अस्वीकृत हुने भएपछि जिज्ञानले फिर्ता लिए राजदूतबाट नाम
काठमाडौं । बालेन सरकारले विज्ञ व्यक्ति भन्दै जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले संसदीय सुनुवाईकाे क्रममा अस्वीकृत हुने भएपछि राजदूतबाट नाम फिर्ता लिएका छन् ।
उनले नाम फिर्ता लिने निवेदन संसदीय सुनुवाइ समितिमा पठाएका हुन् । विदेशी स्थायी आवासीय अनुमति (पीआर) र पारिवारिक सम्पत्तिसम्बन्धी विवादमा तानिएपछि थापाले नाम फिर्ता लिएका हुन् ।
थापाले जापानको पीआर त्यागिसकेको दाबी गरेका थिए । तर उनकी श्रीमती र छोराहरूसँग पीआर कायम रहेको तथा जापानमा सम्पत्ति र आर्थिक सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि उनको नियुक्तिमाथि प्रश्न उठेको थियो ।
यही विषयमा स्पष्टता खोज्दै संसदीय सुनुवाइ समितिले जापान सरकारसँग आधिकारिक विवरण मागेको थियो । तर व्यक्तिगत गोपनीयताको कारण देखाउँदै जापानले विवरण उपलब्ध नगराएको बताइएको छ ।
पीआर त्यागेको आधिकारिक प्रमाणसमेत समितिले प्राप्त गर्न नसकेको अवस्थामा थापा राजदूतमा अस्वीकृत हुने अवस्थामा पुगेका थिए । त्यसअघि नै उनले नाम फिर्ता लिने निर्णय गरेका हुन् ।
नाम सिफारिस गरेकोमा सरकारलाई धन्यवाद दिँदै थापाले आगामी दिनमा राज्यले विश्वास गरेर दिने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
