`

चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौंः मुख्यमन्त्री कार्की

झापा, ६ जेठः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विर्तामोडमा आजदेखि सुरु कोशी चलचित्र महोत्सवको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इन्डोर’ छायाङ्कनस्थल निर्माण गर्न बजेट छुट्याउने आश्वासन दिनुभयो । मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय प्रवद्र्धनमा टेवा पुर्याउने चलचित्र निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र नभएर २१औँ शताब्दीमा देशको राष्ट्रिता, कला र संस्कृतिको पहिचान बोक्ने शक्तिशाली माध्यम भएको बताउनुभयो । उहाँले प्रदेशस्तरमा महोत्सवको आयोजना गर्ने कोशी पहिलो प्रदेश भएको जनाउँदै यस क्षेत्रको विकासका लागि प्रादेशिक विकास बोर्ड गठन हुनुपर्ने माग गर्नुभयो ।

यही जेठ ११ गतेसम्म सञ्चालन हुने कोशी चलचित्र महोत्सवको आयोजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो । यसको व्यवस्थापन कोशी चलचित्रकर्मी सङ्घले गरेको छ । प्रदेशका भाषाभाषी र जातजातिको मौलिक चलचित्रहरु महोत्सवका क्रममा प्रदर्शन हुने भएका छन् । महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, गोष्ठी र सांस्कृतिक झाँकी प्रस्तुत हुने भएका छन् । विर्तामोड, विराटनगर, इटहरीलगायत सहरमा छानिएका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने चलचित्रकर्मी सङ्घ कोशी प्रदेश समितिका महासचिव रमेश तिवारीले बताउनुभयो ।

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

काठमाडौँ, ६ जेठ – सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवद्र्धक नियुक्त गर्न लागेको हो ।

मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाले आज सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम नियुक्ति भएका देश÷प्रान्त÷सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवद्र्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई सात दिनभित्र पर्यटन प्रवद्र्धन शाखामा निवेदन पेस गर्न आग्रह गरेको छ ।

पर्यटन प्रवद्र्धन शाखाका उपसचिव अनिल किरातीका अनुसार सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोहीलाई पर्यटन प्रवद्र्धकमा नियुक्त गरिनेछ । यसअघि नियुक्त भएका देश र सहरका २९ जना प्रवद्र्धकबाहेकका मुलुकमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने उपसचिव किरातीले बताउनुभयो । पर्यटन मन्त्रालय (२०८० फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णय)ले विश्वमा नेपालको पर्यटन प्रवद्र्धन गर्न २९ जनालाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको थियो ।

पर्यटन प्रवर्द्धकका लागि २१ वर्ष उमेर पूरा भएको नेपाली वा गैरआवासीय नेपाली एवं विदेशी नागरिक हुनुपर्नेछ । पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि संलग्न रही ख्याति प्राप्त गरेको वा नेपालप्रति सद्भाव र रुचि भई नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।

विश्व पर्यटन बजारमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित गराउँदै स्वयंसेवी भावनाका साथ नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं जैविक सम्पदा एवं खेलकुद, मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पु¥याउने सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक  नियुक्त गरिने सूचनामा भनिएको छ ।

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः नगर प्रमुख कोइराला

विराटनगर, ६ जेठः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताउनुभएको छ । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले नगर क्षेत्रमा सञ्चालित प्रत्येक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको समेत बताउनुभयो । “महानगरको क्षेत्राधिकारमा रहेका सहकारी संस्थाले बदमासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं”, प्रमुख कोइरालाले भन्नुभयो ।

तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तबी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पर्ल्सको उपयोग, पर्ल्सको परिचय, पर्ल्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । तालिममा सहकारीविज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुभएको थियो भने ३५ जना लेखा कर्मचारीको सहभागिता थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र एक सय ७३ वटा सहकारी सञ्चालनमा छन् ।

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे÷नगरेको, तोकिएका पोसाक लगाए÷नलगाएको लगायत विषयमा अनुगमन गरेको हो ।

सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सात र गृह मन्त्रालयमा नौ गरी १६ जना कर्मचारी अनुपस्थित देखिएका छन् । त्यस्तै, अनुगमनका क्रममा तोकिएको कार्यालय समयभन्दा ढिला आउने कर्मचारीको सङ्ख्या ७४ जना भेटिएको थियो । सूचना अधिकारी शर्माका अनुसार शिक्षा मन्त्रालयका सात, गृह मन्त्रालयका ३४, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका १० जना तोकिएको कार्यालय समयभन्दा ढिला कार्यालय आएको भेटिएको थियो । अनुगमनका क्रममा शिक्षा मन्त्रालयका चारजना कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिएको पनि सतर्कता केन्द्रले जनाएको छ ।

अनुगमनका क्रममा ती मन्त्रालयहरुमा तोकिएको पोसाक नलगाउने कर्मचारीको सङ्ख्या पनि उल्लेख्य देखिएको छ । शिक्षा मन्त्रालयका नौ, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका नौ गरी २० जना कर्मचारी तोकिएको पोसाक नलगाईकन कार्यालयमा उपस्थित भएको सतर्कता केन्द्रले जनाएको छ । अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सेवाग्राही सहायता कक्ष , अपाङ्गमैत्री कार्यस्थल , प्रतीक्षालय , चमेनागृहको सरसफाइ राम्रो नदेखिएकोलगायत कैफियत सतर्कता केन्द्रले भेटाएको छ ।

यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

काठमाडौँ, ६ जेठ- यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ । धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ ।

हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट टे«डिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिकटन गरी ७८ हजार १७९ मेट्रिकटन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले राससलाई जानकारी दिनुभयो । यसैगरी डिएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट टे«डिङ कम्पनीमा चार हजार ९२ मेट्रिकटन गरी नौ हजार पाँच सय २७ मेट्रिकटन गत वर्षकै मौज्दात रहेको छ ।

यसैगरी पोटास मल कृषि सामग्रीमा आठ हजार छ सय ९६ र साल्ट टे«डिङ कम्पनीमा तीन हजार एक सय छ मेट्रिकटन गरी ११ हजार आठ सय तीन मेट्रिकटन मौज्दात रहेको छ । कृषि सामग्री र साल्ट टे«डिङले दुई लाख ४२ हजार एक सय १९ मेट्रिकटन युरिया मल आयात गर्दैछन् । यसैगरी दुवै कम्पनीले ९७ हजार आठ सय ६५ मेट्रिकटन डिएपी मल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्रीले १२ हजार नौ सय ५८ मेट्रिकटन र साल्ट टे«डिङले सात हजार छ सय ४६ मेट्रिकटन पोटास मल गरी कूल २० हजार छ सय चार मेट्रिक टन मल आयात गर्दै छन् । यो मल यसै हप्तादेखि असार दोस्रो सातासम्म नेपाल आइसक्ने मन्त्रालयका सूचना अधिकारी जोशीले बताउनुभयो । पहिले आएको मल अघि रोपाइँ हुने जिल्ला र पछि आएको मलपछि रोपाइँ हुने जिल्लामा पठाउने गरी मन्त्रालयले व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटले बताउनुभयो । यसवर्ष आवश्यक मात्रामा पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यसैले समयमै रोपाइँको तयारी गर्न मन्त्रालयले कृषकलाई आह्वान गरेको छ ।

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।

अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ ।

मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।

पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ । एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

म्याग्दी, ६ जेठः जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
सङ्घीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा २०७३ सालदेखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका छवटा वडाका दुई हजार पाँच सयभन्दा बढी परिवारलाई खानेपानी सुविधा पुर्याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि कार्यान्वयन भएको हो ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुुनिश्चितता भएपछि करिब एक दशकको निरन्तर प्रयास सफल भएको राससलाई बताउनुभयो । “ आयोजनाको लागत रु ४८ करोड अनुमान गरिएको तर खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “गत फागुनमा अर्थ मन्त्रालयले रु ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन थालिएको हो ।”

उपभोक्ताले ब्यहोर्नुपर्ने समग्र लागतको १० प्रतिशत बजेट आयोजना प्रभावित बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेका छन् । खानेपानी मन्त्रालयले डिपिआर स्वीकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गर्न सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले प्रक्रियागत काम थालेको हो ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले बहृत् घोप्टेखोला आयोजनाका लागि आह्वान गरिएको ठेक्कामा परेका छवटा कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको र चालु आवभित्रै सम्झौता गरिने जानकारी दिनुुभयो । बेनी– ५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।
आयोजनामार्फत दुई हजार पाँच सय ५३ घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताउनुभयो । चालु आवमा घोप्टेखोला खानेपानी आयोजनाका लागि रु दुई करोड बजेट विनियोजन भएको छ ।

ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले राससलाई जानकारी दिनुभयो ।

प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा

ताप्लेजुङ, ६ जेठः ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो ।
पाथीभराको प्रचारप्रसारका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले शनिबार आयोजित साइकलयात्रामा धरानका १६ वर्षीय दीपसागर तामाङसहित १७ जना सहभागी थिए ।

यसअघि पनि पाथीभरामा साइकलयात्रा गर्नुभएका तामाङले नेपालका अन्य ठाउँको तुलनामा पाथीभरा साइकलयात्राका लागि उत्कृष्ट क्षेत्र भएको बताउनुभयो । पाथीभरा पदमार्गलाई साइकलयात्राका लागि पनि हुनेगरी स्तरोन्नति गर्नसके यस क्षेत्रमा साइकलयात्रा गर्नेको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।

यही जेठ ३ गतेदेखि सुरु भएको महोत्सव सोमबार सम्पन्न हुनेछ । महोत्सवका क्रममा म्याराथन, मेयरकप भलिबल प्रतियोगिता, दुनाटपरी गाँस्ने, धुप बाट्नेलगायत प्रतियोगिता तथा कृषि प्रदर्शनी भइरहेको छ ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ, ६ जेठः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सङ्घको प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत, सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्घमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन् ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ, ६ जेठः सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

र्घाखाँचीबाट बिरामी लिएर बुटवल आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी, ६ जेठः पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् ।

एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर, ६ जेठः शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।“सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो”, निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भन्नुभयो, “ ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ ।” पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उहाँले बताउनुभयो ।

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षात्का बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै उहाँले पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताउ । वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

“नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ ।” पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो ।

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी), ६ जेठः जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पङ्गेनी र वरिष्ठ सदस्यमा शालिकराम सापकोटा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यमा गोपालप्रसाद सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शालिग्राम सापकोटा, परमेश आचार्य, किशोरकुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोदकुमार श्रेष्ठ, घनश्याम पराजुली, अमित अग्रवाल, दीपकप्रसाद भट्टराई, राकेशकुमार हरलालका, मीना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समीर श्रेष्ठ, मेघराज कँडेल र कृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीसहित उद्योगी व्यवसायीको उपस्थिति थियो ।

राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ : एमाले उपाध्यक्ष ज्ञवाली

झापा- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूले राज्यसत्तालाई लक्ष्य होइन जनताको अवस्था बदल्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

पार्टीको दोस्रो मेचीनगर नगर अधिवेशनको उद्घाटन कार्यक्रममा झापाको काँकडभिट्टामा उहाँले जनताको अवस्था बदल्न एमालले समृद्ध नेपाल र सुखी नेपालीको सुझबुझपूर्ण नारा अघि सारेको बताउनुभयो । अवसर र सुविधाका लागि राजनीतिको नेतृत्वमा पुग्न चाहने प्रवृत्तिलाई हटाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

“सत्ता भनेको नेताले कुर्सी पाउने हो, राम्रो सुविधा र अवसर पाउने हो भन्ने गलत बुझाइ बनिरहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिको नेतृत्व तहमा पुग्न चाहनेले सुविधा होइन, जिम्मेवारीको गह्रुँगो भारी बोक्न तयार हुनुपर्छ ।”

कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छः मन्त्री अर्याल

भेरीगङ्गा (सुर्खेत) – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्णाली प्रदेश प्राकृतिक स्रोतको धनी भए पनि गरिब भनेर बनाइएको भाष्य बदल्न लाग्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले कर्णालीमा रहेका ढुङ्गा बेचेरै प्रशस्त आम्दानी लिन सकिने सम्भावना रहे पनि त्यसको उपयोग नगरी विगतदेखि नै गलत भाष्य निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नकारात्मकरूपमा कर्णालीलाई व्याख्या गर्नेभन्दा पनि सकारात्मक पक्षतर्फ पनि ध्यान दिऔँ, यहाँको सम्भावनातर्फ सबैले ध्यान दिएर त्यहीअनुसार योजना बनाउनुपर्छ । कर्णालीको ढुङ्गा बेचेर पनि हजारौँलाई रोजगारी दिन सकिने सम्भावना छ ।”

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेगरी आफूले योजना बनाएको पनि उहाँको भनाइ थियो । “अहिले देशमा केही हुँदैन भन्ने निराशा बढ्दो छ, त्यो निराशालाई आशामा बदल्नेगरी मैले केही योजना ल्याएर सुरुआत गरिसकेको छु”, मन्त्री अर्यालले भन्नुभयो, “स्वदेशमै रोजगारीका प्रशस्त सम्भावना छन् । अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्छौँ, त्यसका लागि हामीले केही नयाँ सोच र जोशका साथ कामको थालनी गरेका छौँ ।”

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अहिलेसम्म धेरै रकम खर्च भए पनि उपलब्धि हासिल हुन नसकेकाले सो कार्यक्रमको काम परिवर्तन गर्न लागिएको बताउनुभयो । आगामी वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धेरै प्रतिफलप्राप्त हुने उहाँको दाबी थियो । यसैगरी उहाँले भारततर्फ रोजगारीमा जानेहरूको समेत तथ्याङ्क राख्नेगरी काम भइरहेको जानकारी दिनुभयो ।

यसैबीच मन्त्री आर्यालले आफ्नो पार्टी सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप शतप्रतिशत गलत रहेको दाबी गर्नुभयो । संसदीय छानबिन समितिका नाममा संसदीय क्रियाकलाप प्रभावित बनाइएको पनि उहाँको भनाई थियो । आफूहरू समाजको स्वरुप फेर्नेगरी आएको बताउँदै उहाँले केही पार्टी सत्ताबाहिर रहँदा छटपटाइरहेको आरोप लगाउनुभयो ।

यसैबीच श्रम तथा रोजगार मन्त्रालयले जेठ २५ र २६ गते सुर्खेतमा रोजगार मेला आयोजना गर्ने भएको छ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा दुइदिने रोजगार मेला आयोजना गरिएको मन्त्रालयका सहसचिव दीपक नेपालले जानकारी दिनुभयो ।-

अबको एमाले जनताको जीवनसँग गाँसिएको हुनुपर्छ : उपाध्यक्ष पोखरेल

धरान (सुनसरी)-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोख्रेलले अबको एमाले जनताको जीवनसँग गासिएको हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) सुनसरीको आठौँ जिल्ला अधिवेशनको इटहरीमा उद्घाटन गर्दै उहाँले एमाले इतिहासका गौरवगाथा गाएर बाँच्न नसक्ने भन्दै अब जनताका सरोकार र जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले (एमाले)भित्र गुटउपगुट सिर्जना हुनुमा पार्टी नेतृत्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले पार्टीको मूलमर्मका रूपमा रहेको जनताको बहुदलीय जनवाद नबुझ्दा र त्यसलाई आत्मसात् नगर्दा अन्योलता सिर्जना भएको बताउनुभयो ।एमाले सुनसरीको अधिवेशनलाई गुटउपगुटभन्दा पर राखेर आफ्नो हैसियतअनुसार पार्टी नेताले भूमिका निर्वाह गर्नुपर्नेमा नेता राईको जोड थियो ।

