`

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई अपग्रेड गर्दै करिब सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने वाचा गरेको छ ।

परियोजनाअनुरूप नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ ।परियोजनाले विशेषगरी जाडो महिनाहरूमा ग्रामीण स्वास्थ्य सेवा सुविधाहरूको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा–कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडिबीले जनाएको छ  ।  

सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी

बैतडी, ३ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ ।” सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीकहाँ सम्भावना धेरै छन् । कृषि, उद्योग र उद्ममशिलता अहिलेको प्राथमिकता हो । युवाहरूलाई उद्यमशिलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ ।”

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमई ग्रुपसँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ । दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइदैछ । बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग बिस्तार गरिनेछ ।”

फरक प्रसङ्गमा उहाँले विपक्षी दलले सदनलाई बन्धन बनाएको बताउनभयो । उहाँले भन्नुभयो, “सरकारको आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ । संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदन चल्न दिएर पनि उठाउन सकिन्छ । संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसद्मा उठ्न सकेका छैनन् । थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन् । राष्ट्रिय मुद्दा ओझेलमा परेका छन् ।”

नेपाल खेलकुद महासङ्घको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार रु ७७ हजार सात सय ७७, दोस्रो पुरुस्कार रु ५५ हजार पाँच सय ५५, तेस्रो पुरुस्कार रु ४४ हजार चार सय ४४ र सान्त्वना पुरुस्कार रु ३३ हजार तीन सय ३३ रहेको नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

‘जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गरिने’ : सभापति खतिवडा

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।जन्मदर्तासम्बन्धी कानुन संशोधनका विषयमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले दुवै कानुन संशोधनका लागि समितिले पहल गर्ने बताउनुभएको हो । आमाका नाममा नागरिकता प्रदान गर्न संविधान र कानुनमा गरिएको व्यवस्थाअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्न गृह मन्त्रालयसँग सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानको धारा ३९ (१) मा कानुनी पहिचानको अधिकारको व्यवस्था गरिएकाले जन्मदर्ताका बारेमा खडा गरिने समस्या संविधानविपरीत हुने हुने बताउनुभयो ।

नेपालले अनुमोदन गरेको बाल अधिकार महासन्धिको धारा ७ मा बालक जन्मेको एक घण्टामै जन्मदर्ता गरेर प्रमाणपत्र दिनुपर्ने व्यवस्था भए पनि नेपालमा हजारौँ बालबालिकाको वर्षौैदेखि जन्मदर्ता हुन नसकेकाले सो समस्या समाधानका लागि कानुनमा समसामयिक संशोधन गरिनुपर्नेमा उहाँले समिति सभापति खतिवडालगायतको ध्यानाकर्षण गराउनुभयो ।

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल

भैरहवा (रुपन्देही)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने संभावना धेरै रहेको छ भन्नुभयो । फरक प्रसङ्गमा बोल्दै नेता डा रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुुशील गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गर्नुभएको जानकारी गराउँदै बोल्नका लागि समय दिनुभएको थियो तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

निगमको सेवालाई थप चुस्त बनाउन कर्मचारीलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ, ३ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उहाँले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गर्नुभयो । “निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु । तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला । ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला”, उहाँले भन्नुभयो ।

त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०÷८१ को समीक्षा र आगामी आव २०८१÷८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गर्नुभएको निगमले जनाएको छ । बैठकमा निगमका कार्यकारी अध्यक्षलगायत नायब महाप्रबन्धक (प्रा), निगमका सम्पूर्ण विभागीय प्रमुख, निगमका दसवटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुख र निगममा क्रियाशील टे«ड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभएको थियो भने बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ ।

युवाले देश बनाउने संकल्प गर्नुपर्छः एमाले महासचिव पोखरेल

भक्तपुर, ३ जेठ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने संकल्पसहित युवा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले युवाले संकल्प नगरेसम्म देश विकास नहुनेसमेत बताउनुभयो ।

उहाँले आफ्नो पार्टीमा आवद्ध युवालाई समाज बदल्ने पार्टीका अभियानमा कटिबद्ध भएर लाग्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देश बनाउने बेलामा देश छाड्ने युवाको लर्को धेरै छ, योबेला देशलाई देश छाड्नेभन्दा देश बनाउने युवाको आवश्यकता छ । त्यसैले आम युवालगायत नेकपा (एमाले) मा आवद्ध सबै युवालाई देश बनाउने संकल्पसहित अगाडि बढ्न आग्रह गर्दछु ।”

जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबर र अभियन्तालाई खोज्ने अवस्था सृजना भइरहेको भन्दै उहाँले पार्टीलाई जनतासंग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको समेत बताउनुभयो । यस्तै, ‘मिसन ८४’ सफल पार्न जनतासँग नजिक रहेर काम गर्न पनि उहाँको आग्रह थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोमप्रसाद मिश्र, तुलसा दाहाल, एमाले बागमति प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, सचिव मोहनबीर श्रेष्ठलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा मध्यपुरथिमिमा जिब्रो छेडेर संस्कृति जोगाउन लाग्ने सुजन बागश्रेष्ठलाई सम्मान गरिएको थियो ।  

आन्तरिक राजस्व कार्यालय झापाले दश महिनामा दुई अर्ब ३८ करोड सङ्कलन गर्यो

झापा -आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ७६ लाख ४० हजार राजस्व सङ्कलन भएको हो । कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार कम सङ्कलन भएको छ ।

उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो । झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन्भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य प्रभावित भएको उहाँले बताउनुभयो ।

आज ३१ औँ मदन–जीवराज स्मृति दिवस मनाइँदै

काठमाडौँ, ३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ

डोटी, ३ जेठ : जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।

आज देशभरका रामजानकी मन्दिरमा सीताको विशेष पूजा आराधना गरिदै

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ ।

जनकपुरमा जानकी नवमीको रौनक

सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ । यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ ।

देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।

प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाखभेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

रामपुर (पाल्पा), ३ जेठ : पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसाउने इन्टरसेप्टर विकास गर्ने योजनामा छन् ।कथितरूपमा तीन अर्ब डलरभन्दा बढी लागत पर्ने उक्त योजनाको घोषणा पहिलो पटक अगस्टमा दुवै मुलुकका नेताहरूले वासिङ्टनबाहिर क्याम्प डेभिडमा दक्षिण कोरियासँगको शिखर सम्मेलनमा भेट गर्दा भएको थियो ।

“हालैका वर्षमा जापान वरपर हाइपरसोनिक हतियारजस्ता क्षेप्यास्त्रसम्बन्धी प्रविधिहरूमा नाटकीयरूपमा सुधार भएको छ”, कथित ग्लाइड फेज इन्टरसेप्टर (जिपिआई) संयुक्तरूपमा विकास गर्ने सम्झौताका बारेमा रक्षा मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ, “उनीहरूविरुद्ध अवरोध क्षमताहरूलाई बलियो बनाउन जरुरी मुद्दा हो ।”

जापान सरकारले इन्टरसेप्टरको विकासका लागि आफ्नो सन् २०२४ को बजेटमा ७५ अर्ब येन (४८ करोड डलर) समावेश गरिसकेको छ । हाइपरसोनिक क्षेत्रप्यास्त्रहरू ध्वनिको पाँच गुणाभन्दा बढी गतिमा उड्छन् र उनीहरूको प्रक्षेप मार्ग अनियमित हुँदा तिनीहरूलाई रोक्न मुस्किल हुन्छ ।

चीन र उत्तर कोरियासँग तनाव बढेपछि ७५ अर्ब येन गत वर्ष स्वीकृत ७९ खर्ब ५० अर्ब येनको रेकर्ड रक्षा बजेटको हिस्सा हो । प्रधानमन्त्री फुमियो किशिदाले सन् २०२७ सम्ममा नाटोको मापदण्डमा रक्षा खर्च दोब्बर गरी कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत पुर्याउने वाचा गर्नुभएको छ । जापानमा युद्धपछिको शान्तिवादी संविधान छ । संविधानले जापानको सैन्य क्षमतालाई स्पष्टरूपमा रक्षात्मक उपायहरूसम्म सीमित गर्दछ । यद्यपि मुलुकले सन् २०२२ मा प्रमुख सुरक्षा र रक्षा नीतिहरूलाई अद्यावधिक गरेको छ ।

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

काठमाडौँ, ३ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

“वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उहाँको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीनकालमा कायम रहेको मातृशक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिने बताउनुभएको छ । सीताले आफ्नो जीवनमा अवलम्बन गरेको आदर्शलाई ग्रहण गर्नसके परिवार र समाजमा आपसी द्वन्द्व र मनोमालिन्यताको अन्त्य भई परस्पर शान्ति, प्रेम र मेलमिलापमा वृद्धि हुनसक्ने उहाँको विश्वास छ ।

“भजन, कीर्तन र आरती सीता जयन्तीको केही महत्वपूर्ण आकर्षण हुन्, यी सबै हाम्रो मौलिक संस्कृतिसँग जोडिएका छन्, यी सबैको संरक्षण अति आवश्यक छ, सीताको पूजाअर्चना भक्तिभाव र श्रद्धाभावले गरे व्यक्तिको जीवनमा सुख–समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । यसैगरी रोग, दोष र पारिवारिक कहलबाट मुक्ति पाइने मान्यता पनि छ, यी मान्यतालाई जीवन्त राख्दै आपसी सद्भाव र मैत्रीभाव कायम गर्न प्रतिबद्धता जनाउने अवसरका रुपमा पनि सीता जयन्तीलाई लिन सक्नुपर्दछ”, उहाँले भन्नुभएको छ ।

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

रसुवा- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चालु आर्थिक वर्षको चैतसम्म रसुवा जिल्लामा भएका विकास निर्माणको लेखाजोखा गर्न जिल्ला समन्वय समितिले सदरमुकाम धुञ्चेमा आयोजना गरेको समीक्षा गोष्ठीलाई मन्त्री जोशीले धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड जान सहज बनाउनका लागि धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माण आवश्यक रहेको बताउनुभयो ।

उहाँले जिल्लाको समग्र विकासका कार्यक्रम तर्जुमा गर्दा कुनले के काम गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिबीच एकआपसी छलफल गरेर समन्वयात्मक तवरले अगाडि बढ्न आग्रह गर्नुभयो । मन्त्री जोशीले स्थानीय तहमा युवालाई रोजगार सिर्जना, बढी प्रतिफल दिने कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो । 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा भएको समीक्षा गोष्ठीमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य साङ्तेम्वा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङलगायतले रसुवाली सबैखाले विकास निर्माणका योजना तर्जुमा गर्नुपूर्व सबै पक्षको समन्वय गर्न जरूरी रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुनसक्ने छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भागका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले काठमाडौँ उपत्यकाको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

अन्नपूर्ण (कास्की- नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्ने बताउनुभएको छ ।नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीद्वारा बुधबार पोखरामा आयोजित प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा उपसभापति गुरुङले राजनीतिमा अनुशासनको कमी हुँदै गएको बताउनुभयो । “

हामी राजनीतिककर्मीमा अनुशासनको कमी हुँदै गएको देखिएको छ, खेलाडीबाट अनुशासन सिक्न जरुरी छ”, उपसभापति गुरुङले भन्नुभयो, “खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् ।”

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी

काठमाडौँ- उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार यहाँ आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गर्नुभयो ।

आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् ।

यस्तै एचआइडिसिएलले रु चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रु चार अर्ब, लक्ष्मी सनराइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड लगानी गर्नेछन् ।  यो आयोजना निर्माणका लागि रु २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रु १६ अर्ब ऋण र रु सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।

वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । कुनै एउटा परियोजना कुन हदसम्म महत्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौँ जलविद्युत् आयोजना पहिचान भएका छन् । निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन ।

सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ । हाल आठ दशमलव ५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ । सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शुन्य दशमलव २० मेगावाट मात्रै उत्पादन भएको छ । दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

कूल एक सय छ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ । परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरुपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकासले पछाडि परेको कर्णाली प्रदेशको डोल्पा जिल्लामा सो आयोजनाका कारण विकास पुगेको छ । सडक सञ्जाल बिस्तार भएको छ । दूरसञ्चारको पहुँचबाट टाढा रहेको स्थानमा नेपाल टेलिकमको सेवा बिस्तार भएको छ । केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत पुगेको छ । आयोजनाका कारण स्थानीय उत्पादनको बिक्रीवितरण बढ्दो क्रममा छ । रोजगारीको खोजीका काला पहाड चहार्नुपर्ने डोल्पालीले थोरैमात्रामा भए पनि घर आँगनमा नै रोजगारीको अवसर पाउने छन् । डोल्पाको  मुडकेचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुनेछ ।

यस्तो छ शेयर संरचना

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्ने गरी शेयर संरचना तय गरिएको छ । पहिलो पटक प्रसारण लाइन प्रभावितका लागिसमेत शेयर लगानी गर्न सक्ने गरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकारको पाँच, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक÷एक प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

सर्वसाधारण शेयरधनीका रुपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन÷ तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको अधिकृत पुँजी रु आठ अर्ब, जारी पुँजी रु सात अर्ब एक करोड र चुक्ता पुँजी रु एक अर्ब एक करोड बराबर छ । सो आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षण पत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको हो ।

अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड सात सय ८९ दशमलव छ मिटर छ । आयोजनाले छ सय २३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ । यस्तै जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ ईलमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ ।

आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो । यस कारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो । आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ । उहाँका अनुसार बोलपत्रको काम पूरा गरी सकेसम्म चालु आवको अन्त्य नभए पनि आगामी आवदेखि निर्माणमा जाने तयारी भइरहेको छ ।   

आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुड्केचुलाको ईल पुग्नका लागि सडक निर्माण भएको छ । हाल त्रिवेणीमा पुल निर्माण जारी छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण पुनःनिर्माणले भने गति लिन सकेको छैन । त्यस्तै त्रिवेणीबाट इलसम्म पुग्ने एक दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको सहयोगमा विष्फोटनको काम भइरहेको छ । कडा चट्टान भएकाले अहिले विस्फोटक पदार्थको प्रयोग गरी सडक निर्माण भइरहेको छ । चालु आवको अन्त्यसम्म सडक निर्माण सक्ने तयारी छ ।

सो आयोजनासँगै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको पनि अध्ययन कार्य जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययनको काम भइरहेको छ । यस्तै लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । सो आयोजनाको कूल लागत रु २७ अर्ब रहने अनुमान गरिएको छ । यस्तै २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययन कार्य सुरु भएको छ ।

आयोजनाको निर्माणपछि वार्षिकरुपमा रु चार अर्ब ८० लाख बराबरकोे आम्दानी हुनेछ । त्यसबाट सङ्घीय सरकारले वार्षिकरुपमा रु १९ करोड २३ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले रु नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले रु नौ करोड ६१ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ ।

प्रसारण लाइन प्रभावितलेसमेत आयोजनाको शेयर पाउने भएकाले थप सहज हुने र स्थानीयवासीमा आयोजनाप्रति अपनत्वको महसुस समेत हुने विश्वास लिइएको छ । भौतिक विकासमा पछाडि परेका ती स्थानीय तहले एउटा आयोजनाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्नेछ । त्यस्तै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ए आयोजनाको निर्माणपछि रोयल्टी बढेर रु २० करोड बराबर पुग्नेछ । आयोजनाले रु एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ । त्यसबाट विकासका दृष्टिले पछि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

ऋण सम्झौताका लागि आयोजित समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना तोकिएको समयमा पूरा गर्न सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराखिने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको विकासका लागि आयोजना असाध्यै महत्वपूर्ण रहेकाले यसमा कुनै पनि समस्या आउन नदिने बताउनुभयो ।

उहाँले क्यास्केड आयोजनाका रुपमा रहेको जगदुल्ला ‘ए’ कोसमेत आगामी असारभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार हुने जानकारी दिँदै वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी भएको उल्लेख गर्नुभयो ।

सहरी विकासमन्त्री धनबहादुर बुढाले आयोजनालाई समयमै पूरा गराउनका लागि डोल्पावासी र स्थानीय जनप्रतिनिधिकोतर्फबाट शतप्रतिशत सहयोग रहने बताउनुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्री रहनुभएका नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आयोजना स्वदेशी लगानी र सरकारी स्वामित्वमा नै निर्माणका लागि आफूले सक्दो पहल गरेको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद ज्ञानबहादुर शाही, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढा, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले आयोजनाको समग्र अवस्थाबारे धारणा राख्नुभएको थियो । उहाँले शीघ्र आयोजनाको निर्माण कार्य सुरु गरिहाल्न निर्देशन दिनुभएको छ । 

मन्त्री बस्नेतले आयोजनाको काममा कुनै पनि विलम्ब नगर्न आग्रह गर्दै कुनै समस्या भए आवश्यक सहजीकरण गर्न आफू तयार रहेको बताउनुभएको छ ।

भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढ्न नसकेको अवस्थामा जगदुल्ला नै कर्णाली प्रदेशको पहिलो ठूलो आयोजनाका रुपमा निर्माण सुरु हुन लागेको छ । मन्त्री बस्नेतले डोल्पा जिल्लाको मात्रै नभई कर्णाली प्रदेशको विकास र समृद्धिको यात्राका लागि महत्वपूर्ण मानिएको सो आयोजना तत्काल सुरु गर्न निर्देशन दिनुभएको छ ।

हाल कोहलपुर सुर्खेत प्रसारण लाइनबाट समग्र कर्णाली प्रदेशभर नै बिजुली प्रवाह भइरहेको छ । लामो र कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीय बिजुली कर्णाली प्रदेशवासीले पाउन सकेका छैनन् । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणपछि गुणस्तरीय र भरपर्दो बिजुलीसमेत कर्णालीवासीले पाउनेछन् । आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेटिएको छ ।   आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा समेटिएको सो आयोजनाले दैनिक रु एक करोड २० लाख बराबर आम्दानी गर्नेछ । राज्यलाई वार्षिकरुपमा रु २९ करोड बराबरको राजस्व उपलब्ध गराउनेछ । 

आज सीता जयन्ती, राष्ट्रपतिद्धारा शुभकामना

काठमाडौँ, ३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।

माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिकारूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गर्नुभयो । 

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । राष्ट्रपति पौडेलले त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको उल्लेख गर्नुभएको छ । 

“माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरकारूपमा रहिआएको छ, जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ ।   उहाँले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामनासमेत गर्नुभएको छ । 

कार्यान्वयन हुने गरी १६औँ योजना तय भएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले कार्यान्वयन सुनिश्चित हुने गरी १६औँ आवधिक योजना तय भएको बताउनुभएको छ ।   योजना आयोगको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले १६औँ योजनामा आधारित भएर आगामी वर्षको नीति तथा कार्यक्रम बनेको समेत स्पष्ट पार्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले आगामी आवको बजेट पनि योजनाका लक्ष्य कार्यान्वयन हुने गरी बिनियोजन हुने बताउनुभयो । “१५औँ योजनाका लक्ष्य महत्वाकाङ्क्षी रहेकाले पूरा हुन सकेनन्, तर १६औँ योजनाका लक्ष्य महत्वाकाङ्क्षी छैनन्, कार्यान्वयन सम्भव छ”, उहाँले भन्नुभयो, “१५औँ योजनाभन्दा १६औँ योजना आकारमा आधा सानो भएको छ ।” 

उहाँका अनुसार सोह्रौँ योजनामा उत्पादन, रोजगारी र उपभोगलाई जोड दिइएको छ ।  विगतमा आर्थिक र समाजिक पक्षमा मात्रै जोड दिएर पञ्चवर्षिय योजना बन्ने गरेको भए पनि अहिले भने वातावरण र पर्यावरणको विकासमा पनि जोड दिएको श्रेष्ठको भनाइ छ । उहाँले आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरिएको बताउनुभयो । 

सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि रु एक सय ११ खर्ब बजेट आवश्यक हुने अनुमान गरिएको छ । उपाध्यक्ष श्रेष्ठले लगानी जुटाउनका लागि कुनै पनि चुनौती नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले मुलुकको समृद्धि हासिल गर्नका लागि सुशासन जरुरी रहेको उल्लेख गर्दै दाहोरो कर प्रणाली विकराल समस्या रहेको बताउनुभयो । 

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ सोचका साथ सोह्रौ योजना तर्जुमा भएको उहाँको भनाइ थियो । राजनीतिक, प्रशासनिक, न्यायीक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु, मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्ने लक्ष्य सोह्रौँ योजनाले तय गरेको उहाँले बताउनुभयो । 

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी, ३ जेठ पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका उहाँले राससलाई बताउनुभयो ।

“मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किदैँछ, पछिल्लो समय तेस्रो मुलुकका पर्यटक बढी आइरहेका छन् ।” एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । सतहमार्ग भएर मुस्ताङ र मुस्ताङलगायत अन्य स्थानबाट आउने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने उहाँले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्ग धेरै देशका पर्यटकको रोजाइमा पर्दै आएको छ । उहाँका अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो हालसम्मकै बढी हो । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

हिमशृङ्खलासहितका आकर्षकस्थल, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीको अतिथि सत्कार र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट गन्तव्यमध्येको एक भएको प्रमुख कडरियढा बताउनुहुन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हेर्नुहोस् आज बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

मिथुन राशि -एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि- बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

सिंह राशि -हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कन्या राशि- धारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

तुला राशि -धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

बृश्चिक राशि -नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

धनु राशि -कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मकर राशि -कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कुम्भ राशि- अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

मीन राशि – सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौँ, २ जेठ-टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित टेबल टेनिस हलमा आज भएको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ ले पराजित गर्दै ओलम्पिकमा छनोट भएका हुन् । योसँगै ओलम्पिकमा छनोट चरणबाट खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट तेक्वान्दोका सङ्गीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । सङ्गीना सन् २००४ मा एथेन्स र दीपक सन् २००८ मा बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।

‘वेष्ट अफ सेभेन’मा भएको आजको खेलमा पहिलो सेट ११–७ अङ्कले आफ्नो पक्षमा पारेका स्यान्टु दोस्रो सेटमा ८–११ अङ्कले पराजित भए । त्यसपछिका दुई सेट ११–७ र ११–६ अङ्कले जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११ र ८–११ अङ्कले गुमाए । अन्तिम सेट ११–९ अङ्कले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे । यसअघि स्यान्टुले श्रीलङ्कका चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, २ जेठः नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरियाका राष्ट्रपति, युन सुक येओल त्यहाँको सरकार र कोरियाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । बधाई सन्देशमा प्रधानमन्त्रीले दुई देशबीच पारस्परिक सम्मान र सद्भावनामा आधारित सम्बन्ध हार्दिक एवं मैत्रीपूर्ण रहेको बताउनुभएको छ । आधा शताब्दी पुरानो द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्रीले त्यसलाई चिरस्थायी बनाउन व्यापक सहकार्यका साथ मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

त्यसैगरी गणतन्त्र कोरियाका राष्ट्रपति  येओलले  नेपाल सरकार र जनतामा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले दुई देशबीच विभिन्न क्षेत्रमा मित्रता र सहयोगको सुदृढ सम्बन्धमा सम्बन्धमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।     बधाई सन्देशमा कोरियाली राष्टपतिले नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध आगामी वर्षहरूमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य नेपालगञ्जका किसान

नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल नपाउँदा भारतीय बजारबाट पनि किसानले मल भित्र्याइएको जानकारी दिनुभयो । सरकारले किसानको मागभन्दा बजेटअनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकताअनुसार किसानले रासायनिक मल पाउन नसकेको स्थानीय किसानहरुको भनाइ छ ।

स्थानीय तहको सिफारिसमा सहकारीले मल किसानसम्म पु¥याउने गर्छन । कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट टे«ेडिङ कम्पनीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछन् । लिमिटेडलाई ७० र टे«डिङ कम्पनीलाई ३० प्रतिशत मल सरकारले दिने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले निर्धारित लक्ष्यअनुसार नै रासायनिक मल आउने उल्लेख गर्दै खास गरी मुख्य बाली धान, मकै र गहुँ बालीका लागि मल किसानलाई उपलब्ध गराएको बताउनुभयो ।

उहाँले बगर खेतीका लागि मल उपलब्ध नहुने जानकारी दिँदै अन्य खेतीका लागि भारतीय बजारबाट पनि मल आउन सक्ने आशङ्का गर्नुभयो । श्रेष्ठ भन्नुभयो, “हामीले प्रदेश सरकारले दिने कोटाअनुसार नै मलको वितरण भएको छ ।”
अहिले जिल्लामा युरिया रासायनिक मल वितरण भएको जानकारी दिँदै डिएपीलगायतका मल एक सातासम्ममा आइपुग्ने श्रेष्ठले उल्लेख गर्नुभयो । कृषि सामग्री कम्पनी लिमिटेडमा हाल छ सय २९ दशमलव चार मेट्रिक टन युरिया, ८८ दशमलव २५० मेट्रिक टन डिएपी र ५८ दशमलव ५५ मेट्रिक टन पोटास मल मौज्दात छ ।

