`

घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

Nepal One HD २३ असोज २०८१ ७:२६
प्रमुख खबर

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिनुभएको छ । मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको पानी वितरणको अनुगमन एवं जाँच गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामीले ठूलो चुनौती पार गरेर काठमाडौँबासीका लागि पानी ल्याएका छौँ, पानी वितरणमा प्राविधिक समस्या भए मलगायत मन्त्रालयका कर्मचारीलाई जानकारी दिनुहोला ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)को जिम्मेवारी जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा उपभोक्ताको घरमा पुग्नुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो । 

अर्को वर्षात नआएसम्मका लागि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खान पाउनेमा विश्वास व्यक्त गर्दै उहाँले प्रत्येक दुई दिनमा पानी वितरण गरिने भए पनि हाललाई प्रत्येक एक दिनमा पानी वितरण गरिने बताउनुभयो । 

मन्त्री यादवले मेलम्चीका सङ्घर्ष समितिका जायज माग दसैँ लगत्तै सम्बोधन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । उहाँहरुका माग दसैँपछि सम्बोधन गरिनेछ ।”


खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले बितरण सुरु गरिएको हो । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इञ्जिनियर रत्न लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया