`

बङ्गलादेशमा अप्रिलको तापक्रम रेकर्डमा सबैभन्दा तातो

बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ । दक्षिण एसियाली यो मुलुक र धेरै क्षेत्रले अझै पनि निस्सासिँदो गर्मीको सामना गरिरहेका छन् ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, थप बारम्बार र थप तीव्र हुँदै गएको बृहत् वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । अप्रिलमा प्रचण्ड गर्मीका कारण बङ्गलादेश सरकारले मुलुकभर विद्यालय बन्द गर्नुपर्यो । यसबाट करिब तीन करोड २० लाख विद्यार्थी घरमै रहे ।

“यो वर्ष लुले देशका करिब ८० प्रतिशत भागलाई समेटेको छ, हामीले यसअघि कहिले पनि यति तीव्र र व्यापक लु देखेका थिएनौँ”, बङ्गलादेश मौसम विज्ञान विभागका वरिष्ठ पूर्वानुमानकर्ता मुहम्मद अबु कलाम मल्लिकले भन्नुभयो, “सन् १९४८ मा मुुलुकमा तातो दिन र क्षेत्र समेट्ने मामिलाको रेकर्ड सुरु भएपछि गत अप्रिल महिना बङ्गलादेशमा सबैभन्दा गर्मी महिना थियो ।”

उहाँका अनुसार बङ्गलादेश वरपरका मौसम केन्द्रहरूले सन् २०१० सम्मको ३० वर्षको अवधिमा अप्रिलको औसत दैनिक तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियसको तुलनामा यस वर्षको अप्रिलमा दुईदेखि आठ डिग्रीको बीचमा अधिक तातो रहेको रेकर्ड गरेका छन् ।

स्वास्थ्य विभागका प्रवक्ता सेलिम रेहानले सरकारले पछिल्लो १० दिनमा अत्यधिक गर्मीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि गरेको बताउनुभयो । एक साताको भीषण गर्मीपछि बिहीबार बङ्गलादेशमा वर्षाले केही राहत ल्याउने अपेक्षा गरिएको छ । ढाकामा धेरै दिनसम्म ४० डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ ।

मल्लिकले अप्रिलमा सामान्य प्रि–मनसुन मेघ गर्जनसहित वर्षा नहुँदा गर्मीको तीव्रता अझ बढेको बताउनुभयो । “बङ्गलादेशमा अप्रिलमा औसत एक सय ३० दशमलव दुई मिलिमिटर वर्षा हुन्छ तर यस वर्षको अप्रिलमा औसत एक मिलिमिटर मात्र वर्षा भयो ।”

बङ्गलादेशमा आइतबारसम्म विद्यालय बन्द हुनेछन् । सरकारले गत साताको अन्त्यमा कक्षाहरू पुनः सञ्चालन गर्न आदेश दिएको थियो तर बङ्गलादेशको एक शीर्ष अदालतले गर्मीको लहरमा धेरै शिक्षकको मृत्यु भएको रिपोर्टलाई ध्यानमा राख्दै सोमबार फेरि विद्यालय बन्द गर्न निर्देशन दियो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम, १९ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुनुहुन्छ । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री हुनुहुन्छ ।

मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसक्नुभएको छ । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफँैसँग राख्नुभएको छ ।

सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा (एमाले)ले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ ,नेकपा (माओवादी केन्द्र)का सभामुख समेत ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ : महासचिव गुरुङ

काठमाडौँ, १९ वैशाख – नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताउनुभएको छ । आज यहाँ आयोजित संवाद कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् तर अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।”

उहाँले तेस्रो लगानी सम्मेलन सफल भएको पनि बताउनुभयो । उहाँले देश विकासको लागि मुख्य आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यहीअनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, उहाँले भन्नुभयो ।

चीनको १० दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता हुनुभएका महासचिव गुरुङले आज अनामनगरस्थित संवाद डबलीमा आयोजित अन्तरसंवादमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि चीन सधैँ तत्पर रहेको पाइएको बताउनुभयो । आफ्नो नेतृत्वमा ३० जनाले १० दिनसम्म चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै उहाँलरुले चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको पनि उल्लेख गर्नुभयो । भ्रमणले चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउनसमेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

काठमाडौँ, १९ वैशाख ः नेपाल भ्रमणमा रहनुभएका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गर्नुभएको उच्च प्रतिनिधिमण्डलले आज चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उहाँहरुलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, “ सार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरवासीको सहभागिता र सहकार्यमा भौतिक पूर्वाधारको काम, सामाजिक विकास, स्वास्थ्य बीमा, सबैका लागि शिक्षामा उच्च प्राथमिता दिइएको छ । ”

सुशासन, आर्थिक पारदर्शिता, कोष तथा लेखा नियन्त्रण तथा लेखा परीक्षणका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको नीति उत्कृष्ट रहेको जनाउँदै भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मको उच्च प्रतिनिधि मण्डलले चन्द्रागिरि नगरपालिकालाई अवलोकनका लागि छनोट गरी सोबारेमा जानकारी लिएको बताइएको छ । सो अवसरमा महालेखापरीक्षक तोयम रायाको सहभागिता रहेको थियो ।

सो अवसरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज अर्यालले नगरको भौतिक पूर्वाधारसहित सामाजिक विकासका क्षेत्रमा सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरु घनश्याम लुइँटेल, नरेन्द्रराज श्रेष्ठ, प्रह्लाद रिजाल, सञ्जय सिग्देल, राजेन्द्र महर्जनसहित नगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता थियो ।

सो प्रतिनिधिमण्डलमा नियन्त्रक तथा महालेखापरीक्षक मुर्मसहित निर्देशक रिना अकोइजम, डा गौरवकुमार र करन बोहरा सहभागी हुनुहुन्थ्यो । सो प्रतिनिधिमण्डल मङ्गलबार नेपाल आएको थियो ।

एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरण प्राथमिकतामा

एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणका अवसरहरू खोज्न र डिजिटल विकासलाई एसियाली कम्पनीहरूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

चिनियाँ प्रविधि कम्पनी हुवावे र आसियान फाउन्डेसनको आयोजनामा बैङ्ककमा एशिया प्रशान्त क्षेत्रीय डिजिटल तथा बौद्धिकता सम्मेलन–२०२४ आयोजना गरिएको हो ।

सोमबारदेखि सुरू भएको दुई दिने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्षेत्रका दूई हजारभन्दा बढी सहभागीहरूलाई अग्रणी डिजिटल तथा वौद्धिकता पूर्वाधारको प्रयोगका लागि जोड दिइएको छ ।

भिडियो सन्देशमार्फत् आफ्नो उद्घाटन समारोहमा बोर्डका उपाध्यक्ष र हुवावेका प्रमुख वित्तीय अधिकारी मेङ वान्झाउले भन्नुभयो, “एशिया–प्रशान्त अन्य क्षेत्रहरूका लागि डिजिटल प्रेरणा र आफ्नो डिजिटल अर्थतन्त्रको विकास गर्न खोजिरहेको र तिनीहरूका लागि रोल मोडेल बनेको छ ।”

अनुसन्धान र विकासमा लगानी गर्न हुवाव उत्सुक रहेको र ग्राहकहरूको लागि उपयोगी सिर्जना गर्न र एशिया–प्रशान्त क्षेत्रका मानिसहरूलाई डिजिटल र बौद्धिक प्रविधिहरूका फाइदाहरू पु¥याउन साझेदारहरूसँग खुला रूपमा सहकार्य गनतर्र्फ आफ्नो ध्यान जारी राख्ने मेङले बताउनुभयो ।

उक्त अवसरमा बोल्दै थाई डिजिटल अर्थतन्त्र र समाजका मन्त्री प्रसर्ट जन्तरारु आङटोङले भन्नुभयो, “थाइल्यान्डले राष्ट्रिय विकासका लागि आवश्यक नीति बनाई डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइरहेको छ । यसले डिजिटल अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाउनको लागि प्रमुख चालकको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।”

जापानमा ९० लाख घर खाली

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।

स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरू मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन् । त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् ।

जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ ।सन् १९७३ मा खाली घरहरूको सङ्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९३ मा यो सङ्ख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो सङ्ख्या बढेर दोब्बर भएको छ ।

राजनीतिक दलका नेताहरुको सुझाव – ‘श्रमिकको विदेश पलायन रोक्न ठोस योजना र कार्यक्रम आवश्यक’

काठमाडौँ, १९ वैशाख : श्रम विदेश पलायन हुनेक्रम रोक्नका लागि ठोस योजना र कार्यक्रम ल्याउन सरकारलाई राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन् । आज यहाँ १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियुसिसी)द्वारा आयोजित कार्यक्रममा उपस्थित नेताहरुले श्रम निर्यातभन्दा पनि स्वदेशभित्रै श्रम सिर्जना गर्न जोड दिएका हुन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनबहादुर गुरुङले देशभित्र स्वरोजगार र रोजगारको प्रवद्र्धनका लागि सरकारले झन्झटिलो प्रक्रियालाई सकेसम्म सरलीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।