उहाँले कसैको प्रभाव र दबाबमा नपरी आजको चुनौती सामना गर्न र मिसन ८४ को लक्ष्य पूरा गर्न जिम्मेवार भूमिका निर्वाह गर्न सबैले लाग्नुपर्ने उहाँको भनाइ छ ।

सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको कार्यान्वयनः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।पार्टी निकट एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले नेपाली समाजको ठोस् वस्तुगत अवस्था पूँजीवादी भएकाले त्यसको विकल्पमा समाजवादी क्रान्ति र आर्थिक रूपान्तरण कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि समाजमा क्रान्तिको स्वरूप वस्तुगत अवस्थाले मात्र निर्धारण गर्ने बताउँदै उहाँले भन्नुभयो, “अझै पनि कतिपय वामपन्थी साथीहरू अहिले नै समाजवादी कार्यक्रम अघि सार्न तयार हुनुहुन्न, यो क्रान्तिकारी कार्यदिशाबाट दक्षिणपन्थी दिशा तिर भड्किएको चिन्तन हो । यस्तो चिन्तनले वस्तुगत यथार्थलाई देख्दैन ।”

समाजलाई अग्रगतितर्फ लैजान विचार चिन्तनलाई पनि वर्ग दृष्टिकोण कै आधारमा विश्लेषण गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक अवस्था, वस्तुगत स्थिति तथा क्रान्तिका प्रक्रियामा यथार्थपरक अध्ययन गरी दृष्टिकोण निर्माणको खाँचो औँल्याउनुभयो । विगतमा जनताको अग्रगति र प्रगतिको मुख्य बाधक नै निरंकुश राजतन्त्र र सामन्तवाद रहेको बताउँदै उहाँले नेपाली समाजको आधारभूत पक्षमा नै परिवर्तन आएकाले अब समाजवादी कार्यक्रमका माध्यमबाट जनता र राष्ट्रलाई अग्रगतितर्फ लैजानपर्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री रहनुभएका नेता खनालले विगतमा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रम तत्कालीन वस्तुगत परिस्थितिका आवश्यकता भए पनि राजनीतिक उपलब्धिका रूपमा प्राप्त अहिलेको लोकतान्त्रिक व्यवस्था अनुकूल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रमअघि सार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : प्रमुख सचेतक लेखक

काठमाडौँ- नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (२)ले आयोजना गरेको ‘दोस्रो प्रदेश क्षेत्रीय सम्मेलन तथा प्रोफाइल लोकार्पण’ कार्यक्रममा उहाँले अस्थिरताको बीचमा फसेको देशलाई बाहिर निकाल्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । पार्टीभित्र देखिएका मतान्तर आक्रोश समस्यालाई थाँती राखेर मुलुकलाई अगाडि बढाउन कांग्रेस अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी उहाँले हाल देशमा देखिएका समस्या समाधानमा सत्तापक्ष जिम्मेवार हुनुपर्नेसमेत बताउनुभयो । “मुलुक राजनीतिक दलबीचको द्वन्द्व, संसद्को अवरोध, अस्थिरताको कुचक्रमा फस्दा जनतामा नकारात्मक सन्देश गएको छ, यसलाई चिर्न सरकारपक्ष जिम्मेवार बन्नुपर्छ”, उहाँले भन्नुभयो । नेता लेखकले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पार्टीभित्रको आलोचनालाई विशेष स्थान दिएर अगाडि बढेको बताउनुभयो ।

“आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, यसले पार्टीलाई बलियो बनाउँछ, आलोचनात्मक चेतलाई कांग्रेसले संस्थागत गरेको छ”, नेता लेखकले भन्नुभयो । प्रधानमन्त्रीले १८ महिनाका बीचमा चौथोपटक विश्वासको मतको लिनु देशलाई अस्थिरतातिर धकेल्नुभएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएका गुटले धेरै स्थानमा कांग्रेसले पराजय भोग्नुपरेको बताउनुभयो । उहाँले पार्टीलाई एकढिक्का बनाउने सङ्कल्प नगरेसम्म पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले कांग्रेसभित्र निष्ठा र आदर्श गुम्दै गएकाप्रति शीर्ष नेता नै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।कांग्रेस नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा सोचेजस्तो काम गर्न नसकिएको गुनासो गर्नुभयो । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले पार्टीभित्र एकअर्कालाई स्वीकार गर्न नसकेकाले पार्टीले हार व्यहोरेको बताउनुभयो ।

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै कञ्चनपुरका पाँच सय किसान

वेदकोट (कञ्चनपुर), ६ जेठः कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बिक्री गरेर उहाँले घरखर्च जुटाउँदै आउनुभएको छ । “दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ”, उहाँले भन्नुभयो, “आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ”उहाँका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्नुहुन्छ ।

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिनुभएको छैन । त्यस बेला बाढीले उहाँको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्नुहुन्छ, “बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।”

डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्योे । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उहाँ बताउनुहुन्छ । “बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।”

दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताउनुभयो । “वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी”, उहाँले भन्नुभयो, “जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।”

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।

रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले राससलाई बताउनुभयो । व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उहाँले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गर्नुभयो ।

व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ । कुल एक हजार नौ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको एक हजार छ सय मिटर काम पूरा भएको छ भने नौ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिनुभयो । “आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।”

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, देशका यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौँ, ६ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिउँ पर्नसक्ने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको पहाडी भागका केही भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम २० डिग्री सेल्सियस छ । आज यहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ, ५ जेठ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताउनुभएको छ । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज यहाँ उहाँले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

देशभित्र आर्थिक सङ्कट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उहाँले आग्रह गर्नुभयो । “देशमा राजनीतिक सङ्कट छैन । राजनीतिक सङ्कट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ । ति सङ्कटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ । काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ”, महामन्त्री शर्माले भन्नुभयो,“जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रुपान्तरण नै हो । त्यसका लागि हामी एकमत हुन आवश्यक छ ।”

पुस्तकको विमोचन गर्दै उहाँले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गर्नुभयो । राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्छ भन्नुभयो ।

लेखक पौडेलको आफ्ने दोस्रो कृतिका रूपमा रहेको यस सङ्ग्रहमा २१ कथा समेटिएका छन् । कथाहरूमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उहाँको भनाइ छ । “विशेषगरी हराउँदै जान थालेका गाउँघरतिरका परम्परागत कुरामा सञ्जीवनी छर्कँदै वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने प्रयास गरको छु”, उहाँले भन्नुभयो, “मैले सबै कथामा हाम्रो सामाजिक परिवेश र विषम परिस्थितिको पिँधमा रहेर सुनेको, जानेको र भोगेको कुरा सकभर मर्न नदिइ जीवन्त बनाउने प्रयास गरेको छु ।”

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव डा तुलसी भट्टराईले लेखक पौडेलको यस कथा सङ्ग्रहका अधिकांश कथाले समयको सत्य उजागर गर्न सामाजिक यथार्थमा आधारित भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “लेखक पौडेलको कथामा माओवादीको सशस्त्र द्वन्द्वको विषय छ, सामाजिक विकृति छ र विदेश जाने मोह पनि छ । कतिपय कथामा प्रेमलाई च्वास्स छोइएको छ । त्यसकारण पनि यसभित्रका अधिकांश कथाले समयको उजागर गरेको छ ।”

कथा सङ्ग्रहबारे समीक्षा गर्दै लेखक एवम् पत्रकार लक्ष्मण अधिकारीले वर्तमान कथा लेखन शैलीमा अलि फरक धारका विषयवस्तु समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस कथा सङ्ग्रहमा वर्तमान पुस्तालाई रोचक र कौतुहलपूर्ण लाग्ने ग्रामीण क्षेत्रका लुप्त हुन लागेका चलन एवम् परम्परालाई पुर्नजीवन दिने प्रयत्न गरिनुका साथै सामाजिक विकृति र विसङ्गतिविरुद्ध रापिलो मुस्लो ओकल्ने प्रयत्न पनि गरिएको छ ।”

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छुः मन्त्री भण्डारी

काठमाडौँ, ५ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभियानमा लागेको बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज यहाँ आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उहाँले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ, म एक्लै भए पनि एक सुत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु ।”

निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानुन सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीतिको सुधारको माग छ ।”

उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका जटिलता हटाउनका लागि विभिन्न ऐन संशोधनमा जुटेको उहाँले जानकारी गराउनुभयो । रुग्ण उद्योग सञ्चालनका लागि सरकारले कार्यविधि बनाउन लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले त्यसका लागि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले खानी तथा खनिजजन्य उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालनका प्रक्रिया नगरी ओगटेर राख्ने उद्योगलाई छिट्टै मन्त्रालयले खारेजका लागि पहल गर्ने जनाउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “खानी तथा खनिजजन्य उद्योग सञ्चालनका लागि अनुमति लिइसकेपछि निश्चित अवधि तोकेर सञ्चालनमा नल्याए खारेज गर्न विधि प्रक्रिया आवश्यक छ ।”

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

गण्डकी, ५ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय गन्तव्यकारूपमा अघि प्रदेश सरकारको पनि साथ रहने बताउनुभयो । “बेगनास ताल र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढिरहेका छन् । यसलाई धार्मिक धार्मिक पर्यटकीय गन्तव्यकारूपमा विकास गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । विकासक्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्छ । त्यसमा हाम्रो पनि साथ छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

संस्थाका अध्यक्ष ध्रुबनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात तालमध्ये ठूलो बेगनास ताल जल सम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् साधनस्रोतका दृष्टिबाट महत्वपूर्ण सप्पदा भएकाले यसको संरक्षणमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो । तालसँगै यहाँस्थित बराह मन्दिर र लक्ष्मीनारायण मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको उहाँको भनाइ थियो । “यस क्षेत्रको समग्र विकासका लागि विसं २०७५ साल मंसिरमा सञ्चालित महायज्ञमा सङ्कल्प गरिएका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् ।

स्थानीयवासी, तीन तहका सरकारसँगको समन्वय र सहकार्यमा यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोच राखिएको छ । त्यसैले यहाँहरू सबैको सहयोगको अपेक्षा छ”, उहाँले भन्नुभयो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा इन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालगायतले बेगनास ता, बराह क्षेत्रलगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती, ५ जेठ : बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली कांग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सो समितिको सभापति नेकपा (एमाले)लाई दिने दलहरुबीच सहमति भएको बताइएको छ । यस्तै आजको प्रदेशसभा बैठकबाट प्रदेशसभाअन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताउनुभयो ।

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डिआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी हुनुहुन्छ ।

