`

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ १४ वटा सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको सम्भावित कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् ।

यस्तै कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट गत जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गरिनेछ ।

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् ।
विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदैआएकामा मिलेमतोमा बिक्री गरिएको स्थानीयको आरोप छ ।

स्थानीय विनोद पासमानले पासमान सामुदायको भावनासँग जोडिएको सामुदायिक भवनको जग्गा व्यक्तिको नाउँमा पास भएपछि आफूहरु अन्यायमा परेको बताए । “यो सामुदायिक भवनसँग हाम्रो तीन दशकको सम्बन्ध छ । यसमा समुदायको सामाजिक, सांस्कृतिक एवम् भावनात्मक सम्बन्ध गाँसिएको छ ।

तत्कालीन कर्जना गाविसले दिएको रकम र यहाँका समुदायले दुःख गरी कमाएको पैसाबाट जनश्रमदान गरी एकतले भवन बनाएका थियौँ”, पासमानले भने, “यसै भवनबाट हामी सार्वजनिक भेला, छलफल, भोजभतेरलगायत सामाजिक कार्य गर्दै आएका छौँ । अब यो खरिद बिक्री गरिएपछि कहाँ जाने ?”

स्थानीयले वडाध्यक्षको संलग्नतामा गत माघ १६ गते स्थानीय एक व्यक्तिको नाममा दर्ता कायम गरिएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन सुरू गरेका छन् ।

अर्का स्थानीय रामलखन पासमानले स्थानीयको पहलमा भवन जीर्ण भएपछि दुईतले नयाँ भवन निर्माणका लागि मधेस प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि रु ५० लाख विनियोजन गरिएकामा सो रकम कार्यान्वन गर्ने क्रममा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थाहा भएको बताए ।

“योजना कार्यान्वयनका लािग उपभोक्ता समिति गठन भइसकेको थियो । पुरानो भवनसहितको जग्गा अरुकै नाममा दर्ता गरिएपछि बजेट नै फ्रिज हुने सम्भावना बढेर गएको छ । त्यसविरुद्ध आन्दोलनमा गरिरहेका छौँ”, उनले भने ।

सामुदायिक भवनको नाममा जग्गा फिर्ता गर्न स्थानीयले पटकपटक विरोध प्रदर्शन गर्दै आएका छन् तर त्यसको सुनुवाइ हुनसकेको छैन । वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि मागलाई बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्नुपरेको स्थानीय गुब्दीदेवी पासमानले बताइन् ।

सामुदायिक जग्गा कसले र कसरी व्यक्तिलाई बिक्री गरे भन्ने विषयमा अहिले स्थानीयस्तरमा निकै चासो छ । स्थानीयले वडाध्यक्ष मो मस्तकिमकै मिलेमतोमा उक्त काम भएको बताइरहेका छन् भने अवडाध्यक्षले भने आफूले जग्गा बिक्री गर्न सिफारिस नदिएको तर तत्कालिन कार्यवाहक वडाध्यक्षले सिफारिस दिएको बताइरहेका छन् ।उनको भनाइ छ, “हामीले अर्कै जग्गा बिक्री गर्न सिफारिस दिएका थियौँ । मालपोतका हाकिमले पुरानै सिफारिसलाई आधार मानेर जग्गा पास गरिदिए छन् । यसलाई सच्चाउन पहल गर्नेछु ।”

कालीगण्डकीको सभ्यता जोगाउने अभियान र सन्देश

गण्डकी । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन् । श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन् ।

अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने र अर्कातिर दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम बढेपछि संरक्षणप्रेमीहरू कालीगण्डकी जोगाउने अभियानमा जुटेका हुन् ।

‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधामसम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवान्का नाम शिलाङ्कित गरेका छन् । गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवान्का नाम अङ्कित गरिएको ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले बताउनुभयो ।

कालीगण्डकी नदीको पवित्रता एवम् चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिन अभियान सुरू गरिएको उहाँको भनाइ छ । “धार्मिक तिथिमिति पारेर यो अभियानलाई निरन्तरता दिन्छौँ, श्रीकृष्ण मोहिनी एकादशीमा कालीगण्डकीका हजारौँ शिलामा शालिग्राम भगवान्का ९० अवतारका नाम शिलाङ्कित गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

अभियन्ता, साधु, सन्त र पर्यावरणप्रेमीहरूको समूहले हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायणलगायत देवीदेउताका नाम शिलामा कोरेका थिए । “अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस्, जनस्तरमा सन्देश पुगोस् भनेर यो अभियान थालिएको हो”, संयोजक गिरीले भन्नुभयो, “सभ्यता बोकेको नदी मानवीय अतिक्रमणको चपेटमा छ, यसतर्फ बेलैमा सबैको ध्यान जानु जरुरी छ ।”

नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा परेको उहाँको भनाइ छ । पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ ।

रातारात कालीगण्डकीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ । कालीगण्डकीले झेलिरहेको समस्याप्रति जनप्रतिनिधि र स्थानीय प्रशासनले अनदेखा गरिरहँदा दोहनकर्ताले संरक्षण पाइरहेको पर्वतको जलजला गाउँपालिकाका यज्ञ थापाले बताउनुभयो । “नदीजन्य सामग्री उपयोगका नाममा जथाभावी उत्खनन गर्दा नदी गहिरिने, धार परिवर्तन हुने भइरहेको छ”, उहाँले भन्नुभयो, “तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढ्दो छ ।” कालीगण्डकी दोहनकै कारण यस क्षेत्रमा रहेका कतिपय ऐतिहासिक धर्मघाटहरू विस्थापित भएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “संसारमै दुलर्भ मानिने शालिग्राम शिलाको अस्तित्व सङ्कटमा परिरहेको छ, भगवान् विष्णुको अवतारका रूपमा पुजिने शिला ढुङ्गा, गिट्टीका रूपमा बिक्री भइरहेको छ, यो दु:ख्द विषय हो ।”

कालीगण्डकी दोहनसँगै यस आसपासका खोल्साखोल्सी, वनजङ्गल, चौर, ढिस्काढिस्की, सम्पदा क्षेत्र साथै सार्वजनिक महत्वका ठाउँसमेत मानवीय अतिक्रमणमा परिरहेको उहाँले बताउनुभयो । बालुवा, गिट्टी र ढुङ्गालगायत निर्माण सामग्री नदी किनारमै सङ्कलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ । नदी ऐन/नियम, वातावरणीय प्रभाव मूल्याङ्कनको समेत बेवास्ता गर्दै मनपरी ढङ्गले कालीगण्डकी दोहन गर्दा मानव बस्तीसँगै अन्य प्राकृतिक स्रोत/पानीका मूल–मुहान, जलथल आदि सङ्कटमा परेका जानकारहरू बताउँछन् ।

सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न/नगराउन र कालीगण्डकी नदीमाथिका सबै हस्तक्षेप बन्द गर्न आदेश दिएको ‘कालीगण्डकी बचाऔँ अभियानका” संयोजक गिरीले बताउनुभयो । सर्वोच्चको आदेशविपरीत अहिले पनि लुकीछिपी नदीजन्य पदार्थको उत्खनन भइरहेको उहाँले जानकारी दिनुभयो । “कालीगण्डकीजस्तो जन्मदेखि मृत्युसम्मका सबै संस्कार र परम्पराको स्रोतस्थलमा भएको क्रुर दोहन हामीलाई कदापि स्वीकार्य छैन”, उहाँले भन्नुभयो ।

कालीगण्डकीको अनियन्त्रित दोहन नरोकिने हो भने नदीको अस्तित्व नै नामेट हुने खतरा रहेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले नदीजन्य पदार्थ उत्खननका लागि जोखिम नभएका ठाउँ पहिचान गर्ने, तोकिएको मात्रामा उत्खनन गर्ने, व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याउने आदि गरेमा उत्खनन केही व्यवस्थित हुनसक्ने धारणा राख्नुभयो । “नदीबाट गिट्टी, बालुवा झिक्नै नपाउने कुरा व्यवहारिक नहुन सक्छ तर उत्खननलाई व्यवस्थित बनाउनुपर्यो, राज्यले कानुनी प्रबन्धहरू त्यहीअनुसार गर्नुपर्यो”, अधिवक्ता शर्माले भन्नुभयो, “पारिस्थितिक प्रणालीमै धक्का पुग्नेगरी मनपरी किसिमबाट नदी दोहन भइरहे मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तन सक्छ ।”

अभियन्ता गिरीले भने गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने विचार राख्नुभयो । उहाँ भन्नुहुन्छ, “ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण बर्र्सेनि नदी बिरुप बन्दै गएको छ, नदीको धार परिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिरहेका छन् । त्यसैले नदी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका सङ्कटमा पर्दै गएकाले त्यसलाई जोगाउन सबैको ध्यान जान आवश्यक छ ।”

कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन् । कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनाश्लु रहेका छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन् । नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटमा छन् ।

हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचिन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ । यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।

धवलागिरि क्षेत्रका पर्यावरणप्रेमी युवाहरू मिलेर चार वर्षअघि ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरू गरेका थिए । नदी–सभ्यता जोगाउन लागिपरेको अभियानले जागरण गीतका रुपमा दुई वर्षअघि ‘ए कालीगण्डकी।।।हे आमा गण्डकी’ सार्वजनिक गरेको थियो । अभियानले कालीगण्डकी संरक्षणका पक्षमा ‘नदी सप्तक’ कविता श्रृङ्खला पनि चलाएको थियो । कालीगण्डकीको महिमागानदेखि मानवीय अतिक्रमण झेलिरहेको नदीको चित्कारसम्मलाई कवि–लेखकहरूले आफ्ना रचनामा मुखरित गरेका थिए ।

पूर्वराष्ट्रपति यादव भन्छन्– संविधान र विधिको शासन हुनुपर्छ

कास्की । पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन गर्नुहुँर्दै उहाँले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ । सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ ।”

