`

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

भारत र इरानले सोमबार इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १० वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतले पश्चिम र मध्य एसियामा व्यापार बढाउन चाहेको छ । इरानका सडक तथा सहरी विकास मन्त्रालयका अनुसार सम्झौताबाट भारतलाई बन्दरगाह प्रयोग गर्न १० वर्षको सुविधा प्राप्त हुनेछ । उक्त बन्दरगाह पाकिस्तानसँगको इरानको दक्षिणपूर्वी सीमाबाट नजिकै रहेको छ ।

सम्झौताअनुसार इन्डिया पोर्ट्स ग्लोबल लिमिटेड (आइपिजिएल) ले ‘रणनीतिक उपकरण प्रदान गर्न’ र ‘बन्दरगाहको यातायात पूर्वाधारको विकास गर्न’ ३७ करोड डलर लगानी गर्नेछ । इरानका सहरी विकासमन्त्री मेहरदाद बज्रपाश र भारतका बन्दरगाह तथा ढुवानीमन्त्री सर्वानन्द सोनोवालले सरकारी सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारित समारोहमा चाबहार सहरमा सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबन्ध हटाएपछि तेहरानसँग आर्थिक सम्बन्धलाई पुनरजीवित गर्न खोज्नुभएसँगैसन् २०१६ मा मध्य एसियाका लागि व्यापारिक केन्द्रका रूपमा इरानी बन्दरगाहको विकासमा वित्तीय सहयोग गर्न भारतसहमत भएको थियो ।

मोदी र इरानका पूर्वराष्ट्रपति हसन रुहानीले बन्दरगाहको विकास गर्न भारतको एक्जिम बैंकबाट क्रेडिट लाइन प्रावधानका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । इरानसँगको सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः लागु गर्न थालेका प्रतिबन्धहरूमा छुट दिए पनि बन्दरगाहको विकास रोकियो । “चाबहार क्षेत्रले पारवहन विकासमा केन्द्रविन्दुका रूपमा काम गर्न सक्छ”, हस्ताक्षर कार्यक्रममा बज्रपाशले भन्नुभयो, “हामी यो सम्झौताबाट खुशी छौँ र हामीलाई भारतमा पूर्ण भरोसा छ ।”

“क्षेत्रीय बजारहरूसम्म संयुक्त पहुँचका लागि दुवै मुलुकको हितलाई ध्यानमा राख्दै इरान र भारतले चाबहार बन्दरगाहलाई यथासम्भव विकास गर्न खोजेका छन्”, भारतीय मन्त्री सोनोवालले भन्नुभयो, “यो दीर्घकालीन सम्झौता भारत र इरानबीच स्थायी विश्वास र प्रभावकारी साझेदारीको प्रतीक हो ।” सन् २०१९ मा कोभिड महामारी फैलिनुअघि भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करको तेहरान भ्रमणपछि दुवै मुलुक उक्त परियोजनालाई गति दिन सहमत भएका हुन् । चाबहार बन्दरगाह हिन्द महासागरमा पाकिस्तानको सीमाबाट करिब एक सय किलोमिटर पश्चिममा छ ।

थाइल्यान्डमा सिनेटको निर्वाचन मिति तय

थाइल्यान्डले सोमबार आगामी महिना आफ्नो सिनेट निर्वाचनको विवरण घोषणा गरेको छ । एक दशकअघि सैन्य कूपछि माथिल्लो सदनका लागि यो पहिलो मतदान हुनेछ । प्रधानमन्त्री श्रेथा थाभिसिनको मन्त्रिपरिषद्ले गत महिना पूर्ण जनमत समावेश नभएको जटिल र बहुचरण निर्वाचनको योजनालाई अनुमोदन गरेको छ । थाइल्यान्डको निर्वाचन आयोगले जुन ९, १६ र २६ मा तीन चरणको मतदान हुने पुष्टि गरेको छ । यसमा सिनेटर बन्नका लागि आवेदन गर्ने मानिस मात्र मतदानका लागि योग्य हुनेछन् । नयाँ सिनेटले निर्वाचनपछि प्रधानमन्त्रीलाई अनुमोदन गर्न मतदान गर्नेछैन ।

सन् २०१४ मा सत्ता कब्जा गर्ने सैन्य समर्थक सरकारले नियुक्त गरेको दुई सय ५० सदस्यीय वर्तमान सिनेटले गत वर्ष आम निर्वाचनको नतिजा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।   प्रोग्रेसिभ मुभ फरवार्ड पार्टीले तल्लो सदनमा सबैभन्दा धेरै सिट जिते पनि सिनेटमा पर्याप्त समर्थन जुटाउन नसकेकाले उक्त पार्टीका नेता पिटा लिम्जारोन्त्रातलाई प्रधानमन्त्री बन्नबाट रोकिएको थियो ।

निर्वाचनमा दोस्रो स्थान हासिल गरेको फु थाई पार्टीकाश्रेथाले सेनासँग आबद्ध दलहरूसँग मिलेर गठबन्धन सरकार बनाउनुभयो । सङ्ख्या घटाएर दुई सय बनाइएको सिनेटरहरूलाई न्याय, शिक्षा, सार्वजनिक स्वास्थ्य, उद्योग, कला र खेल, वृद्ध र जातीय अल्पसङ्ख्यकसहित काम र जीवनका विभिन्न २० क्षेत्रबाट चयन गरिन्छन् । उक्त प्रक्रिया अलोकतान्त्रिक र अनावश्यकरूपमा जटिल भएको आलोचकहरूले बताएका छन् ।
उम्मेदवारहरूको दर्ता मे २० र २४ को बीचमा खुला हुनेछ । निर्वाचनको परिणाम जुलाई २ मा आउने अपेक्षा गरिएको छ ।

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिदै

नवलपरासी , १ जेठ: पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा कार्यालय स्थापना हुने भएका छन् । शहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (१) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्य खड्ग बस्नेतले ती कार्यालय स्थापनाको प्रक्रिया प्रारम्भ भएको राससलाई बताउनुभयो चालु आर्थिक वर्षको अन्त्य सम्ममा दुवै कार्यालय स्थापना गर्नेगरी काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । प्रदेशको समग्र विकासका साथै जनतालाई राज्यबाट सहज रुपमा सेवा प्रवाह गर्न ती कार्यालय आवश्यक भएकाले प्रदेश सरकारले त्यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री बस्नेतले बताउनुभयो ।

आज दिउँसो देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौँ, १ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र पहाडी भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । विभागले देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

साढे ६ हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको सतर्कताकाे प्रतिवेदन अख्तियारमा पेश

काठमाडौँ- सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९÷८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । सतर्कता केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति विवरण नबुझाउनेहरुलाई आवश्यक कारबाहीका लागि आयोगमा बुझाएको जनाएको हो ।

 “सतर्कता केन्द्रलाई सात लाख ४६ हजार चार सय ६३ जनाको सम्पत्ति विवरणसम्बन्धी तथ्याङ्क प्राप्त भएकोमा प्रचलित कानुन बमोजिम सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या सात लाख ३९ हजार सात सय ५८ जना अर्थात् ९९ दशमलव १० प्रतिशत रहेको छ भने छ हजार सात सय पाँच जना अर्थात् शून्य दशमव ९० प्रतिशतले सम्पत्ति विवरण बुझाएका छैनन्”, विज्ञप्तिमा भनिएको छ ।

 केन्द्रका अनुसार सङ्घीय तहका पाँच हजार एक सय ८५, प्रदेश तहका छ सय ६५ र स्थानीय तहका आठ सय ५५ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तो विवरण बुझाउनेमा भने सङ्घीय तहका चार लाख ६६ हजार तीन सय ८१ अर्थात् ९८ दशमलव ८९  प्रतिशत, प्रदेश तहका १८ हजार चार सय १२ अर्थात् ९६ दशमलव ३९ प्रतिशत र स्थानीय तहका दुई लाख ६१ हजार छ सय ७० अर्थात् ९९ दशमलव ६७ प्रतिशत रहेका छन् ।

 सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय निकायतर्फ निजामती कर्मचारी तीन हजार तीन सय ८६ जना छन् । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका ७९ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने विद्यालयको शिक्षकको सङ्ख्या आठ सय ३१ जना छ भने अन्य राजनीतिक नियुक्ति र करार तर्फका आठ सय ८९ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

 प्रदेशतर्फ कोशीका ४९, मधेसका एक सय ९९, बागमतीका दुई सय ७६ र गण्डकी प्रदेशका ४४ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यसैगरी, लुम्बिनीका २८, कर्णालीका ४८ र सुदूरपश्चिम प्रदेशका २१ जनाले यस्तो विवरण नबुझाएको केन्द्रले जनाएको छ ।

 अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा गत आर्थिक वर्ष २०७९÷८० मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या शून्य दशमलव ४२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सङ्घीय तहमा एक हजार एक सय २४, प्रदेश तहमा दुई हजार छ सय २७ र स्थानीय तहमा सात हजार नौ सय ३६ जनाको सम्पत्ति विवरणसम्बन्धी तथ्याङ्क प्राप्त भएको सतर्कता केन्द्रले जनाएको छ ।राष्ट्रिय सर्तकता केन्द्रका सचिव राम आधार साहले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष उक्त प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रमुख आयुक्त राईले आगामी दिनमा आयोग र केन्द्र बीच समन्वय एवं सहकार्य बढाउन निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई वित्त आयोगको सुझाव

काठमाडौँ-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अर्थसमितिको सोमबार सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलले खर्च प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “बजेट र खर्चको संरचनाबारे पनि छलफल गरिनुपर्छ । खर्च प्रभावकारितालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दा कार्यान्वयनमुखी हुन्छ ।”   अध्यक्ष पौडेलले सङ्घीय ससर्त अनुदान एकमुष्ट पठाउन सरकारलाई सुझाव दिनुभयो । प्रदेश र स्थानीय तहहरू आफैँ बजेट बनाउन र खर्च गर्न सक्ने भएकाले अनुदान एकमुष्ट पठाउनुपर्ने उहाँको भनाइ छ । “क्षेत्र र स्थान तोकेर सङ्घीय ससर्त अनुदान एकमुष्ट पठाउनुपर्छ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

बैठकमा सांसदहरुले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसमक्ष माग गर्नुभयो । उहाँहरुले प्राथमिकता प्राप्त आयोजना चाँडो सम्पन्न गर्नेगरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । पूर्वअर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हरेक वर्ष पूँजीगत खर्च कम हुने गरेकाले आगामी बजेट पूँजीगत खर्च बढाउन र अधुरा आयोजना सम्पन्न गर्नमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । सांसद कार्कीले भन्नुभयो, “जनताले अनुभूत गर्नेगरी विकासे आयोजनालाई प्राथमिकता दिइनुपर्छ । आन्तरिक ऋण उठाएर सम्पन्न हुन नसकेका आयोजना निर्माणमा बजेट केन्द्रित हुनुपर्छ ।”

सांसद डा स्वर्णिम वाग्लेले प्राथमिकता प्राप्त आयोजनालाई बजेटमा पनि प्राथमिकता दिइनुपर्ने बताउनुभयो । सांसद दीपक खड्काले अर्थतन्त्रलाई चलायमान बनाउन र चालु खर्च नियन्त्रणलाई ध्यान दिएर बजेट ल्याउन सुझाव दिनुभयो ।सांसद गङ्गा कार्कीले प्राकृतिक स्रोतको उच्चतम प्रयोग गर्नेगरी बजेट आउनुपर्ने धारणा राख्नुभयो । सांसद ज्ञानबहादुर शाहीले पूँजीगत खर्च बढाउने गरी बजेट व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभयो ।
समितिका सभापति सन्तोष चालिसेले सरोकारवालासँग बजेटबारे बैठक गरेर सरकारलाई समितिले राय-सुझाव दिने बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।   सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

राजनीति देश र जनताका लागि हुनुपर्छ ः उपसभापति गुरुङ

वालिङ (स्याङ्जा), ३१ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै उहाँले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

“नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उहाँले भन्नुभयो, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।” खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीय

तालिका बनाएर काम गर्न मन्त्री शर्माद्वारा निर्देशन

काठमाडौँ, ३१ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयसम्बद्ध निकायहरुलाई तालिका बनाएर काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८०/८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले पूँजीगत खर्चको क्षमता बढाउँदै तालिका बनाएर कामलाई तीव्रता दिनुपदर्छ भन्नुभयो ।

उहाँले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजस्व वृद्धि गरेको बताउनुभयो । “अहिले सबैतिर आर्थिक सङ्कुचन हुँदाहुँदै पनि हाम्रो मन्त्रालयमा गत आर्थिक वर्षको तुलनामा राजस्व वृद्धि भएको छ, यो हामीले सुशासनका पक्षमा लिएको दृढ अडानको परिणाम हो”, मन्त्री शर्माले भन्नुभयो, “हामी काम गर्ने संस्कृतिमा पछाडि छौँ । हामीसँग ५० दिनमात्र बाँकी छ । आत्मस्वीकारोक्ति गर्ने कुरा हो । भोलिबाट तालिका बनाएरै काम अघि बढाऔँ ।”

चालु आर्थिक वर्षको अझै दुई महिना बाँकी रहे पनि गत आर्थिक वर्षको कूल राजस्वको हाराहारीमा अहिले दश महिनाकै अवधिमा राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । मन्त्री शर्माले व्यक्तिगत जीवनमा खर्चभन्दा बढी आम्दानी राम्रो हुने भए पनि सरकारले भने पूँजीगत खर्च नबढाएर समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले पूँजीगत खर्च बढाउने चुनौती कायमै रहेकाले अब आर्थिक वर्षको बाँकी समयमा दिन रात काम गरेर भए पनि लक्ष्य पूरा गर्न निर्देशन दिनुभयो ।

विश्व बैङ्कको सहयोगमा प्राप्त गर्ने भनिएको डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) परियोजनाको रकमले पूँजीगत बजेटको ३८ प्रतिशत ओगटेको र सो रकम प्राप्त हुने वातावरण नबन्दा मन्त्रालयले गर्ने पूँजीगत खर्चको प्रतिशत घटेको जानकारी दिँदै मन्त्री शर्माले बाँकी बजेट खर्च गर्न मातहतका निकायलाई दृढतापूर्वक लाग्न उहाँको निर्देशन छ ।

पू्ँजीगत खर्च बढाउन कर्मचारीतन्त्रको काम गर्ने शैलीमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले कानुनअनुसारका काम गर्न डराउन हुँदैन भन्नुभयो । “पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा पुराना बेथितिहरु धमाधम बाहिर आएकाले पनि कर्मचारीमा केही त्रास बढेको देखिन्छ”, उहाँले भन्नुभयो, “कहिल्यै पनि कुनै दिन पनि नियम तोडेर काम गर्नुपर्छ भनेको छैन नगर्दा पनि किन काम अघि बढ्न सकिँदैन । मन्त्रालयसम्बद्ध सबै निकायलाई ‘माइलस्टोन’को कार्यान्वयन भए÷नभएको कारणसहित लिखित एवं मौखिकरुपमा नै सोधौँ तर मन्त्रालयको ‘होल्ड’को स्थिति नगरौँ । मन्त्रालयमा काम हुनै पनि सहजीकरणमा आउँछ भने यो यो मिल्दैन भनेर जवाफ दिनुपर्छ ।”

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले १६औँ राष्ट्रिय योजनामार्फत सूचना प्रवधियुक्त राष्ट्र निर्माणको विकास मोडल अघि सारिएकाले यो भूमिका निर्वाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्वपूर्ण भूमिका रहने बताउनुुभयो । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमार्फत १५औँ योजनाले एक लाख बढी रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको भए पनि अपेक्षित प्रगति हुन नसकेको स्पष्ट गर्दै उहाँले १६औँ योजनामार्फत डिजिटल अर्थतन्त्र निर्माणमा मन्त्रालयले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्रालयमा राजस्व वृद्धि हुनु राम्रो भए पनि खर्च नबढ्नु दुःखद भएकाले यसमा गहिरो समीक्षा गरेर अघि बढ्नुपर्छ भन्नुभयो । चालु आर्थिक वर्षको बचेको ५० दिनको समयलाई सातै दिन चौबिसै घण्टा काम गरेर भए पनि लक्ष्य प्राप्त गर्नुपर्ने र खर्च क्षमता बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।
यस मन्त्रालयअन्तर्गत चलचित्र, सूचना प्रविधि, आमसञ्चार, सुरक्षण मुद्रण, हुलाक सेवा र दूरसञ्चार क्षेत्रको कार्यका लागि विभिन्न १८ वटा निकाय छन् । चालु आर्थिक वर्षको तेस्रोे त्रैमासिकसम्मको मन्त्रालयको कूल बजेटको ३६ दशमलव २७ प्रतिशत खर्च भएको छ । त्यसमा चालुतर्फ ४७ दशमलव २६ प्रतिशत र पूँजीगततर्फ मात्र ५ दशमलव ७ प्रतिशत छ । चालु आवमा मन्त्रालयसम्बद्ध विभिन्न १८ निकायका लागि आठ अर्ब ७० करोड ६७ लाख रकम बजेट विनियोजन भएकोमा चैतसम्म ३ अर्ब १५ करोड ७९ लाख १७ हजार खर्च भएको छ ।

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौँ, ३१ वैशाख : राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगमा आज भएको भेटमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिन नसक्ने निर्वाचन प्रणाली आवश्यक नरहेको बताउनुभयो ।

आयोगस्थित प्रमुख आयुक्तको कार्यकक्षमा भएको छलफलमा सभापति खतिवडाले निर्वाचन प्रणालीमै संशोधन जरुरी रहेकाले सबैले आ–आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिनुभयो । अहिलेको निर्वाचन प्रणाली साह्रै महँगो भएको र यसलाई न्यूनीकरण गर्न समयमै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“अहिलेको प्रणालीले कुनै निकास दिने नदेखिएकाले संविधान संशोधन गरेर भए पनि परिमार्जन गर्न जरुरी भइसकेको छ,” सभापति खतिवडाले भन्नुभयो, “प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाऔँ, त्यसमै आरक्षण सिट तोकौँ । राष्ट्रियसभालाई पूर्ण समानुपातिक गरौँ ।”

एकपटक समानुपातिक सांसद भइसकेपछि अर्को पटक सोही पद्धतिबाट हुन नपाउने व्यवस्था गर्नसमेत सभापति खतिवडाले प्रस्ताव गर्नुभयो । सभापति खतिवडाले आगामी निर्वाचन कानुनमा आफू कार्यरत रहेकै ठाउँबाट मत हाल्न पाउनेगरी मतदानको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिक र अपाङ्गलाई घरमै मतदानको व्यवस्था मिलाउन अनुरोध गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणाली फेर्ने विषयमा दलहरूकै तदारूकता महत्वपूर्ण हुने बताउनुहुँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सहभागितामूलक बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदामा प्रस्ताव गरिएको जानकारी दिनुभयो । निर्वाचन महँगो हुनुमा दलहरुकै कार्यशैली जिम्मेवार रहेको बताउनुहुँदै प्रमुख आयुक्त थपलियाले दलहरु स्वयम् संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीको प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ३१ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताउनुभयो । कर्णाली कार्यक्षेत्र भएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले अन्तर्राष्ट्रिय विकास साझेदारले कर्णालीलाई उच्च प्राथमिकतामा राखे पनि आशातीत सफलता हासिल गर्न नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयोे, “हाम्रा सहयोगी दातृ निकायहरुको सहयोगअनुसार जति परिवर्तनको महसुस गर्नुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महसुस गर्न सकेको छैन ।”

अवसरको खोजीमा कर्णालीका गाउँहरु रित्तिँदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्नुहुँदै मुख्यमन्त्री कँडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीका लागि विदेशिने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताको जीवनस्तर उकास्न सरकारको मात्र प्रयासले सम्भव नहुने उहाँको भनाइ थियो । मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

कर्णालीमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकीकृत रुपमा लैजान सके उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले आजै सुर्खेतस्थित सङ्घीय कार्यालयका प्रमुखसँग छलफल गरी कर्णाली प्रदेशमा भइरहेका कामका बारेमा जानकारी लिनु भएको थियो ।

वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘नेपाल फिस्कल फेडेरालिजम अपडेट, २०२४’ सोमबार  सार्वजनिक गर्दै विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत सुधारको प्रयास भइरहेको जनाएको छ ।

यसैगरी प्रदेश र स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनको काम जारी रहेको भए पनि समग्रमा कार्यान्वयनको अवस्था भने मध्यम रहेको बैङ्कले उल्लेख गरेको छ  ।

सङ्घीय सरकारको राजस्व घट्दा प्रदेश र स्थानीय तहले पाउने वित्तीय स्रोतसमेत घटेपछि सङ्घीयता कार्यान्वयन पछि पहिलोपटक गत आर्थिक वर्ष २०७९/८० (सन् २०२३) मा प्रदेश र स्थानीय तहका सरकारमा वित्त घाटा देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले भोगको वित्तघाटा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलव तीन प्रतिशत र स्थानीय तहले भोगेको घाटा जिडिपीको शून्य दशमलव चार प्रतिशत बराबर रहेको देखिएको छ । प्रतिवेदनअनुसार थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा देखिएको गिरावट तथा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धलगायत कारणले प्रदेशहरुको आर्थिक वृद्धिदरसमेत सुस्त देखिएको छ ।

वित्तीय सङ्घीयता कार्यान्वयन तथा तीन वित्त व्यवस्थापनका लागि तीनवटै तहका सरकारबीच समन्वय गर्न अर्थमन्त्रालयअन्तर्गत वित्तीय सङ्घीयता समन्वय महाशाखाले काम गरिरहेको छ ।

यो महाशाखाको प्रभावकारिता र कार्यक्षमता थप बढाइनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । प्रतिवेदनले वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारी सञ्चालनका लागि प्रदेश र स्थानीय तहको संस्थागत क्षमता बढाउन सुझाव दिएको छ । जसअन्तर्गत तल्लो तहका सरकारबाट प्रवाह हुने सेवामा सुधार गर्नु प्रमुख विषयका रुपमा उजागर गरिएको छ ।

त्यसैगरी, विश्व बैङ्क प्रतिवेदनले राजस्व बाँडफाँट तथा राजस्व प्रशासन, अन्तरसरकारी वित्तीय हस्तान्तरण, ऋण तथा पूँजी व्यवस्थापन र प्राकृतिक स्रोतबाट सिर्जित राजस्वलाई वित्तीय सङ्घीयता कार्यान्वयनका स्तम्भका रुपमा औँल्याएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्यालले यो प्रतिवेदनले औँल्याएका मुख्य विषय तथा सुझावलाई सरकारले कार्यान्वयनमा जोड दिने  बताए ।

“प्रतिवेदनले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि तीन तहका सरकारबीचको समन्वय र जिम्मेवारी प्रस्ट पार्न सघाएको छ । वित्तीय सङ्घीयता कार्यान्वयनलाई थप सहज बनाएर प्रतिवेदनले दिएका सुझाव र सरकारले अवलम्बन गरेका रणनीतिहरु लगभग समान छन्”, उनले भने ।

यो प्रतिवेदनले नेपालको वित्तीय सङ्घीयताको प्रगतिको विस्तृत समीक्षा गरेको उनको भनाइ छ ।

त्यसैगरी, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त  आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रतिवेदनले अन्तरसरकारी वित्तीय हस्तान्रण प्रणालीको संस्थागत व्यवस्थालाई थप आवश्यकतामा आधारित र समयसापेक्ष बनाउन, वित्तीय सङ्घीयताको नतिजामा सुधार गर्न र प्रदेश तथा स्थानीय सरकारको वित्तीय स्वायत्तता बढाउनका लागि आवश्यक पर्ने कुरालाई समेटेको बताए ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसले प्रदेश र स्थानीय तहबाट प्रवाह हुने सेवाका वित्तीय सङ्घीयता दिगो आधारस्तम्भ रहेको बताए । उनीहरुलाई पर्याप्त वित्तीय स्रोतको उपलब्धतासँगै खर्च गर्नसक्ने क्षमताको विकास गरिनु पनि आवश्यक रहेको उनको भनाइ छ ।

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने

माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि पाँच करोड अमेरिकी डलरको ट्रेजरी बिलको विशेष वित्तीय सम्झौता विस्तारका रूपमा बजेट सहयोग प्रदान गरेको छ । “स्टेट बैंक अफ इन्डिया (एसबिआई) ले माल्दिभ्सको वित्त मन्त्रालयद्वारा जारी पाँच करोड अमेरिकी डलरको सरकारी बिललाई अघिल्लो सदस्यताको परिपक्वतामा थप एक वर्षका लागि सदस्यता दिएको छ, यी सरकारी ट्रेजरी बिललाई एसबिआईद्वारा माल्दिभ्स सरकारका लागि शून्य ब्याजमा सरकारदेखि सरकार व्यवस्थाअन्तर्गत सदस्यता दिइन्छ”, माल्दिभ्समा रहेको भारतीय उच्चायोगले विज्ञप्तिमा भनेको छ ।

माल्दिभ्स सरकारको अनुरोधमा यो सदस्यता विस्तार गरिएको हो । “भारतीय सरकारबाट बजेट सहयोग प्राप्त गर्न माल्दिभ्स सरकारको विशेष अुनरोधमा सदस्यता जारी राखिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।
माल्दिभ्सका विदेशमन्त्री जमिरले यसै महिनाको प्रारम्भमा गर्नुभएको भारतको आधिकारिक भ्रमणमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग अनुरोध गर्नुभएपछि ट्रेजरी बिललाई विशेष वित्तीय सम्झौताका रूपमा विस्तार गर्ने भारत सरकारको निर्णय आएको माल्दिभ्सको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

मन्त्रालयले बजेट विनियोजनका रूपमा माल्दिभ्सलाई भारत सरकारको समर्थनको प्रशंसासमेत गरेको छ । “भारत सरकारको सहयोगबाट ठूलो सङ्ख्यामा पूर्वाधार विकास परियोजना र उच्च प्रभाव सामुदायिक विकास परियोजना चलिरहेका छन् । यसमा अनुदान सहायताका रूपमा उल्लेखनीय हिस्सा पनि समावेश छ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा माल्दिभ्स सरकार आफ्ना जनताको पारस्परिक हित र समृद्धिका लागि दुवै मुलुकबीच सहयोगात्मक साझेदारीलाई निरन्तरता दिन तत्पर रहेको उल्लेख छ ।

वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गर्नुभएको छ ।‘पुष्पलाल जन्म शताब्दी समारोह २०८१’ द्वारा आज पोखरामा आयोजित विचार गोष्ठीमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको उच्च कदर गर्दै मुलुक र जनताको हितका लागि वामपन्थीहरु एकठाउँमा उभिनुपर्छ भन्नुभयो ।

कम्युनिष्टहरूमा रणनीतिक रुपमा दुविधा नभए पनि कार्यनीतिका कारण पछाडि परेको जनाउँदै उहाँले भन्नुभयो, “हामी कार्यनीतिका कारण पछाडि प¥याँै, रणनीतिक रुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठीक ठाउँमा पुगिन्छ त्यसको विश्लेषण गर्न अपरिहार्य छ ।

पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौँको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सह–आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलन लगायतमा पुष्पलालको योगदान विषयमा वाम वुद्धिजीवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्ववन्धु भण्डारीले टिप्पणी गर्नुभएको थियो ।

पुष्पलाल जन्म शताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, नेकपा (माओवादी केन्द्र) कास्कीका इञ्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था, नेकपाका डा मनिष भट्टराई र पुण्य पौडेल लगायतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना

काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

 आगामी आर्थिक वर्ष २०८१/८२ बाट कार्यान्वयनमा जाने यो आवधिक योजनालाई गत माघ मसान्तभित्र ल्याइसक्ने गरी राष्ट्रिय योजना आयोगले कार्यसूची बनाएको भए पनि हालसम्म स्वीकृत हुने सकेको छैन । यद्यपि, सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटसँग तालमेल हुनेगरी आवधिक योजना तयार पार्नुपर्ने भएकाले अन्तिम स्वीकृतिका लागि केही समय लागेको आयोगले जनाएको छ ।

 नयाँ आवधिक योजनाको मस्यौदामा केही महत्वाकांक्षी लक्ष्य राखिएका छन् । आर्थिक वर्ष २०८५/८६ मा आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आय अमेरिकी डलर दुई हजार चार सय १३ पु-याउने लक्ष्य छ । चालु आवमा नेपालको प्रक्षेपित आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत र प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार चार सय ५६ रहेको छ ।

 त्यसैगरी, अहिले निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या २० दशमलव तीन प्रतिशत रहेकामा पाँच वर्षभित्रमा १२ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ मा पाँच प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । नयाँ आवधिक योजनाको मस्यौदाअनुसार मानव विकास सुचकाङ्कमा अहिले नेपालको सूचकाङ्क शून्य दशमलव ६०१ रहेकोमा पाँच वर्षमा शून्य दशमलव ६५० पु-याउने, मानव सम्पत्ति सुचकाङ्क ७६ दशमलव तीनबाट ७८ पु-याउने र आर्थिक तथा वातावरणीय जोखिम सुचकाङ्क २९ दशमलव सातबाट २४ मा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

नेपालीको औसत आयु अहिले ७१ दशमलव तीन वर्ष रहेकोमा पाँच वर्षभित्र ७३ वर्ष पु-याउने लक्ष्य राखिएको छ । आधा घण्टाको दूरीमा स्वास्थ्य संस्थाको पहुँच भएका परिवारको सङ्ख्या अहिले ७७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ मा ९० प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । त्यसैगरी साक्षरता दर हाल ७६ दशमलव दुई प्रतिशत रहेकोमा आवधिक योजना सकिँदासम्म ८५ प्रतिशत पु-याउने र बेरोजगारी दर ११ दशमलव चार प्रतिशतबाट पाँच प्रतिशतमा झार्ने लक्ष्य सरकारको छ ।

 अहिले तीन हजार एक सय मेगावाट हाराहारी रहेको जलविद्युत् उत्पादनलाई पाँच वर्षभित्रमा ११ हजार सात सय ६९ मेगावाट पु-याउने लक्ष्य राखिएको छ । त्यसैगरी, इन्टरनेटको पहुँचमा अहिले ६९ दशमलव दुई प्रतिशत जनसङ्ख्या रहेकोमा आव २०८५/८६ सम्ममा ९० प्रतिशत पु-याउने लक्ष्य निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा ६३ प्रतिशत परिवारको पहुँच रहेकोमा त्यसलाई बढाएर ८५ प्रतिशत पु-याउने लक्ष्य निर्धारण गरिएको छ । 

 विधिको शासन सूचकाङ्क शून्य दशमलव ५२ बाट शून्य दशमलव ८०, विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क ५२ बाट ६५ र भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क ३५ बाट ४३ पु-याउने लक्ष्य निर्धारण गरिएको छ । कुल विनियोजनमा खर्चको अनुपात ८० प्रतिशतबाट ९० प्रतिशत पु-याउने, कूल गार्हस्थ्य उत्पादनको अनुपातमा बेरुजु १० दशमलव नौ प्रतिशत रहेकोमा पाँच प्रतिशतमा झार्ने र विद्युतीय सरकार सूचकाङ्क (ई–गभर्नेन्स इन्डेक्स) शून्य दशमलव ५१२ रहेकोमा शून्य दशमलव ६०० पु-याउने लक्ष्य आवधिक योजनामा राखिएको छ ।

 क्षेत्रगत सूचक तयार पारेर लक्ष्य तोकिएको छ भने त्यसको प्राप्तिका लागि रुपान्तरणकारी रणनीति तथा प्रमुख हस्तक्षेपकारी कार्यक्रम आवधिक योजनामा राखिएको छ । आवधिक योजनाको मस्यौदामा आगामी पाँच वर्षभित्र मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार करिब रू तीस खर्बले वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिले आधारभूत मूल्यमा जिडिपीको आकार रु ५३ खर्ब ८१ अर्ब बराबर छ । १६औँ योजनाको अन्तसम्ममा रू ८० खर्ब देखि रू ८६ खर्बको हाराहारी पु-याउने लक्ष्य राखिएको छ । गत आवमा एक दशमलव ८६ प्रतिशत रहेको आर्थिक  वृद्धिदरलाई नयाँ आवधिक योजनाको अन्त्यसम्ममा औसत सातदेखि साढे आठ प्रतिशतसम्म कायम गर्ने लक्ष्य मस्यौदामा राखिएको छ ।

 योजना आयोगका अनुसार विभिन्न क्षेत्रगत रणनीतिसहितका हस्तक्षेपकारी कार्यक्रम राखेर आवधिक योजनाको मस्यौदा तयार पारिएको छ । मुख्य १४ वटा शीर्षकमा रुपान्तरणकारी रणनीति, प्रमुख हस्तक्षेपकारी कार्यक्रम र परिमाणात्मक लक्ष्यसहितको खाका आवधिक योजनामा छ । समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र तीव्रतर आर्थिक वृद्धि, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षालगायतका क्षेत्रगत रुपमा शीर्षकहरु राखिएका छन् । त्यस्तै, गुणस्तरीय पूर्वाधार एवं एकीकृत यातायात व्यवस्था प्रणाली, आधुनिक, दिगो र व्यवस्थित शहरीकरण तथा बस्ती विकास, लैङ्गिक सशक्तीकरण, सामाजिक समावेशीकरण र परिचालन, प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास, गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण शीर्षक परिच्छेद छुट्याइएका छन् । प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती पश्चातको सहजीकरण र दिगो विकास लक्ष्य र हरित अर्थतन्त्रलगायतका विषय आवधिक योजनामा राखिएका छन् ।

 हाल १७ दशमलव ८ प्रतिशत रहेको राजस्व र जिडिपीको अनुपात २४ प्रतिशतभन्दा माथि पु-याउने लक्ष्य तय गरिएको छ । जिडिपी अनुपातमा सङ्घीय खर्च हाल साढे २६ प्रतिशत बराबर रहेकोमा त्यसलाई ३२ प्रतिशत पुर्याउनेगरी लक्ष्य तय गर्न लागिएको छ । त्यस्तै, सार्वजनिक ऋण जिडिपीको ४५ प्रतिशतभन्दा माथि जान नदिनेगरी तय गरिएको छ । हाल २७ प्रतिशत रहेको जिडिपीमा व्यापार घाटाको अनुपात २४ प्रतिशतभन्दा घटाउने लक्ष्य राखिएको छ । कूल निर्यात जिडीपी अनुपातमा सात प्रतिशतभन्दा माथि पु-याउने लक्ष्य छ । जुन अनुपात हाल साढे तीन प्रतिशत छ । अहिले जिडिपी अनुपातमा कूल आयात ३४ दशमलव पाँच प्रतिशत रहेकोमा त्यसलाई ३१ प्रतिशतभन्दा तल पु-याउने गरी लक्ष्य निर्धारण गर्न लागिएको छ । विप्रेषण आय र कुल गार्हस्थ्य उत्पादन अनुपात २२ देखि २४ प्रतिशत हाराहारी राख्ने गरी लक्ष्य निर्धारण गर्न लागिएको छ ।

 आन्तरिक उत्पादन र उत्पादकत्व बढाउन केही महत्वाकांक्षी लक्ष्य राखिएका छन् । आन्तरिक उत्पादन बढाउन १७ वटा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने, एक सय ४० वटा औद्योगिक ग्राम घोषणा गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को सङ्ख्या दुईबाट तीन पु-याउने लक्ष्य मस्यौदामा छ । त्यस्तै, हाल दुई हजार आठ सय हाराहारी रहेको विद्युत् उत्पादन जडित क्षमता ११ हजार आठ सय हाराहारी पु-याउने, प्रतिव्यक्ति विद्युत् खपत तीन सय ८० किलोवाट घण्टाबाट बढाएर सात सय किलोवाट घण्टा पु-याउनेलगायतका लक्ष्य आवधिक योजनाको मस्यौदामा छ ।

 नयाँ आवधिक योजनाको अन्त्यसम्ममा वार्षिक रु ४१ अर्ब बराबरको बिजुली नियार्त गर्ने र समग्र व्यापार घाटा कम गर्न ऊर्जा क्षेत्रको योगदान करिब चार प्रतिशत पु-याउने लक्ष्य तय गरिएको छ । हाल १५ लाख ५५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेकोमा त्यसलाई १७ लाख २२ हजार हेक्टर पु-याउने लक्ष्य निर्धारण गर्न लागिएको छ । आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित जनसङ्ख्या हाल ९६ प्रतिशत रहेकोमा त्यसलाई ९९ प्रतिशत पु-याउने लक्ष्य नयाँ आवधिक योजनाको मस्यौदामा छ ।

 त्यस्तै, वार्षिक १२ लाख हाराहारीमा रोजगारी सिर्जना गर्ने, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउने, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने लाभग्राहीको सङ्ख्या २० लाख पु¥याउने र श्रम सम्झौता भएका गन्तव्य मुलुकको सङ्ख्या १५ वटा पु-याउने लक्ष्य नयाँ आवधिक योजनाको मस्यौदामा समावेश छ ।

 मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा एक सय ५१ जना रहेकोमा त्यसलाई ८५ मा झार्ने लक्ष्य राखिएको छ । वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशत हाराहारी पु-याउने गरी लक्ष्य निर्धारण गर्न लागिएको छ । पाँच वर्ष र सोभन्दा माथिको साक्षारतादर शत प्रतिशत पु-याउने, शिक्षण सिकाईमा इन्टरनेटको पहुँच भएका शैक्षिक संस्था शतप्रतिशत पु-याउने, विद्युत् पहुँच शतप्रतिशत राख्ने लक्ष्यसहित मस्यौदा बनेको छ ।  

 विसं. २०८१ साउन तेस्रो हप्ता बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को अवधारणापत्र स्वीकृत गरेको थियो । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँ योजनाको अवधारणा तयार पारिएको छ । राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य सोह्रौँ योजनाको मस्यौदामा राखिएको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु पनि सोह्रौँ योजनाको उद्देश्यमा उल्लेख गरिएको छ ।

   नयाँ आवधिक योजनाले ‘विकासका काममा देखिएका संरचनात्मक अवरोधको पहिचान, सम्बोधन र निराकरण गर्दै संरचनात्मक रुपान्तरणमार्फत सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने’ रणनीति तय गरेको छ । “योजना कार्यान्वयन सम्बन्धमा सबै तह र पक्षका सरोकारवाला निकाय बीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउने, अध्ययन अनुसन्धान तथा तथ्यमा आधारित रहेर नीति निर्माण एवम् विकासका प्रयास गर्ने रणनीति लिइनेछ ।” स्वीकृत अवधारणापत्रमा भनिएको छ । त्यस्तै, नयाँ आवधिक योजनाको अवधारणापत्रमा संरचनात्मक रुपान्तरणका क्षेत्र तथा रणनीति तय गरिएका छन् ।

 “समग्र आर्थिक आधारको सबलीकरणका लागि प्राथमिक क्षेत्रको सबलीकरण, द्वितीय क्षेत्रको विकास तथा विस्तार र सेवा क्षेत्रको स्थायित्व कायम गरिनेछ”, अवधारणापत्रमा भनिएको छ, “राजस्वको आधार र दायरा विस्तार गरी अनुमानयोग्य वित्त प्रणालीको विकास गर्ने, वित्तीय स्रोतलाई उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरी समावेशी परिचालन र बाह्य क्षेत्रको स्थायित्व कायम गरिनेछ ।”

  उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि उत्पादनका सबै किसिमका स्रोत र साधनको समयवद्ध, गुणस्तरीय एवम् लागत प्रभावि आपूर्ति प्रणालीको सुनिश्चितता गरिने नीति लिइएको छ । त्यस्तै, बजारको माग अनुरुपको ज्ञान, सीप, दक्षता र ऊर्जाशील श्रमशक्तिको उत्पादन र परिचालनमा जोड दिइएको छ । अनुसन्धान र विकासमा आधारित नविनतम प्रविधि तथा व्यवस्थापनका विधिको अवलम्बन गर्ने, मर्यादित, उत्पादनशील एवम् समावेशी रोजगारको अवसरको सिर्जना गर्ने विषय पनि संरचनात्मक रुपान्तरणको रणनीतिमा राखिएको छ ।

   निजी, सरकारी तथा गैरसरकारी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने नीति लिइने जनाइएको छ । उद्यमशीलताउन्मुख स्वरोजगारका लागि व्यवसायिक तालिमको उपलब्धतासँगै सुरुवाती पुँजी लगानीमा सहयोग गर्ने, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण, ज्ञान, सीप, प्रविधिको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने लगायतका विषय अवधारणापत्रमा राखिएका छन् । सीमान्तकृत वर्ग तथा समुदायको सशक्तिकरण र सकारात्मक विभेदमार्फत् समावेशी रोजगार प्रवद्र्धन गर्ने, आप्रवासी कामदारको नियमन गरी आन्तरिक श्रम बजारमा स्वदेशी श्रमिकलाई प्राथमिकता लिइने जनाइएको छ ।

   मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना रणनीतिमा राखिएको छ । “सरकारका तीनवटै तहमा जनसाङख्यिक लाभको उपयोगमार्फत् सीपयुक्त र क्षमतावान श्रमशक्तिको उत्पादन गरी स्वदेशमै रोजगारी अवसर सिर्जना गरिनेछ”, अवधारणापत्रमा भनिएको छ, “वैदेशिक रोजगारका लागि सुरक्षित कार्यवितरणसहित उच्च प्रतिफलयुक्त आय भएका नयाँ गन्तव्य मुलुकहरुको पहिचान र श्रम सम्झौता गर्ने रणनीति बनाइएको छ ।

वीरगञ्ज महागरमा कक्षा कोठामा मेयर कार्यक्रम सुरु

वीरगञ्ज (पर्सा) ३१ वैशाख – वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले आज वीरगञ्जको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट ‘कक्षा कोठामा मेयर’ कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयको कक्षा कोठामा नै पुगेर विद्यार्थीलाई हौसला तथा उत्प्ररेणा जगाउने खालका कार्यक्रम अघि बढाइने बताउनुभयो । ‘‘यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको समस्याको पहिचान गर्न सघाउनेछ’’, उहाँले भन्नुभयो, ‘‘कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अगाडी बढाइनेछ ।’’ नगरप्रमुख सिंहले आफ्ना अग्रजहरुको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कुनै खालको कमी नगर्न विद्यार्थीलाई अनुरोध गर्नुभएको छ ।

महानगरले यसै शैक्षिक सत्रबाट वीरगञ्जका विद्यालयमा सञ्चालित डिजिटल कक्षाको उपयोगिता र प्रभावकारिताको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयमा नै पुगेर एउटा कक्षा नै लिने कार्यक्रम अघि बढाइने बताउनुभयो । नगरप्रमुख सिंहले विद्यालयको अनुगमन गर्दै विद्यालयमा भएका स्रोतसाधन र शैक्षिक अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो । महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाइका लागि डिजिटल कक्षा सञ्चालन गर्न सुरु गरेको छ ।

त्रिजुद्ध माविका प्रधानाध्यापक नवीन मिश्रले नगरप्रमुख आफैँ कक्षामा उपस्थिति भएर विद्यार्थीलाई उत्प्रेरणा दिँदा विद्यार्थीहरुमा झनै हौसला बढ्ने बताउनुभयो । ‘‘नगरप्रमुख आफैँ विद्यालयमा उपस्थित भएर विद्यार्थीसँग अन्तरक्रिया गर्दा यसले पक्कै पनि विद्यार्थीको शैक्षिक र अन्य विकासमा ठूलो मद्दत पुग्ने आशा गरेका छौँ’’, उहाँले भन्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरुको हौसला बढाउने खालको कक्षा लिनुभएको थियो ।

इन्डोनेसियामा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो, १७ बेपत्ता

सप्ताहन्तमा पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ । घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार एएफपीलाई बताएका छन् घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा चट्टान खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन् ।

“गत रातिको आँकडाअनुसार हामीले ३७ शव रेकर्ड गरेका छौँ तर आज बिहान यो सङ्ख्या बढेर ४१ पुगको छ”, पश्चिम सुमात्रा विपद् न्यूनीकरण एजेन्सीका अधिकारी इल्हाम वहाबले एएफपीलाई भन्नुभयो । उहाँका अनुसार अझै पनि उद्धारकर्ताहरूले बेपत्ता १७ जनाको खोजी गरिरहेका छन् । यसमा अगम जिल्लामा तीन र तानाह दातारमा १४ जना छन् । दुवै जिल्ला बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । यहाँ लाखौँ मानिस बस्छन् । 

अधिकारीहरूले मानिसहरूलाई आफन्तहरूको लगायत सुरक्षित स्थनामा जान प्रोत्साहित गरेका कारण इल्हामले खाली गरिएका स्थानीयहरूको सङ्ख्या भने पुष्टि गर्न सक्नुभएन । उहाँले पहिले, पीडितहरूको खोजी र उद्धार, गरी दोस्रो चरणमा विस्थापितहरूको सुरक्षा, कमजोर मानिसहरूको सुरक्षामा केन्द्रित रहेको बताउनु भयो । “हाम्रो ध्यान सबैभन्दा पहिला पीडितहरूको खोजी र उद्धारमा छ, दोस्रो निकालिका र कमजोर मानिसको सुरक्षामा छ”, उहाँले भन्नुभयो 

स्रोतका अनुसार जिल्लाका सडकहरू नदीमा परिणत भएका छन् भने मस्जिद तथा घरहरू क्षतिग्रस्त भएका छन् । भारी वर्षाले छेउछाउका इलाकाहरूलाई माटोसहितको बाढीको पानीले डुबाएको छ र नजिकैको नदीमा सवारी साधनहरू बगाएको छ । ज्वालामुखीको खरानी र ठुला चट्टानहरू माउन्ट मारापीबाट तल झरेका छन् ।

लहर पनि भनिने चिसो लाभा खरानी, बालुवा र कङ्कडसहितको ज्वालामुखीय सामग्री हो र यिनीहरू वर्षाले ज्लालामुखीको ढलानमुनि आउँछन् ।अधिकारीहरूले बेपत्ता पीडितहरूको खोजी गर्न र मानिसहरूलाई आश्रयस्थलमा लैजान उद्धारकर्ता र रबर डुङ्गाहरूको टोली पठाएका छन् । स्थानीय सरकारले आगम र तानाह दातारका धेरै क्षेत्रमा निकासी केन्द्र र आपत्कालीन चौकीहरू स्थापना गरेको छ ।  

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले तानाह दातारमा ८४ वटा घर, १६ वटा  पुल र दुई मस्जिद सहित २० हेक्टर धान खेतमा क्षति पुगेको जनाएको छ । इन्डोनेसियामा वर्षाको मौसममा पहिरो र बाढीको जोखिम हुन्छ । सन् २०२२ मा सुमात्रा टापुमा आएको बाढीमा करिब २४ हजार मानिसलाई बाहिर निकालिएको थियो भने दुई बालबालिकाको मृत्यु भएको थियो । वातावरणीय अभियानकर्ताहरूले प्रकोप निम्तिनुमा वन विनाशलाई दोष दिएका छन् ।

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ । ट्रेजरीले आइतबार जारी गरेको प्रक्षेपणअनुसार मुद्रास्फीति दर डिसेम्बरसम्म दुई दशमलव ७५ प्रतिशत र सन् २०२५ को अन्त्यसम्ममा दुई दशमलव पाँच प्रतिशतमा झर्नेछ ।
ट्रेजरीले सरकारलाई सल्लाह दिने र अस्ट्रेलियालीका लागि बलियो र दिगो आर्थिक र वित्तीय परिणामहरू प्राप्त गर्न नीति र कार्यक्रमहरू लागू गर्दछ ।

सन् २०२४–२५ को सङ्घीय बजेटअघि जारी गरिएको आधिकारिक तथ्याङ्कलाई कोषाध्यक्ष जिम चाल्मर्सले मङ्गलबार राति हस्तान्तरण गर्नुहुनेछ ।ट्रेजरी प्रक्षेपणले मुद्रास्फीति दर अस्ट्रेलियाको रिजर्व बैंकको लक्ष्य ब्यान्डमा २–३ प्रतिशतको ब्यान्डमा फिर्ता आउनेछ । यो बैंकले मेको सुरुमा प्रकाशित गरेको दृष्टिकोणमा पूर्वानुमान गरेको थियो ।“मुद्रास्फीति अझै पनि अर्थतन्त्रमा सबैभन्दा ठूलो निकट–अवधि चुनौती हो, त्यसैले सरकारले यसका लागि केही गरिरहेको छ”, चाल्मर्सले आइतबार विज्ञप्तिमा भन्नुभयो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्मको १२ महिनामा मुद्रास्फीति तीन दशमलव छ प्रतिशत रहेको थियो । यो जुन सन् २०२३ को डिसेम्बरको अन्त्यसम्ममा चार दशमलव एक प्रतिशत थियो । ट्रेजरी तथ्याङ्कले आगामी दुई वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई पनि कम गरेको छ । कूल गार्हस्थ्य उत्पादन अब सन् २०२४–२५ आर्थिक वर्षमा दुई प्रतिशत र सन् २०२५–२६ मा दुई दशमलव २५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । यो डिसेम्बरको पूर्वानुमानमा दुई दशमलव २५ र दुई दशमलव पाँच प्रतिशतभन्दा कम हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिनुहुने

सुदूरपश्चिम, ३१ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०ः३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने÷नदिनेमा एमाले अझै टुङ्गोमा पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रदेखि प्रदेश तहसम्मका सरकारको समीकरणको सन्दर्भ छ, मुख्यमन्त्रीले विश्वासको मत लिने तरिकामा भर पर्छ, विश्वासको मत लिनेले समन्वय गर्नपनि जान्नुपर्यो ।”

  यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ ।  यसअघि विश्वासको मत लिने तयारी गर्नुभएका सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गर्नुभएको थियो । नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)को सभामुखबाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

टर्की पठाइदिन्छु भन्दै १२४ जनाबाट ४ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ, ३१ वैशाख : टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै रु चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरि आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भन्नुभयो, “टर्कीको युएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने प्रलोभनमा पारी मीनबहादुर कार्कीलगायत एक सय २४ जना व्यक्तिबाट रु चार करोड ३४ लाख उठाएपश्चात् सम्पर्कविहीन भई फरार रहेको उजुरीका आधारमा पक्राउ गरेका हौँ ।”

आरोपित श्रेष्ठले चुच्चेपाटीस्थित जमघट रेस्टुरेन्टमा पीडितहरुसँग भेटेर सुरुमा रु ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति रु तीन लाख लिएको अनुसन्धानबाट खुलेको  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले बताउनुभयो । उहाँका अनुसार पीडितहरुबाट लिएको रकमले आरोपित श्रेष्ठले चाबहिलमा सालो नाता पर्ने सुजन भुजेलका नाममा  तीन करोड ५० लाखमा घर किनेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट ठगी मुद्दामा अनुसन्धानमा परी श्रेष्ठकी पत्नी सुरुची भुजेल र सालो सुजन भुजेल पुर्पक्षका लागि कारागारमा पठाइसकिएको प्रहरीले जनाएको छ   श्रेष्ठलाई काठमाडौँ महानगरपालिका-७ चावहिलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।

एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ, ३१ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताउनुभएको छ । प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिनुहुँदै हाललाई नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रसहितको सरकार विस्तार गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सनाखत हुन केही दिन लाग्ने तथा नेकपा (एकीकृत समाजवादी) सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा बस्ने भएकाले आगामी दिनमा छलफल गरी सरकारमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

 अहिले प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने उहाँले जानकारी दिनुभयो । उहाँले यस माओवादीसँग समझदारी भएको प्रष्ट पार्नुभयो । विश्वासको मत लिने बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुनु संसदीय अभ्यासको क्रममा चुकेको उहाँको प्रतिक्रिया छ । कांग्रेसले कार्य व्यवस्था समितिको बैठकमा आजको बैठक सार्ने विषयमा कुनै जानकारी नदिएको उहाँले प्रष्ट पार्नुभयो ।मुख्यमन्त्री कार्कीले भन्नुभयो, “एमालेले संविधान, संसदीय अभ्यास, ऐन, नियम कानुनको पालना गरी सरकार निर्माण गरेको छ, सरकार अल्पमतको होइन बहुमतको हुन्छ ।”    उहाँले कुनै पनि सरकारले सदनको  विश्वास  गुमाएपछि   विश्वासको मत लिनु पर्ने, अन्यथा राजीनामा दिई अर्को सरकार निर्माणलाई स्विकार्नुपर्ने बताउनुभयो 

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ३१ वैशाख : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भएगरेका काम कारबाही र गतिविधिका समाचार सन्तुलित रुपमा सम्प्रेषण गर्न सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ । सदन चलाउने, व्यवस्थित गर्ने र नियमित तुल्याउने भूमिका संसदीय समितिकै क्रियाशीलतामा निर्भर रहने बताउनुहुँदै उहाँले कतिपय राष्ट्रिय सराकोरका मुद्दामा बुझने र बुझाउने विषयमा सरकार, सदन, राजनीतिक दल र पत्रकारमा देखिएको खाडल घटाउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

घटना विशेषका आधारमा नभई समग्रमा राष्ट्रियसभा मातहतका समितिका समाचारले केकति स्थान प्राप्त गर्छन् र त्यसमा कस्तो सहयोग पु¥याउनुपर्छ भन्ने भावना सञ्चारजगतले राखिदिन अध्यक्ष दाहालको आग्रह छ ।

सबैको साझा र अपनत्व लिने गरी राष्ट्रियसभा सञ्चालन गर्न प्रयत्न भइरहेको उहाँको भनाइ छ । उहाँले सकारात्मक आलोचनासहित रचनात्मक ढङ्गबाट समाचार सम्प्रेषण गरी सहयोग पु¥याउन सुझाव दिनुभयो । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसहितका पत्रकारसँगको भेटमा उहाँले सदन चले वा नचले पनि समितिका कामलाई प्रभावकारी तुल्याउन राष्ट्रिय महत्वका विषयवस्तुलाई केन्द्रित गरी छलफल गर्न सभापतिलाई निर्देशन दिएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “देश र दुनियाँको ध्यान केन्द्रित हुने गरी समितिमा छलफल चलाउने र राष्ट्रको प्राथमिकताका विधेयक र कानुनलाई समयमै सक्ने दृढ सङ्कल्पकासाथ संसदीय समितिले काम गर्नुपर्छ ।”

विधेयकमाथि हुने राय–परामर्श र सुझाव लिन आमन्त्रण गरिने विषय विज्ञ राजनीतिक दलको कोटाका आधारमा नबोलाउन समितिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विज्ञ बोलाउँदा कुन दलको कति परे भन्ने होइन, खास विषयमा ज्ञान राख्ने र मागेको खुराक दिन सक्ने विज्ञ ल्याए पुग्छ ।”

विश्वासिलो वातावरण सिर्जना गर्दै अपेक्षा, आवश्यकता र सम्भावनाको पाटोमा उत्तिकै ध्यान दिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले नतिजा दिने गरी राष्ट्रियसभालाई अघि बढाउन गृहकार्य र समन्वय गर्न सचिवालयका कर्मचारी तथा समितिका पदाधिकारीलाई सुझाव दिनुभयो ।

अर्थमन्त्री पुनले विकास साझेदारहरूसँग गरे बजेटबारे छलफल

काठमाडौँ, ३१ वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका सम्बन्धमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । आज अर्थ मन्त्रालयमा भएको छलफलमा विश्व बैङ्क, एसियाली विकास बैङ्क (एडिबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायत बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु स्विट्जरल्याण्ड, डेनिश, फिनल्यान्ड, दक्षिण कोरिया, जापान, बेलायत र युरोपियन युनियनका आवासीय राजदूत तथा ती देशसम्बद्ध द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तलगायत विषयमा धारणा राख्नुभएको थियो । अर्थमन्त्री पुनले नेपालको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन तथा निजी क्षेत्रका लागि अनुकूल लगानीयोग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकारले निर्धारण गरेका विकास लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालन मात्र पर्याप्त नभएकाले वैदेशिक लगानी वा सहायतामा जोड दिनुपर्ने अवस्थामा नेपाल रहेको अर्थमन्त्री पुनको भनाइ थियो ।

सरकार विकासका लाभहरु सबै जनतामा पुग्ने गरी समावेशी, समतामूलक र दिगो विकासको पक्षमा रहेको पनि अर्थमन्त्री पुनले उल्लेख गर्नुभयो । “सरकार समावेशी, समतामूलक र दिगो आर्थिक विकासमा केन्द्रित छ । नेपाली जनताको जीवन र जीविकोपार्जनमा परिवर्तन ल्याउन तथा विकासका लाभ सबैले बराबर उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी अघि बढेका छौँ”, उहाँले भन्नुभयो ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील मुलुक (एलडिसी ग्राजुएसन), २०३० सम्ममा दिगो विकास लक्ष्य (एसडिजी), २०३५ सम्ममा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) र नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने उद्देश्यसहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति निर्धारण गरी काम अघि बढाइएको अर्थमन्त्री पुनले बताउनुभयो । ती उद्देश्य हासिल गर्न ठूलो लगानी चाहिने उनले पनि अर्थमन्त्री पुनको भनाई छ । “यी महत्वाकाङ्क्षी विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो लगानी चाहिन्छ । त्यसका लागि सरकारी स्रोत मात्र पर्याप्त नभएका कारण हामी विकास साझेदारहरुसँग यी मुद्दाहरुमा हातेमालो गर्न चाहन्छौँ,” अर्थमन्त्री पुनले भन्नुभयो ।

बागमती प्रदेशसभा बैठकः पूर्वाग्राही नराखी काम गर्न सरकारलाई सुझाव

मकवानपुर, ३१ वैशाख – बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँट गर्न आग्रह गर्नुभयो । उहाँले अब सरकारले केही हप्ताअघि प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवाः (नेपाल) भाषा र तामाङ भाषाको दैनिक प्रयोगको प्रदेशसभाबाट शुभारम्भ हुनुपर्ने सुझाव दिनुहुँदै अब प्रदेशसभाका सदस्यहरुले बोल्नुभएका सुझाव र भनाइलाई ती भाषामार्फत प्रसारण गर्न आग्रह गर्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक मधुसूदन पौडेलले सबै प्रदेशमा सहकारीको समस्या निकै जटिल हुनु पुगेकाले अब सामूहिक रुपमा सर्वसाधारण नागरिकको बचत रकम फिर्ता गर्नेतर्फ सङ्घीय सरकार र प्रदेशले समन्वय गरेर दीर्घकालीन निकास दिनेतर्फ पहल गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रतिपक्षले सरकारलाई र सरकारले प्रतिपक्षलाई आरोप–प्रत्यारोप र टिप्पणी गर्ने प्रवृत्तिलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
नेकपा (माओवादी) केन्द्रका सरल सहयात्री पौडेलले प्रदेश सरकारले सुशासन ल्याउन रोजगारी र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेर बजेटलाई जनमुखी बनाउपर्नेतर्फ केन्द्रित हुनुपर्ने सल्लाह दिनुभयो । उहाँले प्रदेशमा भौतिक विकास, सडक, सिँचाइ, खानेपानी र योजनालाई कार्यान्वयन गर्न सम्बन्धित निकायले व्याहारिकरुपमा कार्यान्वयन गर्न नसकेकामा प्रदेश सरकारले अब आगामी बजेट बनाउने क्रममा ती सबै योजनालाई समीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले राप्रपाले आफ्ना आन्दोलनका क्रममा मृत्यु भएका एक नेतालाई सहिद घोषणा गर्नुपर्ने माग गर्नुभयो । उहाँले प्रदेश सरकारले विगत केही महिना अघिदेखि आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको पद रिक्त हुँदा अहिलेसम्म पनि पदपूर्ति हुन नसक्दा आगामी बजेटको सिलिङ तर्जुमा गर्न निकै कठिनाइ भएकातर्फ सरकारलाई ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले सङ्घीय सरकार र प्रदेश सरकारको मातहतमा रहेका प्रहरी संयन्त्र र निजामती कर्मचारीहरुले आफू इमान्दारीपूर्वक सरकारले दिएको जिम्मेवारी पूरा गर्नेतर्फ ढृढताका साथ अघि नबढेकाप्रति चिन्ता व्यक्त गर्नुभयो । 

उहाँले अहिले राजनीतिक समीकरणमा प्रतिशोधका कारणबाट प्रदेशमा इमान्दारीपूर्वक सरकारले आफ्नो जिम्मेवारीलाई बहन गर्न नसकिएको उल्लेख गर्नुहुँदै मन्त्री पदलाई मात्रै महत्व दिएर प्रदेशमा शान्तिसुरक्षा, मानव अधिकारको संरक्षण र जनतालाई सुशासनतर्फ विश्वास र भरोसा दिनेतर्फ जवाफदेही हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । 

सो अवसरमा नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोरसाईले नेपालमा कम्युनिष्ट पार्टीको सरकार पटक–पटक बनेको भए पनि जनतालाई इमान्दारिपूर्वक सुशासन दिने, स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षालगायत भौतिक पूर्वाधारको विकासलाई दिगो व्यवस्थापन गर्न नसकेकामा जनता निराश भएका छन् भन्नुभयो ।

उहाँले संविधानमा समाजवादको सिद्धान्तलाई व्याख्या गरिएको भए पनि राजनीति दलहरुले जनतालाई उनीहरुको व्यावहारिक जीवनमा समाजवादप्रतिको लक्ष्यलाई उजागर र अहिले ती जनतालाई न्यूनतम स्वास्थ्य उपचार र रोजगारीको अवसर उपलब्ध गराउन प्रदेश सरकारले बजेट, योजना, राष्ट्रिय गौरवको आयोजनालाई अब आत्मसमीक्षा गरेर कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १ बजे अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो । 

ओलम्पिक खेलमा विशेष तयारी गर्न ब्याडमिन्टन खेलाडी दाहाललाई सदस्य सचिव घिसिङको आग्रह

काठमाडौँ, ३१ वैशाख : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विशेष तयारी गर्न आग्रह गर्नुभएको छ । सदस्य-सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रिन्सलाई भेट गरी सो सुझाव दिनुभएको हो ।

उहाँले पेरिस ओलम्पिकमा छनोट भएकोमा बधाइ समेत दिनुभयो । आफूभन्दा वरियतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन सङ्घको ध्यानाकर्षण गराउँदै उक्त प्रतियोगिताको तयारीका लागि राखेपले गर्ने सहयोगमा कुनै कमी नरहने बताउनुभयो ।

   सदस्य-सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षक नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने भन्ने विषयमा  समन्वय गर्न सङ्घलाई निर्देशन दिनुभयो ।  हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रिन्स सहभागी हुँदा होस् वा वैदेशिक प्रशिक्षणमा जाँदा नेपाली प्रशिक्षक सँगै जाने व्यवस्था मिलाउनुपर्नेमा उहाँको जोड छ ।

  प्रिन्सलाई आवश्यक पर्ने खेल सामग्री आजै राखेपले उपलब्ध गारएको छ । प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभयो । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।       भेटका अवसरमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई ‘वाइल्ड कार्ड’ दिलाउन सङ्घले धेरै मिहिनेत गरेको बताउनुभयो । प्रिन्स हाल विश्व वरियतामा एक सय ७९औँ स्थानमा हुनुहुन्छ । जुनियर विश्व वरियतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा छ महिना शीर्ष स्थानमा हुनुहुन्थो । 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा वरिष्ठ उपरीक्षक कार्की

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्की चयन हुनुभएको छ । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

मनसुनमा विपद्जन्य घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ३१ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान् र विपद्जन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज सरदरभन्दा बढी वर्षाको आँकलन गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बस्नेतले पूर्वतयारी जोड दिनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको र यसको क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने बताउनुभयो । विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

मन्त्री बस्नेतले आगामी मनसुनमा विपद्जन्य घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन निर्देशन दिनुभयो । “जलवायु परिवर्तनका कारण मनसुनजन्य घटना बढिरहेको अवस्थामा यसवर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले बाढीपहिरो जस्ता विपद्जन्य घटना बढ्न सक्छ”, उहाँले भन्नुभयो, “यस्ता घटना न्यूनीकरण गर्न सरोकारवालाले समयमा पूर्वतयारी गर्न आवश्यक छ ।”

मन्त्री बस्नेतले विपद्का पूर्वसूचना प्रणाली व्यवस्थित बनाउन प्रतिक्रिया लिने र सो प्रतिक्रियाको आधारमा नीति तथा योजना तर्जुमा गर्न विभागलाई निर्देशन दिनुभएको छ । मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री बस्नेतको भनाई छ ।

“पूर्वसूचना प्रणाली विकासका लागि जनशक्ति अपुग छ, आवश्यक जनशक्ति पूर्ती गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “वित्तीय स्रोतको अभाव अर्को मुख्य चुनौती रहेकाले वित्तीय स्रोत व्यवस्थापनका लागि पहल कदमी आवश्यक छ ।”

मन्त्री बस्नेतका अनुसार जलवायु परिवर्तनका कारण कहिले बढी वर्षा हुने, कहिले कम वर्षा हुने त कहिले खडेरी पर्दा कृषि उत्पादनमा असर पुगिरहेको छ । “मौसमसम्बन्धी सूचना भरपर्दो हुँदा कुन समयमा धान रोप्ने, कुन समयमा बीउ रोप्ने, कुन समयमा धान भित्र्याउने वा कस्तो मनसुनमा कस्ता कृषि बाली लगाउने भन्ने जानकारी कृषकले पाउने छन्”, उहाँले भन्नुभयो, “योसँगै मनसुनजन्य घटनाबाट हुने क्षति न्यूनीकरणका विषयमा व्यापक जनचेतना जगाउन जरुरी छ ।”

सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जानकारी दिइएको छ ।

विभागले अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको बताएको छ । विभागका अनुसार न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेकोे छ । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

संविधान र प्रचलित कानुनअनुसार नयाँ सरकार गठन भएको हो : मुख्यमन्त्री कार्की

विराटनगर, ३१ वैशाख-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र प्रचलित कानुनअनुसार नयाँ सरकार गठन भएको बताउनुभएको छ । आज बसेको प्रदेशसभाको पाँचाँै अधिवेशनको पहिलो बैठकमा उहाँले नेपालको संविधानको धारा, १६८ को उपधारा(४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत सदनमा प्रस्ताव पेस गर्दै सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “सरकारलाई निकै ठूलो अवसर प्राप्त भएको छ । सरकार अब बजेटको सिद्धान्त र प्राथमिकताका लागि तयारी गर्दछ । सरकारले सन्तुलित विकासमा जोड दिन्छ ।”

भ्रष्टाचार न्यूनीकरण गर्न नीतिगत सुधार हुने जानकारी दिनुहुँदै मुख्यमन्त्री कार्कीले सार्वजनिक वित्तको दिगो विकास, आर्थिक विकास र रोजगारी सिर्जनामा केन्द्रित भएर काम गरिने बताउनुभयो । उहाँले आफूलाई विश्वासको मत दिने मतको सम्मान गर्ने, कसैको पनि आशा र भरोसा टुट्न नदिने र प्रदेशस्तरीय संरचनाको दिगो विकासमा सरकार गम्भीर बन्ने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले संसदीय प्रक्रियाको जननी ठात्रे नेपाली कांग्रेस यो प्रक्रियाबाट बाहिर रहनु कसैका लागि पनि सुखद नभएको बताउँदै प्रदेश सरकारको विषयमा सर्वोच्च अदालतमा परेको रिट र हुने फैसलालाई आफू शिरोधार्य गर्ने जानकारी दिनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राजनीतिक स्थिरता, मुलुकको समृद्धि र सुशासनका निम्ति वर्तमान सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले र नेकपा (एकीकृत समाजवादी) दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य कमलप्रसाद जवेगुले अस्थिरता र निराशालाई समाप्त पार्न यो सरकारलाई विश्वासको मत दिने जानकारी दिनुभएको थियो । उहाँहरुले समाजवादको आधार तयार गर्न राजनीतिक स्थिरता हुनुपर्छ भन्नुभयो ।

यही वैशाख २७ गते नियुक्त हुनुभएको मुख्यमन्त्री कार्कीले सोही दिन पद तथा गोपनीयता शपथ लिनुभएको थियो । उहाँलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका तीन र जसपाका एकजना विश्वासको मत प्रदान गर्नुभएको थियो । बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अनुपस्थित हुनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)का पाँचजना प्रदेशसभा सदस्यले तटस्थ रहने मत प्रकट गर्नुभएको थियो । अर्को प्रदेशसभाको अर्काे बैठक आगामी जेठ १३ गते दिउँसो १ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

काठमाडौँ, ३१ वैशाख : इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ‘शिलान्यास’, ‘राष्ट्रनिर्माता’, ‘राजराजेश्वरी’, ‘जङ्गबहादुर’, ‘वृषभ वध’, ‘रणहार’, ‘योगमाया’, ‘दरबार बाहिरकी महारानी’, ‘महारानी’, ‘मोक्षभूमि’, ‘भृकुटी’, ‘क्रूर पृष्ठमा जो थिए’, ‘बहादुर शाह’ आदि उपन्यास, नाटक, काव्यकृतिमा इतिहासका पक्षलाई विषय बनाउनुभयो । कतिपयले सत्रौँ–अठारौँ शताब्दीका र केहीले पञ्चायतकालकै घटनाबारे लेखेर मदन र पद्मश्रीलगायत पुरस्कार पनि प्राप्त गर्नुभयो ।

पात्रमार्फत इतिहासका लुकेका पाटाबारे जानकारी दिने र मनोरञ्जन पनि गराउने उद्देश्यले लेखिएका त्यस्ता कृतिमा वास्तविकता एवं सत्यताबारेको जोखिम भने कायमै रहन्छ । कथालाई रोचक बनाउन बिचबिचमा घुसाइने प्रसङ्ग, संवाद र वाक्यहरू मसला मात्र हुन् भन्ने सत्य जान्दा जान्दै पनि उपन्यासकारले घटनालाई तन्काइरहन्छन्, पाठक त्यसैमा रमाइलो मान्दै जान्छन् र आफू ऐतिहासिक घटनाको नजिक पुगेको ठान्छन् ।

कतिपय कृतिमा पात्रहरूका समय र घटनाको सत्यतामा आनका तान फरक परे पनि त्यसलाई कथा वा उपन्यास वा नाटक आदि भनिदिनाका साथै लेखकको कल्पनाशीलता भनिदिए पुग्छ । तैपनि ऐतिहासिक घटना र त्यसका पात्रहरूलाई प्रस्तुत गर्न लेखकहरू जोखिम मोल्नमै लालायित भइरहन्छन् । इतिहास लेख्दा तथ्यतथ्याङ्कको नजिक पुग्न निकै मेहनत पर्ने र कतिपय प्रसङ्गमा सत्यता नभेटिने भयले पनि उहाँहरू आख्यान वा साहित्य लेखनमा लाग्नुभएको हुन सक्छ ।

साङ्ग्रिला मिडिया ग्रुप प्रालिद्वारा २०८० पुसमा प्रकाशित साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ उपन्यास नेपालको त्यस्तै ऐतिहासिक ‘झापा विद्रोह’ (२०२८–०३२) मा आधारित छ । सोही वर्ष माघ १० गते काठमाडौँमा विमोचन भएर बजारमा आई चर्चापरिचर्चा हुन थालेको छ । ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ शीर्षकमा गत वर्ष नै भदौमा सार्वजनिक भएको निरोज कट्टेलको अनुसन्धानमूलक कृतिले पनि भट्टराईकै जस्तो कथा भन्छ तर इतिहासका वर्णनका रूपमा । आख्यानका रूपमा आएको भट्टराईको समीक्ष्य कृतिलाई भने कतिसम्म पत्याउने भन्ने प्रश्न चाहिँ बाँकी नै रहन्छ ।

लेखक विद्रोहसँग सम्बन्धित पात्रहरू कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गरिएकाले इतिहासको समूल सत्य स्वरूप खुल्न नसकेको तथ्यसँग विश्वस्त भएपछि नै अनुसन्धानात्मक समीक्ष्य कृति लेख्न आफू उद्यत भएको स्पष्ट गर्नुहुन्छ । आठ वर्षअघि अध्ययन सुरु गरी चार वर्ष लेखन, पुनर्लेखन, सम्पादन र प्रकाशनमा लागेको यस उपन्यासका ‘सबै तथ्य पात्रहरूसँग गरिएका आधिकारिक संवाद’ भएकाले ‘कृतिमा उल्लिखित विषय र सन्दर्भमा जिज्ञासा रहे उहाँहरूसँग हरेक पाठकले सम्पर्क गर्न सक्ने’ वा रुजु गर्न सक्ने चुनौती पनि लेखकले दिनुभएको छ । झापाका पत्रकार भट्टराईका यसअघि ‘नसमेटिएका पाइलाहरू’ र ‘बकाइनो’ कथासङ्ग्रह तथा ‘मेरो’ कवितासङ्ग्रह र ‘कृष्ण’ सूत्रकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।

उपन्यासकार “सम्पूर्ण सत्य केही हुँदैन” भन्नेमा विश्वस्त भएपछि घटनाको यथार्थ खोज्नपट्टि तथा लेखनमा लाग्नुभयो । ‘इतिहासको वास्तविकता खोज्ने र हेर्ने प्रयासमा तयार’ भएको अनुसन्धानमूलक उपन्यासमा २०२८ सालदेखि सुरु भएको विद्रोहको पृष्ठभूमि, विकास र त्यस क्रममा विद्रोहीबाट आठ, सरकार पक्षबाट ६ र नागरिकको अगुवाइमा भएको एक जनाको हत्यासँग सम्बन्धित घटनाको नालीबेली वक्ताहरूका मुखबाट व्यक्त गराइएको छ । गाउँका हुनेखाने वर्गका धर्मप्रसाद ढकाल र उहाँका छोरा ज्ञानी एक्सनका नाममा मारिएपछि सरकारबाट पक्राउ परेकामध्ये पाँच जना झापा र इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा २०२९ फागुन २१ गते मारिएकाले घटनाले झनै उग्र रूप लिएको र त्यसैबाट कोअर्डिनेसन केन्द्र हुँदै हालका नेकपा (माले), एमाले, एकीकृत समाजवादी जन्मेका हुन् । यसैले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्दा २८ साल र त्यसपछिका घटना बिर्सनै सकिन्न ।

नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनको विकास हुँदै गणतन्त्र प्राप्तिसम्मको उपलब्धिमा सो अभियानको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । राजाको सत्र सालको कदमपछि छिन्नभिन्न वामपन्थी समूहलाई त्यस घटनाले नयाँ तागत भने दिएको थियो । उग्रता, युवा जोस, क्रान्तिकारी दुस्साहस जे भए पनि सो कार्यको सकारात्मक–नकारात्मक दुवै पक्षबाट मूल्याङ्कन हुँदैआएको छ । रोचक कुरा त, भारत, पश्चिम बङ्गाल, नक्सलबाडीमा चारु मजुमदारका अगुवाइमा ‘नक्सलाइट’बाट भएको ‘वर्गशत्रु खत्तम’ को सिको गरेर केही किलोमिटर दूरीमा रहेको झापामा चलाइएको अभियानमा राजनीतिक र लडाकु दुवै पक्षको संलग्नता थियो र नक्सलबाडीका केही युवा पनि सहभागी थिए । सुखानीमा मारिएका क्रान्तिकारी कम्युनिष्टका नाममा ‘सुखानी सहिद स्मृति प्रतिष्ठान’ नै बन्यो भने विद्रोहमा सामेल हुनुभएकालाई केपी शर्मा ओली सरकारका पालामा २०७२ सालमा राष्ट्रिय सहिद पनि घोषित गरियो । जहाँ सुखानीका सहिदको प्रतिमा बनेको छ, त्यसको करिब तीन सय मिटर पूर्वमा विद्रोहीबाट मारिएका बुटन चौधरीलाई पनि सहिद नै मानेर सालिक स्थापना गरिएको घटना रोचक छ । मर्ने, मार्ने दुवै सहिद र दुवैका सालिक सार्वजनिक स्थानमा सँगसँगै हुनाले इतिहासको पुनःमूल्याङ्कन भएको मान्न सकिन्छ ।

मारिनुपर्ने भनिएका सामन्त र शोषक तथा नमारिनुपर्ने निर्दाेष दुवैथरी मारिएको सुनिएको सो घटना आन्दोलन थियो कि पूर्वाग्रह भन्ने ठोस प्रमाण नभएकाले नै त्यसको पूर्तिका लागि पुस्तक लेख्नुभएका भट्टराईले इतिहास नै त लेख्नुभएन, बरु त्यसलाई स्पर्श गर्ने उपन्यास लेख्नुभयो । नयाँ उपन्यास लेख्नलाई उहाँलाई ‘धनबहादुर र म’ र महाभारतकालीन पात्र ‘अश्वत्थामा’लाई लिएर लेख्दाको पहिलेकै अभ्यास छँदै थियो । पहिलो प्रयोगवादी उपन्यासमा उहाँले सामान्य भनिएका मानिसका भोगाइलाई विषय बनाउनुभएको छ भने दोस्रो सबैले भन्दै आएका असत्य पक्षका दुर्याेधन एवं कौरवपक्ष सत्य भएको नयाँ कथ्य दिनुभएको छ ।

विद्रोह थालनीको ५० वर्ष पारेर स्वर्ण वर्ष समारोह आयोजना गराई त्यहाँ विद्रोहमा संलग्न व्यक्तिलाई वक्ताका रूपमा बोल्न लगाएर तिनका टिपोट सारेको जस्तो गरेर लेखकले पहिले नै तिनै वक्ता भनिएकासँग गरेको कुराकानीको प्रस्तुति नै प्रस्तुत उपन्यासको रूप हो । विद्रोहमा संलग्न ठुलो र सानो दुर्गा अधिकारी, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी (खड्गप्रसाद) शर्मा ओली, सिपी (चन्द्रप्रकाश) मैनाली, नरेश खरेल, लीला उदासी, नारद भारद्वाज र उहाँका दाजु खडानन्द वाग्ले, भीष्म धिमाल, गौरा प्रसाइँ, (आन्दोलनमा महिलामा खासगरी गौरा, सीता खड्का र …लागेका रहेछन् ।), मनकुमार गौतम, अमर कार्की, मानकुमार तामाङ, मारिने धर्मप्रसादका जेठा छोरा खगेन्द्र, घनेन्द्र बस्नेत, खड्गप्रसाद दहाल, दधिराम उप्रेती, तिलविक्रम ढकाल, रामनारायण चौधरी, नारायणप्रसाद तिवारी, हर्कबहादुर खड्का, युवराज विमली, केशवकुमार बुढाथोकी, भारत, नक्सलवाडीका निमुसिं अर्थात् राजन राजवंशी, मङ्गल मर्डी, लेखनाथ भट्टराई, कृष्ण बराललगायत ३० जनाभन्दा बढी व्यक्तिसँग भेटी औपन्यासिक रूप दिनु चानचुने कुरा होइन । मुख्य वक्ताका भनाइलाई सच्याउने तथा थपथाप गर्ने क्रममा केही वक्ता पनि नाटकीय पाराले थपिएका छन् जसले पाठकलाई कुनै वक्ताको पट््यारलाग्दो कथन पढ्दा पढ्दा झिँजो लाग्नबाट बचाउँछ । वक्तामध्ये धेरैले हिजोको त्यो भूमिगत आन्दोलनमा संलग्न भई पार्टी बनाउने र बचाउनेहरूको मूल्याङ्कन नभएको तथा तिनको वर्तमान र भविष्य अन्धकार बनेको, दलभित्र अवसरवादी र पुँजीवादीले निर्बाध प्रवेश पाएको, कोही विद्रोहीले त मन्दिर बनाएर आफू पुजारीसमेत बनेको अनौठो र अपत्यारिलो घटना पनि सुनाएका छन् । गोरु व्यापारी ज्ञानबहादुर कार्कीका हत्यामा संलग्न ठुलो दुर्गा अधिकारीले त यतिसम्म भने, “ यतिखेर लाग्छ–विद्रोह त कसैको पद, प्रतिष्ठा र बेपारका लागि भुइँमान्छे प्रयोग भएर लडिदिने युद्ध त रहेछ ।”

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको भनाइ चाहिँ “राजनीतिमा जनता मार्न सत्तापक्षले हतियार प्रयोग गर्छ भने त्यसको प्रतिवादमा हतियार जायज हुन्छ । तर, शान्तिपूर्ण अवस्थामा अनावश्यक हतियार प्रयोग जायज ठहर्दैन भन्ने हाम्रो त्यतिखेरको तर्क हो” भन्ने छ जुन कुरा माओवादी आन्दोलनसँग विमति राख्ने उहाँका अचेलका बेला बेलाका भनाइसँग मेल खान्छन् । तैपनि व्यक्तिहत्यामा नेतृत्वले प्रश्रय दिएको कुरा लेखकले केही नामै किटेर लेखिदिनाले उहाँहरूलाई अप्ठेरो पर्न सक्छ ।

लेखकले विद्रोहका क्रममा पक्राउ परेकाहरू राखिएको ललितपुरस्थित नख्खु कारागारभित्र आठ–दस फिट गहिरो र ६५ फिट लामो सुरुङ खन्दा निस्केको माटो कहाँ कसरी व्यवस्थापन गरियो त भन्ने प्रश्न गर्दै यसमा सुरक्षाकर्मीले थाहै नपाएको कुरामा विश्वास गर्नुहन्न र सरकारले नै बन्दीलाई भाग्न मद्दत गरेको स्वतन्त्र विश्लेषक कृष्ण बरालमार्फत भन्न लगाउनुभएको छ । सबै वक्ताका भनाइ प्रस्तुत भइसकेपछि त्यसको विश्लेषणका लागि जिम्मा दिइएका साहित्यकार तथा पत्रकार बराल घटनामा पञ्चायती सरकार सहयोगी थियो भन्ने कताकति देखाउन खोज्नुभएको छ । यो चाहिँ विवादकै कुरा हो किनकि तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई भने जेलरले विद्रोहीहरुले खरायो पालेको र तिनले नै खनेको हुन सक्ने भनी आफूहरू चुप लागेको स्पष्टीकरण दिएको कुरा उहाँको हालै प्रकाशित कृति ‘सूर्यास्त विम्ब (आत्मकथा)’ मा पढ्न पाइन्छ ।

नेपालको वामपन्थी एवं प्रजातान्त्रिक आन्दोलनको मार्ग नै मोडिदिने उक्त घटनाका प्रत्यक्ष साक्षी तथा सहभागीबाट नै सो अभियानको समग्र इतिहास लेखिनुपथ्र्याे ।  सोका अभावमा पत्रकार–साहित्यकार भट्टराईले जोखिम मोलेर त्यसलाई उजागर गर्ने जोखिम लिनु चानचुने कुरा होइन । हिंसालाई परिवर्तनको माध्यम ठानेको र उग्रवादलाई अपनाएको झापाली समूह पछि मनमोहन अधिकारीले नेतृत्व गरेको समूह (दल)सँग एकीकृत भएपछि शान्तिपूर्ण मार्गमा आएपछि झनै उपलब्धि हासिल भएको कुराको नालीबेली २८ सालका आन्दोलनकारीबाट राम्रोसँग आएको भए २०५२–२०६२ को सशस्त्र द्वन्द्वको घटना नै हुँदैनथ्यो कि ? वक्ता प्रायः सबैले व्यक्ति हत्या गलत थियो भनी स्विकार्नुले आगामी दिन अहिंसा र शान्तिमार्गबाट नै नेपाल हिँड्नुपर्ने सन्देश पनि दिन्छ । अनि वर्तमान गणतन्त्रको बीउ रोपाइँ र उपलब्धिमा भने दुवै घटनाको ठूलो भूमिका थियो भने चाहिँ ठोकुवा गर्न सकिन्छ । सो घटनाका पात्रमध्ये केहीले राजकीय पदहरू पाएको र अथाह सम्पत्तिको मालिक बनेको तर कसैको टाउको लुकाउने एक धुर जमिन पनि नभएको कुरा कोट्याएर लेखकले निरीह कार्यकर्तालाई नेतृत्वले ध्यान दिओस् भन्नेतर्फ पनि ध्यानाकर्षण गराउनु सकारात्मक पक्ष हो । 

कृतिमा एकै प्रकारका घटनालाई पनि विभिन्न वक्तामार्फत दोहो¥याइ–तेहे¥याइ प्रस्तुत गरिएकाले कृति अनावश्यक रूपले ४४० पृष्ठको मोटो हुन पुगेको छ । हुन त वक्ताको भनाइमा राखिए पनि आफ्नो थर नलेख्ने पुष्पलालका नाममा श्रेष्ठ पनि राखिएको, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको जन्म २०३५ सालतिर भएकामा एक वक्ताले २८ सालमा देखाएको, एक ठाउँमा सुखानी काण्ड फागुन ११ गते परेको, लडाकु समूह ‘स्क्वाड’ हुनुपर्नेमा ‘स्क्वार्ड’ भएको तथा रामनाथको थर प्रायः दाहाल लेखिने भए पनि दहाल, हताहत हुनुपर्नेमा हताहती, कतै अश्वत्थामा हुनुपर्नेमा अवश्वत्थामा, वृत्तिविकास हुनुपर्नेमा वृद्धिविकास, गर्त हुनुपर्नेमा गर्व लेखिएको, राजन राजवंशीको भनाइ उहाँले बोल्ने लवजमा नआएको जस्ता केही कमजोरी लेखनमा देखिएको छ ।

कृति पढ्दा औपन्यासिक अंश कम र घटना विवरण बढी भएको भान पनि पाठकलाई पर्छ । घटनाका साक्षी तथा सहभागी त्यतिका वक्ताले विद्रोहका बारे बेलिबिस्तार लगाइसकेपछि लेखकले पाठकलाई नै त्यसप्रति हेर्ने दृष्टिकोण आफैँ तय गर्न छाडेको भए हुन्थ्यो । राजनीतिमा रुचि राख्ने अझ वामपन्थीले त आफ्नो इतिहासको ज्ञान बढाउन पनि निकै तथ्यतथ्याङ्क मिसिएको प्रस्तुत उपन्यास पढ्नैपर्नै हुुन्छ र नेपालको समग्र तथा वाम–प्रजातान्त्रिक आन्दोलनको इतिहासको सच्चाइलाई मर्न नदिन बहस चलाइराख्नुपर्छ ।

बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष : विकास र समृद्धिलाई प्राथमिकता

काठमाडौँ, ३१ वैशाख : नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि वढ्नुपर्नेमा जोड दिएको छ ।

भेलाबाट पारित १६बुँदे समसामयिक प्रस्तावमा सरकारलाई राजनीतिक शुद्धीकरण, पारदर्शिता, जवाफदेहितासहितको समाजवादको आधार निर्माण गर्ने दिशामा प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरेको हो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट यही वैशाख २९ गते उद्घाटन र वैशाख ३० गते एमालेका वरिठ उपाध्यक्ष ईश्वर पोखरेलबाट समापन भएको उक्त भेलाले लघुवित्त र मिटरब्याजीको समस्यासँगै पछिल्लो समयमा सहकारी समस्या विकराल बन्दै गएकाले दलीय स्वार्थबाट माथि उठेर व्यक्तिकेन्द्रित नभई समग्र समस्याको समाधान हुने गरी छानबिन गर्न माग गरेको छ ।

परिषद्का उपमहासचिव सुशील विकेका अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने महत्वपूर्ण विधेयक छिटो पारित गर्न, गणतन्त्रात्मक व्यवस्था विरोधी गतिविधिप्रति सचेत हुन र बैंकिङ तथा वित्तीय क्षेत्रको सङ्कट समाधान गर्न ध्यान दिन पनि आग्रह गरेको छ ।

मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : वरिष्ठ उपाध्यक्ष खाँन

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहनुभएका खाँनले पार्टी सुदृढीकरण गर्दै देशलाई नयाँ निकास दिने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममार्फत नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको आगामी मार्गको शङ्खघोष गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नौलो गणतन्त्र भनेको संविधान र व्यवस्थाभित्र अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई समयमै सुधार गर्दै लैजानु हो ।”

वरिष्ठ उपाध्यक्ष खाँनले संविधानमा आर्थिक नीतिमा समाजवाद लेखिएको उल्लेख गर्दै त्यो प्रावधानले सबै कलकारखानादेखि उद्योगधन्दा राज्यले नै सञ्चालन गर्ने, नियन्त्रण र स्वामित्व ग्रहण गर्ने भन्ने बुझाउने उल्लेख गर्नुभयो ।

“समाजवाद धेरै व्यापक विषय हो । नेपालमा हालसम्म पुँजीवादको अवस्था आएको र पुँजीवादी क्रान्ति भएकै छैन । त्यो नभई समाजवाद कसरी सम्भव छ”, उहाँले भन्नुभयो । हाल अभ्यासमा रहेको समाजावादसम्बन्धी आर्थिक नीति परिवर्तन गरी सामाजिक–लोकतान्त्रिक अवधारणा ल्याउन आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष खाँनले बताउनुभयो ।

अमेरिका र युरोपका केही मुलुकले आत्मसात् गरेको समाजवाद र पुँजीवाद मिश्रित अर्थव्यवस्था नेपालका लागि उपयुक्त हुनसक्ने उल्लेख गर्दै उहाँले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न त्यो बाटोबाट जान सकिने तर्क गर्नुभयो । रासससँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष खाँनले सामाजिक लोकतान्त्रिक अर्थ नीति आत्मसात् गरिएको खण्डमा वैदेशिक लगानी बढ्ने दाबी गर्नुभयो ।

मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको राजनीतिक अस्थिरताको अन्त्य गर्न प्रधानमन्त्रीसहित देशका सबै महत्वपूर्ण पदमा रहने व्यक्तिको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । आर्थिक समृद्धि हासिल नहुँदा संसद् सञ्चालनदेखि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अवरोध झेल्न परिरहेको जिकिर गर्दै वरिष्ठ उपाध्यक्ष खाँनले आफ्नो पार्टीले सार्वजनिक गर्ने नीति र सिद्धान्तलाई स्थानीय तहसम्म बहस र छलफलका लागि लैजाने जानकारी दिनुभयो ।

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती, ३१ वैशाख : बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ । प्रदेशसभाको हिउँदो अधिवेशन गत वैशाख १२ गते राति १२ बजेदेखि प्रदेश प्रमुख शर्माले अन्त्य गर्नुभएको थियो ।

विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

टीकापुर (कैलाली), ३१ वैशाख – रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । लालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । विगतका तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेको बताउँछन् ।

तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउनुहुन्छ । “बाली बिरुवामा विनाशकारी प्राणीमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग लगाउने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरस, आदि पर्दछन्”, उहाँ भन्नुहुन्छ, “विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो । आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गर्दछौँ ।”

वडा नम्बर ४ खैरानाकी रेश्मीदेवी चौधरीले पनि आफ्नो बारीमा रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्नुहुन्छ । “रासायनिक विषादीले गर्ने असरबारे जानकार थिएनौँ, जसले गर्दा जथाभावी प्रयोग गरिरहेका थियौँ”, रेश्मीदेवीले भन्नुभयो, “आजभोलि विषादी प्रयोगमा हामी सचेत भएका छौँ । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरु मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थाल्यौँ ।”

किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले गर्दा पनि बारीमा लगाएको बाली बचाउन सकिने किसान बताउँछन् । “जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर पनि कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ”, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भन्नुभयो, “जैविक विषादी प्रयोग गर्नु भनेको मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।”

जैविक विषादी खर्चका हिसाबले पनि सुरक्षा हुने, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ । “यसका साथै मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु”, उहाँले भन्नुभयो, “तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, जसले मानिसको स्वास्थ्य सङ्कटमा छ ।”

सहजपुरका किसान डबलबहादुर खडायत पनि विसं २०५८ देखि तरकारी तथा फलफूल खेती गरिरहनुभएको छ । उहाँले पनि पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा बजारबाट रासायनिक विषादी किनेर ल्याई प्रयोग गर्नुहुन्थ्यो । तर अहिले उहाँले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्नुहुन्न । “घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु”, उहाँ भन्नुहुन्छ, “गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउन समेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।”

कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने पालिकाले जनाएको छ । चुरे गाउँपालिका कृषि शाखा प्रमुख दीपक पाण्डे रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको बताउनुहुन्छ । “पालिकाले रासायनीक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ”, उहाँ भन्नुहुन्छ, “जैविक विषादी शत्रुजीवलाई मार्नका निम्ति प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।”

पाण्डेका अनुसार जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रुजीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छन् । कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्नुका साथै विषादीबाट स्वास्थ्यमा हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सचेत हुनुपर्छ ।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर, ३१ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।

सभापति खतिवडाद्वारा आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग

काठमाडौँ, ३१ वैशाख – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

स्थानीय सामुदायिक वनमा लागेको डँढेले अनियन्त्रित भई बहुनडाँडाको खरबारीमा सल्केपछि काटेर राखेको खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षका छोरा कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध रु एक लाख सहयोग प्रदान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

महिलाको आर्थिक स्तर उकास्ने लक्षित कार्यक्रम ल्याऊँ : मन्त्री चौधरी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आईतबार ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरसमेन्ट थु्र डिजिटाइजेशन’ कार्यक्रम सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने कुरामा जोड दिनुभएको हो । पैतृक सम्पत्तिमा महिला र पुरुषको समान हक हुने संविधानमा लेखिए पनि व्यावहारिक पक्ष कमजोर रहेको उहाँले बताउनुभयो । “महिलामा सम्पत्ति माथिको अधिकार विस्तारै बढ्ने क्रममा छ, तर पर्याप्त भएको छैन”, उहाँले भन्नुभयो, “तथ्याङ्क हेर्ने हो भने, नौ प्रतिशतबाट विस्तारै बढ्ने क्रममा छ ।”

राष्ट्रिय जनगणनाअनुसार २४ प्रतिशत महिलाको सम्पत्तिमा अधिकार देखिन्छ । अब विस्तारै २६ दशमलव चार प्रतिशत पुग्न लागेको अनुमान रहेको मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले महिलाको आर्थिक उन्नतिले राज्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

बढुवा भएका चार प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्‍ह प्रदान

काठमाडौँ- नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा हुनुभएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आईतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताउनुभयो । पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

थाई प्रहरीद्वारा एक टन क्रिस्टल मेट बरामद

थाई अधिकारीहरूले मुलुकमा अहिलेसम्मको सबैभन्दा ठूलो अवैध लागुऔषध बरामदमा एक टन क्रिस्टर मेथामफेटामाइन फेला पारेको प्रहरीले आइतबार बताएको छ । अन्तर्राष्ट्रिय बजारमा दुई करोड ५० लाख डलरभन्दा धेरैको अनुमानित मूल्यको उक्त सामान अधिकारीहरूले शुक्रबार मध्य नाखोन नायोक प्रान्तमा एउटा पिकअप ट्रकलाई रोक्दा फेला पारेका थिए ।

कार्यवाहक राष्ट्रिय प्रहरी प्रमुख किथारथ पुनपेचका अनुसार प्रहरी, सेना र स्थानीय अधिकारीले धेरै तस्करी गिरोहको निगरानी गरिरहेको र ठूलो मात्रामा लागुऔषध स्थानान्तरण गर्ने योजना थाहा पाएका थिए । उक्त लागुऔषधलाई सामान्यतया सडक नाम ‘आइस’ भनिन्छ ।

ट्रकमा लागुऔषधको ४० वटा ब्याग पाइएको र तिनीहरूको तौल कूल एक टन रहेको किथारथले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ट्रक चालकलाई पक्राउ गरिएको छ तर अनुसन्धानकर्ताहरूका अनुसार तस्करीको नेटवर्कका प्रमुख छिमेकी मुलुकमा बस्ने थाई नागरिक हुन् ।

उत्तरी थाइल्यान्ड, लाओस र म्यान्मा जोडिएको कथित ‘गोल्डेन ट्र्याङ्गल’ क्षेत्रमा उत्पादित अवैध लागुऔषधका लागि उक्त प्रान्त प्रमुख ट्रान्जिट मार्ग हो । म्यान्मा एम्फाटामाइनको प्रमुख स्रोत हो । यसको अधिकांश उत्पादन जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले नियन्त्रण गरेको सीमावर्ती क्षेत्रहरूमा अवैध प्रयोगशालाहरूमा गरिन्छ ।

चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

मुग्लिन (चितवन),- चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । उहाँका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । 

  रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गर्नुभएको हो । 

सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताउनुभयो । प्रतिघर निर्माण गर्न रु सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो । भिलेजले प्रतिघर रु सात लाख र वडा कार्यालयले प्रतिघर रु ५० हजार लगानी गरेका छन् । 

  सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण सुरु गरेको भन्दै अहिलेसम्म ५२ वटा घर निर्माण गरिसकेको बताउनुभयो । सीमान्तकृत मुसहर समुदायका २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उहाँको भनाइ छ । 

  अध्यक्ष गिरिका अनुसार कालिका नगरपालिकाको सिद्धिमा चेपाङ समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन शिक्षा, स्वास्थ्य र आयआर्जनका कार्यक्रम प्रभावकारी भएपछि सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको विकासका लागि काम गरिरहेको छ । 

स्थानीय स्रोत साधनको परिचालन गरी चेपाङ समुदायलाई जीविकोपार्जनको आधार तयार गर्ने, विद्यालय खाजा कार्यक्रम, विद्यालयको भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती तथा तरकारी खेतीका लागि काम भइरहेको सपना भिलेजका अध्यक्ष गिरीले बताउनुभयो । इच्छाकामना वडा नम्बर १ स्थित  राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको विद्यालयको पक्की भवन निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।