`

कालीकोटका पशुपालन गर्ने किसानलाई गोठालो भत्ता भत्ता !

मान्म (कालीकोट), २६ वैशाखः जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिनुभयो ।

गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैँसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताउनुभयो । “गाउँमा गोठालोलाई हेयका हेरिन्छ”, उहाँले भन्नुभयो, “यसले गोठालोको सम्मान गर्नेछ ।”“नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो ”, उहाँले भन्नुभयो ।

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ, २६ वैशाखः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मङ्गलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती माविबाट वैशाख २५ गतेदेखि औपचारिक रूपमा अभियान सुरु भएको छ ।

मङ्गलबार सरस्वती माविमा स्वास्थ्य शिक्षाका बारेमा स्वास्थ्यकर्मीले कक्षा लिएका दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राससलाई बताउनुभयो । पञ्च माविमा भवन सरसफाइ र जनजागृति माविमा कृषि गतिविधिका साथ अभियान सुरु गरिएको जानकारी उहाँले दिनुभयो ।

नगरपालिकाले शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान सुरु गरिएको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मङ्गलबार विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त परियोजना कार्य (प्रजेक्ट वर्क) गराउनेगरी अभियान लागू गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मङ्गलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना रहेको संयोजक राईले बताउनुभयो ।

अभियानका क्रममा नगरपालिकाले हरेक महिनाको मङ्गलबार विद्यालयको परियोजना कार्यको उपलब्धि प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख १९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ, २६ वैशाखः स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ ।

कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान गरेमा पुण्य हुने विश्वास छ ।। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने परम्परा छ ।

बाँकेको फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान

राँझा (बाँके), २६ वैशाख- बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् ।उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका एक सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिनुभयो ।

“गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्याएका छाँै”, अध्यक्ष थापाले भन्नुभयो, “यहाँका चार सय घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्याउने लक्ष्य छ ।”

आर्थिक वर्ष २०७६÷७७ देखि उक्त कार्यक्रम लागु भएको हो । वि.सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो । तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्याङ्की, ‘पम्पहाउस’लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताउनुभयो ।

महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई रु एक सय ५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट रु २० का दरले शुल्क लिने गरिएको छ । घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् ।

राप्ती सोनारी–६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ । राप्ती सोनारी–७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ । ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो ।

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ, २६ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ

। जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

आज विश्व रेडक्रस दिवस, विविध कार्यक्रम गरी मनाईदै

काठमाडौँ, २६ वैशाख- ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।

आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको जनाइएको छ । यसैगरी विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

यसै सन्दर्भमा यस वर्षको नारा ‘मानवतालाई जीवित राखौँ’ ले यस अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पु-याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ’ भन्ने सन्देश दिन खोजेको छ ।

यस दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

रेडक्रस अभियान मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई कार्य गर्ने गर्दछ । रेडक्रस अभियानले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष र विभिन्न विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पु-याउन सक्षम रहेको जनाइएको छ ।

रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो । विश्वभरका १९१ राष्ट्रिय सोसाइटीहरूसहित मिलेर बनेको यस अभियानमा करिब एक करोड ६० लाखभन्दा बढी स्वयंसेवक आबद्ध रहेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले जनाएको छ ।

आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले शुभकामना सन्देश जारी गर्दै पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपद्का घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आह्वान गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा विसं २०२० भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कल छन् । समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

सङ्गठन र स्वयंसेवकको देशव्यापी सञ्जाल भएको नेपाल रेडक्रसले आइएफआरसीको आर्थिक एवं प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवद्र्धन, रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवर्द्धनजस्ता कार्य क्षेत्रहरूमार्फत बर्सेनि करिब २५ लाखभन्दा बढीलाई सेवा पु-याउन सफल भएको छ । आइएफआरसीका नेपालस्थित देशीय प्रतिनिधि अजमद उल्लाले नेपालमा मानवीय सेवा जारी रहने जानकारी दिनुभयो ।

‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ पाँचौँ राष्ट्रिय मह मेला हुँदै

काठमाडौँ- ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ आजदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुने भएको छ ।मह उत्पादन र खपत बढाउनका लागि व्यापक रुपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरू बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताउनुभयो ।

व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै बजार नपाएकाले अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताउनुभयो । परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पु¥याउने मह र यसको उपयोगितालाई सबै सामु चिनाउन महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र अल्मलिएको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले महको उत्पादनदेखि व्यावसायिक समस्या समाधानका लागि महासङ्घ सहकार्य गर्न तयार रहेको बताउनुभयो । मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरुलाई एउटै छानामुनी भेट्न सकिने छ । गुणस्तरीय नेपाली महका बारेमा जानकारी लिन दिन मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ ।

भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
 

पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

काठमाडौँ, २६ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

म्याग्दीको विकट खतेन गाउँमा विद्युत् सेवा विस्तार

म्याग्दी, २६ वैशाखः म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उहाँले भन्नुभयो, “खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’ र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो । “मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ”, उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ ।”

नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष रु २० करोड बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो । एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् । गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।

ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखि

खोटाङ- खेलकुद विकास समिति ऐंसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । वैशाख २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले   पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ १५ वटा समूहले सहभागिता जनाएको आयोजक खेलकुद विकास समिति ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त दुवै विधाका स्थानीय तहले क्रमशः रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् । पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बु, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बु, चिसङ्खुगढी गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ सहभागी छन् ।

त्यसैगरी रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐंसेलुखर्क गाउँपालिका-४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति एेंसेलुखर्क–३ ऐलुखर्कको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिवी)को नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ ।गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता गर्न लागिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।
 

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुङ्गा, २६ वैशाखः वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ, २६ वैशाख: आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो ।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।
 

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा प्रकट गरेर मनाइँदै

काठमाडौँ, २६ वैशाख: आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले राससलाई बताउनुभयो । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।

मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा रहेका जानकारी दिँदै उहाँले मातातीर्थ संरक्षण तथा विकास संस्थाले मेला व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको बताउनुभयो ।

बझाङमा चट्याङ लागेर चार जना घाइते

गडराय (बझाङ), २५ वैशाख : बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।

मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन् । घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् । एकिन्द खड्काको अवस्था सामान्य रहेको स्थानीय वाल्मीकि जोशीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि स्थानीयले गडराय स्वास्थ्य चौकी लाँदै गरेको स्थानीय फिट्टु खड्काले बताउनुभयो । चट्याङ्ले घाइते भएको खबर सुन्नासाथ खप्तडछान्ना गाउँपालिकाको अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

