घृणा, लोभ र विध्वंस त्यागेर निर्माण र सकारात्मक सोचको विकास गर्न ओलीको आग्रह
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा, लोभ र स्वार्थ त्यागेर प्रेम, इमानदारी, सहकार्य र सकारात्मक सोच विकास गर्न आग्रह गरेका छन्।
भक्तपुरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले नागरिकलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न र विध्वंस होइन, निर्माणमा जोड दिन आह्वान गरे।
ओलीले भने, ‘खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पनि पशुमाथि अन्याय हो। पशुले मानिसले जस्तो अन्याय, षड्यन्त्र र जालझेल गर्दैन।’
आफ्नो नैतिक, सांस्कृतिक र मानवीय चेतना उँचो बनाउन आवश्यक रहेको बताउदै उनले भने, ‘हामी सबैले बस्नयोग्य, सभ्य र समुन्नत समाज निर्माण गर्न आफ्नो नैतिक, सांस्कृतिक र मानवीय चेतना उँचो बनाउन आवश्यक छ। राजनीति र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने आधार पनि यही नैतिक चेतना हो। हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ। विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ।’
