`

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

म्याग्दी, २८ जेठ : आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलामा पुल निर्माण गर्न विसं २०७३ देखि योजना निर्माण सुरु भएको थियो ।

योजनाको २०८१ जेठ अन्तिम सातासम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको आयोजना प्रमुख धु्रवकुमार झाले आइतबार बेनीमा आयोजना भएको कार्यक्रममा जानकारी गराउनुभयो । रु १० अर्ब लागत अनुमान गरिएको यो सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्बाइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकोमा हालसम्म रु छ अर्ब खर्च भएको आयोजना प्रमुख झाले बताउनुभयो ।

“एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकोमा हालसम्म ४८ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको छ”, उहाँले भन्नुभयो, “२४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँच वटा निर्माणाधीन, चार वटाको ठेक्का तोडेको र पाँच वटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छ ।”

मालढुङ्गादेखि कागबेनीसम्म आठ वटा खण्डमा कालोपत्र गर्ने ठेक्का सम्झौता भएकोमा तीन वटा सकिएको, पाँच वटा जारी रहेको छ । बेनी, तातोपानी र रुप्सेमा तीन वटा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गरिएको छ ।

सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा, पूर्वस्वीकृति नलिई जथाभावी शाखा सडक निर्माण गरिनु, कमजोर भूवनोट, नदी कटान र बाढी पहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाउनु आयोजना निर्माणमा ढिलाइका कारण भएको आयोजना प्रमुख झाले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ संयोजक रहेको ठूला आयोजना अनुगमन समितिको टोलीले बेनीमा जनप्रतिनिधि, म्याग्दी, पर्वत र बागलुङका प्रमुख जिल्ला अधिकारीका साथै सरोकारवालासँग बेनी–जोमसोम–कोरला सडक योजना निर्माणमा भएको ढिलाइका विषयमा छलफल गरेको छ ।

“बेनी–जोमसोम–कोरला सडक निर्माणलाई तीव्रता दिनका लागि समस्या र समाधानको उपाय पहिचान गर्न स्थलगत अध्ययनका लागि आएका हौँ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “कोरला नाकालाई व्यावसायिक हिसाबले सञ्चालनका लागि पहुँचमार्गलाई सहज बनाउन सडक स्तरोन्नति र पुल निर्माणलाई जति सक्दो छिटो सम्पन्न गराउन उच्च स्तरबाट पहल थालेका हौँ ।”

छलफलमा सहभागी गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, पर्वतका प्रजिअ केदारनाथ शर्मा, म्याग्दीका लक्ष्मण ढकाल र मुस्ताङका जनकराज पन्तले वैकल्पिक स्रोतबाट नदीजन्य पदार्थको व्यवस्थापनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै निर्माण व्यवसायी जिम्मेवार र आयोजना जवाफदेही बन्नुपर्ने बताउनुभयो । नदी कटान र पहिरो प्रभावित ठाउँमा नियन्त्रणका साथै वैकिल्पक सडक तयार पार्नका लागि पनि जिल्लाका सरोकारवालाले टोलीलाई सुझाव दिएका छन् ।

ढोरपाटनको पाखुट्टेदेखि बायखोला–झिम्पा जोड्ने सडक स्तरोन्नति

ढोरपाटन (बागलुङ), २८ जेठ : निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । विसं २०७३ मा साविक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेश सरकारको रु ३० लाखले सडकको स्तरोन्नति भएको हो । लोकमार्गको वैकल्पिक सडकका रुपमा ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोडिएको छ । करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ ।

वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाखका लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडकले यस क्षेत्रका नागरिकको जीवनस्तरनै परिवतन गरि दिएको छ । ” यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए । वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

पूर्व अध्यक्ष पौडेलले भन्नुभयो, “ट्र्याक खुलेको धेरै वर्षपछि सडकको स्तरोन्नति हुन थालेको छ, म गाउँपालिकाको अध्यक्ष हुने बेलादेखि नै पालिकाबाट बजेट विनियोजन गरेर सडक चौडा गर्ने, नाली निर्माण र ठाउँ–ठाउँमा कल्भर्ट बनाउने काम भएको थियो, कम बजेटका कारण त्यस बेला स्तरोन्नतिले पूर्णता पाएको थिएन, अहिले प्रदेश र केन्द्र सरकारको सानो बजेटले काम भएको छ, यो सडक पूर्णरुपमा स्तरोन्नति भयो भने निसीखोलाका नागरिकलाई यातायात र सामान ढुवानीमा सहज हुनेछ ।”

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताउनुभयो । खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ छ । स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगाएको काम गरेको उहाँले बताउनुभयो । रु ५९ लाख १२ हजार तीन सय २६ का सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने अधिकारी बताउनुहुन्छ ।

विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

काठमाडौँ, २८ जेठ : भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो ।

अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै इमाद वासिमले १५ रन रन बनाउँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३÷१३ रन बनाए ।पाकिस्तानलाई एक सय १३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यसहारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो । यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको आईतबारको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

चार दिनको छलफलपछि आईतबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो । उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरुले भाग लिनुभएको थियो । उहाँहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिनुभएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाउनुभयो । यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण जानुहुँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन यही जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुनेभएको छ ।

उहाँले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुहुनेछ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनु हुनेछ ।

काठमाडौँ महानगरपालिकाले सामादायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा ताला लगायो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो ।

यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका आठ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताउनुभयो ।

यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ । “कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्”, दाहालले भन्नुभयो, “विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।”

महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताउनुभयो । पोखरेल भन्नुहुन्छ, “विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनुपर्ने छ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनुपर्ने आवश्यकता छ । त्यसैले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोग गर्छौँँ ।”

गर्मी बढेसँगै आजदेखि वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा), २८ जेठ : वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताउनुभयो ।

“महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियोे ।

यसपछि बर्सा्त भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।

मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते

काक्रेविहार (सुर्खेत), २८ जेठ – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो ।

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।

यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ ।

उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु

कमलामाई (सिन्धुली) – सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गदँै पुनःप्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आफ्नै नागरिक सम्झेर विपीन जोशीको रिहाइको पहल गर्दैछौं : इजरायली राजदूत गोडर

महेन्द्रनगर (कञ्चनपुर)  ।  नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताएका थिए ।

“विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उनले भने, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”

विपीनका भाइ नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए ।

“राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो”, जोशीले भने, “उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ ।”

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपीनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए । राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तसहित विश्वविद्यालयका अन्य पदाधीकारीहरु सहभागी थिए ।

सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा प्रभाव मूल्याङ्कन गर्नुपर्ने

काठमाडौँ, २७ जेठ: सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो ।

पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो ।

सोही कार्यविधिअनुसार आजदेखि विभागले विज्ञलाई तालिम सुरु गरेको छ । सम्पदा प्रभाव मूल्याङ्कनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम भएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै आगामी दिनमा सम्पदा प्रभाव मूल्याङ्कन गराइने उहाँले बताउनुभयो ।

नौ दिने तालिममा दुई दिन सैद्धान्तिक र सात दिन सम्पदास्थलमा लागि स्थलगत रुपमा सम्पदा प्रभाव मूल्याङ्कनका काम गराइने छ । तालिममा सम्पदा क्षेत्रका १८ जना विज्ञको सहभागिता रहेको छ । तालिममा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अधिकारीहरुको पनि सहभागिता रहेको छ । सम्पदा प्रभाव मूल्याङ्कनका लागि यसअघि युनेस्कोले जनचेतना जगाउने उद्देश्यले विभिन्न गतिविधि गरिसकेको छ ।

विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ । ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गर्न लागिएको हो । कार्यविधिले गरेको व्यवस्थाअनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेश गर्नुपर्छ ।

किन ओझेलमा पर्‍यो दलित इतिहास ?

राजकुमार दिक्पाल/काठमाडौँ – हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास । दलित उत्पीडितहरुको इतिहास लेखनका लागि स्वयं यस समुदायका इतिहासकारको उपस्थिति नदेखिदा र गैरदलित समुदायका इतिहासकारले उनीहरुको इतिहासको खोजी र लेखनप्रति उत्साह नदेखाउँदा नेपालका दलितहरुको इतिहास ओझेलमा पर्न पुगेको छ । युगौँदेखि छुवाछूतको मारमा परेको यो समुदायको सवालको प्राज्ञिक उत्थानका लागि पनि उनीहरुको छुट्टै इतिहास लेखनको आवश्यकता देखिन्छ ।

छुवाछूतको प्रचलन कहिलेदेखि चल्यो, कुन कारणले यी श्रमिक र सिल्पी समुदायलाई छुवाछूतको सिकार बनाइयो भन्ने बहस त भइरहेकै छ । उनीहरुको उत्थान र मुक्तिका लागि सरकारी तथा गैरसरकारी तहबाट केही प्रयासहरु भइरहेकै छन् । तर इतिहास लेखनमार्फत् पनि दलित तथा उत्पीडित वर्गलाई जुन प्रकारले प्राज्ञिक जगतबाट सम्बोधन हुनुपर्ने हो, यस्तो प्रयास भने हुन सकेको छैन । त्यसैले दलित उत्पीडित समुदायको छुट्टै इतिहास लेखन आजको एक प्राज्ञिक आवश्यकता हुन पुगेको छ ।

दलित उत्पीडितहरुको इतिहास लेख्ने क्रममा सोही समुदायका बौद्धिक व्यक्तित्वहरु पद्मलाल विश्वकर्मा, यामबहादुर किसान, रविमान लम्जेल र गणेश विकेको संयुक्त लेखनमा “नेपाली दलित आन्दोलनको संक्षिप्त इतिहास” (२०६३) प्रकाशित भएको पाइन्छ । यस पुस्तकले पृथ्वीनारायण शाहको समयमा सक्रिय बिसे नगर्ची, यखाजङ्ग विश्वकर्मालगायतका अगुवाहरुको सक्रियतालाई छिटपुट रुपमा समेटेर हालसम्म भएका दलित आन्दोलनको चर्चा गरेको छ ।

इतिहासको स्रोतका रुपमा शिलालेखहरुको उपलब्धताको हिसाबले इतिहासकारहरुले लिच्छवीकाललाई स्वर्णयुग मान्दै आएका छन् । इतिहासकारहरुले काल निर्धारण गरेअनुसार नेपाल संवत सुरु हुनुभन्दा अघिको काललाई प्राचीनकाल, त्यसपछि मध्यकाल र पृथ्वीनारायण शाहको समययतादेखिको काललाई आधुनिककाल मान्दै आएका छन् । यसअनुसार प्राचीनकाल र मध्यकालको इतिहास लेख्ने इतिहासकारहरुले दलितहरुको अवस्थाबारे ऐतिहासिक विवेचना गरेको त्यति पाइँदैन । नेपाली इतिहासको खोजीले त्यसतर्फ पनि चासो राख्ने ठाउँ प्रशस्तै रहेको छ । पृथ्वीनारायण शाहकालीन बिसे नगर्चीबारे पनि गम्भीरतापूर्वक इतिहास खोजी हुनै बाँकी छ ।

बिसे नगर्चीः ऐतिहासिक व्यक्तित्त्व

पृथ्वीनारायण बिसे नगर्चीलाई नाटक, कविता आदिको माध्यमबाट चर्चाको चुलीमा पु¥याइँदै आएको छ । त्यसैले उनी कतै साहित्यिक विधाको पात्र मात्रै त होइन भन्ने भ्रम पनि पर्न जान्छ । तर बिसे नगर्ची पृथ्वीनारायण शाहको समयमा भएका विभिन्न युद्धहरुको मोर्चामा सक्रिय एक योद्धा पनि थिए भन्ने ऐतिहासिक तथ्य विभिन्न स्रोतहरुमा पाइन्छ । उनी १८०१ सालमा नुवाकोटको युद्धमा तीनघारेतिरबाट बढेको युद्धमोर्चामा पृथ्वीनारायण शाहका साथ सामेल थिए । गोरखालीहरुले असोज १५ गते नुवाकोट जित्दा विजयोत्सवमा बिसे नगर्चीले नगरा घन्काउँदा उनलाई बानादार दमाई र मणिराम गाइनेले साथ दिएका थिए ।

विसं १८१२ मा साउनमा लमजुङसँग सिरानचोकमा गोरखालीको युद्ध हुँदा त्यहाँ पनि बिसे नगर्ची सक्रिय थिए । युद्धमा गोरखालीको जीत हुँदा हारेका लमजुङे सैन्य अधिकारीहरुको अपमान गर्न बिसे नगर्चीको धोती टाँगेर उनीहरुलाई धोतीमुनि छिर्न लगाई बेइज्जत गरिएको ऐतिहासिक प्रसङ्ग भाषा वंशावलीमा पढ्न पाइन्छ ।

अहिले पनि बिसे नगर्चीका सन्तति गोरखामा रहेका छन् । उनीहरुसँग बिसे नगर्चीको नाम उल्लेख भएको रुक्का सुरक्षित रहेका छन् । तीमध्ये १८४६ माघ सुदी १५ मा जारी रुक्कामा “केही जग्गा जमिनको जागिर विस्याको नाउमा गयाको रहेछ, त्यो जग्गा उसैको छोरो दुब्ल्यालाई बक्स्यौँ” भन्ने प्रसङ्ग परेको छ । यसअनुसार बिसे नगर्चीको छोराका नाम दुब्ल्या अर्थात् दुब्ले रहेको देखिन्छ । यस्ता ऐतिहासिक स्रोतहरुबाट पनि बिसेलगायतका ऐतिहासिक व्यक्तित्वहरुको छुट्टै इतिहासको खोजी गर्न सकिन्छ ।

जङ्गबहादुरको दृष्टिमा दलित

दलित उत्पीडित समुदायको इतिहासको खोजीका क्रममा तत्कालीन शक्तिशाली प्रधानमन्त्री जङ्गबहादुर राणाको एक अभिव्यक्तिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी छ । दलितहरुको सीप, श्रम र सिर्जनाका बारेमा जङ्गबहादुर गम्भीर र संवेदनशील थिए । उनले दलित समुदायको महत्वलाई बुझेका थिए । यसबारेमा उनले आफू बेलायत भ्रमणका बेला यता कार्यवाहक प्रधानमन्त्री रहेका आफ्ना भाई बमबहादुरलाई आफ्नै हस्ताक्षरमा लेखेको पत्रलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

त्यसबेला उनले आफ्ना भाइलाई लेखेको पत्रमा कामी, सार्की, दमाई, कर्मीहरुको जागिर नखोस्नू भन्ने आदेश दिएका छन् । पत्रमा “कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि बिग्रन्छ । कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्” भन्ने परेको छ । यताबाट हेर्दा दलित उत्पीडितले थोरै ज्याला लिएर धेरै र राम्रो काम गर्ने भएकोले उनीहरुको जागिर खोसिदिदा कारखाना चल्न नसक्ने र त्यस्तो काम गर्नु विवेकसम्मत नहुने धारणा जङ्गबहादुरको रहेको देखिन्छ ।

दलित उत्पीडितहरुको श्रम र सीपले सामान्य नागरिकको दैनिक जीवनमा उपयोग हुने सामग्रीको आपूर्ति त हुन्थ्यो नै, अझ जङ्गबहादुरको समयमा स्वचालित उपकरणहरुको विकास भइनसकेको अवस्थामा हातैले काम गरेर सैन्य प्रयोजनका हतियार कारखाना चलाउनुपर्ने अवस्था थियो । हतियारका लागि फलामको काम अनिवार्य हुन्थ्यो । यस्ता कारखानामा छालाको काम पनि अनिवार्य थियो । त्यसैले त्यसबेला मेगेजिन अड्डा नाम दिइएको हतियार कारखानामा आरन फाँट र सार्की फाँट हुन्थ्यो । सैनिकहरुका लागि जङ्गी पोशाक तयार गर्न दमाईहरुको श्रम र सीपको प्रयोग हुन्थ्यो ।

त्यसबेला सरकारबाट कर उठाउनका लागि जारी भएका ऐतिहासिक कागजपत्रहरुमा कम्पु तथा मेगेजिन करबारे उल्लेख छ । कम्पु भनेको सैनिक पल्टन हो भने मेगेजिन अड्डा भनेको हतियार कारखाना हो । यस्तै पुराना कागजपत्रहरुमा सार्कीको पलेटी, कामीको ताल, दमाईको सुजेरो भन्ने पनि उल्लेख गरिएको पाइन्छ । यी सबै दलित तथा उत्पीडित समुदायका श्रमिकहरुले गर्ने कामहरु हुन् । दलित तथा उत्पीडित समुदायको श्रम र सीपलाई राम्ररी नियालेका जङ्गबहादुरले हचुवाको भरमा कामी, सार्की, दमाईको जागिर नखोस्नू, उनीहरुको जागिर खोसिए इलम पनि बिग्रन्छ, कारखाना पनि बिग्रन्छ भनेका होइनन् ।

सबाल्टर्न दर्शनको उपयोग

नेपालमा इतिहास लेखनलाई राजा महाराजाको कथा भन्नेहरुको सङ्ख्या प्रशस्तै छ । हुन पनि नेपालमा जे जति इतिहास लेखिए, तीमध्ये अधिकांशले राजा महाराजा वरिपरि फेरो मारेको देखिन्छ । विगतमा जे जस्ता घटनाहरु छन्, तिनीहरुको तथ्यपूर्ण प्रस्तुति नै इतिहास हो । इतिहासकारहरुले जनस्तरको इतिहास लेखनलाई प्राथमिकतामा नराखेकै हुन् । त्यसैले बारम्बार प्रश्न उठ्ने गरेको छ, खोई जनताको इतिहास लेखेको ?

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पनि डेढ दशक नाघिसकेको छ । अब पनि जनस्तरको इतिहासको खोजीले प्राथमिकता नपाए कहिले पाउने ? तिनै जनस्तरको इतिहासको अध्ययन क्षेत्रभित्र दलित उत्पीडितहरुको इतिहास पनि पर्छ । तर यसतर्फ गम्भीरतापूर्वक चिन्ता र चासो देखा परिरहेको छैन । केवल नारा जुलुश, आमसभा र गोष्ठीहरुले मात्रै दलित उत्पीडितहरुलाई न्याय दिलाउन सक्दैन । उनीहरुका लागि इतिहासको खोजीबाट पनि प्राज्ञिक न्याय प्रदान गर्न सकिन्छ ।

दलित उत्पीडितहरुका लागि इतिहास लेखनमा देखा परेको पछिल्लो दर्शन सबाल्टर्न दर्शन उपयोगी देखिन्छ । सबाल्टर्न शब्दको प्रयोग गर्ने पहिलो ब्यक्ति इटालियन चिन्तक एन्तोनियो ग्राम्सी हुन् । उनले यो शब्द तल्लो तहका मानिसहरुलाई जनाउन लागि प्रयोग गरेका थिए । इतिहास लेखनमा निम्न स्तर, सुविधाविहीन, उपेक्षित, सिमान्तकृत, अल्पसङ्ख्यक, आवाजविहीन तथा कमजोर अवस्थामा रहेका समुदायका विषयलाई पनि यथोचित रुपमा समेट्नुपर्छ भन्ने दर्शन नै सबाल्टर्न दर्शन हो । इतिहास लेखनमा यो दर्शनलाई ब्यवहारमा लागू गर्नेमध्ये भारतीय इतिहासकार रन्जित गुहा मुख्य मानिन्छन् ।

नेपालका दलित उत्पीडितहरु नेपालका सिमान्तकृत र आवाजविहीन वर्गमा पर्छन् । तर सबाल्टर्न दर्शनले इतिहास लेखनमा सिमान्तकृत र आवाजविहीनहरुलाई मात्रै समेट्नुपर्छ भन्ने मान्यता राख्दैन । जसरी इतिहास निर्माणमा मुख्य नायकको भूमिका हुन्छ, उसको नेतृत्त्वलाई सफल बनाउन निम्न तहका कार्यकर्ताको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुको भूमिकालाई पनि इतिहास लेखनमा समुचित स्थान दिइनुपर्ने धारणा सबाल्टर्न दर्शनले बोकेको छ ।

नेपालको इतिहास लेखनमा राजा महाराजारुपी नायकहरुलाई मात्रै स्थान दिइँदा उनीहरुलाई सफल बनाउने तल्लो तहका मानिसहरुको इतिहासलाई विस्मृत बनाउनुलाई कुनै पनि हालतमा न्यायोचित मान्न सकिन्न । पृथ्वीनारायण शाहलाई नेपालका इतिहासकारहरुले जुन ढङ्गले इतिहास लेखनमा स्थान दिए तर उनलाई सफल बनाउने बिसे नगर्चीलाई उनीहरुले गौण ठानिदिए । उनको विषयमा छुट्टै इतिहास लेख्न इतिहासकारहरुको कलम खासै उत्साहित भएको देखिएन ।

यसरी पनि दलित उत्पीडितहरुको इतिहास ओझेलमा पर्न गएको छ । अब दलित उत्पीडितहरुको इतिहासको खोजी र लेखनले पनि उचित स्थान पाउन जरुरी छ । यसका लागि स्वयम् दलित उत्पीडित वर्गबाट पनि इतिहासकारहरु तयार हुनु आवश्यक छ । अरुको भरले होइन, अब आत्मनिर्भरताले तथ्यपूर्ण इतिहास लेखिनुपर्छ । (लेखक इतिहास अध्ययनमा रुचि राख्नुहुन्छ)

स्वास्थ्य मन्त्री यादवद्वारा दुई प्रमुख स्वास्थ्य संस्थाको अनुगमन

काठमाडौँ, २७ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरी त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिनुभएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बजेट अभावका र जनशक्ति दरबन्दी यकिन नहँदा छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको बताउनुभएको थियो । जवाफमा मन्त्री यादवले आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।”

मन्त्री यादवले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमनका क्रममा त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग छलफल गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रको भवन साँघुरो भएकाले सेवा प्रवाहमा आइरहेका समस्या अवगत गराउनुभएको थियो ।

मन्त्री यादवले केन्द्रले केन्द्रले सामना गरिरहेका समस्या समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाउनुभयो । उहाँले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकता पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

यू–१९ सुदूरपश्चिम छनोटमा कैलाली विजयी

बैतडी, २७ जेठः वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा कैलाली विजयी भएको छ ।

आज सम्पन्न खेलमा कैलालीले अछामलाई आठ विकेटले हरायो । अछामले दिएको एक सय एक रनको लक्ष्य कैलालीले दुई विकेटको क्षतिमा पूरा ग¥यो । कैलालीका लागि क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनको योगदान गरे । अछामका युवराज खत्री र निराजन गौतमले एक÷एक विकेट हात पारे ।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव दुई ओभरमा एक सय रनमा अलआउट भयो । उसका लागि रविन भण्डारीले ४३ रन जोडे भने अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

कैलालीका दीपक रोकाया एक्लैले छ विकेट हात पारे । खेलका प्लेयर अफ द म्याच समेत चुनिएका दीपकले आठ दशमलव दुई ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए । प्रतियोगिताअन्तर्गत भोलि कञ्चनपुर र बझाङबीचको खेल हुनेछ । समूह ‘बी’को शीर्ष स्थानमा रहने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।

यही जेठ २० गतेदेखि सुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतियोगिताको फाइनल आगामी असार १ गते हुने प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताउनुभयो । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

परामर्शदाता संस्थाको नवीकरणमा कडाइ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २७ जेठ ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थालगत अनुगमनपछि मात्र शैक्षिक परामर्शदाता संस्थाको नवीकरण गर्ने निर्णय गरेको छ ।

लामो समयसम्म नवीकरण नभएका संस्थाको नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य स्थलगत अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार एक हजार चार सय ७३ वटा संस्था शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन् । विसं २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा नवीकरणलगायतका कार्य रोकिएका थिए भने शैक्षिक मेला सञ्चालन अनुमतिसमेत दिइएको थिएन । अब नवीकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिइने छ । विनाअनुमति आफूखुशी सञ्चालन भएका शैक्षिक मेलालाई कारवाही गर्ने मन्त्रालयको तयारी छ ।

मन्त्रालयमा सूचीकृत भइसकेका संस्थाको विवरण, नामसारी तथा ठाउँसारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण प्राप्त नहुनुका साथै सञ्चालन मै रहेका यी सेवाबाट प्राप्त हुने राजस्वसमेत अद्यावधिक हुनसकेको थिएन । त्यसयता अनुगमन तथा नियमनसमेत हुनसकेको छैन । सेवाग्राही मर्कामा परेका र कारबाहीका लागि उजुरी गर्दासमेत सुनुवाइ नभएको गुनासा आउन थालेपछि मन्त्रालयले सूचीकृत भएका संस्थाको नवीकरणका लागि आवेदन लिने निर्णय गरेको हो । अनुगमनको मासिक प्रतिवेदन शिक्षा मन्त्रीसमक्ष पेश गर्नुपर्ने निर्णय भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल गठनको तयारी भइरहेको छः अध्यक्ष ओली

काठमाडौँ, २७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी प्रकृतिको महिला राष्ट्रिय स्वयम्सेवक सञ्जाल गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’ मा आज उहाँले महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले भेलाले महिला सशक्तिकरण र सामाजिकीकरणको पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । समाजका हरेक क्षेत्रमा महिलाले खरोरूपमा जस्तोसुकै काम गर्नसक्ने र त्यसमा भेलाले आत्मविश्वास भर्ने काम गरेको उहाँको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले महिला भेलाले संवैधानिकरूपमा महिलाका अधिकारलाई थप बढाउँदै लैजानुपर्ने सुझाव दिएको बताउनुभयो ।

सात करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्वायर सहकारीका अध्यक्षसहितका व्यक्ति पक्राउ

काठमाडौँ, २७ जेठ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआएबी) ले जनाएको छ ।

पक्राउ परेहरूमाथि सहकारीको रु सात करोड ४० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । सहकारीका निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई रकम हिनामिना गरेको आरोप रहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले पीडित अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आउन अनुरोध गरिएको जानकारी दिनुभयो । मासिक÷त्रैमासिक÷वार्षिकरूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि पीडितले उजुरी दिएका थिए ।

संस्था नै बन्द गरी बचतकर्ताहरूको रू सात करोड चालिस लाख ८७ हजार बचत रकम अपचलन तथा हिनामिना भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सहकारी विभागको पत्रका आधारमा काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सिआइवीले आज एक सूचना जारी गरी जानकारी गराएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

प्रधानमन्त्री दाहाल सपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै

घोडाघोडी (कैलाली), २७ जेठ : कैलालीको घोडाघोडी नगरपालिका–८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा हुनुहुन्छ ।

बर्से धान खेतीभन्दा बढी उब्जनी हुुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उहाँले बताउनुभयो । “खेतीलगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढिमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउदो वर्ष एक विघामा धान लगाउने सोच बनाएको छु”, उहाँले भन्नुभयो,“खान मिठो र उत्पादन पनि राम्रो हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”

उहाँ मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् । यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरुप नगद सहयोगसहित सम्मानीत गरेको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिनुभयो ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयस्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उहाँले बताउनुभयो ।
घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिनुभयो । “भजनी र टीकापुुर नगरपालिकाका साथै जोशिपुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षात्मा डुुबान हुुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्कि चुुहान नगरपालिका र धनगढी उपमहानगरपालिकालगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ । कैलाली जिल्लाभर गतवर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यसवर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ । यसवर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्ष्येपण छ ।

“चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न खालका कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । चैते धानलाई धेरै पानी नचाहिने र यस सयममा बाबढी तथा डुबानसमेत नहुने भएकाले किसानले धेरै लाभ लिने सम्भावना छ”, ज्ञान केन्द्र प्रमुख शर्मा भन्नुहुन्छ,“यसका अतिरिक्त रोग, किराको प्रकोपसमेत कम हुन्छ । पछिल्लो समय कैलालीमा चैते धानतर्फ कृषक आकर्षित भइरहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।”

चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चारवटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइहरको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुईपटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा कमिआउने अपेक्षा गरिएको छ ।

पार्टीले माक्र्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्छः अध्यक्ष नेपाल

काठमाडौँ,२७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले माक्र्सवादको वैचारिक दृष्टिकोणलाई कम्युनिष्ट आदर्शका रूपमा अवलम्बन गर्ने बताउनुभएको छ ।

समाजवादी अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निरंकुशताविरुद्धको सङ्घर्षमा क्रियाशील हुँदै जनअधिकार तथा सामाजिक रुपान्तरणमा कम्युनिष्ट आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मातहतका कमिटीमा छलफलका क्रममा रहेका जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देश विकास तथा समृद्धिका लागि श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक उत्पादन र औद्योगीकरणको खाँचो औँल्याउनुभयो । उहाँले विश्व परिवेशमा परिवर्तित शक्ति सन्तुलनले राष्ट्रियतामाथि पार्ने प्रभाव, अस्थिरता तथा वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्न लोकतान्त्रिक र समाजवादी शक्तिहरूबीच कायम राजनीतिक अन्तरविरोध कम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान गरिबी, शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समस्या अन्त्य गर्न, सबै प्रकारका विभेद तथा भेदभाव निर्मूल गर्न समाजवादी वैचारिक कार्यदिशा सही हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले वर्तमान राजनीतिमा बढेको अविश्वासले प्रतिक्रियावादी शक्तिहरूलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याउनुभयो ।

महासचिव घनश्याम भुसालले मुलुकमा विद्यमान सम्पूर्ण समस्या र विकृति समाधानका लागि समाजवादी कार्यक्रम तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी सङ्गठन विभाग सचिव अशेष घिमिरेले सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैलाई आग्रह गर्दै उहाँले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि वैज्ञानिक समाजवादको महत्वमा जोड दिनुभयो ।

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४

इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

इरानमा जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि छ जना उम्मेदवार योग्य ठहर

इरानले आगामी जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि कन्जरभेटिभ पार्टीका छ जना उम्मेदवारलाई अनुमोदन गरेको छ । आगामी जुन २८ मा हुन लागेको निर्वाचनले मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अति परम्परावादी राष्ट्रपति इब्राहिम राइसीको स्थान लिनेछ ।

गृह मन्त्रालयले योग्य ठहर भएको घोषणा गरेका उम्मेदवार राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका ८० जना आकाङ्क्षीमध्येबाट इरानको निर्वाचनसम्बन्धी काम हेर्ने ‘गार्जियन काउन्सिल’बाट उम्मेदवारी अनुमोदन भएका व्यक्ति हुन् । उम्मेदवारका आकाङ्क्षीमध्ये सुधारवादी खेमाबाट एक जनालाई मात्र राष्ट्रपतीय निर्वाचनका लागि योग्य ठहर गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महमुद अहमदीनेजादलाई अनुमोदन गरिएको छैन ।

अनुमोदन हुनेमा सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्वआणविक वार्ताकार सइद जलिली रहेका छन् । इरानको संसदमा तब्रिजबाट प्रतिनिधित्व गर्ने सांसद मसूद पेजेशकियानलाई पनि अनुमोदन गरिएको छ । उहाँले सन् २०२२ को सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा सरकारको पारदर्शिताको अभावको विरोध गर्नुभएको थियो ।

कन्जरभेटिभ पार्टीका पूर्वगृहमन्त्री मुस्तफा पोरमोहम्मदीलाई पनि चुनाव लड्ने अनुमति दिइएको छ ।यो सूचीमा तेहरानका कन्जरभेटिभ मेयर अलिरेजा जकानी र शहीद फाउन्डेसनका प्रमुख तथा वर्तमान उपराष्ट्रपति अमिरहुसेन गाजिजादेह–हासेमी पनि रहनुभएको छ ।

इरानमा सुधारवादी समूहको मुख्य गठबन्धनले कम्तीमा आफ्नो एक उम्मेदवारलाई प्रतिस्पर्धा गर्न ‘गार्जियन काउन्सिल’बाट स्वीकृति दिइएमा मात्र यस महिनाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले भाग लिने बताएको छ ।सुधारवादी पत्रिका इतेमादले सुधारवादी मोर्चाका प्रवक्ता जवाद इमामलाई उद्धृत गर्दै लेखेको छ, “यदि सुधारवादीहरूले आफ्नो उम्मेदवार छ भने चुनावमा भाग लिन्छन्, अन्यथा, सहभागिताको अपेक्षा गर्नु हुँदैन ।”

सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही

सोलुखुम्बु, २७ जेठः सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिनुभयो ।

पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको पाइएको उहाँले बताउनुभयो । “पुल निर्माणका क्रममा नै पुल बाङ्गो भएको रहेछ, जानकारी आएपछि स्थलगत निरीक्षण ग¥यौँ”, उहाँले भन्नुभयो । उहाँले पुल निर्माणमा मापदण्ड पालना नभएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कुलुङ, प्रमुख प्रशासकीय अधिकत नवीनकुमार गोलेका साथै इञ्जिनियर, सव–इञ्जिनियरसहित टोलीले पुलको भार परीक्षण गरेको थियो । कूल ३६ मिटर लम्बाई र चार दशमलव २५ मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता ४० टनको छ ।

पुल रु दुई करोड ५८ लाखको लागतमा माछापुच्छ«े कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । पुलमा निर्माणमा अरुण बेली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु १५ लाख उपलब्ध गराएको सो कम्पनीका प्रबन्धक हस्तमान कुलुङले जानकारी दिनुभयो । पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

रास्वपाले असार ७ गते चियापान कार्यक्रम गर्ने

काठमाडौँ, २७ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

 सो पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । 

“स्थापना दिवसका अवसरमा असार  १  गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाई, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।  

सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताउनुभयो ।

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू,गृहमन्त्री लामिछानेद्वारा उद्घाटन

विराटनगर, २७ जेठ – कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले उद्घाटन गर्नुभयो ।

भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशस्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

त्यसअवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने, प्रदेशका सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?

गण्डकी, २७ चैतः संविधानको धारा १६८ (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उहाँ यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

त्यसअघि मुख्यमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । विपक्षी एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उहाँलाई बहुमत पुग्दैन । यद्यपि उहाँहरुले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गर्नुभएको छैन । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताउनुभयो ।

“मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्षलाई छ, हेरौँ भोलिसम्म समय छ, माथिबाट जे निर्देशन आउँछ हामी त्यहीअनुसार अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आउनुभएको छ । गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बन्नुभएको थियो ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा-२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ । देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ । यसअघि उहाँले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीलाई विश्वासको मत दिनुभएको थियो ।

यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आएपनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताउनुभयो । “असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढङ्गले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

भन्सार छलेर ल्याइएको सुनसहित त्रिभुवन विमानस्थलबाट चारजना पक्राउ

काठमाडौँ, २७ जेठः नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् ।

प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९  ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ । यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ ।उनीहरु विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

महेन्द्रनगर (धनुषा), जेठ २७ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघि विना विभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित हुनुहुन्छ । उहाँहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

चितवन, २७ जेठ : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गर्नुभएको हो ।

महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछूतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताउनुभयो ।

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।

अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछूत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।”

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यसअवसरमा जानकारी दिइयो । तीमध्ये एकजना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोरको फलेवास-अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

पर्वत । निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा पर्ने फलेवास-अर्मादी सडक ६ वर्षसम्म पनि पूरा हुनसकेको छैन ।

कोरिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ ।

पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालयले जनाएको छ ।

विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ ।

सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । सुरुआतमा ठेकेदारले विभिन्न कारण देखाएर काममा ढिलाइ गरेको र अहिले भिरमा बम विस्फोट गरेर चट्टान फुटाउनुपर्ने भएका कारण कामले गति लिन नसकेको हो ।

नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक खुलिसकेको छ ।

मोदीखोलामा मोटरेबल पुल दुई निर्माण भइसकेको छ । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष खुलेको भए पनि सवारीसाधन सहज रूपमा चल्नसक्ने अवस्था छैन ।

पाल्पास्थित कालीगण्डकी कोरिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमका अनुसार मोदीवेणीबाट अर्मादीसम्मको खण्डमा ठूलो भिर रहेको र कडा चट्टान विष्फोटक पदार्थ प्रयोग गरेर फुटाउनुपर्ने भएकाले ढिलाइ भएको हो ।

विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा-कैया झोलुङ्गे पुल छ । विष्फोटक पदार्थ प्रयोग गर्दा पुललाई असर गर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन पत्राचार गरेपछि काम रोकिएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ ।

उक्त खण्ड १४ किलोमिटर लामो छ । कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीसँग चौथोपटक थप गरिएको म्याद आगामी असोज ३० मा पूरा हुँदैछ ।

कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खानकी पत्नी बुशरा बीबीद्वारा उच्च अदालतमा अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले इद्दत मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग गर्दै इस्लामाबाद उच्च अदालतमा निवेदन दिनुभएको छ ।

हाल जेल सजाय विताइरहेकी बुशरा बीबीले आफ्ना वकिल सलमान सफदरमार्फत यो याचिका दर्ता गराउनुभएको हो । जिओ न्यूजको रिपोर्टअनुसार ‘लामो समयसम्म थुनामा राखिएको’ मा आलोचना गर्दै याचिकामा भनिएको छ, “उहाँको सजायविरुद्ध परेको अपिलको सुनुवाइ विचाराधीन छ । न्यायको हितमा निवेदक (बुशरा) को सजाय निलम्बनको निर्णय यथाशीघ्र गर्नु अत्यावश्यक छ ।”

बुशरा बीबीका पूर्वपति खवर मेनकाले उनीहरूको विवाहको विरोधमा अदालतमा निवेदन दिएपछि भएको सुनुवाईको फैसला सुनाउँदै गत फेब्रुअरीमा इमरान खान र बुशरा बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको थियो ।

जियो न्यूजका अनुसार ५१ पृष्ठ लामो फैसलामा न्यायाधीशले उनीहरूको विवाहले बेइमानी झल्काएको र प्रत्येकलाई पाँच लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेकोे छ । अदालतको फैसलापछि खान दम्पतीले जिल्ला अदालत तथा आपराधिक मुद्दाहरू हेर्ने विशेष अदालतमा आफ्नो सजायविरुद्ध याचिका दायर गरेका थिए । तर, मेनकाले सुनुवाईका लागि तोकिएका न्यायाधीश शाहरुख आरजुमान्डमाथि अविश्वास प्रकट गरेपछि यो मुद्दा अतिरिक्त जिल्ला अदालत र पुनरावेदन अदालतका न्यायाधीश मोहम्मद अफजल माजुकालाई हस्तान्तरण गरिएको थियो ।

पाकिस्तान तेहरीक–ए–इन्साफले यस विकासको आलोचना गर्दै यसलाई ‘न्यायको प्रावधानमा जानाजानी विलम्ब’ गरिएको बताएको छ । पीटीआईको विशेष समितिले पूर्व प्रधानमन्त्री खान र उहाँकी पत्नी बुशरा बीबी तत्काल जेलबाट रिहा गर्न योग्य रहेको बताएको छ ।

राधिका दासी , दिनबन्धु पोखरेल र श्री देवी प्रतिभा जी एकसाथ एउटै कार्यक्रमा देखिँदै

सुप्रशिद्ध कथा वाचिाका श्री राधिका दासी माता, वाचन प्रविन पंण्डित श्री दिबन्धु पोखरेल, प्रसिद्ध श्रीमद्धभागवत कथा वाचिका श्री देवी प्रतिभा जी लगायतका सुपरिचित कथावाचक र कथा वाचिकाहरु एकसाथ ऐतिहासिक श्री पशुपति कोटी होम मासिक ग्यान माहायज्ञ २०८१ मा देखा पर्ने भएका छन् । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गर्न लागिएको हो ।

भगवान शिवको प्रिय महिना श्रावण महिनामा पाशुपत क्षेत्रमा आयोजना हुन गहिरहेको ऐतिहासिक श्री पशुपति कोटी होम मासिक ग्यान माहायज्ञ २०८१ मा पशुपतीको कैलाश डाँढा क्षेत्रमा १५५ जना भन्दा बढी बौदिक ब्राहमण गुरुहरु बाट श्रावण महिनाभरि कोटी हवन अन्न बरत चल्ने भव्य कार्यक्रममा श्री राधिका दासी माता, वाचन प्रविन पंण्डित श्री दिबन्धु पोखरेल, प्रसिद्ध श्रीमद्धभागवत कथा वाचिका श्री देवी प्रतिभा जीसहित श्री चन्द्रकला सखी जी, श्रीराम कथा तथा साधु, सन्त, महन्तसँग अन्य कथावाचक र कथा वाचिकाहरुको आगमन हुने मानव सेवा फाउण्डेसनले जनाएको छ ।

आयोजक मानव सेवा फाउण्डेसनका अनुसार यस भव्य कार्यक्रममा सुप्रशिद्ध कथा वाचिाका श्री राधिका दासी माताले शिव पुराण, वाचन प्रविन पंण्डित श्री दिबन्धु पोखरेल ले श्रीमद्धभागवत कथा, प्रसिद्ध श्रीमद्धभागवत कथा वाचिका श्री देवी प्रतिभा जी श्रीमद्धभागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

श्री पशुपति क्षेत्र, हंस मण्डप, काठमाडौँमा हुने श्री पशुपति कोटी होम मासिक ग्यान माहायज्ञ २०८१ खासगरी मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थसँग सँगै आश्रमहरुको सर्वागंगिण विकासका लागि आयोजना गर्न लागिएको हो । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुन लागेको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री मद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जीले जानकारी दिनुभयो ।

हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानबजातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उहाँले बताउनु भयो । नेपाल अध्यात्म भुमी हो । यस तपोभुमीबाट योग, ध्यान,प्रणाम धर्म, ज्ञान,साधना र विज्ञानको महत्व बिकास भएकाले हो भन्ने जानकारी र सन्देश समेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकहरूले जनाएका छन् । मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत

भारतीय राष्ट्रिय काङ्ग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएको काङ्ग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताउनुभएको छ । तिवारीले एएनआईसँग भन्नुभयो, “सोनिया गान्धीलाई काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।”

काङ्ग्रेस संसदीय दलको बैठकमा काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको अध्यक्षका लागि सोनिया गान्धीको नाम प्रस्ताव गर्नुभएको थियो भने पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए । कांग्रेस संसदीय दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा सम्पन्न भएको छ ।

युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख काङ्ग्रेस नेताको बैठकमा उपस्थिति थियो ।

काङ्ग्रेस संसदीय दलको बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी छन् ।

काङ्ग्रेस कार्यसमितिले पार्टीका सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट लोकसभा चुनाव जित्नुभएको थियो ।

काङ्ग्रेसलगायतका विपक्षी दलहरूको समूह, भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले देशव्यापी गठबन्धन बनाएर भारतीय जनाता पार्टी (भाजपा) लाई लोकसभामा एकल बहुमत प्राप्त गर्नबाट रोक्न सफल भएका छन् । यद्यपि, भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले २९३ सिट जितेको छ ।

सन् २०२४ को लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ तर यो सङ्ख्या भाजपाको सरकार गठनका लागि एकल बहुमतको लागि संसदमा आवश्यक सदस्य सङ्ख्याभन्दा ३२ सदस्यले कमी हो ।

अर्कोतर्फ काङ्ग्रेसले ९९ सिट जितेर बलियो सुधार गरेको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३० सिट पार गरेको छ ।

महासागर सरसफाई अभियानमा फिजीको पहल

फिजीको वातावरण र जलवायु परिवर्तन मन्त्रालयले विश्व महासागर दिवसको अवसरमा शनिबार यहाँ एक सरसफाई अभियान सुरु गरेको छ । यसले विश्वको संरक्षण र दिगोपनाको महत्वपूर्ण आवश्यकतालाई जोड दिँदै कामको सुरूवात गर्न विश्वव्यापी आह्वानको रूपमा काम गर्दछ ।

फिजी सरकारको यस पहलले संरक्षण प्रवर्द्धन र जलवायु समस्यालाई नियन्त्रण गर्नको लागि आफ्नो अटल प्रतिबद्धतालाई सङ्केत गर्दछ । यसले फिजीको समुद्री वातावरणकोे संरक्षण गर्नको लागि यस पहिलेदेखि जारी समर्पणलाई थप सशक्त बनाउँने विश्वास गरिएको छ ।फिजीले जलवायु परिवर्तन र वातावरणीय ह्रासका चुनौतीहरूको सामना गरिरहँदा जलवायु समस्या नियन्त्रणका लागि उपायहरूको आवश्यकता बढ्दै गएको देखिन्छ ।

वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले जैविक विविधता पार्क (बायोपार्क्स) को सञ्जाल विस्तार गर्न र वातावरणीय वकालतमा जनता र सरोकारवालाको संलग्नता बढाउन प्रतिबद्ध रहेको जनाएको छ ।

फिजीले तीनवटा बायोपार्कहरू स्थापना गरेको छ । यसले सरकार र स्थानीय समुदायहरू बीचको सहयोगी प्रयासहरूलाई प्रतिबिम्बित गर्ने, प्राकृतिक स्रोतहरूको संरक्षण, पुनस्र्थापना र व्यवस्थापनमा समुदायहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने मन्त्रालयले बताएको छ ।
पर्यावरणीय दिगोपनप्रति राष्ट्रिय प्रतिबद्धतासँगको यो पङ्क्तिबद्धता स्थानीय समुदायका लागि मात्र फाइदाजनक नभएको तर यसले फिजीको समग्र वातावरणीय लचिलोपनलाई पनि बलियो बनाउने मन्त्रालयले जनाएको छ ।

विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी

काठमाडौँ, २७ जेठः अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन् । त्यस्तै ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए ।

इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । दुई सय दुई रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए ।

त्यस्तै फिल साल्टले ३७ रन जोडे । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ ।

जसपा नेपालको राष्ट्रिय महाधिवेशनको तयारी पूरा, देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी हुने

धनुषा,- जनता समाजवादी पार्टी (जसपा) नेपालको यही जेठ २८ गतेदेखि जनकपुरमा हुने राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।महाधिवेशनको विषयमा जानकारी दिन शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी हुने र अधिवेशनको सम्पर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, वैचारिक, नीतिगत दस्तावेज तयार भएको र अब तीन दिनसम्म व्यापक बहस तथा छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिने बताउनुभयो । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने पनि त्यस अवसरमा जानकारी दिइयो ।

अध्यक्ष यादवले केही सांसदहरू विभिन्न लोभमा पार्टीबाट अलग भए पनि पार्टी एक ढिक्का रहेको धारणा राख्नुभयो । महाधिवेशनबाट पार्टी थप सशक्त भएर जनतामाझ जाने उहाँको भनाइ थियो । “सत्ता, शक्तिको प्रलोभनमा परेर केही साथीहरू पार्टीबाट चोइटिएर जानुभयो, निर्वाचन आयोगले समेत दबाबमा परेर उहाँहरूलाई सहज हुनेगरी पार्टी दर्ता ग¥यो । यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यसबाट विचलित नभई अब महाधिवेशनपछि थप सशक्त भएर अगाडि बढ्नु छ”, अध्यक्ष यादवले भन्नुभयो । आफू विदेश रहेकै बेला षड्यन्त्रपूर्वक पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू मूल पार्टीमै रहेको उहाँको दाबी थियो ।

अध्यक्ष यादवले आगामी दिनमा सङ्घीयता र समावेशिता पक्षधरहरूसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो । अर्को प्रशङ्गमा उहाँले विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको काम कूटनीतिक मर्यादाविपरीत भएको आरोप लगाउनुभयो ।

सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाटै वाग्मती बचाउ अभियान सुरु

काठमाडौँ- सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले शनिबार मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन् ।

वाग्मतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । वाग्मती सफाइमात्र नभई वाग्मती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उहाँले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताउनुभयो ।

एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको आज पाँच सय ३८औँ हप्ता हो । अभियानले आजदेखि प्रत्येक हप्ताको शनिबार वाग्मती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिनुभयो ।

यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ७८औँ हप्ताको सफाइ तीनकुनेस्थित वाग्मतीमा गरिएको छ । सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि वाग्मतीमा धेरै परिवर्तन आउन सकेको छैन । वाग्मतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र केही हुन नसक्ने विश्लेषण हुन थालेको छ ।

हरेक जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा-: उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले हरेक नेपाली जनताको जीवनस्तर उकास्ने गरी काम गरिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गोरखाको सिरानचोक गाउँपालिका–८ मा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राजनैतिक अधिकार प्राप्त गर्नेमा मात्र पछिल्लो राजनीतिक परिवर्तन समर्पित हुन नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

“जनताको जीवनस्तर कसरी फेर्न सकिन्छ भनेर हामी लागिपरेका छाैँ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “गणतन्त्र प्राप्तिसँगै हरेक नेपाली जनताको सामाजिक, आर्थिक अधिकारसमेत परिवर्तन होस् भनेर सरकारले सोहीअनुसार काम गरिरहेको छ ।” जनताले अझै पनि राजनीतिक परिवर्तन पूरै अनुभूति गर्न नपाएको भन्दै उहाँले हरेक नागरिकको दैनिक जीवनस्तरमा परिवर्तन ल्याउन सके मात्र सबैले राजनीतिक परिवर्तनको महसुस गर्ने उल्लेख गर्नुभयो । 

“गणतन्त्रसँगै संविधानसभामार्फत बनेको संविधानले नेपाली जनतालाई थुप्रै अधिकार दिएको छ,” उहाँले भन्नुभयो, “तर संविधानप्रदत्त सबै अधिकार जनताले महसुस गर्ने गरी उपभोग गर्न पाइसकेका छैनन् ।” 

उहाँले अहिले भएको परिवर्तनको मुख्य उद्देश्य हरेक जनताको जीवनस्तरमाथि उकास्नका लागि भएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “आर्थिक तथा सामाजिक हिसाबले जनताको जीवनमा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनले मात्र परिवर्तनको अनभूति हुँदैन ।”

जनताको भावना बुझेर काम गर्न कार्यकर्तालाई सहमहामन्त्री परियारको निर्देशन

सुन्दरबजार (लमजुङ-नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताउनुभएको छ । सनिबार लमजुङका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशन समेत दिनुभयो ।

उहाँले नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिक कार्यदिशा विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले महिला, दलित, अल्पसङ्ख्यक र पिछडिएका वर्गलाई कांग्रेसले २००६ सालदेखि नै पार्टीका विभिन्न समितिमा प्रतिनिधित्व गराउँदै आएको उल्लेख गर्दै  कांग्रेस सबैको साझा पार्टी भएको बताउनुभयो । उहाँले कार्यकर्ताहरु नियमित रुपमा जिल्ला, नगर र वडा समितिको बैठक बसी गतिविधिको समीक्षा गर्न सुझाव दिनुभयो । 

नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाको आयोजनामा भएको प्रशिक्षणमा जिल्ला कार्यसमिति प्रशिक्षण शाखाको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा सहमहामन्त्री परियारसँगै गण्डकी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख आनन्द घिमिरे र कार्यकर्ताको सहभागिता थियो ।