`

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदानस्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका सात वटा सवारी साधन स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले त्यस्तो जानकारी दिनुभएको हो ।

बैठकले चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माण गर्न करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र सैनिक गट्टाघर, भक्तपुरका लागि मध्यपुर ठिमी नगरपालिकामा करिब सात सय ६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड–सेती–बुढीगङ्गा दोभान सडकखण्ड निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुखट्टपाल हटाउन स्वीकृति दिने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सङ्कटापन्न वन्यजन्य तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा १,७३,०७१.७९२ केजी रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने र अमरगढी नगरपालिकाको बसपार्क निर्माणको लागि राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुख बिरुवा हटाउन स्वीकृति दिनेसमेत निर्णय गरेको छ ।

यस्तै, लालझाडी गाउँपालिका कञ्चनपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, गुजरा नगरपालिका रौतहट, मालिका गाउँपालिका म्याग्दी, कलैया उपमहानगरपालिका बारा, जन्तेढुङ्गा गाउँपालिका खोटाङ, दिपायल सिलगढी नगरपालिका डोटी र तुम्बेवा गाउँपालिका, पाँचथरलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

त्यसैगरी दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनःअनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बिहीबारकै बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम नन्दलाल माझि (सुनसरी) र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौँ) लाई नियुक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबडी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने, राष्ट्रिय व्यापार सहजीकरण समिति गठनगरी काम, कर्तव्य र अधिकार तोक्ने, जलस्रोतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको, २०८० सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने र राष्ट्रपतिसमक्ष नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई यही जेठ १ गते दिनको १ बजे सम्बोधन हुन र त्यका लागि सदस्यको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने सरकारको निर्णय छ ।

‘कि त बाँच्ने अवसर देऊ, नभए मर्न देऊ’ भन्दै सरकारलाई गुहार माग्दै अनसनमा २७ वर्षीय दीपक

काठमाडौँ, २८ वैशाख : तनहुँको म्याग्दी गाउँपालिका–७ का २७ वर्षीय दीपक भण्डारी यतीबेला ‘कि त बाँच्ने अवसर देऊ, नभए मर्न देऊ’ भन्दै सरकारलाई गुहार माग्दै अनसनमा हुनुहुन्छ । डेढ वर्षअघि सवारी दुर्घटनामा परी गम्भीर घाइते उहाँ ‘स्पाइनल कर्ड इन्जुरी’ का कारण थला परेपछि सहयोग र सहयोगीको माग गर्दै दस दिनदेखि काठमाडौँको शान्तिवाटिकामा अनशन बस्नुभएको छ ।
यसअघि गत चैत छ गतेदेखि १४ गतेसम्म अनसनमा बस्दा सरकारले आवश्यक सहयोग गर्नेभन्दै अनसन फिर्ता गराए पनि सम्झौता पालना नभएको भन्दै उहाँ फेरि आन्दोलनमा उत्रिनुभएको हो ।

यसरी तुहियो सपना- भन्डारी सानैदेखि दौडमा अब्बल हुनुहन्थ्यो । उहाँले कुनै बेला नेपाल आर्मीको जागिर खाने भन्दै त्यसको तयारी पनि गर्नुभयो । यत्तिकैमा उहाँको मन फेरियो । त्यसैले आर्मी बन्ने सपना छोडेर सामान्य व्यवसायमा लाग्नुभयो । जीवन खुसीसाथ चलेकै थियो । त्यहीबेला विसं २०६६ सालमा उहाँको जीवनमा अकल्पनिक घटना घट्यो ।
डेढ वर्षअघि सवारी दुर्घटनामा परेर उहाँ गम्भीर घाइते हुनुभयो । ‘स्पाइनल कर्ड इन्जुरी’ भएपछि त्यसयता शरीर चलेको छैन । बोल्नसक्नु हुन्छ तर शरीर चलेको छैन । उहाँलाई ह्विलचियरमा बस्दा पनि डोरीले बाँध्नुपर्ने स्थिति छ ।

दुर्घटनामा परेको विपत्ति त छँदैछ । सुखदुःखमा साथ दिने कसम खाएर बिहे गरेकी श्रीमति पनि छुट्टिएर बसेपछि सम्हाल्ने कोही छैन । शरीर निष्क्रिय भएपछि भण्डारी परिवारबाट एक्लो पर्नुभएको छ । एउटा छोरी पनि पढाइमा व्यस्त छन् । दुर्घटनामा परे पनि उहाँले हिम्मत हार्नु भएन । श्रीमति हुँदै गाउँमै सानो किराना पसल थापेर बस्नुभयो । त्यही पसल पनि विसं २०७८ सालमा अचानक आगलागीले खरानी भयो । सामान्य किराना पसल गरेर गर्जो टारिरहेका उहाँलाई त्यहाँ पनि भाग्यले ठग्यो । त्यो घटनाले भण्डारीको हातमुख जोर्ने आधारमात्रै गुमेन श्रीमतीसँगको सम्बन्ध पनि धरापमा पर्यो ।

“छोरी पढाइमा व्यस्त छिन्, श्रीमतीले छोडिन्”, उहाँ भन्नुहुन्छ, “दैवले त ठगेको थियो, जीवन साथीले पनि छोडिन् तर सास रहुन्जेल बाँच्ने आधार त खोज्नै पर्यो । त्यसैले कोही नभए राज्य छ नि भनेर आवाज उठाइरहेको छु ।”
आफूलाई सहयोगको याचना गर्दै उहाँले सुरूमा स्थानीय तहमा धाउनुभयो । नजिकको सरकार भनिएका स्थानीय तहले बजेटलगायत विभिन्न कारण देखाएर सहयोग गरेन तर आश्वासन दिइरह्यो । आम्दानीको नाममा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अरू केही नभएको बताउने उहाँ शौचालयमा लैजानसमेत ह्वीचेयरबाट उठाउने सहारा कोही नभएपछि थप तनावमा हुनुहुन्छ ।

त्यसैकारण स्थानीय तहबाट सहयोगको आशा टुटेपछि सङ्घीय सरकारसमक्ष आफ्नो माग राख्न काठमाडौँ आएको उहाँको भनाइ छ । “हिँडडुल नै गर्न नसक्ने मलाई काठमाडौँ आउनु अर्को चुनौतिको विषय हो । भर्नुभन्दा बहुलाउनु ठीक भन्ने सोचेर यहाँ आएको छु । पहिलो पटक अनसनबस्दा सरकारले माग सुनुवाई गर्ने भनि सम्झौता गरे पनि फेरि अनसन बस्न बाध्य भएको छु”, भण्डारीले भन्नुभयो ।

सम्झौता पूरा हुने आशा

प्राप्त जानकारीअनुसार उहाँ गत चैत ६ गते सरकारसमक्ष सहयोग माग गर्दै काठमाडौँ आउनुभएको थियो । त्यसक्रममा उहाँले गृह मन्त्रालयदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसम्म धाउनुभयो । आश्वासनमा हुन्छ भन्ने जवाफ पाए पनि उहाँको माग सुनिएन । त्यसपछि उहाँ शान्तिवाटिकामा धर्ना बस्नुभयो । चैत १४ गते उहाँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच तीनबुँदे सहमति भयो । वैशाख १ गतेदेखि लागू हुनेगरी सम्झौतापत्रमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ को नियम ९ को व्यवस्थाबमोजिम चरणबद्धरूपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नेगरी दुई हस्तामा पेश गर्न भनि आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन तयार गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, कार्यक्रम र मापदण्डबमोजिम स्थानीय तहको सिफारिस प्राथमिकीकरणगरी पहिलो चरणमा ११ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई नियम ९ बमोजिमको सामुदायिक सहायता सेवा वैशाख १ गतेदेखि सुरुआत गर्ने सम्झौता भयो । त्यही आधारमा सोहीदिन भण्डारीले धर्नालगायत सबै कार्यक्रम स्थगित गर्ने भनियो ।

