`

इजराइललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजराइललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गर्नुभएको छ ।

“हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्याउँछौँ, यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ”, ती मुलुकका विदेशमन्त्रीहरूद्वारा आफ्ना इजराइली समकक्षी इजराइल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।

हस्ताक्षरकर्ताहरूमा अस्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोपेली सङ्घ (इयु) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन छन् ।

मन्त्रीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायहरूको स्वागत गर्नुभएको छ तर ‘थप कदम’ का लागि आह्वान गर्नुभएको छ ।

“मानवीय सहायतालाई रफाहसहित सबै प्रासङ्गिक क्रसिङ विन्दुमार्फत गाजा पट्टीमा प्रवेश गर्न दिन हामी इजराइल सरकारसँग आग्रह गर्दछौँ”, उहाँहरूले भन्नुभएको छ । उहाँहरूले इजराइलसँग ‘नागरिक, अन्तर्राष्ट्रिय तथा स्थानीय मानवीय सहायता कार्यकर्ता र पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम’ चाल्न आह्वान गर्नुभयो ।

अपिलमा ‘स्थायी युद्धविराम’ को पनि आह्वान गरिएको छ । मन्त्रीहरूले इजराइलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवाहरू पुनः सुरु गर्न’ र ‘गम्भीररूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेषगरी चिकित्सा आपूर्ति’ लाई बढावा दिन आग्रह गर्नुभएको छ ।

अन्त्यमा उहाँहरूले इजराइलसँग ‘हाम्रा सबै नागरिक, योग्य व्यक्ति र विदेशमा मानवीय वा चिकित्सा कारणले स्थानान्तरण हुनका लागि भर्ना भएका प्यालेस्टिनीहरूका लागि निकास परमिट जारी गरेर थप निकासी सुविधा प्रदान गर्न’ आह्वान गर्नुभयो ।

युद्ध सुरु भएको आठ महिनापछि इजराइलले दक्षिणी सहरमा हजारौँ विस्थापित प्यालेस्टिनीका लागि अन्तर्राष्ट्रिय चिन्ताका बावजुद रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउने वाचा गरिरहेको छ ।

गाजामा इजराइली घेराबन्दीले २४ लाख मानिसका लागि खाद्यान्नका साथै सुरक्षित पानी, औषधि र इन्धनको चरम अभाव ल्याएको छ । गत साता इजराइली सेनाले रफाह क्रसिङको गाजा क्षेत्रमा नियन्त्रण गरेपछि कहिलेकाहीँ सहायता गाडीहरूको आगमनमा कमी आएको छ ।

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन मन्त्री श्रेष्ठको निर्देशन

कर्णाली, ४ जेठ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देश गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रतियोगिताबारे जानकारी दिने क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठले आगामी मङ्सिरमा हुने खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने र सोहीअनुसार तयाररी गर्न निर्देशन दिनुभएको सञ्ज्यालले राससलाई जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजक कर्णाली प्रदेशको उत्साह र पूर्वतयारीले धेरै खुसी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केही दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयका तर्फबाट टोली खटाइनेसमेत बताउनुभएको उहाँले जानकारी दिनुभयो । “दशौँ राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नुपर्छ, अबको केही दिनमा मन्त्रालयका तर्फबाट रिजल्ट आउने गरी कामको थालनी हुन्छ”, मन्त्री श्रेष्ठलाई उद्धृत गर्दै सञ्ज्यालले भन्नुभयो ।

छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले प्रतियोगिताको आन्तरिक तयारी बलियो बनाइ सकेकाले तोकिएको मितिमा प्रतियोगिता हुने सुनिश्चितताका लागि आग्रह गर्नुभयो । “हिजो खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर लिन सकिरहेको थिएन । अहिले कर्णाली हरेक हिसाबले सक्षम छ”, सदस्य सचिव सन्यालले भन्नुभयो, “प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौँ । सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र विभागीय मन्त्रालयले त्यो सुनिश्चिता गर्नुपर्छ ।”

काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौँ, ४ जेठः नेपालमा पहिलोपटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ ।

न्यूयोक राइटर वर्कसपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जेठ ९ देखि १३ गतेसम्म कार्याशाला र १४ देखि १५ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल हुने र त्यसक्रममा समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसनलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत, चीन, हङ्कङ, अमेरिका, रसिया, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा बढी मुलुकबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू सहभागी हुने फेस्टिभलका संरक्षक एवम् हिमालयन कवी युयुत्सु आरडी शर्माले बताउनुभयो । उहाँले साहित्य तथा पर्यटन प्रवर्द्धन गर्न महोेत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । शर्माका अनुसार कार्यशालामा लेखकहरूले आफ्ना साहित्यिक रचना प्रदर्शन गर्नेछन् । “यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरू गर्न पाउँदा हामी हर्षित छौँ”, कवि शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य एउटा ‘प्लेटफर्म’ सिर्जना गर्ने हो, जसले साहित्यलाई मात्र होइन, समुदायको भावनालाई समेत बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्छ ।”

मुख्य कार्यक्रमहरूको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुने जनाइएको छ ।

विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जनता समाजवादी पार्टी (जसपा) नेपालको आह्वान

काठमाडौँ, ४ जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आह्वानपत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गर्नुभएको हो । आह्वानपत्रमा भनिएको छ, “पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानुभएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।”

निर्वाचन आयोगले गत वैशाख २४ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीमा राईसँगै सङ्घीय सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी गरी सात जना रहेका छन् ।

जसपा अध्यक्ष यादवले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जनता समाजवादी पार्टीलाई नयाँ दलका रूपमा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश गरिसकेको छ भने यही जेठ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने

काठमाडौँ, ४ जेठः सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ ।सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट हालै सरुवा भएर काठमाडौँ आउनुभएका न्यौपानेलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी आफूलाई तोकिएको प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम, ४ जेठ : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिनेबाहेक अन्य काम नभएको बताउनुभयो । “यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन”, उहाँले भन्नुभयो ।

यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बावजूत मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो । नेकपा (एकीकृत समाजवादी) ंससंदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउनुभएको थियो । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा जबरजस्ती कारबाही अघि बढाइएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “छलफल र संवादबाट समस्या समाधान खोज्ने सम्भावना रहे पनि अचानक संसद् अधिवेशन अन्त्य गरिएको घटनामा हाम्रो विरोध छ ।”

यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गर्नुभयो ।
प्रदेशसभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा यसअघि आज अपराह्न बोलाइएको बैठक स्थगित गरिएको थियो । लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालु अधिवेशन पनि अन्त्य गरिएको हो ।

पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ, ४ जेठ : छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा आज एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।

टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो । सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।  

सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन । 

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

वीरगञ्ज (पर्सा) ४ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

“जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ । त्यसकारण संसद् चलाउनै पर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन । नेपाली कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।”

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि”, अध्यक्ष ओलीले भन्नुभयो । त्यसैगरी उहाँले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्नेे बताउनुभयो ।

उहाँले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेका प्रति कटाक्ष गर्नुभयो । “कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ”, उहाँले भन्नुभयो, “त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।”त्यसअवसरमा एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित एक सय २७ जना पदाधिकारीले शपथग्रहण गरेका थिए ।

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

दमौली (तनहुँ), ४ जेठः निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो ।पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा एक सय ५५ दिन म्याद थप भएको छ । विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको उहाँले बताउनुभयो । अब थपिएको म्यादभित्र उक्त खण्डको काम सम्पन्न हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सडक आयोजनाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखी पठाएको थियो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

इन्जिनियर पाण्डेका अनुसार यो खण्डमा हालसम्मको प्रगति ६० प्रतिशत छ । आँबुखैरेनीबाट जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ ।

पश्चिम खण्डको म्याद भने विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

हालसम्म पश्चिम खण्डमा २३ प्रतिशत प्रगति हासिल भएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकी र पोखराका केही भागमा एकतर्फी कालोपत्रको काम भइरहेको छ । पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ ।

मन्त्री शर्माले सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र रहने गरी प्रह्लादबहादुर केसी र रुसी महासङ्घको सेन्ट पिटर्सवर्ग सहरमा कार्यक्षेत्र रहने गरी वाई.भी गोसेभलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले काबेली–३ जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको राष्ट्रिय वनको एक दशमलव ६५ हेक्टर, चिनो खोला जलविद्युत् आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत मनाङको नासोँ गाउँपालिकामा रहेको राष्ट्रिय वनको पाँच दशमलव ९४१ हेक्टर र ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई धादिङ जिल्लाको बेनीघाट, रोराङ्ग गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ११ दशमलव आठ हेक्टर जग्गा चुनढुङ्गा उत्खनन्का साथै खानी सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

सोही बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा लेखनाथ शर्मा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा सङ्गीता खड्का (काठमाडौँ) लाई नियुक्त गर्ने र नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेल तथा नेपाल कृषि वन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयन्त्रमा नेपालको सहभागिताका लागि स्वीकृति प्रदान गर्ने, स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा यही जेठ २७ देखि आगामी असार १ गतेसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र यही जेठ १३ देखि १९ गतसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको सभामा भाग लिन स्वास्थ्य तथा जनङ्ख्यामन्त्रीसहित तीन जनालाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले स्ट्यान्डर्ड नाप र तौल (छैटौँ संशोधन) नियमहरू, २०८० स्वीकृति गर्ने र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने

जनकपुरधाम, ३ जेठः भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् ।भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले आज जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाइएको छ ।
विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

यसैबीच सोही निर्वाचनलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा तीन दिनका लागि बन्द हुने भएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।

‘सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो’:मुख्यमन्त्री अधिकारी

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालको शुभारम्भ समारोहमा उहाँले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको हो भन्नुभयो ।

नियमक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने जनाउँदै मुख्यमन्त्री अधिकारीले सहकारी अभियान समाप्त भयो भने आर्थिक संकट पर्नसक्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैले ध्यान पुर्याउनुपर्छ । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्छ । रोजगारी सिर्जना गर्ने खालका काम संस्थाले गरेको छ÷छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्छ । ”

सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा ३२ संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । विसं २०४५ मा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका चार हजार छ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुर, ४ जेठ : राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका पशुपालक किसान र सरोकारवालासँग छलफल गरेको छ । पशुपालनबाहेक अन्य कृषिकर्ममा लागेका किसानसमेतको सहभागितामा भएको छलफलमा किसानका समस्या, उत्पादन, योजनालगायत उत्पादकत्व वृद्धिका समग्र पक्षबारे विचार व्यक्त भएको थियो । दूध र मासुुमा आत्मनिर्भर हुनसके दूध तथा दूग्धजन्य पदार्थका लागि रकम बाहिरिने रकम स्वदेशमा नै उपयोग हुने वास्तविकतातर्फ पनि किसानको ध्यानाकर्षण गरिएको थियो ।

विशेष गरी पशुपालक किसानले दाना र घाँसको समस्या समस्या, उत्पादन उचित मूल्य र सहज रूपमा बजारको पहुँच विस्तारमा जोड दिएका थिएभने अन्यले मल, सिँचाइ र उन्नत बीउको प्राप्तिमा सघाउन एकाइका पदाधिकारीलाई अनुरोध गरेका थिए ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख भरत कँडेलले प्राप्त सुझाव तथा माग सम्बोधनका निम्ति सम्बनिधत निकायमा पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजनाको कृषितर्फको यस वर्षको रु १४ करोड ८६ लाखमध्ये रु सात करोड खर्च नहुँदा ‘फ्रिज’ हुने अवस्था सृजना भएको बताइएको छ ।

बागमती प्रदेशमा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

बागमती, ४ जेठ : सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि नियम उल्लङ्घन गन कारबाही गरेको हो ।

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।
उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । आव २०७८÷७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो ।

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

गोदावरी (कैलाली), ४ जेठ : जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई ट्र्याक्टर वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताउनुभयो ।

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सो गाउँपालिकाका छवटै वडाबाट छनोट भएका ती किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिन लागेको उहाँले बताउनुभयो । किसानलाई अनुदानमा प्रति किसान रु एक लाख २५ हजारको लागतमा हाते ट्र्याक्टर वितरण हुन लागेको हो ।

कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइने कार्यक्रमलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएकाले कृषकलाई व्यावसायिक रुपमा कृषिमा आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । कृषि शाखाले चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा उन्नत जातका बीउबिजन, तरकारी राख्ने क्यारेट, विषादीलगायत सामग्री वितरण गरिसकेको जनाइएको छ ।

यसैगरी गाउँपालिका र जिआइजेडको लागत साझेदारीमा किसानको मागलाई ध्यानमा राखेर गाउँपालिकामा माटो परीक्षण ल्याब सञ्चालन गर्ने भएको छ । लागत साझेदारीमा चालु आवभित्रै सिँचाइका लागि गाउँपालिका छवटै वडामा दुई सय वटा सिमेन्ट ट्याङ्की, दुई वटा पोखरी, दुई वटा हाइटेक नर्सरी निर्माण गरिने चुरे गाउँपालिकाले जनाएको छ ।

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ ।सङ्कटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको सेयरहरूको डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।

विशिष्ट मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीहरूलाई स्वैच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने छ । कम्पनीका एक प्रवक्ताले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “व्यवस्थापनको यो कठिन निर्णय थियो तर तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक छ भन्ने हामीले ठानेका छौँ ।”
जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर शीघ्र सेवानिवृत्ति योजना वा स्वैच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको छ ।

कम्पनीले आर्थिक वर्ष २०२६ मा तीन खर्ब ८० अर्ब येन (दुई अर्ब ५० करोड डलर) को परिचालन नाफा र बिक्रीमा १० प्रतिशत प्रतिफलको लक्ष्य राखेको बताएको ब्लुमबर्गले उल्लेख गरेको छ । आर्थिक वर्ष २०२५ को पहिलो छ महिनामा टोक्योको हमामात्सुचो क्षेत्रबाट जापानको राजधानी बाहिर कावासाकीमा प्रधान कार्यालय कार्यहरू सार्ने योजना छ ।

तोसिबाको जरा सन् १८७५ मा सुरु भयो र २०औँ शताब्दीमा यो विशाल समूहका रूपमा विकसित भयो । कम्पनी जापानको युद्धोपरान्त आर्थिक पुनरुत्थानको पर्यायवाची बन्यो । प्रारम्भमा ल्यापट कम्प्युटर, लिफ्ट र आणविक ऊर्जा स्टेसनदेखि लिएर माइक्रोचिप्ससम्म सबैथोक बनाएर यो कम्पनी जापान र त्यो बाहिर घरेलु नाम बन्यो । 

तर सन् २०१५ मा भएको ठूलो लेखा घोटाला र अमेरिकी आणविक सहायक कम्पनी वेस्टिङहाउसबाट अर्बौं डलरको घाटासहित हालैका वर्षहरूमा कम्पनी थप सङ्कटमा पुगेको छ । सक्रिय सेयरधनीहरूको दबाब र निजी इक्विटी समूह सिभिसीको अधिग्रहण प्रस्तावले कम्पनीलाई पहिला तीन र पुनः दुई भागमा विभाजित गर्ने असफल प्रयासलाई रोक्यो ।

अन्ततः सन् २०२३ मार्चमा करिब २० वटा जापानी बैंक र अन्य कम्पनी सामेल भएको कन्सोर्टियमले करिब १४ अर्ब डलरको अधिग्रहण गर्ने बोलीलाई तोसिबाको बोर्डले स्वीकार गर्यो । टोक्यो एक्सचेन्जमा ७० वर्षभन्दा बढी कारोबारपछि यसका सेयरहरूलाई डिसेम्बरमा डिलिस्ट गरिएको थियो ।

निःशुल्क तालिमपछि बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक, ४ जेठ : बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको छ ।

उक्त शाखाले कौसीखेती प्रवद्र्धनका तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको थियो । तालिमप्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक पर्ने सामग्री क्रमशः वडागत रुपमा वितरण गर्दै जाने कृषि प्राविधिक कमला हुमागाईले बताउनुभयो । उहाँका अनुसार विशेष गरी नगरको सहरी क्षेत्रमा पर्ने वडा नं ४, ५, ६, ७, ८, ९, १० र १३ का एक हजार घर परिवारका लागि ग्रो–ब्याग चार हजार थान, कम्पोष्ट मल दुई हजार प्याकेट, कोकोपिट दुई हजार, एक हजार हजारी र एक हजारलाई बीउबीजन वितरण गरिनेछ ।

शाखाका अनुसार कौसीखेतीका लागि सबैभन्दा धेरै वडा नं ८ मा तीन सय, ७ मा दुई सय ७०, ९ का एक सय २५, ४ का ३०, ५ का ७५, ६ का २५, १० का ७५, १३ का ५० र अन्य ५० जना गरी एक हजार जनाले विभिन्न तरकारी एवं फलफूलका तालिम लिएका थिए । नगरले कौसीखेतीका लागि प्रोत्साहनस्वरुप निःशुल्क तालिम सुरु गरेसँगै एक हजार महिला यस खेतीमा आबद्ध भएका हुन् ।

“छोराछोरीलाई झोलामा हैन माटोमा तरकारी फल्छ भनेर सिकाउन पनि कौसीखेतीले सघाएको छ, खेतीमा चलाउमान भइरहँदा आफ्नो रोगलाई समेत कम गराएको छु”, बनेपा–७ को जमुना घिमिरेले भन्नुभयो । उहाँले विशेष गरी आफ्नै कौसीमा साग, धनिया, मेथी, लट्टेको साग, लसुन, प्याजलगायत तरकारी फलाउने गरेको सुनाउनुभयो ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आफ्नै घरको छतमा फलेका तरकारी र फूल हेरेर तनाव व्यवस्थापनमा सहयोगी भएको बताउनुहुन्छ । “कुहिने र नकुहिने फोहर व्यवस्थापन गरेर त्यसबाट मोहोर कमाउने योजनाअनुसार कौसीखेती कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । उपप्रमुख विमला सापकोटाले फुर्सदको समयमा कौसीखेतीमा ध्यान दिँदा तरकारीमा खर्च हुने पैसासमेत जोगिने बताउनुभयो । उहाँले खुर्सानी, कागती, धनिया, साग, काक्रो, फर्सी–मुन्टा र पुदिना कौसीखेतीका मुख्य आकर्षण भएको बताउनुभयो । बनेपामा घरका तर जमिन नभएकालाई कौसीखेती उपयोगी भएको उहाँको अनुभव छ ।

पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने

काठमाडौँ, ४ जेठ : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ ।ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

बर्दघाट–सुस्तापूर्वमा १० महिनामा करिब २१ अर्ब राजस्व सङ्कलन

नवलपुर (नवलपरासी), ४ जेठ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख आठ हजार छ सय ७९ सङ्कलन भएको जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले रु २० अर्ब ३३ करोड ८० लाख ९७ हजार सात सय ३२ राजस्व सङ्कलन गरेको महतोले जानकारी दिनुभयो । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले रु आठ करोड ३९ लाख ५१ हजार एक सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रु दुई करोड ४२ लाख एक हजार सात सय ११, जिल्ला अदालत नवलपुरले रु एक करोड ५७ लाख ७७ हजार सात सय ९९, त्रिवेणी भन्सार कार्यालयले रु एक करोड ५८ लाख ५१ हजार छ सय ४७ राजस्व सङ्कलन गरेका महतोले बताउनुभयो ।

जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले रु २५ करोड ६९ लाख ३९ हजार दुई सय २७, मालपोत कार्यालयले रु १२ करोड ९१ लाख ६१ हजार छ सय २७, डिभिजन वन कार्यालयले रु चार करोड ५२ लाख ८१ हजार आठ सय ५४ राजस्व सङ्कलन गरेका छन् ।

काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौँ, ४ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुनसक्ने छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले काठमाडौँ उपत्यकाको तापक्रम २०।२ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु छोडेर फर्किन नपाउने

मुगु- सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु त्यही छोडेर फर्किन नपाउने भएका छन् । रारालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिएको रारा राष्ट्रिय निकुञ्जले यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने र अत्याश्यक प्लाष्टिकजन्य वस्तु लिएमा फर्किदासँगै ल्याउनुपर्ने नियम लागू गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । उहाँले पर्यटकले प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु निकुञ्जभित्रै फाल्ने क्रम बढेकाले यस्तो निर्णय लिनुपरेको बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबारबाट यो नियम लागू गरिएको छ भने निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिे आफूसँग लगेका पानीका बोतल, प्लास्टिक झोला, प्लास्टिकमा प्याकिङ गरिएका खानेकुरा त्यहाँबाट फर्किएपछि काउन्टरमा बुझाउनुपर्ने नियम छ । “निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्नुअघि झोलाको जाँच गरेर प्लास्टिकजन्य वस्तुको एकिन गरी अभिलेख राख्ने र घुमेर फर्कदा फेरि काउन्टरमा बुझाउनुपर्ने नियम लगाएका छौँ । नियम पालना नगरेमा रु दुई सयसम्म जरिवाना तिर्नुपर्ने छ”, घिमिरेले भन्नुभयो । 

निकुञ्ज कार्यालयले लामो समयदेखि प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभएपछि यस्तो नियम लागू गरेको जनाएको छ । पर्यटकले मात्र नभई निकुञ्जभित्र बस्ने नेपाली सेना, निकुञ्ज कार्यालयका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेटलगायतका सामग्री जथाभावी फाल्न र लिन पाउने छैनन् ।

अभियानलाई सफल पार्न जानकारीमूलक सूचना बोर्ड, पोस्टर र स्टिकर बनाइ प्रवेश नाका र भीडभाड हुने स्थानमा राख्ने योजना निकुञ्जको योजना छ ।निकुञ्जभित्र प्रवेश गर्नेसल्लेरी, लामाचौर, ताल्चा, जेउड्यासहित चारवटा प्रवेशद्वारमा सुरक्षाजाँच कडा गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारीहरूले रारा क्षेत्रमा नियमित सरसफाइ गर्दै आएका छन् भने नेपाल विद्यार्थी सङ्घ मुगुले पनि गत पुस महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित सरसफाइ गर्दै आएको छ । 

पछिल्लो समय रारा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ को चैत्रसम्म नेपाली पर्यटक आठ हजार तीन सय, सार्क राष्ट्रबाट ३५, विदेशी एक सय ८३ गरी आठ हजार पाँच सयले रारा भ्रमण गरेको तथ्याङ्क छ ।

सीमित स्रोत र साधनबीच सरकार पर्यटन प्रवर्द्धनमा लागेको छ : मन्त्री तामाङ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले सीमित स्रोत र साधनकाबीच सरकार पर्यटन प्रवर्द्धनमा लागेको बताउनुभएको छ । रसुवा–नुवाकोट पर्यटन समाजद्धारा   आयोजित ‘रसुवा र नुवाकोटका पर्यटकीय सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रममा उहाँले थोरै बजेटकाबीच सरकारले पर्यटन प्रवद्र्धनमा काम गरिरहेको छ भन्नुभयो । “पर्यटन क्षेत्रमा विदेशीलाई मात्र लक्षित गरेर योजना बनाएर हुँदैन, आन्तरिक पर्यटकलाईसमेत प्रवद्र्धन गर्ने खालको योजना आवश्यक छ,” उहाँलेभन्नुभयो ।

मन्त्री तामाङले नेपालको विकासको मुख्य आधार जलस्रोत र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । रसुवा र नुवाकोटको पर्यटन विकासमा सहयोग गर्ने उहाँको भनाइ थियो । मन्त्री तामाङले मध्यपहाडी सडक आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सरकारले राखेको बताउनुभयो । छोटो दुरीका पर्यटक गन्तव्यको विकासमा मन्त्रालय लागेको उहाँको भनाइ छ । उहाँले सरकारले कर्णाली प्रदेशको पर्यटनलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

सहसचिव रुद्रसिंह तामाङले नुवाकोट र रसुवामा पर्यटकीय सम्भावना भएका धेरै क्षेत्र रहेकाले त्यसको प्रवद्र्धनमा तीनै तहका सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो । नुवाकोट बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पर्यटकीय गन्तव्य भएका क्षेत्रको खोज र अनुसन्धान गरी त्यसको विकासमा नगरपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिका स्थानीय संस्कृति संरक्षणमा लागेको बताउनुभयो । नुवाकोटको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले होम स्टेको विकासका लागि गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शिवपुरी क्षेत्रसँग जोडिएको आफ्नो गाउँपालिकाको पर्यटकलाई अगाडि बढाउनका लागि गाउँपालिका लागिपरेको बताउनुभयो । नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले तादीलाई पर्वतीय पर्यटनको केन्द्र बनाउनका लागि आफूले योजना अगाडि सारेको उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी दीपक महतले सगरमाथा र अन्नपूर्ण क्षेत्रपछि धेरै पर्यटक आवतजावत गर्ने लाङटाङ क्षेत्रको पर्यटन जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यो बढ्न नसकेको बताउनुभयो ।

विसं २०६७ मा स्थापना भएको रसुवा–नुवाकोट पर्यटन समाजले रसुवा र नुवाकोट क्षेत्रमा रहेका पर्यटकीयस्थलको खोज, अनुसन्धान गरी पर्यटन प्रवद्र्धनमा काम गरिरहेको सो समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।अध्यक्ष न्यौपानेले पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गरी आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि समाज लागेको बताउनुभयो । समाजकी सचिव ऋतु ग्यामदाङले घलेगढी, सूर्यगढी, बेलकोटगढी, बेत्रावती, गोसाइँकुण्ड, नुवाकोट दरबारलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा जुट्न नुवाकोट र रसुवाका पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

