`

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

Nepal One HD ८ कार्तिक २०८१ २१:४२
प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन् । 


बिहीबार  एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गरेका हुन् ।  


‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपील गर्दछु’, उनले भनेका छन् ।


नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ ।


‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ’, सन्देशमा भनिएको छ ।


प्रतिक्रिया