युवा र विद्यार्थीलाई राजनीतिमा आउन बिजुक्छेको आग्रह

भक्तपुर, २५ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश निर्माणका लागि युवा र विद्यार्थीलाई राजनीतिमा ल्याउनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी कार्यशालामा उहाँले इतिहास, संस्कृतिका विद्यार्थीले नेपाल र विभिन्न देशको इतिहास अध्ययन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि युवाहरु राजनीतिमा आउनुपर्ने उहाँको आग्रह थियो ।

उहाँले मानव सभ्यताको सम्पत्तिका रुपमा रहेको भक्तपुरको सांस्कृतिक सम्पदा जोगाउने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । विदेशीसँग माग्ने प्रवृत्तिले देशलाई झन कमजोर र परनिर्भर बनाएको उहाँको भनाइ थियो । उहाँले भक्तपुरको ९९ चोक उत्खननमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा डा सोमप्रसाद खतिवडालगायतले भक्तपुर नेपाल मण्डलको सांस्कृतिक राजधानीको रुपमा रहँदै आएकाले मूर्त र अमूर्त सम्पदाको अथाह भण्डार रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले जनताको सहयोगमा सम्पदा पुनःनिर्माण गर्ने नीतिअनुसार २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनपश्चात् एक सय ५० वटाभन्दा बढी सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ : महासचिव पोखरेल

फुङ्लिङ (ताप्लेजुङ), २५ वैशाख : नेकपा (एमाले)का महासचिव शङ्खर पोखरेलले आउँदो आर्थिक वर्षको नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने बताउनुभएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “आउँदो नीति तथा बजेटबाट देशलाई नयाँ दिशामा लैजान्छौँ । विकास तथा समृद्धिको दिशामा देश अगाडि बढ्न नसकेकाले नयाँ गठबन्धनको आवश्यकताको आधारमा सरकार बनेको हो ।”

देशको विकास तथा समृद्धिको पक्षमा एमाले रहेकाले कतिपय महत्वपूर्ण मन्त्रालय अरुलाई दिएको उहाँको भनाइ थियो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकार पूरा समय अवधिसम्म रहने र नयाँ सत्ता समीकरण दलहरुको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताउनुभयो

नयाँ गठबन्धनको साझा नीति तथा कार्यक्रम आउँदो बजेट तथा नीति कार्यक्रममार्फत आउने उहाँले जानकारी दिनुभयो । धेरै कमजोर राजनीतिक दलहरु भएमा देश विकासको दिशामा जान नसक्ने भएकाले अब बलियो राजनीतिक दल हुन आवश्यक परेकाले नेकपा एमाले त्यसतर्फ लागेको पोखरेले स्पष्ट पार्नुभयो ।

तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ, २५ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । त्रिविद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिनुभएको हो । त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ । त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बरालले त्रिविको पुनःसंरचना प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । “ सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० मा पनि विश्वविद्यालयको पुनःसंरचनाको विषय उल्लेख भएको छ”, उहाँले भन्नुभयो, “पुनःसंरचनालाई टुङ्गो लगाइसक्ने भन्ने होइन तर, विभिन्न तीनवटा क्याम्पसलाई डिग्री अवार्डिङ इन्सिच्युसनको रुपमासम्म विकास गर्ने भन्ने हाम्रो योजना हो ।”

त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले प्राध्यापक र विद्यार्थीको गुनासो सुन्नका लागि छुट्टै संयन्त्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले हराएका उत्तरपुस्तिकाका सम्बन्धमा छानबिन गर्न २०८० चैत १५ गते पूर्वरजिष्ट्रार प्रा डा चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उच्चस्तरीय समितिले छानबिन प्रतिवेदन बुझाइसकेको र हाल उक्त प्रतिवेदनको अध्ययन भइरहेकाले समितिको सुझावलाई यथाशीघ्र कार्यान्वयन गरिने बताउनुभयो ।

त्रिविले जनशक्ति व्यवस्थापन तथा दरबन्दी पुनरावलोकनबारे पनि अध्ययन भइरहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “विद्यमान जनशक्ति व्यवस्थापन र दरबन्दीको अवस्था अध्ययन गरी त्रिवि सेवा आयोगमार्फत यथाशक्य विज्ञापन गराई शिक्षक कर्मचारीको पदपूर्ति गर्न प्रा डा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको छ । ”

विज्ञप्तिमा भनिएको छ, “पदपूर्तिसँग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरी सेवा आयोगमार्फत अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गरेका व्यक्तिलाई ‘फस्टट्रयाक’बाट प्राध्यापकमा नियुक्त गर्ने गृहकार्य भइरहेको छ ।”

त्यसैगरी, त्रिविको समकक्षताका सम्बन्धमा उत्पन्न समस्या निराकरण गर्न प्रा डा भीमसेन देवकोटाको संयोजकत्वमा समकक्षतासम्बन्धी कार्यविधि संशोधन समिति गठन गरिएको छ । समकक्षतामा देखापरेका द्विविधाहरूको अन्त्य गर्न र सेवाग्राहीलाई बिना झन्झट समकक्षता उपलब्ध गराउन प्रतिबद्ध रहेको विश्वविद्यालयले जनाएको छ ।

त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबीच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरुपता कायम गर्न त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति गठन गरी कार्यादेश दिइएको छ । साथै त्रिविअन्तर्गतका निकायमा तोकिएका पदाधिकारीहरू नियुक्त गर्दा अपनाउनुपर्ने आधार तथा मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेश गर्न प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति मापदण्ड निर्माण गरी कार्य सुरु भइसकेको जनाइएको छ ।

विश्वविद्यालयका अनुसार त्रिवि प्राज्ञिक परिषद् २०८० चैत १५ को निर्णयअनुसार त्रिविका सबै सङ्कायबाट वार्षिक परीक्षा प्रणालीअनुसार लिइने स्नातक तहको आगामी प्रथम वर्षको परीक्षाबाटै अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गरिने भएको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय भएको पनि विश्वविद्यालयले जनाएको छ ।

मलाई फसाइयो – सन्दीप लामिछाने

सन्दिप लामिछाने । धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका।

ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।

ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।

अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏

सन्दिप लामिछाने

कालीकोटको रास्कोटमा खाद्य डिपो स्थापना, करिब १० हजार घरधुरी लाभान्वित

मान्म (कालीकोट), २५ वैशाख : कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरेको हो ।
खाद्यान्नका लागि सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मान्म जानुपर्ने नागरिकको बाध्यता अन्त्य गर्न नगरपालिकामा नै खाद्य डिपोको स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्न उद्देश्यका साथ खाद्य डिपो सञ्चालनमा ल्याएको नगरपालिकाका उपप्रमुख मनीराज बरालले बताउनुभयो ।

“खाद्य डिपो सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज खाद्यान्न आपूर्ति र उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणमा सुनिश्चितता भएको छ”, उहाँले भन्नुभयो, “खाद्य सुरक्षाको सुनिश्चततामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपोको स्थापना गरिएको छ ”’

सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने उप-प्रमुख बरालले बताउनुभयो । “यो खाद्य डिपोबाट सान्नी त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दालाई खाद्यान्न खरिदमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “डिपो स्थापनाले करिब १० हजार घरधुरी लाभान्वित हुनेछन् ।”

गाउँमै खाद्य डिपो खुलेर सस्तोमा खाद्यान्न पाइने भएपछि खुसी लागेको रास्कोट नगरपालिका-३ का अम्ती सार्कीले बताउनुभयो । “पहिलो थोरै खाद्यान्न खरिद गर्न सदरमुकाम जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “गाउँमा खाद्य डिपो स्थापना भएकाले सहज भएको छ ।” नगरमै खाद्य डिपो सञ्चालन गरी सस्तो मूल्यमा खाद्यान्य सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन् ।

चन्द्रागिरिको मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु

काठमाडौँ, २५ वैशाख : प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ । आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ ।

  संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिनुभयो ।      मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र भोलि बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्नेको सङ्ख्या बढ्दो छ । मन्दिरमा दैनिक आठदेखि १० जना श्राद्ध गर्नका लागि आउने गरेका छन् ।      मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवङ्गत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ । 

चन्द्रागिरिमा भोलि बिदा- मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्यालेस्टिनको संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यतालाई समर्थन गर्छौं– चिनियाँ राष्ट्रपति

चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गर्नुभएको छ ।

उहाँले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनलाई पूर्ण सदस्यता दिन, प्यालेस्टिनको वैध राष्ट्रिय अधिकार पुनःस्थापना गर्न तथा दुई–राज्य पुनः सुरु गर्न चीनले समर्थन गरेको बताउनुभयो । पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उहाँले भन्नुभयो, “यो लामो त्रासदी मानव विवेकको परीक्षा हो, अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्छ ।”

युक्रेन सङ्कटबारे राष्ट्रपति सीले धेरै पटक चीनले सङ्कटका बारेमा आफ्नो अडान राखिसकेको बताउनुभयो । “चीनले युक्रेन सङ्कट सुरु गरेको होइन, न त यो त्यसको पक्ष वा सहभागी हो, दर्शक बन्नुको सट्टा हामीले शान्तिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

“चीन युक्रेन सङ्कटलाई बलिको बोका बनाउने, तेस्रो मुलुकलाई बदनाम गर्ने वा नयाँ शीत युद्धका लागि प्रयोग गर्ने प्रयासको विरोध गर्दछ”, उहाँले भन्नुभयो, “हामी उचित समयमा एउटा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न समर्थन गर्छौं जुन रुस र युक्रेन दुवैबाट मान्यताप्राप्त छ र सबै पक्षको समान सहभागिता तथा सबै शान्ति योजनाहरूम निष्पष छलफल सुनिश्चित गर्दछ, हामी युरोपमा सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा संरचनालाई समर्थन गर्दछौँ ।”

बोइङद्वारा प्राविधिक समस्याका कारण स्टारलाइनर अन्तरिक्ष यानको प्रक्षेपण स्थगित : नासा

प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् ।स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, सामग्री र उपप्रणाली प्रविधिहरू संयोजन गर्दछ ।

अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशन स्पेस लन्च कम्प्लेक्स–४१ बाट उक्त अन्तरिक्ष यानलाई युनाइटेड लन्च एलायन्स एटलस वी रकेटमा राति १०ः३४ मा प्रक्षेपण गर्ने तालिका रहेको थियो ।

उडान परीक्षणले नासाका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लैजानेछ ।

नासाका अनुसार ‘एटलस वी रकेट’मा सेन्टौरको माथिल्लो चरणमा टोलीले अक्सिजन राहत भल्भको मूल्याङ्कन गर्दै गर्दा प्रक्षेपणलाई स्क्रब गरिएको थियो । दुई अन्तरिक्ष यात्री स्टारलाइनरबाट बाहिरिएको र चालक दलको क्वार्टरमा फर्केको छ ।

क्रु फ्लाइट टेस्ट डब गरिएको यो मिसन नासाले बोइङको अन्तरिक्ष यानलाई सङ्घीय एजेन्सीको कमर्सियल क्रु कार्यक्रमको भागका रूपमा नियमित सञ्चालनका लागि तयार भएको ठान्नु अघि अन्तिम कोसेढुङ्गा हुनसक्छ ।

नुवाकोटमा विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते

त्रिशूली (नुवाकोट), २५ वैशाख ः नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् । उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् ।

उनीहरुको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिनुभयो । घाइतेमध्ये थापाको टाउको, हात, खुट्टालगायतमा घोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाचिएको छ ।

काठमाडाँैको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।

बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकार को उपचारको क्रममा त्रिशूली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०४४ प ३६९२ नंको मोटरसाइकलमा चढेका उपकार र ऋतिक गम्भीर घाइते भएकाले उपचारको लागि आज नै काठमाडौँ पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ, २५ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिइएको छ । गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त विवादको सुनुवाइ यही वैशाख २७ गते हुने तय भएको छ ।

विश्वासको मत लिँदा प्रदेशसभाको बहुमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको रिट निवेदनमा छ । उक्त प्रदेशसभामा ६० सदस्य रहेकोमा ३० मत मुख्यमन्त्री अधिकारीले पाएका पाउनुभएको थियो । बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको छ ।

जसपा नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने

काठमाडौँ, २५ वैशाख : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

“भोलि बुधबार पार्टीको बैठक बस्छ । बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ”, प्रवक्ता सुमनले भन्नुभयो ।    उहाँका अनुसार बुधबार बिहान पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ ।

बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।   अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो ।

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन, २५ वैशाख ः भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम गरेको हो ।

पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम समेत भइसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुआती समयमा भएको सम्झौताअनुसार ७० प्रतिशत काम भएको भए पनि ठेक्काको काम थप भएसँगै प्रगति कम भएको हो । आगामी एक साताभित्र ११ केभिए लाइन जडान भएका पाँचवटा फिडरसमेत भूमिगत तवरबाट सञ्चालनको तयारी गरिएको छ ।

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ”, केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो ।

भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवारी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै गएको उहाँले बताउनुभयो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका सहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । तार भूमिगत भएसँगै यो समस्या हट्ने र सहरी क्षेत्रको सौन्दर्यता बढ्ने छ ।

ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हुनेछ – मुख्यमन्त्री अधिकारी

लेखनाथ (कास्की) २५ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा सवारी दुर्घटनाबाट जीवन सुरक्षित हुने बताउनुभएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीद्वारा आयोजित ट्राफिक सप्ताह २०८१ को आज मुख्यमन्त्री अधिकारीले उद्घाटन गर्नुभयो ।

“सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ”, उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “शरीरमा रोग लाग्न नदिन आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गर्न झन्झट नमानी सरल रुपमा लिनुपर्छ ।”

अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन र किशोरीको आत्मरक्षाका विषय कक्षा ८ र ९ का विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम बनाउन सुरु गरेको र त्यसलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याउने मुख्यमन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीले मात्र ट्राफिक नियम लागू गर्न नसक्ने बताउनुहुँदै नागरिक समाज ट्राफिक नियमप्रति जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

आज गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ७७ प्रतिशत सवारी दुर्घटना चालकै लापरबाहीका कारण हुने भएकाले चालक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारी चालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यात्रुका कारण आठ दशमलव ८२ प्रतिशत, यात्रीका कारण छ दशमलव ६८ प्रतिशत र सडकका कारण छ दशमलव ९५ प्रतिशत दुर्घटना हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा तीन सय २२ वटा सवारी दुर्घटना हुँदा एक सय ५५ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० दुर्गा सिंहले दिनहुँ सडक दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढेकाले त्यस्ता घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

इजराइली सेनाद्वारा गाजाको राफाह सीमा क्रसिङमा आक्रमण

प्यालेस्टिनी र इजराइली स्रोतका अनुसार इजराइली सेनाले मङ्लबार गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ ।

प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई ट्याङहरूले राफाह सीमा क्रसिङमा आक्रमण गरेको तथा इजराइली सेनाले यसलाई नियन्त्रण गरी प्यालेस्टिनीहरूलाई क्रसिङबाट सर्नबाट रोकेको बताए ।

गाजाको जनरल अथोरिटी फर क्रसिङ एन्ड बोर्डर्सको विज्ञप्तिअनुसार राफाह सीमा क्रसिङ र केरेम शालोम दुवैमा यात्रु र मानवीय सहायताको आवागमन रोकिएको छ ।

इजराइली सेनाले सीमा क्षेत्रमा ट्याङ्क आक्रमण गरिरहेको भिडियो सावैजनिक गरेको छ । यसैबीच, सामाजिक सञ्जालमा जारी गरिएका अन्य तस्बिरहरूमा राफाह सिमानाको प्रवेशद्वारमा इजराइली झण्डा फहराएको देखाइएको छ ।

युद्धग्रस्त तटीय इलाकामा २३ लाखभन्दा बढी प्यालेस्टिनीहरूका लागि राफाह सीमा क्रसिङ एक मात्र एक मध्याम हो । सोमबार राति इजिप्टले प्यालेस्टिनी पक्षलाई राफाह क्रसिंगको प्यालेस्टिनी पक्षको वरपर इजराइलको सुरक्षा अभियान मङ्गलबार बिहान समाप्त हुने जानकारी दिएको एक उच्चपदस्थ सुरक्षा अधिकारीले सिन्ह्वालाई बताए ।

इजिप्टले इजिप्ट र गाजा पट्टीबीचको एकमात्र मार्ग राफाह क्रसिङको प्यालेस्टिनी पक्षको वरपर इजराइली आक्रमणको बारेमा सोधपुछ गरी इजराइलले मङ्गलबार बिहान अपरेसन समाप्त हुने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार इजराइलले क्रसिङमा प्रवेश गर्ने छैन वा यसलाई नियन्त्रण गर्ने छैन ।

सर्बियाको भ्रमणअघि राष्ट्रपति सीद्वारा नाटोको आलोचना

चीनका राष्ट्रपति सी जिनपिङले सन् १९९९ मा युगोस्लाभियामा चिनियाँ दूतावासमा भएको बम विस्फोटको आलोचना गर्दै बेइजिङले ‘यस्तो दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति नदिने’ चेतावनी दिनुभएको छ ।

कोभिड महामारीपछि युरोपको पहिलो भ्रमणको अर्को विश्राममा सर्बियाली राजधानी बेलग्रेड पुग्नअघि सीले मङ्गलबार सर्बियाली दैनिक पोलिटिकामा उक्त चेतावनी दिनुभएको हो । उहाँको भ्रमण सैन्य गठबन्धनद्वारा बम विस्फोटको २५औँ वार्षिकीसँग मेल खान्छ । तीन जनाको मृत्यु हुने गरी भएको उक्त बम विस्फोटका लागि सिआइए म्यापिङ त्रुटिमा दोषी ठहराइएको थियो ।

“आजभन्दा २५ वर्षअघि नाटोले युगोस्लाभियामा चिनियाँ दूतावासमाथि गरेको बम आक्रमणमा तीन चिनियाँ पत्रकार मारिएका थिए”, सीले पोलिटिकामा लेख्नुभएको छ, “यसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन, चिनियाँ जनता शान्ति चाहन्छन् तर यस्तो प्रकारको दुःखद इतिहासलाई कहिल्यै दोहोरिन अनुमति दिनेछैनौँ ।”

उहाँले चीन र सर्बियाबीच ‘मजबुत मित्रता’ को प्रशंसा गर्दै भन्नुभयो, “यो हाम्रा देशवासीहरूको रगतले बनेको हो ।”फ्रान्सको राजकीय भ्रमणपछि सी मङ्गलबार राति बेलग्रेड पुग्नुहुने अपेक्षा गरिएको छ । फ्रान्समा सीले युक्रेन युद्धलायतका विषयमा राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग छलफल गर्नुभएको थियो ।

उहाँको युरोपको अर्को भ्रमण सर्बिया र हङ्गेरीमा हुनेछ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।

चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।

इरानलाई सहयोगका लागि ‘ठोस’ कदम चाल्न आइएइए प्रमुखको आग्रह

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले मङ्गलबार इरानसँग मुलुकको आणविक कार्यक्रममा सहयोग सुदृढ गर्न ‘ठोस’ कदम चाल्न आग्रह गर्नुभएको छ ।