काठमाडौँ- गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव निकालेको छ । सो क्षेत्रको लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जर सङ्कलन गरी हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयले सोही अभियानका दौरान हालसम्म आठ हजार ६२० किलो फोहर सङ्कलन गरी त्यसमध्ये दुई सय ५० किलो कुहिने फोहर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको आज जानकारी गराएको छ ।

। यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा पाँच वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको सेनाले जनाएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ, ४ जेठ: विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।

शनिबारदेखि तीन दिनसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा बन्द हुने

जलेश्वर, ३ जेठ : भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिनुभएको हो ।

उहाँले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने बताउनुभयो । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने जनाइएको छ

संवादबाटै संसद्को समस्या समाधान चाहन्छौँ : कांग्रेस महामन्त्री थापा

काठमाडौँ, ३ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसद्मा देखिएको समस्या संवादबाटै समाधान गर्न चाहेको बताउनुभएको छ । महामन्त्री थापाले आज सङ्घीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल र संवाद जारिरहेका अवस्थामा सत्तापक्षले मुठभेड निम्त्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामीहरू संवादबाटै समाधान चाहन्छौँ तर आजको बैठकमा भएका घटना र दृश्य हेर्दा सत्तापक्षले मुठभेड निम्त्याउन चाहेको देखियो । यसको जिम्मेवारी सत्तापक्षले नै लिनुपर्छ।”

प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक सञ्चालन गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष दलबीच दिनभर विभिन्न चरणमा छलफल र संवाद भए पनि सहमति हुन नसकेपछि बैठक साँझ पाँच बजेपछि बसेको थियो ।

बैठकमा कांग्रेस सांसदहरूले रोष्टम घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी गृहमन्त्री लामिछानेलाई बोल्न समय दिनुभएपछि सत्तारुढ दल नेकपा (एमाले) र कांग्रेसका सांसदबीच केही समय धकेलाधकेल भएको थियो । त्यसपछि सभामुखले बैठक स्थगित गरी भोलि शुक्रबार बिहान ११ बजेका लागि बैठक घोषणा गर्नुभएको थियो ।

“प्रमुख प्रतिपक्षी दललगायत सबै प्रतिपक्षी दलका सांसदले आसनबाट उभिई विरोध जनाइरहेका बेला सभामुखले जबरजस्ती नियमित कार्यसूचीमा प्रवेश गरी बैठकलाई अगाडि बढाउन खोज्नुुभयो, यो सत्तारुढ दलको निर्देशनको पालना गरेको देखियो । संसद् बैठकमा सभामुखको भूमिका पनि राम्रो भएन भन्ने हाम्रो ठहर छ”, महामन्त्री थापाले भन्नुभयो । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ माग्ने महामन्त्री थापाको भनाइ थियो ।

उहाँले सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग गरेको स्पष्ट पार्न चाहन्छौँ ।” उहाँले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठक अघि सरकारले संसदीय समिति गठन गर्ने अपेक्षा गर्नुभयो ।कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको  संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’ : अर्थविज्ञ

काठमाडौँ, ३ जेठ : अर्थविज्ञहरूले राज्यको अर्थतन्त्र वृद्धिमा विप्रेषण (रेमिट्यान्स) महत्वपूर्ण भए पनि विकासको दीर्घकालीन माध्यम भने नभएको बताएका छन् । फेड्रिक इबर्ट स्टिफ्टुङ्ग (एफइएस) ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र सामाजिक न्याय’ विषयक कार्यक्रममा विज्ञहरूले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्यले रेमिट्यान्स विकासको दीर्घकालीन उपाय नहुने तर्क गर्दै स्वदेशी उत्पादनमा जोड नदिएसम्म विकास नहुने धारणा राख्नुभयो । “विकास र उत्पादन अन्योन्याश्रित छन् । हामीले अरूबाट ल्याएको भरमा विकास भयो भन्न मिल्दैन, विकास हुन स्वदेशी उत्पादनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

छलफलमा सहभागी अन्य व्यक्तिले पनि विकास, राज्यको अर्थतन्त्रको अवस्था र सामाजिक न्यायमाथि विमर्श गर्नुभएको थियो । त्यसक्रममा मुख्यवक्ता नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा निलम ढुङ्गानाले राज्यको अर्थतन्त्रमा कोभिड– १९ का कारण नकारात्मक असर परे पनि विस्तारै सुधार हुँदै गएको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालको अर्थतन्त्रमा क्रमिक परिवर्तन आए पनि कोभिड महामारी, भूकम्पजस्ता विपद्ले समस्या सिर्जना गरेको धारणा राख्नुभयो । यस्तै, डा कल्पना खनाल, सरस्वती बहुमुखी क्याम्पसकी सहायक प्राध्यापक जमुना श्रेष्ठलगायतले अर्थतन्त्रको अवस्था र सुधारका विषयमा धारणा राख्नुभएको थियो ।

कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीवक्ताको शपथ ग्रहण

मोरङ, ३ जेठ : कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीक्ता नारायण वस्तीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यन्यायाधीवक्ता वस्तीलाई आज विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विराटनगर–४ निवासी वस्तीलाई मुख्यन्यायाधीवक्तामा आज नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, सभामुख अम्बरबहादुर विष्ट, बिना विभागीयमन्त्री रामकुमार मगर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

नेपाल उद्योग परिसङ्घ र युरोपेली सङ्घका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिबारे छलफल

काठमाडौँ, ३ जेठ : नेपाल उद्योग परिसङ्घ र युरोपेली सङ्घका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

परिसङ्घका पदाधिकारी र युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान तथा नेपालका लागि युरोपेली सङ¬्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोलगायतबीच आज भएको छलफलमा दुई पक्षबीच व्यापार सम्बन्ध सुदृढ गर्ने तथा नेपाली उत्पादनलाई युरोपेली बजारमा निर्यात क्षमता वृद्धि गर्ने बारेमा कुराकानी भएको थियो ।
छलफल सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोति गरेपछिको अवस्था, नेपालको उत्पादन र सूचना प्रविधि क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित रहेको परिसङ्घले जनाएको छ ।

छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपेली सङ्घबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराउनुभयो । उहाँले युरोपेली मुलुकमा सिधा हवाई उडान पुनः सञ्चालन गराउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

सो क्रममा नेपालका लागि इयूका राजदूत लोरेन्जोले युरोपेली सङ्घ नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यसप्रकार छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उहाँको भनाइ थियो ।

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

वीरगञ्ज (पर्सा) ३ जेठ : पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालवालिकाहरुले पूर्ण रुपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो । मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले विहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नुभएको थियो ।

