`

पाटाको अन्तर्राष्ट्रिय उपाध्यक्ष पदमा सुमन पाण्डे निर्वाचित

काठमाडौँ,-वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष पाण्डे गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजÞले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा पाण्डे निर्विरोध हुनुभएको हो । पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपश्चात आज जुन ७ मा भएको पाटाको साधारणसभाबाट अनुमोदन भएको हो ।

सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिमा पाटाको अध्यक्षमा इण्डोनेशियाका पिटर सिमोन, उपाध्यक्ष नेपालका सुमन पाण्डे, सचिव तथा कोषाध्यक्षमा थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा थाइल्यान्ड बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिङ्गापुरका मयूर पटेल निर्वाचित हुनुभएको छ । सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटामा यो तहको जिम्मेवारीमा पहिलोपटक प्रतिनिधित्व भएको जनाइएको छ । पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा रहनुभएको थियो ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भइ १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटकीय आदानप्रदान वा व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरूका साथ सहयोग तथा सहकार्यमा संलग्न रही आएको छ ।

सन् १९७५ देखि सदस्य रही आएको नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तरवृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आएको छ । साथै सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछिको सङ्कट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम तथा विभिन्न समयमा साहसिक पर्यटन मेला, हिमालयन ट्राभल मार्टको आयोजनामा सक्रिय सहयोग गर्दै आएको छ ।

नेपालको तर्फबाट पाटामा अहिलेसम्मकै माथिल्लो पदमा पुग्न पाउनु गौरबको विषय भएको भन्दै उपाध्यक्ष पाण्डेले पाटामार्फत नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धनमा सक्रिय हुने राससलाई जानकारी दिनुभयो । उहाँले दिगो पर्यटन विकासका लागि दक्ष र गुणस्तरीय जनशक्ति उत्पादनका साथै पर्यटकीय सेवाको गुणस्तर अभिवृद्धिमा संस्थाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रमा ३५ वर्षभन्दा बढी समयदेखि सक्रिय पाण्डे पदयात्रा, ट्राभल, एयरलाइन्स, होटललगायत विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) को पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य, वायुसेवा सञ्चालक सङ्घको पूर्वमहासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य साथै पाटा नेपाल च्याप्टरका अध्यक्ष भइसक्नुभएको छ ।

सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको मुख्य संयोजनकर्ता पाण्डेको अगुवाइमा सन् २००८ मा नेपालमा स्काई डाइभिङ र नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको सुरुवात पनि भएको थियो । उहाँकै नेतृत्वमा सन् २०१७ मा अन्तर्राष्ट्रिय पर्यटन मेलाको रुपमा प्रथम हिमालयन ट्राभल मार्टको सुरुवात भएको थियो ।

योजना छनोट व्यवस्थित गर्ने कोशी प्रदेश सरकारको निर्णय

मोरङ,- कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका योजना छनोट प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश ७५ को दफा ७ को उपदफा ६ बमोजिम प्रदेश विकास परिषद्को बैठक यही जेठ २९ गते बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।

सङ्घीय सरकारबाट हस्तान्तरण भएका र प्रदेशका अधुरा, क्रमागत योजनाहरु, बहुवर्षीय आयोजनाहरु, चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न नभएका र बजेट अपुग भएका योजनाहरु पूरा गर्न सङ्घीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको छ । यी योजनाहरु सम्पन्न गर्न रु दुई अर्ब तीन करोड ५० लाख ८७ हजार ससर्त अनुदान माग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाइको छ ।

नेपाल-कोरियाबीचको सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम

काठमाडौँ,-नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले नेपाल-कोरियाबीचको सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा यहाँ विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा आज ‘के-संस्कृति दिवस’, ‘नेपालमा कोरिया विषयमा हाजिरी जवाफ प्रतियोगिता’, ‘कोरियन वक्तृत्वकला’ र ‘के-संस्कृति अनुभव कार्यक्रम’को आयोजना गरिएको थियो ।

कोरियाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिताका विजेताले आगामी सेप्टेम्बरमा कोरियामा हुने फाइनलमा नेपालको प्रतिनिधिका रूपमा भाग लिने अवसर प्रदान गरिने दूतावासले जनाएको छ ।

त्यस्तै, ‘कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको सम्झनामा द्विपक्षीय सम्बन्धको विकासमा युवाको भूमिका’ भन्ने विषयमा कोरियाली भाषामा वक्तृत्वकला आयोजना गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई दूतावासले प्रमाणपत्र र पुरस्कार प्रदान गरेको थियो ।

सो अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क तेयोङले यस वर्ष सन् २०२४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै यस किसिमको कार्यक्रमले गणतन्त्र कोरिया र नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई थप अभिवृद्धि गर्ने बताउनुभयो । नेपाल र गणतन्त्र कोरियाबीच मित्रता र सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनका लागि आगामी दिनमा पनि दूतावासले प्रयास जारी राख्ने उहाँको भनाइ थियो ।

जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्छौः मुख्यमन्त्री सिंह

जनकपुरधाम,- मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताउनुभएको छ । मुख्यमन्त्री पदको शपथग्रहण तथा पदभारपपछि जानकी माताको दर्शन गर्नुभएका उहाँले मन्दिर परिसरमा रासससँग सङ्क्षिप्त कुराकानी गदै भन्नुभयो, “माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ । त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको छु ।”

मन्दिर व्यवस्थापन पक्षले जानकी मन्दिरको दिगो विकासका लागि अल्पकालीन तथा दीर्घकालीन स्पष्ट योजना ल्याएमा सो योजना पूरा गर्ने आश्वासनसमेत दिनुभयो । जानकी मन्दिरको विकास भएमा त्यहाँ धार्मिक पर्यटक बढ्नाका साथै मधेस प्रदेशको आर्थिक विकसमा सहयोग पुग्ने उल्लेख गर्दै मधेस प्रदेशको सप्तरीमा रहेको छिन्नमस्ता भगवती तथा बारामा रहेको गढीमाई मन्दिरको समेत विकास गरी पर्यटक तान्ने वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

यसअघि उहाँले आज मन्दिर व्यवस्थापन पक्षसँग छलफलका साथै मन्दिरको अवस्थाबारे जानकारी समेत  लिनुभएको थियो । सोही अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरको महत्व तथा गरिमालाई अगाडि बढाउनका लागि भारतमा भएको रामायण सर्किटको विकास गरेजस्तै सीता सर्किटको समेत विकास गर्नुपर्ने  मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । हाल जानकी मन्दिरमा दैनिक एक हजारभन्दा बढी बाहिरी जिल्लाबाट दर्शन तथा अवलोकनका लागि आउने गरेका छन् ।

मनसुनअघि नै चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम सम्पन्न गर्न सुझाव

काठमाडौँ, २५ जेठः प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिनुभएको छ ।आज बसेको समितिको बैठकमा उहाँहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिनुभएको हो ।

समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरु अलपत्र अवस्थामा रहेको भन्दै तोकिएको समयमा नै काम सक्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई निर्देशन दिने तयारी भएको जानकारी गराउनुभएको छ । “बुटवल– नारायणगढ तथा तनहुँ– पोखरा सडकखण्ड निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरुलाई आवतजावतमा असज भएको छ, यीलगायत अन्य पूर्वाधार निर्माण समय नै सक्नका लागि समितिले मन्त्रालयलाई राय तथा निर्देशन दिने छौ,” उहाँले भन्नुभयो ।

समिति सदस्य माधव सापकोटाले यस वर्ष समय अगावै मनसुन सुरु हुन लागेको भन्दै निर्माणाधिन अवस्थामा रहेका पूर्वाधार विकासको काम सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो । “पूर्वाधारका आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्दा लथालिङ्ग भएको देखिन्छ,” उहाँले भन्नुभयो, “असार लागेपछि मात्रै धामाधम विकास आयोजनाको काम अगाडि बढाइन्छ तर मनसुन सूरु हुनुअगावै आयोजना निर्माण काम सम्पन्न गर्न सकेमा पूर्वाधार निर्माण गुणस्तरीय हुन्छ ।”

समिति सदस्य शिव नेपालीले वर्षा सुरु हुनुअगावै सम्बन्धित मन्त्रालयलाई पूर्वाधार विकासलाई दु्रत गतिमा अगाडि बढाउन निर्देशन दिनुपर्ने बताउनुभयो । निर्माणधिन तथा निर्माण सम्पन्न भइसकेका पूर्वाधार आयोजनाहरुको अनुगमनको विषयमा प्रतिनिधिसभा सदस्यहरु प्रत्यक्ष रुपमा संलग्न रहनुपर्ने उहाँको भनाइ थियो ।

समिति सदस्य मैना कार्कीले बजेट सक्नका लागि पूर्वाधार निर्माणमा हतार गर्न नहुने धारणा राख्नुभयो । सदस्य विना लामाले पूर्वाधार विकासको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सदस्य प्रतिमा गौतमले सात वटै प्रदेशमा अनुगमनलाई अगाडि बढाउनुपर्नेमा सुझाव दिनुभयो । सदस्यद्वय कल्पना चौधरी र प्रेमबहादुर महर्जनले पनि विकासका पूर्वाधार निर्माणलाई समयमा नै सक्न र पारदर्शी बजेट खर्च गर्नका लागि अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा अझै राष्ट्रिय एकता र समन्वयको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २५ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा अझै केही गर्न बाँकी रहेकाले त्यसका लागि राष्ट्रिय एकता र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

मधुस्थली फाउन्डेशनले आज आयोजना गरेको वरिष्ठ वामपन्थी चिन्तक गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकमा दुईवटा वैचारिक प्रभाव रहेकामा एउटाले अर्काेको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढिरहेको तर अर्कोले अस्तित्वको स्वीकार गरेर अगाडि नबढिरहेको स्थिति रहेको औँल्याउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय ‘एजेन्डा’मा कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने तब मात्र देशलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो । उहाँले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक खुराक दिइरहेको वैचारिक नेताका रूपमा आफूले चिनेको बताउनुभयो । गोविन्दराज ज्ञवालीले वामपन्थी एकताका लागि मात्र नभइ, वाम शक्ति र प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन खेल्नुभएको भूमिकालाई इतिहासले उच्च मूल्याङकन गर्ने उहाँको भनाइ थियो ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा वाम खेमाबाट सन्तुलित विचार प्रवाह गर्नु हुने गोविन्दराज ज्ञवाली हामी सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ,” उहाँले भन्नुभयो, “गोविन्दराज ज्ञवाली आधुनिक नेपालको सामाजिक राजनीतिक उतारचढावलाई ऐतिहासिक विश्लेषणसहित नियाल्न सक्ने थोरै व्यक्तित्वमध्येका एक हुनुहुन्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले टुटफुटले आक्रान्त नेपालको कम्युनिष्ट आन्दोलनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (साहना समूह) र मनमोहन समूहलाई २०४२ सालमा एक गराएर नेकपा (मार्क्सवादी) निर्माण गर्न र तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (माले) लाई मिलाएर नेकपा (एमाले) को निर्माण गर्न गोविन्द ज्ञवालीको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । “उहाँले कम्युनिष्ट राजनीतिक दललाई एक ठाउँमा उभ्याउनु भएको थियो । त्यसको साथै अर्को वैचारिक पक्षमा उभिएका साथीहरुलाई राष्ट्रिय मुद्दामा ल्याउने अनवरत प्रयास गरिरहनु भएको छ,” उहाँले भन्नुभयो ।

उहाँले अग्रज पुस्ता र नवपुस्ताबीचको दूरी कम गर्न समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । “इतिहासको जानकारी नलिँदा नवपुस्ताहरु र पुराना पुस्ताबीच ग्याप जस्तो देखिन्छ, । त्यो ग्याप मेटाउन यो कार्यक्रम कडीका रुपमा रहेको छ,” उहाँले भन्नुभयो, “ज्ञवालीले समाजलाई दिएको योगदानलाई समेट्ने र भावी पुस्तासमक्ष राखिदिने कर्तत्व हो । अहिले त्यो काम भएको छ । यसलाई निरन्तरता दिनुपर्दछ । पूर्व र पश्चिमका व्यक्तित्वबीच पनि अन्तरसम्बाद हुनुपर्दछ ।”

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वामपन्थीलाई एक ठाउँमा जोड्नुपर्दछ भनेर सबभन्दा बढी जोड दिने नेताका रुपमा गोविन्दराज ज्ञवाली रहेको बताउनुभयो । उहाँले ज्ञवालीले सिकाएको आदर्शको ज्ञान र कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताले निरन्तर जारी राख्ने बताउनुभयो । कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले शान्त स्वभावका मृदुभाषी गोविन्दप्रसाद ज्ञवाली परिस्थितिको सूक्ष्म अध्ययन गर्न सक्ने व्यवहारवादी नेता रहेको चर्चा गर्नुभयो । तुल्सीप्रसाद भट्टराईले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि निरन्तर लाग्नुभएको व्यक्तिको रुपमा परिचित रहेको बताउनुभयो ।

गठबन्धनविरुद्ध ‘तत्काल कुनै सैन्य खतरा छैन’– नाटो प्रमुख

नाटो महासचिव जेन्स स्टोलटेनबर्गले शुक्रबार गठबन्धनको कुनै पनि सदस्यविरुद्ध ‘तत्काल कुनै सैन्य खतरा नभएको’ बताउनुभएको छ । क्रेमलिनले पश्चिममाथि युक्रेनमा युद्धलाई सम्भावितरूपमा बढाएको आरोप लगाएपछि उहाँको यस्तो टिप्पणी आएको हो । स्टोलटेनबर्गको भनाइ रुस र नाटो सदस्यहरूबीचको तनाव बढेको बेला आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी क्षेत्रमा लक्षित लक्ष्यहरूविरुद्ध अमेरिकाले प्रदान गरेको हतियारको प्रयोग गर्न युक्रेनमाथिको प्रतिबन्ध हटाउनुभएपछि क्रेमलिनले गत साता पश्चिममाथि ‘तनावको नयाँ चरणमा प्रवेश गरेको’ आरोप लगाएको थियो । यद्यपि बाइडेनले खार्किभको रक्षाका लागि मात्र हतियार आपूर्ति गरेको बताउनुभएको छ ।

नाटोको नयाँ सदस्य स्विडेनको भ्रमणका क्रममा स्टोलटेनबर्गले भन्नुभयो, “जबसम्म हामी मस्को वा अन्य सम्भावित राजधानीहरूमा हामीमाथि आक्रमण गर्न सक्ने देशहरूमा गलत बुझाइ वा त्रुटिपूर्ण मूल्याङ्कनका लागि स्थान दिँदैनौँ, नाटो मुलुकहरूविरुद्ध कुनै सैन्य खतरा छैन ।”

रुसले एकअर्काको रक्षाका लागि गठबन्धनको धारा ५ को प्रतिबद्धताको परीक्षण गर्न खोज्छ कि भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “हामीले कुनै पनि नाटो मुलुकविरुद्ध तत्काल कुनै सैन्य खतरा देखेका छैनौँ ।”

उहाँले स्विडिस प्रधानमन्त्री उल्फ क्रिस्टरसनसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसैले हाम्रो धारा ५ को वास्तवमा परीक्षण हुने कुरामा हामीले विश्वास गर्छौं भन्ने अवस्था छैन ।”

स्विडिस प्रधानमन्त्री क्रिस्टरसनले स्विडेनको वायु सेना नाटोको वायु प्रहरी बलमा सामेल हुने घोषणा गर्नुभयो । यसमा स्विडिस ग्रिपेन लडाकू जेटले मुख्यरूपमा बाल्टिक राज्यहरूको हवाई क्षेत्रमा गस्ती गर्नेछ ।

यसका साथै शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनले रुसी आक्रमणविरुद्ध लड्दै गर्दा निष्पक्ष शान्ति प्राप्त गर्न पश्चिमसँग अझ बढी गर्न आग्रह गर्नुभयो ।किएभले युरोपमाथि सैन्य समर्थन बढाउन दबाब दिइरहेको छ । हालैका महिनाहरूमा रुसले युद्धको मैदानमा अग्रता हासिल गरेको छ ।

‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

‘एच–५एन–२’ बर्ड फ्लूबाट सङ्क्रमित एक व्यक्तिको धेरै कारकले मृत्यु भएको र अनुसन्धान जारी रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार बताएको छ । एच५एन२ बाट मानवमा सङ्क्रमण पहिलो पुष्टि थियो ।

डब्लुएचओले बुधबार एच–५एन–२ एभियन इन्फ्लुएन्जा भाइरसबाट सङ्क्रमणको पहिलो प्रयोगशाला–पुष्टि मानव मामिला मेक्सिकोबाट रिपोर्ट गरिएको घोषणा गरेको थियो ।मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ५९ वर्षीय पुरुषलाई ‘क्रोनिक मिर्गौला रोग, टाइप–२ मधुमेह र लामो समयदेखि प्रणालीगत धमनी उच्च रक्तचापको इतिहास रहेको’ जनाएको छ ।

अप्रिल १७ मा तीव्र लक्षणहरू देखा पर्नुअघि उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने र सामान्य अस्वस्थता देखिएपछि तीन सातासम्म ओछ्यान परेका थिए । उनलाई अप्रिल २४ मा मेक्सिको सिटीको अस्पतालमा लगिएको थियो र सोही दिन उहाँको मृत्यु भयो ।

“बहु–घटकीय मृत्यु हो, एच५एन२ को कारणले मृत्यु भएको होइन”, डब्ल्युएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले शुक्रबार जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो, “बिरामी धेरै अन्य रोगहरूको बहु–कारक पृष्ठभूमिको हप्तौँपछि अस्पताल आएका थिए । उनको शरीरमा फ्लू र अन्य भाइरसहरूका लागि नियमितरूपमा परीक्षण गरिएको थियो ।”

अस्पतालमा यस मामिलाका १७ जना सम्पर्कमा आएका छन् । इन्फ्लुएन्जाको लागि सबै परीक्षण नेगेटिभ आएको छ । मानिसको बसोबास गर्ने स्थानमा पहिलाका साताहरूमा पहिले १२ सम्पर्कहरू पहिचान गरिएको थियो । सबैको परीक्षण पनि नेगेटिभ आएको छ ।

डब्लुएचओले बुधबार भाइरसको जोखिमको स्रोत हाल अज्ञात रहेको र मेक्सिकोमा कुखुरामा एच–५एन–२ भाइरसहरू रिपोर्ट गरिएको छ ।

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी

काठमाडौँ, २५ जेठ : विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

मकवानपुरको उत्तरपश्चिम भेगस्थित मनहरी गाउँपालिकामा सञ्चालित खोरिया सुधार कार्यक्रम, नवलपुरमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रम, कास्कीमा सञ्चालित रुपा ताल पुनःस्थापना, तनहुँमा सञ्चालित पर्यापर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धनलगायत कार्यक्रम प्रभावकारी भएको सो अवसरमा जानकारी गराइयो । जलवायु परिवर्तनबाट आउने समस्या समाधान गर्न यी कार्यक्रम गरिएको नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि आसानी मेडागंगोडा–लेबले बताउनुभयो । जलवायु परिवर्तनको समस्याबाट पर्ने प्रभाव न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले आदिवासी जनजाति लक्षित कार्यक्रम भएकाले आयोगका तर्फबाट सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । “जनजातिको जीवनस्तर सुधार गर्न अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा जलवायु परिवर्तनले जनजाति समुदायमा पारेका प्रभाव र अनुदान कार्यक्रमका माध्यमबाट यसलाई न्यूनीकरण गर्न गरिएका प्रयासका विषयमा विभिन्न समूहमा संवाद गरिएको थियो । समूह संवादमा वन तथा वातावरण, अर्थ, परराष्ट्र, पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, वातावरण विभाग, विभिन्न स्थानीय तह, नेपाल नगरपालिका सङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २५ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ । मन्त्रालयको बेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक तथा सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने र समसामयिक विषय परिमार्जन गरिने बताउनुभयो ।

यही जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असार ३२ गतेको निर्णयबाट तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएको थियो । विसं २०५७ माघ १ गते तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष उक्त प्रतिवेदन बुझाइएको थियो ।

‘बजेटले उपभोक्ताको हितलाई बेवास्ता गर्‍यो’

काठमाडौँ, २५ जेठ : नेपाली कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले आर्थिक वर्ष २०८१÷८२ को बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले आज विज्ञप्ति जारी गर्दै बजेटले उपभोक्ताको हितलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो । “दैनिक उपभोग्य वस्तु चामल, चिनी, दाल, तेल, माछामासु, सागसब्जी तथा फलफुलमा अत्यधिक मूल्यवृद्धि भएको छ, यसका कारण आम उपभोक्ताको भान्छा अत्यन्त महङ्गो भएको छ”, प्रमुख बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बजेटले भन्सार नीतिमा व्यापक परिवर्तन गर्दै आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर हटाएको देखाएर दाल, चामल, माछामासु, तेललगायतमा १० प्रतिशत भन्सार महसुल लिने र भन्सार विन्दुमा नै अग्रीम आयकर कट्टी गर्नेजस्ता नीति लागू गरेको प्रमुख बरालले आरोप लगाउनुभयो । “उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुमा विगतमा करिब शून्य भन्सार दर लागू भइरहेको वस्तुमा भन्सार महसुल लगाउने र अग्रीम आयकर दस्तुर लगाउने कामले उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्छ”, विज्ञप्तिमा उल्लेख छ ।

संविधानको मर्म र आमनागरिकको खाद्य वस्तु माथिको सहज पहुँचको हक अधिकार माथि नै कुण्ठित हुनेगरी दैनिक उपभोग्य वस्तुमा लगाइएको भन्सार महसुल दर र अग्रीम आयकर लिने व्यवस्था खारेज गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

राष्ट्रिय योजना आयोगको सदस्यमा डा सिंह

काठमाडौँ, २५ जेठः सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन मिल्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएका सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि राष्ट्रिय परिचयपत्रवाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।”

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन भारत भ्रमणको निर्णय स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको भएको छ ।त्यस्तै, बैठकले हेँटौडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुको रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली,२०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

कांग्रेसले बहुमत ल्याउने गरी तयारी सुरु गरेको छः नेता निधि

काँक्रेविहार (सुर्खेत), २५ जेठ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताउनुभएको छ । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा अन्त्य गर्दै असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।” पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उहाँको धारणा थियो । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताउनुभयो । यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि त्यो टिक्न नसकेको उहाँको भनाइ थियो ।

पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उहाँको भनाइ छ ।

३५ हजार घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको टोलीले स्रोत नखुलेको रु ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

प्रधानमन्त्री दाहालसँग मेयर्स फोरमको छलफल

काठमाडौँ, २५ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो । उक्त छलफलमा प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यससम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा यससम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।”

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोललगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकाका स्थानीय तहका काम कारवाही र समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

पूर्वमुख्यसचिव पौडेल संयोजक रहेको सुझाव समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौँ, २५ जेठः पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा ‘गृह मन्त्रालयअन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति’ले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष प्रतिवेदन पेस गरेको छ ।

मन्त्रालयअन्तर्गतका निकायका सेवालाई थप प्रभावकारी बनाउन सुझावसहितको प्रतिवेदन तयार पार्न विसं २०८० कात्तिकमा गठित उक्त समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

उक्त अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरुप विद्यमान समस्याको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव दिन समिति बनाइएको थियो ।

समितिलाई शान्ति सुव्यवस्था, अपराध अनुसन्धान, सस्थागत पुनसंरचना, कर्मचारीको कार्य क्षमता वृद्धि, कार्य सम्पादन मापन, नीतिगत तथा कानुनी सुधार, मन्त्रालयअन्तर्गतका निकायहरुको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार, विपद् व्यवस्थापन, राष्ट्रिय परिचयपत्र व्यावस्थापन, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण लगायतका विषयहरु समावेश गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो ।

सोही कार्यादेश बमोजिम समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र सङ्गठन तथा व्यवस्थापनका विषय समावेश गरिएको यस प्रतिवेदनमा तत्काल र दीर्घकालमा लागू गर्न सकिने कार्य योजनाहरु पनि प्रस्तुत गरिएको जनाइएको छ ।

प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कार्यदलले आफूलाई प्राप्त जिम्मेवारीभित्रका विषयमा गहन अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँले प्रतिवेदनका आधारमा गृह प्रशासन सुधारको मार्गचित्र तयार गरिने र सो बमोजिम सुधारका कार्यहरु अघि बढाइने बताउनुभयो ।

उहाँले प्रतिवेदन कार्यान्वयनका क्रममा प्रतिवेदन तयारकर्ता विज्ञहरुको निरन्तर सहयोग आवश्यक हुने र मन्त्रालयलाई आवश्यक परेका बखत विज्ञहरुबाट मन्त्रालयले निरन्तर सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

गण्डकी, २५ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिनुुहुने भएको छ ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३.०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुुभएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुुभएको थियो ।

भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको अध्यक्ष ओलीको दाबी

चितवन, २५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उहाँले पार्टी कामलाई पनि महिलाहरुको बीचमा लैजान निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “महिलाहरुले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।”

फरक प्रसंगमा उहाँले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।”

माडीमा राम मन्दिर बन्ने बताउँदै उहाँले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने उहाँले बताउनुभयो । माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उहाँले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताउनुभयो ।

एमालेले मिसन-२०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ । वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।” पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै उहाँले भन्नुभयो “आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै सपथग्रहण गरेको छ ।

‘गाओकाओ’ परीक्षामा लाखौं चिनियाँ विद्यार्थी सहभागी

चीनमा विद्यालयस्तरका बालबालिकाका लागि ‘फलामे गेट’का रूपमा मानिएको ‘गाओकाओ’ परीक्षा शुक्रबार शुरू भएको छ ।

शिक्षा मन्त्रालयले यस वर्षको बहु–विषय गाओकाओ शृङ्खलामा सहभागी हुने विद्यार्थीहरूको सङ्ख्या उच्च हुने अनुमान गरेको छ । शिक्षा मन्त्रालयले यो परीक्षाका लागि एक करोड ३० लाख ४२ हजार परीक्षार्थीहरूले फारम भरेको जनाएको छ ।

आफ्ना एक सन्तानलाई लिएर परीक्षा हलमा पुग्नुभएकी ५० वर्षीया आमा झी हाइहोङले एएफपीसँग भन्नुभयो, “मानिसहरूले यो जीवनको सुरुवात हो भन्छन् । त्यसैले यसलाई उच्च महत्व दिएका छन् । कोही पनि सुस्त हुन चाहँदैन ।”

शुभ चम्किलो रातो रङले सौभाग्य ल्याउँछ भन्ने आशामा आफ्नी छोरीलाई मध्य बेइजिङको परीक्षा स्थलमा पु¥याउनका लागि झीले परम्परागत किपाओ पहिरन लगाउनुभएको थियो ।

चीनको गाओकाओ अध्ययनले विद्यालयका विद्यार्थीहरूलाई चिनियाँ, अङ्ग्रेजी, गणित, विज्ञान र मानविकीजस्ता विषयहरूमा उच्च अध्ययन गर्न सक्षम बनाउने विश्वास गरिन्छ । परिणाम विश्वविद्यालयमा भर्ना हुनका लागि महत्त्वपूर्ण छ ।

आर्थिक वृद्धिले जीवनस्तर उकास्नुका साथै आफ्ना छोराछोरीको भविष्यप्रति अभिभावकको अपेक्षाका कारण हालैका दशकहरूमा चीनमा उच्चस्तरीय शिक्षाको तीव्र विकास भएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकले महामारीपछिको पुनरुत्थानका लागि सङ्घर्ष गरिरहेको बेला नयाँ स्नातकहरूले प्रवेश गर्ने रोजगारीको बजार अहिले पहिलेको जस्तो गुलाबी छैन । उच्च युवा बेरोजगारी एक महत्वपूर्ण चिन्ताको विषय बनेको छ ।

“मलाई लाग्छ यो हुर्कने एक आवश्यक प्रक्रिया हो,” युवाहरूले सामना गर्ने दबाबको बारेमा सोधिएको प्रश्नमा झीले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘गाओकाओ’ देशको लागि प्रतिभाशाली व्यक्तिहरू छान्ने एउटा विधि पनि हो ।

उहाँले भन्नुभयो, “यो दबाबले नै मात्र मानसिक सहनशीलतालाई बढाउन र समाजमा काम गर्दा भविष्यमा यी दबाबहरू सामना गर्न सक्षम बनाउँछ भन्ने मेरो विश्वास छ ।”

प्रतिस्पर्धी कृषितर्फ अघि बढ्न श्रीलङकाका राष्ट्रपतिको जोड

श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सन् २०३० सम्ममा आधुनिक प्रविधि अपनाएर प्रतिस्पर्धी कृषितर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

धान उत्पादनलाई प्राथमिकता दिएर प्रतिस्पर्धी निर्यात बजारमा सफल हुन सक्ने उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा राष्ट्रपति विक्रमसिङ्घले जोड दिनुभएको हो ।

विक्रमसिङ्गेल निर्यात बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उत्पादनहरू बन्द गर्न सल्लाह दिँदै प्रतिस्पर्धी उत्पादनहरूमा ध्यान केन्द्रित नगरी भविष्य सुरक्षित हुन नसक्ने बताउनुभयो ।

बिहीबार राष्ट्रपति सचिवालयमा बसेको कृषि आधुनिकीकरण कार्यक्रमको प्रगति समीक्षा बैठकमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

शिक्षा, लगानी नीति बदल्न नसक्दा बेरोजगारी बढ्यो : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), २५ जेठ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको छ । आज वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको हो ।

“युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने आवश्यकता छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । सोही बमोजिम कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका योजना अघि सारेको उहाँको जानकारी दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताउनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले नेपाली नागरिकसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्याङ्कन नभएको धारणा राख्नुभयो । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ, यो सीप इन्जिनियरको भन्दा कम छैन, तर यो सीपले प्रमाणपत्र पाउन सकेको छैन, जसका कारण सीप भएका युवाको पहिचान र मूल्याङ्कन हुन सकेको छैन,” उहाँले भन्नुभयो । आइतबारसम्म सञ्चालन हुने मेलामा सरकारी तथा निजी क्षेत्रका गरी ४० वटा स्टल राखिएका छन् ।

एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, २५ जेठ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि रासससँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गर्नुभयो । “यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो । अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि एमाले बजेटलाई समर्थन र कार्यान्वयन गरेर जाने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे नेपालको संविधान, पार्टीको विधान, अन्तर्राष्ट्रिय अभ्यास, सम्बन्धित पार्टीका आम कार्यकर्ताको बुझाइ तथा सम्बन्धित व्यक्तिको रुची के छ भन्ने आधारमा हेर्नुपर्ने बताउनुभयो । संविधान र पार्टीको विधानले उहाँलाई राजनीतिक गतिविधिमा लाग्न बाटो नछेकेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यो पूर्वराष्ट्रपति भण्डारीको निर्णय र इच्छामा भर पर्ने कुरा हो भन्नुभयो ।

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीबारे लचिलो, व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड

काठमाडौँ, २५ जेठ : नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन् । आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो । उक्त छलफलमा सहभागीहरुले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतीमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भन्नुभयो, “गाँजा उत्पादन जताततै छ । मैले बोकेको ब्यागको पनि चर्चा भयो । यसका उत्पादन प्रयोग भइ नै रहेका छन् । यसको प्रयोगबाट कुलतमा फसेका पनि छन् । सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानुनी व्यवस्था गर्नुपर्छ । फेरि व्यवस्थित गर्न नसके ठूलै प्रकोप निम्तिन्छ ।”

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कुन भौगोलिक क्षेत्रमा कस्तो गाँजा खेती गर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यससम्बन्धी अध्ययन भइरहेको छ । छिट्टै प्रतिवेदन सार्वजनिक हुन्छ । गाँजा खेतीको सम्भावना छ तर यसले सामाजिक परिवेशमा पार्ने प्रभाव र बजारको पनि अध्ययन हुनुपर्छ ।”

कृषि मन्त्रालयका सचिव डा दिपककुमार खरालले गाँजाको व्यवसायिक खेतीको सम्भाव्यता अध्ययन गर्न लागू औषध (नियन्त्रण) ऐन, २०३३ संशोधन हुनुपर्ने धारणा राख्नुभयो । “कानुनी सहजीकरण नभएसम्म हुँदैन । बाँझो जमिनमा यसको खेती गर्न सकिन्छ । खेतीसम्बन्धी बोर्ड नै गठन गरेर जान सकिन्छ”, डा खरालले भन्नुभयो ।

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यावसायिक खेतीमा किसान केन्द्रित बनाउनुपर्ने बताउनुभयो । “खेतीका लागि कुनै व्यक्ति वा संस्थालाई नभइ किसानलाई नै प्रोत्साहन गर्नुपर्छ । गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ”, मन्त्री तामाङले भन्नुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा प्रदीप केसीले गाँजाका बारेमा आयुर्वेदमा थुप्रै अध्ययन भइसकेको भन्दै औषधीय गुणको चर्चा गर्नुभयो । मानसिक अस्पतालका डा अनन्त अधिकारीले गाँजाको औषधीय गुण भएपनि यसले नकरात्मक असरसमेत पार्न सक्दै भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजाहरु पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानमा दुखाइ कम गर्ने, छारे रोग, डिप्रेसन, एन्जाइटी, क्यान्सर थेरापीलगायतमा गाँजाको उपयोग हुने देखिएको छ । गाँजामा औषधीय गुणसँगै यसको रेसाबाट लुगा, कस्मेटिक, खाद्यपदार्थमा पनि प्रयोग हुन्छ ।” उहाँले किसानलाई लक्षित गरेर गाँजा खेतीका लागि अन्तराष्ट्रिय मापदण्डसँग मिल्ने गरी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

उपयुक्त कानुन निर्माण गर्नुपर्ने, निगरानी तथा नियमनमा जोड दिनुपर्ने, खेतीका लागि वास्तविक किसानलाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयमा केन्द्रित बैठकमा सांसदहरूले प्राथमिकतामा राखेर विधेयक छिटो ल्याउनुपर्ने बताउनुभयो । बैठकमा गाँजा खेतीको औषधी प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानूनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो ।

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुन सक्ने सङ्घले अनुमान गरेको हो ।

सङ्घका अध्यक्ष विनायक शाहले पछिल्लो समय चीनमा भइरहेका प्रवर्द्धनात्मक कार्यक्रमले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । “चीनका विभिन्न सहरमा आयोजित नेपाल प्रवर्द्धनमा सहभागी चिनियाँ टुर अप्रेटर, पर्यटन व्यवसायीहरुको चासो र अग्रिम बुकिङ हेर्दा आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ”, अध्यक्ष शाहले भन्नुभयो । प्रवर्द्धन कार्यक्रमका दौरानमा नेपालको पर्यटन प्रवर्द्धनार्थ महत्वपूर्ण दुई पक्षीय सम्झौता पनि भएकाले चिनियाँ पर्यटकको आकर्षण बढ्ने उहाँको विश्वास छ । चीनमा नेपाल प्रवर्द्धन गरेर फर्किएको सङ्घले चिनियाँ पर्यटक बढोत्तरीका लागि हवाई र सडक यातायात सेवा थप गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

चीनस्थित नेपाली राजदूतावास, छेन्दुस्थित नेपाली महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपालबाट चीन भ्रमणमा गएका ७५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल र सयभन्दा बढी चिनियाँ पर्यटन व्यवसायीबीच बेइजिङ र छेन्दुमा छुट्टाछुट्टै कार्यक्रम भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र छेन्दुस्थित महावाणिज्यदूत सुरेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमहरुमा नेपाल पर्यटन बोर्डले प्रस्तुतीकरण गरेको थियो । नेपाली प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीबीच ‘बीटुबी’ बैठक सम्पन्न भएको थियो । सन् २०२५ लाई भ्रमण वर्षको रुपमा मनाउने सन्दर्भमा सरकारले छिमेकी मुलुक चीनबाट पर्यटन प्रवद्र्धन गराउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । चिनियाँ पर्यटकलाई लक्षित गरी सरकारले लुम्बिनीलाई ‘बर्थिंग हब’ र ‘डेस्टिनेसन वेडिङ’ को रुपमा प्रवर्द्धन गर्ने जनाएको छ । यही जेठ १९ गते चीन पुगेको होटल सङ्घ नेपालका सातै प्रदेशका ७५ सदस्यीय व्यापार प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् ।

ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छः मुख्यमन्त्री जम्कट्टेल

धुलिखेल, २५ जेठः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुङ्गा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा आजबाट सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटनका अवसरमा उहाँले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले विगतमा छुटेका तालढुङ्गा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षको सम्बोधन गर्ने जानकारी दिनुभयो । डाँडापारिको तालढुङगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुङगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने उहाँको भनाइ छ ।

“खोपासी–तालढुङगा सडकको नाम नै हराउन लागेकोमा अब यस वर्षबाट नै सुरु गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि चिन्ता नलिनुहोस्, अब सङ्घीय सरकारले सुम्पेको सडक प्रदेश सरकारले गर्नेछ ।”

सङ्घीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सयभन्दा बढी सडकको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ती सबै आयोजनाको काम निरन्तर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

उहाँले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासँग जोडिएको मार्गका रुपमा लिएर काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । बिपी राजमार्गदेखि महाभारत पहाड हुँदै मदनभण्डारी राजमार्ग जोड्ने सडकका रुपमा जनमुक्ति मार्ग निर्माण भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

सो क्रममा उहाँले पूर्वाधार विकासका सबै काम प्रदेश सरकारले जिम्मा लिने भएकाले अब स्थानीय सरकार कृषि उत्पादन र प्राविधिक शिक्षालाई अगाडि बढाउनका लागि योजना बनाउनतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले डाँडापारिको विकासका लागि शिक्षा क्षेत्रबाट सुधार गर्दै भौतिक पूर्वाधारका काममा प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । जनताको विकासप्रतिको चाहना पूरा गर्नका लागि सङ्घीय सरकार साथमा नै रहेको उल्लेख गर्दै उहाँले जनतालाई सुविधा प्रदान गर्न सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले विकासका काममा सबै राजनीतिक दल र नागरिक सबै एकजुट भएर काम गर्नका लागि एकबद्धता आवश्यक रहेको बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले डाँडापारिका नागरिकले आफ्नै गाउँमा कालोपत्र सडक र सिंहदरबारको सुविधा घरआँगनमा नै प्राप्त गर्न सफल हुँदै गएको बताउनुभयो । काभ्रेपलाञ्चोकलाई सुगमका गन्तव्यका रुपमा देखिए पनि विकटमा रहेका डाँडापारिका भारत र खानीखोला गाउँपालिकाका नागरिकले सङ्घीयता आएपछि विकासको अनुभव गर्न पाएको बताउनुभयो ।

जनमुक्ति मार्गको निर्माण सुरु भएपछि अब प्रदेश राजधानी जोड्ने ४४ किलोमिटर सडक पक्की बन्ने काम भइरहेको उहाँले बताउनुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सो क्षेत्रका नागरिकलाई विकासको अनुभव हुने गरी प्रदेश सरकारल बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । यहाँका नागरिकको दैनिक जीवनसँग जोड्ने आवश्यक उपभोग्य सामग्रीको व्यवस्थापनदेखि प्रशासनिक कामका लागि बनेपा धुलिखेल जोड्ने सडक सञ्जाल टुट्ने र हेटौँडा जोड्ने बाटो सिक्रेदोभानमा बागमती खोलाले छेक्ने भएपछि समसया झेल्नुपरेको बताउँदै अब जनमुक्तिमार्ग र खोपासी–तालढुङगा सडकखण्ड पक्की बनेपछि सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ – महामन्त्री थापा

मोरङ, २५ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कांग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य कुनै विकल्पमा नजाने प्रष्ट पार्नुभयो ।

महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिनुभयो ।

महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताउनुभयो ।

उहाँले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाति रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपिभी खोप

चितवन, २५ जेठः जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ । यसैगरी माडी नगरपालिकाका दुई हजार एक सय २९ मध्ये एक हजार छ सय ५२, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९ मध्ये चार हजार एक सय तीन, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३ मध्ये तीन हजार ९६ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ मध्ये नौ सय ४६ जना बालबालिकालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

खोपअभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो । विसं २०७३ वैशाखदेखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २५ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफल जरूरी छन् । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ । अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।”

छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो ‘डेलिभरी’ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ । जनतालाई राम्रो ‘डेलिभरी’ दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।”

प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम शीघ्र निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उहाँले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन संसद्बाट चाँडो पारित गराउन र प्रहरी समायोजनको काम टु्ङ्ग्याउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ । सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।”

छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधिमन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिवलगायत उपस्थित हुनुहुन्थ्यो ।

नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा मन्त्री तामाङको जोड

काठमाडौँ, २५ जेठः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताउनुभएको छ ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४५औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पुराना पर्यटकीय प्याकेजका साथै नयाँ सम्भावनायुक्त गन्तव्यको खोज, अध्ययन र प्रवर्द्धन गरिनुपर्ने धारणा राख्नुभयो । “नयाँ गन्तव्यहरू पहिचान गर्नुपर्यो । हिमालमात्रै होइन, संस्कृतिको पनि प्रवर्द्धन जरुरी छ”, पर्यटनमन्त्री तामाङले भन्नुभयो, “नेपालमा अथाह पर्यटकीय सम्भावना हुँदा पनि बढी पर्यटक आकर्षण गर्न सकिरहेका छैनौँ ।”

सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत घोषणा गरेको पर्यटनका कार्यक्रमलाई कार्यान्वयन गर्न र १६ लाख पर्यटकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले योजना कार्यक्रम बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

पाटा नेपालको अध्यक्षमा लकाइ

पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित हुनुभएको छ । वार्षिक साधारणसभाले लक्काईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राना चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, हिम्मत पुरी, सरिता लामा, सुनिल भट्टराई चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष लकाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका कामलाई सरोकारवालाको समन्वय र सहकार्यमा प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र यसलाई थप चलायमान बनाउन विशेषगरी अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैबीच पाटा नेपालले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड द्धारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ र साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई प्रदान गरेको छ ।

यस्तै यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई टुरिजम ब्लेजर अवार्ड दिइएको छ । पाटा पर्सनालिटी अवार्ड २०२४ भोजनगृहका सञ्चालक भरतबहादुर बस्नेतलाई प्रदान गरियो भने पाटा स्पेसल कन्ट्रीब्युसन अवार्ड पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टलाई प्रदान गरिएको छ ।

वाग्मती सरकार चालु आवकै हाराहारीमा बजेट ल्याउँदै

वाग्मती । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।

आर्थिक तरलता, न्यून आन्तरिक आया र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले बताउनुभयो । आगामी आवको बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ ।

वाग्मती सरकारले चालु आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड रहेको छ ।

कालीगण्डकी करिडोर: चराङ–छोसेर खण्ड निर्माण सुरु

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई बताउनुभयो ।

“धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले काम पुनः प्रारम्भ गरेको छ”, उहाँले भन्नुभयो “कल्भर्ट, पर्खाल र नाली निर्माण भइरहेको छ ।” लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७२ सालमा तामाङ–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले रु २६ करोडमा ठेक्का लिएको थियो ।

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । एघार मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताउनुभयो ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरलानाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३÷७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडकको छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड विनियोजन भएको थियो ।

एमाले काठमाडौँको सातौँ अधिवेशनको तयारी,अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ जिल्लाको कमिटीले सातौँ अधिवेशनको तयारी गरेको छ । भृकुटीमण्डपमा यही जेठ २६ देखि २८ गतेसम्म हुने अधिवेशनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले काठमाडौँले जानकारी दिएको छ ।

दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लाभरबाट पाँच सय ८५ जनाभन्दा बढी प्रतिनिधि तथा हजारौँ पार्टी नेता तथा कार्यकर्ता सहभागी हुने एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष निरौलाले उद्घाटनसत्रपछि जेठ २७ गते हुने बन्दसत्र सञ्चालनका लागि एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी दिए ।

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ ।सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो । सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले उक्त कुरा बताएको हो ।

हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराउनुभएको थियो । पाकिस्तानका प्रधानमन्त्रीले १९औँ सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने आफ्नो मुलुकको चाहना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव विनयमोहन क्वात्रा, अर्का सचिव जयदीप मजुमदार तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर सचिवालयका गतिविधिबारे जानकारी दिनुभएको थियो । ती अवसरमा भारतीय नेतृत्व तथा अधिकारीहरूले सार्क प्रक्रियाप्रति समर्थन जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताउनुभएको छ ।

बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा सङ्गठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।

प्राकृतिक स्रोत र साधनले भरपूर बिम्स्टेक क्षेत्रले सङ्गठनका माध्यमबाट विकास गरेको भए पनि अझ बढी जनकेन्द्रित कार्य गर्न नेतृत्व तहको सामूहिक बुद्धिमता एवं दृष्टिकोण आवश्यक भएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ । उहाँले छैटौँ बिम्स्टेक शिखर सम्मेलनको तयारी भइरहँदा विश्वव्यापी रूपमा थपिएका नयाँ चुनौतीको सामना गर्दै क्षेत्रीय सहयोगलाई अझ सृदृढ बनाउने कार्ययोजना तयार गर्न जरुरी भएको बताउनुभएको छ ।

सन्देशमा उपप्रधानमन्त्रीले बिम्स्टेक सचिवालयले गरेका कामको प्रशंसा गर्दै बिम्स्टेक बडापत्र लागू भएकामा खुसी व्यक्त गर्नुभएको छ । साथै उहाँले नेपाल सरकारका तर्फबाट सङ्गठनलाई गतिशील तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताउनुभएको छ । सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकाङ्क्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय सङ्गठनले केही उल्लेखनीय उपलब्धि हासिल गरे पनि त्यस दिशामा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, “सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग अभिवृद्धि, व्यापार लगानी र पर्यटनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने र विकासका गतिविधिमा सबै नागरिकलाई समाहित गरी गरिबीको दुष्चक्रमा परेका दशौँ लाखलाई त्यसबाट मुक्त गर्न बिम्स्टेक क्षेत्रमा अथाह अवसर र सम्भावना छन् ।”

प्रधानमन्त्रीले सङ्गठनको संस्थागत विकास प्रक्रिया बढाउन तथा बिम्स्टेक क्षेत्रका सबैको हितका निम्ति यसका तुलनात्मक लाभका क्षेत्र र विविध सामर्थ्यको उपयोगबाट आपसी सहकार्य र साझेदारीका साथै सहायता प्रवर्द्धनका लागि सहमति भएका क्षेत्रमा सङ्गठनले क्रमशः प्रगति गरेको बताउनुभएको छ ।

जनता–जनताबीचको सम्पर्क विस्तारको मुख्य भूमिकामा रहेको नेपालले यस क्षेत्रको साझा समृद्धिका लागि सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर अर्थपूर्ण साझेदारी र एकता तथा मैत्रीको भावनाका साथ काम गर्ने बताउनुभएको छ । बिम्स्टेकको सफलतामा नै यो क्षेत्रको शान्ति, समृद्धि र जनताको साझा हित निहित रहेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले विकास परियोजनाको कार्यान्वयनका लागि बृहत् राजनीतिक प्रतिबद्धता तथा समझदारी कायम गर्न अपरिहार्य भएको बताउनुभएको छ । उहाँले गत महिनादेखि लागू भएको बिम्स्टेक बडापत्र जनता केन्द्रित विकासका साथै बिम्स्टेक क्षेत्रको समग्र विकासमा सहयोगी भएको उल्लेख गर्नुभएको छ ।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संशाधन, पर्यटन, कृषि, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका निम्ति सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासमा सघाउने बिम्स्टेकको लक्ष्य हो । दक्षिण तथा दक्षिण पूर्वी एसियाी मुलुकहरूको उपक्षेत्रीय सङ्गठन (बिम्स्टेक) समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना ६ जुन १९९७ मा स्थापना भएको हो ।

सिंहदरबारभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न गृहको निर्देशन

काठमाडौँ- गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र अपाङ्गतामैत्री पार्किङस्थल तोक्न निर्देशन दिएको छ ।सिंहदरबार परिसरलाई अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनका लागि पार्किङ एरिया तोक्ने व्यवस्था मिलाउन महानगरीय प्रहरी सुरक्षा गण, सिंहदरबारलाई गृह मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, ‘सिंहदरबार परिसरभित्र आउने अपाङ्गता भएका आगन्तुक तथा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयले अपाङ्गतामैत्री पार्किङ बनाउन एरिया तोक्ने निर्देशन दिएको हो ।’ सो व्यवस्था मिलाई मार्किङ गर्नसमेत मन्त्रालयले निर्देशन दिएको प्रवक्ता भट्टराईले बताए ।

गृहको निर्देशन कार्यान्वयनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरूलाई सवारीसाधन पार्किङमा सहजता हुने विश्वास गरिएको छ । गृह प्रशासनले नागरिकमैत्री निर्णयमा जोड दिएको छ । अन्य मन्त्रालयको जिम्मेवारीमा पर्ने भए पनि ती मन्त्रालयको प्राथमिकतामा नपर्दा थप जिम्मेवारीसमेत गृहले निर्वाह गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

सिंहदरबारभित्र निर्मित कतिपय संरचना अपाङ्गतामैत्री छैनन् । सिंहदरबारमा कार्यरत कर्मचारीदेखि आगन्तुकका लागिसमेत पार्किङ बनाउन सकिएको छैन । जसका कारण पार्किङमा समस्या देखिने गरेको छ । परिसरभित्रै अस्तव्यस्त पार्किङ भएपछि केही साताअघि मात्रै ट्राफिक प्रहरीको नियमित टोली तैनाथ गर्ने निर्णय गरिएको थियो ।

गाजा युद्धविराममा हमासबाट इजिप्टलाई ‘सकारात्मक सङ्केत’ प्राप्त

कायरो। इजिप्टले सम्भावित गाजा युद्धविराम र इजराइलसँग बन्धक–कैदीको आदानप्रदानमा हमासबाट उत्साहजनक सङ्केत प्राप्त गरेको उच्च स्रोतलाई उद्धृत गर्दै सरकारी अल–काहेरा न्युजले बिहीबार बताएको छ ।गाजा पट्टीमा इजराइल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले युद्धविरामका लागि कायरो अन्य मध्यस्थकर्ता दोहा र वासिङ्टनसँग महिनौँदेखि वार्तामा संलग्न छ ।

“हमास नेताहरूले हामीलाई युद्धविराम प्रस्तावको गम्भीर र सकारात्मकरूपमा अध्ययन गरिरहेको सूचित गरेका छन्”, अल–काहेराले स्रोतलाई उद्धृत गर्दै भनेको छ । स्रोतले प्यालेस्टिनी लडाकू समूहले आगामी दिनमा प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको बताएको छ ।

हमास नेताहरूलाई कायरोमा वार्ताका लागि आमन्त्रित गरेको इजिप्टले ‘प्यालेस्टिनी आन्दोलनबाट युद्धविरामको आकांक्षाको सङ्केत गर्दै सकारात्मक सङ्केत प्राप्त गरेको’ स्रोतले बतायो ।

हमासका प्रतिनिधिहरूको दोहामा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुरहमान अल–थानी र इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग भेट गरेको एक दिनपछि यो टिप्पणी आएको हो । नोभेम्बरमा सात दिनको युद्धविरामबाहेक मध्यस्थताको प्रयासहरू द्वन्द्व रोक्न असफल भएका छन् । सात दिनको युद्धविरामका क्रममा इजराइली कारागारमा रहेका दुई सय ४० प्यालेस्टिनी कैदीहरूको बदलामा एक सयभन्दा धेरै बन्धकलाई रिहा गरिएको थियो ।

गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘स्थायी युद्धविरामको मार्गचित्र’ प्रस्तुत गर्नुभएको थियो । उक्त मार्गचित्रअनुसार इजराइल गाजाको जनसङ्ख्या केन्द्रहरूबाट फिर्ता हुनेछ र हमासले बन्धकहरूलाई रिहा गर्नेछ ।बिहीबार बाइडेन र विश्वका अन्य १६ नेताहरूले हमाससँग प्रस्ताव स्वीकार गर्न आग्रह गर्नुभएको थियो ।

युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगरिने बताउनुभएको छ ।उहाँले पश्चिमी मुलुकहरूद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिइएको बताउनुभयो ।उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमी मुलुकहरूले प्रदान गरेको हतियारहरूको प्रयोग गर्न अनुमति दिएका छन् ।

“उनीहरू युक्रेनमा विशिष्ट लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग भइरहेकाले युक्रेनीहरूलाई सीमा छेउमा प्रयोग गर्न अनुमति दिइएको छ”, बिहीबार एबिसी न्युजसँगको अन्तरवार्तामा उहाँले भन्नुभयो, “हामीले रुसमा दुई सय माइलसम्म आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ र मस्को, क्रेमलिनमा आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ ।”वासिङ्टनले रुससँग सीमा जोडिएको पूर्वी खार्किभ क्षेत्रको रक्षा गर्न युक्रेनलाई सक्षम बनाउनका लागि आफ्नो प्रतिबन्ध आंशिकरूपमा हटाएको अमेरिकी अधिकारीहरूले गत साता बताएका थिए ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा रुसको दैनिक आक्रमणलाई अधिकारीहरूले अमेरिकी अडानमा परिवर्तनको श्रेय दिएका थिए ।जर्मनीले युक्रेनलाई रुसका लक्ष्यहरूमा जर्मन–प्रदत्त हतियारहरू प्रहार गर्न अनुमति दिएको बताएको छ ।“अमेरिकाले आपूर्ति गरेको हतियारहरू सीमापारबाट आक्रमण गर्नका लागि थिए जहाँ रुसीहरूले युक्रेनमा गएर युक्रेनीहरूलाई मार्नका लागि प्रयोग गर्ने परम्परागत हतियारबाट महत्त्वपूर्ण आक्रमण भइरहेको छ”, बाइडेनले भन्नुभयो ।

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि : आइइए

पेरिस । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आधा ट्रिलियन डलर हुने विश्वको शीर्ष ऊर्जा अनुसन्धान निकायले बिहीबार बताएको छ ।अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले यस वर्ष स्वच्छ ऊर्जामा विश्वव्यापी लगानी दुई ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ जुन जीवाश्म इन्धनमा खर्चिने रकमको दोब्बर हो ।

नवीकरणीय ऊर्जा र ग्रिडमा भएको संयुक्त लगानीले सन् २०२३ मा पहिलोपटक जीवाश्म इन्धनमा हुने खर्चलाई कम गरेको थियो ।“स्वच्छ ऊर्जा लगानीले चुनौतिपूर्ण आर्थिक अवस्थामा पनि नयाँ कीर्तिमान स्थापित गरिरहेको छ“, आइइएका कार्यकारी निर्देशक फातेह बिरोलले आफ्नो वार्षिक विश्व ऊर्जा लगानी प्रतिवेदनको साथमा एक विज्ञप्तिमा भन्नुभयो ।

कम्पनी र सरकारहरूले विश्वव्यापीरूपमा घातक जलवायु परिवर्तनलाई उत्प्रेरित गर्ने जीवाश्म ईन्धनबाट उत्सर्जन हुने कार्बन घटाउन स्वच्छ ऊर्जा उत्पादनमा आफ्नो लगानी बढाइरहेका छन् ।आपूर्तिमा सहजता र कम लागतले तथाकथित स्वच्छ ऊर्जाजस्तै सोलर प्यानल, विन्ड टर्बाइन, विद्युतीय कार र हिट पम्प, साथै आणविक उर्जा उत्पादनमा लगानी बढी रहेको छ ।जीवाश्म–ईन्धन उर्जाको तुलनामा बिजुली उत्पादनका लागि नवीकरणीय र आणविकमा संयुक्त लगानी दश गुणाले बढ्ने भएको छ जसमा चीनले सबैभन्दा ठूलो हिस्सा लगानी गरेको छ ।

हाल सौर्य पिभी (फोटोभोल्टिक प्यानल) मा अन्य सबै बिजुली उत्पादनको संयुक्त प्रविधिहभन्दा बढी पैसा खर्च भइरहेको आइइएको प्रतिवेदनमा जनाइएको छ ।विगत दुई वर्षमा ३० प्रतिशतले सोलर प्यानलको रकम घटेको छ भने सन् २०२४ मा मोड्युलको घट्दो मूल्यले नयाँ लगानीलाई प्रोत्साहित गर्दा सोलर पिभीमा लगानी ५०० अर्ब डलर बढ्ने देखिन्छ ।

सन् २०२३ को वृद्धिको तुलनामा सन् २०२४ मा विश्वव्यापी अपस्ट्रीम तेल र ग्याँसमा सात प्रतिशतले लगानी बढेर ५७० अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।आइइएले ऊर्जा लगानी प्रवाहमा असञ्तुलन र कमीहरूका कारण स्वच्छ ऊर्जा परियोजनाहरू विश्वका धेरै भागहरूमा निषेधात्मक रूपमा महँगो भएको चेतावनी दियो ।

उदीयमान र विकासोन्मुख अर्थतन्त्र भएका देशहरुले लगानी गरेको तीन सय अर्ब डलर यी देशहरूको बढ्दो ऊर्जाको माग पूरा गर्न आवश्यक भन्दा धेरै कम रहेको आइइएले जनाएको छ ।
आईईएले हानिकारक कार्बन उत्सर्जन घटाउनका लागि मध्यम अवधिको विश्वव्यापी लक्ष्यहरू पूरा गर्न सन् २०३० सम्म विश्वव्यापी रूपमा नवीकरणीय उर्जामा लगानी दोब्बर बनाउन आवश्यक पर्ने बताएको छ ।

सगरमाथा आरोही डिजे तेञ्जिङ शेर्पालाई विभिन्न सङ्घसंस्थाको सम्मान

काठमाडौँ, २५ जेठः सगरमाथाको सफल आरोहण गरेको उपलक्ष्यमा शेर्पा विद्यार्थी सङ्घ, हिमालयन शेर्पा कल्चर र थोलेदेम्बा शेर्पा किदुकलगायतका सङ्घसंस्थाले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेका हुन्।

डिजे शेर्पाले गत मे २१ मा सगरमाथाको सफल आरोहण गरेका थिए। साथै गत मे १७ मा छ हजार चार सय मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा ‘डिजे पार्टी’ आयोजना गरी सबैभन्दा उचाइमा भएको डिजे कन्सर्टका लागि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि प्रयास पनि गरेका थिए।

गत मार्चको अन्त्यमा उनले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गरेका थिए । अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि त्यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको डिजे तेञ्जिङले जानकारी दिए।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डिजे तेञ्जिङले त्यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरे । मन्त्री तामाङले डिजे तेञ्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उहाँको प्रयासमा सरकारको समर्थन जनाएका थिए।

सोलुखुम्बुका बासिन्दा तेञ्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका छन्।