`

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनुषा।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिनुहुँदैछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो ।पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिनुभयो ।

त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उहाँले ६९ मत प्राप्त गर्नुभयो । उहाँलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो । त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रह्यो ।

पछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुपर्‍यो । त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए । चारै पटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएन ।

यादवले दुई पटक सबैजसो प्रदेशसभा सदस्य र दलको विश्वासको मत प्राप्त गर्नुभयो भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टी, चौथो पटक नेपाली कांग्रेस, जनमत र लोसपाको साथ पाउनुभएन । यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उहाँको पक्षमा देखिएका छन् ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले आजै मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्रीमा बेची लुङ्गेली हुनुहुन्थ्यो । लुङ्गेलीले जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।

यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेसहित नयाँ गठबन्धनको सरकार बनाउन यहाँ एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ ।

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।

बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।

केरा पकेट क्षेत्रको रुपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताउनुभयो । उहाँका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ ।

केराको रेशाबाट पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताउनुभयो । “हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ”, उहाँले भन्नुभयो ।

तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गर्नुभएको थियो । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिनुभयो ।

केराको थामबाट बनेका सामग्री प्राकृतिकरुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ ।

वातावरण संरक्षणका लागि सामूहिक प्रतिबद्धता

वातावरण विभाग, वातावरण संरक्षणकर्मी, विभिन्न स्थानीय निकाय प्रतिनिधि तथा सरोकारवालाले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा वातावरण विभागको आयोजनामा सम्पन्न सरोकारवाला निकायसँगको छलफल तथा अन्तक्र्रियामा सामूहिक प्रतिबद्धता जनाइएको हो ।

आफू सम्बद्ध निकायको वार्षिक नीति तथा कार्यक्रममा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई समावेश गरी प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रतिबद्ध रहने विषयमा सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । वातावरण संरक्षणका लागि जनचेतना तथा सन्देशमूलक क्रियाकलाप सञ्चालन गर्नुका साथै आफ्नो टोल, बस्ती वा समुदायमा सरसफाइ तथा प्रदूषण नियन्त्रणको कार्यमा सधैँ सक्रिय र प्रतिबद्ध रहने सामूहिक प्रतिबद्धता जनाइएको छ ।

वातावरण विभागका महानिर्देशक भूपाल बरालले नेपालको संविधानमा मौलिक हकको रुपमा राखिएको स्वच्छ वातावरणको हक कार्यान्वयन गर्न वातावरणीय पक्षमा सुधार गर्नुपर्ने र यसका लागि सबै सरोकारवालाको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“वातावरणीय प्रदूषण नियन्त्रण गर्न अन्तरसरकारी निकाय, तीनवटै तहका सरकार र अन्य सरोकारवालाबीच पनि सहकार्य बढाउन आवश्यक छ, वातावरण दिवसको पूर्वसन्ध्यामा वातावरण संरक्षण कार्यका लागि एक्यबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हो”, उहाँले भन्नुभयो ।

यसैगरी सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सरोकारवाला सरकारी तथा गैरसरकारी निकायबीच प्रभावकारी र परिणाममुखी समन्वय र सहकार्य गर्नेमा समेत प्रतिबद्धता जनाइएको छ । वातावरण तथा जनस्वास्थ्यलाई हानि पु¥याउने नेपाल सरकारद्वारा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको एकल प्रयोग हुने प्लाष्टिकका झोलाको बिक्री वितरण, भण्डारण तथा प्रयोगलाई निरुत्साहित गरी बहुप्रयोग हुने कपडा तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गरी बनाइएका वैकल्पिक झोलाको प्रयोगलाई प्रोत्साहन गरिने विषयमा प्रतिबद्धता जनाइएको छ ।

“काठमाडौँ उपत्यकाभित्रका धार्मिक तथा सांस्कृतिक सम्पदालगायत नदी नालाको वरपर जथाभावी फोहर गर्न रोक्ने तथा सरसफाइ अभियान सञ्चालन गरी वाग्मती सभ्यता संरक्षण गर्न जनचेतना तथा जनसहभागिता अभिवृद्धि गरिनेछ”, प्रतिबद्धतापत्रमा उल्लेख छ, “धार्मिकस्थलमा स्वच्छ र सफा राख्न सदैव सक्रिय रहने छ । स्वच्छ वातावरणका लागि सहरी क्षेत्रभित्रका खाली, बाँझो, पर्ती जमिन, नदी कोरिडोर र सडक किनारमा उपयुक्त प्रजातिका बोटबिरुवा वृक्षरोपण गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिन तथा स्वच्छ वातावरणका लागि खुला स्थानमा हरियाली पार्क निर्माण तथा सञ्चालन गर्न पहल र सहयोग गर्नेछौँ ।”

प्रतिबद्धताअनुसार घरायसी तथा व्यवसायबाट निष्काशित ठोस फोहरमैलाअन्तर्गत जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहर वर्गीकरण गरी स्रोतमै छुट पाउने र सोहीबमोजिम व्यवस्थापन गर्न पहल र सहयोग गरिने छ । वातावरण तथा जनस्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने गरी प्लाष्टिक, कृषि अवशेष तथा अन्य प्रकारको फोहर खुलारुपमा जलाउने कार्यलाई निरुत्साहित गरिनेमा पनि प्रतिबद्धता भएको छ ।

अनुगमनलाई प्रभावकारी बनाई उद्योगबाट निष्काशन हुने ठोस तथा तरल फोहरलाई नेपाल सरकारको मापदण्ड बमोजिम व्यवस्थापन गर्न कडाइ गरिनेमा सरोकारवाला प्रतिबद्ध देखिनुभएको छ ।

वातावरणीय अध्ययन प्रतिवेदनको कार्यान्वयन, अनुगमन र नियमन गरिनेछ । प्रदूषण नियन्त्रणका लागि अनुगमन र वातावरणीय मापदण्ड परिपालनामा सक्रियता बढाइनेछ प्रतिबद्धता रहेको छ । यसैगरी अर्को प्रतिबद्धतामा सहर, घना बस्ती भएको क्षेत्र विद्यालय, अस्पताल क्षेत्रलगायतका स्थानमा सवारी साधनको हर्न बजाउन निरुत्साहित गरिने उल्लेख गरिएको छ ।

सर्कुलर इकोनोमी मोडलको अवलम्बनमा जोड दिई वातावरणमैत्री स्थानिय वा स्वदेशी उत्पादन÷वस्तुको प्रयोगलाई प्रोत्साहन गरिने पनि अर्को प्रतिबद्धता रहेको छ । यसैगरी जैविक विविधताको संरक्षण र अभिलेखीकरण र पानीका मुहान, कुँवा, पोखरी तथा तालतलैयाको संरक्षण गरिने प्रतिबद्धतामा सराकोवालले हस्ताक्षर गर्नुभएको छ ।

बाह्य मिचाहा वनस्पतिको फैलावट रोकयाम गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । आकाशे पानी सङ्कलन र पुनर्भरणका लागि पोखरी निर्माण गर्न पहल, प्रोत्साहन र सहयोग गरिने र वातावरणमैत्री हरित ऊर्जाको प्रयोगलाई प्रवद्र्धन तथा प्रोत्साहन गरिने प्रतिबद्धता छ ।

