्लाइ, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात हुँदै आएका छन् ।


महालेखापरीक्षकको प्रतिवेदनले पनि काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भएको देखिएको उल्लेख गरेको छ । साथै महालेखाले ढलापडा, सुखड खड़ा रूखहरुको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने औँल्याएको छ ।

चुनावमा गरिएको प्रतिबद्धता कार्यान्वयनबारे छलफल

खजुरा (बाँके), १ असारः नेपाली कांग्रेस बाँकेले स्थानीय तहको सेवा प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ । स्थानीय तहमा प्रवाह हुने सेवाको गुणस्तरीयता, हालसम्म भएका प्रगति र पार्टीसँगको समन्वयका विषयमा छलफल गरिएको कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।

“प्रमुख–उपप्रमुखले निर्वाचनपश्चात् गरेका प्रतिबद्धता के–कति पूरा भए, के–कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचकलगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसँग बैठक गरेका हौँ”, सभापति गौडेलले भन्नुभयो ।

उहाँले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेको बताउनुभयो । “अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे जनप्रतिनिधिले हामीलाई जानकारी गराउनुभएको छ । सीमित स्रोतसाधनका बाबजुद जनअपेक्षाअनुसार काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आआफ्नो दुईवर्षे कार्यकालबारे जानकारी गराउनुभएको थियो ।

स्वास्थ्य मन्त्री यादवसँग बिरामी र कुरुवाको गुनासो

चितवन – पदभार सम्हालेको एक महिनापछि भरतपुर अस्पताल अनुगमनमा आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई बिरामी र कुरुवाहरुले गुनासो राखेका छन् ।

अस्पतालका आकस्मिक कक्षमा उपचार गराइ रहनुभएका राप्ती नगरपालिका-९ का हिमाल राईले डायलासिसका बिरामीको समस्या मन्त्रीसमक्ष सुनाउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई उपचारमा समस्या भयो । छुट्टै वार्डको व्यवस्था गरिदिनु प¥यो ।” उहाँले डायलासिस गर्ने बिरामीको वार्ड एउटै भएमा उपचारमा सहज हुने भएकोले उक्त व्यवस्था गरिदिन मन्त्री यादवलाई अनुरोध गर्नुभयो ।

ज्वरोका कारण बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका भरतपुर महानगरपालिका-१४ का कृष्ण पराजुलीले भर्ना हुनका लागि शय्या पाउनै मुस्किल भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो बेलुकीदेखि शय्या खोजेको अहिले बल्ल एउटा खाली भयो । यसरी कसरी उपचार गर्न सकिन्छ ?”

बिरामीका कुरा सुनिसकेपछि मन्त्री यादवले भन्नुभयो, “तपाईहरुको कुरा जायज हो, सेवा पाउनुपर्छ । यसका लागि म अस्पताल प्रशासनसँग कुरा गर्छु ।” औषधि किन्नका लागि अस्पतालको फार्मेसी अगाडि बसेका बिरामी र कुरुवाले बीमाबाट आवश्यक औषधि नपाउने गरेको गुनासो गरे । सस्तो औषधि फार्मेसीमा पाए पनि महँगो औषधि बाहिरबाट किन्नुपर्ने उहाँहरुको गुनासो थियो । गुनासो सुनिसकेपछि मन्त्री यादवले फार्मेसीका कर्मचारीले खाजा खान तालिका मिलाएर जान र औषधि पर्याप्त मात्रामा राख्न निर्देशन दिनुभयो ।

अधिवेशनपछि आन्तरिक एकतालाई थप बलियो हुन्छ: अध्यक्ष नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बिद्रोहपछि हुन लागेको पार्टीको ऐतिहासिक राष्ट्रिय अधिवेशन सफल बनाउन सबै कमिटीलाई निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न गरी पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा थप छलफल गरी सही कार्यदिशा भएको बलियो कम्युनिष्ट पार्टी निर्माणमा अधिवेशनले सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गरी कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टीको आगामी असार १६ देखि २० गतेसम्म आसन्न महाधिवेशनमा प्रतिनिधि छनोटका लागि निर्देशिका तयार गरिएको छ ।प्रतिनिधि बन्नका लागि कम्तीमा तीन वर्ष पार्टी सदस्य भएको हुनुपर्ने भनिएको अपानीमा पार्टी निकट कमिटी तथा जनवर्गीय सङ्गठनबाट प्रतिनिधिको सङ्ख्या निर्धारण गरिएको छ ।

