`

४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जनाले मात्रै पास गरे लिखित परीक्षा

  काठमाडौँ, ३१ जेठ : न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण हुनुभएको हो । खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण हुनुभएको छ भने आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चार जना हुनुहुन्छ ।

आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण हुनुभएको छ । न्याय सेवा आयोगको आज बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ । आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेसी दुई, दलित एक र अपाङ्ग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो ।

उद्योगमन्त्री भण्डारीका सय दिनः एक सय एक कार्यप्रगति सार्वजनिक

काठमाडौँ, ३१ जेठ ः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो कार्यकाल सम्हालेका एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।उहाँले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न आठ कानुन समावेश गरिएका केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा पेस गरिएको लगायतका एक सय एक काम सार्वजनिक गर्नुभएको हो ।

उहाँले नवप्रवर्तनकारी एवं सृजनशील सोचमार्फत उद्यमशीलता विकास गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस गरिएकामा प्रतिनिधिसभामा छलफलका क्रममा रहेको, प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ र एजेन्सी (संशोधन र एकीकरण) नियम, २०१९ लगायत विभिन्न कानुन संशोधन तथा निर्माण गरिएको जनाउनुभएको छ । 

यस्तै मन्त्री भण्डारीले द्विपक्षीय लगानी सम्झौताको नमुना ढाँचा स्वीकृत गरिएको, नेपाली उत्पादन र उपभोग अभिवृद्धि गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनमा ल्याइएको, भूकम्पीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकार र चीन सरकारबीच हुने समझदारी पत्र स्वीकृत गरिएको तथा स्थानीय तहमार्फत सीप विकास एवं प्रविधि हस्तान्तरणका कार्यक्रम कार्यान्वयन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ ।

यसैगरी हलाल फुड्स र स्पोर्टस् फुटवेयरको नेपाल गुणस्तर मापदण्ड तयार गरिएको, ह्युम पाइप, पावर टिलर, मिनी टिलर, सेफ्टी ग्लासलगायतका वस्तुको नेपाल गुणस्तर मापदण्डको मस्यौदा तयार गरिएको तथा लघु, घरेलु साना उद्योग नीति स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी गराउनुभयो । 

स्टार्टअपलाई सहयोग गर्न व्यवसाय सम्वद्र्धन केन्द्र (इन्क्यूवेशन) सञ्चालन कार्यविधिको मस्यौदा गरिएको, औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधिको मस्यौदा तयार गरिएको, औद्योगिक बौद्धिक सम्पत्ति कानुनको मस्यौदा तयार गरिएको, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट स्तरोन्नति भएका उद्योगलाई सहयोग गर्न सञ्चालन गरिएको ग्रोथ मोडल कार्यक्रम सञ्चालन कार्यविधिको मस्यौदा तर्जुमा गरिएको जनाइएको छ ।

मन्त्री भण्डारीले नौ वटा रुग्ण सार्वजनिक संस्थानको सञ्चालनका विकल्प पहिचान गरिएको, उपभोक्ता अधिकारको संरक्षण र सम्वद्र्धन गर्न तथा उपभोक्तालाई प्राप्त हकको न्यायिक उपचारका लागि उपभोक्ता अदालत गठन गर्न प्रक्रिया अगाडि बढाइएको, दुर्गम जिल्लाका तोकिएका विभिन्न स्थानमा आम उपभोक्तालाई दैनिक उपभोग्य खाद्य वस्तु सहज रूपमा उपलब्ध गराउन स्वीकृत वार्षिक कार्यक्रम बमोजिम खाद्यान्न (चामल) तथा आयोडिनयुक्त नुनको आपूर्ति नियमित एवं व्यवस्थित रूपमा भएको जानकारी दिनुभयो ।

यस्तै रैथाने बाली प्रवद्र्धधनका लागि कागुनो, चिनो, उवा, फापर, कोदो, जौँ, भटमास, मास, कालो सिमीलगायतका रैथाने खाद्यान्नको संरक्षण तथा सम्वद्र्धन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत नौ स्थानीय तहसँग खरिद सम्झौता गरी बिक्री वितरण भइरहेको, मनसुनजन्य विपद् तथा चाडबाडमा हुने खाद्यान्नको उच्च मागलाई सम्बोधन गर्दै आपूर्ति शृङ्खलालाई निरन्तरता दिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग चिनीलगायत खाद्यान्नको आयातमा सहजीकरणका लागि कूटनीतिक पहल गरिएको जनाइएको छ ।

मन्त्री भण्डारीका अनुसार न्यूनतम छ महिनाको माग धान्न सक्नेगरी नुनको भण्डारण गर्ने व्यवस्था मिलाइएको, राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्यान्न बैङ्कमा आवश्यक मात्रामा खाद्यान्न सञ्चय गर्ने व्यवस्था मिलाइएको, उद्योगमा ऊर्जा तथा गुणस्तर व्यवस्थापनसम्बन्धी असल अभ्यास लागू गर्न तीन उद्योगमा तालिम प्रदान गरिएको, दैजी औद्योगिक क्षेत्रको लागि वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी कार्यका लागि र नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्यका लागि निकायगत समन्वय भएको छ ।

यस्तै लामो समयदेखि सञ्चालनमा आउन नसकेको बुटवल औद्योगिक क्षेत्रस्थित पशु वधशाला सञ्चालनमा आएको, विशेष आर्थिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न प्लट अनुमति लिई कानुनले तोकेको समयावधिभित्र उद्योग स्थापना र सञ्चालन नगरेका सिमरा तथा भैरहवा विशेष आर्थिक क्षेत्रका ५१ प्लटको अनुमति पत्र खारेज गरी सिमरा विशेष आर्थिक क्षेत्रका ४१ प्लट र भैरहवा विशेष आर्थिक क्षेत्रका २४ प्लटको सूचना प्रकाशन भई मूल्याङ्कन प्रक्रियामा रहेको जनाइएको छ ।

मन्त्री भण्डारीका अनुसार सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ‘ए’ विस्तार अन्तर्गतको एक सय ७८ विगाह क्षेत्रफल र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सार्वजनिक–निजी–साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको छ । यस्तै सरकारबाट घोषित औद्योगिक ग्राममध्ये तनहुँको आबुखैरेनी औद्योगिक ग्राम सञ्चालनमा आएको जनाइएको छ ।

उहाँका अनुसार दैलेखको पेट्रोलियम अन्वेषण स्थलको पहुँच मार्गका रूपमा रहेको जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–जुम्ला सडकको दैलेखसम्मको मोड सुधारको कार्य गरिएको र धौवादी फलाम खानी पहुँच मार्ग निर्माण गरिएको छ ।

तेस्रो लगानी सम्मेलनमा दैजी इण्डष्ट्रियल पार्क, शक्तिखोर औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, फलाम, तामा र चून ढुङ्गा खानी सम्बन्धी परियोजना लगानीका लागि प्रदर्शन गरिएको, कतार, बंगलादेश लगायतका मुलुकसँग द्विपक्षीय लगानी सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको र विश्व व्यापार सङ्गठनको प्रावधान बमोजिम राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरिएको जनाइएको छ ।

यस्तै नेपाल–बङ्गलादेश सातौँ वाणिज्य सचिवस्तरीय बैठक काठमाडौँमा सम्पन्न गरि नेपालबाट निर्यात सम्भाव्यता भएका १० वस्तुमा भन्सार तथा अन्य शुल्क न्यूनीकरणका लागि बङ्गलादेश सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पहल गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

यस्तै नेपाल भारत पारवहन सन्धि पुनरावलोकनका लागि भारत सरकारलाई विराटनगर–जोगबनी र सुनौली–नौतनवा रेलमार्गमा सबै प्रकारका कार्गोलाई अनुमति दिने, बल्क कार्गोको परिभाषा विस्तार गर्ने तथा काँकडभिट्टादेखि फूलबारी (भारत) हुँदै बङ्गलादेश रुटमा तौल प्रतिबन्ध हटाउने र प्रक्रिया सरलीकरण गर्ने काम गरिएको जनाइएको छ । 

अन्तर्राष्ट्रिय व्यापार सहरीकरणका लागि नेपालगन्ज एकीकृत जाँच चौकी गत वैशाखबाट सञ्चालनमा ल्याइएको, दोधारा–चाँदनी एकीकृत जाँच चौकी निर्माणका लागि सम्पर्क निकाय तोकी निर्माणका लागि भारतीय पक्षसँग समन्वय गरिएकोलगायतका काम गरिएको मन्त्री भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार दक्षिण कोरिया र भियतनामसँग लगानी तथा व्यापार अभिवृद्धिसम्बन्धी फ्रेमवर्क समझदारी गर्ने प्रक्रिया अगाडि बढाइएको, वीरगन्ज–ठोरी, विन्दवासिनी–भिसवा र बर्दिवास–भंगाहा औद्योगिक कोरिडोरको सम्भाव्यता अध्ययन गरिएको, सिमेन्ट उद्योगबाट उत्सर्जन हुने ऊर्जाको पुनः उपयोग गर्ने सम्बन्धमा अध्ययन गरिएको, वीरगञ्ज–पथलैया खण्डमा रहेका उद्योगबाट निस्किने फोहोर पानी प्रशोधन गर्न साझा प्रशोधन केन्द्रको सम्भाव्यता अध्ययन गरिएको छ ।

मिसन-८४ मा एमाले कसैसँग मोर्चाबन्दी नगरी एक्लै चुनाव लड्छः अध्यक्ष ओली

भक्तपुर, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गर्नुभएको छ ।आज भक्तपुरमा आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उहाँले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पार्नुभयो ।

एमालेसँग वैचारिक सङ्घर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताउँदै पूर्वप्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष ओलीले चुुनावमा एक्लै जान आँट नहुनेहरुले मोर्चाबन्दी गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले कोहीसँग मोर्चाबन्दी नगरी एक्लै चुनावमा गएर बहुमत ल्याउने दाबी गर्नुभयो ।

एमाले देशको निर्णायक शक्ति बन्न खोजेकाले त्यसो हुन नदिन चाहनेले एमालेविरुद्ध मित्थ्या आरोप लगाउने गरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डो¥याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताउनुभयो ।

अध्यक्ष ओलीले अध्यक्ष ओलीले फाटो ल्याउने, विभाजन र गुटबन्दी गर्नेलाई पार्टीभित्र ठाउँ नभएको बताउनुभयो । उहाँले पार्टीभित्र आन्तरिक सङ्घर्ष गरेर नभई एकताबद्ध भएर मिसन–८४ सफल पार्न निर्वाचितहरुलाई निर्देशन दिनुभयो ।

नवलपरासीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । 

बिहीबार साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । 

माटोले पुरिएर कावासोती नगरपालिका– ५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र  २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो । चमेली दर्लामीकोसमेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनैजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उत्तर कोरियाको भ्रमणका लागि पुटिनको तयारीलाई नजिकबाट नियालिरहेको दक्षिण कोरियाको भनाइ

दक्षिण कोरियाले बिहीबार आफ्नो कट्टर शत्रु उत्तर कोरियाको सम्भावित भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तयारीलाई ‘नजिकबाट नियालिरहेको’ बताएको छ । उत्तर कोरिया र रुस दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् र सन् २०२२ मा युक्रेनमा आक्रमणपछि यी दुई मुलुकबीचको सम्बन्ध गहिरो भएको छ ।

उत्तर कोरियामाथि युक्रेनमा युद्धका लागि रुसलाई हतियार उपलब्ध गराएको आरोप लगाइएको छ । क्रेमलिनले ‘अनावश्यक’ भन्दै उक्त आरोपको खण्डन गरेको छ । पुटिनको अपेक्षित भ्रमणका लागि कुनै पनि पक्षले भ्रमण कार्यक्रमको पुष्टि गरेको छैन ।

“सरकारले राष्ट्रपति पुटिनको उत्तर कोरियाको भ्रमणको तयारीलाई नजिकबाट नियालिरहेको छ”, दक्षिण कोरियाको विदेश मन्त्रालयले भनेको छ, “रुस र उत्तर कोरियाबीचको आदान–प्रदान तथा सहयोग सुरक्षा परिषद्को प्रस्तावको पालना गर्दै कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतामा योगदान दिने तरिकाले हुनुपर्छ ।”

क्रेमलिने गत महिना रुसी सरकारी मिडियालाई भ्रमणको ‘तयारी भइरहेको’ बताएको थियो । गत महिना पेन्टागतले एक रिपोर्टमा भग्नावशेषको विश्लेषण गर्दै रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरिरहेको बताएको थियो ।

पुटिनको अपेक्षित भ्रमणका क्रममा उत्तर कोरियाले रुसबाट खाद्यान्न र ऊर्जा आयातको बदलामा युक्रेनमा प्रयोग हुने थप युद्ध सामग्री निर्यात गर्न दबाब दिने विश्लेषकहरूले बताएका छन् । 

यसअघि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीले पुटिनको ‘केही दिनमा’ उत्तर कोरियाको भ्रमण हुने अपेक्षा गरिएको बताएका थिए । अधिकारीका अनुसार सोलमा दक्षिण कोरियाली र चिनियाँ अधिकारीहरूबीच हुने भेटघाटको समयमै पुटिनको उत्तर कोरियाको भ्रमण हुनेछ । 

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार उक्त बैठक आगामी साताको सुरुमा हुने भएको छ ।     सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका नेता किम जोङ उनले बुधबार रुससँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गर्नुभएको थियो ।  बुधबार आधिकारिक कोरियन सेन्ट्र न्युज एजेन्सी (केसिएनए) मा पुटिनलाई दिइएको सन्देशमा किमले लेख्नुभएको छ, “उत्तर कोरिया र रुसबीचको सम्बन्ध कमरेड्स–इन–आर्म्सको अटुट सम्बन्धमा विकसित भएको छ ।”

केसिएनएका अनुसार किमले दुई मुलुकबीचको ‘सार्थक’ सम्बन्धले नयाँ युगमा ‘अनन्त कोसेढुङ्गालाई थप बलियो बनाउने’ बताउनुभएको छ । किमले गत वर्ष रुसमा पुटिनसँग भेट गर्न दुर्लभ विदेश भ्रमण गर्नुभएको थियो । सो बेला उहाँले मस्कोसँग उत्तर कोरियाको सम्बन्ध आफ्नो मुलुकको ‘एक नम्बर प्राथमिकता’ रहेको बताउनुभएको थियो । 

युक्रेनलाई ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ इटाली शिखर सम्मेलनमा सहमति हुने

रुसी सम्पत्तिहरूबाट भएको नाफाको प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलर ऋण प्रदान गर्न जी७ का नेताहरू सहमत भएका छन् । बिहीबार दक्षिणी इटालीमा जी७ शिखर सम्मेलनमा भेला भएका नेताहरू उक्त ऋण प्रदान गर्न सहमत भएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेन र इटाली, बेलायत, फ्रान्स, जर्मनी, क्यानाडा र जापानका नेताहरूसँग पुगलियाको लक्जरी बोर्गो इग्नाजिया रिसोर्टमा वार्ताका लागि सहभागी हुनुहुनेछ ।

एजेन्डामा सबैभन्दा माथि रुससँगको दुई वर्षभन्दा बढी समयको युद्धपछि किएभलाई रक्षा, बजेटरी सहयोग र पुनर्निर्माणमा सहयोग गर्नका लागि तत्काल ५० अर्ब डलरको ऋण प्रदान गर्ने योजना रहेको छ । पश्चिमी सहयोगीहरूद्वारा जफत गरिएको रुसी केन्द्रीय बैंकको तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) को ब्याजबाट हुने भविष्यको नाफाविरुद्ध ऋण सुरक्षित गरिनेछ ।

“जी७ बाट राम्रो खबर ः युक्रेनका लागि थप ५० अर्ब डलर”, जर्मन वित्तमन्त्री क्रिश्चियन लिन्डनरले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “हामी यसका लागि स्थिर सम्पत्तिबाट ब्याज प्रयोग गर्दैछौँ– एक स्मार्ट उपकरण जसले (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनलाई हाम्रो एकता देखाउँछ, युक्रेनलाई ठूलो सहयोग गर्दछ र बजेटको बोझ कम गर्दछ, अब हामी विवरणमा काम गरिरहेका छौँ ।”

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको कार्यालयले बुधबार यस वर्षको अन्त्यसम्म रकम उपलब्ध गराउने सम्झौता भएको बताएको थियो । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बिहीबार भन्नुभयो, “हामी यहाँ राम्रो नतिजाको सङ्घारमा छौँ ।” उहाँले अझै पनि थप विवरण बाहिर निकाल्न आवश्यक रहेको बताउनुभयो ।

आफ्नो आगमनअघि जेलेन्स्कीले शिखर सम्मेलनमा ‘महत्त्वपूर्ण निर्णय’ को आशा गरेको बताउनुभयो । उहाँले पुगलियामा जापान र अमेरिकासँग थप दुई सम्झौतामा हस्ताक्षर गर्ने पनि बताउनुभयो । सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि जी७ का मुलुकहरू युक्रेनको प्रमुख सैन्य र वित्तीय समर्थक भएका छन् ।

गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक

नारायणगढ, ३१ जेठ : जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो ।

डा पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्यावश्यक बिरामीका लागि रगत अभाव देखिएको जानकारी दिनुभयो ।  उहाँले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रक्तदाताले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्ठ्यारो पर्ने होकी भन्ने सोचाइले रक्तदान गर्न डराएको भन्ने भान परेको छ । रगत सङ्कलन नहुँदा अभाव भएको हामीले बुझेका छौँ ।” 

 रक्तदानअति महत्वपूर्ण भएको भन्दै उहाँले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गर्नुभयो । कुनै रोग विशेषका कारणबाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा पौडेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, “जटिल प्रकारका रोगबाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ । महिलामा विशेष परिस्थिति हुन्छ, जस्तै महिनावारी, गर्भवती, सुत्केरी एवं स्तनपान गराउनेबाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दीर्घरोग वा अन्य विशेष परिस्थितिमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो ।”

नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भन्नुभयो, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन ।” एक स्वस्थ व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने उहाँको भनाइ छ । उहाँले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महसुस गर्ने,  रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गर्नुभयो । कमजोरी हुन्छु की, प्रेसर घट्छ की भन्ने कुरा मनैबाट हटाएर उहाँले मिल्ने जतिले रक्तदान गर्न अनुरोध गर्नुभयो । 

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

काठमाडौँ, ३१ जेठ : वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका-१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाले कम्तीमा पनि एक हजारभन्दा धेरै व्यक्तिहरुबाट रु दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएकाले हामीले पक्राउ गरेका छौँ ।”

रेशम रावलले काठमाडौँ कोटेश्वर र तिनकुनेमा सञ्चालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्सबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिसामा पठाउने भन्दै गैरकानूनी रुपमा कागजात, रकम सङ्कलन गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी जिसीले बताउनुभयो ।

प्रहरीले उक्त कन्सलटेन्सीबाट दुई सय २० थान राहदानी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुले विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न देशमा आकर्षक तलब भत्ता सेवा सुविधा पाइन्छ भनी झुट्टा विज्ञापन प्रचारप्रसार गर्ने गरेको, पीडितको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितलाई रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी थर्काउने गरेको आरोप छ । विभिन्न होटल, कृषि फार्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजात बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सूचना अधिकारी जिसीले जानकारी दिनुभयो ।

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा, ३१ जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । आज दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचिन भइसक्नुभएको छ ।

महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको हो । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसलाई अनुमोदन हुनेछ । 

अध्यक्षबाहेकका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

एक जना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराउनुभएको थियो । यस्तै चार जना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराउनुभएको थियो । 

एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा गरी छ जनाले उम्मेदवारी दिनुभएको थियो । 

दुई सय एक पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने घोषणा अध्यक्ष यावदले गर्नुभएको थियो ।

महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताउनुभएको थियो । “चुनाव हुने हो भने हिमाल र पहाडका एक दुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ । किनकी, पार्टीको मुख्य आधार तराई–मधेस हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिङ्गको प्रतिनिधित्व हुनेगरी समावेशी बनाउन सक्छौ ?”, यादवको भनाइ थियो ।

उहाँले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताउनुभएको थियो । उहाँको प्रस्ताव थियो, “त्यसैले तपाईंहरू सहमत हुनुहुन्छ भने सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुङ््गो लगाऔँ ।”

उहाँको प्रस्तावलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो । अनि उहाँले एकसाथ उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । जसअनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । 

बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई एमाले महासचिवको आग्रह

काठमाडौँ, ३१ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको बताउनुभयो ।

“अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको देखिन्छ । लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति छ, यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्छ । त्यसले एमालेको बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रालाई पनि सघाउन सक्नेछ ।’’

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमालले साहित्यकार र कलाकारहरुले समाजलाई युगौँसम्म सकारात्मक ऊर्जा दिन सक्ने क्षमता हुने भएकाले राजनीतिक दललाई पनि स्रष्टाका रचनाले प्रेरणा मिल्ने बताउनुभयो ।

सोही पार्टीका पोलिटब्युरो सदस्य सुजिता शाक्यले आफू पञ्चायतकालमा विद्यार्थी हुँदा सांस्कृतिक अभियानमा जोडिएको सन्दर्भ उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङ्क्षामा साथ दिन स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गत वैशाख ८ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न राष्ट्रिय परिषद् सदस्यको महाधिवेशनमा कलाकर्मीले सृजनाका माध्यमबाट साथ दिएको अवगत गराउनुभयो ।  

‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता

भक्तपुर, ३१ जेठ : भाषा आयोग र ‘काठमाडौँ स्कुल अफ ल’बीच नेपालको लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन अनुसन्धान र संरक्षणका पक्षमा द्विपक्षीय सम्झौता भएको छ ।

‘काठमाडौँ स्कुल अफ ल’ मा आज आयोजित एक कार्यक्रमबीच भाषा आयोगका पदाधिकारी, प्राध्यापक तथा विद्यार्थीसहितको उपस्थितिमा द्विपक्षीय सम्झौता भएको हो । लोपोन्मुख भाषाको अनुसन्धान, संरक्षण र विकासका पक्षमा सहकार्य गर्ने उद्देश्यले आयोगका का मु सचिव डा लोकबहादुर लोप्चन र कलेजका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

शैक्षिक स्रोत, अनुसन्धानका निष्कर्ष, विज्ञता, पूर्वाधारमा साझेदारी तथा शैक्षिक अनुसन्धान प्रयोजनका लागि आवश्यक सुविधा आदानप्रदान गर्ने; एकअर्काबीचको सीप, ज्ञान प्राज्ञिक तथा व्यावसायिक अनुभव साझेदारी गरेर भाषा संरक्षणमा सहकार्य गर्ने द्विपक्षीय सम्झौता उल्लेख गरिएको छ ।

मातृभाषाका साथै विशेषगरी लोप हुन लागेका भाषाको विकास र संरक्षणमा संयुक्त प्रयास गर्ने; भाषाविज्ञान, भाषा नीति र कानुनसम्बन्धी अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्ने; परस्पररूपमा पहिचान गरिएका आपसी चासोका क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण, कार्यशाला र सम्मेलन संयुक्तरूपमा गर्ने तयारी गरिएको ‘काठमाडौँ स्कुल अफ ल’ का कार्यकारी निर्देशक प्रा डा सङ्ग्रौलाले बताउनुभयो ।

आयोगका अध्यक्ष डा गोपाल ठाकुरले सबै मातृभाषाको समान विकास गर्न अवरोध पु-याउने ऐन कानुन संशोधन गरी सबै भाषालाई समानताको अधिकार प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘काठमाडौँ स्कुल अफ ल’का कार्यकारी अध्यक्ष डा गोविन्दप्रसाद कुसुमले नेपाली भाषा संस्कृतिमाथि विभिन्न कोणबाट भइरहेको अतिक्रमण र हस्तक्षेप नियन्त्रणका लागि सरोकार भएका पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

भाषा आयोगका कामु सचिव डा लोप्चनले भाषाको संरक्षणका लागि मातृभाषा, नेपाली भाषा र अन्य भाषाको स्तरीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसका लागि प्राज्ञिक अनुसन्धानमार्फत भाषा समृद्विको राष्ट्रिय संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का

सुर्खेत, ३१ जेठः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको धारणा समेत राख्नुभयो उहाँको सचिवालयले जनाएको छ ।

“पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ”, उहाँले भन्नुभयो ।
उहाँले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई सुध्रिन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै उक्त परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको  धारणा राख्नुभयो । 

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । “उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ”, उपसभापति खड्काले भन्नुभयो, “त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।”

उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको समेत उल्लेख गर्नुभयो । उहाँले कांग्रेस अहिले मिसन–२०८१ मै रहेको बताउनुभयो । “देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन हो, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पु¥याउने भन्नेमा हामी छौँ”, उहाँले भन्नुभयो, “यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।”

पेट्रोलियम अन्वेषणस्थलको अनुगमन
उपसभापति खड्काले आजै दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषणस्थलको आज अनुगमन गर्नुभएको थियो । चीन सरकारको लगानीमा भइरहेको अन्वेषणको प्रगतिका विषयमा खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले उपसभापति खड्कालाई जानकारी गराउनुभएको थियो ।

लुइँटेलले चार हजार मिटरमध्ये हालसम्म २९६ मिटर ड्रिल सकिएको जानकारी दिनुभयो । उहाँले अहिलेनै जमिनमुनि पेट्रोलियम पदार्थ कति छ भनेर भन्न नसकिने बताउनुभएाके थियो । 

पेट्रोलिय पदार्थ अन्वेषणका लागि सन् २०२५ फेब्रुअरीसम्म म्याद थप गरिएको छ । चिनियाँ टोलीले सुरुमा दैलेखका विभिन्न २५ स्थानमा ड्रिलिङको काम गरेको थियो । त्यसपछि हालको जलजले क्षेत्रमा पेट्रोलियम भण्डारण रहेको अनुमानसहित काम सुरु गरिएको हो ।

सो क्रममा उपसभापति खड्काले पेट्रोलियम पदार्थ अन्वेषणमा तीन वटै तहका सरकारको साथ र सहयोग रहेको बताउनुभएको थियो । उहाँले अन्वेषणको हालसम्मको काम सन्तोषजनक रहेको बताउँदै तोकिएकै समयमा ड्रिलिङको काम पूरा गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट

काठमाडौँ, ३१ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताका रुपमा आमन्त्रण गर्नुभएकामा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक सरंक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

उहाँले आप्रवासी कामदारहरूको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आइएलओले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

“बढ़्दो आप्रवासी कामदारका सन्दर्भमा न्यूनतम तलब, सामाजिक सुरक्षालगायतका सुविधासहित सुरक्षित, व्यवस्थित र मर्यादित श्रमको सुनिश्चितता गर्नुपरेको छ”, पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भन्नुभयो, “विशेषगरी श्रम गन्तव्य भएका मुलुकमा कार्यगत श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न र उनीहरूलाई जिम्मेवार बनाउन आइएलओले मह्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।” 

उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनलाई नेपालको मर्यादित तथा उत्पादनमूलक श्रम र श्रमका क्षेत्रमा सुधारका लागि निरन्तर पु¥याएको सहयोग तथा सहकार्यकोसमेत स्मरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालले सामाजिक न्यायलाई विकासको केन्द्रबिन्दुमा राखेर कार्य गरिरहेको स्पष्ट पार्नुभयो । “नेपालको संविधान समानता, भेदभावरहित तथा सामाजिक न्यायको मान्यतामा निर्माण भएको हो, हाम्रो संविधानले सामाजिक न्याय, श्रमको अधिकार, पारिश्रमिक, सामाजिक सुरक्षा एवम् टे«ड युनियन अधिकार र सामूहिक सौदाबाजीलाई आत्मसात् गर्छ र प्रत्येक श्रमिकको श्रम अधिकारको सुनिश्चितता गर्छ”, पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भन्नुभयो । 

राष्ट्रपति पौडेलले नेपालले उत्पादकत्व र श्रमिकको जीवनस्तर सुधार गर्न कानुनी मानक, मापदण्डको नीति तय गरेको जानकारी दिनुभयो । उहाँले श्रमिक परीक्षण प्रणाली सुरू गरेको र यसले उद्योग तथा श्रमिक दुवैलाई कानुन पालना गराउन सहज हुने बताउनुभएको थियो । 

“नेपाल बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धनप्रति कटिबद्ध छ, बाल श्रमिकको अन्त्य, बाध्यकारी श्रम तथा बालबालिकाको बेचबिखन नियन्त्रणका विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ, हामीले श्रमिक परीक्षण प्रणालीसमेत सुरुआत गरेका छौँ, यसले उद्योगहरुमा श्रमिक कानुन पालना गराउन सहजता प्रदान गर्दछ”, उहाँले भन्नुभएको थियो ।  

नेपालले श्रमिक अधिकारलगायत छ वटा विषयगत क्षेत्रमा केन्द्रित रहेर व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्य योजना लागू गरेको बताउँदै उहाँले विधायिकी संरचना र संस्थागत व्यवस्थाको अभिवृद्धिमार्फत नेपाल सरकार अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुमोदित श्रम मापदण्डहरु (महासन्धी, प्रोटोकल तथा सिफारिसहरु) को प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको स्मरण गराउनुभएको थियो । यसै सिलसिलामा नेपालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका थप तीन वटा महासन्धी तथा प्रोटोकललाई अनुमोदनका लागि आवश्यक गृहकार्य गरिरहेको पौडेलले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा महानिर्देशक हुंग्बोले राष्ट्रपति पौडेलले आइएलओको कार्यक्रमका लागि समय दिएर यहाँ आएकामा आभार व्यक्त गर्दै पौडेलको राजनीतिक जीवन र सामाजिक न्यायप्रतिको आस्थाको प्रशंसा गर्नुभएको थियो । हुंग्बोले रोजगारी सृजना, सामाजिक सुरक्षा तथा अन्तर्राष्ट्रियस्तरको जीवनस्तरका लागि आइएलओले मर्यादित काम (डिसेन्ट वर्क)का लागि काम गरिरहेको पनि जानकारी गराउनुभएको थियो । उहाँले राष्ट्रपति पौडेलको सङ्घर्षपूर्ण राजनीतिक यात्रा र १५ वर्ष लामो जेल जीवनका लागि प्रेरित गरेका विषयबारे रूचिपूर्वक चासो राख्नुभएको थियो ।

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत

काठमाडौँ, ३१ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज यहाँ आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।” उहाँले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताउनुभयो ।

सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षात्का बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवालाई थप प्रभावकारी बनाउन आवश्यक छ, माथिल्लो निकायसँग छलफल गरेर हामी यसलाई थप प्रभावकारी बनाउन लाग्ने छौँ ।”

कार्यक्रमका अधिकांश वक्ताहरुले मौसमका विषयमा जानकारी दिनेदेखि हवाई उडानका लागि उड्डयन मौसम सेवाको थप क्षमता विकास गर्नु आजको आवश्यकता रहेको धारणा राखेका थिए ।

श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता

काठमाडौँ, ३१ जेठ : परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको सार्क सचिवालयले जनाएको छ । महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

सार्क अध्यक्ष नेपालसँगको परामर्शमा शिखर सम्मेलनलगायत अन्य उच्चस्तरीय बैठक यथाशीघ्र हुनेमा आफू विश्वस्त रहेको महासचिवले बताउनुभयो ।

सार्क क्षेत्रका जनताको आशा र आकाङ्क्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति विक्रमासिङ्घेले सार्क प्रक्रियालाई पुनरुत्थानका निम्ति थप कदम चाल्न आवश्यक भएको बताउनुभएको थियो । उहाँले कोलम्बोमा सार्क सांस्कृतिक केन्द्र स्थापनाका लागि स्थायी स्थान उपलव्ध गराउन सहमति जनाउनुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विक्रमासिङ्घेले सार्कप्रति श्रीलङ्काको प्रतिबद्धता दोहो¥याउँदै सार्क क्षेत्रमा दिगो र एकीकृत विकास हासिल गर्न तथा सङ्गठनका लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको थियो।

कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्यमा ढकाल नियुक्त

काँक्रविहार (सुर्खेत- कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख परियारले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई आज सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि सदस्य रहेका भक्तबहादुर खड्का उमेर हदले अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा भारतीय विदेशमन्त्रीलाई बधाई

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी एस जयशंकरलाई बधाई तथा शुभकामना दिनुभएको छ ।उपप्रधानमन्त्री श्रेष्ठले बुधबार भएको टेलिफोन वार्तामा जयशंकरलाई विदेश मन्त्रीमा पुनः नियुक्त हुनुभएकामा बधाई दिँदै नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे कुराकानी गर्नुभएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको हो ।

त्यसअवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक लाभकारी सहयोगलाई अझ अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताउनुभएको उल्लेख गर्नुभएको छ ।

यसैगरी भारतीय विदेश मन्त्री जयशंकरले पनि न्यानो भावनात्मक शुभकामना र बधाईका लागि उहाँलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभएको छ । विदेश मन्त्री जयशंकरले द्विपक्षीय मित्रतालाई अगाडि बढाउनका लागि मिलेर काम गर्न तत्पर रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

कलङ्की–चाबहिल सडकखण्ड चाँडो निर्माण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ-संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत र रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले आज संसद्मा सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको हो ।

काठमाडौँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदले सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव बुझाएका हुन् । नेपाल र चीन सरकारबीच चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण गर्ने सहमति भएको थियो । दुवै सरकारबीच भएको समझदारीअनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाई चक्रपथ विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारीसाधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न सङ्कल्प प्रस्तामा माग गरिएको कांग्रेस सांसद पौडेलले बताउनुभयो ।

आमनागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न चक्रपथ कलङ्की धोबीखोला–चाबहिल विस्तार अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण

भैरहवा (रुपन्देही), ३० जेठ : लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो । चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवरर््नसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ”, श्रेष्ठले भन्नुभयो, “हामी चीनसँग नेपालको पुरानो सम्बन्ध रहेकाले लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधैँ आतुर छौँ । चीनले हवाई सेवा सुरु गरे त्यो सपना साकार हुन्थ्यो भन्ने विषयमा ध्यानाकर्षण गराएका हौँ । चिनियाँ मन्त्रीबाट पनि सकारात्मक जवाफ पाएका छौँ ।” लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट नेपाल र चीनको पर्यटकीय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने श्रेष्ठले बताउनुभयो ।

त्यसअवसरमा मन्त्री रुइफेंङले चीनबाट नियमित उडान भर्ने विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले चाँडै उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो । “उहाँले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको बताउनुभएको थियो । हवाई सेवाका विषयमा पनि चीन सरकार सकारात्मक रहेको र तयारीमा जुटेको भन्ने जानकारी पाएपछि हामी उत्साहित भएका छौँ”, श्रेष्ठले रासससँग भन्नुभयो ।

दक्षिणी युक्रेनमा रुसी आक्रमणमा छ को मृत्यु, ११ घाइते

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित उहाँको गृहनगरमा रुसी आक्रमणमा छ जना मारिएको बुधबार बताउनुभएको छ । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “क्रिवी रिगमा रुसी मिसाइल आक्रमण । अहिलेसम्म छ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।”

उहाँले घटनास्थलमा आपत्कालीन सेवाहरूले लिएका भिडियो फुजेट पोस्ट गर्नुभएको छ । फुटेजमा उद्धारकर्मीहरूले भत्किएको भवनबाट धुवाँ निस्किरहेको देखाउँदै जीवितहरूलाई खोज्न भग्नावशेषमा देखाइएको छ ।

जेलेन्स्कीले आफ्नो पोस्टमा युक्रेनका सहयोगीहरूसँग रुसी हवाई आक्रमणबाट बच्नका लागि अत्याधुनिक हवाई बेट्रीहरूको आपूर्ति बढाउन आह्वान गर्नुभएको छ ।

“आधुनिक हवाई रक्षा प्रणालीले मानिसहरू, हाम्रा सहर र हाम्रो अवस्थाका लाग अधिकतम सुरक्षा प्रदान गर्दसक्छ, साथै हामीलाई सकेसम्म तिनीहरूको आवश्यकता छ ।”

टर्कीमा रोमन कालका मूर्तिहरू फेला

टर्कीका पुरातत्वविद्हरूले रोमन कालका करिब छ हजार वर्ष पुरानो ‘ज्युस र एफ्रोडाइट’ का मूर्तिहरू फेला पारेका छन् । टर्कीको एन्टाल्या सहरबाट करिब ४८ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन सहर एस्पेन्डोसमा उत्खननका क्रममा ती मूर्ति फेला परेका हुन् ।

पुरातत्वविद् तथा एस्पेन्डोस पुराताात्विक उत्खनन समूहका उपाध्यक्ष हुसेन तुल्गा गान्डरले फेला परेका मूर्तिहरू करिब ५० सेन्टिमिटर लामो रहेको बताउनुभयो । उहाँका अनुसार तिनीहरू उत्कृष्टरूपमा कोरिएका थिए र निश्चितरूपमा रोमन साम्राज्य युगको प्रारम्भमा बनाइएको थियो ।

उहाँले कागजपत्र, सफाइ र जीर्णोद्धारको काम समाप्त भएपछि मूर्तिहरूलाई एन्टाल्याको सङ्ग्रहालयमा पुर्याइने बताउनुभयो । पुरानो सहरका अन्य क्षेत्रमा पनि उत्खनन र पुरातात्विक उत्खनन जारी रहेको उहाँले बताउनुभयो । यसै वर्ष सबै स्थानमा अन्वेषण पूरा हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

चिनियाँ सांस्कृतिक मामिला प्रशासनमन्त्रीसहितको टोलीद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी, ३० जेठ : चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।

चीनको धार्मिक तथा सांस्कृतिक मन्त्रालय हेर्ने मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले स्वागत गर्नुभयो । बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताउनुभयो ।

उहाँले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिनुभयो । भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन हुनुका साथै बुद्धको सन्देश विश्वव्यापी बनाउन थप सहज हुन्थ्यो, त्यसकारण छिमेकी राष्ट्रको हिसाबले यहाँहरूले पहल गरिदिनुप¥यो । यसैगरी लुम्बिनी दर्शनका लागि चिनियाँ तीर्थयात्रुहरु यहाँ आउन सहज हुन्थ्यो”, त्यसअवसरमा उहाँले भन्नुभएको थियो ।

चिनियाँ मन्त्रीले समेत चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उपाध्यक्ष डा लामाले जानकारी दिनुभयो । “उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको र यो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको र चाँडै उडान हुने अवस्था बनाउन आफू पनि प्रतिबद्ध रहेको छु भन्नुभएको छ”, उपाध्यक्ष डा लामाले रासससँग भन्नुभयो ।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ्ग झिहुइसहितको उपस्थिति रहेको थियो । मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईलगायतको उपस्थिति थियो ।

यसैगरी मन्त्री रुईफेंङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गर्नुभयो ।

चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या

चितवन, ३० जेठ : कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ ।

कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उहाँले भन्नुभयो “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।” साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उहाँले बताउनुभयो । कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ ।

“गर्मीले कमजोरी महसुस गर्ने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो । उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख कमलनाथ आचार्यले बताउनुभयो । अन्य दीर्घरोगीको नियमित उपचार भइरहेकाले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उहाँको भनाइ छ ।

गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत चार महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ । अहिले दुईवटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला कारागार चितवनमा हाल सात सय ३४ कैदीबन्दी छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९४ जना र २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४० जना कैदीबन्दी छन् । उनीहरुसँग आश्रित दुई जना बालबालिकासमेत रहेको कार्यालयले जनाएको छ ।

अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न

अफगानिस्तानमा १९ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) को अफगानिस्तान कार्यालयले बुधबार जनाएको छ । “श्रम तथा सामाजिक मामिला मन्त्रालयले बालश्रम रोक्न र उनीहरुको परिवारलाई सहयोग गर्न पहल गरिरहेको छ ।

मन्त्रालयले अनाथ बालबालिकाका लागि तालिम केन्द्रहरू सक्रिय गरेको छ र बालबालिकालाई अन्य सहयोगका साथसाथै व्यावसायिक तालिम पनि उपलब्ध गराएको छ”, मन्त्रालयका प्रवक्ता समिउल्लाह रहिमीले भन्नुभयो । अफगानिस्तानको राजधानी काबुलको देहसाब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने अफगान बालक फोलादले सिन्ह्वालाई भन्नुभयो, “मलाई विद्यालय जान मन छ, तर म सक्दिन ।

हामी (हाम्रो परिवार) ऋणमा छौँ र म गरिबीका कारणले मेरो पढाइलाई निरन्तरता दिन सक्दिन । यदि सरकारले मेरो परिवारलाई सहयोग गर्छ भने म विद्यालय जान सक्छु र पढाइ जारी राख्न सक्छु ।” अफगानिस्तानमा चार दशकको युद्ध र चरम गरिबीले धेरै बालबालिकालाई बालश्रमका रूपमा काम गर्न वा सडकमा कार धुनेदेखि जुत्ता चम्काउनेसम्मको लागि सङ्घर्ष गर्न बाध्य पारेको छ ।

प्रधानमन्त्री कार्यालयले मन्त्रालयसँग माग्यो विधेयक अघि नबढाइनुका कारण

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण विधेयक निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा विभिन्न मन्त्रालयसँग जानकारी मागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा मन्त्रिपरिषद् कार्यालयले आज आयोजना गरेको विधेयक प्राथमिकताक्रमसम्बन्धी छलफलमा प्रधानमन्त्री कार्यालय सम्बद्ध निकायसहित २२ मन्त्रालयसँग महत्वपूर्ण विधेयक किन अघि बढेन भनी प्रश्न गरेको हो ।

प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख तथा उपसचिवको संयुक्त बैठकमा विभिन्न मन्त्रालयमा रहेका विधेयकबारे जानकारी लिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाँले चाँडो विधेयकको अङ्ग पु¥याएर मन्त्रिपरिषद्मा लैजान सुझाव दिएको बताउनुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमले सङ्घीय संसद्लाई विजनेश दिन ढिलाइ भएको भन्दै कानुन निर्माण कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लीलादेवी गड्तौलाले विधेयकलाई तदारूकताका साथ अगाडि बढाउन सम्बन्धित मन्त्रालयका सचिव एवं मन्त्रीसँग समेत छलफल गर्नुपर्ने र मुख्यसचिवको नेतृत्वमा हुने सचिवस्तरीय बैठकमा पनि यस विषयलाई गम्भीरतापूर्वक उठाइनुपर्ने बताउनुभयो ।

हाल कानुन मन्त्रालयमा छ, अर्थमा ११, प्रधानमन्त्री कार्यालयको विधेयक समितिमा चारवटा विधेयक विचाराधीन छन् । पहिलो प्राथमिकताक्रममा रहेका ६३ वटा विधयेकमध्ये करिब दुई दर्जनमात्र अन्तिम चरणमा पुगेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । गत माघ १५ गते कानुन मन्त्रालयले प्रधानमन्त्रीलाई एक सय १७ वटा विधेयकको अवस्थाका बारेमा जानकारी गराएको थियो । जसअनुसार पहिलो प्राथमिकताक्रममा परेका विधेयक ६३, दोस्रो ३९ र तेस्रोमा १५ वटा रहेका छन् ।

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिनुभएको छ ।सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उहाँले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभयो ।

“प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारिता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आह्वान गर्दछु,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।”

प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वतयारीका काम समयमै सम्पादन गर्न निर्देशन दिनुभयो ।

तोकिएको समयमा निर्धारित लक्ष्यअनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कार्यरत तहअनुसार कर्मचारीको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताउनुभयो । 

मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यकताभन्दा बढी कर्मचारी थन्काउने निकायको रूपमा नभइ विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाउनुपर्नेमा जोड दिँदै उहाँले यस विषयमा नेतृत्वदायी भूमिकासहित आवश्यक प्रबन्ध गर्न मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिनुभयो ।

प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले योजना तथा कार्यक्रम समयमा कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी समयमा सूचना प्राप्ति, सूचनाको गहन विश्लेषण र समस्या समाधानका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्ने जरुरी रहेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “समग्र कार्यसम्पादनबाट निरास हुनुपर्ने अवस्था नभए पनि तोकिएको कार्यक्रम तथा सूचकमा पूर्ण उपलब्धि हासिल गर्न थप मेहनतको आवश्यक छ ।” उहाँले कार्यान्वयन र अनुगमन गर्नका लागि कार्यालय तथा मातहतका निकायका प्रमुखले विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति, कार्यान्वयनमा देखिएका समस्या र चुनातीका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएका थिए । प्रस्तुतिका क्रममा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा अन्तर्गतका निकायका प्रमुख एवं प्रतिनिधिले आआफ्नो धारणा राख्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका सल्लाहकार, मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहत निकायका सचिव तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला

काठमाडौँ, ३० जेठ : नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका बताउनुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हाँसिल गर्न सकिदैन ।”

मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । नेता कोइरालाले भन्नुभयो, “कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।”

सुशासन, पारदर्शीता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनःविचार गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले सरकारी र निजी क्षेत्रको स्वमित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केही वर्षअघिसम्म पुरानो ढर्राबाट सञ्चालित नेपाल बैँक लिमिटेडले पछिलो समय अत्याधुनिक र समयसापेक्ष प्रविधिसहित सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउन सफल भएको प्रतिक्रिया दिनुभयो ।

सांसद सरिता प्रसाईंले मुलुकको लोकतन्त्र स्थापनामा वित्तीय सङ्घ÷संस्थालगायत क्षेत्रमा कार्यरत कर्मचारीको योगदान रहेका घटना सुनाउँदै बैंकमा पुरानाको अनुभव र नयाँको उत्साहलाई संयोजन गरी सेवाप्रवाहलाई सरल, सहज र सुलभ तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल वैँक लिमिटेडका महाप्रबन्धक तिलकराज पाण्डेले जनविश्वासका कारण बैंकको पूँजी रु १८ अर्ब रहेको, निक्षेप सङ्कलन रु दुई सय ७० अर्ब पुगेको तथा रु दुई तीन अर्ब लगानी पुगेको जानकारी दिनुभयो । 

आयोजक संस्था नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष जीवराज ढकाल, महासचिव सुरेन्द्र विष्टलगायत विभिन्न ट्रेड युनियनका प्रमुख एवं पदाधिकारीले राष्ट्रिय पूँजी निर्माण गर्न र बैंकको संरक्षण गर्न युनियनले प्रतिपक्षकारुपमा खबरदारी गरिरहेको बताउनुभयो । बैंकको निक्षेप बढेपनि लगानीको अवस्था कमजोर रहेको बताउँदै उहाँहरुले स्थिरता र समृद्धिका लागि राजनीति नभई अर्थनीति पनि सुदृढ हुन आवश्यक रहेको धारणा राख्नुभयो । अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ, ३० जेठ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।

 उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताउनुभयो । ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उहाँले बताउनुभयो । 

“तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्,  राम्रा काम भएका छन्”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका उहाँले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरु उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । 

“प्रदेश संरचनालाई लिएर धेरै जिज्ञाशा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरु मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राख्नुभयो । 

सुन्दरीजलकै धारामा आउँदैन खानेपानी, स्थानीयवासी समस्यामा

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ । वर्षायाममा वाग्मतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको वाग्मती नदीको पानी पनि पिउन पाएका छैनन् । खानेपानीको समस्या भएपछि स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका-१ रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुखेसो पोख्नुहुन्छ । पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जाने र आधा घण्टा फर्किन समय लाग्ने उहाँको भनाइ छ । कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उहाँ बताउनुहुन्छ ।

धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उहाँको अनुभव छ । यस्तो समस्या भोग्ने श्रेष्ठमात्र होइनन् यहाँका हजारौँको समस्या उस्तै छ । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको छैन ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताउनुभयो ।

विसं २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे विसं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख हुँदा उहाँले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाई वाग्मतीमा बगाउने चेतावनी दिनुभएको थियो । तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित हुनुभएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिनुभएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका-१, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदासमस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् ।

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच सुरु

पाटन (ललितपुर), ३० जेठ : सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको छ । ‘स्वच्छ हावा, स्वस्थ जीवन’ भन्ने नाराका साथ महानगरले वायु प्रदूषण न्यूनीकरणका लागि नियमित घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिनुभयो ।

“हामीले नियमित घुम्ती सवारी प्रदूषण जाँच मङ्गलबारदेखि सुरु गरेका छौँ, जाँचका क्रममा मापदण्ड पूरा भएका सवारीमा स्टिकर टाँसिदिन्छौँ, नभएकालाई एक हप्ताभित्र मर्मत गरेर जाँचका लागि पत्र काटेर छोड्ने गरेका छौँ । हरेक दिन फरकफरक ठाउँमा जाँच गर्छाैं, आज जावलाखेलमा भयो, भोलि अर्को ठाउँमा हुन्छ”, उहाँले भन्नुभयो ।

महानगरले स्वच्छता र सरसफाइ कायम राख्न हरियाली प्रवर्द्धन, पार्क तथा पोखरी निर्माणका लागि जोड दिँदै आएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनसङ्ख्यासँगै बढेको सवारीसाधनको सङ्ख्या बढे पनि मर्मतसम्भारमा पर्याप्त ध्यान नदिने, इनधनमा देखिने कैफियत जस्ता कारणले सवारीसाधनबाट हुने प्रदूषणको मात्रा बढिरहेकाले अभियान सञ्चालन गरिएको हाछेँथुले जानकारी दिनुभयो । नेपाल सरकारको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ मा सवारीबाट हुने प्रदूषणको मापदण्ड कायम गरिएको छ । सोही मापदण्डअनुसार नभइ बढी धुवाँ फ्याँकेर वायू प्रदूषण गर्ने सवारीसाधनलाई दफा १६० को उपदफा ३ अनुसार सजाय हुने व्यवस्था छ ।

विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै

गलकोट (बागलुङ), ३० जेठ : बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन् ।

प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन् । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो । उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ ।

त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको विद्यालयका प्रधानाध्यापक कमला थापाले जानकारी दिनुभयो । “संस्थागत रुपमा किबी खेती बागलुङमै पहिलोपटक लगाइएको रहेछ, तीन रोपनी जग्गामा लगाइएको किबी उत्पादन भएपछि अभिभावकले खरिद गर्छन्”, थापाले भन्नुभयो, “पछिल्लो एक वर्ष पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि प्राङ्गारिक मलसमेत विद्यार्थीले विद्यालयमै उत्पादन गर्दै आएका छन् ।” कुहिने झारपातलाई दुई महिनासम्म माटोमा गाडेर मल तयार गरिन्छ, उक्त मलबाट किबी फल र तरकारी खेती गर्दै आइएको उहाँले जानकारी दिनुभयो ।

प्राङ्गारिक मल उत्पादन गर्ने जिम्मा कक्षा ९ लाई दिइएको छ । किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले गत वर्ष च्याउसमेत उत्पादन गरेका थिए । विद्यार्थीले उत्पादन गरेको फलफूल र तरकारी बिक्रीबाट कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको प्रधानाध्यापक थापाको भनाइ छ । उहाँले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुरुआती चरणमा धेरै आम्दानी गर्न नसके पनि कम्तीमा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको बताउनुभयो ।

विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागिसमेत किबी बगँैचा भरपुर उपयोग भइरहको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या बताउनुहुन्छ । विद्यार्थीलाई परागशेचनको विषयमा किबी खेतीबाट राम्रो शिक्षा दिन सजिलो भइरहेको पच्याको भनाइ छ । कक्षा ९ का विद्यार्थीले विद्यालय परिसरमा मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । अहिले सिमी लगाइएको छ । वार्षिक दुई सय केजीसम्म किबी बिक्री हुने गरे पनि अन्य किबी विद्यार्थी र शिक्षकले उपभोग गर्दै आइरहेका छन् । विद्यालयको कृषि कर्मले घरमासमेत परिवारलाई सघाउन सहयोग पुगेको कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिपेश विकले जानकारी दिनुभयो । विसं २०३६ मा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ७८ विद्यार्थी अध्ययनरत छन् ।

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने

गुल्मी, ३० जेठ : नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको बासस्थान बनेको उहाँले बताउनुभयो ।

यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ । पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेकोे चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका तथ्याङ्क छ । समग्र यहाँका वनमा तीन सय पाँच प्रजातिका चरा भेटिएका र यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ ।

समुन्द्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ । यहाँ पाइने सयौँ प्रकारका वनस्पतिले अतिसङ्कटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पु¥याएको छ ।

सङ्घले गुल्मीको रेसुङ्गा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरुको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पु¥याउने गतिविधि सञ्चालन गरिरहेको छ ।

यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रुपमा रहेको जानकारहरू बताउँछन् । त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरु संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेको भनाइ छ । “जिल्लामा चरा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ । यिनको विकास र संरक्षणले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले यहाँको वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ”, पाण्डेले रासससँग भन्नुभयो ।

पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुङ्गीहरुको अवैध चोरीसिकार आदिका कारण चरा पनि सङ्कटापन्न अवस्थामा रहेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।

मोहन चरण माझीद्वारा उडिसा र चन्द्रबाबु नायडूद्वारा आन्ध्र प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण

मोहन चरण माझीले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उडिसाको पहिलो भारतीय जनता पार्टी (भाजपा) सरकारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । शपथ ग्रहण समारोह उडिसाको भुवनेश्वरस्थित जनता मैदानमा भएको थियो । माझीसँगै दुई उपमुख्यमन्त्री कनक वर्धन सिंह देव र प्रवती परिडाले पनि शपथ लिनुभयो । उडिसाका गभर्नर रघुबर दासले विधायकहरूसँगै राज्यको पहिलो भाजपा मुख्यमन्त्रीलाई शपथ गराउनुभयो ।

चौबिस वर्षसम्म उडिसाको मुख्यमन्त्री रहनुभएका बिजु जनता दल (बिजद) का नेता नवीन पटनायक पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो । हालै सम्पन्न विधानसभा निर्वाचनमा आफ्नो जोडदार प्रदर्शनसँगै बिजदलाई हराएपछि उडिसामा यो पहिलो भाजपा सरकार हो । यसबाट बिजदको २४ वर्ष पुरानो शासनकालको अन्त्य भएको छ ।     सन्थाली जनजातिका ५२ वर्षीय माझी राज्यको किनझार जिल्लाका बासिन्दा हुनुहुन्छ । उहाँ मङ्गलबार उडिसामा भाजपा विधायक दलको नेता निर्वाचित हुनुभएको थियो ।

सन् १९९७ देखि २००० सम्म सरपञ्चका रूपमा आफ्नो राजनीति सुरु गर्नुभएका माझी सन् २००० मा पहिलो पटक किनझारबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००४ मा पुनः निर्वाचित हुनुभयो । सन् २००५ देखि २००९ सम्म उहाँ बिजद–भाजपा गठबन्धन सरकारमा सरकारका उपप्रमुख सचेतक हुनुहुन्थ्यो । सन् २०१९ मा उहाँ फेरि विधायकका रूपमा निर्वाचित हुनुभयो ।  

उडिसा विधानसभा चुनावमा भाजपाले एक सय ४७ मध्ये ७८ सिट जितेको छ । 

तेल्गु देशम पार्टी (टिडिपी) का प्रमुख एन चन्द्रबाबु नायडूले बुधबार आन्ध्र प्रदेशको मुख्यमन्त्रीको सपथ लिनुभएको छ ।  शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्री अमित शाह, जेपी नड्डा, नितिन गडकरी मेगास्टारहरू चिरञ्जीवी र रजनीकान्तलगायतको उपस्थिति थियो ।   नायडूले आन्ध्र प्रदेशको मुख्यमन्त्रीका रूपमा कार्यभार ग्रहण गरेको यो चौथो पटक हो । साथै सन् २०१४ मा तत्कालीन राज्यको विभाजनपछिको यो दोस्रो पटक हो ।  

नायडूले टिडिपी–भाजपा–जनसेनासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एडिए) लाई विधानसभाका साथै संसदीय निर्वाचनमा भारी जित दिलाउनुभएको थियो ।   टिडिपी, जनसेना र भाजपा विधायकहरूको मङ्गलबारको बैठकमा टिडिपी प्रमुख नायडूलाई सर्वसम्मतिले आन्ध्र विधानसभामा एनडिएको नेता चयन गरिएको थियो ।   टिडिपीसँग आन्ध्र प्रदेशको एक सय ७५ सदस्यीय विधानसभामा एक सय ३५ विधायकको बहुमत रहेको छ । यसका सहयोगी जनसेना पार्टी र भाजपासँग क्रमशः २१ र ५ सीट छन् । विपक्षी वाइएसआर काङ्ग्रेस पार्टीसँग ११ विधायक रहेका छन् । 

प्रतिनिधिसभा बैठक: उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयसम्बन्धी छलफल बिहीबार

काठमाडौँ, ३० जेठ : प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी गराउनुभयो ।

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजो मङ्गलबार युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रलायको विनियोजन शीर्षकमाथि छलफल भएको थियो । 

आजको बैठकमा सहरी विकास, रक्षा, महिला, बालालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३१ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।

राजनीतिकरुपमा शान्ति प्रक्रिया पूरा भइसक्यो, कानुनी हिसाबले छिटो टुङ्ग्याऔँ : सांसद दाहाल

काठमाडौँ, ३० जेठ : नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राजनीतिकरुपमा शान्ति प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै अब चाँडै कानुनी हिसाबबाट पनि टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तत्काल पारित गरिनुपर्ने बताउनुभयो ।

“जनताको तहबाट शान्ति प्रक्रिया निष्कर्षमा पुगिसेको भने सेना समायोजन, हतियार व्यवस्थापनलगायत काम पनि सम्पन्न भइसकेका छन्”, सांसद दाहालले भन्नुभयो, “गठबन्धनमार्फत एकअर्कामा भोट साटासाट गरिसकेका छौँ ।

सामाजिक सद्भाव तथा एकताका दृष्टिकोणबाट शान्ति प्रक्रिया सम्पन्न भइसकेको छ, त्यसले अव कानुनी हिसाबले पनि ती काम टुङ्ग्याउन आवश्यक छ ।” जनयुद्धको नेतृत्व गरेको माओवादी पार्टी चारपटक निर्वाचनमा सहभागी भइसकेको र जनयुद्धलाई जनताले अनुमोदन गरिसकेको पनि उहाँको भनाइ छ ।

नेपालको शान्ति प्रक्रिया विशिष्ट र मौलिक रहेको उल्लेख गर्दै सांसद दाहालले अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक नजिरका रुपमा स्थापित गर्न पनि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

बडहडी खोलामा गरिएको अवैध उत्खननको छानबिन सुरु

जनकपुरधाम, ३० जेठ : जिल्ला प्रशासन कार्यालय धनुषाले बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोलामा अवैधरुपमा भएको बालुवा र गिट्टी उत्खननको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले छानबिनका लागि जिल्ला समन्वय समिति धनुषाका इञ्जिनीयरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको र समितिमा हुलाकी सडक निर्देशनालय र बटेश्वर गाउँपालिकाका एक–एक जना प्राविधिक रहेको जानकारी दिनुभयो । समितिलाई खोला उत्खनन भएको स्थल तथा उत्खनन गरी ढुङ्गा बालुवा थुपारेको स्थानको नापजाँचलगायत कार्यको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले बस्ती तथा त्यहाँको पर्यावरणमा असर नपर्ने गरी गत फागुन महिनामा बडहडी खोलामा बालुवा तथा ढुङ्गा झिक्नका लागि ठेक्का लगाएको थियो । महोत्तरीको बर्दिवासको पञ्चधुरा सप्लायर्सले १४ हजार चार सय ४५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि रु २७ लाख नौ हजार एक सय तीन मा ठेक्का लिएको थियो । सम्झौताविपरीत ठेकेदार कम्पनीले स्काभेटर तथा अन्य ठूला यन्त्रको प्रयोग गरी तीन गुणाभन्दा बढी बालुवा तथा ढुङ्गा झिकेको आरोप लागेको छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

गोदार (धनुषा), ३० जेठ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबीएस) अध्ययन–अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज प्रतिष्ठानका उपकुलपति प्राडा अङ्कुर साह, रजिष्ट्रार प्राडा विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उहाँले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गराउनुभयो ।

मङ्गलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुभएको मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२१ मा प्रतिष्ठानमा हाल सञ्चालनमा नरहेका शैक्षिक कार्यक्रम एमबिबीएस, बिडीएस, बी फार्मेसी, बिएमलटीलगायतका स्नातक कार्यक्रम सञ्चालन गर्न आवश्यक हुने पूर्वाधारलाई थप विस्तार तथा व्यवस्थापन गरिँदै लगिने उल्लेख छ ।

छलफलमा उपकुलपति प्राडा साहले एमबिबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमतिका लागि आवश्यक कागजातहरु पठाइसकेको जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमबिबीएस कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री सहमत हुनुभएको छ र कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।”

मुख्यमन्त्री सिंहले भौतिक संरचनालगायत कामका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने आश्वासन पनि दिनुभएको उपकुलपति प्राडा साहले जानकारी दिनुभयो ।

खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

अन्नपूर्ण (कास्की), ३० जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

पोखरा रङ्शालामा आजदेखि सुरु भएको ‘यु–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभएको हो । “प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडि बढिरहेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि यहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं ।”

ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सात प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

सङ्खुवासभाको सोलाखानीमा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

खाँदबारी ३० जेठः सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

गण्डकी सरकार ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

गण्डकी, ३० जेठः गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो ।

सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने बताउनुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गरिने सरकारको योजना छ । सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकीय उपजको पाश्र्वचित्र निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ र प्रचारप्रसारमा जोड दिइने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

सरकारी तथा निजी क्षेत्रको समन्वय र सहभागितामा विभिन्सांस्कृतिक तथा व्यापारिक मेला, जात्रा तथा सम्मेलनको आयोजना र सञ्चालन, घरबास, सङ्ग्रहालय, कोसेली घर, उद्यान, मानव निर्मित पर्यटकीय गन्तव्यमार्फत आन्तरिक तथा बाह्पर्यटकलाई आकर्षित गरी पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग आबद्ध गरिने जनाइएको छ ।

‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा चङ्ुरबाट मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रूपमा ट्रस ब्रिजको निर्माणका लागि आवश्यक पहल गरिने जनाइएको छ । पर्यटकीय क्षेत्र ढोरपाटन र गजेन्द्र मोक्षधामको एकीकृत विकास गुरूयोजना तयार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

पदयात्रा तथा साइक्लिङका लागि उपयुक्त ठाउँको पहिचान गरी वैकल्पिक मार्गको व्यवस्था गरिने भनिएको छ । गोरखाको मनास्लु लार्केपास– मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गरिने सरकारको योजना छ ।

धार्मिक, सांस्कृतिक, आध्यात्मिक, ध्यान, योग, साहित्यिक, साहसिक, खेलकुद पर्यटनको विकास गरिने सरकारको तयारी छ । मुक्तिनाथ, विन्दवासिनी, मनकामना, गोरखकाली, गोरखनाथ, गलेश्वर, बागलुङ कालिका, भैरवस्थान, पञ्चकोट, पञ्चासे, डहरे देउराली, आलमदेवी, नुवाकोट कालभैरव, देवघाट, मौलाकालिका, गलेश्वर आश्रम, महेश आश्रम, हरिहर सन्न्यास आश्रम, केदारेश्वर धाम, लमजुङ कालिकालगायत प्रमुख धार्मिकस्थलको प्रवद्र्धनका लागि विशेष पहल गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।

सरकारले वैकल्पिक पदमार्गहरूको विकाससँगै समग्र पर्यटन क्षेत्रका सन्दर्भमा नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजेका विषयलाई सकारात्मक रूपमा लिइएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहन्छ । सरकारले धवलागिरि क्षेत्रलाई संरक्षण क्षेत्रका रूपमा विकास गर्दै त्यहाँ पदयात्रा पर्यटन लक्षित पूर्वाधार विकास गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।