यसैगरी अर्को प्रतिबद्धतामा ऊर्जा प्रयोग र खपतलाई मितव्ययी र महत्तम बनाइने र स्थानीय जलवायु अनुकूलन योजना निर्माण र कार्यान्वयन गरिने रहेको छ । वातावरण संरक्षण र जलवायु अनुकूलनसम्बन्धी असल अभ्यासको आदानप्रदान गरिने र वातावरणीय क्षेत्रका तथ्य तथ्याङ्क नियमितरुपमा सङ्कलन तथा विश्लेषण गर्नुका साथै अध्ययन र अनुसन्धान कार्यमा जोड दिने प्रतिबद्धतासमेत भएको छ ।

‘वातावरणको संरक्षण र प्रवर्द्धनमा सबै लागौँ’ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले वातावरण संरक्षण र प्रवर्द्धनका लागि सबै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, सङ्घ संस्था र व्यक्तिले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाउन गइरहेको विश्व वातावरण दिवस, २०२४ का अवसरमा सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले कालान्तरमा पृथ्वीको सबै भूभागमा असर पार्ने बताउनुभएको छ । त्यसैले वातावरण संरक्षणका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

“हाम्रो देशको सन्दर्भलाई हेर्दा सहरी क्षेत्रमा फोहरमैलाको उचित व्यवस्थापन र ग्रामीण क्षेत्रमा वृक्षरोपणको माध्यमबाट वातावरण संरक्षणका पहल भइरहेको अवस्था छ”, शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी न्यून कार्बन उत्सर्जनका लागि विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ, यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आजको आवश्यकता देखिन्छ ।”

विकसित मुलुकको तुलनामा वातावरणीय प्रदूषणमा कम सहभागी भए पनि जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिको सङ्कट सामना गर्नेमध्येको मुलुकमा नेपाल पर्नु आफैँमा दुःखद् विषय भएको र यस्ता दिवसले थप ध्यानाकर्षण गराउने हुँदा यो दिवसको विशेष महत्व रहेको सन्देशमा उल्लेख गरिएको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइँदै आएको छ । नेपालले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ ।हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेको छन्, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।” साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उहाँले औँल्याएका छन् ।

देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाए ।

उनले सन्देशमा भनेको छन् , “त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।”

वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको पाइएको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

काठमाडौँ।आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे ।

यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए ।
यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे । गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए।नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।

सुदूरपश्चिम प्रदेश : सरकारको वार्षिक नीति कार्यक्रम टेबुल

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले यही जेठ २० गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको प्रति आज मुख्यमन्त्री दीर्घबहादुर सोडारीले टेबुल गरेका हुन् । बैठकले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।

यसैगरी बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा विषयगत समितिअन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा रामेश्वर चौधरी, इन्दिरा गिरी र दमनबहादुर भण्डारी, सार्वजनिक लेखा समिति सदस्यमा लक्ष्मणकिशोर चौधरी, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्यमा घनश्याम चौधरी र नरेशकुमार शाही, सामाजिक विकास समिति सदस्यमा खुशीराम डगौराथारुलाई मनोनयन गरिएको जानकारी दिए ।

मधेश प्रदेशः बुधबार पाँचौ पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौपटक विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार डेढ वर्षको अवधिमा पाँचौपटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले भोली बुधबार दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो । तत्पश्चात विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिनुभयो ।

त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उहाँले ६९ मत प्राप्त गर्नुभयो । उहाँलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गर्नुभएको थियो । त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रह्यो ।

पछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुप¥यो । त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए । चारैपटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएन ।

यादवले दुई पटक सबैजसो प्रदेशसभा सदस्य र दलको विश्वासको मत प्राप्त गर्नुभयो भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टी, चौथो पटक नेपाली कांग्रेस, जनमत र लोसपाको साथ पाउनुभएन । यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली काँग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ । यसहिसाबले मुख्यमन्त्री आवद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उहाँको पक्षमा देखिएका छन् ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले आजै मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेश प्रदेश सरकारमा एकीकृत समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीकम गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्रीमा बेची लुंगेली हुनुहुन्थ्यो । लुङ्गेलीले जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।

यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेसहित नयाँ गठबन्धनको सरकार बनाउन यहाँ एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ ।

काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदलयात्रा गरे आरोही राजेश लामाले

आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन्। उनले यात्रा सुरु गरेको ५७औँ दिनमा सगरमाथा आरोहण गरेका हुन्।

गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा शुरू गरेका उनले ४ सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए ।


इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौंदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले बताए ।

आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ ।सानेपाबाट सगरमाथा यात्रा शुरू गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए ।मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थिए ।
पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शकसमेत हुन् । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको बताएका थिए ।अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखे ।‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

सञ्चारमन्त्री शर्मासमक्ष ‘ब्याण्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन प्रतिवेदन पेश

नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ ।

आज प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथको व्यवस्थापन महत्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले अध्ययन समिति गठन गरेको बताइन् । उनले समितिले दिएका सुुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताइन्। “समितिले प्रतिवेदनमार्फत दिएका सुझावका आधारमा तत्काल गर्न सकिने कामका लागि प्रक्रिया अघि बढाउन र कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने विषयमा सोहीअनुसार आवश्यक कार्य अगाडि बढाइने छ”, मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माले विसं २०८० फागुन २३ गते दोस्रोपटक पदबहाली गरेपछि नेपालमा ब्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन गरेकी थिइन् ।

समितिले दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ बमोजिम एउटै व्यक्ति÷संस्थाले नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायक दुवैको अनुमतिपत्र लिने गरेका कारण दुवैलाई फरकफरक बनाई प्रतिस्पर्धा गर्ने वातावरण बनाउन कठिनाइ रहेकालगायत सुझाव पेस गरेको छ ।

एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट

स्वर्गद्वारी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा विजयविराज विष्ट पुनः निर्वाचित भएका छन् । दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए।

उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र ईश्वरा आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए।मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए ।

ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् । महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् ।

आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण हुँदैगरेका ती आकाशे पुल अपाङ्गतामैत्रीसमेत हुने छन् । ओझाले भन्नुभयो, “महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो । यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन् ।”

पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्ने छ ।

महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताउनुभयो । “यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ । आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ”, उहाँले भन्नुभयो ।

गाजाका बाँकी बन्धकहरू को हुन् ?

हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिनापछि गाजामा अझै पनि एक सय २० जनालाई राखिएको छ । यद्यपि कति मानिस अझै जीवित छन् भन्ने स्पष्ट छैन । ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा मूल दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए । अहिलेसम्म एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ ।

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो । इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ ।

इजराइली सेनाका अनुसार गाजामा अझै पनि अन्य ४१ बन्धक मारिएका छन् । तीमध्ये अक्टोबर ७ को आक्रमणमा मारिएका २५ मानिस संलग्न छन् । उनीहरूको शवलाई ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न गाजा पट्टी लगिएको थियो । यसले गाजामा अझै पनि ७९ बन्धक जीवित रहेको हुनसक्ने देखिन्छ । ती मध्ये ७२ इजराइली, छ थाई नागरिक र एक नेपाली रहेका छन् ।

वर्षौँदेखि खानेपानीको समस्या झेल्दै घोरदौराबासी

घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ । आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो । उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउनुहुन्छ । हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उहाँले बताउनुभयो । विकले भन्नुभयो, “गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ ।” पानी लिन आउँदा ओरालो भए पनि फर्किंदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उहाँले सुनाउनुभयो ।

घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताउनुहुन्छ । एउटै धारमा पालो कुरेर पानी भर्दा दुई घण्टा लाग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा पानी आउन बन्द भएपछि घरनजिकै ठूलो पँधेरा भन्ने ठाउँमा जाने गर्दथ्यौँ तर त्यहाँ पनि पानी सुकेपछि अहिले घोरदौरा आउने गरेकी छु ।”

उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो नआउँदै धारा सुक्ने भएकाले धेरैजसो राति नै पानी भर्न आउने गरेको स्थानीय बताउँछन् । घोराही उपमहानगरपालिका–१८, घोरदौरा निवासी ५७ वर्षीय शोभा अधिकारी करिब एक घण्टा दुरीमा रहेको धरमपानीस्थित धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउनुहुन्छ । गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २÷३ बजे उठ्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुढेसकालमा पानी भर्न उकालो ओरालो गर्न समस्या छ । अर्को गाउँदेखि ल्याएको पानी सुकिसक्यो । त्यसैले अहिले एक घण्टा हिँडेर घरदेखि तल खोलामा रहेको धारामा जानुपर्ने बाध्यता छ ।”

घोराही उपमहानगरपालिका-१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले खानेपानी योजनाको काम भइरहेकाले आगामी वर्षसम्म समस्या समाधान हुने बताउनुभयो । घोरदौराका स्थानीयले वर्षौैँदेखि खानेपानी समस्या झेल्दै आएकाले दीर्घकालीन रुपमा समाधान गरिने उहाँको भनाइ छ । घोरदौराका ७० घरधुरीले एउटै धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

‘नाट्टा’ को अध्यक्षमा दुई जनाको उम्मेदवारी

काठमाडौँ २२ जेठ : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिनुभएको छ ।नाट्टाको यही जेठ २५ गते हुन लागेको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिनुभएको हो ।

दुई कार्यकाल टानको बोर्ड सदस्य भएर काम गर्नुभएका दाहाल कोलम्बस ट्राभल्सका सञ्चालकसमेत हुनुहुन्छ । ताप्लेजुङका दाहाल विगत तीन दशकदेखि ट्राभल, टुर र ट्रेकिङ पेशामा आबद्ध हुनुहुन्छ । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसक्नुभएका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आउनुभएको छ । चितवनका थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालकसमेत हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ । सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित हुनुभएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिनुभयो ।

सदस्यमा दिनेश मैनाली, सुदर्शन गजुरेल, श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

उदयपुर-उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्पm आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिसाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय विरा राई रहेका छन् । प्रहरी निरीक्षक साहका अनुसार टिप्पर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

‘पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट भएन’

काठमाडौँ, २२ जेठ ः नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आव २०८१÷८२ को बजेटमाथि छलफलका क्रममा उहाँले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताउनुभयो । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी प्रस्तुत भएको आशङ्का व्यक्त गर्दै उहाँले भन्सार दर वृद्धि गर्दा तस्करी र चुहावट बढ्नेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “आजको मितिसम्म रु आठ सय ७० अर्ब राजस्व उठेको छ, यो हिसाबले असार मसान्तसम्म मुस्किलले रु ११ सय अर्बभन्दा बढी उठ्ने सम्भावना छैन । यस्तो अवस्थामा रु १८ सय ६० अर्बको बजेट प्रस्तुत भएको छ, बाँकी पैसा कसरी ल्याउने सोच्नुभएको छ ? म अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “हाम्रो ऋणको आकार झनझन बढ्दै छ । ऋण उठाएर ऋणको सावा ब्याज तिर्न लागिरहेका छौँ, यस्तो अवस्थामा कसरी राष्ट्रिय पँुजी निर्माण हुन्छ ?”

बजेटमाथिको छलफलमा सांसदहरू राजेन्द्रकुमार केसी, मुक्ताकुमारी यादव, सुशीला श्रीपाली ठकुरी, सुनिता बराल, प्रभु हजारा, सरस्वती सुब्बा, दीपा शर्मा, सुहाङ नेम्बाङ, तारा लामा तामाङ, रामकृष्ण यादव, सन्तोष चालिसे, सीताकुमारी राना, पुष्पबहादुर साह, राजेन्द्र बजगाईलगायतले बजेटमाथि टिप्पणी गर्नुभयो ।

बजेटमाथि सांसदहरुले बोल्ने क्रम आगामी बैठकमा पनि जारिरहने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । आजको बैठकमा गत वैशाख २५ गते निधन हुनुभएका पूर्वसांसद एवं पूर्वमन्त्री सूर्यमान गुरुङ (ताप्लेजुङ), पूर्वसांसद सैयद मेहराज अहद साह (बाँके) र यही जेठ १ गते निधन हुनुभएका पूर्वसांसद खगेन्द्रराज रेग्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।

प्रस्तावित बजेट कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री पुन

काठमाडौँ, २२ जेठ : अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आव २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको बजेटको कार्यदिशा रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको जिकिर गर्नुभयो । “आगामी आवको खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले मात्र बढी हो । चालु आवको तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री पुनले संविधान, पन्ध्रौँ आवधिक योजनाको समीक्षा, सोह्रौँ योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिका समीक्षा र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिएको स्पष्ट पार्नुभयो । उहाँले भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताबमोजिम थप वैदेशिक लगानी परिचालन हुने र तीन तहकै सरकारबाट पुँजीगत खर्चमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो । “विगतका वर्षभन्दा आगामी आवमा पुँजीगत खर्चमा भएको बढोत्तरीसँगै स्रोत सुनिश्चित गरिएका आयोजनामा आवश्यक रकम विनियोजन गरिएको छ, सिर्जित दायित्व भुक्तानी र सम्पन्न हुने आयोजनाका लागिसमेत आवश्यक रकम विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो । बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट छ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनाका साथै सोह्रौँ आवधिक योजनाले परिलक्षित गरेका उद्देश्यसमेत क्रमशः पूरा हुने उहाँले विश्वास दिलाउनुभयो ।

मन्त्री पुनले आगामी आवको लागि प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी रु छ खर्ब ६७ अर्ब वित्तीय हस्तान्तरण गरिने सुनिश्चितता जनाइएकाले प्रदेश र स्थानीय तहमा जाने रकममा पनि चालु आवभन्दा बढी नै रहेको जानकारी गराउनुभयो ।

उहाँले वैदेशिक सहायतातर्फ चालु आवभन्दा सामान्य वृद्धि गरी पूर्वतयारी अवस्थामा रहेका आयोजना तथा कार्यक्रमका लागि मात्र सहायता रकम प्रस्ताव गरिएको स्पष्ट पार्नुभयो । मन्त्री पुनले चालु आवको विनियोजनभन्दा आगामी आवमा शिक्षा क्षेत्रमा करिब रु छ अर्ब र स्वास्थ्य क्षेत्रमा करिब रु तीन अर्ब बढी बजेट विनियोजन गरेर शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई उच्च महत्व एवं प्राथमिकता दिइएको बताउनुभयो ।

अर्थमन्त्री पुनले पश्चिम रुकुम र जाजरकोट भूकम्पबाट भएका क्षतिको पुनःनिर्माण, उत्पादन तथा रोजगारी कार्यक्रमका साथै मिलिनियम च्यालेञ्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत विद्युत् प्रसारण आयोजनासमेतका लागि अर्थ मन्त्रालयको अर्थ विविध शीर्षकमा केही थप बजेट रहन गएको स्पष्ट पार्नुभयो । “उक्त बजेट अर्थ मन्त्रालयले नै खर्च गर्ने भने होइन”, उहाँले भन्नुभयो ।

जलवायु परिवर्तनलाई उच्च प्राथमिकतामा राखेर जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै मन्त्री पुनले जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलितरूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले कूल ग्रार्हस्थ्य उत्पादनमा कूल सार्वजनिक ऋणको अनुपात ४० प्रतिशतमुनि नै रहेको हुँदा सार्वजनिक ऋणको उपयोग उत्पादनमूलक क्षेत्रमा गर्ने व्यवस्था मिलाइएकाले मुलुकको समृद्धिमा यसले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।“सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रले परिचालन गर्ने लगानीको कारण रोजगारीका थप अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी गर्ने वातावरण निर्माण हुने अपेक्षा बजेटले लिएको छ”, मन्त्री पुनले भन्नुभयो ।

आगामी आवको राजस्व परिचालन एवं अनुमानलाई अझ बढी यथार्थपरक बनाउने प्रयासस्वरूप राजस्व अनुमान चालु आवभन्दा न्यून गरिएको जानकारी दिँदै उहाँले कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन क्रमशः कार्यान्वयन गर्दै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो । “चालु आवको राजस्व सङ्कलनको तुलनामा आगामी आवको राजस्व सङ्कलनको लक्ष्य सन्तुलित नै रहेको छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र चलायमान गराउने, स्पष्ट कार्ययोजनासहित राजस्व सङ्कलन एवं सघन बजार अनुगमन बढाउने र राजस्व चुहावट नियन्त्रण गर्दा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकिन्छ ।”

मन्त्री पुनले सुर्तीजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मकरूपमा समानता कायम गरिएको उल्लेख गर्दै कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर सुरुआत गरिएको बताउनुभयो । करका दरमा समसामयिक बनाउन सामान्यरूपमा परिमार्जन तथा थपघट गरिएको जानकारी दिँदै उहाँले प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाई आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको बताउनुभयो ।

राजस्व परामर्श समितिमा भएको छलफल, विज्ञबाट गरिएको अध्ययनको निष्कर्षका आधारमा निजी विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा केही वृद्धि गरिएको उहाँको स्पष्टोक्ति थियो । “निजी तथा व्यक्तिगत प्रयोजनमा प्रयोग हुने सवारी साधनलाई केन्द्रित गरी भन्सार दरबन्दीमा औचित्यपूर्ण ढङ्गले सामान्य वृद्धि गरिएको छ”, मन्त्री पुनले भन्नुभयो, “ठूला तथा सार्वजनिक सवारी साधनलाई कर वृद्धि गरिएको छैन, यसले आम उपभोक्तालाई थप व्ययभार सिर्जना भएको छैन ।”

राष्ट्रियसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज सकिएको छ । तीन दिनसम्म चलेको छलफलका क्रममा सत्तापक्षका सांसदले बजेट विद्यमान आर्थिक चुनौतीको सम्बोधन गर्ने दिशातर्फ उन्मुख रहेको भनी प्रतिरक्षा गर्नुभयो भने प्रतिपक्षी सांसदले बजेट परम्परागतरूपमा आएकाले स्पष्ट मार्ग समात्न नसकेको धारणा राख्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः१५ मा बस्नेछ ।

प्रधानमन्त्री कप भलिबल : एभरेस्ट क्लब विजयी

काठमाडौँ, २२ जेठ : राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ । एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा एभरेस्टले न्यु डयामन्ड स्पोर्टस् क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो । एभरेस्टले पहिलो सेट २५–२१ अङ्कले, दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–१८ अङ्कले जितेको हो । जितसँगै एभरेस्टले तीन खेलबाट नौ अङ्क जोडेको छ । एभरेस्टले यसअघि कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।

यसैगरी न्यु डायमन्ड तीनवटै खेलमा पराजित भएको छ । यसअघि उसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–२ तथा नेपाल पुलिस क्लबसँग ३–१ सेटमा हार ब्यहोरेको थियो ।

आज सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेशले बूढानीलकण्ठलाई ३–१ सेटमा पराजित ग¥यो । यसैगरी नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई समान ३–० सोझो सेटमा हरायो । आजै भएको पुरुषतर्फको अर्को खेलमा हेल्प नेपालले सशसस्त्र प्रहरी बलको एपिएफ क्लबाई ३–० सेटले पराजित गर्यो ।

टर्कीमा सैन्य विमान दुर्घटनाः दुई जनाको मृत्यु

काठमाडौँ, जेठ २२ गते । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ ।मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।

वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिम/परीक्षणको लागि केसेरीको १२ औं एयर ट्रान्सपोर्टेशन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ । स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो ।

अमेरिकामा ‘कन्सर्ट’ गरी ललितपुरको अनाथ आश्रमलाई सहयोग

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि रु सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं थपलियाले तुलसालयका अध्यक्ष सरु सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरूको लालनपालन र बालबालिकाको शिक्षाका लागि क्यालिफोर्नियास्थित सञ्जालले गत अप्रिलमा नेपाली साङ्गितीक ‘कन्सर्ट’ आयोजना गरी रकम सङ्कलन गरेको थियो ।

कार्यक्रममा सञ्जालकी अध्यक्ष सेढाईंले नेपालमा विभिन्न कारणले बेसहारा बनेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक, सडकमा अलपत्र परेका एवं मानसिक रोग भएकाहरूको उद्धार गरी लालनपालन र समाजमा पुनस्र्थापनाका लागि आश्रमले सहयोग गरेको बताउनुभयो ।

यस्तै, आश्रमकी अध्यक्ष सुवेदीले हाल २५ जना बालबालिका विद्यालय जाने गरेकाले उनीहरुलाई शैक्षिक सामग्रीका साथै मानसिक रोग भएकाहरुको औषधि उपचारमा सहयोग रकमको सदुपयोग गरिने बताउनुभयो । उहाँले सहयोगका लागि संस्थाका तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।आश्रममा हाल ३५ जना बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएकाहरूसमेत गरी ५२ जना आश्रित रहेका छन् ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी, जेठ २२ गते । लुम्बिनी प्रदेश सरकारकोे आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको बैठकमा पेस भएको कार्यक्रमलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेस गर्दा सत्तापक्षका प्रदेशसभा सदस्यको बहुमतमा नीति तथा कार्यक्रम पारित भएको हो ।

यसअघि प्रदेशसभाको आजको बैठकमा सदस्यले छलफलका क्रममा उठाएका विषयमा मुख्यमन्त्री जोखबहादुर महराले जवाफ दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रममा सबै विषय समेट्न नसकिएको र छुटेका महत्वपूर्ण विषयलाई बजेटमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो ।

“प्राप्त सुझावलाई समावेश गर्दै छुटेका महत्वपूर्ण विषय बजेटमा पनि सम्बोधन हुनेछन्”, उहाँले भन्नुभयो, “यो नीति कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजाने गरी नै हामीले प्रस्तुत गरेका छौँ ।” छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका बसिउद्धिन खाले पर्यटनमा प्राथमिकता दिए पनि लुम्बिनीका केही उत्कृष्ट पर्यटकीय क्षेत्रलाई गन्तव्य गराउने गरी नीति कार्यक्रममा समावेश हुन नसकेको बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वमा सुरु भएका केही गौरवका आयोजनालाई पनि नीति कार्यक्रमले छुन नसकेको उहाँको भनाइ थियो ।

“सरकारले योजना आयोग र विभिन्न मन्त्रालयले सिफारिस गरेका अधिकांश योजनासमेत आर्थिक मामिला तथा योजना मन्त्रालयमा गएर थन्किएका छन्, यस्तो नीतिले प्रदेशको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो । त्यस्तै, राप्रपाकी मीनाकुमारी श्रेष्ठले पनि सरकारले प्रदेशसभाका सदस्यलाई नै विभेद गरेको भन्दै नीति तथा कार्यक्रमले त्यसलाई निरन्तरता दिएको आरोप लगाउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सघन वन क्षेत्रको व्यवस्थापन गर्ने भन्ने नीति कार्यक्रममा उल्लेख भए पनि वन ऐन कतै उल्लेख नभए बताउनुभयो ।

उहाँले कृषिलाई बजारीकरण गर्ने ठोस योजना पनि नीति कार्यक्रमले ल्याउन नसकेको बताउनुभयो । सत्तापक्षका प्रदेशसभा सदस्यले भने नीति कार्यक्रम राम्रो भएको र कार्यान्वयन हुने खालको भन्दै त्यही नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । प्रदेशसभा सदस्य डिल्लीराज भुसालले जङ्गली जनावर र बाँदर आतङ्क, बढ्दो बसाइँसराइ रोक्ने गरी सरकारले नीति तथा कार्यक्रम अघि सारेको बताउनुभयो । उहाँले पूर्वाधारका योजना छनोट गर्दा बढी जनघनत्व, न्यून लागत र निर्माणपछिको उपयोगिता बढी हुने गरी अधिकांश कार्यक्रम अघि सारेको बताउनुभयो ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्राप्त सुझावलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलको जितगढी सम्पदास्थलको संरक्षण, सम्वर्द्धन र प्राचीन महत्वको नुवाकोटगढीलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउन जरुरी रहेको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते बस्ने छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढ्दो

चितवन, जेठ २२ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सात वटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन् । तीमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन् । बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बास स्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उहाँले बताउनुभयो । “बाघको सङ्ख्या बढ्दा वासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् ।

चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्”, उहाँले भन्नुभयो । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।

विपद् व्यवस्थापनको टोलीद्वारा मेचीनगरको निचाझोडामा विपद् नमुना अभ्यास

भद्रपुर (झापा), जेठ २२ गते । बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा आज मेचीनगरको निचाझोडा सिमसार क्षेत्रमा विपद् पूर्वको अभ्यासबारे बृहत् प्रदर्शन गरेको हो ।

संयुक्त प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक, जनप्रतिनिधिलगायतको सहभागिता थियो । नेपाली सेनाको अरिदमन गण चारआलिको समन्वयमा सो प्रदर्शन गरिएको हो । बर्खायाममा बाढी तथा डुबानको सम्भावना रहेकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी स्वरुप संयुक्त अभ्यास प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो । उहाँले झापाका सबै स्थानीय तहहरूलाई विपद् व्यवस्थापनको तयारीमा जुट्न आह्वान गर्नुभयो ।

विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् । उक्त प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरूबारे प्रदर्शन मार्फत सहभागीलाई जानकारी गराइएको थियो । जिल्लाका १५ स्थानीय तहमध्ये छ वटा बाढीको उच्च जोखिममा, पाँच वटा मध्यम जोखिममा छन् भने चार स्थानीय तहमात्र बाढीको कम जोखिममा छन् ।

प्रधानमन्त्री दाहाल पोखरामा

कास्की, जेठ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउनुभएको छ । उहाँ केहीबेर अघि यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र) का सचिव एवम् पार्टीको गण्डकी प्रदेश इञ्चार्ज दिनानाथ शर्मा, सहइञ्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, यहाँस्थित सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गर्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि यहाँ आउनुभएको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

गणतन्त्रपछि भौतिक पूर्वाधारले फड्को मारेको छ : सभापति राई

काठमाडौँ, जेठ २२ गते । राष्ट्रियसभाको विधान व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले गणतन्त्रप्राप्तिपछि मुलुकको भौतिक पूर्वाधार विकासले फड्को मारेको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकन पश्चात उहाँले गणतन्त्रपछिको उपलब्धिलाई तस्बिर प्रदर्शनीले चित्रण गरेको उल्लेख गर्नुभयो । “गणतन्त्रपछि भौतिक पूर्वाधारको विकास तीव्र रुपमा भएको छ, प्राविधिक रुपमा मलुकले फड्को मारेको छ भन्ने तस्बिरले चित्रित गरेको छ”, सभापति राईले भन्नुभयो, “आर्थिक, सामाजिक, मानवीय विकासलाई अझ गति दिन जरुरी छ ।”

उहाँले प्रर्दशित तस्बिरले मुलुकको विकासको चित्र प्रस्तुत गरेको र यसले राजनीतिकर्मी र जनप्रतिनिधिलाई देशको चित्र कस्तो निर्माण बनाउने हो भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रप्राप्तिपछि केही पनि नभएको भन्न मिल्दैन, संविधान जारीभएपछि सबैथोक भएको भन्न पनि मिल्दैन ।” सांसद राजेन्द्रलक्ष्मी गैरेले गणतन्त्रपछि देशको विकास तीव्र गतिमा भइरहेको धारणा राख्नुभयो । राससको तस्बिर प्रदर्शनीले विगतका उपलब्धि र आगामी दिनमा कसरी जानुपर्छ भन्ने सन्देश दिएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा देशको विकासले गति लिएको छ । देश सुरुङमार्गमा प्रवेश गरिसकेको छ । सडक पूर्वाधारले फड्को मारेको छ । केही भएको छ भन्ने सन्देश तस्बिरले बोलेको छ ।” सांसद गोमादेवी तिमिल्सिनाले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउँदै जनताको विश्वास र भरोसा अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक अस्थिरता मुलुकको विकासका लागि घातक छः मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), २२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन् ।गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डले नेपालमा लामो सयमदेखि भइरहेको राजनीतिक अस्थितरताले जनचाहनानुसार काम गर्न नसकिएको र यसले दलहरूप्रतिको विश्वसनीयता नै कम हुन थालेको बताए । “राजनीतिक अस्थिरताले सरकार बदलिरहेका छन्, जसले जनचाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको छ । प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको छ”, उनले भने, “प्रदेश सरकारप्रतिको नागरिक धारणालाई सकारात्मक बनाउन सबैले सामाजिक सेवाभावले काम गर्न आवश्यक छ, त्यसमा पनि स्वास्थ्य संस्थामा कार्यरत स्वाथ्यकर्मीको भूमिका अझ बढी छ ।”

गण्डकी प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नहुने नीतिसहित शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै बताए । ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीका लागि केही सहुलियत दरमा उपचार गर्न योजना अगाडि ल्याउन लागिएको पनि उनको भनाइ थियो । “सङ्घ सरकारले न्यून बजेट दिएकाले चाहेअनुसार जनताको काम गर्न सकिएको छैन, छुट्याएको बजेटसमेत घटाएर पठाउन थालिएको छ”, मुख्यमन्त्री पाण्डेले भने,“प्रदेशभित्रका विपन्न वर्गको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसकेमा सहलगानीकर्ताको खोजी गर्दै सेवा दिनुपर्छ भन्ने हाम्रो जोड छ ।” स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकेमा स्वास्थ्य क्षेत्रका केही समस्या समाधान हुने उनको भनाइ छ ।

कार्यक्रममा सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका ऊर्जा तथा जलस्रोतमन्त्री विन्दुकुमार थापाले प्रदेशका स्वास्थ्य समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नसपर्ने बताए । उनले प्रदेश सरकारले यहाँका सबै जिल्लामा रहेका स्वास्थ्य संस्थाको विकास र सेवा प्रवाह सुधारका लागि काम गरिरहेको समेत बताए ।

गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोदविन्दु शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दिगो विकास लक्ष्य हासिल गर्न प्राप्त उपलब्धिबारे प्रकाश पारेका थिए ।

विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएका स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले भोगको समस्याका साथै पछिल्ला समयमा भएका उपलब्धि, स्वास्थ्य बीमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग

खोटाङ, २२ जेठः वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।

मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको जनाइएको छ ।

धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

पोखरालाई हरित सहरका रूपमा विकास गरिँदै

पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ ।

वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको थियो । अध्ययन प्रतिवेदनमा महानगर क्षेत्रमा दुई लाख २६ हजार दुई सय ६१ बिरुवा रोप्न सकिने उल्लेख छ । जसअन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार चार सय ९० र सडक, नदी तथा खोला किनारमा एक लाख ५२ हजार सात सय ७१ वटा बिरुवा लगाउन सकिने कार्यदलका संयोजक डा भण्डारीले बताउनुभयो ।

प्रतिवेदनमा महानगर क्षेत्रको सात सय किमी सडक तथा राजमार्ग, झण्डै ६९ किमी नदी तथा खोला किनार, २९ सार्वजनिकस्थलको एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवा लगाइने छ । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तरनिकाय समन्वयको अभाव र मौजुदा व्यवस्था कार्यान्वयनको कमजोर अवस्थालगायत चुनौती रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागजपाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातोपाते, सिना एक्साटाविलीस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत बिरुवा लगाइने छ ।

रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाइ, सौन्दर्य बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगरभित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हुरीबतासबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षरोपण गरिने बिरुवाका प्रजाति छनोट गरिएको कार्यदलले बताएको छ ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित स्थानको पहिचान गरिएको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिबद्धतासमेत भएको बताउनुभयो ।

प्रतिवेदनले पोखरालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न ‘माइलस्टोन’का रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूहरू यसको कार्यान्वयनका लागि तत्काल काम थाल्ने उहाँले प्रतिबद्धता जाहेर र्गुभयो । नगर प्रमुख आचार्यको पहलमा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न, सम्भावित वृक्षरोपणस्थल पहिचान गर्न, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न, उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षरोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले अध्ययन टोली गठन गरिएको थियो ।

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान सुरु

टीकापुर । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको छ । पालिकाले १० दिनसम्म हरेक वडामा बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन थालेको छ । पालिकाले शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सकको सेवा, ल्याब परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरेको छ । यसका साथै क्षयरोग परीक्षण, आँखाको उपचार दिन थालिएको छ ।

शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।

‘नगर प्रमुख जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिको घरदैलोसम्म उपचार सेवा पुर्‍याउने लक्ष्य लिइएको छ’, उनले भने, ‘पहिलो दिन आइतबार ३०१ जनाको उपचार गरिएको छ । वडा नं.२ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नसा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन् ।

थारु समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि ल्याब सुविधा गाउँ गाउँमा लगिएको र शङ्का लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै क्षयरोगीको खोज पड्तालका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ । पालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ ।

स्वास्थ्य उपचार सेवा लिएको रामेश्वर चौधरीले खुसी लागेको बताए । ‘आँखा, कान तथा नसासम्बन्धी समस्या थियो’, उनले भने, ‘राम्ररी हिँड्न सक्दिन, नातिले लिएर आएको हो । एकै ठाउँमा सबै उपचार पाए । नगरपालिकाले राम्रो सेवा दियो ।’

स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले पालिकाले गाउँगाउँमा सेवा दिन थालेको नगरप्रमुख रामलाल डगौरा थारुले बताए। ‘हामीले नागरिकको उपचार सहजताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ, त्यहाँसम्म पनि जान नसक्ने र चिकित्सकको सेवा सहज पाउन भनी यो अभियान सुरु भएको हो’, उनले भने, ‘एकै ठाउँमा धेरै खाले उपचारका लागि एकीकृत सेवा दिन थालेका हौँ ।’

वडा नं.२ का वडाध्यक्ष दीपक चौधरीले शिविरमा विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गगता भएकालाई सहज हुने बताए । स्वास्थ्य शिविरमा टीकापुर अस्पताल, साथी अस्पतालका डाक्टर, पालिकाका स्वास्थ्यकर्मी, आँखा परीक्षणका लागि श्री कृष्ण आँखा अस्पतालका डाक्टरले उपचार सेवा दिनेछन् ।

म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी । पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी-दरवाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्ट्रेस प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयलाई गाउँपालिका केन्द्र मुना जान आउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।

‘पहुँचमार्ग निर्माणलाई पूर्णता दिन बाँकी रहेको पुलमा सवारीसाधन आवतजावत गर्न थालेका छन्’, उनले भने ‘यो पुलले धवलागिरिको ५, ६ नं वडामा पर्ने मराङ र मल्कबाङवासीलाई घुमाउरो सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र मुना जानुपर्ने बाध्यता हटेको छ ।’

मराङका बासिन्दा हाल मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार हुँदै मुना जाने घुमाउरो सडक प्रयोग गर्छन् । पुलले मालिका गाउँपालिका–७ का बिमवासीलाई पनि ताकम, मुनालगायतका बस्तीमा आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिएको छ ।

म्याग्दीखोलामा पुल बनेसँगै पुलबाट ताकम गाउँसम्मको सडक स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने जनाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार सो पुल निर्माणका लागि विसं २०७६ साउन ८ गते देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड ९६ लाख ४३ हजार तीन सय ५३ मा ठेक्का सम्झौता भएको थियो ।

पुलको सबै संरचना निर्माण सम्पन्न भई पहुचमार्गको निर्माण थालिएको र जेठभित्रमा पूर्ण रूपमा यातायात सञ्चालन गर्न मिल्ने उनले बताए । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारीका कारण पुल निर्माणमा ढिला भए पनि दोस्रो पटक थपिएको म्याद २०८१ असार मसान्तभित्र पुल निर्माण सम्पन्न भएको बताए ।

बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ को शिवरात्रि खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का आह्वान गरेको छ ।

सङ्घीय र प्रदेश सरकारको साझेदारीमा सोही सडक स्तरोन्नति गर्न आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी रु ९२ करोडको योजनाका लागि बजेट व्यवस्थापन भएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिए। उनका अनुसार दरवाङ–धारापानी खण्डको छ किलोमिटर ग्राभेल र धारापानी–शिवाङ खण्डको चार किलोमिटर कालोपत्र गर्न यस वर्ष ठेक्का सम्झौताको तयारी भएको छ ।

झापा बाढीको उच्च जोखिममा रहेकाले व्यवस्थापनको तयारी तीव्रगतिमा

झापा, २२ जेठः जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् ।

यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्यचौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिले विपद् प्रतिकार्य योजना नै बनाएर अघि बढेको छ । जनधनको क्षति हुन नदिन सबै प्रकारका उपाय अलवम्बनको तयारी छ ।” प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ । जिल्लामा धेरै प्रकारका विपद् भएता पनि प्राथमिकीकरणका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप भएकाले यसबाट जनधनको क्षतिलाई न्यूनीकरणका लागि स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले जिल्लाका मेची, निन्दा, रतुवा, मावा, कनकाई, विरिङलगायत दर्जनौँ नदीबाट हुनसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यू हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो ।

बाढीका कारण जिल्लामा प्रत्येक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्याङ्कअनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । विसं २०७३ देखि २०७९ सम्ममा ६० जनाको मृत्यु र छजना बेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले सोमबार औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । उनीहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाका बारेमा जानकारी लिएका छन् ।

विभागका महानिर्देशक नारायण ढकालले जनशक्ति तथा आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम गर्न नसकिएको बताए । विभागले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुहुँदै मन्त्री यादवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी आज नै स्वास्थ्यमन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर अस्पतालको जग्गाको अवलोकन गर्दै स्थानीयसँग छलफल गरे ।

अवलोकनका क्रममा मन्त्री यादवले विस्तारित अस्पतालको स्वीकृत निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिए । त्यस्तै त्यहाँ हाल सञ्चालनमा रहेको आधारभूत क्लिनिकमा पनि अन्य आवश्यक सुविधा थप्दै सेवाको गुणस्तरलाई बढाउँदै निर्देशनसमेत दिए ।

श्रीलङ्काद्वारा लामखुट्टे प्रजनन स्थल भएका प्रतिष्ठानविरुद्ध कानूनी कारबाही

कोलम्बो। श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले मे २६ देखि जुन १ सम्म आयोजित राष्ट्रिय लामखुट्टे नियन्त्रण सप्ताहको अवधिमा लामखुट्टे प्रजनन स्थल पत्ता लागेका नौ सय ८१ प्रतिष्ठानविरुद्ध कानुनी कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी एकाइले जनाएको छ ।

एकाइले मे २६ देखि जुन १ गतेसम्म आफ्ना कर्मचारीले ९३ हजार आठ सय ७४ परिसरको निरीक्षण गरेको जनाएको छ ।

एकाइले नौ सय ८१ प्रतिष्ठानका सञ्चालकविरुद्ध कानूनी कारबाही गरिने भन्दै तीन हजार एक सय २१ परिसरलाई चेतावनी दिएको छ । इपिडिमियोलोजी युनिटले जुन ३ सम्म श्रीलङ्कामा करिब २५ हजार जनामा डेङ्गु देखिएको जनाएको छ ।

काठमाडौँ महानगरपालिकाद्धारा असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित गरेको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।

कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ । यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए ।

उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए ।

यसरी लिन सकिन्छ निशुल्क उपचार सेवा
सरकार-प्रदेश सरकार-स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात÷परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र÷नेपाली नागरिकता प्रमाणपत्र÷जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ । बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।

अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो ।

अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्दै किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको बताए । “धेरैले बडाकाजी थापाको अनुहारसँग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका छन् ।” उनले भने, “एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौँ ।”

अङ्ग्रेजहरुसँगको लडाइ लड्न तयार भएको किल्लामा अमरसिंहको सेनाको फौज लामो समयसम्म बसेको इतिहासकार बताउँछन् । अमरगढी किल्ला , अजयमेरुकोट लगाएतका धार्मिक क्षेत्रपनि यस जिल्ल्लामा अवस्थित छन् । अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ । नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल विसं १८४७ मा नेपाल एकीकरण शिलशिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास जानकार बताउँछन् ।

युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८औँ शताब्दीमा गरेको बताइन्छ ।

विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । विसं २०५८ मा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनःनेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडूलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दैनिक किल्ला अवलोकनका लागि बाह्य र आन्तरिक पर्यटक आउने गर्दछन् । सो अवसरमा परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी, सहायकरथी मनोज थापा, डडेल्धुरा अमरगढी नगरपालिकाका पूर्वप्रमुख मोहनराज पाठक, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजकर्मी, सञ्चारकर्मीलगायत उपस्थिति रहेको थियो । किल्लामा नेपाली सेनाको सहयोगमा ढुङ्गा छाप्ने काम पनि सम्पन्न भएको छ ।

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ हुने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज छिचोलिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ ।

आयोजनाको ७० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री दाहालले अरुण तेस्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावरहाउससम्म ११ दशमलव ८३७ किलोमिटर छ ।

आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख छ ।

पिडिएअनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिइनेछ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत नौ सय ८० करोड र पहिलो उत्पादन वर्ष सकिएपछि दोस्रो उत्पादन वर्षको अन्त्यमा बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्ने जनाइएको छ ।

विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा नेपाली र भारतीयसहित चार हजार कामदार कार्यरत छन् ।

भवन र जनशक्ति अभावमा मनाङको जिल्ला अस्पताल

विसं २०४६ फागुन १९ मा निर्मित जिल्ला अस्पतालको भवन जीर्ण भइसकेको छ । नयाँ भवन निर्माण भएको छैन । मनाङ पर्यटकीय जिल्ला भएकाले पर्यटकलाई लेक (हाइअल्टिच्यूड) लाग्ने समस्याले बिरामीहरु जिल्ला अस्पतालमा उपचारका लागि आउँछन् । तर भनेजस्तो उपचार सेवा नपाउँदा समस्या हुनेगर्छ ।

अस्पताल भवन जीर्ण हुँदा बिरामीलाई आरामसँग राखेर उपचार गराउने ठाउँको अभाव छ । सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन् । नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ । पटक–पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन ।

रु १४ करोडमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो । १५ शैय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले भवन निर्माण गर्न प्रदेश सरकारले चार वर्षमा तीन पटक म्याद थप गरिसकेको छ ।
ओम बुद्ध÷बुद्ध जेवी कम्पनीका ठेकेदार अनिल घिमिरेले आर्थिक रूपमा ८० र भौतिक रूपमा ९८ प्रतिशत काम सम्पन्न गरेको बताए । उनले रङरोगन तथा टायल बिच्छ्याउने काम भइरहेको जानकारी दिए ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले विसं २०७५ देखि गण्डकी प्रदेशअन्तर्गत सञ्चालन हुँदै आएको अस्पतालबारे भर्खरै मात्र प्रदेशमा समस्याबारे जानकारी गराएको बताए । अध्यक्ष घलेले भौतिक रूपमा कार्य प्रगति मूल्याङ्कन गरेर यही असार मसान्तसम्ममा नयाँ भवनबाट अस्पतालले सेवा दिनेमा आफू विश्वस्त रहेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा भारती मेहताले मुख्य ठेकेदार र स्थानीय (पेटी) ठेकेदार बीचमा आन्तरिक कुरा नमिल्दा अस्पताल भवन निर्माणले तीव्रता पाउन नसकेको बताए । उनले भने, “भवन मात्रै भएर के गर्नु, दुर्गममा दरबन्दी अनुसार दक्ष जनशक्ति हुनुपर्यो त्यो छैन ।” जिल्ला अस्पतालमा १८ जनाको स्थायी दरबन्दी छ । तर, हाल सो अस्पतालमा पाँच जना मात्र कार्यरत छन् । १३ जनाको दरबन्दी रिक्त छ ।

डा भारतीका अनुसार दरबन्दी अनुसारको दक्ष जनशक्ति नुहँदा दुई ‘सिफ्ट’मा काम गर्ने अवस्था छैन । दुर्गममा कर्मचारी आउनै नमान्ने भएकाले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको उहाँको गुनासो छ ।

डा भारतीले भने, “अन्य अस्पतालको वार्षिक आम्दानी पाँच करोडभन्दा बढी हुन्छ । हाम्रोमा रु २० को टिकटले मुस्किलले वर्षमा दुई लाख उठ्छ । कसरी कर्मचारीलाई भत्ता व्यवस्थापन गर्ने रु जिल्लाभरि नै सशुल्क फार्मेसी छैन । सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधीबाट जिल्ला अस्पताल चलाउनु परेको छ ।”

पदयात्राको प्रवेशद्वार मानिने चामेमा अवस्थित अस्पतालले विदेशी तथा स्वदेशी पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक वर्ष लेक लागेर अकालमा हुने मृत्यु दर घटाउन अस्पतालले सेवा दिइरहेको छ ।

गाजाको आधाभन्दा धेरै संरचना ध्वस्त वा क्षतिग्रस्त

जेनेभा। संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावितरूपमा क्षतिग्रस्त भएका छन् ।

राष्ट्रसङ्घीय स्याटेलाइट विश्लेषण एजेन्सी युएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ ।
उक्त अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्बिरमा आधारित छ । यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठिक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्बिरसँग गरिएको छ । हमासले गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो ।

पछिल्लो स्याटेलाइट तस्बिरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्बिरहरूसँग पनि गरिएको थियो । “स्याटेलाइट इमेजरी विश्लेषअनुसार युएनओएसएटीले ३६ हजार पाँच सय ९१ ध्वस्त संरचनाहरूको पहिचान गरेको छ”, एजेन्सीले विज्ञप्तिमा भनेको छ ।

यसका साथै १६ हजार पाँच सय १३ गम्भीररूपमा ध्वस्त संरचना, ४७ हजार तीन सय ६८ सामान्यरूपमा क्षतिग्रस्त संरचना र कूल एक लाख ३७ हजार दुई सय ९७ संरचनामा ३६ हजार आठ सय २५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो गाजा पट्टीमा कूल संरचनाको करिब ५५ प्रतिशत र कूल एक लाख ३५ हजार एक सय ४२ अनुमानित क्षतिग्रस्त आवास एकाइअनुरूप हो ।”

केन्द्रमा दिर अल–बलाह र उत्तरमा गाजाको गभर्नरेटमा अप्रिल १ देखि मे ३ को बीचमा धेरै नोक्सान भएको स्याटेलाइट तस्बिरबाट थाहा भएको युएनओएसएटीले भनेको छ ।

उक्त मितिमा स्याटेलाइट तस्बिरहरूको तुलना गर्दा दिर अल–बलाहमा थप दुई हजार छ सय १३ संरचना क्षतिग्रस्त भएको र मात्र एक महिनामा गाजा गभर्नरेटमा थप दुई हजार तीन सय ६८ संरचना ध्वस्त भएको थियो ।एजेन्सीले निष्कर्ष प्रारम्भिक विश्लेषणको भाग भएको र यसलाई अझै पनि फिल्डमा मान्य हुन बाँकी रहेको जनाएको छ ।

सैनिक परिवारलाई सम्मान गर्दै पाँचखालमा मनाइयो संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस

काठमाडौँ । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सोमबार राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाएको छ । नेपाली शान्ति सैनिकले विश्वशान्तिमा पुर्याएको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गरी उक्त दिवस मनाएको हो ।

विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष मे २९ मा शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएकामा यसवर्ष सोमबार मनाएको हो । यस वर्षको दिवसको नारा ‘भविष्यको लागि फिट, सँगै राम्रो निर्माण’ भन्ने रहेको थियो ।

कार्यक्रममा विश्वशान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने सैनिक परिवारलाई राष्ट्रसङ्घले मरणोपरान्त प्रदान गरिएको ‘ड्याग ह्यामर सोल्ड’ पदक र प्रधानसेनापति प्रभुराम शर्माद्वारा प्रदान गरिएको प्रशंसापत्र हस्तान्तरण गरियो ।

सेनाको युद्धकार्य विभाग प्रमुख उपरथी प्रेमध्वज अधिकारीले वीरगति प्राप्त जमदार थिरप्रसाद गौतम, प्युठ दीपेन्द्र वस्ती, अमल्दार स्वर्गीय अनिल गुरुङ र हुद्दा पशुपति कार्कीका परिवारजनलाई उक्त पदक तथा प्रशंसापत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा गत वर्ष शान्ति सैनिकको रूपमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ अतुलनीय योगदान पु(याएका सह–सेनानी रुकेश नेपाली, सुबेदार नवराज गिरी र हुद्दा भुवन भुजेललाई प्रधानसेनापतिद्वारा प्रदान गरिएको कदरपत्र हस्तान्तरण गरिएको छ ।

लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षण समूहको मिसनमा पाँच जना नेपाली सैनिक पर्यवेक्षकको सहभागिता जनाउँदै सन् १९५८ बाट सुरुवात भएको विश्व शान्ति कार्यमा नेपाली सेनाको योगदान साठी वर्ष भन्दा पुरानो छ ।

हालसम्म विश्वका विभिन्न ४४ मिसनमा नेपाली सेनाका एक लाख ५१ हजार चार सय ९१ जना शान्ति सैनिकले विश्व शान्ति स्थापनार्थ विशिष्ट योगदान दिइसकेका छन् । सो क्रममा ७३ जनाले वीरगति प्राप्त गरेको निर्देशनालयले जनाएको छ ।

हाल पाँच हजार आठ सय ८३ जना नेपाली शान्ति सैनिक विश्वका विभिन्न ११ वटा शान्ति मिसनमा तैनाथ छन् । अहिले विश्वमा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा र महिला शान्ति सैनिक खटाउने राष्ट्रमा नेपाल पहिलो स्थानमा छ ।

शान्ति मिसनमा छ सय ६१ जना नेपाली महिला शान्ति सैनिक छन् । हालसम्म दुई हजार छ सय ९४ जना नेपाली महिला शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा योगदान दिइसकेको सेनाले जनाएको छ ।