`

धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधामवर्णन संवाददाता

भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपु्रको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा भरतपुरकोे पर्यटन उकास्न यस क्षेत्रको प्रवद्र्धनले थप टेवा पु-याएको छ ।

नेपाल एकीकरणका क्रममा चितवनवाट पश्चिमतर्फ एकीकरण अभियान सुरु गर्दा तत्कालीन नायब राजकुमार बहादुर शाह तथा गोरखाली सेनाले यहाँ पूजाअर्चना गर्दै अगाडि बढेको इतिहास रहेको गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुके बताउनुहुन्छ ।

चुकेका अनुसार तत्कालीन पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनले विसं १५४१ तिर देवघाट धाममा तपस्या गरी बस्न आएको र देवघाटमै आफ्नो जीवनका १२ वर्ष व्यतीत गरेका थिए । त्यस क्रममा देवघाटमा केही देवस्थल थप्नुका साथै भरतपुरको बागीश्वरी, गणेशस्थान, कैलाशनाथ महादेव, जखडीमाई देवीस्थान आदिमा पूजाअर्चना गरी गणेशस्थानमा ऐतिहासिक इनार निर्माण गरेको र गैँडाकोटमा मौलाकालिका माताको मूर्ति स्थापना गरेको किंवदन्ती छ । यहाँ रहेको सिद्धिविनायकको शिला पौराणिक रहेको र राजामणि मुकुन्द सेनले पूजा आराधना गरेको गणेश पुराण तथा पद्म पुराणमा उल्लेख छ ।

चुकेले भन्नुभयो, “पहिले चितवनमा अहिले जस्तो बस्ती विकास भएको थिएन पछि बाहिरबाट आएका व्यक्तिहरुलाई यसबारे थाहा हुने कुरा भएन यसको संरक्षणमा चुनौती भएको हुनाले हाल समितिमार्फत संरक्षणमा हामी जुटेका हौँ ।” उहाँले यहाँ भाकल गरेको पुग्ने, विवाह, व्रतबन्ध, सवारीसाधनको पूजा गर्दा शुभ हुने अटल विश्वास रहेकाले अन्य जिल्लाबाट पनि भक्तजनको बाक्लो उपस्थिति हुने गरेकोउहाँले भन्नुभयो, “विगतमा यहाँ लगनका बेला ५०–६० वटासम्म विवाह, व्रतबन्ध हुन्थ्यो तर आजकाल पार्टीप्यालेसमा विवाह व्रतबन्ध गर्ने प्रचलनले यहाँ कम हुने गरेको छ ।”

समितिका कोषाध्यक्ष रेशमलाल सापकोटाले विगतमा देवघाट क्षेत्र विकास समिति र गणेशस्थान टोलविकास संस्थाले यस क्षेत्रको संरक्षण र विकास गर्दै आएको जानकारी दिनुभयो । विसं २०६६ मा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका नामबाट विधिवत् दर्ता गरी विसं २०६७ मा जिल्ला वनकार्यालय चितवनबाट दुई दशमलव ४३ हेक्टर जमिन धार्मिक वनका नाममा दर्ता भएको र विसं २०७५ देखि गणेशधाम संरक्षण सम्वद्र्धन समितिले सरकार तथा दाताहरुको सहयोगमा यस क्षेत्रको निरन्तर विकास र प्रवद्र्धन गरिरहेको उहाँले बताउनुभयो ।

ऐतिहासिक गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न नवजागृति सामुदायिक वन उपभोक्ता समूह र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसगँकोे समन्वय र समितिका संरक्षक तथा वाग्मती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीको पहलमा २९ दशमलव ४७ हेक्टर जमिनमा रु ८० करोडको बृहत् गुरुयोजना तयार गरिएको छ ।

गणेशधाममा कमलेश्वर महादेव, पशुपतिनाथ, चण्डेश्वरी, सरस्वती, मनकामना, सन्तोषीमाता, विश्वकर्मालगायतका मन्दिर छन् । धामको तलतिर पुण्यवती जलाशय क्षेत्र रहेको छ । २२ बिघा क्षेत्रफलमा रहेको जलाशयको बाँधका लागि वाग्मती प्रदेश सरकारबाट रु चार करोड १६ लाखको लागतमा चार मिटर अग्लो र ३० मिटर लामो बाँध र ४० मिटर पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । जलाशयको शिरमा कैलाश पर्वत निर्माणधीन अवस्थामा छ । जलाशयबीचमा पर्ने सौन्दर्यकरणका लागि भरतपुर महानगरपालिकाबाट पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष चुकेले गणेशधामलाई गणेश अनुसन्धान केन्द्र तथा गणेश सङ्ग्रहालयका रुपमा विकास गर्ने बताउनुभयो ।

भारतद्वारा सुनसरीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौँ, : ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

कूल रु दुई करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएका हो । त्यस्तै ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको कूल रु तीन करोड पाँच लाख आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको भवन पनि आज उद्घाटन गरिएको छ ।

सो भवनको जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र भारतीय राजदूतावासका प्रथम सचिव शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक सुविधासँगै भवन निर्माण गरिएको हो ।

त्यसैगरी भारत सरकारको अनुदान सहयोग भगवती माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका प्रमुख, इनरुवा नगरपालिकाका प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको दूतावासले जनाएको छ ।

उक्त भवन विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना हुने अपेक्षा राखिएको छ । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन् ।

हर्न अफ अफ्रिकामा जल असुरक्षा र जलवायु सङ्कट समाधान गर्न आह्वान

विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र क्षेत्रीय सङ्गठनहरूले जलवायु सङ्कटले हर्न अफ अफ्रिकामा पानीको तनाव बढाउँदै गएकाले पानी व्यवस्थापनमा थप लगानी गर्न आह्वान गरेको छ ।राष्ट्रसङ्घीय आठ एजेन्सीहरू, विश्व बैंक, विकास र मानवीय साझेदारहरूमा अन्तरसरकारी प्राधिकरण, नागरिक समाज सङ्गठनहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले पानीमा क्षेत्रीय सहयोग सुदृढ गर्न रणनीतिक साझेदारहरूको संवादका लागि मङ्गलबार केन्याको राजधानी नैरोबीमा भेटेका थिए ।

सङ्गठनहरूका अनुसार बारम्बार खडेरी र बाढीले नराम्ररी प्रभावित क्षेत्रमा हर्न अफ अफ्रिकाका पाँचमध्ये एकजनालाई सफा र सुरक्षित पानीको पहुँच छैन ।साझेदारहरूले नैरोबीमा जारी विज्ञप्तिमा भनेका छन्, “विकास र जलवायु वित्तपोषणका साथै सहयोगी र नवीन पहलमार्फत लगानी यस क्षेत्रका मानिसहरूलाई आज र भविष्यमा फस्टाउन सक्षम बनाउन आवश्यक छ ।”

यस क्षेत्रका करिब ३० प्रतिशत जनसङ्ख्याको बसोबास सुक्खा र अर्ध–सुक्खा क्षेत्रमा छ । उनीहरूलाई जल असुरक्षाको जोखिममा पर्दा यस क्षेत्रका धेरैजसो क्षेत्रमा वर्षको कम्तिमा तीन महिना पानीको अभाव हुने गर्छ ।सङ्गठनहरूले ठोस कार्यबिना, जल असुरक्षा र जलवायु परिवर्तनसम्बन्धी झट्काले हर्न अफ अफ्रिकामा राष्ट्रिय विकास एजेन्डाहरूलाई कमजोर पार्न सक्ने चेतावनी दिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना र अनुगमन हुँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अनुगमन गरिएको छ ।
नेपाली पन्छी संरक्षण सङ्घको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक साता अघिदेखि खरमजुरको गणना र अनुगमन गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले खरमजुर गणना तथा अनुगमन हरेक वर्ष हुँदै आएको बताए ।

