`

बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो । आज
प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ ।

हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट

काठमाडौँ, १४ जेठ : हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रुपमा सम्मानित हो ।

नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ । भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताउनुभयो ।

पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपािलकाको बीच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ । हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ । नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गर्दैआएको छ ।

सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयमंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ । पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पु¥याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ ।

मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ । हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरु समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ । नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पु¥याइरहेका छन् ।

आफ्नो जन्मथलो र कर्म थलो सम्झिएर उहाँहरुले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठूलो फड्को हुने नगर प्रमुख बुढाथोकी बताउनुहुन्छ । राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ ।

नगरपालिकाले आफ्नो कार्य जिम्मेवारीको क्षेत्रभित्र विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको छ । नगरपालिकाले गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ । पालिकास्तरको १५ श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा छ । डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रुपमा हरिवन सम्मानित भइसकेको छ ।

पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस पटक यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर गर्ने तयारी छ । मनोविद् पद्मप्रसाद घिमिरे भन्नुहुन्छ, “स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ, प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा र गुणस्तरीय औषधि सम्बन्धित विषयसमेत पर्छ ।”

मुलुकमा बेरोजगारी तगातका कारण लागुऔषधि प्रयोगकर्ता युवाको सङ्ख्या बढेकाले त्यसबाट उनीहरुलाई मुक्त गराउने र पुनःस्थापना गर्ने कार्यमा पालिकाले ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले उनीहरुलाई सुबाटोमा हिँडाउन युवालाई लक्षित गरी सिर्जनशील परामर्श र तालिम प्रदान गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पालिकाले मानसिक रोगको उपचारमा संलग्न केही नर्सलाई थप तालिमका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाएको छ । क्यान्सरलगायतका दीर्घरोगीलाई विभिन्न स्वास्थ्य संस्थामार्फत घरमै पुगेर उपचार गराउन पालिकाले कोसिस गरिरहेको छ । नगरपालिका–८ का वडाध्यक्ष प्रज्ज्वल ढुङ्गानाले सक्षम निजामती प्रशासन ः विकास, समृद्धि र सुशासनको नारालाई पनि सँगै कार्यान्वयमा जोड दिँदैआएको बताउनुभयो ।

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार

काठमाडौँ, १४ जेठ : संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार आएको अनुभूति दिलाएका छन् । यस सन्दर्भमा विगत सात÷आठ वर्षमा स्थानीय सरकारहरुबाट तुलनात्मकरुपमा प्रशंसनीय काम भएको छ ।

नेपालको संविधानको अनुसूची ८ र ९ बाट स्थानीय सरकारले २२ वटा एकल र १५ वटा साझा अधिकार हासिल गरेका छन् । यस अतिरिक्त, संविधानका अन्य विभिन्न प्रावधान र अन्य कैयौँ कानुनद्वारा स्थानीय सरकारहरु आम जनतामा आवश्यक सेवा सुविधा प्रदान गर्न तथा विकास निर्माणको काम गर्न सक्षम भएका छन् । यसरी, सङ्घीयताको माध्यमद्वारा आफूलाई प्राप्त अवसरलाई स्थानीय सरकारले निकै सुझबुझका साथ कार्यान्वयनमा ल्याएका छन् ।

मुलुकमा स्थापित सात सय ५३ वटा स्थानीय सरकार मातहत छ हजार सात सय ४३ वटा वडा कार्यालय रहेका छन् । यी वडा कार्यालयले बिहान, बेलुकी र सार्वजनिक बिदाको दिनसमेत नभनी अविरलरुपमा आमजनतामा प्रवाह गरेका सेवाहरु अतुलनीय छन् । यसरी वडा कार्यालयमार्फत स्थानीय सरकारहरुले आम जनतालाई घरदैलोमै सेवा प्रवाह गर्न सफल भएका छन् । सामान्यतः वडा कार्यालयका सेवाहरु सरल, सुलभ, छिटो र भरपर्दो पाइएको छ । यी सेवाहरु जनमुखी, सेवाग्राहीमैत्री, कम खर्चिलो र कम झन्झटिलो बोध भएका छन् ।

स्थानीय सरकारहरुले आफूलाई जवाफदेही र उत्तरदायी तुल्याउन चार÷चार महिनामा सार्वजनिक सुनुवाइ गरिआएका छन् । यसैगरी, यी सरकारहरुले आफूले सम्पादन गरेको कामबाट आम जनतामा के कस्तो प्रभाव परेका छ भनी जान्न वर्षमा एक पटक सामाजिक परीक्षण गर्ने गरेका छन् । यस अतिरिक्त, कुनै पनि स्थानीय सरकाबाट नयाँ आयोजनाको आरम्भ गर्दा र सो आयोजना सम्पन्न हँुदा तत्स्थानमा लाभग्राही जनतालाई भेला गराई सामाजिक परीक्षण गर्ने गरेका छन् ।

यसैगरी, नगरपालिका र गाउँपालिकाले रु पाँच हजारको क्षतिपूर्तिसहितको नागरिक वडापत्रको व्यवस्था गरेका छन् । आम जनताको गुनासो सुन्न र समाधान गर्न गुनासो सुन्ने अधिकारी तोकेका छन् । साथै, आम जनतामा सूचना प्रवाह गर्न सूचना अधिकारी तोकेका छन् । प्रायः सबै पालिकाले लैङ्गिक उत्तरदायी बजेटको अवधारणालाई आत्मसात् गरेका छन् । यिनले प्रत्येक महिनाको ७ गतेभित्र आफ्नो आम्दानी र खर्च सार्वजनिक गर्न थालेका छन् । स्थानीय तहको स्वमूल्याङ्कन गर्ने लिजा र वित्तीय जोखिम कम गर्ने एफआरएजस्ता मूल्याङ्कनको विधिमा आफूलाई अब्बल तुल्याउन पालिकाहरु सकारात्मक प्रतिप्रधामा उद्धत्त रहनु खुसीको कुरा हो ।

हालका दिनमा अधिकांश स्थानीय सरकारहरुले अनलाइन सेवा प्रवाह गरिआएका छन् । यिनीहरुले पालिकाको कार्यालय र वडा कार्यालयमा प्रविधिमैत्री, सिसीटिभी, विद्युतीय हाजिरी, स्क्रिन सूचनापाटी, सिसी क्यामरा र विद्युतीय हाजिर जडान गरेका छन् । अधिकांश पालिकाले डिजिटल बडापत्र, डिजिटल सूचना पाटी र आकर्षक सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । प्रायः सबै पालिकामा सिंहदरबाको अनुभूति दिन सुविधा सम्पन्न बहुतल्ले पालिका भवन निर्माण गरेका छन् । प्रायः सबै वडामा वडा कार्यालय भवन निर्माण भैरहेको छ । पालिकाहरुले वडागतरुपमा घुम्ती सेवा सञ्चालन गरी आम जनतामा सेवा पु¥याएका छन् ।

नेपालका स्थानीय सरकारहरुले नगर प्रहरीको माध्यमद्वारा कैयौँ अव्यवस्थाउपर धावा बोलेका छन् । उनीहरुले बैक, वित्तीय संस्था र सहकारीका माध्यमद्वारा आम जनतामा बचत गर्ने बानीको विकास गर्नु साथै थुप्रै उद्यमशील योजनाहरु सञ्चालनमा ल्याएका छन् । यिनीहरुले काम गर्ने र सोको बजारीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । विस्तारै स्थानीय सरकारहरु आन्तरिक राजस्व वृद्धि गर्न करका क्षेत्रहरुको पहिचानमा तल्लीन छन् ।

प्रायः सबै पालिकाहरुले दीर्घकालीन सोच, पाँच वर्षे आवधिक योजना, तीन वर्षे खर्च संरचनाको माध्यमद्वारा बर्सेनि नीति तथा कार्यक्रम र बजेट जारी गरिरहेका छन् । नगरपालिका र गाउँपालिकाहरु आम जनताको दैनिक उपभोग्य वस्तु र सेवा सहजरुपमा उपलब्ध गराउन बजार अनुगमनमा खटिन थालेका छन् । यिनीहरु बेरोजगारलाई रोजगारी दिन र भाषा, संस्कृति, कलाको संरक्षणमा पनि संवेदनशील भएका छन् । यिनले पालिकाको सौन्दयीकरण, दैवी विपद् व्यवस्थापन, फोहर व्यवस्थालगायतका क्षेत्रमा आफनो क्रियाशीलता प्रदर्शन गरेका छन् । यस्ता काममा स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकार एवं आम जनताको सहयोग र साथ चाहिन्छ ।

पछिल्ला दिनमा पालिकाहरुले ‘एक गाउँ एक उत्पादन’ अभियान आरम्भ गरेका छन् । उनीहरुले कृषि क्षेत्रलाई यान्त्रिकीकरणमा रुपान्तरित गर्न रिपर, पावर टिलर, मिनी ट्र्याक्टर, हार्भेष्टरजस्ता कृषि उपकरणमा अनुदान दिन थालेका छन् । उनीहरुले कृषिको सम्भाव्यता अध्ययनका लागि माटो परीक्षण गर्ने, पशुपालनको विकासका लागि सुत्केरी गाई भैँसीलाई भत्ता दिने, कृत्रिम गर्भाधान गराउने, नश्ल सुधार गर्ने, साइलेस प्रविधि भित्र्याउने तथा कृषि उत्पादनको समर्थन मूल्य तोक्नेजस्ता सत्कार्य गरिआएका छन् । मूलतः यिनीहरुले कृषि र पशु बिमालाई जोड दिएका छन् । कृषि उत्पादन वृद्धिको योजना लागू गरेका छन् ।

स्थानीय सरकारहरुले शिक्षाको गुणस्तर सुधार गर्ने, यसका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने, स्थानीय पाठ्यक्रम लागू गर्ने, प्राविधिक शिक्षा, इ–लाइब्रेरी र विज्ञानको प्रयोगशाला स्थापना गर्ने, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेजस्ता राम्रा काम गरिरहेका छन् । यसैगरी, स्वास्थ्य सेवातर्फ पालिकाहरुले अस्पताल नै सञ्चालन गरेका छन् । आम नागरिकलाई ब्लड बैंकको सेवा, डायलासिस सेवा, विद्यार्थीको बर्सेनि स्वास्थ्य परीक्षण, चौबिसैँ घण्टा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका छन् ।

यसैगरी वडागत रुपमा खोप सेवा, सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्ने, पोषण शिक्षा, चौबिसँै घण्टा आकस्मिक सेवा प्रवाह, निःशुल्क औषधि वितरण, स्वास्थ्य शिविर सञ्चालनलगायतका काम गरिरहेका छन् ।

स्थानीय सरकारहरुको गठनसँगै लक्षितवर्गको सेवा सुविधामा बढोत्तरी भएको छ । यिनीहरुले ज्येष्ठ नागरिकलाई मल्टी भिटामिन वितरण गर्ने, लौरो दिने, टर्च लाइट दिने, मोतियाविन्दुको शल्यक्रिय गर्ने, धार्मिक पर्यटनमा लैजाने, दिवा सेवा केन्द्र स्थापन गर्ने, मनोरञ्जनका साधन उपलब्ध गराउनेलगायतका सेवा प्रवाह गरेका छन् । यसबाट ज्येष्ठ नागरिकहरु खुसी भएका छन् ।

यसैगरी, अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर उपलब्ध गराउने, विशेष भत्ता दिने, ब्रेललिपी सिकाउने, आत्मनिर्भरताको तालिम दिने, केही गरिखान बीउपुँजी दिने कार्य भइरहेको छ । पालिकाहरुले अपाङ्ग र बालमैत्री संरचना निर्माणमा जोड दिइरहेका छन् । स्थानीय सरकारहरुबाट महिला विकास र सशक्तीकरणका कामहरु पनि भइरहेको छ । यिनीहरुले छोरीजन्म उपहार कार्यक्रम, छोरी बचाउ कार्यक्रम, छोरीलाई आत्मरक्षा तालिम, निःशुल्करुपमा स्यानिटरी पायड वितरण, बालविवाह अन्त्य गर्ने पहल, महिला हिंसा रोक्ने प्रयास, अन्धविश्वासविरुद्ध सामाजिक रुपान्तरणका काम गरिरहेका छन् । यस अतिरिक्त, स्थानीय सरकारहरुले दलित, लोपोन्मुख वर्ग, वञ्चितीकरणमा परेको वर्ग, आदिवासी, गरिब, विपन्नलगायत लक्षित वर्ग केन्द्रित थुप्रै कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यसबाट आम जनतामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति आशा र भरोसा जागृत भएको छ ।

स्थानीय सरकारहरु सङ्घीय शासनका बलिया खम्बा हुन् । यसर्थ भविष्यका दिनमा यिनीहरुले उच्च राजनीतिक संस्कारका माध्यमद्वारा कर्मचारीतन्त्रसँग नङ र मासुको सम्बन्ध कायम गरी आम जनतामा आशा र भरोसा अभिवृद्धि गर्नुपर्छ । सबै स्थानीय सरकारहरुले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनुपर्छ ।

यी सरकारहरुले काम गर्दा कुनै पनि प्रकारको बेरुजु सिर्जना हुन दिनुहँुदैन । यिनले प्रशासनिक खर्च कम गर्दै पुँजीगत बजेट वृद्धि गर्नुपर्छ । यिनीहरुले निर्माण गर्ने सडक, स्कुल, स्वास्थ्यचौकी वा सामुदायिक भवनहरु दिगो र भूकम्प प्रतिरोधक हुनुपर्छ । यिनीहरले आम जनतामा आर्थिक क्रियाकलापप्रति आकर्षित गर्ने अभियानहरु सञ्चालन गर्नुपर्छ । यथार्थमा स्थानीय तहहरुको सकारात्मक क्रियाशीलता र उपलब्धिमै नेपाल र नेपालीको सुखद् भविष्य लुकेको सत्यलाई सबैले समयमै आत्मसात् गर्नुपर्छ । (लेखक नेपाल सरकारका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुनुहुन्छ)

सबै यार्सागुम्बा सङ्कलन गर्न गएपछि गाउँमा चोरको रजाइ,डोल्फु गाउँँमा लुटपाट

मुगु, जेठ १४ –मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “

गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्”, उहाँले भन्नुभयो । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताउनुभयो । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताउनुभयो । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो । मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताउनुभयो । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् । रासस

अत्यधि गर्मी बढेपछि रत्ननगरमा चार दिन विद्यालय बन्द, खोप अभियान स्थगित

चितवन । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

अध्याधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको हो । अभियान २० गतेदेखि पुनः सञ्चालन हुने वाग्लेले जानकारी दिए ।

सरकारसँगको सम्झौता कार्यान्वयन भएन : अध्यक्ष ठाकुर

मलङ्गवा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गरेका छन् । उनले भने, “जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”

लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आईतबार आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको बताए ।

“हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्ध सरह हो”, उनले भने, “हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ ।” उनको मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दाको फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे ।

बाँकेमा अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

खजुरा । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

कांग्रेसले आम जनताको समस्या उठाएको छ : नेता सिटौला

काठमाडौँ, : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले आईतबार आयोजना गरेको ‘सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समस्या ः आगामी कार्यभार’ विषयक संवादमा उहाँले कांग्रेस आम जनताको पार्टी भएकाले जनताको आवाजलाई संसद् र सडकमार्फत उठाएको बताउनुभएको हो ।

नेता सिटौलाले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताको आवाज उठाउनुपर्ने बताउनुभयो । “जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामाना गर्न तयार छ”, नेता सिटौलाले भन्नुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउने स्पष्ट पार्नुभयो । कांग्रेससहितका प्रतिपक्षले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरेर उक्त प्रवृत्तिको सामाना गर्न कांग्रेस तयार रहेको उहाँको भनाइ छ । नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नबनेको बताउनुभयो ।

नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण

वासिङ्टन । पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भू–उपग्रह प्रक्षेपण गरिएको छ ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पृथ्वी विज्ञान अनुसन्धान निर्देशक करेन सेन्ट जर्मेनले हालै पत्रकार सम्मेलनमा भन्नुभयो, “ध्रुवहरूमा के भइरहेको छ ? जलवायुमा के भइरहेको छ ? भन्ने मोडेल गर्ने हाम्रो क्षमतामा सुधार हुनेछ ।”

जुत्ताको बाकसको आकारको उक्त भू–उपग्रहलाई रकेट ल्याब नामक कम्पनीले निर्माण गरेको इलेक्ट्रोन रकेटद्वारा प्रक्षेपण गरिएको थियो । यो न्यूजिल्यान्डको उत्तरमा रहेको महियाबाट उडेको थियो । यस मिशनलाई ‘प्रिफाइयर’ भनिन्छ ।

कम्पनीले पछि यस्तै आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । तिनीहरूले आर्कटिक र अन्टार्कटिकभन्दा धेरै माथि इन्फ्रारेड मापन गर्न सेवा गर्नेछन् ताकि ध्रुवहरूले अन्तरिक्षमा छोड्ने तापलाई सीधा मापन गर्न सकियोस् ।

“यसले वास्तवमा उष्णकटिबन्धीय क्षेत्रहरूमा प्राप्त हुने अतिरिक्त तापलाई सन्तुलनमा राख्न र पृथ्वीको तापक्रमलाई वास्तवमै विनियमित गर्न मद्दत गर्दछ”, विस्कन्सिन विश्वविद्यालय, म्याडिसनसँग सम्बद्ध मिशन अनुसन्धानकर्ता ट्रिस्टन ल’इक्युयरले भन्नुभयो, “उष्णकटिबन्धीय क्षेत्रहरूबाट ध्रुवीय क्षेत्रहरूमा तातो प्राप्त गर्ने प्रक्रियाले वास्तवमा ग्रह वरिपरि हाम्रो सबै मौसमलाई चलाउँछ ।”

प्रिफाइयरमार्फत नासाले बादल आर्द्रता वा पानीमा बरफ पग्लिँदा ध्रुवहरूबाट हुने गर्मी हानिलाई कसरी असर गर्छ भनेर बुझ्ने लक्ष्य राखेको छ ।

एलइक्यूयरका अनुसार हालसम्म जलवायु परिवर्तनका वैज्ञानिकहरूले तातो हानि नाप्ने मोडलहरू वास्तविक अवलोकनको सट्टा सिद्धान्तहरूमा आधारित थिए । उहाँले भन्नुभयो, “हामी भविष्यमा समुद्री सतहको वृद्धि कस्तो देखिन सक्छ र ध्रुवीय जलवायु परिवर्तनले ग्रह वरपरको मौसम प्रणालीलाई कसरी असर गरिरहेको भनेर अनुकरण गर्ने क्षमतामा सुधार गर्न सक्षम हुनेछौँ ।”

चेपाङ विद्यार्थीलाई मासिक पाँच हजारका दरले अध्ययन खर्च

तनहुँ, १४ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन खर्च दिएको हो ।

स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यपालिका बैठकलविपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक रु पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो ।

अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मङ्सिरदेखि असारसम्म आठ महिनाको रु ४० हजार तथा सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म तीन महिनाको रु पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो । शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले रकम सहयोग गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक रु पाँच हजारका दरले सहयोग गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ । चौध कार्यपालिका सदस्य र एक प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ताबापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन् ।पन्ध्र जनाको मासिक रु एक हजारका दरले दश महिनाको रु एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सो रकम विपन्न वर्गका विद्यार्थीको अध्ययनका लागि खर्च गरिने छ ।

स्वास्थ्य मन्त्रीद्वारा कान्ति बाल अस्पतालमा छड्के अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आईतबार कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्दै सेवाग्राहीको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् । उपचारका लागि आएका सेवाग्राहीले मन्त्री यादवसँगको कुराकानीका क्रममा अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शय्यामा तीन जनासम्मको उपचार भइरहेको, औषधि लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत संकलनमा ढिलाइ हुने गरेको, ह्वीलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो पोखेका थिए ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नुभएका मन्त्री यादवले आकस्मिक कक्ष, अस्पताल फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष, आइसीयु, एनआइसीयु, क्यान्टिनसहित अस्पतालका विभिन्न शाखाको अनुगमन गरे।

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । अस्पतालका निर्देशक डा. पङ्कज रायले जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको मन्त्रीसमक्ष गुनासो राख्ने क्रममा मन्त्री यादवले आगामी अस्पतालमा देखिएका कमजोरीलाई सुधार गर्न र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “अस्पतालमा थुप्रै समस्या भेटिएका छन् यद्यपि सुधार गर्न सकिने ठाउँहरू छन् । सानोतिनो विषयमा पनि सेवाग्राही असन्तुष्ट हुनुहुन्छ । अस्पतालमा देखिएका कमजोरीलाई तत्काल सुधार गर्न अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”

नारायणगढ–मुग्लिङ सडक खण्डमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु,२३ घाइते

भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं‍ को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाइते छन्। उनीहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरूमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग भेट गरी संघका तर्फबाट सुझावहरू प्रस्तुत गरेको छ । कम्पनीका सञ्चालकहरूको शेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैयौँ वर्षदेखि लगानीकर्ता सञ्चालकहरूले आफूलाई व्यक्तिगत रूपमा अप्ठ्यारो परेको भन्दै संघले बोर्डको ध्यानाकर्षण गराएको थियो ।

संघका अध्यक्ष राजेन्द्र मल्लले लगानीकर्ताहरूका तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने बताए । “शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुँदा यो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरिएको छ,” उनले भने ।

भारतलगायत अन्य मुलुकमा पनि अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमनकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो । भेटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मूल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ उपस्थित थिए ।

लिथुआनियामा राष्ट्रपतिको निर्वाचन सुरु

भिनियस। लिथुआनियामा आइतबार राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति गितानास नौसेदाले वर्तमान प्रधानमन्त्री इन्ग्रिडा सिमोनाइटसँग प्रतिस्पर्धा गर्नुभएको छ ।लिथुआनियाको केन्द्रीय निर्वाचन आयोग ९भीआरके० का अनुसार २३ लाख ८५ हजार दुई सय ३५ मतदाता सूचीमा रहेका छन् । एक हजार आठ सय ९५ मतदान केन्द्रहरूमा स्थानीय समयअनुसार निर्वाचन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ ।

स्वतन्त्र उम्मेदवारका रूपमा पुनःनिर्वाचनमा भाग लिने राष्ट्रपति नौसेदाले मे १२ मा पहिलो चरणमा ४३ दशमलव ९५ प्रतिशत मत प्राप्त र सिमोनिटेले २० दशमलव पाँच प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

शीर्ष दुई उम्मेद्वार निर्वाचनको दोस्रो चरणमा प्रवेश गर्नुभयो । उहाँहरूमध्ये कुनै पनि उम्मेद्वारले पहिलो चरणमा आवश्यक साधारण बहुमत प्राप्त गर्न सक्नुभएन ।
सेदा र सिमोनाइटले अघिल्लो राष्ट्रपतीय चुनाव सन् २०१९ मा सामना गरिसक्नुभएको छ । त्यस निर्वाचनमा नौसेदाले ६५ प्रतिशतभन्दा बढी मत जित हासिल गर्नुभएको थियो ।

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन

काठमाडौँ। नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ । सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरिसकेको छ । प्रदूषण शुल्कबापतको यति ठूलो रकम भने प्रयोजनहीन अवस्थामा छ ।

सो रकम प्रत्यक्ष रूपमा प्रदूषण नियन्त्रण एवं रोकथाम गर्न कार्यमा खर्च नगरेको महालेखापरीक्षको कार्यालयको प्रतिवेदनले आँैल्याएको छ । आज सार्वजनिक गरिएको महालेखाको ६१औँ वार्षिक प्रतिवेदनले जुन प्रयोजनका लागि शुल्क उठाएको हो सोही कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गत आवमा छ अर्ब बढीको काठ आयात

यसैगरी, वन नीति, २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवद्र्र्धन गर्ने उद्देश्य लिएको भए पनि बर्सेनि अर्बांै रुपयाँको काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ । वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत विग्रिएका र बुढो तथा उमेर पुगेका रूख बढ्दो क्रममा रहेका भए पनि कानुनी झन्झटता कारण ती रूख सडेर खेर गइरहेका छन् ।

मुलुकको आवश्यकतानुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा रु दुई अर्ब ३३ करोड, २०७८/७९ मा रु. सात अर्ब ९९ करोड र २०७९/८० मा रु. छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

महालेखापरीक्षकको प्रतिवेदनले काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भएको देखिँदा ढलापडा, सुखड खड़ा रूखहरुको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने औँल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब बेरुजु देखिएको छ । आइतबार सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायतर्फ बेरुजु तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार देखिएको हो ।

उक्त प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २१ करोड ५१ लाख ४५ हजार बेरुजु देखिएकामा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि आठ निकायले एक करोड २१ लाख ९६ हजार फछ्र्यौट गरेकाले २० करोड २९ लाख ४९ हजार बेरुजु बाँकी रहेको छ । सोमध्ये दुई करोड ३२ लाख ९६ हजार म्याद नाघेको पेस्की रहेको छ ।

यस्तै, विगतका प्रतिवेदनमा खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, असार महिनामा बढी खर्च गरेको, विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार मेडिकल अडिट नगराएको, केन्द्रीय आर्थिक विवरण यथार्थपरक नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको, पारिश्रमिक कर कट्टी नभएको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

मन्त्रालयबाट छनौट भई छात्रवृत्तिमा गएका विद्यार्थीले सम्झौताबमोजिम कार्य गरे÷नगरेकामा अद्यावधिक लगत नराखेको बेहोराहरूमा सुधार नभएको प्रतिवेदनमा उल्लेख छ ।

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै

तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड पुगेको जनाएको छ ।आर्थिक वर्ष २०७९/८० मा मात्रै अद्यावधिक बेरुजु रु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम रु एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख बराबर पुगेको छ ।

अर्थात् गत आर्थिक वर्षमा मात्र रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । गत आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँचवटा निकायको कुल रु ७८ खर्ब ८१ अर्ब ८० करोड बराबर लेखापरीक्षण गरेको थियो ।

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । सङ्घीय सरकारी कार्यालयतर्फको कुल बेरुजुमा अर्थ मन्त्रालयको बेरुजु मात्रै ५४ दशमलव ७४ प्रतिशत बराबर देखिएको हो ।

गत आर्थिक वर्ष २०७९÷८० मा अर्थ मन्त्रालयको रु १७ खर्ब २२ अर्ब ५७ करोड २८ लाख बराबरको लेखापरीक्षण हुँदा रु असुल गर्नुपर्ने रकम रु तीन अर्ब ५५ करोड ३२ लाख र नियमित गर्नुपर्ने रु २१ अर्ब ९२ करोड १५ लाख गरी कुल रु २५ अर्ब ४७ करोड ४९ लाख बराबर रहेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु १२ अर्ब नौ करोड ३८ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु तीन अर्ब १२ करोड ४३ लाख, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको रु एक अर्ब एक करोड ६७ लाख र सहरी विकास मन्त्रालयको रु ९२ करोड १० लाख बराबर बेरुजु देखिएको छ ।

त्यसैगरी, खानेपानी मन्त्रालयको रु ७६ करोड ४६ लाख, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ६० करोड ५९ लाख, गृह मन्त्रालयको रु ५४ करोड चार लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ४० करोड ७७ लाख र परराष्ट्र मन्त्रालयको रु ३८ करोड ६७ लाख बराबर बेरुजु रहेको छ । यी दशवटा मन्त्रालयमा मात्र सङ्घीय सरकारी कार्यालयतर्फको रु ९७ दशमलव ४२ प्रतिशत बेरुजु रहेको छ ।

प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशको देखिएको छ । आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणसम्ममा मधेश प्रदेशको कुल बेरुजु रु आठ अर्ब ३१ करोड आठ लाख ५८ हजार बराबर छ । हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको रु पाँच अर्ब ५८ करोड चार लाख सात हजार, बागमतीको रु चार अर्ब २८ करोड पाँच लाख ६१ हजार, गण्डकीको रु दुई अर्ब ६८ करोड ५५ लाख ४२ हजार बराबर छ ।

त्यस्तै, लुम्बिनीको रु चार अर्ब दुई करोड नौ लाख ६९ हजार, कर्णालीको रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार र सुदूरपश्चिम प्रदेशको रु दुई अर्ब ६८ करोड २९ लाख २९ हजार बराबर बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रित नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको विषयलाई बेरुजुका रुपमा परिभाषित गरेको छ ।

चिकित्सकको संख्या ४५ हजारभन्दा बढी

काठमाडौँ- नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन् ।

सोही अवधिमा एक लाख २२ हजार तीन सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा एक दशमलव २० चिकित्सक र दुई दशमलव ८३ नर्स छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।

यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आबद्ध छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो ।

नेपालमा आठ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या आठ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये एक हजार पाँच सय ७ विशेषज्ञ नर्स, ३७ हजार चार सय २० अनमी, ६६ मिडवाइफ छन् ।

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार

काठमाडौँ- हमासले इजरायलको तेल अवीवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट प्रहार गरेको यो पहिलो पटक हो ।इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ ।

इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन् ।

हमासको सैन्य शाखा, इज्जेदिन अल-कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ‘ठूला मिसाइलहरू’ आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।

बङ्गलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै, लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

बङ्गलादेशले बङ्गालको खाडीमा बनेको शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

आँधीले आइतबार मध्यराततिर बङ्गलादेश र भारतको पश्चिम बङ्गालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बङ्गालको सागर टापु र बङ्गलादेशको खेपुपारा क्षेत्रमा एक सय २० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ ।

बङ्गलादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले मुलुकको तटीय क्षेत्रमा चार हजार आँधी आश्रयबाट मानिसहरूलाई निकाल्न स्वयंसेवकहरूलाई खटाइएको बताउनुभयो । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ ।

भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घण्टाका लागि बन्द रहनेछ । बङ्गलादेशले दक्षिणपूर्वी सहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्द गरेको छ ।

बङ्गलादेशी अधिकारीहरूले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि निलम्बित गरेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजहरूलाई घाटहरूबाट गहिरो समुद्रमा लैजान सुरु गरेका छन् ।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बङ्गालको खाडीमा यो पहिलो आँधी हो । भारतको पश्चिम बङ्गाल राज्यका तटीय जिल्लाहरूमा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ । करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बङ्गाल र बङ्गलादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान गरिएको छ । यस्तो आँधीले रुखहरू उखेल्न सक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनहरूलाई ठूलो क्षति पुर्‍याउन सक्ने विज्ञप्तिमा बताइएको छ । भारतका तटहरू प्राय आँधीहरूबाट प्रभावित हुन्छन् तर जलवायु ढाँचामा भएको परिवर्तनका कारण आँधी थप तीव्र भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूका लागि तयारी अत्यावश्यक भएको छ ।

आर्थिक सर्वेक्षण : सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर खण्डास्मित र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक गरी हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको हो । सर्वेक्षणअनुसार कूल सडकमध्ये कालोपत्र ५३ दशमलव दुई प्रतिशत, खण्डास्मित २२ दशमलव पाँच प्रतिशत र कच्ची सडक २४ दशमलव तीन प्रतिशत रहेको छ । २०८० असारसम्म सडकको कूल लम्बाइ ३४ हजार दुई सय ३९ किलोमिटर रहेको थियो । सरकारको आठ महिनामा २८ किलोमिटर मात्रै सडकको लम्बाइ विस्तार भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म एक सय ८९ किलोमिटर सडक कालोपत्र स्तरमा र एक सय ९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छभने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ । साथै, सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छभने ९९ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ । यस अवधिमा ६७ सडक पुल निर्माण भएको समेत आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ सय २० किलोमिटर सडक कालोपत्र स्तरमा र ६ सय २८ किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको थियो भने दुई सय ४३ किलोमिटर थप नयाँ सडक निर्माण भएको थियो । “सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित र पटके मर्मत भएको थियो भने पाँच सय ३८ किलोमिटर सडकको आवधिक मर्मत भएको थियो । सो अवधिमा दुई सय २२ सडक पुल निर्माण भएका थिए,” सर्वेक्षणमा भनिएको छ, “मध्यपहाडी ९पुष्पलाल० राजमार्गको कूल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटरमध्ये २०८० असारसम्म एक हजार चार सय दुई किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप १३ किलोमिटर सडक कालोपत्र भई एक हजार चार सय १५ किलोमिटर पुगेको छ ।”

राजमार्गमा पर्ने एक सय ३७ पुलमध्ये २०८० फागुनसम्म एक सय दुई पुल निर्माण भएको तथ्याङ्कमा उल्लेख रहेको छ । सर्वेक्षणअनुसार हुलाकी राजमार्गको कूल लम्बाइ एक हजार आठ सय ५७ किलोमिटर (लिङ्क सडकसहित) मध्ये २०८० असारसम्म एक हजार एक सय ७९ किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार दुई सय ११ किलोमिटर पुगेको छ । राजमार्गमा पर्ने दुई सय ५० पुलमध्ये २०८० असारसम्म एक सय ३२ पुल निर्माण भएकामा २०८० फागुनसम्म यस्तो सङ्ख्या एक सय ३५ पुगेको छ ।

उत्तर–दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोरको कूल लम्बाइ चार सय ४७ किलोमिटरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको दुई सय ४५ किलोमिटर सडक खण्डमध्ये २०८० फागुनसम्म एक सय ८४ किलोमिटर सडक कालोपत्र भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस कोरिडोरअन्तर्गत २०८० असारसम्म मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत दुई सय दुई किलोमिटर सडक खण्डमध्ये ३३ किलोमिटर सडक कालोपत्र र एक सय किलोमिटर सडक खण्डास्मित भएको छभने पाँच पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षणअनुसार कर्णाली कोरिडोरको कूल लम्बाइ दुई सय ६९ किलोमिटरमध्ये २०८० असारसम्म दुई सय ६३ दशमलव पाँच किलोमिटर ‘ट्र्याक’ निर्माण सम्पन्न भएकामा २०८० फागुनसम्म ४।५ किलोमिटर थप भई हालसम्म दुई सय ६८ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ ।

यसैगरी, कोशी कोरिडोरको कूल लम्बाइ एक सय ६२ किलोमिटरमध्ये २०८० असारसम्म ७४ किलोमिटर सडक खण्डास्मित भएकामा २०८० फागुनसम्म ७८ किलोमिटर सडक खण्डास्मित भएको छ । त्यसैगरी, हालसम्म दुई किलोमिटर सडक ढलान र ११ पुल निर्माण भएका छन् । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत २०८० फागुनसम्म सुरुङमार्गको कूल लम्बाइ ६ हजार चार सय १५ मिटरमध्ये चार हजार ६ सय १३ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

मदन भण्डारी राजमार्गको कूल लम्बाइ एक हजार तीन सय ९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्रभित्र पर्ने सात सय ४० किलोमिटरमध्ये २०८० असारसम्म दुई सय ६८ किलोमिटर सडक कालोपत्र भएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म २६ किलोमिटर थप भई हालसम्म दुई सय ९४ किलोमिटर सडक कालोपत्र भएको छ । सर्वेक्षणअनुसार यस राजमार्गमा पर्ने एक सय ८५ पुलमध्ये २०८० असारसम्म एक सय आठ पुल निर्माण भएकामा २०८० फागुनसम्म एक सय २७ पुल निर्माण भएका छन् ।

“गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म ३७ किलोमिटर सडकको दुई लेन कालोपत्र (अस्फाल्ट) गर्ने कार्य र १४ पुलको निर्माण कार्य सम्पन्न भएको छ,” सर्वेक्षणमा उल्लेख छ, “२०८० असारसम्म यस सडकको ३६ किलोमिटरमा दुई लेन कालोपत्र गर्ने कार्य र १४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो ।”

सर्वेक्षणअनुसार पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्यअन्तर्गत नारायणघाट–बुटवल सडकको एक सय १३ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म १७ दशमलव ४१ किलोमिटर सडक चार लेनमा र १४ दशमलव ६९ किलोमिटर सडक दुई लेनमा कालोपत्र भएको छ ।

यातायात क्षेत्रमा भएको प्रगति
हाल ६ स्थानबाट सवारी साधनमा लगाइने इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित एक लाख १५ हजार सात सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये हजार नौ सय ९१ थान वितरण भएको छ ।

हालसम्म पाँच लाख ८० हजार आठ सय ८६ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ६६ हजार सात सय १५ थान वितरण भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म ३४ लाख १९ हजार चार सय १० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएकामा २०८० फागुनसम्म ३४ लाख ६६ हजार सात सय ७३ थान सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएको छ ।

यसैगरी, सर्वेक्षणअनुसार असारसम्म ३६ यातायात व्यवस्था कार्यालय÷सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकामा हाल ३९ यातायात व्यवस्था कार्यालय÷सेवा कार्यालयमा यस्तो प्रणाली लागू भएको छ ।

रेलमार्ग
सर्वेक्षणअनुसार पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा २०८० फागुनसम्म ६३ किलोमिटर ट्रयाक बेड र १३ रेल्वे पुल निर्माण कार्य सम्पन्न भएको छ । अन्तरदेशीय रेलमार्गअन्तर्गत जयनगर–जनकपुर–विजलपुरा ५२ किलोमिटर रेलसेवा सञ्चालन भएको छ । जोगवनीदेखि विराटनगरसम्म १० किलोमिटर रेलमार्ग निर्माण भई हाल भारतको बथनाहाबाट नेपालको विराटनगर कस्टम यार्डसम्म कागों रेल सञ्चालन भइरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।

म्यान्माले वर्षायाममा दुई करोड रुख रोप्ने

याङ्गुन– म्यान्माले सामान्यतया जुनदेखि अक्टोबरसम्म फैलिने यस वर्षाको मौसममा राष्ट्रव्यापी २२ हजार एकड जमिनमा दुई करोड २३ लाख रूख रोप्ने लक्ष्य राखेको छ ।यस वर्षको अप्रिल र मे महिनामा म्यान्मामा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो ।

म्यान्मामा एसियाली देशहरूको सन्दर्भमा काठ र इन्धनको उच्च खपत रहेको छ । यसमा ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या काठ र कोइलामा निर्भर छन् ।यो निर्भरताले वन स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने प्रयासहरूमा चुनौती खडा गरेको छ ।त्यसैले यी समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले यस वर्षायाममा दुई करोडभन्दा बढी रूख रोप्ने पहल गरिएको छ ।

राष्ट्रियसभा बैठक : ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस

राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गर्नुभएको छ । सो विधेयक बैठक समक्ष पेस गर्दै उहाँले पत्रकारिता क्षेत्रमा पेशागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र तथा जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि विधेयक आवश्यक रहेको बताउनुभयो । मन्त्री शर्माले स्वायत्त, नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन सम्बन्धमा नयाँ कानुनको मस्यौदाको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय आमसञ्चार नीति, २०७३ लागू भई प्रेस काउन्सिललाई पत्रकारिता क्षेत्रको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी सुनुवाइ गर्ने स्वतन्त्र र स्वायत्त सक्षम निकायका रुपमा विकास गर्न तथा पत्रकारिता क्षेत्रमा आएका परिवर्तन एवं प्रविधिमा आएको विकासको प्रयोगलाई आत्मसात गरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायका रुपमा विकास गर्न तथा समय सापेक्ष विद्युतीय अनलाइनलाई नियमन गर्न मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० सभा समक्ष पेस गर्दछु ।”

बैठकमा उहाँले छापा पत्रकारिता पेशालाई मर्यादित, उत्तरदायी र जिम्मेवार एवं सुसुचित बनाइ स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिताको विकास, संरक्षण, स्वनियमनलाई व्यवस्थित बनाउन कानुन निर्माण गर्न आवश्यक भएकाले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० ल्याउनुपरेको हो भन्नुभयो । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘मिडिया काउन्सिल विधेयक २०८०’ माथि राष्ट्रियसभा नियमावली २०७५ को नियम ९९ बमोमिज कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा बैठकमा जानकारी गराउनुभएको थियो ।

तारकेश्वरको विद्यालयमा बुधबार मौलिक पहिचानको पोसाक अनिवार्य

नुवाकोटको तारकेश्वर गाउँपालिकाकाले आफ्नो गाउँपालिकाभित्रका विद्यालयमा हरेक बुधबार जातीय मौलिक पहिचानसहितको पोसाक लगाउनुपर्ने प्राबधानलाई कार्यान्वयनमा ल्याएको छ । विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले बुधबार आ–आफ्नो जातीय पहिचान अनुसारको पोसाक लगाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार सम्पूर्ण जातजाति (समुदाय)को पहिचान र संस्कृतिको संरक्षणका लागी गाउँपालिकाले अभियानका रुपमा परम्परागत जातीय पोसाकको संरक्षणअन्तर्गत सातामा एक दिन बुधबार जातीय पहिचानसहितको पोसाक अनिवार्य गरिएको छ ।

“जातीय पहिचानमा सजिएर विद्यालय जान पाउँदा विद्यार्थीहरु उत्साहित देखिएका छन्,” उहाँले भन्नुभयो, “मौलिक पोसाक लगाउन पाएसँगै विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।”तामाङ समुदायको बाहुल्यता रहेको तारकेश्वरमा विशेष गरेर चाडपर्व र मेला जात्रामा मात्र जातीय पोसाकको प्रयोग हुने गरेपछि संरक्षणका लागि गाउँपालिकाले विद्यालयस्तरमा जातीय पहिचानसहितको पोसाक कार्यान्वयनमा ल्याएको हो ।

गत फागुन १४ मा बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ मा बसेको पालिकाभित्रका प्रधानाध्यापकहरुको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोसाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो ।सोही निर्णयका आधारमा गाउँपालिकाको अध्यक्षको निर्देशनपश्चात् विद्यालयको शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीहरुले साताको बुधबार आ–आफ्नो पोसाकमा सजिएर पढ्न र पढाउन सुरु गरिएको हो ।

यसअघि चाडपर्व र मेला–जात्राहरुमा प्रदर्शनीका रुपमा लगाइने गरिएको जातीय पोसाक विद्यालयतहमा कार्यान्वयनमा ल्याएसँगै आगामी दिनमा नियमित प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ । “परम्परा, संस्कृति र वेषभूषाको संरक्षणमा आफू निर्वाचित भएर आएसँगै विशेष अभियानका रुपमा प्राथमिकता दिएका छौँ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “तीज, ल्होछार, गोरु जुधाइमा गाउँपालिकाले विभिन्न शीर्षकमा सहयोग पु¥याएका छौँ । त्यसमार्फत हाम्रा मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने आशा लिएका छौँ ।”

गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणका लागि जातीय मौलिक पहिचानका कपडा बुन्ने, बाँसका चोयाबाट डोका–थुन्से बुन्ने, ढिकी, जाँतो र घट्ट बनाउने तालिम दिने र ती सामग्रीको प्रयोगका लागि विशेष अनुदान समेत उपलब्ध गराउने नीति अवलम्बन गरेको छ ।

‘सम्झनामा किसुनजी’

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘सम्झनामा किसुनजी’ विषयमा आजदेखि दुई दिवसीय तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको सन्त नेता भट्टराईको राजनीतिक जीवनसँग सम्बन्धित एकसय तस्बिर समावेश छन् ।

राष्ट्रियता, इमान्दारिता, पारर्शिता र नैतिकताका पुजारी पूर्वप्रधानमन्त्री भट्टराई नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा भएका बैठक, सभा, सम्मेलन, सरकार सञ्चालन तथा विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाटसँग जोडिएको तस्बिर छन् । उक्त प्रदर्शनीको नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सचिव रामकुमारी झाँक्री विभिन्न पार्टीका नेता तथा कार्यकर्तालगायतले अवलोकन गर्नुभयो ।

सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

काठमाडौँ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ ।

प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो ।

अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालयको रु तीन खर्ब ४२ अर्ब ६६ करोड ९१ लाख, प्रदेश सरकारी कार्यालयको रु २८ अर्ब ४६ करोड ८४ लाख र स्थानीय तहको बेरुजु रु एक खर्ब ९३ अर्ब ४५ करोड ८३ लाख बराबर छ । अन्य संस्था तथा समितिहरूको अद्यावधिक बेरुजु रु एक खर्ब पाँच अर्ब २६ करोड ८१ लाख बराबर छ ।

कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकमतर्फ लेखापरीक्षण बक्यौता रु नौ अर्ब ८७ करोड ५५ लाख, राजस्व बक्यौता रु चार खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान रु १६ अर्ब नौ करोड ४५ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण रु पाँच अर्ब ५९ करोड ३४ लाख र जमानत बसी दिएको ऋणको भाखा नाघेको साँवा ब्याज रु ४६ अर्ब ४१ करोड २७ लाख बराबर छ ।

यो वर्ष सङ्घीय मन्त्रालय तथा निकाय मातहतका तीन हजार दुई सय ७७ कार्यालयको रु २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका एक हजार दुई सय ७० कार्यालयको रु ३ खर्ब २३ अर्ब ३४ करोड र सात सय ४६ वटा तहको रु ११ खर्ब ३९ अर्ब १९ करोड बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, दुई सय १७ वटा समिति र अन्य संस्थाको रु दुई खर्ब ९६ अर्ब ८५ करोड तथा ९३ वटा सङ्गठित संस्थाको रु ३६ खर्ब ६१ अर्ब ११ करोड बराबरको लेखापरीक्षण भएको छ । यसरी आर्थिक वर्ष २०७९/८० मा भएको कुल लेखापरीक्षण रकम रु ७८ खर्ब ८१ अर्ब ६० करोड बराबर हो ।

दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको

दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमध्ये भुटानपछि नेपालको ४५.३१ प्रतिशत, श्रीलङ्काको ३४.१ प्रतिशत, भारतको २१.७१ प्रतिशत, बङ्गलादेशको १२.८ प्रतिशत, पाकिस्तानको ४.८ र मालदिभ्सको २.७ वन क्षेत्र रहेको छ ।

विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वको कूल भूभागको ३१.० प्रतिशत बन क्षेत्रले जोगेटेको छ । जम्मा वन क्षेत्रको करिब ५४.० प्रतिशत वन ब्राजिल, क्यानाडा, चीन, रसिया र अमेरिकामा रहेको छ । छिमेकी राष्ट्र चीनको कूल भू–भागको २२.९६ प्रतिशत वन क्षेत्र रहेको छ ।

नेपालमा वन क्षेत्रले ६१ लाख ६६ हजार सात सय ६६ हेक्टर र झाडी बुट्यान क्षेत्रले पाँच लाख ३५ हजार एक सय ७९ हेक्टर भूभाग आटेको छ । नेपालमा प्रति व्यक्ति ०.२ हेक्टर वन क्षेत्र पर्दछ । नेपालका भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र चुरेमा र सबैभन्दा कम वन क्षेत्र तराईमा रहेको छ ।

सरकारको आर्थिक सर्वक्षणअनुसार विसं २०८० फागुनसम्म १२ राष्ट्र निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र रहेका छन् । कूल भू–भागमध्ये २३.४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रको रूपमा रहेको छ । हालसम्म वन संरक्षण क्षेत्र अन्तर्गत एक लाख ९४ हजार एक सय ५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

त्यस्तै २०८० फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा एक हजार ६७ सामुदायिक वन समूह गठन भएका छन् । यस्तो क्षेत्रले करिब दुई लाख ४० हजार आठ सय ७० हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी, ८८ मध्यवर्ती कबुलियति वनमार्फत पाँच सय ४८.७ हेक्टर वन क्षेव व्यवस्थापन गरिएको छ । संरक्षित क्षेत्र व्यवस्थापनबाट मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रमा बस्ने ११ लाख ४२ हजार पाँच सय ९९ जनसङ्ख्या लाभान्वित भएका छन्।

सो अवधिमा २३ हजार छ सय एक सामुदायिक वन उपभोक्तामार्फत २५ लाख आठ हजार तीन सय २६ हेक्टर वन क्षेत्रको व्यवस्थापन गरिएको छ । गरिबीको रेखामनि रहेका समुदायको जीविकोपार्जनको सुधार र संरक्षणमा टेवा पु¥याउन सात हजार सात सय ३१ कबुलियती वन समूहलाई १४ हजार तीन सय ९९ हेक्टर वन कबुलियती वनको रुपमा हस्तान्तरण भएको छ ।

यसैगरी चालु आवको फागुनसम्म दुई करोड ४७ लाख घनफिट काठ उत्पादन भएको छ । गत आव निजी र राष्ट्रिय वन गरी कूल तीन करोड १८ लाख घनफिट गोलिया काठ उत्पादन भएको थियो । चालु आवको फागुनसम्म ७७ हजार दुई सय पाँच चट्टा दाउरा उत्पादन भएको छ भने गत आव राष्ट्रिय वनबाट ४१ हजार ९९८ चट्टा दाउरा उत्पादन भएको थियो ।

आर्थिक सर्वेक्षण: अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था

काठमाडौँ । सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आज पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो । उहाँले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताउनुभयो ।

त्यस्तै, प्रत्येक प्रदेशमा एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरूप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण कार्य सम्पन्न भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थमन्त्री पुनले एक स्थानीय तह एक खेलग्राम निर्माणका लागि एक सय ७१ पालिकामा खेल निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताउनुभयो । उहाँले बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई दृष्टिगत गर्दै चाँडो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजन तथा कार्यक्रम छनौट गरिने बताउनुभयो ।

मन्त्री मगरले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनहरुमा पर्याप्त बजेट विनियोजन गर्ने जनाउँदै साधारण खर्चमा मितव्ययिता कायम गर्नेमा जोड दिनुभयो । उहाँले वाञ्छित सीमाभित्र राख्ने र वित्तीय अनुशासन कायम गर्न नीति लिने भन्दै अनुगमन प्रणालीलाई सुदृढ गरी बजेट कार्यान्वयनलाई बनाउने भत्रुभयो ।

उहाँले बजेट सिद्धान्त र प्राथमिकतालाई आधार मानेर पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण संरक्षण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, स्वास्थ्य सेवा तथा सामाजिक विकास, सहरकारी र गरिबी निवारण, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, कानुनी शासन र विपद् व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनमा बजेट केन्द्रित रहने बताउनुभयो ।

विशेष समय

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री पदबाट हटेका १८ दिन बित्दा पनि पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको साँचो हस्तान्तरण नगरेकामा गुनासो व्यक्त गर्नुभयो । उहाँले पूर्वमुख्यमन्त्री काठमाडौँ भैँसेपाटीस्थितका मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि साँचो अहिलेसम्म नदिएकाले लोकतन्त्रलाई बलियो बनाउन र राजनीतिकलाई स्वच्छ बनाउन यस्तो प्रवृत्ति नदेखाउन आग्रह गर्नुभयो ।

उहाँले प्रदेशका पूर्वप्रमुख न्यायाधिवक्ता रुपेश कोइराला र मुख्यमन्त्री सचिवालयका कर्मचारी विष्णु खनालले गरेको क्रियाकलाप प्रदेशसभाको सर्वोच्चतालाई अपमान गरेकाले कारबाही हुनुपर्ने भत्रुभयो ।

शून्य समय

बैठकमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, गीतादेवी रेग्मी, गोपाल विश्वकर्मा, तिलचन पाठक, रामदेव यादव र रोहित कार्कीले मुलुकको समसामयिक विषयमा बोल्नु भएको थियो । आजको बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।

नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता

काठमाडौँ । नेपाल भलिबल सङ्घ र केडिया अर्गनाइजेसन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ ।नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाबीच आज यहाँ आयोजित एक कार्यक्रममा पुरुष फेन्चाइजी लिग आयोजना गर्ने विषयमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता सात वर्षका लागि हुनेछ । सझौताअनुसार केडिया अर्गनाइजेसनले प्रत्येक वर्ष भलिबल सङ्घलाई रु ३५ लाख उपलब्ध गराउनेछ ।

नेपाल भलिबल सङ्घले नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज लिग गर्न प्रयास गरेको सङ्घका अध्यक्ष चन्दले बताउनुभयो । उहाँले उक्त प्रतियोगिता आगामी माघ/फागुन महिनामा आयोजना गर्ने योजना रहेको बताउँदै उक्त प्रतियोगितको सम्पूर्ण व्यवस्थापन केडिया अर्गनाइजेसनले गर्ने उल्लेख गर्नुभयो ।

होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न सात टोलीलाई सहभागिता गराइने तयारी रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी केडिया अर्गनाइजेसनका प्रबन्ध निर्देशक केडियाले भलिबल खेलको विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकास र विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औं स्थानमा

काठमाडौँ, जेठ १३ गते। नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ। ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००/२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ।

जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनी मानवीय तथा आर्थिक नोक्सानी व्यहोर्दै आएको नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षणमा उल्लेख छ। जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था हुँदै आएका छन्।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको मूल्याङ्कन प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशमलव एक डिग्री सेल्सियसले बढिसकेको छ। बढ्दो तापक्रमका कारण मानव समुदाय र पारिस्थितिकीय प्रणालीबिचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ।

आर्थिक सर्वेक्षणअनुसार मानवसिर्जित क्रियाकलापका कारण जलवायु परिवर्तनजन्य विपद् बढ्दै गएका छन्। उच्च तापक्रम, बेमौसमी वर्षा र अति वर्षा तथा सुख्खापनजस्ता कारणबाट उत्पादन र उत्पादकत्वमा ह्रास आई रोजगारी, आय र मानिसको जीविकोपार्जनमा गहिरो प्रभाव परेको छ।

जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि, क्योटो प्रोटोकल, पेरिस सम्झौतालगायतका प्रबन्ध कार्यान्वयन गर्न विभिन्न निकाय तथा संरचना क्रियाशील छन्। नेपाल पनि यस्ता सन्धि सम्झौताको पक्ष राष्ट्र भई जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका क्षेत्रमा काम गरिरहेको छ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनअनुसार हिन्दकुश हिमालय क्षेत्रका हिमनदीको पिण्ड ६५ प्रतिशतले घटेको छ भने यस क्षेत्रको मुख्य नदी बेसीनमा हिउँ पग्लेर सन् २०५० तिर पानीको मात्रा र नदीमा बहाव उच्च हुने अनुमान गरेको छ।

जलवायु परिवर्तनका कारण तीव्रगतिमा हिउँ पग्लने र तत्काल नदीमा पानीको मात्रा वृद्धि हुने भए पनि दीर्घकालमा पानीको मात्रा (आयतन) घट्ने अनुमान छ।

हरितगृह ग्यास उत्सर्जनको अवस्था

विश्वको हरितगृह ग्यास उत्सर्जन सन् १९९० मा ३२ अर्ब ६६ करोड मेट्रिकटन रहेकोमा सन् २०२० मा ४७ अर्ब ५१ करोड मेट्रिकटन पुगेको थियो। सन् १९९० देखि २०२० सम्मको अवधिमा विश्वको हरितगृह ग्यास उत्सर्जन वार्षिक औसत एक दशमलव २७ प्रतिशतले वृद्धि भएको छ।

सन् २०१९ को तुलनामा सन् २०२० मा चार दशमलव सात प्रतिशतले विश्वको हरितगृह ग्यास उत्सर्जनमा कमी आएको छ। यसैगरी ‘क्लाइमेट वाच’को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन, अमेरिका, भारत, युरोपियन युनियनका मुलुक, इन्डोनेसिया, रूस, ब्राजिल, जापान, इरान र क्यानाडा रहेका छन्।

विश्वको कूल हरितगृह ग्यास उत्सर्जनमा सबैभन्दा बढी अंश चीनको २५ दशमलव ८८ प्रतिशत र संयुक्त राज्य अमेरिकाको ११ दशमलव १३ प्रतिशत रहेको छ। जलवायु परिवर्तन तथ्याङ्क ‘एक्सप्लोर’ २०२४ का अनुसार प्रमुख दश हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये क्यानाडाको अंश सबैभन्दा कम एक दशमलव १४ प्रतिशत रहेको छ।

नेपालले उत्सर्जन गरेको हरितगृह ग्यास पछिल्ला वर्षमा बढ्दै गएको छ। नेपालले उत्सर्जन गरेको हरितगृह ग्यास सन् २००० देखि सन् २००८ सम्म घटेको भए पनि त्यसपछिका वर्षमा बढेको छ। सन् नब्बेको दशकमा औषत दुई करोड १८ लाख मेट्रिकटन हरितगृह ग्यास उत्सर्जन हुने गरेकामा पछिल्ला (सन् २०११–२०२०) दशकमा यस्तो ग्यास उत्सर्जन चार करोड २७ लाख मेट्रिकटन पुगेको छ। नेपालको भने खुद हरितगृह ग्यास उत्सर्जन घट्दै गएको छ।

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना,सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १३ जेठ । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार तथा उपकरण

पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तथा उपकरण तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताउनुभयो ।

धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उहाँले बताउनुभयो । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उहाँले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो ।

इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताउनुभयो । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।

भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ ।

छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उहाँले बताउनुभयो । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।

सडक स्तरोन्नतिपछि कृषि उपज बजार पु¥याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताउनभयो । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उहाँ ढुक्क हुुनुुहुन्छ ।

बागलुङको दुर्गम गाउँमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित

बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

शनिबार साँझ सम्पन्न भएको शिविरबाट सबैभन्दा बढी दुर्गम गाउँका नागरिक लाभान्वित भएका छन् । शिविरमा उपचार र अन्य सेवा लिने अधिकांश ज्येष्ठ नागरिक थिए । लामो समयदेखि मुटुको उपचार गराउँदै आएका बिरामीको विशेषज्ञ डाक्टरले परीक्षण गर्नुका साथै औषधि प्रदान गरेका थिए ।

शिविरमा परीक्षण गराएकामध्ये १० जना मुटुका नयाँ बिरामीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचारका लागि ‘रेफर’ गरिएको थियो । सातजना विशेषज्ञ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको हो । सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको थियो भने जटिल समस्या भएकालाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाएको हृदय रोग केन्द्रका निर्देशक डा रवि मल्लले बताउनुभयो ।

मुटुसम्बन्धी रोगका बिरामी बढ्न थालेपछि गाउँमा शिविर सञ्चालन गरेको शिविर संयोजक शेरचनले बताउनुभयो । भविष्यमा पनि यस्ता शिविर सञ्चालनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् ।
पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पु¥याउन सहज भएको छ ।

विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताउनुभयो ।

पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ ।

“चौध वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो । हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि वर्षामा समस्या हुने गरेको थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ”, अध्यक्ष पुनले बताउनुभयो ।

“पुल बनेपछि निकै सहज भएको छ, अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या छैन”, मङ्गला–५ छिसबाङका विकल सेनले भन्नुभयो, “स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।”

त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताउनुभयो ।

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ ।

साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, मधेस, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावन छ । साथै मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यहाँ आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

म्याग्दी, १३ जेठः महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ ।आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राससलाई बताउनुभयो ।समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउनु कार्यक्रमको उद्देश्य भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा २ र १० मा लागू भएको छ ।”दुई वर्षअघि कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । वडा नं २ मा केराको थामबाट धागो र स्थानीय तितेपाती प्रयोग गरेर साबुन बनाउने तालिम शनिबारदेखि सुरु भएको छ ।

चौधवटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन हुने वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।तालिममा सहभागीलाई व्यवसाय गर्न कच्चा पदार्थ र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो ।

गत वर्ष नगरपालिका–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले कुखुरापालन गरेका थिए । वडा नं ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाले चप्पल बनाउने सीप सिकेर व्यवसाय सञ्चालन गरेका थिए । नेप्टेचौरमा ढालमोठ, नमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।यसैबीच वडा नम्बर १० पात्लेखेतमा एकमहिने वाद्यवादन तालिम सञ्चालन भएको छ । तालिममा २० जना सहभागी छन् ।

जसपा खोटाङको अध्यक्षमा निर्मल राई

खोटाङ, १३ जेठ: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन हुनुभएको छ । जसपाको शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँदा उपाध्यक्ष रहनुभएका राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

जसपाको जिल्ला भेलाले राईको नेतृत्वमा एक सय ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सहसचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन हुनुभएको छ ।

जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, सङ्घीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थिति थियो । भेलाले अग्निप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरि राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राईलगायतलाई सदस्यमा चयन गरेको छ ।

श्रीलङ्कामा हुरीका कारण सात जनाको मृत्यु, ५०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारियो

कोलम्बो । श्रीलङ्कामा शनिबार चलेको हावाहुरीले रूखहरू ढल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । हुरीसँगै शनिबार साँझ आएको वर्षा कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर गर्दै कम्तीमा ५०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का निर्देशक प्रदीप कोडिपिलीले जानकारी दिनुभयो ।

केन्द्रका निर्देशक कोडिपिलीले प्रतिकूल मौसमका कारण मुलुकभर ४२ हजार ६०४ जना प्रभावित भएको सञ्चारमाध्यमलाई बताउनुभयो । हुरीका कारण ढलेका रूख र भाँचिएका रूखका हाँगाले लागेर कम्तीमा सात जनाको मृत्यु भएको र तीन हजार १३७ घरमा क्षति पुगेको उहाँले बताउनुभयो ।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी दिनमा देशका केही भागमा वर्षा जारी रहने जनाएको छ ।पश्चिमी, सबारागामुवा, मध्य, उत्तर–पश्चिम र दक्षिणी प्रान्तका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षा हुनेछ । सबारागामुवा प्रान्त र नुवारा–इलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।