चालु आर्थिक वर्षमा युरियाको वार्षिक बिक्री लक्ष्य छ हजार मेट्रिक टन, डिएपीको वार्षिक लक्ष्य दुई हजार पाँच सय मेट्रिक टन र पोटासको लक्ष्य तीन सय मेट्रिक टन मल रहेको छ । चालु आवदेखि कम्पनीले कृषि चुनको बिक्रीसमेत थालेको छ । माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उद्देश्यले कृषि चुन बिक्रीका लागि राखिएको हो । कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक श्रेष्ठ जिल्लामा चालु आवमा ६३ मेट्रिक टन कृषि चुन बिक्रीको लक्ष्य राखिएको बताउनुहुन्छ ।

राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्नु पर्छ : उपसभामुख राना

काठमाडौँ, २ जेठ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सांसदहरु राष्ट्रिय हितका मुद्दामा दलीय स्वार्थभन्दा माथि उठ्न सक्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस) को आज स्थलगत निरीक्षण गर्दै उपसभामुख रानाले विधायिकाको भूमिकाबारे उल्लेख गर्दै दल र सत्ताको स्वार्थभन्दा माथि राखेर जनता तथा राष्ट्रको हितमा काम गर्न सुझाव दिनुभयो ।

“कतिपय समयमा सदन र संसदीय समितिमा सांसदहरुको गणपूरक सङ्ख्या नपुगेर स्थगन भइरहेको अवस्था छ । विधायिकाको भूमिका सामान्य हैन”, उहाँले भन्नुभयो, “हरेक अङ्ग सङ्गठित र मजबुत हुनुपर्यो । एक अर्कालाई दोषारोपण गरेर मात्र हुँदैन । हाम्रो धेरै अभ्यास सत्तामा केन्द्रित भयो, त्यो रणनीति पनि हो । तर राष्ट्रिय हितका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनैपर्छ ।”

उपसभामुख रानाले स्थिर सरकार नहँुदा पनि समस्या भएको बताउनुभयो । उहाँले संसद्को प्रभावकारी सञ्चालनका लागि शीर्ष दलका नेताहरु पनि एउटै विन्दुमा आउनुपर्नेमा जोड दिनुभयो । सदन निष्पक्ष र प्रभावकारी सञ्चालन गर्न उपसभामुखको भूमिकामा आफू प्रयासरत रहेको उहाँको भनाइ थियो । उपसभामुखको भूमिकामा उठ्दै आएका प्रश्नलाई आफूले चिर्ने उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो ।

सभामुख र सचिवालयको सहकार्यका लागि सांसदहरुको क्षमता अभिवृद्धिमा लागिपरेको उपसभामुख रानाले बताउनुभयो । “‘उप’, ‘चुप’ भन्ने भाष्य खडा भएको छ । यसलाई म सधैँ खण्डन गर्छु”, उहाँले भन्नुभयो, “सदन निष्पक्ष र प्रभावकारी ढङ्गले सञ्चालन गर्नु मेरो दायित्व हो । तर म एक सांसद पनि हो । मेरा अनुभव र ज्ञानका आधारमा कसैलाई आरोप प्रयारोपबिना पनि सम्मान्नपूर्वक व्यवहार गरेर उपसभामुखले प्रतिक्रिया एवं धारणा राख्न पाउनुपर्छ ।”
बालबालिका, महिला, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिका मुद्दा सदनमा पर्याप्त मात्रामा उठान गर्नुपर्ने उपसभामुख रानाको भनाइ छ । निष्पक्ष र स्वतन्त्र पत्रकारिताबाट सुशासन कायम राख्न सम्भव हुने उहाँले उल्लेख गर्नुभयो ।

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौँ, २ जेठः एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको पाइएको हो ।

आरोपीहरु राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारका नाममा जन्ममिति र ठेगाना फरक बनाई दुई वटा नागरिकता लिएर मानव तस्करी गर्ने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

उनीसहितका गिरोहले महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पु¥याउने र बेचबिखन गर्ने गरेको खुल्न आएको उहाँले बताउनुभयो । महिलालाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई हुँदै कुवेत पु¥याएर घरेलु कामदारका रुपमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडितका एक आफन्तले कार्यालयमा दिएको निवेदनका आधारमा कुवेतस्थित नेपाली राजदूतावासमार्फत एक पीडित महिलाको यही वैशाख २७ गते उद्धार गरेको थियो । प्रारम्भिक चरणको अनुसन्धानपछि आज प्रहरीले घटनाबारे सार्वजनिक गरेको हो ।उक्त घटनामा नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा समेत महिलालाई लगी अलपत्र पारी बन्धक बनाउने व्यक्तिउपर अनुसन्धान गर्दा मानव तस्करीसमेतका कार्यमा संलग्न रहेको खुलेपछि गत वैशाख ३१ गते दुई जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको बौद्ध बस्ने राकेश सुनार भन्ने २४ वर्षका गोपाल सुनार र गोरखा घर भई काठमाडौँ बस्ने आयुस भन्ने आकाशबाबु विक छन् । पीडितले स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु एक लाख ५० हजार माग्नुका साथै ज्यान लिने धम्की दिएको खुुल्न आएको छ ।

हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ ।

डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भन्नुभयो, “नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिन्छ ।” युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय नुनको अधिक सेवनले हुन्छ । डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत दैनिक नुनको सेवन डब्ल्युएचओले सिफारिस गरेको अधिकतम पाँच ग्राम वा एक चम्चाभन्दा बढी हुन्छ । यसको मुख्य कारण प्रशोधित खाद्य पदार्थ र स्न्याक्स हो ।

“नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो”, डब्ल्युएचओले भनेको छ । सङ्गठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ । सङ्गठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ ।हृदयाघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ । पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयाघातबाट युवा (३० देखि ६९ वर्ष समूह) मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ ।

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै तैनाथ सेनालाई फिर्ता गरेको छ ।

“लुक्यान्त्सी र भोभचान्स्क वरपरका केही क्षेत्रमा शत्रुको गोलाबारी र स्थल सैनिकको आक्रमणको जवाफमा र हाम्रा सैनिकहरूको ज्यान बचाउन तथा क्षतिबाट बच्नका लागि हाम्रो एकाइहरूले चालबाजी गरेका छन् थप लाभदायक स्थानहरूमा गएका छन्”, युक्रेनी सेनाले मङ्गलबार र बुधबारबीचको राति घोषणा गरेको छ ।

सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उहाँले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

विसं १९८९ माघ १७ गते भोजपुरको सिक्तेलमा जन्मनुभएका उहाँ इतिहासलाई प्रमाणिक रुपले लेख्ने पहिलो पुस्ताका एक विद्वान् हुनुहुन्थ्यो । ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्तावेजका भाषामा गहिरो पकसभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, २ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।

नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उहाँले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

विसं १९८९ माघ १७ गते भोजपुरको सिक्तेलमा जन्मनुभएका उहाँ इतिहासलाई प्रमाणिक रुपले लेख्ने पहिलो पुस्ताका एक विद्वान् हुनुहुन्थ्यो । ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्तावेजका भाषामा गहिरो पकड रहेको थियो ।

उहाँका ‘नेपालको महाभारत’ र ‘नेपाल निरुक्त’ लगायतका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् । सभापति देउवाले नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गर्नुभएका ज्ञानमणिको निधनबाट नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।ड रहेको थियो ।

उहाँका ‘नेपालको महाभारत’ र ‘नेपाल निरुक्त’ लगायतका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् । सभापति देउवाले नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गर्नुभएका ज्ञानमणिको निधनबाट नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिम, २ जेठ : नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिनुभयो । विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उहाँले बताउनुभयो । प्रमुख सचेतक पालले भन्नुभयो, “केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन ।”

यही जेठ ३ गते बिहीबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनुहुने कार्यसूची छ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

काठमाडौँ, २ जेठः प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ ।

सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज तथा उद्धारका लागि ‘एटके एक्सपिडिसन’ प्रालिमार्फत दुई शेर्पा खटाइए पनि मौसमी प्रतिकूलताका कारण चौथो शिविरमै रोकिएको र उद्धारका लागि थप दुई जना शेर्पा हाल तेस्रो शिविर पुगेको जनाइएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको जारी आरोहणमा गत वैशाख ३१ गते बिहान ८ः४५ बजे सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागले जनाएको छ ।

गत वैशाख २८ गतेदेखि सुरु भएको वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । कामीरिता शेर्पाले वैशाख २९औँ पटक सगरमाथा आरोहण गरेर यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् ।

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी

अत्तरिया (कैलाली), २ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आउने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार बजेटमा केन्द्रित छ । हिजोका दिनमा थुपै्र नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए ।

यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ ।” रोजगारीका अवसर सिर्जना गर्ने, उद्योगधन्दा सञ्चालन गर्नेलगायतका थुप्रै कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको मन्त्री भण्डारीले बताउनुभयोे । सरकार राष्ट्रिय मुद्दामा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ थियो ।

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उहाँले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताउनुभयो ।

“नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरको विशिष्ठ सम्बन्ध छ । त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो”, रायले भन्नुभयो, “त्यसैले जनकपुरवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ । त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ ।”

त्यसैगरी उहाँले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला) बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताउनुभयो । हाल सो शिलालाई दैनिक पूजाअर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उहाँको भनाइ छ । 

“हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारी मै छ । त्यहाँ मूर्ति बनाउनेक्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ । त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ”, उहाँले भन्नुभयो । 

त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले सीताबिना राम र जनकपुरबिना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ । त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो । त्यसमा तपाईं (राय) को भूमिका महत्वपूर्ण छ ।”

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ, २ जेठ : सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको हो ।

भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

“म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उहाँहरू (कांग्रेस) को अधिकार प्रयोग गर्न सक्नुहुन्छ, त्यो अधिकार त छँदै छ, त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको सम्मान गर्छु”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो ।

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तक्र्रियामा अर्थमन्त्री पुनले सरकारको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आन्तरिक अर्थतन्त्र सुधार गर्नेलगायत विषयलाई प्राथमिकताका अघि बढाउने उल्लेख गरेको र सोहीअनुसार बजेट बिनियोजन हुने बताउनुभयो ।

“नीति तथा कार्यक्रममा उल्लेख भएका योजना तथा नीतिअनुसार नै बजेट आउँछ  र बजेटसँग मेल खानेगरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने विषय नीति तथा कार्यक्रममा राखिएका छैनन्”, अर्थमन्त्री पुनले भन्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विभिन्न क्षेत्रसँग सुझाव लिइएको र कार्यान्वयनयोग्य सुझाव सम्बोधन गरिने प्रतिबद्धता अर्थमन्त्री पुनले जनाउनुभयो ।

निर्माण आयोजनामा ठेक्का लगाएर दायित्व सिर्जना भइसकेपछि सरकार दायित्वबाट पन्छिन नहुने अर्थमन्त्री पुनको तर्क छ । अहिले उत्पादन र विकास निर्माण क्षेत्र समस्यामा रहेकामा त्यसलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

“सरकार अभिभावक र अगुवा दुवै हो । सरकारलाई सबैले देखिरहेको हुन्छ र सरकारले सबैलाई देखिरहेको हुन्छ । अघिल्ला आर्थिक वर्षको बजेटमा परेका तर बीचमा निरन्तरता हुन नसकेको वा बहुवर्षीय आयोजनालाई निरन्तरता नदिँदा केही समस्या भएको देखिन्छ । भुक्तानी दिनुपर्नेछ भने नयाँ शीर्षकमा राखेर भए पनि भुक्तानी गर्न विषयगत मन्त्रालयलाई भनिसकेको छु”, पुनले भन्नुभयो, “बहुवर्षीय ठेक्का लगाएर दायित्व सिर्जना गर्ने तर दायित्व तिर्न सक्दिन भन्ने बोली सरकारको हुन सक्दैन । राज्य भनेको विगतका नीतिको निरन्तरता हुन्छ । को मान्छे मन परे, को परेनन् वा कस्ता खालका निर्माण व्यवसायीले ठेक्का पाए भन्ने सरोकारको विषय होइन ।” विभिन्न आयोजनामा ठेक्का प्रक्रिया अघि बढाएर दायित्व सिर्जना भइसकेपछि त्यसको जिम्मेवारी सरकारले लिने पनि उहाँले स्पष्ट पार्नुभयो ।  

ठूलो जनसङ्ख्या कृषिमा आश्रित रहेकाले नीति तथा कार्यक्रम र बजेटले पनि कृषिलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको भनाइ छ । कृषि क्षेत्रलाई निर्वाहमुखी मात्र नभई प्रशोधन उद्योगसँग जोड्न सक्नुपर्ने तथा कृषिजन्य उत्पादनलाई प्रवर्द्धन गर्ने र बजारको सुनिश्चितता गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