सोही सम्झौता कार्यान्वयन नभएपछि उहाँ दस दिनदेखि फेरि अनशन बस्नुभएको हो । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नियमावली २०७७ मा पूर्णरूपमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी व्यक्ति उपलब्ध गराउने, अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने र निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनेलगायत अधिकार सुनिश्चित गरिएको छ । यद्यपि यी कुनै पनि अधिकार व्यावहारिक रुपमा लागूनभएका भण्डारी बताउनुहुन्छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराई भने पूर्ण अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न आफूहरू सक्रिय रहेको बताउनुहुन्छ । उहाँले चालु आर्थिक वर्षमा बजेट अभावका कारण माग पूरा गर्न ढिला भए पनि भण्डारीलगायत अपाङ्गता भएका व्यक्तिको फाइल अर्थ मन्त्रालयमा पठाएकाले प्रक्रियामै रहेको बताउनुभयो ।

बाध्य पारिए इजराइल एक्लै भए पनि खडा हुनेछ : प्रधानमन्त्री नेतान्याहु

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले ‘बाध्य’ पारिए इजराइल हमासविरुद्धको युद्धमा ‘एक्लै खडा’ हुने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा सहर रफाहमा इजराइलले लामो समयदेखि गरेको आक्रमणका लागि अमेरिकाले आक्रामक हतियार उपलब्ध नगर्ने बताएपछि नेतान्याहुले यस्तो टिप्पणी गर्नुभएको हो ।

“एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु, यदि इजराइल एक्लै खडा हुन बाध्य भयो भने इजराइल एक्लै खडा हुनेछ”, नेतान्याहूले भन्नुभयो, “तर हामीलाई थाहा छ कि हामी एक्लो छैनौँ,  संसारभरका सभ्य मानिसहरूले न्यायपूर्ण उद्देश्यलाई समर्थन गर्छन्, हामी हाम्रा नरसंहारक दुश्मनहरूलाई हराउने छौँ ।”

उहाँले ८० वर्षअघि यहुदीहरू रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताउनुभयो । “आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरूविरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्”, मुलुकको वार्षिक यहुदी नरसंहार स्मृति दिवसलाई  सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ, म विश्वका नेतालाई भन्छु कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको कुनै पनि निर्णयले इजराइललाई आफ्नो रक्षा गर्न रोक्न सक्तैन ।”

नेतान्याहुले एक्लै खडा हुनुपरे एक्लै खडा हुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक भएमा आफ्नै बलबुताले लड्ने बतउनुभयो ।

योम हासोह त्यस्तो दिन हो जुन दिन इजराइलले नाजी जर्मनी र यसका सहयोगीहरूद्वारा यहुदी नरसंहारमा मारिएका ६० लाख यहुदीको स्मृतिका रूपमा मनाउँछ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्वको बीजारोपण भएको थियो । हमासको आक्रमणमा करिब दुई हजार पाँच सय लडाकूले गाजा पट्टीबाट इजराइलको सीमा पार गरेर सर्वसाधारणको हत्या गरेका थिए भने केहीलाई बन्धकसमेत बनाएका थिए । 

त्यसयता नै इजराइलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै हमास समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ ।   मे ५ मा हमासले रफाह सीमा क्रसिङ क्षेत्रबाट र विस्थापित प्यालेस्टिनीहरूले तम्बुमा शरण लिइरहेका क्षेत्र नजिकैबाट रकेट प्रहार गरेको थियो । हमासको आक्रमणले केरेम शालोम सीमा क्रसिङलाई लक्षित गरी चार सैनिकको ज्यान लियो । सबै गाजा सीमा क्रसिङमध्ये केरेम शालोम सबैभन्दा धेरै मानवीय सहायता ट्रकहरू ह्यान्डल गर्न सुसज्जित भए पनि आक्रमण भएदेखि क्रसिङ बन्द गरिएको छ ।

सीमा पार गर्ने हमासको नियन्त्रणले यसलाई इजिप्टबाट मानवीय सहायता वितरण अपहरण गर्न अनुमति दिएको छ । 

पछिल्लो समय रफाह छिमेकका बासिन्दाहरूले खान युनुस र अल–मवासीको तटीय क्षेत्रमा विस्तारित मानवीय क्षेत्रहरूमा खाली गर्न निर्देशन दिइएका फोन, एसएमएस सन्देश, एयर–ड्रप फ्लायरहरू र मिडिया प्रसारणहरू प्राप्त गरेका छन् ।  

गाजा–इजिप्ट सीमामा फिलाडेल्फी कोरिडोर भनेर चिनिने भूमिको शिविरमा रहेका विस्थापित प्यालेस्टिनीहरूलाई पनि खाली गर्न सन्देशहरू आएका थिए । सन् २००६ मा इजराइलले गाजाबाट अलग्गिएपछि हतियार तस्करी रोक्नका लागि यसलाई बफर जोनका रूपमा बनाएको थियो । तर सन् २००७ मा हमासले प्यालेस्टिनी अधीनस्थ क्षेत्रबाट हिंसात्मकरूपमा गाजाको नियन्त्रण खोस्यो । 

औद्योगिक व्यापार मेला : मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण

काठमाडौँ, २८ वैशाख – राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७आँै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ । प्रदर्शनीमा विभिन्न प्रकारका अचार, मह, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरुले निकै मन पराएको पाइएको छ । 

काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडा बाँस, वेतबास आदिबाट निर्मित सजावटका सामान, गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक सङ्घसंस्था, वैकल्पिक÷नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरण र अन्य औद्योगिक वस्तु प्रदर्शन गरिएको छ ।

यसैगरी चन्द्रागिरि नगरपालिकाद्वारा प्रवर्द्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी,काष्टकला, नेपाली कागज, छालाजुत्ता, प्राङ्गारिक मल, हस्तकलाका सामग्री,  तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औँ श्रृङ्खला “नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१” आइतबारसम्म चल्नेछ ।

मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा “खोजौँ नेपाली, रोजौँ नेपाली” र “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” भन्ने रहेको छ । 

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणको रुपमा रहेको बताउनुभयो । 

राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

सुर्खेत, २८ वैशाख : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ । आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई तथा महिलातर्फ सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो ।

पुरुष फाइनमा सुर्खेतले ४७ अङ्क तथा दैलेखले २९ अङ्क प्राप्त ग¥यो । यस्तै महिलातर्फ सुर्खेतले २९ तथा सल्यानले २७ अङ्क प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । पुरुषतर्फ जाजरकोट र सल्यान तृतीय भए । महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भए । 

प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका हुम्ला बाहेक नौ जिल्लाको टोली तथा महिलातर्फ डोल्पा, हुम्ला र रुकुम पश्चिम बाहेकका सात जिल्ला सहभागी थिए । तीन दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई पूर्व सांसद गोपालबहादुर बम, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य टक्कबहादुर शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए । 

कर्णाली प्रदेश खेककुद विकास परिषद्को आर्थिक सहयोग तथा मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारातालको किनारमा पहिलो पटक कर्णाली प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब रु एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको कूल खर्च रु २८ लाख ३६ हजार आठ सय ३४ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यही वैशाख २९ देखि जेठ ४ गतेसम्म बङ्गलादेशमा आयोजना हुने सिकाइ आदान–प्रदान कार्यक्रममा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्वीकृति दिने र दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसियामा आयोजना हुने तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन आगामी जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति दिने पनि सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले इन्डोनेसियाको बालीमा आयोजना हुने दसौँ वल्र्ड वाटर फोरमअन्तर्गत यही जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रिस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिनेसमेत निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

“कोहलपपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रहरी अतिरिक्त महानिरीक्षकहरु टेकप्रसाद राईलाई प्रशासन विभागमा सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने निर्णय भएको छ”, प्रवक्ता शर्माले भन्नुभयो । त्यसैगरी, मन्त्रिपरिषद्ले प्रहरी नायब महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ । ट्रामाडोल ( र टपेन्टडोल औषधिहरुका एकल वा सम्मिश्रण औषधिहरुलाई लागू औषध नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोदीपक औषधीको सूचीमा समावेश गर्ने सरकारको निर्णय छ ।

९ करोड लागतमा कर्णालीको कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् । आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताउनुभयो । “गत वैशाखदेखि निर्माण सुरु भएको थियो”, उहाँले भन्नुभयो, “सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।”

सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिनुभयो । “निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्”, उहाँले भन्नुभयो, “बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन् ।” 

सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताउनुभयो । “यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले रु नौ करोड लागतमा बनाएको हो”, उहाँ भन्नुभयो, “पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।”

स्थायी आवासको व्यवस्था मिलाइदिन इस्माका अग्निपीडितको सरकारसँग माग

तम्घास (गुल्मी), २८ वैशाख : गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नं. २ सिन्दुखा र वडा नं. ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो । आफ्नो घर–गोठ जलेपछि पीडित छिमेकीकोमा रात कटाए पनि उनीहरुले स्थायी आवासको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।

इस्मा गाउँपालिका–४ दोहोली कोटकोटेरीका बिमला अधिकारीले छ वर्षअघि दुईतले घर बनाउनुभयो । घर बनाउँदा लागेको ऋण तिर्न श्रीमान् परदेश जानुभयो । नयाँ घरमा छोराछोरीसहित बिमलाले जेनतेन गुजारा चलाइरहनुभएको थियो । तर बिमलाको परिवारलाई नयाँ घरमा धेरै समय बस्न भाग्यले दिएन । वैशाख ८ र ९ गते लागेको भीषण आगलागीले उहाँको घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भयो । “घर जलेको खबर मैले श्रीमान्लाई भन्नै सकेकी थिइन्, तर नभनी पनि भएन”, उहाँले भन्नुभयो, “ऋणमाथि बनाएको घरसँगै खुसी पनि जलेको छ”, उहाँले अहिले पनि घर बनाएको ऋण भएको बताउनुभयो । श्रीमान् रोजगारीका लागि रोमानिया गए पनि त्यहाँ सोचेजस्तो कमाइ नभएकाले अहिले तत्काल घरमा पैसासमेत पठाउन नसक्ने बताएको बिमलाले सुनाउनुभयो । उहाँका छोराले एसइई दिएका छन् भने छोरी गाउँकै विद्यालयमा कक्षा ५ मा प्रथम भएकी थिइन् । तर छोरीले पाएको पुरस्कार पनि घरसँगै जलेको छ । बिमलाको परिवार अहिले छिमेकीको घरमा गुजारा चलाएर बसेको छ । “सधैँभरि छिमेकीकोमा बस्ने कुरा पनि भएन, सरकारले स्थायी आवास बनाइदिए राम्रो हुने थियो”, उहाँले भन्नुभयो ।

सोही आगलागीमा परेर कोटकोटेरीको सुरेन्द्र विकको पनि घर जल्यो । छोराको परिवार एउटै घरमा दुई परिवार भएर बसेका थिए । छोरा–बुहारीले टेलरिङ पसल सञ्चालन गरेका थिए भने सुरेन्द्र र उहाँकी श्रीमतीले किराना पसल सञ्चालन गर्नुभएको थियो । त्यसबाट उहाँहरुको जीविकोपार्जन भएको थियो । तर वैशाख ९ गतेको आगोले उहाँहरुको घर, लत्ताकपडासँगै खुसी पनि जल्यो । पहिले गाउँमै व्यापार गरिरहेका विक परिवार अहिले आवासको खोजीमा छ । “भएको घर जल्यो, अहिले छिमेकीकोमा बसेर गुजारा चलाएका छौँ”, विकले भन्नुभयो, “हामीलाई जतिसक्दो छिटो स्थायी आवासको व्यवस्था भएमा पहिलेकै जिन्दगीमा फर्कने कोसिस गर्ने थियौँ ।”

कोटकोटेरीकै बलबहादुर दर्जीको पनि आगोमा परी दुई घर र एउटा गोठ जल्यो । अहिले छिमेकीको घरमा बस्दै आएका दर्जी आफू सानोमा पनि आगोमा परेर भाग्यले बाँचेको सम्झनुहुन्छ । अहिले पुनः आगोले घर जलेको छ । “अब बर्खा पनि सुरु हुन थाल्यो, जतिसक्दो छिटो स्थायी आवास भयो भने अलि राहत हुने थियो”, दर्जीले भन्नुभयो ।

बिमला, सुरेन्द्र र बलबहादुर त आगोले घर जलेर स्थायी आवास बनाइदिन अनुरोध गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । उहाँहरुजस्तै इस्माका अन्य अग्निपीडितले आफूहरुलाई अस्थायी आवासभन्दा स्थायी आवास नै बनाइदिन माग गरेका छन् । अहिले वर्षा भएको र थप वर्षा हुने समय पनि नजिकिएकाले उनीहरुले सकेसम्म वर्षाअघि नै नयाँ घर बनाउने विषयमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

आगोमा परेर इस्माका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट दुईसयभन्दा बढी नागरिक प्रभावित भएका छन् । योबाहेक एउटै घरमा दुई परिवार भएर बसेका, गोठमा समेत परिवार बसेका गरी इस्मामा बढी मात्रामा क्षति भएको छ ।

इस्मा गाउँपालिकाले आगलागीबाट क्षति भएका संरचनाको उचित व्यवस्थापन र केही ठाउँमा अस्थायी आवास निर्माण गर्नको लागि प्रधानमन्त्री रोजगारका कामदारसमेत परिचालन गरेको थियो । त्यसका साथै जनप्रतिनिधि र कर्मचारीले समेत स्थानीयको सहयोगमा श्रमदान गरेका थिए । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले घर निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारीमा चार र गाउँपालिकाको रु एक लाख गरी पाँच लाख प्रदान गर्ने बताउनुभयो । पालिकाले दिने रकमको सम्झौता समेत गरिएको छ ।

जसमा रु ५०÷५० हजार गरी दुई किस्तामा रकम प्रदान गरिने छ । अध्यक्ष खड्काले अहिले आफूहरु विपद्मा रहेको भन्दै सक्दो सहयोग गर्न सबैसँग अपिल समेत गर्नुभयो । अग्निपीडितको अवस्था अवलोकन गर्न पुगेका सोही क्षेत्रका स¬ङ्घीय सांसद गोकर्ण विष्टले आफूहरुले पीडितको घर बनाउने गरी योजना बनाएको बताउनुभयो । “वर्षाअगावै घर बनाएर पीडितलाई हस्तान्तरण गर्न लागिपरेका छौँ”, विष्टले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा दश महिनामा २१ गैँडा मरे

चितवन, २८ वैशाखः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन् । सङ¬्ख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ ।” यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैँडा मरेको थियो । हाल निकुञ्जमा छ सय ९४ गैँडा छन् । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ ।

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

बागमती, २८ वैशाखः बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदैछ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका दुई सयभन्दा बढी सहभागिता हुने उपाध्यक्ष चौलागाईँले बताउनुभयो ।

प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनमा सहभागी युवाबीच आपसी सञ्जाल निर्माण, नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापलगायत कार्यक्रम हुनेछ । विश्वविद्यालय शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको तथा उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति बढेको विषयमा पनि केन्द्रित छलफल हुनेछ ।

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौँ, २८ वैशाखः नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान पुर्याइरहनुभएका नेपालीको कथा दर्शाउँछ ।

अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गर्नुभएको उक्त प्रदर्शनीलाई अष्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा निजी र अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा अष्ट्रेलियामा आर्जन गरेको सीप र ज्ञान नेपाल फर्केर सिपालु उद्यमी, सामाजिक कार्यकर्ता, ‘सेफ’ वा ‘डिजाइनर’का रूपमा स्वदेशमा नै सम्भावनाको खोजी गरेका वास्तविक कथा समेटिएका छन् ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजदूत भोल्कले प्रदर्शनीबाट विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका अरु युवालाई नेपाललाई नै आफ्नो अन्तिम गन्तव्य बनाउन प्रेरित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली विद्यार्थीको उपस्थितिले अष्ट्रेलिया खुसी हुन्छ तर व्यावसायिक सीपयुक्त नेपालीहरू नेपालको दुरगामी समृद्धि र प्रगतिका लागि यहाँ आएर उपलब्ध सम्भावनाहरूको खोजी गर्न कति आवश्यक छ भन्ने कुराका बारेमा पनि जानकार छ ।”

राजदूत भोल्कले भन्नुभयो, “प्रदर्शनीमा समावेश एघार व्यक्तिहरूको प्रयास, निरन्तको लगाव र सफलताको उत्सव मनाउँछु । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरू स्थापना गर्ने र ती सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास व्यक्त गर्दछु ।”

