`

सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ : अर्थमन्त्री पुन

काठमाडौँ, २३ वैशाख : अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिन सफल भएको बताउनुभएको छ । राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता सङ्गठनहरुबीच आगामी आर्थिक वर्षको बजेटबारे आज अर्थ मन्त्रालयमा भएको अन्तरक्रियामा अर्थमन्त्री पुनले निजी क्षेत्रका लागि सहज व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न आठवटा कानुनमा गरिएको सुधार तथा तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको अर्थमन्त्री पुनले जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

“लगानी सम्मेलनका सबै सत्र र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौँ । स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर कानुनमा भएका संशोधनले सकारात्मक वातावरण बनेको छ । मुखले मात्र होइन दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्र मैत्री रहेको सन्देश दिएका छौँ,” उहाँले भन्नुभयो । निजी क्षेत्रसँगको सहकार्यमा उत्पादकत्व बढाई अर्थतन्त्रलाई गति दिने उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेरको आवश्यकता र औचित्य पुष्टि हुने गरी गरिने उहाँले स्पष्ट पार्नुभयो । अर्थतन्त्रमा योगदान गरिरहेका, उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गरिरहेका नीति परिवर्तन नगरिने प्रतिबद्धता उहाँले जनाउनुभयो । “करका दर हेरफेर गर्दा यो कारणले बढायौँ, यो कारणले घटायौँ भन्छौँ । यो हाम्रो सार्वजनिक प्रतिबद्धता हो । छिमेक र विश्वबजारसँग प्रतिस्पर्धा गरिरहेको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउने नीति सरकारले लिएको छ”, अर्थमन्त्री पुनले भन्नुभयो ।

सम्मेलनमा सरकार र प्रतिपक्षी दलका नेताबाट लगानी मैत्री वातावरणबारे व्यक्त समान धारणाले आर्थिक नीतिमा सिङ्गो देश एकै ठाउँ रहेको सन्देश गएको उहाँले उल्लेख गर्नुभयो । “प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका नेताहरुले सकारात्मक कुरा गर्नु त छँदैछ तर प्रमुख प्रतिपक्षका नेता र विज्ञहरुले पनि एकै स्वरले देशमा लगानी आवश्यक रहेको बताउनुभयो”, उहाँले भन्नुभयो, “लगानी वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्षबीच नीतिगत मतभिन्नता छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय लगानीकर्ता र देशभित्रकै निजी क्षेत्रलाई दिन सफल भएका छौँ ।”

रुस र युक्रेनको युद्धमा परी मृत्यु भएकाहरुको शव स्वदेश ल्याई दाहसंस्कारको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरुको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी घाइतेको उपचारको व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई कूटनीतिक पहल गर्न आग्रह गरेको हो । आयोगले आमरण अनशनमा बसेका कृतु भण्डारीलगायतको जीवन रक्षा गर्न पनि सरकारसँग आग्रह गरेको छ । नेपालीहरु जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरुको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने आयोगले स्मरण गराएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्धमा रुसी सेनामा कार्यरत ३९ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही घाइते भई उपचाररत छन् । जोखिममा रहेका कतिपयको यथाशीघ्र उद्धारका लागि पहलको माग राखेर युद्ध प्रभावितका आफन्त विगत १७ दिनदेखि काठमाडौँमा अनशनमा छन् । यस विषयमा आयोगमा उजुरी प्राप्त भएपछि रत्नपार्कमा जारी आमरण अनशनस्थलको आयोगले अनुगमन गरेको छ ।

अनशनरत व्यक्तिको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको आयोगले जनाएको छ । जोखिममा रहेका व्यक्तिहरुको उद्धार गर्न र गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्न गत १ पुसमा आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।

जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक

काठमाडौँ, २३ वैशाख : नेपालको एकदिने भ्रमणमा आउनुभएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्टमा जानुभई पुस्तक खरिद गर्नुभयो । उहाँको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो ।

खासगरी नेपाली लेखककै पुस्तक उहाँ किन्न चाहुनुभएको थियो । ‘गाई जात्रा’, ‘भतिजीहरु’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक जापानी परराष्ट्रमन्त्री योकोले खरिद गर्नुभएको मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिनुभयो । जापानी परराष्ट्रमन्त्री योकाको रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक पनि परेको छ ।

त्यस्तै, उहाँले महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गर्नुभएको थियो । पाँच मिनेट मात्रै मण्डलामा आएर उहाँले प्रत्यक्ष पुस्तक हेरी खरिद गर्नुभएको हो । मण्डला बुक प्वाइन्टका प्रमुख महर्जनले जापानी मन्त्री योकोलाई स्वागत गर्दै पुस्तकबारे सङ्क्षिप्त जानकारी दिनुभएको थियो ।

“मन्त्रीज्यूको अवलोकनले गर्दा नेपाली पाठक, शिक्षक, विद्यार्थी पुस्तक पढ्ने संस्कृतिप्रति प्रेरणा मिल्छ”, उहाँले भन्नुभयो, “यसभन्दा अघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गुर्नभएको थियो ।” उहाँले मन्त्रीलाई मण्डलाबाट केही पुस्तक उपहार दिनुभएको थियो ।

हुलाकी सडक निर्माणमा ढिलाइ, धुलोले स्थानीय पीडित

पाल्हीनन्दन (नवलपरासी), २३ वैशाख-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायण चोकदेखि त्रिवेणीेसम्मको हुुलाकी सडक निर्माण ढिलाइ हुँदा स्थानीय धुुलोले पीडित भएका छन् । नारायण चोकदेखि त्रिवेणीसम्मको हुुलाकी सडकको काम बज्र गुरु र महालक्ष्मी जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

विसं २०७९ मा सम्पन्न गर्ने गरी विसं २०७३ मङ्सिर १ मा सम्झौता भएको थियो । हुुलाकी राजमार्ग निर्देशनालयको कार्यालय कपिलवस्तुका इन्जिनियर आचार्यका अनुसार गतवर्ष कोभिडका कारण र निर्माण सामग्री नपाउँदा काम हुन सकेन । समयमा काम गर्न नसकेपछि दुई पटक म्याद थप भइसकेको छ । तेस्रो पटक म्याद थपका लागि निर्माण व्यवसायी लक्षमन रानाले निवेदन दिनुभएको छ । ठेक्का लागेको सात वर्ष बित्दा समेत कामले गति लिन नसकेको हो । सडकको काम पूरा नहुँदा यात्रु मात्रै नभइ वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको इन्जिनियर आचार्यले बताउनुभयो ।

रु ५६ करोडमा १५ किलोमिटर सडक कालोपत्र गर्ने गरी निर्माण व्यवसायीले ठेक्का लिएको थियो । निर्माण कम्पनीले म्यादभित्र काम पूरा नगरेपछि कानुुन बमोजिम कारबाही गर्ने तयारी गरिएको इन्जिनियर आचार्यले बताउनुभयो । उहाँले भन्नुभयोे, “निर्माण व्यवसायीका प्रतिनिधि लक्षमन राना फोन सम्पर्कमै आउनुभएको छैन, हामीले ताकेता गरिरहेका छौँ ।”
सडक समयमा नबन्दा सडकको धुलोले सडक आसपासमा व्यापार गर्नैै गाह्रो भएको प्रतापपुर‐२ गोपीगञ्जका केशव चापागाइँले बताउनुभयो ।

उहाँका अनुसा घरवरिपरि धुलै धुलो हुने, बिहान सफा गरेको घर बेलुका हेर्नैै नसकिने गरी धुलोले ढाक्ने गरेको छ । लामो समयदेखि हुलाकी सडक भत्काएर निर्माण व्यवसायीले छाडेका कारण धुलोले स्थानीयको स्वास्थ्यमा असर परेको बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्र प्रकाश उपाध्यायले बताउनुुभयो । सडकको धुुलोबाट स्वास प्रश्वास, एलर्जी ,टिबी, क्यान्सर, आँखा, चिलाउने, खोकी लाग्ने जस्ता रोग लाग्न सक्ने खतरा भएको पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख डा किरण पाण्डेले बताउनुुभयो ।

देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग

दमौली (तनहुँ), २३ वैशाख : तनहुँको देवघाटलाई देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ । देवघाटका जनप्रतिनिधि, स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग गरेका हुन् ।

देवघाटधाम विश्वका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यस ठाउँलाई धार्मिक तीर्थस्थलको घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवघाट गाउँ कमिटीका अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाटधामको विकासका लागि आवश्यक बजेट व्यवस्थापनका लागि केन्द्र सरकारलाई पहल गरिदिन मुख्यमन्त्रीलाई भेटेर आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस स्थानमा रहेका पुराना मठमन्दिर, मणिमुकुन्देश्वर चक्रवर्ती मन्दिर, सिन्च्याङगढी, प्याउलीगढी, घण्टाचुली, भर्जन कालिका माई मन्दिरको संरक्षण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि बजेट व्यवस्थापनका लागि सङ्घीय सरकारसँग पहलका लागि आग्रह गरेका छौँ ।”

उक्त टोलीले देवघाटका विभिन्न विकासका आयोजनाका लागि आगामी बजेटमा स्रोत सुनिश्चित गरिदिन आग्रह गरेको छ । न्यौपानेका अनुसार गाइघाट जोड्ने त्रिशूली नदीमाथि पक्की पुल निर्माण, देवघाटको साराङघाटमा सेतीनदीमाथि पक्की पुल, देवघाटको प्रवेशद्वारमा रहेको झोलुङ्गे पुल आसपास पक्की पुल निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मनहरी, २३ वैशाख : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया सुरूगरिएको बताउनुभयो ।

बागमती प्रदेश राजधानी हेटौंडाबाटमा आज वागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले लामो गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्तरूप पाएको बताउनुभयो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको कमानेमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले प्रदेश विश्वविद्यालय स्थापना विकासको महत्वपूर्ण पक्षका रूपमा रहेको भन्दै अब समय सुहाउँदो उच्च शिक्षाका लागि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।त्यसअवसरमा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसअघि विश्वविद्यालयको विधान तयार भइसकेको छ ।

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ऐनको दफा १३ को (५) को व्यवस्थामा भएको प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणको विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको हो ।

उहाँका अनुसार संरक्षक समितिमा मनोनित भएका संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) का पदाधिकारीहरुको पहिलो पटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा दुई जनाको पदावधि दुई वर्ष, तीन जनाको पदावधि चार वर्ष र तीन जनाको पदावधि छ वर्ष कायम गरिने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनित भएका पदाधिकारीको पहिलो पटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा पाँच जनाको पदावधि चार वर्ष र तीन जनाको पदावधि छ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेशमा व्यवस्था गरिउको छ । ऐनबमोजिम सदस्यहरुको पदावधिको गणना संरक्षक समितिको पहिलो बैठक बसेको मितिबाट प्रारम्भ भएको मानिने व्यवस्था छ ।

मन्त्रिपरिषद् बैठकले आगलागी नियन्त्रणका क्रममा मृत्यु भएका ललितपुरका दुई र रामेछापका एक परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।

लाल आयोगद्वारा डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न ऊर्जामन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, २३ वैशाख : डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्रलाल नेतृत्वको आयोगले आज प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष लालले आज ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाउनुभएको हो ।

गत पुस २४ को मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगका सदस्यमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे सदस्य हुनुहुन्छ ।

सो अवसरमा मन्त्री बस्नेतले आयोगको प्रतिवेदनको कार्यान्वयनका लागि सरकारले उच्च प्राथमिकता राख्ने जानकारी दिनुहँदै यसका लागि मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव प्रस्तुत गरिने बताउनुभयो । आयोगका अध्यक्ष लालले समग्र विषय र अवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन तयार पारिएको र लामो समयदेखिको विवाद समाधानका लागि आयोगले स्पष्ट मार्गनिर्देशन गरेको छ भन्नुभयो ।

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ ।

धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ । चालु आर्थिक वर्षमा प्रतिपुल रु ४० लाख विनियोजन गरिएको छ । चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल– लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख र चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उहाँले दिनुभयो ।

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा, २३ वैशाखः जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो । गत बिहीबार दिउँसो बुढीगङ्गा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर खरानीमा परिणत गरेको थियो ।

आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितहरूले लगाएका छन् ।

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ, २३ वैशाखः व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।

व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–२ क्षेत्रतर्फ पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षण हुने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताउनुहुन्छ । विसं २०८२ भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सनसँग सम्झौता भएको व्यास नगरपालिकाको योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो ।

दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर), २३ वैशाखः कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिनुभयो ।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ ।

त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिन्छ भन्नुभयो । उहाँले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताउनुभयो ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेकोरु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

शिलान्यासपछि खोटाङ प्रदेशसभा (१)का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ । निगमबाट रु दुई करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९÷८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो ।

दाङमा माइत आएकी सरिताको राप्ती नदीमा डुबेर मृत्यु

तुलसीपुर – दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको छ ।

लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् ।

विशेष बाल अदालतको आवश्यकता छ – मन्त्री चौधरी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

उहाँले बालबालिकाकै विषयमा न्यायनिरूपण गर्नका निम्ति छुट्टै बाल अदालत आवश्यक भएको बताउनुभयो । फौजदारी ऐन संहितामात्रै पर्याप्त नहुने भन्दै मन्त्री चौधरीलेले बालबालिकासम्बन्धी थुप्रै ऐन, कानुनको व्यवस्था भए पनि त्यसको अक्षरशः पालना हुननसकेको बताउनुभयो । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, सम्झौता पालना गराउनका निम्ति सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

“बालबालिकासम्बन्धी १३ वटा कानुन बने पनि कार्यान्वयन तहमा अझै जानसकेको छैन । तिनलाई स्थानीय तहसम्म पुर्याउन आवश्यक छ । त्यसैगरी अन्तर्राष्ट्रिय सन्धि, सम्झौता अक्षरशः पालना गराउनुपर्छ, त्यसमा सरकार प्रतिबद्ध छ”, मन्त्री चौधरीले भन्नुभयो ।

उहाँले प्रत्येक जिल्लामा भएका बाल न्यायिक समितिले बालबालिकाको न्यायनिरूपणमा थप प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । “प्रत्येक जिल्लामा बाल न्यायिक समिति छन् तर तिनले बालबालिकालाई न्याय दिएका छन् कि छैनन् भन्ने कुरा पनि हेर्नुपर्छ । बाल सुधार गृहको विषयमा पनि प्रश्न उठेको छ”, मन्त्री चौधरीले भन्नुभयो, “अहिले देशभर नौवटा बाल सुधार गृह छन् तर त्यसमा पनि राम्रो सुविधा छैन । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सबैले सहकार्य गर्न आवश्यक छ ।”

आठ सय ३५ जनाको क्षमता रहेको बाल सुधारगृहमा एक हजार दुई सय दुई बालबालिका बस्दैआएका र तिमध्ये पनि १८ वर्षमाथिका पाँच सय ३१ व्यक्ति रहेकाले सबैभन्दा पहिले ती व्यक्तिलाई बाल सुधार गृहभन्दा फरक ठाउँमा व्यवस्थापन गर्न लाग्नुपर्नेमा उहाँको जोड छ ।
केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको गोष्ठीले बालन्यायसँग सम्बन्धित कामको पहिचान गरी बाल हित संरक्षण तथा संवर्द्धनमा देखापरेका समस्याको समाधानमा ठोस उपाय पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय बाल न्याय समितिका अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको अध्यक्षता तथा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भारतका मुख्य न्यायाधीश धनञ्जय यशवंत चन्द्रचुड, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

भानु नगरपालिकाले चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

तनहुँ – तनहुँको भानु नगरपालिकाले चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र प्राप्त गरेका, आश्रित परिवार, बेपत्ता, सहिद परिवार र बालगृहमा रहेका बालबालिकाको बीमा गरिदिन लागिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले निःशुल्क स्वस्थ्य बीमा गर्न कार्यविधि तयार गरी स्वस्थ्य बीमा प्रक्रिया अघि बढाएको र सो कार्यक्रमका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरिसकेको उपप्रमुख उमा गोतामेले बताउनुभयो । बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन बीमाको कार्यक्रमलाई प्राथामिकता दिइएको भानु नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट शिक्षकहरूको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न सङ्गठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन हुनुभएको निवर्तमान अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ । उपाध्यक्षमा चयन हुनुभएका कटवाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्ष परित्याग गरेर एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश हुनुभएको हो ।

अधिवेशनले एक सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको निर्वाचन मण्डलले जनाएको छ । जिल्ला सचिवालय समितिमा चार जना पदाधिकारी स्वतः हुने विधानमा व्यवस्था छ भने पर्शुराम राई, सन्तोष विश्वकर्मा, धनकुमारी राई, पार्वती राई, बेनु राई र टीकाराम राईलाई चयन गरिएको निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।अधिवेशन उद्घाटन समारोहमा २३ जना पूर्वशिक्षकलाई सम्मान गरिएको थियो । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङले आजै विज्ञप्ति जारी गरी एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङसँग एकता गरेको समेत जनाएको छ ।

जापानद्वारा क्षेत्रीय स्थिरताका लागि श्रीलङ्कामा सुधारको खोजी

जापानका विदेशमन्त्री योको कामिकावाले शनिबार रणनीतिकरूपमा राखिएको श्रीलङ्काको आर्थिक सुधार हिन्द–प्रशान्त क्षेत्रमा स्थिरताका लागि आवश्यक भएको बताउनुभएको छ । उहाँले कोलम्बोलाई आफ्नो विदेशी ऋणलाई द्रुतरूपमा पुनरसंरचना गर्न आग्रह गर्नुभयो ।

आफ्ना श्रीलङ्काली समकक्षीसँगको वार्तापछि कामिकावाले कोलम्बोले निलम्बित विदेशी कोष अनलक गर्नका लागि द्विपक्षीय ऋणदाता र अन्तर्राष्ट्रिय सार्वभौम बन्डधारकहरूसँगको सम्झौतालाई सुरक्षित गर्नुपर्ने बताउनुभयो ।

सन् २०२२ अप्रिलमा आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण तिर्न असफल भएको श्रीलङ्काली सरकारले अप्रिलसम्म विदेशी ऋणदाताहरूसँग सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरेको थियो तर अहिलेसम्म कुनै सम्झौता भएको छैन ।

विदेशमन्त्री कामिकावाले श्रीलङ्काको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसहित ‘सबै ऋणदाताहरूसँग ऋण पुनरसंरचना सम्झौतामा पुग्ने महत्त्वमाथि जोड’ दिनुभयो । “मैले (ऋण पुनरसंरचना सम्झौतापछि) विद्यमान येन ऋण परियोजनालाई तीव्रताका साथ पुनः सुरु गरेर श्रीलङ्काको विकासमा थप समर्थन दिने जापानको मनसाय पनि अवगत गराएँ”, उहाँले भन्नुभयो ।

टोक्योले कोलम्बोको आर्थिक सुधारलाई पूरा क्षेत्रका लागि महत्त्वपूर्ण मानेको उहाँले बताउनुभयो । श्रीलङ्का मुख्य पूर्व–पश्चिम अन्तर्राष्ट्रिय ढुवानी मार्गको आधा बाटोमा अवस्थित छ । “हिन्द महासागरमा रणनीतिक स्थानमा रहेको श्रीलङ्काको स्थिरता र आर्थिक विकासको पुनःस्थापना सम्पूर्ण हिन्द–प्रशान्त क्षेत्रको स्थिरता र समृद्धिका लागि आवश्यक छ”, उहाँले भन्नुभयो ।

गत वर्षको मार्चदेखि सुरु भएको चार वर्षको दुई अर्ब ९० करोड डलरको बेलआउट ऋणलाई जारी राख्नका लागि श्रीलङ्काले सबै आधिकारिक ऋणदाता र अधिकांश निजी बन्डधारकहरूसँग सम्झौता गर्नुपर्नेछ ।

मुलुकको सबैभन्दा दोस्रो ठूलो द्विपीक्षीय ऋणदाता जापानले श्रीलङ्का र यस क्षेत्रका अन्य स्थानमा चीनको ठूला पूर्वाधार परियोजनाहरूप्रति चिन्ता व्यक्त गरेको छ । चिनियाँ लगानीमा निर्माण भएका परियोजनाहरूले अन्तर्राष्ट्रिय वित्तीय मापदण्डहरू पूरा नगर्ने टोक्योले बताएको छ ।

दक्षिणी हम्बनटोटामा गहिरो सामुद्रिक बन्दरगाह निर्माणका लागि सन् २०१७ मा चीनसँग लिएको ठूलो ऋण तिर्न असफल भएको श्रीलङ्काले उक्त बन्दरगाहलाई ९९ वर्षको भाडामा एक अर्ब १२ करोड डलरमा एक चिनियाँ फर्मलाई हस्तान्तरण गरेको थियो ।

सन् २०२२ मा श्रीलङ्कासँग सबैभन्दा अत्यावश्यक आयात भुक्तानीका लागि नगद सकिएको थियो । यसबाट खाना, इन्धन र औषधि दीर्घकालीन अभाव भयो । कुव्यवस्था र भ्रष्टाचारको आरोपको सामना गर्नुभएका तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षे महिनौँको विरोधपछि सन् २०२२ जुलाईमा मुलुकबाट भाग्न र राजीनामा दिन बाध्य हुनुभयो ।

उहाँका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले कर बढाउनुभएको छ, अनुदानमा कटौती गर्नुभएको छ र अन्तर्राष्ट्रिय मुद्राकोष बेलआउटअनुरूप पीडादायी आर्थिक सुधार लागु गरिरहनुभएको छ ।

रुसद्वारा जेलेन्स्कीलाई आपराधिक ‘वान्टेड’ सूचीमा समावेश

रुसले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वाञ्छित अपराधीहरूको आफ्नो सूचीमा समावेश गरेको शनिबार एक सरकारी डेटाबेसले देखाएको छ ।

अधिकारीहरूले खोजेको कथित अपराधीहरूको एक अनलाइन डेटाबेसमा जेलेन्स्कीलाई रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा देखाइएको छ । यसमा थप विवरण नखुलाई युक्रेनी नेता ‘आपराधिक संहिताको धाराअन्तर्गत’ वाञ्छित हुनुहुन्छ भनिएको छ ।

जेलेन्स्कीलाई सूचीमा किन समावेश गरियो भन्नेबारेमा रुसी अधिकारीहरूबाट तत्काल कुनै टिप्पणी आएको छैन । सन् २०२२ फेब्रुअरीमा आफ्नो सैन्य आक्रमणको सुरुआतपछि मस्कोले जेलेन्स्कीलाई निशाना बनाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत वर्ष आफूविरुद्ध हत्याका कम्तीमा ‘पाँच वा छ’ प्रयास असफल भएको थाहा भएको बताउनुभएको छ ।

युक्रेनमा सेना पठाउनुभन्दा अघिल्लो दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा युक्रेनी सेनासँग जेलेन्स्कीलाई पराजित गर्न आह्वान गर्नुभएको थियो । रुसले धेरै विदेशी राजनेता र सार्वजनिक हस्तीहरूलाई आफ्नो वाञ्छित सूचीमा राखेको छ ।

फेब्रुअरीमा मस्कोले सोभियतकालीन स्मारकहरू नष्ट गर्ने बाल्टिक मुलुक इस्टोनियाको कदमका लागि क्रेमलिनले ‘ऐतिहासिक स्मृतिको अपमान’ भनेको कुराका लागि इस्टोनियाली प्रधानमन्त्री काजा कैलासको खोजी गरिरहेको बताएको थियो ।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युक्रेनी बालबालिकाको अपहरणसँग सम्बन्धित युद्ध अपराधको आरोपमा पुटिनलाई पक्राउ गर्न आदेश दिएको थियो । उक्त आरोपलाई मस्कोले अस्वीकार गरेको थियो ।

हेर्नुहोस् बैशाख २३ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ ।

बृष राशि – अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यह? मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

मिथुन राशि- खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनह? सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यह?को स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीह? सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनह? सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्? सबल रहनाले कुराकाट्ने ब्यक्तिह?को बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व ह?को साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि – भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्?टिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अ?को कार्यक्षेत्रमा भएको त्?टिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

धनु राशि- खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अपरीचित ब्यत्तिह?को बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनह?को सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

कुम्भ राशि – नजीकका ब्यत्तित्वह?बाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अ?को कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि – भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेश प्रदे लगायत कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेका जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जापानका परराष्ट्रमन्त्री आज नेपाल आउँदै

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लाग्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ ।
नेपाल–जापान सम्बन्ध

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान –नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भन्नुहुन्छ “नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक –समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।”

जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् । राष्ट्रिय ध्वजा वाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउनुहुन्छ । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानमा ६० वर्षभन्दा बढी अवधिमा ‘सबैभन्दा बढी वर्षा भएको अप्रिल’ रेकर्ड– मौसम विभाग

पाकिस्तानले ‘सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिल’ को अनुभव गरेको मुलुकको मौसम एजेन्सीले बताएको छ । अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी वर्षा भएको छ । अप्रिलमा ५९ दशमलव तीन मिलिमिटर भएको रेकर्ड गरिएको छ । यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले रिपोर्टमा भनेको छ ।

भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । पाकिस्तान अप्रत्याशित मौसमका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनससनी वर्षाप्रति संवेदनशील भएको छ ।

विश्व बैंकको अनुमानअनुसार सन् २०२२ को गर्मीमा पाकिस्तानको एक तिहाई भाग अभूतपूर्व मनसुनी वर्षाका कारण जलमग्न हुँदा लाखौँ मानिस विस्थापित भएका थिए भने मुलुकलाई ३० अर्ब डलरको आर्थिक क्षति भएको थियो ।

पाकिस्तान मौसम विभागका प्रवक्ता जहिर अहमद बाबरले भन्नुभयो, “हाम्रो क्षेत्रमा अनियमित मौसमी ढाँचालाई प्रभावित बनाइरहने प्रमुख कारक जलवायु परिवर्तन हो ।”

एसियाका अधिकांश भागमा गर्मीको लहरले जलिरहेका बेला पाकिस्तानमा अप्रिल महिनामा राष्ट्रिय मासिक तापक्रम २३ दशमलव ६७ डिग्री सेल्सियस थियो । यो औसत २४ दशमलव ५४ डिग्रीभन्दा शून्य दशमलव ८७ डिग्री कम थियो । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

अधिकारीहरूका अनुसार पाकिस्तानमा विश्वको पाँचौँ सबैभन्दा ठूलो जनसङ्ख्या छ र विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको एक प्रतिशतभन्दा पनि कमका लागि जिम्मेबार छ तर विश्वव्यापी तापक्रमले बढेको चरम मौसमका लागि अत्यधिक जोखिममा छ ।

सबैभन्दा धेरै मृत्यु उत्तरपश्चिमी खैबर पख्तुनख्वामा रेकर्ड गरिएको छ । उक्त प्रान्तमा ३८ बालबालिकासहित ८४ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच सयभन्दा धेरै घर क्षतिग्रस्त भएका छन् ।

गत महिना युनिसेफले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका बालबालिकालाई बचाउन तत्काल कदम चाल्न आह्वान गरेको थियो । “पाकिस्तानमा बालबालिका जलवायु सङ्कटको प्रभावका कारण ‘अत्यन्त उच्च जोखिम’ मा छन”, युनिसेफले भनेको थियो, “महत्त्वपूर्ण सहायता प्रयासका बावजुद सन् २०२३ डिसेम्बरसम्म बाढी प्रभावित क्षेत्रमा ९६ लाख बालबालिकालाई अझै पनि मानवीय सहायताको आवश्यकता थियो ।”

एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहजका लागि केबुलकार निर्माण गर्नुपर्छ: ओली

नेकपा (एमाले) रसुवा जिल्लाको नवौँ अधिवेशनको आज धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताउनुभयो । उहाँले केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उहाँको भनाइ थियो ।

समृद्व नेपाल सुखी नेपालीको नारालाई शीरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले केरुङ–काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमूनाका रूपमा आफूले सुरूगराएको सिस्नेखोला दहचोक काठमाडौँ सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गर्नुभयो ।

एमाले रसुवा अध्यक्ष कर्नेल तामाङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रक्षामन्त्री एवं एमाले केन्द्रीय सदस्य हरि उप्रेतीले पार्टी अध्यक्षको नेतृत्व र निर्देशनमा शिक्षा, स्वास्थ्य, कृषि, सडक सुधारलगायत राष्ट्रहितका कार्य अगाडि बढाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीलाई योगदान गर्ने गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, संविधानसभा सदस्य छोवाङतेञ्जिङ तामाङलगायत नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले केही वर्षअघिदेखि प्रस्ताव अगाडि बढाए पनि कार्यविधि पारित नहुँदा सो प्रस्तावले मूर्तरूप लिनसकेको छैन । अध्यक्ष ओलीको स्थलगत भ्रमणपछि कार्यविधि पारित हुन सघाउपुग्ने विश्वास व्यक्त गरिएको छ ।

कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

गोदावरी (कैलाली), २२ वैशाखः कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ ।

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिनुभयो । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

वालिङ (स्याङ्जा), २२ वैशाखः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले अग्नि प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।उपसभापति गुरुङले आज स्याङ्जाको चापाकोट नगरपालिका–१ का मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारका अवस्था बुझ्नुका साथै आर्थिक सहयोग गर्नुभएको हो ।

आगलागीका कारणघरबारविहीन भएका जनताको घरमा पुगेर पूर्वमन्त्री गुरुङले प्रतिपरिवार रु १० हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो । “घरवारविहीन हुनुभएका नागरिकको अवस्था बुझ्नका लागि घरदैलोमा आएको हुँँ”, उहाँले भन्नुभयो, “जनताको सुख दुःखमा जनप्रतिनिधिसँगै भएको महसुस दिलाउन अग्नि प्रभावित गाउँमा पुगेको हुँ, पहिलो चरणमा मैले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको छु ।”

अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँच घर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गर्नुभएको हो । “आफ्ना नागरिकलाई साह्रो गाह्रो पर्दा नै हो जनप्रतिनिधिले सहयोग गर्ने हो”, उहाँले भन्नुभयो, “नागरिकको वास्तविक पीडाका बारेमा उहाँहरुकै घर दैलोमा पुगेर बुझेर आएको छु, अब उहाँहरुको पुनःव्यवस्थापनका विषयमा म गम्भीर छु, अगाडि बढ्छु ।”

चापाकोट–१ मैदानका अग्निपीडित हिमबहादुर सारु मगरले घटना घटाउने मान्छेको पहिचान गरी कारबाहीको माग गर्नुभयो । “हामीले जिताएर पठाएको जनप्रतिनिधि हजुर नै हो, म त बेघर भएँ” मगरले भन्नुभयो, “आगामी दिनमा म जस्तै बेघर अरु कोही पनि नहुन्, त्यसका लागि जो कोही भए पनि खोजी गरी कानुनी दायरामा ल्याउनैपर्छ ।”आँफू बस्दै आएको घर खरानी हुनुको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै उहाँले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।

सम्पास सामुदायिक वनमा लागेको आगो फैलिँदै आउँदा वनभन्दामाथि रहेका मैदान र बीरडाँडाका पाँच घर तथा गोठ जल्दा पशुचौपाया, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको हो । गत सोमबार मैदानका तीन घर तथा मङ्गलबार बीरडाँडाका दुई घरमा आगलागी हुँदा लाखौँका क्षति भएको थियो ।मैदानमा गत सोमबार साँझ ५ बजे हिमबहादुर सारु मगर, तेजकुमारी सारु मगर र चन्द्रकुमारी सारु मगरको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । भोलिपल्ट मङ्गलबार दिउँसो २ बजे घरमुनी जङ्गलबाट आएको आगोले बीरडाँडाका सेतीमाया सिँजाली र खमानसिंह सिँजालीको घर गोठ जलेर खरानी भएको थियो ।

महिला सहभागितासँगै नेतृत्व विकासमा जोड दिनुपर्छ: मुख्यमन्त्री कँडेल

भेरीगङ्गा (सुर्खेत), २२ वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महिला सहभागितासँगै नेतृत्व विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले महिला निर्णायक तहमा पु¥याउनसके समृद्धि हासिल गर्न पनि सघाउ पुग्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेश प्राकृतिकरूपले धनी भए पनि गलत सामाजिक मूल्यमान्यताका आधारमा पछाडि रहेकाले महिलाको अवस्थामा सुधार हुननसकेको बताउनुभयो । “हाम्रो प्रदेश प्राकृतिकरूपमा अन्य प्रदेशभन्दा धनी छ तर अन्य क्षेत्रमा भने हामी पछाडि पारिएका छौँ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो, “विगतमा भन्दा महिलाको अवस्थामा केही परिवर्तन भए पनि मूलभूतरूपमा अझ धेरै परिवर्तन गर्न बाँकी छ । त्यसलाई सुधार्न हामी सबैको योगदान जरूरी छ ।”

कर्णालीमा छाउपडी, बहुपतिलगायत कुप्रथा र विभेदहरू अहिले पनि कायम रहेका र शिक्षित वर्गबाटै महिलामाथि हिंसा हुनेगरेको भन्दै मुख्यमन्त्री कँडेलले त्यसले कर्णालीको विकासमा पनि असर पुर्याइरहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलले सहभागिता र कार्यसम्पादन छुट्टाछुट्टै विषय भएकाले संविधानले सुनिश्चित गरेका महिला अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय महिला आयोगले दिएका सुझावका आधारमा प्रदेश सरकारले महिला सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्दैजाने पनि मुख्यमन्त्री कँडेलको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले विगतको तुलनामा अहिले महिला सहभागिताका लागि जागरण आएको भन्दै सहभागितालाई थप बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संविधानले सुनिश्चित गरेका महिला अधिकार पनि व्यवहारमा कार्यान्वयन गर्न नसिकएकाले अब तीनै तहका सरकारले अब व्यावहारिक सुधारमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता डा कोइराला

खजुरा (बाँके) २२ वैशाखः नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको उहाँको भनाइ छ । नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि कांग्रेसको आवश्यकता औँल्याउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन सङ्गठनका गतिविधिलाई चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो ।

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले गलत सूचना, मानहानि र अन्य दुर्भावनापूर्ण अभ्यासहरू फैलिनबाट रोक्न सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरू आवश्यक रहेको छ भन्ने विश्वास गरेको देखाएको छ ।

मेलमार्फत असाही शिम्बुनले जापानको संविधान स्मृति दिवसका अवसरमा शुक्रबार जारी गरिएको सर्वेक्षणमा पहिलो पटक एक्स, फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरूबारे प्रश्नहरू सोधेको थियो ।

राष्ट्रव्यापी सर्वेक्षणले केवल ११ प्रतिशत उत्तरदाताले सामाजिक मिडिया नियमहरू अनावश्यक रहेको भनेको छ । नियमहरूको पक्षमा हुनेमध्ये ६७ प्रतिशतले कानूनी कारबाहीहरू लिनुपर्छ भनेका छन् भने ३० प्रतिशतले व्यवसाय र अन्यहरूद्वारा स्वैच्छिक कार्यहरूलाई प्राथमिकता दिएका छन् ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताको रुचिअनुसारको जानकारी स्वचालितरूपमा प्रस्तुत गर्ने विशेषता छ । तसर्थ प्रयोगकर्ताहरूले रुचिअनुरूप नभएका धेरै जानकारी गुमाउन सक्ने असाही शिम्बुनले रिपोर्ट गरेको छ । सर्वेक्षण उत्तरदातामध्ये ८० प्रतिशतभन्दा बढीले चुनावमा गलत सूचनाको प्रभाव र अरूविरुद्ध मानहानिको बारेमा चिन्ता व्यक्त गरेका थिए । के तपाईंलाई राजनीति र समाजमा फरक दृष्टिकोण प्रस्तुत गर्नु राम्रो हो जस्तो लाग्छ ? भन्ने प्रश्नमा ६९ प्रतिशतले ‘लाग्छ’ र २२ प्रतिशतले ‘लाग्दैन’ भनेको छ ।

द्वन्द्व परित्याग गर्ने संविधानको धारा ९ को सम्भावित परिमार्जनका सम्बन्धमा ६१ प्रतिशतले यसलाई यथावतै छोड्नुपर्ने बताएका छन् भने र ३२ प्रतिशत संशोधनको पक्षमा रहेका थिए

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन– विदेशमन्त्री जयशङ्कर

भारतका विदेशमन्त्री एस. जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गर्नुभएपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।

आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिनुभएका बाइडेनले यसै साता वासिङ्टनमा अभियान कोष सङ्कलन कार्यक्रममा उक्त टिप्पणी गर्नुभएको थियो ।

विदेशमन्त्री जयशङ्करले शुक्रबार एक मिडिया गोलमेचमा बाइडेनको टिप्पणीहरू भारतको वास्तविकतासँग मेल खाँदैन भन्नुभयो । “सबैभन्दा पहिला हाम्रो अर्थतन्त्र कमजोर छैन”, इकोनमिक्स टाइम्स अखबारद्वारा शनिबार प्रकाशित छलफलको रिपोर्टअनुसार उहाँले भन्नुभयो, “भारत धेरै अद्वितीय मुलुक हो, म वास्तवमा भन्न चाहन्छु, विश्वको इतिहासमा यो खुला समाज हो, विभिन्न समाजका विभिन्न मानिस भारतमा आउँछन् ।”

फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा आठ दशमलव चार प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो ।

भारतको नागरिकता कानूनमा हालै लागु गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छन् । सन् २०१९ मा संसद्ले पहिलो पटक पारित गरेपछि अन्ततः मार्च लागु भएको संशोधित कानूनले ठूलो विरोध निम्त्यायो । एम्नेस्टी इन्टरनेसनलले उक्त कानून अझै पनि केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न राष्ट्रिय नागरिक दर्ताका साथ उपकरणका रूपमा प्रयोग हुने खतरा रहेको चेतावनी दिएको छ ।

“यस्ता मानिस छन् जसले सार्वजनिकरूपमा यस मुलुकमा १० लाख मुसलमानले आफ्नो नागरिकता गुमाउने छन् भनेर रेकर्डमा भनेका छन्”, विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “उनीहरूलाई जिम्मेबार किन ठहर गरिँदैन ? किनकी कसैले पनि नागरिकता गुमाएको छैन ।”

अमेरिकी अध्यागमन नीतिको रक्षाका रूपमा गरिएको टिप्पणीमा बाइडेनले सहयोगी भारत र जापानलाई प्रतिद्वन्द्वी चीन र रुससँग जोड्नुभएको थियो । “चीन आर्थिकरूपमा यति नराम्रोसँग किन ठप्प छ ? जापान किन चिन्तामा छ ? रुस किन समस्यामा छ ? र भारत ? किनकी उनीहरू जेनोफोबिक हुन्, उनीहरू आप्रवासीलाई चाहँदैनन्”, कोष सङ्कलन कार्यक्रममा उहाँले भन्नुभएको थियो ।

टोक्योले शनिबार प्रतिक्रिया दिँदै ‘जापानको नीतिको सही बुझाइमा आधारित नभएको टिप्पणी गर्नु दुर्भाग्यपूर्ण’ भएको बताएको छ । सन् २०२१ मा पदभार सम्हालेदेखि बाइडेनले एसियामा अमेरिकी सहयोगीहरू विशेषगरी भारत र जापानसँगको सम्बन्धलाई बलियो बनाउनुभएको छ । उहाँले भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदा दुवैका लागि ह्वाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको छ । त्यसपछि ह्वाइट हाउसले बाइडेनको टिप्पणीलाई अस्वीकार गर्नुपर्यो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भन्नुभयो, “राष्ट्रपतिले ‘अमेरिका आप्रवासीहरूको देश हो’ भनेर फराकिलो सन्देश दिनमात्र खोजिरहनुभएको थियो ।”

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?

कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार गर्न खोज्नेहरूका लागि ‘पक्षी अवलोकन’ (बर्डवाचिङ) एउटा विकल्प हुन सक्छ ।भर्खरै गरिएको एक अध्ययन अनुसार प्रकृतिमा आधारित अनुभव भएका व्यक्तिहरूले नमान्नेहरूको तुलनामा उच्चस्तरको कल्याण र कम मनोवैज्ञानिक असुविधाको रिपोर्ट गर्छन् । पक्षी अवलोकनले विशेषगरी उत्साहजनक प्रभावहरू उत्पादन गरेको छ । यसमा व्यक्तिपरक कल्याणमा ठूलो लाभ भएको छ र अधिक सामान्य प्रकृतिको प्रदर्शन गरेको छ । पक्षी अवलोकन एक साधारण खेल हो र यो कलेजका विद्यार्थीका लागि सकारात्मक छ ।

“महामारीको माध्यमबाट बाहिर आउँदै गरेको भलाइको बारेमा भएका धेरै अनुसन्धानले किशोर र कलेज–उमेरका बच्चाहरूलाई सबैभन्दा बढी सङ्घर्ष गरिरहेको सुझाव दिन्छ”, अध्ययनका सम्बन्धित लेखक र नर्थ क्यारोलिना राज्य विश्वविद्यालयमा वन र वातावरणीय स्रोतका प्राध्यापक निल्स पिटरसनले भन्नुभयो, “विशेषगरी जब तपाईं विद्यार्थी र स्नातक विद्यार्थीका बारेमा सोच्नुहुन्छ, यस्तो देखिन्छ कि ती समूहहरू हुन् जुन प्रकृतिमा पहुँच र ती फाइदाहरू प्राप्त गर्ने सन्दर्भमा सङ्घर्ष गरिरहेका छन्, पक्षी हेर्ने सबैभन्दा सर्वव्यापी तरिकाहरूमध्ये एक हो । यसबाट मानिसले विश्वव्यापी रूपमा वन्यजन्तुसँग अन्तरक्रिया गर्छ र कलेज क्याम्पसहरूले यस्तो ठाउँ प्रदान गर्दछ ।”

मात्रात्मक रूपमा व्यक्तिपरक कल्याण मापन गर्न अन्वेषकहरूले पाँच प्रश्न भएको सर्वेक्षणको प्रयोग गरेका छन् । यसलाई विश्व स्वास्थ्य सङ्गठन–पाँच कल्याण सूचकाङ्क (डब्ल्युएचओ–५) भनेर जानिन्छ । यो उपकरणले सहभागीहरूलाई पछिल्लो दुई हप्तामा कति पटक त्यस्तो महसुस गरेको भन्ने कुरामा निर्भर गर्दै भलाइका बारेमा कथनहरूलाई शून्यदेखि पाँचसम्मको मूल्याङ्कन तोक्न अनुरोध गर्दछ । उदाहरणका लागि ‘मैले शान्त र आराम महसुस गरेको छु’ भनी सङ्केत दिएर सहभागीले कुनै पनि समयका लागि लागि शून्य वा सबै समयका लागि पाँच चिह्न लगाउनेछन् । अन्वेषकहरूले केवल पाँच प्रतिक्रियाहरू थपेर कच्चा कल्याण स्कोर गणना गर्न सक्छन् ।

अन्वेषकहरूले सहभागीहरूलाई तीन समूहमा विभाजन गरेका छन् । एउटा नियन्त्रण समूह, एउटा समूहले पाँचवटा प्रकृति हिँड्ने र एउटा समूहले पाँच तीस–मिनेट पक्षी अवलोकन सत्रहरू तोकेको थियो । जबकि सबै तीन समूहले डब्लुएचओ–५ स्कोर सुधार गरेका थिए । पक्षी अवलोकन समूह अन्य दुईभन्दा कम स्तरबाट सुरु र उच्च स्तरमा समाप्त भयो । ‘स्टोप–डी’ को प्रयोग गरेर मनोवैज्ञानिक सङ्कट मापन गर्न डिजाइन गरिएको समान प्रश्नावली ‘स्टप–डी’ प्रयोग गर्दै अन्वेषकहरूले प्रकृति संलग्नताले नियन्त्रणभन्दा राम्रो प्रदर्शन गरेको फेला पारेका छन् । दुवै पक्षी अवलोकन र प्रकृति हिँड्ने सहभागीहरूले सङ्कटमा गिरावट देखाउँछन् ।

पिटरसनले यो अध्ययन केही अघिल्लो अनुसन्धानभन्दा फरक रहेको बताउनुभयो । उहाँका अनुसार यसले सक्रियरूपमा नकारात्मक परिस्थितिहरू अनुभव गर्ने समूहको तुलनामा पक्षी अवलोकन र प्रकृति संलग्नताको प्रभावलाई एक नियन्त्रण समूहसँग तुलना गरेको छ ।

महिला प्रदेशसभा सदस्यको गुनासो-हामीलाई नै वेवास्ता गरिन्छ

देउखुरी (दाङ), २२ वैशाखः लुम्बिनी प्रदेशसभाका महिला सदस्यहरूले प्रदेशका आवधिक योजना निर्माण र बजेट विनियोजनमा आफूहरूलाई नै वेवास्ता गर्ने गरिएको गुनासो गर्नुभएको छ ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना र संयुक्त राष्ट्रसंघीय काविकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा शुक्रबार दाङको भालुवाङमा भएको लुम्बिनी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका सवालमा लुम्बिनी प्रदेशसभाका सदस्यबीच अन्तरक्रिया कार्यक्रममा उहाँहरूले त्यस्तो गुनासो गर्नुभएको हो । बजेट योजना तर्जुमा गर्दा र कुनै पनि आवधिक योजना बनाउँदा आफूहरूलाई बेवास्ता गर्ने गरिएको भन्दै उहाँले आपत्तिसमेत जानाउनुभएको थियो ।

कार्यक्रममा प्रदेश मामिला समिति सभापति दिलकुमारी बुढाले योजना निर्माण र बजेट विनियोजन कसरी हुन्छन् भन्ने विषयमा आफूहरूलाई नै जानकारी नदिइनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

लेखा समिति सभापति माया पुनले सरकारमा नभएकाहरूलाई मात्र नभई सरकारमा भएका दलका महिलालाई पनि हरेक कुरामा पछाडि पारिने गरिएको भन्दै अब महिला प्रदेशसभा सदस्यहरू एकजुट भएर भूमिका खोज्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश मामिला तथा कानुन समितिका पूर्वसभापति दामा शर्माले कानुन निर्माणमा गम्भीर हुन आग्रह गर्दै सबैले एकतावद्ध भएर आजाज उठाउनुपर्नेमा जोड दिनुभयो । पूर्वकृषिमन्त्री आरती पौडेलले नीति निर्माणदेखि योजना तर्जुमाका कार्यक्रममा अब महिला आफैँ चनाखो हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका सचेतक निमा गिरीले पिजन हाउसमा राखिएका योजना पढ्नुपर्ने र आफ्नो अधिकारप्राप्तिमा चनाखो हुँदै आवाज उठाउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ र सुशीला नेपाली वादीले योजना पेस गर्दा कहाँ–कसरी जाने भन्ने विषयमा केही थाहा नभएको बताउनुभयो । सीमान्तकृत, दलितका विषयमा योजना पेस गरेको तर कुनै पनि कार्यक्रम पर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, पूर्वस्वास्थ्यमन्त्री एवम् प्रदेशसभा सदस्यहरू इन्द्रजीत चौधरी, कृष्णा कुस्मा थारू, इन्द्रकुमारी गहतराज, रामबहादुर नेपाली, लगायतले धारणा राख्नुभएको थियो ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती अधिकारीले महिलाहरू अर्थपूर्ण सहभागिताको कुरा उठिरहेका बेला नेतृत्वमा रहेका महिलाहरूकै गुनसो रहने अवस्था आउन नदिने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपा(एस)बाट महाधिवेशनबारे छ सय विदेशी सङ्गठनलाई पत्राचार

काठमाडौँ, २२ वैशाखः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ ।

पार्टी विदेश विभागको आज बजेको नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो ।

दलका सम्मानित नेता तथा विभाग प्रमुख झलनाथ खनालका अध्यक्षतामा आज दलको कार्यालय, आलोकनगरमा बसेको बैठकमा महाधिवेशनमा विदेशका साम्यवादी दल, वामपन्थी दल तथा प्रगतिशील सङ्गठनहरूलाई निमन्त्रणा गरिनेबारे पनि छलफल भएको जनाइएको छ । त्यस्तै महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा विश्व परिस्थितिको समग्र विश्लेषण, नेपालको परराष्ट्र नीति र त्यसमा जलवायु परिवर्तन तथा वातावरण सुरक्षाका विषय जस्ता नयाँ आयाम पनि समावेश गरिनेबारे छलफल भएको विभागका सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।

बैठकमा पूर्वप्रधानमन्त्री खनालले महाधिवेशनमा समाजवादी क्रान्ति र पूर्ण रूपान्तरणको कार्यक्रमसहित चार दस्तावेज आउने र सकेसम्म केन्द्रीय समितिको एकै प्रतिवेदन बन्ने बताउनुभयो ।

विभागका उपप्रमुख प्रमेश हमालले माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुरूप समाजवादी क्रान्ति र रूपान्तरणका दिशामा अगाडि बढ्ने पार्टीको कार्यक्रम रहेको स्पष्ट गर्नुभयो । उपमहासचिव डा विजयकुमार पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउने, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनेलगायत माग राखी पीडितका तर्फबाट भइरहेको अनशनमा पार्टीको ध्यान पुग्नुपर्ने र छिट्टै सरकारसँग सहमति गराउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

दलको अधिवेशन आगामी असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने छ । यसैबीच पार्टी स्थायी कमिटी बैठक यही वैशाख २६, पोलिटब्युरो बैठक यही वैशाख २७ र केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते बस्दै छ ।

भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

काठमाडौँ महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौँ, २२ वैशाखः काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ ।

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई रु १०÷१० लाख उपलब्ध गराउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छ ।”

दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ ।

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

राजनीतिक अस्थिरता विकासका लागि घातकः प्रवक्ता डा महत

काठमाडौँ, २२ वैशाखः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताउनुभएको हो ।

प्रवक्ता डा महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृतिलाई निस्तेज बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

प्रवक्ता डा महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राख्नुभयो । उहाँले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राख्नुभयो ।

पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

लेखनाथ (कास्की), २२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई तीनदिने प्रशिक्षण सुरूगरेको छ ।

शनिबारदेखि प्रशिक्षण कार्यक्रममा शुभारम्भ गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य थममाया थापाले एमाले नेतृत्वमा रहेका पालिकामा सुशासन र विकासलाई नमूनाका रूपमा अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिन थालिएको बताउनुभयो । उहाँले एमालेले पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिँदैआएकाले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टी र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य प्रात्त गर्न सकिने भन्दै सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न प्रशिक्षण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । एमाले पोलिटब्यूरो सदस्य एवं केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, केन्द्रीय स्कूल विभाग सदस्य रामशरण प्याकुरेलसहितका नेताहरूले प्रशिक्षणमा सहजीकरण गर्ने जानकारी दिइएको छ ।

प्रशिक्षणमा गण्डकी प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एकजना वडाध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्ज गरी करिब एक सय जनाको सहभागिता रहेको छ ।

उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल

कीर्तिपुर (काठमाडौँ), २२ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर कमिटीको आज सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताउनुभयो । “देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि सावित भएको बताउनुभयो ।

यसैगरी उहाँले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा राख्नुभयो । यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने धारणा पनि उहाँको थियो । एमाले केन्द्रीय सदस्य एवं कीर्तिपुर नगर इन्चार्ज सुरेन्द्र मानन्धरले आन्तरिक कमजोरीका कारण स्थानीय सरकारको नेतृत्व गर्ने अवसर गुमाउनुपरेको कुराबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यअवसरमा महासचिव पोखरेलले वरिष्ठ जनवादी गायक रामकृष्ण दुलाललाई सम्मान गर्नुभएको थियो । —

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही, २२ वैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो ।

मिटरब्याजपीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो ।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकतत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।”

मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै उहाँले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गर्नुभयो ।

उहाँले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ’ देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । यसअघि उहाँले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमूना माविको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।