उनले खरमजुर गणनाका लागि पन्छी संरक्षण सङ्घ र निकुञ्ज प्रशासनबाट २० जनाको सङ्ख्यामा प्राविधिकसहितको टोली खटिएको जानकारी दिए । विश्वमै अतिसङ्कटापन्न अवस्थामा रहेको खरमजुर अनुगमन स्थलगत रूपमा सकिएको उनको भनाइ छ ।

“फिल्डमा अनुगमनको काम सकेर अहिले प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरिरहेको छ”, उनले भने, “यहाँ खरमजुर शुक्लाफाँटाको घाँसेमैदानलगायत विभिन्न क्षेत्रमा देख्न पाइन्छ ।” यहाँ खरमजुरको अनुगमन आवश्यकताअनुसार हात्तीलगायत विभिन्न विधिबाट अनुगमन हुने गरेको छ । निकुञ्जको घाँसेमैदान, अर्जुनी क्षेत्र, हरैया, लालपानीलगायतका क्षेत्रमा अनुगमन गरिएको हो । यसअघि गरिएको अनुगमनमा शुक्लाफाँटामा सात वटा खरमजुर भेटिएका थिए । शुक्लाफाँटा चार सय ५० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान पनि हो ।

पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँच जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको बर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घर झगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उहाँकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए । घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार चाबहिलस्थित आफ्नो तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहल गएराति श्रीमतीसँगको घर झगडाका क्रममा आगो लगाएको बुझिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सरकारलाई आयोगको सुझाव – वातावरण प्रदूषण गर्नेलाई कारबाहीको दायरामा ल्याउ

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्नलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विश्व वातावरण दिवसका अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति भराउने संवैधानिक व्यवस्थाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिएको छ ।

“स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवं सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक तथा कानुनी हकको कार्यान्वयन गर्न जरुरी छ”, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयात्मक पहल हुन, मानव अधिकारमुखी विकास पद्धतिमा जोड दिन, प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक दोहन र वातावरण प्रदूषण रोक्ने सम्बन्धमा प्रभावकारी र अर्थपूर्ण कार्यक्रम बनाउन जरुरी छ ।”

आयोगले देशव्यापीरुपमा वायु प्रदूषण, ध्वनि प्रदूषण, डढेलो, वनविनाश, बाढीपहिरो, तापक्रम वृद्धि, जलवायु परिवर्तनको प्रभाव, पानीको मुहान सुक्ने, प्राकृतिक प्रकोप, विपत्ति, मानवीय क्षति तथा आन्तरिक विस्थापनलगायतका वातावरणीय समस्या देखिँदै आइरहेको जनाएको छ ।

वातावरणीय समस्याको न्यूनीकरण तथा समाधान गर्ने एवं सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हकको संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व हुने र आफ्ना उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणमा पर्ने असरबारे सजग हुनु निजी क्षेत्रको कर्तव्य भएको आयोगको भनाइ छ ।

पूर्वाधार निर्माण परीक्षण प्रयोगशाला स्थापित गर्न सरकारलाई निर्देशन

काठमाडौँ – राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय गौरवसहितका पूर्वाधार आयोजनाको गुणस्तर परीक्षणका लागि गुणस्तरीय प्रयोगशाल स्थापना गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिको आजको बैठकमा सदस्यहरूले भौतिक पूर्वाधार निर्माणको गुणस्तर कायम गराउने सन्दर्भमा सतर्कता केन्द्र स्वयम् सर्तक हुनुपर्नेमा जोड दिएको थियो । यसैगरी समितिले राष्ट्रिय सतर्कता केन्द्रको कामकर्तव्यसँग सम्बन्धित विधेयक शीघ्र ल्याउन सुझाव दिएको छ ।

भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको जिम्मेवारी पाएको केन्द्रलाई स्वतन्त्र र प्रभावकारी कार्यसम्पादनका लागि समयसापेक्ष ऐन आवश्यक रहेको भन्दै सोसम्बन्धी व्यवस्थाका लागि समितिले सुझाव दिएको हो । यस्तै, नवीनतम् प्रविधिको प्रयोगद्वारा अनुगमन गर्ने र सम्पत्ति विवरण व्यवस्थापनको व्यवस्था मिलाउन केन्द्रलाई निर्देश गरेको छ ।

यसअघि सदस्यहरूले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनको जिम्मेवारी पाएको केन्द्र आफैँ स्वतन्त्र भएर काम गर्नसक्ने वातावरण हुनुपर्छ भन्दै आर्थिक घोटालामा प्रश्न उठेका र दाग लागेका व्यक्तिलाई नै त्यस्ता संस्थामा नियुक्ति दिन नहुने धारणा राखे ।

बैठकमा सदस्य डा अञ्जान शाक्यले सरकारका निकायबीच समन्वय, सहकार्य र सहयोग गर्ने पद्धति विकास हुनुपर्ने तथा कर्मचारीले पनि शासक होइन, सेवकको मानसिकताले काम गर्नुपर्छ भने । केन्द्रका प्रमुख एवं नेपाल सरकारका सचिव रामआधार साहले केन्द्रमा कार्यरत जनशक्ति र दरबन्दी कम रहेको तथा बजेटको अभावमा काम गर्न चुनौती भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुस्करले पछिल्ला समय चर्चामा आएका घटनाका आधारमा भ्रष्टाचारका स्वरूप पनि परिवर्तन देखिएको भन्दै सरकारले सोहीअनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासनलाई उच्च प्राथमिकता दिइरहेको बताउनुभयो । केन्द्रले पूर्वाधार निर्माणको गुणस्तर मापनलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकामा उहाँको जोड दिए ।

विभेदविरुद्धका कानुनी व्यवस्थालाई जनमानसमा पुर्‍याउन जरुरी छः मन्त्री चौधरी

काठमाडौँ, २३ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दलित समुदायमाथि हुने विभेदविरुद्ध भएका कानुनी व्यवस्थालाई जनमानसमा पुर्‍याउन जरुरी रहेका बताउनुभएको छ । दलित महिला सङ्घ (फेडो) ले आज यहाँ आयोजना गरेको ‘अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा उहाँले सीमान्तकृत समुदायको हकहित र सबै प्रकारका सामाजिक विभेद अन्त्यका लागि सकारात्मक हस्तक्षप हुन जरुरी रहेको समेत बताउनुभयो ।

“संविधानमा विभेदविरुद्धका थुप्रै राम्रा कानुन बनेका छन् तर पनि विभेद रोकिएको छैन”, उहाँले भन्नुभयो, “यसको मुख्य कारण चेतनाको अभाव नै हो । त्यसैले नागरिक बडापत्र बनाएर सबै स्थानीय तहमा वितरण, सचेतनाका कार्यक्रम सञ्चालन र विभेदविरुद्धको कानुनी व्यवस्थाबारे प्रचारप्रसार गर्न आवश्यक छ ।” उहाँले सीमान्तकृत, दलित समुदायलाई मन्त्रालयले रु २० करोड बजेट छुट्याएको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमान्तकृत समुदायलाई छुट्याएको रकमले सीपमूलक कार्यक्रममा खर्च गर्ने योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा तिलक विश्वकर्माले तयार पार्नुभएको ‘अन्तरजातीय विवाहमा दलित महिलाहरुमाथि हुने हिंसा’ अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । विश्वकर्माले दलित समुदायका युवतीले गैरदलित समुदायका पुरुषसँग विवाह गरेर धेरै हिंसा भोग्नुपरेको बताउनुभयो । “दलित समुदायका महिलाले अन्तरजातिय विवाह गर्दा शारीरिकदेखि मानसिक यातनाको सिकार हुनुभएको छ, न्याय पाउने अवस्था निराशाजनक छ”, उहाँले भन्नुभयो ।

अधिकारकर्मी एवं फेडोका संस्थापक अध्यक्ष दुर्गा शोवले अन्तरजातीय विवाहका कारण दलित महिला दोहोरो मारमा परेको धारणा राख्नुभयो । “अन्तरजातीय विवाह गरेपछि दलित महिलाले सामाजिक, आर्थिकरुपमा समेत विभेद खेप्नुपरेको छ”, उहाँले भन्नुभयो, “कानुन कार्यान्वयन नहुँदा विभेदले चर्को रुप लिएको छ ।”

कार्यक्रममा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोग सदस्य विद्याकुमारी सिन्हालगायत अधिकारकर्मीले विभेदविरुद्ध विचार राख्नुभएको छ ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, २३ जेठ : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेश प्रमुख परियारले ‘सुशासन र सामाजिक न्याययुक्त समृद्ध कर्णालीः आर्थिक तथा भौतिक विकाससहितको समाजवादोन्मुख प्रणाली’ भन्ने मूल ध्येयका साथ आर्थिक, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न कर्णाली प्रदेशको मार्गचित्रका रुपमा नीति तथा कार्यक्रम परिलक्षित रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रममा ‘स्वस्थ माटो, स्वस्थ जीवन,’ ‘एक पालिका एक कृषक पाठशाला,’ ‘अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि’ घुम्ती प्राविधिक सहयोग कार्यक्रम समेटिएका छन् । यसैगरी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र जलविद्युत् परियोजनालाई प्रदेश सरकारले अगाडि बढाउने नीति लिएको छ । सीप सिकेका युवालाई सामूहिकरुपमा वस्तु विकास गर्न ‘वस्तु विकास प्रशिक्षण केन्द्र’ स्थापना गर्नेसमेत जनाइएको छ ।

सुशासनयुक्त सहकारी क्षेत्रको विकास गर्न प्रदेश मातहतका सहकारी संस्थाको अनुगमन तथा नियमन कार्यलाई प्रभाकारी बनाउने, कर्णालीलाई मासु तथा दूधमा आत्मनिर्भरतातर्फ लैजाने, भू–उपयोग नीति निर्माण गरी जोखिम संवेदनशील भू–उपयोग गुरुयोजना तयार गर्ने, बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजनामार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको छ ।

‘पर्यटन उद्योग र खानीः समृद्धि सम्भव छ, कर्णालीमा गरौँ लगानी’ भन्ने मूल मान्यताका साथ पर्यटन क्षेत्रको विकास, सम्भाव्य खानीको उत्खनन, अन्वेषण, नवप्रवर्तन र स्थानीय कच्चापदार्थमा आधारित उद्योगको स्थापनाका लागि सार्वजनिक र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने नीति लिइएको छ । प्रकृतिमा आधारित पर्यटन, ग्रामीण पर्यटन र होमस्टे प्रवर्द्धन गर्न नागरिकलाई पर्यटनसम्बन्धी रोजगारी, आतिथ्यता र उद्धारलगायतका कार्यक्रम सञ्चालन र यसको प्रवर्द्धनका लागि पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउने नीतिमा उल्लेख छ ।

सङ्घीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार तथा पूर्वाधार विकास, प्रविधिमैत्री सुरक्षा प्रणाली, सुरक्षित कर्णाली प्रदेश अभियान, कर्णालीका समग्र नागरिकको विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिँदै जोखिमयुक्त, सङ्कटग्रस्त, दुर्गम, पिछडिएका क्षेत्र तथा न्यून आय भएका नागरिकका लागि विपद् घर सुरक्षा कार्यक्रमअन्तर्गत बीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘निरोगी कर्णालीमा केन्द्रित स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ कर्णालीवासीको स्वास्थ्य सेवाको पहुँचलाई एकीकृत, सरल, सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउँदै प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टीकृत प्रेषण तथा शिक्षण अस्पतालका रुपमा विकास गर्ने र कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गर्ने पनि सरकारको नीति छ । त्यस्तै, मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम, एकदिन किताबरहित शुक्रबार, जीवनोपयोगी शिक्षा कार्यक्रमलाई परीक्षणका रुपमा सञ्चालन गरिने जनाइएको छ ।

त्यसैगरी, पत्रकार दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने, सूचना र प्रविधिका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि, सञ्चार माध्यमको दर्ता, नियमन, अध्ययन अनुसन्धानको विषयमा कानुन निर्माण गर्ने, पत्रकारिता तथा आमसञ्चार छात्रवृत्ति तथा पुरस्कारलगायतका कार्यक्रमलाई निरन्तरता दिने नीति प्रदेश सरकारले ल्याएको छ ।

राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिकाको वनसमिति, झलारी कलुवापुर बजार क्षेत्रको सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरको समन्वयमा नगरपालिकाले वनसमिति बजारबाट अक्रिमण गरी निर्माण गरिएका छाप्रा, खोका, ठेला, बरण्डा, सिँढीलगायतका संरचना हटाउने काम सुरु गरेको हो ।

“सडक क्षेत्राधिकार मिचेर निर्माण गरिएका संरचनासँगै सडक क्षेत्रमा थुपारिएको निर्माण सामग्री हटाउने काम सुुरु गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले भन्नुभयो, “सडक क्षेत्रको जग्गामा अनुमतिविना निर्माण सामग्री राख्नेसँग कानुनअनुसार जरिवाना लिने काम भइरहेको छ ।”

सडकको दुवैतर्फको अक्रिमण नहटाउँदासम्म अभियान जारी रहने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार सडक क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका दुई दर्जन बढी संरचना हटाइएका छन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इन्जिनियर भोजराज रानाले सडकको बीच भागबाट दायाँबाँया २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको बताउनुभयो । “सडक क्षेत्रको अतिक्रमण हटाए पछि बजार क्षेत्रको सौन्दर्यता थपिन्छ”, उहाँले भन्नुभयो, “सडक क्षेत्रमा देखिने ट्राफिकको समस्या पनि हट्छ, सडक विस्तारमा सहयोग पुग्छ ।”

उहाँका अनुसार यसअघि पूर्वपश्चिम राजमार्गको भीमदत्त नगरपालिकाको गड्डाचौकीदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको सडक अतिक्रमण हटाइएको छ । आउँदो आवदेखि सडक चौडा गर्ने काम सुरु हुने उहाँको भनाइ छ ।

विपद् न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले आज शुक्लागण्डकी नगरपालिका–४ मा आयोजना गरेको सवारी दुर्घटना व्यवस्थापन नमुना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति न्यूनीकरण गर्नेतर्फ सचेत हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले विपद्का समयमा जहिले पनि मुख्य उद्धारकर्ताका रुपमा स्थानीयवासी रहने भएकाले स्थानीय व्यक्तिलाई उद्धार प्रक्रियाबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय व्यक्तिलाई घटनाका समयमा सही तरिकाले उद्धार गर्न सिकाउँदा जोखिम कम गर्न सकिन्छ । नमुना अभ्यासले दुर्घटनामा क्षति न्यूनीकरणका लागि ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

भूकम्प, बाढीपहिरो, आगलागी, दुर्घटनालगायत प्रकोपबाट विश्वमै जोखिमयुक्त मुलुकका रुपमा नेपाल रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेश सरकार विपद् न्यूनीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीसँगको सहकार्यमा सम्भावित विपद्, घटना न्यूनीकरण पूर्वतयारीका लागि कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “प्रकोप न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम तथा तालिमको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । सोहीअन्तर्गत प्रदेश सरकार सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायतले विपद् घटना न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कप भलिबलमा नेपाल पुलिसद्वारा त्रिभुवन आर्मी पराजित

काठमाडौँ, २३ जेठ : विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले आर्मीलाई ३१ सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट २५-२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पा-यो । पुलिसले आर्मीमाथि २६-२४, २५-२१, २५-१८ ले जितेको हो । यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशी प्रदेशलाई समान ३-० ले पराजित गरेको थियो । त्यस्तै आर्मीको भने यो पहिलो हार हो । यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३–० को सेटमा हराएको थियो ।

पुरुषतर्फ आजै सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३-१ सेटमा पराजित गरेको छ । आजै भएको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० तथा आर्मीले न्यु डायमन्डलाई ३-२ को सेटमा हराएको थियो ।

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल जारी

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल पनि जारी रह्यो । यही जेठ २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ लागि प्रस्तुत गरेको नीति कार्यक्रममा हिजो १९ जना र आज २५ जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरुले प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदा जनताले गणतन्त्रको अनुभूति गर्नसक्ने बताएका थिए ।
प्रदेशको धार्मिक तथा पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधारसहितको संरचना तयार भएमा पर्यटन प्रवर्द्धन र थप रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो ।

ऋण र अनुदानबाट चल्ने हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन घरेलु मदिरा र गाँजा खेती गर्न पनि सरकारले छुट दिनुपर्ने भन्दै उनीहरूले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए । “रोजगार र सीपमूलक शिक्षाले मात्र गरिबी निवारणमा मद्दत गर्नेतर्फ नीति तथा कार्यक्रममा समेटिएको छैन र यस्ता विषयलाई समावेश गर्नुपर्छ । सुनसरीको दुहबी र इनरुवा जोड्ने सडक चारलेन बनाउन र प्रदेश मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गरी समयसापेक्ष सुविधा सम्पन्न बनाउनुपर्छ”, उनीहरूमध्ये धेरैको सुझाव थियो ।

छलफलमा मीरादेवी खनाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ, रामप्रसाद महतो र जयप्रकाश चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले तेह्रथुममा दुग्ध उत्पादक कृषकले कात्तिक महिनादेखि अहिलेसम्म दुग्धको भुक्तानी नपाएकातर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले ढाकाको राजधानी मानिएको तेह्रथुममा तान बुन्नेलाई व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने माग पनि गरे ।

सदस्य होमबहादुर थापाले जेठ २१ गते रतुवामाई नदीमा बगाएको गाडीमा दुईजनाको मृत्यु भएकाले प्रदेश सरकारले राहत दिनुपर्ने माग गरे । अर्का सदस्य खगेश्वरी पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित भएर बन्ने बजेटलाई सफल बनाउन कार्यान्वयन पक्षमा सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराए ।सदस्य ललिताकुमारी चौधरीले तराईवासीले मान्दै आएको ग्रामथानलाई व्यवस्थित गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने माग राखे ।

एनडिएको बहुमतसँगै भारतीय प्रधानमन्त्री मोदीलाई विश्व समुदायबाट बधाई आउने क्रम जारी

नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ले पाएको बहुमतसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व समुदायबाट बधाई को लहर आउन थालेको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले प्रधानमन्त्री मोदीलाई बधाई दिँदै दुई देशका लागि साझा समृद्धि र स्थिरताको खोजीमा ‘साझा चासो’ का विषयमा सँगै मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । उहाँले दुई देशको साझा हित, समृद्धि र स्थिरताको लागि प्रधानमन्त्री मोदीसँग थप सहकार्य हुने बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री मोदीले माल्दिभ्सका राष्ट्रपतिलाई धन्यवाद दिँदै दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न अझ घनिष्ठ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आम चुनावमा उहाँको राजनीतिक गठबन्धनको जितका लागि बधाई दिनुभएको छ ।

विश्वका सबैले विश्वव्यापी मामिलामा भारतको भूमिकालाई महत्त्व र मान्यता दिने बताउँदै उहाँले सबै राष्ट्रका लागि न्यायपूर्ण शान्ति सुनिश्चित गर्न सबैले मिलेर काम गर्नु महत्त्वपूर्ण भएको सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा शुभकामना दिनु भएको हो ।

इटालीका इटालीका प्रधानमन्त्री मेलोनीले भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिँदै सन्देशमा दुवै राष्ट्रका जनताको हितका लागि विभिन्न सवालहरूमा सहयोग गर्ने बताउनुभएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले पनि उहाँका भारतीय समकक्षी मोदीलाई बधाई दिँदै सामाजिक सञ्जाल एक्समा सिङ्गापुर–भारत साझेदारीलाई गहिरो बनाई अर्को वर्ष कूटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव मनाउनसँगै काम गर्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।

चीन र जापानको पनि बधाई

चीनले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक चुनाव जितेपछि बधाई दिँदै आफ्नो नजिकको छिमेकीसँग काम गर्न तयार रहेको जनाएको छ ।

स्वस्थ र स्थिर चीन–भारत सम्बन्ध दुवै पक्षको साझा हितमा रहेको उल्लेख गर्दै विश्वमा शान्ति र विकासका लागि पनि अनुकूल रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जनाउनुभयो ।

चीन दुई देश र जनताको मौलिक हित र भविष्यको दृष्टिकोणमा दुई देशबीचको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन भारतसँग काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

यसैगरी जापानले बुधबार भारतलाई महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ गठबन्धनलाई चुनावमा विजयका लागि बधाई दिएको छ ।

प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनलाई उनीहरूको विजयको घोषणाका लागि बधाई तथा शुभकामना व्यक्त गरेको सरकारका शीर्ष प्रवक्ता योशिमासा हयासीले पत्रकारलाई जानकारी गराउनुभयो । स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि भारत एक महत्त्वपूर्ण साझेदार भएको बताउँदै जापान–भारत सम्बन्धलाई बलियो बनाउन निरन्तर लाग्ने उल्लेख गर्नुभयो ।

मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिने

एजेन्सी,जेठ २३-प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनुहुने भएको छ । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउनका लागि उहाँहरूको दलको समर्थन महत्त्वपूर्ण छ ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ । भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् । भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो । एनडिएको बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, भाजपा नेता अमित शाह, राजनाथ सिंह, जनता दल (युनाइटेड) प्रमुख नितिश कुमारलगायत भाजपाका सहयोगीहरू तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडू, शिवसेना प्रमुख एकनाथ शिन्दे, जनता दल (युनाइटेड) लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

बैठकमा धर्मनिरपेक्ष नेता एचडी कुमारस्वामी, जनसेना पार्टी प्रमुख पवन कल्याण, लोक जनशक्ति पार्टी (रामविलास) प्रमुख चिराग पासवान, राष्ट्रवादी काङ्ग्रेस पार्टी (अजित पवार गुट) नेता प्रफुल्ल पटेललगायत अन्य एनडीए निकट दलहरूको सहभागिता थियो ।यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गर्नुभएको छ । यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाउनुभएको थियो । राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उहाँको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।त्यस्तै विपक्षी गठबन्धन इन्डिया ब्लकको बैठक बुधबार साँझ दिल्लीमा बोलाइएको छ । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावी नतिजा र त्यसपछिको रणनीतिबारे छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्ने बताउनुभयो ।

लेबनानमा अमेरिकी दूतावासबाहिर गोली चल्यो,सुरक्षा गार्ड घाइते

बेरुत – बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ । दूतावास बाहिर गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन् । लेबनानी सेनाले गोली हानेर एक बन्दुकधारीलाई पक्रेको सेना र दूतावासका अधिकारीहरूले बताएका छन् ।

लेबनानमा तनाव जारी रहँदा उक्त आक्रमण भएको छ । हिजबुल्लाह लडाकूहरू र इजराइली सेनाबीच महिनौँको लडाइँले वर्षौंदेखिको राजनीतिक गतिरोध र आर्थिक समस्यापछि हजारौँ नागरिकलाई सीमामा विस्थापित गरेको छ ।सैनिकहरूले आक्रमणकारीमाथि गोली चलाएको लेनबानी सेनाले बताएको छ । सेनाले उनी सिरियाली नागरिक रहेको मात्र बताएको छ । घाइते बन्दुकधारीलाई अस्पताल लगिएको छ ।

गोली चलाउनुको कुनै उद्देश्य तत्काल थाहा भएको छैन । यद्यपि लेबनानी सञ्चार माध्यमले प्रकाशित गरेको तस्बिरमा रक्ताम्य एक आक्रमणकारीलाई अरबी भाषामा ‘इस्लामिक स्टेट’ शब्द र अङ्ग्रेजीको सुरुको अक्षर ‘आई’ र ‘एस’ लेखेको कालो भेस्टमा देखाइएको छ ।

करिब आधा घन्टा चलेको गोली हानाहानमा एक आक्रमणकारी संलग्न रहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् । सामाजिक सञ्जालमा आएको अर्को भिडियोमा दूतावासको प्रवेशद्वारमा रहेको पार्किङ स्थलमा एक बन्दुकधारीलाई असल्ट राइफल लिएर गोली चलाएको देखाइएको छ ।

विशाल कूटनीतिक परिसरको प्रवेशद्वार नजिकै भएको आक्रमणपछि आफ्ना सबै कर्मचारी ‘सुरक्षित’ रहेको र लेबनानी सैनिक र दूतावासका सुरक्षाकर्मी तुरुन्त तैनाथ भएको अमेरिकी दूतावासले प्रारम्भिक विज्ञप्तिमा बताएको थियो ।

पछि दूतावासका एक प्रवक्ताले अर्को विज्ञप्तिमा आक्रमणमा दूतावासका एक सुरक्षा गार्ड घाइते भएको बताए । “उनको गोपनीयताको सम्बन्धमा हामी धेरै भन्न सक्तैनौँ तर हामी उनको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ”, प्रवक्ताले भने ।

रक्षामन्त्री र सेना कमान्डरसँगको बैठकपछि अवस्था अहिले स्थिर रहेको र गम्भीर अनुसन्धान भइरहेको जानकारी गराइएको लेबनानी कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।लेबनानी सेनाले दूतावास र वरपरका क्षेत्रहरूमा सेना परिचालन गरेको बताएको छ ।

सन् १९८३ मा बेरुतमा अमेरिकी दूतावासमा भएको घातक बम आक्रमणमा ६३ जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले लेबनानी लडाकू समूह हिजबुल्लाहले आक्रमण गरेको आरोप लगाएका थिए ।उक्त आक्रमणपछि दूतावासलाई मध्य बेरुतबाट राजधानीको उत्तरमा रहेको औकारको क्रिश्चियन उपनगरमा सारिएको थियो । सन् १९८४ सेप्टेम्बर २० मा नयाँ ठाउँमा अर्को बम आक्रमण भयो ।

सगरमाथामा पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ ।

सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए ।

कुहिने फोहरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ । नकुहिने फोहरलाई काठमाडौँ ल्याई पुनःप्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ । यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिकटन फोहर र पाँचवटा शव सङ्कलन गर्ने लक्ष्य लिइएको थियो ।

सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प–३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिरपञ्जर सङ्कलन गरेको छ । सङ्कलित मानवशव तथा अस्थिरपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लािग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ ।

हिमालमा बेवारिसे अवस्थामा रहेका शव सङ्कलन निकै चुनौतीपूर्ण मानिन्छ । गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो । ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिरपञ्जर सङ्कलन गरिएको हो । यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए । सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो ।

आधार शिविरमा रहेका समन्वय अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा लुक्लामा रहेको इलाका प्रहरी कार्यालयबाट फोहर तथा शव सङ्कलन तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग प्राप्त भएको सहायक रथी देउजाले जानकारी दिए ।

अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहेको सेनाले जनाएको छ ।

सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव छ मेट्रिकटन फोहर र चारवटा शव सङ्कलन गरेको थियो ।

विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन । सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिकटन फोहर, चारवटा शव र एकवटा अस्थिरपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमवल आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको थियो ।

सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिकटन फोहर सङ्कलन गरेको थियो । हिमालमा रहेका फोहर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ ।

विश्व वातावरण दिवसका अवसर पारेर सेनाले बुधबार जङ्गी अड्डामा विशेष कार्यक्रम गरी यस वर्ष सञ्चालन गरिएको सफा हिमाल अभियानको समापन गरेको छ । अभियानको समापन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले सफाइ अभियान सञ्चालन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए ।

सरकारले सफा हिमाल अभियानको मुख्य भूमिका सेनालाई प्रदान गरेको भए पनि सबैको संयुक्त प्रयासबाट अभियान सम्भव भएको उनले बताए ।

“सेनाको एक्लो प्रयासबाट मात्रै यस्ता अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिँदैन, यो सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव छ”, उनले भने, “अभियानमा सरकार, स्थानीय जनता र यसप्रति सचेतना ल्याउन क्रियाशील विभिन्न निकायका महत्वपूर्ण भूमिका रहेको छ ।”

प्रधानसेनापति शर्माले प्रतिकूल मौसम तथा विषम् परिस्थितिका बाबजुद उक्त अभियानका क्रममा सङ्कलन गरिएका फोहर, बेवारिसे शव र अस्थिरपञ्जर आफैँमा महत्वपूर्ण उपलब्धि रहेको बताए । सरकारले दिएको जिम्मेवारी तथा सेनाले लिएको लक्ष्य पूरा गर्न सफाइ टोलीले देखाएको तत्तपरताको उनले सरहाना गरे ।

“यो सुरुआत मात्रै हो, अभियान सञ्चालनपूर्व र पश्चात् भएका केही उपलब्धिले अन्तर्राष्ट्रियरूपमा नेपालले प्रकृति तथा पर्यावरण संरक्षणमा जनाएको प्रतिबद्धता पनि इङ्गीत गरेको छ, यो नेपालीका लागि गर्वको विषय हो”, प्रधानसेनापति शर्माले भने ।