जो रयान्खन हाल काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययन गरिरहनुभएको छ । प्रदर्शनीका बारेमा उहाँ भन्नुहुन्छ, “घर फर्किनु प्रदर्शनीले दर्शकहरूलाई नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि उपलब्ध सम्भावनाहरूको बारेमा सोच्न आमन्त्रण गर्दछ । यो प्रदर्शनीको उद्देश्य हाल नेपालबाट भइरहेको युवाहरुको विदेशिने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्कँदा हुने सकारात्मक प्रभावहरूलाई दर्शाउने, त्यसरी फर्कनेहरूको साहसको उत्सव मनाउने रहेको छ । प्रदर्शनीमा राखिएका कथा र अन्य यस्तै लाखौँ कथाहरू नेपालभर भेटिने कथाले विदेशबाट नेपाल फर्कनु कुनै असफलता होइन र यसले आफ्नो क्षमताको खोजी गर्ने नयाँ अवसर प्रदान गर्दछ ।”

प्रदर्शनी महारानी चोकमा जेठ ३ गते सम्म र काठमाडौँ नयाँसडकस्थित भूगोलपार्कमा जेठ ४ देखि जेठ १० गते जारी रहने छ ।

तनहुँमा प्लाष्टिकझोलामुक्त अभियानः पसल–पसलमा सचेतना कार्यक्रम

तनहुँ, २८ वैशाखः आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल–पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ ।

व्यास नगरपालिका प्लाष्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा छ जनाको टोली पसल–पसलमा पुगेर प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ । सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लाष्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह गरेको छ ।

गत चैत २ गतेदेखि मासु, दूध, कपडा, किराना पसल, तनहुँ उद्योग वाणिज्य सङ्घलगायत व्यवसायी तथा सङ्घसंस्थासँग छलफल गरी अभियान थालिएको हो । अभियानलाई जेठ १ गतेदेखि कडाइका साथ लागू गर्न व्यास नगरपालिकाले प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि, २०८१ समेत पारित गरिसकेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
प्लाष्टिक झोलामुक्त अभियानलाई सफल बनाउन कपडाको झोला उत्पादनमा नगरपालिकाले प्राथामिकता दिएको छ ।

मेडिकलबाटै लागुऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ

लुम्बिनी,- बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका– ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने औषधि बिक्रिवितरण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका–८ मा दर्ता रहेको डिस्कामुनी मेडिकल हलको प्रमाणपत्र राखेर बैदवार फार्मेसी सञ्चालन गर्दैआएका थिए ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा डाक्टरको सिफारिसबिना औषधि बिक्रीवितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवालाई बित्रmिवितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । डाइसाक्लोमिन– ९ हजार चार सय ट्याबलेट, प्रिगेस्टर पाँच सय ४२ ट्याबलेट, प्रिग्रा तीन सय ७० ट्याबलेट लगायतका औषधि चिकित्सकको सिफारिसबिना बिक्रीवितरण गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले मेडिकल सञ्चालक विकसहित स्याङ्जा जिल्ला, वालिङ् नगरपालिका–१३ बस्ने वर्ष २१ को ओम प्रकाश गैरे, रुपन्देही देवदह नगरपालिका–७ बस्ने वर्ष २९ को किरण दर्जी र बुटवल उपमहानगरपालिका–२ बस्ने वर्ष ३० को मनिस विकलाईसमेत नियत्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

सिराहा कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी

सिरहा- सदरमुकाम सिराहामा रहेको कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ । सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र चार सय ८० जना पुरुष कैदी थुनुवा गरी कूल पाँच सय आठजना राखिएका छन् ।

उहाँको अनुसार कारागारमा दुई सय ५१ पुरुष र १५ महिला कैदी तथा दुई सय २९ पुरुष र ११ महिला थुनुवा र दुई आश्रित बालबालिका छन् ।

विसं २०२८ मा स्थापित सिराहा कारागारमा १५ महिला र एक सय ३५ पुरुष गरी कूल एक सय ५० जना कैदीबन्दी बस्ने क्षमता भए पनि तीन गुणाभन्दा पनि बढी कैदी र थुनुवा राखिएपछि तीन–तीनजनासँग मिलेर सुत्नुपर्ने बाध्यता रहेको कैदी बन्दीले गुनसो गरेका छन् । क्षमताभन्दा बढी बन्दी रहदा शौचालय, खानेपानी लगायतको समस्या रहेको पनि उनीहरुले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता

दमौली (तनहुँ), २८ वैशाखः चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् ।

दुई सय ७८ उद्योग खारेज- चालु आवमा जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आवमा दुई सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।

चालु आवमा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् ।

चट्याङपीडितलाई सहयोग- यसैबीच, देवघाट गाउँपालिका–४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठजना सदस्यमध्ये तीनजना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब रु दुई लाख बराबरको क्षति भएको बताइएको छ ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण

म्याग्दी, २८ वैशाखः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।

गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो ।

इमाटोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको रु ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् । यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताउनुभयो ।

प्रारम्भमा रु २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको ‘भेरियसन अर्डर’ गर्ने क्रममा लागत बढेर रु २४ करोड पुगेको छ । हालसम्म रु १८ करोड भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताउनुभयो ।

राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो । स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ ।

स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन् । लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को छ दशमव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।

रफाहमा इजराइलको कदमले युद्धविराम वार्तालाई ‘अवरोध’ गर्ने उद्देश्य राखेको हमासको भनाइ

हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्तालाई रोक्न गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा आक्रमण गरेको आरोप लगाएका छन् । इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्याङ्कहरू पठाएर इजराइलले अन्तर्राष्ट्रिय आपत्तिहरूको अवहेलना गरेको छ । उसले मङ्गलबार बिहान उक्त क्रसिङलाई कब्जामा लिएको छ । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो ।

“रफाह र यसको सीमा नाकामा भएको सैन्य कारबाहीले मध्यस्थकर्ताहरूको प्रयासमा बाधा पुर्याउने उद्देश्य राखेको छ”, इज्जत अल–रिस्कले विज्ञप्तिमा भन्नुभयो, “यद्यपि हमास अहिले पनि मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत (युद्धविराम) प्रस्तावलाई स्वीकार गर्न प्रतिबद्ध छ ।”

उहाँले कायरोमा वार्ताका लागि पठाइएको हमासको प्रतिनिधिमण्डल प्रस्थान गरी कतारको राजधानी दोहा फर्किएको बताउनुभयो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले महिनौँदेखि इजराइल र हमासबीचको सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् ।   इजिप्टको गुप्तचरसँग सम्बन्धित अल–काहेरा न्युजले लामो समयदेखि रोकिएको युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधिमण्डलहरूको वार्ता बिहीबार कायरोमा जारी रहने बताएको छ । 

रामेछापको एक सय ५५ स्थानमा डढेलो, चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली (रामेछाप), २८ वैशाखः एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् ।

यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् ।यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ । वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ ।

आज अक्षय तृतीया पर्व ,जौँको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ, २८ वैशाख: आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।

यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जाँै, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।

पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको उहाँको कथन छ ।

कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ, २८ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा बाँकी पहाडी भागका आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी र बागमती प्रदेशलगायत देशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

एनसेल सेन्टर वीरगञ्जमा सञ्चालन, के–के पाइन्छ सुविधा ?

वीरगञ्ज (पर्सा- टेलिकम सेवा कम्पनी एनसेलले औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा ‘एनसेल सेन्टर‘ सञ्चालनमा ल्याएको छ । एनसेललेद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा एनसेलका चिफ अफ स्टाफ अपरेशनका स्टेफेन रोड्रिगेजले वीरगञ्जको घण्टाघर नजिकै रहेको ‘शीवा हस्पिटल’ मा एनसेल सेन्टरको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । ‘‘एनसेलले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दाे सेवा उपलब्ध गराउँदै आइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘एनसेलले ग्राहकलाई उत्कृष्ट खालको सुविधा दिने प्रयत्न जारी राखेको छ ।’’

यसअघि एनसेल सेन्टर वीरगञ्जको माइस्थानमा रहेको थियो । तर, अहिले नयाँ साजसज्जासहित घण्टाघर नजिकै रहेको शिवा हस्पिटलमा सञ्चालनमा ल्याइएको हो । एनसेलका ‘कष्टमर एक्सपेरियन्स मेनेजर’ ज्योती दाहालले वीरगञ्जमा स्थापना गरेको सेन्टरले पर्सा,बारा र रौतहत जिल्लामा पनि सहजीकरण गर्ने जानकारी दिनुभयो । एनसेल सेन्टरले सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गण्डकीमा बर्सेनि सवारी दुर्घटना बढ्दै , चार वर्षमा एक सय ७७ जनाको मृत्यु

गण्डकी- कास्कीमा आव २०७७र७८ मा ६४ सडक दुर्घटना भए । दुर्घटनामा ४३ ले ज्यान गुमाए भने ३२ गम्भीर घाइते भए । अर्को वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भयो । ७९ जना गम्भीर घाइते भए । आव २०७९÷८० मा एक सय १७ सडक दुर्घटना भए । ४४ जनाले ज्यान गुमाए भने एक सय २३ गम्भीर घाइते भए ।

चालु आवको वैशाख तेस्रो सातासम्ममा भएका ७७ दुर्घटनामा ३५ जनाको मुत्यु भएको छ । गम्भीर घाइते हुनेको सङ्ख्या ४९ छ । यो तथ्याङ्कले बर्सेनि सवारी दुर्घटना बढिरहेको देखाउँछ । झण्डै चार वर्षको अवधिमा कास्कीमा भएका सडक दुर्घटनामा परी एक सय ७७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । पछिल्लो समय पोखरा–बागलुङ राजमार्गको जिरो किमिदेखि हरिचोक खण्डमा दुर्घटना बढी भएको पाइएको उहाँको भनाइ छ । जिरो किमिदेखि हरिचोक हुँदै हेम्जा जोड्ने सडक चार लेन भएपछि तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको बताइन्छ ।

“दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति हो, चालकले मादकपदार्थ सेवन गरेका कारण पनि सवारी दुर्घटना हुने गरेको छ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो, “प्रयाप्त सडक बत्ती नहुँदा पनि रातिमा दुर्घटनाको जोखिम बढेको छ, कमसल सडक, यान्त्रिक गडबढी, जभाभावी पार्किङ जस्ता कारणबाट पनि दुर्घटना निम्तने गरेको छ ।”

चौडा र स्तरीय सडकमा चालकले सवारीसाधन तीव्र गतिमा गुडाउँदा दुर्घटना हुने गरेको उहाँले बताउनुयो । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा र यातायात सेवाका नियमबारे चालकदेखि पैदलयात्रुसम्म सचेत र संवेदनशील बन्नुपर्ने उहाँको भनाइ छ ।

९० देखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढ्दो आवादी, सवारी चाप, ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माण र विस्तार कार्यले पनि दुर्घटनाको जोखिम बढाएको हो ।

निर्माणाधीन धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा,दुई महिनामा काम सम्पन्न भई हस्तान्तरण गरिने

धरान (सुनसरी-धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय काम भएको धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भइरहेको छ । रु ३३ करोड ७० लाख ४७ हजारभन्दा बढी लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० मा रू २३ करोड १५ लाख तीन हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो ।

हाल बसपार्कको टर्मिनल भवन निर्माण सम्पन्न भएको भने विद्युत् र पानीको लाइन विस्तारको काम ९८ प्रतिशत भएको छ । यस्तै, बसपार्कको बाह्य सडक, मार्वल, फल्स, सिलिङ लगाउने काम पनि अन्तिम चरण पुगेको निर्माण कम्पनीले जनाएको छ । बेसमेन्ट पार्किङ, तीनतले टर्मिनल भवनसहितको बसपार्कमा एकैपटक ३७ बस र २६ जीप अट्ने क्षमता छ ।

भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जीप, विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनीयर सरोजकुमार यादवले बताउनुभयो । यस्तै, भूइँतलामा करिब तीन सय यात्रु बस्नमिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्टसमेत रहने छन् । भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ सटर रहेका छन् ।

नगर उपप्रमुख बेघाले धरानमा व्यवस्थित बसपार्क नहुँदा सवारी चालक र यात्रुले निकै समस्या भोग्नुपरेको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक बसपार्क भवन निर्माण गरेको बताउनुभयो । “जनगुनासोअनुसार निर्माण गरिएको बसपार्कको अन्तिम काम बाँकी छ । अबको दुई महिनामा काम सम्पन्न भई हस्तान्तरण गरिने जानकारी पाएको छु”, बेघाले भन्नुभयो,“त्यसपछि धरानको बसपार्कसम्बन्धी समस्या समाधान हुनेछ । यात्रुको सहजता र नगरको आम्दानीका लागि बसपार्क निकै उपयोगी हुने हाम्रो विश्वास छ ।”
 

हेर्नुहोस् बैशाख २८ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि- ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि- पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि – परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि – कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि – कार्य सम्पादनमा अ?को दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि- अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि- अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वह?को अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

निर्माण व्यवसायीलाई मुख्यमन्त्री कँडेलको प्रश्नः दुई वर्षमा मात्र ३० प्रतिशत काम ?

कर्णाली,- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतका तीन पालिका जोड्ने बड्डीचौर–खम्बगाडे सडक निर्माणको काम ढिलाइ हुनुको कारणबारे निर्माण कम्पनीलाई स्पष्टीकरण लिनुभएको छ ।  भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा जिल्ला समन्वय समिति, पञ्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिका जनप्रतिनिधि तथा मन्त्रायलयका सचिव, प्रशासन तथा प्रहरी प्रमुख सहभागी छलफलमा निर्देशकसहित निर्माण व्यवसायीसँग सडक निर्माणमा ढिलाइ हुनुको कारणबारे जानकारी लिनुभएको हो ।

मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई प्रश्न गर्दै भन्नुभयो, “दुई वर्षमा मात्र ३० प्रतिशत निर्माणको काम ? कामको जिम्मा आफू लिने तर ढिलाइ कारण अरुलाई दोष दिएर उम्कन मिल्छ र ?”उहाँले निर्माण व्यवसायीसँगको छलफलमा नागरिकहरुको जीवनमा प्रत्यक्ष प्रभाव राख्ने क्षेत्रमा विविध कारण देखाएर कोही कसैले बताउनुभयो । सडक स्तरोन्नति भन्दा त्यसको अवस्था झन् बिग्रँदो रहेको बताउँदै उहाँले निर्माणको जिम्मा लिएको कम्पनीलाई नागरिकको आवागमनलाई जतिसक्दो छिटो सहज बनाउन निर्देशन दिनुभयो ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ असारमा सम्झौता गरेको निर्माण कम्पनीले बराहताल गाउँपालिकाको बड्डीचौर–पञ्चपुरी नगरपालिकाको खम्बागाडे १३ किलोमिटर सडकको निर्माणको जिम्मा लिएको थियो । यद्यपि निर्माण कार्य सम्पन्न गर्ने अवधि सकिनै लाग्दा करिब ७० प्रतिशत काम बाँकी भएपछि प्रदेश सरकारले उक्त जेभीलाई निर्माण कार्य पूरा गर्न निर्देशन दिएको छ ।

सडक स्तरोन्नतिका क्रममा देखा परेका अल्झनका सम्बन्धमा नीतिगत रुपमा गर्न मिल्ने र सकिने सबै प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता गर्दै मुख्यमन्त्री कँडेलले सडक निर्माणको कामलाई गति दिन व्यवसायीलाई आग्रह गर्नुभयो । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले कामको जिम्मा लिएर बाहाना बनाइ पन्छिने छुट निर्माण व्यवसायीलाई नरहेको जनाउँदै तत्काल निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

सङ्घीय सांसद दिक्पालकुमार शाहीले स्थानीय तह र नागरिक र वन कार्यालयको असहयोगका कारण निर्माणमा बाधा पुगेको दोषारोपण गर्नुभयो । उहाँले रुख कटान, गिटी, बालुवा सङ्कलनदेखि स्थानीय गर्ने अवरोधमा सहजीकरण गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष खड्क विकले काम सम्पन्न गर्ने मिति नजिकिँदै गर्दै दुई वर्षसम्म पनि स्थानीयस्तरमा काम गर्ने वातावरण सिर्जना गर्न नसक्नु नै कम्पनीको कमजोरी रहेको आरोप लगाउनुभयो ।