प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्छु : मुख्यमन्त्री सिंह

गोदार (धनुषा) ३२ जेठ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका केन्द्रीय पदाधिकारीहरुसँगको छलफलमा उहाँले विगतका अनुभवबाट सिक्दै आफूले नयाँ ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुने भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको बताउनुभयो । “अहिले सङ्घीयताप्रति नकारात्मक सन्देश फैलिरहेको छ । यसलाई चिर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले हामी सबैले सजगताका साथ काम गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले सुशासनका लागि आफूले कुनै कसर बाँकी नराख्नेसमेत बताउनभयो । त्यसअवसरमा मञ्चका पदाधिकारीहरूले प्रदेश निजामती ऐनका विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा

काठमाडौँ, १ असारः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिनुभयो ।

समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।

महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ । पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ । मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिएको बैठकमा पार्टीको भावी कार्ययोजना तथा रणनीतिबारे समीक्षा गरिएको छ ।

मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुईको मृत्यु

मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ। घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेको थियो। घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ।

जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीन जना घाइते भएका थिए भने ३० जनाभन्दा बढीलाई उद्धार गरिएको थियो।
अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् ।

विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

मनाङ, १ असारः मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो । विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पदमार्ग र थोराङ्ला भञ्ज्याङ पार गर्ने अन्नपूर्ण पदमार्गको अनुगमन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

पदमार्गमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणको तयारीका लागि अनुगमन गरी सम्बन्धित निकायसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार खाङ्सार, याकखर्क, लेदर, हाइक्याम, बेसक्यामलगायतका पर्यटक बढी बसोबास गर्ने क्षेत्रका पर्यटन व्यवसायीलाई सचेत गराइएको छ ।

अनुगमनका क्रममा मुस्ताङ खण्डमा सचेतना तथा सूचना पार्टी राख्ने विषयमा सुरक्षा निकायसँग छलफल भएको छ । उद्धारका लागि जिल्लाभरका लागि उपकरण अद्यावधिक गरी तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । आवश्यक उपकरण राख्न र कर्मचारीलाई कार्य प्रतिकारका लागि तयार रहन र बाहिर जिल्ला जाँदा विपद् व्यवस्थापन समितिलाई जानकारी गराउन आग्रह गरिएको जनाइएको छ । पालिकास्तरमा विपद् सहायता कक्ष स्थापना, स्थानीय प्रतिकार टोली, रेडक्रसलगायतका सुरक्षा टोलीलाई तयार पारिएको छ ।

तालिम प्राप्त कोर टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रजिअ लामिछानेले बताउनुभयो । मनसुनको सुरुआत भएसँगै विपद् व्यवस्थापन समितिले जीर्ण भएका साइनिङ पोलको जडान तथा बाटो देखाउन राखिएका चिन्हको अवस्थाको तथ्याङ्क सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साइनिङ पोल र चिन्ह सङ्कलन भइरहेको छ, एक्यापलाई चिन्ह र पोल राख्नुपर्ने स्थानबारे जानकारी गराएका छौँ ।”

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जिल्ला विपद् व्यवस्थापन समितिले सुझाव दिएअनुरुप नै तयारी गरिएको बताउनुभयो । पालिका तथा वडास्तरकै विपद् सहायता कक्ष खडा गरिएको उहाँको भनाइ छ । जिल्लाको बढी जोखिमयुक्त चामे र नासों गाउँपालिकामा सहायता कक्ष स्थापना र विपद् सचेतनाका कार्यक्रम भइरहेको बताइएको छ ।

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौँ, १ असारः पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।”

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

गलेश्वर (म्याग्दी), १ असार: पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ ।

गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो । 

“सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर माघमा बेपत्ता भएपछि काम रोकिएको थियो”, आयोजना प्रमुख रेग्मीले भन्नुभयो, “अहिले आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम काम सुरु गरेका छौँ ।”

मालिका गाउँपालिका–६ को गोचाखोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु)तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उहाँले बताउनुभयो । 

आयोजना प्रमुख रेग्मीका अनुसार जेठ मसान्तसम्म जलविद्युत् आयोजनाको कूल १५ प्रतिशत र सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएको छ । उहाँका अनुसार जम्मा दुई हजार नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म एक हजार मिटर मात्र खनिएको छ ।

मालिका– ५ देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।

रु पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । न्यू लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ । 

मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन अवस्थामा रहेको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सवस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको छ । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका छन् । 

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । ठेक्का अवधि समाप्त हुनै लाग्दासमेत सवस्टेशन र प्रसारण लाइनको निर्माणले भने गति लिन सकेको छैन । कूल २५ किमी दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम सकिएको छ ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १ असारः आइसीसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा दक्षिण अफ्रिकाले नेपालसामू जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनायो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भने आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोड्दा डेभिड मिलरले सात रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । सिनियर क्रिकेट प्रतियोगितामा यी दुई टोली पहिलो पटक आमने सामने भएका हुन् ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।       त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए ।
  नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताउनुभएको छ ।

विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण अनुगमन गर्नु हुँदै उहाँले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।”

यसैगरी उहाँले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरु देखा पर्न थालेका दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिर्वतनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।”

यसैगरी उहाँले आफूले कार्यभार ग्रहण गरेको आज एक सय दिनको अवधिमा अध्यागमनमा आएको परिर्वतनले आफूलाई खुसी बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेको एक सय दिन पुुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।”असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उहाँको भनाइ छ ।

गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुुग्नु भएका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुुभूति भयो । तर, सोचेअनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ, सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।”

पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको गृह सचिव अर्यालले जानकारी गराउनुभयो । अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक आठ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली आज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयअनुगमनका लागि पुुगेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालय, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराल तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि सेवा प्रवाह चुस्त दुरुस्त राख्न दिर्नेशन दिइएको थियो ।

यससँगै छुट्टै पहिचानका लागि अध्यागमन कार्यालयका कर्मचारीलाई तोकिएको पोशाकसमेत आजैदेखि सुरु भएको छ । यसले कर्मचारीलाई उत्पे्ररित गर्नुका साथै सेवाग्राहीका लागिसमेत सहजता प्रदान गर्ने विश्वास गृह मन्त्रालयले लिएको छ ।

विदेशी नागरिकले भेट्ने पहिलो सरकारी कर्मचारीका रुपमा अध्यागमन कर्मचारी रहेको र अध्यागमन सेवा प्रदान गर्ने कर्मचारी पहिचान गर्न सहज बनाउन अध्यामगनका कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण, उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण

काठमाडौँ, १ असार: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो ।

उहाँले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताउनुभयो । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।

उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण

काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

जेनेभा (स्वीटजरल्याण्ड), १ असारः राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।

साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ । समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीट्जरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीवार मूख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियोे ।

उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जारी, ब्याटिङ गर्दै दक्षिण अफ्रिका

काठमाडौँ, १ असारः आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।

भारतको पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जाको प्रकोपको कुनै खतरा छैन : स्वास्थ्य अधिकारी

भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीहरूले शुक्रबार राज्यमा एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् ।

“त्यहाँ आत्तिनुपर्ने कुनै कारण छैन र मानिस वा चराबाट मानिसमा सर्ने कुनै पनि नयाँ घटना देखिएको छैन”, उनीहरूले भनेका छन् । अधिकारीहरूले कुखुरा, अण्डा र हाँसको मासु जस्ता कुखुरा उत्पादनहरूको उपभोगमा कुनै प्रतिबन्ध नभएको पनि स्पष्ट पारेका छन् ।

स्वास्थ्य विभागका अनुसार मालदा जिल्लाको कालियाचकका एक बच्चालाई जनवरीमा एभियन इन्फ्लुएन्जा पत्ता लागेको र उपचारपछि निको भएको थियो । केसहरू पत्ता लागेपछि स्वास्थ्य विभागले परिवारका सदस्यहरू र अन्य व्यक्तिहरूको सक्रिय निगरानी गरेको थियो र कसैमा पनि भाइरसको सङ्क्रमण देखापरेन ।

यस हप्ताको सुरुमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पश्चिम बङ्गालमा बर्ड फ्लूको एक मानव केसको पुष्टि ग¥यो । विश्व स्वास्थ्य निकायका अनुसार पश्चिम बङ्गालका चार वर्षीय बालकमा ‘एच–९एन–२’ भाइरसबाट हुने बर्ड फ्लुबाट मानिसमा सङ्क्रमण देखिएको हो ।

बच्चा निको भएको छ र तीन महिनाको निदान र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।सन् २०१९ मा पहिलो पटक भारतबाट डब्लुएचओलाई सूचित गरिएको एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो ।

युनिसेफद्वारा अफ्रिकी बालबालिकाको शिक्षामा लगानी बढाउन आह्वान

अफ्रिकी बालबालिकाका लागि आधारभूत शिक्षामा ठूलो लगानी अफ्रिकालाई यसको दीर्घकालीन रूपान्तरण एजेन्डा साकार गर्न मद्दत गर्न आवश्यक रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ ।

अफ्रिकामा शिक्षा वित्तपोषण निराशाजनक रहेको भन्दै युनिसेफले पाँचमध्ये एक देशले आफ्नो सार्वजनिक बजेटको २० प्रतिशत आफ्ना बालबालिकाका लागि आधारभूत सीपहरू बढाउन समर्पित गरेको बताएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी विज्ञप्तिमा पूर्वी र दक्षिणी अफ्रिकाका युनिसेफ निर्देशकले भन्नुभयो, “अफ्रिकामा समृद्धि सुनिश्चित गर्न हामीले तुरुन्तै महाद्वीपीय क्रान्ति हेर्न आवश्यक छ । यहाँ प्रतिबद्धताहरू ठोस कार्यमा परिणत हुन्छन् जसबाट बालबालिकाहरूले उच्च शिक्षामा प्रगति गर्न र उनीहरूको पूर्ण क्षमता महसुस गर्न आवश्यक आधारभूत सीपहरू प्राप्त गर्न सकून् । ”

युनिसेफले अफ्रिकाको वृद्धिलाई अघि बढाउन मानव पूँजी निर्माणमा आफ्नो भूमिकाको बाबजुद पनि अफ्रिकामा शिक्षा वित्तपोषण सुस्त भएको छ बताएको छ । यसले लाखौँ बालबालिकालाई आवश्यक पर्ने आधारभूत साक्षरता र सीपहरू प्राप्त गर्नबाट रोकेको छ ।

प्राथमिक र माध्यमिक विद्यालय भर्नालाई बढावा दिन अफ्रिकी सरकारहरूले विगत दशकमा गरेको महत्त्वपूर्ण प्रयासहरूका बाबजुद विद्यालयहरूमा आधारभूत सुविधाहरूको अभाव, भीडभाड र शिक्षकहरू अपर्याप्त रहेको युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र एजेन्सीले १० वर्ष उमेरका प्रत्येक पाँच अफ्रिकी बालबालिकामध्ये चारले सरल लिखित पाठ पढ्न र बुझ्न असमर्थ रहेको बताएको छ । यसले अफ्रिकामा सिकाइको निराशाजनक परिणामलाई उजागर गर्दछ ।

अफ्रिकामा बालबालिकाको शिक्षालाई समर्थन गर्न र शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरूपमा लगभग एक खर्ब ८३ अर्ब अमेरिकी डलर आवश्यक रहेको युनिसेफले अनुमान गरेको छ । अफ्रिकी सरकारहरूले उनीहरूको शिक्षा बजेटको लगभग दुई प्रतिशत पूर्व–प्राथमिक शिक्षामा खर्च गर्छन् । बीस प्रतिशत प्रतिशत तृतीयक शिक्षामा विनियोजन गरिएको एजेन्सीले थप उल्लेख गरेको छ ।

पश्चिम र मध्य अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक गिल्स फाग्निनोले अफ्रिकामा १० करोडभन्दा बढी प्राथमिक र माध्यमिकविद्यालय उमेरका बालबालिकाहरू विद्यालय बाहिर रहेको बताउनुभयो ।यसले पर्याप्त कर्मचारी र सुसज्जित नयाँ सिकाइ सुविधाहरूमा लगानी बढाउने आवश्यकतालाई जोड दिन्छ ।