`

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

कालोपत्र गर्न थालियो जोमसोम-कागबेनी सडक

मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिए । ‘२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौँ, ‘ उनले भने, ‘पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौँ ।’

१८ महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो ।
आयोजना प्रमुख ध्रुवकुमार झाका अनुसार यसअघि नै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ, फिलिङ, नाली निर्माणका लागि ठेक्का लगाइएको थियो ।

बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौँ।नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गर्नुभएको छ ।सोमबार बेलायती सहर लन्डनको नम्बर १० डाउनिङ स्ट्रिटमा सो समारोहको आयोजना गर्नुभएको नेपालस्थित बेलायती दूतावासले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यस अवसरमा नेपाल र बेलायतका बीचमा सय वर्षअघि सन् १९२३ मा सिंहदरबारमा हस्ताक्षर गरिएको मैत्री सन्धिको प्रति पनि प्रदर्शनीमा राखिएको थियो ।

सो समारोहमा बेलायतका सांसद तथा उच्च अधिकारीहरु, नेपालका लागि बेलायती राजदूत ज्ञानचन्द्र आचार्य तथा लन्डनमा रहेका नेपाली समुदायका नागरिकहरु, ब्रिटिस गोरखामा रही सेवा गरेका नेपाली नागरिक एवं हिमाल आरोहीलगायतको उपस्थिति रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले बेलायत नेपाल सम्बन्धका विविध आयामहरुका बारेमा चर्चा गर्नुभयो । उहाँले बेलायतका लागि नेपाली ब्रिटिस गोरखाहरुले अतुलनीय योगदान पु¥याएको स्मरण गर्दै नेपालको यो योगदानले नै दुई देशबीचको सम्बन्ध सदाका लागि सुमधुर तथा अविस्मरणीय रहिरहने बताउनुभयो ।

सो अवसरमा उहाँले बेलायत र नेपालले शान्ति, पारस्परिक सम्मान र मित्रतालाई सदैव कायम राख्ने प्रतिज्ञा गर्दै सय वर्षअघि गरेको सो सन्धिको हस्ताक्षर दुई देशबीचको एक ऐतिहासिक धरोहर भएको र यसले दुई देशको सम्बन्धलाई सधैँका लागि जीवन्त राख्ने पनि बताउनुभयो । सो समारोहमा इन्डो प्यासिफिकसम्बन्धी बेलायती स्टेट मिनिस्टर अन्ना म्यारी र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि नेपाल बेलायत सम्बन्धका विविध क्षेत्रमा धारणा राख्नुभएको थियो ।

चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइयो

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो । बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखी बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले सौराहामा राखिएको छ ।

पशुपतिले हामि सबैको रक्षा गरुन्, हेर्नुहोस् जेठ ९ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि – मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि- परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि- मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि- मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि- हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि- मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

तरकारी खेतीबाट वार्षिक आठ लाख बचत गर्दै धनगढी बङ्गारा गाउँकाका चौधरी

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहेका व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्छन् ।साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन)को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्यावसायिक तरकारी खेतीमा लाग्ने उत्प्रेरणा जगाएको हो । १७ कठ्ठा जग्गामा १८ वर्षदेखि तरकारी खेती गर्दै आएका उनले भने, “एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि तालिम लिएर तरकारी खेती सुरु गरे, अहिले वार्षिक तरकारीको कारोबार भइरहेको रु १५ लाखमध्ये रु आठ लाख बचत गर्न सफलता मिलिरहेको छ ।”

उनको घरमा चार सदस्य छन् । अन्य रोजगारी नभएपछि उहाँसहितका परिवारका सदस्यहरुको मुख्य रोजगारी तरकारी खेती नै बनेको छ । भेटेरीनरी जेटिएसम्मको अध्ययन पूरा गर्नुभएका ४० वर्षीय चौधरीले भने, “लोकसेवा दिएर जेटिए ९जुनियर टेक्निकल असिस्टेन्टं० मा नाम निकाल्न सक्थेहोला, तर त्यतातिर ध्यान नदिई जागिर गरेर पाउने तलबभन्दा तरकारी खेतीबाट भइरहेको आम्दानीले सन्तुष्ट छु ।”

उनमा सानैदेखि उद्यमी बनेर गाउँमा रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । उनको कृषि फर्म सञ्चालनमा छ । परिवारका सदस्यबाहेक नियमित रुपमा र सिजनको समयमा गरी उनले सात जनालाई रोजगारी दिएका छन् ।

“बाह्रै महिना सिजन अनुसारका तरकारी लगाउँछु, तरकारी बिग्रिने पनि हुँदैन, लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो”, उनले भने, “तरकारी बारी कहिल्यै खाली हुँदैन् । काँक्रा, फर्सी, पालङ, बोडीलगायतका तरकारी हुर्किदा मन सन्तुष्ट हुन्छ ।”

तरकारीबारीमा व्यापारी पुगेर थोक मूल्यमा तरकारी खरिद गर्ने गरेकोले उत्पादित तरकारी बिक्री गर्न समस्या नरहेको उनले बताए। यसबाहेक धनगढीमा हप्तामा तीन दिन सञ्चालन हुने कृषि हाट बजारमा आफ्नो कृषि उपज बिक्री गर्न ल्याउँछन् ।

धनगढी वसन्त टोलका तरकारी पसले अनिल चौधरी तरकारी खेती गरेर दिनेश चौधरी धनगढीको एक सफल कृषकको रुपमा स्थापित भएको बताउँछन् । “धनगढीको कृषि हाटबाजारमा उहाँको बारीको धेरै परिमाणको तरकारी आउने गरेको छ”, अनिलले भने, “उहाँको परिश्रम देखेर आफूलाई तरकारी खेती गर्ने रहर जागेपनि परिस्थितिले गर्न सकेको छैन, तरकारी बेचेर जीवन निर्वाह गरिरहेको छु ।”

