`

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि : आइइए

पेरिस । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आधा ट्रिलियन डलर हुने विश्वको शीर्ष ऊर्जा अनुसन्धान निकायले बिहीबार बताएको छ ।अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले यस वर्ष स्वच्छ ऊर्जामा विश्वव्यापी लगानी दुई ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ जुन जीवाश्म इन्धनमा खर्चिने रकमको दोब्बर हो ।

नवीकरणीय ऊर्जा र ग्रिडमा भएको संयुक्त लगानीले सन् २०२३ मा पहिलोपटक जीवाश्म इन्धनमा हुने खर्चलाई कम गरेको थियो ।“स्वच्छ ऊर्जा लगानीले चुनौतिपूर्ण आर्थिक अवस्थामा पनि नयाँ कीर्तिमान स्थापित गरिरहेको छ“, आइइएका कार्यकारी निर्देशक फातेह बिरोलले आफ्नो वार्षिक विश्व ऊर्जा लगानी प्रतिवेदनको साथमा एक विज्ञप्तिमा भन्नुभयो ।

कम्पनी र सरकारहरूले विश्वव्यापीरूपमा घातक जलवायु परिवर्तनलाई उत्प्रेरित गर्ने जीवाश्म ईन्धनबाट उत्सर्जन हुने कार्बन घटाउन स्वच्छ ऊर्जा उत्पादनमा आफ्नो लगानी बढाइरहेका छन् ।आपूर्तिमा सहजता र कम लागतले तथाकथित स्वच्छ ऊर्जाजस्तै सोलर प्यानल, विन्ड टर्बाइन, विद्युतीय कार र हिट पम्प, साथै आणविक उर्जा उत्पादनमा लगानी बढी रहेको छ ।जीवाश्म–ईन्धन उर्जाको तुलनामा बिजुली उत्पादनका लागि नवीकरणीय र आणविकमा संयुक्त लगानी दश गुणाले बढ्ने भएको छ जसमा चीनले सबैभन्दा ठूलो हिस्सा लगानी गरेको छ ।

हाल सौर्य पिभी (फोटोभोल्टिक प्यानल) मा अन्य सबै बिजुली उत्पादनको संयुक्त प्रविधिहभन्दा बढी पैसा खर्च भइरहेको आइइएको प्रतिवेदनमा जनाइएको छ ।विगत दुई वर्षमा ३० प्रतिशतले सोलर प्यानलको रकम घटेको छ भने सन् २०२४ मा मोड्युलको घट्दो मूल्यले नयाँ लगानीलाई प्रोत्साहित गर्दा सोलर पिभीमा लगानी ५०० अर्ब डलर बढ्ने देखिन्छ ।

सन् २०२३ को वृद्धिको तुलनामा सन् २०२४ मा विश्वव्यापी अपस्ट्रीम तेल र ग्याँसमा सात प्रतिशतले लगानी बढेर ५७० अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।आइइएले ऊर्जा लगानी प्रवाहमा असञ्तुलन र कमीहरूका कारण स्वच्छ ऊर्जा परियोजनाहरू विश्वका धेरै भागहरूमा निषेधात्मक रूपमा महँगो भएको चेतावनी दियो ।

उदीयमान र विकासोन्मुख अर्थतन्त्र भएका देशहरुले लगानी गरेको तीन सय अर्ब डलर यी देशहरूको बढ्दो ऊर्जाको माग पूरा गर्न आवश्यक भन्दा धेरै कम रहेको आइइएले जनाएको छ ।
आईईएले हानिकारक कार्बन उत्सर्जन घटाउनका लागि मध्यम अवधिको विश्वव्यापी लक्ष्यहरू पूरा गर्न सन् २०३० सम्म विश्वव्यापी रूपमा नवीकरणीय उर्जामा लगानी दोब्बर बनाउन आवश्यक पर्ने बताएको छ ।

सगरमाथा आरोही डिजे तेञ्जिङ शेर्पालाई विभिन्न सङ्घसंस्थाको सम्मान

काठमाडौँ, २५ जेठः सगरमाथाको सफल आरोहण गरेको उपलक्ष्यमा शेर्पा विद्यार्थी सङ्घ, हिमालयन शेर्पा कल्चर र थोलेदेम्बा शेर्पा किदुकलगायतका सङ्घसंस्थाले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेका हुन्।

डिजे शेर्पाले गत मे २१ मा सगरमाथाको सफल आरोहण गरेका थिए। साथै गत मे १७ मा छ हजार चार सय मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा ‘डिजे पार्टी’ आयोजना गरी सबैभन्दा उचाइमा भएको डिजे कन्सर्टका लागि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि प्रयास पनि गरेका थिए।

गत मार्चको अन्त्यमा उनले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गरेका थिए । अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि त्यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको डिजे तेञ्जिङले जानकारी दिए।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डिजे तेञ्जिङले त्यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरे । मन्त्री तामाङले डिजे तेञ्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उहाँको प्रयासमा सरकारको समर्थन जनाएका थिए।

सोलुखुम्बुका बासिन्दा तेञ्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका छन्।

‘गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसक्यो’

बागलुङ- ‘गाउँमा हुर्के बढेका नानीबाबुहरू देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बुढाबूढीले भरिएको छ,’ जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पोखिन् ।

उनका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिँदै गएको ट । सिङ्गो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन् । बालबालिका त छैनन् भन्दा पनि हुने अवस्था छ । बसाइँसराइ बढ्दै जाँदा पुराना घर खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाझिने क्रम बढेको छ ।

जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उनको भनाइ छ । ‘मौलाछमा अहिले बूढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्,’ शर्माले भनिन्, ‘यहाँका मानिसहरू चितवन, पोखरा, काठमाडौँ र बुटवलमा बसाइँ सर्ने गरेका छन् ।’ बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीविहीनको अवस्थामा पुगेको छ ।

स्थानीय हीरा पौडेलले भनिन्, ‘बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरैमाथिको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, सबै पढ्न र जागिरको खोजीमा गाउँ टाढेपछि अहिले सुनसान भएको छ ।’ उनका अनुसार गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसकेको छ ।

बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ ।

मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो । अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर र कागती खेती कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।

‘बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ,’ शर्माले भने । गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ । नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ ।

शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला

भरतपुर – भरतपुर महानगरपालिका– २३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यताको अन्त्य भएको छ । उनीहरु आफैँ शृङ्गारका सामान बनाउन सक्षम भएका छन् ।

वडा कार्यालयले उनीहरुका लागि एक महिनाको तालिम प्रदान गरेपछि विवाहमा दुलहा र दुलहीका लागि चाहिने सबै सामग्री आफैँ तयार गर्न सक्ने भएका हुन् । भरतपुर २३ जगतपुरकी जुना बुर्लाकोटीले बिहेका लागि आवश्यक सबै शृङ्गारका सामग्री आफैँ तयार गर्न सक्ने भएको बताए ।

“शृङ्गारका सामग्रीमा ठूलो रकम खर्च हुन्छ । मेकअप गर्दा त थुप्रै पैैसा लिन्छन्”, उनले भने, “यति जानेपछि आफ्नो बिहेमा बजार जानुपर्दैन ।”

सोही वडा घैलाघारीकी अप्सरा तामाङ श्रेष्ठले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताए । “हामीले घुम्टो, क्राउन, बेल्ट, ब्याग (झोला), माला, चुरा, चप्पल, जुत्तालगायतका सामग्री बनाउन २५ दिनमा सिकेका छौँ”, उनले भने, “अब विवाह भयो भने महिला दिदीबहिनी बजार जान पर्दैन सबै सामग्री उत्पादन गर्न सक्छौँ ।”

वडा कार्यालयले भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा उनीहरुलाई तालिम प्रदान गरेको हो । बिहेमा दुलहा र दुलहीलाई आवश्यक पर्ने शिरदेखि पाउसम्मका सामग्री बनाउन सिकाएको प्रशिक्षक प्रतिज्ञा पौडेलले जानकारी दिए ।

यहाँका ३६ जना महिलाले तालिम लिएका छन् । तालिमबाट महिलालाई उद्यमशील बनाउने प्रयत्न गरिएको वडाध्यक्ष दीपक दवाडीले बताए। “महिलाहरु शृङ्गारसँग जोडिएका धेरै वस्तु प्रयोग गर्न सक्छन् । बेहुली सिङ्गारेको मात्रै २५ हजार रुपैयाँसम्म लिएको पाइन्छ,” उनले भने, “त्यो पैसा वडामै राखौँ भन्ने उद्देश्यले गाउँमा उद्यमशिलता तालिम प्रदान गरेका हौँ ।”

युवायुवतीलाई लक्षित गर्दै वडाले सेनिटरी प्याड बनाउने तालिम, च्याउखेती, केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामग्री बनाउनेलगायतका तालिम प्रदान गर्दै आएको वडाध्यक्ष दवाडीले बताए ।

“हामीले रु २१ लाख बजेट सीपमूलक तालिमका लागि छुट्याएका थियौँ । प्रत्येक टोलमा विभिन्न तालिम प्रदान गरेका छौँ”, उनले भने, “प्रत्येक टोलका दुईरदुईजनालाई समेटेर तीन लाखमा शृङ्गारसम्बन्धी हस्तकला सामग्री बनाउने तालिम प्रदान गरेका हौँ ।”

तालचोक–बेगनास सडक निर्माणमा ढिलासुस्ती

गण्डकी – विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने चार लेन सडकको हालसम्मको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडक आयोजनाले गति लिन नसकेको हो ।

पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम सुरु गरेको जानकारी दिए। “निर्माण कम्पनीले प्रतिबद्धताअनुसार कामलाई गति दिन सकेका छैन”, उनले भने, “समयमा काम सक्न ताकेता गरिरहेका छौँ ।”

विश्व बैङ्कको आर्थिक सहयोगमा तीन दशमलव २८ किलोमिटरको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो ।

रु एक अर्ब ४९ करोड लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, सडक बत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताए ।

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी र यात्रुलाई धूलो र हिलोको सास्ती खेप्न बाध्य भएको पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए । “अब बर्खा सुरु भयो, सडकमा हिँडिसाध्ये हुँदैन, निर्माण कम्पनीलाई समयमै काम सक्न सम्बद्ध पक्षले दबाब बढाउनुपर्छ”, उनले भने, “अहिलेकै गतिले काम भएमा आउँदो वर्ष पनि सडक निर्माण हुने छाँटकाट देखिन्न ।”

केही दिनअघि निर्माण कम्पनीका मुख्य प्रतिनिधि आफैँ आएर कामलाई गतिदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताए । निर्माण कम्पनीको आन्तरिक स्रोत र जनशक्ति परिचालनमा समस्या देखिएको उनको भनाइ छ । “अहिले कामदार र उपकरण केही थपेर काम गरिरहेको देखिन्छ”, वडाध्यक्ष गुरुङले भने, “आयोजनामा बजेटको कुनै समस्या छैन, निर्माण कम्पनीकै कारण काम ढिलो भएको हो ।”

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई अगाडि बढाइएको हो । वडाध्यक्ष गुरुङले चार लेनको सडक निर्माणपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फर्नेमा विश्वास व्यक्त गरे ।

तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उनको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताए ।

“चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ”, पाण्डेले भने, “सडक निर्माणमा ढिलासुस्ती हुन दिनहुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ ।” निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उनले बताए ।

अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगर सबै अस्पताललाई आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ ।महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नै औषधि पसल नभएको पाइएपछि सबै अस्पताललाई १५ दिनभित्र अनिवार्यरुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिए ।

उनले भने, , “महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।”

अस्पतालले अनिवार्यरुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

शिक्षामन्त्रीसँग उच्चस्तरीय शिक्षा आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ कार्यान्वयनका विषयमा तत्कालीन आयोगका पदाधिकारीसँग आज छलफल गरेको छ । मन्त्रालयमा भएको कार्यक्रममा पूर्वशिक्षामन्त्रीद्वय गिरिराजमणि पोख्रेल र डा गङ्गालाल तुलाधर, पूर्वशिक्षा सचिव खगराज बरालसहित आयोगका अधिकांश सदस्य उपस्थित हुनुहुन्थ्यो । नेपाल सरकारको निर्णयले २०७५ असार ३२ गते २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गरेपछि आयोगले विभिन्न विषयगत समिति बनाएर अध्ययन गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई पत्रसहित प्रतिवेदन दिनुभएकाले समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने बताउनुभयो । छलफलमा पूर्वशिक्षामन्त्री तुलाधरले मेहनत गरेर बनाएको प्रतिवेदन हराइसकेकाले सार्वजनिक हुने आशा मारे पनि अब कार्यान्वयनमा जाने आशा रहेको बताउनुभयो । “यो प्रतिवेदनले सपना देखाउँछ । संविधानको परिकल्पना र संरचना सुहाउँदो शिक्षाका लागि यो प्रतिवेदन बनाएका थियौँ”, उहाँले भन्नुभयो ।

पूर्वशिक्षामन्त्री पोख्रेलले शिक्षा आयोगको प्रतिवेदनबारे सरकारसँग कुरा गर्दागर्दै थाकिसकेको तर अब सार्वजनिक हुने र कार्यान्वयनमा जानेमा आशा पलाएको बताउनुभयो । “म मन्त्री हुँदा यही आयोगको प्रतिवेदनअनुसार काम गरेको थिएँ । तर विविध कारणले सार्वजनिक गर्न सकिएन । विकासको मार्गचित्र बनाएर मात्रै शिक्षाको योजना बनाउनुपर्ने रहेछ भन्ने लागेको छ”, उहाँले भन्नुभयो । यो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले नै पहल गर्नुपर्ने र त्यसमा सबैको साथ रहने उहाँको भनाइ थियो । संविधानसभा सदस्य तथा आयोगका सदस्य श्याम श्रेष्ठले आयोगको प्रतिवेदन अझै सान्दर्भिक रहेको बताउनुभयो ।

“राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा प्रतिवेदनमै उल्लेख थियो । अहिले कार्यान्वयनमा आएको”, श्रेष्ठले भन्नुभयो । समाजमा विवेकशील चेतना दिने शिक्षा दिनुपर्ने र त्यसका लागि प्रतिवेदन सार्वजनिक गरी परिमार्जनसहित कार्यान्वयनमा जानुपर्ने उहाँको भनाइ थियो ।

आयोगका सदस्य डा बाबुराम थापाले शिक्षामा नीतिगत र सैद्धान्तिक बहसका लागि आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो । आयोगको उक्त प्रतिवेदनले संविधानको मर्मलाई समातेको उहाँको धारणा थियो ।

आयोगका सदस्य तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले प्रतिवेदन सार्वजनिक भएपछि मात्रै बहस सुरु हुने बताउनुभयो । “निजी क्षेत्रको योगदानलाई पनि नभुलौँ । सामुदायिक विद्यालयको गुणस्तर सुधारौँ”, उहाँले भन्नुभयो ।

चितवनका इँटा उद्योग पूर्ण रुपमा बन्द, एक अर्बभन्दा बढी नोक्सान

चितवन, जेठ २४-जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भएका छन् । विगतमा ४४ वटासम्म रहेको इँटा उद्योग अहिले पूर्ण रुपमा बन्द भएका हुन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए ।

ती उद्योग क्रमश घट्दै अहिले पूर्ण रुपमा बन्द भएका हुन् ।सापकोटाले भन्नुभयो, “विगत डेढ वर्षभित्र जिल्लाका सबै इँटा उद्योग बन्द भएका छन् ।” उहाँका अनुसार आर्थिक मन्दीका कारण इँटाको माग घट्नु र अस्वस्थ प्रतिस्पर्धाले उद्योग बन्द भएका हुन् । यससँगै बाहिरी जिल्लाबाट कम गुणस्तरका इँटा आउने र त्यस्ता इँटा सस्तो मूल्यमा दिँदा उपभोक्ता झुक्किएर यहाँको उच्च गुणस्तरको इँटा खपत हुन नसकेको उहाँको भनाइ छ ।

उद्योग बन्द भएसँगै रु एक अर्बभन्दा बढी नोक्सान भएको सापकोटाले जानकारी दिनुभयो । उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाएका छन् । बाहिरी जिल्लाबाट आउने इँटाको भर पर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । जिल्लामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट इँटा आउने गरेका छन् ।

यस वर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

काठमाडौं । यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो ।तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस विपद्बाट कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।

कोशीमा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा पाँच हजार परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ ।त्यसपछि मधेस प्रदेशमा ९८ हजार घरपरिवारका चार लाख ३० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ । कूल २० हजार प्रत्यक्ष प्रभावित हुने तथा चार हजार घरपरिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आँकलन छ ।

तेस्रोमा लुम्बिनी प्रदेशका ७७ हजार घरका तीन लाख ३६ हजार पाँच सय ५८ व्यक्ति प्रभावित हुने अनुमान छ । उक्त प्रदेशमा १५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने र तीन हजारलाई उद्धार र राहतको आवश्यकता पर्न सक्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।

बागमती प्रदेशमा ३३ हजार तीन सय ७१ घर परिवारका एक लाख ४६ हजार, गण्डकी प्रदेशका २५ हजार घर परिवारका एक लाख १० हजार पाँच सय ५४, कर्णाली प्रदेशमा ११ हजार पाँच सय ४८ घर परिवारका ५० हजार चार सय ६४ मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा ५३ हजार घर परिवारका दुई लाख ३३ हजार एक सय ९० व्यक्ति कुनै न कुनै रुपमा विपद्बाट प्रभावित हुने र त्यसमध्ये पाँच हजार घर परिवार प्रत्यक्ष प्रभावित भई एक हजार पाँच सय घरलाई प्रत्यक्ष राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ ।

विभिन्न विश्लेषणका आधारमा उक्त अनुमान गरी सोही अनुसार प्रतिकार्यका लागि राष्ट्रिय योजना बनाएर विपद् व्यवस्थापनको पूर्व तयारी गरिरहेको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बताए । यसपटक सरकारले गृह मन्त्रालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरी विपद् व्यवस्थापन कार्य अघि बढाएको छ । विपद् क्षेत्रमा आधा घण्टामा टोली पुग्ने गरी तयारी गरिएको गृहमन्त्रालयले जनाइसकेको छ ।

‘मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाऔँ’

गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँगको अन्तरक्रिया’ मा सहभागी दलका नेताहरुले विगतका विपद्का घटनाबाट पाठ सिक्दै पूर्वतयारी र प्रतिकार्य अघि बढाउन सुझाव दिएका हुन् ।

विपद्का घटनामा सरकारसँग सहकार्य गर्न आफ्ना पार्टीका जनसङ्गठन तम्तयार अवस्थामा रहेकाले सरकार, राजनीतिक दल र स्थानीय नागरिकको सामूहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा उनीहरुले राखेका हुन् ।

विपद्को अवस्थामा राजनीतिक दलले सरकारलाई स्वयम्सेवी जनशक्ति उपलब्ध गराउने र त्यस्ता जनशक्तिलाई सरकारको संयोजनमा प्रभावित क्षेत्रमा खटाउन उपयुक्त हुने सहभागीको सुझाव थियो ।

दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्न ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं विपद् जानकार डा गङ्गालाल तुलाधरले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले विपद्को अवस्थामा राजनीतिक पार्टीको सक्रिय सहभागिताको अपेक्षा गरेको जानकारी गराउँदै विपद् पूर्वतयारी र प्रतिकार्यमा खट्नु दलहरुको कर्तव्य भएको बताए ।

उक्त ऐनको दफा २० को (ठ) र (ड) मा विपद् जोखिम न्यूनीकरण शिक्षा अभियान सञ्चालन गरी पूर्वतयारीमा सहयोग पुर्याउने तथा राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनःस्थापनालगायत अन्य आवश्यक सहयोग गर्ने उल्लेख छ ।

नेता तुलाधरले सबै राजनीतिक दलले केन्द्रीय तहमा विपद् विभाग बनाएर अघि बढ्नुपर्ने तथा विपद्का समयमा सबै संरचनालाई प्रतिकार्यमा खटाउनुपर्ने बताए । उनले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरु एकजुट हुनुपर्ने र परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए ।

“विपद्मा दलहरुको भूमिकाका बारेमा गृह मन्त्रालयले ‘कार्यढाँचा’ बनाउनु उपयुक्त हुन्छ”, उनले भने, “राजनीतिक दललाई अभिमुखीकरण गर्नुपर्छ ।” उहाँले आफ्नो पार्टीले विपद्को पूर्वतयारी र प्रतिकार्यमा सबै राजनीतिक दलसँग समन्वय गरेर खट्न निर्देशन दिइसकेको जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विपद् व्यवस्थापन तथा स्वयम् सेवक विभाग प्रमुख किरण पौडेलले राजनीतिक दलभित्र सबैभन्दा पछाडि रहेको विपद्सम्बन्धी विभागको भूमिका अब परिवर्तन गरेर अघि बढ्ने प्रयास गरिएको बताए । “अब विगतजस्तो अवस्था रहेन, एमालेले पार्टीको केन्द्रसँगै प्रदेश, जिल्ला र पालिका तहमा पनि विपद् विभाग गठनको तयारी गरेको छ”, उनले भने ।

एमालेले पार्टीको तल्लो कमिटीका प्रतिनिधिको सहभागितामा राष्ट्रिय विपद् व्यवस्थापन तथा स्वयम् सेवा मेला आयोजना गर्न लागेको जानकारी दिँदै उनले विपद्को पूर्वतयारी र प्रतिकार्यमा राज्यसँग हातेमालो गरी अघि बढिने प्रतिबद्धता व्यक्त गरे ।

“राजनीतिक दलले मानवीय जनशक्ति उपलब्ध गराउने हो”, नेता पौडेलले भने, “तर राज्यले पर्याप्त साधनस्रोत उपलब्ध गराउनुपर्छ, दलका जनशक्ति र सरकारको स्रोतसाधनलाई संयोजन गर्न सक्दा प्रतिकार्य प्रभावकारी हुन्छ ।”

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विपद्मा राजनीतिक दलका नेता तथा कार्यकर्ताले व्यवस्थित ढङ्गबाट काम गर्दा पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

उनले विपद्बाट नागरिकको जीउधनको तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको उल्लेख गर्दै विपद्का समयमा खटिइने जनशक्तिलाई प्रोत्साहनस्वरुप बीमा र भत्तालगायत सुविधा व्यवस्थापन गर्न सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विपद् व्यवस्थापन विभाग इन्चार्ज सूर्य सुवेदीले विपद्का समयमा सरकारका संयन्त्र र राजनीतिक दलको सङ्गठनबीच समन्वय हुँदा प्रभावकारी काम गर्न सकिने बताए ।

“सबै राजनीतिक दलका विपद् सम्बन्धी काम गर्ने विभागको प्रतिनिधि सम्मिलित ‘डेस्क’ बनाऔँ, यसलाई पालिका तहसम्म लैजाऔँ”, उनले भने ।

जनमत पार्टीका नेता अब्दुल खानले विपद्का अवस्थामा खट्न आफ्नो पार्टीमा समाज कल्याण विभाग क्रियाशील रहेको र नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा पार्टीबाट नेता कार्यकर्तालाई खटाइने बताए । उनले दीर्घकालीन रुपमा जोखिम न्यूनीकरण र प्रतिकार्यमा जुट्न राजनीतिक दलको सामूहिक प्रतिबद्धताको खाँचो औँल्याए ।

छलफलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता रामप्रकाश चौधरी, जनता समाजवादी पार्टी नेपालका नेता परशुराम बस्नेत, राप्रपाका नेता ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जन, नागरिक उन्मुक्ति पार्टीका नेता राजन गुरुङ र आम जनता पार्टीका कार्यालय सचिव रञ्जुकुमारी साहले विपद् पूर्वतयारी र प्रतिकार्यमा आआफ्नो पार्टीबाट सक्रिय सहभागिताका लागि निर्देशन गरिने प्रतिबद्धता व्यक्त गरे ।

विपद् व्यवस्थापनमा दलको प्रभावकारी भूमिकाको अपेक्षा

छलफलमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राजनीतिक तथा प्राकृतिक सङ्कटमा एकजुट हुने नेपालका दलको अभ्यास सकारात्मक रहेको बताए । उनले जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयं सेवक परिचालनको अनुभवका आधारमा विपद् व्यवस्थापनमा दलको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिनुभएको सुझाव मनन् गर्दै उपप्रधानमन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन ‘लुज फोरम’ प्रभावकारी हुने बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् ‘पोर्टल’बाट चौबिसै घन्टा बाढी, पहिरो, चट्याङसम्बन्धी घटनाको जानकारी प्रवाह गरिएको तथा विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए ।

बजेट तुलनात्मक रूपमा सन्तुलित : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित भएको बताएका छन् ।उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बजेटमाथिको अन्तरसम्वाद कार्यक्रममा उनले बजेटका कमजोर पक्षलाई सुधार गरेर लैजानुपर्ने बताएका हुन् ।

महासचिव पोखरेलले आन्तरिक र बाह्य ऋणले पुँजीगत खर्च गर्न सके प्रतिफल प्राप्त हुने धारणा राखे । “आन्तरिक राजस्वबाट बजेट प्रणालीलाई सन्तुलन गर्न सकेनौँ भने त्यसले घुमाएर उपभोक्तालाई असर पार्दछ । हामीले लिने आन्तरिक र बाह्य ऋणबाट पुँजीगत खर्च गर्न सक्यो भने त्यसका आधारमा प्रतिफल प्राप्त गर्न सक्दछौँ”, उनले भने ।

उनले बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने हो भने प्रतिफल प्राप्त गर्ने ठाउँ रहेको र निर्धारित लक्ष्यभन्दा बढी राजस्व प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।

मौद्रिक तरलताको विस्तारसँगै जनताका पैसा बैंकमा जम्मा भइरहेको तर लगानी हुन नसक्दा जनता मारमा परेको उनले बताए । “बैंकमा जति पैसा जम्मा हुने गरेको छ त्यसको तुलनामा खर्च न्यून देखिएको छ । उपभोक्ताले जम्मा गरेको पैसा खर्च हुन नसकेपछि उपभोक्ताको ब्याजदरमा कटौती हुन्छ”, उनले भने ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले एमालेले बजेटमा भएका राम्रा कुराको स्वामित्व लिने तर कमजोर कुरा आगामी दिनमा सच्चाउन सरकारलाई दबाब दिनुपर्ने बताए । उनले भने, “कुनै खास व्यक्ति र क्षेत्र विशेषलाई लाभ हुने गरी बजेट विनियोजन गर्ने र भोलि राष्ट्रिय प्राथमिकताका आयोजनामा बजेट कटौती गर्नुपर्ने स्थिति नबनोस् ।” उनले बजेटमाथि टिप्पणी गर्दै स्रोत नपुगेको बताए ।

मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहाल र हसिना दुवैले यस अघि भारतीय प्रधानमन्त्री मोदीलाई १८ औँ लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाई दिएका थिए ।

प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताए । कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागिताको पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री नरेन्द्र मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताउनुभएको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ ।

समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताउनुभएको छ ।

हसिनाले भर्खरै बङ्गलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि बङ्गलादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिँदै भारत परीक्षित र वफादार छिमेकी भएकोले भारत र बङ्लादेशबीच राम्रो सम्बन्ध भएको उल्लेख गर्नुभएको थियो ।

सन् २०२४ को लोकसभा चुनावको मतगणना मङ्गलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।अर्कोतर्फ, मुख्य विपक्षी काङ्ग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ ।

सेनिटरी प्याड वितरणको कार्यविधि संशोधन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने सेनिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ ।नेपाल सरकारले स्थानीय तहमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क सेनिटरी प्याडका लागि रकम उपलब्ध गराउँदै आएको छ । उक्त सेनिटरी प्याड सरकारी मापदण्डअनुसार खरिद वितरण र गुणस्तर नभएको भनी विभिन्न सङ्घसंस्था र सञ्चार माध्यमबाट गुनासो आउने गरेको छ । हाल कार्यान्वयनमा रहेको सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को अनुसूची १ मा रहेको मापदण्ड पुनरावलोकनका लागि आवाज उठिरहेको थियो ।

अहिलेको कार्यविधि बनाउँदा नेपालका लागि सेनिटरी प्याडको गुणस्तर मापदण्ड निर्धारण भइसकेको थिएन । पछि नापतौल तथा गुणस्तर विभागले गुणस्तर निर्धारण गरेको थियो । यही आधारमा सो कार्यविधिमा भएका प्रावधान संशोधन गर्दै मन्त्रालयले सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि को संशोधित मस्यौदा तयार गरेको छ । सो संशोधित कार्यविधिको संशोधन मस्यौदामा सरोकारवाला र विज्ञहरूको सुझाव लिन मन्त्रालयले आज छलफल गरेको छ ।

छलफल कार्यक्रमपछि मन्त्री सुमना श्रेष्ठले स्थानीय सरकारहरूको सुझावका आधारमा छात्रालाई वितरण हुने प्याडको गुणस्तर र मापदण्ड सुधार गर्ने तथा प्रयोग गरेका प्याडको वातावरणमैत्री व्यवस्थापन गर्न छलफलबाट प्राप्त सुझावले सहयोग गरेको बताइन् । ‘हालसम्म यो परियोजनाले छात्राको विद्यालय छोड्ने दर घटाउन के-कस्तो योगदान गर्‍यो ? अहिलेसम्मका उपलब्धि र चुनौतीलाई ख्याल गरेर नयाँ कार्यविधिलाई अन्तिम रूप दिनेछौँ,’ मन्त्री श्रेष्ठले भनिन् ।

इँटाभट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

टीकापुर (कैलाली), जेठ २४-कैलालीको टीकापुरस्थित शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुवाआमासँगै इँटाभट्टामा जानुहुन्छ । आठ वर्षीया रविकाले बुवाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्नुहुन्छ । उहाँले गत वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाउनुभएन ।

अहिले पनि रविका कक्षा २ मा अध्ययन गरिरहनुभएको छ । उहाँले अब तीन महिनामात्र विद्यालयमा पढ्न पाउनुहुन्छ । “इँट्टाभट्टामा काम गर्ने अभिभावकका बालबालिका जेठमा विद्यालय आउँछन् । त्यसपछि केही दिन बर्खे बिदा हुन्छ”, अभिभावक मीना चौधरीले भन्नुभयो, “त्यसपछि दसैँ बिदा हुन्छ । दसैँ मनाएर अभिभावकसँगै बालबालिका इँट्टाभट्टामा जान्छन् । त्यहाँ पढ्ने वातावरण नै हुँदैन ।” इँट्टाभट्टामा काम गर्नु अभिभावकको बाध्यता रहेको उहाँको भनाइ छ ।

बालबालिकाको जीविकोपार्जन गर्न टीकापुरका सयौँ अभिभावकले इँट्टाभट्टामा काम गर्छन् । बुबाआमा दुवै इँट्टाभट्टामा गएपछि बालबालिका पनि सँगै जान्छन् । टीकापुरको विजयनगर बस्तीकी हिमानी थारूका दम्पती लामो सयमदेखि इँट्टाभट्टामा काम गर्दै आउनुभएको छ । हरेक वर्ष सात महिना इँट्टाभट्टामा बस्ने उहाँहरूको बाध्यता हो । काम गर्दा दुई बालबालिका पनि सँगै लैजानुहुन्छ । घरमा बच्चा स्याहार्ने मानिस नभएकाले बालबालिकासँगै लैजानुपर्ने बाध्यता रहेको हिमानीको भनाइ छ ।

इँट्टाभट्टामा लैजाँदा बच्चाको पढाइ बिग्रन थालेको उहाँले बताउनुभयो । “बच्चा पढाउने मन त छ तर के गर्नु बाध्यताले मिल्दैन”, उहाँले भन्नुभयो, “बच्चाको भविष्य बिग्रेको थाहा हुँदाहुँदै पनि गरिबीले केही गर्न सकिएको छैन ।”

शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्काले विद्यालयमा ३० देखि ४० जना बालबालिका अभिभावकसँगै इँट्टाभट्टामा जाने गरेकाले पढाइ प्रभावित हुँदै गएको बताउनुभयो । “आमाबुबाले आफूसँगै बच्चा लैजान्छन्, यसरी गएका बालबालिका कोही पछि परीक्षा दिन आउँछन्, कोही आउँदैनन्”, उहाँले भन्नुभयो, “असोजदेखि जेठसम्म बालबालिका दुई–तीन महिनामात्रै पढेको कुरा बिर्सन्छन् । अनि वर्षौँसम्म एउटै कक्षामा दोहोरिएर पढ्ने गरेका छन् ।”

टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँग काममा जाँदा पढाइमा असर पर्ने गरेको बताउनुभयो । “बालबालिका आमाबुबासँगै जाने, ठूला बच्चाले साना बच्चा स्याहार्ने वा बुबाआमाको काममा सघाउने गर्छन्”, उहाँले भन्नुभयो, “बालबालिकाको पढाइ प्रभावित भएकाले सिकाइ सुधार गर्न थप कक्षा सञ्चालनको पहल थालेका छौँ । एउटा संस्थासँग सहकार्य गरेर थप कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । यस्ता बालबालिकाको शिक्षामा पालिकाले पनि ध्यान दिनुपर्छ ।”

एक सय ५१ विद्यार्थी रहेको मुक्तकमैया विद्यालयमा ४० भन्दा बढी बालबालिकाको पढाइ अनियमित हुने गरेको ढकालको भनाइ छ । “बालबालिकाले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भए पनि गरिबीका कारण अभिभावकले पढाइमा ध्यान दिन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो ।

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले टीकापुरमा यस्तो समस्या देखिएकाले केही वर्षदेखि यसलाई रोक्ने प्रयास भइरहेको बताउनुभयो । “अभिभावकलाई सचेत गर्ने र बालबालिकालाई विद्यालय पठाउँदा बालश्रम रोकिन्छ भनेर जानकारी दिने काम गरिरहेका छौँ । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने अभिभावकका लागि अभिभावक शिक्षा, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेका छन्”, उहाँले भन्नुभयो, “बालबालिकाले इँट्टाभट्टामा काम गर्न वा अभिभावकसँगै जानु नपरोस् भनी प्रयास गरिरहेका छौँ, हालसम्म रोक्न भने सकिएको छैन ।”

माओवादीले सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्ने

काठमाडौँ, २४ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समाजकल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ ।

यही जेठ २५ र २६ गते काठमाडाँै आयोजना गरिएको भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिनुभयो । ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भेलाले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

भेलाबाट सरकारले तय गरेको सामाजिक रुपान्तरणको अभियानमा सामाजिक सङ्घसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर आमसामाजिक अभियन्ताले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइने प्रमुख पहाडीको भनाइ छ ।

भेलामार्फत सामाजिक सङ्घसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा प्रष्ट परिने उहाँले बताउनुभयो ।

वातावरण संरक्षणमा पर्याप्त बजेट विनियोजन हुन सकेन : मन्त्री सुडी

काठमाडौँ, २४ जेठ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले कूल बजेटको १८ प्रतिशत विकासमा खर्च भए पनि वातावरण संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नहुने गरेको बताएका छन् ।विधायन व्यवस्थापन समितिको आजको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँगको छलफलमा उनले विकाससँगै वातावरण संरक्षणमा बजेटको पर्याप्त व्यवस्था गरिनुपर्नेमा जोड दिएका हुन्। विकासका कार्यक्रमले वातावरण संरक्षणमा ध्यान नदिने भएकाले त्यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्नेमा उनले जोड दिए ।

४६ प्रतिशत वन रहेको नेपालले कम कार्बन उत्सर्जन गरेपनि बढी प्रभावित हुँदा खाद्य उत्पादन कम हुन थालेकोतर्फ सरोकार भएका निकायको बेलैमा ध्यान जानुपर्ने मन्त्री सुडीको सुझाव थियो । वन र कृषि मन्त्रालयबीच सुमधुर सम्बन्ध हुन नसक्दा खाद्य उत्पादनका समस्या समाधान हुन नसकेको उनले गुनासो गरे ।

समिति सभापति जयन्तीदेवी राईले बाँदर र बँदेलले धेरै जिल्लामा दुःख दिँदा खाद्य समस्या हुन थालेकाले नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गरिनुपर्ने भनाइ राखिन् । त्यस्ता कानुन समितिमा आएमा छिटो अघि बढाइने उनले प्रतिबद्धता जनाइन् ।

बैठकमा सांसद डा बेदुराम भुसालले बाँदर, बँदेल, दुम्सी, नीलगाई, हात्तीलगायत जङ्गली जनावरले बाली नष्ट गर्दा खाद्य सुरक्षामा समस्या आएको बताए । सांसद देवेन्द्र दाहालले किसानलाई राज्यको अङ्ग बनाउन वन मन्त्रालयमा सुरु भएको बहस सकारात्मक रहेकाले यसलाई अघि बढाउनुपर्ने विचार राखे ।

सांसद नारायणदत्त मिश्रले जङ्गली धान संरक्षण गर्न सरकारको ध्यान जानुपर्ने बताए । वनका बुढा रुखलाई काटेर नयाँ बिरुवालाई मौलाउने अवसर दिनुपर्ने उनको धारणा थियो । सांसद सुरेश आलेमगरले वन धेरै हुँदा अरु कुरामा असर ग¥यो कि भनी समीक्षा गर्नुपर्ने समय आएको बताए । सांसद विष्णुदेवी पुडासैनीले काठमाडौँमै सतहमा खन्दा पानी नआउने अवस्था रहेकाले जलवायु परिवर्तनको अवस्था बुझ्न सकिने भनाइ राखिन् । यसको प्रभाव सम्बोधनका लागि ठोस कार्यक्रम बनाएर कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिइन् ।

सांसद गङ्गाकुमारी बेल्वासेले खाद्य सुरक्षाको प्रतिवेदन बनाएर छलफल गरेजस्तो मात्र गरेर समस्या समाधान नहुने भएकाले यस विषयमा गम्भीर भएर काम गरिनुपर्ने बताइन् । सांसद तारामान स्वाँरले जलवायु परिवर्तनको असरका विषयमा जनचेतना जगाउने कार्यक्रम वृद्धि गरिनुपर्ने माग गरे ।

वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख सहसचिव मेघनाथ काफ्लेले कृषिमा आश्रित विपन्न समुदायमा जलवायु परिवर्तनको प्रभाव बढी परिरहेकाले किसानलाई राज्यको अङ्गका रुपमा स्थापित गरी कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर, २४ जेठ । कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ (३) बमोजिम प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई आजको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले यही जेठ २१ गते प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रममाथिको छलफलमा यही जेठ २२ गते १६ प्रदेशसभा सदस्य तथा जेठ २३ गते २५ प्रदेशसभा सदस्यले भाग लिई आ–आफ्ना धारणसहित सुझाव र जिज्ञासा राखेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका विषयमा विगतका वर्षमा प्रदेश सरकारले लिएका राम्रा नीति र सफल अभ्यासलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको बताए । सरकारले सैद्धान्तिक आधारलाई आत्मसात गरी अघि बढ्न प्रयत्नशील रहेको उल्लेख गर्दै उनले दिगो विकास, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र सामाजिक क्षेत्रको विकास नीति तथा कार्यक्रममा राखिएको बताए।

मुख्यमन्त्री कार्कीले सङ्घीयताको सबलीकरण र सुशासन प्रवर्द्धन, समन्यायिक एवं सन्तुलित विकास, आर्थिक विकासमा लगानीमैत्री वातावरण सिर्जना गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै योजनाबद्ध विकासका लागि प्रभावकारी स्रोत परिचालन, बजेट प्रणालीको सुधार र आर्थिक अनुशासन, दिगो विकास र जलवायु परिवर्तनका निम्ति आवश्यक नीति सरकारले बनाउने उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले कृषिको आधुनिकिकरण र व्यवसायीकरण, पर्यटन, वन तथा वातावरण संरक्षण, पूर्वाधार र औद्योगिक विकास, निजी क्षेत्रको प्रवर्द्धन प्रदेश सरकारको प्रमुख प्राथमिकताको विषय भएको चर्चा गर्दै स्वास्थ्य सेवा तथा सामाजिक विकास, कानुनी शासन र विपद् व्यवस्थापन, रोजगारी प्रवर्द्धन तथा गरिबी निवारण, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनलगायत विषयम प्राथमिकतामा परेका बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने’ लक्ष्यका साथ दोस्रो आवधिक योजना तर्जुमा सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि योजनाबद्धरुपमा कार्यान्वयन गरिने बताए । उनले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आएका सुझाव, धारण र विचारलाई अनुसरण गरिने बताए ।

मुख्यमन्त्री कार्कीले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने जानकारी दिँदै सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेशका जनताका आवश्यकता र चाहना पूरा गर्न क्रियाशील रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रविधिमैत्री यातायात सेवा सञ्चालन गर्ने, सहुलियत कर्जा व्यवस्थापन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न सरकारले अग्रगामी कदम चाल्ने उल्लेख गर्दै स्रोतको पहिचान र व्यवस्थापनमा गम्भीर हुने धारणा राखेका थिए।

नीति तथा कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा, निर्मला लिम्बू र राजन किराँतीले राखेको संशोधन प्रस्तावका आवश्यक बुँदा मुख्यमन्त्री कार्कीले स्वीकार गरी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले संशोधनको प्रस्ताव फिर्ता लिएका थिए । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्नेछ ।

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै

काठमाडौँ, २४ जेठ । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ ।आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिन गरेर सो सेवाको शुभारम्भ गरे । आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी दिए ।

उनले यूएईस्थित नेपाली राजदूतावास रियादमा यो सेवा सन् २०२१ बाट सुरु गरिए पनि वैदेशिक रोजगार विभागमा नजोडिएकाले मागपत्र प्रमाणीकरण भए पश्चात पुनःकागजातमा छाप लगाएर पठाउनुपर्ने अवस्था रहेकोमा अब भने छाप लगाउन नियोगमा धाइरहनु नपर्ने भएको उल्लेख गरे ।

प्रमाणीकरणको यो व्यवस्था नहुँदा रोजगारदाता कम्पनी तथा सम्बन्धित एजेन्सीहरु नियोगमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षणमा कठिनाइ हुने, धेरै लागत लाग्ने र कार्यप्रक्रिया पारदर्शी नहुनेलगायतका गुनासा प्राप्त हुने गरेको थियो ।

परराष्ट्रमन्त्री श्रेष्ठले उक्त सेवा आजबाट कार्यान्वयन भएपछि सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोगमा अनलाइनबाट आवेदन गर्ने र त्यो आवेदन स्वीकृति भएपछि मात्रै राजस्व रकम भुक्तानी हुने पनि जानकारी दिए ।

“त्यसपछि अनलाइनबाट नै उक्त कागजातहरु वैदेशिक रोजगार विभागमा आइपुग्ने र विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्राप्त हुनेछ”, मन्त्री श्रेष्ठले भने, “यस व्यवस्थाबाट सम्बन्धित रोजगारदाता कम्पनी, श्रमिक छनोट गर्ने कम्पनी सबैले आफ्नो घर वा कार्यालयबाट मागपत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन्, आवेदनको प्रगति विवरण हेर्न सक्ने, कुनै कागजात नपुगेमा अनलाइनबाटै हेर्न सक्ने, बिचौलियाजन्य कार्य निरुत्साहित हुने, रोजगारदाता र श्रमिक छनोट गर्नेलगायतका विवरण यस प्रणालीमा सुरक्षित हुन्छ ।”

यस प्रणालीका कारण कागजातहरु चाहेको बेला जुनसुकै समयमा हेर्न सकिने र उक्त मागपत्रका आधारमा लगिएका श्रमिकमाथिको जोखिम कम हुने पनि उनले विश्वास व्यक्त गरे । यसबाट विद्युतीय सुशासन कायम भई सेवाग्राहीले लाभ लिने पनि उनले बताए ।

त्यस अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइनबाट मागपत्रको प्रमाणीकरणले अझै श्रमिकको हकहित र रोजगारदाता कम्पनीहरुको नियन्त्रण र सहजीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो सेवालाई चुस्त बनाउनका लागि केही सुझाव प्रस्तुत गर्दै मन्त्री अर्यालले प्रणालीलाई चुस्त बनाएर लैजान कन्सुलर सेवा विभागलाई आग्रह गरे । उनले तलब दर नेपाली पैसा वा अमेरिकी डलरमा राख्न पाउने व्यवस्था गर्न पनि विभागलाई आग्रह गरेका छन् । यो सेवाको बारेमा रोजगारदाता कम्पनी तथा सम्बद्ध व्यक्तिहरुलाई प्रशिक्षण जरुरी रहेको उनले औँल्याए ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले सेवालाई क्रमिक रुपमा अनलाइनमार्फत दिने काम जारी रहेको बताउँदै सोही अनुरुप यो नयाँ सेवा थप गरिएको बताए । यसले स्रोत साधन, समयको बचतसँगै गुणत्मक सेवा प्राप्त गर्न सकिने उनले बताए ।

उनले वैदेशिक रोजगारीका लागि मागपत्र, प्रतिबद्धतापत्र, कार्यसम्झौता, नमूना रोजगारी सम्झौताटलगायतका कागजातहरु प्रमाणिकरण गर्न आवश्यक हुन्छ । यो प्रणाली सुरु भएसँगै अब त्यही कागजातहरु अनलाइबाटै प्रमाणीकरण सुरु भएको हो ।

शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

ठमाडौँ, २४ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार ७७ दशमलव ७८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ३४ मा सीमित भएको छ । कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, इमर्जिङ नेपाल,मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ८८,माण्डु हाइड्रोपावर आठ दशमलव ४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले सात दशमलव ५८ कमाएका छन् ।

त्यस्तै,माई खोला हाइड्रोपावर छ दशमलव ४०,ज्योति विकास बैंकको ऋणपत्र पाँच दशमलव ३१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ३१, पोखरा फाइनान्स पाँच १२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाए ।

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

थलारा । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक पुगेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई बताउनुभयो । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी हुनुहुन्थ्यो ।
बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उहाँले जानकारी दिनुभयो ।

नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गर्नुभएको थियो ।

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

वीरगञ्ज (पर्सा)। बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिनुभयो । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।

सेनाको सहयोगमा गलकोट कोतघरको जीर्णोद्धार

गलकोट (बागलुङ), २४ जेठ : नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको र अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गरिएको थिएन ।

“बाहिरबाट रङ्गरोगन गरिए पनि भित्र काठ कँुहिएको रहेछ, ढुङ्गाको छाना चुँहिएर कोतघर जीर्ण भएको थियो, नगरपालिकाले विस्तृत परियोजना प्रतियोदन तयार गरेर कोतघरको पुनःनिर्माण गर्ने तथा त्यस क्षेत्रको समग्र विकास गर्ने योजना जारी छ”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “नगरपालिकाको योजनामा नेपाली सेनाले साथ दिएको छ ।”

घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणले दु्रत प्रभाव योजनाअन्तर्गत गलकोटस्थित कोतघर जीर्णोद्धार गरिरहेको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो । आगामी असारभित्रै निर्माण सम्पन्न गरेर कोतघर नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै उहाँले जीर्णोद्धार लागत रु नौ लाख रहेको बताउनुभयो ।

 “बजेट नौ लाख भए पनि नेपाली सेनाले श्रमदान गरिरहेको छ भने स्थानीयले काठसमेत सहयोग गरेका छन्, थोरै बजेटमा धेरै काम गर्नका लागि सेनालाई स्थानीयले निरन्तर गरेको सहयोगले ऐतिहासिक कोतघर जीर्णोद्घार भइरहेको छ”, प्रमुख सेनानी रानाले भन्नुभयो, “गत आर्थिक वर्षमा पञ्चकोटमा नागरिकमैत्री हेलिप्याड निर्माण गरेको सेनाले अहिले कोतघर जीर्णोद्घार गरेको हो ।”

गलकोट नगरपालिकाका प्रमुख भरत गैरेले कोतघरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी रु ५० लाखभन्दा बढी खर्चेर भौतिक पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो ।
उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएको स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै भगवतीको मन्दिर पनि छ ।

कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति र शिला छन् । खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार राख्नका लागि नेपाली सेनाले छुट्टै भवन समेत बनाइरहेको छ ।

कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएपछि कोतघरमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ । कोतघरमा बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुने गरेको छ । विसं १६३१ देखि १८४४ सम्म कोतघरबाट गलकोट राज्य सञ्चालन भएको थियो ।

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९औ०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।

“प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ”, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।”

बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।

निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए ।

काठमाडौँ उपत्यकामा अपराह्न वर्षा हुने

काठमाडौँ । मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र वाग्मती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज बिहान जारी गरेको सूचनाअनुसार सुदूरपश्चिम,कर्णाली र लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा हुरीबतास पनि सम्भावना रहेको बताएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागको सूचनामा उल्लेख छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा हुरीबतासको पनि सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा आज अपराह्न सामान्य वर्षा हुनेछ । यहाँको आज दिउँसो यहाँको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

नेपाल–फिनल्यान्ड परामर्श संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ । नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय सहसचिव एवं युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख गणेशप्रसाद ढकाल र फिनल्यान्डको तर्फबाट परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय विकासका उपसचिव पासी हेलम्यानले नेतृत्व गरेका थिए ।

बैठकमा दुई पक्षबिच नेपाल–फिनल्यान्ड सम्बन्ध र द्विपक्षीय सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै दुवै पक्षले नेपाल–फिनल्यान्ड सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् ।

दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र साझेदारी अभिवृद्धि लगायतका सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । फिनल्यान्डले पानी, सरसफाइ र स्वच्छता, शिक्षा र जलवायु उन्मुखता जस्ता विभिन्न क्षेत्रमा निरन्तर विकास सहयोग गरेकोमा नेपालले धन्यवाद दिएको छ ।

फिनल्यान्ड पक्षले नवीन सुविधा, विशेष गरी सार्वजनिक क्षेत्र लगानी सुविधामार्फत नेपालमा आफ्नो विकास सहयोग विस्तार गर्न इच्छुक रहेको धारणा बैठकमा राखेका थिए ।

बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मञ्चमा सहकार्यका विषयमा पनि छलफल भएको थियो । दुवै पक्षले बहुपक्षीय फोरममा जलवायु परिवर्तन र बहुपक्षीय लगायत विश्वव्यापी मुद्दाहरूमा सँगै काम गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालीको तर्फबाट परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग अर्थ मन्त्रालय शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयका प्रतिनिधि थिए ।

फिनल्यान्डको प्रतिनिधिमण्डलमा नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्का र फिलल्याण्ड विदेश मन्त्रालयका अधिकारी तथा नेपाल फिनल्यान्डको राजदूतावासका अन्य अधिकारीहरू सहभागी थिए ।

मन्त्री यादवद्वारा स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेकाे उनको स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए ।

आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदीप केसीलाई दिइएको छ । यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ ।

विद्यार्थी सङ्ख्या कम भएपछि १७ विद्यालय समायोजन

मान्म । यहाँको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ । विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो । विसं २०७४ देखि स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन हाल आएर कार्यान्वयन भएको हो । गाउँ शिक्षा समितिको जेठ १७ गतेको निर्णय र गाउँ कार्यपालिकाको १८ गतेको निर्णयअनुसार १७ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दुर्गलाल न्यौपानेले बताए ।

“तीन वटा बालविकास केन्द्रसहित १७ विद्यालय समायोजन गर्ने निर्णय भएको थियो”, उनले भने, “११ विद्यालयको हकमा बालविकास केन्द्र मात्र राखेर अरु कक्षा समायोजन गरिएको छ ।”
तीन वटा बालविकास केन्द्र नजिकको विद्यालयमा समायोजन गरिएको र कक्षा आठ सम्म सञ्चालन भएका तीन वटा विद्यालय कक्षा छ देखि आठ सम्म समायोजन गरिएको र बाँकी पाँच कक्षामुनिकालाई यथावत राखिएको न्यौपानेले जानकारी दिए।

“विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालय तथा कक्षाकोठा समायोजन गर्नुपरेको हो”, उनले भने, “गाउँपालिकाका-१ देखि ९ सम्मकै विद्यालय समायोजन गरिएको छ ।” लामो समयको छलफलपछि विद्यालय समायोजनको योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।

“सरकारी विद्यालयमा पढ्ने विद्यार्थी विस्तारै संस्थागत विद्यालय पढ्नका लागि सहर जान थालेपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ”, उनले भने, “विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका कारण विद्यालयका साथै कक्षाकोठा समायोजन गर्नु परेको हो ।”

विद्यालय र कक्षाकोठा समायोजन भए पनि शिक्षकको दरबन्दी यथावत रहने र समायोजन भएकै विद्यालयमा सरुवा हुने व्यवस्था मिलाएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए ।

श्रीलङ्का सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध

कोलम्बो। श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बुधबार सरकारले वातावरणीय दिगोपनालाई प्राथमिकतामा राखेकाले सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) का अनुसार विश्व वातावरण दिवस मनाउने कार्यक्रममा उहाँले भन्नुभयो, “श्रीलङ्काले शून्य कार्बन उत्सर्जनको विश्वव्यापी उद्देश्यलाई आफ्नो राष्ट्रिय नीतिमा समाहित गरेको छ ।”

यसको प्रमाणको रूपमा विक्रमासिङ्घेले प्रमाणपत्रका साथ श्रीलङ्काका १० उत्कृष्ट हरित रेलवे स्टेशनहरूलाई मान्यता दिनुभयो र राजधानी कोलम्बोबाट करिब एक सय एक किलोमिटर टाढा रत्नपुरामा वार्नगलावाट्टे वातावरणीय क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा तोक्नुभयो ।

सन् २०२३ मा जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले श्रीलङ्काले सन् २०४० सम्म कार्बन तटस्थता हासिल गर्ने अपेक्षा गरेको र आफ्नो कोइला पावर प्लान्टहरूको क्षमता नबढाउने प्रतिबद्धता गरेको उल्लेख गरेको छ ।

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

महोत्तरी।आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।

वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् ।

पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा बर्तालु मिथिलानीले सामुहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ वरको रुखको फेदमा गरिन्छ ।

नयाँ परिधानमा सजिएर वटबृक्ष परिसर सरसफाई गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा पनि छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको बर्तालु मिथिलानी बताउँछन् । व्रतको अभिष्ट नै पतिको दीर्घजीवनको कामना हुने महोत्तरीको बर्दिबास–२ वरचौतारामा पर्वको तयारीमा रहनु भएको शैल कर्णले बताउनुभयो ।मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका मिथिलानीले मनाउन थालेका छन् ।

विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई हरायो

काठमाडौँ, २४ जेठ : भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे ।

आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए ।

भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए ।

विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन् । उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । यसै समूहको अर्को खेल आज राति ९ः१५ बजे पाकिस्तान र अमेरिकाबीच हुनेछ । प्रतियोगिताअन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ, २४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा भएको लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दृुई सय सिट जितेको छ ।

मानवतामाथि जलवायु प्रभाव डायनासोर समाप्त हुने उल्कापिण्ड जस्तै– राष्ट्रसङ्घ प्रमुख

न्युयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताउनुभएको छ ।

उहाँले जीवाश्म इन्धनको विज्ञापनमाथि प्रतिबन्धसहित द्रुत कदम चाल्न आह्वान गर्नुभयो । “अर्बौं वर्षमा पृथ्वीमा जीवनको आकार दिने शक्तिहरूमध्ये मानवता राडारमा एउटा सानो झट्का मात्र हो”, न्युयोर्कमा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा उहाँले भन्नुभयो, “तर डायनोसरलाई मेटाउन उल्कापिण्डले जस्तै हामीले ठूलो प्रभाव पारिरहेको छौँ ।”
“जलवायु मामिलामा हामी डायनोसर होइनौँ, हामी उल्कापिण्ड हौँ, हामी खतरामा मात्र छैनौँ, हामी खतरा हौँ”, उहाँले भन्नुभयो ।

महासचिव गुटेरेसले युरोपेली आयोगको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले बुधबार आधिकारिकरूपमा सन् २०२४ मेमा रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तातो भएको रिपोर्ट गर्ने बताउनुभयो ।

“यो अहिलेसम्मको सबैभन्दा तातो महिनामध्येको लगातार १२ महिना हो”, उहाँले भन्नुभयो । यद्यपि उहाँले आशावादीरूपमा मानव ‘समाधान’ पनि हो भन्दै तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नका लागि ठोस कारवाही चाल्न पुनः आग्रह गर्नुभयो ।

महासचिव गुटेरेसले करिब एक दशक पुरानो पेरिस सम्झौताको सबैभन्दा महत्त्वाकांक्षी उक्त लक्ष्य ‘धेरै खतरनाक अवस्थामा रहेको’ बताउनुभयो ।

विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उहाँले बताउनुभयो ।

“सन् २०२० को दशकमा एक दशमलव पाँच डिग्रीको लडाइँ जितिने वा हारिने भन्ने आजका नेताहरूको निगरानीमा भर पर्छ, विशेषगरी आगामी १८ महिनामा नेताहरूले लिने निर्णयमा भर पर्छ”, उहाँले भन्नुभयो । पेरिस सम्झौतामा हस्ताक्षर गर्ने मुलुकहरूले सन् २०२५ को प्रारम्भसम्ममा नयाँ हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य प्रस्तुत गर्नुपर्नेछ ।

क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बन्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ ।

हाल झापाको बुद्धशान्ती चोक बस्दै आउनुभएकी पीडित दुर्गाको उपचारका लागि एक सय ८८ जना शुभेच्छुकबाट रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटाइएको हो । अभियानका क्रममा सङ्कलन गरिएको रकम अस्पतालमा पुगेर दुर्गाको परिवारलाई हस्तान्तरण गरिएको अभियन्ता एवं नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये रु एक लाख १२ हजार चिसापानी बजारमा सामूहिकरुपमा सङ्कलन गरिएको हो ।

फोक्सोमा क्यान्सर पुष्टि भएपछि गत मङ्सिरदेखि दुर्गाको पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । फोक्सोको क्यान्सरको उपचार भइरहेकै बेला उहाँलाई ब्रेन ट्युमरको समस्यासमेत थपिएको थियो । दुर्गालाई नियमित टाउको दुखिरहने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा ब्रेन ट्युमर भएको पत्ता लागेको दुर्गाका पति गणेश बस्नेतले जानकारी दिनुभयो । गत जेठ ७ मा दुर्गाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

फोक्सोको क्यान्सर र ब्रेन ट्युमरको समस्याबाट एकैसाथ आक्रमणमा पर्नुभएकी दुर्गाको सहयोगार्थ अन्य आफन्त तथा शुभेच्छुकले पनि आर्थिक सहयोग जुटाइरहेका छन् ।

धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधामवर्णन संवाददाता

भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपु्रको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा भरतपुरकोे पर्यटन उकास्न यस क्षेत्रको प्रवद्र्धनले थप टेवा पु-याएको छ ।

नेपाल एकीकरणका क्रममा चितवनवाट पश्चिमतर्फ एकीकरण अभियान सुरु गर्दा तत्कालीन नायब राजकुमार बहादुर शाह तथा गोरखाली सेनाले यहाँ पूजाअर्चना गर्दै अगाडि बढेको इतिहास रहेको गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुके बताउनुहुन्छ ।

चुकेका अनुसार तत्कालीन पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनले विसं १५४१ तिर देवघाट धाममा तपस्या गरी बस्न आएको र देवघाटमै आफ्नो जीवनका १२ वर्ष व्यतीत गरेका थिए । त्यस क्रममा देवघाटमा केही देवस्थल थप्नुका साथै भरतपुरको बागीश्वरी, गणेशस्थान, कैलाशनाथ महादेव, जखडीमाई देवीस्थान आदिमा पूजाअर्चना गरी गणेशस्थानमा ऐतिहासिक इनार निर्माण गरेको र गैँडाकोटमा मौलाकालिका माताको मूर्ति स्थापना गरेको किंवदन्ती छ । यहाँ रहेको सिद्धिविनायकको शिला पौराणिक रहेको र राजामणि मुकुन्द सेनले पूजा आराधना गरेको गणेश पुराण तथा पद्म पुराणमा उल्लेख छ ।

चुकेले भन्नुभयो, “पहिले चितवनमा अहिले जस्तो बस्ती विकास भएको थिएन पछि बाहिरबाट आएका व्यक्तिहरुलाई यसबारे थाहा हुने कुरा भएन यसको संरक्षणमा चुनौती भएको हुनाले हाल समितिमार्फत संरक्षणमा हामी जुटेका हौँ ।” उहाँले यहाँ भाकल गरेको पुग्ने, विवाह, व्रतबन्ध, सवारीसाधनको पूजा गर्दा शुभ हुने अटल विश्वास रहेकाले अन्य जिल्लाबाट पनि भक्तजनको बाक्लो उपस्थिति हुने गरेकोउहाँले भन्नुभयो, “विगतमा यहाँ लगनका बेला ५०–६० वटासम्म विवाह, व्रतबन्ध हुन्थ्यो तर आजकाल पार्टीप्यालेसमा विवाह व्रतबन्ध गर्ने प्रचलनले यहाँ कम हुने गरेको छ ।”

समितिका कोषाध्यक्ष रेशमलाल सापकोटाले विगतमा देवघाट क्षेत्र विकास समिति र गणेशस्थान टोलविकास संस्थाले यस क्षेत्रको संरक्षण र विकास गर्दै आएको जानकारी दिनुभयो । विसं २०६६ मा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका नामबाट विधिवत् दर्ता गरी विसं २०६७ मा जिल्ला वनकार्यालय चितवनबाट दुई दशमलव ४३ हेक्टर जमिन धार्मिक वनका नाममा दर्ता भएको र विसं २०७५ देखि गणेशधाम संरक्षण सम्वद्र्धन समितिले सरकार तथा दाताहरुको सहयोगमा यस क्षेत्रको निरन्तर विकास र प्रवद्र्धन गरिरहेको उहाँले बताउनुभयो ।

ऐतिहासिक गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न नवजागृति सामुदायिक वन उपभोक्ता समूह र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसगँकोे समन्वय र समितिका संरक्षक तथा वाग्मती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीको पहलमा २९ दशमलव ४७ हेक्टर जमिनमा रु ८० करोडको बृहत् गुरुयोजना तयार गरिएको छ ।

गणेशधाममा कमलेश्वर महादेव, पशुपतिनाथ, चण्डेश्वरी, सरस्वती, मनकामना, सन्तोषीमाता, विश्वकर्मालगायतका मन्दिर छन् । धामको तलतिर पुण्यवती जलाशय क्षेत्र रहेको छ । २२ बिघा क्षेत्रफलमा रहेको जलाशयको बाँधका लागि वाग्मती प्रदेश सरकारबाट रु चार करोड १६ लाखको लागतमा चार मिटर अग्लो र ३० मिटर लामो बाँध र ४० मिटर पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । जलाशयको शिरमा कैलाश पर्वत निर्माणधीन अवस्थामा छ । जलाशयबीचमा पर्ने सौन्दर्यकरणका लागि भरतपुर महानगरपालिकाबाट पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष चुकेले गणेशधामलाई गणेश अनुसन्धान केन्द्र तथा गणेश सङ्ग्रहालयका रुपमा विकास गर्ने बताउनुभयो ।

भारतद्वारा सुनसरीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौँ, : ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

कूल रु दुई करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएका हो । त्यस्तै ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको कूल रु तीन करोड पाँच लाख आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको भवन पनि आज उद्घाटन गरिएको छ ।

सो भवनको जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र भारतीय राजदूतावासका प्रथम सचिव शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक सुविधासँगै भवन निर्माण गरिएको हो ।

त्यसैगरी भारत सरकारको अनुदान सहयोग भगवती माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका प्रमुख, इनरुवा नगरपालिकाका प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको दूतावासले जनाएको छ ।

उक्त भवन विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना हुने अपेक्षा राखिएको छ । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन् ।

हर्न अफ अफ्रिकामा जल असुरक्षा र जलवायु सङ्कट समाधान गर्न आह्वान

विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र क्षेत्रीय सङ्गठनहरूले जलवायु सङ्कटले हर्न अफ अफ्रिकामा पानीको तनाव बढाउँदै गएकाले पानी व्यवस्थापनमा थप लगानी गर्न आह्वान गरेको छ ।राष्ट्रसङ्घीय आठ एजेन्सीहरू, विश्व बैंक, विकास र मानवीय साझेदारहरूमा अन्तरसरकारी प्राधिकरण, नागरिक समाज सङ्गठनहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले पानीमा क्षेत्रीय सहयोग सुदृढ गर्न रणनीतिक साझेदारहरूको संवादका लागि मङ्गलबार केन्याको राजधानी नैरोबीमा भेटेका थिए ।

सङ्गठनहरूका अनुसार बारम्बार खडेरी र बाढीले नराम्ररी प्रभावित क्षेत्रमा हर्न अफ अफ्रिकाका पाँचमध्ये एकजनालाई सफा र सुरक्षित पानीको पहुँच छैन ।साझेदारहरूले नैरोबीमा जारी विज्ञप्तिमा भनेका छन्, “विकास र जलवायु वित्तपोषणका साथै सहयोगी र नवीन पहलमार्फत लगानी यस क्षेत्रका मानिसहरूलाई आज र भविष्यमा फस्टाउन सक्षम बनाउन आवश्यक छ ।”

यस क्षेत्रका करिब ३० प्रतिशत जनसङ्ख्याको बसोबास सुक्खा र अर्ध–सुक्खा क्षेत्रमा छ । उनीहरूलाई जल असुरक्षाको जोखिममा पर्दा यस क्षेत्रका धेरैजसो क्षेत्रमा वर्षको कम्तिमा तीन महिना पानीको अभाव हुने गर्छ ।सङ्गठनहरूले ठोस कार्यबिना, जल असुरक्षा र जलवायु परिवर्तनसम्बन्धी झट्काले हर्न अफ अफ्रिकामा राष्ट्रिय विकास एजेन्डाहरूलाई कमजोर पार्न सक्ने चेतावनी दिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना र अनुगमन हुँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अनुगमन गरिएको छ ।
नेपाली पन्छी संरक्षण सङ्घको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक साता अघिदेखि खरमजुरको गणना र अनुगमन गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले खरमजुर गणना तथा अनुगमन हरेक वर्ष हुँदै आएको बताए ।

उनले खरमजुर गणनाका लागि पन्छी संरक्षण सङ्घ र निकुञ्ज प्रशासनबाट २० जनाको सङ्ख्यामा प्राविधिकसहितको टोली खटिएको जानकारी दिए । विश्वमै अतिसङ्कटापन्न अवस्थामा रहेको खरमजुर अनुगमन स्थलगत रूपमा सकिएको उनको भनाइ छ ।

“फिल्डमा अनुगमनको काम सकेर अहिले प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरिरहेको छ”, उनले भने, “यहाँ खरमजुर शुक्लाफाँटाको घाँसेमैदानलगायत विभिन्न क्षेत्रमा देख्न पाइन्छ ।” यहाँ खरमजुरको अनुगमन आवश्यकताअनुसार हात्तीलगायत विभिन्न विधिबाट अनुगमन हुने गरेको छ । निकुञ्जको घाँसेमैदान, अर्जुनी क्षेत्र, हरैया, लालपानीलगायतका क्षेत्रमा अनुगमन गरिएको हो । यसअघि गरिएको अनुगमनमा शुक्लाफाँटामा सात वटा खरमजुर भेटिएका थिए । शुक्लाफाँटा चार सय ५० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान पनि हो ।

पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँच जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको बर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घर झगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उहाँकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए । घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार चाबहिलस्थित आफ्नो तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहल गएराति श्रीमतीसँगको घर झगडाका क्रममा आगो लगाएको बुझिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सरकारलाई आयोगको सुझाव – वातावरण प्रदूषण गर्नेलाई कारबाहीको दायरामा ल्याउ

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्नलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विश्व वातावरण दिवसका अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति भराउने संवैधानिक व्यवस्थाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिएको छ ।

“स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवं सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक तथा कानुनी हकको कार्यान्वयन गर्न जरुरी छ”, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयात्मक पहल हुन, मानव अधिकारमुखी विकास पद्धतिमा जोड दिन, प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक दोहन र वातावरण प्रदूषण रोक्ने सम्बन्धमा प्रभावकारी र अर्थपूर्ण कार्यक्रम बनाउन जरुरी छ ।”

आयोगले देशव्यापीरुपमा वायु प्रदूषण, ध्वनि प्रदूषण, डढेलो, वनविनाश, बाढीपहिरो, तापक्रम वृद्धि, जलवायु परिवर्तनको प्रभाव, पानीको मुहान सुक्ने, प्राकृतिक प्रकोप, विपत्ति, मानवीय क्षति तथा आन्तरिक विस्थापनलगायतका वातावरणीय समस्या देखिँदै आइरहेको जनाएको छ ।

वातावरणीय समस्याको न्यूनीकरण तथा समाधान गर्ने एवं सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको हकको संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व हुने र आफ्ना उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणमा पर्ने असरबारे सजग हुनु निजी क्षेत्रको कर्तव्य भएको आयोगको भनाइ छ ।

पूर्वाधार निर्माण परीक्षण प्रयोगशाला स्थापित गर्न सरकारलाई निर्देशन

काठमाडौँ – राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय गौरवसहितका पूर्वाधार आयोजनाको गुणस्तर परीक्षणका लागि गुणस्तरीय प्रयोगशाल स्थापना गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिको आजको बैठकमा सदस्यहरूले भौतिक पूर्वाधार निर्माणको गुणस्तर कायम गराउने सन्दर्भमा सतर्कता केन्द्र स्वयम् सर्तक हुनुपर्नेमा जोड दिएको थियो । यसैगरी समितिले राष्ट्रिय सतर्कता केन्द्रको कामकर्तव्यसँग सम्बन्धित विधेयक शीघ्र ल्याउन सुझाव दिएको छ ।

भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनको जिम्मेवारी पाएको केन्द्रलाई स्वतन्त्र र प्रभावकारी कार्यसम्पादनका लागि समयसापेक्ष ऐन आवश्यक रहेको भन्दै सोसम्बन्धी व्यवस्थाका लागि समितिले सुझाव दिएको हो । यस्तै, नवीनतम् प्रविधिको प्रयोगद्वारा अनुगमन गर्ने र सम्पत्ति विवरण व्यवस्थापनको व्यवस्था मिलाउन केन्द्रलाई निर्देश गरेको छ ।

यसअघि सदस्यहरूले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनको जिम्मेवारी पाएको केन्द्र आफैँ स्वतन्त्र भएर काम गर्नसक्ने वातावरण हुनुपर्छ भन्दै आर्थिक घोटालामा प्रश्न उठेका र दाग लागेका व्यक्तिलाई नै त्यस्ता संस्थामा नियुक्ति दिन नहुने धारणा राखे ।

बैठकमा सदस्य डा अञ्जान शाक्यले सरकारका निकायबीच समन्वय, सहकार्य र सहयोग गर्ने पद्धति विकास हुनुपर्ने तथा कर्मचारीले पनि शासक होइन, सेवकको मानसिकताले काम गर्नुपर्छ भने । केन्द्रका प्रमुख एवं नेपाल सरकारका सचिव रामआधार साहले केन्द्रमा कार्यरत जनशक्ति र दरबन्दी कम रहेको तथा बजेटको अभावमा काम गर्न चुनौती भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुस्करले पछिल्ला समय चर्चामा आएका घटनाका आधारमा भ्रष्टाचारका स्वरूप पनि परिवर्तन देखिएको भन्दै सरकारले सोहीअनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासनलाई उच्च प्राथमिकता दिइरहेको बताउनुभयो । केन्द्रले पूर्वाधार निर्माणको गुणस्तर मापनलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकामा उहाँको जोड दिए ।