 त्यसैगरी विकास पूर्वाधारलाई आर्थिक क्रियाकलापसँग जोड्न सक्नुपर्नेमा अर्थमन्त्री पुनले जोड दिनुभयो । सरकारले पूर्वाधार बनाउने तर ती आर्थिक क्रियाकलापसँग जोड्न नसकेका कारण प्रतिफल लिन नसकेको उल्लेख गर्नुहुँदै पुनले विगतमा सिमेन्ट उद्योगका लागि विद्युत्, सडक निर्माणलगायत सुविधा दिएकामा त्यसबाट प्रतिफलसमेत प्राप्त भएको र सरकारले अब सूचना तथा सञ्चार क्षेत्रको पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो । 

आगामी आर्थिक वर्षको बजेटमार्फत करको दर बढाउनेभन्दा पनि दायरा फराकिलो बनाउने विषय प्राथमिकतामा पर्ने उहाँको भनाइ छ । त्यसैगरी सरकारी नीतिको निरन्तरताका लागि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य स्रोतले धान्नसक्ने र रुपान्तरणकारी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो । “अहिलेका मूलभूत समस्या सम्बोधन गरी दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न बजेटले रुपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्ने माग निजी क्षेत्रको छ । आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन विशेष योजनामार्फत सुधार थालिनुपर्छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

आगामी आर्थिक वर्ष बजेटको आकार नबढाउन पनि महासङ्घले सुझाव दिएको छ । “यसपटक बजेटको आकार नबढाउन हाम्रो सुझाव छ । बजेटको आकार बढाउँदा राजस्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्नेछ । जसले निजी क्षेत्र हतोत्साही हुने र ऋण दायित्व बढ्न जाने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने हाम्रो आग्रह हो”, महासङ्घ अध्यक्ष ढकालले भन्नुभयो, “राजस्व र खर्चको अनुमान गत वर्षको बजेटमा नभई वास्तविक खर्चको बढीमा १० प्रतिशत बढाइ खर्च र राजस्व अनुमान गर्नु उपयुक्त हुन्छ ।”

 आगामी आर्थिक वर्षबाट लगानी प्रवद्र्धन दशक घोषणा गर्न पनि महासङ्घले माग गरेको छ । त्यसैगरी मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) गर्नुपर्ने, द्विपक्षीय लगानी सम्झौता कार्यान्वयन गर्नुपर्ने, सम्भावित लगानीकर्तालाई भिसा शुल्क नलाग्ने गरी कम्तीमा तीन वर्षका लागि बहुवर्षीय भिसा उपलब्ध गराउनुपर्ने, एकल बिन्दु सेवाकेन्द्र प्रभावकारी बनाउनुपर्ने तथा स्वदेशी लगानीकर्ताका लागि खुला गरिनुपर्नेलगायत सुझाव महासङ्घले दिएको छ । 

कर्मचारी चाँडो चाँडो फेरिने अवस्थाको अन्त्य गरिनुपर्ने, ‘भायबलिटी ग्याप फन्ड’को पहिचान गरी त्यसको सुविधा दिनुपर्नेलगायतका व्यवस्था सहजीकरणका लागि पनि महासङ्घले आग्रह गरेको छ ।

उद्यमशीलता नीति बनाइ ‘उद्यमी नेपाली’ कार्यक्रमअन्तर्गत निर्यातका आधारमा सहुलियत दिइने उत्पादनमा आधारित सहुलियत कार्यक्रम पाँच वर्ष सञ्चालन गर्नुपर्ने, आयात प्रतिस्थापन गर्ने उद्योगलाई निर्यात अनुदानको आधा अनुदान प्रदान गर्नुपर्ने, औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुभन्दा दुई तह कम हुनुपर्नेलगायतका माग निजी क्षेत्रको छ । औद्योगिक करिडोर विशेष कार्यक्रमअन्तर्गत भारतीय सीमादेखि चुरेफेदीसम्मका सडक किनार र आसपासका क्षेत्र तथा अन्य सम्भावित करिडोरमा उद्योग लक्षित विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको महासङ्घ अध्यक्ष ढकालले बताउनुभयो । 

उत्पादनमूलक उद्योगमा लाग्दै आएको आयकर क्रमशः घटाइ पाँच वर्षमा पाँच प्रतिशत बिन्दुले कम गरी निश्चित अवधिसम्म नबढने सुनिश्चिता गर्न पनि निजी क्षेत्रको माग छ ।

 एक सयभन्दा बढी रोजगारी दिने उत्पादनमूलक उद्योग, पर्यटनलगायतका सेवा उद्योग, सूचना प्रविधि उद्योगलाई रोजगार च्याम्पियनको सम्मानसहित आयकरमा न्यूनतम ४० प्रतिशत छुट दिनु पर्ने महासङ्घको सुझाव छ । 

त्यस्तै उत्पादनमूलक तथा आयात प्रतिस्थापन गर्ने उद्योगलाई विद्युत् महशुलमा पाँच वर्षसम्म ५० प्रतिशत छुट दिइनुपर्ने उसको माग छ । उत्पादनमूलक क्षेत्रका उद्योगलाई आवश्यकपर्ने कच्चापदार्थ आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिनुपर्ने, पुँजीगत लाभकरलगायत अन्य कर विवाद समाधानका लागि न्यायनिरुपणको प्रक्रिया छिटो र सहज बनाइनुपर्ने, एसेट म्यानेजफेन्ट फण्ड स्थापना गर्नुपर्नेलगायत सुझाव दिएको छ ।

नेपालमा उद्यमशीलताको भविष्य सुनिश्चित गर्न लघु, घरेलु एवं साना उद्यमीको स्थापना सञ्चालन र बहिर्गमन सहज बनाउन सानालाई सहुलियत कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको महासङ्घले जनाएको छ । 

पूर्वानुमानित कर विवरण (डे १) दाखिला गर्ने कारोबारको सीमा रु एक करोडसम्म विस्तार गरी हालको कर रकम पाँच वर्षका लागि आधा घटाउनुपर्ने, साना उद्यमीलाई रु २५ लाखसम्मको परियोजना कर्जा बिनाधितो उपलब्ध गराई सो कर्जाको बीमा गराउनुपर्नेलगायतका माग परिसङ्घका छन् ।

 लघु घरेलु, साना र महिला उद्यमीलाई पुनःकर्जा सुविधा उपलब्ध गराइनुपर्ने, नेपाली उत्पादन २० प्रतिशतसम्म महङ्गो भए पनि उपभोग गर्ने नीति तत्काल कार्यान्वयन गर्नुपर्ने, स्टार्टअप कार्यक्रम सञ्चालन गरी यस्ता उद्यमलाई हाल प्रदान गरिएको पाँच वर्षसम्मको आयकर छुटलाई अर्को पाँच वर्ष ५० प्रतिशत छुट दिइनुपर्ने र आगामी आर्थिक वर्षभित्रमा कम्तीमा एक सय स्टार्टअपमा निजी क्षेत्रको लगानी आकर्षित गर्न ‘सय स्टार्टअप, सय लगानीकर्ता’ कार्यक्रम सञ्चालन गरी निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव दिएको छ ।

 त्यस्तै, ‘प्रविधिबाट समृद्धि कार्यक्रम’, ‘नेपालमा स्वागत छ’ कार्यक्रम, कृषि पारस्थितिक प्रणाली (इकोसिस्टम) सुधार कार्यक्रम, निर्यात प्रवद्र्धन विशेष योजनालगायत कार्यक्रम ल्याउन पनि महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

ऊर्जा क्षेत्रमा सुधारका लागि विद्युत ऐन २०४९ मा जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गर्ने कम्पनीलाई १० वर्षसम्म पूर्ण तथा १० देखि १५ वर्षसम्म ५० प्रतिशतका दरले आयकरमा छुट पाउने र भ्याट फिर्ता दिने सुविधा २०८२ असार मसान्तभित्र निर्माण पूरा गर्ने कम्पनीले मात्र पाउने व्यवस्था भएकामा यो समय सीमालाई पाँच वर्ष थप गरी २०८७ सम्म विस्तार गर्न महासङ्घले सुझाव दिएको छ ।

अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार भ्रमणमा आउने पर्यटकका लागि आकर्षण

थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।“अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।”

केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ । स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताउनुभयो ।

एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ)मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताउनुभयो । वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर रु दुई हजार पाँच सयदेखि रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ ।

स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताउनुभयो । “गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्”, उहाँले भन्नुभयो, “भिरमहलाई बजारको समस्या छैन ।” स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताउनुभयो ।

सिँचाइका लागि किसानले जडान गरेका आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी

जनकपुरधाम, २ जेठः सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।

दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक–पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षमा पाँचवटा तथा गत आवमा तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आवमा औरही गाउँपालिका–२, देउरीपरवाहा धनुषा, नगराईन नपा फुलगामा धनुषा, मटिहानी नगरपालिका–२ धिरापुर महोत्तरी, भङ्गाहा नगरपालिका–४ पशुपतिनगर महोत्तरी, वलवा नपा–९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिपट्युवेलका ट्रान्सफर्मर चोरिएका हुन् ।

त्यसैगरी गत आव मा धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न रु पाँच लाख खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युवेल जडान गरेर सिँचाइ भइरहेको छ ।एउटा डिपट्युवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युवेलको निर्माण तथा सञ्चालनमा रु ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।

उक्त कार्यालयबाट जाडन भएका ८० वटा पावर ड्रिलट्युवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत रु १५ लाख छ । यहाँका किसानले डिपट्युवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताउनुभयो ।

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको भन्दै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध; आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएकोे सम्बन्ध नेपाल–भारत सम्बन्धका विशेषता भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलाको समापनमा उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए ।

नेपाल–भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, “तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ । यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ ।”

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए ।

उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए । पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेका भन्दै उनले ऊर्जाको क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताए ।

उनले भने, “ नेपालको जलविद्युत् उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ । व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ । हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ ।”

दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले व्यापार घाटा बढ्दै गएको तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालमा लगानी सुरक्षित र लाभदायक हुने बताए । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीबाट मनग्य रकम फिर्ता लगेका बताउँदै उनले नेपाल लगानीको आकर्षक गन्तव्य बनेको उल्लेख गरे ।

सूचना प्रविधिको क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै परराष्ट्रमन्त्रीले युवा जमातलाई यसतर्फ आकर्षित गर्न शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य आवश्यक भएको विचार व्यक्त गरे ।

नेपालको विकास र आर्थिक समृद्धि पनि छिमेकीको हितमा हुने बताउँदै उनले शान्तिपूर्ण छिमेक नेपालको चाहना भएको बताए । नेपालको समृद्धिका निम्ति छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताए । उनले प्राध्यापक मोहनको व्यावहारिकतामा आधारित भारत–नेपाल सम्बन्ध फलदायी हुने सुझाव मननीय रहेको बताए ।

प्राध्यापक मोहनको नेपाल र भारतका विश्वव्यापी चुनौती समान रहेका तथा दुवै देशले तिनको सामना गरिरहेका बताए । उनले विशाल राष्ट्रका शक्तिको द्वन्द्वबाट साना देशहरू प्रभावित भएका बताउँदै राजनीतिक नेतृत्वले त्यसको निदान सावधानीपूर्वक खोज्नुपर्नेमा जोड दिए ।

काठमाडौँ र नयाँ दिल्लीले बेइजिङबाट सिक्नुपर्ने विचार व्यक्त गर्दै उहाँले चीनले आवश्यकताअनुसार रुस र अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाएको बताए । अहिले बेइजिङको सम्बन्ध वासिङ्टनसँग चिसिएको भए पनि मस्कोसँगको सम्बन्ध सुदृढ रहेको वास्तविकता सुनाए ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले क्षेत्रगत ज्ञान अभिवृद्धि, देशको विद्यमान परराष्ट्र नीति र अभ्यासकाबारे विद्वत् वर्गसँग बहस गर्न यस प्रकारको प्रवचन आयोजना गरिएको बताइन् ।

नेपालको बाह्य सम्बन्ध विस्तारमा योगदान गरेबापत सरदारको पदवि पाउनु खनाल दुई कार्यकाल परराष्ट्र सचिव तथा चीन, भारत तथा संयुक्त राज्य अमेरिकामा राजदूत भएर राष्ट्रसेवा गर्नुभएको थियो । मुलुकका ख्यातिप्राप्त कूटनीतिज्ञ प्राध्यापक खनालको नाम र सम्मानमा परराष्ट्र मन्त्रालयले यो प्रवचन शृङ्खला सुरु गरेको हो ।