`

युनिसेफद्वारा अफ्रिकी बालबालिकाको शिक्षामा लगानी बढाउन आह्वान

अफ्रिकी बालबालिकाका लागि आधारभूत शिक्षामा ठूलो लगानी अफ्रिकालाई यसको दीर्घकालीन रूपान्तरण एजेन्डा साकार गर्न मद्दत गर्न आवश्यक रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ ।

अफ्रिकामा शिक्षा वित्तपोषण निराशाजनक रहेको भन्दै युनिसेफले पाँचमध्ये एक देशले आफ्नो सार्वजनिक बजेटको २० प्रतिशत आफ्ना बालबालिकाका लागि आधारभूत सीपहरू बढाउन समर्पित गरेको बताएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी विज्ञप्तिमा पूर्वी र दक्षिणी अफ्रिकाका युनिसेफ निर्देशकले भन्नुभयो, “अफ्रिकामा समृद्धि सुनिश्चित गर्न हामीले तुरुन्तै महाद्वीपीय क्रान्ति हेर्न आवश्यक छ । यहाँ प्रतिबद्धताहरू ठोस कार्यमा परिणत हुन्छन् जसबाट बालबालिकाहरूले उच्च शिक्षामा प्रगति गर्न र उनीहरूको पूर्ण क्षमता महसुस गर्न आवश्यक आधारभूत सीपहरू प्राप्त गर्न सकून् । ”

युनिसेफले अफ्रिकाको वृद्धिलाई अघि बढाउन मानव पूँजी निर्माणमा आफ्नो भूमिकाको बाबजुद पनि अफ्रिकामा शिक्षा वित्तपोषण सुस्त भएको छ बताएको छ । यसले लाखौँ बालबालिकालाई आवश्यक पर्ने आधारभूत साक्षरता र सीपहरू प्राप्त गर्नबाट रोकेको छ ।

प्राथमिक र माध्यमिक विद्यालय भर्नालाई बढावा दिन अफ्रिकी सरकारहरूले विगत दशकमा गरेको महत्त्वपूर्ण प्रयासहरूका बाबजुद विद्यालयहरूमा आधारभूत सुविधाहरूको अभाव, भीडभाड र शिक्षकहरू अपर्याप्त रहेको युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र एजेन्सीले १० वर्ष उमेरका प्रत्येक पाँच अफ्रिकी बालबालिकामध्ये चारले सरल लिखित पाठ पढ्न र बुझ्न असमर्थ रहेको बताएको छ । यसले अफ्रिकामा सिकाइको निराशाजनक परिणामलाई उजागर गर्दछ ।

अफ्रिकामा बालबालिकाको शिक्षालाई समर्थन गर्न र शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरूपमा लगभग एक खर्ब ८३ अर्ब अमेरिकी डलर आवश्यक रहेको युनिसेफले अनुमान गरेको छ । अफ्रिकी सरकारहरूले उनीहरूको शिक्षा बजेटको लगभग दुई प्रतिशत पूर्व–प्राथमिक शिक्षामा खर्च गर्छन् । बीस प्रतिशत प्रतिशत तृतीयक शिक्षामा विनियोजन गरिएको एजेन्सीले थप उल्लेख गरेको छ ।

पश्चिम र मध्य अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक गिल्स फाग्निनोले अफ्रिकामा १० करोडभन्दा बढी प्राथमिक र माध्यमिकविद्यालय उमेरका बालबालिकाहरू विद्यालय बाहिर रहेको बताउनुभयो ।यसले पर्याप्त कर्मचारी र सुसज्जित नयाँ सिकाइ सुविधाहरूमा लगानी बढाउने आवश्यकतालाई जोड दिन्छ ।

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट विस्थापितहरूका लागि चार वर्षपछि घर निर्माण गर्न थालिएको छ ।
विसं २०७७ असार २७ गते मध्यरातमा गएको पहिरामा पुरिएर बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घरमा क्षति पुग्यो । पहिरोबाट बेसिन्दा र चेप्चेवा गाउँ त विस्थापित नै भएको थियो ।

विस्थापितलाई सिलिचोङ १ को चित्रे, बखल्टुम र खाँदबारी नगरपालिका–७ मा पुनःवासका लागि घर बनाउने निर्णय भएको थियो । विस्थापित भएको चार वर्षपछि यसपटक भने खाँदबारी नगरपालिकाको समन्वयमा सोही वडाको भैरेडाँडामा ५५ परिवारका लागि घर निर्माण सुरू गरिएको नगरप्रमुख महेश थपलियाले जानकारी दिनुुभयो । त्यसका लागि रु एक करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी २५ परिवारलाई सिलिचोङ–१ को चित्रेडाँडा र चेप्चेवाका १२ घरलाई बखल्टुममा गरी ३७ परिवारका लागि घर निर्माण भइरहेका छन् । चित्रेमा रु ७० लाखमा साढे ५१ रोपनी र बखल्टुममा रु ३४ लाखमा साढे १७ रोपनी जग्गा खरिद गरी पहिरो विस्थापितका नाममा संयुक्त रजिस्ट्रेशन पास भइसकेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताउनुभयो ।

पहिरोलगतै तत्कालीन गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको संयोजकत्वमा अस्थायी पुनःवास तथा राहत सङ्कलन समितिले विभिन्न सङ्घ संस्थाको पहलमा रु ७९ लाख ८७ हजार ५ सय ८५ नगद र जिन्सी सङ्कलन गरेको थियो । उक्त रकम दुई तहमा वर्गीकरण गरेर वितरण गरिएको पालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । उहाँले दिएको जानकारीअनुसार क वर्गका १० घर परिवारलाई प्रतिघर रु एक लाख र बाँकी ८२ परिवारलाई शौचालय निर्माणका लागि प्रतिघर रु ६४ हजार नौ सय ७७ का दरले उपलब्ध गराइएको थियो ।

पहिरो गए लगत्तै विस्थापितलाई अस्थायी बासस्थानका लागि राखिएको चित्रे गाउँको सरसफाइका लागि रु ३५ हजार यही कोषबाट दिइएको थियो । यसबाहेकका रु ६९ लाख ५२ हजार पाँच सय ५० बेसिन्दा र चेप्चेवाका विस्थापितलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

विनियोजन विधेयकः विभिन्न चार मन्त्रालयका शीर्षकमाथि छलफल

काठमाडौँ, ३२ जेठ : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्र्तगत विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ ।

छलफलमा सांसदहरू डिगबहादुर लिम्बू, सुहाङ नेम्वाङ, मनबहादुर गुरुङ, मीना तामाङ, चन्दा चौधरी, निर्मला कोइराला, पूर्णबहादुर तामाङ, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, मानवीर राई, देवप्रसाद तिमिल्सेना, रुक्मिणि राना बराइली, रुपा विक, वासुदेव घिमिरे जाबेदा खातुन जागा, सम्झना थपलिया, प्रतीक्षा तिवारी, ठाकुरप्रसाद गौरेलगायतले आफ्ना धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी असार २ गते बिहान ११ बजे बस्नेछ । आगामी बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराउनुभयो ।

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

काठमाडौँ, ३२ जेठ : गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उहाँको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजै खानसँग भेटघाट गर्नुभएको थियो ।

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

काठमाडौँ, ३२ जेठ : गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उहाँको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजै खानसँग भेटघाट गर्नुभएको थियो ।

नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक’

काठमाडौँ, ३२ जेठ : बीपी कोइराला मेमोरियल प्लाटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा तीन दिने विज्ञान पत्रकारिता÷विज्ञान लेखन तालिम सुरू भएको छ ।

समितिको सभाहल कीर्तिपुरमा आयोजित तालिममा विज्ञान पत्रकारितामा क्रियाशील पत्रकार तथा पत्रकारितामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीसहित देशभरका ७० जनाभन्दा बढीको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिनुभयो ।

आज तालिमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) विश्वबाबु पुडासैनीले विज्ञान क्षेत्रमा भएका उपलब्धि, समस्या, सम्भावना र राज्यले गरिरहेका क्रियाकलापबारे समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा तालिमले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समाजमा रहेका अन्धविश्वास र कुरितीबारेका धारणा बदल्न सबैभन्दा पहिले पत्रकार नै विज्ञानका आधारभूत मान्यताबारे जानकार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “विज्ञान प्रविधिका क्षेत्रमा विश्व धेरै अगाडि बढिसकेको छ तर नेपाली समाज अहिले पनि गलत प्रथा, परम्परा र कुसंस्कारमै रुमल्लिएको अवस्था छ । सञ्चारकर्मीको सहयोगविना यो अवस्था बदल्न सकिँदैन”, पुडासैनीले भन्नुभयो,“त्यसैले यहाँहरूले विज्ञानका आधारभूत पक्ष र विज्ञान पत्रकारिताका विषयवस्तु बुझेमा हाम्रा प्रयासले पनि प्रतिफल प्राप्त गर्छन् । त्यही उद्देश्यले यो तालिम आयोजना गरिएको हो ।”

उहाँले परिवर्तित समय सुहाउँदो ऐनका अभावमा नेपालको विज्ञान प्रविधि क्षेत्रले समस्या भोगिरहेकाले त्यसलाई सम्बोधन गर्न विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न र व्यावहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी दुई वटा विधेयक बनाउन लागिएको जानकारी दिँदै त्यसबारे राय तथा सुझावका लागि मन्त्रालयको वेभसाइटमा राखिएकाले प्रचारप्रसारका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रा डा उदयराज खनालले नेपालमा विज्ञान प्रविधि क्षेत्रको विकास, विस्तार तथा उपलब्धिबारे पत्रकार जगत् जानकार बन्न आवश्यक रहेको बताउनुभयो । पत्रकार जागरुक र जानकार भएमा नेपालको विज्ञान क्षेत्रले थप उपलब्धि हासिल गर्नसक्ने तर्क गर्दै उहाँले यसले सरकारी अधिकारीमा थप जिम्मेवारी बोध र नागरिकमा विज्ञानप्रतिको विश्वाससमेत वृद्धि हुँदै जाने धारणा राख्नुभयो ।

समितिका कार्यकारी निर्देशक डा शर्माले आमरूपमा प्रचारप्रसार नभएसम्म विज्ञान अपूर्ण हुने सन्दर्भ उल्लेख गर्दै यसमा सञ्चार र सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेकामा जोड दिनुभयो । “जबसम्म उपलब्धिको प्रचार हुँदैन, तबसम्म विज्ञान अपूर्ण हुन्छ तर नेपालमा विज्ञान क्षेत्रका विषयमा धेरै चिन्ता चासो व्यक्त भएको पाइँदैन । मिडियाले पनि विज्ञानका विषयलाई प्राथमिकता दिएका छैनन्, त्यसकारण त देशमा अपवाह र भ्रमहरूले स्थान पाइरहेका छन् । यो अवस्था बदल्न नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो ।

तालिममा विज्ञान तथा प्रविधिका प्रभावबारे प्रचार गर्न मिडियाको भूमिका, विज्ञान पत्रकारिताका चुनौती र विज्ञान प्रविधिसम्बन्धी जानकारी सम्प्रेषणमा वैज्ञानिकको भूमिका, विज्ञान पत्रकारिताको महत्व, उत्तरदायित्व, नैतिक र व्यवसायीकस्तर सुधार, वेबमा आधारित विज्ञान सञ्चार र सञ्जाल, सामाजिक समावेशीकरणका लागि विज्ञान सञ्चार, पत्रकारको व्यावसायिक क्षमता विकासलगायत विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिनुहुनेछ ।

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

लुम्बिनी, ३२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । उहाँले नेकपा (एमाले)का सबै नेता तथा कार्यकता विकाससँग जोडिनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) रुपन्देहीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज बुटवलमा आयोजित शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जिल्लामा पार्टीलाई एकताबद्ध बनाइ जनतासँग जोडिएर काम गर्न निर्देशन दिनुभयो । अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेको बताउँदै सशक्त पार्टी निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुने छ ।”

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका नेता पौडेलले रुपन्देहीको पार्टी पङ्क्तिलाई प्रभावकारी रुपमा परिचालन गरी हरेक विकास निर्माणमा निगरानी र खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, सङ्गठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी थपिएको बताउनुभयो ।

उहाँले जनताका सुखदुःखसँग र समस्यासँग जोडिएको राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिँदै राजनीतिमा क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले नेता र जनप्रतिनिधिबीच तालमेल नहुँदा धेरै कामको उठान नभएकाले पार्टीका तर्फबाट तिनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबीच तालमेल जरुरी रहेको धारणा राख्नुभयो ।

पार्टीकै पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसँग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नयाँ नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । यही जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनले यज्ञ गैरेको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो ।

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौँ, ३२ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेट भएको हो । भेटघाटमा शुभकामना आदानप्रदानका साथै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटनलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

हाल कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीसमेत सम्हालिरहनुभएका यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्द्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र उच्च बनेको बताउनुभयो । “हामी दुई मुलुकले लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छौँ”, उहाँले भन्नुभयो, “नयाँ उचाइ र आयाममा पुगेको नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरुको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशिला प्रदान गरेको छ ।”

दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप उचाइमा पु¥याएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको पनि उपराष्ट्रपति यादवको भनाइ थियो । “छिमेकी मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको छ”, उहाँले भन्नुभयो, “चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

उहाँले सन् २०२६ सम्म नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र तीव्र आर्थिक एवं सामाजिक विकाससँगै नेपाली नागरिकको उन्नति र समृद्धिका लागि चीनले स्तरोन्नति हुनुपूर्व र पश्चात् थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको, द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका क्षेत्रमा उत्पादकत्व बढाउनका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुमा सहयोगका लागि चीन सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउँदै उपराष्ट्रपति यादवले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको र किमान्थाङ्का–चेन्ताङलगायत नाकाको पुनः उद्घाटन हुनाले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको छ उहाँले भन्नुभयो ।

चीनको ३०औँ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रिय कमिटीका सदस्य तथा १४औँ सिपिपिसिसीका राष्ट्रिय कमिटी उपाध्यक्ष बेटरले चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण २०८०/८१ पेस

मकवानपुर, ३२ जेठ : वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/८१ पेस गर्नुभएको छ । आर्थिक सर्वेक्षण पेश गर्दै उहाँले वाग्मती प्रदेशको राजस्व सङ्कलन, कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास, शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेशमा साक्षरता प्रतिशत वृद्धि भएको बताउनुभयो । यातायात क्षेत्रमा सडक, पुल निर्माण, विद्युत् विस्तार, औद्योगिक उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराई विदेशी मुद्रा आर्जन गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो ।

सोही बैठकमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, भारतीकुमारी पाठक, आनन्दकुमार श्रेष्ठलाई संसद् कार्य परामर्श व्यवस्थाको समितिमा मनोनयन गरिएको र उक्त बैठकले सो नामावलीलाई स्वीकृत प्रदान गरेको थियो ।

बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ, विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले छुट्टाछुट्टै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न मन्त्रिपरिषद्बाट गरेको निर्णयबारे स्पष्ट पार्न विशेष समय लिई बोल्नुभएको थियो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पतालकोे स्वायत्ततालाई कुनै आँच नपुग्ने गरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्तरिक व्यवस्थापनका लागि जिम्मा दिइएको स्पष्ट पार्नुभयो । हेटौँडा अस्पताल सङ्घीय सरकारको निर्देशनबमोजिम प्रदेश सरकारको मातहतमा रहने गरी प्रादेशिक अस्पतालका रुपमा स्तान्तरण गरिएको उहाँले बताउनुभयो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी स्थगित गर्नुभयो ।

विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने

काठमाडौँ, ३२ जेठः अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।

विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ । दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो, जसअनुसार दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले रामो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी सङ्गठित भएर खेल्ने बताउनुभयो ।

विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अङ्कका साथ शीर्ष स्थानमा छभने चार अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छ । त्यसैगरी, दुई अङ्कका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अङ्कका साथ चौथो स्थानमा छ । समान एक अङ्क नै बटुलेको श्रीलङ्का अन्तिम स्थानमा छ ।

महिला जननाङ्ग विकृति (एफजीएम) सम्बन्धी विश्वव्यापी कारबाही आवश्यकः राष्ट्र सङ्घ

महिला जननाङ्ग विकृति (एफजीएम) प्रक्रियाका लागि युवतीहरुलाई उनीहरुको परिवारले अन्य देशहरुमा लैजाने क्रम बढ्दो भएपछि यस विरुद्धको लडाइँ कमजोर भइरहेको संयुक्त राष्ट्र सङ्घले शुक्रबार चेतावनी दिएको छ ।यसले सीमापार र अन्तरदेशीय एफजीएमको समस्या समाधान गर्न ठोस विश्वव्यापी कारबाही आवश्यक रहेको बताएको छ ।धेरै देशहरूले एफजीएम उन्मूलन गर्ने प्रयासहरू बढाएको छ । यो अभ्यास विश्वभर जारी रहे पनि केही क्षेत्रका मानिसहरुले युवतीहरूलाई गोप्य रुपमा विदेश लगेर यो प्रक्रिया गराउने अभ्यासका कारण यस्तो अवस्था आएको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयबाट जारी प्रतिवेदनले जनाएको छ ।

विशेष गरी युरोप र उत्तरी अमेरिकाका परिवारहरूले आफ्ना छोरीहरूलाई स्कूल बिदाको समयमा एफजीएम गर्न आफ्नो मूल समुदायमा लैजाने गरेको कार्यालयले जनाएको छ । अफ्रिकाका अधिकांश देशहरूले यस अभ्यासलाई अपराधीकरण गरेको भएतापनि केही देशहरूले ‘अन्तरदेशीय एफजीएम हबहरू’ को रूपमा सेवा गरेको प्रतिवेदनले जनाएको छ ।

महिला जननाङ्ग विकृति लैङ्गिक हिंसाको हिस्सा भएको जनाउदै मानव अधिकारको सम्मान गर्ने ब्रह्माण्डमा यसको कुनै स्थान नभएको संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा जनाउनुभयो । राष्ट्रसङ्घींय बाल एजेन्सी (युनिसेफ)ले एफजीएमलाई “महिलाको बाह्य अङ्गहरु गैर–चिकित्सा कारणले आंशिक वा पूर्ण रूपमा हटाउने“ भनेर परिभाषित गरेको छ ।

यसले सङ्क्रमण, रक्तस्राव, बाझोपन र प्रसवमा हुने जटिलताहरूसहित गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने युनिसेफले जनाएको छ । राष्ट्रसङुघकोे यौन र प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपिए)का अनुसार आज जीवित २० करोडभन्दा बढी बालिका र महिलाहरूको एफजीएम भइसकेको छ ।“यदि यो अभ्यास हालको गतिमा जारी रह्यो भने सन् २०१५ देखि २०३०को बीचमा अनुमानित ६८ मिलियन केटीहरूको एफजीएमको सिकार हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।-

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

काठमाडौँ, ३२ जेठ : मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ ।

मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू-भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । “हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा सुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यदि अचानक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा बन्द गर्नेछौँ ।”

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । खानेपानी अभाव भइरहेको बेला तत्काल बन्द गर्नु उपयुक्त नरहेको उहाँको भनाइ छ ।

“हामीलाई परामर्शदाता र एसियाली विकास बैङ्कले मेलम्ची बन्द गर्नुपर्छ, नत्र आयोजनालाई मनसुनी विपत्तिले क्षति गर्छ भनिरहनुभएको छ,” उहाँले भन्नुभयो, “अहिले उपभोक्ताहरुले खानेपानीको सङ्कट भोगिरहेको अवस्थामा मेलम्चीको खानेपानीले केही राहत दिलाएको छ, तसर्थ जहिले वर्षा सुरु हुन्छ तहिले बन्द गर्छौं भनेर जवाफ दिएका छौँ ।”

मौसमविद्ले वाग्मती प्रदेशमा पनि छिट्टै मनसुन सक्रिय हुने जानकारी दिएका छन् । काठमाडौँ उपत्यकालगायत वाग्मती प्रदेशको केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले मनसुन सक्रिय हुन नसकेको जानकारी दिनुभयो ।

मनसुन सुरु भएमा केही दिन पछि उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी आउने सम्भावना न्यून छ । दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा करिब दुई अर्ब मूल्य बराबरको क्षति पुगेको गहृमन्त्रालयले जनाएको थियो । गत साउन २८ र २९ गतेको बाढीले फेरि आयोजनाको संरचनामा क्षति पुगेको थियो ।

मनसुन सकिएपछि मेलम्चीको खानेपानी पुनः वितरण गरिने भनिए पनि माघ १ गते मात्रै वितरण गरिएको थियो । मौसम पूर्वानुमान माहाशाखाका अनुसार सामान्यतया नेपालमा जुन १० मा मनसुन अवधि सुरु हुने र चार महिनासम्म मनसुन अवधि रहन्छ । यस अवधिसम्म वाग्मती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी गरिएको छ । त्यसका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव बढ्ने भएकाले खानेपानी आपूर्ति व्यवस्थापनलाई सहज बनाउन धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिनुभयो । “मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खा समयमा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्योमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ,” उहाँले भन्नुभयो, “अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ, मेलम्चीको विकल्पमा अन्य आयोजनाहरुको खोजी गरिनुपर्छ ।”

उहाँका अनुसार काठमाडौँमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति गर्न सकिएको छैन । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव बढिरहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सहत बढाएको जानकारी दिनुभयो । बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० ढुङ्गेधारा सुकिसकेका छन् । कतिपय ढुङ्गेधारालाई जीवत बनाउन पानीको स्रोत खोज्नुपर्ने र त्यसो गर्दा झन् पानीको स्रोतहरु हराउने खतरा रहेको उहाँको भनाइ छ ।

भू–गर्भविद् डा सुबोध ढकालले उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारहरुको विकासका कारण सहतमुनि पानीको रिचार्ज नहुनेलगायतका कारण सहतमुनिको पानी घट्दै गएको जानकारी दिनुभयो । सहतमुनिको पानी संरक्षण गर्दै मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउन सकेमा उपत्यकामा खानेपानीको दिगो समाधान गर्न सकिने विज्ञहरुको सुझाव छ । समितिले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउन नयाँ स्थान (सार्कस्थली) मा आयोजना सार्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

काठमाडौँ महानगरले हाडीगाँउ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

काठमाडौँ, ३२ जेठः काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताउनुभयो ।

हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ । त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भुनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उहाँले जानकारी गराउनुभयो ।

साथै इन्द्र जात्रा, सेतो मच्छिन्दनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व तथा स्थानीय परिकारलाई संरक्षण र सम्बद्र्धन गर्दै सम्भावना भएका थप कला संस्कृतिहरुलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने उहाँको भनाइ छ ।

धूमपान र मद्यपानमा बन्देज

महानगरले आगामाी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूमपान, मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ । साथै खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उहाँले जानकारी दिनुभयो । महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उहाँको भनाइ थियो । स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी दिनुभएको छ ।जी७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन् ।

सन् २०२२ मा मस्कोले युक्रेनमा सेना पठाएको केही दिनपछि जी७ र युरोपेली सङ्घ (इयु) ले रुसी केन्द्रीय बैंकको करिब तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) फ्रिज गरेका छन् । पुटिनले शुक्रबार पश्चिमी मुलुकहरूले ‘कुनै प्रकारको कानूनी आधार’ ल्याउन खोजिरहेको भन्दै ‘सबै छलका बाबजुद चोरी अझै पनि चोरी नै हो र यसलाई दण्डित नगरिरहन सकिँदैन’ भन्नुभयो ।

उहाँले मस्को र पश्चिमबीचको गतिरोध ‘अस्वीकार्यरूपमा फिर्ता नहुने विन्दुको नजिक पुगेको’ चेतावनी दिँदै मस्कोसँग ‘आणविक हतियारको सबैभन्दा ठूलो शस्त्रागार रहेको’ दावी गर्नुभयो । पुटिनले युक्रेनसँगको द्वन्द्वमा बारम्बार आणविक बयानबाजीको प्रयोग गर्नुभएको छ । यसलाई उहाँले रुस र नाटो सैन्य गठबन्धनबीच व्यापक ‘हाइब्रिड युद्ध’ मा मात्र एउटा मोर्चाका रूपमा प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति मञ्चको आलोचना गर्दै यसलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्नुभयो । मस्कोलाई उक्त सम्मेलनमा आमन्त्रण गरिएको छैन । सम्मेलनमा करिब ९० मुलुकका राष्ट्राध्यक्ष र अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ अधिकारीहरूले सहभागिता जनाउनेछन् ।

युक्रेनले सेना फिर्ता गर्नुपर्छ र शान्तिवार्ताका लागि नाटोको प्रयास अन्त्य हुनुपर्छ

यसैबीच पुटिनले शुक्रबार युक्रेनले उसका चार वटा क्षेत्र र नाटो सदस्यताको प्रस्ताव त्यागेमा मस्कोले युद्ध बन्द गर्ने र शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ ।स्विट्जरल्यान्डमा युक्रेन र उसका सहयोगीहरूद्वारा आयोजित प्रमुख शान्ति शिखर सम्मेलनको पूर्व सन्ध्यामा उहाँले सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि आफ्ना ‘सर्तहरू’ को रूपरेखा प्रस्तुत गर्दै हुनुहुन्थ्यो । मस्कोमा रुसी राजनीतिज्ञहरूलाई टेलिभिजनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “डोनेट्स्क जन गणतन्त्र, लुगान्स्क जन गणतन्त्र, खेरसान र जापोरिजिया क्षेत्रबाट युक्रेनी सैनिक पूर्णरूपमा फिर्ता हुनुपर्छ ।”

रुसले सन् २०२२ मा चारै क्षेत्रमा कब्जा गरेको दावी गरेको छ यद्यपि तीमध्ये कुनै पनि क्षेत्रमा उसको पूर्ण नियन्त्रण थिएन । “यस्तो गर्न तयार रहेको किएभले भन्छ र वास्तवमै सैनिकहरूलाई फिर्ता सुरु गर्न थाल्छ तथा आधिकारिकरूपमा नाटोमा संलग्न हुने योजना त्याग्छ भने हामी तुरुन्त युद्धविराम गर्नेछौँ र वार्ता सुरु गर्नेछौँ”, उहाँले भन्नुभयो ।

उहाँले ‘रुसको क्रिमियासँग बलियो भूमि सम्बन्ध रहेको सर्तमा’ खेरसान र जापोरिजिया क्षेत्रमा ‘युक्रेनी सार्वभौमसत्ता कायम राख्न अस्वीकार नगर्ने’ बताउनुभएको थियो ।रुसको आक्रमणको प्रमुख लक्ष्य युक्रेनको दक्षिणी तटसँग रुस र क्रिमिया प्रायद्वीपबीच ‘भूमि पुल’ बनाउने हुनसक्ने सैन्य विश्लेषकहरूले लामो समयदेखि भन्दै आएका छन् ।

यद्यपि पुटिन र शीर्ष रुसी अधिकारीहरूले सामान्यतया किएभको ‘नव–नाजी’ शासनबाट युक्रेनको पूर्वमा जातीय रुसी र रुसी भाषीहरूलाई जोगाउन भन्दै आफ्नो आक्रमणलाई जायज ठहर गर्ने प्रयास गरिरहेका छन् । युक्रेन र पश्चिमले ती आरोपहरूलाई आधारहीन भन्दै अस्वीकार गरेका छन् र रुसको सैन्य कारवाहीलाई साम्राज्यवादी शैलीको आक्रामकताका रूपमा वर्णन गरेका छन् ।

रुसले सन् २०१४ मा एकपक्षीय रूपमा क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको छ । यसबाट अन्तर्राष्ट्रिय आक्रोश बढ्यो र मुलुकको पूर्वमा रुसी समर्थित पृथकतावादीहरू तथा किएभका सेनाबीच सशस्त्र द्वन्द्व सुरु गर्यो । युक्रेनले रुस क्रिमियासहित आफ्ना अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट सम्पूर्णरूपमा फिर्ता भएमा मात्र शान्ति कायम हुने बताएको छ ।

नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्गको योजना

गण्डकी, ३२ जेठ : चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन । मङ्गलबार सार्वजनिक नीति तथा कार्यक्रममा सुरुङमार्गबारे केही उल्लेख छैन ।

प्रदेश सरकारले चालु आवमा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शितलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । आवको अन्त्यसम्ममा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम अगाडि नबढेका बेला प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रमबाटै सो योजना हटाएको हो । प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि सङ्घ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन ।

वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सुरुङमार्ग गत वर्ष नै नीति तथा कार्यक्रममा परेकाले यो वर्ष समावेश नगरिएको बताउनुभयो ।

“विकास साझेदारसँगको सहकार्यमा सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययनलगायतका काम अगाडि बढाउने योजनामा प्रदेश सरकार छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको स्रोतले मात्र सुरुङमार्गको योजना कार्यान्वयन गर्न सम्भव देखिँदैन, यसमा सङ्घ सरकार र विकास साझेदार निकायको सहयोग चाहिन्छ ।”

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आवमा रु ५० लाख छुट्टाएको थियो । अध्ययनको काम अगाडि नबढेपछि उक्त बजेट ‘फ्रिज’ भएको बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्ग बनेमा लोकमार्गमा घन्टौँ लाग्ने यात्रा केही मिनेटमा छोटिने उहाँको भनाइ छ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक÷सामाजिक विकासमा उक्त सुरुङ मार्गले महत्वपूर्ण टेवा पुग्ने सांसद पौडेलले बताउनुभयो ।

“रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा हामीले सुरुदेखि नै पहल गरिरहेका छौँ ।” सङ्घीय सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङमार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन । पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमि छ । सुरुङमार्गले त्यसलाई सातदेखि आठ किमिमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लालाई जोड्छ ।

उक्त सुरुङमार्ग अध्ययनका लागि सङ्घ सरकारले गत आवमा रु एक करोड ५० लाख छुट्टाएको थियो । सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको विभागले जनाएको छ । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माण गर्ने सङ्घीय सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो । सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ ।

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी, ३२ जेठः गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिनुुभएको थियो । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताउनुुएको थियो । सरकारका काम कारवाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गर्नुभयो ।

छलफलमा उठेका प्रश्नका जवाफ दिदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुुभयो । नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवत नछुटाइएको उल्लेख गर्दै उहाँले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राख्नुुभयो । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उहाँले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको उल्लेख गर्नुुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उहाँले यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताउनुुभयो । यसका लागि प्रदेशले मात्र नभइ सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै उहाँले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताउनुुभयो । यसबारे पहलहरू भइरहेको र आज विहान मात्रै पनि पोखराबाट बङ्गलादेशमा सिधा हवाइ उडानका विषयमा छलफल भइरहेको बताउनुभयो ।

समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक फरक रहेको बताउँदै उहाँले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गर्नुुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराउनुुभयो ।

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

काठमाडौँ, ३२ जेठ : जल तथा मौसमजन्य विपद्जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ ।नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा जगदीश्वर कर्माचार्यले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ ।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपान, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइनेछ ।

यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई ‘सेन्ट्रल सर्भर’मा प्रयोग गर्न पहिलेदेखि छसय सिम उपलब्ध गराइरहेकामा अब थप एक सय सिम गरी सात सय थान सिम उपलब्ध गराएको छ । सिममा प्रतिमहिना तीन सय एमबी डाटा निःशुल्क उपलब्ध छ ।

नेपाल टेलिकमले विसं २०७३ सालदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ । विभागले सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरु विसं २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क ‘मास एसएमएस सेवा’मार्फत सर्वसाधारणमा पु-याई विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पु¥याएकामा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदरपत्रद्वारा सम्मानित गर्दै आएको छ ।

नेपालका तीर्थस्थलहरूको दर्शन गर्न पूर्वअर्थमन्त्री महतको आग्रह

काठमाडौँ, ३२ जेठः नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गर्नुभएको छ । भारतीय वर्किङ जर्नालिस्ट युनियनले आज यहाँ आयोजना गरेको सेमिनारमा उहाँले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गर्नुभयो ।

“हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला छन् । मधेसदेखि हिमालसम्मको लोभलाग्दो हावापानी पनि छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने समय आएको छ”, प्रवक्ता महतले भन्नुभयो, “हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।”

उहाँले नेपाल र भारतको सम्बन्ध युगौंदेखिको रहि आएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

जनतालाई आशा र भरोसा जगाउने काम गरेका छौँः रक्षामन्त्री उप्रेती

काठमाडौँ, ३२ जेठः रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताउनुभएको छ ।

रक्षा मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा भएको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रालय मातहत सञ्चालित आयोजनामध्ये अधिकाशको यस अवधिमा प्रगति सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो । मन्त्री उप्रेतीले भन्नुभयो, “राष्ट्रिय गौरवलगायतका आयोजनाको हालसम्मको कार्यप्रगतिबाट नेपाली सेनाप्रति जनतामा आशा, विश्वास र भरोसा बढाएको छ ।”

त्यसअवसरमा रक्षामन्त्री उप्रेतीले मन्त्रालयको नेतृत्व लिएयता भएका प्रमुख नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका विषयबारे जानकारी गराउनुभएको थियो । उहाँले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौ–तराई–मधेस दू्रतमार्गको भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ०७ प्रतिशत पुगेको जानकारी दिनुभयो । आयोजनाको समष्टिगत कार्ययोजनाअनुरुप १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म दूुतमार्गको छ दशमलव पाँच किमीदेखि अन्तिम विन्दु ७० दशमलव ९७७ सम्मको खण्डमा पर्ने १२ वटा निर्माण प्याकेजको खरिद सम्झौता भई कार्यान्वयन चरणमा रहेको जानकारी दिइयो ।

द्रुतमार्ग सडक आयोजनाअन्तर्गत भएका जग्गा अधिग्रहणमा लाग्दै आएको पुँजीगत लाभकर नलाग्ने, सेनाद्वारा निर्माणाधिन विभिन्न सडक करिडोर आयोजनामा कार्यरत सुरक्षाकर्मीको मनोबल बढाउन जोखिम भक्ता उपलब्ध गराउन सम्बन्धीत निकायमा समन्वय गर्ने कार्य भइरहेको जानकारी उहाँको भनाइ थियो ।

सो अवसरमा रक्षामन्त्रालय मातहतको रु एक अर्ब ७९ करोड २० लाख बेरुजु फछर्यौट भइ उल्लखनीय प्रगति हासिल भएको जानकारी दिइयो । यसअवधिमा सुरक्षा र प्रतिरक्षासम्बन्धी पुस्तक तथा दस्तावेज सङ्कलन र संरक्षण गर्ने उद्देश्यले बाचनालायको सुविधासहितको पुस्तकालय सञ्चालनमा आएको, चीन सरकारबाट नेपाली सेनालाई सहयोगस्वरुप प्राप्त भई हालसम्म प्रयोगविहीन विभिन्न प्रकृतिका ९५ वटा सवारी साधन दर्ता प्रक्रियामा अघि बढाइएको जानकारी दिइयो ।

विगतमा कोभिड–१९ को व्यवस्थापन गर्ने उद्देश्यले सरकारको निर्णयअनुसार विभिन्न सात स्थानमा सेनाद्वारा निर्माण भएका होल्डिङ सेन्टरको आगामी दिनका व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने लगायतका काम भइरहेको पनि बताइएको छ ।

राष्ट्रियसेवा दल सम्बन्धित विधेयकको मस्यौदालगायत सैनिक सेवा नियमावलीमा संशोधन गर्ने मस्यौदा तयार गर्ने, नेपाली सेनामा मानार्थ बढुवा र विशेष बढुवासम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास निर्माण समिति गठन आदेशको म्याद एक वर्ष बढाउनेलगायतका काम यस अवधिमा सम्पन्न भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

त्यस अवसरमा रक्षामन्त्रालयका सचिव किरणराज अर्याल र नेपाली सेनाका वलाधिकृत रथी अशोक सिग्देललगायत सहभागी हुनुहुन्थ्यो ।

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, ३२ जेठ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आज निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बाबजुद उत्कृष्ट कार्यसम्पादन गर्दै आएका ट्राफिक प्रहरीलाई पनि प्रविधिको उपयोगले थप सहज बनाउने बताउनुभयो ।

उहाँले प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन र आफ्नो कामप्रति जवाफदेही हुन निर्देशन दिनुभयो । गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरीले प्रचलित कानुन कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । “ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले ट्रापिक जाँचलाई अझ प्रभावकारी बनाइ लागुपदार्थ सेवन (लापसे), मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोला”, उहाँले भन्नुभयो ।

कार्यसम्पादनका क्रममा फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले प्रतिकूल अवस्थाका बाबजुद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले ट्राफिक प्रहरीले भोग्नुपरेका समस्या निराकरणका लागि मन्त्रालय सदैव कटिबद्ध रहेको बताउनुभयो । ट्राफिक प्रहरीले सडकमा खटिँदा विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकामा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने उहाँको भनाइ छ । “ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले ट्राफिक व्यवस्थापनलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो ।

देशमा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैनः अध्यक्ष यादव

जनकपुरधाम, ३२ जेठ : जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताउनुभएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपश्चात आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताउनुभयो ।

उहाँले पार्टीको महाधिवेशन राज्यमा सबैको पहुँच, समान व्यवहार तथा अधिकार स्थापित गर्न र मुलुकलाई थप समावेशी बनाउन महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । “शोषित, पीडित तथा पिछडिएका समुदायको सहयोगमा हाम्रो पार्टी अहिलेसम्म विभिन्न दबाबलाई चिर्न सफल भएको छ । यस महाधिवेशनबाट पार्टीलाई थप सशक्त, जागरुक तथा बलियो बनाएको छ । यहाँहरूको साथले हामी थप सफलता हासिल गर्दै जाने विश्वास जागेको छ”, उहाँको भनाइ थियो ।

जनकपुरमा सम्पन्न एकता महाधिवेशन अत्यन्त सफल भएको उल्लेख गर्दै उहाँले महाधिवेशन असफल बनाउन केही शक्तिले पार्टी फुटाएको तर त्यसबाट केही फरक नपरेको उहाँले जिकीर गर्नुभयो । “यसलाई पार्टी फुट्नुभन्दा पनि केही व्यक्ति चोइटिएर गएको भनेर बुझ्न आवश्यक छ, त्यस्ता व्यक्ति जनताको हितमा कामगर्न नसक्ने र पदको लोभमा जीवन बिताउन बाध्य हुनेछन्”, उहाँको आरोप लगाउनुभयो । अध्यक्ष यादवले महाधिवेशनले दिएको जिम्मेवारीअनुसार चाँडै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेसमेत बताउनुभयो ।

पार्टी महाधिवेशनमा मुलुकका विभिन्न भागबाट तथा भारतलगायत विभिन्न मुलुकबाट पर्यवेक्षक तथा पार्टी नेता एवम् प्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागिता रहेको त्यसअवसरमा जानकारी दिइयो ।

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम

काठमाडौँ, ३२ जेठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री अधिकारीले भूमि व्यवस्थातर्फ ६१, सहकारीतर्फ ३२ र गरिबी निवारणतर्फ आठवटा गरी एक सय एक कामको प्रगति हासिल भएको विवरण सार्वजनिक गर्नुभएको हो । त्यस्तै, मन्त्रालयले आगामी दिनमा गर्ने विभिन्न १६ वटा योजना पनि मन्त्री अधिकारीले प्रस्तुत गर्नुभयो ।

ऐन कानुन निर्माण, अनाधिकृतरुपमा प्रयोग भएका र अनुचित ढङ्गले कब्जा गरिएको सरकारी जग्गा फिर्ता, मालपोत नापी तथा सहकारी कार्यालयको कार्यसम्पादनमा चुस्तता, सहकारी क्षेत्रमा देखिएका समस्याको ठोस समाधानका लागि मन्त्रालयबाट भएका पहलकदमीलगायत कामलाई मन्त्री अधिकारीले आफ्नो एक सय दिनका उपलब्धिमा राख्नुभएको छ ।

सङ्घीय भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८१ जारी गरी भूउपयोग क्षेत्रको वर्गीकरणमा हुँदै आएको त्रुटि हटाउने काम गरेको, बाँसबारी छाला जुत्ता कारखानाको करिब १० रोपनी जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याएको तथा देशका विभिन्न स्थानमा अनाधिकृत रुपमा प्रयोग भएका जग्गाहरु सरकारको नाममा ल्याउने काम सुरु भएको सहकारीमन्त्री अधिकारीले जानकारी दिनुभयो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनको कार्यले अपेक्षित रुपमा गति लिन नसकेपछि राष्ट्रिय भूमि आयोग विघटन गरी नयाँ रुपले जान खोजेको भए पनि सर्वोच्च अदालतको आदेशले यथास्थितिमा राख्नुपर्ने अवस्था आएको मन्त्री अधिकारीको भनाइ छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिँदै गएको समस्या समाधानको विषयलाई पनि सरकार र मन्त्रालयले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ । सहकारी समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने, कर्जा असुली न्यायधिकरण स्थापना गर्ने, बचत तथा क्रण कर्जा सुरक्षण कोष स्थापना गर्ने, सहकारी समस्याको दीर्घकालीन समस्या समाधानका लागि नियामक निकायको स्थापनालगायतको काम सुरु भइसकेको सहकारीमन्त्री अधिकारीले बताउनुभयो ।

समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने स्थिति सिर्जना गर्नका लागि तीनवटै तहका सरकार र मातहतका निकायहरुले समन्वयात्मक रुपमा काम गरिरहेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लैजानेगरी मन्त्रालयले योजना बनाएको पनि उहाँको भनाइ छ ।

सङ्घीय भूउपयोग योजनाको आधारपत्रको मस्यौदा तयार पारेको, भूमि समस्या समाधान आयोग गठन आदेशको मस्यौदा तयार पारेको, भौगोलिक सूचना पूर्वाधार नीति, २०८१ को मस्यौदा तयार गरिएको, एकीकृत भूमि विधेयकको प्रारम्भिक मस्यौदा तयार पारिएको, छुट जग्गा दर्तासम्बन्धी कामलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लगिएकोलगायतका काम मन्त्रालयबाट भएको अधिकारीको बताउनुभयो ।

त्यस्तै, नापनक्सा तथा जग्गा दर्ता गर्दा उत्पन्न समस्या समाधानका लागि जग्गा (नापजाँच) ऐन, २०१९ लाई प्रतिस्थापन गर्नेगरी भूसर्वेक्षण ऐन २०८१ को मस्यौदा तयार पारिएको मन्त्रालयले जनाएको छ । गुठी विधेयकको मस्यौदा तयार गर्न गुठी प्रशासकको संयोजकत्वमा कार्यदल गठन भएको, एकीकृत भूमि विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिएको, भूमि व्यवस्थापन तथा मालपोतमा एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्नका लागि कानुनी र संस्थागत परिमार्जनका लागि अवधारणा तयार गरी कार्यान्वयनको चरणमा रहेको मन्त्री अधिकारीको प्रगति विवरणमा उल्लेख छ । आफूले मन्त्रालय सम्हालेको एक सय दिन अवधिमा दुई हजार चार सय १६ जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइएको पनि प्रगति विवरणमा उल्लेख छ ।

पछिल्लो एक सय दिनमा थप दुईवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व फरफारक गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको जनाइएको छ । हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचत मागदाबी निवेदनको सङ्ख्या ५९ हजार पाँच सय ८७ र ती निवेदनबाट देखिएको रु ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको पनि सहकारीमन्त्री अधिकारीको कार्यप्रगति विवरणमा उल्लेख छ ।

सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने कार्यको प्रारम्भ भएको र दीर्घकालसम्मका लागि समस्या समाधान गर्ने निकायका रुपमा प्राधिकरण गठनको तयारी भइरहेको सहकारीमन्त्री अधिकारीले बताउनुभयो ।

परिचयपत्र वितरण गर्ने प्रयोजनका लागि विगतदेखि रोकिएको विभिन्न १५ जिल्लाका गरिब परिवारको अन्तिम सूची स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भएको जनाइएको छ । त्यस्तै, गरिब परिवारसम्बन्धी तथ्याङ्क सङ्कलन एवं प्रशोधन हुन बाँकी १३ वटा जिल्लाबाट सङ्कलित तथ्याङ्क प्रशोधनको काम सुरु गरिएको छ ।

सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधिकरणजस्ता संरचनाहरु गठन गर्ने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने योजना सहकारीमन्त्री अधिकारीको भनाइ छ । त्यस्तै, सहकारी सङ्घ संस्थाको सम्पूर्ण विवरण झल्किने गरी स्वेतपत्रको ढाँचा तयार गरी सबै सहकारी सङ्घसंस्थालाई १५ दिनभित्र श्वेतपत्र जारी गर्न निर्देशन दिइएको छ ।

कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख

मोरङ, ३२ जेठ : कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारलाई रु ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोेकेको छ ।

आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले दोस्रो आवधिक योजनाअन्तर्गत पहिलो वर्षका लागि उक्त सिलिङ तोकिएको जानकारी दिनुभयो । उहाँले गत वर्ष रु चार अर्ब ५८ करोड राजस्व सङ्कलन भएकामा यस वर्ष हालसम्म रु चार अर्ब ५७ लाख मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

उपाध्यक्ष अधिकारीले सरकारको आगामी आवको बजेटको प्राथमिकीकरणमा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारी निरुत्साहित, औद्योगिक उत्पादन वृद्धिका लागि लगानीको व्यवस्था, प्राविधिक शिक्षा, स्वास्थ्य उपचारलगायत रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले भोलि असार १ गते प्रस्तुत गर्ने बजेटमा कृषि उत्पादन तथा उद्यमशीलताका लागि ब्याज अनुदान दिने र आधुनिक कृषि औजार खरिदमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन कृषि तथा सेवा उद्योग स्थापनामा ब्याज अनुदान दिने व्यवस्था गरेको छ । पहाडी तथा हिमाली भेगका विद्यालहरुमा प्राविधिक शिक्षाका लागि सामुदायिक विद्यालयलाई विशेष अनुदान दिने, हिमाली तथा पहाडी जिल्लाका अस्पतालहरुलाई सुविधा सम्पत्र बनाउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र उपकरकणको व्यवस्था गरी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरिने विषय आगामी बजेटमा प्राथमिकता राख्ने बताइएको छ ।

प्रदेशको भौतिक विकास सडक, भवन, सञ्चार, विद्युत्, पानी र सरसफाइका क्षेत्रमा लगानी वृद्धि गर्दै जाने र सार्वजनिक सेवालाई नागरिक मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा उपलब्ध खनिज पदार्थको आवश्यक अनुसन्धान गर्नाका साथै उत्खननमा जोड दिइने भनिएको छ । गाँजाखेतीलाई वैधानिकता दिने सम्बन्ध विभित्र कानुनी बाधा अड्चनलाई फुकाउने कार्य गर्ने र यसलाई उच्च मूल्यको बालीका रुपमा ‘ब्रान्डिङ’ गर्दै जाने कोशी प्रदेश सरकारको नीति रहेको छ ।

पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न र तराईका नागरिकलाई पहाडतर्फ आकर्षित गर्न नागरिक आवास अनुदान, निःशुल्क शिक्षा कार्यक्रम लागू गर्ने सरकारको नीतिमा उल्लेख छ । प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेखित कार्यहरु यसै वर्ष पूरा गरिने छभने आवधिक योजनाका कार्यहरु आगामी पाँच वर्षभित्र पूरा गर्ने आयोगका उपाध्यक्ष डा अधिकारीले बताउनुभयो ।

सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भइसकेको छ । बजेटको आकार विगतभन्दा केही कम भए पनि आम नागरिकको चाहना र आवश्यकता पूर्ति गर्नमा फलदायी हुने विश्वास लिइएको छ ।

पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ – प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् । 


अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताएका हुन् ।


“विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ”, प्रधानमन्त्री दाहालले भने, “मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।” उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदैे एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए । 


“हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ । पार्टी क्रमशः बलियो हुँदै गएको छ”, अध्यक्ष प्रचण्डले भने, “हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।” 


पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताए ।


माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, “कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।”


आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको भन्दै माओवादी अध्यक्ष दाहालले माओवादी नेतृत्वप्रति जनताको भरोसा रहेको बताए । उनले भने, “माओवादीलाई अपदस्त गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन । अहिले पनि नेतृत्व हाम्रो नै छ ।”


सामाजिक सञ्जालमा धेरैखालका सामग्री आउने र त्यसमध्ये कतिपय भ्रामक हुने गरेको उल्लेख गर्दै तथ्यमा आधारित भएर उच्च मनोवलका साथ काम गर्न निर्देशन दिए । उनले भने, “तथ्यगत रूपमा हामी नै देशको नेतृत्वमा छौँ ।” 

म्याग्दीमा छ करोड लागतमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर (म्याग्दी), ३२ जेठः जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ ।

परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष जिल्लामा रु पाँच करोड ९७ लाख ५२ हजारको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै रु तीन करोड खायन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले राससलाई जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत जौँ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चारवटा कृषि समूहमार्फत रु १० लाख खर्चेर विविध कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत रु ३० लाख लगानीमा २० हेक्टर जमिनमा २६ जना किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ ।

फलफूल नर्सरी स्थापना गर्न रु २० लाखमा बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाका दुईवटा कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । सुन्तलाको उत्पादन बढाउन रु १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ । यस वर्ष विनियोजित रु १५ लाखको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा दुई सय रोपनीमा मकै लगाइएको छ । कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ ।

एक हजार सात सय ५० रोपनीमा आलुखेती विस्तार

गलेश्वर (म्याग्दी), ३२ जेठः जिल्लामा यस वर्ष एक हजार सात सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आठ सय रोपनीमा हिउँदे आलु र नौ सय ५० रोपनीमा बर्खे आलु गरी एक हजार सात सय ५० रोपनी जग्गामा खायन प्रजातिको आलुखेती विस्तार गरिएको हो ।

हिउँदे आलुखेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत आठ सय रोपनीमा आलुखेती विस्तार गरिएको थियो । यसैगरी खायन प्रजातिकै बर्खे आलुखेतीतर्फ १५ वटा कृषक समूहमार्फत नौ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र बर्खेतर्फ बेनीसहित रघुगङ्गा र धवलागिरि गाउँपालिका छन् ।

आलु तथा बेमौसमी तरकारीखेती प्रवर्द्धन कार्यक्रमका लागि रु २८ लाखको लागतमा १७ वटा फार्मलाई छनोट गरिएको छ । मसला तथा निर्यातयोग्य बाली अदुवा र बेसार उत्पादन गर्न मङ्गला गाउँपालिकाको बरजामा कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ ।

आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।

विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विश्वकप क्रिकेटः बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ- आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ ।वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा समेटियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए ।

बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडेभने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुई दुई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए ।

यो जितसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशको तीन खेलमा चार अङ्क जोडेको छ । नेदरल्याण्ड्सको तीन खेलमा दुई अङ्क रहेको छ । त्यस्तै नेपालको दुई खेलमा एक अङ्क रहेको छ । श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ । नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ । दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ ।

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिनुभयो । “ आर्थिक वर्ष २०६४÷६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो”, उहाँले भन्नुभयो “आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौँ ।”

चालु आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र बेनी नगरपालिकाले रु ३० लाख विनियोजन गरेको रकमबाट महारानीथान–छापा–डाँडाखेत सडक स्तरोन्नति भएको हो । यो सडकको चार सय मिटर नाली निर्माण चार सय ५२ मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय ३० मिटर ढलान भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले राससलाई जानकारी दिनुभयो । बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगरप्रमुख सुरत केसीले बताउनुभएको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

वाग्मती-मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले राससलाई जानकारी दिनुभयो ।

मधेस प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

धनुषा- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेशसभाका सदस्यहरुले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता गर्नुभयो । उहाँले मधेस प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने हुँदा काम गर्ने वातावरण बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

यसअघि नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउतले निर्णायार्थ पेश गर्नुभएको थियो । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो । गत मङ्गलवार मधेस प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ

काठमाडौँ- भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आज उक्त उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई सफाइ दिने निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरुमाथि उद्योगमा अनावश्यक सामग्री खरिद गरेको आरोपमा रु २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो । सोही विवादमा निजहरुलाई अदालतले सफाई दिएको हो ।

मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त

धनुषा- मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त हुनुभएको छ । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायधिवक्तामा महतोलाई नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका-६ स्थायी ठेगाना भएका महतोलाई जेठ ३० गते मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।यसअघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहनुभएको वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिनुभएको थियो । सरकार फेरिएपछि ठाकुरले पदबाट राजीनामा दिनुभएको हो ।

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु

दमौली (तनहुँ), ३२ जेठ : तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो ।

व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो ।

उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलाई जोड्नेछ ।

आगामी तीन दिन मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी,सावधानी अपनाउन आग्रह

काठमाडौँ, ३२ जेठः जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना रहेको विशेष बुलेटिनमा जनाइएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, ) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ । साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।

ताप्लेजुङको खेजिनिममा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

फुङ्लिङ (ताप्लेजुङ), ३२ जेठः जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवलपरासीमा ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला

मध्यविन्दु (नवलपरासी), ३१ जेठ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । बिहीबारसाँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता हुनुभएको थियो ।

बेपत्ता हुनुभएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।  

माटोले पुरिएर कावासोती नगरपालिका– ५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र  २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो । चमेली दर्लामीकोसमेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनैजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।  ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विपद् प्रतिकार्यमा प्रदेश सरकारले पहलकदमी लिन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले पहलकदमी लिने बताउनुभएको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले मनसुन पूर्व विपद् प्रतिकार्य तयारीका लागि सबै विषयगत क्षेत्र तथा सरोकारवालालाई तयार रहन निर्देशन दिनुभयो । “ कर्णाली भूगोलका हिसाबले जोखिम छ”, उहाँले भन्नुभयो, “हाम्रै बलबुतामा काम गर्नुपर्छ । विपद्मा हामी सबै एक ठाउँमा आउनुपर्दछ ।”

आपत परेपछि मात्र विपद् जोखिम प्रतिकार्यका बारेमा सोच्ने तर अरु बेला योजना बनाउनमै रमाउने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले विपद्मा बिगतका अभ्यासलाई सिकाइका रुपमा लिएर आइपर्ने समस्या र चुनौतीसँग जुध्ने क्षमता निर्माण गर्नुपर्ने बताउनुभयो । रु एक करोड बजेट छुट्याएर सामग्री बिनाको गोदाम बनाउने कार्यलाई निरुत्साहित गरी राहत वितरणको तरिकालाई आगामी दिनमा न्यायोचित बनाइने उहाँको भनाइ छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘कर्णाली प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ र ‘कर्णाली प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ स्वीकृत गरी कार्यान्वयन गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापनमा कर्णाली प्रदेशमा क्रियाशील विभिन्न साझेदार संस्थाहरुलाई विषयगत समूहहरुसँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग पु-याउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

विपद्का समयमा र विपद्पश्चात् विद्युत्, टेलिफोन, दमकल, खानेपानी, स्वास्थ्य उपचार, एम्बुलेन्स जस्ता अनिवार्य सेवाको सुनिश्चिता हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नेलगायतका आठ बुँदे निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रमुख रोकायले बैठकमा प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वको तयारी, विपद्सँग सम्बन्धित विषयगत समूहको सक्रियतालगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो । बैठकमा नौ विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका बारेमा जानकारी दिएका थिए । उनीहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका लागि चाहिने तालिम प्राप्त जनशक्ति, त्यसमा व्यवस्थापन गर्नुपर्ने बजेट र खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।

डढेलो नियन्त्रणलगायत काममा लाग्न तीनै तहका सरकारलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, ३१ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको जोखिमबाट बच्न डढेलो नियन्त्रणलगायतका काममा हरेक व्यक्ति, समुदाय, तीनै तहका सरकार र सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।

मेची महाकाली मिडिया सोसाइटी र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा ‘२१औँ शताब्दीमा जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव र पत्रकारको दायित्व’ विषयक गोष्ठीमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट सामाजिक–आर्थिक विकास, जैविक विविधता, कृषि तथा पर्यटन विकासआदि क्षेत्रमा समेत नकारात्मक असर पर्दै गएको उल्लेख गर्नुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भएको भारी वर्षाका कारण भएको भौतिक क्षतिका साथै उच्च पहाडी भेकस्थित मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजार ध्वस्त भएको घटनालाई उदाहरणका रूपमा लिन सकिनेउहाँको भनाइ थियो । उहाँले जलवायु परिवर्तनका कारण हिउँ पग्लेर हाम्रा हिमाल कालापत्थरमा परिणत हुने, हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा बाढी, पहिरो र सुक्खा खडेरी तथा तराई–मधेसमा बाढी तथा डुबानका घटना अस्वाभाविकरूपमा देखिन थालेको बताउनुभयो ।

उहाँले भूमि, पानी, वनस्पति र जैविक  विविधतालगायत प्रकृति र प्राकृतिक स्रोतहरूको संरक्षण एवं व्यवस्थापन गर्ने समान उद्देश्य बोकेका संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले जलवायु अनुकूलन तथा वातावरण संरक्षणका क्षेत्रमा आपसी समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जलवायु र पत्रकारितासम्बन्धी विज्ञहरुले कार्बन उत्सर्जनमा नेपाल न्यून योगदान भए पनि जलवायु परिवर्तनको दृष्टिले नेपाल चौथो जोखिमयुक्त मुलुकमा परेकाले यस मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए । उहाँहरुले पानीका स्रोतहरू सुक्ने, वन डढेलो लाग्ने तथा नयाँ रोगको प्रकोपमा वृद्धि जस्ता नकारात्मक असर देखा परिरहेकामा चिन्ता व्यक्त गर्नुभएको थियो । 

कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनले प्राकृतिक विपद्मा वृद्धि भई राष्ट्रिय उत्पादन र मानवीय जीवनमै प्रतिकूल असर पर्ने भएकाले यसको रोकथामका लागि नीतिगत प्रबन्ध गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सोसाइटीका अध्यक्ष माधव शर्मा, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्षद्वय तीर्थ कोइराला र अर्जुन ढकाल, पत्रकार निर्मला शर्मा, पत्रकार दुर्गा भण्डारीलगायतले जलवायु परिवर्तनका मुद्दालाई सञ्चारक्षेत्रले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

डाँडापारि क्षेत्रलाई काभ्रेको कर्णाली भनिरहनु पर्दैैनः मन्त्री बस्नेत

धुलिखेल (काभ्रेपलाञ्चोक), ३१ जेठ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिति नरहने अवस्था बनाउने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–१ र ८ को सिमाना सोला भञ्ज्याङमा आज पूर्ण विद्युतीकरण घोषणा कार्यक्रममा उहाँले महाभारतलाई पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिसकेको र खानीखोलाई चाँडै घोषणा गरिने बताउनुभयो । 

विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्र गतिमा भइरहेकाले अब डाँडापारि कर्णाली जस्तो अवस्थामा नरहने उहाँको भनाइ थियो । त्यससँगै अब प्राथमिकताका साथ सिँचाइ र तटबन्धको काममा ध्यान दिने उहाँले बताउनुभयो । “अब हामीले यहाँको नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्नका निम्ति प्राथमिकताका साथ अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । 

मन्त्री बस्नेतले विकासका काममा जनप्रतिनिधिलाई मात्रै जिम्मा लगाएर नपुग्ने बताउँदै आर्थिक, सामाजिक विकास र प्रगतिका लागि सकारात्मक भूमिका खेलेर सहयोग गर्न आमनागरिकलाई आग्रह गर्नुभएको छ ।

उहाँले काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमानमा रहेको कोखाजोर खोलामा जलाशययुक्त आयोजनालाई अगाडि बढाउनका लागि सरकारले प्रक्रिया थालनी गरिसकेको जानकारी दिनुभयो । सो आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको र इआईएको काम पूरा भइसकेको बताउनुभयो र 

सांसद सूर्यमान दोङले डाँडापारि क्षेत्रमा विद्युतीकरण सम्पन्न गर्न सहयोग गर्ने सबै बधाईको पात्र भएको बताउँदै सो क्षेत्रको थप पूर्वाधार विकासको काममा निरन्तर लागिरहेको बताउनुभयो । सो क्रममा जनमुक्ति मार्ग आगामी २०८४ सालसम्ममा कालोपत्र गरिसक्ने बताउँदै बाँकी रहेका कोखाजोर जलायशयुक्त आयोजनाले विस्तारै साथर्कता पाउने उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानी सबै विद्युतीकरणमा नै लगानी भएको बताउनुभयो । हालसम्म ५० वटा जिल्लामा पूर्ण विद्युतीकरण भइरहेको र बाँकी जिल्लामा विस्तारका लागि निरन्तर काम भइरहेको उहाँको भनाइ थियो । आफू अघिल्लो पटक कार्यकारी निर्देशक भएका बेलामा ३० प्रतिशत मात्रै विद्युतीकरण भएकामा अहिले सम्पन्न गर्ने चरणमा रहेको उहाँले बताउनुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पूर्ण विद्युतीकरण भइसकेको र जनमुक्तिमार्ग निर्माण सम्पन्नपछि डाँडापारिका नागरिकले थप सहजता पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत घिमिरेले नेपाल विद्युतीकरण र काभ्रे–मकवानपुर–रामेछाप–सिन्धुली ग्रामीण विद्युतीकरण आयोजनको रु १० करोड र विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित ग्रिड सोलार इफिसियन्सी आयोजना र काभ्रे वितरण केन्द्रको रु ४० करोड गरी कूल ५० करोड लागतमा महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा गर्न सफल भएको बताउनुभयो । 

त्यसका लागि ११ केभीको ६५ किलोमिटर विद्युत् लाइन विस्तार गरेको, कम क्षमताको तीन सय किमी लाइन विस्तार तथा ४० वटा वितरण ट्रन्सफर्मर वितरण गरेको उहाँले जानकारी दिनुभयो । 

महाभारत गाउँपालिका अध्यक्ष कान्तालाल जिम्बाले नेपाल विद्युत् प्राधिकरणले विगत पाँच वर्षदेखि महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका बस्तीमा तीन हजार चार सय ३० घरधुरीमा विद्युत् मिटर वितरण गरी लाइन प्रसारणको काम सम्पन्न भएपछि आज पूर्ण विद्युतीकरण पालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।