`

स्विट्जरल्यान्ड नेपाललाई सहयोग गर्न तयार, जलविद्युत् विकासमा जोड

Nepal One HD १७ कार्तिक २०८३ १६:४७
राजनीति

काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् । उनले नेपालको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै जलविद्युत् क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

सभामुख डोलप्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भएको शिष्टाचार भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन् ।

भेटमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको अभ्यास र संस्थागत विकासको प्रशंसा गर्दै नेपाल पनि लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने प्रयासमा रहेको बताए ।

उनले गत अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष पेज तथा स्वीस परराष्ट्र विभागले नेपालप्रति व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे ।

बाढीपछिको विपद् व्यवस्थापनमा स्विट्जरल्यान्डले उपलब्ध गराएको मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज र उद्धारमा पुर्‍याएको योगदानको पनि उनले प्रशंसा गरे । विशेषगरी संयुक्त राष्ट्रसङ्घमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे ।

नेपाल स्विस विकास तथा सहयोग निकायको प्राथमिकताप्राप्त मुलुकमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । आगामी दिनमा दुई देशबीच विकास सहकार्यको दायरा थप विस्तार हुने विश्वाससमेत उनले व्यक्त गरे ।

भेटमा दुई देशबीचको संसदीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा पनि छलफल भएको थियो । सभामुख अर्यालले हालै गठन गरिएको आठ सदस्यीय नेपाल–स्विस संसदीय मैत्री समूहमार्फत संसदीय अनुभव, सहयोग र सहकार्य आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

भेटवार्तामा दुवै पक्षले नेपाल–स्विट्जरल्यान्ड सम्बन्धलाई थप प्रगाढ बनाउँदै विकास, लोकतन्त्र र संसदीय सहकार्यका क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *