`

इरानलाई सहयोगका लागि ‘ठोस’ कदम चाल्न आइएइए प्रमुखको आग्रह

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीले मङ्गलबार इरानसँग मुलुकको आणविक कार्यक्रममा सहयोग सुदृढ गर्न ‘ठोस’ कदम चाल्न आग्रह गर्नुभएको छ ।

इरानी सहर इस्फाहानमा आयोजित पत्रकार सम्मेलनमा इरानी अधिकारीहरूसँगको छलफलमा उनीहरूले ‘सहयोगलाई तीव्रता दिन लागु गर्न सकिने ठोस, अत्यन्त व्यावहारिक र मूर्त उपायहरूमा ध्यान केन्द्रीत गर्ने’ प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

ग्रोसीले इरानका आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीलगायत वरिष्ठ इरानी अधिकारीहरूसँग छलफल गर्नुभएको थियो । आएइएका महानिर्देशक ग्रोसीले इरानसँग सन् २०२३ मार्चको सम्झौता ‘अझै पनि वैध’ रहेको तर यसमा थप ‘तत्व’ थप्न आवश्यक रहेको बताउनुभयो ।

उक्त सम्झौता ग्रोसीको पछिल्लो इरान भ्रमणका क्रममा भएको थियो र सम्झौतामा सुरक्षा उपाय तथा अनुगमनसहित आधारभूत सहयोग मापनलाई रेखाङ्कित गरिएको थियो । यद्यपि आइएइए प्रमुखले उक्त सम्झौताको कार्यान्वयनमा ‘सुस्तता’ आएको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा एकतर्फी सम्झौताबाट पछि हटेर व्यापक प्रतिबन्धलाई पुनः लागु गरेपछि इरानले प्रमुख शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक सम्झौताले निर्धारण गरेको आणविक गतिविधिमा रहेको सीमाको पालनालाई निलम्बन गरेको छ ।

सम्झौता टुटेपछि इरान र आइएइएबीच बारम्बार तनाव बढेको छ र युरोपेली सङ्घ (इयु) को मध्यस्थता प्रयासहरू अहिलेसम्म वासिङ्टनलाई फिर्ता ल्याउने र तेहरानलाई सम्झौताका सर्तहरू पुनः पालना गराउन विफल भएका छन् ।

एजेन्सीले हालैका महिनाहरूमा इरानको आणविक कार्य विस्तार, निरीक्षकहरूमाथि प्रतिबन्ध र आफ्नो आणविक केन्द्रहरूमा एजेन्सीको अनुगमन उपकरणलाई निष्क्रिय पार्नेजस्ता मुद्दामा सहयोगको अभावका लागि आलोचना गरेको छ ।

फेब्रुअरीमा एएफपीले देखेको गोप्य रिपोर्टबारे एजेन्सीले इरानको समृद्ध युरेनियमको अनुमानित भण्डार सन् २०१५ को सम्झौतामा निर्धारित सीमाभन्दा २७ गुणा बढी भएको बताएको छ । गत वर्ष इरानले उसको युरेनियम संवर्धनको गतिलाई सुस्त बनाएको थियो र यसलाई अमेरिकासँग अनौपचारिक छलफल सुरु हुँदा सद्भावना सङ्केतका रूपमा हेरिएको थियो ।

यद्यपि आएइएका अनुसार इरानले सन् २०२३ को उत्तरार्धमा ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनमा तीव्रता ल्याएको छ । सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक हुन्छ । सम्मेलनका क्रममा इस्लामीले ग्रोसीसँगको छलफल ‘रचनात्मक’ थियो भन्दै सन् २०२३ को सम्झौता इरान र एजेन्सीबीच ‘छलफलका लागि राम्रो आधार’ भएको कुरामा सहमति भएको बताउनुभयो ।

आफूखुसी औषधि सेवन घातक, औषधि जाँचपड्ताल गरेपछि मात्र खानुपर्ने चिकित्सकको सुझाव

काठमाडौँ, २५ वैशाखः काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन । जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उहाँले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गर्नुभयो ।

जडीबुटी सेवनपछि उहाँको दुखाइ अझ बढ्यो । जडीबुटी सेवन गरेको छ महिनापछि जीउ सुन्निने, पेट दुख्ने, दिसामा कालो देखिने समस्या थपियो । अस्पतालमा चेकजाँच गराउँदा आन्द्रामा घाउ भएर अल्सर भइसकेको पत्ता लाग्यो । चिकित्सकले उहाँलाई जथाभावी औषधिको प्रयोगले शरीरको हार्मोन असन्तुलन बनाउँदा उक्त समस्या देखिएको बताएका थिए । औषधिको असन्तुलित सेवनले सुगर र प्रेसरसमेत बढेको पाइएको थियो ।

जथाभावी औषधि सेवनबाट पीडित हुनेमा शिक्षण पेसामा आबद्ध ५० वर्षीय पुरुष पनि हुनुहुन्छ । पेट दुख्ने बित्तिकै दुखाइ कम गर्ने औषधि सेवन गर्ने बानीले उहाँलाई कालान्तरमा ठूलो समस्या थपिदियो । उहाँ पेट दुख्दा कारण पत्ता लगाउनुको साटो मनलाग्दी औषधि सेवन गर्नुहुन्थ्यो । कालान्तरमा शरीरमा थकाइ लाग्ने, छाला चिलाउने, कमजोरी महसुसजस्ता लक्षण देखिन थाल्यो । जाँच गर्दा मिर्गौलाको समस्या देखियो । अवस्था कतिसम्म पुग्यो भने मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आइलाग्यो ।

उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँ जस्ता कैयन बिरामी आफूखुसी वा गैरचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा पछुताउने धेरै हुनुहुन्छ । सही ढङ्गले औषधि सेवन गर्न नजान्दा बिरामीले थप पीडा भोग्नु परेका कैयन उदाहरण भएको चिकित्सकहरुको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ)अनुसार औषधिको गलत भण्डारण, वितरण र सिफारिसले गम्भीर हानि निम्त्याउने गरेको छ । साथै औषधिको अपर्याप्त अनुगमन नगरिएको खण्डमा पनि समस्या बढाउने गरेको छ । कसैले भनेकै भरमा आफूखुसी औषधि सेवनले कालान्तरमा गम्भीर स्वास्थ्य अवस्थामा ल्याउन सक्ने विज्ञहरुको भनाइ छ । यसप्रकारको हेलचेक्र्याइँले थप समस्या निम्त्याउनाका साथै बिरामी अपाङ्ग हुने तथा मृत्युसम्म हुने गरेको देखिन्छ ।

फिजिसियन डा पुष्पमणि खरालले उच्च रक्तचाप, सुगर, मानसिक रोग, कोलेस्ट्रोललगायत समस्या समाधानका लागि सेवन गरिने औषधि चिकित्सकले जाँचपड्ताल गरेपछि मात्र खानुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्यारासिटामोल, झाडापखालाका औषधिहरु विश्वव्यापी रुपमा नै औषधि पसलमा गएर सिधै नै किन्न सकिन्छ । त्यो ठूलो कुरा भएन तर त्यसबाहेकका औषधिहरु चिकित्सकको सिफारिसबिना सेवन गर्नु हुँदैन । कतिपय अवस्थामा मात्रा मिल्दैन भने कतिपय अवस्थामा गलत औषधि पनि सेवन हुनसक्छ ।”

उहाँ बिरामीले सेवन गर्ने औषधिको मात्रा नमिल्दा मात्रै पनि धेरै समस्या निम्तन सक्ने बताउनुहुन्छ । “कुनै औषधि हामीले आठ घण्टाको अन्तरमा सेवन गर्न दिनुको अर्थ त्यो औषधिले त्यति समय मात्र काम गर्छ भन्नु हो”, उहाँले भन्नुभयो, “यो हचुवाका भरमा दिइएको हुँदैन यसका लागि लामो अध्ययन र अनुसन्धान भएको हुन्छ र सोहीअनुसार औषधि उत्पादन गरिएको हुन्छ ।” औषधिको गलत प्रयोगले शरीरका अङ्गहरुमा दीर्घकालीन असर पनि पर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

औषधिविज्ञ डा राजकुमार थापा औषधि खान जाने अमृत नभए विष समान हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “औषधि होसियारीपूर्वक सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवनले शरीरमा विभिन्न प्रकारका जटिलता निम्त्याउन सक्छ । जटिल प्रकारका लक्षण देखिँदा चिकित्सकको परामर्श, निगरानी र सिफारिसमा मात्रै सेवन गर्नुपर्छ ।” औषधिको उपयोग राम्रो नभए शरीरमा ‘एन्टिबायोटिक रेसिसटेन्स’ निम्त्याउने भएकाले साधारण दुखाइमा पनि ‘पेन किलर’ खाने बानी लाग्न सक्ने उहाँको भनाइ छ ।

चिकित्सकका अनुसार औषधिको मात्रा नमिलाएर खाँदा प्रभावकारी हुँदैन र कीटाणुको सङ्ख्या वृद्धि भई रोगलाई थप जटिल बनाउँछ । ती कीटाणुले एन्टिबायोटिकलाई जित्न सक्छ र पछि सोही परिणाममा सेवन गर्दा काम नगर्ने अवस्था आउँछ ।

डा खराल भन्नुहुन्छ, “एन्टिबायोटिक बढी मात्रामा सेवन गरियो भने यसले नकारात्मक असर पार्न सक्छ । तोकिएभन्दा बढी मात्रामा खाँदा कतिपय औषधिले सामान्यता ग्यास्ट्रिक बढाउनेदेखि कलेजो र मिर्गौलामा असर गर्छन् ।” उहाँले एक–दुईपटक औषधिको मात्रा बिर्सने बानीले पनि समस्या निम्तने भएकाले चिकित्सकको सिफारिसअनुसार नै नियमित औषधि सेवन गर्नु आवश्यक रहेको बताउनुहुन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशतले आफूखुसी औषधि खरिद गर्ने पाइएको थियो । त्यसैगरी, २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको पनि भेटिएको थियो ।

औषधिको राम्ररी सेवन नगर्दा पूरा रुपमा रोग निको नहुने र तोकिएको मात्रा सेवन नगर्दा जीवाणुले एएमआर (एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता÷प्रतिरोध) को विकास गर्ने अवस्था आउँछ । जसकारण अर्को पटक सोही औषधि सोही परिणाममा सेवन गर्दा रोग निको नहुने विज्ञको भनाइ छ । सन् २०५० सम्म डब्लुएचओले वार्षिक एक करोड मानिस एएमआरको सिकार हुने अनुमान गरेको छ ।

डा खराल भन्नुहुन्छ, “दीर्घकालीन रोगको औषधि दीर्घकालीन रुपमा नै खानुपर्ने हुन्छ । कहिलेकाहीँ एक वा दुईवटा डोज बिर्सिंदैमा कुनै आपत्कालीन अवस्था आउँदैन तर सम्झने बित्तिकै खाने र सकेसम्म नियमित रुपमा खानुपर्ने हुन्छ । जस्तै नियमित खान भनिएको प्रेसरको औषधि खान बिर्सिंदा प्रेसर बढिराख्न सम्भावना हुन्छ ।”

उहाँले नियमित खान भनिएका प्रेसर र सुगरको औषधिलाई तोकिएअनुसार नखाँदा कालान्तरमा पक्षघात, हृदयाघात हुने सम्भावना बढ्छ भने मिर्गौलाले काम नगर्ने तथा आँखामा असर हुनसक्छ । सुगर बढेको अवस्थामा मान्छे बेहोस नै हुने, आइसियुमा नै भर्ना गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

धेरैले सुगर र प्रेसरको औषधिहरु आफँै खान छोड्दिने प्रवृत्ति रहेकाले चिकित्सकले खानुपर्छ भनेका औषधिहरु आफूखुसी छोड्नु नहुने चिकित्सकको भनाइ छ । जनरल फिजिसियन डा सुमना बज्राचार्य भन्नुहुन्छ, “कडा खालका दुखाइ कम गर्ने औषधि चिकित्सकको निगरानीमा मात्र खानुपर्छ । आफूखुसी खाँदा ती औषधिहरुले ग्यास्ट्रिक बढाउने हुन्छन् जसले पछि गएर मिर्गौला समेतलाई असर पु¥याउन सक्दछ ।”

औषधि खानैपर्ने अवस्था छैन भने पनि मान्छेले किनेर खाइरहेको पाइएको डा बज्राचार्यको अनुभव छ । उहाँ भन्नुहुन्छ, “दुई÷तीन दिन ज्वरो आएको छभने त्यो भाइरल ज्वरो हुनसक्छ जसमा एन्टिबायोटिक जरुरी पनि हुँदैन । हप्ता दिनमा निको भएर जान्छ । डरलाग्दो लक्षण देखिएमा जँचाउनुपर्छ । चिकित्सकले जरुरी भएको खण्डमा सङ्क्रमणअनुसार एन्टिबायोटिक दिन सक्छन् । पखाला लाग्ने बित्तिकै मेट्रोनिडाजोल खाइहाल्ने र घाँटी दुखेमा एजिथ्रोमाइसिन धेरैले खाने गरेको पाइन्छ । त्यस्तो गर्नु हुँदैन ।”

बिरामीले औषधि लिनुअघि औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिका जस्ता कुरा राम्रोसँग बुझ्नुपर्छ । केही कुरामा द्विविधा भए तत्काल सोध्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई औषधिको ‘साइड इफेक्ट’बारे जानकारी दिनुपर्छ ।

औषधिविज्ञ प्रदीप लम्सालले जनमानसमा स्वास्थ्य साक्षरता तुलनात्मकरुपमा बढेको भए पनि पर्याप्त नभएको बताउनुहुन्छ “चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्दा भविष्यमा असर गर्न सक्छ । यसबारे सचेतना र औषधिको गुणस्तरबारेमा पनि अनुगमन हुन जरुरी छ ।”

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा, आम्दानीबाट चार छोराछोरीको पालनपोषण गर्दै

धुसेनी (धादिङ), २५ वैशाख : धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नं १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।

ती गाउँका बासिन्दाको मुख्य आम्दानी नै निगालोका सामग्री बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्नु हो । प्रशस्त पानीको स्रोत रहेको यहाँका बासिन्दाले पछिल्लो समय कफी खेतीलाई समेत प्राथमिकता दिँदै आएका छन् ।

गङ्गाजमुना –२ स्थित धुसेनीका ४४ वर्षीया मीरा तामाङ दैनिक पाँचवटासम्म थुन्से बुन्नुहुन्छ । उहाँका श्रीमान् सुवास वैदेशिक रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । उहाँले थुन्से बिक्रीबाट गरेको आम्दानीबाट चारजना छोराछोरीको पालनपोषण गर्दै आउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् ।

“मैले थुन्सेसँग चामल, नुन, तेल, मसलालगायतका सामग्री साट्ने गरेको छु, थुन्से बिक्री गर्नुप¥यो भने प्रतिथुन्से रु १८० दिने गरेका छन्, पहिले रु २०० सम्ममा बेचेको थियौँ अहिले खासै राम्रो भाउ आएको छैन”, उहाँ भन्नुहुन्छ । पछिल्लो समय यस गाउँमा मोटरबाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन् ।

यस्तै, सोही गाउँकी ७२ वर्षीया श्रीमाया तामाङ पनि निगालोका सामग्री बनाएर बिक्री वितरण गर्दै आउनुभएको छ । उहाँले निगालोका सामग्री बनाएको पचासौँ वर्ष भइसक्यो । उहाँको घरमा हाल नौ जनाको परिवार रहेको छ । “यो गाउँमा बिहे गरेर आएदेखि नै निगालोका सामग्री बनाउन सुरु गरेको हुँ, यहाँका सबै मान्छेले निगालोबाट बनेका सामग्री बनाउनुहुन्छ”, उहाँ भन्नुहुन्छ । यहाँका महिला आफैँ निगालो काटेर ल्याएर चोया काढेर निगालोका सामग्री बुन्नुहुन्छ ।

सोही गाउँका ७८ वर्षीय लेका लामा पनि लामो समयदेखि निगालोका सामग्री बनाउँदै आउनुभएको छ । लेका थुन्से, डोका, डाला, मान्द्रो, भकारी सबै सामग्री बनाउँदै आउनुभएको छ । उहाँलाई थुन्से बुन्नका लागि श्रीमती कान्छी तामाङले समेत साथ दिँदै आउनुभएको छ ।

पुख्यौली पेसा भएको कारण पनि यहाँका सबै घरका मानिस निगालोका सामग्री बनाउन व्यस्त हुँदै आएका छन् । धुसेनी, लताप र तावलमा मात्र चार सयभन्दा बढी घर रहेका छन् । यहाँका अधिकांश घरको आम्दानीको स्रोत नै निगालोका चोयाबाट बनेका सामग्री बिक्री वितरण नै हो । यहाँका बासिन्दाले आफ्नो पाखा बारी र अनुत्पादक भूमिमा निगालो खेती गर्दै आएका छन् ।

गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङ यहाँका प्रत्येक घरले वार्षिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म निगालोबाट बनेका सामग्री बिक्री वितरण गर्दै आएको बताउनुहुन्छ । यहाँ उत्पादित निगालोका सामग्री धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीदेखि गोरखा, चितवन, काठमाडौँ, पोखरा, लमजुङलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष तामाङ बताउनुहुन्छ ।

पछिल्लो समय गङ्गाजमुना गाउँपालिकाले सफा र स्वच्छ गङ्गाजमुना अभियानसमेत सुरु गरेको छ । उक्त गाउँपालिकाभित्र उत्पादित फोहरलाई व्यवस्थापन गर्नका लागि गङ्गाजमुनाले प्रत्येक वडा र गाउँमा फोहर फाल्नका लागि निगालोबाट बनेका थुन्सेको प्रयोग गर्दै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ स्थानीयस्तरमा उत्पादित सामग्रीलाई गाउँपालिकाले प्रयोगमा ल्याएर फोहर व्यवस्थापनमा लगाएको बताउनुहुन्छ । उक्त गाउँपालिकाले वडा नं १ रिगाउँदेखि वडा नं ७ बुढाथुमसम्मका प्रत्येक वडा र गाउँमा थुन्सेको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

पर्यटनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले भर्खरै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को समेत अन्वेषण तथा प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । गङ्गाजमुनाभित्र रहेको प्राकृतिक, संस्कृति र साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को सहकार्यमा सम्भावित क्षेत्रको अध्ययन तथा अवलोकन गरेको छ ।

गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल पर्यटकलाई गङ्गाजमुनाभित्र आकर्षण गर्नका लागि सरसफाइ र आतिथ्यता नै महत्वपूर्ण भएको बताउनुहुन्छ । “गङ्गाजमुनालाई सरसफाइको हिसाबले नमूना गाउँपालिका बनाउनका लागि हामीले स्थानीयस्तरमा उत्पादित निगालोबाट बनेका थुन्सेलाई ‘डस्बिन’का रुपमा प्रयोग गरेका हौँ”, उहाँ भन्नुहुन्छ ।

गङ्गाजमुना गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मायाको चिनोस्वरुप स्थानीय तहमा उत्पादित निगालोबाट बनेका सामग्रीलाई प्राथमिकता दिने संयोजक ढकाल बताउनुहुन्छ । उहाँले निगालोका सामग्रीलाई पर्यटन प्रवद्र्धनसँग जोड्नका लागि गाउँपालिकाले काम गर्ने बताउनुहुन्छ ।

‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’ – मन्त्री भण्डारी

काठमाडौँ, २५ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उहाँले तयारी पोशाकलगायत निर्यातका समस्या समाधानमा व्यवसायीसँग बृहत् छलफल गर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “निर्यात व्यवसायीसित बृहत् छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था साह्रै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्न प्रतिबद्ध छु, यसमा पुँजीगत समस्या छ, हामी गम्भीर छौँ, आगामी बजेटले यस विषयलाई सम्बोधन गर्छ ।”

सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने टोली मन्त्रालयमा भएकै बेला वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोशाक निर्यातमा सहजीकरण निर्देशन दिनुभयो । सङ्घले मन्त्री समक्ष तयारी पोशाक उत्पादन र निर्यात प्रवर्द्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नुपर्ने माग राखेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र÷संस्थाहरुको आर्थिक÷प्राविधिक सहायतमा सञ्चालित कार्यक्रम तथ आयोजनाबाट तयारी पोशाक उत्पादन निर्यात प्रवर्द्धनका लागि सहयोग उपलब्ध गराउनुपर्ने सूचीमा सङ्घको नाम पनि समावेश गर्न अनुरोध छ ।”

काठमाडौँ उपत्यका वा छिमेकी जिल्लामा उपलब्ध जग्गामध्येबाट करिब तीन सय रोपनी जग्गामा वातावरणमैत्री तयारी पोशाक ग्रामको अवधारणाअनुसार उपत्यकामा छरिएर रहेका ससाना उद्योगलाई एकै स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्ने प्रबन्ध मिलाउन सङ्घले माग गरेको छ ।

ज्ञापनमा भनिएको छ, “यस्तो हुन सकेमा अन्तर्राष्ट्रिय साना तथा मझौला क्रेतालाई सरल पहुँच, महाविद्यालयका शिक्षार्थीलाई औद्योगिक अध्ययन-अवलोकन भ्रमण केन्द्र र एकीकृत औद्योगिक वातावरण निर्माण गर्न सकिने छ ।”

सङ्घले विसं २०४६ देखि खपत मापदण्ड अद्यावधिक गरी उद्योगीहरुको आवश्यकताअनुसार थप मापदण्ड निर्धारण गर्नुपर्ने माग गरेको छ । साथै नयाँ मापदण्ड निर्धारण नभएसम्म साविक बमोजिम निकासी र बैंक प्रत्याभूति फुकुवा गर्न अर्थ मन्त्रालयमा समन्वय गरिदिनुपर्ने सङ्घका माग छन् ।

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

काठमाडौँ, २५ वैशाख : सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

 विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ ।

 वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि.) सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।

जुम्लामा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे

जुम्ला, २५ वैशाख : जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिनुभयो ।

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

पीडित भेडा रावत दाजुभाईलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौँ, २५ वैशाख-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले आज सिंहदरबारमा भेटी सो माग गर्नुभएको हो । नेपालका उपभोक्ता तथा औद्योगिक क्षेत्रमा चिनीको माग धान्न र चिनी उत्पादनमा आत्मनिर्भर हँुदै निर्यात गर्नसक्ने पर्याप्त सम्भावना हुँदाहँुदै पनि राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धान्न सकेको स्मरण सो पार्टीले गराएको छ ।

सरकारले चिनी आपूर्तिमा देखिने अभावलाई व्यवस्थापन गर्न समयमै आयात तथा भण्डारण गर्न उचित निर्णय लिएर चिनीमा हुने कालोबजारी नियन्त्रण गर्न, चिनीको मूल्यमा स्थिरता कायम गर्न, आपूर्ति व्यवस्था सहज गर्न र औपचारिक आयातबाट प्राप्त हुने करको सुनिश्चितता गर्न ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने

विराटनगर, २५ वैशाख- आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार आगलागीमा घर जलेका प्रतिपरिवार हिमाली जिल्लाका लागि रु पाँच लाख, पहाडी जिल्लाका लागि रु चार लाख र तराईका जिल्लाका लागि रु तीन लाखका दरले जिल्ला दैवी प्रकोप राहत कोषबाट रकम प्रदान गरिनेछ ।

घर निर्माण गर्दा सङ्घीय सरकारले महानगरपालिका क्षेत्रमा ५० प्रतिशत, नगरपालिका क्षेत्रमा ५५ प्रतिशत र गाउँपालिका क्षेत्रमा ६० प्रतिशत र प्रदेश सरकारले प्रत्येक क्षेत्रमा ३० प्रतिशत बाँकी रकम सम्बन्धित पालिकाले बेहोर्ने जनाइएको छ ।

आगलागी पीडित परिवारका राहतका निम्ति सम्बन्धित पालिकाले क्षति र मुचुल्कासहितका विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
यसवर्ष मोरङमा आगलागीबाट ज्यान गुमाएका आठ जनालाई जनही रु दुई लाखका दरले र आगलागीमा परेका ६५ परिवारलाई रु ५४ लाख ३१ हजारसहित कूल रु ७० लाख ३१ हजार क्षतिपूर्ति दिइसकेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरि आगामी मनसुनबाट हुनसक्ने जनधनका क्षति न्यूनीकरण गर्न आवश्यक भौतिक सामग्री पालिकाले समयमै व्यवस्थापन गर्न र तयारीका विषयमा तीन दिनभित्र विवरण उपलब्ध गराउन सबै पालिका प्रमुखलाई प्रजिअ भट्टराईले निर्देशन दिनुभएको छ ।बर्षाका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रको अनुगमन गर्ने र सोहीअनुसार तयारी गर्ने निर्णय भएको छ । बैठकमा सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, पालिकाका प्रमुख, सञ्चारकर्मी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ वैशाख-उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले संयुक्त अधिराज्य नेपालको एक प्रमुख विकास साझेदार भएको र दुई देशबीच राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा अद्वितीय मित्रता कायम रहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि नेपाल र संयुक्त अधिराज्यले मानव कल्याणसँग सम्बन्ध राख्ने र साझा चासोका विविध क्षेत्रहरु राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनामा सहयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि सहकार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र नेपाली नागरिकहरूका तर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रहसमेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । राजदूत फेनले नेपालको हरेक क्षेत्रमा संयुक्त अधिराज्यले सहयोग गर्न चाहेको बताउनुभएको थियो ।

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौँ, २५ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको राससलाई बताउनुभयो ।

उहाँले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिनुभयो ।

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौँ, २५ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ । प आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ ।

अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौँ, २५ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्कनुभएको छ ।

राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको थियो ।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

आयोगको बैठकमा स्वास्थ्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको सुधार, दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असरबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण हुने बताउनुभएको थियो ।

खोटाङका अग्निपीडितलाई एक लाख ७६ हजार सहयोग

खोटाङ, २५ वैशाखः हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।

पीडितलाई क्षतिको मूल्याङ्कन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिनुभयो ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।
आगलागीबाट रु एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ ।

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने जानकारी उहाँले दिनुभयो ।

निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै हुनुहुन्छ । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न सभामुखले बैठकमा पुनः अनुरोध गर्नुहुने बताइएको छ ।
सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।
विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, रासस प्रतिनिधिसँग सङ्क्षिप्त कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले अधिवेशनलाई परिणामुखी तुल्याउन संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदले जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबका चुनौती पार लगाउँदै नागरिकमा आशा जगाउने र युवाशक्ति देशभित्रै रहने वातावरण सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम सदनमा पेस गर्न सरकारले गृहकार्यमा जुटेको छ, त्यसका आधारमा बजेट पनि आउँछ ।”

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम, २५ वैशाखः सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।

आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद गर्न थालेका हुन्। गत फागुनदेखि घ्यू खरिद सुरु भएको हो । गुठी संस्थानले पनि घ्यू खरिद गर्न थालेको छ ।

पशुपालन तथा दुग्ध व्यवसाय गर्ने किसानसँग उधारोमा दूध खरिद गर्दै आएको आयोजनाले साउनदेखि मङ्सिरसम्मको बक्यौता रकम तिरेको भए तापनि पुस–माघको रु एक करोड ३१ लाख तिर्न बाँकी छ ।

उक्त आयोजनाअन्तर्गत १२ हजार किसान प्रत्यक्ष रूपमा आबद्ध भई आर्थिक लाभ लिन थालेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा उदयपुरका सङ्कलन केन्द्रमार्फत दूध सङ्कलन हुन गरेको छ । जाडो याममा चार हजार लिटर तथा सुक्खा याममा प्रतिदिन दुई हजार लिटर दूध सङ्कलन हुने गरेको छ ।

दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्दा आयोजनाको मापदण्डअनुसार गुणस्तर निर्धाण गरेर मात्र बिक्री गर्ने गरिएको छ ।

आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ दैनिक रु तीन लाख मूल्य बराबरको बिक्री भइरहेको छ । आयोजनाले दूध, दही,घ्यू, पनिर, आइसक्रिमलगायत सामग्री उत्पादन गर्दै आएको छ ।
गर्मी याममा यहाँबाट उत्पादित दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय लिटरसम्म दही बिक्री हुँदै आएको छ ।

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशुपालनलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर व्यावसायिक उत्पादन वृद्धि गर्न अभिप्रेरित गरेमा किसानको जीवनस्तर सुधार हुनका साथै आर्थिक समृद्धितर्फको यात्रमा सफलता मिल्ने आयोजनाप्रमुख जोशी बताउनुहुन्छ ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।

धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहनुभएको छ । उहाँहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आउनुभएको छ । उद्योगमा आठजनालाई रोजगारी पनि दिनुभएको छ । कामदारलाई मासिक रु आठदेखि ३० हजारसम्म तलब दिँदै आउनुभएको छ । उहाँहरूले आफ्नो परिवारका लागि खर्चसमेत यसैबाट पुर्याउँदै आउनुभएको छ।

उद्यमी एनसीले आफ्नो पुख्र्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गर्नुभएको हो । उहाँ व्यवसायसँगै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध भएर काम गरिरहनुभएको छ । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुनुहुन्छ भने भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आउनुभएको छ ।

एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपथ्र्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेका राईले बताउनुभयो । धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाउनुहुन्छ । अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी ।

दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राई बताउनुहुन्छ । उहाँहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आउनुभएको वीरेन्द्र थापा बताउनुहुन्छ । उहाँहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेका थापा बताउनुहुन्छ ।

लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउनुहुन्छ । अहिले आफ्नै ठाउँमा आठ–दश जनालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा उहाँहरू हुनुहुन्छ ।

धरानमा दुईवटा शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत सञ्चालनमा छन् । उहाँहरूले सञ्चालन गर्दै आउनुभएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक रु दुईदेखि दुई लाख ५० हजारसम्म बचत हुने गरेको बताउनुभयो ।

ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्नुहुन्छ, “मेहनत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।”

रफाहबारे राष्ट्रपति बाइडेनले नेतान्याहुसँग कुरा गर्नुहुन्छ– ह्वाइट हाउस

दक्षिणी गाजा सहरमा आक्रमण गर्नुअघि इजराइली सेनाले प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग कुरा गर्नुहुने ह्वाइट हाउसले बताएको छ । युद्धविरामका लागि हमाससँगको जारी वार्ता र रफाहमा आश्रय लिएका नागरिकहरूलाई सहयोग गर्ने पूर्ण योजनाबिना त्यहाँ गरिने आक्रमणलाई समर्थन नगर्ने वासिङ्टनको बारम्बारको भनाइका बावजुद इजराइलको उक्त घोषणा आएको छ ।

“हामी आइडिएफ अपरेसनका बारेमा बोल्न सक्तैनौँ, हामीले रफाहमा ठूलो स्थल आक्रमणका बारेमा इजराइली सरकारलाई हाम्रो धारणा स्पष्ट गरेका छौँ र राष्ट्रपतिले आज प्रधानमन्त्रीसँग कुरा गर्नुहुनेछ”, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले भन्नुभयो, “लाखौँ मानिसले आश्रय लिइरहेको रफाहमा हुने आक्रमणबाट बच्न र बन्धकहरूको जीवन जोगाउन बन्धक सम्झौता नै उत्तम तरिका हो भन्ने हामीलाई विश्वास छ, वार्ताहरू अहिले पनि जारी छन् ।”

गाजा र इजराइलबीचको सीमा क्षेत्रमा हमास लडाकूहरूले गरेको रकेट आक्रमणपछि इजराइली सेनाले सोमबार प्यालेस्टिनीहरूलाई पूर्वी रफाह खाली गर्न आह्वान गरेको हो । हमासको आक्रमणमा चार इजराइली सैनिक मारिएका छन् । कायरोमा सप्ताहन्तको वार्ताका क्रममा सात महिनाको युद्धलाई समाप्त गर्ने इस्लामिक समूहको मागलाई लिएर इजराइल र हमासबीच तीव्र असहमति बढेपछि रफाह खाली गर्ने आह्वान आएको हो ।

इजिप्टले जस्तै वार्ताको मध्यस्थता गरिरहेका संयुक्त राज्य अमेरिका र कतारबीच सोमबार दोहामा परामर्श हुने अपेक्षा गरिएको थियो तर रकेट आक्रमणपछि वार्ता रोकिएको इजिप्टको राज्यसम्बन्धित सञ्चारमाध्यमले बताएको छ ।

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले सोमबार पेरिसमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि युक्रेनविरुद्ध रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न दबाब दिनुभएको छ । साथै उहाँहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गर्नुभएको छ ।

सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उहाँले सर्बिया र हङ्गेरीमा पनि वार्ता गर्नुहुनेछ । विश्लेषकहरूले कुनै ठूलो सफलताको अपेक्षा नगरे पनि राष्ट्रपति सीले युक्रेनमा शान्ति पाउन चाहेको बताउनुभएको छ । भान डेर लेनको उपस्थितिमा प्रारम्भिक त्रिपक्षीय बैठकको सुरुआतमा म्याक्रोनले युक्रेनलगायत ‘प्रमुख सङ्कटहरू’ मा बेइजिङसँगका समन्वय ‘पूर्णरूपमा निर्णायक’ भएको भन्दै युरोप–चीन व्यापारमा ‘सबैका लागि निष्पक्ष नियम’ को आग्रह गर्नुभयो ।

“हाम्रो महादेशको भविष्य स्पष्टरूपमा चीनसँग सन्तुलित तरिकाले सम्बन्ध विकास गर्ने हाम्रो क्षमतामा निर्भर हुनेछ”, म्याक्रोनले भन्नुभयो ।चिनियाँ राष्ट्रपति सीले चीन र इयुले ‘साझेदार रहनुपर्छ’ र ‘रणनीतिक समन्वय गर्न’ र यसरी ‘विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्छ’ भन्नुभयो । युक्रेन युद्धमा आधिकारिकरूपमा तटस्थ रहँदै चीनले अनिवार्यरूपमा रुसको समर्थन गरिरहेकामा युरोप चिन्तित छ । रुसले पहिला नै हतियारहरूको उत्पादनमा चिनियाँ मेसिन उपकरणहरूको प्रयोग गरिरहेको छ ।

“रुसलाई दोहोरो प्रयोगका सामानहरूको डेलिभरी रोक्न थप प्रयासको आवश्यकता छ जसले युद्धको मैदानमा आफ्नो बाटो खोज्छ”, भान डेर लेनले वार्तापछि भन्नुभयो, “यसले इयु–चीन सम्बन्धलाई असर गर्दछ ।”फ्रान्स र इयुले पनि युक्रेनविरुद्ध रुसको आक्रामक युद्ध अन्त्य गर्न रुसमाथि आफ्नो सबै प्रभावको प्रयोग गर्नका लागि चीनमाथि भरोसा गर्दछन्”, उहाँले भन्नुभयो, “युरोप र चीन दुवैको शान्ति र सुरक्षामा साझा चासो छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन नजिकैका सेनालाई संलग्न गर्दै आणविक हतियार अभ्यासको आदेश दिएको केही घन्टापछि भान डेर लेनले सी जिनपिङले रुसको आणविक धम्कीमा तनाव कम गर्न ‘महत्त्वपूर्ण भूमिका’ निर्वाह गर्नुहुनेछ भन्नेमा आफू ‘आश्वस्त’ रहेको पनि बताउनुभयो । म्याक्रोन र भान डेर लेन दुवैले वार्तामा व्यापारलाई प्राथमिकता दिएको सङ्केत गर्नुभएको छ । उहाँहरूले युरोपले चीनसँगको आर्थिक सम्बन्धमा आफ्नो ‘रणनीतिक स्वार्थ’ को रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ । “युरोप आफ्नो अर्थतन्त्र र यसको सुरक्षालाई जोगाउन आवश्यक पर्ने कठोर निर्णय लिन पछि हट्ने छैन”, उहाँहरूले भन्नुभयो ।

यि प्रदेशमा मेघगर्जन,चट्याङ र हुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सिरहा नगरपालिकाको अभियान सुरु 

सिरहा- नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो ।

त्यसैगरी, बाल मैत्री, खेलमैत्री, पर्यावरणमैत्री विद्यालय बनाउने, विद्यालयमा मन्टेश्वरी वतावरण सिर्जना गर्ने र विद्यार्थीलाई वर्षमा दुई पटक निःशुल्क स्वास्थ्य जाँच गराउने अभियान समेत नगरपालिकाले घोषणा गरेको छ ।

अभियानअन्तर्गत ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आइतबार सिरहा नगरपालिका–६ मा रहेको श्री आधारभूत विद्यालय बसपिट्टामा वडा कार्यालयले कक्षा पाँच सम्मका तीन सय ८६ विद्यार्थीलाई पोसाक वितरण गरेको छ । भर्ना अभियानलाई सार्थकता दिन नगरपालिकाले सक्रियता बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताउनुभयो ।

“सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्ण रुपमा शिक्षित हुन्छ । त्यसैले तीनै तहका सरकारले सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भीर हुनुपर्ने समय आएको छ,” अधिकृत यादवले भन्नुभयो, “राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक उत्तिकै इमान्दार हुनुपर्छ, अनि मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुन्छ ।”

कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय सञ्चालनमा,महानिरीक्षक अर्यालद्धारा उद्घाटन

बेदकोट (कञ्चनपुर)- कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ)ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका-५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा ल्याएको हो ।

सोमबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उद्घाटन गर्नुभयो । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो । कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँचजना विद्यार्थी भर्ना भएका छन् । झलारीमा एपिएफ विद्यालय विसं २०८० फागुन २ मा स्थापना भएको थियो । सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो ।

सशस्त्र प्रहरी र सर्वसाधारणको समेत बालबालिकालाई सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय सञ्चालन गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताउनुभयो । “यसले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित गर्नेछ । मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुसरण गर्दै रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेका छौँ,” उहाँले भन्नुभयो ।

सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्वार देशका विभिन्न चार ठाउँमा एपिएफ विद्यालय सञ्चालनमा छन् । २०६२ सालमा सशस्त्रले कीर्तिपुरबाट विद्यालय सञ्चालन सुरु गरेको थियो । सशस्त्र प्रहरीको विद्यालयप्रति अभिभावकको आशा धेरै भएकाले आशालाई निराश हुन नदिने गरी काम गर्न उहाँले शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।

आमाको मुख हेर्ने औँसीका दिन लाग्ने मातातीर्थ मेला आजदेखि

काठमाडौँ : प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । उहाँले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिनुभयो ।

मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

काठमाडौँमा कोठा भाडामा बस्ने र नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने पुजारी अधिकारीको भनाइ छ । मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा आठ मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको काम समितिले अगाडि बढाएको छ । सोही समितिले स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ ।

मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि ‘रिजर्भ’ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको अध्यक्ष उदासको भनाइ छ ।

हेर्नुहोस् बैशाख २५ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।

मीथुन राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ ।

कर्कट राशि- मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।

कन्या राशि- मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि- बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौँ : उपकुलपति गौतम

कर्णाली, २४ वैशाख : मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विश्वविद्यालयद्वारा नवनियुक्त उपकुलपति प्राडा गौतमको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेमात्र विश्वबजारमा बिक्न सक्ने बताउनुभयो । “हामीले चार सय वर्ष पुरानो इतिहास बोकेका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “खोज, अध्ययन, अनुसन्धान र अन्वेषण कार्य क्षमतालाई बढाउँदै लैजान्छौँ ।”

विश्वविद्यालय बनाउने अभियानमा सबैको ऐक्यबद्धता आवश्यक रहेको जनाउनुहुँदै उपकुलपति गौतमले भन्नुभयो, “मध्यपश्चिम विश्वविद्यालयको विकासमा मैले सकेको सबै प्रयास गर्नेछु । यद्यपि मेरो एक्लो प्रयासले केही हुँदैन । सबै सरोकारवालाले सहयोग गर्नुपर्दछ, अनिमात्र विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ ।” 

विश्वविद्यालय ज्ञान र सिर्जनाको भण्डार भएको बताउनुहुँदै उहाँले आर्थिक रुपले विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी काँधमा आएको उल्लेख गर्नुभयो । सेवा गर्ने कर्मचारी र संरचना निर्माणमा विश्वविद्यालय प्रशासनले ध्यान दिने उपकुलपति प्राडा गौतमको भनाइ थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयलाई विश्वप्रतिष्ठित विश्वविद्यालयका रुपमा स्थापित गर्ने गरी कार्य प्रारम्भ गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ । 

डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ

काठमाडौँ, २४ वैशाख : डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको यस क्षेत्रका विज्ञहरुले बताउनुभएको छ । हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे आज गरेको अन्तरक्रियामा डढेलो नियन्त्रण र यसको रोकथामबारे आमनागरिकमा सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभएको हो ।

 विगत केही वर्षदेखि हेलिकप्टरमार्फत सिम्रिक एयरलाइन्सले देशका विभिन्न स्थानमा लागेको आगो निभाउँदै आएको छ । यस्तो कार्यक्रम निजी कम्पनीले मात्र नभई सरोकारवाला निकायबीच आपसी समन्वयका साथ भएमा प्रभावकारी हुने अन्तरक्रियाका सहभागीहरुको धारणा थियो ।

 कार्यक्रममा महानगरीय प्रहरी बलका प्रहरी निरीक्षक एवं अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईले ‘जङ्गल आगलागी र हवाई प्रतिकार्य’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले अग्नी नियन्त्रणलाई समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो । मानवीय कारणले आगलागी हुने बताउनुहुँदै उहाँले यसको रोकथामपनि मानवले नै गर्नुपर्ने धारणा राख्नुभयो ।

 “डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले जे गरिरहेको छ, यो व्यक्तिगत जस्तो भइरहेको छ, तर यो व्यक्तिगत हैन सामूहिक कार्य हो, यसमा सबै सरोकारवालाको साझेदारी आवश्यक छ”, विज्ञ भट्टराईले भन्नुभयो । उहाँले नेपालमा अग्नि नियन्त्रण पर्याप्त नहुनुमा अग्नि नियन्त्रणसम्बन्धी जनशक्ति अभाव हुनु प्रमुख कारण रहेको बताउनुभयो । त्यसैले आगो निभाउने कार्य कठिन भइरहेको उहाँको भनाइ थियो ।

 राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्वमहानिर्देशक फडिन्द्रराज खरेलले मुलुकमा अग्नि नियन्त्रण सम्बन्धी प्रभावकारी संयन्त्र नहुँदा वर्षेनी ठूलो जनधनको क्षति भएको बताउनुभयो । सिम्रिक एयरले विगतमा शिवपुरी निकुञ्ज, पाथिभरालगायत क्षेत्रमा डढेलो नियन्त्रण गरेर सराहनीय काम गरेकाले सरकार र निजी क्षेत्रको साझेदारीमा डढेलो नियन्त्रण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।     पत्रकार भीम खरेलले देशभरका स्थानीय तहमा दमकलको व्यवस्था नहुनु, विज्ञ जनशक्ति अभाव हुनु र अन्तर निकायको समन्वय, सहकार्य अभावले डढेलो नियन्त्रण चुनौती बनेको उल्लेख गर्नुभयो ।

आगलागीबाट निम्तन सक्ने विनासका घटना नियन्त्रण गर्न सिम्रिक एयरले आवश्यक परेको अवस्थामा हेलिकप्टर सहयोग गर्ने घोषणा गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो नियन्त्रणका लागि हेलिकप्टर माग भएमा सिम्रिक एयरले हेलिकप्टर सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसर सिम्रिक एयर लिमिटेडले पछिल्लो पाँच वर्षदेखि आगलागी नियन्त्रणको काम गर्दै आइरहेको छ ।

 सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि ‘बम्बी बकेट’ मार्फत आगलागी क्षेत्रमा ‘वाटर बम्बिङ’ को प्रयोग गरेर आगो निभाउँदै आएको जनाएको छ । यस पद्धतिमा नजिकैको ताल तलैया अथवा नदीमा बकेट डुबाई पानी लोड गरिन्छ । सो बकेट डोरीमार्फत हेलिकप्टरमा जोडिन्छ र सो बकेटको बटन खोल्नका लागि कन्ट्रोल हेलिकप्टरभित्रै पाइलटले गर्दछन् । एक हजार लिटर पानी डढेलो ग्रस्त क्षेत्रमा उचाइबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुने गर्छ । यो पद्धति विश्वभरि  सुरक्षित एवं प्रभावकारी रहेको जनाइएको छ ।     कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल पाँच सय हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा १२ हेलिकप्टर कम्पनीका ४० हेलिकप्टरमध्ये ३५ वटा सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।

पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले बजेटलाई जनमुखी बनाउन माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले सङ्घीय संसद्को आगामी जनसरोकारका विषय सशक्त रूपमा उठाउने र सरकारको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको हो ।

अधिवेशनमा कानुन निर्माण प्रक्रियामा पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता एवं पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको थियो । पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउने निर्णय गरेको बैठकले मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक विकासमा पार्टीले सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् ।

उहाँहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आउनुभएको थियो । न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छभने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताउनुभयो । हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो । श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आउनुभएको थियो । उहाँहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो ।

सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौँ, २४ वैशाख : सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियो विरुद्ध अदालतको अवहेलना मुद्दामा बयानका क्रममा नाम उल्लेख भएका व्यक्तिलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज बयान लिइएको थियो । अदालत समक्ष बयान पेश गर्दा उल्लेख भएका व्यक्तिलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको हो ।

इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी अदालतको आदेशानुसार उपस्थित हुनुभएका युवराज कँडेल, नविन ढुङ्गाना र राजकुमार तिमल्सिनाको बयान लिइएको हो ।

लिखित जवाफका लागि अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोष्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एस.पि. संजय थापा र अधिवक्ता किशोरकुमार विष्टमार्फत सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

“विवादित श्रव्यदृश्य सामग्रीमा उल्लेख भएका तथा प्रत्यर्थीहरुले यस अदालत समक्ष बयान गर्दा नाम उल्लेख भएका देहायका व्यक्तिहरुलाई प्रतिवेदन र बयानका प्रतिलिपिहरु पठाई सो सम्बन्धमा के कसो भएको हो?” आदेशमा भनिएको छ, “निजहरुबाट ७ (सात) दिनभित्र प्राप्त हुने गरी लिखित भनाइ पेश गर्न लगाउनू ।”

अदालतको अवहेलनाको मुद्दाको पुर्पक्षको क्रममा अदालतको आदेशानुसार बयान गर्ने अनलाइनका कार्यकारी सम्पादक नविन ढुङ्गाना र प्रकाशक युवराज कँडेल र राजकुमार तिमल्सिनालाई आफैँ उपस्थित हुने गरी तारेखमा राख्नु भनिएको छ ।

आदेशमा भनिएको छ, “राजकुमार तिमल्सिनाबाट विवादित सामग्री रेकर्ड गरेको ‘ओरिजिनल डिभाइस’ र निजले सुरेन्द्र काफ्लेलाई पठाएको भनिएको इमेल ७ (सात) दिनभित्र निज राजकुमार तिमल्सिनालाई पेश गर्न लगाउनू ।” उक्त विवादको आगामी जेठ ४ गते सुनुवाइ हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेशन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो । सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २४ वैशाख : प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । उहाँले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिनुभयो ।

मातातीर्थ मेलामा भोलि साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

काठमाडौँमा कोठा भाडामा बस्ने र नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने पुजारी अधिकारीको भनाइ छ । मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा आठ मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको काम समितिले अगाडि बढाएको छ । सोही समितिले स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ ।

मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि ‘रिजर्भ’ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको अध्यक्ष उदासको भनाइ छ ।

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो ।

लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको प्रवर्द्धकहरुले जनाएका छन् । गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपिओ जारी भएकामा २९ वटा जलविद्युत् कम्पनीहरु रहेका थिए तर चालु आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ जारी हुनुबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आइपिओ निष्कासन नभएको भन्दै प्रवद्र्धकहरुले गुनासो गरेका छन् । अहिले एउटा सोलारसहित १८ वटा विद्युत् उत्पादन कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका छन् । अनुमति नै नपाउने आइपिओका लागि किन आवेदन दिनु भन्दै चार÷पाँचवटा कम्पनीले आवेदन नै दिएका छैनन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ती सबै कम्पनीको गरी करीब १४/१५ अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका नौ जलविद्युत् कम्पनीले पनि अनुमति पाएका छैनन् । नौ कम्पनीले हकप्रद निष्कासन गर्न लागेको रकम झन्डै रु सात अर्ब रहेको कार्कीले जानकारी दिनुभयो । “यसअघि बोर्डले गत पुसमा अन्तिम पटक जलविद्युत् कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । त्यसयता नौ कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा दिएको निवेदन अलपत्र परेका छन्,” उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा आठवटा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाउँदा सातवटा जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी रहेका थिए ।”

हकप्रद शेयरमा पनि अनुमति नै नपाउने भए किन खर्च गर्नु जनाउँदै धेरै कम्पनी बोर्डमा नगएको कार्कीले जानकारी दिनुभयो । जलविद्युत् कम्पनीहरुले आइपिओ तथा हकप्रद शेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजनासहित काम अघि बढाएका हुन्छन् तर सेबोनले शेयर निष्कासनको अनुमति नदिएपछि थप २०/२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता प्रवद्र्धकलाई थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताउनुभयो । जलविद्युत् कम्पनीहरुको आइपिओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरे पनि सम्बन्धित निकायबाट तदारुकता नदेखाउँदा धेरै विद्युत् आयोजनाहरुको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिनुभयो ।

जलविद्युत् आयोजनाले ५० प्रतिशत निर्माण पूरा भएपछि आइपिओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पूरा भएपछि अनुमति पाउने व्यवस्था छ । आइपिओबाट आउने पैसालाई पनि कम्पनीहरुले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् तर शेयर निष्कासनको प्रक्रिया नै रोकिएपछि आइपिओ निष्कासनको चरणमा पुगेका अन्य आयोजनासमेत प्रभावित भएको प्रवद्र्धकहरुको भनाइ छ । अहिले निजी क्षेत्रबाट तीन हजार पाँच सय मेगावाट क्षमताका योजनाहरु निर्माणाधीन छन् ।

तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनःनिर्मा थालियो

भक्तपुर, २४ वैशाख ः भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खननलाई निरन्तरता दिनुपर्छ भन्नुभयो । भक्तपुरका एक सय वर्ष पुराना घरहरु बस्नका लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरुबाट परीक्षण गर्नु खाँचो रहेको जनाउँदै उहाँले सम्पदा पुनःनिर्माणमा मौलिकता संरक्षणमा जोड दिनुभयो ।

कार्यक्रममा थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघि सम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनका रुपमा रहेको बताउनुभयो । विसं २०७४ पछि नगरपालिकाले यहाँको एक सय २४ वटाभन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकामा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र हाल थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी नगरपालिकाले काम अगाडि बढाएको उहाँले जानकारीदिनुभयो ।

थन्थु दरबार भत्काउन रु ११ लाख ५१ हजार लागेकोे जनाउँदै नगरप्रमुख प्रजापतिले रु १२ करोड ८५ लाख ३४ हजार बजेट लगत ‘इष्टिमेट’ गरिए पनि पहिलो चरणको कार्य योजनामा रु चार करोड ७२ लाख बजेट स्वीकृत गरी पुनःनिर्माण अगाडि बढाएको बताउनुभयो । दरबार पुनःनिर्माणका लागि रु एक करोड ५८ लाखको काठ ‘टेन्डर’ प्रक्रियाबाट खरिद गरिसकेको जनाइएको छ ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, दरबार हेरचाह अड्डाका कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीलगायतले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरहरुमा क्षति पु¥याएको स्मरण गर्दै भूकम्पले विनाससँगसँगै भक्तपुरको विकास पनि भएको बताउनुभयो ।

इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा तीन सय ४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण अगाडि बढाउनु प्रशंसनीय भएको बताउनुभयो । ५५ झ्याल दरबारको अध्ययन–अनुसन्धानका क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको बताउँदै डा श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन–अन्वेषण सम्भव भएको हो भन्नुभयो ।

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौँ, २४ वैशाख- वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो ।

“वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको पाइएको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न मन्त्रालय र अन्तर्गतका निकाय तथा नियमनकारी निकायहरु प्रतिबद्ध छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानूनी एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको छ ।”

वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन सर्वसाधारण समेत चनाखो हुनुपर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्थामार्फत मात्र प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आग्रह गरेको छ । कुनै संस्था इजाजतपत्र प्राप्त हो वा होइन, वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत यकीन गर्ने, बिना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिने र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउने गर्दा ठगी बाट बचिने मन्त्रालयको भनाइ छ ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ । अवैध रुपमा कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई रु तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

सयौँ जुन्ता कर्मचारीलाई कब्जामा लिएको म्यान्माको जातीय सशस्त्र समूहको भनाइ

म्यान्माको एक जातीय सशस्त्र समूहले सोमबार उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र पश्चिमी रखाइन राज्यमा सयौँ जुन्ता कर्मचारीलाइ बन्दी बनाएको बताएको छ । सेनाका लागि यो पछिल्लो झटका हो ।

नोभेम्बरमा अराकान सेना (एए) ले सुरक्षा बलमाथि आक्रमण गरेपछि रखाइनमा झडपहरू हुँदा जुन्ताले सन् २०२१ मा सत्ता हातमा लिएपछि धेरै हदसम्म कायम रहेको युद्धविराम अन्त्य भएको छ ।

रखाइन राज्यको राजधानी सिट्वे अहिले पनि सेनाको कब्जामा छ तर एए लडाकूहरूले भारत र बङ्गलादेशको सीमामा रहेका आधारहरूसहित वरपरका जिल्लाहरूमा कब्जा गरेका छन् ।

एएको मिडिया च्यानलले जारी गरेको भिडियोमा समूहले सिट्वेदेखि करिब ९० किलोमिटर उत्तरमा रहेको बुथिदाउङ सहर नजिकै ‘मिलिट्री अपरेसन्स कमान्ड (एमओसी) १५’ कब्जा गरेको जनाएको छ । भिडियोमा उसका लडाकूहरूले कहिले उक्त साइट कब्जा गरेका थिए भनेर बताइएको छैन तर स्थानीय सञ्चारमाध्यमले हालका दिनहरूमा बुथिदाउङ वरपर नियमित झडपहरू भएको बताएका छन् ।

बर्मेली, चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशित सन्देशमा भनिएको छ, “एक निश्चित अवधिको घेराबन्दीपछि एमओसी १५ का डेपुटी कमान्डरको भिडियो रेकर्ड ।” रेकर्डमा भनिएको छ, “अन्तिम आक्रमणपछि जुन्ता सैनिकहरूले पूर्ण हारको सामना गरे र आत्मसमर्पण गरे ।”

तस्बिरहरूले खेतमा हिँडिरहेका केही सैन्य वर्दी लगाएका पुरुषहरूको लामो लाइन देखाएको छ । केही सर्ट, टि–सर्ट र चप्पलमा थिए भने कसैले जुत्ता लगाएका थिएनन् । केही तस्बिरमा पुरुषसँगै महिला तथा बालबालिकालाई पनि देखाइएको छ ।

घुँडामा पट्टी बाँधिएका एक व्यक्ति लडखडाउँदै हिँडिरहेका थिए र केहीलाई अस्थायी स्ट्रेचरमा बोकेर हिँडिरहेका थिए । भिडियोमा करिब दुई सय जनालाई एउटा ठाउँमा लाइनै बसेको र वर्दी लगाएका बन्दुकधारीहरूले उनीहरूलाई हेरिरहेको देखाइएको छ ।

एए म्यान्माको सीमावर्ती क्षेत्रहरूमा धेरै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्येको एक हो । यीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि सेनासँग स्वायत्तता र आकर्षक स्रोतहरूमा नियन्त्रणलाई लिएर सेनासँग लडिरहेका छन् ।

एएले राज्यको जातीय रखाइन जनङ्ख्याका लागि थप स्वायत्तताका लागि लडिरहेको दाबी गर्दछ । सन् २०१९ मा एए र सेनाबीचको झडपहरूले यस क्षेत्रलाई तहसनहस बनायो र करिब दुई लाख मानिस विस्थापित भए ।

सन् २०१७ मा सेनाले त्यहाँ रोहिङ्ग्या अल्पसङ्ख्यकहरूमाथि कारवाही गरेपछि यो अहिले संयुक्त राष्ट्र नरसंहार अदालतको मुद्दाको विषय बनेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले गत महिना नोभेम्बरको प्रकोपपछि रखाइन राज्यका १७ टाउनसिपमध्ये १५ मा लडाइँ फैलिएको बताउनुभएको थियो । लडाइँमा सयौँ मानिस मारिएका वा घाइते भएको र तीन लाखभन्दा बढी विस्थापित भएको बताइएको छ ।

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौँ, २४ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आग्रह गर्नुभएको छ ।

उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुसँग शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो । उहाँले जल्दोबल्दो समस्याका रुपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिङ्गो देश स्वच्छ, सफा र सुन्दर हुने बताउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

उहाँले वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजङ्लमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाइ गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गर्नुभयो ।

त्यस्तै राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा बृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रुपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उपत्यकाको फोहर मैला व्यवस्थापनमा केही सुधार आएको तर अहिलेको व्यवस्थापन दिगो होइन यसको दीर्घकालीन र स्थायी समाधान खोज्नुपर्ने सुझाव दिनुभयो । फोहोर शुरुबाट वर्गीकरण गरी प्रविधिको प्रयोगसहित वैज्ञानिकरुपले समाधानको विकल्प खोज्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलसंगको सो भेटमा काठमाडौ उपत्यका मेयर फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउन सामूहिक रुपमा काम भैराखेको बताउनुभएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फोरमले उपत्यकाको ऐतिहासिक सम्पदा संरक्षण, राजश्व, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी, पूर्वाधार , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा साझा एकीकृत रुपमा काम गरिरहेका छ ।”

सो अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गर्नुभएको थियो ।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न नयाँ बजेटले प्राथमिकता दिन्छ – अर्थमन्त्री पुन

काठमाडौँ, २४ वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्ने जानकारी दिनुभएको छ । आज अर्थ मन्त्रालयमा महिला उद्यमी महासङ्घका पदाधिकारीसँगको पूर्वबजेट छलफलका क्रममा उहाँले उद्यमशीलता प्रवर्द्धन र आन्तरिक उत्पादकत्व बढाएर मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु ल्याइने अर्थमन्त्री पुनको भनाइ छ ।

“महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैँ आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ”, अर्थमन्त्री पुनले भन्नुभयो । मुलुकको समग्र विकास र समुन्नतिका लागि महिला आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको उहाँको भनाइ छ ।

महिलाका नाममा घरजग्गा दर्ता गर्दा शुल्क छुट दिने सरकारको नीतिका कारण अहिले धेरै महिला सम्पत्तिको मालिक भएको उहाँले दाबी गर्नुभयो । “अहिले २७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।”

अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक पर्दैन – ओली

काठमाडौँ, २४ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने बताउनुभएको छ ।

लोकान्तर डट कमको आठौँँ वार्षिकोत्सवको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लान खोजेकाले साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अब संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध नगर्ने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले प्राकृतिक स्रोत, पुँजी र प्रविधिका आधारमा आत्मनिर्भरता वृद्धि गरी समृद्धि हासिल गर्न आत्मविश्वासका साथ सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा, २४ वैशाख : आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो । अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।

करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

काठमाडौँ, २४ वैशाख : अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाउनुभएको छ ।लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताउनुभयो । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउनुहुँदै उहाँले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत सहभागी हुनुहुन्थ्यो ।

कोशी प्रदेश सरकारद्वारा पाँच पत्रकारलाई एक लाखसहित सम्मान

मोरङ, २४ वैशाख : कोशी प्रदेश सरकारले आज यहाँ पाँच जना पत्रकारलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अनवरत २५ वर्षभन्दा बढी पत्रकारिता गर्नुभएका विभिन्न जिल्लाका पाँच जना पत्रकारलाई नगद रु एक लाखसहित सम्मान एवं पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनुहुनेमा अनन्तराज न्यौपाने (मोरङ), भीमलाल नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी) हुनुहुन्छ ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारलाई पुरस्कृत र सम्मान गर्नुहुँदै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई परिवर्तनको बाटो देखाउने काम पत्रकारले गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको बताउनुभयो । उहाँले पत्रकारलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई सम्मान गरेको अनुभूति भएको बताउनुभयो । पत्रकारहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिने बताउनुहुँदै उहाँले आगामी प्रदेशसभा अधिवेशनमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले केही महिना अगाडि गोताखोर तालिम समापनमा सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार र अन्यलाई उपचार खर्चको साथै क्षतिपूर्ति दिने सम्बन्धमा सकारात्मक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनवारले समाजका विकृति हटाउन, मुलुकमा सुशासन र समृद्धि ल्याउन पत्रकारले कलम चलाउन आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सूचनाको हकप्रति सरकार सम्वेदनशील रहेकाले कुनै सूचना नलुकाइ पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुङगाना, महासचिव विवेक गौतम, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, सहसचिव कमल थापालगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

पुरस्कृत पत्रकार रामेशचन्द्र अधिकारीले सम्मानले आगामी दिनमा थप ऊर्जाशील भइ काम गर्न प्रेरित गरेको बताउनुभयो ।