उहाँले पूर्णखोप युक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहलाई संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने अभियान २०७४–सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियोे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालबालिकाले पूर्ण रुपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताउनुभयो । ‘‘पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न निकै कसरत गर्नुप¥यो । सबैको साथ सहयोगको कारणले मात्रै यो घोषणा गर्न सकिएको हो’’, उहाँले भन्नुभयो, ‘‘मधेस प्रदेशमा पूर्ण खोप जिल्ला घोषणा गर्न चार जिल्ला मात्रै थियो । आज हामीले पूर्ण खोप जिल्ला घोषणा गरेर नयाँ यात्राको सुरुवात गरेका छौँ ।’’

पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो । तर, पकहामैन्पुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो ।

मधेस प्रदेशका धनुषा, रौतहट र महोत्तरी जिल्लालाई अझै पनि पूर्ण खोप जिल्ला घोषणा गर्नै बाँकी छ । मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादवले मधेश प्रदेशमा पूर्ण खोप घोषणा गर्न चार जिल्ला बाँकी रहेकोमध्ये पर्साले पूर्ण खोप जिल्ला घोषणा गरेर सकारात्मक सुरुवात गरेको बताउनुभयो । ‘‘पर्सा जिल्ला आजबाट पूर्णखोप जिल्ला घोषणा भएको छ । पक्कै पनि यसले सबै ठाउँमा सकारात्मक सन्देश दिने काम गरेको छ । यो धेरै खुसीको कुरा हो ।’’ उहाँले भन्नुभयो, ‘‘पूर्ण खोप घोषणा गर्न लागेका अन्य जिल्लालाई पनि आवश्यक समन्वय गरेर अघि बढ्न अनुरोध गर्दछु ।’’

सचिव यादवले प्रदेश सरकारले एक वर्ष अघि महत्वाकांक्षी लक्ष्य राखेर चार वटै जिल्लाई पूर्णखोप जिल्ला बनाउने अभियान थालेको बताउनुभयो । पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले पूर्णखोप जिल्ला घोषणा गरे पनि अझै पनि चुनौती कायमै रहेको बताउनुभयो । ‘‘पूर्ण खोप जिल्ला घोषणा गरेर मात्रै पुग्दैन । पूर्ण खोपपछिका चुनौतीलाई पनि सशक्त ढङ्गले योजनाबद्ध अघि बढ्न जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘पूर्ण खोप घोषणापछि आवश्यक पर्ने स्रोत तथा बजेट उपलब्ध गराइदिन सरकारसँग अनुरोध गर्दछु ।’’ जिल्ला खोप समन्वय समितिका अध्यक्ष सोनारले सबैको साथ र सद्भावकै कारणले पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न सकिएको बताउनुभयो ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ, ३ जेठ : मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई आज बिदाइ गर्नुभएको हो । उहाँले आत्मविश्वाससहित उच्च प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

रोशन तामाङको कप्तानीमा रहने नेपाली टोलीमा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर थाडामगर रहेका छन् ।त्यस्तै, प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नासिर मास्के रहेका छन् ।

यही जेठ ५ गतेदेखि सुरू हुने विश्वकपमा कूल २१ राष्ट्रको सहभागिता रहनेछ । नेपाल डिभिजन वानमा रहेको छ, जहाँ कूल नौ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।

नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन भूमिका खेल्नुस्: मन्त्री जोशी

काठमाडौँ ३ जेठ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिकता र सौहार्द सम्बन्धलाई थप सुदृढ तुल्याउन संवैधानिक आयोगका पदाधिकारीले प्रधावकारी भूमिका खेल्नपर्ने बताउनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गर्ने आयोगका अध्यक्षसहितका पदाधिकारीसँगको छलफलमा उहाँले राजनीतिक अस्थिरतासँग जोडिएर आएका विविध खाले गुनासालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “सवैधानिक आयोग आफैँमा स्वतन्त्र छन् । आयोगले आफ्नो विषय क्षेत्रमा रहेका समुदायका अपेक्षा सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्छ । आयोगको क्षमतालाई थप प्रभावकारी बनाउन जरूरी छ ।”

त्यसअवसरमा आयोगका अध्यक्ष एवम् पदाधिकारीले सामाजिक न्यायका विषयमा गरेका काम र दिएका सुझावलाई राज्यले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बजेट र साधनस्रोतको सीमितताका बीच थुप्रै काम भए पनि राज्यले त्यसको सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।

राष्ट्रिय समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णुमाया ओझाले आयोगका वार्षिक प्रतिवेदन संसद्मा छलफल गराउन तथा दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो “बजेट अभावका कारण आयोगले आवश्यक काम पनि गर्नसकेको छैन । लक्षित समुदायलाई सशक्तिकरण र क्षमता अभिवृद्धिका लागि बजेट छैन । प्रदेश तहमा आयोगका सम्पर्क कार्यालय नहुँदा काम गर्न सकिएको छैन । त्यसैले आयोगलाई हौसल्ला बढाउने काम राज्यबाट हुनुपर्छ ।”

त्यस्तै, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले सरकारका संयन्त्र र आयोगबीच समन्वय तथा सहकार्यको अभाव रहेको बताउनुभयो । उहाँले आदिवासी जनजातिको हकअधिकार र ज्ञान प्रवर्द्धनमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी आयोगका कार्यवहाक अध्यक्ष जीवछ शाहले जातजाति र समुदाय विशेषको हकअधिकार र संस्कृतिको जर्गेनाका लागि आयोगबाट महत्वपूर्ण काम भइरहेको जानकारी दिनुभयो । त्यसैगरी थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया रोगको प्रभावकारी उपचारमा ध्यान पु¥याउन आग्रह गर्नुभयो । उहाँले सङ्घीय निजामती ऐन जारी नहुँदा राज्यका निकायमा आफ्नो समुदायको प्रवेशमा परेको कठिनाइबारे मन्त्रालयलाई जानकारी गराउनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आर्थिक र जनशक्तिको अभावमा आयोगहरु सञ्चालन गर्न कठिनाइ परेको हुँदा राज्यलाई बलियो बनाउने हो भने विभिन्न जातजाति र समुदायलाई माथि उठाउने कार्यक्रम ल्याउनुपर्छ भन्नुभयो ।

मन्त्रालयका सचिव मुकुन्द निरौलाले आगामी दिनमा मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गरी आयोगका कामकारवाहीलाई नियमित र प्रभावकारी तुल्याउन कोसिस गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्लो समय विभिन्न आयोगका पहल र प्रयासमा लोक सेवाका परीक्षामा समावेशी र समानुपातिक प्रतिनिधित्वको नतिजा राम्रो देखिएको बताउनुभयो ।