देशको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दलका शीर्षस्थ नेताहरू बसेर छलफल गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । अहिलेको संविधान र शासन व्यवस्था विश्वमा नै उत्कृष्ट रहेको उहाँले उल्लेख गर्नुभयो । “हामीले जुन व्यवस्था ल्याएका छौँ, यो शासन व्यवस्था सर्वोत्कृष्ट छ । हाम्रो विविधतालाई संविधानमा व्यवस्थित गरेर अघि बढ्नुपर्ने चुनौती छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताउनुभयो । उहाँले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रूपमा लाग्दा एक रथका दुई प्राङ्ग्राको रूपमा रहेका दुवै क्षेत्र शङ्काको घेरामा पर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “हामी कानुन र विधिका कुरामा एकताबद्ध भएर जान्छौँ, तर हामीलाई सचेत गराउनैपर्छ । सञ्चार क्षेत्र आवाजविहीनको आवाज माथि उठाउन, बिनापूर्वाग्रह, बिनापक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ ।”

साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ । यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुनुभयो । सो पुरस्कारको राशि रु २० हजार रहेको छ । यस्तै कार्यक्रममा पत्रकारहरू शिरोमणि बराल, सुरेन्द्र थापा मगर, बलराम उपाध्याय र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । पत्रकार महासङ्घको संस्थागत विकासका साथै समग्र पत्रकारिता क्षेत्रको उन्नयनमा योगदान पुुर्‍याएको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो ।

सुदूरपश्चिम सरकारले पूर्णता पाएन, सत्ता-साझेदार दलले असहयोग गरेको दाबी

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन। संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत पाइसकेका छन्।विश्वासको मत पाएलगत्तै एक–दुई दिन भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन्।

मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्ता साझेदार दलले सहयोग नगरेको बताए। ‘हाम्रो कारणले मन्त्रिपरिषद् पूर्णता दिन ढिलाइ भएको होइन। यो सकसका बारेमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेतालाई तपाईँहरूले प्रश्न गर्न आग्रह गर्दछु,’ उनले भने।

मन्त्रालय फुटाएर कसैलाई मन्त्री बनाउँदा गलत सन्देश जाने भएकाले समाजवादी मन्त्रालय फुटाउने पक्षमा नरहेको पनि उनले बताए।कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भइरहेको बताइएको छ। नेकपा (एमाले)ले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने यसअघिको निर्णय अझै परिवर्तन गरेको छैन।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘अर्को निर्णय नगर्दासम्म एमाले मन्त्रिमण्डलमा नजाने भन्ने हो। सरकारमा जाने वा नजाने विषयमा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श र प्रदेशमा सत्ता साझेदार दलसँग छलफल गरिरहेका छौँ।’

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन्। अन्य मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन्। सामाजिक विकास, आर्थिक मामिला, उद्योग, पर्यटन वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्।

यसैबीच सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन यही जेठ १३ गते सुरु हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन यही जेठ १३ गते आइतबार अपराह्न ३ बजे बस्नेगरी आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

आम जनता पार्टीले लघुवित्त र सहकारीको रकम अपचलनविरुद्ध संघर्ष गर्ने

काठमाडौं । आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले कामदारबाट लिइएको अवैध रकम फिर्ता र बेथितिविरूद्ध सातै प्रदेशमा विरोधका कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले विदेशी नागरिकता लिएकाको सम्पति कति र कहाँ छ भन्नेबारे खोजबिन गरी कब्जा गर्न सरकारलाई जनदबाव दिने निर्णय समेत गरेको अध्यक्ष साहले बताए । “भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रको भूमिका प्रभावकारी भएन । त्यसैले बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन सरकारलाई माग गर्ने र लघुवित्त र सहकारीको रकम अपचलन गर्नेविरुद्ध पीडित जनताको पक्षमा जारी संघर्षलाई थप सशक्त, प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय गरिएको छ,” उनले भने ।

बैठकले शिक्षा क्षेत्रमा सुधारका निम्ति प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पुनः माग गरेको छ । बैठकले उपत्यका विशेष कमिटीसहित सातै प्रदेशका इन्चार्जलाई विभिन्न जिम्मेवारी समेत तोकेको जनाइएको छ ।

कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस

काठमाडौं, १२ जेठ । कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आजको प्रदेशसभा बैठकमा सोसम्बन्धी प्रस्ताव पेस गर्दै सडक यातायातलाई सुरक्षित र भरपर्दो एवम् सहज बनाउन रणनीतिक महत्वका सडक तथा पुल निर्माणमा प्राथमिकता दिने उल्लेख गरिएको बताए ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम, ‘समृद्ध नेपालः सुखी नेपाली’को दीर्घकालीन राष्ट्रिय आकाङ्क्षामा आधारित ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’को दीर्घकालीन सोचलाई मुख्य आधार बनाई वार्षिक बजेट तथा कार्यक्रम ल्याइने उनले जानकारी दिए । हवाई सेवालाई सर्बसुलभ र भरपर्दो बनाउन आवश्यक नीति लिइने मन्त्री केसीले बताए ।

विगतका बजेट तथा कार्यक्रमको उपलब्धिलाई मध्यनजर गर्दै दिगो प्रतिफलयुक्त कार्यक्रम एवम् आयोजनाहरूमा बजेट विनियोजन हुनेलगायतका सिद्धान्त र रोजगारीका अवसर सिर्जना गरी उत्पादनमा वृद्धि गर्दै प्रदेश अर्थतन्त्रको विकास गर्ने, त्यसका लागि कृषि, उद्योग, खनिज, वन तथा पर्यटनलगायतका तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी सहभागितामा वृद्धि गर्दै उत्पादन र उत्पाकत्वमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको उल्लेख गरे । ‘यसका अतिरिक्त भूकम्पबाट प्रभावित क्षेत्रलाई प्राथमिकता दिई योजना कार्यक्रम तर्जुमा, स्वास्थ्यमा सहज पहुँच अभिवृद्धि, गुणस्तरीय र वातावरण अनुकूलित पूर्वाधारको विकास गरी रोजगारी सिर्जना, वित्तीय अनुशासनसहित समग्र क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य रहेका छन्”, मन्त्री केसीले सभामा भने ।

यस्तै, प्रदेश गौरवका आयोजना, बहुवर्षीय, अधुरा तथा क्रमागत आयोजना पूरा गर्ने र नयाँ आयोजना छनोट प्रक्रियालाई नतिजामुखी हुनेगरी कार्यान्वयनमा लैजाने नीति रहेको छ भने सडक पूर्वाधारलाई सुरक्षित, भरपर्दो र सहज बनाउन सडक पुल निर्माणलाई प्राथमिकता दिइने बताइएको छ । प्रदेशभित्रका सहरलाई सुविधासम्पन्न, सफा, सुन्दर, सुरक्षित र आकर्षक बनाउने नीतिसहित विभेद् तथा उत्पीडनको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि स्रोत साधनको न्यायोचित वितरण गर्ने पनि नीति रहेको सभालाई जानकारी दिइयो ।

प्रस्तुत विवरणमा प्रदेशको आन्तरिक राजस्वको दायरा विस्तार गर्ने लक्ष्य राखिएको छ । नवप्रवर्तनलाई प्रोत्साहन, भौतिक पूर्वाधार निर्माणलाई विकासात्मक गतिमा लिनेलगायतका नीति लिइएको छ । सार्वजानिक निजी र सहकारी क्षेत्रको लगानीमा औद्योगिकीकरण, उत्पादन र आर्थिक सशक्तीकरणमार्फत रोजगारी सिर्जनासहितको आर्थिक विकास र समृद्धिलाई आगामी वर्षको बजेटमा समेटिने उल्लेख छ ।

कर्णालीमा उत्पादित मार्सीधान, चिनो काकुनो, सिमी, कोदो, आलु, फापर, ओखर र स्याउलाई परम्परागत र अग्र्यानिक उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरण गर्ने व्यवस्था मिलाउनेसमेत उल्लेख छ । मुख्यमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी सिर्जना, पूर्वाधार विकासका साथै उद्यमशीलता विकास, लक्षित वर्गको जीविकोपार्जनमा सुधार ल्याउने हेतुले कृषि लद्युउद्यम, आयआर्जन, सीप विकास, उपकरण सहयोग कार्यक्रममा विकास गरिनेसमेत सरकारले प्राथमिकता दिने भनिएको छ ।

मन्त्री केसीले भौगर्भिक संरचना जोखिमको प्रकृतिअनुसार सुरक्षित र व्यवस्थित आवास बनाउने र बस्ती विकास नीति अवलम्बन गर्ने गरी सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने पनि बताए । “जगदुल्ला, नलगाड र ताक्सुगाड जलविद्युत् आयोजनामा प्रदेश सरकारले शेयर लगानी गर्ने छ । विगतमा प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रमको मूल्याङ्कन गरेर कार्यक्रम थप तथा विस्तार गरिने छ । कर्णाली समृद्धि परियोजनामार्फत थप रोजगारीको सिर्जना गरी बेरोजगार युवाहरूलाई रोजगारी दिइने लक्ष्य लिइएको छ”, मन्त्री केसीले भने ।

त्यसैगरी, भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिमलगायतका क्षेत्रलाई लक्षित गरी योजना तथा कार्यक्रम ल्याउने जानकारी गराइएको छ । क्षतिग्रस्त संरचना निर्माण गर्न सङ्घ सरकार र विकास साझेदारसँग, सहकार्य गरिने प्रदेशभित्रका भूगोलका आधारमा दिगो, भरपर्दो, सर्वसुलभ, जनमैत्री र गुणस्तीय र वातावरण अनुकूलित पूर्वाधारको विकास गरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको पनि प्रस्तुत विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरुमा भनिएको छ ।

थाइराइड देखिदैमा सन्तान जन्मिदैन भन्ने भ्रम

काठमाडौँ- पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले आफ्नो जीवनकालमा थाइराइडको समस्या भोग्न सक्छन् ।

महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्सक बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ । हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा रुपक भारी भन्छन्– “थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो ।”

उनले भने, “थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिने हुन्छ । तर बच्चै नहुने भन्ने हुन्न ।” कतिपय समस्या भोगेका महिलाले परिवार तथा सामाजबाट यातनासमेत पाउने गरेको उनले बताए। थाइराइडको समस्याले भन्दा पनि समाज र परिवारले दिने यातनाको तनावले बच्चा नजन्मिने खतरा हुने डा भारीको भनाइ छ । “थाइराइडका कारण नहुने भन्ने हुन्न । हर्मोन सन्तुलन गर्ने उपचारपश्चात महिलाले बच्चा जन्माउन सक्छन्”, उनले भने । थाइराइड कुनै रोग होइन, यो घाँटीमा हुने ग्रन्थी भएको उल्लेख गर्दै डा भारीले यसले हार्मोन उत्पादन गर्ने तथा त्यसमा गडबढी आएमा समस्या हुने बताए ।

नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएस) का अनुसार थाइराइड मुख्यतः दुई प्रकारका हुन्छन् । हाइपरथाइरोडिजम (हार्मोन बढी उत्पादन हुने) र हाइपोथाइरोडिजम (हार्मोन कम उत्पादन हुने) । हार्मोन उत्पादन कम भएमा एक्कासी तौल बढ्ने, मुटुको चाल कम हुने, रक्तचाप कम हुने, छाला सुक्खा हुने तथा कब्जियत हुनसक्छ । हार्मोन उत्पादन बढी भएमा शरीरको तौल घट्ने, मुटुको धड्कन तेज भएर जाने, रक्तचाप बढ्ने, आँखाको गेडी नै बाहिर निस्केलाजस्तो ठूलो भएर जाने, आत्तिने र पसिना चिटचिट हुने समस्या देखिन्छ ।

डा भारीका अनुसार थाइराइडको समस्या जोकोहीलाई र जुनसुकै उमेरमा पनि देखिन सक्छ । उनले भने, “हार्मोन उत्पादन कम हुने समस्या बढी देखिने गरेको छ । कुनै पनि रोग वा समस्याको सही समयमा पहिचान भयो भने उपचार सम्भव छ । थाइराइडलाई ठूलो समस्या बनाइएको छ । तर उपचारपछि हार्मोन नियन्त्रणमा ल्याउन सकिन्छ, डराउनुपर्ने कारण छैन ।” थाइराइडको समस्या थाहा पाउन वर्षमा एकपटक थाइराइड फङ्सन टेस्ट (टिएफटी) गर्न उनले सुझाए।

“थाइराइडमा खानेकुरा बार्नुपर्ने भन्ने छैन । स्वस्थकर खाना मजाले खान सकिन्छ । स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । स्वस्थकर खाना, सकरात्मक सोच, शरीरको तौल नियन्त्रण, नियमित व्यायाम गर्न आवश्यक छ”, डा भारीले भने।

हरेक वर्ष मे २५ तारिखमा विश्व थाइराइड दिवस मनाइन्छ । यस वर्षको विश्व थाइराइड दिवसको नारा थाइराइडलाई नसर्ने रोगको रूपमा लैजाने भनिएको छ । थाइराइड ग्रन्थीको महत्व र थाइराइड रोग भएका व्यक्तिलाई सही निदान र उचित उपचार सुविधामा पहुँचका विषयमा छलफल तथा चेतना जगाउन यो दिवस मनाइन्छ । थाइराइड फेडरेशन इन्टरनेशलका अनुसार विश्वभर थाइराइडको जोखिममा एक अर्ब ६० करोड व्यक्ति रहेको अनुमान गरिएको छ । थाइराइड रोग पुरुषभन्दा महिलामा १० गुणा बढी देखिने गरेको बताइन्छ ।

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

त्रिशूली (नुवाकोट) । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ ।बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । तादीखोलामा पौडी खेल्ने गएका छजना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।

पूर्णिमा श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथाकाे चुचुराेमा

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छन् ।वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन् । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।

पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छन् । उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँः अध्यक्ष डा.राउत

लेखनाथ (कास्की), जेठ १२ गते । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सिके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । मधेस-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको उदघाटन गर्दै उहाँले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताउनुभयो । ‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिकस्थिरता पाउने देखिदैन । स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला”, उहाँले भन्नुभयो ।

अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानीभित्रिन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था छैन भन्नुभयो । उहाँले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रको रुपमा सामाजिक लोकतन्त्रको कुरा गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैङ्गिक विभेद न्यूनीकरण भएको दाबी गर्दै अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताउनुभयो । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक सङ्कटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण, १० महिनामा ९८ अर्ब ऋण थपियो

काठमाडौँ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।

“चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण रु ११ अर्ब ६४ करोड थप भएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ ।”

गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व रु ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिपिडी० को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व रु १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल रु दुई खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा रु एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण रु एक खर्ब ९१ अर्ब र बाह्य ऋण रु ७३ अर्ब ६३ करोड बराबर हो । त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रु एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ रु ३० अर्ब ९३ करोड बराबर भुक्तानी भएको छ ।

गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ । “चालु आर्थिक वर्षमा रु चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा रु दुई खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको छ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ, “वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ ।”

चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि रु तीन खर्ब ३० अर्ब बराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा रु दुई खर्ब २२ अर्ब बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो ।

तिनाउ नदीमा डुबेर १७ वर्षीय दिब्याम्सको मृत्यु

लुम्बिनी –रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ। नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुषाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्यात बढाउन पाकिस्तानले चीनको उदाहरण पछ्याउने : पाकिस्तानी प्रधानमन्त्री

इस्लामाबाद, जेठ १२ गते । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताउनुभएको छ ।
आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७० करोडभन्दा बढी मानिसलाई गरिबीबाट बचाउनको लागि चीनको सफलताले पाकिस्तानका लागि रोल मोडेलको रूपमा काम गरेको बताउनुभएको छ ।

उहाँले पाकिस्तान निर्यात बढाउनमा चीनको अनुभवबाट फाइदा लिन चाहेकाले विदेशी मुद्रा भण्डार बढाउन र गरिबी घटाउन प्रमुख कदमको रूपमा काम गर्ने उल्लेख गर्नुभएको छ ।पाकिस्तान र चिनको लामो समयदेखिको प्रगाढ भाइचारा सम्बन्ध समयसँगै बलियो हुँदै गइरहेको बताउदै उहाँले कठिन समयमा पाकिस्तानलाई सहयोग गरेकोमा चीन राष्ट्रसहित चिनियाँ नेतृत्व र जनता प्रति आभार प्रकट गर्नुभयो ।

यसैगरी चीन–पाकिस्तान आर्थिक करिडोरको ढाँचाअन्तर्गत स्थापना भइरहेका विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई प्रधानमन्त्री मोदीले प्रोत्साहित गर्नुभयो ।सन् २०१३ मा सुरु गरिएको, चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख परियोजना, सिपिइसी, दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर बन्दरगाहलाई उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको काशगरसँग जोड्ने कोरिडोर हो, जसले ऊर्जा, यातायात र औद्योगिक सहयोगलाई स्ष्ट पार्छ ।

सिपिइसीको नयाँ चरणको लागि पूर्णतयारी भइरहेको र यसको सफल थालनीले पाकिस्तान र चीनबिचको आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्ने प्रधानमन्त्री मोदीले बताउनुभयो ।
पाकिस्तान कृषि प्रधान देश भएकाले कृषिमा चीनको आधुनिक प्रविधि र प्रविधि अपनाएर उत्पादकत्व बढाउन प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । यसै क्रममा उहाँले चिनियाँ कम्पनीलाई पाकिस्तानमा विद्युतीय र हाइब्रिड सवारीका लागि प्लान्ट स्थापना गर्न आमन्त्रित गर्दै यसले देशलाई यातायात क्षेत्र लक्ष्य हासिल गर्न मद्दत गर्ने बताउनुभयो । रासस/सिन्ह्वा

चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुन: सञ्चालनमा

किमाथाङ्का । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुन: सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुन: सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गर्नुभयो । नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुने छन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङ्कासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उहाँले बताउनुभयो । गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमश: खुलाउने समझदारी भएअनुसार नै नाका पुन: सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो । किमाथाङ्का नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो ।

किमाथाङ्कामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथाङ्का नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ ।

बाँकेमा किसानसँग पालिका प्रमुख कार्यक्रम

खजुरा (बाँके), जेठ १२ गते । बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरुले बताएका छन् ।

किसानलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले राससलाई बताउनुभयो । वैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । उनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरूका घरदैलोमा नै समस्या समाधानको प्रयास भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउन चार वटा वडालाई पकेट क्षेत्रका रुपमा विस्तार गरेको छ ।

किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन्।

कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आउने भएका हुन् ।

कोभिड–१९ फैलने डरले चीन सरकारले किमाथाङ्कासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो । परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।

रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन् । ताप्लेजुङको टिप्तला नाका पनि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ ।

किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल आज किमाथाङ्का जाँदैछ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले एक समारोहकाबीच किमाथाङ्का–छेन्ताङसहित सम्पूर्ण व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमबाट नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका खुलेको घोषणा गरिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए।

चिनियाँ पक्षले आजदेखि विभिन्न सातवटा नाका खोल्ने र अन्य नाका निश्चित समयभित्र खुलाउँदै जाने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र सङ्खुवासभा जिल्लासँग सीमा जोडिएका नाका खुल्ने छन् ।

उत्तरी क्षेत्रमा रहेका सम्पूर्ण व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यका उपस्थिति हुने, भन्सार राजस्वमा वृद्धि हुने, स्थानीय उत्पादनको बिक्री तथा रोजगार सिर्जना हुनेछ । “अहिले उत्तरी सीमाका सीमित नाकाबाट मात्रै भन्सार राजस्व सङ्कलन भइरहेकामा नाका खुलेसँगै भन्सार राजस्वमा योगदान थप्छ”, सङ्खुवासभाका प्रजिअ खड्काले भने, “हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाउँछन् ।”

सीमा क्षेत्रमा भन्सार सञ्चालनमा आउने, स्थानीय उत्पादनको बिक्री वितरण बढ्ने हुँदा त्यसबाट स्थानीय रोजगारीमा वृद्धि हुनेछ । “सीमानाका सञ्चालनमा नआउँदा उत्तरी क्षेत्रका रोजगारी ठप्प भएका थिए”, उनले भने, “अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुल्छ, सीमा क्षेत्रमा हुने भन्सार गतिविधिले रोजगारी पनि सिर्जना गर्छ ।” सीमानाका खुलेसँगै उच्च हिमाली क्षेत्रका जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने उनको भनाइ छ ।

