`

राष्ट्रपति पौडेलद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ, २१ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उहाँले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताउनुभएको छ ।

“प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ ।

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउँदै राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।

सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्दै उहाँले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने बताउनुभएको छ ।

“समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्छन् । यस्ता अफवाहले नागरिकलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने गर्दछन् । त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मेहनत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु”, सन्देशमा भनिएको छ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रोसामु रहेको वास्तविकता औँल्याउँदै राष्ट्रपति पौडेलले यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।

“जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट हामीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । हाम्रो लामो राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेको छ । मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुँदै जानेछ भन्ने अपेक्षा गरेको छु”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ नाराले वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको देखिन्छ भन्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले पारेको असरको समीक्षा गर्दै त्यसबाट नागरिकलाई सचेत बनाएर यो सङ्कट निवारणमा सबैको भूमिकाको खोजी गर्न यो नाराले प्रेरित गर्ने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।

नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न प्रेसजगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

गाजा युद्धविरामको प्रस्तावको अध्ययन ‘सकारात्मक भावना’ बाट भइरहेको हमासको भनाइ

हमासका प्रमुख इस्माइल हानियेहले बिहीबार हमासले गाजामा करिब सात महिनादेखि जारी युद्धमा ‘सकारात्मक भावना’ का साथ युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताउनुभएको छ ।हमासको आधिकारिक वेबसाइटका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेललाई गरेको फोनमा हानियेहले कतार र अमेरिकासँगै वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले खेलेको भूमिकाको प्रशंसा गर्दै युद्धविराम प्रस्तावको अध्ययन गर्न अभियानको सकारात्मक भावनालाई जोड दिनुभयो ।

बेलायतका अनुसार मध्यस्थकर्ताहरूले राखेको युद्धविरामको प्रस्तावले ४० दिनका लागि युद्ध रोक्ने र दर्जनौँ बन्धक र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्नेछ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार इजराइलको भ्रमण गर्दै हमासलाई युद्धविराम योजनालाई स्वीकार गर्न आग्रह गर्नुभएको थियो । “हमासले स्वीकार गर्नुपर्छ र यो गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यदि हमास वास्तवमा प्यालेस्टिनी जनताको ख्याल गर्छ र उनीहरूको पीडामा तत्काल कमी हेर्न चाहन्छ भने उसले यो सम्झौता गर्नुपर्छ ।”

यद्यपि रिहा गर्न सकिने बन्धकहरूको सङ्ख्यालाई लिएर र कुनै पनि सम्झौताको उद्देश्यमा गहिरो मतभेद देखिएकाले वार्ताको परिणाम अत्यन्त अनिश्चित बनेको छ ।

हमासका वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले हमासको लक्ष्य ‘यो यद्धलाई समाप्त गर्नु’ रहेको बताउनुभयो । उक्त लक्ष्य इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको घोषित अवस्थाको विपरीत छ । उहाँले युद्धविराम समाप्त भएपछि पनि सेनाले हमाससँग लडिरहने वाचा गर्नुभएको छ ।

हालैका दिनमा हमासका अन्य अधिकारीहरूको टिप्पणीबाट युद्धविराम प्रस्तावमा हमास आन्दोलनको अवस्था अहिले ‘नकारात्मक’ रहेको देखाएको छ । तर बिहीबार हानियेहले आन्दोलनको प्रतिनिधिमण्डल ‘जारी छलफल पूरा गर्नका लागि’ सकेसम्म चाँडो इजिप्ट फर्किने पुष्टि गर्नुभएको छ । “ती वार्ताहरूको उद्देश्य हाम्रा मानिसको माग पूरा गर्ने र आक्रामकतालाई रोक्ने सहमतिमा पुग्नु हो”, उहाँले भन्नुभयो ।

इजिप्टको राज्य–सम्बन्धित मिडिया अल–काहेरा न्युजले बिहीबार इजिप्टका उच्चस्तरीय स्रोतलाई उद्धृत गर्दै ‘हमासको प्रतिनिधिमण्डल आगामी दुई दिनभित्र युद्धविराम वार्ता जारी राख्नका लागि कायरो पुग्ने’ बताएको छ ।

यसैबीच इजराइली सरकारका प्रवक्ता रकेला करमसनले बिहीबार पत्रकारहरूसँग ‘सम्झौतालाई रोक्ने एक मात्र हमास’ रहेको बताउनुभयो । “हमासले आफ्ना शर्तहरू कडा पार्छ र स्वयंलाई अनुचित मागहरूमा फसाउँछ”, उहाँले भन्नुभयो ।

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,नेपालसहित विश्वभर मनाइदै

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तरकारीले बजार नपाउँदा किसान मर्कामा, प्रतिकिलो १५ का दरले पनि मुस्किलले बिक्री

कञ्चनपुर- : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गर्नुभएको छ । उहाँले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोप्नुभएको छ ।

तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरैमात्रै बिक्री हुन थालेकामा गौतम चिन्तित हुनुहुन्छ ।“बजारमा तरकारी बेच्न लैजाँदा लागत खर्च नै उठनेगरी व्यापारीकै दरभाउमा बेच्नुपर्ने भएको छ”, गौतमले भन्नुभयो, “तरकारी उत्पादन गर्दा लागेको खर्च नै नउठ्ने भएपछि निराश भएका छौँ ।” उत्पादित तरकारी रु १० देखि रु १५ प्रतिकिलोका दरले पनि मुस्किलले बिक्री हुन थालेको उहाँले बताउनुभयो ।

“तरकारी उत्पादन गर्दा लागत खर्च नै प्रतिकिलो रु २० जति पर्ने गरेको छ, त्यसमा ढुवानी खर्च जोड्दा रु २२ प्रतिकिलोसम्म पर्छ, बारीमै कुहिनुभन्दा सस्तोमै बिक्री गर्न बाध्य छौँ”, गौतमले भन्नुभयो ।

व्यापारीले आधा किलोभन्दा बढी तौलका लौका, फर्सीलगायत तरकारी खरिद गर्न मान्दैनन् त्यही भएर बेच्न नपाएर बारीमै कुहिन थालेको दिलबहादुर चौधरीले बताउनुभयो ।

“बजार सानो छ, तरकारी उत्पादन धेरै छ, त्यही भएर पनि तरकारी बिक्री गर्न समस्या छ”, उहाँले भन्नुभया । किसानले उत्पादन गरेको तरकारी महेन्द्रनगर, अत्तरिया, कैलालीको धनगढीसम्म बिक्रीका लागि लैजाने गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, भीमदत्त, लालझाडी, कृष्णपुर, बेलौरीलगायत क्षेत्रमा अधिक तरकारी उत्पादन हुने गरेको छ ।

पहिला उत्पादित तरकारी नेपालगञ्ज, काठमाडौँ, बुटवलसम्मका व्यापारीले खरिद गरेर लैजाने गरेका थिए । हाल कैलाली कञ्चनपुरबाहेकका जिल्लामा तरकारी बिक्री नहुँदा किसानलाई तरकारी बेच्न समस्या भएको छ ।

“एकै गाउँबाट दैनिक कम्तीमा ५० क्विन्टल तरकारी उत्पादन हुने गरेको छ”, स्थानीय नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “बजार सानो छ, त्यही भएर सस्तोमै तरकारी बिक्री गर्न खोजे पनि खपत कम हुँदा बिक्री हुन पाएको छैन ।”

स्थानीय तह र जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले किसानले उत्पादन गरेको तरकारीको बजार प्रवर्द्धन गर्न आवश्यक रहेको किसानको भनाइ छ । व्यावसायिक तरकारीखेती गर्ने किसानलाई सरकारी तवरबाट प्रोत्साहित गर्न बीउबिजन, सिँचाइ, मलखाद, कृषियन्त्र र औजारमा अनुदान उपलब्ध गराउने कार्यक्रम अघि सारिएपछि त्यसको परिणामस्वरुप तरकारी उत्पादन गर्ने किसान बढेका छन् । स्थानीय किसानले उत्पादित तरकारी बिक्री गर्न बजार व्यवस्थापनको कार्यमा सहजीकरण गरिदिनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

मुगुमा यार्सागुम्बा सङ्कलन जेठ १५ गतेदेखि खुला गरिने, प्रतिव्यक्ति दुई हजार प्रवेश शुल्क  

मुगु-मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । 

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्सा सङ्कलन प्रवेश शुल्क निर्धारण गरिएको छ । अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरिएको छ ।

चैतदेखि पाटनमा यार्सा उम्रिने सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताउनुभयो । गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ ।

मुगुका पाटन क्षेत्रमा उम्रिने यार्सा सङ्कलन गर्न जिल्ला बाहिर र जिल्लाबासी बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन् । छोटो समयमा यार्सा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तीका काम गर्नसक्ने उमेर स्थानीय बुढापाका र बालबच्चा चौपाया बस्तु घरमा छाडेर पाटन उक्लिने गर्दछन् ।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन् । गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिकमात्रामा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयको अनुमान छ । मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा रु पाँच सयदेखि एक हजारमा बिक्री हुने गरेको छ । यार्सा सङ्कलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा सङ्कलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङ्दाङखोला, छापाखोलालगायत दुई दर्जन पाटनमा बढी यार्सा पाइने गरेको छ । यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्ला बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ र मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छे पाटनमा पुग्ने गर्दछन् । 

सङ्कलकबाट यार्सा खरिद गर्न काठमाडौँ, पोखरा, बझाङ, डोल्पाबाट व्यापारी हेलिकप्टरमै पाटनमा आउने गरेका छन् । गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका तीन जना सङ्कलकको हिउँपहिरोमा परी मृत्यु भएको थियो ।

विज्ञहरू भन्छन्-सूचना प्रविधि क्षेत्रमा धेरै सम्भावना छन्

काठमाडौँ- सूचना तथा प्रविधि क्षेत्रले विकासको प्रचूर सम्भावना बोकेकामा विज्ञहरु एकमत देखिएका छन् । सञ्चार तथा सूचना प्रविधि प्रयोगको तीव्र विकाससँगै प्रविधिमैत्री समाजको निर्माणले गति लिइरहँदा यसले रोजगारीका ढोका पनि खोलिरहेको उहाँहरूको भनाइ छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले कृषि, पर्यटनसँगै सूचना प्रविधि क्षेत्रले पनि विकासको प्रचूर सम्भावना बोकेको बताउनुभयो । उहाँले भन्नुभयो,“सूचना प्रविधिको क्षेत्र विशाल र सीमाविहीन छ । नेपालमै बसेर पनि विदेशमा काम गर्न सकिने सुविधासमेत भएकाले नेपालमा रहेका आइटी विज्ञ युवाले लाभ लिनसक्छन्”उहाँले भन्नुभयो । दत्तले अघिल्लो वर्षको एउटा अध्ययनले ६४ हजारले आइसिटी क्षेत्रमा काम गरिरहेको र नेपालमै बसेर डलर भित्र्याएका बताउनुभयो ।

मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ । नेपालमा विसं २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । पछि सन् १९९२ मा नेपालमा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को स्थापना थियो भने क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो ।

यो वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ मनाइयो । राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाले वर्तमान विश्वलाई सूचना तथा प्रविधिले हाकेकाकाले यसको यसको महत्व दिनानुदिन बढ्दैगएको बताउनुभयो । “सूचनाविना न मान्छे न त राष्ट्रले नै विकास गर्न सक्छ । अहिले त मानिसको जीवन नै सूचना प्रविधिसँग जोडिएको छ । त्यसर्थ सूचनाको सहज पहुँच गराउन र सूचनामा पारदर्शिताको खाँचो छ”, उहाँले भन्नुभयो ।

तीव्र आर्थिक विकासमा सूचना प्रविधिको उपयोग अपरिहार्य रहेकोले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ अगाडि बढाएर हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य हासिल गर्न युवा जनशक्तिको क्षमतामा अभिवृद्धि गन जरूरी रहेको मन्त्रालयका सहसचिव दत्तको भनाइ छ । उहाँ भन्नुहुन्छ,“सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित वर्षभरीको प्रगति, यस क्षेत्रमा देखिएका चुनौती र आगामी कार्यजनाको छलफल गर्न पनि यो दिवस मनाउछौँ । हाम्रो मुख्य लक्ष्य युवा केन्द्रित हुनुपर्छ र त्यसका लागि युवाको क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक छन् ।”

उहाँले यो क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षबाट ‘हाइ स्किल प्रोगाम’ ल्याउने र त्यसले सूचना प्रविधिको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । भर्खरै सम्पन्न तेस्रो लगानी सम्मेलनमा डाटा सेन्टर स्थापनाका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको र सोसम्बन्धी काम अगाडि बढे थप सहजता हुने धेरैको विश्वास छ ।

सहसचिव दत्तले आइटी पार्क वा टेक्नो पार्कको अवधारणाबारे सोच निर्माण भइरहेको र वैदेशिक लगानीका माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीलाई नेपाल भित्र्याउन नीति तथा कानुनमा सुधारका काम पनि सँगसँगै अगाडि बढाइने बताउनुभयो । युग सुहाउँदो पूर्वाधार र प्रतिस्पर्धी क्षमता विकासमा पनि सरकारले आवश्यक काम गर्ने उहाँको भनाइ छ । “हामीलाई हाइस्पिड इन्टरनेट, सबै ठाउँमा अप्टिकल फाइबर र सोहीअनुसारको ब्रोडब्याण्ड कनेक्टिीभिटी र सफ्टवेयरको विकास पनि जरूरी छ । सरकारले यस विषयमा पनि आवश्यक काम गर्छ”, उहाँले भन्नुभयो ।

विज्ञहरूले सूचना तथा सञ्चार प्रविधिलाई विश्वव्यापी रूपमा नै देश विकासको प्रमुख आधार मान्ने गरिएकाले नेपालले पनि यसलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार निर्माण र क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता औँलयाउनुभएको छ ।

मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले यस क्षेत्रमा सरकारले सुधारका प्रयास बढाउँदै लगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“आइटी क्षेत्रमा सरकारले प्रयास गरिरहेको छ । हालसम्म धेरै राम्रा काम पनि भएका छन् । पेपरलेस एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पनि विगत दुई वर्षदेखि सञ्चालनमा छ । यसले सेवाप्रवाहमा थप सहजताका लागि थपिएको छ । अरु क्षेत्रमा पनि सुधारका काम भइरहेका छन् ।”

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

काठमाडौँ- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गर्नुभएको हो ।

सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ ।

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ: मुख्यमन्त्री यादव

राजविराज (सप्तरी-मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे बिहीबार जानकारी लिनेक्रममा मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

उहाँले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उहाँले समस्याबाट नआत्तिन पीडित परिवारलाई आग्रह गर्नुभयो ।“केही दिनभित्रै प्रदेश सरकाले अग्निपीडितका लागि राहतप्याकेज घोषणा गरी पीडित परिवारका घर निर्माणको काम सुरूआत गर्नेछ । प्रदेश सरकार तपाईँहरुको साथमै छ त्यसैले सँगसँगै मिलेर समस्याको सामना गरौँला”, उहाँले भन्नुभयो ।

त्यसअवसरमा मधेस प्रदेशका वन तथा पर्यटनमन्त्री भरतप्रसाद साह, पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन, किरण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय जनप्रतिनिधिलगायत विभिन्न पार्टीका नेताहरूले चिम्टीका अग्निपिडितहरुको समस्या बारे जानकारी लिनुभएको थियो ।

अनुकरणीय बन्दै आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी- रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवा रमेश आचार्य यतिखेर अन्यका लागि पनि अनुकरणीय बन्नुभएको छ । स्नातकसम्म्को अध्ययन गर्नुभएको उहाँ आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतका अनुभव सगाल्दै अहिले भने व्यावसायिक कृषिमा निरन्तर क्रियाशील बन्नुभएको हो । विगत चार वर्षअघि तिखे ढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लाग्नुभएका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदी खोला तिखे ढुङ्गामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ ।

आफ्नो् फर्म अन्तर्गत हाल लगभग २० रोपनी क्षेत्रफलमा मकै खेती, दुई रोपनी क्षेत्रफलमा खरबुजा, काँक्रो, लसुन, प्याज आदिको खेतीसँगै २० वटा भैँसीपालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।“फर्ममार्फत बहुउद्देश्यीय रुपमा पशुपालन तथा अन्य कृषिजन्य उत्पादन गरिरहेको छु”, उहाँले भन्नुभयो, “मैले गतवर्ष मात्रै १५ वटा लैना भैँसी बिक्री गरेको थिएँ ।” उहाँले गतवर्ष प्रति लैनो भैँसी लगभग ९५÷९६ हजार सम्ममा बिक्री गर्नुभएको थियो । व्यावसायिक कृषिमा लाग्ने हो भने जो कोहीले सामान्य रुपमा पनि मासिक ५०÷६० हजारसम्मको आम्दानीका लागि विदेशिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

व्यावसायिक कृषिमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले दुई रोपनी क्षेत्रफलमा लगाउनुभएको खरबुजा अब उत्पादन दिने क्रममा छ । अघिल्लो वर्ष परीक्षणस्वरुप १५÷२० बोट लगाएका उहाँले त्यसकै अनुभवका आधारमा अहिले लगाएको खरबुजाले राम्रो उत्पादन दिने विश्वास व्यक्त गर्नुभयो । सुरौदी फाँटमा व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताउँदै उहाँले हाल परीक्षणका रुपमा लगाएको लसुन तथा प्याज पनि राम्रो फलेको अनुभव सुनाउनुभयो । आचार्यको व्यावसायिक कृषिको लगावमा परिवारको पनि राम्रो साथ र सहयोग छ ।

उहाँलाई श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययन गरिहेका छोराछोरीले पनि साथ दिइरहेका छन् । सुरौदी फाँटमा व्यावसायिक कृषिको धेरै सम्भावना भएर पनि यसतर्फ अन्यलाई आकर्षित गर्न भने अझै नसकिएको उहाँको बुझाइ छ । राष्ट्रव्यापी ठूलो समस्याका रुपमा देखिएको बाँदरको समस्या सुरौदीमा पनि रहेको बताउँदै उहाँले वरपरका सबै मिलेर पालो लगाएर बाँदर कुर्नुपरेको दुःखेसो गर्नुभयो । थप दुई चार जना व्यवसायिक खेती गर्ने साथी भएमा मिलेर धेरै उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

बजारीकरणमा खासै समस्या छैन

उत्पादन गर्न सकेमा यहाँ उत्पादित कृषिजन्य वस्तुको बजार समस्या नरहेको आचार्यले बताउनुभयो । आफ्नो फर्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको उल्लेख गर्दै उहाँले सुरौदीसम्म जाने बाटोलाई थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पु¥याउन सहज हुने धारणा राख्नुभयो ।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउनुहुन्छ । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँका उपलब्ध पानीका स्रोतलाई उत्पादनसँग जोड्न सकिने उहाँले बताउनुुभयो । सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै गएका छन् ।

कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिए पनि त्यसले अपेक्षित गति लिन भने नसकेको स्थानीयको गुनासो छ । जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्यूरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका खेतीयोग्य भू–भाग खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालन आदिबाट पनि आम्दानी गर्न सकिने किसान बताउँछन् ।

दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेका छन्ः उपप्रधानमन्त्री महासेठ

काठमाडौँ- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउनेभएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलेले हालको लाइसेन्स वितरण कार्यलाई थप प्रभावकारी बनाउन लागिएको बताउनुभयो ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बिहीबारको बैठकमा उहाँले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिनुभयो । “अहिले सबैभन्दा ठूलो समस्या लाइसेन्सको छ । विभिन्न कारणले लाइसेन्स छपाइ बन्द थियो । करिब एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका छन्, यसलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ”,उपप्रधानमन्त्री महासेठले भन्नुभयो ।

लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीब्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताउनुभयो । त्यसैगरी उहाँले राष्ट्रिय राजमार्गको मर्मत र स्तरोन्नतीको कामलाई परिणाममुखी बनाइने तथा राष्ट्रिय गौरबका आयोजनालाई थप गतिशील बनाउन योजनाबद्ध रूपमा काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

५० अर्ब भुक्तानी दायित्व

उपप्रधानमन्त्री महासेठले निर्माण व्यवसायीको झण्डै रु ५० अर्ब भुक्तानी दायित्व बाँकी रहे पनि हाल आन्तरिक रूपमा केही व्यवस्थापन गरेर निर्माणका काम भइरहेका बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र रणनीतिक सडकलाई विशेष प्राथमिकता दिने, कतिपय सडकलाई यस वर्ष सम्पन्न गर्ने र सम्भव नभए एक सय ६५ सडक अर्को वर्ष प्राथमिकता राखेर अगाडि बढाइन बताउनुभयो ।

यस्तै उत्तर–दक्षिण सडक निर्माणको काम चाँडो गर्नेगरी लागिपरेको र कर्णाली र सुदूरपश्चिम प्रदेशको सडक, कर्णाली करिडोर, भेरी करिडोलगायतलाई विशेष प्राथमिकता दिने अगाडि बढाइने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पनि निर्वाचन क्षेत्र विशेष रणनीतिक सडकलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले स्वीकृत गरेका राष्ट्रिय राजमार्ग ८० वटा छन् । तिनको नियमित मर्मतसम्भारको काम भइरहेको छ । हरेक पाँच वर्षमा सडक ‘ओभरले र रिफिलिङ’ गरिँदैआएको छ ।

सचिव सिग्देलका अनुसार राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण राजमार्गको कामलाई पनि नियमित भइरहेको छ । जसमध्ये पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ८० प्रतिशत भौतिक प्रगति भएको छ भने आयोजनामा हालसम्म रु ६७ अर्ब खर्च भइसकेको छ । करिब एक हजार आठ सय किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । यस्तै, हुलकाकी राजमार्ग एक हजार सात सय ९८ किलोमिटर सडक निर्माणकार्य भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको छ । उत्तर–दक्षिण सडक निर्माणको काम विभिन्न समस्याका कारण प्रभावकारी बनाउन नसकिएको सचिव सिग्देलले बताउनुभयो ।

समितिका सभापति दीपकबहादुर सिंहले महाकाली करिडोर सडकलाई प्राथमिकताका साथ अगाडि बढाउन भौतिक मन्त्रालयलाई निर्देशन दिनुभयो । बैठकमा सांसदहरुले सडकमर्मत, स्तरोन्नती र गुणस्तरीय निर्माण ध्यान दिन आग्रह गर्नुभयो । साथै उहाँहरुले सडक निर्माणले गति नलिँदा धुँवाधुलोले जनजीवन प्रभावित बनिरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने

काठमाडौँ- नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले  हस्ताक्षर गर्नुभएको छ ।

पाल्पा सिमेन्टकोप्रति कित्ता रु एक सय अङ्कित ७५ लाख कित्ताबराबर हुन आउने रु ७५ करोडको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा, २० वैशाख: सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण जमिन खाली गराउन स्थानीयले आग्रह गरेका छन् । विसं २०७६ माघ २४ गतेदेखि अतिक्रमित जग्गा खाली गराउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको भन्दै स्थानीयले यस्तो आग्रह गरेका हुन् ।

अभियन्ता शुभेन्द्रकुमार साहले जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई लिखितरूपमा ज्ञापनपत्र बुझाएको बताउनुभयो । “सार्वजनिक सम्पत्ति हामी सबैको हो । त्यसैले नागरिकको कर्तव्य ठानेर अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन माग गरेका हौँ”, अभियन्ता साहले भन्नुभयो । आफ्नो माग सुनुवाइ नभए अब सत्याग्रह (आमरण अनशन) बस्नुपर्ने अवस्था आउने पनि उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भने मागसम्बन्धमा सत्यतथ्य बुझि आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । अतिक्रमित जग्गामा अहिले विभिन्न ११ परिवारले घर टहरा बनाएर बसोबास गरिरहेका छन् ।

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

काठमाडौँ, २० वैशाख: सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिनेभएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “प्रसारित अडियोसामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नुनपर्ने हो । त्यसरी कारवाही गर्नुनपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनु ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।

सो विषयमा सो अनलाइनका प्रकाशक कँडेलसँग बयानलिने काम आज सम्पन्न भएको छ भने सम्पादक नवीन ढुङ्गानालाई शुक्रबार १० बजे बयानका बोलाइएको छ ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गर्नुभएको थियो । सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु

गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ ।

पूर्वी अफ्रिकामा हालका साताहरूमा मुसलधारे वर्षा भइरहेको छ । यसबाट यस क्षेत्रका केही भाग विशेषगरी केन्या र तान्जानियालाई ध्वस्त बनाएको छ र सयौँको ज्यान गएको छ । 

ताङ्गानिका तालको उत्तरपूर्वी तटमा रहेको बुरुन्डीको प्रमुख सहर बुजुम्बुरामा धेरै क्षेत्रमा बाढी आएको छ र सडक तथा पुल क्षतिग्रस्त भएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया एजेन्सी ओसिएचएले बुधबार अपडेटमा भनेको छ, “अल निनो घटनाका कारण मुसलधारे वर्षा, बाढी र पहिरो निम्त्याएको छ ।”

अप्रिल २६ सम्म दुई लाख ३७ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । विस्थापित ४२ हजारमध्ये आधाभन्दा धेरै महिला रहेको अपडेटमा उल्लेख छ । यस अवधिमा २९ जनाको मृत्यु र एक सय ७५ जना घाइते भएका छन् । 

अफ्रिकाको सबैभन्दा दोस्रो ठूलो ताल ताङ्गानिकाको स्तर लगातार बढिरहेको ओसिएचएले चेतावनी दिएको छ । बुरुन्डी सरकार र राष्ट्रसङ्घले गत महिना अविरल वर्षाको ‘विनाशकारी प्रभाव’ को सामना गर्न वित्तीय सहयोगका लागि अपिल सुरु गरेका थिए ।

यो अवस्थालाई लिएर राष्ट्रपति इभारिस्ट नदायिशिमियेको सरकारको विशेषगरी नागरिक समाज समूहरूबाट आलोचना भइरहेको छ । उनीहरूले अधिकारीहरूसँग आपत्कालीन अवस्था वा प्राकृतिक प्रकोपको अवस्था घोषणा गर्न आह्वान गरेका छन् । 

अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ ।

सरकारद्वारा संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ, २० वैशाख: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले वैशाख २८ गते शुक्रबारका दिन अपराह्न २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले बताउनुभयो ।

त्यसैगरी जापानी परराष्ट्रमन्त्री कामिकावा योकोको आइतबार हुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी अख्तियारी दिने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त द्विपक्षीय वार्ताका लागि कार्यसूचीसमेत स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ, २० वैशाख: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्यूरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिनुभयो ।

सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री दाहालले नेपालको सामाजिक र आर्थिक विकासमा युएनडिपीले सहयोग गर्दैआएको भन्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा युएनडिपीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रसङ्घका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–युनडिपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, २० वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उहाँले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्नेमा बताउनुुभयो । अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्बसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरि आम्दानीवृद्धि हुनुपर्ने उहाँको भनाइ थियो । “म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरूगरेको थिए । मलाई हटाइएपछि त्यो अभियान रोकियो । अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाए”, उहाँले भन्नुभयो,“त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ । तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने अधिकारप्रति उत्तरदायी हुनुपर्दछ ।” उहाँले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताउनुभयो ।सङ्गठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सर्लाहीमा आगलागीः विष्णु गाउँपालिका—१ बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले

बरहथवा (सर्लाही), २० बैशाख: सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो ।

दिउसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताउनुभयो । ‘‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो”, उहाँले भन्नुभयो ।

स्थानीय विनय सिंहले एउटा घरमा लोगेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताउनुभयो ।नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताउनुभयो । उहाँले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको बताउनुभयो ।त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।

जोखिम नक्साङ्कन गरेर विपद् व्यवस्थापनमा जुट्दै कोशी प्रदेश

झापा, २० वैशाख- कोशी प्रदेश सरकारले बाढी,पहिरो, आगलागी, चट्याङ र जङ्गली जनाबरको आक्रमणबाट निम्तिने जनधनको क्षति न्यूनिकरणका लागि विपद् व्यवस्थापनको नीति तथा योजनाहरु निर्माण गरेको छ ।

प्रदेशको १४ जिल्ला र १३७ पालिका समेटिने गरी ‘प्रदेश विपद् जोखिम नक्सांकन’ कार्य भइरहेको र विपद् व्यवस्थापनमा डिजिटल प्रविधिको उच्चतम् प्रयोगमा ध्यान दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाले बताउनुभयो ।“कहाँ कहाँ जोखिम छन् भनेर मोवाइल एप्समार्फत नक्सांकन गरेका छौं,” उहाँले भन्नुभयो,“त्यही आधारमा विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण, उद्धार तथा राहत कार्यमा स्थानीय पालिकासम्म निर्माण गरिएका संरचनामार्फत पूर्वतयारीका साथ जुट्छौं ।” यस कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको सक्रिय भूमिका रहने उहाँले बताउनुभयो ।

सबै पालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र र चार–चार वटा पालिकालाई समेटेर प्रदेशको चार स्थानमा एकीकृत सेवा केन्द्र स्थापना गरेर विपद् व्यवस्थापन कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

तीन वर्षमा ६९२ जनाको मृत्यु
कोशी प्रदेशमा बिगत तीन वर्षमा बाढी पहिरो, चट्याङ, आगलागी र जंगली जनावरको आक्रमणबाट ६९३ जनाको मृत्यु भएको छ । यसमा सबैभन्दा बढी मृत्यु बाढी पहिरोबाट भएको छ । ाव २०७७÷०७८, आव २०७८÷०७९ र आव २०७९÷०८० मा बाढी पहिरोबाट ५७८ जनाको मृत्यु भएको छ भने रु. सात अर्ब ४२ करोड ३१ लाख ५२ हजार मूल्य बराबरको धनमाल क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार आव २०७७÷०७८ मा ५५ जना, २०७८÷०७९ मा पाँच जना र २०७९÷०८० मा २३ जनाको मृत्यु बाढी पहिरोबाट भएको थियो ।सोही तीन वर्षको अवधिमा आगलागीबाट ५२ जनाको मृत्यु भएको छ भने रु सात अर्ब १२ करोड ११ लाख सात हजार मूल्य बराबरको धनमाल क्षति भएको छ ।

आव २०७७÷०७८ मा २२ जना, २०७८÷७९ मा १५ जना र २०७९÷८० मा १५ जनाको मृत्यु आगलागीबाट भएको थियो । जङ्गली जनावरको आक्रमणबाट सोही तीन वर्षको अवधिमा ३२ जनाको मृत्यु भएको छ भने रु दुई करोड ११ लाख २१ हजार मूल्य बराबरको धनमाल क्षति भएको छ । आव २०७७÷ ७८ मा १४ जना, २०७८÷७९ मा आठ जना र २०७९÷८० मा १० जनाको मृत्यु जङ्गली जनावरको आक्रमणबाट भएको थियो ।

चट्याङबाट सोही तीन वर्षको अवधिमा ३० जनाको मृत्यु भएको छ भने रु दुई करोड दुई लाख ८० हजार मूल्य बराबरको धनमाल क्षति भएको छ । आव २०७७/७८ मा १५ जना, २०७८/७९ मा छ जना र २०७९/ ८० मा नौ जनाको मृत्यु चट्याङबाट भएको थियो ।
चालू आव २०८०/८१ मा पनि विपद्का कारण जनधनको क्षति भइरहेको छ । गत पुसदेखि चैत मसान्तसम्मच चार महिनामै आगलागीका ४८८ घटना कोशी प्रदेशमा भएका छन् । यसमा १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् ।

कोशी प्रदेशको विपद् व्यवस्थापन समितिका सदस्य रामकुमार दाहाल प्रदेशमा बाढी पहिरो, आगलागी र चट्याङ नै विपद् निम्त्याउने मुख्य कारक रहेको बताउनुहुन्छ । तीन वटै तहको सरकारले मिलेर विपद् व्यवस्थापनमा सहकार्य गरेमात्र यसका चुनौतिहरुको सहज सामना गर्न सकिने उहाँको धारणा रहेको छ ।

चालू आव २०८०/८१ मा भएका घटनालाई विश्लेषण गर्दा प्रदेशमा कूल विपद्का घटनामा आगलागीले ७२ प्रतिशत, चट्याङले १० प्रतिशत, पहिरोले सात प्रतिशत, बाढीले छ प्रतिशत र बन्यजन्तुले पाँच प्रतिशत स्थान ओगटेको विपद् व्यवस्थापन विज्ञ दाहालले बताउनुभयो ।

एघार वटा कानुन र कार्यविधि पारित

विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई नीतिगत व्यवस्थामार्फत व्यवस्थित तुल्याउन कोशी प्रदेश सरकारले दुईवटा प्रादेशिक उच्चस्तरीय विपद् समिति गठन गरेको सहसचिव थापाले बताउनुभयो ।उहाँका अनुसार मुख्यमन्त्रीको अध्यक्षतामा सबै मन्त्री, विपक्षी दलका प्रमुख, प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता, प्रदेश सचिव, सबै मन्त्रालयका सचिव, सेना र प्रहरीका प्रदेश प्रमुखहरु र विज्ञहरुको सहभागिता रहने गरी प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरिएको छ ।


यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा प्रदेश विपद् कार्यकारी समिति गठन गरिएको छ । जसमा नौ वटै मन्त्रालयका सचिव, प्रहरीका सबै प्रमुख, रेडक्रस लगायतका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । गठन भएको परिषद्ले नीति र योजना बनाउने कार्य गर्दछ भने समितिले खोज, उद्धार, राहत वितरण कार्यमा प्रभावकारिता ल्याउन परिषद्बाट स्वीकृत नीति र योजनाको अधिनमा रही संघ, प्रदेश र स्थानीय तह लगायत सरोकारवालासँग समन्वय तथा सहकार्य गरेर विपद् व्यवस्थापनको कार्य अघि बढाउने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले विपद् व्यवस्थापनसँग जोडिएका ११ वटा कानून तथा कार्यविधि निर्माण गरिसकेको छ । यिनै कानूनी व्यवस्थाका आधारमा विपद् व्यवस्थापन सम्बन्धी कार्यहरु भइरहेको हो ।

उहाँका अनुसार प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ (संशोधन २०७९) लागू भइसकेको छ भने विपद् सम्बन्धी खोज, उद्धार तथा राहत वितरण मापदण्ड २०७६ कार्यान्वयनमा आइसकेको छ ।प्रदेश सरकारले विपद् व्यबस्थापन कोष सञ्चालन कार्यविधि २०७५, प्रदेश भण्डारगृह सञ्चालन कार्यविधि २०७७, प्रदेश विपद् व्यवस्थापन नीति २०७९, मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र संचालन तथा व्ययस्थापन कार्यविधि २०७९, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी कार्ययोजना २०७८, शिक्षा क्षेत्रको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि २०७६ पारित गरिसकेको छ । प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्य योजना भने पारित हुन बाँकी छ ।

चार एकीकृत सेवा केन्द्र

प्रदेश सरकारले १४ वटै जिल्ला र १३७ वटै पालिकाको विपद् जोखिम नक्सांकनका लागि ‘मोवायल एप्स’ निर्माण गरेको छ । यसमा ‘डाटा अपलोड’ कार्य धमाधम भइरहेको जनाइएको छ । प्रदेश विपद् जोखिम नक्सांकनका लागि जिल्ला तथा स्थानीय तहमा कार्यशाला गोष्ठीहरु भइसकेको छ ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत ४ वटा एकीकृत सेवा केन्द्र स्थापनाका लागि सम्झौता भई भवन निर्माण प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।मोरङको रंगेली, सुनवर्षी, धनपालथान र कानेपोखरीलाई समेटेर एउटा एकीकृत सेवा केन्द्र निर्माण गरिएको छ भने झापाको अर्जुनधारा, कनकाई, बुद्धशान्ति र विर्तामोडलाई समेटेर अर्को सेवा केन्द्र बनाइएको छ । यी दुबै सेवा केन्द्रको सम्झौता सम्पन्न भई रु. चार करोड रकम भुक्तानी गइसकेको प्रदेश सरकारले जनाएको छ ।

राह क्षेत्र, कोशी, भोक्राहा र नरसिंहलाई समेटेर एउटा र आठराई र फेदापलाई समेटेर अर्को केन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ । स्थानीय स्तरमा विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी कार्य गर्न स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको र १३७ वटै स्थानीय तहमा कम्प्यूटर, प्रिन्टर र एन्ड्रोइड मोवायल उपलब्ध गराइएको उपसचिव थापाले बताउनुभयो ।

सबै जिल्लामा कमसेकम एउटा दमकल र सवारी साधन उपलब्ध गराइएको र १४ वटै जिल्ला प्रशासन कार्यालयलाई मोटरसाइकल उपलब्ध गराइएको उहाँले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री सहयोग गरिएको र सवारी साधन पुग्न कठिनाई हुने स्थानमा राहत तथा विपद् सामग्री पुर्याउन हेलिकोप्टर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

चालु आव २०८०/८१ मा कोशी प्रदेशका नौ जिल्लाका ५७ जना आगलागी पीडितलाई रु. २८ लाख १५ हजार र आगलागी र बाढीबाट मृत्यु, वेपत्ता र मृत्यु घोषणा भएका ३५ जनाको परिवारलाई रु १३ लाख ७० हजार राहत वितरण गरिएको उहाँले बताउनुभयो । विपद् प्रभावित परिवारको निजी आवास पुनर्निमाणका लागि लागत साझेदारीमा झापा, भोजपुर, पाँचथर, इलाम, ताप्लेजुङका ४५७ परिवारलाई चालू आवमै रु. एक करोड १४ लाख ४५ हजार उपलब्ध गराइएको छ ।

सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह

काठमाडौँ, २० वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अघि बढाउन आग्रह गर्नुभएको छ ।प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा मन्त्री शर्माले राष्ट्रियसभाबाट पारितभएको विधेयकलाई आवश्यक सुधारसहित पारित गर्न समिति सदस्यहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले विधेयकमा तत्काल नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था रहेका भन्दै सो विधेयक विगतको पृष्ठभूमिका आधारमा तयार गरिएको र थप समृद्ध बनाउन जरूरी रहेको धारणा राख्नुभयो ।

त्यस्तै, मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले विगतमा समितिको प्रतिवेदन र सरकारको नीतिका आधारमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था गरिएको बताउनुभयो ।बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई थप परिमार्जन गर्ने सम्बन्धमा सुझाव व्यक्त गर्नुभएको थियो।

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ, २० वैशाख : मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ । वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

“उक्त कार्य सम्पन्नपश्चात् पानीमाथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य फाउन्डेसनका कार्य गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “अहिले पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम भइरहेको छ ।” हालको पुलबाट करिब ५० मिटर पर नयाँ पुल निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता छ ।” उक्त राजमार्गमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका जारी छ ।

बर्खा यामका लागि प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी, २० वैशाख : अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।

मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ ।

गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् । जिल्लाका सबैजसो स्थानीयतहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेक हो ।

“कि करु ? खाना त खाइपरत, अइकेलेल जोगार त कर परल नई” (के गर्नु ? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नै प¥यो नि) धमाधम गुइँठा बनाउँदै भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्नुहुन्छ, “अखैन जोगार नइकरब त बर्खामें दिकत होयत” (अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ) । बर्खामा गुइँठा चाँडै बल्ने र सल्केपछि ननिभ्ने भएपछि गृहिणी यसमा खाना पकाउन अभ्यस्त भएका छन् ।

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ । बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउनुहुन्छ ।

यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउन व्यस्त भएका हुन् । घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिना जति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाउनुपर्ने बाध्यता छ । तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

“खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै बर्दिबास–७ का विन्देश्वर यादव भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।” अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वरा शक्ति ह्रास भएर यहाँका जग्गा बेकामे बन्ने किसान बताउँछन् ।

आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

काठमाडौँ, २० वैशाख- सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ । सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्वपूर्ण आधार बन्दै गएको यो सन्दर्भमा यो क्षेत्रमा युवाहरुलाई थप आकर्षित गर्न र उद्यमशीलता तथा नवप्रवद्र्धनमा प्रोत्साहित गर्न यो वर्षदेखि सरकारले केही नयाँ कार्यक्रम गर्ने योजना अघि बढाएको छ ।

सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सरकारले जसरी सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको छ, यसमा सूचना प्रविधि महत्वपूर्ण आधार बन्नेछ । आज हामी ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइरहेका छौँ । नेपाल सरकारले मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउने निर्णय गरेसँगै हरेक वर्ष आजको दिन यो दिवस मनाउने गरिन्छ ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको छ । सरकारले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, वित्त, सहरी पूर्वाधारलगायत सबै क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याएको भएता पनि यसमा सन्तोषजनक प्रगति हुन सकिरहेको छैन । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा डिजिटलाइजेसनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोगमा उल्लेख्यरुपमा बढोत्तरी आएको छ । सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले यसलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरिसकेको छ । आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ । दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरुमा विद्युतीय प्रणालीको उपयोग बढेको छ । राष्ट्रिय परिचयपत्र, एमआरपी, सवारी चालक अनुमतिपत्र, नागरिक एप, एकीकृत कार्यालय व्यस्थापन प्रणाली, कम्पनी दर्ता तथा नवीकरण, कर भुक्तानी जस्ता सेवा प्रवाहका कार्य विद्युतीय प्रणालीबाटै गर्ने गरिएको छ ।

डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ । डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ । सबै सरकारी निकायहरुका लागि प्रयोगमा ल्याउने उद्देश्यले एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । यसबाट हरेक निकायले छुट्टाछुट्टै वेबसाइट विकास गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट हरेक निकायले सफ्टवेयर विकास तथा मर्मत सेवामा गर्ने खर्च कटौती हुन पुगेको छ ।

सूचना प्रविधिको प्रयोगका कारण नागरिकले घरैमा बसेर राज्यले प्रदान गरेका सेवाहरु लिन सक्ने अवस्थाको सुरुआत भइसकेको छ । देशका अधिकांश भू–भागमा दूरसञ्चार र अधिकांश वडा केन्द्रमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ । नेपाल टेलिकमले ७५ जिल्लामा फाइबरमार्फत इन्टरसनेट सेवा विस्तार गरेको छ भने हालसम्म २५ हजार किलोमिटरभन्दा बढी अप्टिकल फाइबर विस्तार गरिएको छ ।

नीतिगत व्यवस्थामा जोड

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ । तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको छ ।

सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको छ । साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने त्यसकै आधारमा राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ भने दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ ।

त्यस्तै सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्यान्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ । दूरसञ्चार क्षेत्रमा फाइभजी लगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको छ । निजी क्षेत्रबाट डाटा सेन्टर सञ्चालन गर्न उपयुक्त वातवारण सिर्जना गर्न कानुन तथा मापदण्डको तत्काल तर्जुमा गरिदैछ । डिजिटल पूर्वाधारको महत्वपूर्ण आधार दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ । विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर हामीले जतिसक्यो चाँडो आवश्यक नीति र कानुन बनाउनुपर्ने छ ।

आर्थिक समृद्धिको आधार

अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्छ, सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिन्छ । हामीले लामो समयदेखि नेपालमा कृषि, जलस्रोत र पर्यटनलाई आर्थिक समृद्धिको आधार मान्दै आएका छौँ र यसकै आधारमा गरिने उत्पादन र उत्पादकत्व वृद्धिलाई आर्थिक विकासको सूचकको रुपमा हेर्दै आएकामा अब आर्थिक विकासको थप आधारको रुपमा सूचना प्रविधिलाई जोडेर लैजाने नीति अख्तियार गर्नु जरुरी छ । एकातिर सूचना प्रविधि आफैँमा छुट्टै उत्पादनमूलक क्षेत्रको रुपमा स्थापित हुँदै आएको छ भने अर्कोतिर हरेक क्षेत्रलाई सूचना प्रविधिको प्रयोगमार्फत अघि बढाउन सकिने अवस्था छ ।

सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र होइन, विदेशी लगानीकर्ताका लागि पनि नेपाल धेरै हिसाबले उपयुक्त स्थल हो । हामीसँग सूचना प्रविधि उद्योगका लागि अनुकूल भौगोलिक हावापानी त छँदैछ, दक्ष जनशक्तिको उपलब्धताका कारण कम लागतमा आईटी उद्योगहरु सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ । सूचना प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्र निकै उत्साहित भएर आएको छ । अहिले पनि निजी क्षेत्रले सूचना प्रविधि सेवा निर्यातमार्फत बर्सेनि अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको छ । झण्डै एक लाख युवाले देशभित्रै बसेर विभिन्न देशमा सूचना प्रविधि सेवा निर्यात गरिरहेका छन् ।

अहिले नेपालमा बौद्धिक पलायन ठूलो समस्याको रुपमा देखिन थालेको सन्दर्भमा युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चित गर्ने क्षेत्र नै सूचना प्रविधि हुन सक्दछ । आम युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न प्रेरित गर्नु पर्नेछ । रोजगारीका लागि लाखौँ युवाहरु विदेशिने आजको अवस्थामामा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिले देशभित्रबाटै सेवा निर्यात गरेर बिदेशी मुद्रा आर्जन गर्ने अवस्थाले सूचना प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै यसमा आवश्यक लगानी आकर्षित गर्न सकियो भने यसलाई समृद्धिको ढोका खोल्ने महत्वपूर्ण आधारको रुपमा चाँडै स्थापित गर्ने बलियो सम्भावना छ ।

सूचना प्रविधि उद्योग र खासगरी अहिले बढिरहेको सेवा निर्यातलाई व्यवस्थित निकै भविष्यमै आइटी हब सञ्चालन गर्नु अनिवार्य भइसकेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवद्र्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न सकियो भने यसबाट देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्नेछ ।

भर्खरै सम्पन्न लगानी सम्मेलनमार्फत सञ्चार मन्त्रालयले अघि सारेका डाटा सेन्टर, आईटी÷टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्बली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्याक्चर तथा एसेम्बली प्लान्ट, इन्कुवेशन सेन्टरलगायतका परियोजनामा लगानी सुनिश्चित गर्न सकियो भने नेपालको आर्थिक समृद्धिमा नयाँ आयाम थपिने छ । अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो र यसको विकास डिजिटल रुपान्तरणबाट मात्रै सम्भव हुनेछ ।

अन्त्यमा, सूचना प्रविधिको प्रयोग सुरक्षित बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने छ । सूचना प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढे पनि हामीले डिजिटल डिभाइड अन्त्य गर्न बाँकी नै छ । एकातिर सबै ठाउँका जनताको सूचना प्रविधिमा पहुँच स्थापित गर्नुपर्ने छ भने अर्कोतिर सबै नागरिकले समानरुपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्ने छ । यसका लागि सरकार गम्भीर एवं प्रतिबद्ध छ । सरकारसँग हातेमालो गर्दै सूचना प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्ने अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौँ, २० वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभएको छ ।

“राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भन्नुएको छ, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।”
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गर्दै उहाँले सन्देशमा यससँग सम्बन्धित परियोजना विकास गरेर त्यसलाई कार्यान्वयन गरी समृद्ध नेपाल निर्माणको आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

“तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरैभन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको ‘डिजिटल नेपाल फ्रेमवकर्, २०७६’ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको छ”, मन्त्री शर्माले भन्नुभएको छ ।

उहाँले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि स्थापित गर्ने कार्यमा ठोस योगदान गर्न सबैमा अपिलसमेत गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको र राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका उहाँको भनाइ छ ।

“आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ”, मन्त्री शर्माले भन्नुभएको छ, “डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ ।”
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ ।

गर्मी बढिरहेको बेला रामेछापमा जुनारको जुस बिक्री बढ्यो

मन्थली (रामेछाप), २० वैशाख : गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ ।

विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको उत्पादक बताउँछन् । जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा स्क्वास उद्योग रहेका छन् ।

उनीहरुले जुनारका अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्ने गरेका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर रु एक सय ५० किवीको प्रतिलिटर रु दुई सयमा बिक्री हुने गरेको छ । एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीलगायत जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायतका विभिन्न बजार केन्द्र, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजाने गरेको र दैनिकरुपमा दुवैजनाको कम्पनीबाट गरी रु तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताउनुभयो ।

त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरका मल्टिनेसनल कम्पनीबाट उत्पादित ड्यु, कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बिक्री वितरणमा राज्यले सहज बनाई सहयोग गर्ने हो भने यसको बिक्री अझै बढ्ने थियो । तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग नगरेको आरोप पनि उहाले लगाउनुभयो ।

यता मन्थली नगरपालिकाका नगर प्रमुखले भने युवा उद्यामीलाई बैंकसँग समन्वय गराइदिएर बिना धितोमा वा सस्तो ब्याजमा उद्यम कर्जाका लागि सिफारिस गर्ने गरेको बताउनुभयो । कात्तिकदेखि मङ्सिर पुससम्म जुनारको सिजनमा जुनार कृषकसँग बगँैचानै खरिद गरेर त्यसलाई प्रसोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री गर्ने गरिएको छ । स्थानीयस्तरमै पाइने जुनार, कागती, किवी अमला, बेलको झोललाई आवश्यक कच्चा पदार्थ प्रयोग गरी स्क्वास बनाउने गरिएको छ ।

गर्मी बढेसँगै जिल्लामा यसको राम्रो व्यापार हुने गरेको स्थानीय व्यवसायी चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुने जुनार, अमला कागती, किवी, बेलजस्ता वस्तुको स्क्वास बनाएर बिक्री गर्दा एकातिर जुनार, कागती किवी कृषकको फल नबिक्ला भन्ने समस्या नहुने र अर्कोतर्फ धेरैलाई रोजगारीको समेत सृजना हुने हुनाले यस्ता उत्पादनको व्यवसाय प्रवद्र्धनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यवसायी गुञ्ज कार्कीले बताउनुहुन्छ ।

सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरु

नेत्र सुवेदी ‘प्रयास’/काठमाडौँ – नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो । मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत आमसञ्चार, सूचना प्रविधि, दूरसञ्चार, हुलाक सेवा, मुद्रण सेवा र चलचित्र गरी छ वटा क्षेत्र तथा मन्त्रालयबाहेक १८ वटा निकाय साङ्गठनिक जिम्मेवारीमा रहेका छन् । सूचना आदानप्रदान गर्नका लागि गरिने सबै खालका परम्परागत तथा आधुनिक तरिका र शैलीहरु सञ्चार तथा सूचना प्रविधिको दायरामा पर्दछन् । नेपाली शब्दकोषमा सूचना प्रविधि खोजेर भेटिँदैन । यसका लागि सूचना र प्रविधि शब्दलाई अलगअलग केलाउनुपर्दछ वा च्याटजिपिटी वा गुगलको सहयोग लिनुपर्दछ ।

सन् २००४ मा प्रकाशित एडवार्ड कर्निसको पुस्तक फ्युचरिङ्ग द इक्स्प्लोरेसन अफ द फ्युचरमा संसारमा उथलपुथल ल्याउने केही विषयहरुमध्ये प्रविधिको उत्साहजनक प्रगतिलाई नम्बर एकमा राख्दै विभिन्न भविष्यवाणी प्रस्तुत गरिएको छ । उक्त पुस्तकमा प्रक्षेपण गरेभन्दा अगावै कतिपय विषयहरु चरितार्थ हुँदै आएका पनि छन् । सूचना प्रविधिको युग भनेर चिनिने वर्तमान समयमा सूचना प्रविधिको विविध पक्षमा नीति, कानुन, पूर्वाधार तथा कार्यवातावरण तयार गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गर्नु पक्कै पनि चुनौतीपूर्ण पक्ष पनि हो ।

सूचना तथा सञ्चार प्रविधि
मन्त्रालयले नेपाल सरकारले जारी गरेको सूचना प्रविधि नीति, २०७२ अनुरुप आफ्ना कामकारवाहीहरु अघि बढाउँदै आएको छ । यो बाहेक ब्रोडब्यान्ड नीति र फ्रिक्वेन्सी नीतिसमेत प्रयोगमा रहेकामा गत वर्ष फ्रिक्वेन्सी नीति पुनरावलोकन भई २०८० को नयाँ संस्करण जारी भएको छ । सूचना प्रविधिसँग सम्बन्धित भएर केही वर्षदेखि राष्ट्रिय सूचना तथा सञ्चार दिवस मनाइँदै आएको छ । ‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’ भन्ने मूल सन्देशका साथ मे २ तदनुसार २०८० वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको थियो । सोही दिवसको नयाँ संस्करणका रुपमा यो वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल सन्देशका साथ यही वैशाख २० गते भव्यरुपमा मनाउन लागिएको छ । यी दिवसहरुले विभिन्न क्षेत्रमा रहेका सूचना प्रविधिका लागि योगदान गर्नेहरुको सम्मान गर्ने र सहकार्य गर्ने वातावरण तयार गर्दछ ।

सूचना प्रविधिको प्रयोगले सार्वजनिक क्षेत्रमा काम गर्ने शैली, ढाँचा, जनशक्तिको प्रारुप, सङ्गठनमा प्रयोग हुने सामग्रीमा हलचल नै ल्याएको छ । एकीकृत सेवातर्फको यात्रा प्रारम्भ भएसकेको छ भने अनलाइन भुक्तानीमा चमत्कारिक रुपमा वृद्धि भएको छ । तथ्याङ्कलाई भण्डारण गरी पुनःप्रयोग गर्ने, पेपर भर्सनलाई डिजिटल भर्सनमा रुपान्तरण गरी अनलाइन सेवा सम्भव बनाउने जस्ता काम सूचना प्रविधिकै कारण सम्भव भएको हो । इन्टरनेट र कम्प्युटरको संयोजनले गर्दा कार्यप्रवाहमा अभूतपूर्व परिवर्तन आएको छ । यो संयोजनलाई ‘साइबर स्पेस’ भनिन्छ र साइबर स्पेश बढ्नु आफैँमा आधुनिक स्रोत माथि पहुँच पनि हो । त्यसो त साइबर अपराध हुन सक्ने घेरा फराकिलो हुँदै गएकाले त्यस्ता अपराधबाट सुरक्षणको लागिसमेत तयारी गर्नुपर्ने, सजगता अपनाउनुपर्ने र राज्यको तर्फबाट समग्र प्रयोगकर्ताको हितको लागि अग्रसर हुनुपर्ने जिम्मेवारी पनि थप भएको छ ।

सूचना प्रविधि संलग्न हुने कामकारवाहीको नियमन, शिक्षा सचेतना माध्यमबाट प्रविधिको प्रयोगलाई सिर्जनात्मक र सुरक्षित बनाउने, सूचना प्रशोधन र प्रवाह गर्ने, डिजिटल साक्षरतालगायतका विषय पनि मन्त्रालयको जिम्मेवारीमा पर्दछन् । यसबाहेक पनि सामाजिक सञ्जालको व्यापक प्रयोग र सामाजिक अन्तरकृया तथा घटनाक्रम पनि प्रभावित भएको सन्दर्भमा सो को नियमनका लागि निर्देशिका कार्यान्वयनमा आएको र कानुन निर्माणका लागि विधेयक मन्त्रिपरिषद् पेस हुने क्रममा रहेको छ ।

सेवा प्रवाह गर्नुअघि सेवाग्राहीको विवरण प्राप्त गरी सो विवरणलाई आवश्यक पर्दा अद्यावधिक गर्न मिल्ने गरी सुरक्षित राख्ने, पुनःप्रयोग गर्ने मोडमा राख्ने, गोपनीयता कायम गर्ने र सेवाग्राहीको पहिचान यकिन भएपश्चात मात्र उसलाई सेवा उपलब्ध गराउने प्रयोजनका लागि उसकै अनुमतिमा प्रयोग प्रशोधन वा सम्पादन गर्नुपर्ने हुन्छ । यहाँनेर नै सूचना प्रविधिको सही र सुरक्षित प्रयोग वाञ्छित हुन आउँदछ । यसै सन्दर्भमा सबै सरकारी कार्यालयमा लागू गर्ने गरी सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग प्रारम्भ भएको छ । यो प्रणालीमा थप परिष्कृत गर्न आवश्यक भएतापनि खासगरी कार्यालयमा आवश्यक पर्ने दर्ता चलानी टिप्पणी र पत्राचारलगायत विषय समेटेर यो प्रणाली तयार भएको छ र ४० भन्दा बढी केन्द्रीय कार्यालयहरुमा प्रयोगमा पनि छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालको अगुवाइमा यो प्रणालीको विकास र प्रयोगमा विस्तार भएको कुरा छिपेको छैन ।

विसं २०७६ मा तामझामका साथ सुरुआत भएको र अति नै महत्वपूर्ण विषय डिजिटल नेपाल फ्रेमवर्क हो । भारतमा सन् २०१५ मा शुरुआत भएको डिजिटल इन्डियाले सफलताको चुली चुमिरहँदा हाम्रो अवस्था भने अझै पनि कमजोर छ । खासगरी क्षेत्रगतरुपमा आठवटा विषय क्षेत्र र ८० वटा पहल समेट्ने यो फ्रेमबर्क भनेको सूचना प्रविधि क्षेत्रको केन्द्रीय कार्यढाँचाका रुपमा लिन सकिन्छ । नागरिक एपलाई व्यापक बनाउने विषयका साथै डाटाको सुरक्षा सम्मका विषय पनि यसमै परेका छन् । यसको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल नेपाल परियोजनाका लागि विश्व बैङ्कले समेत ऋण लगानी गर्ने तयारी भैरहेको छ । केही कामहरु भएका छन् तर धेरै गर्न बाँकी छ ।

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भई सो अनुसार साइबर सुरक्षासम्बन्धी कानुनको मस्यौदा एवम् राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । साइबर हाइजिनका सूचना जारी गर्नाका साथै विभिन्न निकायबाट साइबर सुरक्षा सम्वन्धमा सन्देश प्रवाह र डिजिटल शिक्षामा जोड दिइएको छ । सरकारी सूचना प्रविधि प्रणालीको जोखिम अनुगमनका लागि सेक्युरिटी अपरेसन सेन्टरको सञ्चालन हुँदै आएको छ । मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धमा अवधारणापत्र तयारीलाई अन्तिम चरणमा पु¥याएको छ भने सूचना प्रविधिसँग सम्वन्धित खासगरी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल नियमन विधेयक, दूरसञ्चार विधेयकको मस्यौदा तयारी सुझाव सङ्कलन गरी कतिपय विधेयक सहमति प्राप्त गर्ने चरणमा रहेका छन् । दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रयासस्वरुप पूर्वाधारको कभरेजका साथमा गुणस्तर वृद्धिमा जोड दिइएको छ ।

आमसञ्चार
कुनै सूचना वा जानकारीको सञ्चार गरिनु प्रवाह गरिनु कम महत्वपूर्ण विषय हैन । यसमा आमसञ्चार माध्यमको भूमिका विगतदेखि नै प्रभावकारी रहँदै आएको छ । यसै क्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि स्वतन्त्र र निष्पक्षरुपमा सञ्चालन गर्ने ध्येयका साथ सार्वजनिक प्रसारण सेवाको अवधारणाअनुसार कानुन निर्माणका लागि विधेयक संसद्मा अन्तिम चरणमा रहेको छ । त्यसैगरी, सञ्चारमाध्यमको गतिशीलतासँगै मिडिया काउन्सिल विधेयक तयार भई सङ्घीय संसद्मा दर्ता हुने क्रममा रहेको छ ।

विगतदेखि मस्यौदा हुने तर निर्णयको चरणमा विविध कारणवश अलमलमा पर्ने गरेका कतिपय विधेयकउपर विज्ञ सञ्चारकर्मीहरु रहेको कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने कार्य समेत यसबीचमा भएको छ । त्यसैगरी सञ्चारसँग सम्बन्धित विषयमा सङ्घ र प्रदेशबीच सम्भावित सहकार्यका सम्वन्धमा प्रदेशमा सञ्चार हेर्ने मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरुसँग र छलफल हुनुका साथै कतिपय सन्दर्भमा प्रदेशमै पनि स्थलगतरुपमा कार्यक्रमहरु सम्पन्न भएका छन् । विधेयकको तयारी गर्दा वा कार्यक्रमहरु डिजाइन गर्दा सङ्घीयताको मर्मलाई आत्मसात गरिएको छ ।

दिवस र अवसरका क्रममा सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउने पहल पनि भएका छन् । २०८० जेठ १५ गते प्रकाशित गणतन्त्रका १५ वर्ष नामक इन्फोग्राफिक पुस्तिका लोकप्रिय देखियो । त्यस्तै अन्य प्रकाशनहरु पनि भए । वेवसाइटलाई एकीकृत भर्सनमा सञ्चालन प्रारम्भ भएको छ । राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरी ओटिटीलाई नियमनको दायरामा ल्याइएको छ । विज्ञापन चक्रका विषयहरु सम्वोधन हुनेगरी विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा छ भने विज्ञापन नियमावली संशोधन भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना हुने प्रेस मिटलाई व्यवस्थित गर्ने कार्य, वेवसाइटमा ‘मिट योर मिनिस्टर’ नामक अन्तरक्रियात्मक ट्यावको प्रयोग, सरकारी सञ्चार संस्थाहरुको सबलीकरणका लागि निरन्तर संवाद र अनुगमन, चलचित्रका विविध क्षेत्रलाई पर्यटनसँग जोड्ने र सङ्घीयताको मर्मअनुसार यो विषयलाई व्यापक बनाउनेगरी कार्यक्रमहरु कार्यान्वयनमा आएका छन् । चलचित्र जाँचसम्बन्धी कार्यलाई कार्यविधिबाट व्यवस्थित गरिएको छ । टेलिभिजन प्रसारणलाई आलाकार्टा प्रणालीमा लैजाने निर्णय भई सो अनुसार तयारीका कामहरु भैरहेका छन् । सबै सार्वजनिक सञ्चार माध्यममा समावेशी सामग्री तथा कार्यक्रम समावेश भएका छन् । पत्रकारितासँग सम्बन्धित गैरनाफामूलक संस्थाहरुको सबलीकरणका लागि प्रवाह हुँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नका लागि कार्यविधि तयार गरी सार्वजनिक सूचना प्रकाशित समेत भएको छ ।

सुशासन तथा संस्थागत विकास
सुधारका लागि निरन्तरतामा क्रमभंगता पनि आवश्यक पर्दछ । स्वमूल्याङ्कन तथा विज्ञको समीक्षा पनि चाहिन्छ । यही मान्यताअनुसार कतिपय विषयमा कार्यदलमार्फत अध्ययन गरी समस्या समाधानका उपायहरुको खोजी गर्ने र समयक्रममा नीति तथा कार्यक्रमसँग आबद्ध गर्ने मोडलको प्रयोग मन्त्रालयले गरेको छ । अर्को महत्वपूर्ण विषय भनेको नीति तथा कानुनको मस्यौदा तयार गर्दा विज्ञ एवम् सरोकारवालाको सहभागिता र सुझाव ग्रहण गर्ने शैली अवलम्बन गरिएको छ । यो बाहेक मन्त्रालयका महाशाखा तथा अन्तर्गतका निकायवीच नियमित सम्बाद अनुगमन छानबिन र सुधार पहल हुँदै आएका छन् । समयानुकूल सङ्गठन निर्माण एवम् पुनसंरचनाका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना प्रविधि विभाग अन्तर्गत ल्याइएको छभने हुलाक संरचनामा आमूल परिवर्तन हुने गरी हरेक स्थानीय तहमा हुलाक रहनेगरी यसको सेवा पुनःसंरचित गरिने भएको छ ।

मन्त्रालयमा हरेक आइतबार कार्यालय समय अगावै प्रारम्भ हुने उच्च व्यवस्थापन समूहको बैठकका अलाबा क्षमता विकास कार्यशाला र सम्वाद श्रृङ्खला सिकाइ हस्तान्तरणका सेसनहरु सञ्चालन गर्ने गरिएको छ । अध्ययन र छानविन गरी सुशासन स्थापनालाई प्रवद्र्धनका लागि पनि गरिएका पहल पनि चर्चामा आए । इन्टरनेट सेवा प्रदायकहरुको राजश्व बक्यौता, एनसेलको शेयर बिक्रीको सबाल, डाटा सेन्टरमा देखिएका समस्यालगायत विषय पनि अध्ययन भई सुधार कार्यसँग आवद्ध भएका विषय हुन् । मन्त्रालय मातहतका निकायहरुमा नेपाल सरकारबाट प्रवाह हुनेअनुदानमा देखिएका केही कमीकमजोरीहरु सच्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । (लेखक नेपाल सरकारका सहसचिव हुनुहुन्छ)

इरानका खामेनीद्वारा अरब–इजराइल सामान्यीकरण प्रयासको आलोचना

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले बुधबार इजराइल र अरब मुलुकहरूको सम्बन्धलाई सामान्य बनाउनका लागि भइरहेको प्रयासले मध्यपूर्वमा सङ्कटको समाधान नगर्ने बताउनुभएको छ ।

“छिमेकी मुलुकहरूलाई उनीहरूको सम्बन्ध (इजराइलसँग) सामान्य बनाउन दबाब दिएर समस्या समाधान हुनेछ भनेर केही मानिसले सोचेका छन्”, उहाँले भन्नुभयो, “तिनीहरू गलत छन् ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोमबार इजराइलसँगको सम्बन्धलाई सामान्य बनाए वासिङ्टनले साउदी अरबलाई सुरक्षा प्याकेज प्रस्ताव गर्न करिब तयार रहेको बताएपछि खामेनीको उक्त टिप्पणी आएको हो । साउदी अरबले इजराइलसँग सम्भावित सामान्यीकरणबारे वार्ता गरिरहेको थियो तर गाजा युद्ध सुरु भएपछि वार्तालाई रोकेको थियो ।

दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रणबाट युद्ध सुरु भएको हो । इजराइली आधिकारिक आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको मृत्यु भएको थियो । हमासद्वारा सञ्चालित क्षेत्रमा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिका गरी कम्तीमा ३४ हजार पाँच सय ६८ जनाको मृत्यु भएको छ ।

इजराइल–हमास युद्धको सुरुआतपछि क्षेत्रीय तनाव बढेको छ । यसमा सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित समूह सामेल भएका छन् । इरानले हमासको समर्थन गर्दछ तर उसले कट्टर दुश्मन इजराइलमाथि समूहको आक्रमणमा कुनै पनि प्रत्यक्ष सहभागितालाई अस्वीकार गरेको छ ।

इरानले इजराइललाई मान्यता दिँदैन र सन् १९७९ को इस्लामिक क्रान्तिपछि उसले प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । “प्योलेस्टिन उनीहरूलाई (प्यालेस्टिनीहरू) लाई फिर्ता गर्नुपर्छ”, खामेनीले भन्नुभयो, “उनीहरूले आफ्नै शासन, आफ्नै प्रणाली बनाउनुपर्छ, त्यसपछि त्यो प्रणालीले यहुदीहरूसँग कसरी व्यवहार गर्ने भनेर निर्णय गर्नुपर्छ ।”

युक्रेनद्वारा एआई–जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक

युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित प्रवक्ता प्रस्तुत गरेको छ ।

मन्त्रालयले ‘इतिहासमा पहिलो पटक’ आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग गर्ने बतायो । अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई परिचय ‘डिजिटल व्यक्ति’ का रूपमा भिक्टोरिया सी भनेर चिनाइन् ।

प्रवक्ताले आफ्नो हातले इसारा गर्छिन् र बोल्दा आफ्नो टाउको हल्लाउँछिन् । सीले दिने बयान एआईद्वारा उत्पन्न नभएर ‘वास्तविक मानिसहरूद्वारा लिखित र प्रमाणित’ गरिएको हुने विदेश मन्त्रालयको प्रेस सेवाले एएफपीलाई बताएको छ । “यो दृश्य भाग मात्र हो, यसलाई उत्पन्न गर्न एआईले हामीलाई मद्दत गर्दछ”, प्रेस सेवाले भनेको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले नयाँ प्रवक्तालाई ‘विश्वमा कुनै पनि कूटनीतिक सेवामा अहिलेसम्म नभएको प्राविधिक छलाङ’ भएको बताउनुभयो । उहाँले प्रवक्तालाई बनाउनुको मुख्य कारण कूटनीतिज्ञहरूलाई ‘समय र स्रोतको बचत गर्नु थियो’ भन्नुभयो ।

सीको निर्माता द गेम चेन्जर्स नामक एक टोली रहेको छ । उक्त टोलीले युक्रेनको युद्धसँग सम्बन्धित भुर्चअल रियालिटी सामग्री पनि बनाएको छ ।

सीको उपस्थिति र आवाज रोसाली नोम्ब्रे नामक वास्तविक व्यक्तिमा मोडेल गरिएको छ । नोम्ब्रे गायिका र युक्रेनको द ब्याचलर रियालिटी सोको संस्करणमा पूर्वप्रतिस्पर्धी हुन् । नोम्ब्रेको जन्म पूर्वी युक्रेनमा अहिले रुस नियन्त्रित सहर डोनेट्स्कमा भएको थियो ।

उहाँको इन्स्टाग्राम एकाउन्टमा ५४ हजार फलोअर्स छन् । नोम्ब्रेले यसको प्रयोग मिश्रित नस्लका युक्रेनी र रुसी वक्ताहरूका बारेमा रूढिवादी धारणामा चर्चाका लागि गर्नुहुन्छ । नोम्ब्रेले निःशुल्क भाग लिएको मन्त्रालयले जनाएको छ ।

सी र नोम्ब्रे दुई भिन्नभिन्न मानिस भएको र एआई फिगरले मात्र आधिकारिक बयान दिने बताइएको छ । नक्कलीबाट बच्नका लागि यिनीहरूलाई मन्त्रालयको वेबसाइटमा पाठ संस्करणहरूमा लिङ्क गर्ने क्युआर कोड हुनेछ । सीले हाल विवादास्पद विषय बनेको कन्सुलर सेवाहरूमा टिप्पणी गर्नेछिन् ।

रिपब्लिकन सांसदले अर्को साता अमेरिकी सदनका सभामुखलाई हटाउन प्रयास गर्ने

अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन गरेकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) का रिपब्लिकन सभामुख माइक जोनसनलाई हटाउन आगामी साता प्रस्ताव पेस गर्ने योजना बनाएको बुधबार बताउनुभएको छ ।

जर्जियाकी रिपब्लिकन कांग्रेस सदस्य तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मार्जोरी टेलर ग्रिनले जोनसनमाथि ‘विश्वासघात’ गरेको आरोप लगाउनुभयो । “माइक जोनसन वासिङ्टन डिसीको घृणित व्यापार मोडेलमा सदाका लागि युद्धको कोषमा सामेल हुनुभयो”, पत्रकारहरूसँग ग्रिनले भन्नुभयो, “आगामी साता म यो प्रस्तावलाई भ्याकेट गर्न गइरहेको छु ।”

सभामुख जोनसनले एक विज्ञप्तिमा ग्रिनको घोषणालाई ‘रिपब्लिकन कन्फरेन्सका लागि गलत, संस्थाका लागि गलत र मुलुकका लागि गलत’ भन्दै अस्वीकार गर्नुभयो ।

सदनको नियमअनुसार एउटा विधायकले समेत सभामुखलाई हटाउनका लागि मत हाल्न सक्छ । डेमोक्रेटहरूले असाधारणरूपमा उहाँलाई आफ्नो पदमा कायम राख्न मतदान गर्ने भनेकाले जोनसनलाई हटाउने सम्भावना भने छैन ।

ग्रिनले भन्नुभयो, “म डेमोक्रेटहरूभन्दा बाहिर गएर रिपब्लिकन सभामुखलाई समर्थन गरेको हेर्न प्रतीक्षा गर्न सक्तिन ।” किएभका लागि अमेरिकी समर्थन कांग्रेसमा विवादको एक प्रमुख स्रोत बनेको छ । धेरै दक्षिणपन्थी रिपब्लिकनहरूले रुससँगको युद्धमा युक्रेनलाई समर्थन बन्द गर्न खोजिरहेका छन् ।

महिनौँको बहस र डेमोक्रेटहरू तथा अमेरिकी सहयोगीहरूको दबाबपछि जोनसनले अन्ततः गत साता युक्रेनका लागि नयाँ सहायता प्याकेजलाई समर्थन गर्नुभयो । यसबाट उहाँका पार्टीका केही अति दक्षिणपन्थी सदस्यहरू रुष्ट भए ।

पूर्वरिपब्लिकन सभामुख केभिन म्याक्कार्थीलाई धेरै महिनाअघि ट्रम्प समर्थकहरूको एउटा सानो गुटले युक्रेनमा डेमोक्रेटसँग ‘गोप्य सम्झौता’ गरेको आरोप लगाएपछि यस्तै प्रकारको परिदृश्यमा सभामुखबाट हटाएको थियो ।

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २० वैशाख : क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिनुभएको थियो । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि उहाँले जानकारी दिनुभएको थियो ।

नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गर्नुभयो । साथै उहाँले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताउनुभयो । त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो ।

श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा

काठमाडौँ- एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ । राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको चलचित्र मैथिली भाषामा तयार गरेर नेपाली र भोजपुरी भाषामा स्वराङ्कन गरिने निर्देशक पुर्णेन्दु के झाले जानकारी दिनुभयो । उहाँले चलचित्रमा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथा रहेकाले श्रमिक दिवसकै अवसर पारेर निर्माण घोषणा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशबाट श्रमिकको रुपमा बाहिरिनेको सङ्ख्या निरन्तर बढ्दो छ । यस विषयमा अध्ययन र अनुसन्धान गरेपछि कथालाई चलचित्रमार्फत देखाउनुपर्छ भन्ने लागेर यसको निर्माण गर्दैछौँ । यो मधेसको पृष्ठभूमिमा तयार गरिने आम मानिस र सरकारबीचको कथा हो ।”

यस अगाडि नेपाली भाषामा ‘संरक्षण’ र ‘चौका दाउ’ जस्ता चलचित्र निर्देशन गरिसक्नुभएका झाले मैथिली भाषामा बन्ने चलचित्रको स्तरीयता र नयाँ पन महसुुस हुने गरी ‘लेबर’ लाई निर्देशन गरेर तयार गरिने बताउनुभयो । “हामी नेपाली चलचित्रको बजार विदेशमा खोजिरहेका छौँ । तर, हामीले स्वदेशमै भएको बजारलाई बलियो बनाउने र विस्तार गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ । यो नेपालभर प्रदर्शन हुने चलचित्र बन्नेछ”, निर्देशक झाले भन्नुभयो ।

कार्यक्रममा उपस्थित पूर्वराजदूत डा सूर्यनाथ मिश्रले यो विषय गम्भीर भएको र प्रवासमा रोजगारीको लागि पुग्नेको प्रत्यक्ष सरोकारको विषयमा चलचित्र बन्न लागेको बताउनुभयो । “दुई करोडभन्दा बढी जनसङ्ख्याको सरोकारको विषय भएकाले यो सान्दर्भिकसँगै संवेदनशील पनि छ । यो विषयलाई चलचित्रमा ल्याएर प्रस्तुत गर्नु आफैँमा तारिफ योग्य काम हो । श्रमिकसँग भइरहेको बेथितिलाई यसले प्रस्तुत गरेर सम्बन्धित निकायलाई झक्झकाउनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा निर्माण समूहलाई शुभकामना दिँदै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली चलचित्रको क्षेत्रमा आधुनिक यात्रा प्रारम्भको विन्दु यो चलचित्र हुन सक्ने सम्भावना रहेको बताउनुभयोे ।

“यसको सार्वजनिक गरिएको श्रव्यदृश्य हेर्दा मैथिली चलचित्रमा नयाँ पुस्ताले आधुनिकता भित्र्याएका छन् भन्न सकिन्छ । चलचित्र तयार हुने तीनै भाषाका व्यक्ति श्रमिकको समस्यासँग जोडिएका छन् । त्यसकारण पनि यो चलचित्र ती व्यक्तिका लागि आवाज बन्ने छ र त्यो समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा विश्वस्त छु”, अध्यक्ष झाले भन्नुभयो, “लेबरको बेथितिविरुद्धको विद्रोहको रुपमा चलचित्र आवाज उठाउने सार्वजनिक श्रव्यदृश्यमार्फत सङ्केत गरेको छ । यो विद्रोह कायम रहेको खण्डमा चलचित्रले सार्थकता पाउने छ ।”

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धीरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माताको रुपमा हुनुहुन्छ । निर्देशक झासँगै नरेश मिश्राले लेख्नुभएको चलचित्रमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारले अभिनय गर्दै हुनुहुन्छ ।

चलचित्रमा प्रवेश मल्लिकले सङ्गीत तथा पाश्र्वसङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन, आलोक शुक्लले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, मल्लाज अडियो वर्कसले ध्वनि मिश्रण तथा मुद्रण, अक्की थेक्पाले कला निर्देशन गर्दै हुनुहुन्छ । चलचित्र ‘लेबर’ यसै वर्ष पुससम्ममा प्रदर्शन गरिने कार्यक्रममा जानकारी गराइयो ।

वैशाख २४ गतेदेखि बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा

पाटन (ललितपुर)- आगामी वैशाख २४ गतेदेखि बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते बागमती प्रदेशसभाबाट पारित भएको थियो ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा  ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा संविधानमा गरिएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ऐन यही वैशाख २४गतेदेखि कार्यान्वयनमा आउने जानकारी दिइयो ।

वसन्तपुरको हनुमानढोका दरबार परिसरमा विशेष समारोह आयोजना गर्न लागिएको मन्त्रालयका सचिव हरिशरण पुडासैनीले जानकारी गराउनुभयो । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले मातृभाषामा अध्ययन गर्न नपाउँदा नेवार र तामाङ समुदायको जनसङ्ख्या शिक्षाबाट बञ्चित हुनुपरेको बताउनुभयो । “हाम्रो भाषा नमिल्दा धेरै मानिस शिक्षाबाट बञ्चित हुनुभएको छ । अशिक्षितका कारण नेवार र तामाङ समुदाय समृद्ध हुन नपाएको अवस्था छ । तसर्थ यो कार्यबाट महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । भाषा ऐन सङ्घीयताको मेरुदण्ड हो ।” उहाँले भन्नुभयो ।

उहाँले भाषिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका ज्ञातअज्ञात योद्धाहरुको योगदानका कारण मातृभाषालाई सरकारी भाषाका रुपमा स्थापित गराउन पाउँदा खुसी लागेको बताउनुभयो । बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले नेवार र तामाङ समुदायका बहुसङ्ख्यक जनसङ्ख्या रहेका क्षेत्रमा मातृभाषालाई सरकारी भाषाका रुपमा कार्यान्वयनमा ल्याउनु अत्यन्तै गौरवको विषय भएको बताउनुभयो । उहाँले बृहत् छलफलबाट ऐन पारित भई कार्यान्वयनमा आएको बताउनुहुँदै यसलाई कार्यान्वयन गर्ने क्रममा आउने समस्यालाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय सचिव हरिशरण पुडासैनीले ऐन कार्यान्वयनमा आएपछि नियमावली बनाएर कार्यान्वयनमा सहजीकरण गर्ने बताउनुभयो । उहाँले सरोकारवालाहरुको सल्लाह र सुझावमा परम्परागत जात्रा, पर्व र संस्कृति सञ्चालन गर्न नीति तथा कार्यक्रममा समावेश गरेर बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

नेवाः देय दवूः का अध्यक्ष पवित्र बज्राचार्यले पञ्चायतकालमा नेपाली भाषालाई मात्रै सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिएका कारण आदिवासी जनजातिको भाषा लोप हुने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले आफ्नै देशभित्रका विभिन्न जातजातिमा मातृभाषालाई बेवास्ता गरिँदा कलासंस्कृति र बौद्धिक सम्पत्तिको लोप हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो ।

उहाँले मातृभाषामा अध्ययन गर्न पाउने संस्कृतिको विकास हुन नसक्दा नयाँपुस्ताले विदेशबाट आयातीत संस्कृतिलाई अनुशरण गर्न पुगेको भन्नुहुँदै बहुसङ्ख्यक जनताले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिनुपर्ने मागअनुरुप बागमती प्रदेशले लागू गरेको यो कार्य सकारात्मक भएको बताउनुभयो । नेपाल तामाङ घेदुङकी उपाध्यक्ष तथा पत्रकार सञ्चु ब्लोनले यो घोषणाले नेवार र तामाङ समुदायको आत्मसम्मानमा सहयोग पु¥याउँदै समुदायलाई समृद्धि लाग्न सहयोग पु¥याउने बताउनुभयो ।

सप्तरीको चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार

राजविराज (सप्तरी)- सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा भएको भीषण आगलागीमा परेरका पीडित परिवारको लागि   यहाँ निःशुल्क प्राथमिक उपचार गरिएको छ । महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरिएको हो । आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारका लागि डाक्टर स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको छ ।

जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवका अनुसार आगलागीबाट प्रभावित भएका चिम्टीका अग्निपीडितका लागि निःशुल्क उपचार सेवा दिन लागिएको छ । उहाँले सो क्रममा चार जना आगोबाट जलेर हात, खुट्टा र छाला जलेर घाइते भएका पीडितको उपचार गरिएको बताउनुभयो ।

साथै आगलागीको क्रममा चोटपटक लागेका, अत्यधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन हुने बिरामी बढी उपचारको लागि आएकाको उपचार गरिएको जानकारी दिनुभयो ।

त्यस्तै बालबालिकाको समेत उपचार गरी उनीहरुलाई निःशुल्क औषधि दिइएको स्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो । यहाँ करिब ९७ जना व्यक्तिको आज उपचार गरिएको बताउँदै यही वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इञ्चार्ज सिनिएर अहेव उमेश यादवले जानकारी दिनुभयो । सि अहेव, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई उपचार गरिएको थियो ।

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा मङ्गलबार दिउँसो भएको भीषण आगलागीमा परेर ६२ परिवारको करिब एक सय १४ वटा घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय शत्रुघ्न यादवको गाइगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगोले निजको साथै छिमेकी गणेशी यादव, उपेन्द्र यादव, कौशल्यादेवी यादव, रामदेव यादव, सुकदेव यादव, नथुनी यादव, सचेन्द्र यादव, रन्जित यादव, सुभाष यादव, गोपाल यादव, रामदेव सदालगायतको घर नष्ट भएका छन् भने रु एक करोडभन्दा बढीको धनमाल जलेको छ ।

आगलागीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घर छन् । आगलागी पीडित अहिले पाल लगाएर नजिकैको खेतमा बसेका छन् । हावाहुरी चलेको बेला भएको भीषण आगलागीमा परेर दुई दर्जन चौपाया, ट्र्याक्टर, थ्रेसरसमेत जलेको प्रहरीले जनाएको छ ।

गोरखाको चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामै पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्याल्जेन नोर्वु शेर्पाले पहिलोपटक मनास्लु हिमालको सफल आरोहण गरेको दिन पारेर ६८ औँ मनास्लु हिमाल आरोहण दिवस मनाउन लागिएको आज सदरमुकाममा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो ।

सोही समयदेखि अन्तर्राष्ट्रिय साहासिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा चुलिएको पाइन्छ । धार्चे मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले यसअघि काठमाडौँमा मनास्लु हिमाल आरोहण दिवस मनाउने गरिए पनि गाउँपालिकाले भने पहिलोपटक दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

दिवसको अवसरमा मनास्लु पदमार्ग हुँदै मनास्लु क्षेत्रमा पुग्ने पर्यटकलाई सम्मान गर्ने, प्रकृति पूजा गर्नेलगायत अन्य स्थानीय संस्कृतिको उजागर गर्ने गरी सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष लामाको भनाइ छ । “सोही अवसरमा पर्वतारोहण सङ्घको झण्डा र ब्यानरसहित ¥याली निकाल्ने कार्यक्रम पनि रहेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।”

यस वर्षदेखि नियमितरुपमा स्थानीय सरकारले नै स्वामित्व लिएर दिवस मनाउन लागिएको उहाँको भनाइ छ । यसले गोरखाको पर्यटन र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले मनास्लु संरक्षण क्षेत्र ट्रेकिङ टुरिजममा पहिलो गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले जिल्लामै मनास्लु हिमाल आरोहण दिवस मनाउने शृङ्खलाको सुरुआत हुनु गोरखाका लागि महत्वपूर्ण हुने बताउनुभयो । “मनास्लु हिमाल आरोहण गर्नका लागि स्वेदशी तथा विदेशी पर्यटकको आर्कषण पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसलाई थप प्रवद्र्धन गर्दै मनास्लु हिमालको प्रचारप्रसारका लागि दिवस मनाउन लागिएको हो ।”मनाास्लु हिमाल आरोहणका लागि जापानसहित नर्वे, संयुक्त राज्य अमेरिका, डेनर्माक, क्यानडा, चेक रिपब्लिकलगायतका थुप्रै विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । गोरखाको नुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमशृङ्खला हो ।

देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।

आज राति कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । उहाँले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको राससलाई बताउनुभयो ।

“यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ”, मन्त्री शर्माले भन्नुभयो, “यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ । ”

हेर्नुहोस् बैशाख २० गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।

बृष राशि- गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मीथुन राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि- मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि – नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

कन्या राशि – सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

तुला राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि- बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिन राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई पाँच लाख सहयोग गर्ने

गोदावरी (ललितपुर), १९ वैशाख : गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । डढेलो निभाउने क्रममा गोदावरी –४ बडीखेलका शङ्कर पहरी र रमेश पहरीको अकालमा निधन भएको थियो ।

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही नगद रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गोदावरी–३ स्थित नौधारा उपभोक्ता समितिका अध्यक्ष मदन पन्थले डढेलो १२ वर्षपछि यस क्षेत्रमा लागेको जानकारी दिनुभयो ।

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

कर्णाली, १९ वैशाख : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती नदिन सुझाउनुभएको छ । नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा हुँदैन भन्नुभयो । “नेतृत्व स्वयंले काम गर्नुपर्दछ । जसको सकारात्मक प्रभाव तलसम्म पुग्दछ”, उहाँले भन्नुभयो, “उपभोक्तामुखी सोचले व्यक्ति मात्र होइन, पार्टी पनि सिद्धिन्छ ।”

राजनीतिक लडाईंभन्दा आजको समृद्धिको लडार्इं अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उहाँले यो कठिन अवस्थालाई सामना गरेर सबैले आआफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रुपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “म अहिले कर्णाली सरकारको नेतृत्व गरिरहेको छु । म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन । यसमा सहयात्री दल, पार्टीभित्र पनि समकक्षी साथीहरु छन् । सबैको साथ सहयोगबाट मात्र परिणाम निकाल्न सकिन्छ । कर्णालीको विकास र समृद्धिको अभियानमा सबै एकमत हुन जरुरी छ । यसो हुनसके मात्र हामीले अपेक्षा गरेको सपना हुन्छ ।” उहाँले गलत काम गर्नेको पक्षमा नबोल्न र त्यस्ता कार्यमा नजोडिन पनि सुझाउनुभयो ।

उद्घाटन कार्यक्रममा सहभागी एमालेका केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट, केन्द्रीय सल्लाहकार समितिका सदस्य बालाराम शर्मा, प्रदेश सचिव ध्रुवबहादुर शाही, जिल्ला अध्यक्ष कुलमणि देवकोटालगायतले अब्बल नेतृत्व चयन गर्न भन्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।