त्यस अवसरमा आयोगका सचिवहरूबाट आआफना आयोगबाट भएका कार्यप्रगति, समस्या र भावि कार्यदिशासम्बन्धी प्रस्तुति भएको थियो । उहाँहरूले आयोगका फरक भूगोल र बेग्ला–बेग्लै खाले कार्य जिम्मेवारी भएकाले कानुन निर्माणमा त्यस कुरालाई विचार गर्न आवश्यक रहेको बताउनुभयो ।

पर्यटकको मन लोभ्याउँदै राताम्य शिरीषको फूल

झापा, ३ जेठ – झापाको तराई छिचोलेर उकालो जाँदै गर्दा इलामको सीमा पुग्नुअघि बर्नेको चिया बगानमा सडकको किनारैभरि राताम्य भएर ढकमक्क फुलेका शिरीषका फूलले कसको मन नलोभ्याउला । झापाको बुद्धशान्ति–४ मा रहेको बर्ने चिया बगानको बिचमा मेची राजमार्गको किनारमा फुलेका शिरीषका फूलले दशौँ हजार मौसमी पर्यटकको मन जितेको छ । शिरीषको फूलकै कारण यो स्थान विगत वर्षदेखि नै रमणीय पर्यटकीय क्षेत्र बनेको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल शिरीष’को रुपमा चर्चा भएपछि टाढादेखि पर्यटक यहाँ आउने गरेका छन् । फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न युवायुवतीको घुइँचो नै लाग्ने गरेको छ । झापालाई इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासँग जोड्न चार दशकअघि सडक निर्माण गर्दा मेची राजमार्गको बर्ने क्षेत्रमा फूल फूल्ने प्रजातिका शिरीष लहरै हुर्काइएको थियो । राजमार्गका यात्रुको ध्यान चैतदेखि फूल्ने यिनै शिरीषको फूलले तानेपछि विगत केही वर्षयता स्थानीय पालिकाले नै यसलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।

शिरीष फूलेको क्षेत्र प्राकृतिकरुपमै सौन्दर्ययुक्त भएकोले पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाइँले बताउनुभयो । उहाँका अनुसार पालिका र वडाले पर्यटकलाई सुविधा पु¥याउनका लागि रु १२ लाख बढी रकम खर्चेर बस्ने चौतारो, शौचालय र पार्किङस्थलको निर्माण गरेको छ । उहाँले हाल बर्ने चिया बगानको दुई सय मिटर सडक किनारमा तीन सय गुलमोहर शिरीषको बिरुवासमेत लगाइसकेको बताउनुभयो । सो स्थानमा पालिकाले ‘बेलकम टु यू बुद्धान्ति’ नै लेखे दुई वटा बगानको बीचमा ब्लक विच्छ्याएर टिकटिक रोडसमेत बनाइसकेको बनाउनुभयो ।

“शिरीष फुलेको सिजनमा मात्र होइन वर्षैभरि पर्यटकलाई आकर्षण गर्ने गरी सो क्षेत्रमा विकास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब चाँडै पालिकाकामा बसोबास गर्ने विभिन्न जातजातिका ड्रेससहित घोडा ल्याउने तयारीसमेत भइरहेको छ ।”उहाँले पालिकाले यस क्षेत्रमा भएको खानेपानीको अभावलाई तत्काल व्यवस्थापन ट्याङ्की निर्माण र टाइल विच्छ्याउने कार्य तीव्ररुपले भइरहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा भाइरल शिरीषको फूल देखेर बुधबार काठमाडौँबाट चन्द्रगढी विमानस्थलहुँदै श्रीकेश तेलका प्रोपाइटर टीका बुढाथोकीसमेत आएको बताउनुभयो ।

 उहाँले समेत यस क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न सक्दो सहयोग गर्ने आश्वासन दिएको उहाँले राससलाई जानकारी दिनुभयो । झापामा पर्यटकीय आकर्षणकास्थल प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उत्साहित बनाउने भएकाले फूलेका शिरीषका रुख सामाजिक सञ्जालमासमेत भाइरल भइरहेका छन् । यतिबेला बर्ने चिया बगान, दोमुखा धार्मिक पर्यटकीय क्षेत्र र थोप्लेविरान सामुदायिक वनभित्र फुलेको शिरीषको फूलले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउन थालेको हो ।

शिरीषको फूलको सौन्दर्यले मोहित भएका पर्यटक व्यक्तिगत, सामूहिक तस्बीर खिचाउने र टिकटक बनाउन व्यस्त देखिन्छन् । बर्षाँै पुराना ती रुख वर्षमा एकचोटी फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको थोल्लेविरान सामुदायिक वन उपभोक्ता समितिकी सचिव जानुका ओलीले बताउनुभयो ।

उहाँले थोप्लेविरान सामुदायिक वन परिसरको पार्कमा फूलेको शिरीषको फूलमा तस्बीर खिचाउन दैनिकजसो भीड लाग्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो “हरियाली वनभित्र राताम्मे फूलेको शिरीषको फूल नै अहिले पर्यटकको रोजाइमा परेको छ ।”दोमुखा धार्मिक पर्यटकीय क्षेत्रभित्र शिरीषकै फूलको कारण पर्यटकको थप आकर्षण बढेको छ । पूर्व–पश्चिम राजमार्गको माईधार चोकदेखि करिब पाँच किलोमिटर उत्तरमा रहेको यस स्थानका अन्य क्षेत्रमा भन्दा शिरीषकै फूलमा तस्वीर खिच्नेको भीड लाग्न थालेको छ ।

गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको सचिव ओलीको भनाइ छ । पूर्व–पश्चिम एसियन हाइवे निर्माण सुरुसँगै सडक आसपास क्षेत्रका रुख कटान गरिएको छ । दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले बन्दै गरेको सडक किनारामासमेत स्थानीय सरकारले शिरिषको बिरुवा लगाउन सके भविष्यमा सडक नै सुन्दर देखिने जिल्ला सामुदायिक वन महासङ्घका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो ।

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ । एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले २०२६ को प्रतियोगिता आयोजना गर्ने एएफसी महिला फुटबल समितिको सिफारिसलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको २०२३ फिफा महिला विश्वकपले प्रतियोगितामा दर्शकको उपस्थितिको रेकर्ड बनाएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई अहिलेसम्मकै उत्कृष्ट महिला विश्वकपका रूपमा वर्णन गर्नुभएको थियो ।

 सन् २०२६ मा १२ टिमकोे महिला एसियाली कपका खेलहरू न्यु साउथ वेल्स (एनएसडब्लु,) क्विन्सल्यान्ड र पश्चिमी अस्ट्रेलिया (डब्लुए) राज्यमा हुनेछन् । सिड्नीको स्टेडियम अस्ट्रेलियामा सेमिफाइनल र फाइनल खेल हुनेन् ।अस्ट्रेलियाले अन्तिम पटक सन् २००६ मा महिला एसियाली कपको आयोजना गरेको थियो । 
उक्त प्रतियोगितामा राष्ट्रिय महिला टोली माटिल्डा पहिलो पटक फाइनलमा पुगेको थियो तर पेनाल्टीमा चीनसँग पराजित भएको थियो ।   अस्ट्रेलियाले सन् २०१० मा पहिलो पटक प्रतियोगिता जितेको थियो भने सन् २०१४ र २०१८ मा पुनः फाइनलमा पुग्दा पनि दुवै अवसरमा जापानसँग पराजित भएको थियो ।

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयुक्तरूपमा काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको बृहत् वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दुई पक्षले कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुआतका रूपमा लिनुपर्ने, विकास रणनीतिमा थप समन्वय गर्नुपर्ने र द्विपक्षीय सहयोगलाई समृद्ध बनाउने पहल जारी राख्नुपर्ने बताउनुभयो । सिन्ह्वाले रिपोर्ट गरेअनुसार राष्ट्रपति जिनपिङले दुई देशबीच सहकार्यका लागि विभिन्न क्षेत्रमा नयाँ योजना बनाउन तयार रहेको बताउनुभयो ।

राष्ट्रपति जिनपिङले यस वर्ष चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै देशले सबै मोर्चामा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाइरहेको र उच्च गुणस्तरको विकासको माध्यमबाट नयाँ उत्पादक शक्तिहरूलाई बढावा दिन द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले चीन र रुस दुवै संयुक्त राष्ट्र सुरक्षा परिषद् र प्रमुख उदीयमान बजारका स्थायी सदस्य रहेको कुरामा जोड दिनुभयो ।

सिन्ह्वाका अनुसार यो भेट रणनीतिक समन्वयलाई गहिरो बनाउन, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र विश्वमा बहुध्रुवीयता र आर्थिक भूमण्डलीकरणको सामान्य ऐतिहासिक प्रवृत्ति पछ्याउन दुवै देशको साझा रणनीतिक छनोट हो । राष्ट्रपतिका रूपमा आफ्नो नयाँ कार्यकाल सुरु गरेपछि रुसी राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण भएको उल्लेख गर्दै राष्ट्रपति पुटिन र रुसी सरकारले चीन–रुस सम्बन्धको विकासमा राखेको ठूलो महत्त्व दर्शाउनेमा राष्ट्रपति जिनपिङले जोड दिनुभयो । 

छलफलका क्रममा चिनियाँ राष्ट्रपतिले पुटिनलाई ‘पुरानो मित्र’ का रूपमा अभिवादन गर्नुभयो र चीन र रुसले विगत एक दशकमा ४० भन्दा बढी बैठकमा एकअर्कालाई ‘रणनीतिक मार्गदर्शन’ प्रदान गरेको बताउनुभयो ।
चीन भ्रमणका क्रममा पुटिन चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिन जानुहुने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले व्यापार र सहयोगका कार्यक्रममा भाग लिनुहुनेछ । ऐतिहासिकरूपमा चीन र रुसबीचको सीमा तनावले ग्रस्त यस क्षेत्रमा हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखिएको छ । यसबाट दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्ध सुधारिएको पाइएको छ ।

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई अपग्रेड गर्दै करिब सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने वाचा गरेको छ ।

परियोजनाअनुरूप नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ ।परियोजनाले विशेषगरी जाडो महिनाहरूमा ग्रामीण स्वास्थ्य सेवा सुविधाहरूको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा–कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडिबीले जनाएको छ  ।  

सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी

बैतडी, ३ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ ।” सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीकहाँ सम्भावना धेरै छन् । कृषि, उद्योग र उद्ममशिलता अहिलेको प्राथमिकता हो । युवाहरूलाई उद्यमशिलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ ।”

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमई ग्रुपसँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ । दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइदैछ । बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग बिस्तार गरिनेछ ।”

फरक प्रसङ्गमा उहाँले विपक्षी दलले सदनलाई बन्धन बनाएको बताउनभयो । उहाँले भन्नुभयो, “सरकारको आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ । संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदन चल्न दिएर पनि उठाउन सकिन्छ । संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसद्मा उठ्न सकेका छैनन् । थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन् । राष्ट्रिय मुद्दा ओझेलमा परेका छन् ।”

नेपाल खेलकुद महासङ्घको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार रु ७७ हजार सात सय ७७, दोस्रो पुरुस्कार रु ५५ हजार पाँच सय ५५, तेस्रो पुरुस्कार रु ४४ हजार चार सय ४४ र सान्त्वना पुरुस्कार रु ३३ हजार तीन सय ३३ रहेको नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’ : सभापति खतिवडा

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।जन्मदर्तासम्बन्धी कानुन संशोधनका विषयमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले दुवै कानुन संशोधनका लागि समितिले पहल गर्ने बताउनुभएको हो । आमाका नाममा नागरिकता प्रदान गर्न संविधान र कानुनमा गरिएको व्यवस्थाअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्न गृह मन्त्रालयसँग सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानको धारा ३९ (१) मा कानुनी पहिचानको अधिकारको व्यवस्था गरिएकाले जन्मदर्ताका बारेमा खडा गरिने समस्या संविधानविपरीत हुने हुने बताउनुभयो ।

नेपालले अनुमोदन गरेको बाल अधिकार महासन्धिको धारा ७ मा बालक जन्मेको एक घण्टामै जन्मदर्ता गरेर प्रमाणपत्र दिनुपर्ने व्यवस्था भए पनि नेपालमा हजारौँ बालबालिकाको वर्षौैदेखि जन्मदर्ता हुन नसकेकाले सो समस्या समाधानका लागि कानुनमा समसामयिक संशोधन गरिनुपर्नेमा उहाँले समिति सभापति खतिवडालगायतको ध्यानाकर्षण गराउनुभयो ।

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल

भैरहवा (रुपन्देही)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने संभावना धेरै रहेको छ भन्नुभयो । फरक प्रसङ्गमा बोल्दै नेता डा रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुुशील गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गर्नुभएको जानकारी गराउँदै बोल्नका लागि समय दिनुभएको थियो तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।