स्थानीयस्तरमा बढ्यो उत्साह
विसं २०७६ माघ ५ गतेदेखि बन्द रहेको किमाथाङ्का नाका खुल्ने भएसँगै स्थानीयस्तरमा ठूलो उत्साह बढेको प्रमुख जिल्ला अधिकारी खड्का बताउछन् । नाका खुलेको खुशियालीमा आज भोटखोला क्षेत्रमा ठूलो व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए । मेलामा सहभागी हुन सदरमुकामबाट व्यापारीको टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

किमाथाङ्का नाकासँग भोटखोला गाउँपालिका जोडिएको छ । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । किमाथाङ्का–छेन्ताङ नाकाको प्रवेश विन्दु भोटखोला वडा नं १ मा पर्छ । भोटखोलामा करिब पाँच हजार मानिसको बसोबास रहेको अनुमान छ । यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । स्थानीय उत्पादनले मुस्किलले दुई÷तीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ ।

नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए । भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

सीमावर्ती क्षेत्रका नागरिकले उत्पादन गरेका चौरीको दूध, घ्यू, भेडाको ऊन र जडीबुटीलगायत चिनियाँ बजारमा बिक्री गर्ने तथा चौरी तथा भेडा चरनका लागि चिनियाँ भूभागमा लाँदै आएका प्रजिअ खड्काले बताउछन् । नेपालमा चौँरी तथा भेडाका लागि खर्कको अभाव छ । चीनको तिब्बत क्षेत्रमा रहेका खर्कमा उत्तरी सीमावर्ती क्षेत्रका स्थानीयले चौरी तथा भेडा चराउने गरेका थिए ।

किमाथाङ्का नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । “अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाका पुग्न सकिन्छ, निकै विकट स्थानमा भएकाले सदरमुकामबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज छ”, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने । सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थिए ।

चीनले यसअघि देखिनै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो । यसका लागि दुवै देशबीच सहमति भएको थियो । कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती बासिन्दाले चरन सुविधा पनि गुमाएका थिए । “नेपालका चौँरी र भेडाको चरन खर्क उतै (चीन)मा थियो, नाका बन्द भएपछि साह्रै नै सकस भएको थियो”, उनले भने, “नाका खुलेसँगै अब सीमावर्ती क्षेत्रको जनजीवन सहज हुनेछ ।”

सरकारी कार्यालय स्थापना गरिँदै
प्रमुख जिल्ला अधिकारी खड्काले सीमानाका खुल्ने तयारीसँगै आवश्यक सरकारी कार्यालय पुनःस्थापनाको प्रक्रिया अघि बढेको बताए। तत्कालका अस्थायीरुपमा सीमा प्रशासन कार्यालय स्थापना गरिने र आगामी आर्थिक वर्षको सुरुआतसँगै आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिने उनको भनाइ छ । “सीमा प्रशासनका कर्मचारी किमाथाङ्का पुगिसक्नुभएको छ”, उनले भने, “सो कार्यालयबाट के–के सेवा दिन सकिन्छ भन्ने अध्ययन गरेर निर्णयमा पुगिनेछ ।”

आगामी साउन १ गतेदेखि किमाथाङ्कादेखि नै सेवा प्रवाह गर्ने गरी तयारी थालिएको प्रजिअ खड्काले जानकारी दिए । विसं २०३५ मा किमाथाङ्कामा सीमा प्रशासन स्थापना भएको थियो । द्वन्द्वका कारण २०५७ सालमा सीमा प्रशासन कार्यालय विस्थापित भएर सदरमुकाममा झरेको थियो ।

सीमानाका सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन ।

देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमित जसो भेटिन थालेका छन् ।

बुलिङटार गाउँपालिका र देवचुली नगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवं प्राकृतिक सम्पदाका दृष्टिले पनि पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । देवचुली डाँडा तथा आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्त्व तथा धार्मिक मान्यताको संरक्षण र सम्वद्र्धन गर्न थालेपछि यहाँ आउने बढ्न थालेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए ।

‘चुली, गुफा, भ्यूटावर, रुद्रपुरगढी, गोल पोखरी, शान्ति पार्क, वरचुली, झेरीखण्डे, तीन कन्यामाई यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्’, उनले भने,’यी पर्यटकीय क्षेत्र अवलोकन गर्न पैदल आउने आन्तरिक पर्यटक बर्सेनि बढ्दै गएका छन् ।’

देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले पैदलमार्ग क्षेत्रमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ । करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुने अध्यक्ष गिरीले बताए ।

‘यस वर्षसमेत गरी करिब सात सय मिटरमा सिँढी निर्माण भएको छ’, उनले भने, ‘राजमार्गबाट छोटो दूरीको ठाउँ भए पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार निर्माणमा ध्यान नपुर्‍याउँदा देवचुलीको पर्यटकीय पूर्वाधारले गति लिन सकेको छैन ।’

यस क्षेत्रमा बिदाको समयमा आउनेको सङ्ख्या बढ्दो छ । बोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरूको गर्मी मौसममा लर्को नै लाग्ने गरेको देवचुली बोझा पोखरी मगर होमस्टेका सचिव हेमलाल बरालले बताए । ‘मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाच यहाँको प्रमुख लोक संस्कृति हुन्’, उनले भने ।

देवचुली क्षेत्र जैविक विविधताले समेत धनी क्षेत्र रहेको छ । यो क्षेत्रमा साल, चिलाउने, चाप, लालीगुराँस, काउलो, तेजपत्ताआदि वनस्पति छन् । यसका अतिरिक्त पाखनवेत, पाँच औले, भूतकेस, तिते, सिकारी लहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनी आदि जडीबुटीका कारण यो क्षेत्र विशेष महत्त्व राख्ने बरालले बताए ।

पूर्व पश्चिम राजमार्गको दलदले बजारदेखि २० किलोमिटर उत्तरमा देवचुली पर्छ भने कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको तीनकन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्त्वपूर्ण स्थान लिएको छ ।

एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन समितिका अध्यक्ष गिरीले बताए ।

‘चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको किंवदन्तीका कारण यस गुफाको छुट्टै महत्त्व छ’, उनले भने, ‘गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाका कारण यो गुफा विशेष आकर्षणका केन्द्रबिन्दु बनेको छ ।’

यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विभिन्न भूभागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू-भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार मृतक पुरुषको हाल नाम थर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

डुम्रे । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ।

गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । पुल निर्माणपछि यहाँका स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

कालीगण्डकी नदी मोटरेवल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले विसं २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताए । उनले भने, “स्थानीयवासीको प्रयासले नै पुल निर्माण भइरहेको छ, अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।”

कालीगण्डकी नदी पुल निर्माण ९० प्रतिशत पूरा भएको उनले जानकारी दिए । वर्षायाममा बाढी आउने समयमा नै सञ्चालनमा आउने गरी पुल निर्माणका काम भइरहेको उनको भनाइ छ । अध्यक्ष सिग्देलले भने, “देशकै नमूनाको रुपमा डबल ल्याण्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै आमनागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेवल पुलले तराईतर्फ र पहाडतर्फ जान सहज हुनेछ ।”

पुल नहुँदा विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक–पटकको प्रयासले मोटरेवल पुल निर्माण भइरहेको उनले बताए । “स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेवल पुल निर्माणले सफलता पाएको छ”, अध्यक्ष सिग्देलले भने, “यहाँ बनेको मोटरेवल पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठूलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहज रुपमा सहयोग लिन सकिनेछ ।”

घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । मोटरेवल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । पुल निर्माणका लागि विसं २०७३ असार ३ गते निर्माण सम्झौता भएको हो । शर्मा, युनाइटेड विल्डर्स, रमन जेभीले रु २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ ।

कोभिडका कारण केही समय निर्माणका कार्यले तीव्रता पाउन नसक्दा हालसम्म दुई पटक म्याद थप गरी निर्माणको काम अहिले करिब अन्तिम चरणमा पुगेको अध्यक्ष सिग्देलले जानकारी दिए । हालसम्म उक्त पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ । विसं २०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडानलगायतका कार्य भइरहेको छ ।

वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताए । उनले भने, “पुल बनेपछि त सजिलै पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।” स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेवल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो । यहाँ मोटरेवल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कालीगण्डकी करिडोरसँग जोडिएकाले सहजरुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ । पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब तीन लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यो दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेवल पुल बनेको हो । यहाँ पुल निर्माण भएपछि यात्राको दूरी कम हुनुका साथै ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा समेत सहज हुनेछ ।

भारतीय राजदूतावासको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

देउखुरी (दाङ), जेठ १२ । घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिंहले युवाको शिक्षाप्रतिको आकाङ्क्षा पूरा गर्न र दूरदराजका नागरिकको जीवन बलियो बनाउन सहयोग पुर्‍याउने उद्देश्यले भारत सरकारले यस प्रकारको सहयोग प्रदान गर्दै आएको बताए। विकास साझेदार कार्यक्रमअन्तर्गत राजदूतावासले सहयोग गरेको उनको भनाइ थियो ।भारतले नेपालको विकास साझेदारीमा सन् २००३ देखि काम गर्दै आएको छ । उनले विकास साझेदारीका माध्यमबाट अझ परियोजनामा सहकार्य हुने विश्वास दिलाए ।

उनका अनुसार लुम्बिनीमा ६१ वटा विद्यालयमा यस प्रकारको सहयोग भइसकेको छ भने दाङमा छ विद्यालयको पूर्वाधारमा लगानी, पाँच वटा स्कुल बस सहयोग गरेको जानकारी गराउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । प्रदेशभर एक हजार नौ वटा एम्बुलेन्स, तीन सय वटा स्कुल बस प्रदेश भर सहयोग भएको पनि उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत विविध क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगबाट नेपाल र नेपालीको जीवन बदल्न सहयोग मिलेको बताए ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले भारतीय शिक्षकले दाङमा आएर अध्यापन गरेको स्मरण गरे ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शैक्षिक उन्नयनका लागि प्राप्त भएको विद्यालय भवनको सही सदुपयोग हुनु प्रभावकारी देखिएको बताए । विद्यालयलाई यसबाट थप शैक्षिक गुणस्तर कायम गर्दै अघि बढ्न सुझाव दिए ।

भारत सरकारको रु दुई करोड ६८ लाख लागतमा २०६४ मा शिलान्यास भई २०६६ मा सम्पन्न भएको उक्त विद्यालयको करिब १७ वर्षपछि उद्घाटन गरिएको छ । हाल उक्त भवनमा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायका दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

सो अवसरमा विद्यालयले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी सहयोग गरेको भन्दै दूतावासलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीको चाप बढ्दै गएकाले थप पूर्वाधार र विद्यालय बसको सहयोगसहितको प्रस्ताव पनि दूतावासलाई बुझाएको छ । विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतको स्वागत तथा विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक दुर्गा पाण्डेले गरेका थिए । शुक्रबार नै लमही नगरपालिका–४ बनगाउँस्थित बालजनता माविमा निर्मित भवनको पनि उद्घाटन गरिएको छ ।

रु एक करोड ५९ लाखको लागतमा २०६३ पुस ६ गते शिलान्यास भई २०६६ सालमा सम्पन्न भएको ३७ कोठे विद्यालय भवनको भारतीय राजदूतावासका प्रथम सचिव अवनाशकुमार सिंहले उद्घाटन गरेका हुन् । रासस

‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ

काठमाडौं- बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन्। प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए। ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिए। उनले भने, ‘उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेर्नुभयो। नेपाली चलचित्रमा ‘टाइम लुप’ नयाँ प्रयोग हो। पहिलो दिनको व्यापार निकै उत्साहजनक छ। अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।’

उनले दर्शकको चाप चलचित्र भवनमा देखिएको जानकारी दिए। सूयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय रहेको छ।प्रदर्शनरत अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन्। जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाइएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए। ‘यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु। मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ’, निर्देशक राउतले भने।

उनले आफ्ना कलाकारसँग बिहीबार दिनभर काठमाडौँ उपत्यकाका चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिएका थिए। दर्शकले दिएको प्रतिक्रियाले चलचित्र लामो समयसम्म प्रदर्शन हुनेमा उनी विश्वस्त छन्।

विकास सुवेदीले लेखेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय छ। निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन एक करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरेका छन्।

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।

विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए । छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ ।

सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाको उमेर समूह निर्धारण गरिएको छ ।विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ ।विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ ।

खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बागलुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ ।

यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा छ हजार छ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

पोलयो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । सङ्क्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ ।

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव

धुलिखेल- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ भीमसेनथान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको छ। बनेपामा वैशाख पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको चण्डेश्वरी जात्रालाई लक्षित गरी काभ्रे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा आयोजित महोत्वस सञ्चालित छ।

रैथाने खाना महोत्सव आयोजक समितिका प्रतिनिधि एवं होटल व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठले गाउँ–गाउँबाट ल्याएको कोदो र फापरको पीठोबाट बनाएको रोटी, योमरी र कोदो, फापर र मकैको पीठो महोत्सवको स्टलमध्येकै आकर्षक बनेको बताए। जात्राका अवसरमा आयोजना गरेको महोत्सव पहिलोपटक भए पनि यसबाट जात्रामा आउने भक्तजनलाई बनेपाको रैथाने तथा परम्परादेखि प्रयोग गर्दै आएको खानाको स्वाद लिन पाउने व्यवस्था गरेको काम अधिकांशले रुचाएको बताए।पच्चिस वटा स्टलमध्ये योमरी, कोदो र फापरको पीठोबाट बनेका रोटी बारा, समयबजीलगायतका विभिन्न परिकारको स्टल राखेको उनले बताए।

वैशाख पूर्णिमाको अवसरमा हुने चण्डेश्वरी जात्रामा सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउन जात्राका अतिथिलाई बनेपाली रैथाने नेवारी खानाको परिकारबारे जानकारी दिलाउने तथा रैथाने खाना परिकारको प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताए।

बनेपालीले निकै महत्वका साथ मनाउँदै आएको सो जात्रा यहाँका जात्रामध्येकै महत्वपूर्ण मानिन्छ। करिब दुई हजार पाँचसय वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्राका अवसरमा बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडाको बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्‍याउने प्रचलन छ।

भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ। सदियौँदेखि आफ्नै मौलिक परम्परागत सांस्कृतिक तथा धार्मिक पर्वका रुपमा यस जात्रालाई यहाँका बासिन्दाले हर्षोल्लासका साथ मनाउँदै आएका छन्। जात्रा र महोत्सव दुवै आज समापन हुँदैछ।

न्यूजिल्याण्डबाट १०० मुलुकमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

वेलिङ्गटन-सन् २०२२ को अप्रिलदेखि सन् २०२३ सम्मको एक वर्षको अवधिमा न्यूजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशहरूमा पाउडर दूध निर्यात गरिएको न्यूजिल्याण्डको तथ्याङ्क विभाग (स्टाट एनजेड)को तथ्याङ्कले देखाएको छ ।
न्यूजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको स्टाट्स एनजेडका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनल बताउनुभयो ।

न्यूजिल्याण्डको पाउडर दूध निर्यातका लागि चीन प्रमुख गन्तव्यको रूपमा छ । यहाँबाट चीनतर्फ हुने पाउडर दूध निर्यातमा पछिल्लो समय गिरावट आएको भएपनि परिमाणको आधारमा अझै पनि दूधको निर्यात चीनमा नै धेरै रहेको पाइएको छ ।सन् २००८ को तुलनामा अप्रिलमा सकिएको न्यूजिल्याण्डको आर्थिक वर्षको अन्त्यसम्मको एक वर्षको अवधिमा चीन पठाइएको पाउडर दूधको निर्यात मूल्यमा ९८७ प्रतिशत वृद्धि भएको थियो भने सोही अवधिमा मूल्यको परिमाणमा एक हजार चार प्रतिशतले वृद्धि भएको स्टाट एनजेडले उल्लेख गरेको छ ।अप्रिलमा अन्त्य भएको न्युजिल्याण्डको पछिल्लो आर्थिक वर्षभरी ३० प्रतिशत पाउडर दूध चीन पठाइएको विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताउनुभयो ।

सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको एलेनले बताउनुभयो ।गत आर्थिक वर्षमा पाउडर दूध निर्यातको मूल्य ९.७ अर्ब न्युजिल्याण्ड डलर (५.९१ अर्ब अमेरिकी डलर) थियो । यो न्यूजिल्याण्डको निर्यातको कुल मूल्यको १४ प्रतिशत हो । पाउडर दूध न्यूजिल्याण्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको स्टाट्स एनजेडको तथ्याङ्कले पुष्टि गरेको छ ।

अप्रिलसम्मको एक वर्षको अवधिमा न्यूजिल्याण्डको वार्षिक पाउडर दूध निर्यात औसतमा प्रति वर्ष १.८ किलोग्रामले वृद्धि भएको छ भने मूल्य १०९ प्रतिशत बढेको छ । त्यस्तै निर्यात दूधको मात्रामा ११२ प्रतिशतले वृद्धि भएको छ ।
स्टाट एनजेडको तथ्याङ्क अनुसार सन् २०२३ को अप्रिलसम्मको एक वर्षको अवधिमा न्युजिल्याण्डबाट विश्वका १०० भन्दा बढी देशमा पाउडर दूध निर्यात गरिएको थियो । न्यूजिल्याण्डको दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको एलेनले बताउनुभयो ।

अर्मेनियाद्वारा अजरबैजानलाई चारवटा सीमावर्ती गाउँ फिर्ता

येरेभान (अर्मेनिया-अर्मेनियाले दशकौं पहिले कब्जा गरेको बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिलीका चार सीमावर्ती गाउँहरू अजरबैजानलाई फिर्ता गरेको शुक्रबार दुवै देशले पुष्टि गरेका छन् । यो ऐतिहासिक प्रतिद्वन्द्वीबीचको सम्बन्ध सामान्यीकरणको एक महत्त्वपूर्ण कदम हो ।

अर्मेनियामा लामो विद्रोह निम्त्याएको यो कदमले रूस र पश्चिमी देशहरूको मध्यस्थतामा वर्षौंको निष्फल वार्तापछि व्यापक शान्ति सम्झौतामा पुग्ने दिशामा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ । दुई देशले नागोर्नो–काराबाखको विभाजित क्षेत्र नियन्त्रणका लागि सन् १९९० र सन् २०२० गरी दुईवटा युद्ध लडेका थिए ।

अजरबैजानले गत वर्ष एकाएक आक्रमण गरी यो क्षेत्रलाई पुनः कब्जा गरेको थियो । आक्रमणपछि एक लाखभन्दा बढी स्थानीयहरु आर्मेनियातर्फ भाग्न बाध्य भएका थिए भने तीन दशकको अर्मेनियाली अलगाववादी शासनको अन्त्य भएको थियो ।

अर्मेनियाको उच्च सुरक्षा अधिकारीले हालैको सीमा सीमाङ्कन सम्झौतालाई प्रतिबिम्बित गर्दै यस क्षेत्रमा खटिएका सीमा रक्षकहरु देशको पूर्वमा स्थानान्तरण गरिएको र गाउँहरूलाई अजरबैजानको नियन्त्रणमा दिएको शुक्रबार पुष्टि गरेका छन् ।

त्यसैगरी, अजरबैजानका उपप्रधानमन्त्री शाहिन मुस्तफायेभले आफ्नो देशको सीमा रक्षकहरूले चारवटा बस्तीहरूको नियन्त्रण लिएको छुट्टै घोषणा गर्नुभयो ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यानले मार्चमा स्थायी शान्ति सम्झौता सुरक्षित गर्ने प्रयासको एक हिस्साको रूपमा सन् १९९० को दशकमा कब्जा गरिएका चार गाउँहरू फिर्ता गर्न सहमत हुनुभएको थियो । दुई देशहरूबीच यस महिनाको सुरुमा उनीहरूको सिमानाको १२.७ किलोमिटर (लगभग सात माइल) को नयाँ सीमाङ्कनमा सहमति भएको थियो । सोही अनुसार बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिली गाउँहरू अजरबैजानलाई फिर्ता गरिएको हो ।

