`

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा, २४ वैशाख : आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो । अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।

करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

काठमाडौँ, २४ वैशाख : अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाउनुभएको छ ।लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताउनुभयो । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउनुहुँदै उहाँले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत सहभागी हुनुहुन्थ्यो ।

कोशी प्रदेश सरकारद्वारा पाँच पत्रकारलाई एक लाखसहित सम्मान

मोरङ, २४ वैशाख : कोशी प्रदेश सरकारले आज यहाँ पाँच जना पत्रकारलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अनवरत २५ वर्षभन्दा बढी पत्रकारिता गर्नुभएका विभिन्न जिल्लाका पाँच जना पत्रकारलाई नगद रु एक लाखसहित सम्मान एवं पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनुहुनेमा अनन्तराज न्यौपाने (मोरङ), भीमलाल नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी) हुनुहुन्छ ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारलाई पुरस्कृत र सम्मान गर्नुहुँदै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई परिवर्तनको बाटो देखाउने काम पत्रकारले गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको बताउनुभयो । उहाँले पत्रकारलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई सम्मान गरेको अनुभूति भएको बताउनुभयो । पत्रकारहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिने बताउनुहुँदै उहाँले आगामी प्रदेशसभा अधिवेशनमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले केही महिना अगाडि गोताखोर तालिम समापनमा सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार र अन्यलाई उपचार खर्चको साथै क्षतिपूर्ति दिने सम्बन्धमा सकारात्मक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनवारले समाजका विकृति हटाउन, मुलुकमा सुशासन र समृद्धि ल्याउन पत्रकारले कलम चलाउन आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सूचनाको हकप्रति सरकार सम्वेदनशील रहेकाले कुनै सूचना नलुकाइ पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुङगाना, महासचिव विवेक गौतम, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, सहसचिव कमल थापालगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

पुरस्कृत पत्रकार रामेशचन्द्र अधिकारीले सम्मानले आगामी दिनमा थप ऊर्जाशील भइ काम गर्न प्रेरित गरेको बताउनुभयो ।

वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता छ : अध्यक्ष ओली

काठमाडौँ, २४ वैशाख : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याउनुभएको छ । लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उहाँले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । “आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ, । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने । उहाँले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताउनुभयो । “हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छाँै । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

उहाँले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताउनुभयो । “उहाँसँग मेरो धनिष्ट सम्बन्ध रहेको थियो । २०५४ सालतिर अन्तिमतिर पार्टी अलि ठीक ढङ्गले नचल्ने, समस्या पैदा हुने र हेर्दाहेर्दै अनावश्यक ढङ्गले पार्टी विभाजन हुने काम भयो”, उहाँले भन्नुभयो, “त्यसपछि हाम्रो सम्बन्ध पातलियो र एकअर्कामा स्नेह र सद्भाव कहिल्यै हटेन ।”

कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमा प्रवेश गर्न आफू तयार रहेको जानकारी दिनुभयो । उहाँले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने जनाउँदै भन्नुभयो, “मेरो कमजोरी के ? गल्ती, कमजोरी देखिएका भएका छन् । आत्म आलोचना गरेर पुनः पार्टीमा आएको छु । मान्छेबाट गल्ती, कमजोरी हुन्छन् । आत्म आलोचना गर्न ठूलो कुरा हो ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी नफुटाएको स्पष्ट पार्नुभयो । समारोहमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

इजराइलद्वारा पूर्वी रफाहका बासिन्दालाई तत्काल खाली गर्न सूचना जारी

देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली गर्न सूचना जारी गरेको सिएनएनले जनाएको छ ।

आइडिएफ प्रवक्ता एकाइको अरब मिडिया डिभिजनका प्रमुख अविचाय अद्राईले बासिन्दाहरूलाई उनीहरूको सुरक्षाका लागि तोकिएको मानवीय क्षेत्रहरूमा ‘तुरुन्त खाली’ गर्न आग्रह गर्नुभयो । सूचनाले विशेषगरी अल–शौका नगरपालिका र रफाह क्षेत्रका अल–सलाम, अल–जिनेना, टिबा जारा र अल–बायुकका छिमेकमा बस्ने व्यक्तिहरूलाई लक्षित गर्दछ ।

गाजामा चलिरहेको बमबारीका बीच यो घोषणा आएको हो । अक्टोबर ७ देखि गाजा क्षेत्रममा उल्लेखनीय विनाश भएको छ । पहिला नै धेरै पटक विस्थापित भइसकेका रफाहका धेरै बासिन्दाहरूले द्वन्द्वका बीचमा थप विस्थापनको सम्भावनाको सामना गरिरहेको सिएनएनले रिपोर्ट गरेको छ ।

मानवीय एजेन्सीहरूले राफाहको पूर्णस्तरको भूमि आक्रमणविरूद्ध चेतावनी दिएका छन् । उनीहरूले सहर र वरपरका १२ लाख विस्थापित प्यालेस्टिनीको पीडा र हताहतको पनि चेतावनी दिएका छन् । पहिलेदेखि नै गम्भीर अनिकालको सामना गरिरहेको उत्तरी गाजा महिनौँको द्वन्द्वले विचलित भएको विश्व खाद्य कार्यक्रमले स्पष्ट पारेको छ ।

आइडीएफका अन्तर्राष्ट्रिय प्रवक्ता कोलोनेल नदाव सोसानीले निकासीलाई व्यापक निकासीको सट्टा अस्थायी स्थानान्तरणको उद्देश्यले ‘सीमित स्कोप अपरेसन’ का रूपमा अघि बढेको बताउनुभयो ।

इजराइली रक्षामन्त्री योव गालान्टले गाजाभित्रका सैनिकहरूलाई दिएको टिप्पणीले रफाह र अन्य क्षेत्रमा तीव्र सैन्य कारबाहीको तयारी भएको सङ्केत गर्दछ ।

हमासको सैन्य शाखाले दावी गरेको रकेट आक्रमणपछि मानवीय सहायताका लागि महत्त्वपूर्ण शालोम सीमा क्रसिङ बन्द भएपछि आइडीएफका सैनिकहरू हताहत भएका छन् ।

पूर्वी रफाह खाली गर्ने निर्णयले विस्थापित नागरिकहरूको सुरक्षा र गाजाभित्र सुरक्षित आश्रयको अभावबारे चिन्ता उत्पन्न गरेको छ ।सिएनएनका अनुसार निकासी आदेशको अन्तर्राष्ट्रिय निकाय र मानवीय संस्थाहरूबाट आलोचना भएको छ । यसमा जारी द्वन्द्वका बीच सुरक्षित आश्रयको अभावलाई जोड दिइएको छ ।

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिनुभएको छ ।

उक्त अभ्यास ‘निकट भविष्य’ मा गरिने र यसमा वायुसेना, नौसेना र युक्रेन नजिकै तैनाथ सेना संलग्न हुने रुसको रक्षा मन्त्रालयले बताएको छ । फेब्रुअरीमा पुटिनले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा आणविक युद्धको ‘वास्तविक’ जोखिम रहेको चेतावनी दिएर आफ्नो आणविक बयानबाजीलाई बढाउनुभएको थियो ।

यसैबीच उक्त अभ्यास युक्रेनमा सेना पठाएकामा पश्चिमी मुलुकहरूको टिप्पणीको जवाफ भएको क्रेमलिनले बताएको छ । रक्षा मन्त्रालयले अभ्यासको उद्देश्य ‘केही पश्चिमी अधिकारीहरूको धम्कीहरू’ को सामना गर्दै रुसी क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु रहेको बताएको छ ।

“अभ्यासका क्रममा गैर–रणनीतिक आणविक हतियारको तयारी र प्रयोगको अभ्यास गर्न धेरै उपाय गरिनेछ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रणनीतिक आणविक हतियार पनि भनिने गैर–रणनीतिक आणविक हतियार युद्धमैदानमा प्रयोगका लागि डिजाइन गरिएको छ र मिसाइलमार्फत डेलिभर गर्न सकिन्छ ।

युक्रेनसँग जोडिएको र रुसले कब्जा गरेको युक्रेनी क्षेत्र समेटेको दक्षिणी सैन्य जिल्लाका सेनाले अभ्यासमा भाग लिने मन्त्रालयले उल्लेख गरेको छ ।

क्रेमलिनको आणविक बयानबाजीबाट पश्चिमी अधिकारी अत्यधिक चिन्तित भएका छन् । युक्रेनको सीमावर्ती बेलगोरोड क्षेत्रमा अधिकारीहरूले पछिल्ला केही सातामा सबैभन्दा घातक आक्रमणको सूचना दिएपछि यस्तो घोषणा भएको हो । किएभले रुसी आक्रमणका कारण लाखौँ मानिसलाई विद्युत्विहीन बनाएको बताएको छ ।

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले यस क्षेत्रमा गुडिरहेका दुई भ्यान र यात्रुवाहक कार ‘आत्मघाती युक्रेनी ड्रोन आक्रमण’ मा परेको बताउनुभयो । “दुर्भाग्यवश विस्फोटका कारण छ जनाको घटनास्थलमै मृत्यु भयो”, उहाँले भन्नुभयो ।

उहाँले युक्रेनी सीमाबाट करिब ३० किलोमिटर टाढा बेरोज्योभ्का गाउँ नजिकै भएको आक्रमणमा अन्य ३५ जना घाइते भएको जानकारी दिनुभयो । स्थानीय अधिकारीहरूले ती सवारी मासु उत्पादन केन्द्रको भएको बताएका छन् । ग्लाडकोभले घाइतेमध्ये दुई जना बालबालिका रहेको र ‘गम्भीर’ एकजनाको शल्यक्रिया भइरहेको बताउनुभयो ।

बेलगोरोडमा घातक युक्रेनी ड्रोन र मिसाइल आक्रमणको सङ्ख्या बढिरहेको छ । मस्कोले पूर्वी युक्रेनमा लगातार बढत हासिल गरिरहेको छ र उसले युक्रेनी सीमा क्षेत्रमा हवाई आक्रमण र गोलाबारी बढाएको छ ।

आणविक अभ्यास युक्रेनमा सेना पठाउनेबारे पश्चिमी टिप्पणीहरूको जवाफ– क्रेमलिन

यसैबीच क्रेमलिनले रुसको आगामी आणविक अभ्यास युक्रेनमा नाटो सेना पठाउनेबारे फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसहितका ‘अभूतपूर्व’ टिप्पणीहरूको प्रतिक्रियाका रूपमा रहेको बताएको छ । राष्ट्रपति पुटिनले आदेश दिनुभएको अभ्यासहरूले ‘निकट भविष्यमा’ अनिर्दिष्ट पश्चिमी ‘धम्की’ को सामना गर्ने रक्षा मन्त्रालयले पहिला नै घोषणा गरेको थियो ।

“हामी श्री म्याक्रोन र बेलायती प्रतिनिधिहरूको बयानहरूका बारेमा कुरा गरिरहेका छौँ भन्ने स्पष्ट छ”, अभ्यास के कारणले उत्प्रेरित थियो भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो, “उनीहरूले युक्रेनमा सशस्त्र दल पठाउने तयारी र मनसायबारे कुरा गरिरहेका छन्, त्यो वास्तवमा नाटो सेनालाई रुसी सेनाअघि राख्नु हो, यो बढ्दो तनावको पूर्णरूपमा नयाँ चरण हो, यो अभूतपूर्व छ र यसका लागि विशेष उपायको आवश्यकता छ ।”

म्याक्रोनले गत साता एक अन्तरवार्तामा रुसले युक्रेनको अग्रिम पङ्क्ति तोड्यो भने युक्रेनमा सेना पठाउने सवाल ‘वैधानिकरूपमा’ उठ्ने र किएभले यस्तो अनुरोध गरेको बताउनुभएको थियो ।

पुटिनलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले कुनै पनि कुरालाई अस्वीकार गरिरहेको छैन किनकी हामीले यस्तो व्यक्तिको सामना गरिरहेका छौँ जसले कुनै पनि कुरालाई अस्वीकार गर्दैन ।” म्याक्रोनले फेब्रुअरीमा पनि यस्तै प्रकारको टिप्पणी गरिसक्नुभएको छ ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले गत साता एक अन्तरवार्तामा युक्रेनसँग रुसभित्रका लक्ष्यमा आक्रमण गर्ने ‘अधिकार’ रहेको बताउनुभएको थियो ।युक्रेनी सेना रुससँग लड्नका लागि पश्चिमी सैन्य सहायतामा निर्भर छ तर नाटोले युक्रेनमा सेना नपठाउने बताएको छ ।

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ, २४ वैशाखः जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।

आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गर्नुभएको हो ।

प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी गर्न गराउन पार्टीले आग्रह गरेको हो । ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ ।

कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

पार्टी सचिव बिपी साहले जनमत पार्टी सम्बद्ध प्रवासी जनमत सङ्घ र गैरआवासीय मधेसी सङ्घलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकमा सहभागी गराउन आग्रह गरिएको बताउनुभयो ।

आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ, २४ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताउनुभएको छ ।

आज आयोजित आर्थिक बहसमा पूर्वउपप्रधानमन्त्री पौडेलले राजनीतिक स्थिरता नभएसम्म मुलुकको आर्थिक उन्नति नहुने भएकाले एमालेले नयाँ सत्ता समीकरण बनाएको स्पष्ट पार्नुभयो ।

“यो सरकार राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख छ तर यसलाई भत्काउने कोसिस नभएका होइनन्, हामी स्थिरताका पक्षमा छौँ,” उहाँले भन्नुभयो, “सरकारले आर्थिक विकास, लगानीमैत्री वातावरण, रोजगारी वृद्धि र उत्पादनमूलक क्षेत्रमा सकारात्मक काम गरिरहेको छ र यो निरन्तर हुनुपर्छ ।”

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले राजनीतिक स्वार्थका लागि सत्ता परिवर्तन हुनु आर्थिक विकासका लागि दुःखद भएको बताउनुभयो । सरकारले सत्ता स्वार्थमा भन्दा आर्थिक समृद्धिका कार्यसूचीमा प्राथमिकता दिनुपर्ने उहाँले जोड दिनुभयो । “सरकारले लगानीमैत्री वातावरण छ भनेर मुखले भनेर हुँदैन, काम गरेर देखाउन सक्नुपर्छ,” डा रिजालले भन्नुभयो, “सरकारले सत्ता स्वार्थ त्यागेर आर्थिक विकासमा ध्यान दिनुपर्छ ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले लगानी सम्मेलन गरेर सकारात्मक वातावरण सिर्जना गर्न खोजे पनि कानुनमा आवश्यक संशोधन र पूँजीगत खर्च वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि चिन्तामा झापाका किसान

झापा ।  झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए। झापामा महिनौँदेखि वर्षा भएको छैन।

‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,’ उनले भने, ‘तर सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत्पादनमा ठूलो असर पुर्‍याउने सम्भावना छ।’

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन। सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन्।

मेचीनगर-१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन्। ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ। निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन्। नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउँछन्।

किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो। तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताउँछन्।

झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन्। विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ। यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ।

मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन्। कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो।

झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिँचाइ आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनाले खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याएको छ।

झापा गाउँपालिकामा पाँच वर्षदेखि ‘मकै जोन’ लागू भएको छ। आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९-८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएकामा चालू आवमा मकैखेती विस्तार भएको छ। जिल्लामा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ।

झापा गाउँपालिकाको मकैजोनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ र उपकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ। पाँच सय हेक्टर जमिनमा भएको खेतीलाई मात्र जोन घोषणा गर्ने चलन छ।

झापा गाउँपालिका र कनकाई नगरपालिकाले मकै मकै खेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलको ६० प्रतिशत रकम अनुदान दिँदै आएको छ।

कृषिविज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउाछन्। खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उनको भनाइ छ। वर्षाका लागि भगवानसँग प्रार्थना गर्दै झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन्।

अर्जुनधारा नगरपालिका-२ टाङटिङ खोलामा स्थानीय किसानले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन् । वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजासमेत हुने गरेको छ।