सन् २०२४ को पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ ।
पूर्वी एसियामा पहिलो पटक आयोजना भएको र पेरिस २०२४ प्याराओलम्पिक खेलकुदका लागि महत्त्वपूर्ण क्वालिफायर, प्यारा–एथलेटिक्स इभेन्टले एक सय ६८ स्पर्धामा प्रतिस्पर्धा गर्न एक सय देश र क्षेत्रका एक हजारभन्दा बढी खेलाडीलाई आकर्षित गरेको छ ।

 ह्योगो प्रिफेक्चरका गभर्नर मोतोहिको साइतोले शुक्रबार उद्घाटन समारोहमा भन्नुभयो, “विश्वका उत्कृष्ट पारा–एथलिटहरू कार्यमा देख्नु विश्वभरका मानिसका लागि ठूलो उत्साह र प्रेरणा ल्याउने छ ।”

उक्त समारोहमा विश्व पारा एथलेटिक्सका प्रमुख पल फिट्जगेराल्डले पनि आफ्नो शक्ति, सीप र दृढ सङ्कल्प प्रदर्शन गर्ने र प्रत्येक दिन व्यक्तिगत उत्कृष्टता हासिल गर्ने प्रयास गर्ने खेलाडीहरूलाई सम्मान गरेको बताउनुभयो ।      कूल ७३ चिनियाँ पारा–एथलिटमध्ये धेरै बहु–इभेन्टरहरू छन् । च्याम्पियनसिपको ११ औँ संस्करण सन् २०२१ को मूल निर्धारित वर्षबाट कोभिड–१९ महामारीको कारण दुई पटक स्थगितपछि युनिभर्सियड मेमोरियल स्टेडियममा मे २५ सम्म चल्नेछ । 

वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौँ- ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ । विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५० औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धुनुभएको थियो ।

सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गर्नुभयो । हालसम्म पनि उहाँको नेतृत्व जारी छ । तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा सात बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान शनिबारदेखि ५७५ औँ हप्तामा प्रवेश गर्दैछ ।

वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।

महाअभियान १२ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि दुई वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी डा माला खरेल फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउनुहुन्छ ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको भएपनि स्थानीय सरकारको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ ।

महाअभियानले १२ औँ वर्ष प्रवेशको कार्यक्रम विशेषरुपमा गर्न लागेको जनाइएको छ । यसअघिका कार्यक्रम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा गर्ने गरिएकामा यसपटक भने अभियानकर्मीकै समूहले गर्न लागेको अभियानकर्मी खरेलले सुनाउनुभयो । तिलगङ्गा आँखा अस्पतालसँगैको चौरमा हुने कार्यक्रममा सबै पेशा, व्यवसाय र क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।

कर्णाली प्रदेश सरकार : समृद्धि हाँसिल गर्न प्रमुख दलका साझा प्रतिबद्धता

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा शुक्रबार सर्वदलीय बैठक बसेको छ । प्रदेशभासमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागी रहेको बैठकले सात वटा निर्णयसमेत गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (समाजवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी रहेको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले कर्णालीको विकास र समृद्धिको साझा मुद्दामा सबैको साझा सरोकार रहने बताउनुभयो । उहाँले भन्नुभयो, “सिद्धान्त र विचार फरक हुनुले फरक पार्दैन । सबैको सोच भनेकै कर्णालीको विकास, सुशासन र आर्थिक समृद्धि हो । सबै दलहरुको मूल उद्देश्य भनेकै कर्णाली बनाउने हो ।”

उक्त सर्वदलीय बैठकले राष्ट्रिय गौरवका आयोजना नभएको कर्णाली प्रदेशका नागरिकको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने कर्णाली करिडोर (सुर्खेतदेखि हुम्लासम्म), भेरी करिडोर (सुर्खेतदेखि डोल्पासम्म), कर्णाली राजमार्ग (कालिकोटदेखि मुगु–रारा हुँदै नाक्चेनाग्लासम्म) जोड्ने राष्ट्रिय गौरवको आयोजना घोषणा गरी कार्यान्वयनका लागि छुट्टै संरचना तयार पारेर द्रुत गतिमा कार्य सम्पन्न गर्न पर्याप्त बजेट विनियोजनका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने पहिलो निर्णय गरेको छ ।

हाल सञ्चालनमा आइरहेको हवाई सेवालाई भरपर्दो र विश्वासिलो बनाउन प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको विस्तार र थप पूर्वाधारको विकासका निम्ति सुर्खेतबाट कर्णालीका नौ जिल्ल्लाहरुमा नियमितरुपमा हवाई सेवा सञ्चालनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने दोस्रो निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, सङ्घीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा वर्षेनी उल्लेख गरिने तर कार्यान्वयनमा नआएको प्रदेश प्रवेशद्वार कोहलपुर–सुर्खेत सडकलाई चार लेन बनाउने योजना कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गर्न अनुरोध गर्ने, कर्णालीको प्राकृतिक स्रोतको रुपमा रहेको भेरी नदीबाट सञ्चालित भेरी बबई डाइभर्सन आयोजनाको प्रत्यक्ष लाभान्वित लुम्बिनी प्रदेशको बाँके र बर्दिया हुँदा आयोजनाबाट उत्पादन हुने बिजुलीको रोयल्टी कर्णाली प्रदेशले पाउने कानुनी र नीतिगत व्यवस्था गर्नसमेत सङ्घीय सरकारलाई अनुरोध गर्ने चौथो निर्णय भएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका पीडितका लागि अस्थायी आवासको दोस्रो किस्ताको रकम पुग्न र पुनःनिर्माणको काम सुरु हुन नसकेकाले त्यहाँका नागरिक थप पीडित बन्दै गएकाले अस्थायी आवासको लागि छुट्ट्याइएको दोस्रो किस्ताको रकम तत्काल वितरण गर्न र पुनः निर्माणको काम तत्काल प्रभावकारी रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको दीर्घकालीन समस्या समधान गर्न भेरी लिफ्टिङ्ग खानेपानी आयोजना कार्यान्वयनको प्रारम्भिक अवस्थालाई द्रुत गतिमा सञ्चालनका लागि कार्यान्वयनको प्रक्रिया बढाउन सङ्घीय सरकारलाई अनुरोध गर्ने र संस्थागत, पारदर्शी, परिणाममुखी हुने गरी योजना छनौट गर्न तथा कार्यान्वयन पक्षलाई बलियो बनाई बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको छ ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति ललितजङ्ग शाही, महामन्त्री नीरञ्जन केसी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण जिसी, एमालेका प्रदेश अध्यक्ष गुलाबजङ्ग शाह, सचिव ध्रुवकुमार शाही, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष तथा सङ्घीय सांसद अम्मरबहादुर थापा, प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका केन्द्रीय सदस्य मातृका भुसाल, जिल्ला अध्यक्ष कविराम पुरीसहितका नेताहरुको सहभागिता रहेको थियो ।

जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

दमौली (तनहुँ), ५ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाला इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले राससलाई जानकारी दिनुभो । उहाँका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेसनलगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । दमौली अस्पतालमा सात वटा उपकरणमार्फत मिर्गौला पीडितलाई सेवा दिइएको छ । यसअघि चारवटा उपकरणमात्रै सञ्चालन रहेकामा तीन वटा नयाँ उपकरण थप गरिएको छ ।

केन्द्रमा तीन वटा नयाँ उपकरण आएपछि पालो पर्खिएर बसेका २१ जनालाई समेत डायलासिस सेवा दिन थालिएको केन्द्रका इञ्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपकरण थप नहुँदा सेवा दिन सक्ने अवस्था थिएन, तीन वटा नयाँ उपकरण आएपछि पालो कुरेका सबैलाई सेवा दिइएको छ । हाल केन्द्रबाट ५५ जनाले डायलासिस सेवा लिइरहनुभएको छ ।” पण्डितका अनुसार ४९ जनाले हप्ताको दुई पटक, पाँच जनाले हप्ताको तीन पटक र एक जनाले हप्ताको एक पटक डायलासिस सेवा लिइरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट विसं २०८० कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ जनाले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।

बेनी–दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

म्याग्दी- म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा– पानाबगर– रणवाङको सिमानासम्म सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस विछ्याएर कालोपत्र गर्न लागिएको हो । विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्ने तयारी भएको जानकारी दिनुभयो ।

“विसं २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो”, उहाँले भन्नुभयो “संरचना निर्माण, सब बेस राखिएको सडकमा केही दिनमा प्राइम कोट विछ्याउने तयारी भएको छ ।” सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो । १८ महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आवमा रु चार करोड बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयका सडक इञ्जिनीयर सञ्जय सुवेदीले बताउनुभयो ।

थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा विसं २०६३ मा सडक पुगेको थियो ।

बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलब ५ किलोमिटर दुरीको बेनी–सिमखण्डमा दुई वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने सुस्ताएको छ । 

विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रहेका प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले रणबाङ–दरवाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजीकरण गरिरहेको बताउनुभयो । 

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ-नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर शुक्रबार  सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका–१३ का २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा पक्राउ परेका उनीहरुलाई बिहीबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यानसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको थियो । विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भएको थियो । दुवैजना वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि इन्टरपोलमार्फत पक्राउ गरिएको हो ।

बलबहादुरलाई ईलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा, ४ जेठ : गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

इजराइललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजराइललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गर्नुभएको छ ।

“हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्याउँछौँ, यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ”, ती मुलुकका विदेशमन्त्रीहरूद्वारा आफ्ना इजराइली समकक्षी इजराइल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।

हस्ताक्षरकर्ताहरूमा अस्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोपेली सङ्घ (इयु) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन छन् ।

मन्त्रीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायहरूको स्वागत गर्नुभएको छ तर ‘थप कदम’ का लागि आह्वान गर्नुभएको छ ।

“मानवीय सहायतालाई रफाहसहित सबै प्रासङ्गिक क्रसिङ विन्दुमार्फत गाजा पट्टीमा प्रवेश गर्न दिन हामी इजराइल सरकारसँग आग्रह गर्दछौँ”, उहाँहरूले भन्नुभएको छ । उहाँहरूले इजराइलसँग ‘नागरिक, अन्तर्राष्ट्रिय तथा स्थानीय मानवीय सहायता कार्यकर्ता र पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम’ चाल्न आह्वान गर्नुभयो ।

अपिलमा ‘स्थायी युद्धविराम’ को पनि आह्वान गरिएको छ । मन्त्रीहरूले इजराइलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवाहरू पुनः सुरु गर्न’ र ‘गम्भीररूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेषगरी चिकित्सा आपूर्ति’ लाई बढावा दिन आग्रह गर्नुभएको छ ।

अन्त्यमा उहाँहरूले इजराइलसँग ‘हाम्रा सबै नागरिक, योग्य व्यक्ति र विदेशमा मानवीय वा चिकित्सा कारणले स्थानान्तरण हुनका लागि भर्ना भएका प्यालेस्टिनीहरूका लागि निकास परमिट जारी गरेर थप निकासी सुविधा प्रदान गर्न’ आह्वान गर्नुभयो ।

युद्ध सुरु भएको आठ महिनापछि इजराइलले दक्षिणी सहरमा हजारौँ विस्थापित प्यालेस्टिनीका लागि अन्तर्राष्ट्रिय चिन्ताका बावजुद रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउने वाचा गरिरहेको छ ।

गाजामा इजराइली घेराबन्दीले २४ लाख मानिसका लागि खाद्यान्नका साथै सुरक्षित पानी, औषधि र इन्धनको चरम अभाव ल्याएको छ । गत साता इजराइली सेनाले रफाह क्रसिङको गाजा क्षेत्रमा नियन्त्रण गरेपछि कहिलेकाहीँ सहायता गाडीहरूको आगमनमा कमी आएको छ ।

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन मन्त्री श्रेष्ठको निर्देशन

कर्णाली, ४ जेठ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देश गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रतियोगिताबारे जानकारी दिने क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठले आगामी मङ्सिरमा हुने खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने र सोहीअनुसार तयाररी गर्न निर्देशन दिनुभएको सञ्ज्यालले राससलाई जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजक कर्णाली प्रदेशको उत्साह र पूर्वतयारीले धेरै खुसी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केही दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयका तर्फबाट टोली खटाइनेसमेत बताउनुभएको उहाँले जानकारी दिनुभयो । “दशौँ राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नुपर्छ, अबको केही दिनमा मन्त्रालयका तर्फबाट रिजल्ट आउने गरी कामको थालनी हुन्छ”, मन्त्री श्रेष्ठलाई उद्धृत गर्दै सञ्ज्यालले भन्नुभयो ।

छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले प्रतियोगिताको आन्तरिक तयारी बलियो बनाइ सकेकाले तोकिएको मितिमा प्रतियोगिता हुने सुनिश्चितताका लागि आग्रह गर्नुभयो । “हिजो खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर लिन सकिरहेको थिएन । अहिले कर्णाली हरेक हिसाबले सक्षम छ”, सदस्य सचिव सन्यालले भन्नुभयो, “प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौँ । सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र विभागीय मन्त्रालयले त्यो सुनिश्चिता गर्नुपर्छ ।”

काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौँ, ४ जेठः नेपालमा पहिलोपटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ ।

न्यूयोक राइटर वर्कसपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जेठ ९ देखि १३ गतेसम्म कार्याशाला र १४ देखि १५ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल हुने र त्यसक्रममा समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसनलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत, चीन, हङ्कङ, अमेरिका, रसिया, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा बढी मुलुकबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू सहभागी हुने फेस्टिभलका संरक्षक एवम् हिमालयन कवी युयुत्सु आरडी शर्माले बताउनुभयो । उहाँले साहित्य तथा पर्यटन प्रवर्द्धन गर्न महोेत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । शर्माका अनुसार कार्यशालामा लेखकहरूले आफ्ना साहित्यिक रचना प्रदर्शन गर्नेछन् । “यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरू गर्न पाउँदा हामी हर्षित छौँ”, कवि शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य एउटा ‘प्लेटफर्म’ सिर्जना गर्ने हो, जसले साहित्यलाई मात्र होइन, समुदायको भावनालाई समेत बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्छ ।”

मुख्य कार्यक्रमहरूको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुने जनाइएको छ ।

विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जनता समाजवादी पार्टी (जसपा) नेपालको आह्वान

काठमाडौँ, ४ जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आह्वानपत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गर्नुभएको हो । आह्वानपत्रमा भनिएको छ, “पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानुभएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।”

निर्वाचन आयोगले गत वैशाख २४ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीमा राईसँगै सङ्घीय सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी गरी सात जना रहेका छन् ।

जसपा अध्यक्ष यादवले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जनता समाजवादी पार्टीलाई नयाँ दलका रूपमा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश गरिसकेको छ भने यही जेठ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने

काठमाडौँ, ४ जेठः सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ ।सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट हालै सरुवा भएर काठमाडौँ आउनुभएका न्यौपानेलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी आफूलाई तोकिएको प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम, ४ जेठ : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिनेबाहेक अन्य काम नभएको बताउनुभयो । “यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन”, उहाँले भन्नुभयो ।

यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बावजूत मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो । नेकपा (एकीकृत समाजवादी) ंससंदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउनुभएको थियो । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा जबरजस्ती कारबाही अघि बढाइएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “छलफल र संवादबाट समस्या समाधान खोज्ने सम्भावना रहे पनि अचानक संसद् अधिवेशन अन्त्य गरिएको घटनामा हाम्रो विरोध छ ।”

यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गर्नुभयो ।
प्रदेशसभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा यसअघि आज अपराह्न बोलाइएको बैठक स्थगित गरिएको थियो । लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालु अधिवेशन पनि अन्त्य गरिएको हो ।

पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ, ४ जेठ : छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा आज एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।

टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो । सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।  

सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन ।