`

सुर्ती नियन्त्रण अभियानः सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

भक्तपुर, २२ वैशाख : स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ ।
बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उहाँले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि रु ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताउनुभयो । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उहाँले बताउनुभयो ।

महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लङ्घन भएमा विद्यार्थी स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने आँैल्याउनुभयो ।

अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा आदित्य रञ्जितले धूमपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पु¥याउन आह्वान गर्नुभयो । धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइ आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा सृजनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताउँदै सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सुर्ती सेवन र नगर्न अनुरोध गर्नुभयो ।

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ ।

नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो । चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो

गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।

म्याग्दीको भाइवाङमा ९२ लाख लगानीमा खानेपानी आयोजना निर्माण

म्याग्दी, २२ वैशाख : म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ९२ लाख २४ हजार नौ सय ८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो ।

“यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, उहाँले भन्नुभयो, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो ।

नेवा संस्थाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।
नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताउनुभयो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उहाँले बताउनुभयो ।

विद्युत् सर्ट भई ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपुर, २२ वैशाख : शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हँुदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताउनुभयो ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । “ठगुन्ना परिवारको घर गोठमा आगलागी हँुदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भन्नुभयो, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।” आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन २०३० सम्ममा चालक दल चन्द्र मिसनमा पठाउने लक्ष्य राखेको महत्त्वाकांक्षी कार्यक्रमका साथ अगाडि बढाइरहेको छ ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार चाङ’ई–६ चन्द्र जाँच बोकेको रकेट दक्षिणी चीनको हेनान प्रान्तमा वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट साँझ ५ः३० बजे प्रक्षेपण भएको थियो ।यो चीनको महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि पछिल्लो छलाङ हो । यसका बारेमा यसको प्रयोग सैन्य उद्देश्य र बाह्य प्रभुत्व स्थापित गर्ने प्रयासमा भइरहेको वासिङ्टनले चेतावनी दिएको छ । चाङ’ई–६ को लक्ष्य चन्द्रमाको टाढाको हिस्साबाट करिब दुई किलोग्राम चन्द्र नमूना सङ्कलन गर्नु र तिनीहरूको विश्लेषणका लागि पृथ्वीमा ल्याउनु रहेको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाले यसलाई ‘मानव चन्द्र अन्वेषणको इतिहासमा आफ्नो तरिकाको पहिलो प्रयास’ भनेको छ ।

यो प्राविधिकरूपमा जटिल ५३ दिवसीय मिसन हो । मिसनले चन्द्रमाको छेउबाट अभूतपूर्व प्रक्षेपण गर्ने प्रयास गरेको देख्नेछ र यो सधैँ पृथ्वीबाट टाढा हुन्छ । चीनको लुनार एक्सप्लोरेसन एन्ड स्पेस इन्जिनियरिङ सेन्टरका उपनिर्देशक जिई पिङले पत्रकारहरूलाई भन्नुभयो, “चाङ’ई–६ ले पहिलो पटक चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नेछ ।”

उक्त यानलाई विशाल दक्षिणी ध्रुव–एटकेन बेसिनमा उत्रिनका लागि तयार गरिएको छ । यो सौर्यमण्डलमा सबैभन्दा ठूलो ज्ञात भएको क्रेटरहरूमध्येको एक हो । त्यहाँ पुगेपछि चाङ’ई–६ ले चन्द्रमाको माटो र चट्टानहरू खोज्नेछ र अवतरण क्षेत्रमा अन्य प्रयोग गर्नेछ । त्यसपछि चाङ’ई–६ ले चन्द्रमाको सतहबाट उठाउनुपर्छ र आफ्नो कदम पृथ्वीतिर फर्किन बढाउनुपर्छ ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनको ‘अन्तरिक्ष सपना’ लाई तीव्र बनाइएको छ । बेइजिङले आफ्ना दुई परम्परागत शक्ति अमेरिका र रुससँग अन्तर कम गर्ने प्रयासमा महत्त्वाकांक्षी उपक्रमहरूको शृङ्खलालाई लक्षित गर्दै विगत दशकमा आफ्नो अन्तरिक्ष कार्यक्रममा ठूलो स्रोतहरू जुटाएको छ ।चीनले धेरै उल्लेखनीय उपलब्धि पनि हासिल गरेको छ । यसमा तियाङयोङ अर्थात ‘स्वर्गीय दरबार’ नामक अन्तरिक्ष स्टेसनका निर्माणमा पनि समावेश छ । यहाँ उसले गत महिना तीन अन्तरिक्ष यात्रीको नयाँ दललाई पठाएको थियो ।

बेइजिङले मङ्गल र चन्द्रमामा रोबोटिक रोभर पनि अवतरण गराएको छ र चीन स्वतन्त्ररूपमा मानिसलाई कक्षमा पठाउने तेस्रो मुलुक बनेको छ । चीनको लक्ष्य सन् २०३० सम्ममा चन्द्रमामा चालक दल मिसन पठाउने रहेको छ र चन्द्रमाको सतहमा एउटा आधार निर्माण गर्ने योजना बनाएको छ ।

अमेरिकाले पनि आफ्नो आर्टेमिस ३ मिसनका साथ सन् २०२६ सम्ममा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फिर्ता राख्ने योजना बनाएको छ । चीनको अन्तरिक्ष कार्यक्रमको द्रुत प्रगतिले वासिङ्टनमा खतराको घन्टी बजाएको छ । नासाका प्रमुखले गत महिना अमेरिका अब बेइजिङविरुद्धको ‘दौड’ मा रहेको चेतावनी दिनुभएको थियो । नासाका प्रशासक बिल नेल्सनले क्यापिटल हिलमा सांसदहरूसँग भन्नुभयो, “उनीहरूको कथित नागरिक अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम हो भन्ने हामी विश्वास गर्छौं ।”

सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढायो

काठमाडौँ, २२ वैशाख : सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको राससलाई बताउनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिनुभयो । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न अख्तियारको निर्देशन

काभ्रेपलाञ्चोक-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न निर्देशन दिनुभएको छ । उहाँले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गर्नुभएको हो ।

सचिव दङ्गालले स्थानीयस्तरमा उपभोक्ता समितिबाट भएका वा हुनसक्ने अनियमित क्रियाकलाप रोक्नसमेत स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “अनावश्यक पद सिर्जना गरी कर्मचारी राख्नु पनि अख्तियार दुरुपयोग नै हो, यसैले अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा विभिन्न प्रकारका सल्लाहकार कर्मचारी राखिएका भए पनि हटाउनुस् ।” उहाँले अख्तियारमा उजुरी पर्दैमा नआत्तिन आग्रह गर्दै नीति र नियमभित्र रहेर गरिरहेका काम नरोक्न आग्रह गर्नुभएको छ ।

सचिव सचिव दङ्गालले हरेका क्रियाकलापमा सरकार भएको अनुभूति दिलाउने गरी सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै उजुरीको सङ्ख्या दिनानुदिन बढिरहेको भए पनि त्यसको गाम्भीर्यता र पुस्ट्याइँ हुने आधार कमजोर भएकाले कतिपय अवस्थामा उजुरी गर्नु नपर्ने वातावरण सिर्जना गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अयोगको हेटाँैडास्थित कार्यालयका प्रमुख सहसचिव उमाकान्त आचार्यले अघिल्लो आर्थिक वर्ष र चालु वर्षका उजुरी, फछ्र्याैट तथा प्रकारका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार आयोगको केन्द्रीय कार्यालय टङ्गाल र हेटौँडा कार्यालयमा काभे्रपलाञ्चोकमा अनियमिततता भएको एवं भ्रष्टाचारसम्बन्धी अनियमिततासम्बन्धी दुई सय ६१ उजुरी दर्ता भएका छन् । सोमध्ये चालु आवको वैशाख १८ गतेसम्म ८० उजुरी मात्रै फछ्र्यौट गर्न बाँकी रहेको आचार्यले बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चाकका प्रमुख दीपक गौतमले भ्रष्टाचार गर्दिनँ भनेर शपथ खानेदेखि भ्रष्टाचार हुनेगरेको पाइएकाले प्रभावकारी नियमन बढाउन र नीतिगत भ्रष्टाचार रोक्न अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका नागरिकलाई सेवा प्रदान गर्दा चुस्त–दुरुस्त बनाउन तथा जनगुनासालाई विनम्रतापूर्वक सम्बोधन गरी नागरिकलाई सहज सूचना प्रदान गर्न निर्देशन दिएको बताउनुभयो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

अबको अभिभारा जनताको अवस्था बदल्ने होः मुख्यमन्त्री कँडेल

कर्णाली-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाको आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेकाले अव अवस्था बदल्न लाग्नुपर्ने बताउनुभयो । “विगतमा आन्दोलनको समय थियो ।

त्यतिबेला हरेकलाई आन्दोलनमा हिँडायौँ तर आज त्यो अवस्था छैन । त्यसैले अब विद्यालय निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत हरेक नागरिकका हकअधिकारहरुलाई सुरक्षित गर्दैै लैजानुपर्ने अभिभारा हाम्रो काँधमा छ”, उहाँले भन्नुभयो ।त्यस्तै, नयाँ नेपाल निर्माण र समृद्धिको अभियान अगाडि बढाउने जिम्मा नेकपा (एमाले)को काँधमा आएको भन्दै उहाँले यो अभियानमा लामबद्ध हुन जरूरी रहेको धारणा राख्नुभयो ।


उहाँले भन्नुभयो, “हामी जनताको सेवाका लागि राजनीति गरिरहेका छौँ । त्यसैले पार्टीले सुरूगरेको अभियानलाई गन्तव्यमा पुर्याउन नगर÷गाउँ कमिटीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, विद्युत्, सञ्चार, पर्यटनलगायत क्षेत्रको विकासका लागि योगदान गर्नुपर्छ । त्यसका लागि व्यक्तिगत स्वार्थभन्दामाथि उठेर जनताका काममा जुट्न म आग्रह गर्दछु ।”

जापानी विदेशमन्त्री भोलि नेपाल भ्रमणमा आउनुहुँदै

काठमाडौँ-जापानका विदेशमन्त्री कामिकावा योको यही वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ । जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको  समापन गर्दै मन्त्री तामाङले निगमको चुनौती र समस्यालाई समाधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

पर्यटनमन्त्री तामाङले निगमको व्यावसायिक विकासका लागि सबै कर्मचारी एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नगमले गर्दैआइरहेको ग्राउन्ड ह्यान्डलिङ सेवालाई निरन्तरता दिने बताउँदै उहाँले निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तरवृद्धि हुने गरी काम गर्न ध्यानाकर्षण गराउनुभयो ।

निगमको कार्य र भावी योजनाबारे जानकारी गराउँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयसँगको प्रभावकारी समन्वय र सहयोगमा निगमको सेवालाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिममा निगमका पदाधिकारीसहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

देशका विभिन्न वनमा लागेको आगो निभागउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”

आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उहाँले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिनुभयो ।

कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताउनुभयो । उहाँले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध गर्नुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिउँ पर्ने सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छः मन्त्री थापा

लम्की (कैलाली), २१ वैशाखः सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले पुनस्र्थास्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

शुक्रबार कैलालीको लम्कीमा मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले केही समयअघि मुक्त कमैया, कम्लहरी, हलियोको व्यवस्थापनका लागि कार्यविधि पारित गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि आफूले पहल गर्ने बताउनुभयो । “मुक्त कमैयाका महिला र बालवालिकाको अवस्था मैले नजिकबाट देखेकी छु, उहाँहरूका समस्या बुझेकी छु । त्यसैले ति समस्या समाधानका लागि लागि म पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

संविधानसभा सदस्य सुक्दैया चौधरीले कमैयाहरुको व्यवस्थापनमा ध्यान दिन सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया, कम्लरी र हलियाको व्यवस्थापनका लागि कार्यविधि ल्याएकामा धन्यवाद दिँदै अन्य प्रदेशले पनि यससम्बन्धी कार्यविधि ल्याउन ध्यानाकर्षण गराउनुभयो ।

मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर मालपोतमा लालपुर्जाको अभिलेख नभएको, छुट कमैयाको तथ्याङ्क संकलनको काम अगाडि नबढेका भन्दै सोसम्बन्धी आवश्यक कार्यका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता बालाराम भट्राईले कमैयाहरुको जीविकोपार्जनका लागि आयआर्जन, रोजगारी र पुनस्र्थापनाका काम अगाडि बढाउन तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
शुक्रबारदेखि लम्कीचुहा नगरपालिका—१ लम्कीस्थित मुक्त कमैया एकता शिविरमा सुरुभएको सम्मेलन भोलीसम्म चल्ने छ ।

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत

मोरङ, २१ वैशाख – कोशी प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिनुभयो ।यसैगरी, बैठकले इलाम, ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, प्रहरी चौकी भवनको मर्मतसम्भार गर्ने निर्णय स्वीकृत गरिएको छभने भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फोहोरमैला रणनीति साझेदारी कार्यविधि २०८० स्वीकृत भएको छ । उदयपुर जिल्लाको कटारी अस्पताललाई ५० शय्याको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने प्रस्तावलाई स्वीकृत गरिएका छभने पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷८० मा भुक्तानी छुट भएका तीनवटा योजनाको रकम भुक्तानी दिने निर्णय गरेको प्रवक्ता मन्त्री राईले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको विपद् व्यवस्थानि समितिको आज बसेको बैठकले आगलागी प्रभावित दाङको राजपुर र गुल्मीको इस्मा गाउँपालिकालाई रु दस÷दस लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले आगलागीका कारण घर, गोठ, पशुचौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयलाई खाद्यान्न, औषधोपचारलगायत अत्यावश्यक सेवाका लागि अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको साहको सचिवालयले जनाएको छ ।

गत वैशाख १६ गते राजपुर गाउँपालिका—७ हाटबास क्षेत्रमा आगलागी हुँदा २५ घर र ३५ गोठ जलेरका थिए । यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेका थिए । कामपाले यस अघि पनि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका—६ जरलहवा टोलका आगलागी पीडितलाई पनि रु १० लाख सहयोग उपलब्ध गराइसकेको छ ।

मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

जनकपुर, २१ वैशाख: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित एक टोलीले आज मुख्यमन्त्रीसँग भेटगरी अग्निपीडितको बसोबासका लागि अहिलेसम्म कुनै काम अगाडि नबढेका भन्दै तत्काल प्रदेश सरकारले पहलकदमी लिन आग्रह गरेको हो । त्यसअवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ ठाकुर, तमलोपाका रविशङ्कर सुभाष, उमेश मण्डल, विभा ठाकुर, विमला साह, वैद्यनाथ साहलगायतको सहभागिता रहेको थियो ।

उहाँहरुले एकद्वार प्रणालीको नाममा राहत वितरण गर्न चाहनेहरूलाई समेत अवरोध गरिएको भन्दै त्यसमा सहजीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । कांग्रेस प्रदेशसभा सदस्यसमेत रहनुभएका रामसरोज यादवले राजनीतिक आस्था, पहुँच र प्रभावका आधारमा नभई पीडितको अवस्था र आवश्यकताका आधारमा राहत वितरण गरिनुपर्ने र घरबासका लागि प्रदेश सरकारले तत्काल प्याकेज घोषणा गरी काम अगाडि बढाउनुपर्ने माग आफूहरुले राखेको बताउनुभयो । उहाँले अहिलेसम्म बसोबासलगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा दुःख प्रकट गर्दै यथाशीघ्र सो कार्य गर्न आग्रह गरिएको समेत जानकारी दिनुभयो ।

मटिहानी नगरपालिका—६ जरलहवा बस्तीमा गत वैशाख १२ गते भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेका छन् भने थप करिब ५० भन्दा बढी घरमा क्षति पुगेको छ । त्यसैगरी मधेश प्रदेशमा भूमिगत जलको सतह घट्दै गएकाले खानेपानीको संकट आउन नदिन अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न पनि आग्रह गरिएको र मधेश प्रदेश बढ्दै गएका हत्या र दुर्घटनाका घटना न्यूनकिरणमा समेत गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गरिएको थियो ।

हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छः मन्त्री भण्डारी

काठमाडौँ, २१ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवम् ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाइने बताउनुभयो ।

सरकारले उत्पादन र रोजगारीवृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशीलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा रहेका थुप्रै खनिज तथा खानी उत्खनन गर्न मन्त्रालयले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो ।

त्यसैगरी चालु आवमा पूँजीगत बजेट खर्च बढाउन नसक्दा त्यसले मुलुकलाई समृद्धिको लक्ष्यमा अगाडि बढाउन केही समस्या भएको उहाँको भनाइ थियो । “विविध कारणले पूँजीगत खर्च बढाउन सकिएको छैन । त्यसले समृद्धिको यात्रामा असर गरेको हामीले महसुस गरेका छौँ”, मन्त्री भण्डारीले भन्नुभयो,“आगामी दिनमा थप सुधार हुने अपेक्षासहित हामीले काम गरिरहेका छौँ ।”

सरकार न्यूनतम साझा कार्यक्रमको भावनाअनुसार अगाडि बढिरहेकाले पछिल्लो सयम आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको पनि उहाँको भनाइ छ । आगामी आर्थिक वर्षलाई सम्भावनाको वर्षका रूमा अगाडि बढाउन सरकारले निराशा चिरेर आशा जगाउने काम गर्ने र नेपाली माटोमै सम्भावनाको खोजी गर्नेसमेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तीन तहका सरकारको समन्वयमा स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ र स्वदेशी वस्तु उपभोग गर्ने नीति अगाडि सार्नुपर्छ भन्नेमा काम भइरहेकाले सोसम्बन्धी नीति चाँडै ल्याउने छौँ ।”मन्त्री भण्डारीले सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछामको विकासमा उद्योग मन्त्रालयले विशेष ध्यान दिने पनि बताउनुभयो ।

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?

वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको भर्चुअल (अनलाइन) अनुहारको रूपमा काम गर्दछ । वेब डिजाइनको कला र विज्ञान इन्टरनेटको साथ द्रुतरूपमा परिवर्तन हुँदैछ । यदि वेब डिजाइनरले नवाचारलाई अँगालेर परिवर्तन गर्ने प्रवृत्तिमा समायोजन गर्यो भने यस क्षेत्रको उज्ज्वल भविष्य रहेको छ ।

‘वेब डिजाइन’ले लेआउट, रङ योजना, ग्राफिक्स, र समग्र दृश्य अपीलसहित वेबसाइट को सौन्दर्य र प्रयोगकर्ता अनुभव पक्षहरूलाई बुझाउँछ । अर्कोतर्फ, ‘वेबसाइट’ले सिर्जना गर्ने प्राविधिक पक्षहरूलाई समावेश गर्दछ । जस्तै कोडिङ, प्रोग्रामिङ, र डाटाबेस व्यवस्थापन ।

यस लेखले कसरी कम्पनीहरू र डिजाइनरले वेब डिजाइनको सधैँ विकसित भइरहेको क्षेत्रमा पुनःबिक्रेताका लागि वेबसाइट निर्माणकर्ताको प्रयोग गरेर अगाडि बढन सक्छ भन्नेबारे विशलेषण गरेको छ ।

वेब डिजाइन प्रवृत्तिको भविष्य
नयाँ प्रवृति देखा पर्दै जाँदा वेब डिजाइनको क्षेत्र निरन्तर परिवर्तन हुँद गइरहेको छ । वेबसाइट निर्माणकर्ताले पुनः बिक्रेतालाई उनीहरूको लक्षित बजारमा अपिल गर्ने दृश्यात्मक र प्रयोगकर्ता–अनुकूल वेबसाइट सिर्जना गर्न मद्दत गर्न सक्छन् । पुनःबिक्रेताका लागि वेबसाइट निर्माणकर्ताले प्रयोगकर्तालाई कोडिङको गहिरो बुझाइको आवश्यकताबिना उनीहरूको रचनात्मक अवधारणा महसुस गर्न सक्षम बनाउँछन् । यी प्रविधि प्रयोग गरेर पुनःबिक्रेताले उल्लेखनीय नतिजा प्राप्त गर्न सक्ने र उनीहरूको वेब डिजाइन प्रक्रियालाई छिटो, गतिशील डिजिटल परिदृश्यमा प्रतिस्पर्धात्मक किनारा कायम राख्न सक्छन् ।

स्मार्टफोन र ट्याब्लेटको परिचयले सबै प्लेटफर्ममा उत्कृष्ट सम्भावित प्रयोगकर्ता अनुभवको ग्यारेन्टी गर्न आवश्यक प्रतिक्रियाशील डिजाइन बनाएको छ । यसबाहेक, ई–वाणिज्यको विकासले सुरक्षित भुक्तान गेटवे समावेश गरेको र चेकआउट प्रक्रिया छिटो आवश्यक रहेको छ । हालको समयमा साइट डिजाइनमा लुकभन्दा बढी समावेश गरिएको छ । यसले कार्यसम्पादन दक्षता, पहुँच र उपयोगिता समावेश गर्दछ । वेबसाइटहरू चाँडै लोड हुनुपर्ने, प्रयोग गर्न सरल र आगन्तुकलाई चासो राख्न उपयोगी सामग्री हुनुपर्छ ।

ग्राहकलाई वेबसाइटको आवश्यकता
अनलाइन उपस्थितिको बढ्दो आवश्यकतामा प्रयास गर्ने व्यवसाय मालिकका लागि वेबसाइट निर्माणकर्ताको पुनः बिक्री लाभदायक रहेको छ । ग्राहकलाई वेबसाइट पुनः बिक्री गर्दा पुनःबिक्रेतालाई अनलाइन उपस्थितिका लागि सरल र किफायती समाधान खोज्ने कम्पनी र मानिसलाई सेवा दिन अनुमति दिन्छ । बढ्दो डिजिटलाइजेशन प्रवृत्तिका कारण वेबसाइटको बढ्दो आवश्यकता रहेको छ । उद्यमीहरूले यस प्रवृत्तिबाट लाभ उठाउन सक्ने र उपयोगी सेवा प्रदान गरेर ग्राहक (उपभोक्ता) लाई वेबसाइट बिल्डर रिसेलिङमार्फत राम्ररी डिजाइन गरिएको र कार्यात्मक वेबसाइट खोज्नेलाई सन्तुष्ट तुल्याउँछ । ‘वेबसाइट बिल्डर रिसेलिङ’ले डिजाइनर र फर्मलाई वेब डिजाइन सेवा आपूर्ति गर्न किफायती तरिका प्रदान गर्दछ । डिजाइनरले विकास समय घटाउने र उत्पादकता सुधार गर्ने र पहिले नै अवस्थित प्लेटफर्म प्रयोग गरेर आफ्ना ग्राहकलाई सन्तुष्ट पार्ने उच्च डिजाइन उत्पादन गर्नमा ध्यान केन्द्रित गर्न सक्छन् । पुनःबिक्रेताले वेबसाइट निर्माणकर्तालाई आफ्नै रूपमा ब्राण्डिङ गरेर आफ्नो प्रतिष्ठा र ब्रान्ड पहिचान बढाउन सक्छन् ।

प्रतिष्ठित वेबसाइट निर्माणकर्तासँग सहकार्य गर्ने पुनःबिक्रेतासँग सजिलै उपकरण र टेम्प्लेटमा पहुँच रहेको छ । जसले गर्दा उनीहरूलाई ग्राहकका लागि अद्वितीय वेबसाइट सिर्जना गर्न सुविधा दिन्छ । यस व्यापार मोडेलको लचिलोपनका कारण पुनःबिक्रेताले विभिन्न उद्योगका विविध ग्राहकलाई सेवा दिन सक्छन् । वेबसाइट निर्माणकर्ताले ग्राहकलाई पहुँच, अनुकूलन क्षमता, प्रयोगकर्ता–मित्रता प्रदान गर्दछ ।

ग्राहकले वेबसाइटमा पैसा खर्च गर्नुको सट्टा वेबसाइट निर्माणकर्ताद्वारा प्रस्ताव गरिएका पूर्व–डिजाइन गरिएका विषय वस्तु र अनुकूलित सुविधाबाट छनोट गर्न सक्छन् । यो महँगो र समय खपत हुनसक्छ । यसले पैसा बचत गर्ने र अधिक व्यवस्थित मर्मत र छिटो टर्नअराउडर समय प्राप्त गर्न सक्छन् । वेबसाइटले डिजिटल बजारमा प्रवेश गर्न चाहने व्यवसाय मालिकका लागि बलियो मौका प्रदान गर्दै आएको छ । पुनः बिक्रेताले आकर्षक व्यवसाय सिर्जना र उपयुक्त उपकरण र स्रोतसँग सुसज्जित गरेर अनलाइन उपस्थिति समाधानको बढ्दो आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ ।

वेबसाइटबाट उपोभोक्तालाई लाभ
वेबसाइट निर्माणकर्ताको पुनः बिक्री गर्ने व्यक्ति र कम्पनीका लागि धेरै फाइदा रहेको छ । ग्राहकले वेबसाइट प्रयोग गरेर समय र पैसाको बचत गरेर आम्दानी कमाउन सक्छ । आफ्नो कम्पनीलाई छिटो बढाउन सक्ने र भरपर्दो वेबसाइट निर्माणकर्ता प्लेटफर्मको मद्दतले बजारमा भरपर्दो आपूर्तिकर्ताका रूपमा परिचित हुनसक्छ । वेबसाइट बिल्डर रिसेलिङका केही प्रमुख फाइदा निम्न रहेका छन् :

(क) सङ्गठनमा वेबसाइटको प्रभाव

आजको व्यस्त कर्पोरेट वातावरणमा बढेको दक्षता सफलताको लागि महत्त्वपूर्ण रहेको छ । अत्याधुनिक आविष्कार र प्रभावकारी कार्यप्रवाह कार्यान्वयन गरेर उद्यमीहरूले उनीहरूको सञ्चालन, प्रभावकारिता बढाउन र थप महत्त्वपूर्ण विस्तार हासिल गर्न सक्छन् । सङ्गठनहरूले फारम सरल बनाउन, म्यानुअल त्रुटि दर कम गर्न र उन्नत चरण र यान्त्रिकीकरण उपकरण ग्रहण गरेर द्रुतरूपमा कार्य बढाउन सक्छन् । यो प्रभावकारिता विकासले समय र सम्पत्ति बचत गर्दा बजारको परिस्थितिमा द्रुत गतिमा फरक संस्थालाई परिवर्तन गर्छ ।

(ख) रचनात्मक पक्ष र ग्राहकलाई रणनीतिमा केन्द्रित गर्न
एआई लेखन सहायकले समय र ऊर्जा बचत गर्दा प्रतिलिपि लेखकलाई थप रचनात्मक हुन मद्दत गरिरहेको छ । प्रतिलिपि लेखकले रणनीतिमा ध्यान केन्द्रित गर्न, नवीन विचार विकास र ग्राहकसँग काम गर्न आकर्षक सामग्री सिर्जना गर्न सक्छ । यस परिवर्तनले थप उत्कृष्ट रणनीतिका साथ सामग्री सिर्जना गर्न सम्भव बनाउने, नवीन सोच र कुशल सञ्चारमा आधारित बलियो ग्राहक जडान प्रवर्द्धन गर्दछ ।

(ग) छिटो समयमा अधिक ग्राहकलाई प्रबन्धन गर्न
प्रतिलिपि लेखकले अधिक ग्राहकलाई ह्यान्डल गर्न, व्यावहारिक उपकरण र प्रविधिको प्रयोग गरी छिटो काम पूरा गर्न सक्छ । प्रतिलिपि लेखकले समय बचत गर्ने रणनीति जस्तै एआई लेखन सहायक प्रक्रियालाई अनुकूलन गर्ने र कर्तव्यका लागि प्राथमिकता सेट गरेर गुणस्तरमा सम्झौता नगरी थप काम लिन सक्छन् । यी रणनीतिले उल्लेखनीयरूपमा उत्पादकत्व बढाउन सक्छ । धेरै ग्राहक प्रबन्ध गर्न सम्भव हुने विकास र उपलब्धिका लागि एक पूर्ण अवसर सही रूपमा प्रयोग गरिन्छ ।

(घ) लागत–प्रभावकारिता
सामान्य सुविधाका लागि व्यवसायले विकासको लागतहरू हटाउन लागत–प्रभावी विकल्प प्रयोग गरेर उत्पादकत्व बढाउन र प्रक्रियालाई सुव्यवस्थित गर्न सक्छन् । यो रणनीतिले व्यवसायलाई उनीहरूको मुख्य दक्षता र नवीनताका क्षेत्रमा ध्यान केन्द्रित गर्दा समय र पैसा बचत गर्न अनुमति दिन्छ । यो विधि अपनाएमा दीर्घकालीन रूपमा महत्त्वपूर्ण लागत कटौती, नाफा वृद्धि र बजार प्रतिस्पर्धात्मकताको परिणाम हुनसक्छ ।

(ङ) प्रचलनसँग वर्तमानमा रहनु
आधुनिक प्रचलन, प्रविधि, र उत्कृष्ट अभ्यासले वेब योजनामा निरन्तर रूपमा उदय भइरहेका छन् । जुन सृष्टिकर्ताले आफ्नो दृष्टिकोण र सेवाहरू परिमार्जन गर्न ग्राहकको विकासशील मागअनुरूप रहेका छन् । यसबाहेक सिर्जनाकर्ताले वेबसाइटलाई प्रतिस्पर्धी र अत्याधुनिक राख्दै साइट निर्माणकर्ताको आदानप्रदानमार्फत उद्यममा अपग्रेड र नयाँ सुविधा द्रुतरूपमा जान मदत गर्न सक्छ ।

(च) लगातार अपडेटबाट ग्राहकलाई लाभ
आजको द्रुतगतिको डिजिटल संसारमा बारम्बार अपडेट हुने सुविधा र कार्यात्मकतामा पहुँच हुनु महत्त्वपूर्ण रहेको छ । नवप्रवर्तन द्रुत गतिमा अगाडि बढेको हुनाले नयाँ र सबैभन्दा उन्नत सुविधा भएकाले लाभ दिनसक्छ । सबैभन्दा भर्खरैका प्रकाश र उपकरणसँग राख्दा यसले समग्र ग्राहकको अनुभव, दक्षता र प्रभावकारितालाई अगाडि बढाउन मद्दत गर्दछ ।

(छ) ग्राहकलाई विस्तृत कोडिङबिना आधुनिक वेबसाइट प्रस्ताव गर्न

ग्राहकका लागि सानो समकालीन वेबसाइट सिर्जनाले गर्दा सहयोग गर्दछ । प्रयोगकर्ता–अनुकूल साइट निर्माणकर्ता र विषयको सहयोगमा सौन्दर्यले मनमोहक र पूर्णरूपमा कार्यात्मक पेशेवर देखिने वेबसाइट सिर्जना गर्न सक्षम हुन्छ ।

डिजाइनरका लागि वेबसाइट निर्माणकर्ता रिसेलिङले दक्षता सुधार गर्न, उच्च गुणस्तरको वेबसाइट उत्पादन गर्न र बजारमा उनीहरूको प्रतिस्पर्धात्मक किनारा कायम राख्न एक आकर्षक मौका प्रस्तुत गर्दछ । वेबसाइट निर्माणकर्ताको स्वचालन, दक्षता, प्रयोग गरेर, डिजाइनरले मूल्य–थप सेवा डेलिभर गर्न, उद्योग विकासका बारेमा जानकारी राख्न र तिनीहरूका ग्राहकको विशिष्ट आवश्यकता पूरा गर्ने अनुकूलित समाधान सिर्जना गर्नमा ध्यान केन्द्रित गर्न सक्छन् ।

पुनः बिक्रेताका लागि वेबसाइट निर्माणकर्ताले डिजाइनर र फर्मलाई द्रुत–गतिको वेब डिजाइन उद्योगमा समृद्ध बनाउन र उपयुक्त रणनीतिका साथ आफूलाई उद्योग नेताको रूपमा स्थापित गर्न सक्षम बनाउन सक्छन् । (अनुवादक– कुमार अभिनव)

चक्रवात नजिकिएसँगै केन्यामा बाढीका कारण मृत्यु हुने सङ्ख्या बढेर दुई सयभन्दा माथि

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन्त्रालयले शुक्रबार बताएको छ ।

मुसलधारे वर्षाले पूर्वी अफ्रिकाका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोले बाली नष्ट गरेको छ, घरहरू डुबानमा परेका छन् र लाखौँ मानिस विस्थापित भएका छन् ।

“केन्यामा मौसमको गम्भीर अवस्थाका कारण करिब दुई सय १० जनाको मृत्यु भएको छ, पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ”, गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा एक लाख ६५ हजारभन्दा धेरै मानिस बेघर भएको र ९० जना बेपत्ता भएको उल्लेख छ । यसबाट मर्नेहरूको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

केन्या र तान्जानिया चक्रवात हिदायाका लागि तयारी अवस्थामा छन् । ती मुलुकका समुद्री तटमा भारी वर्षा, हावा र लहरहरू आइरहेका छन् । तान्जानियामा चक्रवातबाट कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ ।

हिदाया दक्षिणपूर्वी सहर माउन्टवाराभन्दा करिब चार सय किलोमिटर टाढा हुँदा तान्जानियाका अधिकारीहरूले स्थानीय समयानुसार बिहान तीन बजे ‘पूर्ण चक्रवातको अवस्थामा पुग्न बलियो भएको’ शुक्रबार चेतावनी दिएका छन् । मौसम बुलेटिनमा अधिकारीहरूले भनेका छन्, “चक्रवात हिदाया लगातार बलियो भइरहेको छ, हावाको गति करिब एक सय ३० किलोमिटर प्रतिघन्टामा बढेको छ ।”

केन्याको गृह मन्त्रालयले चक्रवात आइतबारदेखि समुद्री तटमा पुग्ने अनुमान गर्दै भनेको छ, “भारी वर्षाका साथ तीव्र हावा र ठूलो समुद्री लहरहरू आउन सक्छ ।”

संयुक्त राष्ट्रसङ्घले सामान्यभन्दा धेरै वर्षाले बुरुन्डीमा कम्तीमा २९ जनाको ज्यान गएको तथा एक सय ७५ जना घाइते भएको जनाएको छ । गत सेप्टेम्बरदेखि हजारौँ मानिस विस्थापित भएका छन् ।

अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ । अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ ।

गत वर्षको अन्त्यमा केन्या, सोमालिया र इथियोपियामा वर्षा र बाढीबाट तीन सयभन्दा धेरैको ज्यान गएको थियो । यद्यपि यी क्षेत्रले चार दशकमा आफ्नो सबैभन्दा खराब खडेरीबाट जोगिने प्रयास गरिरहेका थिए ।

हिन्द महासागरको दक्षिणपश्चिम भागमा चक्रवातको मौसम सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म रहन्छ र प्रत्येक वर्ष एक दर्जन तूफान आउँछन् ।

मधेश प्रदेश सरकारबाट अग्निपीडितका लागि तत्काल राहत सहयोग गर्न माग

जनकपुर, २१ वैशाख: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ ।

विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित एक टोलीले आज मुख्यमन्त्रीसँग भेटगरी अग्निपीडितको बसोबासका लागि अहिलेसम्म कुनै काम अगाडि नबढेका भन्दै तत्काल प्रदेश सरकारले पहलकदमी लिन आग्रह गरेको हो ।

त्यसअवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसका नेता रामसरोज यादव, तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता जीवनाथ ठाकुर, तमलोपाका रविशङ्कर सुभाष, उमेश मण्डल, विभा ठाकुर, विमला साह, वैद्यनाथ साहलगायतको सहभागिता रहेको थियो ।

उहाँहरुले एकद्वार प्रणालीको नाममा राहत वितरण गर्न चाहनेहरूलाई समेत अवरोध गरिएको भन्दै त्यसमा सहजीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

कांग्रेस प्रदेशसभा सदस्यसमेत रहनुभएका रामसरोज यादवले राजनीतिक आस्था, पहुँच र प्रभावका आधारमा नभई पीडितको अवस्था र आवश्यकताका आधारमा राहत वितरण गरिनुपर्ने र घरबासका लागि प्रदेश सरकारले तत्काल प्याकेज घोषणा गरी काम अगाडि बढाउनुपर्ने माग आफूहरुले राखेको बताउनुभयो । उहाँले अहिलेसम्म बसोबासलगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा दुःख प्रकट गर्दै यथाशीघ्र सो कार्य गर्न आग्रह गरिएको समेत जानकारी दिनुभयो ।

मटिहानी नगरपालिका—६ जरलहवा बस्तीमा गत वैशाख १२ गते भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेका छन् भने थप करिब ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।

त्यसैगरी मधेश प्रदेशमा भूमिगत जलको सतह घट्दै गएकाले खानेपानीको संकट आउन नदिन अल्पकालीन र दीर्घकालीन परियोजना सञ्चालन गर्न पनि आग्रह गरिएको र मधेश प्रदेश बढ्दै गएका हत्या र दुर्घटनाका घटना न्यूनकिरणमा समेत गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गरिएको थियो ।

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ ।

मध्याह्नतिर वातावरण प्रदुषण भएपछि एक गाउँबाट अर्को गाउँसमेत नदेखिएको जयपृथ्वी नगरपालिका–४ का सत्यराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मध्याह्नको बेला यस्तो अँध्यारो त कहिल्यै देखिएको थिएन । यो पटकको प्रदूषणले भने बझाङको अवस्था निकै कष्टकर भएकोे छ ।” डिभिजन वन कार्यालय बझाङका अनुसार जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेकाले समुदायमा जनचेतना फैलाउँदा पनि स्थानीयले अटेर गरेका छन् । कार्यालयका सूचना अधिकारी कपिल रावलले आगो लगाउने मान्छेलाई कारबाहीका लागि सूचना नै जारी गरेको बताउनुभयो ।

“डिभिजन वन कार्यालयले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियानअन्तर्गत माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, डेमो गराउनेलगायतका कार्य गर्दा पनि अटेर गरेपछि आगो लगाउनेलाई कारबाही गर्नका लागि सूचना निकालेका छौँ ।” गोप्य सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

सूचना अधिकारी रावलले स्थानीयले घाँस पलाउने, बाँदरले दुःख दिँदैनन् भन्ने धारणाले गर्दा वनमा आगो लगाउने गरेको बताउनुभयो । कतिपय ठाउँमा वन्यजन्तुको सिकारका लागिसमेत जानाजान आगो लगाउने गरेको उहाँले बताउनुभयो । रावलका अनुसार आगलागी भएको ठाउँमा नियन्त्रणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी र नेपाली सेना खटिनुभएको छ ।

हिन्दुकुश हिमालयका मानिसको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार बझाङमा वित्थडचिर, दुर्गाथली, थलारा, मष्टा गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा आगलागी भएको छ ।

राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, २१ वैशाख: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज अयोाजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री चौधरी त्यस्तो बताउनुभएको हो ।

लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताले केही काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोगप्राप्त नभएको उहाँको भनाइ छ । “हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा आशा जगाउने र नतिजा दिनेगरी काम गर्नुपर्छ भनेर योजना अगाडि बढाउँछौँ । पार्टी नेतृत्वले पनि सोहीअनुसार निर्देशित गर्नुहुन्छ तर कर्मचारीले भने नियम कानुन ते¥याएर हुँदैन भन्नुहुन्छ र यसले समस्या भइरहेको छ”, मन्त्री चौधरीले भन्नुभयो ।

त्यसैगरी उहाँले न्यून बजेट भएका कार्यक्रम कार्यान्वयन गर्नुको सट्टा अफ्ठ्यारोमा पार्ने काम भइरहेका भन्दै कर्मचारी र राजनीतिक नेतृत्वबीच तालमेलको अवस्था बनाउन जरूरी रहेको धारणा राख्नुभयो । “राज्यको स्थायी सरकार भनेको कर्मचारी प्रशासन नै हो । राजनीतिक नेतृत्व त आउने जाने भइरहन्छ । त्यसैले कर्मचारीबीच मिलेर काम गर्नुको विकल्प छैन”, मन्त्री चौधरीको भनाइ थियो ।

सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ, २१ वैशाख: सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासमा आज अनलाइनका कार्यकारी सम्पादक नविन ढुगानासँग बयान लिएकामा मुद्दा हेर्दाहेर्दैमा राखी आइतबार सुनुवाइ गर्ने भएको हो ।

सर्वोच्चले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बिहीबार बयान लिइसकेको छ भने अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग आइतबार बयान लिने यसअघि नै तय गरिसकेको छ । तिमिल्सिनालाई सबुद प्रमाणसहित यही वैशाख २३ गते १० बजे बयानका लागि अदालतमा उपस्थित हुन सर्वोच्च इजलासको आदेश छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो । सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

मकवानपुर, २१ वैशाख ः बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो । उहाँले प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबीच यही वैशाख ३० गते विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको जानकारी दिनुभयो ।

सभामुख पाठकको आह्वानमा आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । प्रदेशसभाको हिउँदे अधिवेश यही बैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलद्वारा प्रदेश, शिक्षा विकास निर्देशनालय मकवानपुरको भवन शिलान्यास

मकवानपुर, २१ वैशाख – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–८ स्थित कमानेमा प्रदेश, शिक्षा विकास निर्देशनालय मकवानपुरको भवनको आज एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको करिब रु २१ करोड २५ लाखको लागतमा तीन वर्षभित्र भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको प्रदेश शिक्षा विकास निर्देशनालयका प्रमुख दीपेन्द्र सुवेदीले बताउनुभयो ।

उहाँले प्रदेशमा विज्ञ तथा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यको लागि प्रदेश सरकारले क्रमश ः भौतिक पूर्वाधार विकासको अभियान जोड्दै लैजाने नीति लिएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आवश्यकता अनुरुप राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार विकास र शिक्षा गुणस्तरलाई विदेशमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्ने उद्देश्यले प्रदेशमा पनि प्राविधिक विश्वविद्यालयको स्थापना गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राष्ट्रलाई आत्मनिर्भर पु¥याउन सक्ने प्राविधिक विकासको शिक्षालाई प्रदेश सरकारले गुरुयोजनाको कार्यान्वयन गर्न बजेट र जनशक्ति उपलब्ध गराउँदै लैजाने सरकारले नीति बनाएको जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सङ्घीय सरकार र त्रिभूवन विश्वविद्यालयले वर्तमान शिक्षा नीतिलाई परिमार्जन गरी देशमै खपत हुनसक्ने प्राविधिक जनशक्तिलाई उत्पादन गर्ने कार्यक्रमको तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौँ, २१ वैशाख – नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लङ्घन हुनेगरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो ।

प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता रकम नबुझाएका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणले उनीहरुलाई विदेशी मुद्रा सहटी तथा भुक्तानी सिफारिस रोक्दै आएका छन् । यस्तो मुद्रा सहटी तथा भुक्तानी सुविधा नपाएका कारण ब्याण्डविथको शुल्क तिर्न नसकेको सेवा प्रदायकहरुको गुनासो छ । तर प्राधिकरणले भने ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता नतिरेसम्म मुद्रा सटही सुविधा दिन नमिल्ने स्पष्ट पारेको छ ।

“सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को विनियम ५(१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवा प्रदायकहरुले नियमानुसार तिर्नु बुझाउनुपर्ने रकम भुक्तान गरी निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका सहजीकरणका सुविधा लिइरहेको अवस्था रहेको छ”, प्राधिकरणले भनेको छ, “तर सीमित सेवा प्रदायकहरुले वर्षौदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दासमेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी (कार्यविधि) विनियमावली, २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने देखिँदैन ।”

यो उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । साथै इन्टरनेट अत्यावश्यक सेवा भएकाले भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी आम उपभोक्तालाई निर्वाध रुपमा सेवा उपलब्ध गराउन प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ । यो निर्देशन पालना नभएमा दूरसञ्चार ऐन, २०५३ लगायत प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ ।

संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।

यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिइएको छ । विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ । पार्क तथा समुद्र तटहरू बन्द गरिएका छन् ।खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेको थियो ।

युएईको विपद् व्यवस्थापन प्राधिकरणले आगामी मौसमी अवस्थालाई सामना गर्न तयारी दोहोरÞ्याएको छ । सम्बन्धित एजेन्सीहरू उपायहरू कार्यान्वयन गरेर पूर्वानुमानित मौसमको उतारचढाव सामना गर्न तयार रहेको उल्लेख गरिएको छ ।

यसअघि एनसिएम विज्ञले आगामी मौसमको अवस्था अप्रिल १६ को जस्तो नहुने अनुमान गरेका छन् । अधिकारीहरूले आवश्यक सावधानीका उपायहरूबारे छलफल गरेका छन् ।

युएईले विद्यार्थीहरूले विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयहरूका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ ।

सरकारले सम्भावित अस्थिर मौसमी अवस्थाका कारण दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ । ज्ञान तथा मानव विकास प्राधिकरण (केएचडिए) ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ ।

दुबई विमानस्थलका लागि पाँचवटा इनबाउन्ड उडान रातारात डाइभर्ट गरेको नौ आगमन तथा चार आउटबाउन्ड उडान रद्द गरेको विमानस्थलका प्रवक्तालाई उद्धत गर्दै खालिज टाइम्सले जनाएको छ ।

विमानस्थलका प्रवक्ताले भन्नुभयो, “दुबईको विमानस्थलबाट प्रस्थान गर्नेहरूलाई लागि थप समय छुट्याउन सल्लाह दिइएको छ । सडक भीडभाडको पूर्वानुमान गर्दै सम्भावित टर्मिनल १ र ३ मा पुग्न दुबई मेट्रोको उपयोग गर्न दृढतापूर्वक प्रोत्साहित गरिएको छ ।”इमिरेट्सले बिहीबार युएईभर खराब मौसमका कारण धेरै उडान रद्द गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन कम गरेको छ ।

एक विज्ञप्तिमा मे २ मा दुबई विमानस्थलबाट आगमन–प्रस्थान गर्ने उडानहरू पुनःर्निर्धारित भएका कारण केही ढिलाइ हुनसक्ने उल्लेख गरिएको छ ।फ्लाईदुबईका प्रवक्ताले बिहीबार दुबईमा प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा केही ढिलाइ भएको बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । उहाँले यात्रुहरूलाई डीएक्सबीको यात्राका लागि अतिरिक्त समय दिन सल्लाह दिनुभयो ।

शारजहास्थित एयर अरेबियाले अबुधाबी, शारजाह र रास अल खैमाहबाट उडान गर्ने यात्रुहरूलाई मौसमको अवस्थाका कारण विमानस्थलमा थप यात्रा समयको योजना बनाउन सल्लाह दिएको छ ।अबुधाबीस्थित इत्तेहाद एयरवेजले जायद अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीचको इत्तेहाद बस सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थलमा पुग्न थप समय दिन तथा स्थानान्तरणका लागि चाँडै जाँच गर्न आग्रह गरेको छ ।

इन्डियन एयरलाइन्स इन्डिगोले दुबई, शारजाह, रास अल खैमाह र अबुधाबीमा खराब मौसमका कारण उडान सञ्चालन प्रभावित भएको बताएको छ । भिस्तारा र स्पाइसजेटले पनि खराब मौसमका कारण प्रस्थान, आगमन र उडानमा असर पर्ने बताएका छन् ।

घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

गलकोट (बागलुङ) २१ वैशाखः घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका अग्नीपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यन्न सहयोग गरेका हुन् ।बुधबार दिउँसोबाट बस्ती नजिकैको जङ्गलमा लागेको आगो एक्कासी बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेको थियो । जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका छन् । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् ।

जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तीमा पसेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो । आगलागीपछि बिचल्लीमा परेको दुई परिवारलाई नगद, खाद्यान्न, लत्ताकपडा गरी करिब रु दुई लाख बराबरको राहत प्रदान गरिएको छ ।

यदुनाथको घर पूर्णरुपमा जलेर नष्ट भएको र घरमा कुनै पनि वस्तु नभएका कारण प्रारम्भिक चरणमा बागलुङ नगरपालिकाले लत्ता कपडा, र खाद्य सामग्री सहयोग गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्का सहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो ।

नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग हुन अन्य सामग्री प्रदान गरेको हो । नगरप्रमुख श्रेष्ठले पीडित परिवारलाई नगद राहत नगरस्तरीय विपत व्यवस्थापन समितिबाट छिट्टै प्रदान गर्ने बताउनुभयो ।

आगलागीबाट घाइते भएका गाई भैसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैसी बाख्राको व्यवस्थापनका गरिएको छ ।

आगलागीबाट पीडित यदुनाथ र ददिरामले व्यावसायीक रुपमा नै गाई तथा भैसीपालन गरेका थिए । उनीहरुले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगलागीपीडित परिवारलाई नेकपा (एमाले) बागलुङ अमलाचौरको तर्फबाट नगद रु ७५ हजारसहित २० हजारको खाद्यान्न सहयोग गरिएको सो पार्टीका अमलाचौरका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

यस्तै यदुनाथको परिवारलाई अमलाचौरबासीले रु २० हजार चार सय, नेकपा (माओवादी केन्द्र) अमलाचौरले रु २४ हजार दुई सय र अमलाचौर भजन समुहले नगद रु पाँच हजार सहयोग गरेको छ ।

यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिले खाद्यन्न र लत्ता कपडा सहयोग गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

आगलागीबाट यदुनाथको गोठमा रहेका दुई वटा भैसी, तीन गाई र पाँच वटा बाख्रा जलेर मरेका थिए । यस्तै ददिरामको दुई गोठ जलेका छन् भने गोठमा रहेका एउटा गाई र एउटा बाख्रा जलेर मरेका छन् । साथै दुई गाई र दुई भैसी घाइते भएका छन् । दिउँसो लागेको आगो बुधबार राति ११ बजे स्थानीय नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो ।

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो ।

आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिका–७ का परशुराम साह, पोखरा महानगरपालिका–१६ का यदुनाथ बञ्जरा, हेटौंडा उपमहागरपालिका–८ का इन्दप्रसाद बन्जरा र मेलाम्ची नगरपालिका–१० का आदित्य दहाललाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ । यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहाुदर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइवा, गल्कोट नगरपालिका बाग्लुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई आयोगले पुरस्कृत गर्नेछ ।

त्यस्तै, उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायव सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत हुनुहुनेछ ।
रस्कृत व्यक्तित्वहरूलाई भोली शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने विशेष समारोहबीच पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त एवं प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।

वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।

वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ ।यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको छ । यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुँवा धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ ।

हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ ।

भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ ।

प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कदा सबै नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलापजस्तै फोहर बाल्ने, कृषिजन्य अवशेष बाल्नेलगायतका क्रियाकलाप नगर्नसमेत विभागको अनुरोध छ । सानो लापर्वाहीका कारण वन डढेलोले ठूलो क्षति पु¥याउन सक्ने भएकाले सचेत हुनका साथै वन डढेलो नियन्त्रणका लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकारवाला निकायसँग हातेमालो समेत गर्नुहुन आम समुदायलाई विभागले अपिल गरेको छ ।

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर, २१ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिका‐६ देकोचा ख्वप कलेज अगाडि निर्माण सुरु भएको अरनिको सभाभवनको आज शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले अत्याधुनिक सुविधा सम्पन्न अरनिको सभाभवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले देकोचामा २३ वर्ष अगाडि जग्गा अधिग्रहण गरेको भएपनि स्थानीय निकाय भङ्ग हुँदा देश कयौँ वर्ष पछाडि धकेलिएको बताउनुभयो । सरकारको भरमा देशलाई विकास गर्ने सोच राखे हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ भन्दै अध्यक्ष बिजुक्छेँले व्यक्ति, समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरुको साँस्कृतिकस्तर पनि माथि उठ्ने थियो, सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाको लागि प्रयोग गर्दा देशमा भ्रष्टाचारजस्तो अपराधिक गतिविधि मौलाउँदै गइरहँदा देश र जनताको साह्रै चिन्ता लागेर आउँछ ।”

भक्तपुर नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको इतिहास र विकासक्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएका सामग्रीले महत्वपूर्ण तथ्यको रुपमा भूमिका खेल्ने बताउँनुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले अरनिको सभाभवन र ख्वप कलेज निर्माणको निम्ति जग्गा प्रदान गर्ने नगरबासी धन्यवादको पात्र भएको जनाउँदे अरनिको सभाभवनलाई जनअध्ययन गृहको रुपमा विकास गर्ने विषयमा नगरपालिकाले जोड दिनुपर्ने औँल्याउनुभयो ।

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसद्बाट पारित गर्नुपर्ने माग गर्दै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिकालाई दिए सस्तोमा चिकित्सा शिक्षा अध्ययन गराउन सक्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५८ सालमै तत्कालीन जनप्रतिनिधिले अरनिको सभाभवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको जनाउदै जगनाथ क्षेत्र सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण र उत्खनन् गर्नुपर्ने भएकोले अरनिको सभाभवन नयाँ ठाउँमा बनाउनुपरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, ज्योतिषाचार्य विरेन्द्रप्रसाद कायष्थ, भक्तपुर –६ का वडाध्यक्ष हरिराम सुवाल, भक्तपुर‐९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले छिटोभन्दा छिटो निमार्मण सउम्पन्न गर्नुपर्ने बताउनुभयो । अरनिको सभाभवनको वास्तुकला र संरचनाको ढाँचा भक्तपुर नगरपालिकाले निर्माण गर्ने र सभाभवनको मुख्य अडिटोरियम (मुख्य हल) एक हजार १०० जनाको क्षमताको रहेको, सभाभवन बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, चार वटा ‘रिहर्सल’ कक्ष रहनेछ ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

सुदूरपश्चिम,२१वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिइएको छ ।

आज अपराह्न ५बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सभामुखको निर्देशानुसार भोली शनिवार अपराह्न ५ः३०बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिलयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । प्रदेशसभाको आज आह्वान भएको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । यसअघि आजै विहान बस्ने तयभएको प्रदेशसभा,कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । सत्तासाझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने भनेपछि आजको बैठक स्थगित भएको नेकपा (एकीकृत समाजवादी)संसदीय दलका उपनेता प्रकाश रावलले बताउनुभयो ।

“सत्ता साझेदार दल सबैबाट मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा विश्वस्त छौं”उहाँले भन्नुभयो,“मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान भएको बैठकमा प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिवाद गर्ने कुरा उसको धर्म हो ।” सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै काँग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान भएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी(नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आजै निर्देशन (ह्वीप) जारी गर्नुभएको छ ।

सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री हुनुहुन्छ । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापन संरक्षक रेशमलाल चौधरी नेपाली काँग्रेस सहितको गठबन्धनको पक्षमा हुनुहुन्छ । नाउपामा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेत डगौराले विपक्षमा मत दिन ह्वीप लगाउनु भएको हो । यो पार्टीको आन्तरिक विवाद थप चर्किने देखिएको छ । नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र),नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य,स्वतन्त्र सदस्य डा.तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी यही वैशाख ६गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली काँग्रेसका १८,नेकपा (माओवादी केन्द्र)को सभामुख वाहेक १०,नेकपा (एमाले)को११,नागरिक उन्मुक्ति पार्टीको सात,नेकपा (एकीकृत समाजवादी) पार्टीका चार,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एक र एक स्वतन्त्र सदस्य छन् ।

कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन् । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको पूर्वबजेट छलफलका क्रममा अर्थमन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी आएका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो ।

“विगतमा करका दर घटाउने, बढाउने, विस्तार गर्ने, छुट दिने वा जे गर्दा पनि अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ”, मन्त्री पुनले भने, “मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन । यो हाम्रो प्रतिबद्धता हो ।”

करका दर संशोधन गर्दा पहिले कति थियो र आर्थिक ऐनमार्फत् किन बढाइयो वा घटाइयो भनेर तर्कपूर्ण कारण देखाएरमात्र हेरफेर गरिने उनको स्पष्टोक्ति थियो ।

त्यस्तै, मुलुकको भू–अवस्थिति, प्राकृतिक श्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको अर्थमन्त्री पुनले बताए ।

सरकारको नीति र नीतिगत निरन्तरताका कारण पर्यटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति भएको उल्लेख गर्दै अर्थमन्त्री पुनले युवा वर्गलाई लक्षित गरी सरकारले आगामी दिनमा सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई प्राथमिकतामा राख्नेसमेत बताए ।

पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धिदर चार दशमलव २३ प्रतिशतमात्र रहेको भन्दै उनले न्यून आर्थिक वृद्धिदर हासिल हुनुका कारण सबै मिलेर खोज्नुपर्ने वताए ।

तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको प्रतिफल बाहिर लैजान र बाहिर आर्जन गरेको प्रतिफल नेपाल ल्याउन दिने व्यवस्था गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजोटमाथि सुझाव लिन मन्त्रालयले यसअघि पूर्वअर्थमन्त्रीहरू, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वधार, स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरिसकेको छ । मन्त्रालयले निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

प्रसाशनले दियो मार्तडी कोल्टी बस सञ्चालनको लागी अस्थायी अनुमति

बाजुरा, २१ वैशाखः जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो हो ।

बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले राससलाई जानकारी दिनुभयो ।

बैठकले मार्तडी–कोल्टी सडकखण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँचवटा बस हुनुपर्ने निर्णय भएको उहाँले बताउनुभयो । बुढीनन्दा, बडीमालिका र बुढीगङ्गा नगरपालिकाले मर्मतसम्भार गरी सडक सञ्चालन गर्ने, सडक किनारका संरचना तत्काल हटाउन आवश्यक प्रबन्ध गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो ।

मार्तडी–कोल्टी सडकखण्ड निर्माण नभइसकेकाले तत्काल बस सेवा सञ्चालन गर्न कठिन हुने बस व्यवसायी रामचन्द्र गिरीले बताउनुभयो । “मार्तडी–कोल्टी ४२ किलोमिटर खण्डमा जिप चलाउन समस्या छ बस कसरी चलाउने ?”, उहाँले प्रश्न गर्नुभयो । मार्तडी–कोल्टी सडक शिलान्यास भएको २५ वर्ष बितिसक्दा पनि त्यो अझै पूरा भएको छैन ।

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका हुन्छः मुख्यमन्त्री

कर्णाली, २१ वैशाखः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ ।‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा पत्रकार एवं सञ्चारकर्मीहरूको सङ्घर्ष र योगदान रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेलले भन्नुभएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण र मजबुत पक्ष हो । नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्ले खेलेको भूमिका प्रशंसनीय छ ।”

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्त्वपूर्ण माध्यम भएको बताउँदै उहाँले पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

संविधानले प्रेस तथा सूचना प्रविधिसम्बन्धी कतिपय अधिकार प्रदेश सरकारलाई प्रदान गरेको भए तापनि तद्अनुसार कानुनी व्यवस्था नभएकाले पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवर्द्धनका लागि आगामी दिनमा प्रदेश सरकारको त्यसतर्फ ध्यान जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन, डिसी, २१ वैशाखः यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्राँै, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् ।

“हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले रासससँग कुरा गर्दै भन्नुभयो । मूर्ति लिन उहाँलाई हवाइ पठाइएको थियो । पुग्नुभएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उहाँले बताउनुभयो ।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । ।

यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी (नवलपरासी), २१ वैशाखः बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गर्नुभएको छ ।करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ । “पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताउनुभयो । सरस्वती जातको खरबुजा लगाउनुभएका उहाँले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताउनुभयो । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उहाँले बताउनुभयो । रु छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उहाँले बताउनुभयो ।

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताउनुभयो । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उहाँले बताउनुभयो । “यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्”, उहाँले भन्नुभयो । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उहाँले बताउनुभयो ।

रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताउनुभएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिनुभएको छ । कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहनुभएका उहाँ विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लाग्नुभएको हो । “रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

नेकपा (एस) चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन, २१ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’: मन्त्री शर्मा

काठमाडौँ, २१ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन भन्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले आज शुभकामना सन्देश जारी गरी सञ्चारजगत्लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।

सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता थप सुनिश्चित गर्नेगरी विगत एक वर्षदेख सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय–सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको राय–सुझावसमेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,” सन्देशमा भनिएको छ । उहाँले आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको छ भने आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको बताउनुभएको छ ।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा सरकार दृढ रहेको, प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका ‘डिजिटल’लगायतका चुनौती कम गर्न ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ जारी गरिएको, नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको बताउनुभएको छ ।

“पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै सम्झौता गर्ने छैन । विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ”, शुभकामना सन्देशमा मन्त्री शर्माले भन्नुभएको छ ।

‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ : अध्यक्ष दाहाल

काठमाडौँ, २१ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता कर्म गरिरहँदा सहादत प्राप्त गर्नुभएका पत्रकार सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

“विभिन्न राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । देशमा निरङ्कुशतन्त्रलाई हटाएर लोकतन्त्र स्थापनामा प्रेसजगत्ले निर्वाह गरेको भूमिका उच्च रहेको छ । नेपाली जनताले संविधानसभाबाट निर्माण गरेको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ”, सन्देशमा राष्ट्रियसभाका अध्यक्षले भन्नुभएको छ ।

राज्यले सञ्चार क्षेत्रको संरक्षण, संवर्द्धन एवं विकासका निम्ति आवश्यक नीति तथा ऐन कानुन निर्माण गर्न जरुरी भएको तथा प्रेस स्वतन्त्रता दिवस सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धता स्मरण गराउने र सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूले व्यावसायिक आचारसंहिता पालनामा प्रतिबद्ध रहने दिनका रूपमा लिनुपर्ने उहाँले बताउनुभएको छ ।

प्रेस स्वतन्त्रताबिना सुदृढ र उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन भन्ने विषयलाई मनन गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसले हामी सबैलाई नागरिक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहन एवं नेपाल र नेपाली जनताको हितमा काम गर्न प्रेरणा मिल्ने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।