तरकारी खेतीसँगै होटल व्यवसाय पनि गरिरहेका दिनेशले पछिल्ला वर्षमा केरा र मेवा खेती पनि गर्न थालेका छन् । उनले भने, “विगत तीन वर्षदेखि सात कठ्ठा जमिनमा केरा खेती गरेको छु । थप जग्गामा तरकारी खेतीसँगै मेवा पनि रोपेको छु ।”

केराबाट मात्रै वार्षिक रु एक लाख ५० हजार बढी हजार आम्दानी हुन थालेपछि यो खेतीको विस्तार गर्ने सोच उनले बताए । केरा खेती विस्तारपछि थप पाँच जनालाई रोजगारी दिन्छु । उनले यो व्यवसायका अलावा बङ्गारा कटान गाउँमा थारु होम स्टे (थारु घरवास) सञ्चालन गरिरहेका छन् ।

थारु होम स्टेमा थारु समुदायको परम्परागत खानका परिकारले पाहुनाको स्वागत गर्ने गरिन्छ । उनले भने, “होमस्टेमा थारु सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएकोमा कोरोना भाइरसको महामारीसँगै सांस्कृतिक कार्यक्रम भने बन्द गर्यो ।”

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।मन्त्रालयले आज पत्रकार सम्मेलन गरी रोजगारीको खोजीमा रहेका व्यक्तिको रोजगारदातासमक्ष सहज पहुँचअभिवृद्धि गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको जनाएको हो ।

श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुआत मात्रै भएको र यसले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । उनलेआगामी दिनमा मेलालाई जिल्ला, स्थायिन र वडासम्म पनि पु¥याउन सकिने बताए ।

श्रममन्त्री अर्यालले मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए । उनले भने, “मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने बिषयमा जानकारी पाउन सक्नेछन् । त्यसैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सकिनेछन् ।”

मेला यही जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताबीच मध्यस्थताको काम गर्ने जनाइएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई जोड्ने पुलको रुपमो काम गर्ने श्रममन्त्री अर्यालको भनाई छ ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाको पनि सहभागिता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल व्यवसायी महासङ्घको पनि मेला स्टल राखिनेछ । मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा यही जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेस प्रदेशको वीरगञ्जमा जेठ १९ र २० गते सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा जेठ २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बागमती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी। गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) को परिमार्जित आधारपत्र आज सार्वजनिक गरेको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८१ जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र एक कार्यक्रमका बीच मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री अधिकारीले यसअघि सार्वजनिक आधारपत्र १६औँ पञ्चवर्षीय योजनासँग तालमेल नमिल्नुका साथै संविधानले लक्षित गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएका कारण परिमार्जन गरिएको बताए ।

गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको बताउँदै उनले निरन्तरको खटाइबाट यसलाई परिमार्जन गरिएको बताए। यसअघिका सरकारले सहयोग लिएका विज्ञलाई बोलाएर आधारपत्र परिमार्जन गरिएको उनले जानकारी दिए।

यसअघि नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले सार्वजनिक गरेको आधारपत्रमा ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’ को सोच हासिल गर्न उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएकोमा अधिकारी नेतृत्वको सरकारले समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ लाई दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरेको छ।

आधारपत्रमा उल्लेखित तीन उद्देश्यमा आर्थिक वृद्धि एवं विकासका लाभको समतामूलक र न्यायोचित वितरणमार्फत समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु, मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नु र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नु उल्लेख गरिएको छ।

गण्डकी प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा श्रीकान्त खतिवडाले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, सामाजिक समावेशिताको क्षेत्रमा केही परिमार्जन गरिएको जानकारी दिए। समृद्ध प्रदेश स् सुखी प्रदेशवासीको सोच हासिल गर्न उत्पाचदकत्व वृद्धि, मर्यादित जीवन र सामाजिक न्यायसहितको सुशासनयुक्त समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए।

प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिकालगायतका विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्नका लागि जलवायु कोषबाट नेपालले पर्याप्त लाभ पाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि योजनाबद्ध एवं संस्थागत तवरले अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि युएन एफसिसीको सहयोग आवश्यक छ भन्नुभयो ।

भेटवार्तामा अध्यक्ष ह्यारीले हिमाल र पर्वतीय मुलुकका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपालको सक्रियप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले जलवायुसम्बन्धी विश्व सम्मेलनमा नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई धन्यवाद व्यक्त गर्नुभयो । रासस

प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले आज गरेको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले समानीकरण अनुदान संवैधानिक अधिकार भएकाले यसलाई कटौती गर्नेबारे सङ्घीय सरकारले कुनै सोच नराखेको बताए ।प्रधानमन्त्री प्रचण्डले भने, ‘समानीकरण अनुदान प्रदेश र स्थानीय सरकारको संवैधानिक अधिकार हो । अर्थतन्त्रको दबाब पूरै हटिसकेको छैन । तर, जस्तोसुकै दबाब भए पनि समानीकरण अनुदान काटिँदैन । यसमा सङ्घीय सरकार प्रष्ट छ ।’

छलफलमा अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदान कटौती गर्ने कुनै सोच नभएकाले अनावश्यक भ्रममा नपर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे ।उनले भने, ‘सङ्घीय सरकार अर्थतन्त्रको दबाबमा छ । सञ्चित कोष ऋणात्मक नै छ । तर, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समानीकरण अनुदान काट्दैनौँ । बरू, प्रदेश र स्थानीय सरकारमा खर्बौँ रकम डिपोजिटमा बसेको छ । त्यसलाई खर्च गर्नुस् । प्रदेश र स्थानीय सरकारको पुँजीगत खर्च बढाउनुस् ।’

भेटमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले अर्थतन्त्रको दबाबलाई ख्याल गर्दै समपूरक अनुदानमा पुनर्विचार गर्नेबारे आफूहरू लचक भएको बताउँदै समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका थिए ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

मकवानपुर । बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरू बीचमा सहमति भएको बताउनुभयो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ

गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्तरुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज हेटौँडामा शुभारम्भ भएको छ ।

दुई दिने उक्त सुरक्षा गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरू सम्मिलित हुनुभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभयो ।

गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, सङ्घीय गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, रथी अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक वसन्तराज कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा, बागमती प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्कीसहित सहभागिता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

गोष्ठीले प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर सुरक्षा चुनौतीलाई विश्लेषण गरी जिल्लामा जनताको लागि सेवा प्रवाह गर्ने कार्यमा समीक्षा गरी सुरक्षाको नयाँ अवधारणा तयार गर्ने उद्देश्य रहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।

प्रदेश र सङ्घीय सरकारबीच साझेदारी कार्यक्रममार्फत प्रदेशको प्रत्येक जिल्लामा शान्ति सुरक्षाको अमन चयन कार्यान्वयनमा आइपरेका समस्यालाई नयाँ सोच र कानुनी प्रक्रियाको अवलम्बन गरी अपराधको अनुसन्धान, नियन्त्रण र जनतामा मानव अधिकारको प्रत्याभूति गर्न सुरक्षाको रणनीतिमा वैकल्पिक उपाय अवलम्बन गर्दै लैजाने सो सुरक्षा गोष्ठीको उद्देश्य रहेको गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिनुभयो ।
सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, जनतामा सेवा प्रवाह, राहदानी वितरणलगायत अपराध नियन्त्रणको विषयमा प्रस्तुत गर्नुहुने जनाइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उहाँले यही जेठ ७ गते सोमबार बिहान १०:२० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

इलाइट एक्सपेड नेपाल एपिएफ एभरेष्ट एक्सपीडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले यस बीचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो ।

एपिएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको जनाएको छ ।

हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एपिएफले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ ।

सगरमाथा सीमा क्षेत्रसमेत रहेकाले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितिको रुपमा समेत सङ्गठनले लिएको छ ।

निरीक्षक पौडेलले उत्तरी सिमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सीमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुगेको थियो ।सबैभन्दा अग्लो र होचो भू–भागमा सशस्त्र प्रहरीका अधिकृत तथा गस्ती टोली एकैसाथ पुगेको बलका प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता थापाले जानकारी दिनुभयो । रासस

प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारमा आज भएको उक्त भेटमा उहाँहरूबीच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–बङ्गलादेशबीच हुने विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा विद्युत् व्यापार क्षेत्रीय स्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल र बङ्गलादेश दुवैले जलवायु परिवर्तनको असर व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।बङ्गलादेशका मन्त्री चौधरीले नेपाल–बङ्गलादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै ऊर्जा व्यापारबाट दुवै देश लाभ लिन सक्ने अवस्थामा पुगेका बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई नेपाल–बङ्गलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी गराउनुभयो ।

मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आउनुभएको हो ।

उक्त भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेल र बिम्स्टेक का महासचिव पाण्डेबीच शिष्टाचार भेट

काठमाडौँ, ८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताए । उनले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुक रहेका बताउँदै आपसी सहयोगका साथै अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनका असर कम गर्न साझेदारी आवश्यक भएको बताए ।राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर कम गर्न हिमाललगायत पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडौँ, ८ जेठः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकमा सबै सदस्य सहभागी हुनुहुन्छ ।

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ । कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुनुहुन्छ ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको माइक्रो बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब

लमजुङ, ८ जेठः सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन ।

हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले राससलाई बताउनुभयो । दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उहाँको तर्क छ ।

विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् । हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताउनुभयो । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।
मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।

मध्यविन्दु नगरपालिकामा कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम

मध्यविन्दु (नवलपरासी), ८ जेठः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । चालु शैक्षिकसत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८ कक्षासम्मका सबै विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पठनपाठन सुरु गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

“विद्यार्थीमा आत्मीय भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाताभित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम देशमा नै पहिलोपटक सुरु गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

“जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठता, राष्ट्रप्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग सम्बन्धित विषय पाठ्यक्रमका समावेश छन्”, उहाँले भन्नुभयो । विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धानपछि पाठ्यक्रम तयार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । “विज्ञ समूहबाट नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एकसाथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ ।”

चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरिएको हो । नेपालमा अहिलेसम्म प्रयोग भएका पाठ्यक्रमभन्दा यो निकै भिन्न र व्यावहारिक रहेकाले उपलब्धिपूर्ण हुने पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले बताउनुभयो ।

“कथा र गतिविधिका माध्यमबाट बालबालिकामा विचारशीलता तथा जीवन मूल्य र सम्बन्धबोध गराउने हेतुले पाठ्यक्रम तयार पारिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको आनिबानी, संस्कार, बौद्धिक एकाग्रता, सोचको दायराका क्षेत्रमा यस पाठ्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छ ।”

मध्यविन्दु नगरपालिकाभित्रका सबै शिक्षकलाई पाठ्यक्रमसम्बन्धी तालिम सञ्चालन, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिमलगायतका काम सम्पन्न गरिएको संयोजक देवकोटाले बताउनुभयो ।

मध्यविन्दुमा सामुदायिक र संस्थागत गरी ६४ विद्यालय छन् । ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्न गण्डकी प्रदेश सरकारले नवपर्वतक कार्यक्रमअन्तर्गत रु ७६ लाख र नगरपालिकाले रु ४५ लाख रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

ढोरपाटन (बागलुङ), ८ जेठ : बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ ।

विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले राससलाई बताउनुभयो । कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित तीन सय ३९ जना स्वास्थ्यकर्मी, छ सय ८९ जना स्वयंसेवक खटाइने प्रमख आचार्यले जानकारी दिनुभयो ।

खोप व्यवस्थापन तथा अनुगमनका लागि ९५ जनालाई खटाइने प्रमुख आचार्यले बताउनुभयो । स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने उहाँले बताउनुभयो । खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो, नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ । सोहीअनुसार बागलुङमा पनि यो अभियान सञ्चालन गर्न थालेका हौँ, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाएका छौँ ।”

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी, ८ जेठः गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो ।

नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते रु छ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएका राससलाई बताउनुभयो ।

दुई सय दुई किलोमिटर बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप छवटा स्थानमा पुल निर्माण भएको छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको छ ।

नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ खोलाको पुुलको लागत रु चार करोड ६८ लाख दुई हजार छ सय ३८, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु छ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत रु छ करोड ८५ लाख हो ।

कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ । सडक विभागले बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना मार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

विभागको पुल महाशाखाका अनुसार े म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।

पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो । छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ ।

विवाहको बहानामा मानव बेचबिखन : पाँच लाख लिएर बिहे गराइदिने मनमाया पक्राउ

काठमाडौँ- विवाहको वहाना बनाएर चीन पु¥याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

  ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनीयाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचविखन गरेको खुल्न आएको जानकारी दिनुभयो ।

  “पक्राउ परेकी घलेले चिनीयाँ नागरिकसँगको मिलेमतोमा पीडित महिलालाई जिल्ला अदालत काठमाडौँ लगेर ललाई फकाई ‘कोर्ट म्यारिज’ गरिदिएको अनुसन्धानमा खुल्न आएको छ,” उहाँले भन्नुभयो । विवाह गरी चीनमा पु¥याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले रु पाँच लाख लिएर बेचविखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले बताउनुभयो । काठमाडौँको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

जलेश्वर (महोत्तरी), ८ जेठः भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।

रायसीको निधनले इरानको विदेश नीति परिवर्तन हुने सम्भावना छैन– विश्लेषकहरू

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए पनि यसले इरानको विदेश नीति वा मध्यपूर्वमा उसको भूमिका परिवर्तन गर्ने सम्भावना नभएको विश्लेषकरूले सोमबार बताएका छन् । कट्टरपन्थी धर्मगुरु रायसीलाई इरानमा अन्तिम अधिकार भएका ८५ वर्षीय सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारी मानिन्थ्यो । रायसीको निधनले राजनीतक व्यवस्थालाई स्थिरता सुनिश्चित गर्न मुलुकका अधिकारीहरूका लागि चुनौती दिनेछ ।

तथापि विश्लेषकहरूले आयातुल्लाह खामेनी तथा गोप्य सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को डोमेन इरानको विदेश नीतिको निरन्तरतामा विश्लेषकहरूले बाजी लगाइरहेका छन् ।    “रायसीको जस्तै रूढिवादी तथा व्यवस्थाप्रति वफादार एउटा उत्तराधिकारी देखा पर्न सक्छ”, इन्टरनेसनल क्राइसिस ग्रुपका इरान विशेषज्ञ अली भाएजले सामाजिक सञ्जाल एक्समा ‘परिवर्तनभन्दा बढी निरन्तरता’ को आशा गर्दै भन्नुभयो, “विदेश नीतिमा सर्वोच्च नेता र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले रणनीतिक निर्णयहरूमा प्रभुत्व जमाउन जारी राख्नेछन् ।”

फाउन्डेसन जिन–जौरेसका इरान विशेषज्ञ फरिद वाहिदले भन्नुभयो, “रायसी पूर्णरूपमा गार्ड कोरसँग नजिक हुनुहुन्थ्यो, उहाँले यस क्षेत्रमा गार्डका लागि धेरै स्थान र स्वतन्त्रता दिनुभएको थियो ।” उहाँका अनुसार रायसी पूर्णरूपमा नेताको अधीनमा हुनुभएकाले उहाँसँग निर्णय लिने काम एकदमै तरल थियो । 

“इरानी रूढिवादीहरूका लागि प्रश्न भनेको अत्यन्त धेरै समस्या उत्पन्न नगर्ने कुनै व्यक्तिलाई खोजेर निर्वाचित गर्नु हो”, उहाँले भन्नुभयो । इरानमा ५० दिनभित्र राष्ट्रपति निर्वाचन गर्न रायसीको स्थानमा ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम कार्यभार सुम्पिएको छ । 

रायसीको निधन यस्तो समयमा भएको छ जतिबेला अक्टोबर ७ मा इजराइलमाथि हमासको आक्रमणबाट गाजामा युद्ध सुरु भएपछि इरान र इजराइलबीच तनाव बढिरहेको छ । इरानले इजराइलविरुद्ध तीन सय ५० ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै अभूतपूर्व आक्रमण गर्दा अप्रिलको मध्यमा त्यो तनाव चरम अवस्थामा थियो । अमेरिका र अन्य सहयोगी मुलुकको सहयोगमा ती ड्रोन र क्षेप्यास्त्रलाई रोकिएको थियो । 

तेहरानले इजराइलविरुद्ध लेबनानको हिजबुल्लाह, प्यालेस्टिनी इस्लामिक समूह हमास र यमनमा हुथी विद्रोहीसहितका सशस्त्र समूहको नेटवर्कको कथित प्रतिरोधको धुरीलाई पनि समर्थन गर्दछ । 

“यो यथास्थिति रहने छ”, मिडिल इस्ट इन्स्टिच्युटका विशेषज्ञ जेसन ब्रोडस्कीले ती समूहरूसँग इरानको सम्बन्धका बारेमा भन्नुभयो, “इस्लामिक रिभोल्युसनरी गार्ड कोरले सर्वोच्च नेतालाई रिपोर्ट गर्छ र हिजबुल्लाह, हुथी, हमास र सम्पूर्ण क्षेत्रमा मिलिसियासँग सम्पर्क गर्दछ, इरानको कार्यप्रणाली र भव्य रणनीति त्यही रहनेछ, प्रणालीमा रणनीतिक निर्णय लिने सर्वोच्च नेता हुन्छ र कार्यान्वयनकर्ता राष्ट्रपति हुन्छ ।”

इरानले आणविक हतियार हासिल गर्न खोजेको कुरालाई अस्वीकार गर्दै आएको छ तर उसले अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्ने विश्व शक्तिहरूसँगको सन् २०१५ को सम्झौताअन्तर्गत आफ्ना प्रतिबद्धताहरूलाई पालना गरिरहेको छैन । सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले एकतर्फी फिर्ता लिएको जेसिपिओए नामक उक्त सम्झौता भङ्ग भएपछि इरानमाथि पुनः कडा प्रतिबन्ध लगाइयो । हेलिकप्टर दुर्घटनामा निधन भएका शीर्ष कूटनीतिज्ञ होसेन अमिर–अब्दुल्लाहियानको स्थानमा सोमबार इरानको लामो समयसम्म आणविक वार्ताकार अली बघेरीलाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । 

जेनेभामा अरब र भूमध्यसागरीय विश्वको अध्ययन तथा अनुसन्धान केन्द्रका निर्देशक हसनी आबिदीले एक्समा भन्नुभयो, “इरानी विदेश मन्त्रालयसँग पहिलादेखि नै एक नयाँ प्रमुख छन् र प्राथमिकता त्यही छ ः आणविक कार्यक्रममा वार्ता ।”ब्रोडस्कीले भन्नुभयो, “इरानको आणविक कार्यक्रम र यसको वरपरको निर्णय अपरिवर्तित हुनेछ किनकी अन्त्यमा आणविक फाइलको निरीक्षण गरिरहेको सर्वोच्च नेता र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् छ ।” त्रिसठ्ठी वर्षीय अतिरूढिवादी रायसी सन् २०२१ देखि राष्ट्रपति पदमा हुनुहुन्थ्यो । उक्त समयमा इरानलाई ठूलो मात्रामा जनविरोध र अमेरिकी प्रतिबन्धहरूका कारण आर्थिक सङ्कटले हल्लाएको थियो ।

आबिदीका अनुसार अर्को सर्वोच्च नेताको खोज गेम चेन्जर हुनेछ । “रायसी भावी नेता हुनुहुन्थ्यो, उहाँलाई व्यवस्थाको सबै तत्वको समर्थन प्राप्त थियो”, उहाँले भन्नुभयो । वाहिदका अनुसार ‘शासन परिवर्तन’ भए मात्र इजराइल वा संयुक्त राज्य अमेरिका वा तिनीहरूको आणविक कार्यक्रमप्रति इरानको विदेश नीतिमा आमूल परिवर्तन हुनेछ । “रायसीको निधनले केही फरक र केही मतभेद ल्याउन सक्छ तर जबसम्म नेता जिउँदै र गार्डहरू रहुन्जेल कुनै ठूलो परिवर्तनको आशा गर्नु हुँदैन ।”

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौँ, ८ जेठः संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ ।नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा गर्नुभयो । विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनुभयो ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताउनुभयो । उहाँले नेपाालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गरी उसको मध्यम आययुक्त मुलुक बन्ने लक्ष्यमा सहायता गर्ने बताउनुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गर्नुभयो । उहाँले मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल भएका प्रगतिबारे जानकारी दिँदै राजदूत आचार्यले नेपालको विकासमा बेलायतले पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो । साथै उहाँले आगामी एक सय वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रमा विस्तार गरी पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउन दुवै पक्षबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति थियो ।

नेपाल र बेलायतबीच सन् १९२३ को मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली समुदायको सहयोगमा सो समारोह सम्पन्न भएको हो । यो ऐतिहासिक अवसरलाई स्मरणीय तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित प्रेक्षालयमा गत २१ डिसेम्बरमा विशेष समारोह आयोजना गरिएको थियो । सोही प्रेक्षालयमा २१ डिसेम्बर १९२३ मा उक्त सन्धिमा हस्ताक्षर भएको थियो ।

रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगे

मुगु- रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अनुसार दसैँ-तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए ।

चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जरिवाना, काठ दाउरा, लगायतबाट सङ्कलन भएको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा ११ हजार एक सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए । सार्क मुलुकका २६ र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ । डुङ्गा चढ्ने प्रति व्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०-४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका छन् ।

रारा घुम्न आउने मध्ये हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत आउने गरेका छन । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको स्थानीयवासीको भनाइ छ । रारा क्षेत्रमा पर्यटकलाई सुविधायुक्त होटल र भरपर्दो सडक नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् ।

कोभिड-१९ ले थलिएको राराको पर्यटन क्षेत्र यो वर्षको १० महिनामा फस्टाएको हो । रारा घुम्न आउने पर्यटकका लागी जेठदेखि असोजसम्म हरियाली हुने भएकाले विभिन्न प्रजातिका फूलहरुले रारा झनै सुन्दर देखिने गर्छ ।रारामा वैशाखदेखि भदौसम्म गर्मी छल्न र हरियालीमा घुम्न, असोजदेखि मङ्सिरसम्म बिदा मनाउन, पुसदेखि चैतसम्म हिउँ खेल्न र हिमालयको दृश्यावलोकन गर्न पर्यटक रारा आउने गर्दछन् ।

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौँ- भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।” परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज, (पर्सा) ८ जेठ: वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै रु ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म रु ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको राससलाई जानकारी दिनुभयो । ‘‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’’ उहाँले भन्नुभया ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर रु ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताउनुभयो । ‘‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले रु१३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर(मालपोत) कर उठेको छ,’’ उहाँले भन्नुभयो,‘‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ ।

हानगरले बहाल करतर्फ रु तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत रु दुई करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर रु दुई करोड ९२ लाख ४ हजार उठाएको छ । गत आवमा रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो ।

आज दिउँसो देशभर आंशिक बदली हुने, यी स्थानमा पानी पर्ने

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी

कर्णाली, ७ जेठ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताउनुभयो । उहाँले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताउनुभयो ।

गभर्नर अधिकारीले भन्नुभयो, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा लिने एक जना मात्र भेटिए । हामीले प्रत्येक बैंकबाट पाँच जनालाई कर्जा दिने व्यवस्था गरेका छौँ ।” लघुवित्त संस्थामा ६० लाख सदस्य आबद्ध रहेको उल्लेख गर्दै उहाँले ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको बताउनुभयो ।

“कर्णालीमा वित्तीय साक्षरता आवश्यक छ । ऋण लिनेहरु कहिल्यै पीडित हुँदैनन । ऋणीहरुलाई गुनासो राख्ने डेस्क बनाइएको छ”, गभर्नर अधिकारीले भन्नुभयो । उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै उहाँले साना व्यवसायीलाई कर्जा दिन सहज व्यवस्था गरिएको उल्लेख गर्नुभयो । प्रत्येक व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै गभर्नर अधिकारीले बैंकर्स र व्यवसायीबीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो ।

छलफलमा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायी डुबेर पलायन हुने र आत्महत्या गर्नुपर्ने समस्या एवं चुनौती दिनानुदिन बढ्दै गएको भन्दै आर्थिक सुधारका लागि मौद्रिक नीति उद्योगी तथा व्यवसायीमैत्री ल्याउन राष्ट्र बैंकलाई अनुरोध गर्नुभयो ।उक्त छलफलमा सुर्खेतस्थित बैंकका प्रबन्धक, लघुवित्त तथा औद्योगिक ग्राम सञ्चालक, सरकारी निकायका प्रमुख, उद्यमी, व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

जलेश्वर (महोत्तरी), ७ जेठ : महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज एक कार चालकलाई पक्राउ गरेको छ ।र्लाही जिल्ला पर्सा गाउँपालिका-१ का २० वर्षीय चन्दन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले बताउनुभयो ।

बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गर्दा औरही नगरपालिका-८ स्थित टिम्कियामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको थियो ।
 बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आजै महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौँ, ७ जेठ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये सात सय ७० को पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १८ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सात सय ७० सम्पदाको पुनःनिर्माण भएको छ ।

हाल ७० सम्पदाको पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । ८० सम्पदाको अझै काम सुरु हुन सकेको छैन । पर्याप्त बजेट नआउनु, प्राविधिक जनशक्ति र निर्माण सामग्री अभावलगायत कारण ८० सम्पदाको पुनःनिर्माण सुरु हुन नसकेको हो । विभागमा हाल २० जनामात्र इन्जिनियरको दरबन्दी भएकाले पनि काममा ढिलाइ भएको जनाइएको छ ।

भक्तपुरको यक्षेश्वर, भक्तपुरकै पुजारी मठ, चाँगुनारायण मन्दिरका सत्तल, हनुमानढोकाको विष्णु मन्दिर, पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिरलगायत ठूला सम्पदा पुनःनिर्माणको काम अहिले भइरहेको छ । शङ्खमूलको जगत्नारायण मन्दिरका विषयमा अदालतमा मुद्दा परेकाले काम रोकिएको छ । जगत्नारायण मन्दिर पुनःनिर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदा निर्माण व्यवसायी नै अदालत गएकाले पुनःनिर्माणको काममा ढिलाइ भएको हो ।

पुनःनिर्माण हुन बाँकी सम्पदामध्ये करिब २० वटा आगामी आर्थिक वर्षमा काम गर्ने गरी बजेट व्यवस्थापनको प्रक्रियामा रहेको प्रवक्ता कुँवरले बताउनुभयो । आव २०८२÷८३ सम्म ३२ वटा जिल्लाका नौ सय २० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने लक्ष्य विभागले लिएको छ । हालसम्म सम्पदा पुनःनिर्माणका लागि सरकारले रु छ अर्ब खर्च गरिसकेको छ । बाँकी सम्पदा पुनःनिर्माण गर्न रु दुई देखि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका दुई सय १५ गुम्बा पुनःनिर्माणको दायित्व सरकारले विभागलाई दिएको छ । त्यसमध्ये हाल २५ वटा गुम्बा पुनःनिर्माण भइरहेका छन् । आगामी आवमा २० वटा गुम्बा पुनःनिर्माण गर्ने तयारी छ । गुम्बा पुनःनिर्माणका लागि विभागले सरकारसँग अलग्गै बजेट माग गरेको छ । चार वर्षमा सबै गुम्बा पुनःनिर्माण सक्ने योजना विभागले बनाएको छ । सबै गुम्बा पुनःनिर्माण सक्न रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

शिक्षकले पढाउन छोडेर कुनै दलको कार्यकर्ता भएर राजनीति नगरौँ : उपमहासचिव पोखरेल

बैतडी, ७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताउनुभएको छ ।

आज बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसहासचिव पोखरेलले शिक्षकहरूले पढाउन छोडेर कुनै दलको कार्यकर्ता भएर राजनीति गर्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “शिक्षकले राजनीति गर्ने हैन, पार्टीलाई सल्लाह सुझाव दिन सक्छन्, पढाउने समयबाहेक अन्य समय पार्टीलाई दिन सक्छन् तर झन्डा बोकेर चुनावै लड्न शिक्षाको नैतिकताले दिँदैन, गर्नु पनि हुँदैन ।”

सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका विषयमा स्थायी समितिको बैठकमा विशेष छलफल भइसकेको बताउनुभयो । उहाँले अबका दिनमा यस्ता गल्ती नदोहो-याउने निर्णय भएको प्रस्ट पार्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई बनाउने निर्णय भएको समेत जानकारी दिनुभयो ।

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

काठमाडौँ, ७ जेठ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताउनुभएको छ ।

काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उहाँले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गर्नुभयो । “दलहरुबीच कतिपय मुद्दामा सहमतिबाट निकास निकाल्न जरुरी छ, एक–दुई दलले चाहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा हुँदैन, सबैको सहमति चाहिन्छ,” उहाँले भन्नुभयो । आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताउनुभयो ।

विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गर्नुभयो । अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक दलका नेताहरुकै कारण शान्ति प्रक्रियाले पूर्णता नपाएको बताउनुभयो ।

अधिकारकर्मी एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेताहरुले सत्य बताउन नसक्दा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले शान्ति प्रक्रियालाई पूरा गर्न कुनै पनि राजनीतिक दल इच्छुक नभएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा मिसन २०२६ मा पाँच खेल थप

काठमाडौँ, ७ जेठ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ ।मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए ।

मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आज यहाँ आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको बताउनुभयो । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् । भारोत्तोलन र कुस्तीमा समान पाँच–पाँच तथा एथलेटिक्समा समान चार–चार पुरुष÷महिला खेलाडीलाई समावेश गरिएको छ ।

पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २०औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत दृष्टिगत गरी राखेपले २०८० साल माघ १५ देखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो । 

एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलोपटक हो ।सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औँ एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।

नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले भन्नुभयो, “आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरु खोजिरहेका छौँ । तपाईंहरु (खेलाडी) मध्येबाट नै हामीले खेलकुदको नायक पाउने छौँ भन्ने मलाई पूर्ण विश्वास छ ।”

उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने बताउँदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्य–सचिवले चाल्नुभएको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गर्नुभयो ।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी विविध पक्षबारे जानकारी गराउनुभएको थियो । 

इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । उहाँले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताउनुभयो । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालनुभएको एक नेताले बताउनुभयो ।

आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गर्नुभएको छ । समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव रहनुभएको थियो । 

इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो ।     देशको इस्लामिक रिभोलुसनरी गार्र्डससँग सम्बद्ध समाचार आउटलेट तस्निमले रायसीको अन्त्येष्टि भोलि ताब्रिजमा गरिने जानकारी दिएको छ । 

रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उहाँको साथमा रहेको प्रतिनिधिमण्डल बोकेको हेलिकप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बीचमा रहेको डिज्मार जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । 
इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उहाँ सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

प्रदेश योजना आयोगका उपाध्यक्षलाई मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

मोरङ, ७ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा डा अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगरलगायत सहभागी हुनुहुन्थ्यो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राई, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगर, विभिन्न मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको शपथग्रहण समारोहमा उपस्थिति रहेको थियो ।

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

काठमाडौँ, ७ जेठ : मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वाग्मती, कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका ११ अस्पतालमा गरिएको सर्वेक्षणमा एक हजार आठ सय २३ उपकरण बिग्रेका छन् । गत कात्तिकदेखि चैतसम्ममा ती अस्पतालमा १९ हजार एक सय ७४ उपकरणको अवस्थाका बारेमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा एक हजार ७४ उपकरण राम्रा रहे पनि प्रयोगमा नआएको देखिएको पाइएको सर्वेक्षणका बायोमेडिकल इन्जिनियर भाष्कर रिजालले जानकारी दिनुभयो । 

“कोरोना भाइरसको बेला आएका उपकरण अहिले त्यत्तिकै थन्किएर रहेका छन्”, उहाँले भन्नुभयो, “पहिला कोरोनाकालमा प्रयोग भएका ती उपकरण अहिले बिरामी नभएपछि त्यत्तिकै प्रयोगमा आएका छैनन् ।” यस्तै, सर्वेक्षणमा ती अस्पतालमा रहेका तीन सिटी स्क्यान मेसिन बिग्रेर थन्किएका छन् । 

बायोमेडिकल इन्जिनियर रिजालका अनुसार वीर अस्पताल, नेपाल सशस्त्र प्रहरी वल अस्पताल र कोशी अस्पतालमा रहेका सिटी स्क्यान मेसिन बिग्रेका छन् । ती सिटी स्क्यानका अधिकांशको चार्जर बोर्ड, ब्याट्री, टेबल बिग्रेको उहाँले बताउनुभयो । उहाँले कोशी अस्पतालको सिटी स्क्यान बनाउन धेरै नै खर्च लाग्ने भएकाले नबनाउन आग्रहसमेत गरिएको बताउनुभयो । “कोशी अस्पतालको सिटी स्क्यान पुरानो र मर्मत गरेर सञ्चालन गर्न धेरै खर्च लाग्ने भएकाले नबनाउन सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “वीर र नेपाल सशस्त्र प्रहरी बल अस्पतालको सिटी स्क्यान चलाएर बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ ।” 

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणको मर्मत गरेर सञ्चालन गर्नका लागि बायोमेडिकल इन्जिनियर नभएको बताउनुभयो । “हामीले पटक पटक बायोमेडिकल इन्जिनियर चाहियो भनेर सरकारलाई भनेको छौँ”, उहाँले भन्नुभयो, “तर सरकारले अहिलेसम्म एकजना पनि बायोमेडिकल इन्जिनियर पठाउन सकेको छैन, अहिले हामीले बायोमेडिकल प्राविधिकको सहयोगमा स्वास्थ्य उपकरणको परीक्षण गरिरहेका छौँ ।”

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्राले सरकारले स्वास्थ्य उपकरणको मर्मतका लागि कम बजेट विनियोजन गर्ने भएकाले मर्मतमा समस्या भएको बताउनुभयो । उहाँले सातवटा प्रदेशमा स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिनुभयो ।विभागको व्यवस्थापन शाखाका निर्देशक डा श्रवण थापाले नचलेका ठाउँका उपकरण चलाउने ठाउँमा पठाउने काम भइरहेको बताउनुभयो ।

मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान

विराटनगर, ७ जेठ : मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

जनस्वास्थ्य कार्यालय मोरङले आइपिभी खोप अभियान–२०८१ सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा आज सो जानकारी दिएको हो । जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले २०७३ वैशाखदेखि २०७५ असोजसम्ममा पोलियो खोप खुवाउन छुटेका बालबालिकालाई यो खोप खुवाउने र यसका लागि मोरङमा छ सय ७२ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो ।

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

झापा, ७ जेठ : त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गौरीगञ्ज गाउँपालिकाको पहलमा सो जग्गा सरकारको स्वामित्वमा ल्याइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । सरकारी स्वामित्वमा ल्याइएको जग्गा गौरीगञ्ज–२, ३ र ४ मा रहेको छ । विसं २०३८ मा जग्गादाता भीमप्रसाद चौधरीले बुबा लोकनाथ चौधरीको स्मृतिमा लोक सेवा सदन नामक संस्थालाई जग्गा राजीनामा पास गरी दान दिनुभएको थियो ।

संस्था कहिल्यै सक्रिय नरहेकै अवस्थामा विसं २०५९ मा लोक सेवा सदन नामक अर्को नक्कली संस्था खडा गरी केही व्यक्तिले जग्गा हडप्ने षडयन्त्र बनाएका थिए । अहिले सो जग्गा कानुनी प्रक्रियाबाट नेपाल सरकारको नाममा ल्याउने कार्य भएको हो । “कुनै संस्था निष्क्रिय रह्यो र वर्षौंसम्म नवीकरण भएन भने संस्था दर्ता ऐनबमोजिम उसको स्वामित्वमा रहेको जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था छ”, प्रजिअ बाँस्तोलाले भन्नुभयो, “विसं २०५९ मा दर्ता भएको संस्थाले जन्मनुअघि नै २०३८ सालमा जग्गा प्राप्त गर्ने विषय झुटो थियो, जग्गा हडप्न चलखेल भएको रहेछ भनेर हामीले बुझ्यौँ, त्यही कारण कानुनबमोजिम सरकारको स्वामित्वमा ल्याएका हौँ ।”

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गर्न निर्देशन आएपछि सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँको संयोजकत्वमा नापी कार्यालय, मालपोत कार्यालय र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेको छानबिन समिति गठन गरिएको प्रजिअ बाँस्तोलाले बताउनुभयो । छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको उहाँले बताउनुभयो ।

साबिकको लोक सेवा सदनका नाममा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याउने भनेर संस्था दर्ता ऐनबमोजिम प्रशासन कार्यालयको निर्णयसहितको पत्राचारबमोजिम दमकस्थित मालपोत कार्यालयले जग्गाको स्रेस्ता कायम गरी यही जेठ ४ गते सरकारको नाममा जग्गाको स्वामित्व कायम गरिसकेको छ ।

गाउँपालिकाका उपप्रमुख पूजन न्यौपानेले जिल्ला प्रशासन कार्यालय र गाउँपालिका मिलेर जग्गा सरकारको नाममा ल्याउने कार्य भएको बताउनुभयो । केही व्यक्तिले जग्गा हडपेर बिक्री वितरण गर्न प्रयास गरिरहेको थाहा पाएपछि गाउँपालिकाको न्यायिक समितिले उक्त जग्गा रोक्का गरिदिन २०८० असार ३ गते नै मालपोत कार्यालय दमकलाई पत्राचर गरेको उहाँले जानकारी दिनुभयो ।

निगमको हडपिएको जग्गा फिर्ता
यसैगरी, जिल्ला प्रशासन कार्यालय झापाको पहलमा मेचीनगर नगरपालिका–१३ चारआलीस्थित तीन बिगाहा तीन कट्ठा जग्गा नेपाल आयल निगमको नाममा कायम गरिएको छ । निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि २०७४ सालमा मेचीनगर–१३ मा २३ बिगाहा तीन कट्ठा जग्गा स्थानीयसँग खरिद गरेको थियो । नापजाँच गर्दा फिल्डमा २० बिगाहा जग्गा मात्र फेला परेको थियो ।
जिल्ला प्रशासन कार्यालयले गत चैतमा नापी गरेर स्थानीयको कब्जामा रहेको तीन बिगाहा तीन कट्ठा जग्गा निगमकै स्वामित्वमा फिर्ता ल्याइएको प्रजिअ बाँस्तोलाले बताउनुभयो ।

गर्मीले जनजीवन कष्टकर, दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन

सुदूरपश्चिम, ७ जेठ : पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भएको छ । धनगढीको अधिकतम तापक्रम ४२ डिग्रिसेल्सियस पुगेको छ । गर्मीले मजदुर वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिका बढी प्रभवित भएका छन् । गर्मी बढेसँगै बजार क्षेत्र दिउँसो सुनसान हुन थालेको छ ।

“गर्मी बढेसँगै दिनमा १०÷१२ पटक विद्युत् आउनेजाने भइरहेको छ, विद्युत् गएपछि पङ्खा चलाउन नपाउँदा झन् गाह्रो हुन्छ”, धनगढीका स्थानीय भूमिराज अवस्थीले भन्नुभयो । गर्मीले धनगढीका अस्पतालमा पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामीको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पतालका डा प्रदीप मिश्रले जानकारी दिनुभयो । मध्याह्नमा तातो हावा चल्ने गरेकाले यसबाट बालबालिकालाई जोगाउन र झोलिलो खानेकुरा खुवाएर शरीरमा तरल पदार्थको मात्रा बढाउन डा मिश्रले सल्लाह दिनुभयो  । मौसमअनुसार सागपात र फलफूल सेवन गर्ने, सडेगलेका, बासी र जथाभावी राखिएका खानेकुरा नखान पनि चिकित्सकको सुझाव छ ।