`

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन

काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग स्म्झौता गरेको थियो ।जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल दुई वर्षदेखि अलपत्र पारेर ठेक्का बिक्री गरेको थियो ।

क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण अन्योल बनेको हो । भेरी करिडोरको बीचमा रहेको उक्त पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक निर्माणमा समेत समस्या भइरहेको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल तीन वर्षदेखि निर्माण नहुँदा स्थानीयका साथै उक्त सडक भएर यात्रा गर्नेलाई सास्ती हुँदै आएको छ । तीन जिल्लाको सङ्गमस्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनलेसमेत काममा गति नदिएको स्थानीयवासीको आरोप छ ।

रु १५ करोडमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले तीन वर्षअघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट रु १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेकले कहिले वर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काम ढिला गर्दा तोकिएको समयमा सम्पन्न हुन नसकेको स्थानीय पूर्ण बुढाले बताउनुभयो ।

निर्माणको जिम्मा पाएका कन्ट्रक्सनले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माणमा बाधा पुग्ने देखिएको छ । हाइड्रोपावर कम्पनीले हजारौँ टन तौल भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा बोलपत्र आह्वान गरेको थियो ।

रेट्रो ट्रेकका प्रमुख बादल बुढाले पुलमा दुई वटा पिल्लर उठाउने काम भएको बताउनुभयो । क्याराभानले बोलपत्र पाएको केही समयमै प्रमुख चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट पेस्की लिएको आयोजना कार्यालयले जनाएको छ । पुल समयमै नबन्दा आयोजनाको निर्माण प्रभावित भएको भन्दै डोल्पाका सरोकार भएका निकायले चिन्ता व्यक्त गरेका छन् । थकालीले आफूले जिम्मा लिएको काम सम्पन्न नगरी अरुलाई ठेक्का बिक्री गर्दा समस्या थप बढेको स्थानीय बताउँछन् ।

आयोजनाको ऋण सम्झौता भइसकेकाले काम गर्न पुनःबोलपत्र आह्वान गर्ने अवस्था आएको आयोजना कार्यालयले जनाएको पुगेको छ । आयोजनास्थल जानका लागि निर्माण हुन लागेको पुल ठेकेदारले पूरा नगर्दा आयोजना निर्माणमा समस्या उत्पन्न हुने सम्भावना बढेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले बताउनुभयो । आइतबार स्थलगत अनुगमन गर्नुभएका शाहीले कामको गति राम्रो नभएको बताउनुभयो ।

तल्लुस्थित भेरी नदीमा बेलिब्रिज पुल निर्माण भए पनि सोही ठाउँमा पक्की पुल निर्माण भइसक्नुपर्नेमा अझैँ काम नभएको मन्त्री शाहीले बताउनुभयो ।

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाहबीचको भेरी नदीमा बनेको उक्त पुल आइतबारदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरकोअन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा आएपछि सामाजिक विकासमन्त्री शाहीले बेलिब्रिज पुलमा यात्रासमते गर्नुभयो ।

तीन वर्षअघि निर्माण सुरु भएकामा विविध कारणले ढिला हुँदै आएको थियो । सरोकार भएका पक्षको दबाबपछि पुल सम्पन्न भएको हो ।

पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ । मालबाहक गाडीहरू दुनैसम्म पुग्न थालिसकेका छन् । बर्खामा यातायात सञ्चालनमा ल्याउन भेरी करिडोर बीचमा पर्ने केही खोलाहरूमा ह्युम पाइप राख्न निर्देशन दिइएको सामाजिक विकासमन्त्री शाहीले जानकारी दिनुभयो । करिडोरले भारतको रुपैहिडिया–नेपालगञ्ज हुँदै डोल्पा चीनको सीमा क्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्वको सडक रहेको उहाँको भनाइ छ ।

उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद विषय भएको मन्त्री शाहीले बताउनुभयो । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो ।

विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले रु तीन करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयो । बाँकी खोलामा ह्युम पाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।

भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडक खण्डभित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज पुल यसअघि नै निर्माण भइसकेको छ, भने रुपगार्ड खोलाको बेलिब्रिजको काम सुरु भइसकेको छ ।
रुपगार्डको बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ ।

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामीको चाप बढ्यो

सिमकोट, (हुम्ला), ७ जेठ : एक मात्र यहाँको जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा औषधिको अभाव छ ।

पन्ध्र शय्याको जिल्ला अस्पतालमा वैशाखयतादेखि औषधि अभाव हुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका हुन् । चिकित्सकले लेखेको औषधि निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, पखालालगायत सबै खाले बिरामीले उपचारका लागि जिल्ला अस्पताल पुग्दा उपचारपछि औषधि वितरण कक्षमा औषधि नपाउने गरेको गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधिसमेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाको गुनासो छ । आफू बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना गरेर अस्पतालमा रहे पनि चिकित्सकको लेखिदिएको अनुसारको औषधि मेडिकलबाट किनेर ल्याएको उहाँले बताउनुभयो । रु चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको र अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गर्नुभयो । 

जाँचपछि औषधि लिन जाँदा जिल्ला अस्पतालको औषधि वितरण कक्षमा औषधि नपाएर सेवाग्राही फिर्ता हुन्छन् । चिकित्सकले लेखेको औषधि जिल्ला अस्पतालमा नपाउँदा निजी मेडिकलमा जानुपर्ने बाध्यता छ । निजी मेडिकलमा औषधि किन्नका लागि आर्थिक अवस्था कम भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका झप्रि सुनारको गुनासो छ । जिल्ला अस्पतालले निःशुल्क दिने औषधिसमेत नपाएको उहाँको गुनासो छ । चिकित्सकले बिरामी पुर्जामा औषधि लेखिदिए पनि औषधि वितरण कक्षमा औषधि नभएको भनेर निजी मेडिकलमा खरिद गर्न पठाउने गरेको उहाँको भनाइ छ ।  

वैशाख यतादेखि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अफिसर तथा चिकित्सक सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार आइतबार र सोमबार ८० जनासम्म बिरामी पुग्छन्भने अन्य दिन ५० जनाभन्दा कम हुँदैनन् । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ । गाउँघरबाट एक–दुई दिनको पैदल हिँडेर सवारी साधन पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेको चिकित्सक सिंहले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “जिल्ला अस्पतालमा औषधिको चरम अभाव छ, आकस्मिक कक्षमा आकस्मिक सेवाका लागि भर्ना भएका बिरामीले समेत बान्ता रोक्नेलगायत औषधि नभएको समस्या मैले भोगेको छ ।” बिरामीलाई अति आवश्यक पर्ने औषधि पनि नभएको चिकित्सक सिंह बताउनुहुन्छ । आकस्मिक कक्षमा औषधि अभावको समस्या आफूले प्रत्यक्ष भोगिरहेको चिकित्सक सिंहले बताउनुभयो । बहिरङ्ग सेवामा झन् औषधि अभावको समस्या रहेको छ । 

अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंह स्वीकार्नुहुन्छ । जहाज नचल्दा खरिद गरेर हुम्ला पुग्ने औषधि नेपालगञ्जमा थन्किएको प्रमुख सिंहको भनाइ छ । अबको एक–दुई दिनमा जहाज ससञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर हुम्ला आइपुग्ने प्रमुख सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँमा भएका स्वास्थ्यचौकीमा औषधि पाउन मुस्किल हुन्छ, अस्पतालमा पुग्दा राम्रो औषधि र चिकित्सकको जाँचको आशामा बिरामी पुग्छन्, चिकित्सकबाट जाँच पाएको भए पनि चिकित्सकले लेखेको औषधि नपाउँदा सेवाग्राही बिरामी रित्तो हात लिएर फिर्ता हुन बाध्य छन्, जिल्ला अस्पतालमै औषधिको चरम अभावको समस्या समाधान चाँडो गर्न आवश्यक छ ।”

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक, ७ जेठ : मनसुन सुरु हुनै लाग्दासमेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत नहुँदा यात्रुले सूचना पाउन सकेका छैनन् ।

गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि मर्मत हुन नसकेको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार गत वर्ष सडक विभागसँग मर्मतका लागि बजेट प्रस्ताव गरे पनि प्राप्त हुन सकेन । सूचना प्रणाली ‘बोर्ड’मा सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ हुने गर्दथ्यो । सूचनाका आधारमा यात्रुलगायत सडक प्रयोगकर्ताले यात्रा गर्दथे ।

राजमार्गको धुलिखेल-सिन्धुली-बर्दिबास सडकखण्डमा तत्कालीन मौसमी अवस्थाबारे जानकारी दिन नौ वर्षअघि अरनिको राजमार्ग प्रारम्भ हुने जडीबुटीमा र काभ्रेपलाञ्चोकको धुलिखेललदेखि सिन्धुली-बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । धुलिखेलमा रहेको सूचना बोर्डमा मौसमअनुसार सूचना दिने प्रणाली मर्मत गरी अद्यावधिक गर्न सकिएको छैन । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्टस् टिमलाई अध्ययनको स्वीकृत दिएको थियो । जाइकाको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत हुन नसकेको हो ।

यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफल अब्जरभेसन सिस्टम’ले निरन्तर वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्ता केन्द्र काठमाडौँ थापाथलीस्थित उप-आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरु र सिन्धुलीमा रहने व्यवस्था गरिएको थियो ।

उक्त प्रणालीअन्तर्गत ‘डाटा सेन्टर’मा निरन्तर आउने प्रकोपका विवरणहरु ‘जिपिआरएस् मोडेम’मार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ ‘अपडेट’ हुन्छ । यी विवरणहरु ‘एलइडी डिस्प्ले’युक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण ‘अपडेट’मा ‘लोडसेडिङ’ले समस्या हुनसक्ने भएकाले सबै केन्द्रमा सौर्यशक्ति (सोलार) समेत जडान गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट बर्दिबाससम्म एक सय ६० किलोमिटर सडक विसं २०५४ सालदेखि विस्तार गरिएको थियो ।

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ, ७ जेठ : ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गर्नुभएको थियो ।

प्रथम हुनुभएका श्रेष्ठले रु एक लाख ५१ हजार एक सय ११ सहित प्रमाणपत्र पाउनुभएको छ । यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय हुनुभएको छ । उहाँले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभएको थियो । उहाँले रु एक लाख ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । तृतीय हुनुभएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । उहाँलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिएको छ । पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी हुनुभएको थियो ।

महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम हुनुभएको छ । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गर्नुभएको थियो ।

यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो हुनुभएको छ । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ८१ हजार एक सय ११, रु ५१ हजार एक सय ११ र रु ३१ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी हुनुभएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिनुभयो । यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ । महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन्भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।

जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए । महोत्सवमा हरेक दिन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गरिएका थिए । आइतबार गायक प्रताप दाससहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने आज समापनको दिन गायिका रचना रिमाल प्रस्तुति रहेको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

काठमाडौँ, ७ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उहाँले बताउनुभयो ।

मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा, ७ जेठ : प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत रु दुई करोड ५० लाख ५८ हजार राजस्व सङ्कलन गरेको हो ।

साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरुबाट रु एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।

सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा रु दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति रु एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ छ ।

यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ ।

बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल

मकवानपुर, ७ जेठ : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जनमुखी, पारदर्शी र जनताप्रति उत्तरदायित्व हुने गरी बजेटको खाका तयार पारिएको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री थपलियाले सो कुरा बताउनुभएको हो । सरकारले अब आफ्नै क्षमताअनुसार कृषि उत्पादन बढाउन जैविक मल कारखानाको स्थापना गर्ने र सिमान्तकृत चेपाङ, दलित, आदिवासी जनजातिलाई क्रमशः स्वास्थ्य उपचार, शिक्षा र आर्थिक आत्मनिर्भर बनाउने गरी बजेटमा समेटिएको उहाँले उल्लेख गर्नुभयो ।

गत आव २०८०/८१ को बजेट निर्माणमा देखिएका कमजोरीलाई सच्याएर प्रदेशको सबै क्षेत्रमा भौतिक पूर्वाधार र बहुवर्षीय योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने मन्त्री थपलियाको भनाइ छ । उहाँले आगामी वर्षको बजेटमा काठमाडौँ उपत्यकालगायतका जिल्लामा समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनलाई गुरु योजना तयार गरी चरणबद्ध रुपमा व्यवस्थित ढङ्गबाट नष्ट गर्ने र प्रदूषणबाट प्रभावितलाई स्वास्थ्य उपचार, रोजगारीका अवसर दिलाउने लक्ष्य लिएको बताउनुभयो ।

उहाँले प्रदेशमा चिकित्सा क्षेत्रलाई दक्ष जनशक्ति उत्पादन गर्न आवधिक रुपमा चिकित्सक, स्वास्थ्यकर्मी उत्पादन गरी प्रत्येक गाउँपालिकाको वडा–वडामा स्वास्थ्य उपचार सेवा प्रदान गर्नेतर्फ स्थानीय तह र प्रदेश सरकार बीच सहकार्य गर्ने लक्ष्य रहेको स्पस्ट पार्नुभयो ।

बैठकमा आगामी आवको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलको क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा तामाङले सङ्घीय सरकारदेखि प्रदेश सरकारसम्म सरकार हेरफेर भइरहँदा जनता हकअधिकारबाट वञ्चित हुनुपरेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले दलगत स्वार्थभन्दा माथि उठेर बहुवर्षीय योजना, भौतिक पूर्वाधारलाई बजेट विनियोजित गर्न र प्रदेशको विभिन्न जिल्लामा देखिएका बन्यजन्तुबाट आक्रमणमा परेका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका विषयमा जोड दिनुभयो ।

प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारले आगामी आवको बजेट तर्जुमा गर्दा बहुवर्षीय योजना, भौतिक पूर्वाधारको विकासमा प्रत्यक्ष जनता लाभान्वित हुने योजनालाई कार्यान्वयन गर्न सौद्धान्तिक पक्ष राम्रो भएपनि बजेटले भौगोलिक अवस्थाको मूल्याङ्कन नगरी बजेट विनियोजित गर्दा ती योजनालाई कार्यान्वयन गर्न कठिनाई भएको बताउनुभयो । यस विषयमा पुनः सरकारले समिक्षा गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।

उक्त बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा प्रदेश सभाका सदस्यहरु क्रमशः उर्मिलाकुमारी तामाङ, कुमारी तामाङ, सृजना सैजू, गीरबहादुर तामाङ, जयराम थापा, सुना परियार, गीता गुरुङ, गीता काफ्ले, मीना पराजुली, मधुसुदनप्रसाद पौडेल, कृष्णप्रसाद सिलवाल, गोविन्दप्रसाद लम्साल, राकृष्ण चित्राकार, सुरेन्द्रराज गोरसाईं र रत्नप्रसाद ढकाललगायतले सुझाव दिनुभएको थियो । उहाँहरुले सरकारलाई सैद्धान्तिक पक्षमा मात्र नभई प्रदेशको सबै जिल्लाका जनताको चाहाना र आवश्यकतालाई मध्यनजर गरी सम्मानजनक बजेट र योजना बाँडफाड गर्न सुझाव दिनुभएको हो ।

सिंहदरबार, दलका कार्यालय र नेताको घरको फोहोर उठ्दैन, कोको लाइ जुध्न मन छ जुधे हुन्छ – मयेर बालेन

काठमाडौँ – काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरबार, दलका कार्यालय र नेताको घरको फोहोर नउठ्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन् – भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म स(सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन१

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

चन्द्रप्रसाद ढकाल/काठमाडौँ – औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ ।

विशेष गरी कोभिड–१९ महामारी र त्यसयता लिइएका केही नीतिगत व्यवस्थाका कारण समस्या गहिरिएको हो । साथै देशबाट युवा वर्गको उच्च मात्रामा भइरहेको पलायनले पनि मुख्य भूमिका खेलेको छ भन्न सकिन्छ । कलकारखाना पूर्ण क्षमतामा नचल्दा रोजगारी र समग्र आर्थिक उत्पादकत्वमा प्रत्यक्ष असर परेको त स्पष्ट नै छ । चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव पाँच प्रतिशत र उत्पादकको मूल्यमा तीन दशमलव प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ ।

आन्तरिक उपभोगमा मुख्य योगदान गर्ने मध्यमवर्गका युवाहरू रोजगारीको अवसरको खोजीमा विदेशिएका छन् । यसबाट स्थानीय श्रम बजारमा अवसर नै नभएको भन्ने नकारात्मक भाष्यसमेत निर्माण भइरहेको छ । यहाँभन्दा थोरैमात्र बढी पारिश्रमिक पाउने कामका लागि समेत युवाहरू विदेशिइरहेको अवस्थामा आन्तरिक उद्योग–व्यवसायमा दक्ष तथा अर्धदक्ष श्रमिक/मजदुर नै नपाउने स्थिति बनिरहेको छ ।

विदेशमा काम गर्ने नेपालीहरूको रेमिट्यान्सले विदेशी मुद्रा र घरायसी आम्दानीको महत्वपूर्ण स्रोत प्रदान गरिरहँदा बाह्य क्षेत्रले केही सकारात्मक सङ्केतहरू देखाएको छ । तर यसले बजारमा अपेक्षित उपभोग नबढ्दा समग्र व्यापार चक्रमा सुधार भएको छैन । नेपालको निर्यात आधार साँघुरो छ भने अन्तर्राष्ट्रिय बजारमा कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । सूचना प्रविधि क्षेत्रको सेवा व्यापार निर्यातमा केही सुधार देखिए पनि यसमा अझै नीतिगत अन्यौल देखिन्छ । यसरी समग्र व्यापार असन्तुलनले देशको समग्र औद्योगिक वातावरणमै असर पारिरहेको छ ।

दोस्रो कुरा देशभित्र लगानीको स्तर घटेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र रोजगारीमा ठूलो योगदान दिने निजी क्षेत्र पनि यतिबेला विविध कारणले प्रभावित भएको अवस्था छ । निजी क्षेत्रको मनोबल घट्दै गइरहेको छ । अनिश्चित आर्थिक अवस्था र उच्च सञ्चालन लागतले व्यावसायिक आत्मविश्वासमा ह्रास ल्याएको छ । उता अप्रत्याशित आर्थिक वातावरण र बारम्बार भइरहने नीति परिवर्तनका कारण लगानीकर्ताहरू समेत दिल खोलेर लगानी गर्नुअघि धेरै पटक सोच्न थालेको अनुभव सुनाउन थालेका छन् । सरकारको राजस्व उठाउने क्षमता खुम्चिएको छ । सार्वजनिक खर्च कमजोर हुँदा त्यसले समग्र आर्थिक चक्रमै असर पारिरहेको छ । यी आन्तरिक तथा बाह्य कारणबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन नगरी अर्थतन्त्रलाई पुनःरुत्थान गर्न सम्भव छैन । त्यसैले यसका लागि नेपाल सरकारले बजेटमार्फत स्पष्ट प्रभावकारी नीतिहरू तर्जुमा गर्न आवश्यक देखिन्छ ।

यी चुनौतीहरूलाई मध्यनजर गर्दै बजेटले लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने, मागलाई प्रोत्साहन गर्ने र दिगो आर्थिक वृद्धि सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनुपर्छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिकोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दा तत्कालीन आर्थिक शिथिलताबाट बाहिर निस्कन मैले अहिलेका लागि मुख्यतया यी पाँचवटा विषय उठाएको थिएँ ।

पहिलो– वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने,
दोस्रो– लगानीको वातावरण बनाउने,
तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने,
चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र
पाँचौँ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने ।

वास्तवमा हामीले यिनै विषयहरुमा नै निरन्तर रुपमा पैरवी गर्दै आएका पनि छौँ । बागलुङको ढोरपाटनमा सम्पन्न महासङ्घको तेस्रो कार्यकारिणी समितिको बैठकले तत्कालीन आर्थिक समस्याको समाधानको लागि राष्ट्रिय आर्थिक बहसको आयोजना गर्ने निर्णय गरेका थियौँ र त्यसलगत्तै असोजको तेस्रो साता काठमाडौँमा आयोजना पनि गर्यौँ । अर्थतन्त्रका सबै सरोकारवालाहरुको उपस्थितिमा गरिएको सो राष्ट्रिय आर्थिक बहसको निचोड पनि अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेकाले सरकार र सरोकारवाला निकायबाट यथोचित नीति अख्तियार होस् र आर्थिक एजेण्डामा सबैको मतैक्य होस् भन्ने नै थियो । 

त्यसपछि सरकारले पनि हाम्रो यही एजेण्डामा सहमत हुँदै सर्वदलीय आर्थिक बहसको आयोजना ग¥यो र त्यसमा प्रधानमन्त्रीले मुलुकका उद्योगी, व्यवसायी एवं समग्र निजी क्षेत्रका प्रतिनिधिहरुसँग उनीहरुको आवाज र आवश्यकता पनि सुन्नुभएको थियो । यसरी निजी क्षेत्रले रोगको पहिचान गरेर त्यसको निदानका लागि आवश्यक औषधि पनि सिफारिस गरेकाले विस्तारै निजी क्षेत्रको आवाज राज्यले सुन्न थालेको महसुस पनि भएको छ । नेपाल राष्ट्र बैंकले बैंक दर, नीतिगत दर सहजीकरण गर्दै बैंकको ब्याजदर घटाउँदै पनि आएको छ । अर्थ मन्त्रलयले हामीसँग निरन्तर छलफल अघि बढाएको छ । लगानी सम्मेलनको मुखैमा भएका केही कानुनको संशोधन र द्विपक्षीय लगानी सम्झौताको खाकाको अनुमोदनलाई यसको उदाहरणका रुपमा पनि लिन सकिन्छ । 

आर्थिक पुनःरुत्थान, बजेटको रुझान

नीतिगत स्थिरता आर्थिक वृद्धि र विकासको आधारशीला हो । नेपालमा लगानी आकर्षित गर्न, व्यवसायिक आत्मविश्वास बढाउन र दिगो आर्थिक गतिविधिहरू सुनिश्चित गर्न स्थिर नीतिगत वातावरण कायम गर्नु आवश्यक छ । बारम्बार नीति परिवर्तन वा असङ्गत नियामक ढाँचाले अनिश्चितता सिर्जना गरिरहेको छ । जसले समग्र आर्थिक वृद्धिमै असर पारिरहेको छ । 

नीतिगत स्थिरतामा लगानीकर्ताको विश्वास निर्भर हुन्छ । जब नीतिहरू स्थिर हुन्छन्, लगानीकर्ताले अधिक निश्चितताका साथ योजना बनाउन सक्छन् । यो आत्मविश्वासले लगानीकर्तालाई नयाँ परियोजनाहरूमा पुँजी जुटाउन र हाल सञ्चालनमा रहेका उद्योग–व्यावसाय विस्तार गर्न प्रोत्साहित गर्छ । अनुकूल व्यावसायिक वातावरण सिर्जना गर्न समयानुकूल आर्थिक सुधारका कार्यक्रममा ध्यान दिनुपर्ने अवस्था छ । यसका लागि आउँदो बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम घोषणा गर्नुपर्दछ ।

यसका लागि आवश्यक अर्को महत्वपूर्ण कुरा शासकीय सुधार हो । नियामक प्रक्रियालाई सरल बनाउन र अनावश्यक प्रशासनिक झन्झटहरू हटाउनका लागि बजेटमार्फत नयाँ चरणको शासकीय सुधारका कार्यक्रम घोषणा गर्नुपर्दछ । लगानीकर्ताहरूलाई उनीहरूको लगानी सुरक्षित गरिनेछ र कुनै पनि विवादहरू निष्पक्षरुपमा द्रुत ढङ्गबाट समाधान गरिनेछ भन्ने विश्वास अहिले चाहिएको छ । न्यायिक प्रणालीको सुदृढीकरण र व्यावसायिक कानुनहरू स्पष्ट र निरन्तर रूपमा लागू हुने सुनिश्चित गर्नाले लगानीकर्ताको विश्वास बढ्छ । सरकारी सेवाहरूको दक्षता र प्रभावकारितामा सुधार गर्न सार्वजनिक क्षेत्र सुधारलाई यसले समेट्नुपर्छ । भ्रष्टाचार घटाउन, पारदर्शिता बढाउन र सार्वजनिक क्षेत्रको जवाफदेहिता सुधार गर्ने विषयलाई बजेटले सही ढङ्गले सम्बोधन गर्नुपर्दछ । 

अर्काे पक्ष भनेको करमा सुधार हो । करको आधारलाई फराकिलो बनाउने र कर सङ्कलनको प्रभावकारितामा सुधार गर्ने प्रयास जारी छ तर अहिलेसम्म ठोस नतिजा आउन सकेको छैन । नेपालको वर्तमान कर प्रणालीलाई बढीभन्दा बढी करदातामैत्री, व्यवसायमैत्री र आधुनिक बनाउन हालको संरचनागत तथा कानुनी व्यवधानमुखी व्यवस्थाहरूलाई सुधार गर्नुपर्दछ । अहिले तीन तहका सरकार रहँदा र संविधानले नै तीन तहका कर असुल गर्ने अधिकारहरू बाँडफाँट गरी छुट्याइदिएको अवस्थामा अब विगतमा बनाइएका कानुनहरूलाई पनि सोही ढाँचामा सुधार गर्नुपर्ने अवस्था छ ।

प्रभावकारी र पारदर्र्शी कर प्रणालीले अनुपालनलाई प्रोत्साहित गर्दछ र करदाताहरूलाई बढी बोझ सृजना नगरी सरकारी राजस्व बढाउँछ । प्रगतिशील कर नीतिले लगानी र नवप्रवर्तनका लागि प्रोत्साहन गर्दछ र आर्थिक गतिविधिलाई गति दिन्छ । सुरक्षित र व्यावसायिक वातावरण सिर्जनाका लागि पनि कानुनी सुधारहरू गर्न आवश्यक छ । 

त्यसैगरी अर्काे विषय हो वित्तीय क्षेत्र सुधार । नेपालको वित्तीय प्रणालीले पछिल्लो समयमा निकै समस्या झेल्दै आएको छ । आर्थिक गतिविधिहरूको विस्तार, अर्थतन्त्रको विकास र आर्थिक क्रियाकलाप फस्टाउनका लागि आवश्यक पुँजीमा पहुँच सुनिश्चित गर्न आवश्यक छ । विशेष गरी साना तथा मझौला उद्योगका लागि ऋण उपलब्धता बढाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण छ । ऋण जोखिम मूल्याङ्कनमा सुधार गर्ने र ऋणदाताहरूको जोखिम कम गर्न ऋण सुनिश्चितता योजनाहरू लागू गर्नेजस्ता उपायहरूहरूको सुधार आवश्यक छ ।

त्यस्तै व्यापार नीतिमा सुधारको पक्ष अहिलेको अर्काे आवश्यकता हो भन्ने लाई लाग्दछ । नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । यस प्ररिपेक्षमा नेपाललाई विश्व अर्थतन्त्रमा थप प्रभावकारी रुपले समाहित गर्न व्यापार नीति सुधार आवश्यक छ । व्यापार अवरोधहरू घटाउन, भन्सार प्रक्रियालाई सरल बनाउन र नेपालले स्तरोन्नतिपछि गुमाउन सक्ने मुलुकहरूसँग गरिने द्विपक्षीय व्यापार सम्झौता वार्ताले निर्यात अवसर बढाउन र विदेशी लगानी आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा नेपालले आफ्नो तुलनात्मक लाभको क्षेत्र पहिल्याउन र क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलाहरूमा पूर्ण रूपमा सहभागी तुल्याउन अहिलेको व्यापार नीति पर्याप्त हुने छैन । नयाँ परिप्रेक्षमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का प्रावधानहरूअनुसार नेपालले पाउने र गुमाउने क्षेत्रहरूबारे अध्ययन आवश्यक छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यसमा सरकारसँग सहकार्य र साझेदारीका लागि तत्पर छौँ ।

यसर्थ, अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक भए पनि मुलतः आन्तरिक मागमा आएको कमीका कारण देखिएको समस्या समाधान गरी दिगो र उच्च आर्थिक वृद्धि गर्नु बजेटको मुख्य उद्देश्य हुनुपर्छ । अर्थतन्त्र पुनःरुत्थान गर्न र औद्योगिक क्षमता अभिवृद्धि गर्न, चरणबद्ध सुधार योजना अघि सार्नुपर्दछ । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याइरहेको निजी क्षेत्रको सहभागितामा नयाँ चरणको आर्थिक पुनःसंरचनाको घोषणा गर्नुपर्छ । लगानी सम्मेलन अघिको सुधारले यसलाई बाटो खुलेको छ र धेरै परिवर्तन सम्भव रहेको मैले देखेको छु ।

अर्काे एउटा विषय यो छ कि भूतप्रवाही कानुनले लगानीकर्तालाई जटिल बनाइदिएको छ । यसमा सुधारका लागि कार्यपालिका र न्यायपालिका दुवै पक्षबाट ठोस पहल हुनुपर्ने आवश्यकता छ । त्यसैले कम्तीमा पाँच वर्षको लागि प्रमुख नीति परिवर्तनमा रोक लगाएर स्थिर वातावरण सुनिश्चित गर्नुपर्छ । यसबाट स्वदेशी र विदेशी लगानीकर्ताहरुका लागि पनि समुचित वातावरण बन्नेछ भन्ने मलाई विश्वास छ ।

आन्तरिक स्रोतको सीमिततासँगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न लगानी प्रवद्र्धन दशकका रुपमा आगामी वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसअन्तर्गत एकलविन्दु सेवाको प्रभावकारिता र थप नीतिगत सुधार आवश्यक हुनेछ । यसका साथै, मुलुकभर छरिएर रहेका साना लगानीकर्ताहरुलाई समेटी निजी क्षेत्र विशेषगरी नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा प्रवद्र्धन गरिएको लगानी कम्पनीलाई प्रोत्साहनका लागि विशेष घोषणा गर्नुपर्ने पनि हाम्रो माग रहेको छ ।(नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालसँग राससले गरेको कुराकानीमा आधारित)

चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै

काठमाडौँ, ७ जेठः स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिनुभयो ।

“यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ”, गायक तथा अभिनेता आचार्यले भन्नुभयो ।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । हामीले नयाँ चलचित्रझैँ यसको प्रदर्शन गर्दैछौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ ।”

स्वर्गीय आचार्यका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पथ्र्यो । त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो । हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो । त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौँ ।”

निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिनेछ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौँ, ७ जेठः नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन् ।

  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।      प्रहरीले पक्राउ परेका दुवैजनालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । 

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

बाजुरा, ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले दुई सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले दुई सय तीन मत पाउनुभयो । उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाउनुभयो । सचिवमा विजयी काशीबहादुर विकले दुई सय ४१ पाउँदा प्रत्यासी जनक विष्टले एक सय ७१ मत पाउनुभयो ।

साथै उपसचिव (खुला)मा विजयी हरिबहादुर रोकायाले दुई सय ७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले एक सय १५ मत तथा उपसचिव (महिला)मा विजयी राजकला सार्कीले दुई सय ७७ मत पाउँदा प्रत्यासी कल्पना महतले एक सय २६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिनुभएको छ ।

यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा चार सय ३९ जना प्रतिनिधि हुनुहुन्थ्यो । जसमा चार सय २५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।

काठमाडौँमा हावाहुरीसहित वर्षा

काठमाडौँ, ७ जेठः काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”

उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन, ७ जेठः मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।

शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । 

त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।  चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन्  २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् ।

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

वीरगञ्ज (पर्सा), ७ जेठ – भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताउनुभयो ।

“दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।”

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार)को पत्राङ्कको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ७ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ । त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उहाँलाई सदनमा बोल्न दिने सहमति गरेका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलन मार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताउनुभएको थियो । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

म्याग्दी, ७ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन हुनुभएको छ । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका–२ मार्फाका लालचनको अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

समितिको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक विक र उपसचिवमा सम्राट गौचन निर्वाचित हुनुभएको सो पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । सुनदेवी रसाइलीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ ।

अधिवेशनको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । अधिवेशन उद्घाटनका क्रममा उपमहासचिव गुुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्ट र प्रदेश अध्यक्ष शर्माले नेपाललाई समृद्धिको मार्गमा लैजान बामपन्थी शक्तिहरुको सहकार्य आवश्यक भएको बताउनुभएको थियो ।

किर्गिजस्तानको राजधानीबाट सयौँ पाकिस्तानी विद्यार्थी स्वदेश फिर्ता

किर्गिजस्तानको राजधानी बिश्केकमा विद्यार्थी आवास नजिक स्थानीयवासी र विदेशीहरूबीच झडप भएपछि छ सय ५० भन्दा बढी पाकिस्तानी विद्यार्थीलाई स्वदेश फिर्ता गरिएको पाकिस्तानको विदेशमन्त्रीले आइतबार बताउनुभएको छ । शुक्रबार राति विभिन्न देशका सयौंँ विद्यार्थीबीच भएको झडपमा चार पाकिस्तानी विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरूलाई अधिकारीहरूले घरभित्रै बस्न आदेश दिएको सहरका विद्यार्थीहरूले पाकिस्तानी मिडियालाई जानकारी दिएका छन् ।

“तीन विशेष व्यावसायिक उडानको व्यवस्था गरिएको छ”, विदेशमन्त्री इशाक दारले इस्लामाबादमा पत्रकार सम्मेलनमा भन्नुभयो, “यो पाकिस्तानी विद्यार्थीमाथि मात्र नभएर विदेशी विद्यार्थीहरूमाथि आक्रमण भएको थियो, यसमा भारतीय, बङ्गलादेशी र अरब विद्यार्थी पनि थिए ।” करिब एक सय ३० विद्यार्थी शनिबार पाकिस्तान पुगेका छन् भने आइतबार पाँच सय ४० जना आउँदैछन् । सरकारले झडपको विवरण दिन किर्गिजस्तानका उपराजदूतलाई शनिबार विदेश मन्त्रालयमा बोलाएको थियो ।

किर्गिजस्तानको गृह मन्त्रालयले अनलाइन प्रकाशित एक विज्ञप्तिमा ‘अराजकपूर्ण’ हप्ताको सुरुमा विदेशी विद्यार्थीहरूले उनीहरू छात्रावासमा अपरिचित व्यक्तिहरूद्वारा उत्पीडित भएको रिपोर्ट गरेपछि घटना भएको जनाएको छ । स्थानीय सञ्चारमाध्यका अनुसार किर्गिजस्तानमा ११ हजारभन्दा बढी पाकिस्तानी अध्ययन गरिरहेका छन् । किर्गिजस्तान विशेषगरी चिकित्सा विद्यार्थीहरूमाझ लोकप्रिय छ ।

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : खोजी जारी

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उहाँको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
“राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ”, सरकारी टेलिभिजनले भनेको छ ।

खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ  । हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि हुनुहुन्थ्यो ।     “खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ ।  सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ । 

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो ।   त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा आउनुभएको थियो । त्यहाँ उहाँले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गर्नुभएको थियो ।

उहाँको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ । सुधारवादी शार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकप्टर सकुशल अवतरण भएको’ बताएको छ । पछि गृहमन्त्री अहमद वाहिदीले हेलिकप्टरहरूमध्ये एउटा ‘खराब मौसमका कारण कठिन अवतरण भएको र विमानसँग सञ्चार स्थापना गर्न गाह्रो’ भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव

काठमाडौँ- गृह सचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारीलाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै अन्यत्र जान निर्देशन दिनुभएको छ । उहाँले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समावेश गरी प्रतिवेदन तयार गरेर सो प्रतिवेदन सरुवा भई आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । “अन्य कर्मचारीहरूको हकमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित शाखा÷फाँटको कामको अद्यावधिक विवरण लिएर मात्र रमाना दिने प्रबन्ध मिलाउने”, गृह सचिवस्तरीय निर्णयमा भनिएको छ ।

मुलुकको शान्तिसुरक्षाको जिम्मेवारी बोकेको गृहमा रेकर्ड सिस्टम कायम गर्न र थप व्यवस्थित तथा मजबुत बनाउन प्रतिवेदन अनिवार्य गरिएको गृह सचिव अर्यालको भनाइ छ । “यसले नयाँ सरुवा भई जाने सिडिओलाई जिल्लाको वस्तुस्थितबारे तत्काल जानकारी हुनाका साथै बुझ्न नै महिनौँ लाग्ने समस्याको अन्त्य गर्छ,” उहाँले भन्नुभयो, “जसले सेवा प्रवाहमा एकरूपतासँगै चुस्ततासमेत ल्याउँछ ।” रेकर्ड सिस्टमले जिल्लासँगै मन्त्रालयमा समेत को प्रजिअले के कसरी काम गरेको छ भन्नेबारेसमेत जानकारी रहने र सोको आधारमा मूल्याङ्कनसमेत हुने उहाँको भनाइ छ । 

गृह मन्त्रालय वा अन्तर्गतका एक निकायबाट अर्को निकायमा सरुवा भएका कर्मचारीहरूलाई तत्काल रमाना दिई सरुवा भएको निकायमा हाजिर हुन पठाउन साथै तलब भत्ता सरुवा भएकै निकायबाट भुक्तानी हुने व्यवस्था मिलाउन पनि सचिव अर्यालले निर्देश गर्नुभएको छ । सेवा प्रवाहलाई निरन्तरता कायम राख्न प्रमुख जिल्ला अधिकारीबाहेक गृह मन्त्रालय वा अन्तर्गतबाट अन्यत्र मन्त्रालयमा सरुवा भई जाने कर्मचारीलाई सो स्थानमा सरुवा भई आउने कर्मचारी हाजिर नभएसम्म रमाना नदिने व्यवस्था मिलाउन पनि गृह सचिव अर्यालको निर्देशनमा उल्लेख छ । मन्त्रालयअन्तर्गतका सबै महाशाखा, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले यस्तो निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौँ,- जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बर्मा देश घर भई हाल काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय तुसार अग्रवाल तथा न्युरोडमा पसल रहेका उमेश मुडभरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–२२ स्थित मुकुन्द्र श्रेष्ठको घरगोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरिरहेको सूचनाका आधारमा हाम्रो टोलीले तुसार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरेको हो ।” पक्राउ परेका मुडभरी काठमाडौँको न्युरोडमा पसल सञ्चालन गर्ने व्यक्ति रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ । 

प्रहरीले तुसार अग्रवालको गोदमबाट कम्पनीको लोगोसहित ५० थान तथा लोगोबिनाको एक सय ८५ गरी कूल दुई सय ३५ थान एवं मुडभरीबाट न्युरोड पसलमा बेचबिखनका लागि राखिएको कम्पनीको लोगोसहितको ६ थान मनिटर बरामद गरिएको प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो ।

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, २० वटा सटर पूर्णरुपमा जले

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । 

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

मानसरोवर जाने यात्रुहरुका कारण रसुवागढी नाकामा बढ्याे चहलपहल

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिनुभयो । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।उक्त विश्वासकोे मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।सङ्घीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त वैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।

देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष लिङ्देन

काभ्रेपलाञ्चोक, ६ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रुपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाउनुभएको छ । राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विशेषगरी सहकारीमा संलग्नको छानबिन गरी ‘राम्रालाई राम्रो र नराम्रोलाई कारबाहीको दायरामा’ ल्याएको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भन्नुभयो ।

“सरकारले आर्थिक रुपमा देशलाई ओरालोतर्फ लाउनेलाई गम्भीरतापूर्वक हेरेन, अब आर्थिक पक्षलाई सबल नबनाए देश गम्भीर मोडतर्फ जानसक्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो । उहाँले सरकारले भ्रष्टाचारीलाई उम्कन नपाउने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । युवावर्ग विदेशमा अध्ययन वा अन्य बहानामा रगत–पसिना बगाउन जाने लहरले देशको जनशक्ति पलायन भएकामा उहाँले दुःखेसो पोख्नुभयो । सरकार जनताको समस्याभन्दा आफ्नो समस्यातर्फ केन्द्रित भइरहेको उहाँको धारणा थियो । 

अध्यक्ष लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सशक्त बन्न आग्रह गर्नुभयो । “मैले अन्तरमनदेखि भनेको कुरा हो, भ्रष्टाचार गरी आफ्नो आमाको रगत खानुसरह हो, मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, गरे भने मलाई मृत्युदण्ड दिए पनि हुन्छ”, उहाँले भन्नुभयो ।    कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का, केन्द्रीय सदस्यद्वय उदय मुस्याजू र गणेशलाल श्रेष्ठले पार्टीमा नवआगन्तुकलाई शुभकामना व्यक्त गर्नुभएको थियो  । 

संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक अवरोध जारी रहन्छ : महामन्त्री थापा

काठमाडौँ, ६ जेठ ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकार सम्मेलनमा उहाँले सोमबार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपर्छ भन्नुभयो । “संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ,भोलि बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छु”, उहाँले भन्नुभयो, “त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।”

उहाँले सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पार्नुभयो । उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गर्नुभयो । 

“संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अबरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ”, उहाँले भन्नुभयो, “आज पनि संसद्बाट उहाँले यो विषयवस्तुलाई आफँै गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गर्नुभएको छ । यसबाट के प्रमाणित हुन्छ भने उहाँ संसदीय छानबिन समितिबाट डराउनुभएको छ ।”

पत्रकार सम्मेलनमा उहाँले गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित पार्न खोज्नुभएको आशङ्का व्यक्त गर्नुभयो ।  उहाँले पार्टी लक्षित भएर प्रतिशोध नराखेको समेत दाबी गर्नुभयो । “यहाँ कसरी प्रस्तुत गर्न खोजिएको छभने हामी त नयाँ पार्टी, नयाँलाई प्रश्न गर्ने ? हामी त आफ्नै पार्टीका नेतालाई प्रश्न गरेर आएको, आफ्नै नेतासँग लडेर आएको हो”, उहाँले भन्नुभयो, “यी तमाम विषयहरु हँुदै गर्दाखेरि यो विषय आज कुनै पनि अर्को व्यक्तिको हकमा भएको भए छानबिन र अनुसन्धान हुन्थ्यो । मैले अहिले जे आशङ्का गरेको छु छानबिनपछि यही आउन भन्ने पनि छैन ।  कांग्रेसको कुरा यो पनि हैन ।”

आज प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विशेष समय र आकस्मिक समय कार्यसूचीबाट हटाउनुभएको थियो । सदनमा गृहमन्त्री लामिछाने सम्बोधन गर्नुभएपछि बैठक स्थगन गरिएको थियो । बैठकमा आफ्नो धारणा राख्न नपाएपछि सांसद थापाले पत्रकार सम्मेलन गर्नुभएको थियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी रहेको छ । 

कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव

दोधारा चाँदनी (कञ्चनपुर), ६ जेठ – कञ्चनपुरका न्यायिक समिति संयोजकहरुले स्थानीय तहमा न्याय सम्पादन गर्न इजलास र जनशक्ति अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको बताउनुभएको छ ।राष्ट्रिय महिला आयोगले आज महेन्द्रनगरमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा यहाँका न्यायिक समिति संयोजकहरुले इजलास र जनशक्ति अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गर्नुभयो ।

उक्त अन्तरक्रियामा बेदकोट नगरपालिकाका उपप्रमुख एंव न्यायिक समिति संयोजक तुलसी जोशीले न्यायिक समितिमा कानुन अधिकृत, उजुरी प्रशासकलगायत जनशक्ति र छुट्टै न्यायिक कक्षको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको बताउनुभयो ।

“न्याय सम्पादनका लागि भौतिक संरचनाको अभाव छ, उपप्रमुखकै कार्यकक्षमा छलफल गराउनुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “कानुन अधिकृत नहुँदा न्याय सम्पादनमा अर्को चुनौती थपिएको छ ।” उहाँले अहिले वडास्तरसम्म मेलमिलाप केन्द्र सञ्चालन गरेर विवाद गाउँमै मिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । 

त्यसैगरी, कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक भुलियाकुमारी रानाले न्यायिक समितिलाई ठूलो चुनौती रहेको बताउनुभयो । “मेलमिलापकर्ताहरु सक्रिय छैनन् त्यसैमा कानुन अधिकृत नहुँदा पनि चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा समितिमा आएका एक सय ४१ मुद्दा निरुपण गरेका छौँ ।” उहाँले न्यायिक समितिमा थुप्रै चुनौती रहेको बताउनुहुँदै रानाले मेलमिलापकर्ताको सक्रियता आवश्यक रहेको बताउनुभयो । “गाउँघरका सामान्य विवाद, झगडा मिलाउन वडा तहसम्म समितिलाई सक्रिय बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “न्यायिक समितिको कार्यविधिमा संशोधन गरे न्यायिक समितिलाई अझ सहज हुन्छ ।” उहाँले न्यायिक समिति बलियो  अदालत, प्रशासनको कार्यभार पनि घट्ने बताउनुभयो ।”

महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला आयोगले न्यायिक समितिका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने बताउनुभयो । उहाँले महिला आयोगलाई पूर्ण अधिकार प्राप्त नभएको बताउँदै आयोगलाई प्रदेशस्तरसम्म ल्याउनुपर्ने बताउनुभयो । “महिला तथा बालबालिका विकास कार्यालय पनि स्थानीय तहमा लगेर एउटा कर्मचारीको भरमा राखिएको अवस्था छ,” उहाँले भन्नुभयो, “५१ प्रतिशतभन्दा बढी महिलाको जनसङ्ख्या भएको ठाउँमा महिला आयोगलाई भूमिका कम दिइयो ।”

संविधानको धारा, २१७ मा आफ्नो अधिकार क्षेत्र विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ । जिल्लाका सबै स्थानीय तहमा न्यायसम्बन्धी जानकार कर्मचारी नहुँदा न्यायिक समितिलाई मेलमिलाप गर्न समस्या हुने गरेको छ । अहिले न्यायिक समितिमा आपसी झैझगडा, कलह सामाजिक द्वन्द्व घरायसी झैझगडाका मुद्दा आउने गरेका छन् ।  उपप्रमुखलाई सामाजिक क्षेत्रबाट राजनीतिमा आएकाले कानुनसम्बन्धी सबै कुराको जानकारी नहुने र न्यायिक सल्लाहकारको खाँचो रहेको देखिएको छ ।

बर्दियामा कुहिएको अवस्थामा पाटेबाघ फेला

बर्दिया, ६ जेठ -बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिनुभयो ।

प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताउनुभयो ।

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौँ, ६ जेठ : छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आज यहाँ ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा सो जानकारी दिँदै योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास  प्रयासमा सँगै संलग्न हुनका लागि  चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय  गरिसकिएको जानकारी दिनुभयो । अर्काे एक प्रसङ्गमा उहाँले भन्नुभयो, “नेपाल चीनसँग कनेक्टिभिटी, पूर्वाधार विकास, कृषि, व्यापार, पर्यटन, लगानी, सूचना र सञ्चार प्रविधि तथा जनता जनताबिचको सम्बन्धलगायत महत्त्वपूर्ण क्षेत्रमा फराकिलो र गहिरो सहयोगका लागि प्रतिबद्ध छ ।”

नेपाली व्यापारीहरू चीनमा आफ्नो बजार खोज्न उत्सुक रहेकाले चीनबाट यसमा उच्चस्तरको सहयोग गरिने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबभन्दा ठूलो स्रोत देश चीनको नेपालमा हुने लगानीमा पनि नेपालले आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२५ सफल पार्न दुवै देशमा परिणामुखी संयुक्त गतिविधि गर्न पनि आग्रह गर्नुभयो । 

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनले एकापसमा विश्वास र सम्मान गर्ने तथा दुवैले आपसी चासोमा सहयोग गर्ने गरेको बताउँदै नेपालको ठूलो लगानीकर्ता र दोस्रो ठूलो व्यापारिक साझेदार चीनले दुवै देशका १४ नाका खोल्न लागेको जानकारी  दिनुभयो । 

कार्यक्रममा नेपाली राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसकी नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, नेकपा (एमाले) विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा विक्रम तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावती, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वराजदूत प्रमेश हमाल, नेकपा (माले) का महासचिव सिपी मैनाली र राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चस्तरका पदाधिकारीहरूबाट दुवै देशका भ्रमणका क्रममा भएका सन्धिसम्झौता एवं समझदारीहरू छिटो कार्यान्वयन गर्न र सम्पन्न गर्न तथा ढिला भएका परियोजना छिटो पूरा गर्न आग्रह गर्नुभयो । 

त्यस्तै नेपाल चीनसम्बन्धी सामाजिक संस्थाका प्रतिनिधिमध्ये अरनिको समाजका डा उर्मिला शाक्य, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का डा हरिशचन्द्र साह, वल्र्ड कल्चर नेटका दीपक सरकार, नेपाल चाइना एक्जेक्युटिभ काउन्सिलका शङ्कर पाण्डे, चीन अध्ययन केन्द्रका प्रा डा मोहन लोहनी, ट्रान्स हिमालय फ्रेन्डसिप एसोसिएसनका आनन्द्रप्रसाद पोखरेल, नेपाल चाइना फ्रेन्डस अफ क्लाउड ग्यादरिङका तारा बस्याल, फुदान एल्मुनाई एसोसिएसनका डा सरोज धिताल र नेपाल चाइना मिडिया फोरमका किशोर श्रेष्ठले बिआरआई परियोजना छिट्टै पहिचान गरेर कार्यान्वयनमा लैजान, दुई देशबीच व्यापार सन्तुलन कायम गर्न, सांस्कृतिक आदानप्रदान गर्न, जनता जनताबीचको सम्बन्ध वृद्धि गर्न, दुवै देशका विशेष नाम र शब्द तथा बौद्ध धर्मदर्शनबारेको बुझाइमा एकरूपता दिन, दुवै देशका सम्बन्धबारे सकारात्मक समाचार दिएर प्रेरणा जगाउन तथा लगानीमैत्री वातावरण प्रदान गर्नका लागि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल–चीन मैत्री मञ्चका  अध्यक्ष डा कल्याणराज शर्माले गोष्ठीमा सहजीकरण गर्नुभएको थियो । 

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौँ, ६ जेठ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्न लागेको जानकारी दिनुभयो ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

‘जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ’ : अध्यक्ष नेपाल

काठमाडौँ, ६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ । पेसागत महासङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन विस्तार अभियान नै हो भन्नुभयो । जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न पार्टीले आवश्यक राजनीतिक पहलकदमी लिने जनाउँदै उहाँले उहाँले भन्नुभयो, “पार्टी सरकारमा सहभागी छ, मन्त्रीहरुबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस् ।”

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज भेट भएको जानकारी दिनुहुँदै आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकारले मुलुकमा सामाजिक–आर्थिक रुपान्तरणका लागि नीति तथा कार्यक्रमलाई प्राथमिकता राखेको बताउनुभयो । उहाँले देशमा सुशासन कायम गरी विकास तथा समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।  सो अवसरमा महासङ्घका विभिन्न प्रकाशन विमोचन गरिएको थियो ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ, ६ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।साविक नारायणपुर–८ को कित्ता नं ९०८ को १५ बिघा जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकामा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरेको पाइएको छ ।

सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा सो जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिलाई कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख र नायब सुब्बा अग्निबहादुर शाहीविरुद्ध रु २४ करोड छ लाख ६९ हजार बराबरको बिगो दाबी गरेको छ ।

यस्तै, नापी अधिकृत मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । यसैगरी, जग्गाधनी दर्ता प्रमाणपत्र बनाउने बिन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलविरुद्ध पनि समान बिगो कामय गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’

काठमाडौँ, ६ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नाउने समेत धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

सांसद सापकोटाले भन्नुभयो, “यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जादैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबढी हुने स्थिति पनि छैन ।” उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गर्नुभएको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पार्नुभयाे । “उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रुपमा भनाइ राख्नुभएको हो । वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दनै”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गर्नुभयो । “रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफनै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो”, उहाँले भन्नुभयो, “समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ ।”

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

“सदनलाई मर्यादित रुपमा अगाडि बढाऔँ । सदनमा झडपको अवस्था सिर्जना हुनु राम्रो होइन, देशलाई आशा र भरोसा जगाउन सबै जिम्मेवार बनौँ । हूलहुज्जत र बल मिचाइले सदन चन्दैन”, उहाँले भन्नुभयो ।सहकारी संस्थाहरुको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्तिविशेषलाई केन्द्रित नगरी समग्र समस्या हल गर्नेगरी गरिनुपर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लगाउँदै आएकामा लामिछानेले भने त्यसको प्रतिवाद गर्नुभयो । “सहकारीका विषयमा अदालतमा मुद्दा छैन, कसैको बयानले मलाई पोलेको छैन”, उहाँले भन्नुभयो, “कुनै पनि ज्ञापनपत्रमा मेरो बारेमा उल्लेख गरेको छैन । मेराबारे सहकारीका सम्बन्धमा धेरै समाचार आए । हल्ला र मिडिया ट्रायलका भरमा समिति बनाउँदै जाने हो भने हामीले कस्तो संसदीय अभ्यास बनाउँदैछौँ भन्ने प्रश्न आउँछ ।” छानबिन समितिको कार्यादेश तय गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल कठोर भएर उपस्थित भएको र व्यक्ति विशेष छानबिन थालिनुपर्ने अडानमा कायम रहँदा सहमति जुट्न नसकेको लामिछानेको भनाइ छ ।

“प्रतिपक्षले लचकताका आधारमा समिति बनाउने कुरामा सहमति गरेर आएका हौँ, तर कार्यादेशको विषय नटुङ्गिँदै मिडियामा आइसक्छ । तपाईंहरुले कस्तो किसिमको समिति बनाउन खोज्नुभएको हो ?, रास्वपालाई बाहिर राखेर समिति गठन गर्ने भए पनि गर्नुस्”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।नयाँ दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको विषयलाई पुरानो र लामो संसदीय अभ्यास गुजारिसकेको नेपाली कांग्रेसले सहन नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “लोकतन्त्र र संविधानका आधारमा रास्वपा भर्खरै हुर्केको हो तर यहाँ निमोठ्ने प्रयास भयो । एउटा व्यक्तिलाई खुइल्याउने, सदनमा बोल्न नदिने अनि समस्याको समाधान गर्न पहल पनि गर्न नदिने स्थिति बन्यो ।”

उपप्रधानमन्त्री लामिछानेले सहकारी समस्या समाधानका लागि व्यक्ति केन्द्रित नभई समस्या केन्द्रित रहेर जानुपर्नेमा सरकार सदैव तयार रहेको बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारीमा सबैभन्दा पहिला बचतकर्ताको रकम फिर्ता गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले यही अधिवेशनमार्फत सहकारीका समस्या समाधानका लागि कुनै कानुन बनाएर जानसकिने भन्दै त्यस प्रक्रियामा सहजीकरण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

यसअघि विभिन्न समयमा उठेका आर्थिक अनियमितताका उदाहरण दिँदै उपप्रधानमन्त्री लामिछानेले ती घटनामा पनि छानबिन थालिनुपर्ने धारणा राख्नुभयो । सहकारी ठगीको विषय फौजदारी कसुरको विषय भएकाले सोहीअनुसार अनुसन्धान र अभियोजनलगायत कानुनी प्रक्रियामा जानुपर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री लामिछानेले समस्या केन्द्रित छानबिन अगाडि बढ्दा आफूले त्यसलाई सहजै स्वीकार्ने र आफूमाथिको छानबिनका लागि सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो । “संसदीय छानबिन समिति बनाउनूस्, म परीक्षित हुन तयार छु । सञ्चारमाध्यममा समाचार आएकै भरमा व्यक्ति केन्द्रित विषयमा समिति बनाउने होइन । समस्या केन्द्रित भएर छानबिन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित कार्यसूचीअनुसार अगाडि बढ्न सकेन । उपप्रधानमन्त्री लामिछानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजका लागि निर्धारित विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ ७ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ६ जेठ- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/ ८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको १० महिनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबै शीर्षकमा रु  पाँच अर्ब ५८ करोड ९६ लाख ५० हजार राजस्व असुली गरेको बताउनुभयो । “आन्तरिक राजस्व विभागले चालु आवको रु १० महिनामा सात अर्ब ३० करोड रकम राजस्व असुली गर्ने लक्ष्य तोकिदिएको थियो तर बजार सुस्ताएसँगै लक्ष्यको ७६ दशमलव ५६ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेका छौँ,” उहाँले भन्नुभयो, “चालु आवको १० महिनाको अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)तर्फको राजस्व सङ्कलनको वृद्धिदर गत आवको तुलनामा ३० प्रतिशतभन्दा धेरै छ तर अन्तःशुल्क कर भने यो वर्ष घट्ने देखिएको छ ।”  

कार्यालयले चालुको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै अन्तःशुल्क कर (एक्साइज इन्टरनल)तर्फ भने दुई अर्ब २२ करोड ७१ लाख २२ हजार सङ्कलन गरेको छ । अब भने अन्तःशुल्क करबापतको रकम आगामी दुई महिनामा धेरै बढ्ने सम्भावना न्यून छ ।  कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ भने रु एक अर्ब ७२ करोड ४७ लाख रकम असुली गरेको छ । त्यस्तै,  आयकर शीर्षकमा पनि एक अर्ब ५६ करोड ३६ लाख रकम असुली गरेको छ । 

चालु आवको १० महिनाका अवधिमा कार्यालयले व्याजकरबापत चार करोढ ७३ लाख ५६ हजार सङ्कलन ग¥यो । त्यस्तै, भाडाकरबापत दुई करोड ६६ लाख नौ हजार सङ्कलन गरेको छ । त्यस्तै, स्वास्थकरबापत एक लाख २४ हजार मात्रै सङ्कलन गरेको छ । कार्यालयले विशेषगरी छवटा शीर्षकमा कर असुली गर्ने गर्छ ।

कार्यालयका अनुसार यस वर्ष हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको बताइएको छ । 

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलनलाई बढाउनका लागि नियमित रुपमा बजार अनुगमन र कर सचेतना कार्यक्रम अघि बढाउँदै आइरहेको बताउनुभयो । आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवभरिमा रु  नौ अर्ब ४१ करोड  रकम सङ्कलन गर्ने लक्ष्य दिएको छ, तर कार्यालयले यस वर्ष लक्ष्यको कम्तीमा ७५ प्रतिशत हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरेको छ । विभागले गत आवमा कार्यालयलाई १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड मात्रै सङ्कलन  गरेको थियो ।

आयकर, भाडाको कर, व्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क कर र स्वास्थ्य कर असुली गर्ने गर्छ । कार्यालयमा हालसम्म एक लाख ४० हजार आठ सय ६३ करदाता दर्ता भएका छन् । त्यसैगरी, मूल्य अभिवृद्धि करमा भने १० हजार छ सय २५ दर्ता भएका छन् । त्यस्तैगरी, व्यक्तिगत आयकरमा भने ८६ हजार एक सय ८० र आयकरमा भने ४१ हजार दुई सय २६ जना दर्ता भएका छन् ।

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।


फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताउनुभएको छ ।फरयाब प्रान्तका अर्का अधिकारीले सोही दिन दिउँसो १८ जनाको मृत्यु भएको बताउनुभयो ।

“यससँगै अफगानिस्तानमा बाढीमा परी पछिल्ला दुई दिनमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ,” मोहम्मदीले बताउनुभयो । प्रान्तको बेलचाराग, चेहलगाजी र कारघान जिल्लामा भएको प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिनुभएको छ । यसैबीच घोर प्रान्तमा शुक्रबार र शनिबार आएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको घोर प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले आइतबार बताउनुभयो

इरानमा पप गायक टाटालुलाई कारगार सजाय

इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर हुसेन मगसौदलुलाई ‘अश्लील सामग्री’ प्रसारित गरेको आरोपमा कारागार सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ ।


छत्तिस वर्षीय सङ्गीतकार मगसौदली गत वर्ष डिसेम्बरमा टर्कीए प्रहरीले इरानलाई सुम्पनुअघि सन् २०१८ देखि भूमिगतरूपमा इस्तानबुलमा बस्दै आएका थिए । त्यसबेलादेखि उनी इरानी हिरासतमा छन् ।उनका वकिल एल्हम रहिमीफरले विस्तृत जानकारी नदिई टाटालुलाई ‘छोटो र लामो’ कारागार सजाय दिइएको बताउनुभयो । उहाँले सरकारी अखबार जाम–ए–जामलाई सजायविरुद्ध पुनरावेदन गर्न सकिने बताउनुभयो ।

पछि इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले टाटालुलाई ‘ईश्वर निन्दा’ का लागि तीन वर्षको कारागार सजाय दिइएको बताएको छ । मिजानले विस्तृत उल्लेख नगरी उनले अन्य आरोपको पनि सामना गर्नुपरेको बताएको छ । इरानको कानूनअन्तर्गत कारागार सजाय एकैसाथ चल्छ । टाटालुविरुद्ध मार्चमा ‘वेश्यावृत्ति’ लाई बढावा दिएको र इरान तथा अन्य ‘अश्लील सामग्री’ विरुद्ध ‘प्रचार’ फैलाएको आरोपमा मार्चमा मुद्दा सुरु भएको थियो ।

र्याप, पप र आर एन्ड बिको संयोजनका लागि परिचित अत्यन्त धेरै ट्याटु लगाएका गायक टाटालुलाई यसअघि रूढिवादी राजनीतिज्ञहरूले युवा, उदार विचारधारा भएका इरानीहरूसम्म पुग्ने तरिकाका रूपमा प्रस्तुत गरेका थिए । यहाँसम्म कि उनले सन् २०१७ मा अति–रूढिवादी तथा हालका इरानका राष्ट्रपति इब्राहिम रायसीसँग एउटा अप्ठ्यारो टेलिभिज बैठक पनि गरेका थिए । तेहरान र विश्व शक्तिहरूबीच ऐतिहासिक आणविक सम्झौता नसुल्झिरहेका बेला सन् २०१५ मा टाटालुले इरानको आणविक कार्यक्रमको समर्थनमा एक गीत प्रकाशित गरेका थिए ।

इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ घटनको विवरण अहिलेसम्म अज्ञात छ तर प्रारम्भिक रिपोर्टअनुसार राष्ट्रपतिको हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार आपत्कालीन सेवाहरूले राष्ट्रपतिको हेलिकप्टरको खोजी गरिरहेका छन् तर उक्त क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको छ ।

इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानमा इस्लामिक न्यायिक संरक्षकका प्रतिनिधि मोहम्मद अली आले–हाशेम तथा ताब्रिजमा शुक्रबारको प्रार्थनका इमाम कथितरूपमा रायसीको हेलिकप्टरमा रहेको जेरुसेलम पोस्टले बताएको छ ।

इरानी आधिकारिक सञ्चारमाध्यमका अनुसार सवारीमा तीन हेलिकप्टर संलग्न थिए । यसमा दुई वटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनाग्रस्त भएको छ । उक्त जानकारी पूर्वी अजरबैजानका नागरिक मामिलाका उपसंयोजकले प्रदान गरेका हुन् ।    दुर्घटना आइतबार अजरबैजानी–इरानी सीमामा रायसीले अजरबैजानी इल्हम अलियेभसँग भेट गरेको केही घन्टामा भएको हो । थप जानकारीको प्रतीक्षा गरिएको छ । 

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएकोे छ ’ : महासचिव पोखरेल

देउखुरी (दाङ), जेठ ६- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएकोे बताउनुभएको छ । नेत्रलाल पौडेलको ४१औँ स्मृति दिवस तथा एमाले जिल्ला कमिटी दाङको १४औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशासहित पार्टी नेतृत्व अगाडि बढेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई बदल्ने हो भने धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएकोे छ ।”

एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभा सदस्य विष्णु पौडेल, लुम्बिनी प्रदेश एमाले सचिव लक्ष्मण आचार्य, नेकपा (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एमाले रोल्पा अध्यक्ष अमित बुढालगायतले धारणा राख्नुभएको थियो । जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेले स्वागत गर्नुभएको थियो । दुईदिने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरमा महानगरको डोजर

काठमाडौँ, ६ जेठ : काठमाडौँ महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आजदेखि भत्काउन सुरुआत गरेको छ । मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घरटहरा र सटरहरु आजदेखि भत्काउन सुरु गरिएको छ, सबै कति घर छन्, भत्काएपछि मात्रै थाहा हुनेछ ।” यसअघि शुक्रबार मात्रै काठमाडौँ महानगरपालिकाको टोलीले भत्केको पुल आसपासमा निर्माण गरिएका मापदण्ड विपरीतका संरचना भत्काएको थियो ।