स्तरोन्नतिको काम छिटो हुनुभन्दा हिउँदा धुलो र वर्षाका हिलोले नागरिकलाई सास्ती मात्र नभइ उनीहरुको मानव अधिकार हनन् भएको उहाँले जिकिर गर्नुभयो । दुई वर्षको अवधिमा सम्पन्न गर्ने गरी कूल रु ४२ करोड ४७ लाख ६१ हजार बजेटमा अनक जयदेवी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच १४ असार २०७९ मा सम्झौता भई काम अगाडि बढाईएको थियो ।

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसक्नुभएको छ ।
 

मारवाडी क्रिकेट लिगः लुम्बिनी र वीरगञ्जको जित

लुम्बिनी(मर्चवार), २७ वैशाख : चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिगअन्तर्गत समूह ‘बी’ का आज भएका दुई खेलमा वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । वीरगञ्जले नेपालगञ्ज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौँडालाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् ।

लुम्बिनीको यो लगातार दोस्रो जित हो भने वीरगञ्जको पहिलो जित हो । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्ठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित २० ओभरमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ५० रनको झिनो स्कोर खडा गर्यो ।

उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न नसक्दा टिम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा वीरगञ्जका सुरज जोशीले ४ तथा केयल र पियुस शर्माले समान २–२ विकेट लिनुभयो ।

जवाफी ब्याटिङ गरेको वीरगञ्जले ४ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि सुमित कदमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगञ्जका अभी अग्रवालले १ विकेट लिनुभयो । खेलमा सुरज जोशी प्लेयर अफ द म्याच हुनुभयो ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ५४ रनमात्रै बनाउन सक्यो । उसका लागि दिवेश शर्माले १५ रन बनाउनु भए पनि अन्य ब्याटर्सले दोहोरो अङ्कमा रन बुटल्न सक्नुभएन । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले ४, शुभम अग्रवालले ३, दामोदर शर्माले २ र सोमेस अग्रवालले १ विकेट लिनुभयो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५ ओभर ६ बलमा २ विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जित दर्ज गर्यो । उसको जितमा शुभम् अग्रवालले सर्वाधिक २७ रनको योगदान दिनुभयो । बलिङमा शिवम् वारियर्स हेटाँैंडाका आर्यन अग्रवालले २ विकेट लिनुभयो । खेलमा शुभम् अग्रवाल म्यान अफ द म्याच हुनुभयो ।

प्रतियोगितामा १४ टिम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेल विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौँमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिनुभयो ।

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान

किमाथाङ्का (सङ्खुवासभा) २७ वैशाख- सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ ।खराब मौसमका कारण दुई सातादेखि ठप्प उडान पानी परेर तुवाँलो हटेपछि सुरू गरिएको नागरिक उड्यान प्राधिकरण तुम्लिङटारले जनाएको छ ।

तुम्लिङटार विमानस्थलमा जनवरी देखियता ४४ भन्दा बढी उडान अवरुद्ध भइसकेका छन् । गत वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदैआएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपर भिजिबिलिटी आवश्यक पर्छ ।

मटिहानीका आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

महोत्तरी, २७ वैशाखः महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

बालविकासदेखि कक्षा पाँचसम्मका ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा छ देखि १२ सम्मका ३२ बालक र ३० बालिकासहित दुई सय २१ जनालाई रकम रु तीन लाख ७१ ह्जार पाँच सयभन्दा बढीका शैक्षिक सामग्री वितरण गरिएका नगरप्रमुख हरि मण्डलले जानकारी दिनुभयो । उहाँले सहयोगका लागि सेभ द चिल्ड्रेन र क्लबलाई धन्यावाद दिँदै शैक्षिक सामग्रीहरूले तत्कालको अभाव पूर्तिभएका र यसले बालबालिकाको शैक्षिक गुणस्तरमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कक्षा ४ मा अध्यनरत १२ वर्षीया बालिका लक्ष्मिनियाँले आगलागीपछि आफ्ना सबै शैक्षिक सामग्री जलेको अवस्थामा सहयोग पाएपछि धेरै राहत मिलेको बताउनुभयो । “आगलागीबाट सबै किताब कापी जलेरका थिए । त्यसयता पढ्न पनि पाएको थिएन, आज किताब, कापी, कलम, ब्याग, पोसाक तथा झोलालगायतका सामान पाएपछि धेरै खुसी लागेको छ । अब निरन्तर विद्यालय गएर मन लगाएर पढ्ने छु ”, बालिका लक्ष्मिनियाँले खुसी हुँदै भन्नुभयो ।

गत वैशाख १२ गते नगरपालिकाको वडा नं ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेका थिए । आगलागीबाट ती परिवारका पाँच सय ७० भन्दा बढी सदस्य प्रभावित भएका छन् । जसमध्ये २० वर्ष मुनिका तीन सय ७१ जना बालबालिकाहरू रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको निर्णयअनुसार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवम् रतौली युवा क्लबको समन्वयमा गत वैशाख १४ गते आगलागी प्रभावित एक सय तीन परिवारलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री, भान्सा घरमा प्रयोग हुने भाडाकुडाका साथै पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका मिडिया तथा सञ्चार संयोजक रचना श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्छुः मुख्यमन्त्री कार्की

मोरङ, २७ वैशाख- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ ।कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरुको जवाफ दिनेगरी काम गर्ने बताउनुभयो । “नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी प्रष्ट छौँ”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेशका समस्या सम्बोधन र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने समेत उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वासको मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छः पूर्व सभामुख ढुङ्गाना

काठमाडौँ, २७ वैशाख : पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताउनुभएको छ ।

प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको ‘राजनीति, साहित्य, पत्रकारिता र सामाजिक सञ्जाल’ विषयक गोष्ठीमा उहाँले संविधानको रक्षाका लागि यसमा भएका दोष र कमजोरीको समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ । २००७ सालदेखि नै हामीले महत्वपूर्ण समय खेर फालिसकेका छौँ । हामीले परिवर्तन त ल्यायौँ तर त्यसले काम गरिरहेको छ त? स्वदेशमा भविष्य नै छैन भनेर युवाहरु विदेशीने क्रम किन बढ्दो छ ? त्यसैले अब यि सबै विषयमा हामीले गम्भीर समीक्षा गर्नु जरूरी छ ।” उहाँले राजनीतिक दलबीच बढ्दो दूरीले जनमानस तथा विकास प्रक्रियामा नै असर परिरहेको र त्यसले राष्ट्रियतामा समेत नकारात्मक प्रभाव पारेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त सङ्घीयताले पूर्णता पाउन नसकेको तर्क गर्नुभयो । “सङ्घीयतामाथि नै प्रश्न उठ्दैछ । निर्वाचन प्रक्रिया खर्चिलो भयो, प्रदेश सरकार खारेज गरिनुपर्छ जस्ता आवाज उठिरहेका छन्”, उहाँले भन्नुभयो,“तर हामीले संविधानप्रदत्त प्रहरी प्रशासन र कर्मचारीको अधिकार पनि प्रदेशलाई दिन चाहेका छैनौँ । त्यसैले निर्वाचन प्रणालीसहित यि विषयमा गम्भीर समीक्षा र सुधार हुनुपर्छ ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले प्रतिनिधित्व र निर्वाचन प्रणालीको तादम्यता कसरी मिलाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“राजनीतिक अस्थिरता पैदाभएको छ । संविधानलाई कुनै न कुनै ढङ्गले परिमार्जन गरेर राजनीतिक स्थिरता र आर्थिक, सामाजिक तथा विकासका निम्ति बहस थाल्न जरूरी भइसकेको छ । पात्र विशेषले भन्दा परिस्थितिले जस्तो स्थिति उत्पन्न भइरहेको छ त्यसमा बढी केन्द्रित भएर छलफल ग¥यौँ भने सकरात्मक निष्कर्ष निकाल्न सकिन्छ ।”

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सङ्घीयतामा तल्लो तहलाई अधिकार दिने भनिए पनि माथिल्लो तहलाई बढी अधिकार दिएका कारण समस्या भइरहेको धारणा राख्नुभयो ।
“अधिकार दिइएको छ, संरचना पनि बनाइयो तर स्रोतको समान ििवतरण हुनसकेको छैन । सीमित स्रोतसाधनको पनि दुरुपयोग भइरहेको छ । यस्तो अवस्थामा कसरी परिवर्तनको अनुभूति गर्न सकिन्छ ? त्यसैले अब शासकीय स्वरूपमा परिवर्तन वा निर्वाचन प्रणालीमा फेरबदल हुनुप¥यो । स्थानीय तहलाई पनि बढी जवाफदेही बनाउनुपर्यो”, उहाँले भन्नुभयो ।

प्राध्यापक अभि सुवेदीले समाजवाद र राजनीतिक प्रणालीको सही प्रयोगका लागि राजनीति षडयन्त्रको सिद्धान्तभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भाषाविद् शरदचन्द्र वस्तीले नेपाली भाषालाई विस्थापित बनाउने कार्य भइरहेको बताउनुभयो । “भाषाको अतिक्रमण भइरहेको छ । अरु भाषाबाट शब्द आउँदैमा भाषा बिग्रने होइन, हाम्रो भाषा बचाउन गम्भीरता चाहिन्छ । भाषाको मूलतत्व सर्वनाम, विभक्ति, क्रियापदमा अतिक्रमण भयो भने भाषा बिग्रिन्छ । भाषा शैलीमा भएको अतिक्रमण सबैतीर समस्या देखिन्छन् । अहिले त्यही भइरहेको छ”, उहाँले भन्नुभयो ।

गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

साइप्रसका विदेशमन्त्रीले बिहीबार मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा अमेरिकाद्वारा निर्मित घाटतर्फ गइरहेको बताउनुभएको छ । अमेरिकाद्वारा गाजामा निर्मित र्याम्पमा यो पहिलो डेलिभरी हो ।

गाजामा मानिसहरू अनिकालको सङ्घारमा छन् । इजराइली सेनाले गाजाको दक्षिणी सहर रफाहबाट एक लाख प्यालेस्टिनीलाई निस्कन आदेश दिएपछि संयुक्त राष्ट्रसङ्घले राहतको अत्यन्तै आवश्यकता रहेको बताएको छ । यसै साताको प्रारम्भमा इजराइलले प्रभावित क्षेत्रमा सहायता प्राप्त गर्न आवश्यक महत्त्वपूर्ण क्रसिङलाई बन्द गर्दै इजिप्ट नजिकैको रफाह क्रसिङ कब्जा गर्न ट्याङ्क पठायो ।

युद्धविरामका लागि अन्तर्राष्ट्रिय प्रयासहरू जारी रहेका बेला इजराइलले रफाहमा पूर्ण आक्रमण सुरु गर्छ वा गर्दैन भन्ने अनिश्चित छ । इजराइलले दक्षिणी इजराइलमा लडाकू समूहको अक्टोबर ७ को आक्रमणपछि हमासलाई समाप्त पार्ने उसको लक्ष्यका लागि रफाहमा आक्रमण महत्त्वपूर्ण रहेको बताएको छ ।

रफाह आक्रमणको विरोध गरेको संयुक्त राज्य अमेरिकाले सर्वसाधारणलाई बाहिर निकाल्ने र उनीहरूको सुरक्षाका लागि इजराइलले कुनै विश्वसनीय योजना प्रदान नगरेको बताएको छ ।

साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोसले धेरै आवश्यक मानवीय सहायताले भरिएको अमेरिकी जहाज सामुद्रिक करिडोरमार्फत गाजामा सकेसम्म धेरै सहायता हस्तान्तरण गर्ने उद्देश्यले प्रस्थान गरेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा तटभन्दा धेरै किलोमिटर टाढा फ्लोटिङ प्लेटफर्म निर्माण गर्न आदेश दिएको करिब दुई महिनापछि यो ढुवानी भइरहेको छ ।

यद्यपि मानवतावादीहरूले सामुद्रिक मार्गबाट आउने सहायता गाजामा गम्भीर मानवीवय पीडा कम गर्न पर्याप्त नहुने भन्दै सहायता प्राप्त गर्ने प्रभावकारी तरिका स्थल मार्ग भएको बताएका छन् ।

यो साता रफाह क्रसिङ र नजिकैको केरेम शालोम क्रसिङ बन्द हुँदा सहायता खाद्यान्न, आपूर्ति र इन्धनका ट्रक र जेनेरेटहरूका लागि प्रवेश बन्द भयो । गाजा वरपर मानवीय अभियान र अस्पताल बन्द हुनुभन्दा अघि आफूहरूसँग केही दिनका लागि मात्र इन्धन रहेको सहायता समूहहरूले चेतावनी दिएका छन् ।

इजराइलले बुधबार केरेम शालोमलाई पुनः खोलेको बताएको छ । हमासको मोर्टारले नजिकैका चार इजराइली सैनिक मारिएपछि उक्त क्रसिङलाई इजराइलले बन्द गरेको थियो । यद्यपि कुनै पनि ट्रक गाजातर्फ प्रवेश नगरेको सहायता समूहहरूले बताएका छन् ।

हतियार रोक्ने बाइडेनको धम्की ‘धेरै निराशाजनक’– इजराइल

दुई शीर्ष इजराइली अधिकारीले बिहीबार भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् ।

“यो ती राष्ट्रपतिबाट सुन्न कठिन र अत्यन्त निराशाजक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ”, संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजराइलको पहिलो प्रतिक्रिया दिँदै सार्वजनिक रेडियोमा भन्नुभयो ।

इजराइलले रफाहको पूर्वी क्षेत्रमा ट्याङ्क पठाएर र ‘लक्षित आक्रमण’ गरेर अन्तर्राष्ट्रिय आपत्तिहरूलाई अस्वीकार गरेको छ । रफाह हमासको अन्तिम बचेको बटालियनहरूको घर भए पनि इजिप्टको सीमामा रहेको यो सहर विस्थापित प्यालेस्टिनीहरूले भरिएको छ ।

“यदि उनीहरू रफाहमा गए भने म सहरहरूसँग सामना गर्नका लागि प्रयोग गरिने हतियारहरूको आपूर्ति गर्नेछैन”, युद्धको प्रारम्भपछि इजराइललाई आफ्नो सबैभन्दा कडा चेतावनी दिँदै बाइडेनले सिएनएनलाई भन्नुभयो, “ती बमहरूका कारण गाजामा नागरिक मारिएका छन्, यो बिल्कुल गलत छ ।”

एर्डनले बाइडेनको टिप्पणीहरूलाई इजराइलका दुश्मनहरू इरान, हमास र हिजबुल्लाहले ‘उनीहरूलाई सफल हुने आशा दिने कुरा’ भनी व्याख्या गर्नुभयो ।

“हजारौँ आतङ्कवादी, बन्धक र हमासका नेता रहेको रफा जस्तो महत्त्वपूर्ण र केन्द्रीय क्षेत्रमा इजराइललाई प्रवेश गर्न प्रतिबन्ध लगाइयो भने हामीले वास्तवमै आफ्ना लक्ष्यहरू कसरी प्राप्त गर्न सक्छौँ ?”, उहाँले भन्नुभयो, “यो कुनै रक्षात्मक हतियार होइन, यो निश्चित आक्रामक बमहरूका बारेमा हो, अन्त्यमा इजराइलले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक ठानेको गर्नुपर्छ ।”

इजराइलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजेलेल स्मोट्रिचले अमेरिकी धम्कीका बाबजुद सरकारले गाजामा आफ्नो लक्ष्य पूरा गर्ने बताउनुभयो । “राष्ट्रपति बाइडेनको धक्का र हतियार प्रतिबन्धका बाबजुद हामी यो युद्धमा पूर्ण जित हासिल गर्नेछौँ”, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, “हाम्रा बन्धक घर नफर्केसम्म र हमास पूर्णरूपमा समाप्त नभएसम्म हामीले युद्ध जारी राख्नुपर्छ, यसमा रफाहलाई पूर्णरूपमा जित्नु र जतिसक्दो चाँडो राम्रो हुनेछ ।”

एएफपीका पत्रकारहरूले बिहीबार बिहानै रफाहमा ठूलो गोलीबारी भएको बताएका छन् । पछि इजराइली सेनाले गाजा पट्टीको केन्द्रमा र उत्तरतर्फ ‘हमासका स्थानहरू’ मा पनि हमला गरिरहेको बताएको छ । मङ्गलबार इजराइली सेनाले इजिप्टमा प्रवेश गर्ने रफाहको सीमालाई कब्जा गरेको थियो । यो घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेश विन्दु हो ।

राजनीतिकर्मीलाई संविधान र कानुनको ज्ञानदिन जरूरी छ : बिजुक्छेँ

भक्तपुर, २७ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलका नेता कार्यकर्तालाई संविधान र कानुनको ज्ञान दिन जरूरी रहेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको ‘ख्वप न्याय दबु’ पुस्तकको आज विमोचन गर्दै उहाँले नेता, कार्यकर्तालगायत सबैले कानुन बुझ्न अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँँले भन्नुभयो, “हरेक क्षेत्रमा कानुनको ज्ञान भएको मानिस चाहिन्छ । त्यसमा पनि राजनीति गर्ने हरेक नेता तथा कार्यकर्तालाई सबैभन्दा बढी कानुनको ज्ञान चाहिन्छ । कानुनी ज्ञानबिनाको राजनीति अपूर्ण हुन्छ ।”

कारागाराको जीवन भोगिरहेका धेरैजसो कैदीहरूले ऐन, कानुनको अज्ञानताका कारण समस्या भोग्न बाध्यहुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकलाई अनिवार्यरूपमा कानुनका सर्वमान्य सिद्धान्त जानकारी गराउन सके आपराधिक घटनामा कमी आउने उहाँको भनाइ थियो । त्यसैगरी उहाँले निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक पार्टीलाई कारबाही हुने व्यवस्था संविधान र कानुनमा उल्लेख गरिनुपर्ने समेत बताउनुभयो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजले जनताका छोराछोरीलाई कम शुल्कमा कानुन विषयमा उच्च शिक्षा प्रदान गर्न र नयाँ पुस्तामा २१औँ शताब्दीका चुनौती सामना गर्नसक्ने ज्ञान र चेतना प्रदान गर्न भूमिका खेलिरहेको बताउनुभयो । उहाँले देश र समाजप्रति उत्तरदायी कानुनका विद्यार्थी बनाउने, शिक्षालाई उत्पादन र श्रमसँग जोड्ने तथा श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने लक्ष्यका साथ आफूहरू क्रियाशील रहेको समेत बताउनुभयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय मानविकी तथा कानुन सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेल, फौजदारी कानुनका विज्ञ एवम् वरिष्ठ अधिवक्ता प्रा डा रञ्जितभक्त प्रधानाङ्ग, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश वासुदेव न्यौपाने, कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापति, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीलगाउतले कानुन प्रत्येक व्यक्तिले जान्नु आवश्यक रहेको बताउँदै विद्यालय तहमै सामान्य कानुनको ज्ञान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु

जनकपुरधाम, २७ वैशाख – मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०÷ ८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

साथै आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन् । सो आगलागीबाट सबैभन्दा बढी धनुषामा छजना, सिरहामा पाँचजना, रौतहटमा तीन जना, बारामा दुईजना, पर्सा ,महोत्तरी तथा सर्लाहीमा एक÷एक जनाको मृत्य भएको हो ।

त्यसैगरी आगलागीबाट दुई सय ९६ वटा पशुचौपाया जलेर मरेको छभने एक सय १४वटा पशुचौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिनुभयो । कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशको आठवटा जिल्लामा एक हजार १० घरगोठ जलेर नष्ट भएको तथा एक हजार दुई सय ६६ वटा आगलागीको घटना भएको हो ।

आगलागीबाट जलेका एक हजार १० घरगोठ अन्तर्गत कच्ची घर छ सय ६९, पक्की घर ८८ तथा गोठ दुई सय ५३ रहेका छन् । प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिरहामा दुई सय २९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा एक सय ११ वटा भएको हो । महोत्तरीमा एक सय ९२ वटा, बारामा एक सय २९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा एक सय ९४ घरगोठ जलेर नष्ट भएको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा रु ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ । प्रवक्ता बोहोराका अनुसार चर्कोघाम, गर्मी, तातो हावा , पानीको अभाव, घनाबस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगालागीको घटनाभएको उल्लेख गर्दे आगलागीबाट सुरक्षित तथा सर्तक रहन सबैलाई आग्रह गर्नुभएको छ । आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको बताइएको छ ।

अक्षय तृर्तीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने

भक्तपुर, २७ वैशाख : भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार अक्षय तृर्तीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सम्पूर्ण तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिने जनाएको छ । मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफँैले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको छ ।

समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरमा अन्य दिन बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृर्तीयागरी वर्षमा तीन दिन भने भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गरिँदैआएको जानकारी दिनुभयो ।

मेलामा भीड व्यवस्थापनका लागि हरिशचन्द्र थापाको नेतृत्वमा स्वयम्सेवक समिति गठनगरी ४० जनालाई खटाउने र दर्शनार्थीलाई लाइनमा लागेको २० देखि ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा

काठमाडौँ, २७ वैशाख – सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी बैठकले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, (सुनसरी)लाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौंँ) लाई नियुक्त गर्ने निर्णय उहाँले बताउनुभयो ।

झापामा ६५ वर्षमाथिका सबै पत्रकारलाई औषधोपचार खर्च

सुरुङ्गा (झापा) २६ वैशाख : झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक रु २० हजार र ६५ वर्षदेखि ७९ वर्षसम्मकालाई वार्षिक रु १५ हजारका दरले यो सुविधा प्रदान गरिएको बताउनुभयो । शाखाको १४औँ अधिवेशनमा यसपटक १९ जनालाई सो सेवा प्रदान गरिएको छ ।

 शाखाले सबै पत्रकारको दुर्घटना र औषधि उपचार खर्चकै लागि रु एक करोडभन्दा बढीको अक्षयकोष सञ्चालन गरेको छ । गम्भीर बिरामी र घाइते भएकालाई यो कोषबाट उपचार खर्च प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले बताउनुभयो ।  अग्रज पत्रकारको सम्मान र आफ्ना सदस्यको संरक्षणमा शाखाले खेलेको अभिभावकीय भूमिकाको अग्रज पत्रकारहरूले प्रशंसा गरेका छन् । पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले महासंघ झापा शाखाले अग्रज पत्रकारको सम्मानमा सुरूगरेको उपचार खर्च दिने कार्य सराहनीय भएको बताउनुभयो । 

नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले झापा शाखाले अरु शाखाले पनि अनुशरण गर्नमिल्ने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । अग्रज पत्रकार तथा साहित्यकार चुणमणि रेग्मीले दीर्घसेवी सम्मान ग्रहण गर्दै पछिल्लो पुस्ताले सम्मानसहित आफूलाई सम्झेकोमा हर्षविभोर भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिश अशोककुमार बस्नेतले अग्रजहरूको सम्मानले पछिल्लो पुस्ताको पनि सम्मान बढ्ने भन्दै सो कार्यको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले प्रकाशन गरेको ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकबारे पनि चर्चा गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकार्पण गर्नुभएको पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ पत्रकारको अन्तरबोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।

सर्वाेच्चद्वारा पूर्वन्यायाधीश सिजापतिको निधानप्रति दुःख व्यक्त

काठमाडौँ, २७ वैशाख : सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजङ्ग सिजापतिको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सम्पूर्ण न्यायाधीशहरूको आज बसेको बैठकले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

पूर्वन्यायाधीश सिजापतिको ८३ वर्षको उमेरमा बुधबार निधनको भएको थियोे । न्यायाधीश सिजापतिले २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियोे ।

परिणाम देखिने गरी काम गर्न मन्त्रीचौधरीको निर्देशन

काठमाडौँ, २७ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहँदै उहाँले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको हो । “अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ”, मन्त्री चौधरीले भन्नुभयो, “जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुप¥यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।”

उहाँले पछिल्ला दुई महिनामा भए गरेका महत्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन  तयार गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताउनुभयो ।  सो अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्वपूर्ण भएको जनाउँदै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताउनुभयो