`

नोबेल पुरस्कार विजेता मोहम्मदीलाई इरानमा एक वर्षको कारागार सजाय

इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उहाँका वकिलले मङ्गलबार बताएका छन् ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।

“मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको थियो”, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो । उहाँले ‘यो सजाय जारी गर्नुको कारण’ मा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिश र नर्वेली सांसदहरूलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणीहरू’ बताउनुभयो ।

अधिकार समूहहरूले पत्रकार तथा छात्रा गालिबफलाई मेट्रो स्टेसनमा अघिल्लो गिरफ्तारीका क्रममा सुरक्षा बलमाथि उनलाई हतकडी लगाएको र यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि हिरासतमा लिइएको बताएका छन् । गालिबफलाई रिहा गरिएको छ ।

इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अप्रिल २२ मा गालिबफमाथि ‘बलात्कार नगरिएको’ र उनीमाथि ‘झुटो बयान’ दिएको आरोपमा कारबाही भइरहेको बताएको थियो ।

मोहम्मदीले यसै महिनाको सुरुआतमा तेहरानमा ट्रायल सत्रमा भाग लिन अस्वीकार गर्नुभएको थियो र मार्चमा कारागारबाट अडियो सन्देश साझा गर्दै इरानमा ‘महिलाविरुद्ध पूर्णस्तरको युद्ध’ को निन्दा गर्नुभएको थियो ।

हालैका महिनाहरूमा इरानी प्रहरीले महिलाका लागि मुलुकको इस्लामिक ड्रेस कोडको कार्यान्वयनलाई तीव्र बनाएको छ र विशेषगरी भिडियो निगरानीको प्रयोग गरिरहेको छ । सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै अपनाइएको नियमअन्तर्गत इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल ढाक्न र शालीन कपडा पहिरिन आवश्यक छ ।

पछिल्लो वर्ष द्वन्द्वमा मारिएका मानिसहरुको सङ्ख्या बढ्यो : राष्ट्रसंघ

सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा बाहिर धकेलि रहेको बताउनु भयो ।

उनीहरूले एक अर्का प्रति पूर्ण तिरस्कार देखाई मानव अधिकारलाई कुल्चिरहेको बताउदै उहाँले नागरिकको हत्या घाइते र पूर्वाधारको विनाश हुनु दैनिक घटना भएको जनाउनु भयो ।

उहाँका अनुसार द्धन्द्धको समयमा बालबालीकालाई गोली हानियो,अस्पतालहरूमा बम प्रहार गरियो,समुदायहरूमा भारी तोपखानाहरू सुरु गर्नुका साथैै घृणित, विभाजनकारी र अमानवीय कार्य गरिए ।
संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुखले आफ्नो कार्यालयले गत वर्ष “सशस्त्र द्वन्द्वमा नागरिक मृत्युको सङ्ख्या ७२ प्रतिशतले बढेको जनाउने तथ्याङ्क सङ्कलन गरेको बताउनु भयो ।

भयावह स्वरूपको तथ्याङ्ले सन् २०२४ मा मारिने महिलाको अनुपात अघिल्लो वर्षको तुलनामा दोब्बर र बालबालिकाको अनुपात तीन गुणा भएको सङ्केत गर्ने उहाँले बताउनु भयो ।
गाजा पट्टीमा, तुर्कले “द्वन्द्वका पक्षहरूद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानूनको अवहेलना“ र “असहनीय मृत्यु र पीडा“ बाट स्तब्ध भएको बताउनु भयो ।

अक्टोबर –७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्धमा “गाजामा एक हजार दुई सय भन्दा बढी मानिसहरू, मारिए भने कर्यौँ घाइते भए ।
इजरायलले मे महिनाको सुरुमा रफाहमा आफ्नो कारबाही बढाएपछि, लगभग दस लाख प्यालेस्टिनीहरू फेरि जबरजस्ती विस्थापित भएका छन् ।

कोष घटेको उल्लेख गर्दै –तुर्कले युक्रेन, कङ्गो लोकतान्त्रिक गणतन्त्र र सिरियासहित अन्य द्वन्द्वहरूको दायरालाई पनि औंल्याउनु भयो ।

उहाँले सुडानमा, एक वर्षभन्दा लामो गृहयुद्धको चपेटामा लडाकु दल र सम्बद्ध समूहहरूद्वारा नष्ट भइरहेकाले आफ्नै जनताको अधिकारलाई कुल्चियको बताउनु भयो ।

यस्तो विनाशले खाँचोमा परेका मानिसहरूको बढ्दो सङ्ख्यालाई सहयोग गर्न कोष घट्दै गइरहेको अवस्थामा थप समस्या आउने उहाँले उल्लेख गर्नु भयो ।

सन् २९२४ मे को अन्त्यसम्म, मानवीय कोष आवश्यकताहरू र उपलब्ध स्रोतहरू बिचको अन्तर ४०.८ अर्ब डलर रहेको टर्कले जानकारी दिनु भयो ।
उहाँका अनुसार अपिलहरू औसत १६.१ प्रतिशतमा मात्र वित्त पोषित छन ।

यसको तुलना सन् २०२३ मा विश्वव्यापी सैन्य खर्च लगभग २.५ ट्रिलियन डलर भएकोमा २०२२ बाट वास्तविक सर्तमा ६.८ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै टर्कले २००९ पछि यो सबैभन्दा तीव्र वार्षिक वृद्धि भएको उल्लेख गर्नु भयो ।

युद्धले असहनीय मानवीय पीडा दिनुका साथै ठुलो मूल्य चुकाउने उहाँले चेतावनी दिनु भएको छ ।

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ।

गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको “रिङ्स अफ फायर“ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ।

प्रतिवेदनमा सन् २०२४ को जुलाई–अगस्ट मा हुने पेरिस ओलम्पिकमा तीव्र गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरु बेहोस हुने र ज्यान समेत गुमाउन सक्ने जस्तो जटिल अवस्था हुनसक्ने चेतावनी दिइएको छ ।

“रिङ्स अफ फायर“ प्रतिवेदनले सामान्यतया उत्तरी गोलार्धको उचाइमा गर्मीको समयमा आयोजना हुने प्रतियोगिताहरू–जस्तै ओलम्पिक वा विश्वकप फुटबलका आयोजकहरूलाई आफ्नो तालिकामा पुनर्विचार गर्न आग्रह गर्दछ।

अध्ययनले गर्मीको जोखिमबाट बच्न पुनर्जलिकरण र शितलनका योजनाहरू पनि प्रदान गर्नुपर्ने तर्क गरेको छ। जुलाई २६ देखि अगस्ट ११ सम्म चल्ने पेरिस ओलम्पिक फ्रान्सको राजधानीमा सामान्यतया सबैभन्दा गर्मी समयमा हुने तयारीमा रहेको छ ।

कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई विद्यालयमै आत्मरक्षा तालिम

मनहरी, ४ असार : मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ ।

किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरुलाई तालिम प्रदान गरिएको हो । कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । उहाँले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाका सबै छात्राहरुलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरुलाई थप सहजता हुने उहाँले बताउनुभयो । “हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौँ भने आगामी वर्षमा सबै विद्यालयका किशोरीलाई तालिम दिने छौँ”, अध्यक्ष मोक्तानले भन्नुभयो ।”

राष्ट्रिय बालअधिकार परिषद् नेपालका सदस्य तथा किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम प्रदान गर्नुभएको थियो । उहाँले छात्राहरुलाई हुनसक्ने धम्की, दुर्व्यवहारलगायतका हिंसा न्यूनीकरण गर्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताउनुभयो । तालिम पश्चात किशोरीहरुलाई विद्यालयमा पठनपाठनदेखि समुदायमा सुरक्षित र सहजता हुने उहाँको भनाइ छ ।

आज वडा नम्बर ९ स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिम पश्चात किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बुधबार कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन

गलकोट (बागलुङ), ४ असार नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु १८ लाख सङ्कलन भएको छ ।

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार सङ्कलन गरेको थियो ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र रु १० लाख २१ हजार खर्च भएर रु आठ लाख पाँच हजार बचत भएको बताउनुभयो । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी रु ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट रु तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत रु ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट रु दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट रु नौ हजार, बोकाको टाउको बिक्रीबाट रु ११ हजार नौ सय, कुखुरा बलिबाट रु नौ सय, राँगा बलिबाट रु तीन हजार छ सय, विवाहबाट रु एक हजार र पण्डितबाट रु चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

जेठमा कर्मचारीको तलबभत्तामा रु चार लाख ३४ हजार, विद्युत्मा रु २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु ४६ हजार, उपहार रु नौ हजार, पूर्वाधारतर्फ रु दुई लाख ३६ हजार, पूजा खर्च रु ५५ हजार, जग्गा व्यवस्थापन रु एक लाख ५० हजार, खाद्य तथा आवास रु ५७ हजार र विज्ञापनमा रु पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताउनुभयो ।

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

भक्तपुर, ४ असार (रासस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

कानुन अध्ययन समाजले भक्तपुरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा उहाँले तीनवटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र सङ्घीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उहाँले संसद् सदस्यहरुले ठेक्का–पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गनुभयो ।

नेता बिजुक्छेँले भन्नुभयो, “संसद् सदस्य ठेक्का–पट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरुले त नीति बनाउनुपर्ने हो । नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण सङ्घीयताको कार्यान्वयनमा समस्या आएको हो ।”

देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै उहाँले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गर्नुभयो ।

समाजका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाका क्रममा स्वायतता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै संवैधानिक रूपमा प्राप्त स्थानीय तहको अधिकार क्रमशः खोसिने क्रममा रहेको भनी चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

काठमाडौँ, ४ असार : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा पनि सहयोग पुग्ने बताउनुभएको छ ।

यहाँस्थित चिनियाँ राजदूतावास र चाइना स्कलरसिप काउन्सिलले राजधानीमा आज आयोजना गरेको चिनियाँ शैक्षिक मेलाको उद्घाटन गर्दै उहाँले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देशबीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताउनुभयो । नेपाली विद्यार्थीले चीनमा छात्रवृत्ति पाएर अध्ययन गरी विशिष्टता हासिल गरेर फर्केका धेरै उदाहरण रहेको उपप्रधानमन्त्री श्रेष्ठले कार्यक्रममा सुनाउनुभयो । मेलापछि भविष्यमा अझ धेरै विद्यार्थी लाभान्वित हुने उहाँको विश्वास थियो ।

शैक्षिक मेलाले चीनको उच्च शिक्षाका बारेमा जानकारी दिन कोशेढुङ्गाको काम गरेको उल्लेख गर्दै उहाँले नेपालका पूर्व एवं वर्तमान उच्च अधिकारीबाट भएको औपचारिक भ्रमणले पनि दुई देशबीचको शैक्षिक, सांंस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको श्रेष्ठको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले हाल चीनमा दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको सङ्ख्या निरन्तर बढिरहेको बताउनुभयो ।

दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोग चीन–नेपालबीचको सम्बन्धको महत्वपूर्ण आधारशीला बनेको उहाँले बताउनुभयो । यसले साझा भविष्यका साथै चीन–नेपाल समुदायको घनिष्ठ र अझ नजिकको सम्बन्ध निर्माण गर्न अतुलनीय योगदान दिएको राजदूत सोङले बताउनुभयो ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले दुई देशबीचको शैक्षिक सम्बन्ध पनि जनस्तरमा जस्तै सुमधुर बनाउन शैक्षिक मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । चीनको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएकाले नेपाली विद्यार्थीले यसबाट लाभान्वित हुने अवसर पाउने उहाँले सुनाउनुभयो ।

कार्यक्रममा चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियरले एक दशकपछि यस्तो मेला आयोजना गरेर चिनियाँ शैक्षिक अवस्थाका बारेमा नेपाली विद्यार्थी, अभिभावक एवं सरोकार भएका अन्य व्यक्तिलाई गराउने अवसर प्राप्त भएको बताउनुभयो ।

एक दिने शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा जानकारीसहितको सामग्री राखिएको छ । यसबाट चीनमा गई उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ ।

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौँडा, ४ असार : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराईको पानीमा संचालन हुने कुलेखानी जलासयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ । पछिल्लो समय पानी नपरेकाले जलविद्युत्को महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिनुभयो । विशेष गरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथी हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ ।

समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उहाँको भनाइ छ । पछिल्लो समयमा कुलेखानी जलविद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उहाँले जानकारी दिनुभयो । प्रमुख भट्टका अनुसार सोमबारसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो । गए राती पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ । उहाँका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपतकालीन् समयमा मात्रै बिजुली उत्पादन गरिने उहाँको भनाइ छ ।

अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला

गण्डकी, ४ असार : “घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका–११ को काहँुडाडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो ।

आमाहरूले भजन गाइरहँदा गलामा दुबोको मालासँगै पिपलको पातमा अतिथि लेखिएको ब्याचले सजिएका अतिथिहरूले अभिरुचीपूर्वक सुनिरहेका थिए । कार्यक्रममा खादाजन्य सामग्री प्रयोग गरिएको थिएन । अतिथिलाई उपहारमा काँक्रो प्रदान गरिएको थियो । खाजामा सेलरोटी र काँक्राको अचारसँग मोही थियो ।

पोखरा महानगरपालिकाको सहयोगमा काहुँको सिस्नेरीमा सञ्चालित १४ हप्ताको आइपिएम कृषक पाठशालाको अनुभव सहभागीले व्यवहारमा उतारिरहँदा कार्यक्रमको आकर्षण भिन्नै देखिन्थ्यो ।

कृषिप्रति अनिच्छाका कारण जग्गा बाँझो भइरहेका अवस्थामा पोखरा महानगरपालिका– ११ काहुँ डाँडाका स्थानीय भने आइपिएम कृषक पाठशालाका माध्यमबाट सामूहिक कृषिमा जोडिएका हुन् । पाठशालाबाट धेरै कुरामा सक्षमता हासिल गरेको सर्वेश्वर आइपिएम कृषक समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले बताउनुुभयो ।

समूहमा आवद्ध भई आइपिएम कृषक पाठशाला मार्फत आधा रोपनी क्षेत्रमा गरिएको काँक्रो खेतीबाट पाँच सय किलोभन्दा बढी बिक्री गर्न सफल भएको उहाँको अनुभव छ ।

कार्यक्रमकै क्रममा आमाहरूले कृषि सन्देशमूलक गीत तथा भजन गाउनुका साथै कृषि उत्पादनमा विषादीको प्रयोगले निम्त्याउने समस्यालाई जीवन्त चित्रण गरेको लघु नाटक प्रस्तुत गरे । विषादीको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउन नाटक प्रस्तुत गरिएको नाटक अभिनय दलका सदस्य ७५ वर्षीया सावित्री आचार्यको भनाइ छ ।

“हामी आइपिएम कृषक पाठशालाका माध्यमबाट धेरै विषयमा जानकार भएका छौँ यसले हामीलाई सामाजिक सक्षमता बढाएको छ”, उहाँले भन्नुभयो, “पाठशालामा सिकेका सिकाइलाई हामीले व्यावहारिक जीवनमा प्रयोग गर्नेछौँ ।”

पाठशालाको सिकाइसँगै बोल्ने बानीको विकासका कारण आफ्ना कुरा निर्धक्कका साथ राख्ने क्षमतामा वृद्धि भएको समूहका सदस्यहरू बताउँछन् । महानगरपालिकाको सहयोगमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । यहाँका २५ जना महिलाहरू एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालामार्फत सामूहिक खेतीमा अध्ययन अनुसन्धानसँगै आयआर्जनमा जोडिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुुभयो ।

किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालनका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “यसका माध्यमबाट उहाँहरूमा धेरै ज्ञान सीप हासिल हुनुका साथै समाजमा आफ्ना कुरा राख्न सक्ने क्षमता वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “प्राप्त सिकाई र अनुभवलाई गीत भजनका साथै नाटकका माध्यमबाट प्रस्तुत गर्न सक्नुुले सामाजिक सचेतना र क्षमता अभिवृद्धि भएको देखिन्छ ।”

कृषक पाठशालाबाट आफूहरूले कृषिका सम्बन्धमा धेरै विषयहरू जानकारी प्राप्त गरेको अर्का सदस्य सुभद्रा आचार्य बताउनुुहुन्छ । पाठशालामा स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगविना प्राङ्गारिक विधिबाट खेती गर्न सिकाइएको थियो ।

सिकाइलाई प्रभावकारी बनाउन गँड्यौला, खपटे, खुम्रे, पुतली र औँसा पाँच समूहमा विभाजित भई प्राविधिकसहित प्रयोगात्मक सिकाइ गरेका थिए । पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्राका बेर्ना रोपेका थिए ।

कार्यक्रमको समापनमा पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा कृषि सञ्जालका संयोजक भीमप्रसाद आचार्य, वडा सदस्य विष्णुप्रसाद घिमिरेलगायतले पाठशालाका सिकाइ व्यावहारिक जीवनमा उपयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।

माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट

बनियानी (झापा), ४ असारः अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिनुभयो ।

त्यस्तै, गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दामा सोह्र वर्ष कैद सजाय पाएर फरार रहेका वाइबा २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैदा सजाय पाएर विगत २० वर्षदेखि फरार एक जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्दरसरोबर गाउँपालिका–१ नयाँगाउँ निवासी ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका सावि–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गत २०६१ जेठ ३ गते नगद रु ५० हजार लुटपाट गरी कुटपिट गर्दै भिरबाट लडाएर हत्या गरेको कसुरमा मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते वाइबालाई १६ वर्ष कैद र रु. तीन लाख जरिवानाको फैसला गरेको थियो ।

अदालतको आदेश लगत्तैबाट फरार वाइबालाई गोप्य सूचनाका आधारमा नयाँगाउँस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका वाइबालाई भोलि आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइने उहाँले बताउनुभयो ।

बालबालिकालाई श्रम लगाउने १५ उद्योग प्रतिष्ठानमाथि कारबाही

बागमती, ४ असारः बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ३७ हजार सात सय जरिवाना र रु तीन लाख ४० हजार सात सय १२ क्षतिपूर्ति तिराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका २२ बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

यस्तै चालु आवको वैशाखसम्म दुई सय प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा कमजोर पाइएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो । सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको जनाएको छ । चालु आवमा एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उहाँले बताउनुभयो । चालु आवको १० महिनामा पारिश्रमिकसम्बन्धी ७० वटा उजुरी दर्ता भएकामा ५५ वटा उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १५ वटा उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवधिमा श्रमिक आपूर्तिकर्ता कम्पनी दर्ता तथा नवीकरणबापत रु ६८ हजार पाँच सय, बालश्रमसम्बन्धी जरिवानाबापत रु ३७ हजार सात सय र ट्रेड युनियन दर्ता तथा नवीकरणबापत रु एक हजार छ सय ५३ गरी रु एक लाख सात हजार आठ सय ५३ राजस्व सङ्कलन भएको छ । यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

काठमाडौँ, ४ असारः सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् । सङ्घीयताको मर्म पनि सार्वजनिक सेवा प्रवाह गर्ने यी निकायबीचमा सहकार्य र समन्वय अतिआवश्यक हुन्छ भन्ने रही आएको बताइन्छ ।

चन्द्रागिरि नगरपालिका र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यही दुई नेतृत्वलाई समन्वयात्मक रूपमा कसरी अगाडि बढाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा नयाँ अभ्यासको थालनी गरेका छन् । आइतबार सार्वजानिक बिदाका दिन प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका उच्च नेतृत्व, नगरपालिकाका जननिर्वाचित नेतृत्व, प्रमुख कार्यकारी अधिकृत र विषयगत शाखा प्रमुख तथा वडासचिव सहभागी भई सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहका विषयमा खुलेर अन्तक्र्रिया गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष, वडासचिव एवं विषयगत शाखाका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीसँग कार्यस्थलमा आइपरेका कानुनी समस्यालाई निराकरणका उपाय सुझाउन खुलेर जिज्ञासा राख्नुभएको थियो भने प्रजिअले सहभागीले राखेका जिज्ञासालाई सटिक जवाफ दिनुभएको थियो । अधिकांश वडाध्यक्षले नागरिकता सिफारिस र अन्य प्रमाणित गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठान गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले सार्वजानिक सेवालाई क्रमशः विद्युतीय प्रविधि (डिजिटलाइजेन)मा रुपान्तरण गर्दै जाने नीति लिएको जानकारी दिनुहुँदै यसले सेवा प्रभाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नगर क्षेत्रमा नयाँ–नयाँ सुरक्षा चुनौती थपिएका छन् । यसलाई न्यूनीकरण गर्न सुरक्षा निकायसँग मिलेर काम भइराखेको छ । विपद् पूर्वतयारी सबै वडामा गरिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न राजमार्ग, सार्वजनिकस्थललगायत आवश्यक स्थानमा सिसी क्यामेरा जडानलाई उच्च प्राथमिकता दिइएको छ ।” प्रमुख गिरीले स्थानीय सरकार र स्थानीय प्रशासनबीचको मन्थनले समृद्ध चन्द्रागिरी बनाउने ध्येयलाई सहयोग पुग्ने र अगामी दिनमा सेवा प्रवाहमा थप प्रभावकारी आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीको एउटै लक्ष्य सेवाग्राहीलाई सेवा दिनु नै हो, यस काममा कर्मचारीले जनप्रतिनिधिलाई सहजीकरण गरिदिनुपर्छ भन्नुभयो । नगरप्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले उमेर नपुगेका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नबाट बञ्चित हुनुपरेको र नक्कली विवाह गरेर विदेशिनेतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासन र स्थानीय सरकारबीचको सहकार्य र समन्वयले सार्वजनिक सेवा प्रवाह थप चुस्त हुने र सङ्घीयतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभयोे । उहाँले भन्नुभयो, “समाजमा आर्थिक र वित्तीय असहजताले अपराधका नयाँनयाँ स्वरुप उत्पन्न भइराखेको छ । यसलाई सम्बोधन गर्न स्थानीय प्रशासन र स्थानीय सरकार बीचमा समन्वय आवश्यक छ ।” प्रजिअ बस्नेतले वडाध्यक्षहरूले प्रमाणित र सिफारिस विषयमा ऐन, कानुन राम्ररी अध्ययन गर्न र ती विषयमा सचेतना अपनाइ गम्भीर बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त बनाउन, सुरक्षा समन्वय गर्न र अपराध नियन्त्रणमा स्थानीय सरकार र स्थानीय प्रशासनबीचको सहकार्य र समन्वय अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, “उपत्यकाको प्रवेशद्वारका रूपमा रहेको चन्द्रागिरि नगरपालिका शान्ति, सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । यस कुरालाई ख्याल गरेर नगरपालिकाले सुरक्षा निकायसँग मिलेर काम गरिराखेको छ । नगरपालिकाले प्रदान गर्ने सेवालाई क्रमशः विद्युतीय प्रविधिमा रुपान्तरण गर्ने कामको थालनी भइरहेको छ । यसले सेवाग्राहीलाई थप सहजता ल्याउने छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा हुने यस्ता अन्तक्र्रियाले दैनिक आइपर्ने समस्यालाई हटाउन सहज हुने बताउनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा नागरिकको हक–अधिकारलाई सुरक्षित गर्न सकिन्छ भन्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाले आफ्ना सदस्यलाई ‘चेक’ काटेर दिने तर खातामा पैसा नहुने अर्थात् ‘चेक बाउन्स’ गर्नेमाथि कारबाही अगाडि बढाइदिन प्रजिअ गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि–५,८,९, १०, ११, १३, १४, १५ का वडाध्यक्षहरु क्रमशः राजेन्द्र महर्जन, प्रल्हाद रिजाल, अच्युत अधिकारी, शिवकुमार महर्जन, नरेन्द्रराज श्रेष्ठ, श्रीकृष्ण खत्री, राजभाइ महर्जन र घनश्याम लुइँटेलले सिफारिस र प्रमाणितका विषयमा प्रजिअसँग जिज्ञासा राख्नुभएको थियो । उहाँहरूले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय सार्वजानिक बिदाका दिन खुला गर्ने सरकारको नीतिलाई स्थानीय सरकारले साथ र सहयोग दिने जानकारी दिनुहुँदै सार्वजानिक सेवालाई जिल्ला प्रशासनले पनि प्रविधिमैत्री बनाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, सामाजिक विकास शाखा प्रमुख रश्मी श्रेष्ठ, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भद्रा अर्याल र चन्द्रागिरि–२ का वडासचिव भवानी विष्टले नागरिकता सिफारिस, विपद् व्यवस्थापन तथा राष्ट्रिय परिचयपत्रका विषयमा प्रजिअसँग जिज्ञासा राख्नुभएको थियो ।

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध,सवारीसाधन तथा यात्रु अलपत्रमा

लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ ।

भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिए ।

सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै उहाँले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको बताए । उनले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको जानकारी दिए ।

आयोजना प्रमुख दासले भने,“वर्षा लागिसक्यो, महत्त्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी काम गरिरहेका छौँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ । छिटोभन्दा छिटो सूर्यविनायक र त्यसमाथिका तीनवटा कलभर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कलभर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुँदैन ।” सडक निर्माणका क्रममा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले साँगामा निकै समस्या परिरहेको उनले बताए ।

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ । यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ ।

सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम सम्पन्न भइरहेको जानकारी दिइन् । उनले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको बताइन् ।

स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने, त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने उनले जानकारी दिइन् ।

प्रजिअ श्रेष्ठले भनिन्, “यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ थियो, त्यो हटाएका छौँ । अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, सडक विभागमा फाइल छ, हटाउनुपर्ने स्थायी संरचनाको मुआब्जा दिनु अगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् कि छैनन् भनेर बुझ््ने काम पुनःनिर्माण प्राधिकरणबाट भइरहेको जानकारी पाएका छौं । मुआब्जा निर्धारणमा ढिलाइ हुँदा त्यस्ता स्थायी संरचना हटाउन ढिलाइ भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको जनाउँदै उनले अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको जानकारी पाएको बताइन् । जेठमा पानी पर्दा केही काम रोकिएको, सडकको डिपिआरमै नभएको चौबाटोमा समेत थप काम गर्नुपर्ने भएकाले डिपिआर नै संशोधनको तयारी भइरहेको प्रजिअ श्रेष्ठले बताइन् ।

विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारिदिँदा काममा थप समस्या आएको जनाउँदै उनले प्रशासनबाट पोल सारदिन समन्वय गरिरहेको बताइन् ।

सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटकपटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उनले बताइन् । उनले वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम छिटो सम्पन्न गर्नुपर्ने बताइन् ।

बागमती प्रदेशसभा सदस्य किरण थापाले बर्खा लागिसकेकाले जगातीबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम तत्कालै सम्पन्न गर्न आयोजना र सरकारले ध्यान जानुपर्ने बताए ।

उनले भने, “नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा लागिसक्यो अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।”

यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ ।

उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्ने छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए ।

सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् ।

अब कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला,मुख्यमन्त्री सिंहद्धारा उद्घाटन

राजविराज (सप्तरी)-मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको सोमबार उद्घाटन गर्नुभएको छ ।

सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक करोडभन्दा बढी लागतमा निर्मित धर्मशालाको सोमबार मुख्यमन्त्री सिंहले उद्घाटन गर्नुभएको हो ।

मन्दिर समितिका सदस्य विनोदकुमार रजकले धर्मशाला निर्माणकार्यमा विभिन्न सरकारी निकायको आर्थिक सहयोग रहेको जानकारी दिँदै धर्मशाला हलमा वैवाहिक, बैठक, सेमिनारलगायत करिब तीन सय जनाले एकैपटक सुविधा लिन पाउने व्यवस्था रहेको बताउनुभयो । न्यून शूल्कमा विवाहका लागि आवश्यक सबै सुविधा, बेहुलाबेहुलीका लागि आराम कक्ष, भान्साघर, शौचालयलगायत सुविधा रहेका उहाँले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका विनाविभागीय मन्त्री सकिल अलि, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार आफ्ना इजराइली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

“मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्दछ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा सङ्कट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा खडा गर्छ । वर्तमान गाजा सङ्कट सजिलै गम्भीर विश्वव्यापी सुरक्षा खतरा बन्न सक्छ”, उहाँले भन्नुभयो ।

उहाँले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सिमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुन सक्ने बताउनुभयो । इजराइलले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजराइली सहरहरूमा हमासले गरेको अकस्मात आक्रमणको बदलास्वरूप गाजा–शासक हमास विरुद्ध ठूलो आक्रमण सुरु गरेको छ । यसमा करिब एक हजार दुई सय इजराइलीहरू मारिएका र दुई सयभन्दा बढीलाई बन्धक बनाएका थिए । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार आठ महिना लामो इजराइली आक्रमणमा ३७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका र ८५ हजार अन्य घाइते भएका बताएका छन् ।

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी – ६ नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो ।

विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रु सात करोड ७४ लाख २५ हजारमा ती पुल बनेका थिए । हालै सम्पन्न भएको दुवै पक्की पुल २०–२० मिटर लम्बाइको छ ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको बताइएको छ । तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताउनुभयो ।

सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।

विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्नेगरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार एक सय ३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिनुभयो । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलोपटक थपिएको समयसीमा असार २५ गते सम्पन्न हुँदैछ ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन मोटरेबल पक्की पुल छिटो सक्न तथा गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । “निर्माणाधीन तीनवटा पुलमध्ये दुईवटाले समयअगावै सम्पन्न गरेको छ । तोकिएको मितिअगावै पुल निर्माण सम्पन्न गर्न हामीले पनि हौसला प्रदान गर्यौैँ”, उहाँले भन्नुभयो, “वर्षा सुरु भएपछि त्यो काम सम्भव थिएन । तोकिएको समयभन्दा अगाडि नै पुल सम्पन्न गरेकाले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने योजना बनाएका छौँ ।”

छिमेकी जिल्ला भोजपुर जोड्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत वर्ष जेठ १२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलका लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको जनाउँदै जिल्लावासीले असन्तुष्टि पोख्न थालेका छन् ।

पाँचखण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार सञ्चालनमा आइसकेको छ । तीनवटा निर्माण भर्खरै सम्पन्न भएको तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछ ।

विसं २०७२ चैतबाट कालोपत्र थालिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्र भएको छैन । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्र नहुँदा स्थानीय बासिन्दा चिन्तित छन् ।

भोजपुर हुँदै पाँचथरको चिवाभञ्ज्याङ जोडिने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक ठेकेदार कम्पनीले कालोपत्र नगरेपछि ठेक्का तोडिएको थियो । तर, ठेकेदार कम्पनीले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट ‘स्टेअर्डर’ ल्याए पनि निर्माणको काम अगाडि नबढाएको बताइएको छ ।

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु, ४ असारः मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।”

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिनुभयो । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उहाँले बताउनुभयो । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताउनुभयो । यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उहाँले भन्नुभयो ।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति रु दुई हजार दुई सय लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताउनुभयो । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडाँै फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति रु दुई हजार लिने गरेका छन् ।

छैन मौसममा सुधारको सङ्केत

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ।”

सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।

यहाँ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो ।

काठमाडौँबाट जहाजमार्फत लुक्ला .ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल विसं २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ चार सय ६० मिटर अर्थात् एक हजार पाँच सय फिट रहेको जनाइएको छ ।

‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ । यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थी बताउनुहुन्छ ।

भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उहाँ बताउनुहुन्छ । यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् ।

आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ, ४ असारः वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ । प्रदेशका १४ जिल्ला र एक सय ३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा ल्याएको हो ।

प्रदेशमा मनसुन भित्रिसकेका कारण विगतको विपद्का घटना र तथ्याङ्क विश्लेषण गरी समितिले प्रतिकार्य योजना आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो । योजनामा यस वर्ष मनसुनमा हुन सक्ने बर्षा, त्यसले पुर्याउने प्रभाव, सम्भावित क्षतिको आकलन तथा विश्लेषण गरिएको छ ।

प्रदेश सरकारका मन्त्रालय, सुरक्षा निकाय अन्य सहयोगी निकाय, विभिन्न निकायहरुबाट प्राप्त हुने प्रतिकार्य सामग्री, जनशक्तिजस्ता आधारभूत विषयवस्तु यस योजनामा समेट्ने प्रयास गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ निर्माण कार्यदलका संयोजक रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसवर्ष कोशी प्रदेशमा मनुसनजन्य विपद्बाट एक लाख १३ हजार तीन सय ३५ घरधुरी विपद्को प्रभावमा पर्ने सक्ने आकलन गरिएको छ । त्यसमध्ये पनि ३७ हजार आठ घरधुरी अझ बढी प्रभावित हुने योजनामा उल्लेख छ । विपद् पश्चात तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न तथा मानवीय सहायता उपलब्ध गराउन कार्य योजनामा मातहतका विभिन्न निकायलाई जिम्मेवारी तोकिएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी डुबानबाट सुनसरी जिल्ला प्रभावित हुन सक्ने आकलन गरिएको छ । सुनसरीमा डुबानबाट तीन लाख ६१ हजार सात सय १८, झापामा ४९ हजार दुई सय ३२, मोरङमा २६ हजार नौ सय ५४, उदयपुरमा १६ हजार आठ सय ९९ परिवार प्रभावित हुन सक्ने जनाइएको छ ।

पहिराबाट तेह्रथुममा चार हजार नौ सय ९५, ताप्लेजुङमा एक हजार इक सय २९, सोलुखुम्बुमा तीन हजार दुई सय ७३, भोजपुरमा सात हजार तीन सय ४५, धनकुटामा तीन हजार चार सय ६३, इलाममा एक हजार ५३, खोटाङमा चार हजार चार सय ६०, सङ्खुवासभामा सात हजार छ सय २७, ओखलढुङ्गामा पाँच हजार दुई सय ७१ परिवार प्रभावित हुनसक्ने कार्य योजनामा उल्लेख गरिएको विपद् व्यवस्थापन समिति सदस्य यशप्रसाद सुब्बाले बताउनुभयो ।

कोशी प्रदेशमा रहेका एक हजार पाँच सय साना ठूला नदी रहेका छन् । वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्न सक्ने हुँदा पहाडी क्षेत्रमा पहिरो, भेल, आकस्मिक बाढी र तराई क्षेत्रमा डुबान, कटान जस्ता विपद् निम्त्याउने गरेकोे उहाँले बताउनुभयो । उहाँले पहाडी क्षेत्रको भौगोलिक बनावट, जोखिम नक्साङ्कन नहुनु, भूउपयोग योजना नबन्नु, कृषि प्रणाली, पूर्वाधार निर्माण र सुरक्षित आवासयोग्य भूमिको छनोट गर्ने परम्परा नबस्नु, विपद् र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पहाडी क्षेत्रमा डोजरलगायतका हेभी उपकरणको मद्दतले जथभावी सडकलगायतका पूर्वाधार निर्माण गरिनुलगायतका कारणले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताउनुभयो ।

विपद व्यवस्थापनका लागि प्रदेशका १४ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

काठमाडौँ – नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ । “मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ”, मौसमविद् मानन्धरले भन्नुभयो । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताउनुभयो ।

महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन । गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै हल्का वर्षा भइरहेको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका एक÷दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करको दरमा हेरफेर

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायरा विस्तार र दरमा हेरफेर गरेको छ ।

करको दायरा विस्तार गर्न साधनस्रोत जनशक्ति व्यवस्थापन एवं कानुनी व्यवस्था भइनसकेका स्थानीय तहमा टाँगा, अटोरिक्सा, विद्युतीय रिक्सामा कर लगाउने र उठाउने व्यवस्था गरेको हो । यसैगरी सवारीसाधन कर, दस्तुर र शुल्कमा केही संशोधन गरिएको जनाइएको छ ।

प्रदेशभित्र विद्युतीय सूचना प्रणालीमा आधारित ‘राइड सेयरिङ एप’मार्फत् सार्वजनिक सवारीसाधन प्रयोग गरी सेवा दिने संस्थाको दर्ता र नवीकरण र दुईपाङ्ग्रे सार्वजनिक सवारीसाधन करसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म नियमानुसार बुझाउनुपर्ने सवारीसाधन कर नबुझाएका र नवीकरण नगरेका सवारीसाधनको हकमा सवारीसाधन कर तथा नवीकरणको जरिवानामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

सामुदायिक तथा साझेदारी वनको आन्तरिक तथा बाह्य बिक्रीवितरणबाट हुने आम्दानीमा लाग्ने बिक्री शुल्कलाई क्रमशः १० प्रतिशत र २५ प्रतिशत कायम गरिएको छ । निजी तथा साझेदारी व्यवसायलाई औपचारिक अर्थतन्त्रको परिधिमा ल्याउन प्रोत्साहन गर्दै दर्ता तथा नवीकरण दस्तुरलाई कम गरिएको छ । नवीकरणको म्याद समाप्त भई पाँच वर्ष अवधि नाघिसकेका व्यवसायी नवीकरण गर्न आएमा जरिवानाको १० प्रतिशत लिने व्यवस्था गरिएको छ । घरजग्गा रजिस्ट्रेसनतर्फको सेवा शुल्कमा संशोधन गरिएको छ ।

प्रदेश सरकारको कूल आयको संरचनामा आन्तरिक राजस्व परिचालनको हिस्सा चार दशमलव २६ प्रतिशत मात्र छ । सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटको अंश ७० दशमलव चार प्रतिशत रहेको अवस्थामा प्रदेशको स्रोत संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन कर तथा गैरकरको दायरा विस्तार गरी दरमा हेरफेर गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना, उद्यमशीलता विकास र गरिबी तथा आर्थिक असमानता न्यूनीकरणमा प्राथमिकता दिएको छ । कृषिक्षेत्रको विविधीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण, पर्यटन क्षेत्रको पहिचान, संरक्षण, प्रचारप्रसार तथा विकास, दिगो र प्रतिफलमुखी एवं उत्थानशील भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८हजार बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर र स्याङ्जा विजयी

कास्की, ३ असारः पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर र स्याङ्जा विजयी भएका छन् । यही जेठ ३२ गतेदेखि जारी प्रतियोगिताको समूह ‘बी’ को खेलमा जित निकालेका हुन् । नवलपुर र पर्वतबीचको भएको खेलमा नवलपुर छ विकेटले विजयी भयो ।

वर्षाका कारण पाँच ओभर घटाइएको खेलमा टस जितेर पारीको सुरुआत गरेको पर्वतले सात विकेटको क्षतिमा ९३ रन बनायो । पर्वतका लागि रितिक थापाले २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए । अमृत गुरुङले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले २३ रन जोडे । साथै दीपेन्द्र भण्डारीले १३, रोशन गौतमले ११ र सन्देश खड्काले १० रन जोडे ।

नवलपुरका लागि बलर ऋषि गोविन्द श्रेष्ठले तीन ओभरमा १९ रन दिएर तीन विकेट लिए । कमल परियारले दुई, सुदीप अर्याल र स्वीकार श्रेष्ठले समान एक÷एक विकेट लिए ।

जितका लागि ९४ रन पछ्याएको नवलपुरले १३ ओभरको चौथो बलमा चार विकेट गुमाउँदै लक्ष्य भेट्याउन सफल भयो । ‘खेलको प्लेयर अफ दि म्याच’ घोषित नवलपुरका प्रमीश अर्यालले ३६ बलमा चार चौका प्रहार गर्दै ३४ रन जोडे ।

रिजन काफ्ले १६ बलमा दुई चौकासहित २७ रनमा ‘नटआउट’ रहे । दीपक डुम्रेले १४ रनको योगदान दिए । पर्वतका रोशन गौतमले दुई विकेट लिए भने विकाश क्षेत्रीले एक विकेट लिए ।

यसैगरी गोरखा र स्याङ्जाबीच भएको खेलमा स्याङजाले जित हासिल गर्न सफल भयो । बलर किरण भट्टराईले पाँच विकेट लिँदा स्याङ्जाले १० विकेटले सम्मानजनक जित दर्ता गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको गोरखा १८ दशमवल एक ओभरमा सबै १० विकेट गुमाउँदै ७४ रनमा समेटियो । 

अतिरिक्त १३ रन पाएको गोरखाका गौरव पौडेलले ३५ रनको योगदानबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन छुन सकेनन् । स्याङ्जाका किरणले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा दुई मेडनका साथ सात रन दिएर पाँच जनालाई आउट गरे । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । त्यस्तै विपीनराज न्यौपानेले तीन विकेट लिए भने अङ्कित न्यौपाने र तुलसी भण्डारीले समान एक÷एक विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको स्याङजाले विस्फोटक व्याटिङ गर्दै आठ ओभरको चौथो बलमा कुनै पनि विकेट नगुमाइ ७५ रनको लक्ष्य भेटायो ।

स्याङ्जाका ओपनर खेलाडीद्वय ईश्वर क्षेत्री र करण पगेनीको जोडीले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्यमात्रै भेटाएनन् टिमका लागि दुई अङ्कसमेत जोडे । ईश्वरले २३ बलमा तीन चौका र तीन छक्काको मद्दतले ३६ रन बनाउँदा करणले २९ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए ।

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल पर्वत र स्याङ्जाका बीच हुनेछ भने दोस्रो खेल गोरखा र नवलपुरबीच हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ छन् भने समूह ‘बी’ मा र स्याङ्जा, नवलपुर, गोरखा र पर्वत छन् । समूह ‘ए’ बाट लिग चरणका तीन वटै खेल जित्दै कास्की समूह विजेता बनेर फाइनलमा पुगिसकेको छ ।

मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

मोरङ, ३ असारः मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको आज निधन भएको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत हुनुहुन्थ्यो ।

उहाँको उपचारकै क्रममा आज निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिनुभयो । स्व गच्छदारको अन्त्येष्टि मङ्गलबार गरिने उहाँले बताउनुभयो ।

तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा

दमौली (तनहुँ), ३ असारः तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

मनसुन अगावै सम्पन्न गर्ने गरी आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माण केही दिनमै सम्पन्न हुने तनहुँ जलविद्युत् आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर बाँध निर्माण थालिएको थियो ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको थियो ।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनसुन सुरु हुनुभन्दा पहिले नै बाँध निर्माण सक्ने गरी काम अगाडि बढाइएकामा लक्ष्य बमोजिम नै जग खन्ने काम सम्पन्न भएको छ ।”

आयोजनाको मुख्य निर्माणलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.लि.) नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज १ को हालसम्मको प्रगति ३३ दशमलव दुई प्रतिशत भएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानीकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ ।

आयोजनाको तेस्रो प्याकेजको रुपमा रहेको प्रसारण लाइन निर्माण हालसम्म ७३ दशमलव दुई प्रतिशत सकिएको छ । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म रहेको छ ।

भारतीय कम्पनी केइसी इन्टरनेसनलले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । दमौली–भरतपुर २२० केभी ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७६ टावरहरुको जग हाल्ने र ६४ वटा टावर जडान कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

बैतडीका सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही

बैतडी, ३ असार : बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालय बैतडीले यो अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगसँगै अगाडि बढाइएको बताउनुभयो । उहाँले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिनुभयो । उनीहरूबाट जनही रु एक सय जरिवानासमेत गरिएको उहाँले बताउनुभयो ।

गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो । शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

“लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौँ”, प्रहरी प्रवक्ता केसीले भन्नुभयो,“सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौँ । यो अभियान प्रभावकारी बन्दैगएको छ ।”

सुरूमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारूपमा गर्ने ध्रम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ ।

पुटिनले उत्तर कोरियाको ‘मैत्रीपूर्ण’ भ्रमण गर्नुहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा उत्तर कोरिया जानु हुने क्रेमलिनले घोषणा गरेको छ । विश्वको सबैभन्दा एकान्त मुलुक उत्तर कोरियाको भ्रमण पुटिनले सन् २०२२ फेब्रुअरीमा सुरु गर्नुभएको आफ्नो सैन्य अभियानलाई जारी राख्नका लागि गोला बारुद मागिरहेको बेला भइरहेको छ । यसले मस्कोले अभूतपूर्वरूपमा एक्लो पारेको छ ।

रुसको सुदूरपूर्वको दुर्लभ विदेश भ्रमणमा उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको यो भ्रमण हुन लागेको छ । उक्त भ्रमणमा दुवै नेताले एक अर्काको प्रशंसा गर्नुभएको थियो ।

“राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १८ देखि १९ सम्म उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नुहुनेछ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । त्यसपछि उहाँले भियतनामको भ्रमण गर्नुहुनेछ । पश्चिमी मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् ।

बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् । युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले विदेश भ्रमण कम गर्नुभएको छ तर चीन जस्ता मस्कोका केही प्रमुख सहयोगीहरूको केही उच्च प्रोफाइल भ्रमण गर्नुभएको छ ।

सानो भूमि साझा गर्ने रुस र उत्तर कोरियाबीच ऐतिहासिक सम्बन्ध छ । सन् १९५० को दशकमा कोरियाली युद्धपछि सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सहयोग गरेको थियो । सोभियत सङ्घको पतनपछि रुस प्योङयाङसँग कामकाजी सम्बन्ध राख्ने केही मुलुकमध्येको एक थियो ।

चौबिस वर्षअघि राष्ट्रपति बने लगत्तै किम जोङ उनका पिता किम जोङ इलसँग भेट्न गरेको भ्रमणपछि पुटिनको यो दोस्रो उत्तर कोरिया भ्रमण हुनेछ । त्यसबेला पुटिनले बारम्बार भ्रमण गर्नुहुन्थ्यो । नियमितरूपमा अमेरिका र युरोपको भ्रमण गर्नुहुन्थ्यो ।

अहिले रुसले आफूलाई ठूलो अन्तर्राष्ट्रिय प्रतिबन्धअन्तर्गत पाएको छ र पुटिन अधिकांश पश्चिमी संसारमा अवाञ्छित व्यक्ति बन्नुभएको छ । उहाँ आधिकारिकरूपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को खोजीमा हुनुहुन्छ ।

किमले गत साता रुससँगको सम्बन्ध ‘कमरेड–इन–आर्म्सको अटुट सम्बन्धमा विकसित भएको’ बताउनुभएको थियो ।

मार्चमा रुसले उत्तर कोरियाली प्रतिबन्धको उल्लङ्घनको राष्ट्रसङ्घीय निगरानीलाई प्रभावकारीरूपमा अन्त्य गर्न आफ्नो राष्ट्रसङ्घीय सुरक्षा परिषद्को भिटो प्रयोग गरेको थियो । उक्त कदमलाई प्योङयाङको जितको रूपमा हेरिएको थियो ।

जिम्बावे प्रहरीद्वारा विपक्षी नेतासहित दर्जनौँ पक्राउ

जिम्बाब्वे प्रहरीले विपक्षी नेता जेम्सन टिम्बा र ७० जनाभन्दा बढी व्यक्तिलाई सप्ताहन्तमा आयोजित एक निजी बैठकमा अव्यवस्थित आचरणको आरोपमा पक्राउ गरिएको उहाँका वकिलले बताउनुभएको छ ।

नेल्सन चमिसाले गत जनवरीमा राजिनामा दिएपछि विपक्षी नागरिक गठबन्धन (सीसीसी) को अन्तरिम नेतृत्व सम्हालेका टिम्बालाई उहाँको छोरासँगै पक्राउ गरिएको थियो ।

“उहाँहरूलाई अव्यवस्थित आचरण र गैरकानूनी भेलामा भाग लिएको अभियोग लगाइएको छ, उहाँहरू भोलि अदालतमा उपस्थित हुनुहुनेछ,” टिम्बाका वकिल एजेन्सी गुम्बोले एएफपीलाई भन्नुभयो, “प्रहरीले उहाँहरूमाथि ढुङ्गामुढा गरेको आरोप लगाएको छ”, उहाँले बताउनुभयो ।

गुम्बोका अनुसार उक्त समूहलाई राजधानी हरारेका दुई फरक प्रहरी चौकीमा राखिएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा पक्राउ परेका केही व्यक्तिलाई चिकित्सा उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो । गत वर्ष अगस्ट २३ मा भएको विवादित चुनावपछि जिम्बावेका विपक्षीहरूले गिरफ्तारीको लहरको सामना गर्नुपरेको थियो ।

आधिकारिक नतिजाअनुसार ८१ वर्षीय राष्ट्रपति इमर्सन मनङ्गाग्वाले दोस्रो कार्यकालका लागि ५२ दशमलव छ प्रतिशत मत ल्याएर जित्नुभयो ।उक्त नतिजालाई सीसीसीले त्रुटिपूर्ण भन्दै निन्दा गरेको छ र नयाँ मतदानको माग गरेको छ । निर्वाचनलाई लिएर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि मतपत्रमा धेरै अनियमितता भएको भन्दै आलोचना गरेका छन् ।

“हामी हाम्रा च्याम्पियनहरूलाई तुरुन्त रिहा गर्न माग गर्दछौँ । उहाँहरूले कुनै कानूनको उल्लङ्घन गर्नुभएको छैन । उहाँहरूको गिरफ्तारी मानवअधिकारको मुद्दा हो”, गुम्बोले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ ।

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौँ, ३ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पु¥याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताउनुभयो । आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताउँदै उहाँले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने बताउनुभयो । नेपालमा जलवायु परिवर्तनको असरबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकका विषयमा पनि सो अवसरमा छलफल भएको छ ।

बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका दुई सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बैठकको उद्घाटन समारोहलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकले आगामी तीन वर्षसम्म नेपाललाई प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण एवं अन्य सहयोगका प्राथमिकताबारे छलफल हुनेछ ।कलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँको थिए – केकी अधिकारी

विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै

गलकोट (बागलुङ) ३ असार : विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाभित्रका तीन सडक कालोपत्र गर्न थालिएका छन् । कालोपत्रका लागि निर्माण व्यवसायीसँग जेठ २३ गते एक वर्षका लागि ठेक्का सम्झौता भइ शिलान्यास भइसकेको छ भने अहिले मूलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न पाउने गरी सम्झौता भएको थियो । हाल रु ४३ करोड २१ लाख लागतमा आशिष÷फेवा जेवीले सडक निर्माणको काम गरिरहेको छ । आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाल बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्म साढे ८.६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमि सडक कालोपत्र गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

“एक वर्षभित्रै काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाउनुभएको छ, नगरभित्रका सबैभन्दा ठूलो लगानीमा बन्न थालेको तीन सडकले बानपालाई समृद्धिको यात्रामा थप अगाडि बढाउनेछ”, श्रेष्ठले भन्नुभयो, “यस्तो अनुदान देशभरका १७ नगरपालिकाले मात्रै पाएका छन् । हामीले देशभरमै पहिला काम सुरू गरेका छौँ ।”

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत उक्त सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार सडक पाँच दशमलव पाँच मिटरदेखि नौ मिटरसम्म चौडा हुनेछन् । निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढलान गर्ने, नाली निर्माण गर्ने, पर्खाला लगाउने, फटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको सौन्दर्यकरण गर्नेछ ।

वर्षा लागेसँगै लमजुङका घरबासमा पर्यटक घटे, आम्दानी पनि घट्यो

लमजुङ, ३ असारः यहाँका अधिकांश घरबासमा (होमस्टे) पर्यटक घट्न थालेसँगै यसको असर आम्दानीमा परेको छ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घलेगाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन सङ्ख्या घट्दा आम्दानी पनि घट्न थालेको हो ।

घरबाससम्म पुग्ने बाटो बिग्रिएको, दृश्यावलोकन स्पष्टता नहुने, यात्रा कठिन र जोखिमपूर्ण हुन थालेपछि पर्यटक आगमनमा कमी आएको हो । सञ्चालकहरु बर्खाको करिब तीन महिना घरबास पर्यटकविहीन जस्तै हुने बताउनुहुन्छ ।

दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरे पनि बर्खा लाग्न थालेसँगै पर्यटक आगमन पातलो हुँदै गएको छ । घलेगाउँ घरबास व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले बर्खासँगै पर्यटक पातलिएको हो ।

केही समय अघिसम्म सामान्यतयाः दैनिक एक सयभन्दा बढी तथा शुक्रबार र शनिबार बिदाामा दुई सय ५० जनासम्म पर्यटक आगमन भए पनि केही दिनयता दैनिक औसतमा पाँच÷सात जना मात्र पर्यटक आगमन भइरहेको उहाँको भनाइ छ । “बर्खा लागेपछि पर्यटक घटेका छन्, असोज महिना लागेपछि मात्रै अब पर्यटक बढ्छन्”, उहाँले भन्नुभयो । पर्यटकीय मौसममा यहाँका घरबास सञ्चालकले मासिक रु ३० हजारदेखि ६० हजारसम्म कमाउने गरेकोे कार्यालय सचिव तथा घरबास सञ्चालक गुरुङले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको बेँसीसहर नगरपालिका–३ काउलेपानी घरबासमासमेत पर्यटक आगमन घटेको छ । एक हप्ताअघिसम्म ५०÷६० जनादेखि एक सयभन्दा बढी पर्यटक आगमन भइरहे पनि यतिबेला मुस्किलले १०÷१२ जना पर्यटक आगमन हुन थालेको ग्रामीण काउँलेपानी घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनुभयो । कुनै दिनमा पर्यटक नै शून्य हुन थालेको उहाँले बताउनुभयो ।

पर्यटक नआएपछि यहाँका घरबास सञ्चालक धान रोप्ने, कोदोको बीउ राख्ने, च्याउलगायत काममा व्यस्त हुनाले पर्यटक आउँदा गाउँमा सञ्चालित १५ घरले प्रतिघरबास रु ४०÷५० हजार मासिक आम्दानी भइरहे पनि यतिबेला मुस्किलले रु आठ÷१० हजार मात्र मासिक आम्दानी हुने गरेको उहाँले लबताउनुभयो ।

समुन्द्री सतहदेखि एक हजार आठ सय ५४ मिटरको उचाइमा रहेको मस्र्याङ्दी गाउँपलिका–३ सिउरुङ घरबासमा पर्यटक शून्य नै भइरहेको छ । मुलुकमा कोरोनापश्चात् लयमा फर्किन नसकेको यस घरबासमा फागुन महिनासम्म केही पर्यटक आए पनि चैतयता एक जना पनि पर्यटक आगमन हुन नसकेको सिउरुङ घरबास सञ्चालक समितिका सदस्य तथा मस्र्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य परकाशी गुरुङले बताउनुभयो ।

लमजुङमा विसं २०५७ देखि घलेगाउँ घरवास कार्यक्रम (होमस्टे) सुरु गरिएको थियो । यो जिल्लाकै पहिलो घरबास कार्यक्रम हो । समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छठाले भरिपूर्ण आदिवासी जनजातिमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घलेगाउँ । यहाँ ३२ दलित र ९३ गुरुङ परिवार गरी एक सय २५ घरधुरीका स्थानीय बसोबास गर्दछन् । यहाँ ४४ घरबास सञ्चालित छन् ।

विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँ घोषणा गरेको थियो । यहाँबाट मनास्लु हिमाल, ङादीचुली (डा हर्क हिमाल), अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौँथो), माछापुछ्रे हिमाल, हिमालचुली, लमजुङ हिमाल र बुद्ध हिमाल देख्न सकिन्छ ।

यहाँ घले राजामध्येका अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिक राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाएका अग्र्यानिक परिकारहरु मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् ।

काउलेपानी घरबास सन् २०११ देखि सञ्चालन गरिएको थियो । त्यहाँबाट लमजुङ दरबार, विभिन्न हिमाललगायत रमणीयस्थल देख्न सकिन्छ । २६ घरधुरी रहेकामध्ये १५ घरमा घरबास सञ्चालन गरिएका छन् । यहाँ नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोबास रहेको छ ।

जिम्बावेमा बसमा आगलागी हुँदा सातको मृत्यु

चर्च उत्सवका यात्रुहरू बोकेको बसमा आगलागी हुँदा म्यानिकलल्याण्ड प्रान्तको रुसापे शहरमा आइतबार राति कम्तिमा सात जनाको मृत्यु भएको राज्य प्रसारक जिम्बाब्वे ब्रोडकास्टिङ कर्पोरेशनले सोमबार जनाएको छ ।

तीमध्ये तीनको अवस्था गम्भीर रहेको र अस्पतालमा भर्ना गरिएको एङ्ग्लिकन चर्चका नेशनल श्राइन्सका अध्यक्ष एडविन सेलेमानीलाई उद्धृत गर्दै प्रसारणकर्ताले बताएका छन् ।

जिम्बाब्वेका प्रहरी प्रवक्ता पाउल न्याथीले सोमबार बिहान सिन्ह्वासँग भन्नुभयो, “म घटनास्थलतर्फ जाँदैछु र थप विवरण पछि दिनेछु ।”

‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

चौतारा (सिन्धुपाल्चोक), ३ असार: सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन् ।

आजभन्दा तीन वर्षअघि हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । पाँचपोखरी थाङपाल गाउँपालिकाका केही भाग पनि नदीमा विलय भयो । बाढीले पाँच सय बढी घरटहरासहित नदी करिडोरमा रहेका केही व्यक्ति बगायो ।्

हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले त्यति मात्रै गरेन अरबौँ लगानी गरेर बनाइएका फर्म, रिसोर्टहरुलाई पनि खोलाले निल्यो । स्थानीय तहले निर्माण गरेका र गर्दै गरेका संरचना ध्वस्त बनायो । योसँगै मेलम्ची र हेलम्बुको विकासलाई बाढीले निकै वर्ष पछाडि धकेल्यो । बाढीले क्षति गरेका तीन स्थानीय तहका नदी आसपास बस्नेहरु अहिले पनि राम्ररी निदाउन सक्दैनन् । खोला बढ्नासाथ त्रास फैलन्छ । डरले मुटु काँप्छ अनि त्यस्तै बाढी आउन सक्ने आकलनमा भागदौड मच्चिन्छ ।

तीन वर्षअघि बढेको हेलम्बुको ठूलो चौर कुनै पनि बेला फेरि खस्न सक्ने सम्भावना रहेको विज्ञहरुले बताएकाले मेलम्ची करिडोरवासी पानी पर्नासाथ त्रासमा रहने गरेका हेलम्बु–४ का खिलप्रसाद लामिछाने बताउनुहुन्छ । “बर्खा लागेसँगै सम्भावित बाढीले पिरोल्छ, कसरी ज्यान जोगाउने भन्नेमै रात बित्छ”, उहाँ भन्नुहुन्छ, “पानी पर्न थालेपछि पहिलाको विकराल बाढीको याद आउँछ अनि मुटु काँप्न थाल्छ, डर र त्रासका बीच रात बिताउँदैछौँ ।”

बाढीले बगाएका सडक अझै बनिसकेका छैनन् । घर बगाएकाहरु अझै टहरामै खुम्चिन बाध्य छन् । सडक सञ्जाल विस्तार हुन नसक्दा बिरामी तथा वृद्धवृद्धाहरु सकसपूर्ण दैनिकी जिउन बाध्य भएका लामिछाने बताउनुहुन्छ । “सरकारले वास्ता गरेको छैन, हामीले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएका छौँ”, उहाँ भन्नुहुन्छ, “जनताहरु पीडामाथि पीडामा छन्, सरकारले हामीले राखेका मागहरु केही पूरा गरेको छैन ।”

यस वर्ष पनि जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेको छ । विभागको यो पूर्वानुमानले पनि स्थानीयवासीमा थप त्रास फैलिएको छ । पहिलेका बाढीपीडित अझै पक्की घरमा बस्न पाएका छैनन् । उनीहरु अझै असुरक्षित छन् ।

मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व मेटाउनाका साथै तटीय क्षेत्रलाई हेर्दाहेर्दै एकै रातमा बगर बनाएको लामिछाने अनुभव सुनाउनुहुन्छ । “बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएपछि किसानले उब्जनी गर्न पाएनन् । हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय बन्द भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै रोकिदियो”, उहाँ भन्नुहुन्छ ।

आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्टसहितको ट्राउट फर्म सञ्चालन गरेर बस्नुभएका उत्तममणि भण्डारीसहितको नदी करिडोरमा रहेको आठवटा फार्म नदीमा विलय भएको भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार नदी करिडोरमा रहेका ट्राउट फार्ममा मात्रै रु एक खर्बभन्दा बढीको क्षति भएको छ ।

मेलम्चीको मुहानस्थल हुँदै एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेश बगर गाउँको सबै संरचना बगायो । झन्डै १८ हजार जनसङ्ख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।

मेलम्ची बजारको नदी किनारमा नगरपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि ग्रिन सिटी पार्क निर्माण गर्दै थियो । करिब रु ३८ करोड लगानीमा निर्माण थालिएको उक्त पार्क पनि बाढीले बगाएको तत्कालीन नगरप्रमुख डम्बरबहादुर अर्याल बताउनुहुन्छ । तीन खण्डमा कार्य सम्पन्न गर्ने गरी सुरु गरिएको उक्त पार्कको निर्माण एक खण्ड सकिएको उहाँ जानकारी दिनुहुन्छ । सो पार्क पर्यटन प्रवर्द्धनसँगै वातावरणीय संरक्षण अभियानका लागि निर्माण थालिएको अर्याल बताउनुहुन्छ ।

“बाढीले मेलम्ची बजार सिङ्गै डुबायो । बजारमा निर्माण गरिएका सामुदायिक रेडियो, रेडियो मेललम्चीको चारतल्ले पक्की घर पनि बगायो । चन्दा सङ्कलनबाट निर्माण गरिएको भवनमा रेडियोका उपकरणहरुसमेत बगायो”, रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदी भन्नुहुन्छ । बजारमा रु छ करोड लगानीमा स्थानीय सागर श्रेष्ठले जिल्लामै पहिलोपटक लिफ्टसहितको होटल सञ्चालनमा ल्याउनुभएको थियो । छतल्ले सो भवन पनि बाढीले डुबाएपछि उहाँ अहिले ऋणको मारमा हुनुहुन्छ ।

मेलम्ची बाढी आएको तीन वर्ष पूरा भए पनि पीडितहरु अझै टहरामै आश्रित छन् । पीडित सन्तोषी श्रेष्ठ यो वर्ष पनि आनन्दसँग रात काट्न नपाउने भन्दै दुखेसो गर्नुहुन्छ । बाढीपछिका बर्खामा टहराको बसाइ निकै सकसपूर्ण भएको उहाँको भनाइ छ ।

बाढीका कारण हेलम्बु गाउँपालिकामा तीन सय ९२ परिवार लाभग्राही पहिचान गरिएको थियो । सोमध्ये हालसम्म एक सय परिवारले मात्रै राहतको पहिलो किस्ता पाएका छन्, जसमा ९५ परिवारले जग्गा खरिद गरेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुहुन्छ ।

मेलम्ची नगरपालिकामा दुई सय ४४ परिवार लाभग्राहीको सूचीमा थिए । सोमध्ये दुई सय ३२ परिवारले पहिलो किस्ता पाएका छन्भने अन्तिम किस्ता पाउने परिवारको सङ्ख्या आठ रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

बाढी प्रभवित पाँचपोखरीमा एक सय ८४ परिवार लाभग्राही रहेकामध्ये ९२ परिवारले जग्गा प्राप्त गरेका छन् । सरकारले जग्गा नभएका बाढीपीडितलाई जग्गाका लागि बढीमा रु तीन लाख, घर निर्माण गर्न रु पाँच लाख र अस्थायी आवास निर्माणका लागि रु ५० हजार दिने घोषणा गरेको थियो । वर्षासँगै उर्लिएर डरलाग्दो गरी बग्ने मेलम्ची खोलाको बाढीले क्षतिग्रस्त घर र खेतबारी कटान गरेपछि थप बिचल्ली भएको स्थानीय बताउँछन् । पीडितका लागि स्थायी आवास निर्माण गर्न स्थानीय सरकारले मात्रै सम्भव नहुने हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा बताउनुहुन्छ । सबै तहका सरकार र सरोकार भएका निकायले सहयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

कास्की–तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने

गण्डकी, ३ असार : गण्डकी प्रदेश सरकारले कास्की–तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा औद्यागिक पूर्वाधारका रूपमा प्रादेशिक औद्यागिक क्षेत्र र औद्योगिक ग्रामको न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । गण्डकी प्रदेशमा घोषणा भएका २९ वटा औद्योगिक ग्राममध्ये आगामी आर्थिक वर्षमा तीनवटा औद्योगिक ग्राम सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाएको आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले बताउनुुभयो ।

महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सबलीकरण, सम्भावना बोकेका उद्यमहरूको स्तरोन्नतिका लागि स्थानीय तह तथा साझेदार संस्थासँगको लागत तथा प्राविधिक साझेदारीमा प्रदेशभित्रका पाँच स्थानीय तहमा वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई परीक्षण परियोजनाका रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुुभयो ।

‘उत्पादन, उद्यमशीलता र उद्यमः गण्डकी समुन्नतिको माध्यम’ अभियानलाई प्रवर्द्धन गर्न उद्योग, कृषि, रोजगार वृद्धिसम्बन्धी कार्यक्रम एकीकृत रूपमा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

रोजगारी सिर्जना हुने योजनाका लागि सहुलियतपूर्ण कर्जा दिन विश्व बैंकलाई नेपालको आग्रह

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् ।

काठमाडौँमा मङ्गलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा–२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए ।

आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् । भेटमा मन्त्री पुनले नेपालमा आइडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताए । उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

बैठक भव्यरुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उनको थियो । विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गरे ।

उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे । सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे । उनले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे ।

फरक प्रसङ्गमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे । विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए । नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो ।

पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल

काठमाडौँ, ३ असार : नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महाधिवेशनबाट पारित गरिने दस्तावेजले नेपाली विशेषताको समाजवादलाई कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताको सामूहिक छलफलबाट दस्तावेज निर्माण गरिएकाले पार्टीभित्र वैचारिक मतभेद नरहेको प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि समाजवादी मोर्चा हुँदै वैचारिक दृष्टिकोण र विचार मिल्ने समूह तथा राजनीतिक शक्तिलाई एकताबद्ध गर्नुपर्ने भन्दै त्यसले समाजवादको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने धारणा राख्नुभयो । उहाँले आफ्नो पार्टीले समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला सारेको बताउनुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले सहमतिका साथ नेतृत्व निर्माणका लागि पार्टीको दस्तावेज तयार गरिएको र अझै परिस्कृत गरेर पारित गरिने बताउनुभयो । पूर्वप्रधानमन्त्री रहनुभएका नेता खनालले एउटा वैचारिक राजनीतिक कार्यदिशाका साथै नीति, सिद्धान्त र लक्ष्यका आधारमा एकता र सहमति खोज्नुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीका उपाध्यक्ष एवं अनेमसङ्घका अध्यक्ष जयन्ती राईले महाधिवेशनमा महिला समानुपातिक प्रतिनिधित्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा अनेमसङ्घका विभिन्न प्रकाशन विमोचन गरिएका थिए ।

जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूटले भरिएको’ चीनको दाबी

आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताउनुभएको छ ।

नियमित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।”

गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो ।

शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पु¥याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ ।”

गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ ।

इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई भङ्ग गर्नुभएको अधिकारीहरूले सोमबार बताएका छन् ।

युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले प्रधानमन्त्रीको युद्ध व्यवस्थापन गर्ने तरिकालाई लिएर निराशा व्यक्त गर्दै सरकारको आलोचना गरेको केही दिनपछि यस्तो कदम चालिएको हो ।

यसै महिनाको प्रारम्भमा मध्यमार्गी पूर्व सैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएपछि यस्तो कदमको व्यापक अपेक्षा गरिएको थियो ।

सरकारबाट गेन्ट्जको अनुपस्थितिले नेतान्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि अधिक निर्भर बनाएको छ र युद्ध मन्त्रिपरिषद्को विघटनले गाजामा आठ महिना लामो युद्धका रूपमा भएको परिवर्तनलाई जोड दिएको छ ।

नेतान्याहुले युद्धसँग सम्बन्धित संवेदनशील मुद्दाका लागि आफ्ना केही सरकारी सदस्यसँग सानो फोरम राख्नुहुने आफ्नो नाम उल्लेख नर्गे सर्तमा एक अधिकारीले बताए ।

यसमा युद्धविराम सम्झौताको विरोध गर्ने र गाजामाथि पुनः कब्जा गर्नका लागि समर्थन गर्ने अतिदक्षिणपन्थी शासक साझेदार रहेको सुरक्षा मन्त्रिपरिषद् पनि समावेश छ ।

गेन्ट्ज विपक्षी दलको नेता तथा नेतान्याहुका प्रतिद्वन्द्वी रहेको बेला युद्ध मन्त्रिपरिषद्को गठन युद्धको सुरुआती दिनमा गरिएको थियो । अक्टोबर ७ मा दक्षिणी इजराइलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल हुनुभएको थियो ।

उहाँले नेतान्याहुको सरकारका अतिदक्षिणपन्थी सदस्यहरूलाई किनारा लगाउन सानो निर्णय गर्ने निकायले युद्धको नेतृत्व गर्नुपर्छ भन्ने माग गर्नुभएको थियो ।

युद्ध मन्त्रिपरिषद्मा तीन सदस्य गेन्ट्ज, नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट हुनुुहुन्थ्यो । उहाँहरूले मिलेर युद्धका क्रममा महत्त्वपूर्ण निर्णय गर्नुभएको थियो ।

इजराइलले थप महत्त्वपूर्ण निर्णयको सामना गर्नुपरिरहेको बेला युद्ध मन्त्रिपरिषद् समाप्त गर्ने कदम चालिएको छ ।

हमासको आक्रमणका क्रममा बन्धक बनाइएका मानिसहरूको रिहाइको बदलामा इजराइल र हमासले युद्धविरामको पछिल्लो प्रस्तावमाथि विचार गरिरहेका छन् ।

इजराइली सेना अहिले पनि गाजा पट्टीमा फसेका छन् । उनीहरू दक्षिणी सहर रफाह र अन्य स्थानमा हमासको पुनरुत्थानविरुद्ध लडिरहेका छन् । साथै इजराइल र लेबनानी हिजबुल्लाह लडाकू समूहबीच हिंसा जारी छ ।

सम्पूर्ण युद्धमा नेतान्याहुले इजराइलको शीर्ष सहयोगी अमेरिका, युद्धको बढ्दो विश्वव्यापी विरोध तथा आफ्ना सरकारी सहयोगीहरू वित्तमन्त्री बेजेलेज स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरको दबाबबीच सन्तुलन बनाउने भूमिका निर्वाह गर्नुभएको छ ।

दुवै मन्त्रीले इजराइलले युद्धविराम सम्झौतामा अघि बढेमा सरकार ढाल्ने धम्की दिनुभएको छ । विचाराधीन पछिल्लो प्रस्ताव युद्ध अन्त्य गर्न सहयोग गर्नका लागि बाइडेन प्रशासनको सबैभन्दा केन्द्रित प्रयासको हिस्सा हो ।

योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन

गलेश्वर (म्याग्दी), ३ असारः जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।

सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्र भए पनि बिरुवा–क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्र गर्ने सुरसार छैन । निर्माण कम्पनी बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

विसं २०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति तथा कालोपत्रको काम तीन खण्डमा विभाजन गरेर अलग–अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए । त्यसमध्ये दुई वटा खण्ड कालोपत्र भइसकेका छन् । यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । निर्माण कम्पनीको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासी सास्ती पाउने गरेका छन् ।

मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म सात किमी सडक कालोपत्र गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत वैशाख पहिलो सातादेखि निर्माण व्यवसायी आयोजनास्थलमा नदेखिएका स्थानीयले बताएका छन् ।

निर्माण कम्पनी सम्पर्कविहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माण अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समस्या देखिन थालेको मालिका गाउँपालिका–६ तोलाबाङकी पूर्णकली विकले गुनासो गर्नुभयो । सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले बताउनुभयो ।

निर्माण व्यवसायीले चार किमीमा सब बेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने गर्दछन् । सो खण्डको कालोपत्र योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कायालयले जनाएको छ ।