नेपाली सेना ६ दशकदेखि प्रकृति र पर्यावरण संरक्षण लागेको र कूल सैनिकको १० प्रतिशत जनशक्ति वातावरण संरक्षणमा खटिइएको प्रधानसेनापति शर्माले जानकारी दिए ।

“संसारका कुनै पनि मुलुकमा रक्षा बललाई पर्यावरणीय सुरक्षा सहयोग कार्यमा लगाएको उदाहरण विरलै छ, यो हामीले गर्व गर्ने विषय हो । यो उदाहरणीय ‘मोडल’ हो”, उनले भने ।

उच्च हिमाली क्षेत्रमा घट्नसक्ने विपद् तथा अन्य अवस्थामा परिचालित हुन सफा हिमाल अभियानले सेनालाई प्रशिक्षणसमेत दिएको उनको भनाइ छ । उक्त साहसिक कदमको उच्च कदर गर्दै प्रधानसेनापति शर्माले अभियानमा सहभागिताका लागि अग्रसर हुने सैनिक तथा गैरसैनिक व्यक्तिलाई बधाई ज्ञापन गरे ।

समारोहमा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, रक्षा सचिव किरणराज शर्मा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, हिमाल आरोहणसँग सम्बन्धित संस्था र सगरमाथा क्षेत्रका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी : उपाध्यक्ष पौडेल

लुम्बिनी– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् ।नेकपा एमाले रूपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताएका हुन् ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जरुरी रहेको बताए। उनले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।

विभेद र असमानता अन्त्य गरी समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोहीअनुसार भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गरे । संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एमाले जनताको रोजाइको पार्टी भएको बताए । उनले दुई वर्ष पाँच महिनामा पार्टीको सङ्गठनलाई मजबुत र सशक्त बनाइएको स्पष्ट पारे ।

अधिवेशन व्यवस्थित गर्न पार्टीको जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा एक सय ६७ सदस्यीय मूल व्यवस्थापन कमिटी चयन भएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

जिल्लाका १६ वटा पालिका र एक सय ५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीका गरी आठ सय ५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र एक सय ४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

दिल्ली अदालतद्वारा केजरीवालको अन्तरिम जमानत याचिका खारेज, १९ जुनसम्म न्यायिक हिरासत बढायो

नयाँ दिल्ली । राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मनी लान्ड्रिङ मुद्दामा मेडिकल कारणहरू देखाउँदै सात दिनको जमानतको लागि दायर गरेको अन्तरिम जमानत याचिका खारेज गरेको छ ।याचिका खारेज गर्दै अदालतले तिहाड जेल अधिकारीहरूलाई सबै आवश्यक मेडिकल परीक्षणहरू गर्न र आवेदक अरविन्द केजरीवालको उपचार गर्न निर्देशन दिएको छ ।

यसैबीच अदालतले उहाँको न्यायिक हिरासत पनि सन् २०२४ जुन १९ सम्म बढाएको छ । सर्वोच्च अदालतको निर्देशनको पालना गर्दै मुख्यमन्त्री केजरीवालले जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्नुभएको थियो । सोही अदालतले जुन १ मा अरविन्द केजरीवालको जमानत याचिकामा आदेश सुरक्षित राखेको थियो ।

बहसको क्रममा केजरीवालको पक्षमा उपस्थित वरिष्ठ अधिवक्ता एन हरिहरनले भन्नुभयो, “अन्तरिम जमानत मेरो पार्टीको लागि प्रचार गर्ने उद्देश्यको लागि थियो, जुन एक राष्ट्रिय पार्टी हो ।”

भर्खरै केजरीवालले आफ्नो कानूनी टोलीमार्फत सम्बन्धित अदालतमा दुई फरक जमानत आवेदन दिनुभएको छ । उहाँको नियमित जमानत याचिका जुन ७ मा सुनुवाइका लागि सूचीबद्ध छ ।

यसअघि केजरीवाल अन्तरिम जमानतको म्याद थप गर्न सर्वोच्च अदालत पुग्नुभएको थियो । बुधबार सर्वोच्चले उहाँको निवेदन खारेज गर्दै नियमित धरौटीका लागि ट्रायल अदालत जान स्वतन्त्रता दिइएकोले यहाँ निवेदन सुनुवाइ गर्न नसकिने बताएको थियो ।केजरीवालले मे १० मा न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तबाट अन्तरिम जमानत पाउनुभएको थियो । उहाँलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो ।

अदालतले प्रवर्तन निर्देशनालय (इडी) को बयान सुनेर जुन ४ मा संज्ञानात्मक विन्दुमा आदेशको घोषणाको लागि मुद्दा तय गरेको थियो ।मुख्यमन्त्री केजरीवालले सर्वोच्च अदालतमा पुनरावेदन दिँदा आम चुनावको घोषणापछि आफ्नो गिरफ्तारी बाह्य विचारबाट प्रेरित भएको दाबी गर्नुभएको थियो ।

अप्रिल ९ मा उच्च अदालतले जेलबाट रिहा गर्नका लागि उहाँको निवेदन खारेज ग¥यो । साथै लोकसभा चुनावका बीचमा राजनीतिक प्रतिशोधको उहाँको तर्कलाई अस्वीकार गर्‍यो ।केजरीवाललाई अहिले रद्द भइसकेको दिल्लीको अन्तःशुल्क नीति सन् २०२१–२२ मा कथित अनियमितता सम्बन्धमा मनी लान्ड्रिङ अनुसन्धानको सिलसिलामा इडीले मार्च २१ मा पक्राउ गरेको थियो ।

पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँ: प्रदेश प्रमुख खापुङ

मोरङ, जेठ २३ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताउनुभएको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षारोपण कार्यक्रममा उहाँले प्रत्येक नागरिकले घरमा एक/एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख खापुङले प्लास्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षारोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढी पहिरो रोकथाममा योगदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभयो । त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवम् सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए ।

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

गलकोट (बागलुङ), जेठ २३ गते । उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।

निसीखोला गाउँपालिका-६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरू यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । वि.सं.२०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ । तीन वटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ ।

बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउने क्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिनुभयो । “विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भन्नुभयो, “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यस पटक बजेट प्राप्त होला ।”

कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टि मगरले बताउनुभयो । “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, मगरले भन्नुभयो । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथि पढ्न गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।

निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेँसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् । निसीखोला-५ निसीको ज्ञानेन्द्र माध्यमिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रूपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । वि.सं.२०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला-५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।

‘समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्छ’

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उहाँले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पूरा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो भन्नुभयो । उहाँले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको र जनतामाझ ती कामको प्रचारप्रसार गरी आवश्यक सुझाव लिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेतृत्व, पार्टीको विचार र राष्ट्र निर्माणको अभियान अगाडि बढाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टी महासचिव देवप्रसाद गुरुङले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टी निर्माणमा सहयोग पुगेको बताउनुभयो । उहाँले पार्टीले अगाडि बढाएका राजनीतिक, वैचारिक र सामाजिक न्यायसहितका मुद्दाहरूलाई जनतामाझ लिएर सङ्गठन सुदृढीकरणमा लाग्न निर्देशन दिनुभयो ।माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले गण्डकीमा पार्टी सङ्गठन विस्तारलाई प्राथमिकता दिएर सङ्गठन सुदृढीकरण र विस्तारका काम भइरहेका जानकारी दिनुभयो ।

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ : एमाले अध्यक्ष ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज यहाँ आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।”

उहाँले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभा सम्मेलन र औपचारिक वृक्षारोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाजका सबै तह तप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भन्नुभयो, “हिमाल हामीसँग छ, यसलाई सुरक्षित राख्नुपर्छ । हिमालमा हिउँ भयो भने मात्र अस्वाभाविक रूपमा वृद्धि भइरहेको पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्न सकिन्छ, अन्यथा अकल्पनीय समस्या व्यहोर्न पर्छ, त्यसतर्फ समयमै सजग एवं सचेत भई वातावरण जोगाउने अभियानमा सरिक होऔँ ।”

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सङ्घीय सांसद दुर्लभ थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायत विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधु ढुङ्गेल, संयोजक नरेश रञ्जितले अभियानलाई तीव्रता दिएर भक्तपुरलाई सफा बनाउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानमा जीवन विज्ञान, गैरसरकारी संस्था महासङ्घ भक्तपुरलगायत २० भन्दा बढी सङ्घ संस्थासम्बद्ध व्यक्तिसहित विद्यार्थीको उल्लेख्य उपस्थिति थियो ।

प्रतिनिधि सभा बैठकः तीन विधेयक पेस

काठमाडौँ, जेठ २३ गते । प्रतिनिधि सभाको आजको बैठकमा तीन वटा विधेयक पेस गरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गर्नुभएको हो ।

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । रासस

बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ, २३ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई थप गति दिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अर्थतन्त्रलाई लयमा अगाडि बढाउन र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाउन बजेटले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ ।”

उहाँले सरकारी र सार्वजनिक क्षेत्रको गुणस्तरीय पूर्वाधार निर्माण गर्न निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो । “निजी क्षेत्रलाई निरुत्साहित गरेर पुँजी निर्माण गर्न सकिँदैन, उत्पादन वृद्धि हुन सक्दैन र रोजगारी सिर्जना गर्न सकिँदैन भन्ने हाम्रो बुझाइ छ । सोही अनुरूप विश्वासको वातावरण बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिपरेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो ।

प्रदेश र स्थानीय तहमा जाने बजेट वृद्धि भएको उहाँको भनाइ छ । उहाँले चालु आवको विनियोजन विधेयकमा जति राजस्व उठ्छ त्यही अनुपातमा प्रदेश र स्थानीय तहमा अनुदान पठाउने र सोहीअनुरूप वित्तीय हस्तान्तरण गर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले जुम्लाको सिंजा सभ्यता र कर्णालीको पर्यटन विकासका लागि बजेट व्यवस्था गरिने बताउनुभयो ।सुर्खेत विमानस्थल पनि विस्तार हुने उहाँले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिकाद्धारा अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् ।

अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरेको हो ।

नगर क्षेत्रका १२ वटै वडाका डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बालबालिकालाई नगरप्रमुख श्रेष्ठ र उपप्रमुख आचार्यले कपडा र झोलाका साथ जनही रु पाँच सय पनि प्रदान गर्नुभयो ।

मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै

महेन्द्रनगर (धनुषा) । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ ।ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।

वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ । वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन ।

यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ ।

बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ । मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउने गरेका छन् ।

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती, यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य

जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी ल्याइएको थियो । उहाँले भन्नुभयो, “पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।” अङ्गुरखेतीका लागि रु एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ ।

धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताउनुभयो । कम्पनीले धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो ।

कार्कीले भन्नुभयो, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।”फार्ममा ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि आठदेखि १० प्रजातिका अङ्गुरबाट मात्र मनग्य उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उहाँले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उहाँले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ”, तिमिल्सिनाले भन्नुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट । यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मङ्गलबार साँझ पोखरा आउनुभएको हो ।

चन्दा सङ्कलन गरेर भुईँचालोले भत्काएको विद्यालय भवन निर्माण

बझाङ । सपना विष्ट कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भाग्नुभएको थियो ।

“भुईँचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाल्नुभयो । “चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो”, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भन्नुभयो, “विद्यालय बन्द गर्ने कुरा भएन । चौरमा पढाउन पनि डर भयो । भिरालो ठाउँमा जोखिम मोलेर गुजार्‍यौँ ।”

उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रस ले चासो देखाएको प्रधानाध्यापक विष्ट सम्झनुहुन्छ । “समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौँ शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो । हामी निकै उत्साहित भयौँ ”, उहाँले भन्नुभयो ।

शाखाले काठमाडौँका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्‍यो । विद्यालय भवनको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौँ शाखाले हस्तान्तरण गर्‍यो ।

काठमाडौँ शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसँग हात फिँजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले बताउनुभयो । उहाँले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले भन्नुभयो, “रेडक्रस भनेको पीडितको घाउमा मलहम लगाउने संस्था हो ।”

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको बताउनुभयो । “पहिले खुलाचौरमा शिक्षक विद्यार्थीलाई अति नै समस्या थियो । त्यसै बेलामा काठमाडौँ रेडक्रसलाई भगवान्ले टुप्लक्क पठाएजस्तै भयो । बेसहारालाई सहारा दिनुभयो । विद्यालय परिवार खुसी छ”, उहाँले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी विष्टले पनि समाचारका आधारमा विद्यालय भवन बनाउने काठमाडौँ शाखाको कामको प्रशंसा गर्नुभयो । “सानो लगानीमा बलियो तीनकोठे भवन बन्छ भन्ने कसैलाई विश्वास थिएन । तर, सम्भव भयो”, उहाँले भन्नुभयो ।

काठमाडौँ रेडक्रसले भवानी आधारभूत विद्यालयको तीनकोठे भवन निर्माण गरेको छ । “विद्यार्थीको पीडा सुनेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन हुनेगरी तयारी गरेका थियौँ”, रेडक्रस काठमाडौँ शाखाका सभापति डोटेलले भन्नुभयो, “हाम्रो अभियान सफल भयो । अब बालबालिकालाई सहज हुनेछ । हामी पनि खुसी छौँ ।”

अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटियो

म्याग्दी। म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार रु ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो । “पुल निर्माणका लागि स्थानीयवासीले रु एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्”, उहाँले भन्नुभयो, “काम थालेको ८५ दिनमै पुुल तयार गर्न सफल भएका छौँ ।” पुुलबाट बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका स्थानीय नारायण पुनले बताउनुभयो ।

बाँसखर्क डाँडाकेटेरी हँुदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल उपयोगी भएको उहाँले बताउनुभयो । पुुल बनेपछि घुुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको र यात्रा अवधि छोटो भएका छ ।

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ ।

एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।

सशस्त्र प्रहरीद्वारा २४सै घण्टा तैनाथ रहने गरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन रहने जनाइएको छ । अन्य युनिटहरूमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सातरसात प्लाटुन, नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले तीन प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउने गरी तयारी अवस्थामा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोली विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएका छन् ।

‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरूमा रहेका आपत्कालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ ।

सो टोलीले आफ्नो जिम्मेवारी रहेको इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा बस्तीलगायत महत्त्वपूर्ण संरचनाजस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था मिलाउने छ । बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरूमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेसहरूमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेरि इक्युपमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी अवस्थामा राखिएका छन् । बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयले मातहतलाई मनसुनजन्य विपद् प्रतिकार्य पूर्व अभ्याससमेत सञ्चालन गरेका थिए ।

प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

“मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा भनिभएको छ, “नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ ।”

साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।

“विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ”, शुभकामना सन्देशमा भनिएको छ, “सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ ।”

प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ । यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा ‘हाम्रो भूमिः हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकामा सरोकारवाला निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री दाहालले आह्वान गर्नुभएको छ ।साथै, सन्देशमा वातावरण संरक्षण तथा व्यवस्थापनमा योगदान पु¥याउने सबै निकाय र सरोकारवालाप्रति उहाँले धन्यवाद ज्ञापनसमेत गर्नुभएको छ ।

‘प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ’ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २३ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तनजस्ता सङ्कट भोग्न बाध्य हुनुपरेको वास्तविकता औँल्याउनुभएको छ ।

सन्देशमा उहाँले “जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो परिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानवबीचको अहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ ।

यसका लागि एकातिर इनार, पोखरी, नदी, ताललगायत पानीका स्रोतहरूको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनःभरण, जैविकखेती प्रणालीको प्रवर्द्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ भने अर्कोतिर विषादी एवं करेन्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउने प्रवृत्तिमाथि रोक, प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापनजस्ता आधारभूत विषयलाई चक्रीय अर्थतन्त्रको सिद्धान्तअनुसार जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ”, भन्नुभएको छ ।

वनभरि लटरम्मै गुँयली फल पाकेपछि कालीलेकमा चहलपहल

पोखरा महानगरपालिका-१६ अर्मलेस्थित कालीलेकमा हिजोआज सर्वसाधारणको चहलपहल बढेको छ । वनभरि लटरम्मै पाकेको गुँयली फल टिपेर खानेको सङ्ख्या बढेपछि कालीलेकमा चहलपहल बढेको हो ।

स्थानीय भाषामा ‘मल्लिडो’ को नामले चिनिने गुँयली फल स्वादिलो हुन्छ । बुट्यान एवं झाडीदार रुखमा फल्ने यो फलमा भिटामिन पाइने विश्वासले पनि फल खान आउनेको भीड बढेको स्थानीय बलायखर्ककी उमा पौडेल बताउनुहुन्छ । सत्रखर्क कालीलेक सामुदायिक वन क्षेत्रमा पर्ने शिशादेखि नेटा, बुढीगान्नी, क्रेटो, लोला, बलायलगायतका जङ्गलमा लटरम्म पाकेको गुँयलीका कारण मानिसका आउजाउ बढेको उहाँले बताउनुभयो ।

समुद्री सतहबाट करिब एक हजार आठसयदेखि दुई हजार दुईसय मिटरको उचाइमा पाइने गुयँलीका बोटहरु फल टिप्नेक्रममा काटिएका छन् । यसको बाहिरी बोक्रा खैरो र गुँदी रातो रङको हुन्छ । फललाई सिधै टिपेर खाने गरिन्छ । पौडेलले भन्नुभयो, “यसपटक पाँच वर्ष पछि मात्र गुँयली फलेको हो, खडेरीको कारण यस वर्ष बाक्लो फल लागे पनि दाना सानो छ ।” बोटमा काँडा हुने भएकाले टिप्नका लागि मानिसहरुले हाँगा र रुखैसमेत काट्ने गर्दा गुँयलीको बोट मासिने खतरा रहेको उहाँको भनाइ छ ।

अर्मलाकोटभन्दा माथि नेटामा बाख्रापालन व्यवसाय गर्दै आउनुभएका सुरेन्द्र सुवेदीका अनुसार गुँयली पाकेपछि यसका पारखीहरु स्वाद लिन पोखरा बजारदेखि आउने गर्छन् । उहाँले भन्नुभयो, “यस क्षेत्रमा गुँयली मात्र होइन, जेठको अन्तिम सातादेखि साउन महिनासम्म अर्गानिक निउरो टिप्ने र निगालोको टुसा भाँच्नेको भीडनै लाग्ने गर्दछ ।” त्यस्तै सिलाजित, सतुवा, चिराइतो, सिकारी लहरो, कुरिलो, पाखनवेदलगायतका महत्वपूर्ण जडीबुटी तथा बाघ, भालु, मृग, थार घोरल र मुनाललगायतका वन्यजन्तु एवं जराचुरुङ्गी यहाँको वनक्षेत्रमा पाइने उहाँको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका गण्डकी प्रदेश सदस्य एवं कृषि सञ्जाल पोखरा–१६ का अध्यक्ष जीतबहादुर बस्नेतले गुँयली जत्तिको स्वादिष्ट फल यसभन्दा अघि टिपेर नखाएको बताउनुभयो । स्थानीयले कालीलेकबाट टिपेको गँुयली बजारमा प्रतिमाना रु एक सयका दरले बिक्री गर्दछन् ।

गुयँली विशेष गरी बागलुङ, म्याग्दी, ताप्लेजुङ, पाँचथर, इलाम सङ्खुवासभा, तेह्रथुमलगायतका जिल्लामा पाइन्छ । जलवायु परिवर्तन, वन विनास, डढेलोलगायतका कारणले गुँयली जस्ता फलफूल तथा वनस्पति उपलब्धतामा कमी हुँदै गएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित

काठमाडौँ।सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आइपिभि’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ ।स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले तराईका अधिकाङ्श जिल्लामा तातो हावासँगै ‘लू’ चलेकाले खोप अभियान प्रभावित भएको बताउनुभयो । “तराई अधिकांश जिल्लामा ‘लू’ चलेको हुनाले विद्यालय बन्द भएका छन् । कतिपय विद्यालयमा खोप कार्यक्रम सञ्चालन भए पनि बीचमै रोकिएको छ”, उहाँले भन्नुभयो, “अब भने पानी पनि पर्न थालेको छ । तराईमा शितलता पनि भएकेले अब विद्यालय खुल्ने र पुनः खोप अभियान संचालन गर्दछाँै ।”

उहाँका अनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप लगाइसकेका छन् । यो २८ दशमलव ५ प्रतिशत हो । “अहिलेको खोप लगाएको तथ्याङ्क ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ”, उहाँले भन्नुभयो, “खोप अभियान राम्रो चलेको छ । हामी लक्ष्य अनुसार नै खोपको कभरेज ९५ प्रतिशत पुर्याउँछौँ ।”

खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ ।

स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ।मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी,वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरीको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवस, २०२४ को अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

“वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।”

विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उहाँले बताउनुभएको छ ।

“नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ– “प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।”

वातावरणको संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई राष्ट्रपति पौडेललले धन्यवाद दिनुभएको छ ।

राष्ट्रपति पौडेलले आजको दिन सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनको रूपमा लिएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनुषा।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिनुहुँदैछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो ।पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिनुभयो ।

त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उहाँले ६९ मत प्राप्त गर्नुभयो । उहाँलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो । त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रह्यो ।

पछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुपर्‍यो । त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए । चारै पटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएन ।

यादवले दुई पटक सबैजसो प्रदेशसभा सदस्य र दलको विश्वासको मत प्राप्त गर्नुभयो भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टी, चौथो पटक नेपाली कांग्रेस, जनमत र लोसपाको साथ पाउनुभएन । यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उहाँको पक्षमा देखिएका छन् ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले आजै मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्रीमा बेची लुङ्गेली हुनुहुन्थ्यो । लुङ्गेलीले जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।

यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेसहित नयाँ गठबन्धनको सरकार बनाउन यहाँ एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ ।