`

चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्युजिल्याण्डको भ्रमण गर्ने

चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्युजिल्याण्डको भ्रमण गर्ने प्रधानमन्त्रीक्रिस लक्सनले सोमबार बताउनुभएको छ ।सन् २०१७ पछि न्यूजील्याण्ड भ्रमण गर्ने लीपहिलो चिनियाँ प्रधानमन्त्री हुनुहुनेछ । “मन्युजिल्याण्डमा प्रधानमन्त्रीलीलाई न्यानो स्वागतगर्न तत्पर छु,“ लक्सनले बताउनुभयो । प्रधानमन्त्रीको भ्रमण न्युजिल्यान्ड र चीनबीचको सहयोगका क्षेत्रहरूमा आदानप्रदानको लागि बहुमूल्य अवसर हो ।

हालै चिनियाँ मन्त्रीस्तरीय टोलीले न्यूजील्याण्डको भ्रमण गरेका थियो । चीन न्यूजील्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार हो । वेलिङ्टन पश्चिमी प्रजातन्त्रहरूमा बेइजिङको सबैभन्दा नजिकका साझेदारहरू मध्ये एक हो । तर हालैका वर्षहरूमा चीनले प्रशान्त महासागरमा आफ्नो सैन्य र कूटनीतिक शक्तिविस्तार गर्न खोज्दा सम्बन्धमा तनाव उत्पन्नभएको छ ।

प्रधानमन्त्री मोदीद्वारा तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक : गरिबहरूका लागि तीन करोड घर उपलब्धगर्ने निर्णय

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार पहिलो केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ । आज बसेको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

आवास सहायताको लागि योग्य हुने परिवारहरूको बढ्दो सङ्ख्याको प्रतिक्रिया स्वरूप यो निर्णय गरिएको हो । ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पु¥याउन सरकारले सन् २०१५÷१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।
कार्यक्रम अन्तर्गतगत १० वर्षहरूमा आवास योजना र यस अन्तर्गत योग्य गरीब परिवारहरूको लागिकुल ४.२१ करोड घरहरूको निर्माण पूरा भएको छ ।

निर्माण गरिएका सबै घरहरूलाई अन्य आधारभूत सुविधाहरू जस्तै घरेलु शौचालयहरू, ग्यास जडान, बिजुली जडान, धारा जडान, आदि केन्द्र सरकार र राज्य सरकारहरूको अन्य योजनाहरूसँग मिलाएर उपलब्ध गराइन्छ ।सन् २०१५ मा सुरु गरिएको प्रधानमन्त्री आवास योजना शहरीमिशन अन्तर्गत सन् २०२२ सम्ममा शहरी क्षेत्रमा सबैका लागि आवास उपलब्ध गराउने उद्देश्यले गरिएको थियो ।यो आवास योजना शहरी मामिला मन्त्रालय अन्तर्गत भारत सरकारद्वारा लागू गरिएको प्रमुख कार्यक्रममध्ये एक हो ।

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप

काँक्रेविहार (सुर्खेत), २९ जेठः कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो ।

आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताउनुभयो । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताउनुभयो ।

विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयानुसार रूखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युत्को समस्या जहाँको तहीँ छ ।

हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने दशवटा फाउण्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

चार सय केभी निर्माण गर्ने सरकारको उद्घोष

सरकारले आगामी आवबाट चार सय केभी प्रसारण लाइन निर्माण सुरु गर्ने बताएको छ । भेरी र कर्णाली करिडोरामा चार सय केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको लक्ष्य छ । चार सय केभी प्रसारण लाइन एक सय ५० केभी प्रसारण लाइनमा ल्याएर जोडिने छ । नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माण भएमा उक्त विद्युत् मैनतडास्थित चार सय केभीको सबस्टेशनमा जोडिने लक्ष्य लिएको छ । नलगाडको पिपीए नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशसँग भइसकेको छ ।

जगदुल्लाको पिपीए बाफीकोटस्थित सबस्टेशनमा भए पनि पुनः दानीपिपलस्थित चार सय केभीको सबस्टेशनमा हुने भएको छ । त्यस्तै कर्णाली करिडोर हुँदै चार सय केभी प्रशारण लाइन निर्माण हुनेछ । साविकको कर्णालीलगायत अन्य दैलेखलगायतका जिल्लामा विद्युतीकरण गर्न यो काम हुने भएको हो । भेरी करिडोरमा निर्माण हुने चार सय केभी प्रसारण लाइन डबल सक्र्रिटको छ । दुई हजार पाँच सय मेगावाट विद्युत् यही प्रसारणमार्फत जोड्ने लक्ष्य छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताउनुभयो ।

बत्तीस केभीले कर्णाली हैरानीमा

पटकपटक विद्युत् अवरोध हुँदा कर्णालीमा हैरानी भएको छ । ३२ केभी प्रसारण लाइनको विद्युत् पुराना भएकाले पटकपटक समस्या आउने गरेको छ । दिनमा कम्तीमा सातपटकभन्दा बढी अवरोध हुँदा समस्या हुने गरेको हो । हावापानी चल्नेबित्तिकै पूरै लाइन अवरुद्ध हुने गरेको छ । कर्णालीका उद्योगी, व्यवसायी विद्युत्को मारमा परेका छन् । बत्ती आइहाले पनि ‘लो भोल्टेज’का कारण काम गर्न गाह्रो हुने गरेको वीरेन्द्रनगर नगरपालिका–१० का मोहनजङ्ग शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बत्ती आए पनि पङ्खा घुम्दैन, पानी तान्ने मोटर नै चल्दैन ।”

आइसिसी टि–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो

काठमाडौँ, २९ जेठः अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो ।

बङ्गलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । त्यस्तै महमुदउल्लाहले २७ बलमा दुई चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा एक छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । त्यसैगरी डेविड मिलरले ३८ बलमा २९ रन बनाए । ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन जोडे । बङ्गलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै रिशाद होस्सेनले एक विकेट लिए ।

यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा छ अङ्क बटुलेको छ । पराजित बङ्गलादेशको दुई खेलमा दुई अङ्क नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अङ्क नै छ । नेपाल र श्रीलङ्का अङ्कविहीन छन् । दुवै टोलीले समान एक–एक खेल खेलेका छन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि हुनेछ ।

साम्तुङ–सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण

म्याग्दी, २९ जेठः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको ककच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण भएको कच्ची नहरलाई पक्कीमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पछिल्लो दुई आर्थिक वर्षयता एक किलोमिटरभन्दा बढी पक्की नहर निर्माण गरिएको उपभोक्ता समितिका उपाध्यक्ष सोमबहादुर आलेले जानकारी दिनुभयो ।

“चार किलोमिटर कुलोमध्ये गत वर्ष पाँच सय ७० मिटर र चालु आर्थिक वर्षमा पाँच सय ६५ मिटर पक्की नहर निर्माण भएको छ”, उहाँले भन्नुभयो, “सोताबाट मुहानतर्फ आगोवाङ भन्ने ठाउँसम्म पक्की नहर बनाइएको छ । थप तीन किलोमिटर बढी पक्की नहर बनाउन आवश्यक छ ।”

साम्तुङ–सोता सिँचाइ आयोजनालाई गण्डकी प्रदेश सरकारले आव २०७९÷८० र २०८०÷८१ का लागि रु २०–२० लाख बजेट विनियोजन गरेको थियो । मङ्गला गाउँपालिकाको सिमाना भएर बग्ने अर्चेखोलाको मुहानबाट पठाएको पानी सोता पुग्दा सोसिएर थोरैमात्र पुग्ने समस्या भएपछि पक्की नहर बनाउन थालिएको सोतावासी सर्वलाल थापाले बताउनुभयो ।

यो आयोजनाबाट अर्चेखोला, आगोवाङ, सोतामा एक सयजनाभन्दा बढी किसानको एक हजार रोपनी क्षेत्रफल जमिनमा बाह्ै महिना सिँचाइ सुविधा पुग्ने उहाँले बताउनुभयो । गत फागुन महिनादेखि सुरु गरेको नहर निर्माणको सम्झौताअनुसारको काम सकेर सोमबार बिहानदेखि पानी चलाउन थालिएको उपभोक्ता समितिले जनाएको छ ।

पक्की नहर बनेपछि धानको ब्याड राख्न, मकै, गहुँमा सिँचाइ गर्न र समयमै रोपाइँ गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर रोकाले बताउनुभयो । साम्तुङ–सोता सिँचाइ आयोजनालाई पञ्चवर्षीय योजनाका रूपमा पूर्णता दिन गण्डकी प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पहल गरेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आवमा जिल्लामा ६० वटा सिँचाइ आयोजना सञ्चालन गरेको छ । अधिकांश आयोजनामार्फत कच्ची कुलोलाई पक्की बनाइएको र पाइप लाइन जडान भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । अन्ठाउन्न योजना उपभोक्ता समिति र दुईवटा बहुवर्षीय ठेक्कामार्फत कार्यान्यन्वयन गरिएको छ । उपभोक्ता समितिसँग सम्झौता भएका सबै योजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका सबइन्जिनियर अञ्जन खत्रीले बताउनुभयो ।

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

ढोरपाटन (बागलुङ), २९ जेठः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ । दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो ।

ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन् । मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घरहरुमात्रै छन् । परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन् । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्को पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन् । यस गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन । ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन् ।

झण्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगङ्गा नदी पार गरेर गाडीको सुविधा भने पाउन सक्छन् । मौलिकता र प्राकृतिक सुन्दरताको सङ्गम रहेको दिजगाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । अझ बढी त बर्खाको समय पदयात्र गर्दै युवायुवती यहाँ जाने गरेका छन् । भौगोलिक विकटताका र प्रचारप्रसार कमीले ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ । निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै दिजगाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत् नहुँदा नबसी जाने गरेको स्थानीय मनकुमारी घर्तीमगरले बताउनुभयो ।

गाउँमा रहेको काठका घर हेर्न समय–समयमा विदेशी पर्यटक पनि आउने गरेको उहाँ बताउनुहुन्छ । धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदलयात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने घर्तीमगरले बताउनुभयो । गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको उहाँको भनाइ छ । सरकारले दिजगाउँलाई प्राथमिकता दिएर विकास गरे विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने घर्ती मगरले बताउनुभयो । विद्युत् ल्याउन पोल गाडे पनि अहिलेसम्म लाइन तान्ने कार्य भएको छैन, बिजुलीमात्रै आए पनि गाउँको मुहार फेरिने उहाँ बताउनुहुन्छ ।

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छे घुम्न आउँछन् । गाउँभन्दा पारिपट्टि निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन् । यतिबेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवा घुम्न आउने गरेका छन् । गुल्मी घर भई बुटवलमा पढ्दै आउनुभएका विनोद भण्डारीले दिजगाउँसहित निसेलढोर क्षेत्र घुम्न आएको बताउनुभयो । छजनाको समूहमा यहाँ आएको सुनाउँदै तीन दिन ढोरपाटनसहितका क्षेत्र घुम्ने योजना रहेको सुनाउनुभयो । ढोरपाटन आएको दोस्रो दिन दिजगाउँ पुगेको भन्दै यस गाउँले आफूहरूलाई मोहित बनाएको उहाँले सुनाउनुभयो ।

ढोरपाटन –९ का अध्यक्ष खीमबहादुर घर्तीमगरले यस गाउँको मौलिकता संरक्षण गरी राख्ने बताउनुभयो । गाउँको काठेका घरले धेरै पर्यटकलाई आकर्षित गरिरहेको जनाउँदै विस्तारै विकासले जोडिन थालेको उहाँको भनाइ छ । टाढा–टाढाबाट घुम्न आउने पर्यटकलाई लक्षित गरी दिजगाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको सुनाउँदै यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनुपर्ने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाउँमा सडक पुर्याउन प्रयास गरे पनि सिकार आरक्षको अवरोधका कारण हालसम्म पुर्याउन नसकिएको उहाँको भनाइ छ ।

अध्यक्ष घर्ती मगरले भन्नुभयो, “अहिलेसम्म यो गाउँ अन्धकार छ, विद्युत् पुर्याउन ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट तयारी गरिरहेका छौँ, अहिले पोल गाड्ने काम भइसकेको छ, अब छिट्टै लाइन तानेर विद्युत् सञ्चालन गर्नेछौँ, खानेपानीको समस्या छ, त्यसका लागि पनि खानेपानी कार्यालय बागलुङबाट काम हुँदैछ, सडक पुर्याउन साविक बोबाङ गाविस हुँदादेखि नै बजेट छुट्याएर काम अगाडि बढाएका थियौँ, सिकार आरक्षले अवरोधका कारण अहिलेसम्म पुग्न सकेको छैन, अब हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास सञ्चालन गर्नेतर्फ हुनेछ ।”

धान नबिकेपछि झापाका किसान चिन्तित

बनियानी (झापा), २९ जेठः गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो ।

“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उहाँले भन्नुभयो, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उहाँले बताउनुभयो । धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहनुभएका उहाँले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गर्नुभएका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गर्नुभएको छ । “सुरुसुरुमा रु एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन रु नौ सय भएको छ”, उहाँले भन्नुभयो । एक बिघाको धान काटेर थुपार्नु भएका उहाँले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताउनुभयो । एक साताभित्र धानको मूल्य प्रतिमन रु तीन सयले घटेको उहाँको भनाइ छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ ।

“किसानले धान उत्पादन गरे पनि उचित मूल्य नपाउँदा कि त धान कुहिएर जाने अवस्था छ, कि त जतिमा भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ”, किसान मिश्रले गुनासो गर्नुभयो, “नबेच्दा पनि उपाय छैन, अहिले किसानलाई निकै घाटा हुने अवस्था छ ।”

नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको मिश्र बताउनुहुन्छ । गत चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेका थियो ।

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय गरेको थियो । तर, अहिले सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि काम मूल्यमा किसान धान बेच्न बाध्य हुनुका साथै बिक्रीसमेत नहुँदा चिन्तित बनेका छन् ।

गगङ्टे–गोल्फुभञ्याङ सडक स्तरोन्नतिका लागि विनियोजित बजेट कार्यान्वयनको माग गर्दै कांग्रेसको खबरदारी सभा

त्रिशूली (नुवाकोट- नुवाकोटको ‘गगङ्टे–गोल्फुभञ्याङ सडक’को स्तरोन्नतिका लागि विनियोजित बजेट कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र नं १ ले खबरदारी सभा गरेको छ ।अस्फाल्ट प्रविधियुक्त कालोपत्रेसहितको सडकको स्तरोन्नति गर्न बोलपत्र आह्वान भए पनि निर्माण व्यवसायी छनोट गरेर काम गर्न कार्यदेश नदिएपछि योजना कार्यान्वयनका लागि दबाब दिन कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र नं १ ले खबरदारी सभा सुरु गरेको हो ।

उक्त सडकको स्तरोन्नतिबाट लाभ पुग्ने भूगोललाई केन्द्रित गरेर ढिकुरे बजारबाट सुरु भएको खबरदारी सभालाई सम्बोधन गर्दै यहाँका कांग्रेसका नेताहरुले एक साताभित्र योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

संविधानसभा सदस्य तथा पूर्वजिल्ला सभापति जगदिश्वरनरसिंह केसीले अर्थ मन्त्रालयबाट रु एक अर्ब २० करोडको स्रोत सुनिश्चित गराइ लगाएको ठेक्काको प्रक्रिया अघि नबढेको बताउनुभयो । “जिल्लाको निर्वाचन क्षेत्र नं १ र विशेष गरेर दुर्गम बस्तीलाई सहरसँग जोड्न पाँच दशकअघि सुरु भएको सडक निर्माण पूरा हुन लाग्यो भन्ने आशा जागेको थियो । तर, ठेक्का लगाएर प्राविधिक अध्ययन अघि बढेको फाइल रोकिएको अवस्था छ”, केसीले भन्नुभयो ।

चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको सडक स्तरोन्नतिको बजेट नआएको भन्दै कांग्रेस नुवाकोटका सभापति एवं बागमती प्रदेससभा सदस्य रमेश महतले जनताको सेवा प्रवाहमा पूर्वाग्रही नहुन आग्रह गर्नुभयो ।

कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र नं. १ का सभापति एवं लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले नुवाकोटको दुर्गमबस्तीको विकास र धार्मिक तथा पर्यटकीय स्थलको प्रबद्र्धन गर्न निर्वाचन क्षेत्र नं १ को मेरुदण्डका रुपमा रहेको ‘गङ्गटे–गोल्फुभञ्याङ’ सडक तत्काल ठेक्का खुलाउन माग गर्नुभयो ।

विसं २०३० मा ट्रयाक खोलिएको गगङ्टे–गोल्फुभञ्याङ सडकअन्तर्गत हाल ढिकुरेलाई शून्य किमी मानेर व्यवस्थित कालोपत्रेको स्तरोन्नति गर्न लागिएको सडक डिभिजन नुवाकोटका सूचना अधिकारी अमृतप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार योजना आयोगबाट चालु आवमा रु एक अर्ब २० करोडको स्रोत सुनिश्चित भएअनुसार निर्माण सुरु गर्न लागिएको थियो । बहुवर्षीय योजनाअन्तर्गत चालु आवमा रु ३० करोड बजेट कार्यान्वयनका लागि गत फागुन २४ मा बोलपत्र आह्वान गरिएको थियो ।गत चैत २१ मा नै ठेक्का फाइल खोल्नुपर्ने भए पनि सडक विभागको सहमति नहुँदा योजना कार्यान्वयन अन्योल भएको सडक डिभिजनका इञ्जिनियर यादवको भनाइ छ ।

मोरङका खोलामा पहिलो पटक भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति, कसरी आइपुग्यो नेपाल ?

बेलबारी (मोरङ)-मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो ।

नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थाल्नुभएको थियो । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उहाँहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गर्नुभयो । यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ । हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए ।

अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बूले भन्नुभयो, “यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ”, उहाँले भन्नुभयो, “जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जसकारण हाम्रा स्थानीय माछाहरु नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।”

उहाँका अनुसार यो पहिला लजालु र स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । “सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ, सङ्ख्या निरन्तर बढिरहेको छ, अब अरु नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न”, लिम्बू भन्नुहुन्छ,“व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ । यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।”

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिइरहनुभएको छ । अनुसन्धानकर्ताहरुले लेखमा भन्नुभएको छ,“यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै सङ्कटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।”

तथ्याङ्कअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब दुई सय ६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैनन् ।

तापक्रम अत्यधिक बढेपछि चितवनका विद्यालयमा गर्मी बिदा

नारायणगढ (चितवन- केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि जिल्लाका अधिकांश विद्यालयमा गर्मी बिदा दिइएको छ । भरतपुर महानगरपालिकाले सबै विद्यालयमा यही जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा दिइएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँड्डूल गर्न नदिन र नदी–पोखरीमा पौडी खेल्ने माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र सावधानी अपनाउन अभिभावकलाई आग्रह गर्नुभयो ।

त्यसैगरी कालिका नगरपालिका र रत्ननगर नगरपालिकाले पनि मङ्गलबार र बुधबार दुई दिन बिदा दिएको छ । कालिका नगरपालिकाका शिक्षा निर्देशक गङ्गाधर रिमालले विसं २०८१ को बर्खे बिदा कट्टी हुने गरी पालिकाका सबै विद्यालयमा बिदा गरिएको बताउनुभयो ।

रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले दुई दिन बिदा दिएको जानकारी दिनुभयो ।  

त्यसैगरी खैरहनी नगरपालिकाले भने सोमबारबाट नै दुई दिन बिदा दिएको छ । पालिकाकानगर शिक्षा अधिकारी राजु बानियाँले यस्तै गर्मी रहेमा केही दिन बिदा थप गर्नसक्ने बताउनुभयो । जिल्लाको राप्ती नगरपालिकामा भने भौगोलिक स्थानको आधारमा गर्मी बिदा दिइएको छ । पालिकाकी शिक्षा अधिकृत रविना देउजाले पालिकाभित्र २ प्रकारका भुभाग रहेको हुँदा सोही अनुरुप बिदा दिने गरिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “राप्तीमा २ भेग छ पहाडी इलाकामा खासै गर्मी बिदाको आवश्यक हुँदैन भने तराई भेगमा गत हप्ता पनि बिदा दिइएको थियो अहिले पनि विद्यालयले आवश्यकताअनुसानर बिदा दिँदै आएका छन् ।”

माडी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुनिता खतिवडाले माडीमा गत सातादेखिनै बिहानी कक्षा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकालाई गर्मी भयो भन्ने अभिभावकको गुनासो आएसँगै बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको र हाल माडीमा पठनपाठन नियमित सञ्चालन हुँदै आएको राससलाई जानकारी दिनुभयो ।

चितवनको अधिकांश पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भने गर्मीको खासै असर देखिएको छैन । पालिकाका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा गर्मी बिदाको कुनै निर्णय नभएको बताउनुभयो । पहाडी क्षेत्रमा गर्मीको असर कम हुने हुँदा बिदा नै गरेर पठनपाठन बन्द गर्नु नपर्ने उहाँको भनाइ छ ।

विभेद र असमानता अन्त्य नभएसम्म मुलुकको विकास हुँदैनः अध्यक्ष यादव

धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै किसिमको विभेद र असमानताको अन्त्य नभएसम्म कुनै पनि क्षेत्रमा सुधार र विकास हुन नसक्ने धारणा राख्नुभएको छ । जनकपुरधाममा सपा नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भारतमा जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्णअनुसार हुने शोषण र उत्पीडन विद्यमान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई तिहाईभन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भूमिसहितका अनेकौ विकासका आधार हुँदाहुँदै पनि मुलुक विश्वमै गरिब देशको सूचीमा पनि त्यसैको एक प्रमाण हो ।”

पूर्वउपप्रधानमन्त्री यादवले नेतृत्व सुध्रिए युवाहरु रोजगारी खोज्दै विदेश जान नपर्ने र जनता आत्मनिर्भर बन्नसक्ने बताउनुभयो । अब आफूहरुले सदनमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले जनताको हक र अधिकारका सधै अग्रसर भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    सो अवसरमा अध्यक्ष यादवले भारत, मलेसिया, स्पेनसहितका देशहरुबाट आउनुभएका समाजवादी नेता तथा चिन्तकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्नुभयो ।

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै

काठमाडौँ, २९ जेठः राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुहुनेछ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् ।

नेपालको संविधानको धारा १६८को उपधरा (९)बमोजिम गरिएको नियुक्ति र कार्यविभाजनअनुसार सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्रीमा र ओमविक्रम भाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।

यसैगरी अक्कलबहादुर रावल, वीरबहादुर थापा, लक्ष्मी विक, माया पन्त र हीरा सार्की विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री सोडारीले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा पहिले नै नियुक्त भएका थिए ।

आर्थिक मामिला मन्त्रीमा नियुक्त पाल तथा विनाविभागीय मन्त्रीमा नियुक्त थापा र सार्की नेकपा एमाले, समाजिक विकास मन्त्रीमा नियुक्त भाट, विनाविभागीय मन्त्रीमा नियुक्त रावल र विक नेकपा (माओवादी केन्द्र) तथा विनाविभागीय मन्त्री माया पन्त नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नियुक्त भएका छन् ।

भौतिक पूर्वाधारमन्त्री चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री थापा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् । उक्त पार्टीका अन्य पाँच सदस्य भने प्रतिपक्षीको भूमिकामा छन् ।

रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवाको निरीक्षण

काठमाडौँ, २८ जेठ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गर्नुभएको छ ।उहाँलाई सैनिक हवाइसेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाइसेवाका विविध गतिविधिबारे जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसअवसरमा रक्षा मन्त्री उप्रेतीले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणको अवलोकन गर्नुभयो । मन्त्री उप्रेतीले सैनिक हवाई सेवालगायत अन्तर्गतका युनिटबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । यसअघि उहाँलाई मध्यएयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्नुभयो ।

पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले लगातार तेस्रो कार्यकालका लागि शपथ लिनुभएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिनुभएको हो ।

नरेन्द्र मोदी र उहाँको मन्त्रीमण्डलका सदस्यले आइतबार नै शपथ लिएका थिए । राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा भारतको छिमेकी र हिन्द महासागर क्षेत्रका नेताहरू उपस्थित भएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रो पटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिनुभएको थियो भने शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियोे । शाहबाज सरिफ पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुनुहुन्छ ।

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुद तुल्याउन आफ्नो भ्रमणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट आपसीहितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गनिर्देश गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भ्रमणका क्रममा आफू भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएको जानकारी दिनुभयो । “समारोहपश्चात् भारतका राष्ट्रपति द्रौपदी मुर्मूद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी भएँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसअघि भारतका राष्ट्रपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़ तथा प्रधानमन्त्री मोदीसँग भेटघाट भयो ।”

प्रधानमन्त्री दाहालले समकक्षी मोदीसँगको भेटघाटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रको बैठक नियमित गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत् आयोजना एवं कृषि क्षेत्रमा सहकार्यलगायत विषयमा गहन कुराकानी भएको बताउनुभयो ।

आज भारतका राष्ट्रपति मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भएको बताउनुभयो ।

आजै भारतका नवनियुक्त सङ्घीयमन्त्री डा एस जयशङ्करले आफूसँग गर्नुभएको शिष्टाचार भेटमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदानप्रदान भएको स्पष्ट पार्नुभयो ।

नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतीय सञ्चारकर्मीसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता सम्बन्धमा समेत कुराकानी भएको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने विश्वास दिलाउनुभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहाल मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

‘साहु बा’ वेब शृङ्खला प्रदर्शनका लागि तयार

काठमाडौँ । वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय गरेका कलाकारको आवरण (गेटअप) र कथासार बुझ्न मदत पुग्ने निर्देशक सुजय योङले बताए ।

“शृङ्खलाको लेखनमा तीन वर्ष समय खर्चिएका छौँ । यसको छायाङ्कनमा पनि समय लागेको छ । मेरो योजनामा प्रसिद्ध कलाकार जोडिनुभयो, यो सफल भएमा नेपालमा शृङ्खला बन्ने क्रम बढ्नुका साथै चलचित्रका कलाकार पनि अभिनय गर्न तयार हुने मैले देखेको छु । त्यसैले यो मेरा लागि त महत्वपूर्ण छ नै यसले नेपालमा वेब शृङ्खलालाई नयाँ सम्भावना दिने छ”, निर्देशक योङले भने ।

अभिनेत्री प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोलालगायतका कलाकारले शृङ्खलामा अभिनय गरेका छन् ।

अभिनेत्री कार्कीले यो शृङ्खलामा अभिनय गर्नुको कारण कथावस्तु रहेको बताइन् । उनले भनिन्,“यो नेपालमा नयाँ प्रयोग पनि हो । मलाई यसको विषयले आकर्षित गरेको हो । मेरो बच्चा भएको समय भएकाले त्यहीअनुरुप मेरो पात्र तयार गरिएको थियो तर २४ औँ भाग खिच्दासम्म मेरो शारीरिक अवस्था परिवर्तन भएको देख्नुहुनेछ ।”

यो शृङ्खला एपी वान टेलिभिजन र ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा प्रदर्शन हुनेछ । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको शृङ्खलालाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर छायाङ्कन गरेका हुन् । शृङ्खलाको कथा, पटकथा तथा संवाद निर्देशक योङले नै तयार गरेका हुन् ।

प्रेम, विश्वासघात र प्रतिसोधको कथा समेटिएको शृङ्खलालाई द्वन्द्व र अपराध (एक्सन तथा क्राइम) विधामा तयार गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौँ, २८ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयको लैङ्गिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे आज सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी करिब तीन सय जनाको सहभागी हुने कार्कीले जानकारी दिनुभयो । “मुलुक सङ्घीयता गइसकेपछि पनि लैङ्गिक हिंसा व्यवस्थापन सङ्घले नै गर्नुपर्छ भन्ने बुझाइ छ । यो सम्मेलनमार्फत अब लैङ्गिक हिंसा व्यवस्थापन सङ्घको मात्र नभई प्रदेश र विशेष गरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्ने छ”, उहाँले भन्नुभयो ।

केन्द्रमा आर्थिक वर्ष २०८०÷८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ । तीमध्ये पाँच सय ७१ पुरुषले रहेका छन् । यसैगरी केन्द्रमा बलात्कारपीडित एक हजार सात सय ५४ जना, यौनहिंसा पीडित एक हजार दुई सय ९६ र शारीरिक हिंसा दुई हजार आठ सय ९७ जना र जबरजस्ती विवाहबाट पीडित चार सय ९४ जना रहेका छन् ।

मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् । केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका कार्य गरिरहेका छन् ।

महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट

काठमाडौँ, २८ जेठः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीले भेट गरेको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित महिला सशक्तीकरणसम्बन्धित विभिन्न कार्यक्रमबारे छलफल भएको थियो ।

मन्त्री चौधरीले महिलाविरुद्ध हुने कूरीति, सामाजिक भेदभाव, जोखिममा परेका महिलाको उद्धार तथा संरक्षण र रोजगारी सिर्जनालगायतका क्षेत्रमा सहयोग गर्न चिनियाँ टोलीसमक्ष आग्रह गर्नुभयो । 

एसिया–अफ्रिका क्षेत्रका लागि महिला सशक्तीकरण र विकास समाज (वेड्स)का तर्फबाट गरिएको भेटमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना र उत्पादनका क्षेत्रमा काम गर्न आह्वान गर्नुभयो । उहाँले बालसुधार गृहमा रहेका बालबालिकाहरु उपल्लो तहमा गइसकेपछि शिक्षाबाट बञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

त्यस अवसरमा युहेले महिलाको प्रगति, डिजिटल सशक्तीकरण र हरित विकाससम्बन्धी कार्यक्रमबारे मन्त्री चौधरीलाई जानकारी गराउनुभएको थियो । साथै बेड्सको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि मन्त्री चौधरी समक्ष आग्रह गर्नुभएको थियो ।  भेटमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट एसिया र अफ्रिकाका पाँच देशमा उक्त कार्यक्रम सुरु हुन लागेको जानकारी गराउनुभएको थियो ।

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौजना पक्राउ

काठमाडौँ, २८जेठ – केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेको छ ।

ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका नौजना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो ।” यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका अन्य कर्मचारी पक्राउ परेका थिए ।

सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा रु दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार कर्जा प्रवाह गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । उक्त ऋण धितोभन्दा रु ९७ करोड ४१ लाख ७० हजार ७७२ ले बढी पाइएको सीआइबीको दाबी छ । बयानपछि पक्राउ परेका सबै गत चैतमा हाजिर जमानीमा छुटेका थिए ।
हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ । देउराली बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंको योजना र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतमलगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पु¥याएको आरोप छ ।

बचतकर्ताको रु सात अर्ब हिनामिनाको आरोप लागेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा रहेका छन् । देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको उनीहरुमाथि आरोप लागेको छ ।

एमाले अध्यक्ष ओलीले व्यक्त गरेका विचारका कारण सत्ता गठबन्धनमा कुनै असर पर्दैनः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गरेका छन् ।
भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा गएका थिए ।

भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको सङ्ज्ञा दिए ।

उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले मन्त्रिपरिषदमा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गरे ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने उल्लेख गरे । भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गरे । उनले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।

उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गरे  ।

जेलेन्स्कीद्वारा युक्रेनको सुमी क्षेत्रमा रूसी पकड रहेको अस्वीकार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रूसी सेनाले पूर्वी सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको कुरा अस्वीकार गर्नु भएको छ । रूसी कब्जामा रहेको चेचेन रिपब्लिकका नेता रमजान कादिरोभले आइतबार रूसी सेनाले सुमीमा मस्कोको सेना अगाडि बढेको बताएका थिए ।उनले सीमावर्ती गाउँ रिजिभ्का कब्जा गरेको बताएका हुन् ।

रुसको रक्षा मन्त्रालयबाट तत्काल कुनै टिप्पणी नआएको बताउदै एक स्थानीय युक्रेनी अधिकारीले कादिरोभको दावीलाई अस्वीकार गरेका छन् ।जेलेन्स्कीले सुमीमा युक्रेनी सेनाहरू ‘पूर्ण नियन्त्रणमा’ रहेको र त्यहाँ सक्रिय रूसी समूहहरू पछि हटिसकेको बताउनुभयो ।

“रिजिभ्का गाउँको विषयमा कब्जा गर्नेले त्यहाँ एक प्रचार अभियान लागू गर्ने प्रयास गरी गाउँमा रूसी झण्डा नष्ट गरेपनि त्यहाँ कुनै बासिन्दाको उपस्थिति नभएको जेलेन्स्कीले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गर्नुभयो । उहाँले औद्योगिक डोनेट्स्क क्षेत्रको लडाइँ ‘सबैभन्दा गाह्रो’ भएको र युक्रेनी सेनाले त्यहाँ आफ्नो स्थिति स्थिर गर्न सम्भावित सबै उपाय अपनाएको बताउनुभयो । सुमी युक्रेनको उत्तरी सीमामा अवस्थित छ र सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि यहाँ रूसले कुनै ठूलो जमिनी आक्रमण गरेको छैन ।

कादिरोभले आफ्ना लडाकूहरूले ‘अन्य रूसी सैनिक एकाइसँग मिलेर रणनीतिक कारबाही गरेको र दुश्मनबाट अर्को बस्ती मुक्त गरेको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभयो ।
ठुलो मात्रामा नियोजित आक्रामक कार्यको परिणाम स्वरूप, युक्रेनी पक्षले महत्त्वपूर्ण क्षति बेहोरÞ्यो र पछि हट्न बाध्य भएको उहाँले बताउनुभयो । स्थानीय नगरपालिकाको युक्रेनी प्रमुख युरी जार्कोले रिजिभ्कालाई पक्राउ गरिएको कुरा अस्वीकार गर्दै राज्यको प्रसारक संस्था सुस्पिल्नलाई गाउँमा कुनै रूसी सेना नभएको बताउनुभयो ।
जेलेन्स्कीले गत महिना रुसले उत्तरी सीमामा सेना जम्मा गरिरहेको र नयाँ आक्रमण हुन सक्ने चेतावनी दिनुभएको थियो ।

रूसी आक्रमणको बढ्दो जोखिमलाई उद्धृत गर्दै अधिकारीहरूले गत महिना सुमी क्षेत्रका केही सीमावर्ती सहर र गाउँहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थलमा जान निर्देशन दिएका थिए । रूसले छिमेकी खार्किभ क्षेत्रमा मे १० मा ठूलो स्थल अभियान सुरु गरी किएभको सेनालाई श्रमशक्ति र गोलाबारुदको अभाव भएका समय धेरै सहर र गाउँहरू कब्जा गरेको थियो ।

तेस्रो पदभार ग्रहणपछि किसानलाई पीएम किसान निधि किस्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री मोदीको निर्णय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि सोमबार प्रधानमन्त्री किसान कोषको १७ औँ किस्ता जारी गर्दै नयाँ कार्यकालको सुरुवात गर्नुभएको छ । यस योजनाले ९.३ करोड किसानलाई लाभान्वित गर्ने र लगभग २० हजार करोड भारतीय रूपैयाँ किसानलाई वितरण गर्नेछ ।

“हाम्रो सरकार किसान कल्याणप्रति पूर्ण प्रतिबद्ध भएकाले कार्यभार सम्हालेपछि हस्ताक्षर गरिएको पहिलो फाइल किसान कल्याणसँग सम्बन्धित रहेको र आउँदो समयमा कृषि क्षेत्रका लागि अझ बढी काम गर्नेछौँ,” प्रधानमन्त्रीको कार्यालय प्रवेश र फाइलमा हस्ताक्षर गरेपछि प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीका अघिल्ला दुई कार्यकालमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री किसान सम्मान निधि, उडान र मेक इन इन्डियाजस्ता धेरै प्रमुख पहलहरू भएका छन् ।

नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा भव्य समारोहबीच तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो । समारोहमा राष्ट्रपति द्रौपदी मूर्मुबाट प्रधानमन्त्री, ३० पूर्णमन्त्री र ४१ राज्य मन्त्रीसहित कूल ७१ जनालाई पद तथा गोपनियताको सपथ लिएका थिए ।

छिमेकी क्षेत्र र हिन्द महासागर क्षेत्रका धेरै नेताहरू र राज्य प्रमुखहरूलाई प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा विशिष्ट पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो । सहभागीतालाई भारतको ‘छिमेकी पहिले’ नीतिको एक हिस्साका रूपमा व्याख्या गरिएको छ ।

प्रेमसिंह तामाङ लगातार दोस्रो कार्यकालका लागि सिक्किमको मुख्यमन्त्रीका रुपमा चयन

सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेम सिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको छ । पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह तामाङ र उहाँको मन्त्रिपरिषद्लाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले ३२ सिटमध्ये ३१ सिट जितेको छ । यसरी हिमालयन राज्यको विधानसभा चुनावमा विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) एक मात्र सीटमा सीमित भएको छ ।

तामाङले पार्टीको विजयलाई ‘रेकर्ड’ को रूपमा वर्णन गर्नुभयो । पाँच वर्षमा हामीले निर्वाचनका बेला गरेका सबै घोषणाहरू पूरा गर्ने उहाँले बताउनुभयो । तामाङले रेनोक विधानसभा सिटबाट एसडीएफका सोमनाथ पौड्याललाई सात हजार ३९६ मतले पराजित गर्दै विजयी हुनुभएको थियो ।

सिक्किमको ३२ विधानसभा सीटका लागि लोकसभा चुनावसँगै पहिलो चरणमा १९ अप्रिलमा मतदान भएको थियो । एसकेएमले सन् २०१९ मा विधानसभा चुनाव अघि बीजेपी नेतृत्वको एनडीएसँग हात मिलायो तर अन्ततः सम्बन्ध तोड्यो र सन् २०१९ विधानसभा चुनाव एक्लै लडेको थियोे ।

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली

काभ्रेपलाञ्चोक, २८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उहाँले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताउनुभयो ।

उहाँले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान सुरुआत गरिसकेको बताउनुभयो । “राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको हो”, अध्यक्ष ओलीले भन्नुभयो,“त्यसका लागि एमालेले मिसन ८४ लाई टर्निङ प्वाइन्टका रुपमा लिन्छ, सोहीअनुसार सम्पूर्ण पार्टीपङ्क्ति लाग्नु पर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । “एमाले सत्तामा जान मिसन ०८४ भनेको हैन, नागरिकलाई उत्पादनशील जनशक्ति बनाएर सबै नेपालीलाई सुखी बनाउनका लागि हो, अन्य पार्टीले पनि सोही सिको गरेका छन्”, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिनुभयो । कृषि क्रान्तिलाई असाधारणरुपमा लैजानसके मात्र नागरिकलाई समृद्ध र सुखतर्फ डो¥याउन सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले देशैभर एमाले जिल्ला अधिवेशनको लहर चलिरहेकाले ‘प्यानल’ बनाएर हैन एकताका साथ नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले नवप्रवर्तनका कार्यक्रममार्फत विदेशिने जनसङ्ख्यालाई स्वदेशमै परिचालन गनुपर्ने बताउनुभयो । पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले एमालेको समृद्धिको अभियानलाई अगाडि बढाउन पार्टी सङ्गठनलाई एकतावद्ध र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । पोलिटब्युरो सदस्य कृष्ण राई र वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले एमालेको मिसनले हरेक क्षेत्रमा उत्साह पैदा भएकाले थप क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

जनता र देशहितका लागि दलीय स्वार्थबाट माथि उठेर बहस गरौँः उपसभामुख राना

काठमाडौँ, २८ जेठः उपसभामुख इन्दिरा रानाले संसद्मा हुने छलफललाई जनताले नजिकबाट नियाली रहेकाले व्यक्ति, परिवार र दलीय स्वार्थबाट माथि उठेर बहस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित संसदीय प्रभावकारिता सम्बन्धमा पूर्वसांसद मञ्चसँगको अन्तरक्रियामा उहाँले सविधानको मर्म र भावनाअनुरुप समानता, समावेशी र विविधतालाई पनि सबैले आत्मसात् गर्नुपर्ने खाँचो आँैल्याउनुभयो ।

उपसभामुख रानाले भन्नुभयो, “पूर्वसांसदका अनुभव, विज्ञता र ज्ञानको विश्वविद्यालय भएकाले उहाँहरुको सुझावका आधारमा संसद्लाई जनताको बहसको थलो बनाउनुपर्छ ।” पूर्वसांसद शिवजी यादवले सांसद भनेको व्यक्ति मात्र नभई संस्था भएकाले उसको पहिचान र मर्यादाका लागि अध्ययन र अनुसन्धान गर्ने सचिवालयको खाँचो रहन्छ भन्नुभयो ।

पूर्वसांसद विष्णुबहादुर राउतले सबै विधायकको ऊर्जालाई जनता र राष्ट्रको हितमा लगाउन निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रका समसामयिक विषय निरन्तर उठाउनुपर्नेमा जोड दिनुभयो । पूर्वसासद धना खतिवडाले सांसदलाई उद्योगी तथा व्यापारी जस्तो धनी बन्नेतर्फ नभई जनता र देशप्रतिको दायित्व निर्वाहका लागि कोसिस गर्न सुझाव दिनुभयो । 

विषय विज्ञका रुपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले स्वार्थ बाझिने, भ्रष्टाचार बढाउने र मुलुकलाई चुनौती खडा गर्नेजस्ता काममा सांसद लाग्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्ले नै सरकार चलाउने र नियन्त्रण गर्ने हो, लोकतान्त्रिक शासन प्रणालीमा सरकारले संसद्लाई खुम्च्याउन सक्दैन । त्यसका लागि संसद् र सांसद प्रभावकारी बन्नुपर्छ ।”

कार्यक्रममा सांसदहरु प्रेम सुवाल, सीता मिजार, शिव नेपाली, नारायणी शर्मा, रोशन कार्की, पूर्वसांसद अजय द्ववेदीलगायतले संसद् सरकारको नियन्त्रणमा रहेको तथा सदनमा उठाइएको विषय सम्बोधन नभएको भनी असन्तुष्टि प्रकट गर्नुभयो ।

उहाँहरुले संसद् र सांसदको मुख्य जिम्मेवारी बजेट स्वीकृति, संसदीय खबरदारी, नीति र विधि निर्माण तथा अनुगमन नियन्त्रण भएपनि अझै पनि मूल विषयमै अलमलमा परेको धारणा राख्नुभयो ।

सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले जनताका सर्वाेच्च जनप्रतिनिधिमूलक संस्था संसद्लाई प्रभावकारी र जनउत्तरदायी तुल्याउन सांसदमा अध्ययनशिलता र धैर्यताको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिका रुपमा संसद्मा आएका विधायक मुख्यरुपमा कानुन निर्माणको भूमिकामा रहनुपर्ने भएकाले कसैको पक्ष, विपक्ष नभई निष्पक्ष भएर काम गर्नुपर्छ  

एसइईको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

भक्तपुर, २८ जेठ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।आज रासससँग कुरा गर्दै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो ।

उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताउनुभयो । “हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ”, उहाँल्े भन्नुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिनुभयो ।

गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताउनुभयो ।

यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताउनुभयो । गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, २८ जेठः बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । राष्ट्रियसभाका सदस्य सोनामा गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा) र शेखरकुमार सिंह समर्थक रहनुभएको सो प्रस्तावमाथि छलफल भएको हो ।

छलफलमा सहभागी हुँदै सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सवारी दुर्घटनाका कारण मानव र भौतिक क्षतिको मात्रामा बढोत्तरी भएकाले त्यसलाई नियन्त्रण गर्न सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने, सवारी साधनलाई तन्दुरुस्त राख्नेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।सांसद पदमबहादुर परियारले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नागरिकको परिवारमा ठूलो मानसिक आघात हुने, अपाङ्गता हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले सडक सञ्जालभन्दा बढी सवारीसाधन उपलब्ध भएको र दुर्घटनाका घटनामा बढोत्तरी भएकाले कानुन कार्यान्वयनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद जयन्तीदेवी राईले औसत दैनिक आठ जनाका दरले सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क पेस गर्दै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नभएको, सवारी परीक्षणमा ध्यान नदिइएको तथा सक्षम चालकको अभावका कारण समस्या जटिल भएको बताउनुभयो ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनी, संरचनागत सुधार गर्दै त्यसको व्यावहारिक कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि काम गर्ने निकायका रुपमा ‘रोड सेफ्टी काउन्सिल’ले आवश्यक काम गर्ने उल्लेख गर्नुभयो ।

सडक तथा सवारीसँग जोडिएका हरेक विषयलाई केन्द्रित गरेर आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको उहाँले जानकारी दिनुभयो । हचुवाका भरमा सडक पूर्वाधार निर्माण गर्ने, सुरक्षाको कुनै पनि उपाय अवलम्बन नगर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भएको बताउनुभयो ।   

सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायलाई जिम्मेवार बनाउने, यात्रुले पनि विशेष चनाखो हुनुपर्ने र क्षमताभन्दा बढी यात्रु नराख्नेतर्फ सबैको सचेत पहल जरुरी रहेको बताउनुभयो ।

हाल निर्माण भइरहेको सडकमा सुरक्षाका सबै उपकरण राखिएको तथा सडक सुरक्षालाई विशेष ध्यान दिइएको उहाँको भनाइ छ । निर्माण भएका सडकको मर्मतसम्भार हुन नसक्दा पनि दुर्घटना बढेको, पहाडी क्षेत्रमा घुम्ती बढी भएकाले पनि दुर्घटना बढेको पाइएकाले त्यसलाई सरकारले ध्यान दिने विश्वास दिलाउनुभयो ।

दुर्घटना न्यूनीकरणका लागि जनचेतना बढाउने तथा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्ने प्रक्रियालाई पनि उत्तिकै ध्यान दिइएको उपप्रधानमन्त्री महासेठको भनाइ छ । राष्ट्रियसभा र सांसदहरुको सुझावका आधारमा सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक निर्णय गर्ने र चाँडै दुई वटा विधेयक सङ्घीय संसद्मा पेस गर्ने जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभालाई जानकारी गराई टेबल गर्नुभयो ।

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मङ्गलबार १.१५ बजे बस्नेछ । 

राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भाव जोगाउन राजनीतिक स्थिरता आवश्यक छः वरिष्ठ उपाध्यक्ष पोखरेल

मकवानपुर, २८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

एमाले मकवानपुरको १२औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई आज हेटौँडामा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै उहाँले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताउनुभयो । “राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक छ ।

त्यसका लागि सबै दल एक ठाउँमा उभिन जरुरी छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नभयो, “एमाले सधैँ राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ । हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ दृढ रहने छौँ ।” उहाँले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भ्रातृ सङ्गठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । एमाले मकवानपुरको यही जेठ १८, १९ र २० गते हेटौँडामा १२औँ अधिवेशन सम्पन्न भएको थियो ।

प्रधानमन्त्री दाहाल नयाँदिल्लीबाट स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए ।

उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए ।

शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटवार्तामा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी

चितवन, २८ जेठः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राख्नुभयो ।

उहाँले सबै जातजातिको प्रतिनिधित्व हुने गरी राष्ट्रियसभामा व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । समानुपातिक निर्वाचन प्रणाली मान्य हो भने यसका लागि पनि निर्वाचन क्षेत्रको व्यवस्था गरेर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा महत

काठमाडौँ २८ जेठ : पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो छ भन्नुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता डा महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रु तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारले नराख्ने भनी आर्थिक कार्यविधि अनुमोदन गरे पनि वर्तमान सरकारले उक्त कार्यविधिलाई कार्यान्वयनमा लैजान सकेको छैन । ”

उहाँले आन्तरिक स्रोतबाट रु ९० अर्ब ऋण लिने बजेट वक्तव्यमा उल्लेख भएको जनाउँदै उक्त पैसा निजी क्षेत्रमा प्रवाह हुँदा बैंक तथा वित्तीय संस्थाको ब्याजसमेत बढ्ने उल्लेख गर्नुभयो । “बैंक तथा वित्तीय संस्थाबाट सरकारले ऋण लिँदा निजी क्षेत्रमा उपलब्ध ऋणसमेत कम हुने भएकाले यसले अर्थतन्त्रलाई समेत प्रभाव पर्ने मैले देखेको छु”, उहाँले भन्नुभयो ।

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्राडा सूर्यबहादुर थापाले देशलाई सही दिशामा लैजानका लागि अहिलेको बजेटले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटले नयाँ नीति तथा कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्नुभयो ।

नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उत्पादन क्षेत्रमा लगानी गर्न सकेमात्र देशको विकास हुने उल्लेख गर्नुभयो । साउथवेस्टन स्टेट कलेजका प्राचार्य डा राजेन्द्र केसीले देशको न्यूनतम आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।

साउथवेस्टन स्टेट कलेजका सहप्राचार्य हरिसिंह केसीले करको दर होइन दायरा बढाएर अगाडि बढेमात्र राजस्व बढ्ने र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रको महत्वपूर्ण माध्यम कृषि, पर्यटन र ऊर्जा लगायतका क्षेत्र हुन् । यस्ता क्षेत्रमा लगानी प्रवर्र्धन गर्न बजेटले प्राथमिकता दिनुपर्छ । ”

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

भोजपुर, २८ जेठ : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् ।

नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताउनुभयो । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उहाँले बताउनुभयो । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा मह प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने उहाँको भनाइ छ ।

“मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छौँ ।” नागी क्षेत्रबाट एक वर्षमा रु एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उहाँको भनाइ छ । भौगोलिक रुपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पु¥याउले लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी भित्रिएको अवस्था छ”, वडाध्यक्ष राईले भन्नुभयो, “यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।”

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब रु सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ ।

“मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “यो वर्ष करिब रु सात लाख ७० हजार बराबरको आनुधिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।”

पराम्परागत रुपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आनुधिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताउनुभयो । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उहाँको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उहाँको भनाइ छ ।स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिनुभयो ।

 “हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ”, उहाँले भन्नुभयो, “आफ्नै लगानीमा मौरीपालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।” गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन उनीहरुको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाइ छ । नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।

“गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भईरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।”

सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

काठमाडौँ, २८ जेठ : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् ।

क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो ।

युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्र्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । सङ्घले पूर्वघोषित टिमबाट युवा बलर जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “यही जेठ ३ गतेदेखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेका तर अमेरिकी राहदानी प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ । ”

विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल यही जेठ ३० गते अमेरिकामै श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा पुग्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्नेछ ।

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै स्याङ्जाको भुम्रे मावि

वालिङ (स्याङ्जा), २८ जेठ : स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो ।

जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भन्नुभयो, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उहाँको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उहाँले बताउनुभयो ।

“विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो ।

प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताउनुभयो । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आउनुभएको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गरेको हो । विद्यालयले सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान सँगसँगै अगाडि बढाएको हो ।

नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना

जानकी (बाँके), २८ जेठ : बाँकेमा पानी सङ्कलन केन्द्र स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित दमकल (बारुणयन्त्र) लाई आवश्यक पर्ने पानीको स्रोत व्यवस्थापन गर्न सङ्कलन केन्द्रको स्थापना गरिएको हो । आगलागी नियन्त्रण लगायत आकस्मिक सेवाका लागि नगरका विभिन्न स्थानमा सहजरुपमा पानीको स्रोत सङ्कलन केन्द्र नहुँदा समस्या रहेको थियो । खानेपानी संस्थान कार्यालय अगाडि सङ्कलन केन्द्र स्थापना गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ नेपालगञ्ज उपमहानगरपालिका भए पनि यहाँका बस्ती गल्ली नै गल्लीले बनेका छन् । केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगलागी भइहाले पनि पानी भण्डारण केन्द्रको प्रयोगले इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।” दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगलागी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ ।

यो विधिमा इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज–७ मा इनारलाई संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ । अहिले नेपालगञ्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको भूमिगत पानी ट्याङ्की रहेको बारुण यन्त्र एकाइ प्रमुख झइनबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालगञ्ज सहर विकास, विस्तार र बाक्लिने क्रमसँगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

आगलागीका घटना बढ्न थालेसँगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगञ्जमा अहिलेसहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ । नेपालगञ्जको खानेपानी संस्थान कार्यालयमा चार लाख ५० हजार लिटर र कार्यालय अगाडि सुर्खेत रोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी, २८ जेठ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लाग्नुभएको हो । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएका उहाँलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।

साठी सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुुनुहुन्छ ।

रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा गोली चल्दा नौ जनाको मृत्यु, ३३ व्यक्ति घाइते

भारतको जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले भन्नुभयो, “यो निकै दुर्भाग्यपूर्ण घटना हो । सुरुमा हामीले प्राप्त गरेको जानकारीअनुसार यात्रुबाहक बसमा बसमा आतङ्कवादी आक्रमण भएको (गोली चलाइएको) थियो ।

बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो ।“आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो”, एसएसपीले भने, “उद्धार कार्य पूरा भएको छ ।”

उहाँले नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताउनुभयो । उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो । ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माले भन्नुभयो ।

उच्च तापक्रमपछि चीनका धेरै क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई आग्रह

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले उच्च तापक्रम वृद्धि हुने क्रम जारी रहँदै गर्दा यसबाट हुने जोखिमबारे चेतावनी जारी गरेको छ । सोमबार दिउँसो बेइजिङ, तियान्जिन, हेबेई, शानडोङ, हेनान, आन्हुइ, जियाङसु, भित्री मङ्गोलिया, सिनजियाङ र गान्सुका केही क्षेत्रहरूमा तापक्रम ३६ डिग्री सेल्सियससम्म रहने केन्द्रले जनाएको छ ।

यसले हेबेई, शानडोङ, हेनान, आन्हुई र सिनजियाङका केही भागमा अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने र कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री नाघेको पनि बताएको छ ।

उच्च तापक्रमको समयमा बाहिरी गतिविधिहरू बेवास्ता गर्नुपर्छ र बालबालिका र वृद्ध व्यक्तिजस्ता कमजोर समूहलाई जोगाउन सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ ।चीनमा उच्च तापमानको लागि तीन तहको चेतावनी प्रणाली सङ्केतका लागि सुन्तला, पहेंलो र रातो रङलाई प्रयोग गरिन्छ । रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ ।

मलेसियाद्वारा खर्च घटाउन डिजेलमा दिइने अनुदानको कटौती

मलेसियाले सरकारी खर्च कटौती गर्न र छिमेकी देशहरूमा इन्धन तस्करी रोक्न सोमबारदेखि डिजेलमा दिइने सब्सिडी अन्त्य गर्नेछ । मलेसियामा डिजेलको मूल्य दक्षिणपूर्व एसियामा सबैभन्दा कम रहेको र तस्करहरूले प्रायः सब्सिडीको इन्धन किन्न थाइल्याण्ड जस्ता छिमेकी देशहरूमा उच्च मूल्यमा पुनः बेच्ने गर्छन् ।

“सोमबारदेखि, (मलेसिया) मा सबै पेट्रोल स्टेशनहरूमा डिजेलको मूल्य प्रति लिटर ३.३५ रिङ्गिटमा सेट गरिने जुन सब्सिडी बिनाको बजार मूल्य हो”, दोस्रो अर्थमन्त्री अमीर हमजाह अजिजानले आइतबार पत्रकारहरूलाई बताउनुभयो ।नयाँ मूल्य सहुलियत मूल्यभन्दा ५५ दशमलव ८ प्रतिशत बढी हुने र यसले सरकारलाई वार्षिक ४ अर्ब रिङ्गिट (८५२.८ मिलियन डलर) बचत गर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मलेसियाले खाना पकाउने तेल र चामललगायत अन्य वस्तुहरूमा पनि अनुदान दिदै आएको तर बढ्दो मूल्यले खर्च बढाएको र सरकारको बजेटमा चोट पुगेको छ ।
मलेसियाले यस वर्ष अनुदान र सामाजिक सहयोगमा ५२.८ बिलियन रिङ्गिट खर्च गर्ने अपेक्षा गरिएको छ ।