`

सिँचाइका लागि किसानले जडान गरेका आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी

जनकपुरधाम, २ जेठः सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।

दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक–पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षमा पाँचवटा तथा गत आवमा तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आवमा औरही गाउँपालिका–२, देउरीपरवाहा धनुषा, नगराईन नपा फुलगामा धनुषा, मटिहानी नगरपालिका–२ धिरापुर महोत्तरी, भङ्गाहा नगरपालिका–४ पशुपतिनगर महोत्तरी, वलवा नपा–९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिपट्युवेलका ट्रान्सफर्मर चोरिएका हुन् ।

त्यसैगरी गत आव मा धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न रु पाँच लाख खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युवेल जडान गरेर सिँचाइ भइरहेको छ ।एउटा डिपट्युवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युवेलको निर्माण तथा सञ्चालनमा रु ७० देखि ९० लाखसम्म खर्च हुने गरेको छ ।

उक्त कार्यालयबाट जाडन भएका ८० वटा पावर ड्रिलट्युवेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युवेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत रु १५ लाख छ । यहाँका किसानले डिपट्युवेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताउनुभयो ।

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको भन्दै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध; आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएकोे सम्बन्ध नेपाल–भारत सम्बन्धका विशेषता भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलाको समापनमा उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए ।

नेपाल–भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, “तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ । यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ ।”

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए ।

उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए । पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेका भन्दै उनले ऊर्जाको क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताए ।

उनले भने, “ नेपालको जलविद्युत् उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ । व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ । हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ ।”

दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले व्यापार घाटा बढ्दै गएको तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालमा लगानी सुरक्षित र लाभदायक हुने बताए । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीबाट मनग्य रकम फिर्ता लगेका बताउँदै उनले नेपाल लगानीको आकर्षक गन्तव्य बनेको उल्लेख गरे ।

सूचना प्रविधिको क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै परराष्ट्रमन्त्रीले युवा जमातलाई यसतर्फ आकर्षित गर्न शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य आवश्यक भएको विचार व्यक्त गरे ।

नेपालको विकास र आर्थिक समृद्धि पनि छिमेकीको हितमा हुने बताउँदै उनले शान्तिपूर्ण छिमेक नेपालको चाहना भएको बताए । नेपालको समृद्धिका निम्ति छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताए । उनले प्राध्यापक मोहनको व्यावहारिकतामा आधारित भारत–नेपाल सम्बन्ध फलदायी हुने सुझाव मननीय रहेको बताए ।

प्राध्यापक मोहनको नेपाल र भारतका विश्वव्यापी चुनौती समान रहेका तथा दुवै देशले तिनको सामना गरिरहेका बताए । उनले विशाल राष्ट्रका शक्तिको द्वन्द्वबाट साना देशहरू प्रभावित भएका बताउँदै राजनीतिक नेतृत्वले त्यसको निदान सावधानीपूर्वक खोज्नुपर्नेमा जोड दिए ।

काठमाडौँ र नयाँ दिल्लीले बेइजिङबाट सिक्नुपर्ने विचार व्यक्त गर्दै उहाँले चीनले आवश्यकताअनुसार रुस र अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाएको बताए । अहिले बेइजिङको सम्बन्ध वासिङ्टनसँग चिसिएको भए पनि मस्कोसँगको सम्बन्ध सुदृढ रहेको वास्तविकता सुनाए ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले क्षेत्रगत ज्ञान अभिवृद्धि, देशको विद्यमान परराष्ट्र नीति र अभ्यासकाबारे विद्वत् वर्गसँग बहस गर्न यस प्रकारको प्रवचन आयोजना गरिएको बताइन् ।

नेपालको बाह्य सम्बन्ध विस्तारमा योगदान गरेबापत सरदारको पदवि पाउनु खनाल दुई कार्यकाल परराष्ट्र सचिव तथा चीन, भारत तथा संयुक्त राज्य अमेरिकामा राजदूत भएर राष्ट्रसेवा गर्नुभएको थियो । मुलुकका ख्यातिप्राप्त कूटनीतिज्ञ प्राध्यापक खनालको नाम र सम्मानमा परराष्ट्र मन्त्रालयले यो प्रवचन शृङ्खला सुरु गरेको हो ।

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र स्विडेनका नेताहरूले मङ्गलबार चिनियाँ इभीमा सम्भावित युरोपेली करका बारेमा केही असहमति व्यक्त गरेका छन् ।स्टकहोममा एक पत्रकार सम्मेलनमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन र जर्मन चान्सलर ओलाफ सोल्ससँग चिनियाँ इभीमा अमेरिकाले कर लगाएपछि युरोपेली सङ्घ (इयु) ले लगाउने करको समर्थन गर्नुहुन्छ वा हुन्न भनेर सोधिएको थियो । सोल्सको भ्रमणको दोस्रो दिन क्रिस्टर्सनले पत्रकारहरूलाई भन्नुभयो, “जहाँसम्म करको प्रश्न छ, विश्वव्यापी व्यापारलाई समाप्त गर्नु खराब विचार हो भन्नेमा हामी सहमत छौँ ।”

सोल्सले चीनबाट आयातित आधा इभी पश्चिमी निर्माताहरूले उत्पादन गरेको बताउनुभयो । “त्यहाँ युरोपेली र उत्तरी अमेरिकी निर्माताहरू छन् जो चिनियाँ बजारमा सफल छन् र जसले चीनमा आफ्नो सवारी बिक्री गर्दछन्, हामीले यसलाई सम्झनु आवश्यक छ”, पश्चिम र चीनबीचको व्यापारको महत्त्वलाई जोड दिँदै उहाँले भन्नुभयो । 

यसअघि वासिङ्टनले बेट्री, स्टिल, महत्त्वपूर्ण खनिज र इभी जस्ता रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्दै चीनबाट हुने १८ अर्ब डलरको आयातमाथि कर बढाउन लागेको घोषणा गरेको थियो । यो वर्ष इभीमाथि करको दर चार गुणा बढेर एक सय प्रतिशत हुनेछ । इयुले गत वर्ष चिनियाँ इभी सब्सिडीहरू युरोपको विशाल अटोमोटिभ उद्योगका लागि खतरा रहेको भन्दै छानबिन सुरु गरेको थियो । एकपटक यसको छानबिन पूरा भएपछि इयुले चीनबाट आयातित कारहरूमा हालको १० प्रतिशतभन्दा बढी कर बढाउने निर्णय गर्नसक्छ ।

सोल्सले भन्नुभयो, “हामीलाई अहिलेसम्म छानबिनको नतिजा थाहा छैन ।”क्रिस्टर्सनले युरोपेली जनता ‘सोझो बन्न नहुने’ बताउनुभयो । “आपूर्ति धेरै कारणले अवरुद्ध हुनसक्छ भन्ने हामीले जान्यौँ, चाहे त्यो महामारीका कारणले होस् वा युद्धको कारणले । हामीसँग विश्वव्यापी बजारमा समान अवसरको माग गर्ने राम्रो कारण छ”, उहाँले भन्नुभयो, “मुलुकहरूबीच बलियो पारस्परिकताका लागि जोड दिन राम्रो कारण छ तर हामी एकअर्काको उत्पादनलाई रोक्ने व्यापार युद्धमा जर्मनी र स्विडेनजस्ता ठूला औद्योगिक मुलुकहरूको भविष्य छैन ।”

अन्तर्राष्ट्रिय अदालतले रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ गर्ने

दक्षिण अफ्रिकाको अनुरोधमा इजराइललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय अदालतले जनाएको छ । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजराइलको प्रतिक्रिया बयान सुन्ने एक विज्ञप्तिमा बताएको छ । यस महिनाको सुरुमा प्रिटोरियाले रफाहमा भएको आक्रमणलाई लिएर इजराइललाई ‘तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न’ आदेश दिन आग्रह गर्दै अन्तराष्ट्रिय अदालतमा निवेदन दिएको थियो ।

यसले इजराइललाई गाजामा मानवीय सहायताको अवरोध हटाउन र यसको पहुँचलाई सहज बनाउन सबै प्रभावकारी उपायहरू अवलम्बन गर्ने आदेश दिन पनि अदालतलाई अनुरोध गरेको थियो ।

हालका दिनहरूमा लगभग चार लाख ५० हजार प्यालेस्टिनी र उत्तरी गाजाबाट करिब एक लाख सर्वसाधारण रफाहबाट विस्थापित भएको राष्ट्र सङ्घीय एजेन्सीले बताउनुका साथै उक्त क्षेत्रमा कुनै ठाउँ सुरक्षित नरहेको चेतावनी दिएका छन् ।     इजराइली आधिकारिक तथ्याङ्ककअनुसार इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमण पछि सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासको आक्रमणमा एक हजार एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्रीद्वारा सबै सरकारी उद्योगलाई निजीकरण गर्न आदेश

देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले मङ्गलबार रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गर्नुभएको एआरवाई न्यूजले बताएको छ ।
इस्लामाबादमा आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योगबाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गरिने बताउनुभयो । बैठकमा निजीकरण मन्त्रालय र निजीकरण आयोगले निजीकरण कार्यक्रम २०२४–२९ को मार्गचित्र प्रस्तुत गरेको एआरवाई न्यूजले जनाएको छ ।

प्रधानमन्त्री सरिफले लगानीकर्ताहरूलाई सहजीकरण गर्ने बाहेक राज्यको व्यवसाय सञ्चालनमा कुनै सरोकार नभएको बताउनुभयो । उहाँले राज्यको स्वामित्वमा रहेका उद्योगहरूको निजीकरणले करदाताको पैसा बचत हुने र सरकारले जनतालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्ने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री सरिफले यस सम्बन्धमा आवश्यक कदम चाल्न र निजीकरण आयोगलाई सहयोग गर्न सबै सङ्घीय मन्त्रालयहरूलाई निर्देशन दिनुभएको छ । 

उहाँले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स कम्पनी लिमिटेड (पीआइए) को निजीकरणलगायतका बिडिङ तथा अन्य महत्त्वपूर्ण कदमको प्रत्यक्ष प्रसारण गर्न निर्देशन दिनुभएको छ । साथै अन्य संस्थाको निजीकरणको प्रक्रिया पनि प्रत्यक्ष प्रसारण गरिने कुराको जानकारी गराउनुभयो । बैठकमा पिआइएको निजीकरणका लागि पूर्वयोग्यता प्रक्रिया यसै महिनाको अन्त्यसम्ममा सम्पन्न हुने जानकारी दिइएको छ । बैठकमा विद्युत् वितरण कम्पनीको निजीकरणलाई निजीकरण कार्यक्रम २०२४–२०२९ मा समावेश गरिएको बताइएको छ ।

घाटामा रहेका सरकारी उद्योगहरूलाई प्राथमिकताका आधारमा निजीकरण गर्ने र निजीकरणको प्रक्रियालाई तीव्रता दिन निजीकरण आयोगमा पूर्व–दक्ष विज्ञको प्यानल नियुक्ति भइरहेको जानकारी बैठकमा दिइएको थियो । उक्त बैठकको एक दिनअघि सङ्घीय अर्थमन्त्री महम्मद औरङ्गजेबले सबै सम्बन्धित मन्त्रालय र डिभिजनलाई आ–आफ्नो राज्यको स्वामित्वमा रहेका उद्यमको वर्गीकरणका लागि मे २० भित्र प्रस्ताव पेश गर्न निर्देशन दिनुभएको थियो ।

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

दमौली (तनहुँ), २ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।

अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभएको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।

मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भेगमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । विभागले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

नवलपरासी , २ जेठ: पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ । करिब रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका सञ्चालक किरण खनालले राससलाई बताउनुभयो ।

रामग्राम नगरपालिका वडा नं. १ परासीमा आठ हजार पाँच सय वर्गफिट क्षेत्रफलमा बनेको स्केटिङ पार्क लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो भएको बताइएको छ ।
रामग्राम स्केटिङ पार्कमा सुरुमा स्केटिङ सञ्चालन गर्ने तथा केही समयपछि मेसिनबाट मसाज सेवा, स्नुकर, गन गेमलगायत सुविधा गरिने छभने स्केटिङमा सहभागी हुने सबैको स्वास्थ्य बिमा गरिने सञ्चालक खनालले जानकारी दिनुभयो ।

परासी तथा आसपासका क्षेत्रका लागि नयाँ खेलको रुपमा स्केटिङ पार्कको निर्माण भएपछि यस क्षेत्रका युवा खेलप्रति आकर्षित भएका छन् । पार्कमा सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन हुने सञ्चालक खनालले बताउनुभयो ।

पचास वर्ष अघि अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ संसारभर फैलिएको बताइन्छ । यो नेपालमा पनि युवावर्गमा लोकप्रिय बन्दै गएको छ । देशका प्रमुख सहर काठमाडौँ , पोखरा, बुटवलका साथै चितवन र नवलपरासीको बर्दघाटमा पनि यो खेल सञ्चालन हुँदै आएको छ ।

फूपूको घरमा आएका दुई दाजुभाइको बबई नदीमा डुबेर मृत्यु

तुलसीपुर (दाङ), २ जेठः पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनुभयो ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख डलर दिने

काठमाडौँ- कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश हो भन्नुभयो ।

क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौँ- उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बला त्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

पचास प्रतिशत काम सकिएका योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री कँडेल

कर्णाली-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ५० प्रतिशत काम सकिएका योजनालाई निरन्तरता दिने बताउनुभएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्ने विषयमा मंगलबार यहाँ आयोजित ‘पत्रकारहरुसँग विमर्श तथा सुझाव सङ्कलन’ कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विगतकै नीति तथा कार्यक्रममाथि टेकेर आगामी नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विगतलाई छोडेर नयाँ नीति तथा कार्यक्रम र बजेट आउँदैन । पचास प्रतिशत काम भएका योजना पूर्णताका लागि सरकारले प्राथमिकतामा राख्छ ।”

सङ्घीय सरकारको कूल बजेटको दुई प्रतिशत मात्र कर्णालीमा आएको बताउनुहुँदै उहाँले यहाँको भूगोल, विकटता र विकासको अवस्थालाई हेरेर सङ्घीय सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सुर्खेत–हुम्ला, सुर्खेत–डोल्पा, कालीकोट–मुगु–नाक्चेलाना र चार लेनको कोहलपुर–सुर्खेत सडकलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी अगाडि बढाउन सङ्घीय सरकारसँग माग गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णालीका मूलभूत समस्या र सम्भावनाबारे अवगत गराएर ती आयोजना निर्माणका लागि अलग्गै संरचना निर्माण गरी आवश्यक जनशक्ति र स्रोत व्यवस्थापन गर्न सङ्घीय सरकारलाई मागपत्र पेश गरिएको छ । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वतयारीमा लागेकाले संस्थागतरुपमा आउने योजनालाई बजेटमा संलग्न गरिने उहाँको भनाइ छ ।

कँडेलले भन्नुभयो, “रोजगारका निम्ति एक सय एक जना लाइनमा छन् तर मैले सरकार सञ्चालनमा सहयोग गर्ने मान्छे खोजिरहेको छु । यहाँको जनमत र कर्णाली बनाउने गरी हामी एकसाथ अगाडि बढौँ । विकासमा सबैको अपनत्व गराउन र नीति तथा कार्यक्रममा राय आओस् भन्ने हेतुले सबै दल तथा नागरिक समाजसँग सुझाव लिँदैछु ।”उहाँले पत्रकारका समस्यालाई सम्बोधन हुने नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा : गण्डकीका कुनकुन योजना परे ?

गण्डकी- सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा पर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि गोरखकाली रबर उद्योग सञ्चालन गरिनेसम्मका योजना समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्न प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ । हाल आन्तरिक उडान मात्र भइरहेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटकीय राजधानी पोखरामा अर्बौँ लगानीमा बनेको उक्त विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग उठ्दै आएको छ ।

सरकारले वर्षौँदेखि बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योगलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने योजना अगाडि सारेको छ । उद्योगको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ । विसं २०४९ देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पनि बन्द अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आउने गरेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइ नसकेको जनाइएको छ । गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै १० अर्ब बराबरको सम्पत्ति रहेको जनाइएको छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

यस्तै आगामी आवदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा यसअघि नै गरेको थियो । गोरखा र धादिङको सीमानामा पर्ने बुढीगण्डकी नदीमा बन्ने एक हजार दुई सय मेगावाटको उक्त आयोजना वर्षौँदेखि अन्यौलमा रहँदै आएको थियो ।

गोरखामै एग्रो इण्डस्ट्रियल पार्क बनाइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने भएको छ । गण्डकीका अधिकांश जिल्ला समेट्ने मध्यपहाडी लोकमार्गलाई समृद्धि कोरिडोरका रुपमा विकास गर्न विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकास गरी उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रणनीतिक महत्वको सालझण्डी–ढोरपाटन सडक र पोखरा–मुग्लिन सडक निर्माण र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । कालीगण्डकी करिडोरलाई बाह्रैमास यातायात सञ्चालन हुने गरि निर्माणलाई तीव्रता दिइने भएको छ । प्रदेश राजधानी पोखरामा रहेका सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्यामा स्तरोन्नति गरी विस्तार गरिने भएको छ ।

गण्डकी प्रदेशलगायत देशका उच्च हिमाली भेगका हिमश्रृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौँरीलगायत पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्ध कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य श्रष्टाहरुको प्रतिमा र सप्तधामसहितको ‘भानु साहित्य उद्यान’ निर्माणलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।भेटमा साइप्रस र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गर्नुभएको श्रममन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

साइप्रस सरकारले माग गरेअनुसार श्रमिक पठाउन तालिम सञ्चालन गर्नुपर्ने भएकाले सहयोग गर्न समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो । साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् । साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताउनुभयो । भेटमा साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले दक्ष नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौँ, १ जेठ : ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।लेखक परमानन्द भट्टले लेख्नुुभएको पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश छन् ।

आज यहाँ आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादवले कृतिको विमोचन गर्नुहुँदै मुलुकमा शान्ति प्रक्रिया स्थापना, अहिलेको लोकतान्त्रिक संविधान रक्षाका लागि पूर्वप्रधानमन्त्री नेपालले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहने बताउनुभयो ।  

मुलुकको राजनीतिक घटनाक्रमका विभिन्न ऐतिहासिक विषयलाई समेटिएको उक्त पुस्तकले विभिन्न पुस्ताका नागरिकलाई राजनीतिक विकासक्रमको ज्ञान उपलब्ध गराउने उल्लेख गर्नुभयो । उहाँले मधेसमा जन्मेर सिङ्गो देशलाई बुुझ्न सक्ने सरल, सादगी र इमान्दार नेता नेपाल सच्चा कम्युनिष्ट र समकालीन राजनीतिमा एउटा राजनेताका रुपमा स्थापित हुनुुभएको बताउनुुभयो । अहिलेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएकाले यसको विकल्पमा जान नहुनेमा उहाँले जोड दिनुुभयो ।

पूर्वराष्ट्रपति डा यादवले नीति तथा कार्ययोजना निर्माण कुशल र दुरदर्शी नेता नेपालसँग विसं २०४६ को जनआन्दोलनपछि आफूले चिनेको र धेरै विषयमा सहकार्य र समन्वय गरेको स्मरण गर्नुुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले इतिहासका प्रत्येक घटनालाई सङ्ग्रह गरी प्रकाशित कृति महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुहुँदै त्यसलाई अध्ययन गरेर पाठकबाट आउने सुुझावलाई प्रेरणाका रुपमा लिने प्रतिक्रिया दिनुभयो  । उहाँले इतिहासका तथ्यलाई अध्ययन गरी अर्को पुुस्तक पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत

बागमती, १ जेठ : बागमती प्रदेशसभाले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले पेस गर्नुभएको प्रदेश सरकारको आगामी आव २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत गरेको हो ।

प्रदेशसभाका सबै सदस्य सरकारको विनियोजन विधेयक स्वीकृतकै पक्षमा देखिएपछि सभामुख भुवनकुमार पाठकले सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको घोषणा गर्नुभयो । प्रदेशसभाबाट सर्वसम्मत स्वीकृत भएको विनियोजन विधेयकमाथि प्रदेशसभामा जेठ ६ गतेदेखि छलफल प्रारम्भ हुने सभामुख पाठकले घोषणा गर्नुभयो । प्रदेशसभाको अर्काे बैठक भोलि जेठ २ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ ।

‘आगामी बजेट गरिबी निवारणमा केन्द्रित’

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट रोजगारी अभिवृद्धिमार्फत गरिबी निवारणमा केन्द्रित हुने भएको छ ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगरनाथ थपलियाले सरकारको आगामी आव २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुँदै बजेट रोजगारी अभिवृद्धिमार्फत गरिबी निवारणमा केन्द्रित हुने बताउनुभयो ।

प्रदेशभित्रको उपलब्ध स्रोत साधनको कुशलतम र न्यायोचित वितरण गरी रोजगारी सिर्जना गर्दै गरिबी निवारणमा बजेट केन्द्रित गर्नु आवश्यक रहेको औँल्याउनुभयो । उहाँले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

लगानी क्षेत्रको पहिचान र विकास गर्दै लगानीकर्तालाई विशेष सुविधा प्रदान गरी लगानीमैत्री प्रदेशको रुपमा विकास गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नभुयो । मन्त्री थपलियाले लगानीमैत्री प्रदेशको रुपमा विकास गरी आर्थिकको रुपमा समृद्ध प्रदेश निर्माणमा सरकार अग्रसर रहेको जानकारी दिनुभयो ।

राजस्व सम्भावना भएका क्षेत्रको पहिचान गरी राजस्व दरलाई समयानुकूल परिमार्जन र राजस्वको दायरा वृद्धि गर्दै प्रदेशको दिगो आन्तरिक आयमा वृद्धि गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्री थपलियाले आगामी आव २०८१/८२ को नीति, कार्यक्रम र बजेट संविधानले निर्देश गरेबमोजिम समाजवाद उन्मुख, स्वतन्त्र समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुने प्रष्ट पार्नुभयो ।

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ, १ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रतिक्रिया दिनुहुँदै उहाँले नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन नीति तथा कार्यक्रम अनुरुपको बजेट आवश्यक रहने बताउनुभएको हो ।

ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको र निजी क्षेत्रलाई प्रत्साहन दिने किसिमको रहेको बताउनुभयो । “आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन हुनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले सोह्रौँ योजनामा आधारित भएर पनि यो नीति तथा कार्यक्रम ल्याएकाले यसले धेरै क्षेत्रहरुलाई समेटेको छ, नीति तथा कार्यक्रम अनुरुपको लगानीको व्यवस्था हुन उत्तिकै जरुरी छ ।”ढकालले विगतका नीति तथा कार्यक्रम पनि राम्रो हुँदाहुँदै प्रभावकारी कार्यान्वयन हुन नसकेकाले आज सार्वजनिक नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुनेमा सरकार प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।

नीति तथा कार्यक्रम : अर्थतन्त्र सुधार्ने सरकारको प्रतिबद्धता

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले मुलुकको अर्थतन्त्र सुधार्न विभिन्न नीति तथा योजना सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै लोकतन्त्रको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको बताउनुभयो ।

 “वर्तमान सरकारले अघि बढाएका नीति तथा कार्यक्रमको समीक्षा, प्राप्त उपलब्धि र कार्यान्वयनबाट हासिल अनुभव तथा सोह्रौँ योजनामा आधारित भई आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । उत्पादनशील, रोजगारीमूलक र न्यायपूर्ण वितरणसहितको उच्च, फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गरिनेछ । सरकारी स्रोतको पुनःप्राथमिकीकरण गरी सार्वजनिक खर्चमा विनियोजन कुशलता र कार्यान्वयन दक्षता वृद्धि गरिनेछ”, सरकारको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।

 सङ्घीय शासन प्रणालीको सबलीकरण तथा तहगत योजना प्रणालीमा अन्तरसम्बन्ध कायम हुने गरी समन्वय र सहजीकरण नीति सरकारले लिएको छ । त्यस्तै, सोह्रौँ योजनाको प्रभावकारी कार्यान्वयन गरी योजना र बजेटबीच तादात्म्यता कायम गरिने, तीन तहका सरकार बीचको प्रशासनिक अन्तरसम्बन्ध र साझेदारीलाई सुदृढ गर्ने, सार्वजनिक सेवा प्रवाहको न्यूनतम मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइनेलगायत महत्वपूर्ण विषयहरु नीति तथा कार्यक्रममा राखिएका छन् । 

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून शीघ्र निर्माण गर्ने, आन्तरिक स्रोतको परिचालनलाई दिगो बनाउने, राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्नेलगायत विषयलाई समेटेर नीति तथा कार्यक्रम ल्याइएको छ । त्यसैगरी, करदाताको व्यावसायिक लागत घटाउने गरी कर प्रणालीमा सुधार गर्ने, आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै राजस्व प्रशासनको दक्षता बढाउने, अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तर-आबद्धता कायम गरी विद्युतीय प्रणालीबाट सुरक्षित रूपमा वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइने लगायतका विषय नीति तथा कार्यक्रममा राखिएका छन् ।

सार्वजनिक ऋणको विवेकपूर्ण छनौट गरी अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । “आन्तरिक ऋणको उपयोग पूँजी निर्माण तथा उत्पादनको क्षेत्रमा मात्र गरिनेछ । वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा परिचालन गरिनेछ । अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिपश्चात प्राप्त हुने अवसर एवम् विविध क्षेत्रमा पर्ने असर तथा प्रभावको विश्लेषण गरी सोअनुरूप रणनीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ”, सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

 पछिल्लो समय वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको सरकारले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले आर्थिक वृद्धिदरमा सुधार भएको र मुद्रास्फीति दर घटेको सरकारको जिकिर छ । अर्थतन्त्र सुधारका लागि निरन्तर प्रयासहरु भइरहेको पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 “सम्बद्ध कानूनहरूमा परिमार्जन गरी लगानीको समग्र वातावरणमा सुधार गरिएको छ । बैङ्क तथा वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य पूँजी रहेको छ । बैङ्कको ब्याजदरमा कमी आएको छ । लामो समयदेखि घाटामा रहँदै आएको चालु खाता बचतमा रहेको छ र शोधनान्तर स्थिति धनात्मक रहेको छ”, नीति तथा कार्यक्रममा भनिएको छ, “विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको छ । विगत वर्षको तुलनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । प्रतिपर्यटक औसत खर्चमा बढोत्तरी भएको छ ।”

चालु आवमा थप तीन हजार हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार भएको, सुनकोशी-मरिन डाइभर्सन आयोजनाको १३ दशमलव दूई किलोमिटर लामो सुरुङ छिचोल्ने कार्य निर्धारित समयअगावै सम्पन्न भएको, जलविद्युत् उत्पादनको जडित क्षमता दुई हजार नौ सय ४० मेगावाट पुगेको लगायत विषयलाई सरकारले आफ्नो उपलब्धिका रुपमा देखाएको छ ।

नीति तथा कार्यक्रम : पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता

काठमाडौँ, १ जेठ : सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गरिने उल्लेख गरिएको हो । हाल आधारभूत तहमा बालबालिकाको खुद भर्ना दर ९६ दशमलव १ प्रतिशत रहेको छ ।

शिक्षा प्रणालीमा परिमार्जन गर्ने लक्ष्य लिएको यस नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने भनिएको छ । विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइको असमानता कम गर्न र गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइने भएको हो । विगतका नमूना विद्यालय कार्यक्रम भने रुपान्तरण भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय तहको पाठ्यक्रममा पुनरावलोकन गरिने उल्लेख थियो । चालु आर्थिक वर्षमा रहेका ‘पढ्दै कमाउँदै’, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, शिक्षक दरबन्दी थप कार्यक्रमले यस वर्ष निरन्तरता पाएन ।

नीति तथा कार्यक्रममा विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्द्धनलगायतका विषयमा नमुना कानून, निर्देशिका तथा कार्यविधि तयार गरी स्थानीय तहलाई सहजीकरण गरिने उल्लेख छ । राष्ट्रिय पाठ्यक्रम ढाँचा परिमार्जन गरी शिक्षण सिकाइ क्रियाकलापमा सुधार गरिने, विद्यालयमा ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ प्रणालीलाई प्रोत्साहन गर्ने, ट्राफिक सचेतना, स्वस्थ जीवन, तत्काल उपचार विधि, वातावरण तथा सरसफाइ, विपद्बाट जोगिने उपायजस्ता दैनिक जीवनसँग सम्बन्धित विषयमा दस वर्षमाथिका विद्यार्थीलाई सम्बद्ध निकायसँगको सहकार्यमा सीप तथा प्रशिक्षण प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणालीको आधारभूत तालिम प्रदान गर्ने, शैक्षिक बिदामा बसेका विद्यार्थीलाई अनौपचारिक शिक्षा र सामुदायिक विकास कार्यमा सहभागी गराइने, सामुदायिक विद्यालयमा ‘करिअर काउन्सेलिङ कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ । यसैगरी नेपालमा शिक्षा हासिल गर्न आउने विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा (भिसा) सहजीकरण गरिने भएको छ ।   

अनुसन्धान, नवप्रवर्तन, व्यावसायिक शिक्षा र उद्यमशीलतालाई उच्च शिक्षाको अनिवार्य अङ्ग बनाइने भएको छ । नेपाललाई उच्च शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन स्वदेशका विश्वविद्यालयको शिक्षालाई गुणस्तरीय तुल्याउने र विदेशबाट आउने विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न सरकारले प्रवेशाज्ञा दिने विषयमा सम्बोधन गरेको हो । 

नेपालले हालसम्म विद्यार्थी प्रवेशाज्ञाको व्यवस्था नगरेकाले यसबारे नीतिगत स्पष्टताको माग हुँदै आएको थियो । शैक्षिक परामर्श क्षेत्रका संस्थाहरुलाई पनि नेपाली विद्यार्थी विदेश पठाउन मात्र नभइ विदेशी विद्यार्थी नेपालमा ल्याउन काम गर्न दबाब सिर्जना हुँदै आएको थियो । 

निजी क्षेत्रको साझेदारी र सहकार्यमा मानव पूँजी उत्पादन, उपयोग र पलायनको यथार्थ अवस्थासहितको वास्तविक समयमा आधारित विद्युतीय प्रणाली विकास गरी जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरिएको छ । सार्वजनिक, निजी र सम्बद्ध क्षेत्रको सहकार्यमा ‘बुटक्याम्प मोडल’ कार्यक्रम सञ्चालन गरी तत्काल आवश्यक जनशक्ति उत्पादन गरिने  उल्लेख छ ।

समान प्रकृतिका पाठ्यक्रममा आधारित भिन्न विश्वविद्यालयका शैक्षिक उपाधिको समान स्वीकार्यता कायम गर्न नीतिगत तथा संरचनागत प्रबन्ध गरिने, सार्वजनिक निकायबाट गरिने अनुसन्धान विश्वविद्यालय लगायतका प्राज्ञिक तथा अनुसन्धानमूलक संस्थामार्फत हुने व्यवस्था मिलाइने र यस्ता अनुसन्धानका निष्कर्ष अनिवार्यरूपमा सम्बद्ध निकायमा प्रस्तुत गरी प्रणाली सुधारमा उपयोग गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी पाठ्यक्रम तयार गर्ने विधि परिमार्जन गर्ने, श्रमबजारको मागको आधारमा राष्ट्रिय दक्षता मापदण्ड निर्माण गर्ने र प्राविधिक शिक्षालयको सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट हुने प्रबन्ध मिलाउने सङ्कल्प पनि गरेको छ ।

सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रमको नक्साङ्कन गरी पुनःसंरचना गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने, विभिन्न क्षेत्रमा सीप विकासका लागि दस कक्षा उत्तीर्ण विद्यार्थीका लागि विशेष कार्यक्रम लागु गर्ने सरकारको योजना रहेको छ । 

शैक्षिक तालिम केन्द्रको क्षमता वृद्धि गरी शिक्षकको क्षमता र शैक्षिक गुणस्तर बढाइने, शिक्षकलाई छात्रवृत्ति तथा नेतृत्व विकासका अवसर प्रदान गरी शिक्षण पेशालाई थप गुणस्तरीय, आकर्षक र मर्यादित बनाइने, शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायतका विषयको वस्तुपरक जानकारी दिने नीति तथा कार्यक्रममा छ ।

यसैगरी, एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याइने, शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने, माध्यमिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभावपूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसीपमा पठाउने प्रबन्ध गरिने जनाइएको छ । शिक्षाशास्त्र सङ्कायबाहेकका सम्बन्धित विषयमा न्यूनतम योग्यता हासिल गरी अध्यापन तालिमप्राप्त जनशक्तिलाई शिक्षक सेवामा प्रवेश गर्नपाउने व्यवस्था गरिने, शैक्षिक वातावरण र गुणस्तर सुधारका लागि अवकाश प्राप्त शिक्षक तथा कर्मचारीको ज्ञान, सीप र अनुभवको उपयोग गरिने सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने जनाइएको छ ।

वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका कार्यक्रम कार्यान्वयन गर्न विश्वविद्यालय, विद्यालय, अनुसन्धानकर्ता र वैज्ञानिकलाई परिचालन गर्नुका साथै यस कार्यमा गैरआवासीय नेपालीलाई सहभागी हुन आह्वान गरिने सरकारको तयारी छ । यसैगरी, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विषय समेट्ने गरी विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गरिनेछ । अनुसन्धान र नवप्रवर्तनबाट विकसित ज्ञान र उत्पादनको पेटेण्ट दर्ता गर्न र उत्पादनलाई बजारमा पु¥याउन सहजीकरण गरिने उल्लेख छ । 

“सहिद प्रतिष्ठान नेपालसम्बद्ध पाँच विद्यालयलाई केन्द्रीय रूपमा एउटै छाताभित्र सञ्चालन गरिनेछ । सबै प्रदेशमा एक एक विद्यालय हुने गरी थप दुई यस्ता विद्यालय स्थापना गरिने र विद्यालय तहको पाठ्यपुस्तक समयमै छपाइ र ढुवानी हुनेगरी सम्बद्ध निकायको क्षमता वृद्धि गरिनेछ । विद्यालय तहका पाठ्यपुस्तकको मूल्यमा एकरूपता कायम गरिने छ ।’’, नीति तथा कार्यक्रममा भनिएको छ, “सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शैय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ । उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गरिनेछ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिनेछ ।’’

यसैगरी, स्थानीय उत्पादनको उपयोग हुनेगरी आधारभूत तहका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा उपलब्ध गराउन दिवाखाजा कार्यक्रममा परिमार्जन गरिने, विपन्न लक्षित छात्रवृत्ति १२ कक्षासम्म विस्तार गरिने र  प्राविधिक धारको उच्च शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न दलित लक्षित गरिब तथा जेहेनदार छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । 

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ, १ जेठ : सत्तारुढ नेकपा (एमाले) का नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताउनुभयो ।

“युवालाई रोजगारीसँग जोड्ने र खेतीयोग्य जमिनलाई उपयोगको नीतिलाई प्रोत्साहित गरेको छ । विदेशबाट फर्किएका युवालाई उद्योगमा जोड्ने कार्यक्रम ल्याइएको छ”, बर्ताैलाले भन्नुभयो, “छोरीहरुलाई सशक्तीकरण कार्यक्रम ल्याइएको छ । यी कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट आउँछ या आउँदैन भन्ने सवाल छ ।” उहाँले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लामो समयसम्म सदनमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।

यसैगरी एमालेका सचिव योगेश भट्टराईले सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो । सांसद भट्टराईले हरेक नीति तथा कार्यक्रमको जोखिम यसको प्रभावकारी कार्यान्वयनमा हुने भएकाले कार्यान्वयनमा जोड दिनसकिए प्रस्तुत कार्यक्रम सकारात्मक सावित हुने टिप्पणी गर्नुभयो ।

वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौँ, १ जेठ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताउनुभएको छ । नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहँदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने समस्या नरहने स्पष्ट पार्नुभयो ।

“विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ । यसैलाई समर्थन गर्ने गरी बजेट आउँछ र त्यो बजेटमार्फत यसको कार्यान्वयन हुन्छ ।”

वर्तमान सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, १ जेठ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताउनुभएको हो ।

“विभिन्न मन्त्रालयअन्तर्गत नयाँ कुरा राखिएको छ । यसको अर्थ पुराना कुरा छैनन् भनेको हैन, कतिपयको निरन्तरता छ । तर धेरै विषय नयाँ आएका छन । मूल कुरा यी सबै कार्यान्वयन गर्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गृहसँग सम्बन्धित नीति तथा कार्यक्रममा केही नयाँ विषय उल्लेख भएको जानकारी दिनुभयो । उहाँले सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने नयाँ विषय यस पटक समेटिएको बताउनुभयो । यस्तै खुला कारागार सञ्चालन र राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गरिनेलगायतका विषय नयाँ भएको उल्लेख गर्नुभयो । यस्तै गाँजाको औषधीजन्य प्रयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने विषय नयाँ भएको उहाँको भनाइ छ ।

नीति तथा कार्यक्रम : ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ’ सेवा सञ्चालन गरिने

काठमाडौँ, १ जेठ : सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आव २०८१÷८२ को वार्षिक नीति तथा कार्यकममा सङ्घीय अस्पताललाई कार्य बोझको आधारमा पुनःसंरचना गरिने उल्लेख छ ।

वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चारलन गरिने, कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने उल्लेख छ ।

त्यसैगरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा रहेको छ । नीति तथा कार्यक्रममा सङ्घीय एवं प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवं सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने, एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने उल्लेख छ ।

यसैगरी पाठेघर विरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने ,पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ गरिने,सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘पाइलटिङरडेमोन्सट्रेसन’ २०८० भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट गरेको थियो । २० हजार मात्रा खरिद गरेर ल्याइएकाले सात प्रदेशमा एक÷एक अस्पतालबाट मात्र खोप दिइएको थियो ।

सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : प्रमुख प्रतिपक्षी कांग्रेस

काठमाडौँ, १ जेठ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गर्नुभयो । “ सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ । त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा रतिभर विश्वास छैन ।”

सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नआएको जनाउनुभयो । “यो परम्परागत छ । यसमा नयाँ उत्साह छैन । महत्वपूर्ण कुरा छुटेका छन् । विश्वव्यापी आर्थिक सङ्कटबाट परेको मारबाट मुलुकलाई माथि उठाउने ठोस नीति छैन । जनचासोका रुपमा रहेको सहकारी ठगीका कुरा पनि आएन”, नेता कार्कीले भन्नुभयो ।

‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै आयो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममा ‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै सीमित रहेको जिकिर गर्दै रोजगारी दिने र कृषि प्रविधिलाई प्राथमिकता दिने नीति नभएको प्रतिक्रिया दिनुभयो ।

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

काठमाडौँ १ जेठ : निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ ।

नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा सवेस्टियन डोमजाल्स्कीबीचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो ।

भेटमा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तारका लागि नेपालको ग्रीन हाइड्रोजनमा लगानी गर्न कार्यवाहक राजदूतसमक्ष आग्रह गर्नुभयो । “नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै यसको माग उच्च छ, पोल्याण्ड र नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि लगानीका लागि नेपाल आर्कषक गन्तव्य हो”, अध्यक्ष अग्रवालले भन्नुभयो ।

उहाँले नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालको जलविद्युत्, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानी गर्नसमेत डा सवेस्टियनसमक्ष आग्रह गर्नुभयो ।

उक्त भेटमा आवासीय कार्यवाहक राजदूत डा सवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताउनुभएको थियो । दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले फाइदा खोज्नुपर्ने उहाँको भनाइ थियो ।

वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने

काठमाडौँ, १ जेठ : सरकारले युवा कृषक तथा उद्यमीहरूसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा कृषि अनुसन्धानका कार्यक्रम, किसानका समस्या र बजारको मागअनुरूप निर्देशित हुने व्यवस्था मिलाइने उल्लेख छ । सङ्घीय संरचना अनुकूलको कृषि अनुसन्धान नीति तर्जुमा गरिने भएको छ ।

“उत्पादन चक्र सुरु हुनुपूर्व नै आधारभूत कृषिउपज तथा पशुजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने छ, तीनै तहको सहकार्यमा न्यूनतम समर्थन मूल्य तोकिएका कृषिउपज खरिद एवं व्यावसायिक उत्पादकसँग अग्रिम खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने छ । कृषि उत्पादनको वितरणलाई सहज बनाउन निजी र सहकारी क्षेत्रको संलग्नतामा भण्डारण क्षमता वृद्धि गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी सरकारले माटोको उर्वराशक्तिको दिगो व्यवस्थापन गर्न गुणस्तरीय रासायनिक मलको आपूर्ति सुनिश्चित गर्नुका साथै मलखादको आयात, गुणस्तर अनुगमन, माटोको अम्लीयपना घटाउन र उत्पादन वृद्धि गर्न प्राङ्गारिक खेतीलाई प्रोत्साहित गरिने भएको छ ।

“निजी क्षेत्रसमेतको सहभागितामा कृषि बजार संरचना निर्माण र सञ्चालन गरिनेछ । कृषि, पशुपन्छी तथा मत्स्य उत्पादनको बजारीकरणको नियमन संयन्त्र विकास गरिनेछ । आयातित खाद्यान्न एवं तरकारीमा विषादी परीक्षणको दायरा विस्तार गरिनेछ, स्वस्थ र गुणस्तरीय कृषिउपजको ओसारपसार सुनिश्चित गर्न नियामक निकायको क्षमता बढाइने छ । खाद्य प्रयोगशालालाई क्रमशः अन्तर्राष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालामा स्तरोन्नति गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

कृषि तथ्याङ्कः सङ्कलन, विश्लेषण र प्रक्षेपण गरी बजार सूचना प्रणाली विकास गरिने भएको छ । सम्भाव्यताको आधारमा महानगर तथा उप–महानगरपालिकाहरूमा चिस्यान कक्षसहितका कृषि तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइने सरकारको योजना छ ।

किसान सूचीकरण कार्यलाई तीव्रता दिइनेछ । किसान परिचयपत्रलाई कृषि क्षेत्रमा प्रदान गरिने सेवा सहुलियतसँग आबद्ध गरिनेछ । कृषि क्षेत्रका सेवासुविधा तथा सहुलियतलाई डिजिटलाइजेसन गरी सर्वसुलभ र पारदर्शी बनाइनेछ । साना तथा सीमान्तकृत किसानलक्षित कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारले फलफूल नर्सरी र बेर्ना रोपणलाई विस्तार गरी पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउनुका साथै देशभित्रै टिस्यु कल्चर प्रविधिद्वारा बिरुवा उत्पादन गर्न अत्याधुनिक प्रयोगशाला स्थापना गर्ने भएको छ । दुई वर्षभित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पूर्ण आत्मनिर्भरता हासिल गर्नुका साथै स्थानीय तहबीचको साझेदारीमा खाद्यान्न, तरकारी, फलफूल, दूध, माछामासु, अण्डालगायतका कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि, पशुपन्छी तथा मत्स्यपालनका लागि आवश्यक उन्नत बीउ, बेर्ना, दाना, नश्ल, बाच्छी मात्र जन्मने वीर्य, औषधि, खोप, माछाका भुराजस्ता सामग्री स्वदेशमै उत्पादन गर्न स्रोत केन्द्र स्थापना तथा विस्तार गर्ने पनि सरकारको योजना छ ।

“तिनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई भैँसीपालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास गरिनेछ । पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा वितरणको व्यवस्था मिलाइनेछ । निजी क्षेत्रसमेतको सहकार्यमा स्थानीय तहहरूमा क्रमशः पशु अस्पताल निर्माण र सञ्चायलन गरिनेछ । दुई वर्षभित्र खोरेत रोग उन्मूलन गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

राष्ट्रपति पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौँरीलगायतका पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गरिएको छ ।

सिँचाइ सुविधा नपुगेका कृषि भूमिमा साना सतह तथा भूमिगत सिँचाइको प्रबन्ध गर्ने र कृषियोग्य भूमिमा वर्षौंभरि दिगो एवं भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन पूर्वाधार निर्माण र वितरण प्रणाली सुदृढ गरिनेछ । आगामी आवमा थप १५ हजार पाँच सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने भएको छ ।

यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसङ्घको चेतावनी, द्रुतरूपमा बिग्रँदै गएको प्रकोपका बारेमा गहिरो चिन्तित

संयुक्त राष्ट्रसङ्घले सोमबार युद्धग्रस्त यमनमा हैजाका कारण बिग्रँदै गएको प्रकोपको बारेमा चिन्ता व्यक्त गरेको छ । यसमा मुख्यरूपमा हुथी विद्रोहीद्वारा नियन्त्रित क्षेत्रमा अक्टोबरयता ४० हजारभन्दा बढी संदिग्ध मामिला देखिएका छन् ।

“हामी द्रुतरूपमा बिग्रँदै गएको हैजाको प्रकोपका बारेमा गहिरो चिन्तित छौँ । अहिलेसम्म ४० हजार संदिग्ध मामिला र एक सय ६० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरिएको छ । गत महिना हाम्रो अद्यावधिकपछि तीव्र वृद्धि भएको छ”, राष्ट्रसङ्घीय मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषदलाई भन्नुभयो, “अधिकांश हुथी नियन्त्रित क्षेत्रमा हरेक दिन सयौँ नयाँ मामिला देखिएका छन् ।”

ती क्षेत्रहरूमा अक्टोबरदेखि ३४ हजार संदिग्ध मामिला रिपोर्ट गरिएका छन् । यसको तुलनामा सरकार नियन्त्रित क्षेत्रमा छ हजार संदिग्ध घटनाहरू रिपोर्ट गरिएका छन् ।

“भारी वर्षा र बाढीले परिस्थितिलाई अझ नराम्रो बनाउने आशङ्का गरिएको छ, विश्व निकाय र यसका साझेदारहरूले यसको प्रसार रोक्न तत्काल कदम चालिरहेका छन्”, ग्रिफिथ्सले कूटनीतिज्ञहरूलाई चेतावनी दिँदै भन्नुभयो, “हामीले परिस्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न योजनालाई द्रुत कोषको आवश्यकता हुनेछ ।”

सन् २०२४ को लागि यमनको लागि राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया योजनाको लागत दुई अर्ब ७० करोड डलर अनुमान गरिएको छ । अहिलेसम्म १६ प्रतिशत मात्र वित्त पोषित भएको छ ।

“निष्क्रियताको परिणाम निश्चितरूपमा परिचित छ, हामीले के भुल्नु हुँदैन भने सन् २०१६ र सन् २०२१ को बीचमा यमनमा अधिकांश बालबालिकासहित लगभग चार हजार मानिसले हैजाका कारण ज्यान गुमाउनुपरेको छ”, ग्रिफिथ्सले भन्नुभयो ।

सन् २०१४ मा इरान समर्थित हुथीहरूले राजधानी सानामाथि कब्जा जमाएपछि यमन द्वन्द्वको चपेटामा परेको छ । यसबाट अर्को वर्ष सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य हस्तक्षेप सुरु भएको थियो । राष्ट्रसङ्घका अनुसार लडाइँमा वा खाद्यान्न अभाव जस्ता अप्रत्यक्ष कारणले लाखौँको मृत्यु भएको छ ।

बेइजिङ भ्रमण गर्दै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहनुहुने विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताउनुभयो । रूसी नेताको छ महिनाभन्दा लामो समयमा दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पहिलो विदेश भ्रमण हो ।

पश्चिमले आफ्नो सैन्य आक्रमणलाई लिएर अभूतपूर्व प्रतिबन्धहरू लगाएका कारण रूस एक महत्त्वपूर्ण आर्थिक जीवन रेखाका रूपमा चीनमा तीव्ररूपम निर्भर रहेको विश्लेषकहरू बताएका छन् ।

बेइजिङले मस्कोसँगको आफ्नो सम्बन्धप्रतिको आलोचनालाई अस्वीकार गरेको छ । उसले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरेको छ । चीनले सस्तो रूसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीसहित विशाल प्राकृतिक स्रोतहरूमा पहुँच प्राप्त गरेको छ ।

तथापि उक्त आर्थिक साझेदारी पश्चिममा कडा जाँचको दायरामा आउँदा चिनियाँ बैंकहरूलाई अमेरिकी प्रतिबन्धको डरले विश्वव्यापी वित्तीय प्रणालीबाट अलग गर्नसक्ने डर छ । त्यसैले उनीहरूले रुसी व्यवसायमाथि नियन्त्रण सुरु गरेका छन् ।

“चीनले आफूलाई समर्थन गर्न अझ धेरै प्रयास गरोस् भने रुस चाहन्छ । यस्तो गर्न चीन अनिच्छुक छ किनकी ऊ पश्चिमसँगको आफ्नो सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, कार्नेगी रुस युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुयेभले भन्नुभयो ।

चिनियाँ भन्सार तथ्याङ्कअनुसार युक्रेनमा आक्रमणपछि चीन र रुसबीचको व्यापार बढेको छ । यसलाई बेइजिङले कहिले पनि निन्दा गरेको छैन । सन् २०२३ मा यी दुई मुलुकबीचको व्यापार दुई खर्ब ४० अर्बसम्म पुगेको छ ।

यद्यपि वासिङ्टनले मस्कोलाई सुविधा दिने वित्तीय संस्थाहरूलाई कारबाही गर्ने वाचा गरेपछि वर्षको सुरुमा रुसमा बढेको चिनियाँ निर्यात मार्च र अप्रिलमा घटेको छ ।

आफूलाई रुसबाट अलग हुने बढ्दो माग वा यसको परिणामको सामना गरिरहेकाले बेइजिङ रुसको सङ्घर्षरत अर्थतन्त्र सम्हाल्न तयार नभएपछि यस्तो भएको हो

“चिनियाँ बैंकहरू प्रतिष्ठित लागतका बारेमा चिन्तित छन् किनकि उनीहरूले ठूला प्रतिबन्धहरू रोक्न खोजेका छन्”, सिएनएका वरिष्ठ अनुसन्धान वैज्ञानिक एलिजाबेथ विशनिकले एएफपीलाई भन्नुभयो, “निश्चितरूपमा प्रमुख चिनियाँ बैंकहरू हालको आर्थिक कठिनाइहरूलाई ध्यानमा राख्दै त्यस परिस्थितिबाट बच्न चाहन्छन् ।”

विज्ञहरूले यस हप्ताको अत्यधिक प्रतीकात्मक बैठकले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरिने र केही सम्झौताहरूमा हस्ताक्षर र व्यापार बढाउने वाचा गर्ने अपेक्षा गरेका छन् ।

विश्लेषकहरूका अनुसार बेइजिङले मस्कोलाई समर्थन गर्न कटिबद्ध भएको रुसी नेतालाई राम्रोसँग थाहा छ । यसलाई विश्लेषकहरूले चिनियाँ नीति निर्माता पश्चिमविरुद्ध महत्त्वपूर्ण पर्खाल र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाविरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोगीका रूपमा हेरेका छन् ।

रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो

युक्रेनमा तनाव बढ्दै जाँदा रुसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई लक्षित गरी रुसले आक्रमण गरेको अल जजिराले यस क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बताएको छ ।

गभर्नर ओलेह सिनिहुबोभले सोमबार टेलिभिजनमा भन्नुभयो, “दुश्मनले जानाजानी यसलाई विस्तार गर्ने उदेश्यले सानो समूहमा नयाँ दिशामा आक्रमण गर्ने प्रयास गरिरहेको छ ।”

परिस्थितिको गम्भीरतालाई वर्णन गर्दै उहाँले लगभग पाँच हजार सात सय व्यक्तिलाई भोभचान्स्क र वरपरका क्षेत्रहरूबाट निकालिएको तथा बाँकी तीन सयलाई तुरुन्तै निस्कल आग्रह गरिएको बताउनुभयो ।

रूसी सेनाले शुक्रबार खार्किभ सहर नजिकै युक्रेनको सीमा उल्लङ्घन गरेपछि सुरु गरेपछि घुसपैठ सुरु भयो । रुसी सेनाले दुई वर्षदेखि मुख्यरूपमा पूर्व र दक्षिणमा फैलिएको अर्को द्वन्द्वमा उत्तरपूर्वी मोर्चा स्थापना गर्यो । अल जजिराका अनुसार यो रणनीतिक कदमले सम्भावितरूपमा युक्रेनी सेनालाई रुस अघि बढिरहेको पूर्वी क्षेत्रहरूबाट हटाउन सक्छ ।

बढ्दो सङ्कटको प्रतिक्रियामा युक्रेनले ब्रिगेडियर जनरल मिखाइलो द्रापातीलाई खार्किव मोर्चामा अपरेसनको नेतृत्व गर्न नियुक्त गरेको मिडिया आउटलेट आरबीसी–युक्रेनले जनाएको छ । जनरल द्रापातीले यसअघि सन् २०२२ मा रुसी सेनाबाट खेरसन क्षेत्रमा डिनिप्रो नदीको दायाँ किनारको क्षेत्रलाई पुनः प्राप्त गर्न सफल अभियानको नेतृत्व गर्नुभएको थियो ।

गभर्नर सिनिहुबोभले उत्तरपूर्वमा रसियाको बहु–दिशात्मक धक्काबारे प्रकाश पार्दै विशेषरूपमा भोभचान्स्क र लिप्टसी गाउँ नजिकैको प्रगति हासिल गरेको बताउनुभयो । युक्रेनी सेनासँग नजिकबाट जोडिएको डिपस्टेट टेलिग्राम च्यानलले रुसले लगभग एक सय वर्गकिलोमिटर क्षेत्रमा नियन्त्रण प्राप्त गरेको सङ्केत गरेको छ ।

रुसको रणनीतिक लाभलाई स्वीकार गर्दै युक्रेनी सेनाले खार्किभको अवस्थालाई विभिन्न क्षेत्रमा चलिरहेको आक्रमणका साथ ‘जटिल र गतिशीलरूपमा परिवर्तन’ भएको बताएको छ ।

रुसी सेनालाई रोक्न सफल भए पनि युक्रेनले बढ्दो जोखिमको सामना गरिरहेको बताउँदै गभर्नर सिनिहुबोभले द्वन्द्वले नयाँ बस्तीहरूलाई समेट्ने खतरा रहेको चेतावनी दिनुभयो ।

यसैबीच रुुसको रक्षा मन्त्रालयले सेनाले लिप्टसी र भोभचान्स्क जस्ता सीमावर्ती गाउँहरूमा रणनीतिक स्थितिमा सुधार गर्न युक्रेनीे जनशक्तिलाई प्रहार गरेको बताएको छ ।

चीनमा आधारभूत शिक्षामा क्याम्पस बदमासीलगायत मुख्य मुद्दाविरुद्ध लड्न अभियान सुरु

चीनले आधारभूत शिक्षामा क्याम्पस बदमासी र अत्यधिक गृहकार्य जस्ता मुख्य मुद्दालाई सम्बोधन गर्न राष्ट्रव्यापी अभियान सुरु गरेको छ ।

शिक्षा मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको परिपत्रअनुसार यो अभियान यस वर्षको अन्त्यसम्म चल्ने र मुख्यतया सुरक्षा उल्लङ्घन, दैनिक व्यवस्थापनमा अव्यवस्था र सङ्कायको लापरवाहीलगायतका समस्याको नियमन र सुधारमा केन्द्रित रहने छ ।

परिपत्रमा आधारभूत शिक्षामा १२ नकारात्मक अभ्यासको विस्तृत सूची पनि रहेको बताइएको छ । यसमा विद्यार्थीको निर्धारित १० मिनेटको ब्रेकमा अतिक्रमण र बदमासी व्यवहारलाई बेवास्ता, विद्यार्थी छनोट गर्ने उद्देश्यले विभिन्न परीक्षा आयोजना गर्ने अनिवार्य शिक्षा संस्थाहरू समावेश छन् ।

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस क्षेत्रमा द्वन्द्वको परिणामले हुने मानवीय सङ्कट ‘सामान्यतः अस्वीकार्य’ भएको बताएको छ ।

“गाजामा सात महिनाभन्दा लामो समयदेखि द्वन्द्व चल्दा मानवीय सङ्कट बढ्दै गएको छ । यस क्षेत्रलगायत बाहिरसमेत अस्थिरता बढ्ने सम्भावना छ । यस सन्दर्भमा हामीले राष्ट्रसङ्घीय सुरक्षा परिषद् (युनएससी) ले प्रस्ताव गरेको २७२८ लाई सकारात्मक कदमका रूपमा ग्रहण गर्न विचार गरिरहेका छौँ”, राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले प्यालेस्टाइनमा दशौँ राष्ट्रसङ्घीय महासभा (युएनजिए) को आपत्कालीन विशेष सत्रमा भन्नुभयो ।

“द्वन्द्वमा भारतको स्थिति हाम्रो नेतृत्वद्वारा एकभन्दा बढी अवसरमा स्पष्टरूपमा व्यक्त गरिएको छ, इजराइल र हमासबीचको द्वन्द्वले ठूलो मात्रामा नागरिकको ज्यान गएको छ, मानवीय सङ्कटको परिणाम बिल्कुल अस्वीकार्य छ, हामीले द्वन्द्वमा सर्वसाधारणको मृत्युको कडा निन्दा गरेका छौँ र सबैले सबै परिस्थितिमा अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

इजराइलमाथि अक्टोबर ७ मा भएको आक्रमणलाई स्पष्ट पार्दै कम्बोजले इजराइलमा हमासको आक्रमण पनि स्पष्ट निन्दायोग्य रहेको र आतङ्कवाद तथा बन्धक बनाउने कुनै औचित्य नभएको कुरामा जोड दिनुभयो ।

यस मामिलामा दुई–राज्य समाधानमा भारतको स्थितिलाई दोहोर्याउँदै उहाँले द्वन्द्वका पक्षहरूलाई प्रत्यक्ष शान्ति वार्ताका लागि सकेसम्म चाँडो संलग्न हुन आग्रह गर्नुभयो ।

अन्तिम स्थितिका मुद्दामा दुवै पक्षबीच अर्थपूर्ण वार्ताको माध्यमबाट प्राप्त समाधानले मात्र स्थायी शान्ति प्रदान गर्ने कुरामा बारम्बार जोड दिएको उहाँले बताउनुभयो ।

इजराइलको सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै प्यालेस्टिनीको सीमाभित्र स्वतन्त्र देशमा स्वतन्त्ररूपमा बस्न सक्ने दुई–राज्य समाधानलाई समर्थन गर्न भारतको प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थायी समाधानमा पुग्न र शान्ति वार्ता पुनः सुरु गर्न उहाँले आग्रह गर्नुभयो

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने

काठमाडौँ, १ जेठ : नेपाल सरकारले राष्ट्रिय संस्कृति नीतिलाई कार्यान्वयन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको आगामी वर्षको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय संस्कृति नीतिलाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । राष्ट्रिय संस्कृति नीति विसं २०६७ मा जारी गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो ।

राष्ट्रिय महत्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गरिने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । राष्ट्रिय अभिलेखालयलाई जनशक्ति र बजेट नदिएको गुनासो भइरहेका बेला सरकारले राष्ट्रिय महत्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने नीति अघि सारेको हो । मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरिने भएको छ ।

सरकारले जानकी मन्दिर लगायतका महत्वपूर्ण सम्पदालाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ । सांस्कृतिक तथा धार्मिकस्थलको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किरात सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवद्र्धन गरिने राष्ट्रपति पौडेलले वाचन गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाहरूको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान निर्माणलाई तीव्रता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

समाज रूपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, सङ्गीत, अनुसन्धान तथा स्वदेशी चलचित्रको प्रवर्द्धन गर्न “परिवर्तनका लागि कला र साहित्य कार्यक्रम” सञ्चालन गरिने व्यवस्था सरकारले मिलाएको छ ।

देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड

काठमाडौँ, १ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।अनेरास्ववियूको ६०औँ एवं युवासङ्घ नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताउनुभएको छ ।

जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभएको छ, “हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ ।”

पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गर्नुभएको छ । ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को नारालाई व्यवहारमा अनुवाद गर्न उहाँले आह्वान गर्नुभएको छ ।

संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त

काठमाडौँ, १ जेठ- आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।

सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै हुनुहुन्छ भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । न्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

दिक्तेलमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया

खोटाङ, १ जेठः नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको राससलाई बताउनुभयो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।

नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताउनुभयो । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

जापानको सहयोगमा धुलिखेलको भट्टेडाँडा सडकमा साकुराको बिरुवा रोप्न थालियो

धुलिखेल, १ जेठः काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरुप बिरुवा रोप्न थालिएको छ । धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहनुभएका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गर्नुभएको हो ।

भट्टेडाँडा सडकखण्ड क्षेत्रका बासिन्दाको आर्थिक स्रोतका रूपमा पर्यटन व्यवसाय रहेको र सो क्षेत्रलाई पर्यटकीय पदमार्गका रूपमा विकास गर्न बिरुवा रोपिएको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो । “पर्यटकको प्रमुख गन्तव्य धुलिखेल नगरपालिकाको वडा नं ८ पिपलबोट चोकबाट भट्टेडाँडा र हिमाल देखिने देवीस्थानडाँडा क्षेत्रमा पर्ने भएकाले हामीले सडक फराकिलो बनाउनेदेखि दायाँबायाँ हरियाली बगैँचा बनाउने उद्देश्यका साथ अभियान थालेका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि साँघुरो सडकलाई सङ्घीय सरकार र नगरपालिकाकोरु दुई करोड ८७ लाख बजेटमा विस्तारसँगै पक्की बनाइएको थियो । अहिले सो सडकखण्डलाई थप व्यवस्थित बनाउन वडाको सक्रियतामा सो क्षेत्रका होटल पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा हरियाली बनाउन ‘बिरुवा रोपण’ थालिएको वडाध्यक्ष गौतमले बताउनुभयो ।

म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

म्याग्दी, १ जेठः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।

म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उहाँले बताउनुभयो । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, एक सय १७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् ।

बालबालिकालाई पूर्णखोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणा अघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए ।

यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी पहिलो जिल्ला बनेको जिसस म्याग्दीका प्रमुुखसमेत रहनुभएका जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सीताकुमारी सुुन्दासले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री सुन्दासले बताउनुभयो ।एकजनालाई पूर्णखोप प्रदान गर्न रु ४० हजार खर्च लाग्ने र म्याग्दी जिल्लाका सबै बालबालिकाको पूर्णखोप सुनिश्चितताका लागि वार्षिक रु ७० लाख ८४ हजारभन्दा बढी रकम खर्च लाग्ने गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो ।

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको धानको बीउ वितरण

कञ्चनपुर, १ जेठः उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो । नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो ।

“किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ”, शाखा प्रमुख बुढाऐरले भन्नुभयो, “चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ ।” उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने स्वीडेनको प्रतिबद्धता

काठमाडौँ, १ जेठः स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

यही जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्वीडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै हुनुहुन्छ । “स्वीडेन र नेपालबीचको व्यापार प्रवर्द्धनका साथै नेपालमा स्वीडिस कम्पनीहरूको व्यापार साझेदारीका सम्भावनाहरूको खोजी गर्न बैठकमा मेरो सहभागिता उपयोगी हुने विश्वास गरेको छु”, उहाँले वक्तव्यमा भन्नुभएको छ ।

राजदूत थेसलेफले स्वीडेन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गर्दै जलवायु पहल र दिगो विकासका लक्ष्य हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउन स्वीडेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राजदूत थेसलेफ नेतृत्वको प्रतिनिधिमण्डलमा स्वीडेनका उद्यमी, व्यवसायी, सरकारी प्रतिनिधिका साथै ऊर्जा निकायका पदाधिकारी सहभागी हुनुहुन्छ । स्वीडेन र नेपालबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्ध निरन्तर प्रगाढ बन्दै आएको छ ।

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा), १ जेठः गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो ।

स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका टिम क्याप्टेन खोमप्रसाद पाण्डेय (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरिएको हो ।

गण्डकी टिमका भलिबल प्रशिक्षक तथा खेलाडीलाई नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले सम्मान गर्नुभएको थियो ।