`

यस वर्ष अनियमित इयु सीमा पार गर्ने घटनामा ४२ प्रतिशतले गिरावट

Nepal One HD ३० असोज २०८१ ५:४५
विश्व

सन् २०२४ को पहिलो नौ महिनामा पत्ता लागेको अनियमित युरोपेली सङ्घ (इयु) प्रवेशमा गत वर्षको समान अवधिको तुलनामा ४२ प्रतिशतले कमी आएको छ ।

इयुको सीमा एजेन्सी फ्रन्टेक्सले यो साताको अन्त्यमा ब्रसेल्समा हुने इयुका नेताहरूको शिखर सम्मेलनअघि आफ्नो पछिल्लो आँकडा सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा आप्रवासन उच्च प्राथमिकतामा रहेका विषयमध्ये एक हो ।

“यस वर्षको पहिलो नौ महिनामा इयुमा पत्ता लागेका प्रवेशहरू ४२ प्रतिशतले घटेर एक लाख ६६ हजारमा झरेको छ”, फ्रन्टेक्सले भनेको छ । पश्चिमी बाल्कन र मध्य भूमध्यसागरीय मार्गहरूमा सबैभन्दा ठूलो गिरावट आएको छ ।

सत्ताइस सदस्यीय इयुमा पश्चिमी बाल्कल मार्ग हुँदै करिब १७ हजार सम्भावित शरणार्थी प्रवेश गरेका छन् । यो ७९ प्रतिशतले कमी हो । मध्य भूमध्यसागरीय मार्ग हुँदै ४७ हजार सात सयले प्रवेश गरेका छन र यो पनि ६४ प्रतिशतको गिरावट हो ।

यसको विपरित पश्चिमी अफ्रिका हुँदै प्रवेश गर्नेको सङ्ख्या दोब्बर भएको फ्रन्टेक्सले जनाएको छ । यो यस वर्षको पहिलो नौ महिनामा ३० हजार छ सयभन्दा बढी पुगेको छ ।

सबैभन्दा ठूलो वृद्धि पोल्यान्डसहित इयुको पूर्वी भूमि सीमाहरूमा दर्ता गरिएको छ । यो मार्गबाट करिब १३ हजार दुई सय प्रवेश पत्ता लगाइएको छ । यो सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको तुलनामा एक सय ९२ प्रतिशतले बढी हो ।

पोल्यान्ड र यसको मध्य युरोपेली छिमेकी चेक गणतन्त्रले गत साता इयुको नयाँ आप्रवासन तथा शरण सम्झौतामा भएकाभन्दा कडा प्रतिबन्धहरूको आह्वान गरेका थिए । उक्त सम्झौता सन् २०२६ मा लागु हुने अपेक्षा गरिएको छ ।

मे महिनामा अपनाइएको नियमहरूले इयुका २७ मुलुकमा शरणार्थीहरूलाई आश्रय दिने जिम्मेबारी बाँड्ने र बस्न अयोग्य ठानिएकाहरूको निर्वासनलाई तीव्रता दिने लक्ष्य राखेको छन् ।


प्रतिक्रिया