`

नेतृत्वको अप्रजातान्त्रिक शैलीका कारण पार्टी विभाजन गर्नुपर्योे: अध्यक्ष राई

काठमाडौँ, २७ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अध्यक्ष उपेन्द्र यादवको अप्रजातान्त्रिक र स्वच्छाचारी चरित्रका कारण पार्टी विभाजन गर्नुपरेको बताउनुभएको छ ।

पार्टी विभाजन र नयाँ दल गठनका सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अध्यक्ष यादवबाट हुँदैआएको अपारदर्शी निर्णय र कार्यकर्ताबीच गर्ने विभेद्कारी शैलीले पार्टी विभाजनका लागि मलजल गरेको स्पष्ट गर्नुभयो । अध्यक्ष राईले भन्नुभयो,“पार्टीको सङ्गठनात्मक सिद्धान्तअनुरूप आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने र प्रदेशलाई आफ्नो अधिकार प्रयोग गर्न नदिनेतर्फ पार्टी नेतृत्व उद्दत हुनेजस्ता कारणले पार्टीमा गम्भीर वैचारिक र सैद्धान्तिक मतभेद् रह्यो । त्यसैकारण एकैठाउँमा रहन सकिएन ।” उहाँले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुनेगरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्ने तथा सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने गरे पनि व्यवहारमा जिल्ला र पालिकालाई हस्तक्षेप गर्ने प्रवृत्तिले सङ्गठनात्मक समस्यासमेत देखिएको बताउनुभयो ।

पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले तत्कालीन अध्यक्षले पार्टीका वरिष्ठ नेता नभएका बेला आफू अनुकूल निर्णयगरी विदेश भ्रमणमा निस्कनु तथा पार्टीको आधिकारिक निर्णयविपरीत मौखिकरूपमा कार्य जिम्मेवारी हेरफेर गर्ने कार्य गरेको आरोप लगाउनुभयो । “सरकारमा रहेका सम्बन्धित मन्त्रीलाई जानकारी नगराई मन्त्रालयका उच्च पदस्थ कमचारीलाई दबाबमूलक र आफू अनुकूल काम गर्न निर्देशन दिने कार्यशैलीले पनि दल विभाजन गर्न बाध्य बनाएको हो”, उहाँले भन्नुभयो । सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्वको आधारमा पार्टीको मागदर्शक सिद्धान्त सङ्घीय समाजवाद र सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक विकेन्द्रीकरण हुने र सोहीअनुसार पार्टी सञ्चालन गरिने महासचिव राईले बताउनुभयो ।

नव गठित पार्टीले अब जनहितका पक्षमा सडक, सदन र सरकारका मोर्चाबाट एकैपटक खबरदारी र सशक्त भूमिका निर्वाह गर्ने सो पार्टीका नेताहरूको भनाइ छ । यस्तै देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्न संवैधानिक र कानूनी व्यवस्थासमेत समयानुकूल सशोधन र परिवर्तन गर्दै जनताप्रति जिम्मेवार सामाजिक र उत्तरदायित्व बोकेको दलका रूपमा नयाँ दलले काम गर्ने त्यस अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा पार्टी नेता राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, रेणु यादव, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, रञ्जु झालगायत उपस्थित हुनुहुन्थ्यो ।

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट

काठमाडौँ, २७ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरु बीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा लोकतन्त्र, विषयमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्न्”, उहाँले भन्नुभयो, “उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रहरुमा थप सहकार्य गर्नु आजको आवश्यकता हो । ”

सो अवसरमा नेपालका लागि नर्वेका राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनुभयो । उहाँले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरुलाई नेपाल भित्र्याउने आफू  प्रयासरत रहेको बताउनुभयो ।  

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले हात्तीसुरे, शिखरपुर र अम्बासे मकवानपुर सडकखण्ड स्तरोन्नति गर्न ९६ रुख कटान गर्ने र मकवानपुरमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थान्तरण गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बागमती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने तथा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी, कार्य विरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । बैठकले खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् । पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोहसम्ममा चार सय ५० भन्दा बढी सहर हुँदै करिब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा सुरु गर्नेछन् ।

सन् १९९० को दशकमा मार्सेली टिमबाट खेल्ने पूर्वफुटबल खेलाडी बेसिल बोलीले बिहीबारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट सुरुआत गर्नेछन् । 

बास्केटबल खेलाडी टोनी पार्करले बिहीबारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरबारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन–ताराङ्कित सेफ र एक हास्य अभिनेतालाई पनि छनोट गरिएको छ ।

मार्सेलीका उत्साही फुटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले सहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्फत दिनभर दौडने तालिका छ । सहरले बुधबार ओलम्पिक ज्वालाको आगमनको खुशीयाली धुमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताउनुभयो ।

“यो अविश्वसनीय र जादुमय छ, हामीलाई यसको आवश्यकता थियो, हामीसँग मार्सेलीमा यस्तो प्रकारको घटना वा सुन्दर चिजहरू कहिल्यै हुँदैनन्”, मार्सेलीका बासिन्दा अमेल सेकोले भन्नुभयो । “यो यस्तो चिज हो जुन तपाईंले आफ्नो जीवनमा कम्तीमा एक पटक अनुभव गर्नुपर्छ… हामीसँग सूर्य र ओलम्पिक ज्वाला छ”, मार्सेलीका अर्का बासिन्दा मौना बौल्हासले भन्नुभयो । खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फुटबल खेल आयोजना हुनेछन् ।

लाहोर एयरपोर्टमा आगलागी भई अराजकता फैलिँदा उडानमा ढिलाइ

पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता फैलिँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएको आज न्यूजले जनाएको छ । आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई कुनै हानि नभएको जनाइएको छ । यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न आवश्यक थियो ।

आज न्यूजद्वारा प्रसारित तस्बिरहरूले धुवाँ निस्कँदै गरपछि कोलाहलपूर्ण दृश्यको तस्विर चित्रण गरेको थियो । आगलागीको कारण निर्धारण गर्न एउटा विशेष टोली परिचालन गरिएको छ । विमानस्थलका अधिकारीहरूले अध्यागमन काउन्टरमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । 

पहिलो हज प्रस्थान र अन्य पाँचवटा अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ भएको कारण घटनाको प्रभाव उडान तालिकामा परेको थियो । आप्रवासन प्रक्रियाको चिन्ताका बाबजुद अन्तर्राष्ट्रिय उडानहरू कुनै मार्ग परिवर्तनबिना लाहोर विमानस्थलतर्फ रुट गरिएको छ । 

नागरिक उड्डयन प्राधिकरण ९सिएए० ले सर्ट सर्किटबाट उत्पन्न स्थिति नियन्त्रणमा लिएर घरेलु प्रस्थान लाउन्जबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको जनतालाई आश्वासन दिएको छ ।हाल, हज र अन्तर्राष्ट्रिय उडानहरू घरेलु सुविधाहरूमार्फत समायोजित भइरहेका छन् । चाँडै नियमित घरेलु उडान सञ्चालनहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ । प्रवक्ताले घटनापछि न्यूनतम अवरोध सुनिश्चित गर्दै उडानहरू आइपुग्नका लागि निर्बाध आप्रवासन प्रक्रियाहरूलाई प्राथमिकता दिन जोड दिनुभयो ।  

संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने : मन्त्री शर्मा

काठमाडौँ, २७ वैशाखः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।आज यहाँ आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताउनुभयो । यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाइ थियो ।

जनयुद्धको समयमा मादलको भूमिका र महत्व स्मरण गर्दैमन्त्री शर्माले सो अवसरमा प्रतियोगितामा मादल बजाउने महिला सहभागीलाई हौसला दिनुभयो । “हामीले धेरै पटक भाषण गर्दा पनि बुझाउन नसकिने कुरा कलाकार साथीहरुले मादल बाजाएरै बुझाउन सक्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान पनि हो र यसको संरक्षण गर्नु सबैको दायित्व हो ।” कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तवला वादक सुमित्रा श्रेष्ठ, समाजसेवी सावित्री अधिकारी र लोक दोहोरी गायिका खगिसरा थापालाई ‘राष्ट्रिय नारी सम्मान–२०८१’ ले सम्मान गरिएको थियो । 

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने : मन्त्री श्रेष्ठ

काठमाडाैँ, २७ वैशाख: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्चशिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यासअनुसार योजना बनाउन विश्वविद्यालयहरुका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

 मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको पनि स्पष्ट गर्नुभयो ।     सो विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरुले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताउनुभयो । उपकुलपति डा बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताउनुभयो ।

 बैठकमा समितिमा सदस्यहरुले त्रिविमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नभएको, अति राजनीतिकरण भएको, विभिन्न समयमा हुने परीक्षाका प्रश्नपत्र बाहिरिने समस्या देखिएको र अनियमितता हुने गरेका कारणले विश्वद्यालयप्रति विद्यार्थीको अकर्षण घटेको बताउनुभएको थियो ।     सांसदहरुले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न छात्रावृत्तिमा नाम निकालेका आठ विद्यार्थीको सट्टा राजनीतिक पहुँचका आधारमा अन्य विद्यार्थी पढ्न पठाएको भन्दै नाम निस्किएका विद्यार्थीलाई पठाउन माग गर्नुभएको थियो ।

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ । आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भन्नुभयो, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३÷०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।”

प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।” त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू नेता लामाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौँ, २७ वैशाख : खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।

साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गर्नुभएको छ ।

पर्यटन विकासको प्रचुन सम्भावना भएको माप्य दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो । उक्त प्रतियोगिताले माप्य दूधकोशीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

नेपाल आरोहण खेल सङ्घका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उहाँले बताउनुभयो । सङ्घले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।

घोराही बजारमा ढकमक्क फूलेको गुलमोहर

दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको दृश्य । तस्बिर ः कुलदीप न्यौपाने

म्याग्दीको दरवाङमा अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी, २७ वैशाख : जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ ।

पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो ।

उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । “बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो”, उहाँले भन्नुभयो, “सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।”

तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । यहाँ एक सय घर छन् । उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु ६५ लाख बजेट विनियोजन भएको थियो ।

गत पुसमा रु ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताउनुभयो ।

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब चार सय मिटर पक्की नाली निर्माण गरेको थियो । यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो ।

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौँ, २७ वैशाख : आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधेस प्रदेशबाट एउटा पनि प्रस्ताव परेको छैन ।

आयोगका अनुसार आगामी आवका लागि समपूरक र विशेष अनुदान लिन मधेस प्रदेशबाट कुनै पनि प्रस्ताव नपरेको हो । मधेस प्रदेशले बजेट नै माग नगरेपछि यसअघि सुरु भएका तर सम्पन्न नभएका क्रमागत आयोजनाले आगामी आवमा समपूरक र विशेष अनुदान शीर्षकबाट बजेट पाउने छैनन् ।

आयोगले गत मङ्सिर मसान्तमा सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै माघ मसान्तभित्र समपूरक र विशेष अनुदानका आयोजना सिफारिस गरिसक्न भनेको थियो । सङ्घीय सरकारबाट प्रदान हुने अनुदान लिन अनलाइन प्रणालीबाट आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न आह्वान गरिएको थियो ।

आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौड्यालले रासससँग भन्नुभयो, “मधेस प्रदेशका क्रमागत आयोजना पनि थिए । तर उहाँहरुले सिम्टम लगइन नै गर्नुभएन । नयाँ र क्रमागत दुवै खालका योजनाका लागि बजेट माग गरी प्रस्ताव आएनन् । अन्तिम दिनसम्म पनि योजना आयोगले प्रस्ताव हाल्न भनिरहेको थियो । तर मधेस प्रदेशले कुनै प्रस्ताव पठाएन । कार्यविधिले क्रमागत आयोजनाको हकका पनि प्रस्ताव माग्नैपर्ने भनेर तोकेको छ । त्यसको कूल लागत, ठेक्का अङ्क, प्रगति विवरणलगायतका विषय खुल्नुपर्छ ।”

समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ मा सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदानसम्बन्धी व्यवस्था गरिएको छ । सङ्घीय सरकारले हरेक वर्ष समपूरक र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउँछ । कार्यविधिको व्यवस्थाअनुसार प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा कार्यपालिका बैठकले सिफारिस गरेका आयोजनामा अनुदान मागसहित योजना आयोगमा प्रस्ताव हाल्नुपर्ने व्यवस्था छ ।

मधेस प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी सङ्घीय समपूरक र विशेष अनुदान लिनका लागि आयोजनाहरुको सूची प्राथमिकीकरण गरेर पठाएको भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसको प्रक्रिया अगाडि नबढाएको बताउनुहुन्छ । “प्रदेश योजना आयोगले आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण पठाइसकेको थियो । ती योजना÷कार्यक्रम स्वीकृत गरेर अनुदान मागसहितको प्रस्ताव पठाउने काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हो”, उहाँले भन्नुभयो ।

योजना आयोगका अनुसार मधेस प्रदेशका समपूरकतर्फ छवटा र विशेष अनुदानतर्फ चारवटा गरी कूल लागि १० वटा क्रमागत आयोजना छन् । ती आयोजना तथा कार्यक्रमको बजेट व्यवस्थापन कसरी हुन्छ भन्ने अन्यौल छ । सङ्घीय समपूरक र विशेष अनुदान लिन तोकिएको समय तथा प्रक्रिया गुजारेपछि अहिले मधेस प्रदेश सरकारले वैकल्पिक तरिका खोजिरहेको छ ।

अनलाइन प्रणालीबाट मात्रै योजना तथा कार्यक्रम प्रविष्टी (इन्ट्री) गर्नुपर्ने कार्यविधिको बाध्यकारी व्यवस्था भए पनि मधेस प्रदेश सरकारले त्यस्तो अनुदान मागका लागि भौतिकरुपमा कागजपत्र बुझाउने तयारी गरिरहेको छ । मधेस प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कायममुकायम प्रमुख सचिव लोकनाथ पौड्यालका अनुसार यो विषय सम्बोधन हुनेबारे त्यहाँको सरकारले केन्द्र सरकारबाट आश्वासनसमेत पाएको छ । “मैले यही वैशाखदेखि मात्रै मुख्यमन्त्री कार्यालयमा जिम्मेवारी सम्हालेको हुँ । पुरानो विषय मलाई सबै जानकारी छैन । तर मुख्यमन्त्रीले प्रधानमन्त्रीबाट आश्वासन पाएको छु, बजेट व्यवस्थापन हुन्छ भन्नुहुन्थ्यो”, पौड्यालले भन्नुभयो ।

प्रस्ताव माग नै गरेका क्रमागत आयोजनाले बजेट पाउने वा नपाउने विषयको निर्णय गर्ने अधिकार समपूरक अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ ले व्यवस्था गरेको आयोजना÷कार्यक्रम छनोट समितिमा रहने राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भुसाल बताउनुहुन्छ । “क्रमागत भनिएका आयोजना÷कार्यक्रमको काम सम्पन्न भएको हो कि ? अथवा त्यसमा बजेट आवश्यकता हो कि होइन भनेर आयोगलाई आफँै थाहा हुने कुरा भएन । प्रस्ताव नै नआएको हकमा अब के हुन्छ यसै भन्न सकिँदैन । यो विषयलाई आयोजना÷कार्यक्रम छनोट समितिले बुझेर केही निर्णय गर्नसक्छ”, उहाँले भन्नुभयो, “समपूरक र विशेष अनुदान पाउने समग्र मधेस प्रदेशमा योजना तथा कार्यक्रमको सङ्ख्यामा मर्का नपर्ने गरी केही निर्णय समितिले गर्नसक्छ ।” कार्यविधिअनुसार योजना आयोगका सदस्यको संयोजकत्वमा आयोजना÷कार्यक्रम छनोट समिति रहने व्यवस्था छ ।

योजना आयोगले दिएको जानकारीअनुसार सङ्घीयता लागू भएयता सङ्घीय सरकारबाट काठमाडौँ महानगरपालिकाले हालसम्म पनि यी दुवै शीर्षकको अनुदान लिएको छैन । हालसम्म पनि सङ्घीय समपूरक र विशेष अनुदान नलिने काठमाडाँै महानगरपालिका एकमात्र स्थानीय तह हो ।

देशभरबाट साढे चार हजारभन्दा बढी प्रस्ताव :

राष्ट्रिय योजना आयोगका अनुसार सङ्घीय समपूरक र विशेष अनुदान लिनका लागि तीन हजार छ सय ३७ वटा नयाँ र नौ सय ७७ वटा क्रमागत आयोजना÷कार्यक्रमको प्रस्ताव परेका छन् । प्रदेशतर्फ ६६ र स्थानीय तहबाट तीन हजार पाँच सय ७१ नयाँ आयोजना प्रस्ताव गरिएको छ ।

समपूरक अनुदानतर्फ प्रदेशबाट ४३ वटा र स्थानीय तहबाट एक हजार सात सय ६९ वटा प्रस्ताव परेका छन् भने विशेष अनुदानतर्फ प्रदेशतर्फ २३ र स्थानीय तहतर्फ एक हजार आठ सय दुईवटा प्रस्ताव परेका छन् ।

त्यसैगरी, क्रमागत आयोजना तथा कार्यक्रमतर्फ नौ सय ७७ वटा प्रस्ताव माग भई आएकोमा विशेष अनुदानतर्फ चार सय ५२ र समपूरक अनुदानतर्फ पाँच सय २५ वटा आयोजनाका लागि बजेट माग गरिएको छ । क्रमागत आयोजना प्रदेशतर्फ ७६ र स्थानीय तहतर्फ नौ सय एक छन् ।

उच्च माग, न्यून बजेट ः

सङ्घीय समपूरक र विशेष अनुदान लिनका लागि प्रदेश र स्थानीय तहबाट प्रस्ताव भएका योजना तथा कार्यक्रमको लागत अनुमान खर्बभन्दा माथि छ । तर, राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि यी दुई अनुदान शीर्षकमा रु २६ अर्ब १० करोड बराबरको मात्रै सिलिङ तोकेको छ । जसमध्ये समपूरक अनुदानतर्फ प्रदेशका लागि रु छ अर्ब २० करोड र स्थानीय तहका लागि रु सात अर्ब गरी कूल रु १३ अर्ब २० करोड बराबरको सिलिङ निर्धारण भएको छ ।

त्यसैगरी, विशेष अनुदानतर्फ प्रदेशका लागि रु चार अर्ब ४० करोड र स्थानीय तहका लागि रु आठ अर्ब ५० करोड गरी कूल रु १२ अर्ब ९० करोडको सिलिङ तय भएको छ । सङ्घीय अनुदान लिनका लागि माग भइआएका साढे चार हजार हाराहारी आयोजनामा खर्बौं रकम आवश्यक पर्ने भए पनि स्रोत चापका कारण सङ्घीय सरकारले भने न्यून बजेट मात्रै उपलब्ध गराउने सक्ने अवस्था छ । तोकिएको बजेट सिलिङभित्र रहेर बजेट विनियोजन गर्दा क्रमागत आयोजनालाई नै स्रोत अपुग देखिन्छ ।

योजना छनोटका कडा मापदण्ड :

सङ्घीय सरकारले योजना आयोगको सिफारिसमा हरेक वर्ष समपूरक र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउँछ । प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा यी अनुदान उपलब्ध गराइन्छ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना तथा कार्यक्रम मात्र यस्तो अनुदान पाउनका लागि योग्य हुन्छन् । सङ्घीय समपूरक र विशेष अनुदान पाउनका लागि प्रस्ताव पेस गर्दा प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेश गर्नुपर्ने प्रावधान रहेको छ । त्यस्तै, विद्युतीय प्रणाली (अनलाइन) बाट आएका प्रस्तावलाई मात्रै आयोगले स्वीकार गर्ने गरेको छ ।

अनुदानका लागि प्रस्ताव गरिएका योजना तथा कार्यक्रमले निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए), लागत अनुमान, आयोजना सम्पन्न हुने अवधिलगायतका विवरण अनिवार्य रुपमा प्रस्तावसँगै पेस गर्नुपर्ने पनि आयोगले जनाएको छ । सम्बन्धित पालिकाको कार्यपालिकाबाट स्वीकृत गराएर मात्रै त्यस्तो योजना तथा कार्यक्रमका लागि बजेट माग गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा रहेको छ ।

समपूरक अनुदान पाउने योजना तथा कार्यक्रमका लागि कूल लागतको ५० प्रतिशत सम्बन्धित स्थानीय तह वा प्रदेशले व्यहोर्छ भने ५० प्रतिशत रकम सङ्घीय सरकारले उपलब्ध गराउँछ । यस्तो अनुदानबाट खर्च ब्यहोर्ने योजना तथा कार्यक्रम तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्छ । तीन वर्षभन्दा बढी समय लाग्ने बहुवर्षे आयोजनाहरुका लागि यो शीर्षकअन्तर्गत बजेट जाँदैन ।

प्रदेश सरकार र स्थानीय तहले यी शीर्षकमा अनुदान पाउने र खर्च गर्न पाउने रकमको सीमा पनि तोकिएको छ । समपूरक अनुदान दिनका लागि गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना÷कार्यक्रमको कूल लागत अनुमान न्यूनतम रु एक करोडदेखि अधिकतम रु १० करोडसम्म रहेको छ । त्यस्तै, उपमहानगर र महानगरपालिकाबाट कार्यान्वयन गरिने समपूरक अनुदानका कार्यक्रमले लागत न्यूनतम रु पाँच करोडदेखि अधिकतम रु २५ करोडसम्म रहेको छ । प्रदेश सरकारबाट कार्यान्वयन हुने समपूरक अनुदानअन्तर्गतका योजना तथा कार्यक्रमका लागि कूल लागत अनुमान रु २० करोडदेखि रु एक अर्बसम्म हुनुपर्दछ ।

विशेष अनुदानअन्तर्गतका योजना तथा कार्यक्रमका लागि भने प्रदेशको हकमा कम्तीमा रु १० करोड र स्थानीय तहको हकमा कम्तीमा रु ५० लाखदेखि बढीमा १० करोडसम्मको सीमा तोकिएको छ । क्षेत्रगत रुपमा पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाका लागि समपूरक अनुदान दिने गरिन्छ । विशेष अनुदानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण तथा मूल प्रवाहीकरण, तहगत सन्तुलन, खाद्य सुरक्षा तथा पोषण, फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रसँग सम्बन्धित आयोजनाहरु पर्दछन् ।

नेपाल प्रहरीका ५१९ जना इन्स्पेक्टरहरूको सरुवा, को कहाँ सरुवा भए ?

काठमाडौँ । नेपाल प्रहरीका ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार इन्स्पेक्टरहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

https://drive.google.com/file/d/1qW_zKen-XORgEcBMmiE5CkEEM-95ENae/view

त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने

काठमाडौँ, २७ वैशाख : त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।

विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्र्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दाे समाधानका लागि पहल थालिएको बताउनुभयो ।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उहाँले जानकारी दिनुभयो ।विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा डा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा डा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त हुनुभएको हो ।

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

मोरङ, २७ वैशाख : कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

“संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्र्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।” प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

कात्तिकसम्ममा सञ्चालन गर्ने गरी नारायणगढ–मुग्लिन सडकखण्डका सबै पुल धमाधम बन्दै

चितवन, २७ वैशाख : नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उहाँले बताउनुभयो ।

खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो । इन्जिनियर आचार्य कात्तिक मसान्तसम्ममा तुइन खोलाको काम सकिने बताउनुहुन्छ छ । यो सडकखण्डमा १९ वटा पुल छन् ।

विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिएका हुन् । इन्जिनियर आचार्यका अनुसार सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिलो बनाइएको छ । तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । विगतका वर्षहरुमा पहिरोको कारण वर्षायाममा धेरै सास्ती बेहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिला भएसँगै केही सहज हुँदै आएको छ ।

दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

दमौली (तनहुँ), २७ वैशाख : जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ ।

कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् ।

पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सिसरो) ले सोमबार वैज्ञानिकहरूले जलवायु मोडेलमा रहेको खाडललाई सम्बोधन गर्नका लागि तस्मानियाको टापु राज्यको ‘केनाओक÷केप ग्रिम बेसलाइन वायु प्रदूषण स्टेशन’मा वायुमण्डलीय एयरोसोल अध्ययन गर्न १७ महिना बिताउने घोषणा गरेका छन् ।

उच्च पानी शुद्धताको कारण दक्षिणी महासागरमा बन्ने बादल प्रायः बरफको सट्टा अति–चिसो (सुपर–कुल्ड) तरल पानीले बनेको हुन्छ । सुपर–कूल्ड तरल पानीको बादल बरफको बादलको तुलनामा धेरै सूर्यको प्रकाशलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्दा समुद्रको सतहलाई चिसो पार्न मद्दत गर्दछ । सिसरोका वरिष्ठ प्रमुख अनुसन्धान वैज्ञानिक मेलिता किउडले परियोजनाले समुद्रमाथि सूर्यको कति किरण भएको बादल अन्तरिक्षमा प्रतिबिम्बित हुन्छ र पृथ्वीमा कति तापक्रम हुन्छ भन्ने मापन गरेर बादलको गुणहरूको बुझाइमा रहेको अन्तर पूरा गर्न सहयोग गर्ने बताउनुभयो ।

“नयाँ डाटाले सतह र बादलहरू बीच के भइरहेको छ र यस क्षेत्रमा बन्ने अद्वितीय ‘सुपर–कूल्ड’ तरल बादलभित्र के भइरहेको छ भन्नेबार बुझ्न सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “पृथ्वीले सबैभन्दा तातो वर्ष रेकर्ड गरेपछि पृथ्वीको वायुमण्डलमा कति तापक्रम छ भनेर राम्रोसँग मापन गर्नु त्यति महत्त्वपूर्ण कहिल्यै थिएन ।” एरोसोलले पानीलाई सघन बनाउन र बादल बन्न सक्षम पारेर बादल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । एरोसोल वायुमण्डलमा निलम्बित साना कणहरू हुन्। तिनीहरू प्रायः मानव आँखाले देख्न सकिँदैन ।दक्षिणी महासागरमा एरोसोलको मुख्य स्रोत ‘समुद्री स्प्रे र फाइटोप्लाङ्क्टन’द्वारा निस्कने ग्यासहरू हुन् ।

आइएमएफले बङ्गलादेशलाई एक अर्ब २० करोड डलर प्रदान गर्ने

बङ्गलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बुधबार आफ्ना कर्मचारी र बङ्गलादेश करिब एक अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ । राजधानी ढाकामा दुई साताको वार्तापछि बोर्डको स्वीकृतिको अधीनमा जारी तीनवटा कार्यक्रमको पछिल्लो हिस्सा भुक्तानी गर्नका लागि ‘कर्मचारीस्तरीय सम्झौता’ भएको आइएमएफले बताएको छ ।

“अधिकारीहरूले आइएमएफ समर्थित कार्यक्रमअन्तर्गत संरचनात्मक सुधारहरूमा महत्त्वपूर्ण प्रगति गरेका छन्, यसमा पेट्रोलियम उत्पादनका लागि सूत्रमा आधारित इन्धन मूल्य समायोजन प्रणालीको पनि कार्यान्वयन समावेश छ”, आइएमएफले विज्ञप्तिमा भनेको छ, “विश्वव्यापी वित्तीय अवस्थाको कडाइ र घरेलु कमजोरीहरूसँगै अन्तर्राष्ट्रियस्तरमा वस्तु र खाद्यान्नको मूल्यमा अहिले पनि वृद्धिका कारण लगातार उच्च मुद्रास्फीति र विदेशी मुद्रा (एफएक्स) सञ्चितिमा कमी आएको छ ।”

विज्ञप्तिमा यसले अर्थतन्त्रमा दबाब बढाएको र बृहत् आर्थिक चुनौतीहरूको जटिलता बढाएको उल्लेख छ । आइएमएफले बङ्गलादेशको अर्थतन्त्र सन् २०२४ को आर्थिक वर्षमा मुद्रास्फीति–समायोजित पाँच दशमलव चार प्रतिशतको दरले बढ्ने अपेक्षा गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा छ प्रतिशत थियो ।

आइएमएफले लगातार कडा नीतिको मिश्रण र विश्वव्यापी खाद्यान्न तथा वस्तुको कम मूल्यको अनुमानका कारण यस वर्ष मुद्रास्फीति करिब नौ दशमलव चार प्रतिशत हुने र आगामी वर्ष घटेर सात दशमलव दुई प्रतिशत हुने अनुमान गरेको छ ।

खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ, २७ वैशाख : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.–१२ का अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ ।

जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो । निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गर्नुभएको हो ।

यसैबीच, नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । नगर अस्पतालमा सेवा प्रारम्भ भएको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको शिविरमा एक सय २४ जनाले सेवा लिएका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो ।

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने

पाटन (ललितपुर)- अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि सरकारले अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

नेपाल सेल्टर फोरमको दुई दिने छलफलको  ललितपुरमा समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपद्बाट हुने आवासको क्षतिमा सरकारले पुनःनिर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको हो । “अबदेखि सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुनःनिर्माणका लागि अनुदान पाउनुहुनेछ । जिल्लाको वर्गीकरणअनुसार अनुदान दिने रकम तोकिएको छ ।” उहाँले भन्नुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि–२०८१ अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले चार, पाँच र छ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन् ।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, सङ्कटासन्न र अपाङ्गता भएका) परिवारलाई अनुदान रकममा रु ५० हजार थप हुने व्यवस्था पनि छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आँकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रविन्दु बनाएर भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनःनिर्माण र पुनःस्थापनाको काम सुरु गरिने जानकारी दिएको थियो । पुनःनिर्माणमा करिब रु ७३ अर्ब लाग्ने प्राधिकरणको अनुमान छ ।

हेर्नुहोस् बैशाख २७ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि – नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि – परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि- अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि- पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि – प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

सुरक्षित कारोबार विधेयक विधायन व्यवस्थापन समितिबाट पारित

काठमाडौँ, २६ वैशाख : ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट केही सुझाव तथा संशोधनसहित पारित भएको छ । विधेयकमा दफाबार छलफलपछि समितिको आजको बैठकले प्रतिवेदनसहित पारित गरेको हो ।

कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले गत फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल, तथा अमूर्त सम्पत्ति उपरको दायित्व परिपालना गर्ने गराउने व्यवस्था गर्न हाल सुरक्षित कारोबार ऐन, २०६३ कार्यान्वयनमा छ । 

संसद्मा दर्ता भएको यो विधेयकले चल, अचत तथा मूर्त र अमूर्ति सम्पत्ति उपरको दायित्वको पनि व्यवस्था गर्न लागेको छ । यो विधेयकले घरजग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन सकिने गरी व्यवस्था गर्न लागेको छ । अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमति प्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।

“यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिनेछ”, अर्थमन्त्री वर्षमान पुनले समितिको आजको बैठकमा भन्नुभयो, “अब पशु, कृषिबाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिनेछ ।”

उपभोग्यवस्तुबाहेक अन्य कुनै धितो सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिने विधेयकमा उल्लेख छ । “जमानत भन्नाले भुक्तानीको दायित्व वा प्रतितपत्रअन्तर्गत जारी गर्ने व्यक्तिको भुक्तानीको दायित्वजस्ता सहायक दायित्व सम्झनु पर्दछ र सो शब्दले बहिखाता, सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र वा अन्य चल सम्पत्तिका सम्बन्धमा भुक्तानी गराउन सहयोग पु¥याउने दायित्व समेतलाई जनाउँछ”, विधेयकमा भनिएको छ ।

समितिका सभापति जयन्ती देवी राईले सरलीकृतरुपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यका साथ विधेयक आएको उल्लेख गर्नुहुँदै प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने बताउनुभयो । राष्ट्रियसभामा दर्ता भएको यो विधेयक त्यहाँबाट पारित भएपछि प्रतिनिधिसभामा जानेछ ।

मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्छ– अध्यक्ष नेपाल

काठमाडौँ, २६ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।कालिका खबरको दशौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार क्षेत्रमा गरिने लगानीले रोजगारी वृद्धि हुन्छ भन्नुभयो ।

उहाँले कृषकको आयस्तर वृद्धि भएमा उनीहरूको खर्च गर्ने क्षमताको विकास भइ राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष नेपालले आफ्नो पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउँदै निर्धारित समयमा अधिवेशन सम्पन्न गरिने उल्लेख गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिए

चितवन, २६ वैशाख – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् ।

बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो । मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाघ लजालु स्वभावको हुन्छ । जसका कारण मरेको पनि जानकारी हुँदैन”, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गर्ने गस्ती बढाएसँगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन् ।

उहाँका अनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन् । गत आवमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी (सङ्खुवासभा), २६ वैशाख – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ ।

विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ ।

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई ‘सम्मान र प्रेम’ का साथ स्वागत

सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष्ट्रहरूसँग राजनीतिक र आर्थिक सम्बन्धलाई गहिरो बनाउन खोजिरहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गर्नुभएको छ ।

चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सी र उहाँकी श्रीमती पेङ लियुआनलाई बुधबार बेलग्रेडमा मुख्य सरकारी कार्यालयहरू बाहिर रातो कार्पेटमा भुकिकले स्वागत गर्नुभयो । प्रधानमन्त्री र नेसनल बैंक अफ सर्बियाका गभर्नरसहित अधिकारीहरूसँग हात मिलाउनुअघि चिनियाँ नेतालाई तोपको सलामी र चिनियाँ राष्ट्रगानले स्वागत गरिएको थियो ।

दुवै नेताले बालकनीबाट बाहिर प्रतीक्षा गरिरहेका हजारौँ मानिसतर्फ हात हल्लाउनुभयो । तीमध्ये केहीले चिनियाँ झण्डा फहराइरहेका थिए ।भुकिकले सीलाई ‘सर्बियाको मित्र’ भन्नुभयो । “सर्बियामा जस्तो सम्मान र प्रेम उहाँले अन्य कहीँ पाउनुहुन्न”, उहाँले भन्नुभयो, “चिनियाँ क्षेत्रीय अखण्डताका सम्बन्धमा हाम्रो अडान स्पष्ट र सरल छ, ताइवान चीनको हो ।”

बेइजिङले स्वशासित ताइवानमाथि आफ्नो दाबी गर्दै ताइवानलाई चिनियाँ नियन्त्रणमा ल्याउन बल प्रयोगलाई अस्वीकार नगर्ने बताएको छ ।दुई नेता बैठकमा बस्ता सीले प्रारम्भिक टिप्पणीमा भुकिकसँग भन्नुभयो, “हाम्रो दुवै मुलुकबीचको मित्रताको भावना बलियो थियो ।”

चिनियाँ राष्ट्रपति सी फ्रान्सको राजकीय भ्रमणपछि मङ्गलबार साँझ बेलग्रेड पुग्नुभएको हो । फ्रान्समा युक्रेन युद्धका बाबजुद व्यापार र चीनको रुससँग घनिष्ठ सम्बन्धलाई लिएर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग सीको मजबुत आदानप्रदान भएको थियो ।

सन् २०१९ पछि सीको युरोपको पहिलो भ्रमणका लागि छनोट भएका अन्य दुई मुलुकमा सर्बियापछि अर्को हङ्गेरी रहेको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।

म्यान्माद्वारा आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख टन हरियो चना निर्यात

म्यान्माले आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख तीन हजार नौ सय ७० टन हरियो चना निर्यात गरी ३३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी कमाएको देशको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष अप्रिल १ देखि सुरु भई यही मार्च ३१ मा सकिएको आर्थिक वर्षमा मुलुकले चार लाख ४६ हजार सात सय ८१ टन हरियो चना समुद्री मार्गबाट ढुवानी गरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

म्यान्मा दाल, सिमी, मकै र तिलको बीउ व्यापारी सङ्घका म्यान्मामा अक्टोबरमा सुरु हुने जाडो मौसम र अगस्टमा सुरु हुने वर्षाको मौसममा गरी दुई मौसममा हरियो चनाको उब्जनी गरिन्छ ।

म्यान्माले चीन, भारत, इन्डोनेसिया, मलेसियालगायत देशमा हरियो चना निर्यात गरेको सङ्घले जनाएको छ । आर्थिक वर्षमा म्यान्माले १७ लाख ६० हजार टन सिमी र दालको निर्यातबाट एक अर्ब ४८ करोड अमेरिकी डलर कमाएको वाणिज्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ । यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश छ ।

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हािसल गरेको छ । किएभले पश्चिमी सहयोगको महत्त्वपस्र्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ ।

रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ ।

किस्लिभ्का सङ्कटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो ।

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन् ।

युक्रेनका कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीन वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको स्वीकार गर्नुभएको थियो ।

अलगरूपमा रुसी रक्षा मन्त्रालयले किएभले रातभर हवाई आक्रमण गरेपछि युक्रेनी ऊर्जा र सैन्य केन्द्रविरुद्ध जवाफी आक्रमण सुरु गरेको बताएको छ । “रुसी ऊर्जा सुविधाहरूमा क्षति पुर्याउन किएभ शासनको प्रयासको जवाफमा आज बिहान रुसी सङ्घको सशस्त्र सेनाले युक्रेनको सैन्य–औद्योगिक परिसरको ऊर्जा सुविधा तथा उद्यमहरूविरुद्ध सामूहिक आक्रमण सुरु गरेको छ”, मन्त्रालयले भनेको छ ।

वीरगञ्जमा गर्मी बढेसँगै शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै

वीरगञ्जमा गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै
वीरगञ्ज (पर्सा), २६ वैशाख : वीरगञ्ज आसपासका क्षेत्रमा चर्काे गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन् । गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन अध्यापन गराउन पाउँदा विद्यार्थी तथा शिक्षक दुवैले राहतको महसुस गरेका छन् ।

बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई बिहानको समयमा विद्यालयमा आउने बानी पार्न केही समस्या भए पनि अन्य तहका विद्यार्थीहरुको भने उत्साहजनक उपस्थिति हुँदै आइरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकले जनाएका छन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बलिरामपुरका प्रधानाध्यापक (प्रअ) चन्देश चौहानले दिउँसोको समयमा चर्काे गर्मी भएसँगै बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको बताउनुभयो । “उखरमाउलो गर्मीले दिनको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “बिहानको समयमा कक्षा सुरु गरेसँगै अहिले पठनपाठन कार्य अघि बढ्दै आइरहेको छ ।” प्रअ चौहानले गर्मीयामका कारण सानो कक्षामा अध्ययन गरिरहेका छात्रछात्रालाई सबेरै विद्यालय आउन केही दिन समस्या भए पनि विस्तारै सुधार हँुदै आइरहेको बताउनुभयो । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा तीन सय ५० भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् ।

“केही समयअघिसम्म तराई–मधेसको मौसम ससाना बालबालिकाको लागि सुहाउँदो खालको थिएन । चर्काे गर्मीले पठनपाठनमा पनि धेरै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको थियो”, उहाँले भन्नुभयो, मङ्गलबार र बुधबार दिउँसोको समयमा वीरगञ्ज आसपासका क्षेत्रमा वर्षात् भएर तापक्रम केही घटेको छ । तर यो अवस्था सधैँ रहँदैन । त्यसैले पनि बिहानीको सत्रमा अध्ययन गराउँदा सहज भइरहेको छ ।”

विद्यालयले अघिल्ला वर्षमा पनि बिहानी सत्रमा अध्ययन अध्यापन गर्ने गरेको थियो । नेपाल रेल्वे मावि वीरगञ्जका प्रधानाध्यापक प्रभुप्रसाद रौनियार बिहानी समयमा सञ्चालित कक्षाले विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउनुहुन्छ । “हाम्रो विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र भएकाले पनि नियमितरुपमा बिहानी कक्षा सञ्चालन गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “कक्षा १२ को परीक्षा आजदेखि सकियो । अब भोलिदेखि नियमितरुपमा बिहानको कक्षा सञ्चालन गर्नेछौँ ।”

प्रअ रौनियारले चर्को गर्मी र हावाहुरीका कारणले पनि बिहानको समयमा कक्षा सञ्चालन गर्दा सहज भएको बताउनुभयो । “चर्काे गर्मीकै बिहान १० देखि ४ बजेसम्म कक्षा सञ्चालन गर्न निकै समस्या हुन्थ्यो । यो क्षेत्रमा कम्तीमा ४० डिग्री तापक्रम पुगिसकेको छ”, उहाँले भन्नुभयो, “विद्यालयले बिहान ६ बजेदेखि ११ः३० बजेसम्म बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसमा विद्यार्थीको उपस्थिति पनि राम्रो छ ।”

वीरगञ्ज महानगरपालिका नगरशिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । सो निर्णय गत वैशाख २० गतेदेखि कार्यान्वयनमा आएको छ ।

महानगरले बिहानका समयमा शिक्षण सिकाइको समयलाई पनि कमी नहुने गरी कक्षा चलाउन अनुरोध गर्दै आएको छ । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ । गत शैक्षिकसत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिकसत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका थिए । यो वर्ष गत आवभन्दा १० प्रतिशत बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ ।

पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नेतर्फ लाग्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन् ।

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशिल हुने बताए ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको बताए । । उनले भने,“यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ । ”

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ ।

सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार बनेको छैन – पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ, २६ वैशाख : पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजनामा हिजोदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिन ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उहाँले सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा खतिवडाले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको धारणा समेत राख्नुभयो । बैङ्कहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछन्, अहिले सहकारीहरु समस्यामा छन् । सहकारीका समस्या समाधान गर्न कुनै पनि निकाय जिम्मेवार भएर लागेका छैनन्”, उहाँले भन्नुभयो ।

डा खतिवडाले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर समस्या सिर्जना हुनाका साथै वर्तमान सङ्कट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बैङ्कको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयमाथि पनि प्रश्न गर्नुभयो ।

“हामीले आफैँ काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो । सहकारीमा स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ । अराजकताले सङ्कट ल्याउँछ, तसर्थ, अराजकता अन्त्यका लागि दोस्रो तहको नियामक अतिआवश्यक छ”, डा खतिवडाले भन्नुभयो । उहाँले अहिले सहकारीमा विशेष प्रकारका चुनौती रहेको भन्दै ती चुनौतीको सामना गर्न कानुनको परिपालना आवश्यक रहेको बताउनुभयो । सहकारी वित्त कम्पनीसरह चलेकाले पनि समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेसनल एडभोकेसी एन्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दिगोपनाका लागि संस्थाको लेखा सुपरिवेक्षण समिति बलियो हुनुपर्ने बताउनुभयो । विश्व ऋण परिषद्का लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारका रूपमा काम गर्दै आउनुभएको उहाँले लेखा सुपरिवेक्षण समितिमा कार्यरत व्यक्ति आफैँमा योग्य हुनुपर्ने धारणा राख्नुभयो । “योग्य व्यक्तिबाट नेतृत्व गर्दा संस्थामा दिगोपना र स्थायित्वमा स्थापन हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

हर्नले लेखा सुपरिवेक्षण समितिले सहकारीको सञ्चालक समितिलाई पनि सही किसिमले सल्लाह दिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । सहकारीमा वित्तीय साक्षरता, नीतिनियमको परिपालना र सदस्यमा विश्वसनियता आवश्यक हुने धारणा राख्नुभयो ।

“लेखा सुपरिवेक्षण समिति स्वतन्त्र निकाय हो, यसको आफ्नै जिम्मेवारी र भूमिका हुन्छ । धेरै देशमा सहकारी संस्थाका फरक–फरक अभ्यास हुन्छन्, लेखा सुपरिवेक्षण समिति र सञ्चालक समिति एक अर्काका परिपूरक भए पनि सञ्चालक समितिभन्दा लेखा सुपरिवेक्षण समिति थप बलियो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

हर्नले कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय अभ्यास जानकारी गराउनुभयो । आन्तरिक तथा बाह्य लेखा परीक्षकको परिवर्तन गरिनुपर्ने, सञ्चालक समितिको बैठकमा लेखा सुपरिवेक्षण समितिको सुझाव छलफल गर्नुपर्ने र समितिका प्रतिवेदनहरु परीक्षण गरिएको तथा आवश्यक सुधार गरिएको सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आजको कार्यक्रमको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका निवर्तमान अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौँ, २६ वैशाख : सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ । सरकार, सार्वजनिक संस्थान र सार्वजनिक–निजी लगानीको अवधारणाअनुरुप सञ्चालित आयोजनामा हुने लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना, २०८१÷८२–२०८५÷८६’ कार्यान्वयनमा ल्याएको हो । यो कार्ययोजना आयोगको यही वैशाख ११ गतेको बैठकबाट स्वीकृत भएको थियो ।

सार्वजनिक लगानीको प्रभावकारिता बढाउने, पुँजीगत खर्च बढाउने र विकास पूर्वाधार आयोजनाको काममा गति दिन दीर्घकालीन रणनीति आवश्यक रहेकाले यो कार्ययोजना ल्याइएको आयोगका सूचना अधिकारी डा दिवाकर लुइँटेलले जानकारी दिनुभयो । तीनवटै तहका सरकारले सार्वजनिक पूर्वाधारलगायत विकास निर्माणका लागि छुट्याएको बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्ने अवस्था अहिले विद्यमान छ । निर्धारित समयमा विनियोजित रकम खर्च हुन नसक्दा एकातर्फ आयोजनाको लागत र समय बढ्ने गरेको छ भने अर्कोतर्फ जनताले समयमा नै सेवा सुविधा उपयोग गर्नबाट वञ्चित हुनुपरेको अवस्था छ । यो समस्या समाधानका लागि कार्ययोजनाले विभिन्न सातवटा लक्ष्य निर्धारण गरेको छ ।

राष्ट्रिय परियोजना बैंकलाई चरणबद्ध रुपमा सुधार गर्ने गरी कार्ययोजनाले पहिलो लक्ष्य निर्धारण गरेको छ । त्यस्तै, नियमित र पारदर्शी केन्द्रीय अनुगमनमार्फत् पुँजीगत परियोजना पोर्टफोलियोलाई व्यवस्थित गर्ने, बजेटमा समावेश गरिएका लगानी परियोजनामा पारदर्शिता अभिवृद्धि गर्ने र सार्वजनिक संरचना तथा पूर्वाधारको नियमित मर्मतसम्भारका लागि निर्देशिका तयार गरी कार्यान्वयन गर्ने गरी लक्ष्य निर्धारण भएका छन् ।

सार्वजनिक खरिदको प्रभावकारी तथा पारदर्शी अनुगमन हुने सुनिश्चितता गर्न विद्युतीय सार्वजनिक खरिद प्रणालीमा सुधार गर्ने, सार्वजनिक संस्थान तथा सार्वजनिक निजी साझेदारीमार्फत् हुने लगानी परियोजनाको केन्द्रीय निगरानी तथा निरीक्षणमा सुधार गर्ने र परियोजना व्यवस्थापन सुदृढीकरण गर्न आवश्यक प्रबन्ध गर्नेजस्ता लक्ष्य कार्ययोजनामा राखिएका छन् ।

यी प्रत्येक लक्ष्य हासिल गर्नका लागि सम्पादन गर्नुपर्ने प्रमुख कार्य र सोका लागि जिम्मेवार निकाय तथा अधिकारी पनि कार्ययोजनामा नै तोकिएको छ । साथै प्रमुख कार्यअन्तर्गत सम्पादन गरिनुपर्ने क्रियाकलाप र त्यससम्बन्धी समय सीमा एवं आवश्यक पर्ने स्रोतको व्यवस्थापनलाई समेत कार्ययोजनाले सुनिश्चित गर्न खोजेको देखिन्छ ।

सरकारी खर्चको प्रभावकारिता देखिन नसकेकोबारे बारम्बार प्रश्न उठ्ने गरेका छन् । तीन तहका सरकारबाट सञ्चालन हुने आयोजनाको एकीकृत विवरण नहुँदा एउटै आयोजनामा एकभन्दा बढी तहको सरकारबाट वा एउटै तहको सरकारका पनि विभिन्न निकायबाट दोहोरो रकम विनियोजन हुने गरेको छ ।

साथै कार्य जिम्मेवारी छुट्याउने प्रष्ट सीमारेखाको अभावमा स्रोतको कुशल विनियोजन एवं सही उपयोग हुन सकेको छैन । सरकारले वार्षिक बजेट छुट्याउँदा आयोजना तथा कार्यक्रमको छनोटमा कुशलता नदेखिएको भन्दै आलोचना हुने गरेको छ । यो कार्ययोजना लागू भएपछि पर्याप्त पूर्व तयारी नभएका र आर्थिक तथा प्राविधिकरुपमा सम्भाव्य नरहेका आयोजना वा कार्यक्रममा बजेट विनियोजन नहुने थिति बस्ने अपेक्षा गरिएको छ ।

पूर्व तयारी बिनाका आयोजनामा बजेट छुट्याउँदा अधुरा, अपुरा वा बीचमा छोड्नुपर्ने आयोजनाको सङ्ख्या ठूलो परिमाणमा रहेका छन् । यसले गर्दा सार्वजनिक स्रोतको प्रभावकारी र जवाफदेही उपयोगमा प्रश्नचिह्न खडा हुने गरेको छ ।

सरकारले सार्वजनिक खरिदसँग सम्बन्धित प्रक्रियालाई चुस्त, प्रतिस्पर्धी एवं पारदर्शी बनाउनका लागि विद्युतीय खरिद प्रणाली अवलम्बन गरेको छ । तर सबै किसिम र विधिका खरिद कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गर्न नसक्दा अझै पनि कतिपय सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धात्मक अवसरको सुनिश्चितता सिर्जना हुन नसकेको गुनासो आउने गरेका छन् ।

आयोजनासँग सम्बन्धित जिम्मेवार अधिकारीको छोटो समयमा नै सरुवा हुने परिपाटीले एकातर्फ कर्मचारीको दक्षता विकासमा असर परेको छ भने अर्कोतर्फ आयोजना निर्माण वा सञ्चालनमा ढिला सुस्ती भइरहेको छ । यसले पनि सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धिमा अवरोध सिर्जना हुन पुगेको छ ।

त्यस्तै, निर्माण सम्पन्न भई सञ्चालनमा गएका पूर्वाधार वा अन्य प्रणालीको सञ्चालनको क्रममा नियमित मर्मतसम्भार हुने सुनिश्चित गर्न नसक्दा एकातर्फ सेवाग्राहीले नियमितरुपमा गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न सकेका छैनन् भन्ने अर्कोतर्फ त्यस्ता संरचनाको पुनःनिर्माणमा ठूलो धनराशि खर्च गर्नुपरेको अवस्था छ । यी विविध समस्याको समाधानका लागि एकीकृत स्वरुपमा सार्वजनिक लगानी व्यवस्थापनसम्बन्धी कार्ययोजना ल्याइएको आयोगले जनाएको छ ।

अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा

काठमाडौँ, २६ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद स्वतः खारेज हुने नीति लिइएको बताउनुभयो ।

“चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिएको थियो, साउन-भदौबाट हामीले काम पनि सुरु ग-यौँ, एकै पटकमा सबै खारेज गर्ने भन्ने थियो तर सबैको सल्लाहमा क्रमबद्ध रुपमा गरिने भएको हो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अतिरिक्त हुलाकमा रहेका विभिन्न ट्रेड युनियन, अर्थ मन्त्रालय र प्रधानमन्त्रीसमेतको छलफलपछि सो समूह खारेज हुने सहमति भएको तर यस कार्य क्रमबद्ध रुपमा हुँदै जाने निष्कर्ष निकालिएको थियो ।

अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८०, गत चैत ३० मै मन्त्रीपरिषदले स्वीकृत गरेको छ । सोही अनुरुप यही वैशाख १० गते राजपत्रमा प्रकाशन भइसकेको छ । राजपत्र अनुसार नियुक्त भएका हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् ।

त्यसैगरी, राजपत्रमा अतिरिक्त हुलाकमा रिक्त रहेका हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकको पद र नियम प्रारम्भ भएपछि रिक्त हुने त्यस्तो पद स्वतः खारेज हुने भनिएको छ । पछिल्लो समयमा सूचना, प्रविधिको विकाससँगै व्यक्तिगत चिट्ठीपत्रको अन्त्य भएकाले सरकारी बाहेक अरु कागजपत्र हुलाकबाट जाने चलन अन्त्य भएको उहाँको भनाइ छ ।

मन्त्री शर्माले अतिरिक्त हुलाक खारेज गर्ने नीति बनिसकेकाले नियमावलीअनुसार अनिवार्य अवकाश, पद खारेज हुने र स्वेच्छिक अवकाश गरी तीनवटा विकल्प अघि सारिएको बताउनुभयो । अहिले अतिरिक्त हुलाक राख्ने अवस्था नभएकाले एक पालिका एक हुलाक राख्ने निर्णय मन्त्रीपरिषदबाट भइसकेको छ ।

थालेसीमिया संवाहक हो/होइन भनेर समयमै रगत परीक्षण गराउने कि !

काठमाडौँ, २६ वैशाख : विश्व थालेसीमिया दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यस दिवसका अवसरमा थालेसीमिया बिरामी एवं चिकित्सकहरुले सबैका लागि समान र पहुँचयोग्य उपचारका लागि जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले वीर अस्पताल,हेमाटोलोजी एकाइद्वारा आज यहाँ आयोजित कार्यक्रममा थालेसीमिया रोगसम्बन्धी उपचारलाई सातै प्रदेशका स्वास्थ्य संस्थामा जोड्न सक्नुपर्ने बताउनुभयो । यस रोगको रोकथाम र उपचारको सहच पहुँचका लागि मन्त्रालयले प्राथमिकता दिएको उहाँको भनाइ छ ।

उक्त कार्यक्रममा थालेसीमियाका बिरामी दीपा केसीले आफ्नो अनुभव सुनाउँदै महँगो औषधि र उपचारबारे सरोकारवाला निकायको ध्यानार्कषणसमेत गराउनुभयो । “वीर अस्पतालभित्रै सबै औषधि उपलब्ध छैनन् । औषधि र उपचार खर्चिलो भएका कारण यस रोगका धेरै बिरामी साथीहरु उपचारबाट वञ्चित हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

चिकित्सकका अनुसार थालेसीमिया अर्थात् अपुष्ट रक्तकोष रगतसम्बन्धी हुने विभिन्न रोगहरुमध्ये अनुवंशीय रोग हो । देशभरको मध्य पहाडी भूभागदेखि सम्पूर्ण दक्षिणी भूभाग तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी भेटिएको र विशेष गरेर तराईमा र त्यहाँका बासिन्दामा यो रोग बढी मात्रामा देखिएको छ ।

नेपाल अपुष्ट रक्तकोष समूहका अनुसार नेपालमा थालेसीमिया संवाहकहरुको सङ्ख्या कूल जनसङ्ख्याको चार प्रतिशत रहेको छ । एक अध्ययनअनुसार नेपालमा थालेसीमियाका बिरामीको वार्षिक जन्म तीन सय २७ छ । यो रोग तीन महिनादेखि पाँच÷छ वर्षसम्म उमेरका बच्चाहरुमा देखिन्छ । अझ कसैलाई १० देखि १२ वर्षमा पनि देखिन्छ ।

यस रोगका रोगीलाई बचाउनका निम्ति आजीवन रगत तथा अन्य औषधि दिई रहनुपर्छ । यो रोगबाट मुक्ति पाउने अन्य कुनै भरपर्दो उपचार छैन यसर्थ बच्चा जन्माउनुपूर्व नै यो रोगबाट सचेत हुनु एकमात्र यसको भरपर्दो उपचार हो ।

वीर अस्पतालको हेमाटोलोजी एकाइका प्रमुख डा निरजकुमार सिंहका अनुसार यस रोगका बिरामीको यकिन तथ्याङ्क छैन । “तर झण्डै पाँच हजार बिरामी, जसलाई रगतको आवश्यक हुन्छ । रगत नचाहिने अझ धेरै छन् । सबैलाई रगत आवश्यक हँुदैन । चालिस प्रतिशतलाई मात्र रगत आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार वीर अस्पतालबाट दैनिक यस रोगका १२ जनासम्म बिरामीले उपचार सेवा लिने गरेका छन् । तर हेमाटोलोजी चिकित्सक र स्टाफ नर्सको दरबन्दीको अभावका कारण उपचार सेवालाई विस्तार गर्न नसकिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले उक्त एकाइमा डा सिंह रचार जना नर्सले अस्थायी दरबन्दीमा सेवा दिँदै आउनुभएको छ ।

प्रमुख डा सिंहले सरकारले यस रोगका लागि उपलब्ध गराउँदै आएको रु एक करोड पर्याप्त नभएको बताउनुभयो । उहाँले यस रोगको रोकथाम सरकारको प्राथमिकतामा राख्नपर्ने माग गर्नुभयो । नेपाल अपुष्ट रक्ताकोष समूह समूहमा दुई सय ४० जना यस्ता बिरामी दर्ता भएका छन् । तीनमा एक सय ४० जना नियमित रगत चढाइरहेका छन् ।

“संस्थामा आबद्ध भएका बिरामीलाई निःशुल्क रगत तथा रगत चढाउने सेवाका साथै चिकित्सक सेवा पनि संस्थाको केन्द्रबाट उपलब्ध भइरहेको छ”, उक्त समूहका अध्यक्ष अशोक खरेलले भन्नुभयो, “नेपालमा छ सयभन्दा बढी यस्ता बिरामीले धेरै समस्याका साथ उपचार गराएर मुस्किलले बाँचिरहेको अनुमान गर्न सकिन्छ ।” कमजोर आर्थिक अवस्थाका कारणले आवश्यक नियमित उपचार गराउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

यो रोग कसरी लाग्छ ?

वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुरका अनुसार यो वंशाणुगत रोग हो । बाबु तथा आमा दुवैतर्फका पुस्ताबाट यो अघिल्लो पुस्तामा सर्दछ । यस रोगको मुख्य कारक थालेसीमियाको संवाहकमा भरपर्दछ । चिकित्सकका अनुसार थालेसीलिया मुख्य गरी दुई प्रकारका, आलेसीमिया माइनर र थालेसीमिया मेजर हुने गर्छ । थालेसीमिया संवाहकहरू आजीवन स्वस्थ्य रहन्छन, लेसीमिया रोगको कुनै पनि लक्षण उनीहरूको जीवनमा देखिँदैन । रगत परीक्षण गराएपछि मात्र यसको संवाहक हो वा होइन भनेर छुट्याउन सकिन्छ । 

थालेसीमिया संवाहक भएका दम्पतीबाट बच्चालाई जन्म दिएपछि थालेसीमिया मेजर भएको बच्चा जन्मिने सम्भावना हुन्छ । यस्ता दम्पतीबाट जन्मने हरेक पटकको बच्चामा थालेसीमिया मेजर हुने सम्भावना २५ प्रतिशत हुने चिकित्सकहरु बताउँछन् ।

थालेसीमिया माइनर हुने सम्भावना ५० प्रतिशत हुन्छ तथा स्वस्थ्य बच्चा जन्मिने सम्भावना २५ प्रतिशत मात्र हुन्छ । दम्पतीमा एकजना मात्र थालेसीमिया माइनर छ भने हरेक पटकको बच्चामा थालेसीमिया माइनर हुने सम्भावना २५ प्रतिशत मात्र हुन्छ तर थालेसीमिया मेजर चाँही हँुदैन ।

चिकित्सकका अनुसार अन्य कुनै तरिकाबाट यो रोग अरूमा सर्दैन । थालेसीमिया माइनर भएका कतिपय व्यक्तिले रक्तदान पनि गर्ने गरेका छन् ।

थालेसीमियाका लक्षण

यस रोग भएका बच्चा जन्मिएको दश हप्तासम्म स्वस्थ्य देखिन्छ । दश हप्तादेखि दुई वर्षभित्रमा बच्चा अस्वस्थ्य देखिन थाल्छ । विशेष गरी बच्चा नफस्टाउनु, पेट ठूलो हुँदै जानु, हातखुट्टा सुक्दै जानु, नङ, हत्केला, पैताला, ओठ र आँखा सेतो हुँदै जानु, बच्चामा रगतको कमी देखिनु यस रोगका मुख्य लक्षण हुन् ।

धेरै प्रकारका परीक्षणपछि मात्र चिकित्सकहरू थालेसीमिया हो भन्ने निष्कर्षमा पुग्दछन् । अझै पनि नेपालका धेरै अस्पतालमा यस रोगको राम्रोसँग निदान र पहिचान हुन नसकिरहेको बिरामीको गुनासो छ ।

थालेसीमियाको उपचार

“यो रोगबाट मुक्ति पाउने भरपर्दो उपचार आजसम्म केही पनि छैन”, वंशाणुगत रोग विशेषज्ञ डा ठाकुरले भन्नुभयो । बोनम्यारो ट्रान्सप्लान्टबाट यो रोगको उपचार गर्न सकिन्छ । तर बोनम्यारोको म्याच पाउन निकै दुर्लभ हुने गर्छ । देशभित्र यस प्रकारको उपचार सुविधा नभएका कारण विदेश गएर उपचार गराउँदा लाग्ने खर्च महँगो हुने गरेको डा ठाकुरले बताउनुभयो । बिरामीले नियमित रगत र आवश्यकताअनुसार नियमित औषधि सेवन गर्दै आउने गरेका छन् ।

थालेसीमियाको रोकथाम

विवाहपूर्व र ढिलो बच्चा गर्भमा आउनुपूर्व थालेसीमिया संवाहक हो÷होइन भनी रगत परीक्षण गराउन सके यस रोगको रोकथाम गर्न सकिने चिकित्सकको सुझाव छ ।

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, २६ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्डपस्थित बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ, त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उहाँले त्यसलाई व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभएको हो ।

चालु आर्थिक वर्षमा चार करोड बजेट रहेको भन्दै उहाँले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई ‘सेमी पर्मानेन्ट’ बनाउने प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिनुभयो । भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकाले पुनःनिर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि मन्त्री चौधरीले परिषद्का कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भृकुटीमण्डपको पार्क, उद्यानलगायतका क्षेत्रको व्यवस्थापन गर्नसमेत निर्देशन दिँदै भाडा नतिर्नेसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन । यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेलाई कसरी उठाउने भन्ने विषयमा योजना बनाएर काम गर्नुस् ।”

त्यस अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचना व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), २६ वैशाखः पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताउनुभयो । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उहाँको शव सोही दिन अपराह्न फेला परेको हो । उहाँका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।

हुम्ला खडेरीको चपेटामा, खेतमै सुक्यो बाली

सिमकोट (हुम्ला), २६ वैशाखः हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ ।

सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन् । पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन् । हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका–३ का गाजीमा लामा बताउनुहुन्छ । यस वर्ष हिउँ नपर्दा भोकमरीको अवस्था आएको उहाँले बताउनुभयो । चैतमा कोदो र वैशाख पहिलो साता चिनो छर्नुपर्नेमा पानी नपर्दा खेती गर्न नपाएको लामाले बताउनुभयो ।

पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सीलगायत अन्य तरकारी लगाउन नपाएको सिमकोट गाउँपालिका–२ ठेहेगाउँका किसान गौगोरा बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “आठ–दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ ।”

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बुधबार आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्”, प्रधानमन्त्री दाहालले भने, “समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिए ।

सुरुङमार्गबाहेक अन्य निर्माणकार्य ‘ब्यारेज, पावरहाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन’ नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्न निर्देशन दिए ।

मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।