कर्तव्य ज्यान मुद्दामा सोह्र वर्ष कैद सजाय पाएर फरार रहेका वाइबा २० वर्षपछि पक्राउ


कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैदा सजाय पाएर विगत २० वर्षदेखि फरार एक जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्दरसरोबर गाउँपालिका–१ नयाँगाउँ निवासी ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबा रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका सावि–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गत २०६१ जेठ ३ गते नगद रु ५० हजार लुटपाट गरी कुटपिट गर्दै भिरबाट लडाएर हत्या गरेको कसुरमा मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते वाइबालाई १६ वर्ष कैद र रु. तीन लाख जरिवानाको फैसला गरेको थियो ।
अदालतको आदेश लगत्तैबाट फरार वाइबालाई गोप्य सूचनाका आधारमा नयाँगाउँस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका वाइबालाई भोलि आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइने उहाँले बताउनुभयो ।