इरानी सहर इस्फाहानमा आयोजित पत्रकार सम्मेलनमा इरानी अधिकारीहरूसँगको छलफलमा उनीहरूले ‘सहयोगलाई तीव्रता दिन लागु गर्न सकिने ठोस, अत्यन्त व्यावहारिक र मूर्त उपायहरूमा ध्यान केन्द्रीत गर्ने’ प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

ग्रोसीले इरानका आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीलगायत वरिष्ठ इरानी अधिकारीहरूसँग छलफल गर्नुभएको थियो । आएइएका महानिर्देशक ग्रोसीले इरानसँग सन् २०२३ मार्चको सम्झौता ‘अझै पनि वैध’ रहेको तर यसमा थप ‘तत्व’ थप्न आवश्यक रहेको बताउनुभयो ।

उक्त सम्झौता ग्रोसीको पछिल्लो इरान भ्रमणका क्रममा भएको थियो र सम्झौतामा सुरक्षा उपाय तथा अनुगमनसहित आधारभूत सहयोग मापनलाई रेखाङ्कित गरिएको थियो । यद्यपि आइएइए प्रमुखले उक्त सम्झौताको कार्यान्वयनमा ‘सुस्तता’ आएको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा एकतर्फी सम्झौताबाट पछि हटेर व्यापक प्रतिबन्धलाई पुनः लागु गरेपछि इरानले प्रमुख शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक सम्झौताले निर्धारण गरेको आणविक गतिविधिमा रहेको सीमाको पालनालाई निलम्बन गरेको छ ।

सम्झौता टुटेपछि इरान र आइएइएबीच बारम्बार तनाव बढेको छ र युरोपेली सङ्घ (इयु) को मध्यस्थता प्रयासहरू अहिलेसम्म वासिङ्टनलाई फिर्ता ल्याउने र तेहरानलाई सम्झौताका सर्तहरू पुनः पालना गराउन विफल भएका छन् ।

एजेन्सीले हालैका महिनाहरूमा इरानको आणविक कार्य विस्तार, निरीक्षकहरूमाथि प्रतिबन्ध र आफ्नो आणविक केन्द्रहरूमा एजेन्सीको अनुगमन उपकरणलाई निष्क्रिय पार्नेजस्ता मुद्दामा सहयोगको अभावका लागि आलोचना गरेको छ ।

फेब्रुअरीमा एएफपीले देखेको गोप्य रिपोर्टबारे एजेन्सीले इरानको समृद्ध युरेनियमको अनुमानित भण्डार सन् २०१५ को सम्झौतामा निर्धारित सीमाभन्दा २७ गुणा बढी भएको बताएको छ । गत वर्ष इरानले उसको युरेनियम संवर्धनको गतिलाई सुस्त बनाएको थियो र यसलाई अमेरिकासँग अनौपचारिक छलफल सुरु हुँदा सद्भावना सङ्केतका रूपमा हेरिएको थियो ।

यद्यपि आएइएका अनुसार इरानले सन् २०२३ को उत्तरार्धमा ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनमा तीव्रता ल्याएको छ । सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक हुन्छ । सम्मेलनका क्रममा इस्लामीले ग्रोसीसँगको छलफल ‘रचनात्मक’ थियो भन्दै सन् २०२३ को सम्झौता इरान र एजेन्सीबीच ‘छलफलका लागि राम्रो आधार’ भएको कुरामा सहमति भएको बताउनुभयो ।

आफूखुसी औषधि सेवन घातक, औषधि जाँचपड्ताल गरेपछि मात्र खानुपर्ने चिकित्सकको सुझाव

काठमाडौँ, २५ वैशाखः काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन । जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उहाँले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गर्नुभयो ।

जडीबुटी सेवनपछि उहाँको दुखाइ अझ बढ्यो । जडीबुटी सेवन गरेको छ महिनापछि जीउ सुन्निने, पेट दुख्ने, दिसामा कालो देखिने समस्या थपियो । अस्पतालमा चेकजाँच गराउँदा आन्द्रामा घाउ भएर अल्सर भइसकेको पत्ता लाग्यो । चिकित्सकले उहाँलाई जथाभावी औषधिको प्रयोगले शरीरको हार्मोन असन्तुलन बनाउँदा उक्त समस्या देखिएको बताएका थिए । औषधिको असन्तुलित सेवनले सुगर र प्रेसरसमेत बढेको पाइएको थियो ।

जथाभावी औषधि सेवनबाट पीडित हुनेमा शिक्षण पेसामा आबद्ध ५० वर्षीय पुरुष पनि हुनुहुन्छ । पेट दुख्ने बित्तिकै दुखाइ कम गर्ने औषधि सेवन गर्ने बानीले उहाँलाई कालान्तरमा ठूलो समस्या थपिदियो । उहाँ पेट दुख्दा कारण पत्ता लगाउनुको साटो मनलाग्दी औषधि सेवन गर्नुहुन्थ्यो । कालान्तरमा शरीरमा थकाइ लाग्ने, छाला चिलाउने, कमजोरी महसुसजस्ता लक्षण देखिन थाल्यो । जाँच गर्दा मिर्गौलाको समस्या देखियो । अवस्था कतिसम्म पुग्यो भने मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आइलाग्यो ।

उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँ जस्ता कैयन बिरामी आफूखुसी वा गैरचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा पछुताउने धेरै हुनुहुन्छ । सही ढङ्गले औषधि सेवन गर्न नजान्दा बिरामीले थप पीडा भोग्नु परेका कैयन उदाहरण भएको चिकित्सकहरुको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ)अनुसार औषधिको गलत भण्डारण, वितरण र सिफारिसले गम्भीर हानि निम्त्याउने गरेको छ । साथै औषधिको अपर्याप्त अनुगमन नगरिएको खण्डमा पनि समस्या बढाउने गरेको छ । कसैले भनेकै भरमा आफूखुसी औषधि सेवनले कालान्तरमा गम्भीर स्वास्थ्य अवस्थामा ल्याउन सक्ने विज्ञहरुको भनाइ छ । यसप्रकारको हेलचेक्र्याइँले थप समस्या निम्त्याउनाका साथै बिरामी अपाङ्ग हुने तथा मृत्युसम्म हुने गरेको देखिन्छ ।

फिजिसियन डा पुष्पमणि खरालले उच्च रक्तचाप, सुगर, मानसिक रोग, कोलेस्ट्रोललगायत समस्या समाधानका लागि सेवन गरिने औषधि चिकित्सकले जाँचपड्ताल गरेपछि मात्र खानुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्यारासिटामोल, झाडापखालाका औषधिहरु विश्वव्यापी रुपमा नै औषधि पसलमा गएर सिधै नै किन्न सकिन्छ । त्यो ठूलो कुरा भएन तर त्यसबाहेकका औषधिहरु चिकित्सकको सिफारिसबिना सेवन गर्नु हुँदैन । कतिपय अवस्थामा मात्रा मिल्दैन भने कतिपय अवस्थामा गलत औषधि पनि सेवन हुनसक्छ ।”

उहाँ बिरामीले सेवन गर्ने औषधिको मात्रा नमिल्दा मात्रै पनि धेरै समस्या निम्तन सक्ने बताउनुहुन्छ । “कुनै औषधि हामीले आठ घण्टाको अन्तरमा सेवन गर्न दिनुको अर्थ त्यो औषधिले त्यति समय मात्र काम गर्छ भन्नु हो”, उहाँले भन्नुभयो, “यो हचुवाका भरमा दिइएको हुँदैन यसका लागि लामो अध्ययन र अनुसन्धान भएको हुन्छ र सोहीअनुसार औषधि उत्पादन गरिएको हुन्छ ।” औषधिको गलत प्रयोगले शरीरका अङ्गहरुमा दीर्घकालीन असर पनि पर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

औषधिविज्ञ डा राजकुमार थापा औषधि खान जाने अमृत नभए विष समान हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “औषधि होसियारीपूर्वक सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवनले शरीरमा विभिन्न प्रकारका जटिलता निम्त्याउन सक्छ । जटिल प्रकारका लक्षण देखिँदा चिकित्सकको परामर्श, निगरानी र सिफारिसमा मात्रै सेवन गर्नुपर्छ ।” औषधिको उपयोग राम्रो नभए शरीरमा ‘एन्टिबायोटिक रेसिसटेन्स’ निम्त्याउने भएकाले साधारण दुखाइमा पनि ‘पेन किलर’ खाने बानी लाग्न सक्ने उहाँको भनाइ छ ।

चिकित्सकका अनुसार औषधिको मात्रा नमिलाएर खाँदा प्रभावकारी हुँदैन र कीटाणुको सङ्ख्या वृद्धि भई रोगलाई थप जटिल बनाउँछ । ती कीटाणुले एन्टिबायोटिकलाई जित्न सक्छ र पछि सोही परिणाममा सेवन गर्दा काम नगर्ने अवस्था आउँछ ।

डा खराल भन्नुहुन्छ, “एन्टिबायोटिक बढी मात्रामा सेवन गरियो भने यसले नकारात्मक असर पार्न सक्छ । तोकिएभन्दा बढी मात्रामा खाँदा कतिपय औषधिले सामान्यता ग्यास्ट्रिक बढाउनेदेखि कलेजो र मिर्गौलामा असर गर्छन् ।” उहाँले एक–दुईपटक औषधिको मात्रा बिर्सने बानीले पनि समस्या निम्तने भएकाले चिकित्सकको सिफारिसअनुसार नै नियमित औषधि सेवन गर्नु आवश्यक रहेको बताउनुहुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशतले आफूखुसी औषधि खरिद गर्ने पाइएको थियो । त्यसैगरी, २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको पनि भेटिएको थियो ।

औषधिको राम्ररी सेवन नगर्दा पूरा रुपमा रोग निको नहुने र तोकिएको मात्रा सेवन नगर्दा जीवाणुले एएमआर (एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता÷प्रतिरोध) को विकास गर्ने अवस्था आउँछ । जसकारण अर्को पटक सोही औषधि सोही परिणाममा सेवन गर्दा रोग निको नहुने विज्ञको भनाइ छ । सन् २०५० सम्म डब्लुएचओले वार्षिक एक करोड मानिस एएमआरको सिकार हुने अनुमान गरेको छ ।

डा खराल भन्नुहुन्छ, “दीर्घकालीन रोगको औषधि दीर्घकालीन रुपमा नै खानुपर्ने हुन्छ । कहिलेकाहीँ एक वा दुईवटा डोज बिर्सिंदैमा कुनै आपत्कालीन अवस्था आउँदैन तर सम्झने बित्तिकै खाने र सकेसम्म नियमित रुपमा खानुपर्ने हुन्छ । जस्तै नियमित खान भनिएको प्रेसरको औषधि खान बिर्सिंदा प्रेसर बढिराख्न सम्भावना हुन्छ ।”

उहाँले नियमित खान भनिएका प्रेसर र सुगरको औषधिलाई तोकिएअनुसार नखाँदा कालान्तरमा पक्षघात, हृदयाघात हुने सम्भावना बढ्छ भने मिर्गौलाले काम नगर्ने तथा आँखामा असर हुनसक्छ । सुगर बढेको अवस्थामा मान्छे बेहोस नै हुने, आइसियुमा नै भर्ना गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

धेरैले सुगर र प्रेसरको औषधिहरु आफँै खान छोड्दिने प्रवृत्ति रहेकाले चिकित्सकले खानुपर्छ भनेका औषधिहरु आफूखुसी छोड्नु नहुने चिकित्सकको भनाइ छ । जनरल फिजिसियन डा सुमना बज्राचार्य भन्नुहुन्छ, “कडा खालका दुखाइ कम गर्ने औषधि चिकित्सकको निगरानीमा मात्र खानुपर्छ । आफूखुसी खाँदा ती औषधिहरुले ग्यास्ट्रिक बढाउने हुन्छन् जसले पछि गएर मिर्गौला समेतलाई असर पु¥याउन सक्दछ ।”

औषधि खानैपर्ने अवस्था छैन भने पनि मान्छेले किनेर खाइरहेको पाइएको डा बज्राचार्यको अनुभव छ । उहाँ भन्नुहुन्छ, “दुई÷तीन दिन ज्वरो आएको छभने त्यो भाइरल ज्वरो हुनसक्छ जसमा एन्टिबायोटिक जरुरी पनि हुँदैन । हप्ता दिनमा निको भएर जान्छ । डरलाग्दो लक्षण देखिएमा जँचाउनुपर्छ । चिकित्सकले जरुरी भएको खण्डमा सङ्क्रमणअनुसार एन्टिबायोटिक दिन सक्छन् । पखाला लाग्ने बित्तिकै मेट्रोनिडाजोल खाइहाल्ने र घाँटी दुखेमा एजिथ्रोमाइसिन धेरैले खाने गरेको पाइन्छ । त्यस्तो गर्नु हुँदैन ।”

बिरामीले औषधि लिनुअघि औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिका जस्ता कुरा राम्रोसँग बुझ्नुपर्छ । केही कुरामा द्विविधा भए तत्काल सोध्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई औषधिको ‘साइड इफेक्ट’बारे जानकारी दिनुपर्छ ।

औषधिविज्ञ प्रदीप लम्सालले जनमानसमा स्वास्थ्य साक्षरता तुलनात्मकरुपमा बढेको भए पनि पर्याप्त नभएको बताउनुहुन्छ “चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्दा भविष्यमा असर गर्न सक्छ । यसबारे सचेतना र औषधिको गुणस्तरबारेमा पनि अनुगमन हुन जरुरी छ ।”

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा, आम्दानीबाट चार छोराछोरीको पालनपोषण गर्दै

धुसेनी (धादिङ), २५ वैशाख : धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नं १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।

ती गाउँका बासिन्दाको मुख्य आम्दानी नै निगालोका सामग्री बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्नु हो । प्रशस्त पानीको स्रोत रहेको यहाँका बासिन्दाले पछिल्लो समय कफी खेतीलाई समेत प्राथमिकता दिँदै आएका छन् ।

गङ्गाजमुना –२ स्थित धुसेनीका ४४ वर्षीया मीरा तामाङ दैनिक पाँचवटासम्म थुन्से बुन्नुहुन्छ । उहाँका श्रीमान् सुवास वैदेशिक रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । उहाँले थुन्से बिक्रीबाट गरेको आम्दानीबाट चारजना छोराछोरीको पालनपोषण गर्दै आउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् ।

“मैले थुन्सेसँग चामल, नुन, तेल, मसलालगायतका सामग्री साट्ने गरेको छु, थुन्से बिक्री गर्नुप¥यो भने प्रतिथुन्से रु १८० दिने गरेका छन्, पहिले रु २०० सम्ममा बेचेको थियौँ अहिले खासै राम्रो भाउ आएको छैन”, उहाँ भन्नुहुन्छ । पछिल्लो समय यस गाउँमा मोटरबाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन् ।

यस्तै, सोही गाउँकी ७२ वर्षीया श्रीमाया तामाङ पनि निगालोका सामग्री बनाएर बिक्री वितरण गर्दै आउनुभएको छ । उहाँले निगालोका सामग्री बनाएको पचासौँ वर्ष भइसक्यो । उहाँको घरमा हाल नौ जनाको परिवार रहेको छ । “यो गाउँमा बिहे गरेर आएदेखि नै निगालोका सामग्री बनाउन सुरु गरेको हुँ, यहाँका सबै मान्छेले निगालोबाट बनेका सामग्री बनाउनुहुन्छ”, उहाँ भन्नुहुन्छ । यहाँका महिला आफैँ निगालो काटेर ल्याएर चोया काढेर निगालोका सामग्री बुन्नुहुन्छ ।

सोही गाउँका ७८ वर्षीय लेका लामा पनि लामो समयदेखि निगालोका सामग्री बनाउँदै आउनुभएको छ । लेका थुन्से, डोका, डाला, मान्द्रो, भकारी सबै सामग्री बनाउँदै आउनुभएको छ । उहाँलाई थुन्से बुन्नका लागि श्रीमती कान्छी तामाङले समेत साथ दिँदै आउनुभएको छ ।

पुख्यौली पेसा भएको कारण पनि यहाँका सबै घरका मानिस निगालोका सामग्री बनाउन व्यस्त हुँदै आएका छन् । धुसेनी, लताप र तावलमा मात्र चार सयभन्दा बढी घर रहेका छन् । यहाँका अधिकांश घरको आम्दानीको स्रोत नै निगालोका चोयाबाट बनेका सामग्री बिक्री वितरण नै हो । यहाँका बासिन्दाले आफ्नो पाखा बारी र अनुत्पादक भूमिमा निगालो खेती गर्दै आएका छन् ।

गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङ यहाँका प्रत्येक घरले वार्षिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म निगालोबाट बनेका सामग्री बिक्री वितरण गर्दै आएको बताउनुहुन्छ । यहाँ उत्पादित निगालोका सामग्री धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीदेखि गोरखा, चितवन, काठमाडौँ, पोखरा, लमजुङलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष तामाङ बताउनुहुन्छ ।

पछिल्लो समय गङ्गाजमुना गाउँपालिकाले सफा र स्वच्छ गङ्गाजमुना अभियानसमेत सुरु गरेको छ । उक्त गाउँपालिकाभित्र उत्पादित फोहरलाई व्यवस्थापन गर्नका लागि गङ्गाजमुनाले प्रत्येक वडा र गाउँमा फोहर फाल्नका लागि निगालोबाट बनेका थुन्सेको प्रयोग गर्दै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ स्थानीयस्तरमा उत्पादित सामग्रीलाई गाउँपालिकाले प्रयोगमा ल्याएर फोहर व्यवस्थापनमा लगाएको बताउनुहुन्छ । उक्त गाउँपालिकाले वडा नं १ रिगाउँदेखि वडा नं ७ बुढाथुमसम्मका प्रत्येक वडा र गाउँमा थुन्सेको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

पर्यटनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले भर्खरै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को समेत अन्वेषण तथा प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । गङ्गाजमुनाभित्र रहेको प्राकृतिक, संस्कृति र साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को सहकार्यमा सम्भावित क्षेत्रको अध्ययन तथा अवलोकन गरेको छ ।

गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल पर्यटकलाई गङ्गाजमुनाभित्र आकर्षण गर्नका लागि सरसफाइ र आतिथ्यता नै महत्वपूर्ण भएको बताउनुहुन्छ । “गङ्गाजमुनालाई सरसफाइको हिसाबले नमूना गाउँपालिका बनाउनका लागि हामीले स्थानीयस्तरमा उत्पादित निगालोबाट बनेका थुन्सेलाई ‘डस्बिन’का रुपमा प्रयोग गरेका हौँ”, उहाँ भन्नुहुन्छ ।

गङ्गाजमुना गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मायाको चिनोस्वरुप स्थानीय तहमा उत्पादित निगालोबाट बनेका सामग्रीलाई प्राथमिकता दिने संयोजक ढकाल बताउनुहुन्छ । उहाँले निगालोका सामग्रीलाई पर्यटन प्रवद्र्धनसँग जोड्नका लागि गाउँपालिकाले काम गर्ने बताउनुहुन्छ ।

‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’ – मन्त्री भण्डारी

काठमाडौँ, २५ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उहाँले तयारी पोशाकलगायत निर्यातका समस्या समाधानमा व्यवसायीसँग बृहत् छलफल गर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “निर्यात व्यवसायीसित बृहत् छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था साह्रै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्न प्रतिबद्ध छु, यसमा पुँजीगत समस्या छ, हामी गम्भीर छौँ, आगामी बजेटले यस विषयलाई सम्बोधन गर्छ ।”

सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने टोली मन्त्रालयमा भएकै बेला वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोशाक निर्यातमा सहजीकरण निर्देशन दिनुभयो । सङ्घले मन्त्री समक्ष तयारी पोशाक उत्पादन र निर्यात प्रवर्द्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नुपर्ने माग राखेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र÷संस्थाहरुको आर्थिक÷प्राविधिक सहायतमा सञ्चालित कार्यक्रम तथ आयोजनाबाट तयारी पोशाक उत्पादन निर्यात प्रवर्द्धनका लागि सहयोग उपलब्ध गराउनुपर्ने सूचीमा सङ्घको नाम पनि समावेश गर्न अनुरोध छ ।”

काठमाडौँ उपत्यका वा छिमेकी जिल्लामा उपलब्ध जग्गामध्येबाट करिब तीन सय रोपनी जग्गामा वातावरणमैत्री तयारी पोशाक ग्रामको अवधारणाअनुसार उपत्यकामा छरिएर रहेका ससाना उद्योगलाई एकै स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्ने प्रबन्ध मिलाउन सङ्घले माग गरेको छ ।

ज्ञापनमा भनिएको छ, “यस्तो हुन सकेमा अन्तर्राष्ट्रिय साना तथा मझौला क्रेतालाई सरल पहुँच, महाविद्यालयका शिक्षार्थीलाई औद्योगिक अध्ययन-अवलोकन भ्रमण केन्द्र र एकीकृत औद्योगिक वातावरण निर्माण गर्न सकिने छ ।”

सङ्घले विसं २०४६ देखि खपत मापदण्ड अद्यावधिक गरी उद्योगीहरुको आवश्यकताअनुसार थप मापदण्ड निर्धारण गर्नुपर्ने माग गरेको छ । साथै नयाँ मापदण्ड निर्धारण नभएसम्म साविक बमोजिम निकासी र बैंक प्रत्याभूति फुकुवा गर्न अर्थ मन्त्रालयमा समन्वय गरिदिनुपर्ने सङ्घका माग छन् ।

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

काठमाडौँ, २५ वैशाख : सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

 विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ ।

 वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि.) सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।

जुम्लामा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे

जुम्ला, २५ वैशाख : जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो ।

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित भेडा रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौँ, २५ वैशाख-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले आज सिंहदरबारमा भेटी सो माग गर्नुभएको हो । नेपालका उपभोक्ता तथा औद्योगिक क्षेत्रमा चिनीको माग धान्न र चिनी उत्पादनमा आत्मनिर्भर हँुदै निर्यात गर्नसक्ने पर्याप्त सम्भावना हुँदाहँुदै पनि राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धान्न सकेको स्मरण सो पार्टीले गराएको छ ।

सरकारले चिनी आपूर्तिमा देखिने अभावलाई व्यवस्थापन गर्न समयमै आयात तथा भण्डारण गर्न उचित निर्णय लिएर चिनीमा हुने कालोबजारी नियन्त्रण गर्न, चिनीको मूल्यमा स्थिरता कायम गर्न, आपूर्ति व्यवस्था सहज गर्न र औपचारिक आयातबाट प्राप्त हुने करको सुनिश्चितता गर्न ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने

विराटनगर, २५ वैशाख- आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार आगलागीमा घर जलेका प्रतिपरिवार हिमाली जिल्लाका लागि रु पाँच लाख, पहाडी जिल्लाका लागि रु चार लाख र तराईका जिल्लाका लागि रु तीन लाखका दरले जिल्ला दैवी प्रकोप राहत कोषबाट रकम प्रदान गरिनेछ ।

घर निर्माण गर्दा सङ्घीय सरकारले महानगरपालिका क्षेत्रमा ५० प्रतिशत, नगरपालिका क्षेत्रमा ५५ प्रतिशत र गाउँपालिका क्षेत्रमा ६० प्रतिशत र प्रदेश सरकारले प्रत्येक क्षेत्रमा ३० प्रतिशत बाँकी रकम सम्बन्धित पालिकाले बेहोर्ने जनाइएको छ ।

आगलागी पीडित परिवारका राहतका निम्ति सम्बन्धित पालिकाले क्षति र मुचुल्कासहितका विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
यसवर्ष मोरङमा आगलागीबाट ज्यान गुमाएका आठ जनालाई जनही रु दुई लाखका दरले र आगलागीमा परेका ६५ परिवारलाई रु ५४ लाख ३१ हजारसहित कूल रु ७० लाख ३१ हजार क्षतिपूर्ति दिइसकेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरि आगामी मनसुनबाट हुनसक्ने जनधनका क्षति न्यूनीकरण गर्न आवश्यक भौतिक सामग्री पालिकाले समयमै व्यवस्थापन गर्न र तयारीका विषयमा तीन दिनभित्र विवरण उपलब्ध गराउन सबै पालिका प्रमुखलाई प्रजिअ भट्टराईले निर्देशन दिनुभएको छ ।बर्षाका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रको अनुगमन गर्ने र सोहीअनुसार तयारी गर्ने निर्णय भएको छ । बैठकमा सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, पालिकाका प्रमुख, सञ्चारकर्मी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ वैशाख-उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले संयुक्त अधिराज्य नेपालको एक प्रमुख विकास साझेदार भएको र दुई देशबीच राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा अद्वितीय मित्रता कायम रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि नेपाल र संयुक्त अधिराज्यले मानव कल्याणसँग सम्बन्ध राख्ने र साझा चासोका विविध क्षेत्रहरु राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनामा सहयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि सहकार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र नेपाली नागरिकहरूका तर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रहसमेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । राजदूत फेनले नेपालको हरेक क्षेत्रमा संयुक्त अधिराज्यले सहयोग गर्न चाहेको बताउनुभएको थियो ।

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौँ, २५ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको राससलाई बताउनुभयो ।

उहाँले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिनुभयो ।

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौँ, २५ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ । प आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ ।