`

वर्षाले सङ्खुवासभाको खाँदबारी–नुम खण्डको चार किलोमिटर क्षेत्रमा क्षति

खाँदबारी (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले जानकारी दिए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोडको क्षति भएको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाका ३४ हजार भन्दाबढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन् ।

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन् ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राम्ह्ण–क्षेत्री परिवारका छन् । ब्राम्ह्ण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताइन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्याङ्कसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए ।

महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

शुक्रबारदेखि राजधानीमा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदै

काठमाडौँ, ३० जेठ: अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले राससलाई बताउनुभयो । “ मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् । यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताउनुभयो ।

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, ३० जेठः राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो ।

राष्ट्रपति पौडेलले आज स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि बिहीबार उहाँले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ । भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नुहुनेछ ।सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो । उहाँले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नुहुनेछ ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

असार २ गते गैरआवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उहाँले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नुहुनेछ ।
त्यसैगरी राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनुहुनेछ ।

ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा खोटेहाङमा विद्यालय भवन निर्माण

खोटाङ, ३० जेठः खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो ।

“सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ । कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । ब्रिटिस गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ”, प्रधानाध्यापक नयन्द्रकुमार राईले भन्नुभयो ।

उक्त विद्यालयमा हाल एक सय छजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा तीन प्राथमिक तहका स्थायी दरबन्दी, दुई निम्न माध्यमिक तहका राहत दरबन्दी, एक प्राथमिक तहका राहत शिक्षक तथा एक बालविकास सहयोगी कार्यकर्ता र दुई निजी स्रोतका शिक्षक कार्यरत छन् ।

दक्ष रूसीलाई स्वागत गर्न इयूसँग पूटिनका आलोचकको आग्रह

निर्वासित क्रेमलिन आलोचकहरूको एक समूहले मङ्गलबार युरोपेली युनियनका देशहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको शासनसँग विवादित भई पलायन भएका दक्ष रूसीलाई स्वागत गर्न थप कदम चाल्न आग्रह गरेको छ ।

नेता पुटिनले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेयता १० लाखभन्दा बढी मानिस रूसबाट भागेका तर तीमध्ये केही टर्कीजस्ता देशमा र युरोपेली सङ्घमा उपलब्ध रोजगारीको अभाव, भिसा र दीर्घकालीन आवासीय अनुमति प्राप्त गर्न कठिनाइका कारण निरुत्साहित भएर फर्किन थालेका अनुमान निर्वासित क्रेमलिन आलोचकहरूको समूहले गरेको छ ।

रूसी विपक्षी नेता तथा पूर्व सांसद दिमित्री गुडकोभले पेरिसमा भन्नुभयो, “रूसको लागि एक जना इञ्जिनियरको कमी भनेको युक्रेनको दिशामा उड्ने क्षेप्यास्त्रमा पनि कमी हो ।”
फ्रेन्च इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्समा बोल्दै गुड्कोभले युरोपेली सङ्घका विभिन्न सदस्य राष्ट्रमा रहेका रूसी समुदायहरूको अध्ययन सार्वजनिक गर्नुभयो ।

गुडकोभ र अर्थशास्त्री भ्लादिस्लाभ इनोजेम्त्सेभद्वारा संयुक्त रूपमा स्थापित नयाँ थिङ्क ट्याङ्कको तर्फबाट निकोसिया विश्वविद्यालयसँग सम्बन्धित अनुसन्धाताहरूले फ्रान्स, जर्मनी, पोल्याण्ड र साइप्रसमा बसोबास गर्ने तीन हजार २०० भन्दा बढी रूसीहरूको सर्वेक्षणमा आधारित रहेर यो अध्ययन गरेका हुन् । अध्ययनमा समावेश भएका करिब ८० प्रतिशत उत्तरदाताले पुटिनले सन् २०१४ मा क्रिमियालाई युक्रेनबाट आफ्नो कब्जामा लिएपछि रूस छाडेको बताएका थिए । तीमध्ये ४४ प्रतिशत पूर्ण आक्रमणपछि भागेका थिए ।

नीतिगत सुझावहरूको एक भागको रूपमा, अध्ययनले रूसबाट ‘आर्थिक आप्रवासन’ को व्यापक कार्यक्रमको लागि आह्वान गरेको छ, देशबाट भागेका अधिकांश रूसीहरू पश्चिमी भावनालाई समर्थन गर्ने कुशल र शिक्षित जनशक्ति ‘रूसीमुलका युरोपेली’ थिए ।

अध्ययनमा भनिएको छ, “पुटिन शासनलाई कमजोर पार्ने रणनीतिमा सुनियोजित ‘रक्तस्राव’ समावेश हुनुपर्दछ ः यसले युद्धसँग असम्बन्धित रूसबाट योग्य विशेषज्ञहरू र पैसाको बहिर्गमनलाई उत्प्रेरित गर्दछ ।”

मस्कोका अधिकारीहरूले श्रम अभाव एक गम्भीर समस्या बनेको र यसले आर्थिक वृद्धिलाई खतरामा पारेको स्वीकारेका छन् ।
कुशल रूसी र तिनका आर्थिक स्रोतलाई स्वागत गर्नु पश्चिमा मुलुकका प्रतिबन्धभन्दा क्रेमलिनविरुद्ध बढी प्रभावकारी प्रहार हुनसक्ने तर्क गर्दै अझै धेरै काम गर्नुपर्ने इनोजेम्त्सेभले बताउनुभयो ।

इनोजेम्त्सेभले भन्नुभयो, “जसले छोडेका छन् उनीहरूको निर्णयबाट हामी पनि चकित भएका छौँ ।” सन् २०२२ को तथ्याङ्कलाई उद्धृत गर्दै अध्ययनमा साइप्रसमा रहेका रूसी आप्रवासीको औसत मासिक तलब पाँच हजार ४८० युरो (पाँच हजार ८८० अमेरिकी डलर) भन्दा बढी रहेको उल्लेख गरिएको छ । यो साइप्रसकै नागरिकको तुलनामा दोब्बरभन्दा बढी हो । यसको अर्थ रूसले कुशल जनशक्तिको अभाबमा उनीहरूलाई आकर्षक तलब दिने प्रलोभनमा स्वदेश फर्कन आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

काठमाडौँ, ३० जेठः काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तुवाचुङ-जायाजुममा किरात समुदाय भेला बृहत् साकेला सिली प्रदर्शन

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका-७ स्थित तुवाचुङ-जायजुममा तीन चुल्हाको पूजा गर्दै मंगलबार बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । साकेला उभौलीको अवसरमा मंगलबार विभिन्न जिल्लाका किरात समुदाय भेला भइ सामूहिक रुपमा साकेला सिली प्रदर्शन गरिएको हो ।

किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवं संस्कार-संस्कृतिको संरक्षण गर्न तुवाचुङ-जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गालगायतका किरात समुदाय भेला भइ तीन चुल्हाको पूजा गरी साकेला सिली प्रदर्शन गरेका हुन् । यस ठाउँमा किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती रहेको तुवाचुङ-जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले बताउनुभयो । 

त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको तुवाचुङ-जायजुममा संसारभरका किरात समुदाय पितृ पुर्खालाई पूज्न आउने गर्छन् । सिली प्रदर्शनीमा १३ समूहले ढोल, झ्याम्टाको तालमा गाउँदै साकेला सिली प्रदर्शन गरेका थिए । सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले गर्नुभएको थियो ।

साकेला उभौलीले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेलामा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु-याउँछ”, उहाँले भन्नुभयो । 

राप्रपा प्रदेशसभा सदस्यलाई प्रशिक्षण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्यका लागि आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षणमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनोट, बजेट, कानुनी एवं संवैधानिक विषयहरुमा प्रशिक्षण प्रदान गरिएको छ ।

कार्यक्रमको पहिलो दिन पार्टीका वरिष्ठ नेता ध्रुवबहादुर प्रधानले प्रशिक्षणको उद्घाटन गर्दै राजनीतिक वृत्तिविकासका लागि र सांसदहरुको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वाताका बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता एवं संविधानविद डा भीमार्जुन आचार्यले नेपालको संविधान र सङ्घीयताले पार्ने असरका विषयमा प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षित गर्नुभयो । 

त्यस्तै पार्टीका नेता, सदस्य र सांसदहरुले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठले प्रशिक्षण सञ्चालन गर्नुभयो । प्रशिक्षणको दोस्रो दिन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सैद्धान्तिक रूपमा राप्रपा सङ्घीयताको विरोधमा रहेपनि यहि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा प्रशिक्षण र निर्देशन दिनुभयो । 

प्रशिक्षणका क्रममा पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका शीर्षकमा प्रशिक्षण दिनुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वृत्तिविकास र नेतृत्व विषयमा र पूर्वसचिव राजीव गौतमले प्रदेशसभा सञ्चालन, विधि निर्माण र सदस्यहरुको भूमिकामा र अर्का पूर्वसचिव केवलप्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा सांसदलाई प्रशिक्षित गर्नुभयो । 

प्रशिक्षणको तेस्रो दिन राप्रपाका मुख्यसचिवसमेत रहनुभएका पूर्वसचिव केदारबहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापनः सम्भावना र चुनौतीका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सदस्य सहभागी थिए । सातै प्रदेशमा गरी राप्रपाका २८ जना प्रदेशसभा सदस्य छन् । 

समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षाअनुरुप योजना छनोट, विकास निर्माणमा सक्रिय हुन सांसदलाई निर्देशन दिनुभयो । उहाँले विगतमा अनेकन जोखिम उठाउँदै पार्टीलाई आजको अवस्थासम्म ल्याइएको र अझै राजनीतिक कार्यभार बककाकी रहेकाले पार्टीको सङ्गठन निर्माणमा जुट्न सांसदलाई अनुरोध गर्नुभयो । पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले झिनामसिना कुरालाई वेवास्ता गरेर राप्रपालाई आगामी निर्वाचनमा देशको अग्रणी शक्ति बनाउन आफ्नो ठाउँमा अहोरात्र खट्न प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो । सहभागी प्रशिक्षार्थी सांसदलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र पनि प्रदान गर्नुभयो । 

नेकपा एसले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उहाँले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आगामी असार १६ देखि काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुँदैछ । अध्यक्ष नेपालले भन्नुभयो, “पार्टीको तल्ला कमिटी तथा सात वटै प्रदेश कमिटीहरुले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरुको भावना अनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेछाँै ।”

अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको बताउनुभयो । “कम्युनिष्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने लगायतका विषय सान्दर्भिक छन् । जवज पार्टीको कार्यक्रम हो । ”अध्यक्ष नेपालले भन्नुभयो ।


अध्यक्ष नेपालले सवै राजनीतिक पार्टीको अवस्था उस्तै रहेकाले उच्च मनोवलका साथ गण्डकी प्रदेशमा पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा गण्डकीका इन्चार्ज तुल वहादुर गुरुङ, पार्टी गण्डकी प्रदेशका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मजवुत पार्टी निर्माणका लागि सङ्गठन विस्तारमा जोड दिनुपर्ने बताउनुभएको थियो । 

खच्चड हिँडाउँदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द

अछाम- : खच्चड हिडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो ।

प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गर्नुभएको छ ।

अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा अध्ययनरत विद्यार्थी हरुलाइ आवतजावतमा समस्या भइ सोही पुलबाट जोखिमपूर्ण तरिकाले हिँड्डुल गरिरहेकाले पुनः कुनै खालको अप्रिय घटना नहोस् भनेर सो पुलबाट आवतजावत नगर्न अनुरोध गरेका गरिएको हो । 

जीर्ण पुलको तत्काल मर्मतका लागि सोही स्थानबाट करिब दुई सय मिटरको हाराहारीको पञ्चदेवल विनायक नगरपालिका–९ ओदल्ताडा र दैलेखको आठबिस नगरपालिका–४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल यथा शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइएको प्रजिअ लम्सालले  बताउनुभयो । 

दुवै जिल्लाका स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयात्मक प्रयासमा अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–९ को ओदल्ताडा र दैलेख जिल्ला आठबीस नगरपालिका–४ को नैनेलमाडुमा निर्माणाधीन उक्त नयाँ झोलुङ्गे पुल १५ दिनभित्र सम्पन्न भई सञ्चालनमा ल्याउने गरी कार्यअघि बढेको र जीर्ण पुलको मर्मतको तयारीका लागि अछामबाट प्राविधिक कर्मचारीको टोली मिति जेठ २८ गते नै उक्त स्थानमा पुगी पुलको प्रारम्भिक निरीक्षण र नाप जाँच गरिसकेको छ । 

पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ का  चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा  समस्या भएको छ ।

म्याग्दीका ग्रामीण सडक बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र

म्याग्दी, ३० जेठ: जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानासम्म पु¥याएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु. १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।
चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।

विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन

काठमाडौँ, ३० जेठः आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले जनाएको छ ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा  जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन् । यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो । 

    नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । 

आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

‘सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’ : मन्त्री अर्याल

काठमाडौँ, ३० जेठःश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री अर्यालले मङ्गलबार अपराह्न मलेसियाका मानव संशाधन मन्त्री चि केओङ सिमसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री अर्याल र कतारका श्रम मन्त्री अली समिख अल मारीबीच पनि मङ्गलबार नै भेटवार्ता भएको जनाउँदै उक्त नियोगले दुवै मन्त्रीले नेपाली कामदारको समस्या समाधान र कामको अवस्था सुधार गर्न द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने उपायबारे छलफल गर्नुभएको बताएको छ ।सम्मेलनमा सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री अर्याल आज सामेल हुनुहुनेछ ।

गत सोमबार जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अर्याललाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले स्वागत गर्नुभएको थियो । उहाँ यही जेठ ३२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

बिना अनुमति सञ्चालित पाँच विद्यालयमा वीरगञ्ज महानगरद्धारा शिलबन्दी

वीरगञ्ज (पर्सा), २९ जेठ : नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले मङ्गलबार शिलबन्दी गरेको छ । शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिनुभयो ।

शिलबन्दी भएका विद्यालयहरुमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका-२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ ।

मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

धनुषा, २९ जेठ : मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत भएको छ । संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारका तर्फबाट मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई उच्च प्राथमिकतामा दिइएको छ । नीति तथा कार्यक्रममा मधेसका एक सय ३६ पालिकालाई लक्षित गरी नमूना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ ।

मधेसका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक÷एक वटा खुला शैक्षिक उद्यान तयार गर्ने, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा वैदेशिक लगानी भित्र्याउने हेतुले मधेस लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा सुशासन कायम गर्दै विकास खर्च बढाउने विषयमा जोड दिइएको छ । 

एमाले यति ज्याद्रो छ कि धुलोमा पछारिए पनि टकटकाएर उठ्छ : उपमहासचिव ज्ञवाली

गुल्मी, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिस्पर्धा, चुनाव र आन्तरिक लोकतन्त्र एमालेको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।
उहाँले आजको परिस्थतिमा युग, राष्ट्र र पार्टी पङ्तिले पार्टीमा आन्तरिक एकता र सहमतिको माग गरेको बताउनुभयो । आज नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले नेकपा एमाले सरकारमा हुँदा र नहुँदा सधैँ जनताका समस्या समाधान गर्ने पार्टी भएको बताउनुभयो । उहाँले एमाले सिङ्गो समाजमा उन्नत लोकतन्त्रका लागि पक्षपोषण गर्ने पार्टी भएको धारणा राख्नुभयो ।

नेता ज्ञवालीले कतिपय कुरा तत्कालीन सन्र्दभ, परिस्थिति र आवश्यकताले तय गर्ने भएकाले एउटै कुरा सधैँ निरपेक्ष ढङ्गले सत्य हुन नसक्ने बताउनुभयो । गएको तीन वर्षयता एमालेलाई एकदमै पुछारमा पारिएको र त्यो अवस्थाबाट एमालेले ‘बाउन्स ब्याक’ गरेको उहाँको भनाइ थियो । “एमाले यति ज्याद्रो छ कि धुलोमा पछारिए पनि टकटकाएर उठ्छ, खडेरीमा सुके पनि फेरि दुबोजस्तै मौलाउँछ”, उहाँले भन्नुभयो ।

प्रतिपक्षमा रहँदा छ वटा दलहरु मिलेर घेराबन्दी गर्दा पनि एमाले चक्रब्यूलाई तोडेर अघि बढेको उहाँको भनाइ थियो । नेकपा एमालेलाई आफ्नो पार्टी पङ्तिको शुद्धतामाथि पूर्ण विश्वास रहेकाले मुलुकको समृद्धि र विकासका लागि एमाले सधँै लागि परेको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, पद्मा अर्याललगायतका केन्द्रीय नेताहरुले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक सङ्गठनको गुनासो

काठमाडौँ, २९ जेठ: नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ ।सङ्गठनले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजनको माग उठ्दै आए पनि १० दशमलव ९४ प्रतिशतमात्र विनियोजन भएकामा गुनासो गरेको हो । सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी र महासचिव हंशबहादुर शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा शिक्षक, प्रारम्भिक बालविकास शिक्षक र कर्मचारीको सेवा सुविधावृद्धि नभएको, दिवा खाजाको रकम वृद्धि नभएको र शिक्षक दरबन्दी व्यवस्थापनको विषय समावेश नभएको जनाइएको छ ।

सङ्गठनले राजनीतिक दलमा शिक्षकहरुको संलग्नताका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारलाई नियन्त्रण गर्ने गरी परिपत्र गरेकामा ध्यानाकर्षण गराएको छ ।

सङ्गठनले यही जेठ १३ गते जारी भएको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ वैज्ञानिक नभएकाले पहिला विद्यालय शिक्षा ऐन जारी गरेर नियम बनाउन माग गरेको छ । साथै सङ्गठनले नेपाल शिक्षक महासङ्घको हालै सम्पन्न महाधिवेशनप्रति असहमति जनाउँदै लोकतान्त्रिक पद्धतिअनुरूप नेतृत्व चयन गर्न माग गरेको छ ।

अमेरिका पठाउने भन्दै चार करोड ठगी गर्ने पक्राउ

काठमाडौँ, २९ जेठ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ ।पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।

पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पु¥याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोे छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति रु १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका-११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौँ ल्याएको हो ।

ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा रु ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा रु आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करिब आठदेखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाए बापत प्रतिव्यक्ति रु आठदेखि दश लाखसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये रु चार करोड ३२ लाख २६ हजार एक सय एक दशमलव ७३ पैसा झिकी सकेको र हाल खातामा एक लाख ४२ हजार पाँच दशमलव ८२ पैसा मौज्दात रहेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट आठ वटा बैंकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो रु ७८ लाख ८८ हजार बिगो बराबर) चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यू–१९ सुदूरपश्चिम छनोटः कञ्चनपुरको लगातार दोस्रो जित

बैतडी, २९ जेठ: यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ‘बी’ को चौथो खेलमा कञ्चनपुर विजयी भएको छ । कञ्चनपुरले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले हरायो । यसअघि पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले पराजित गरेको थियो । जितका लागि पाएको १२६ रनको लक्ष्य पछ्याएको अछाम ९.१ ओभरमा ३४ रनमा समेटियो । उसका युवराज खत्रीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

अछामको पारी ध्वस्त पार्ने क्रममा कञ्चनपुरका कप्तान हेमन्त धामीले ५ विकेट हात पारे । म्यान अफ द म्याच समेच चुनिएका हेमन्तले ४ ओभरमा १ मेडल राख्दै १३ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् । यस्तै अभिषेश थापाले ३ विकेट लिए ।

यसअघि परशुराम रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ३५.१ ओभरमा १२५ रनमा समेटियो । जसमा राहुल चन्दले सर्वाधिक २२ रन हिर्काए । अछामका युवराज खत्री,खगेन्द्र कुँवर र रविन भण्डारीले २÷२ विकेट हात पारे । यो जितसँगै कञ्चनपुर ४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । अछाम भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि कैलाली र बझाङ भिड्न छन् । समूह ‘बी’ बाट शीर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी लिग चरणका सबै खेल जितेर फाइनलमा पुगिसकेको छ ।

वैवाहिक बला त्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद

काठमाडौँ, २९ जेठ: काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

 न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्र्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो । 

 यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।    कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि  निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।

नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय

जनकपुरधाम, २९ जेठ : धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन् ।

सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशङ्कर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताउनुभयो । वैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब पाँचसय युवा संलग्न रहेको उहाँले बताउनुभयो ।

धनुषा जिल्लामा चार सय २८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यसपटक चार हजार चार सय ६७ मेट्रिकटन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो । यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा (कोवा) समेत खाने गरिएको उहाँले बताउनुभयो ।

धनुषामा प्रति हेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । खासगरी धनुषाको उतरीक्षेत्र ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताउनुभयो ।

बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसाय तर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँदै आइरहेका छन् । अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्रीवितरण गरी अत्यधिक मुनाफा गरिरहेका छन् । धनुषाका गाउँगाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरुको गुनासो छ ।कटहरको व्यावसायिक रुपमा बिक्रीवितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ ।

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन

दमौली (तनहुँ), २९ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुनुहुन्छ नेपाली ।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उहाँले बताउनुभयो । “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ”, नेपालीले भन्नुभयो ।

नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसक्नुभएको छ । एसएलसी दिएपछि नै चित्रकला सुरु गर्नुभएका उहाँले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाउनुभयो । “पहिलेदेखि नै अलिअलि चित्रकोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला”, उहाँ भन्नुहुन्छ । 

पहिले शिक्षण पेसामा आबद्ध उहाँ हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत हुनुहुन्छ तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्नुहुन्छ । उहाँले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोेरेको उहाँ बताउनुहुन्छ । उहाँले अगाडि थप्नुभयो, “धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।”

विनियोजन विधेयकमा बुधबार पनि छलफल हुने

काठमाडौँ, २९ जेठ: प्रतिनिधिसभामा आजदेखि प्रारम्भ भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा भोलि बुधबार पनि छलफल जारी हुनेछ । विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा आज छलफल भयो ।

  छलफलमा सांसदहरु सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता,  रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सो.शी.(चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुशुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद फारुकी, नारायणप्रसाद आचार्य, वासुदेव घिमिरे, बिजुला रायमाझी, अमृतलाल राजवंशी, चन्द्रबहादुर विश्वकर्मा, महेशकुमार बर्तौलाले भाग लिनुभयो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्काे बैठक बुधबार बिहान ११ बजे हुनेछ ।

नारायणी अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न मन्त्री यादवसँग अनुरोध

वीरगञ्ज (पर्सा), २९ जेठ : वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेका छन् । आज अस्पताल अनुगमन तथा निरीक्षणका लागि आउनुभएका मन्त्री यादवलाई नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले श्यया सङ्ख्या तीन सय ५० भए पनि कर्मचारी दरबन्दी एक सय शय्या बराबरको हुँदा उपचार सेवा प्रदानमा कठिनाइ भएको गुनासो गर्नुभयो ।

“अस्पताल तीन सय ५० शय्यामा स्तरोन्नति भएको वर्षौं बितिसक्दा पनि कर्मचारी दरबन्दी एक सय श्ययाअनुसार नै छ”, उहाँले भन्नुभयो, “जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न सकिरहेका छैनौँ । शय्याअनुसार दरबन्दी कायम गर्न जरुरी छ । अर्काेतर्फ क्वाटर, मेसिनरी र अन्य पूर्वाधारको उस्तै जटिल छ ।”

मेसु हकले अस्पतालसँग सम्बन्धित विवाद लामो समयदेखि सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले पनि विभिन्न खालका उल्झन आइरहेको गुनासो गर्नुभयो । “अस्पताल भवन जीर्ण हुँदा बिरामीको उपचारमा समस्या आउने गरेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको नारायणी अस्पताललाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभएको छ । “विद्यमान समस्याको सूची तयार पारेर मन्त्रालयमा पेस गर्न मेसु साबलाई अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “समस्याको सूचीसँगै अस्पतालको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या समाधानका उपायसहितको प्रतिवेदन पनि मन्त्रालयमा ल्याउन आग्रह गर्दछु ।”

मन्त्री यादवले अस्पतालका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको बताउनुभयो । “मैले समग्र देशकै स्वास्थ्य क्षेत्र सुधार ल्याउने गरी काम थालिसकेको छु”, उहाँले भन्नुभयो, “त्यसैको सिलसिलामा पूर्वस्वास्थ्यमन्त्री तथा विज्ञहरुलाई भेटेर आवश्यक रायसुझाव पनि लिएको छु ।’’ उहाँले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै बिरामी तथा कुरुवासँग कुराकानी गर्नुभएको थियो ।

अस्पतालमा उपचाररत बिरामीले अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको, ओपिडी टिकट काट्ने काउन्टरमा भीडभाड रहेको, र चिकित्सकले ओपिडीमा पर्याप्त समय नदिएकोलगायतका गुनासो मन्त्रीसक्षम राखेका थिए ।

मन्त्री यादवले बिरामीले राखेका गुनासा तुरुन्तै सम्बोधन गर्न मेसु हकलाई निर्देशन दिनुभएको छ । मन्त्री यादवले अदालतमा विचाराधीन अस्पताल भवन निर्माणको मुद्दालाई ‘फास्ट ट्रयाक’मा सम्बोधन गर्न आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई मुख्य एजेन्डा बनाउन मन्त्री यादवलाई अनुरोध गर्नुभयो । “कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गर्छु”, उहाँले भन्नुभयो, “मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधारका लागि जग्गा महानगरपालिकाले जोहो गर्नेछ ।”

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

काठमाडौँ, २९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँ तीन सय ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नु भएको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले राससलाई जानकारी दिनुभयो । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौँ, २९ जेठ: राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, शिक्षा स्वास्थ्य र पर्यटन प्राथमिकतामा

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

गण्डकी प्रदेश सभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दिगो शान्ति, सुशासन, विकास र समुन्नति प्रदेश सरकारको गन्तव्य रहेको बताए।

नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हकका सवालमा गण्डकी प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ छ । संवैधानिक कार्यसूचीको कार्यान्वयन, कानुन निर्माण, प्रदेशका सबै स्थानीय तहमा सडक सञ्जालको विस्तार र स्तरोन्नति, गुणस्तरीय खानेपानीको पहुँच, रोजगारी सिर्जना, विपद् व्यवस्थापनलगायतका अभिभारा पूरा गर्न सरकार प्रतिबद्ध र जिम्मेवार रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको पहिलो पञ्चवर्षीय योजनाका उपलब्धि र रणनीतिको समीक्षा गर्दै दोस्रो पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश: सम्मानित प्रदेशवासी’ को सोच लिएको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजेट तथा कार्यक्रम तर्जुमालाई सन्तुलित र औचित्यपूर्ण बनाउन प्रदेश आयोजना बैंक स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको प्रदेश प्रमुख भट्टले बताए । कार्यान्वयनमा रहेका, रुग्ण, समस्याग्रस्त योजनाको विद्यमान अवस्था र भावी व्यवस्थाका लागि अध्ययन गरी सुधार तथा परिमार्जन कार्यक्रम गरिएको प्रदेश प्रमुख भट्टले बताए ।

गण्डकी प्रदेश सरकारबाट हालसम्म कालोपत्र तथा ढलान सात सय ८८ किमि, ग्राभेल छ सय ४३ किमि, कच्ची चार सय एकसट्ठी किमि सडक निर्माण गरिएको जनाइएको छ । मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासको पुनः निर्माण र पुनः स्थापनाको लागि प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा निरन्तर रकम जम्मा गरेको नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रममा प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा प्रधानमन्त्रीबाट पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको उल्लेख गर्दै पोखरालाई अन्य प्रदेशका राजधानी तथा सहरसँग हवाई सेवा सञ्जालमा जोडिएको जनाएको छ ।

नीति तथा कार्यक्रममा निजी र सहकारी क्षेत्रसँगको साझेदारी तथा समन्वय गर्ने सम्बन्धमा नीतिगत सुधार गरिने भनिएको छ । गण्डकी प्रदेशभित्र ‘इन्भेस्ट गण्डकी कार्यक्रम’ सञ्चालन गरी निजी एवं सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन हुने परियोजनाको विकास, लगानी प्रवर्द्धन र सहजीकरण गरिने बताइएको छ । चालु खर्चमा मितव्ययिता अपनाउँदै उपलब्ध साधन स्रोतलाई प्रदेशको समुन्नति हासिल हुने गरी पुँजीगत खर्चको अनुपात वृद्धि गर्दै लगिने भनिएको छ । नीति तथा कार्यक्रममा राजस्वको दायरा वृद्धि र कर सङ्कलनलाई अनुमानयोग्य बनाउन राजस्व प्रशासनको नीतिगत र संरचनागत सुधार गरिने उल्लेख गरिएको छ ।

रैथाने बाली र पशुपक्षीको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं उपयोगसम्बन्धी कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले दिगो कृषि प्रणालीको विकासका लागि प्राङ्गारिक मल उत्पादन र उपयोगलाई विशेष प्राथमिकता दिई प्राङ्गारिक खेती प्रवर्द्धन गरिने जनाएको छ । ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ भन्ने अभियानका साथ बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, गाँजा, अकबरे खुर्सानी, टिमुर आदिको उत्पादनलाई प्रोत्साहन गरिने उल्लेख छ ।

औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ । उच्च पहाडी क्षेत्रमा स्याउ, ओखर र खुर्पानीलगायत अन्य सम्भावनायुक्त शीतोष्ण फलफूल बालीको बगैँचा स्थापना तथा विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

माटो परीक्षण तथा मलको गुणस्तर नियमनसम्बन्धी कार्यक्रमलाई थप सघन तुल्याउन ‘मोबाइल माटो अस्पताल’ सञ्चालन गरिने प्रदेश प्रमुखले बताए । उच्च पहाडी क्षेत्रमा घुम्ती गोठ प्रणालीमा पालिने याक, नाक, चौँरी, भेडा, च्याङ्ग्रा, भोटे कुकुरजस्ता पशुपालन व्यवसायको प्रवर्द्धनका लागि प्राविधिक सेवा प्रवाह, चरन खर्क सुधार, विश्रामस्थलको निर्माण, गोठालो संरक्षण र पर्यापर्यटन विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।

स्थानीय तहसँगको समन्वयमा भूमि बैंकको निर्माण गरी ‘एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ को सम्भाव्यता अध्ययन गरी सामूहिक एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रोत्साहन गरिने जनाएको छ । किसानको उत्पादनलाई सङ्कलन एवं बजारीकरण गर्न स्थानीय तहको सहकार्यमा कृषिउपज सङ्कलन केन्द्र निर्माण र प्रत्येक निर्वाचन क्षेत्रमा कृषि सडक विस्तारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

बाँदरको अतिक्रमणबाट प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा कृषि हेरालुको व्यवस्था गरिने उल्लेख छ । वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनमार्फत वन पैदावारको आयात प्रतिस्थापन र वनजन्य उद्यम विकास गरी रोजगारी वृद्धिमा जोड दिइने सरकारको योजना छ ।

खाली र बाँझो जग्गामा स्थानीय जलवायु सुहाउँदो उपयुक्त प्रजातिको पकेट क्षेत्र पहिचान गरी फलफूलसहितको कृषि वन प्रणाली विकास गरिने भनिएको छ । जलवायु परिवर्तनबाट परेका असर र प्रभावलाई न्यूनीकरण तथा अनुकूलन गर्न स्थानीय समुदायको उत्थानशील क्षमता विकासलाई संस्थागत गरिने उल्लेख छ ।

सामुदायिक तथा निजी जग्गामा जडीबुटीसम्बन्धी परम्परागत ज्ञान सीपको अभिलेखीकरण गर्दै जडीबुटी खेती प्रवर्द्धन र प्रशोधन गर्न प्रोत्साहन गरिने सरकारको योजना छ । पर्यटन राजधानी पोखरालाई केन्द्रविन्दुमा राखी ‘पोखरा जाऔँ’–प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा पोखरालाई पर्यटन राजधानी घोषणा गरेअनुरूप आवश्यक नीतिगत सुधार एवं पर्यटनमैत्री वातावरण निर्माणमा जोड दिइने भनिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन लागि ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

‘राउण्ड फेवा : भ्यु फेवा’ कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा चङ्खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रूपमा ‘ट्रस ब्रिज’ निर्माणका लागि पहल गरिने भनिएको छ । धार्मिक, सांस्कृतिक, आध्यात्मिक, ध्यान, योग, साहित्यिक, साहसिक, खेलकुद पर्यटनको विकास गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा विभिन्न धार्मिकस्थलको प्रवर्द्धनका लागि विशेष पहल गरिने उल्लेख छ ।

प्रदेशमा डायलाइसिस सेवा आवश्यक पर्ने सबै बिरामीले सो सेवा निःशुल्क पाएको सुनिश्चितसहित प्रदेशभित्र डायलाइसिससम्बन्धी तालिम साइटको स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तथा तथ्यमा आधारित योजना निर्माणका लागि स्वास्थ्य अनुसन्धानमा जोड दिँदै अध्ययन तथा अनुसन्धानात्मक कार्य सञ्चालन गरिने उल्लेख गरिएको छ ।

‘मेरो स्वास्थ्य: मेरो जिम्मेवारी’ को अवधारणाअनुरूप नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न नागरिक आरोग्य अभियानमार्फत ‘भान्छा सुधार: आरोग्यताको आधार’ भन्ने नारासहित भान्छा सुधार कार्यक्रम तथा नागरिकको जीवन पद्धतिको रूपमा योग तथा ध्यानको प्रवर्द्धन गरिने भनिएको छ ।

नीति तथा कार्यक्रमले सामुदायिक शिक्षालयको गुणस्तर सुधारमा मुख्य जोड दिएको छ । अभिभावक शिक्षा, शैक्षिक जागरण, प्रतिभा पहिचान, शिक्षकको पेसागत क्षमता विकास र सूचना प्रविधिको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । ‘सामुदायिक क्याम्पससँग प्रदेश सरकार’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत प्राविधिक अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गरिने भएको छ । सहिद परिवारलगायत लक्षित समूहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार तथा तह पूरा गर्ने दर वृद्धि गर्न नीतिगत प्रबन्ध मिलाइने प्रदेश प्रमुख भट्टले उल्लेख गरे । ‘भगत सर्वजित दलित युवा उद्यमी कार्यक्रम’अन्तर्गत प्रदेशभित्रका स्थानीय तहका प्रत्येक वडाबाट एकजना दलित युवा उद्यमीलाई व्यावसायिक कर्जामा ब्याज अनुदान दिइने भएको छ ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको संरचना निर्माणसँगै नवीनतम प्रविधिका विषयमा पाठ्यक्रम र तालिम सामग्री विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘उत्पादनसँग युवा अभियान’ सञ्चालन गरी युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न बीउ पुँजीमा सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइने भएको छ ।

‘डिजिटल गण्डकी : बढाउनु छ रोजगारी र समुन्नति’ आदर्श वाक्यलाई मूर्तरूप दिन युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । विद्यार्थीको प्रतिभा पहिचानका लागि ‘सिर्जनशील अध्ययनशाला’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकमाझ ‘सिकाउनका लागि पढौँ’ अभियान सञ्चालन गरिने भएको छ ।

बौद्धिक अपाङ्गता एवं अटिजम भएका बालबालिकाको शैक्षिक अधिकार सुनिश्चितताका लागि प्रदेश स्तरमा सुविधासम्पन्न आवासीय विद्यालय निर्माण गरिने जनाइएको छ । ‘स्वस्थ जीवन, हाम्रो अभियान’सँगै ध्यान तथा योग शिविरसहितको गण्डकी जागरण अभियान सञ्चालन गरिने भएको छ । खेलकुदतर्फ साहसिक, मनोरञ्जनात्मक, परम्परागत र वैकल्पिक खेलकुद प्रतियोगिता आयोजना गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । उच्च उचाइ खेल केन्द्रको पूर्वाधार निर्माण सुरु गरिने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ । पूर्वाधार विकासका लागि स्थानीय तहको सहलगानी तथा साझेदारी हुने आयोजनालाई प्राथमिकता दिइने भएको छ । प्रदेश राजधानी पोखरामा सुविधासम्पन्न बहुतले पार्किङ भवन निर्माण गर्ने कार्यलाई प्रोत्साहन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ‘उज्यालो गण्डकी प्रदेश अभियान’लाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

डिजिटल नेपाल ‘फ्रेमवर्क’का आधारमा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उल्लेख छ । ‘समुन्नत प्रदेश: प्रभावकारी सेवा’लाई प्रशासन सुधारको मूल आदर्श मानी नीतिगत तथा संरचनागत सुधारमार्फत सेवा प्रवाहलाई छरितो, चुस्त र नतिजामुखी बनाइने भएको छ । सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीयतालाई सुदृढीकरण गरी संस्थागत गर्न नीति तथा कार्यक्रम सहयोगीसिद्ध हुने जनाइएको छ ।

https://drive.google.com/file/d/1XPS158Yvbg-m0Z4NTcvSrxsMPFoVhvkt/preview

कैलालीमा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन

गोदावरी (कैलाली), २९ जेठ : कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार सात सय ९७ मेट्रिकटन उत्पादन भएको थियो । यसवर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको उहाँले बताउनुभयो । केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो । 

जिल्लामा यसवर्ष तोरी (एकल बाली) छ हजार चार सय १० र तोरी (घुसुवा बाली) सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । तोरी (एकल बाली) आठ हजार छ सय २० मेट्रिकटन र तोरी (घुसुवा बाली) पाँच हजार तीन सय ४० मेट्रिकटन गरी कूल १३ हजार नौ सय ६० मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष १३ हजार नौ सय ५१ हेक्टरमा तोरी खेती गरिएको थियो । यसवर्ष ९० हेक्टर क्षेत्रफलमा आलस खेती गरिएकामा ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

अमित शाहलाई दोस्रो कार्यकालका लागि भारतीय गृहमन्त्रीको जिम्मेवारी

भारतीय जनता पार्टी (भाजपा) नेता अमित शाहले लगातार दोस्रो कार्यकालका लागि मङ्गलबार भारतको गृह मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । जिम्मेवारी सम्हालेपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उहाँले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पु¥याउने र भारतलाई आतङ्कवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रुपमा निर्माण गर्नेे बताउनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ । पदबहाल सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा राख्दै भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैंजस्तै प्रतिबद्ध रहनेछ ।”

“प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल भारतको सुरक्षाको लागि आफ्नो प्रयासलाई थप उचाइमा पु¥याउनेछ र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ,” शाहले एक्समा लेख्नुभएको छ । यदि शाहले लगातार पाँच वर्ष काम गर्नुभयो भने उहाँ भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म गृहमन्त्री बन्ने व्यक्ति बन्नुहुनेछ ।

यसअघि भारतीय राष्ट्रिय काङ्ग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले छ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गर्नुभएको थियो । शाह र भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहले पाँच–पाँच वर्ष उत्तर भारतको राजनीतिक जिम्मेवारी सम्हाल्नुभएको थियो ।

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु

मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उहाँकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो ।

साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए ।विमानलाई विमानस्थलबाट दिइएको सङ्केतबारे एयर ट्राफिक अधिकारीले भने, “विमान लिलोङवेबाट करिब २०० माईल उत्तरमा रहेको एमजुजु विमानस्थलमा कमजोर दृश्यताका कारण अवतरण गर्न नसकेपछि चालकलाई राजधानी जान सल्लाह दिइएको थियो ।”

स्थानीय समय अनुसार सोमबार राति टेलिभिजनमा सम्बोधन गर्दै चावेराले चिलिमाको विमान फेला नपरेसम्म खोजी तथा उद्धार कार्य जारी रहने बताउनुभयो ।पाँच वसन्त पार गरिसक्नुभएका चिलिमालाई मलावीमा सन् २०२५ मा हुने राष्ट्रपतिको निर्वाचनको सम्भावित दावेदारको रूपमा हेरिएको थियो ।

मुग्लिन-पोखरा सडक विस्तार तीव्र

तनहुँ, २९ जेठ : मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ ।पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ ।

आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।”

पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उहाँले जानकारी दिनुभयो । विसं २०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो ।कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताउनुभयो । त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमि सडक कालोपत्र गरिएको छ । सम्झौता अनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उहाँका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।

पन्ध्र करोड ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ २९ जेठ : कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्सलगायतका देश पठाइदिन्छु भनी तीन सयभन्दा बढी व्यक्तिबाट रु १५ करोड ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरूमा चितवनको भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ घर भई हाल पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन विक र कास्कीकै पोखरा महानगरपालिका-८ घर भई हाल चितवनको भरतपुर महानगरपालिका-८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।

फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भनी आकर्षक तलब, भत्तासहितको विज्ञापन गरी सम्पर्कमा आएकाहरूलाई ठगी गर्ने गरेका थिए । उक्त ठगीको सम्बन्धमा उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कार्यालयका कर्मचारीहरुको खातामा विदेश जान सम्पर्कमा आएका मानिसबाट रकम जम्मा गर्न लगाइ उक्त रकम चेकबाट निकालेर विभिन्न खातामा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको  छ । उनीहरूले भिसा प्रकृया चलिरहेकाले भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्टलगायतका नक्कली कागजात देखाइ टिकट र डलर साट्न पैसा लाग्ने भन्दै प्रति व्यक्ति रु पाँच लाखदेखि १० लाखका दरले पैसा लिएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

काठमाडौँ । देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा प्रशिक्षणको उद्घाटन गरे ।

नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी ६ महिनासम्म जारी रहने छ ।

त्यस अवसरमा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध राष्ट्र चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको बताउँदै चिनियाँ भाषा अप्ठेरो भए पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको उल्लेख गरे ।

उनले चिनियाँँ र भारतीय पर्यटककोे आर्कषण हाम्रो मुलुक भएकाले धेरैभन्दा धेरै पर्यटक छिमेकी देशहरूबाट भित्राउन हामीले उनीहरूलाई आकर्षक ‘प्याकेज’ उपलव्ध गराउन जरुरी रहेको बताए ।

भाषाका दृष्टिले भारतीयसँग व्यवहार गर्न नेपालीलाई सहज भए पनि चिनियाँ भाषा अलि कठिन भएकाले मेहनत गर्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

राजदूत छनले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरूपमा चाडै सिक्ने र प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाए । चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार भएको उनले बताए । धेरै व्यापारी र लगानीकर्ता नेपाल आउने तयारीमा रहेका जानकारी दिँदै उनले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता भएको बताए ।

साथै उनले दुई देशको आत्मीयता विस्तार गर्न पनि भाषा सिक्न आवश्यक भएको बताए । चिनियाँ नागरिकलाई पनि नेपाली भाषा सिकेर नेपालको कला संस्कृतिसँग जोडिन चिनियाँ राजदूतले आग्रह गरे ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंह ऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले राजदूतमार्फत चिनियाँ सरकारलाई अझ धेरै नाका खुला गर्न अनुरोध पनि गरे ।

परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका दुई सयजना प्रशिक्षार्थी देशका विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेका जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषा कक्षा सञ्चालनको माग रहेको बताए ।

वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो

सर्लाही, २९ जेठ : वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।

समितिका नौ जना, सागरनाथ वन विकास परियोजनाका एक सय ४३ र रतुवामाई वृक्षरोपण आयोजनाका ४२ कर्मचारीले तलब नपाएको नेपाल निजामती कर्मचारी सङ्गठन सागरनाथ वन विकास परियोजना, सर्लाहीका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समिति मातहतका परियोजनाका साथै आयोजना क्षेत्रमा उत्पादित वन पैदावार बिक्री नहुँदा कर्माचारीहरुले गत मङ्सिरदेखि तलब नपाएका हुन् । अवकाश लिएका १८ कर्मचारीलेसमेत उपदानबापतको रकम पाएका छैनन् ।परियोजना क्षेत्रमा उत्पादित करिब रु २० करोड मूल्य बराबरको एक लाख १८ हजार क्युफिट काठ बिक्री नभएपछि तलब दिन नसकेको परियोजना प्रमुख प्रेमीलाल प्रसाद साहले बताउनुभयो । उहाँका अनुसार विसं २०३५ सालदेखि आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको समिति मातहतका परियोजना र आयोजना वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ सूत्र लागू भएपछि समस्यामा परेको हो ।

काठ बिक्री नहुँदा समिति आर्थिकरुपमा धराशायी बनेको छ । काठ बिक्रि गर्न पटकपटक ठेक्का आह्वान गर्दा पनि व्यवसायीले ठेक्का सकार नगरेपछि घाटगद्धीमै काठ थन्किएको वन पैदावार विकास समितिका कार्यकारी अध्यक्ष राजदेवप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार सरकारसँग रु आठ करोड किस्ताबन्दीमा ऋण लिएर यसअघि १३ महिनाको तलब दिएको भए पनि अहिले कर्मचारीलाई तलब दिन नसकेको अध्यक्ष यादवले बताउनुभयो ।

परियोजना सङ्घीय सरकार की प्रदेश सरकार मातहत रहने भन्ने मुद्दा सर्वाेच्च अदालतमा छ वर्षदेखि विचाराधीन रहेका कारण समिति अलपत्र बनेको हो । सहसचिवको दरबन्दी रहेको परियोजनामा कार्यालय प्रमुखसमेत आउन नमान्ने समितिले जनाएको छ ।

पहिला ‘क्वाटर गर्थ’ सूत्रमार्फत काठ नापजाँच तथा बिक्री हुने गरिएको भए पनि वन नियमावली संशोधन गरी ‘हुबर’ सूत्रले हिसाब गर्दा काठको परिमाण र राजस्व दर धेरै निस्किने गरेका कारण परियोजना क्षेत्रमा उत्पादन भएको टिक, सिसौ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल र बाँझीलगायत प्रजातिका काठ लामो समयदेखि बिक्री भएको छैन । काठ कुहिने अवस्थामा पुगेको छ ।

बर्दिवास हात्तीलेटका बासिन्दा भन्दछन् – ‘मध्यरातमा अब डोल र गाग्री बोकेर इनारतिर जानु पर्दैन’

महोत्तरी । महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी सङ्कलन गर्न ट्याङ्की निर्माण भइसकेको छ । साथै पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको सङ्कट समाधान हुन लागेको हो । बस्तीमा सरकारको तराई मधेस खानेपानी योजनाअन्तर्गत रु एक करोड ५० लाखको अनुदान सहयोगमा ‘ओभरहेड ट्याङ्की’ निर्माण भएको हो ।

“अब खानेपानी पाइने आशा जागेको छ”, हात्तीलेटको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि रानाले भने, “ अब खानेपानीका लागि सङ्कट झेल्नु पर्दैन ।” योजनाको ओभरहेड, कार्यालय भवन, चौतर्फी पर्खाल र बोरिङ जडानलगायतका काम सम्पन्न भएपछि अहिले धमाधम पाइप ओछ्याउने र धारा जडानको काम थालिएको अध्यक्ष रानाले बताए । पाइप ओछ्याउने र धारा जडानसहितका काममा मधेस सरकार र बर्दिबास नगरपालिकाको साथ संस्थाले पाएको छ ।

योजनाको पाँच सय घरमा धारा पुर्याउने लक्ष्य छ । यसअनुसार अघि बढेको काममा अब आउने असार दोस्रो साताभित्रै तीन सय ५० घरका धारामा पानी झर्ने संस्थाले जनाएको छ । योजनाअन्तर्गत चार किलोमिटरभन्दा बढी पाइप ओछ्याइसकिएको रानाले जानकारी दिए।

अहिले विद्युत् र धारा जडानको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म पाँच सय घरमै धारा जडान र पानी आपूर्ति गरिने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष रानाले बताए ।

नगरक्षेत्रमा खानेपानीको सङ्कट झेल्नुपरेका बेला हात्तीलेटको कामले अन्य ठाउँका लागि सिकाइ हुने बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउनुहुन्छ । “हामी (नगरपालिका)नगरक्षेत्रका घरघरै धारा जडान गर्ने अभियानमा छौँ, ‘एक घर एक धारा’ हाम्रो अभियानको नारा हो”, नगरप्रमुख क्षेत्री भन्छन्, “सबै नगरवासीले स्वच्छ खानेपानी सहज रूपमा पाउने व्यवस्थाका लागि हामी प्रतिबद्ध भएर काममा लागेका छौँ ।”

जिल्लामा पानीका स्रोतका मुहान धमाधम सुक्दैछन् । यसरी जमिनमुनिको पानीको सतह गहिरिँदै जाँदा कैयन इनार र बोरिङ एकपछि अर्को सुक्दै जाँदा पछिल्लो दशकमा हात्तीलेटवासीले खानेपानी जुटाउन निकै सास्ती व्यहोर्दै आएका छन् ।

यो अभावका बीच ५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माणले हात्तीलेटवासीमा पानीको सङ्कट टर्ने नयाँ आशा पलाएको बर्दिबास–८ का वडाध्यक्ष शमशेरसिंह लामा बताउँछन् ।

पानीका लागि ६०–७० फिट गहिरो इनारबाट पालो पर्खेर पानी तान्नुपरेको विद्यमान दुःख अन्त्य हुने जनाइएको छ । धनमाया बलम्पाकीले भनिन् “अब भने नयाँ धारा चलेपछि मध्यरातमै डोल, गाग्री बोकेर इनारतिर जानु पर्दैन । ” योजनाबाट दुई हजारभन्दा बढी यहाँका बासिन्दा लाभान्वित हुने सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हात्तीलेटले जनाएको छ ।

निर्माण रोकिएको शीतभण्डार पुन: सुरु गर्न किसानको आग्रह

टीकापुर (कैलाली), २९ जेठः जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ।

दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि विसं २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः सुरु गर्न आयोजनाले छलफल चलाएको छ । ढाँचा समीक्षा, इन्जिनियरहरुद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरिएको छ । यही जेठ २४ गते निर्माण व्यवसायी र आयोजनाबीच निर्माण सञ्चालन गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ ।

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो । शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म छ । रु सात करोड छ लाख ६९ हजार छ सय ९० मा निर्माण गर्ने सम्झौता भएको छ । शीतभण्डारमा ८० प्रतिशत अर्थात् रु पाँच करोड ८५ लाख ३५ हजार सात सय ५२ आयोजना र २० प्रतिशत अर्थात् रु एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ उपभोक्ताको लगानी रहनेछ । अहिलेसम्म रु ९३ लाख २५ हजार खर्च भएको छ ।

शीतभण्डार बनेपछि यहाँका किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको, यसमा ८५ हजार छ सय ७७ मेट्रिक टन आलु उत्पादन हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार आयोजनाको कार्यक्षेत्र जानकी, टीकापुर र लम्की चुहामा एक हजार पाँच सय ४५ हेक्टरमा आलुखेती हुने गरेकामा ३४ हजार ६७ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

आयोजनाले चालु आर्थिक वर्ष २०८०÷८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि रु १० लाख र आलु विकास (क्षेत्र विस्तार तथा भण्डारण समेत)मा रु ४० लाख खर्च गरेको छ । आयोजनाले आगामी वर्ष २०८१÷८२ मा आलु बिजवृद्धि सहयोग कार्यक्रमका लागि रु १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि रु एक करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताउनुभयो । “आयोजनाले आलुखेतीमा किसानलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ”, उहाँले भन्नुभयो, “शीतभण्डार बनेमा अझ किसानको आलुखेतीमा आकर्षण बढ्नेछ ।”

उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम रु एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ मध्ये उपभोक्ताले कुलो समितिमार्फत रु ७४ लाख सङ्कलन गरेका छन् भने बाँकी रकम टीकापुर नगरपालिकाले दिने सहमति भएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिकै पालामा सहमति भए पनि यस आवमा भुक्तानी दिने तयारी भएको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानलाई दिइने अनुदानको मापन गर्ने अभ्यास नरहेकाले समस्या भइरहेको बताउनुभयो । “अनुदानपछिको किसानको अवस्था थाहा हुँदैन, त्यो पनि अध्ययन गरिनुपर्छ”, उहाँले भन्नुभयो, “जानकी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेको छ । हामीले गहुँखेतीबाट सुरु गरेका छौँ ।” उहाँले गहुँ उत्पादनमा अनुदानका लागि पहिलो वर्ष १४ किसान सहभागी भएकामा यस वर्ष सय किसानले आवेदन दिएको बताउनुभयो ।

समयमै शीतभण्डार निर्माण भएमा यहाँका किसानलाई आलु भण्डारणका लागि बर्दिया, पहलमानपुर, कोहलपुर लैजानुपर्ने समस्या समाधान हुने बताएका छन् । किसान सागर न्यौपानेले अन्य ठाउँका शीतभण्डारमा भण्डारण सामान अपुग हुँदा सञ्चालनमा समस्या रहेकाले यहाँ दुईवटा पाँच–पाँच सय क्षमताका च्याम्बर बनाउन माग गर्नुभयो ।

किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तोक्न अनुरोध गर्नुभयो । “शीतभण्डार निर्माणका लागि रकम सङ्कलन गर्न छ महिना बढी दौडधुप गर्याँै, फेरि शेयर रकम उठाउन गाह्रो छ”, रानी जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महतोले भन्नुभयो, “कार्यविधिमा संस्थापक र साधारण शेयर सदस्यको व्यवस्था छ, शीतभण्डार निर्माणपछि सञ्चालनका लागि रकम उठाउनुपर्छ ।” उहाँले शीतभण्डार निर्माण प्रक्रिया थाल्दा किसानले आलु उत्पादन गर्ने प्रतिबद्धता गरेको पनि बताउनुभयो ।

किसान टेकबहादुर रावलले गाउँगाउँमा स्थानीय पालिकाले आलु सङ्कलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । किसान भीम महरले लागत अनुमान बदलेमा लागत बढ्ने भएकाले बढी हुने रकमको २० प्रतिशत किसानले उठाउने कुरामा चासो बढेकाले यसबारे निक्र्योल गर्नुपर्ने बताउनुभयो । उहाँले साना किसान र ठूला किसान भन्दा पनि आयआर्जनमा बढी ध्यान दिँदै क्षेत्र विस्तार कार्यक्रम अझै बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रानी जमरा कुलरिया मूल कुला समितिका उपाध्यक्ष कृतिबहादुर रोकाया, सचिव परशुराम महतो, कुलरिया कुला समितिका अध्यक्ष रविलाल चौधरी, जमरा कुलोका मानबहादुर चौधरी, रानी कुलो समितिका श्रीपाल चौधरीलगायतले समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न आयोजनासँग माग गर्नुभएको छ ।

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

वीरगञ्ज (पर्सा), २९ जेठः पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।

पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । “जिल्लाको १४ वटै पालिकामा आइपिभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो”, उहाँले भन्नुभयो, “हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्याङ्कले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ । अहिलेसम्म अन्तिम तथ्याङ्क भने आइसकेको छैन ।”

विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आइपिभी खोप लगाउन बञ्चित बालबालिकालाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले पर्सा जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष्यसहित अभियान सुरुआत गरेको थियो ।

प्रमुख डा साहले खोप अभियानमा लक्ष्यभन्दा पनि केही प्रतिशत बढी बालबालिकामा खोप लगाइएको दाबी गर्नुभयो । “वीरगञ्जमा अन्य क्षेत्रबाट बालबालिका आउने क्रम धेरै हुने भएकाले पनि लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउन पाएका छन्”, उहाँले भन्नुभयो, “खोप अभियानका क्रममा कुनै पनि प्रकारको अवाञ्छित घटना भएन । सबै निकायको समन्वय र सहकार्यमा खोप अभियानलाई सफलतापूर्वक अघि बढाउन सक्यौँ ।”

पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगञ्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सञ्चालन गरिएको थियो । त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

त्यस्तै दोस्रो चरणमा भने जेठ २३ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सोही अभियानमा पोखरिया र पर्सागढी नगरपालिका सहित जिराभवानी , जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका बालबालिकाममा खोप लगाइएको थियो । सोही अभियानमा वीरगञ्ज महानगरपालिका–१७ देखि ३२ नम्बर वडा क्षेत्रमा खोप लगाइएको थियो । यस्तै, जेठ २७ गते छुटफुट भएका बालबालिकालाई खोप लगाइएको थियो । पोलियो रोगविरुद्धको खोप दुई प्रकारका रहेका हुन्छन् । मुखबाट खुवाइने पोलियो खोप (ओपिभी) सुईबाट दिइने पोलियो खोप (आइपिभी) भन्ने गरिन्छ ।

चोयु हिमालमा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण

काठमाडौँ,-आरोहणका हिसावले निकै कठिन मानिएको चोयु हिमाल (८१८८ मिटर) मा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण भएको छ । उक्त हिमालमा हालै छ जना शेर्पासहित एक विदेशी नागरिकले पहिलो पटक सफल आरोहण गरेसँगै नेपालबाट आरोहणको ढोका खुलेको हो । पर्यटन विभागका अनुसार नेपालतर्फबाट पहिलो पटक चोओयुको सफल आरोहण भएको छ । गत शुक्रबार छजना शेर्पा र एकजना फ्रान्सका नागरिकले चोयु चढ्न सफल भएका थिए ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको हो । यसअघि नेपालतर्फबाट चोओयुको आरोहणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । आरोहणका लागि निकै कठिन मानिने चोओयु आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । चोओयु हिमाल चीनतर्फबाट मात्रै आरोहण हँुदै आएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार आरोहण टिममा फ्रान्सका अलास्डिर म्याकान्जि, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा छन् ।

चोयु हिमाल आरोहण गरी आज काठमाडौँ आइपुगेको टोलीलाई विमानस्थ र पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भब्य सम्मान गरिएको छ । बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आरोही टोलीलाई सम्मान गरेको हो ।

विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितले नेपाली टोलीले लामो समयको प्रयासपछि कठिन, साहसिक र जोखिमपूर्ण मानिएको चोयु आरोहण गरेर नेपालको पर्वतारोहणलाई विश्वभर नयाँ सन्देश दिन सफल भएको बताउनुभयो ।

बोर्डका उपध्यक्ष रामप्रसाद सापकोटाले विगतमा चीनतर्फबाट मात्रै आरोहण भइरहेको चोयुको आरोहण सफलताले अब नेपालबाटै आरोहीहरुले आरोहण गर्न पाउने भन्दै खुसी व्यक्त गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि चोयु आरोहणको सफलताले पुनःविश्वभर नेपालको पर्यटन क्षेत्रको प्रचार हुने विश्वास व्यक्त गर्नुभयो ।

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

चितवन, २९ जेठः राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो ।

कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उहाँले बताउनुभयो ।

जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार पाँच सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् । उहाँले भन्नुभयो, “अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । हाम्रो कोटा दिनमा एक सय ७० जनाको मात्र हो ।” सोवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको जनाउँदै उहाँले भन्नुभयो, “भीड कम नभए अभियानलाई निरन्तरता दिइने छ ।” परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेसँगै फोटो खिच्ने ‘स्टेशन’ थप गरिएको उहाँले बताउनुभयो । पहिला चारवटा मात्रै ‘स्टेशन’बाट सेवा दिइएकामा अहिले थप गरेर पाँचवटा बनाउँदा समेत चाप कम हुन नसकेको उहाँले बताउनुभयो ।

सरकारलले लागू गरेको सामाजिक सुरक्षा कोषसँगै वैदेशिक प्रयोजन र अन्य कामका लागि परिचयपत्र आवश्यक पर्ने भएपछि सेवाग्राहीको चाप बढेको उहाँले बताउनुभयो । परिचयपत्रको भीडले गर्दा अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उहाँले हरेक पालिकामा शिविरको रूपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिनुभयो । यस विषयमा विभागसँग छलफल चलिरहेको जनाउँदै उहाँले शिविर चलाउन सकेमा भीड कम गर्न सहज हुने बताउनुभयो ।