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए ।

परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार नगद बरामद गरिएको थियो ।

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो ।

“निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो”, सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।

अतिक्रमित कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने

खजुरा (बाँके), २४ वैशाख : लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतबार कोहलपुरमा भएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविक कै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो । गत वैशाख दोस्रो साता स्थानीय प्रशासनले बाँकेका आठवटै पालिकालाई सार्वजनिक सरकारी प्रकृतिका जग्गा अतिक्रमण भएको भए जग्गाको विवरण र अतिक्रमणको प्रकृतिसमेत खुलाइ सात दिनभित्र जानकारी गराउन परिपत्र गरेको थियो ।

गृह मन्त्रालयको पत्र र जिल्ला प्रशासनको पत्रलाई समेत आधार बनाएर कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले नगर विकास समितिको नाममा रहेको कोहलपुर क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जमिन तत्काल फिर्ता गराउने भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रमुख सम्मिलित उक्त बैठकमा सहभागीले सरकारी नाममा रहेको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले गृह प्रशासनले साथ दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले सरकारी जग्गा संरक्षण गर्नु प्रशासनको समेत दायित्व भएकाले कसैको दबाबमा नपरेर कानुन कार्यान्वयन गर्नमा जोड दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै प्रशासनले त्यसमा साथ दिनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य वसन्ती अधिकारीले सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुःखद् भएकाले वास्तविक सुकुम्बासीको व्यवस्थापन गरेर क्रिकेट मैदान क्षेत्रमा भएको सरकारी जग्गा अतिक्रमण हटाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुर्भाग्यपूर्ण भएको भन्दै अतिक्रमित बस्ती खाली गराउनुको विकल्प नभएको बताए । नगरप्रमुख पूर्णप्रसाद आचार्यले क्रिकेट मैदान वरपर सात सय ५१ घर टहरा निर्माण गरिएका बताउनुभयो । तीमध्ये भूमिहीन दलित १७ जिल्लाका एक सय ७२ परिवार, १८ जिल्लाका एक सय ६३ परिवार भूमिहीन सुकुम्बासी र २७ जिल्लाका चार सय १६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । उक्त लागतअनुसार जग्गा जमिन भए नभएको बारे एकिन गर्दा भूमिहीन दलित ११ र भूमिहीन सुकुम्बासी एउटा परिवार मात्रै रहेका पाइएको छ ।

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन (बागलुङ), २४ वैशाख : बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो ।

तङ्ग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९÷८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएको थिए । त्यसपछि ताल पानीविहीन भएको स्थानीय गङ्गाबहादुर किसानले बताउनुभयो । गाउँलेले ताललाई परम्परागत रुपमा संरक्षण गर्दै आएको सुनाउँदै सिमेन्टको पर्खालका कारण ताल सुकेको उहाँले बताउनुभयो ।

धार्मिक महत्वसँग जोडिएको यो तालमा पहिले–पहिले स्थानीयले पूजाआजासमेत गर्ने गरेको भन्दै अहिले त्यो पनि हराएको छ । तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसान बताउनुहुन्छ । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहेको उहाँको भनाइ छ ।

“यहाँ ठूलो पानीको ताल थियो, गाउँले यहीँ पानी भर्ने गर्थे, पहिले–पहिले भैँसी राँगा डुबेपछि कोही पनि तालभित्र पस्दैनथे, तर अहिले तालमा धुलो उड्छ, किन यस्तो भयो हामीहरु निकै अचम्मित भएका छौँ, हिउँमा अलिअलि पानी घट्यो तर यस्तो सुक्खा कहिल्यै पनि परेका थिएन”, किसानले भन्नुभयो, “यो ताल निकै सुन्दर थियो, पानी सफा हुन्थ्यो, हामी सानो हुँदा पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो, अहिले त धुलाम्मे बनेको छ, यहाँ पालिकाबाट योजना प¥यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सकेर सकियो ।”

स्थानीय दिलमाया किसानले ताल सुकेपछि वरपर खानेपानीको समस्या बढेको बताउनुभयो । आफू यो ठाउँमा आएको २५ वर्ष भएको सुनाउँदै यतिका समयसम्म खानेपानी अभाव नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो त कहिलै भएको थिएन, म यहाँ आएको पनि साढे दुई दशक बित्यो तालमा पानी सुकेको कहिल्यै थिएन, अहिले तालमा एक थोपा पनि पानी छैन ।”

काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले जलवायु परिवर्तनका कारण ताल सुकेको हुनसक्ने बताउनुभयो । तालसँगै गाउँमा भएका थुप्रै पानीका मुहान सुकेको उहाँको भनाइ छ । ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले रु ३० लाख लगानी गरे संरक्षण गरेको उहाँ बताउनुहुन्छ । पहिले हिउँद बर्खा पानी रहने ताल अहिले सुक्खा बनेको अध्यक्ष पुनको भनाइ छ ।

“यो धेरै वर्ष पुरानो ताल हो, पर्यटकीय हिसाबले यसको प्रचारप्रसार, संरक्षण र सौन्दर्यकरण गर्न जरुरी थियो, सोहीअनुसार बजेट व्यवस्थापन गरेर काम गरेका थियौँ, तर अहिले तालमा पानीनै सुक्यो”, अध्यक्ष पुनले भन्नुभयो, “तालसँगै अन्य ठाउँमा भएको खानेपानीको मुहानसमेत सुकेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष असर यहाँ परेको देखियो ।”

मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न

गोरखा, २४ वैशाख : भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर पूर्णरुपमा क्षति भएको थियो । विभागले आर्थिक वर्ष २०७९÷८० मा विनियोजन गरेको बजेटबाट मन्दिर जीर्णोद्धार गरिएको हो ।

मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले भक्तपुरको ‘एमबी एण्ड सन्स कन्स्ट्रक्सन’सँग ठेक्का सम्झौता गरेको थियो । “पुरातत्व विभागले विनियोजन गरेको बजेटबाट मूल मन्दिरको साविकको स्वरुप नै कायम रहने गरी जीर्णोद्धारको काम सकिएको छ, त्यसबाहेक मन्दिर वरपरको व्यवस्थापनलगायतका काम भने मन्दिर संरक्षण समितिले आफँ गरिरहेको छ”, संयोजक खनालले भन्नुभयो ।

अर्लाङ्दी मन्दिर त्यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो । प्रसिद्ध मनकामना मन्दिरको दिदीबहिनी रहेको विश्वास गरिने अर्लाङ्दी मन्दिर सयौँ वर्ष पुरानो रहेको मानिन्छ । “पुरातत्व विभागले गर्ने काम सबै सकिएको छ, मन्दिर बाहिर पहिरोले क्षति पु¥याएको थियो, अहिले पहिरो उकास्नेलगायतका काम धमाधम संरक्षण समितिले गर्दैछ”, उहाँले भन्नुभयो ।

संरक्षण समितिले चन्दा सङ्कलन गरी मन्दिरको संरक्षणका साथै बाटो र धारा निर्माणको काम गरिरहेको छ । मन्दिर जीर्णोद्धार सम्पन्न भएसँगै ताक्लुङमा धार्मिक पर्यटकलाई जोड्न सकिने वडाध्यक्ष यामबहादुर थापाले विश्वास व्यक्त गर्नुभयो ।

धान रोप्ने खेत मासेर व्यावसायिक केरा खेतीमा नरेन्द्र,वार्षिक रु चार लाख आम्दानी

वेदकोट (कञ्चनपुर)- कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाउनुभएको छ । उहाँले दशवर्ष अघिदेखि केराखेती सुरु गर्नुभएको हो । अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उहाँले केरा रोप्नुभएको हो ।“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ । त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ ।”

धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उहाँ व्यावसायिक केरा खेतीमा लाग्नुभएको हो । तिलाचौरमा उहाँको दुई बिघा जमिन छ । त्यसमध्ये डेढ बिघामा केरा खेती गर्नुभएको छ । केरा खेतीमा नरेन्द्र र उहाँको श्रीमती आफै खटिनुहुन्छ । “धान, गहुँ भन्दा आम्दानी राम्रो छ । केरा स्थानीय बजारमा सहजै बिक्रि हुने गरेको छ,” उहाँले भन्नुभयो, “गोडमेलमा परिवारकै मानिस लाग्छौँ । आवश्यक परे कहिले मजदुर पनि लगाउने गरेका छौँ ।”

उत्पादित केरा यहाँको महेन्द्रनगर बजारमा बिक्री गर्ने गरिएको छ । केरा खेतीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको नरेन्द्रको भनाइ छ । उहाँको दुई छोराछोरीसहित चार जनाको परिवार छ । केरा खेतीबाट कमाएकै पैसाले उहाँले जेठी छोरीको विवाह गर्नुभयो । कान्छा छोरा रोशनलाई इन्जिनियर बनाउने उहाँको सपना छ । गाउँकै युवा वर्ष माध्यमिक विद्यालयबाट एसएसलसी परीक्षा उत्तीर्ण गरेपछि छोरा रोशनलाई तीन वर्षदेखि पोखरामा इन्जिनियरिङ अध्ययन गराइरहनुभएको छ । “छोराले आंशिक छात्रवृत्तिमा नाम निकाल्यो । खेतीबाट हुने आम्दानीले छोराको बस्न, खान र पढाइको खर्च जोहो गरिरहेका छौँ,” नरेन्द्र भन्नुहुन्छ, “वार्षिक रु दुई अढाई लाख उसका लागि छुट्याउनुपर्छ ।”

उहाँले बाख्रा र भैँसी पनि पाल्नुभएको छ । पशुपालनबाट हुने आम्दानीले घरखर्च त्यहाँबाट व्यवस्थापन हुने गरेको उहाँले बताउनुभयो । वर्षौंदेखि केरा खेतीमा लागे पनि अहिलेसम्म सरकारबाट पाउने अनुदान तथा बीउविजन, मलखादमा केही नपाएको उहाँको गुनासो छ । कञ्चनपुरमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा केरा खेती गरिन्छ ।

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा क्षति पुगेपछि उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन अवरुद्ध भएको थियो ।

दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा शनिबारदेखि पुनः सञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो । विराटनगरदेखि आएको प्राविधिक टोलीले लची डाँडामा राखिएको टावरमा मर्मत गरेपछि शनिबारदेखिसञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख राईले बताउनुभयो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । 

चट्याङले ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का  हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा लाभान्वित भएका छन् । विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेछ ।   प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीदेखि प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।  

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो, एक करोड ७७ लाख बराबरको क्षति

नेपालगञ्ज, २४ वैशाख : बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिनुभयो । उहाँले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताउनुभयो ।

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।

राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताउनुभयो ।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो । आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ ।

शम्शेरगञ्ज सव डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्नुभयो ।

बाँकेमा एक सय पाँच आगलागीका घटना

बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन् । विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

ती आगलागीका घटनामा एक सय चार पशु चौपाया मरेका छन् । आगलागीका घटनाबाट रु एक करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ । जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगञ्जमा आगलागीका घटना भएका हुन् ।

सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढे

खजुरा (बाँके) – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र ह’त्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक सञ्जाल फेसबुक, हवाट्सएप, भाइबर, इमो र फोनमा विभिन्न किसिमका कुराकानी तथा अनावश्यक सामग्री पोष्ट गर्ने जस्ता घटनाको उजुरी प्रहरीमा आउने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराधसम्बन्धी ९८ वटा उजुरी दर्ता भएको छ ।

गत आर्थिक वर्ष ४० वटा उजुरी परेको थियो । यो वर्षदेखि प्रहरी कार्यालयले साइबर अपराधसम्बन्धी छुट्टै शाखा स्थापना गरेर व्यवस्थित रुपमा काम गर्न थालेपछि उजुरी बढेको हो । प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेकोसम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

आर्थिक लाभसम्बन्धी पाँच वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र ह त्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फछर्यौट गरिएको प्रनाउ डाँगीले बताउनुभयो । आर्थिक लाभसम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको छ ।

सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइएको छ । सोही कारणले चिठ्ठा, तालिम, बंैक खाताको ओटिपी माग गरी ठगी भइरहेकोबारे प्रहरीले सचेत गराउँदै आएको छ ।

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर – बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा दिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती, २४ वैशाख : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । सो ऐनको दफा १३ को (५)लाई संशोधन गर्न अनुकूल देखिएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही रु एक लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृतकका परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत सो रकम उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

केही दिनअघि बागमती प्रदेशको ललितपुर र रामेछाप जिल्लाको वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा जलेर तीन जनाको मृत्यु भएको थियो ।
 

सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण छिटो हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको कर्णाली प्रदेश अधिवेशनको सुर्खेतमा उद्घाटन गर्दै उहाँले कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा समस्या भएको छ भन्नुभयो । उहाँले भन्नुभयो,” प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावमा कार्यान्वयन हुन सकेको छैन । सङ्घले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयतामाथि प्रश्न उठिरहेका छन् । सरकारले तत्काल सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण गर्नुपर्छ ।”

उपसभापति खड्काले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्यालाई संविधानमार्फत संशोधन गर्न फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गर्नुभयो । “कांग्रेसको नेतृत्वमा ७० वर्षको सङ्घर्षपछि संविधान जारी भएको हो, संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्रीतथा पार्टी सभापति सुशील कोइरालाले छुटेका कुराहरु संविधान संशोधनको प्रक्रियामार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा आएको यो आठ वर्षमा भोगेका अप्ठ्यारालाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”

उपसभापति खड्काले भ्रातृ संस्था बलियो भए पार्टी बलियो हुने बताउनुभयो । उहाँले आदिवासी जनजाति समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकाले यस संस्थाको महत्व रहेको धारणा राख्नुभयो । उहाँले आदिवासी जनजाति समुदायको महत्व परापूर्वकालदेखि भएको जनाउँदै लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

विचार समूहमा जोडिएका सम्पूर्ण सदस्यलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उहाँले वडादेखि प्रदेशसम्मको सङ्गठनलाई बलियो बनाई अभियान सफल बनाउन निर्देशन दिनुभयो । उपसभापति खड्काले अहङ्कार, रिस र घमण्ड त्याग्न सके मात्रै जनता र कार्यकर्ताको मन जित्न सकिने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । कांग्रेसले विगतदेखि नै आर्थिक, सामाजिक र राजनीतिक जस्ता युगान्तकारी परिवर्तन गरेको उहाँको भनाइ थियो ।

खरबुजा बिक्रीबाट मनग्य आम्दानी गर्दै झापाका किसान

झापा- मेचीनगर-१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाउनु भएको छ । “धमाधम बजारमा पु्याइरहेका छौँ,” खनालले भन्नुभयो, “पहिलो पटक खेती गरेका हाँैं, राम्रो उत्पादन भयो ।” कृषिमा लागिरहनु भएका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गर्नुभएको हो । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उहाँहरुले सुरु गरेको बगर खेतीमा तीन सय ५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको छ ।

चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्छन् । व्यापारीले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् । निजी सवारी लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् ।

खरबुजा बेचेर रु ८० लाखदेखि ९० लाखसम्म आम्दानी गर्ने लक्ष्य फार्म सञ्चालक खनालको छ । दैनिक चारदेखि आठ टनसम्म खरबुजा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भारतबाट सस्तो र कमसल खरबुजा भित्रिएका कारण बजारमा चुनौती थपिएको बताउनुभयो । खरबुजामा नेपाल आत्मनिर्भर भएको दाबी गर्दै उहाँले भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नुपर्ने माग गर्नुभयो ।

कनकाई-५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिघा जग्गा भाडामा लिएर खरबुजा खेती गर्नुभएको छ । उहाँले बगरखेतीमा खरबुजा लगाएको १५ वर्ष भइसकेको छ । “गाडीमा डुलाएर बेच्ने व्यापारीले खरबुजा लैजाने गरेका छन्,” मण्डलले भन्नुभयो, “तीन बिघामा खरबुजा लगाउन रु १२ लाख लगानी गरेको छु ।” खरबुजा बेच्न आफैले उर्लाबारीसम्म गाडी पठाउने गरेको उहाँले बताउनुभयो ।

फुलुले खरबुजाबाट आम्दानी गरेको देखेर धीरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डललेसमेत कनकाईमा खरबुजाको बगरखेती लगाउनुभएको छ । बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ । मेचीनगर-९ का डिल्ली उप्रेतीले एक दशकअघि व्यावसायिक खरबुजा खेतीको प्रवद्र्धन गर्नुभएको थियो । विर्तामोडको बट्टाबारीमा उहाँको खरबुजा खेती छ । उहाँले खेतमा खरबुजा फलाउन सकिन्छ भनेर प्रमाणित गरेपछि धेरैले खरबुजा खेतीमा लगानी बढाएका हुन् ।

त्यसअघि भद्रपुरको मेची बगरमा नेपाली र भारतीय किसानले यसको खेती गर्थे । नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुन्थ्यो । अहिले भारतबाट आयात नगरे पनि स्थानीय खरबुजाले बजारको माग धान्नसक्ने अवस्था भइसकेको व्यावसायिक किसान हरि नेपाल बताउनुहुन्छ । “स्वाद र गुणस्तरका हिसाबले हेर्ने हो भने नेपाली उत्पादन अर्गानिक हुन्छ,” उहाँले भन्नुभयो, “भारतबाट आउने खरबुजा सस्तो र कमसल हुन्छ ।” भारतमा सरकारले कृषिका लागि बीउ, मल र सिँचाइमा प्रशस्त अनुदान दिने भएकाले लागत कम परेका कारण सस्तो भएको हो ।

बजारमा खरबुजाको प्रति केजी मूल्य रु ४५ देखि ६० सम्म छ । भाटभटेनी र सुपर मार्केटको बिक्री स्टलमा पनि स्थानीय खरबुजा पाइन थालेको छ । मेची बगरमा फलेको खरबुजा काठमाडौँका सुपरमार्केट र पाँचतारे होटलमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनालले बताउनुभयो । झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानले खरबुजा फलाउने गरेका छन् ।

क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आईतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । आईतबारलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आगामी जेठ १ गतेका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आगामी जेठ १ गतेका लागि पेशीमा गएको छ, आईतबार विपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन ।”यसअघि गत आइतबार अदालतले आइतबार पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठह¥याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

वनमा आगो लगाउनेलाई पक्राउ गरी कारबाहीका लागि वन कार्यालय पठाइयो

कास्की, २३ वैशाख-सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । अन्नपूर्ण गाउँपालिका-३ मराम्चेस्थित मराम्चे सामुदायिक वनमा डढेलो लगाउने स्थानीय ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरी थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

सो वनमा शुक्रबार आगो लागेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरको टोली घटनास्थलमा खटिएको थियो । आगो लगाएका व्यक्तिको खोजतलास गर्दा पौैडेलले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका पौडेलले वन नजिकै रहेको खरबारीमा आगो लगाउँदा अनियन्त्रित भइ वनमा आगो फैलिएको थियो । यस वर्ष वन डढेलोले वन्यजन्तु, वनस्पति, जैविक विविधता र वातावरणनै प्रदूषित भएपछि प्रहरीले वनमा आगो लगाउनेको खोजी सुरु गरेको थियो ।

प्रहरीका अनुसार यसवर्ष विभिन्न स्थानका वनमा एक सय २७ पटक डढेलो लागेको छ । प्रहरी नायब उपरीक्षक शर्माका अनुसार वनमा आगजनीका अधिकांस घटना व्यक्ति विशेषले आपराधिक मनसाय राखी जानीजानी गरेको देखिएको छ । नेपालको कानुनमा वन जङ्गलमा आगजनी गर्ने गराउने कार्य गम्भीर आपाराधिक कार्य मानी यस्तो कसूर गर्नेलाई वन ऐन अनुसार तीन वर्षसम्म कैदसम्मको व्यवस्था छ ।

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग

काठमाडौँ, २३ वैशाख – नेपालको ऊर्जा क्षेत्रको विकास एवम् विस्तारका लागि जापान सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ । भौतिक पूर्वाधारको विकास, आधुनिक प्रसारण एवम् वितरण प्रणाली सुदढीकरणका लागि जापानले गरेको सहयोग महत्वपूर्ण छ । जापानी विदेशमन्त्री खामिखावा योकोको नेपालको भ्रमणमा क्रममा जापान सरकारले उपलब्ध गराएको सहयोगको मुक्तकण्ठले प्रशंसा भइरहेको छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यो ऐतिहासिक घडीमा जापानी विदेशमन्त्रीले नेपालको भ्रमण गर्नुभएको हो । भौतिक विकासको क्षेत्रमा जापानले गरेको प्रगतिबाट नेपालले पनि क्रमशः लाभ लिन थालेको छ । जापानले विशेष गरी ऊर्जा क्षेत्रको विकासका लागि उपलब्ध गराएको सहयोग पनि आफैमा महत्वपूर्ण र विशेष रहँदै आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिपकुमार देवका अनुसार नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जापान भरपर्दो मित्र हो ।

पछिल्लो पटक सरकारले एक हजार ६२ मेगावाट क्षमताको माथिल्लो अरुणमासमेत लगानीका लागि अनुरोध गरेको छ । सो आयोजनामा विश्व बैंक, एशियाली विकास बैंकलगायतले सहवित्तीयकरणमा लगानी गर्ने सैद्धान्तिक सहमति जनाइसकेका छन् । नेपालको ऊर्जा सुरक्षा र हिउँदको समयको माग धान्नका लागि माथिल्लो अरुण एउटा महत्वपूर्ण आयोजना हो ।

एकीकृत विद्युत् विकास योजना कार्यान्वयनका लागि जापान सरकारले प्राविधिक सहयोग उपलब्ध गराएको छ । प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि जापान सरकारले २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको छ । यसले मुलुकको ऊर्जा क्षेत्रलाई भरपर्दो र विश्वसनीय बनाउन सहयोग पुगेको छ ।

सहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी ऐन १५ अर्ब ९० करोड १० लाख (करिब रु १४ अर्ब ६९ करोड ) बराबरको सहुलियतपूर्ण ऋण २०७९ मा नै प्राप्त भएको हो । सो सहुलियतपूर्ण ऋण सहयोगबाट एक सय ३२ केभी क्षमताका पाँच वटा सवूस्टेशन निर्माण र १५ किलोमिटर बढी एक सय ३२ क्षमताको प्रसारण लाइन नै भूमिगत गर्ने सरकारको लक्ष्य अनुसार काम भइरहेको छ । सोही लक्ष्यअनुसार हाल काम भइरहेको छ । सो सहुलियतपूर्ण ऋणको वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर छ । कूल ३० वर्षको भुक्तानी अवधि र १० वर्षको थप अवधि समेत रहेको छ ।

आयोजनामार्फत काठमाडौँको टेकुस्थित सवस्टेशनबाट करिब दुई किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेशनमा जोडिनेछ । यस्तै, बालाजु सवस्टेशनका अलावा नारायणहिटी दरबार क्षेत्रमा सवस्टशेन निर्माण, भक्तपुरको सिरुटारमा सवस्टेशन निर्माण हुनेछ ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा एक सय ३२ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । कालीगण्डकी लेखनाथ एक सय ३२ केभी प्रसारण लाइनबाट आउको बिजुलीलाई बिरौटामा सवस्टेशन बनाएर पोखराको सहरी विद्युत् आपूर्ति भरपर्दो बनाउने लक्ष्य राखिएको छ । एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनामा एशियाली विकास बैंकसँग मिलेर सहलगानी गरेको थियो ।

सो आयोजनाका लागि जापानले सन् २००६ र २००७ मा कूल सात सय ६२ मिलियन जापानी मुद्रा बराबरको ऋण सहयोग उपलब्ध गराएको थियो । काठमाडौँ उपत्यका, कास्कीको पोखरा र चितवनको भरतपुरमा भइरहेको प्रसारण तथा वितरण प्रणालीको भूमिगत कार्यका लागि समेत जापान सरकारको तर्फबाट सहयोग उपलब्ध छ । यसैगरी एक सय ४० मेगावाट क्षमताको तनहु सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । सो आयोजना हाल निर्माणको चरणमा छ ।

यस्तै सोही आयोजनाको तल्लो तटमा एक सय २६ मेगावाट क्षमतको तल्लो तनहुँ सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले नै सो आयोजना समेत निर्माण गर्ने तयारी गरेको छ । सो आयोजना निर्माणका लागि समेत जापान सरकारलाई ऋण सहयोगका लागि अनुरोध गरिएको छ । निर्माणाधीन तनहुँ जलाशयुयुक्त आयोजनाको टेलरेसबाट १८ किलोमिटर तल तल्लो तटहमा अवस्थित बन्दीपुर गाउँपालिकाको वडा नं ६ र देवघाट गाउँपालिकाको वडा नं ३ मा तल्लो तनहुँ सेती आयोजना निर्माण हुनेछ । सो आयोजनाबाट पाँच सय २१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

यस्तै, अन्य केही ठूला आयोजनामा समेत लगानीका लागि सरकारले जापानलाई आग्रह गरेको छ । वैकल्पिक ऊर्जाको क्षेत्रमा पनि जापान सरकारले उल्लेखनीय सहयोग उपलब्ध गराउँदै आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जापानले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा थप ठूला आयोजनाका लागि आग्रह गरिएको बताउनुहुन्छ । उहाँले केही ठूला आयोजनाका लगानीका लागि प्रस्ताव गरिएको र त्यसको परिणाम छिट्टै प्राप्त हुने बताउनुभयो ।

जापानले विशेषगरी, बिपी राजमार्ग, काठमाडौँ नागढुङ्गा– सिस्नेखोला सुरुङमार्ग, काठमाडौँ कोटेश्वर सडक निर्माणमा जापान सरकारले सहयोग गरेको छ । यस्तै, काटेश्वरको अण्डरपास र सुरुङमार्ग निर्माणमा पनि सहयोग गर्ने बचन दिएको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएको जापानी विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभयो ,

सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिकसम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो । सन् १९०२ मा पहिलोपटक सरकारले जापानमा अध्ययन गर्नका लागि आठ जना नेपाली विद्यार्थी पठाएको पनि एक सय २० वर्ष नाघिसकेको छ । दुई देश सिधा हवाई उडानबाट जोडिएका छन् । हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार नाघिससकेको छ । यस आधारमा पनि दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार भएको छ ।

हवाई यात्राले छोटिँदै नेपाल जापान दूरी

काठमाडौँ, २३ वैशाख : “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हाम्रो जापानीहरुको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधत्व हुने अपूर्व मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ”, आज मध्यान्ह काठमाडौँ ओर्लनु भएकी जापानका विदेशमन्त्री खामिखावा योकोले आफ्नो लेखमा भन्नुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा आउनुभएका विदेशमन्त्री योकोले नेपाल आउनुपूर्व राससमा प्रकाशित लेखमा ‘मेरो पहिलो नेपाल भ्रमण’ शीर्षकको लेखले साँच्चिकै नेपाल र जापानबीचको लामो समबन्धलाई भावनात्मक बनाउछ । भौगोलिक रुपमा टाढा रहे पनि नेपाल र जापानबीच नजिकको सम्बन्ध छ । नेपालबाट जापानमा सिधा हवाई उडानले दुई देशबीचको दूरीलाई नजिक बनाएको हो । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानमा नियमित उडान गरेर जापानसँग नजिकको सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

“आज हाम्रा दुई मुलुक सात घण्टाको सिधा हवाई उडानबाट जोडिएका छन्”, जापानी विदेशमन्त्री योकोले भन्नुभएको छ, “हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार छ । जुन जापानमा बस्ने विदेशीहरुको छैटौँ ठूलो सङ्ख्या हो । जापानमा नेपालीको सक्रियताका कारण दुई देशबीचको सम्बन्ध निरन्तर रुपमा प्रगाढ भएकोमा म हर्षित छु ।”

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नेपाल एयरलाइन्सले जापानमा सिधा हवाई उडान गरेर नजिकको सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताउनुभयो । “नेपालीहरु जापानमा रोजगार तथा अध्ययनका लागि जाने गरेका छन् । जापानी नागरिक पनि विभिन्न प्रयोजनका लागि नेपाल आउने गर्छन्”, उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्सले जापानमा साताको तीन उडान नियमित रुपमा गरिरहेको छ, त्यो भनेको नेपाल र जापानको सम्बन्धलाई प्राथमिकता दिएको हो । हामी भौतिक रुपमा टाढा भए पनि हवाई सम्पर्क सञ्जालले दुई देशबीचको दूरी कम भएको र सम्बन्ध नयाँ उचाइमा पु¥याएको छ ।”

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउनुभएको हो । जापानको विदेशमन्त्री नियुक्त हुनुभएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । नेपालबाट जापान पाँच हजार एक सय छ किलोमिटर दुरीमा पर्छ ।

पछिल्लो समय जापानमा नेपालको उपस्थिति दिनप्रतिनिध बढ्दो छ । जापानमा नेपालीले आठ हजार बढी रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेका छन् । त्यहाँ खुलेका विभिन्न स्कुलमा नेपाली भाषा अध्ययन हुने गरेको छ । सगरमाथासँग जापानको विशेष सम्बन्ध छ । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो ।

जापान नेपालको प्रमुख विकास साझेदार मुलुक हो । विभिन्न पेसा, व्यवसाय, रोजगारी र अध्ययनका लागि उल्लेख्य सङ्ख्यामा नेपाली जापान गएका छन् । बाक्लो सङ्ख्यामा जापानी नागरिक विभिन्न सन्दर्भमा नेपाल आउने गरेका छन् । नेपाल र जापानबीच कूटनीतिकसम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा  नेपाल आउनुभएको थियो । नेपालले हालसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्यसम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक सामाजिक विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।

नेपाल र जापानबीचको हवाई सम्बन्ध

नेपाल र जापानबीच दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । त्यसको २५ वर्षपछि सन् २०१८ मा हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन भएको थियो । हवाई सम्झौतासँगै दुई मुलुकबीच सातामा १४ वटासम्म उडान गर्न पाउछन् । त्यसअघि सातामा दुई वटामात्रै उडान गर्न पाउने सम्झौता थियो ।  यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान सुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

नेपाल एयरलाइन्सले विस २०७६ भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो । त्यसको सात महिनापछि अर्थात विस २०७६ फागुन १९ गतेदेखि जापानको नारितामा साताको तीन दिन सिधा उडान प्रारम्भ भयो । निगमको वाईडबडी एयरबस ३३० जहाजमार्फत जापानमा उडान जारी छ । नारिता विमानस्थल राजधानी टोकियो नजिक पर्छ ।

जापानी पर्यटक बढ्ने अपेक्षा

नेपालबाट जापानको राजधानी टोकियो सिधा उडान भइरहेकाले पर्यटक आवागमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालबाट जापानमा हवाई उडान सङ्ख्या बढाएको खण्डमा आगामी दिनमा उल्लेख्य सङ्ख्यामा जापानी नागरिक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । अध्ययन र रोजगारीको सिलसिलामा रहेका नेपालीको नेपाल आगमन सहज हुने भएकाले दुईतर्फी आवागमन बढ्नका साथै आर्थिक सामाजिक विकासमा योगदान पुग्ने निर्देशक लामिछानेको भनाइ छ ।

बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सोही वर्ष जापानबाट कूल १६ हजार चार सय ६३ नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ मा पाँच हजार सात सय १४ जापानी नागरिक नेपाल आएका थिए । सबैभन्दा बढी सन् २०१९ मा सबैभन्दा बढी ३० हजार पाँच सय ३५ जापानी नागरिकले नेपाल भ्रमण गरेका छन् । त्यसअघि सन् २०१८ मा २९ हजार आज सय १७ र सन् २०१७ मा २७ हजार तीन सय २६ जापानी नेपाल भ्रमणमा आएका थिए ।

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने

काठमाडौँ, २३ वैशाख -नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ ।

उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आज आइतबारदेखि विद्युत् लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।आज गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो । सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मङ्गलबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र तथा शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

सरकारले इजराइलमा अल जजिरा टिभी ‘बन्द’ गर्छ– नेतान्याहु

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार उहाँको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ । अल जजिरासँग उहाँको प्रशासनको लामो समयदेखि विवाद जारी छ । “सर्वसम्मतिले निर्णय गरिएको छ ः इजराइलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

“इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता हुने छैन”, सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा भन्नुभयो, “अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिनेछ ।”कारहीले ‘उक्त च्यानलको सामग्री वितरित गर्नका लागि प्रयोग गरिने’ उपकरणहरू जफत गर्न आदेश जारी गर्नुभयो । यसमा सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन समावेश थिए ।

इजराइल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा अल जजिराको कार्यालय प्रमुख वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो, “यो इजराइलको चरम दक्षिणपन्थी मन्त्रीहरूको सहज जितको खोजीमा एउटा अभियान थियो ।”

उहाँले ब्रोडकास्टरलाई ‘इजराइलका सीमाभित्र सञ्चालित अल जजिरा च्यानलका कार्यालयहरू बन्द गर्ने’ र उसका प्रसारण उपकरणहरू जफ गर्ने सूचना दिइएको बताउनुभयो । उहाँले अल जजिराको वेबसाइटहरूमा प्रसारण पनि प्रतिबन्धित हुने तर इजराइलले कब्जा गरेको वेस्ट बैंकमा कानूनीरूपमा प्रतिबन्ध लागु नहुने बताउनुभयो । गाजा पट्टीमा पनि प्रतिबन्ध लागु हुनेछैन । गाजा पट्टीबाट अल जजिराले अहिले पनि हमाससँगको इजराइलको युद्धलाई प्रत्यक्ष प्रसारण गर्दछ ।

इजराइलको संसद्ले गत महिना भारी बहुमतले नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि आइतबार उक्त निर्णय आएको हो । उक्त कानूनले शीर्ष मन्त्रीहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी च्यानलहरूको प्रसारणमा प्रतिबन्ध लगाउन र तिनीहरूको कार्यालय बन्द गर्न अधिकार दिएको छ । सोही कानून पारित भएको केही समयपछि नेतान्याहुले आफूलाई ‘अरब संसारको पहिलो स्वतन्त्र च्यानल’ बताउने अल जजिरालाई छनोट गर्नुभयो । गाजामा हमाससँग इजराइलको युद्धभन्दा पहिलादेखि नै नेतान्याहु सरकारको अल जजिरासँग विवाद जारी छ ।

‘आपराधिक’ निर्णयको अल जजिराद्वारा निन्दा
यसैबीच कतारमा आधारित सञ्जाल अल जजिराले आइतबार गाजा युद्धको कभरेजमा प्रसारणकर्तालाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने इजराइली सरकारको कदमलाई ‘आपराधिक’ भन्दै निन्दा गरेको छ ।
“हामी सूचनासम्म पुग्ने मानवअधिकारको उल्लङ्घन गर्ने इजराइलको यो आपराधिक कृत्यको निन्दा गर्दछौँ”, अल जजिराले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा भनेको छ ।

अल जजिरा लामो समयदेखि चलिरहेको झगडाको पछिल्लो चरणमा नेतान्याहु र उहाँको सरकारको महिनौँदेखि आलोचनाको केन्द्रविन्दु बनेको छ । यो गाजामा हमाससँग इजराइलको युद्धभन्दा धेरै अघि सुरु भएको थियो । अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि अल जजिराले इजराइली अभियानको प्रभावहरूको लगातार स्थलगत रिपोर्टिङ प्रसारण गरेको छ । युद्धमा गाजामा अल जजिराको कार्यालयमा बमबारी हुँदा उसका दुई संवाददाता मारिएका छन् ।

चौंरी हेर्ने गन्तव्य बन्दै हेलम्बु

चौतारा, २३ वैशाख : हिमाली क्षेत्रमा पालिने चौंरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले संरक्षणका लागि अभियान थालेको छ । चौँरीप्रति आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित हुने भएकाले गाउँपालिका चौंरी संरक्षणमा जुटेको हो । पछिल्ला समय चौंरी र याकको सङ्ख्या घटिरहेकाले त्यसलाई बढाउन गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ ।

ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्न लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङलगायतका स्थानमा चौंरी, याक हेर्न पाइन्छ । तर अहिले लोप हुन लागेकाले चौंरी संरक्षणमा पालिका लागिरहेको उहाँले बताउनुभयो । हेलम्बुले यसअघि नै चौंरी संरक्षण अभियानअन्तर्गत बीमा गरेको छ ।

चौंरीपालन गरेमा स्थानीयको आर्थिक हैसियत बलियो हुने, गाउँवासीले रोजगारी पाउने मात्रै नभइ चौंरीकै कारण पर्यटक बढ्ने भएकाले अभियान ल्याइएको अध्यक्ष शेर्पाको भनाइ छ । याकको सङ्ख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने उहाँ बताउनुहुन्छ । हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । गुम्बाको गाउँ भनेर चिनिने हेलम्बुमा रेडपाण्डा, हिमाल, ग्रेटटेल हेर्न पर्यटक आउने गर्दछन् । योसँगै अब हेलम्बु चौंरी हेर्ने गन्तव्यको सूचीमा पर्ने आशा गरिएको छ ।

अब आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छ : मन्त्री भण्डारी

कर्णाली, २३ वैशाख (रासस) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताउनुभएको छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उहाँले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्ने छ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो ।

“सुखी नेपाली र समृद्ध नेपालको चाहना पूरा गर्नका लागि सरकारले विशेष महत्वका आयोजनाहरुलाई चाँडोभन्दा चाँडो कार्यान्वयनको चरणमा पुर्याउने तयारी गरिरहेको छ,” उहाँले भन्नुभयो । खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा दैलेख नेपालको आर्थिक समृद्धि केन्द्र बन्ने दबी गर्नुभयो । “देश–विदेशमा अन्वेषणको विषयले चर्चा पाएको छ,” उहाँले भन्नुभयो, “आम नेपालीमा खुसी छाएको छ । यसमा हामी पनि उत्साहित भएका छौँ ।”

सो अवसरउद्योगमन्त्री भण्डारी, खानी तथा भू–गर्भ विभागका महानिर्देशक घिमिरे, प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले आयोजना स्थलको अध्ययन र अवलोकन गर्नुभएको थियो । नेपालगञ्जबाट आयोजनास्थल दैलेखको जलजलेमा पुगेका एक सय ५० बढी ट्रकका सामानहरु झारेर जडानको कार्य तत्कालै थालिएकाले काम चाँडो भएको खानी तथा भू–गर्भ विभागले जनाएको छ ।

विभागका अनुसार आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुनेछ । अध्ययनपछि कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ । आर्थिक हिसाबले उत्पादन योग्य भएको खण्डमा प्रशोधनसहितका अन्य प्रक्रियाहरु सुरु हुनेछन् । नेपाल र चीन सरकारबीच विसं २०७५ मा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब रु दुई अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भइरहेको बताइएको छ ।

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौँ उपत्यका पनि सामान्य वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ती स्थानमा वर्षा भएको हो । गण्डकी प्रदेश क्षेत्रमा जम्मा भएर बसेको स्थानीय वायु दक्षिण–पूर्वी क्षेत्रमा सरिरहेको र यसको प्रभावका कारण केही स्थानमा हल्का वर्षा भएको विभागका मौसमविद् सरोज पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गको अनुमान गरिएको छ । उच्च हिमाली भूभागमा भने हल्का हिमपातको पूर्वानुमान पनि महाशाखाले गरेको छ । भोलि सोमबार दिउँसो कोशी, गण्डकी र कर्णालीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली भई अन्य स्थानमा भने मौसम सफा रहने अनुमान गरिएको छ ।

सोमबार राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुने छ ।त्यस्तै, पर्सि मङ्गलबार देशभर आंशिक बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो । स्थानीय वायुको प्रभावले अहिले छिटपुट वर्षा देखिए पनि यो लामो समयसम्म भने नरहने उहाँको भनाइ छ ।

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने र जेठ २९ गते निष्काशन हुनेछ ।

वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर-आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक नौ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरी ऋणपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा रु १० हजार र बढीमा रु १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।

“यो बचतपत्र मुलुक बाहिर रोजगारीमा सङ्लग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफु वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिदबिक्री गर्न मिल्ने जनाइएको छ ।

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, २३ वैशाख ः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’मा उहाँले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री लामिछानेले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, “केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ । आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन । पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला । वनमा आगो लगाउनु अपराध हो । अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ । त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नूहोला ।”

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो । उहाँले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई दिन पनि अनुरोध गर्नुभएको छ ।

विपद् नै पिच्छे स्रोत–साधनको अभाव देखाएर गर्न सकिने सामान्य काम पनि नगर्ने प्रवृत्ति रहेकातर्फ सङ्केत गर्दै मन्त्री लामिछानेले नागरिकको ज्यान बचाउन राज्यले स्रोत–साधनको अभाव देखाउन नहुने बताउनुभयो । स्रोत–साधन अपुग रहे पनि भएकाको उच्चतम सदुपयोग गर्न, कार्ययोजना बनाएर अगाडि बढ्न, जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न निर्देशन पनि दिनुभयो ।

नीति, कानुन र व्यावहारिक कठिनाई भए फुकाउन आफूले नेतृत्व लिने भन्दै मन्त्री लामिछानेले डढेलोलगायत विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पनि स्रोत–साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एकीकृत कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको औँल्याउनु भएको थियो ।

दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, एक सय ४० जना घाइते भएको तथा एक हजारभन्दा बढी घर पूर्णरुपमा नष्ट भएको प्राधिकरणले जनाएको छ । यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन् ।

सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा

काठमाडौँ, २३ वैशाख : सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार सुनुवाइ हुने भएको छ ।न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आज बयान लिने क्रम नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

अदालतले अनलाइनका कार्यकारी सम्पादक नवीन ढुङ्गाना र प्रकाशक युवराज कँडेलसँग बयान लिइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको जनाउँदै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गर्नुभएको थियो । सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

बुटवलको सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द

लुम्बिनी, २३ वैशाखः बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो । समयमै निर्माण पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधिको आग्रह र निर्देशनलाई निर्माण व्यवसायीले बेवास्ता गरेपछि आज ठेक्का रद्द गरिएको हो ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक-पटकको आग्रह र निर्देशनलाई बेवास्ता गरेपछि ठेक्का तोडिएको बताउनुभयो । कार्यालयले छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का आव्हान गर्ने बताउनुभयो । आर्थिक वर्ष २०७३/७४को तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको आयोजनाको अहिलेसम्म ५० प्रतिशत मात्र सकिएको छ । उक्त आयोजना रु ५३ करोड ९७ लाख ९९ हजारमा ठेक्का लागेको हो ।

सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै समयमा काम सक्न अनुरोध गरे पनि निर्माण व्यवसायी सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको बताउनुभयो ।

ठेक्का सम्झौताका सर्तबमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको डिभिजन प्रमुख लामाले बताउनुभयो । निर्माणाधीन सडक अलपत्र हुँदा बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन् ।

चीनको साङ्घाई जिओ टोङ विश्वविद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक वाङ जुनले भन्नुभयो, “विश्वभरका विश्वविद्यालय के–१२ विद्यालय, शैक्षिक संस्था र चिनियाँ शिक्षकको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा दिगो विकास र निरन्तर समृद्धि प्राप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ ।” के–१२ विद्यालय संयुक्त राज्य अमेरिका, क्यानाडा र केही अन्य देशमा शिक्षा र शैक्षिक प्रविधिमा प्रयोग हुने शब्द, कलेजअघि सार्वजनिकरूपमा समर्थित स्कूल ग्रेडहरूका लागि छोटो रूप हो ।

न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावासका शिक्षा सल्लाहकार यु युगेनले नयाँ युगमा चिनियाँ भाषाको शिक्षाले सहयोगलाई सुदृढ गर्ने, शिक्षणको गुणस्तर सुधार गर्ने र मानिसहरूलाई प्रोत्साहन गर्ने निरन्तर प्रयासद्वारा चीनलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।

उक्त वार्षिक कार्यक्रम संयुक्त राज्य अमेरिकामा चिनियाँ संस्कृतिमा केन्द्रित सबैभन्दा पुरानो गैर–लाभकारी संस्थाहरू मध्येको एक चाइना इन्स्टिच्युट, ग्रेटर न्युयोर्कको चिनियाँ भाषा शिक्षक सङ्घ र साङ्घाई जिओ टोङ विश्वविद्यालयले संयुक्तरूपमा आयोजना गरेका थिए ।

वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर, २३ वैशाख : बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई भोलि वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । भोलि प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।

स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गरेपछि

वालिङ (स्याङ्जा), २३ वैशाख : स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायँटारीस्थित झोलुङ्गे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

गएराति मादक पदार्थ सेवन गरी झैझगडा गरिरहेको जानकारी प्राप्त भएपछि घटनास्थलमा पुगेर सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएका थिए । प्रहरी चौकी थुमपोखराबाट खटिएका प्रहरीलाई घाइते बनाएका स्याङ्जाको वालिङ–१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको हो ।
“मादक पदार्थ सेवन गरी साथी–साथीबीच कुटपिट तथा झगडा गरेका रहेछन्,” प्रहरी प्रवक्ता रानाले भन्नुभयो, “प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा गएर सम्झाई–बुझाई गर्दै गर्दा उल्टै प्रहरीलाई नै कुटपिट गरी घाइते बनाए ।”

प्रहरी चौकी थुमपोखरामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत मनोजकुमार सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सिंहको अवस्था खतरामुक्त रहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।

मुग्लिन पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ

दमौली (तनहँु), २३ वैशाख : मुग्लिन पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा घर टहरा भत्काउन ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो ।

संरचना हटाउने प्रयोजनका लागि रीतपूर्वक पेस भएका निवेदकलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर घर भत्काउन ढिलाइ गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरोकारवालासँग पटक-पटक समन्वय, सहकार्य, सहजीकरण र परामर्श गरिए पनि कतिपयले क्षतिपूर्ति रकम बुझ्ने तर संरचना नभत्काउने गरेकाले सडक स्तरोन्नतिमा अवरोध भएको छ ।”

सडक विस्तारको अवरोधले नगर क्षेत्रमा धुँलो, धुँवा र अस्तव्यस्तता भएको उहाँले बताउनुभयो । दुलेगाँैडा, खैरेनीटार र गाछेपानी लगायतका स्थानमा राजमार्गको सडक क्षेत्राधिकारभित्र पर्ने २५ मिटर दायाँबायाँभित्रका संरचना स्वतःस्फूर्त रुपमा हटाइ समन्वय र सहजीकरण गर्न पण्डितले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संरचना हटाउन जति ढिलाइ भयो आयोजनाको कामले त्यति गति लिनसक्दैन । संरचना नहटाइ बाधा व्यवधान उत्पन्न गरेमा प्रचलित कानुन बमोजिम सडकको मापदण्डभित्रका संरचना हटाइने छ ।” सडक स्तरोन्नतिका क्रममा स्थानीयवासीलाई पर्ने पिरमर्काको विषयमा आवश्यक पैरवीका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको पण्डितले बताउनुभयो ।

पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।

पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण अगाडि बढाइएको छ । पश्चिम खण्डको काम केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ ।

पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । उक्त खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले लिएको थियो ।

नेपालका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्नुपर्छः जापानी विदेशमन्त्री

काठमाडौ ।   राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।

शीतल निवासमा आइतबार भएको  शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी  दिए ।

राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैं जापानको उच्च सद्भाव महसुस गरेको पनि बताएका थिए ।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।

हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनुपर्ने जनाउँदै उनले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएउकी थिइन् ।

उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य राखेको जनाउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताउकी थिइन् । नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने बताएकी थिइन् ।

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम,२३ वैशाखः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ । निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आज प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेस गरिएको हो ।

विसं २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।