पसिन्यानले यो सम्झौतालाई अर्मेनियाको सार्वभौमसत्ताका लागि धेरै महत्त्वपूर्ण र यसले देशको सुरक्षा र स्थिरतालाई प्रोत्साहन गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । येरेभानले सुम्पिएको क्षेत्रको भूपरिवेष्ठिक देश अर्मेनियाका लागि रणनीतिक महत्त्व रहेको छ किनभने यसले जर्जियाको महत्त्वपूर्ण राजमार्गलाई जोड्छ ।

अर्मेनियाली बासिन्दाले भने पसिन्यानको यस कदमले उनीहरूलाई देशको बाँकी भागबाट अलग गर्न सक्ने भय व्यक्त गर्दछन् । अर्मेनियाले आगामी केही महिनामा यस क्षेत्रमा नयाँ सडक निर्माण गर्ने पसिन्यानले बताउनुभएको छ ।

प्रधानमन्त्री पसिन्यानको उक्त निर्णयले उहाँको राजिनामा माग गर्दै करिश्माई धर्मगुरु बग्रात गलस्तान्यानको नेतृत्वमा हजारौं प्रदर्शनकारीको साथमा अर्मेनियामा सरकार विरोधी प्रदर्शनको सुरु भएको छ ।

अर्मेनियाको राष्ट्रिय सुरक्षा सेवाले शुक्रबार अर्मेनियाली गाउँ किरान्ट्स नजिकैको सिमानाको ५.८ किलोमिटर क्षेत्रलाई ‘जुलाई २४ सम्म सङ्क्रमणकालीन योजना अनुसार’ सुरक्षा गरिने बताएको छ । किरान्ट्स गाउँका मेयरले नयाँ सडक निर्माण नभएसम्म अजरबैजानको नियन्त्रणमा हस्तान्तरण गरिने सडकको एउटा भाग प्रयोग गर्न स्थानीयहरूलाई अनुमति दिइने बताउनुभएको छ ।

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु

नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिए ।
“डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेकोलगायतका ९० किसिमका जानकारी राखिएको छ”, उनले भने, “सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौ ।”

नगर प्रमुख केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्यूरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान सुरुआत गरे । पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार नौ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने नगर प्रमुख केसीले बताए ।

उनका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका सात हजार दुई सय घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ । ७ र ८ नम्बरबाहेकका वडाका घरमा राखिने डिजिटल नम्बर प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले सेवा सुविधाको दुरुपयोग र दोहोरो सुविधा रोकिने, घरधनीले आफ्नो विवरण आफैँ अद्यावधिक गर्नसक्ने, सुत्केरी, गर्भवती तथा जटिल रोग, बिरामी, विपद्को अवस्थामा तत्काल सहयोग गर्न सकिने गरेर डिजिटल घर नम्बर प्रणालीको विकास गरिएको बताए ।

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी- माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको र शिशु सिद्धार्थलाई त्यहीबाट गृहनगर तिलौराकोट दरबारमा फर्काइएको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धमूर्तिको शुक्रबार शोभायात्रा गरिएको छ ।

लुम्बिनीमा जन्मिएका बोधिसत्व (बुद्ध) सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको स्मरण स्वरुप शुक्रबार लुम्बिनीबाट शिशु बुद्धलाई शोभा यात्रासहित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार पुर्‍याइएको हो । सिद्वार्थ गौतमलाई बुद्ध जन्मिएको दिन पूर्णिमाको दोस्रो दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै शुक्रबार बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ) को मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको थियो । राजा शुद्वोधन र मायादेवीको स्वरूप बनाएर बग्गीमा चढाएर शिशु बुद्ध तिलौराकोट पठाइएको कोषका सदस्य सचिव शाक्यले बताए ।

राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कोषले २५६७ औँ बुद्धजयन्तीको अवसरमा बाजागाजासहित शोभा यात्रा निकालेको थियो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको दुई हजार ६ सय वर्षअघिका क्षणलाई स्मरण गराउने कोसिस गरिएको सदस्य सचिव शाक्यले बताए ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत जाने इच्छा गरेपछि देवदह जानेक्रममा लुम्बिनीस्थित बगैंचामा आराम गर्न डोलीबाट ओर्लिएपछि उनलाई व्यथाले च्यापेको थियो । बगैचामा उनले राजकुमार सिद्धार्थलाई जन्म दिएका थिए ।

त्यसपछि तिलौराकोट, कपिलवस्तु र देवदहलाई सिँगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित रथमा बसेर कपिलवस्तु फर्किएका थिए । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको थियो ।

एक जना प्राविधिकको भरमा चलेको छ बाँकेको विषादी अवशेष प्रयोगशाला

नेपालगञ्जमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एकजना प्राविधिक सहायकको भरमा सञ्चालन भएको छ।नेपालगञ्जमा स्थानीय उत्पादन तथा भारतबाट आयातित तरकारी तथा फलफूल रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र एक दर्जन बढी चोकमा ठेलामा बिक्री वितरण हुँदै आए पनि केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्ति अभावले तरकारी तथा फलफूलका सीमित नमूनामात्रै परीक्षण गर्नुपर्ने बाध्यता छ।

स्रोत साधन र जनशक्ति अभावमा तरकारी तथा फलफूलका सीमित नमूनामात्रै परीक्षण गर्दै आएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायब प्राविधिक सहायक गौरव चौधरीले बताए।

प्रयोगशाला एकाइमा प्राविधिक सहायक चौधरी र एकजना कार्यालय सहयोगीमात्र कार्यरत हुनुहुन्छ। जनशक्ति अभावमा तरकारी तथा फलफूल बजारबाट नमूना सङ्कलनमा समस्या भएको छ ।कीरा तथा रोगव्याधीबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री गर्दा उपभोक्ताको भान्सासम्म विषादी पुगेको चौधरी बताउँछन्।

बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको उनले बताए।

उनका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन। त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेरमात्रै प्रयोग गर्न सकिन्छ । शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ।

बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन भएका तरकारी तथा फलफूलजन्य वस्तुमा चालु आर्थिक वर्षको १० महिनामा गरिएको विषादीको नमूना परीक्षणमा पाँचवटा पाइएको नायब प्राविधिक सहायक चौधरीले बताए।

‘प्रयोगशालामा आठ सय ४९ विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा पाँचवटा नमूनामा कैफियत पाइएको छ,’ उनले भने, ‘तीनवटा नमूनामा (रेडलेबल) उपभोग गर्न नमल्निे र दुई वटा नमूनामा (एल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको हो।’

८० रोपनी क्षेत्रफलमा चियाखेती, बगानभित्रै बनाएका छन् ९० लाखको रिसोर्ट

भोजपुर- टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो।बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ।उनको चिया बगान ८० रोपनी क्षेत्रफलमा फैलिएको छ। बगान हेर्न र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पनि आउँछन्।‘यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सुरु गरेको छु,’ रञ्जितले भने, ‘रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन्।’

करिब एक वर्षअघिदेखि सञ्चालनमा आएको रिसोर्टमा ९० लाख लगानी गरेका छन्। चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ।

विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो।हालसम्म चियाका लागि करिब दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए। ‘अर्ग्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन,’ उनले भने।

गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने बताए।उनले हाल अर्ग्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी १ हजार ८ सय, कालो चिया एक हजार २ सय र सिल्भर चिया ३० हजार रूपैयाँमा बिक्री गर्दै आएका छन्।

उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन्।‘चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ।’

हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन्।बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए। उनले चियाको नर्सरीसमेत आफै गर्दै आएका छन् भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन्।गिरीलाई प्रोत्साहन गर्नवडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए।

तीन महिनामा मरे तीन पाटेबाघ

नवलपुर- चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुर्लभ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ ।जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन् ।

निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ । यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो । खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुने ढङ्गले आक्रमण नगरेपछि कसैले चासो दिएका थिएनन् । पछिल्लो समय बाघको गतिविधि शङ्कास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेको जनाएका छन् ।

प्रहरीसहित घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयका कर्मचारीले मृत बाघ फेला पारेको सब डिभिजन वन कार्यालय दुम्किबासका वन अधिकृत कुलचन्द्र दवाडीले बताए । अर्को बाघको आक्रमणबाट घाइते भएर जङ्गल बाहिर निस्केको उक्त बाघलाई बेलैमा उद्धार गरेर उपचार गरेको भए बचाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै दवाडीले उद्धारमा ढिलाइ भएको बताए । यसअघि यस क्षेत्रमा बँदेललाई थाप्न राखेको पासोमा परेर एउटा भाले पाटेबाघ मरेपछि गाडेर राखेको अवस्थामा भेटिँदा पनि यस क्षेत्रमा बाघको संरक्षण र उद्धारमा ध्यान दिइएको छैन ।

पछिल्लो पटक बुधबार साँझ फेला परेको करिब १० वर्षको पोथी पाटेबाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जङ्गली जनावरको आक्रमणबाट घाइते भई बिरामी परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । बुधबार मृत भेटिएको पाटेबाघलाई शव परीक्षणपछि बिहीबार डिभिजन वन कार्यालय कावासोतीको क्षेत्रभित्र खाडल खनी पुरिएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघका लागि पर्याप्त आहार भए पनि नयाँ वयस्क बाघ र बुढा भएका बाघ बस्ती नजिकका जङ्गलमा नयाँ बासस्थान खोजेर आउने गर्दछन् ।

नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ पाटेबाघ रहेको अनुमान गरिएको छ । नवलपुरमा अहिलेसम्म मृत भेटिएका तीन पाटेबाघमध्ये एउटालाई खाडल खनेर गाडिएको अवस्थामा फेला पारेकाले नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ । मृत भेटिएका तीनमध्ये अन्य दुईको मृत्यु शङ्कास्पद रहेको पशु चिकित्सक डा श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अघिल्ला दुई पाटेबाघ मरेको घटनामा अझै अनुसन्धान जारी रहेको बताए । उनले बँदेल मार्न थापेको पासोमा परेर बाघ मरेको भन्ने खुले पनि कसले मारेको भन्ने अझै एकिन भएको छैन ।

आगामी असार २ गते व्यास नगर प्रमुखको पुनःमतगणना हुने

तनहुँ- आगामी असार २ गते तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना हुने भएको छ । उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना हुन लागिएको हो । फैसलामा एक महिनाभित्र पुनःमतगणना गर्नु भनिएअनुसार उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना गर्न हुनेछ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगर प्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश दिएको थियो ।

नगर प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।

स्थानीय तहको निर्वाचनअन्तर्गत नगर प्रमुख बैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए भने जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

मतदानकै बेला व्यास नगरपालिका–८ रिस्तीमा मतपत्र च्यातिएपछि जोशीमाथि आक्रमण भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त वडाको मतदान केन्द्रको मतदान स्थगित गरी पुनः मतदान गराएको थियो ।

न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक हुन्ः प्रधानन्यायाधीश

धुलिखेल, जेठ ११-प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यापालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताउनुभएको छ ।सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘अदालती रिपोर्टिङ र सञ्चार माध्यम’ विषयक कार्यशालाको उद्घाटन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक, सत्यतथ्य र व्यावसायिक पत्रकारिताले न्यायपालिकाको विश्वसनीयताका साथै जनआस्था वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको उल्लेख गर्दै अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अदालती रिपोर्टिङमा राजनीतिक विषयलाई छुट्टयाउन चुनौती रहेको भन्दै अदालतको संवेदनशीलतालाई बुझेर यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयका सूचना सम्प्रेषणलाई सत्य तथ्य र यथार्थपरक बनाउन व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला राखिएको बताउनुभयो । कार्यशाला दुई दिनसम्म चल्ने छ ।

ललितपुरमा इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरु

काठमाडौँ । ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरु भएको छ ।प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् । त्यसअवसरमा उहाँले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताउनुभयो ।

“खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन्”, उहाँले भन्नुभयो, “यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन ।” उहाँले महिलाको स्वतन्त्रताको प्रतीकका रुपमा माछाको आकृति बढी चित्रमा उतार्नुभएको छ ।

‘एमक्यु ग्यालरी’ का प्रमुख मनिषलाल श्रेष्ठले विदेशी एवम् स्वदेशी कलाकारलाई प्रत्येक महिना कला सिर्जना गराउँदै आएको र यही क्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिनुभयो ।प्रदर्शनीमा राखिएको चित्रको मूल्य रु दुई हजार पाँच सयदेखि दुई लाख ५० हजारसम्म राखिएको छ ।

रौतहटको श्रीराम चिनी मिल सञ्‍चालनका लागि सहमति

काठमाडौँ- रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति एवं सांसद किरणकुमार साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताएबमोजिम उद्योगका नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं उपकरणहरूको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने सर्तसहित मूल सडकसँग जोडिएको केही जग्गा बेच्न दिने सहमति गरेको छ ।

भूमिसम्बन्धी ऐन २०२१, औद्योगिक व्यवसाय ऐन २०७६, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा अन्य प्रचलित कानुनको प्रावधानअनुसार कम्पनीका नाममा रहेको जग्गालाई प्रयोग गरी उद्योग सञ्चालन गर्न उपयुक्त विधि पहिचान गरी आवश्यक कार्य कम्पनीले अगाडि बढाउने सहमति भएको सांसद साहले जानकारी दिए ।

सो उद्योग विगत चार वर्षदेखि सञ्चालन हुन नसकेको एवं लगानीकर्ताले थप लगानी गर्न तथा ऋण तिर्न नसकेको देखिएकाले रूग्ण उद्योगको पहिचानसम्बन्धी कार्य गर्ने कार्यदलमा सहमति भएको छ । उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०७६ तथा नियमावली अनुसारको प्रक्रिया गरी रूग्ण उद्योगको सुविधासहित रूपान्तरण गरी सञ्चालन गर्न अगाडि बढाउन उपयुक्त देखिने कार्यदलको ठहर छ । कार्यदलका संयोजक साहका अनुसार उद्योग सञ्चालन गर्दा उखु किसानलाई मिलसँग आबद्ध गराउन उखुको पर्याप्तता बढाउन र उखु किसानले बिक्री गर्ने तथा उद्योगले किन्ने चक्र मिलाउन उद्योगको कमान्ड क्षेत्र बनाई गर्न सकिने कार्यदलको सुझाव छ ।

हाल उद्योगका औजार तथा जग्गा नेपाल बैङ्क लिमिटेडमा धितो रहेको र करिब रु ३१ करोड साँवा–ब्याजसहित ऋण रहेको एवं उक्त बैङ्कले लिलामी प्रक्रिया अगाडि बढाएको हुँदा सो प्रक्रिया सम्बन्धमा आवश्यक सहजीकरण हुनुपर्ने कार्यदलले सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री भण्डारीले उद्योग सञ्चालन गर्न सहमति जुटेकामा खुसी व्यक्त गरे ।

उनले भने, ‘तीनै पक्षबीच सहमति जुट्नु खुसीको कुरा हो, यसबारे अर्थमन्त्रीसँग छलफल गरेर सरकारका तर्फबाट गर्नुपर्ने पहलकदमी अगाडि बढाउँछु ।’

कार्यदलमा सभापति साहका साथै सांसद विना साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, उद्योगीद्वय हितेश गोल्छा र विशाल अग्रवाल, उखु उत्पादक किसान सङ्घका अध्यक्ष तथा स्थानीय सङ्घर्ष समितिका अध्यक्ष अशोकप्रसाद यादव र मन्त्रालयका सहसचिव विपीन आचार्य सदस्य रहेका थिए ।

विसं २०४९ मा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द छ । झन्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गरेका छन् । जग्गाको लिलामी भने गरिएको छैन । स्थानीयको विरोधका कारण सो उद्योग अन्यत्र सार्न नसकिएपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।

सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भएको छ ।प्रमुख दलका शीर्ष नेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको जानकारी दिनुभयो ।

बैठकमा सङ्घीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको टिओआर बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

“आजको बैठकमा छलफल सकारात्मक भएको छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, “नेपाली कांग्रेस सकारात्मक रुपमा प्रस्तुत भएको छ । संसद्को गतिरोध अन्त्य गर्न, संसदीय छानबिन समितिका लागि टिओआर निर्माण गर्न, गाँठो परेको विषयमा आ–आफ्नो तर्फबाट सहजीकरण गर्नेबारे सकारात्मक छलफल भयो ।”

उहाँले सत्तापक्षका तर्फबाट यसमा लचकता भएको स्पष्ट पार्दै टिओआरमा व्यक्तिको नाम किटान गर्न सम्भावना नभए पनि त्यसबीच प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राख्न खोजेको विषय पनि संसदीय छानबिन समितिको गरिमालाई कायम गर्ने गरी समझदारी भएको बताउनुभयो ।

“संसदीय छानबिन समितिको गरिमा मर्ने गरी, ओझ नै नपुग्ने गरी समिति बनाउने र नाम नै किटान गरेर टिओआर दिनु राम्रो हुँदैन भन्ने सुझाव राख्यौँ । त्यसका लागि छलफल गर्छौं । नेपाली काँग्रेसले सहजीकरण गर्ने पाटोमा भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताउनुभयो । “सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ । उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिनै रहनुभएको छ, त्यसबारे टुङ्गो लगाउन आजको बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

इरानी राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक

तेहरान । इरानको सशस्त्र बलका जनरल स्टाफले बिहीबार इरानी राष्ट्रपति इब्राहिम रायसी र उहाँको टोलीका सदस्यहरू मृत्यु भएको भर्खरै भएको हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक गरेको छ ।दुर्घटनापछि विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक वरिष्ठ छानबिन समिति सोमबार बिहान घटनास्थलमा आइपुगेको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले इरानको सशस्त्र बलका जनरल स्टाफको रिपोर्टलाई उद्धृत गर्दै बताएको छ ।

प्रतिवेदनअनुसार हेलिकप्टर बाटोभरि पूर्वनिर्धारित मार्गमा रहेको र उडान मार्गबाट विचलित भएको थिएन । उक्त घटना हुनुभन्दा करिब डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अन्य दुई हेलिकप्टरसँग सम्पर्क गरेका थिए ।

दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला परेको नपरेको र हेलिकप्टर पहाडमा खसेपछि आगो लागेको बताइएको छ ।क्षेत्रको जटिलता, कुहिरो र कम तापक्रमको कारण खोजी र उद्धार कार्य राति हुँदासम्म र त्यसपछि पनि रातभर जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै संदिग्ध मुद्दा फेला नपरेको र थप अनुसन्धानपछि थप विवरण आउने बताइएको छ । थप अनुसन्धानपछि थप विवरण प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ ।

रायसी र उहाँको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतबार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टरमा विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि मोहम्मद अली अले–हाशेम पनि सवार हुनुहुन्थ्यो ।रायसीलाई बिहीबार उहाँको गृहनगर मशहदको इमाम रेजाको पवित्र मन्दिरमा अन्त्येष्टि गरिएको थियो ।

अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी

काठमाडौँ । ग्यासको मूल्यमा गिरावट आएपछि अप्रिलमा जापानी मुद्रास्फीतिको गति सुस्त भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।अस्थिर ताजा खाद्य सामग्रीको मूल्यबाहेक उपभोक्ता मूल्य सूचकाङ्क २.२ प्रतिशतमा आएको छ । जापानको आन्तरिक मामिला मन्त्रालयले मार्चमा उक्त दर २.६ प्रतिशत मापन गरेको थियो । यो आँकडा बजारको अपेक्षा अनुरूप थियो र कमजोर येनले आयातित वस्तुको लागि मूल्य वृद्धि गर्दा पनि आउँछ ।

ब्लुमबर्ग इकोनोमिक्सका तारो किमुराले भन्नुभयो, “यो आँकडाले उपभोक्ताको सुस्त मागको प्रतिक्रियामा कम्पनीहरूले मूल्य वृद्धिलाई नियन्त्रण गर्ने कदमलाई प्रतिबिम्बित गर्दछ ।”
“तर खुद मापन अझै पनि बैङ्क अफ जापानको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ र पछिल्लो तथ्याङ्कले केन्द्रीय बैङ्कलाई नीति सामान्यीकरण गर्नबाट रोक्ने सम्भावना छैन,” विज्ञप्तिमा भनिएको छ ।संयुक्त राज्य अमेरिका र अन्य प्रमुख अर्थव्यवस्थाहरूले हालैका वर्षहरूमा आकासिएको मुद्रास्फीतिको सामना गरेपनि जापानमा मूल्य वृद्धि न्यून देखिएको छ ।

बैङ्क अफ जापानको लामो समयदेखिको अति निष्क्रिय मौद्रिक नीतिहरू विश्वको चौथो अर्थव्यवस्थाका रूपमा चिनिने जापानबाट स्थिरता र अपस्फीतिलाई हटाउनको लागि अपनाइएको कदम थियो ।यसले युक्रेन रूसले थालेको युद्धजस्ता अस्थिर, अस्थायी कारकहरूको कारण मुद्रास्फीतिको विपरीत, दुई प्रतिशतको दिगो मागद्वारा परिचालित मुद्रास्फीतिलाई लक्षित गरिरहेको छ ।

किमुराले भन्नुभयो, “केन्द्रीय बैङ्क एक सदाचारी श्रममूल्य चक्रले भविष्यमा मुद्रास्फीतिलाई बढावा दिनेछ । ज्यालामा वृद्धिले बैङ्कका अधिकारीहरूले माग गरेको दिगो मुद्रास्फीतिलाई साकार पार्न मद्दत पुर्‍याउँछ ।उहाँले भन्नुभयो, “उपयोगिता शुल्कमा अपेक्षित वृद्धिले आगामी महिनाहरूमा मुद्रास्फीतिको आँकडालाई पनि बढाउनेछ, जुलाई र अक्टोबरमा बैङ्कले दर वृद्धिको लागि राम्रो अवस्था प्राप्त गर्नेछ ।”

कमजोर येन जापानी निर्यातक र विदेशी आगन्तुकहरूको लागि राम्रो देखिएको छ, तर यसले बाह्य पर्यटकहरूको लागि आयात र विदेशी यात्रालाई अधिक महँगो बनाउनेछ ।ताजा खाना र ऊर्जा दुवैलाई अलग गर्दै, मूल्यहरू मार्चको २.९ प्रतिशतबाट तल झरी अप्रिलमा २.४ प्रतिशत कायम भएको छ ।

‘न्यायिक पुनःस्थापनाका लागि बजेट सुनिश्चित गरियोस्’

काठमाडौँ, जेठ ११-मुक्त कमैया, हलिया, कमलहरी र हरवाचरवाहरूले न्यायिक पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरेका छन् ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुक्तिको घोषणा गरिएको लामो समयसम्म न्यायिक पुनःस्थापना र जीविकोपार्जनसम्बन्धी समस्या सम्बोधन हुन नसकेका भन्दै सरोकार भएकाहरूले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले कृषि दासताबाट मुक्त भए पनि चरम गरिबी र अभावपूर्ण जीवनयापन गरिरहेका भए पनि ती समुदायको समस्या सम्बोधन नभएको गुनासो गर्नुभयो । उहाँले आफूहरूले सरकारसँग विभिन्न ११ बुँदे माग राखेका र आगामी आव २०८१÷८२ को बजेटमार्फत माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।
विसं २०७८ सालमा अधिकारकर्मी श्याम श्रेष्ठको अध्यक्षतामा गठित मुक्त कमैया, हलिया, कमलरी तथा हरवाचरवा वस्तुस्थिति अध्ययन समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा उहाँहरूको जोड थियो ।

“भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवाचरवा पुनःस्थापनका लागि तयार पारेको पुनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ”, मुक्त कमैया समाज कैलालीका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो,“त्यसका अतिरिक्त सरकारले मुक्तिको घोषणा गरिएका हामी सबै समुदायका समस्या समाधानका लागि एकीकृत ऐन जारी गरी पुनःस्थापना कार्य अगाडि बढाउन आवश्यक छ । यसका लागि पनि सरकारसँग आग्रह छ ।”

त्यसअवसरमा राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपालका उपाध्यक्ष श्याम सुनार, मुक्त कमैया महिला विकास मञ्च कैलालीका अध्यक्ष सीमा चौधरी, मुक्त कमलरी विकास मञ्च दाङका हिरामोति चौधरीलगायतले आफूहरूका माग र मुद्दा सम्बोधन गर्न धेरै ढिला भइसकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

काभ्रेमा दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटना बढ्दै, बनेपाबाट मात्रै ६९ मोटरसाइकल तथा स्कुटर हराए

काभ्रेपलाञ्चोक, ११ जेठ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकासँगै जोडिएको प्रमुख व्यापारिक केन्द्र बनेपामा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्न थालका छन् ।दुईपाङ्ग्रे सवारीसाधन चोरीका शृङ्खलाबद्ध घटना हुन थालेपछि प्रहरीको सक्रियता बढाइसँगै चोरीमा संलग्न केही व्यक्ति पक्राउसमेत परेका प्रहरीले जनाउको छ ।इलाका प्रहरी कार्यालय बनेपाका अनुसार चालु आर्थिक वर्षको भदौदेखि हालसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ मोटरसाइकल तथा स्कुटर हराएकामध्ये १६ वटा फेला परेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ सल्लेका कुमार तामाङको सोमबार राति ११ बजे एक सय ५० सिसीको पल्सर मोटरसाइकल र सोही वडाका सुजन भुजेलको दुई सय २० सिसीको पल्सर मोटरसाइकल चोरी भयो । चोरीलगत्तै पीडितले प्रहरीलाई खबर गरेपछि सिसी क्यामेराको अध्ययनबाट पनौती–५ स्थित बाँसघारीबाट दुई मोटरसाइकल चोरी गर्ने सोही वडाका दुई युवालाई पक्राउ गरियो ।इलाका प्रहरी कार्यालय बनेपाले २० वर्षीय रुविन भुजेल र पनिस भुजेललाई मोटरसाइकल चोरीको अभियोगमा बुधबार मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

यही जेठ २ गते बिहान ३ बजे गस्तीमा खटिएको प्रहरीले बनेपाको धनेश्वरस्थित बनेपा–पनौती सडकखण्डबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ का ३६ वर्षीय गर्जन दियालीलाई विना हेल्मेट एक सय ५० सिसीको पल्सर मोटरसाइल चोरी गरेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । सोधपुछ गर्दा मोटरसाइकल छाडेर भाग्न खोजेपछि चोरीको भएको अनुमान गरिएको इप्रका बनेपाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।

“दियालीलाई जति केरकार गरे पनि मोटरसाइकल चोरीको गिरोहका बारेमा केही खुलाएनन् । प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी निजबारे थप अनुसन्धान गरिरहेको छ”, उनले भने ।

गत वैशाख ३० गते राति बनेपास्थित बसपार्कबाट विनाहेल्मेट मोटरसाइकल चलाएर आउँदै गरेका महाभारत गाउँपालिका–६ का २५ वर्षीय होइसेर थिङ तामाङ, सोही गाउँपालिका–७ का २४ वर्षीय बुद्ध मोक्तान र २२ वर्षीय अनिल स्याङ्तानलाई प्रहरीले पक्राउ ग¥यो ।

सादा पोशाकमा गस्ती गरिरहेको प्रहरी टोलीले शङ्काका आधारमा सोधपुछ गरी दुई सय २० सिसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बनेपा–८ स्थित लञ्जबारको पार्किङस्थलबाट चोरिएको उक्त मोटरसाइकल चोरीमा अन्य दुई जना पनि संलग्न रहेको बयानका आधारमा थप दुईजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार यही जेठ १ गते धुलिखेलस्थित जिल्ला अदालतबाट म्याद थप गरी हाल उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

गत वैशाख १ गते राति चार वटा मोटरसाइकल चोरी भएका घटना प्रहरीमा उजुरी परेका छन् । सोही दिन साँझ ७ बजे बनेपा–५ जलेश्वरमा मन्दर लामाको मोटरसाइकल चोरी भयो । साँझ ७ बजे बनेपा–१३ शिव मन्दिर नजिकैबाट विष्णु तामाङको, सोही राति ८ बजे बनेपा–७ गोदामचोकबाट बोलप्रसाद सापकोटाको, बनेपा–६ बुडोलबाट कुमार मैनालीको मोटरसाइकल चोरी भएको थियो । प्रहरीले ती घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्रन सकेको छैन । ती घटनामा चोरी गर्ने गिरोहले समय र स्थानसमेत मिलाएर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । उनले दुईपाङ्ग्रे सवारीसाधन चोरीका घटनाको अनुसन्धान निरन्तर गरिरहेको भन्दै पक्राउ परेकाबाट थप विवरण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिए ।

बनेपा–६ रातमाटाबाट गत चैत १५ गते हरेराम हुमागाईंको घरभित्र पार्किङ गरिएको मोटरसाइकल चोरीमा संलग्नको हालसम्म केही सुराकसमेत पाउन नसकेको सुवेदीको भनाइ छ । “चोरीको गिरोहका व्यक्तिलाई पक्राउ नगर्दासम्म मोटरसाइकल चोरी नियन्त्रणमा चुनौती थपिँदै गएको छ । हामी निरन्तर घटना न्यूनीकरणमा लागिरहेका छौँ”, उनले भने ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार जेठ महिनाको डेढ हप्तामा तीन वटा मोटरसाइकल चोरीका घटना भएका हुन् । गत वैशाखमा १२ वटा मोटरसाइकल हराए भने गत भदौमा १० वटा दुईपाङ्ग्रे सवारीसाधन चोरी भएका छन् । धुलिखेल नगरका इञ्जिनियरसमेत रहेका हुमागाईंले घटनायता प्रहरीलाई चोरी पत्ता लगाई मोटरसाइकल खोजिदिन आग्रह गर्दै आएका छन् ।

प्रहरीले चोरेपछि मोटरसाइकलका पार्टपुर्जा बेच्ने सम्भावित क्षेत्र ग्यारेज, कबाडी पसल तथा पार्टपुर्जा बिक्री गर्ने पसलका व्यवसायीलाई आवश्यक सोधपुछ गरेको जनाएको छ । बनेपाबाट मोटरसाइकल चोरेर ग्रामीण क्षेत्र लैजानसक्ने भएकाले चोरी नियन्त्रणका लागि जिल्लास्थित प्रहरी कार्यालयले मातहतका प्रहरी निकायमा सर्कुलर गरिएको जनाएको छ ।