“श्रमिकको निर्यात हैन श्रम सिर्जना गरौँ । श्रमको सिर्जना गर्नका लागि लगानीको वातावरणको आवश्यकता छ । यसको सहजीकरणका लागि सरकारले कदम चाल्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रा प्रक्रिया अत्यन्त झन्झटिला छन् यसलाई दु्रतमार्गमा लानुपर्छ । स्वरोजगार र रोजगार प्रवद्र्धन गर्नका लागि पनि यो कुरा आत्मसात गर्न आवश्यक छ ।”उपसभापति गुरुङले सुशासन कायम गर्नका लागिसमेत उच्च तहका नेता तथा कर्मचारीले श्रमको सम्मान गर्न जान्नुपर्ने बताउनुभयो ।

“सिंहदरबार छिरेपछि मालिक हाँै कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ । वास्तवमा हामी कोही मालिक हैनौँ । प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव मुख्यसचिव जे भए पनि हामी सबै देशका श्रमिक नै हाँै । जनताको श्रमिक, भरिया हौँ भन्ने हामी नेताले नबुझ्दा पनि श्रमिक र जनताले दुःख पाइरहेका छन्”, उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकभित्रै श्रम गरेर राष्ट्र निर्माणको यात्रामा जोडिने मनोविज्ञान कमजोर बन्दै गएको गुनासो गर्नुभयो । “जो जो नेपालभित्रै श्रम गरेर राष्ट्र निर्माणमा जुट्नुभएको छ उहाँहरु वास्तवमा धन्यवादको पात्र हुनुहुन्छ । तर पछिल्लो समय ठूलो सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा जाने परिस्थिति सिर्जना हुनु मुलुकको समृद्धिका लागि चुनौती पनि हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले मुलुक विकास र समृद्धिको यात्रालाई तीव्रता दिन नसके रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सहभागी गराउनेतर्फसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ नेता एवं सङ्घीय सांसद पशुपति शमशेर जवराले औद्योगिक विकासले मात्र पर्याप्त रोजगारी सिर्जना हुने धारणा राख्नुभयो । उहाँले औद्योगिक क्षेत्रको विकासका लागि सरोकारवाला सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

“मुलुकमा युवाले रोजगार प्राप्त नगरेसम्म उनीहरु देशभित्र बस्ने परिस्थिति सिर्जना हँुदैन । उनीहरु मुलुकमा नबसे साच्चिकै विकास हुन सक्दैन”, उहाँले भन्नुभयो, “आज हेरौँ भने उद्योगको अवस्था खुम्चेको छ । देशभित्र उत्पादनशील उद्योग विकास नभएसम्म पलायन भएको युवा जनशक्तिलाई रोजगार दिएर मातृभूमिमै सेवा गर्ने अवसर दिन सक्दैनौँ ।”

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेश पलाएन भएकालाई देश फिर्ता गर्न सरकारले ठोस योजना र कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले
“सामान्य रोजगारीको अवसर नभएर लाखौँ युवा विदेश पलायन हुनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “हामीले यस दिवसको ऐतिहासिक महत्वको बयान गरेर मात्र पुग्दैन । धेरै राजनीतिक परिवर्तनमा बाबजुद पनि श्रमिकको अवस्थामा सुधार हुन नसक्नु दुःखद् हो । यही गतिमा श्रमिक शून्य राष्ट्र हुनसक्छ ।”

जेटियुसिसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम पलायन रोक्नका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीको थप अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले श्रम बजारको माग र पूर्तिको बेमेललाई न्यूनीकरण गर्नतर्फसमेत सचेत गराउनुभयो । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम बजार सम्बन्धित सबै निकायबीच आपसमा विश्वासमा लिएर सहकार्य गर्नुपर्ने बताउनुभयो ।

आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय

काठमाडौ“, १९ वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे विज्ञसमक्ष सुझाव सङ्कलन गरेको छ । काठमाडौँमा आज मन्त्रालयले पत्रकार, बुद्धिजीवी र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग सुझाव लिएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारले समाजको अवधारणा निर्माण गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा आगामी नीति तथा कार्यक्रम एवं बजेटमा यस क्षेत्रको भावना समेट्न जरुरी रहेको बताउनुभयो । उहाँले कार्यक्रमका सहभागीले मौखिक रुपमा सुझाव दिएपनि विस्तृत रुपमा लिखित बुँदासमेत सुझाव दिनसक्ने बताउनुभयो ।

“आमसञ्चारलाई नीतिगतस्तरमा बलियो बनाउन लिखित सुझाव दिनसक्नुहुन्छ,” मन्त्री शर्माले भन्नुभयो–“तपाईहरुको सुझावले नीति बनाउन मार्गनिर्देश गर्ने छ ।” उहाँले विज्ञापन नीति, ऐन र सरकारी मिडियाका विनियामवलीलाई नयाँ ढङ्गमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै मिडिया वर्गीकरण र समावेशीका मुद्दामा मन्त्रालय संवेदनशील रहेको मन्त्री शर्माको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य बीमा, स्वास्थ्यमा पत्रकारलाई निश्चित शुल्क छुटको व्यवस्था, समानुपातिक विज्ञापन विरतण, तालिम र वृत्तिविकासका लागि मन्त्रालयले बजेटमा निश्चित रकम तोकेरै खुलाउनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आम सञ्चारले उठान गर्दैआएका विषयमाथि छलफल गर्न जरुरी रहेको बताउनुभयो । यसको अनुगमन सरकारबाट हुनुपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय समाचार समितिलाई बहुभाषामा समाचार सेवा दिने र २४ सै घन्टा सेवा दिने प्रविधिमैत्री बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

“राससले समावेशी हुदँै चुस्तगतिमा सेवा दिइहरेकोछ”, कार्यकारी अध्यक्ष झाले भन्नुभयो–“बहुभाषामा रासस लैजाने हाम्रो जोड हो । बजेटमै राससबारे ध्यान आर्कषित हुनुपर्छ ।”

नेपाल टेलिभिजिनका महाप्रबन्धक फुलमान बलले नेपाल टेलिभिजनको पहँुच विस्तार गर्ने कुरामा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु किशोर नेपाल, शिव गाउँले र महेन्द्र विष्टले आमसञ्चार प्रतिष्ठान नीति समय सापेक्ष बनाउने विषयमा जोड दिनुभयो । पत्रकार महासङ्घको भौतिक तथा गुणात्मक विकासमा लगानी गर्न उहाँहरुले मन्त्रालयलाई सुझाव दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले लोकल्याणकारी विज्ञापनलाई उदार र प्रभावकारी बनाउन मन्त्रालयले चासो दिनुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले सञ्चारमन्त्रालयले आमसञ्चार प्रभावकारिताबारे अनुगमन गर्न अनिवार्य रहेको बताउनुभयो । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीले लोकल्याणकारी विज्ञापन लक्षित वर्गसमक्ष पुर्याउन मन्त्रालयले जोड दिनुपर्ने बताउनुभयो ।

सञ्चारीका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले नीति तथा कार्यक्रम बजेट महिला पत्रकारमुखी भएर छुट्टै महत्वका साथ आउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राई, मेधशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडी, सञ्चारीका समूहका अध्यक्ष विमला राई, क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का उपाध्यक्ष रामकला खड्कालगायतले आमसञ्चार नीतिमा समावेशीताको मुद्दा अनिवार्य समेटनुपर्ने बताउनुभयो ।

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर, १९ वैशाख : चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ । भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिनुभयो ।

आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट नौ जनाको प्रहरी टोली र आरएनए–१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगेपनि दुवैको मृत्यु भइसकेको उहाँले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो ।

बाँकेको बालापुरमा भीषण आगलागी हुँदा २५ लाखको क्षति

नेपालगञ्ज, १९ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी –८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थारुको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ । स्थानीय गिरी परिवारको एकएक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष गिरीले उल्लेख गर्नुभयो । घटनाको सबै विस्तृत विवरण आएको नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले करिब तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । विद्युतीय अनियमितता कारण एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको हो । आगलागीका कारण करिब रु २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । यसबाहेक राप्तीसोनारी वडा नं २ का जङ्गलमा पनि डढेलो लागको छ । दिउँसोमा चल्ने तातो हावाले डढेलोलाई फैलाउन सहयोग गरेको शम्शेरगञ्ज सव डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।मन्त्रालयका अनुसार सोमबार देशको प्रहरीले निष्कासन गरेपछि दुई सय ६० अफगान आप्रवासी पाकिस्तानबाट काबुल फर्केका छन् ।

यसैबीच दुई हजार तीन सय ६८ अफगान आप्रवासीहरू सोही दिन इरानबाट अफगानिस्तानमा पुनः प्रवेश गरेको खामा प्रेसले जनाएको छ । आप्रवासीहरू नानगाहार प्रान्तको तोरखाम सीमा हुँदै देशमा फर्केको जनाइएको छ । फर्केका व्यक्तिहरू हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् ।हालैका महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूको निष्कासन तीव्र भएपछि तालिबानको शरणार्थी मन्त्रालयले इरानबाट आप्रवासीहरूको फिर्तीको घोषणा गरेको छ ।

यसअघि एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गर्दै यो योजना अन्तर्राष्ट्रिय मानव अधिकार कानून र शरणार्थी कानून विपरीत भएको उल्लेख गरेको थियो ।

यसैबीच तालिबानका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ती मामिलामन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीको ढाँचाभित्र समाधान गर्न आग्रह गर्नुभएको थियो । पाकिस्तानबाट कागजातविहीन अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पहिलो चरण नोभेम्बर २०२३ देखि सुरु भएको थियो । मानव अधिकारवादी सङ्गठन तथा तालिबानले पाकिस्तानको कार्यको आलोचना गरेका छन् । यद्यपि पाकिस्तानी सरकारले यो कुनै जातीय समुदाय निर्देशित प्रक्रिया नभएकोमा जोड दिएको छ ।

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताउनुभएको छ । यद्यपि उहाँले कुनै पनि युद्धविराम स्थायी हुनुपर्नेमा जोड दिनुभयो । हमासले ४० दिनको युद्धविराम तथा बन्धकहरू र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान योजनाबारे विचार गरिरहेको छ ।

हमासका एक वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले ‘अत्यन्त कम समयभित्र समूहले आफ्नो प्रतिक्रिया दिने’ बताउनुभयो । यद्यपि उहाँले त्यो कहिले हुने अपेक्षा गरिएको छ भन्नेबारे केही बताउनुभएन ।अज्ञात स्थानबाट फोनमार्फत एएफपीसँग कुरा गर्दै उहाँले कायरोमा वार्ताबाट कतारमा आफ्नो बेसमा फर्केका हमासका दूतहरूले कुनै प्रगति भएको महसुस गरे वा गरेनन् भन्न हतार हुने बताउनुभयो । उहाँले यसको उद्देश्य ‘यो यद्धलाई समाप्त गर्नु’ रहेकामा जोड दिनुभयो ।

यद्यपि यो दक्षिणी गाजामा आफ्नो विशाल स्थल आक्रमणलाई अगाडि बढाउने इजराइलको दृढ सङ्कल्पसँग बाझिएको जस्तो देखिन्छ । वार्ताको जानकार भएको एक स्रोतले कतारी मध्यस्थकर्ताहरूले एक वा दुई दिनमा हमासको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएको छ ।

स्रोतका अनुसार इजराइलको प्रस्तावमा ‘वास्तविक सुविधाहरू’ समावेश छन् । यसमा युद्धमा प्रारम्भिक विराम र बन्धक तथा कैदीहरूको आदानप्रदानपछि ‘दिगो शान्ति’ को अवधि समावेश गरिएको छ । स्रोतले गाजा क्षेत्रबाट इजराइलको फिर्तीको विवाद सम्भावित मुद्दा बनेको बताएको छ । इजराइली सरकारले ‘बुधबार रातिसम्म जवाफको प्रतीक्षा गर्ने’ र सम्झौतालाई अन्तिम रूप दिन कायरोमा दूतलाई पठाउने वा नपठाउने भन्नेबारे पुनः ‘निर्णय गर्ने’ एक इजराइली अधिकारीले एएफपीलाई बताए ।

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौँ, १९ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रुपमा सीपमूलक तालिम उपलब्ध गराउने योजना रहेको बताउनुभएको हो । “आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धिका लागि काम गरिरहेका छौँ ।

आन्तरिक रुपमा सीपमूलक तालिमहरु दिनुपर्छ भन्नेमा योजना बनाइरहेका छौँ”, मन्त्री अर्यालले भन्नुभयो, “अबको दशक भनेको आन्तरिक रोजगारीको दशक बनाउने हो । यो दशकमा सीपमा लगानी बढाउने प्रतिबद्धतासहित हामीले काम गरिरहेका छौँ ।” उहाँले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोष, तीनवटै संस्थाबीचको सम्बन्ध सुमधुर बनाउँदै प्रभावकारी सेवा प्रवाहका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।मन्त्री अर्यालले शिक्षा नीति र श्रम बजारको मागबिच तालमेल नमिलेकाले सीप र प्रविधियुक्त जनशक्ति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध निर्माणका लागि काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरबाट नेपाली श्रमिकप्रति हेर्ने नजर सकारात्मक रहेकामा प्रशंसा गर्नुभयो । “श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सोचेजस्तो हुन सकेको छैन । न्यूनतम पारिश्रमिक दिने र बढि समय काममा खटाउने जस्ता विषयमा हामीले निजी क्षेत्रका व्यवसायी र रोजगारदातासँग निरन्तर छलफल गरिरहेका छौँ”, श्रममन्त्री अर्यालले भन्नुभयो ।

नेपाली श्रमिकको हकहितका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग भइरहेको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मन्त्री अर्यालले स्वदेश र विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान खोज्न एकद्वार प्रणालीबाट ‘श्रमाधान’ योजना घोषणा गरेको जानकारी दिनुभयो ।

वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौँ, १९ वैशाख : देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ ।महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुुने गरी पानी नपर्ने जानकारी दिनुभएको छ । “आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन । अन्य भू–भागमा भने मौसम सफा रहनेछ ।”

वन डेढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको मङ्गलबार तथा रमेश पहारीको आज बिहान मृत्यु भएको हो ।

प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताउनुभएको छ । “आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ”, उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावाहुरीले वारिको आगो पारि पु¥याएर डढेलो फैलिरहेको छ ।”

उहाँका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उहाँको भनाइ छ । शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नेपालमा साधारणतया वर्षमा दुइ हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् । “८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छाँै”, शर्माले भन्नुभयो, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोको घटना बढी हुने गरेको पाइन्छ ।”

वनविज्ञ डा सोनी बराल गौलीले वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको भन्दै संरक्षणमुखी वन व्यवस्थापनमा भन्दा व्यवस्थापनमुखी वन विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

डिभिजन वन कार्यलय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले जङ्गली जनावारले घरपालुवा जनावारलाई आक्रमण गर्ने र जङ्गली जनावार धपाउनका लागि पनि वनमा आगो लगाउने गरेको जानकारी दिनुभयो । मानवीय कारणले नै जङ्गलमा आगलागीका घटना बढिरहेको उहाँको भनाइ छ ।

वन डढेलो नियन्त्रण गर्नकै लागि अहिले डिभिजन वन कार्यालयले व्यापक जनचेतनाका कार्यक्रम सुरु गर्न थाल्नुभएको छ । यस्ता घटनामा मानवीय गतिविधि रोक्न केही डिभिजन वन कार्यालयले सिसी क्यामरा जडान कार्यसमेत सुरु गर्न थालेको छ ।

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान लगाउनेजस्ता मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजन वन अधिकृतको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि वनविद्हरुको सुझाव छ ।

कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदीले मानिसले जानाजान जङ्गलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडान अगाडि बढाइएको बताउनुभएको छ । “हाल दुई वटा सिसी क्यामरा जडान भइरहेको छ, अब सिसी क्यामरा जडानको प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढाउने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “नभए त जङ्गलमा गएर आगो लगाउने गतिविधि नै नरोकिने भयो । कारबाहीको दायरामा ल्याउन पनि सहज हुनेछ ।”

यस्तै अन्य डिभिजन वन कार्यालयले पनि यस्ता मानवीय गतिविधि नियन्त्रणका लागि वन क्षेत्रमा सिसी क्यामरा राख्ने तयारी गरेको जनाइएको छ । यसका साथै वनका पातपतिङ्गर सफा गरेर आगलागी हुन नदिनेलगायतका कार्य अगाडि बढाइएको छ ।

मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । “कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ”, ऐनमा उल्लेख छ ।

वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।

वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।

यसैगरी आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तनलगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ ।

रणनीतिको मुख्य लक्ष्य डढेलोबाट हुने जन, धन, वन, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीको क्षतिलाई न्यूनीकरण गर्दै यसको उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पु¥याउनु रहेको छ ।

नीतिगत, कानुनी तथा संस्थागत सुधार गर्ने, बहुसरोकारवालाको संलग्नतामा वन क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनको परिमार्जन गरी डढेलो व्यवस्थापनसम्बन्धी विषयलाई समावेश गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने डढेलो निरोधात्मक रणनीति रहेको छ ।

साथै, नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनमा वन डढेलोको विषय समावेश गरिने वन तथा भू–संरक्षण मन्त्रालय र अन्तर्गतका निकायको संस्थागत संरचना सुधार गरी वन क्षेत्रबाहेकका अग्नि प्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ । तर उक्त रणनीतिको प्रभावकारी कार्यान्वयनको अभाव रहेको बताउनुहुन्छ, सामुदायिक वन उपभोक्ता महासङ्घ फेकोफनका अध्यक्ष ठाकुर भण्डारी । “वनमा लागेको आगलागी नियन्त्रणमा जाँदा उपभोक्ताको ज्यानै गएको छ”, उहाँले भन्नुभयो, “सरकारले कसरी सुरक्षित तरिकाले आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न जरुरी छ ।”

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

गल्कोट (बागलुङ) १९ वैशाख: खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययन अनुमति दिएपछि स्थानीय उत्साहित भएका छन् ।
एक सय वर्षदेखि बन्द अवस्थामा रहेको भनिएको तामाखानी अध्ययनका लागि सरकारले अनुमति दिएपछि सो क्षेत्रका स्थानीय पुनः खानी सञ्चालनमा आउने आशासहित उत्साहित भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो । “तामाखानी उत्खनन्का लागि पटकपटक आवाज उठाइँदै आएका थियौँ । म नेतृत्वमा आएपछि पनि पटकपटक यो विषयमा कुरा भएको थियो । ढिलै भएपनि अध्ययन अनुमति दिइएको पत्रप्राप्त भएपछि हामी उत्साहित भएका छौँ”, अध्यक्ष बुढाले भन्नुभयो । खानी तथा भूगर्भ विभागले श्रेया जलान समूहलाई अध्ययनका लागि अनुमति प्रदान गरिएको जानकारी आएको उहाँले बताउनुभयो ।

विभागका जियोलोजिष्ट रवि आचार्यले पनि तमानखोला गाउँपालिकाको ११ वर्ग किलोमिटर क्षेत्रफलमा तामाखानी अध्ययनका लागि आगामी २०८४ असोज १४ गतेसम्म चार वर्षका लागि अध्ययन अनुमति दिइएको बताउनुभयो । तामाखानीको अध्ययन प्रतिवेदनका आधारमा थप रणनीतिसहित सरकारले आवश्यक कामगर्ने पनि उहाँले बताउनुभयो ।

तामाखानीको अध्ययन गर्नका लागि अनुमती पाएपछि स्वीडेन र अस्ट्रेलियन भूगर्भविद्सहितको टोलीले अध्ययनकार्य अगाडि बढाउने तयारी भइरहेको श्रेया जलानका प्रतिनिधि भूगर्भविद् बलराम कार्कीले बताउनुभयो । “तमानखोलामा रहेको तामाको अवस्था अध्ययनपछि थाहा हुनेछ । त्यसको गुलस्तर, उत्खनन् गर्न सकिने समय, उत्खनन् गर्दा आउने तामाको बजार मूल्यलगायत विषयमा हामीस्ले विज्ञसहित गहन अध्ययन गर्नेछौँ । अध्ययनका आधारमा थप रणनीति बनाउन पहल गरिने छ” कार्कीले भन्नुभयो ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीसहित तमानखोला क्षेत्रमा एक सय वर्षअघिसम्म तामाखानी उत्खनन् हुनेगरेको स्थानीयको दावी छ । अहिले पनि तमानखोलाको नर्जाखानी, भित्रिवन र पात्लेगाउँनजिक तामाखानीका सुरुङ र अवशेष बाँकी छन् । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गरेकामा तत्कालीन सरकारले कर उठाउने थालेपछि विसं १९८१ देखि तामा निकाल्न छोडेका जानकारहरूको भनाइ छ । त्यसयता तामाखानीको अध्ययनका गाउँलेहरूले पटक–पटक प्रयास गर्दैआएका थिए ।

“तामाखानी छ भन्ने विषय यहाँको भौगोलिक अवस्थाबाट पनि प्रष्ट हुन्छ । अहिले पनि त्यो सम्भावना कायमै छ तर कति तामा छ, कति वर्षसम्म उत्खनन् गर्न सकिन्छ भन्नेबारेमा अध्ययनको आवश्यकता हो”, गाउँपालिका अध्यक्ष बुढा भन्नुहुन्छ,“पहिलोपटक अध्ययनका लागि चार वर्षलाई अनुमति दिएको पत्रप्राप्त भएपछि हामी निकै उत्साहित भएका छौँ । ढिलै भए पनि तामाखानीबाटै तमानखोलालाई समृद्धि बनाउने हाम्रो सपना पूरा हुने आशा जागेको छ ।”

नर्जाखानीमा तामा खनेको एक किलोमिटर भन्दा लामा सुरुङ रहेको छन् । तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउनसके स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै राज्यले आर्थिक लाभलिन सक्ने स्थानीयको बुझाइ छ ।

श्रमिक दिवसले नछोएका अनौपचारिक क्षेत्रका कामदारहरु

काठमाडौँ, १९ वैशाख : काठमाडौँको पुरानो बानेश्वरस्थित एक निर्माणस्थलमा भेटिएकी उदयपुरकी सरिता परियार आफूलाई सार्वजनिक बिदा वा अन्तर्राष्ट्रिय श्रमिक दिवसले खान लाउन नदिने ठानेर सदाझैँ नियमित काममा खटिनुभएको छ ।

वास्तवमै अनौपचारिक क्षेत्रका श्रमिकको पहुँच राजनीतिक उच्च र नीति निर्माणको तहमा पुग्न गाह्रो हुनेरहेछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सार्वजनिक बिदा भए पनि अनौपचारिक क्षेत्रका श्रमिक नियमित काममै व्यस्त रहनुले यही कुराको छनक दिन्छ ।

सरकारी बिदाको दिन भए पनि दुई बच्चालाई घरमा खाजाको व्यवस्था गरेर आफू खाना बोकेर बिहानै घरबाट काममा निस्किएको परियारको भनाइ छ । “महिला भएपछि ज्यामी सिमेन्ट, बालुवा बोक्ने, तिनलाई घोल्नेजस्ता काम गर्न झन गाह्रो हुँदोरहेछ”, मध्याह्नको घाममा काम गर्दा गर्दै निधारको पसिना पुछ्दै उहाँले रासससँग भन्नुभयो, “भनेजस्तो काम नभए पनि यही भए पनि गर्नुको विकल्प छैन । यसमा पनि सोचे जति पैसा पाइन्नँ । दिन्छु भनेर वाचा गरिएका पैसा पनि समयमा पाइँदैन ।” गत महिना एक निर्माणस्थलमा गरेको कामको रु पचास हजार अझै ठेकेदारसँग लिन बाँकी रहेको र ठेकेदारले झुलाइरहेको उहाँको गुनासो छ । सरिताले ज्यामी काम गरेर भए पनि दुई सन्तानलाई निजी विद्यालयमा पढाइरहनुभएको छ ।

भृकुटीमण्डपमा गरिएको विशेष समारोहमा औपचारिक क्षेत्रका श्रमिक र विभिन्न दल निकट श्रम सङ्गठनका कार्यकर्ता भेला भए पनि अनौपचारिक क्षेत्रका अधिकांश श्रमिक भने आफ्ना नियमित काममै व्यस्त रहेका पाइए । दिनभरि भारी नबोकी वा काम नगरी बेलुका छाक टार्न मुस्किल पर्ने श्रमिकलाई सभा–समारोहमा कमै बोलाइन्छ । उनीहरुलाई बोलाइए पनि काम छोडेर जान मान्दैनन् । सबैको नेतृत्व गर्ने राजनीतिले नै हो तर भाषण र प्रतिबद्धताअनुसार श्रमिकका पक्षमा पर्याप्त काम नभएका कारण अनौपचारिक क्षेत्रका श्रमिकले दिवसका औपचारिक कार्यक्रममा ध्यान दिन नचाहेको पाइयो ।

मैतीदेवीमा रिक्सा चलाइरहेका सिन्धुलीका जीवन बुढाथोकी भने पुरुष भएकाले र सामान ओसारपसारको काम भएकाले प्रायः कामको हाताहाती नै कारोबार हुने हुँदा अहिलेसम्म ठगिनु नपरेको बुझाइ छ । “कुनै दिन त कामको चाप हुन्छ । असिनपसिन भएर काम गरिन्छ । उस्तै परे रु चार÷पाँच हजारसम्म कमाइ हुन्छ, कुनै दिन एक हजार पनि हुँदैन”, ढाडको समस्याका कारण आजभोलि ठूला ठूला भारी बोक्ने काम भने आफूले गर्न नसक्ने भएकाले भतिजालाई पनि साथमै ल्याएर दुई जना भएर एउटै रिक्साबाट काम गर्दै आउनुभएको छ । भतिजा किरण बुढाथोकी यसअघि एक कार्यालयमा सुरक्षा गार्डका रुपमा काम गर्नुहुन्थ्यो । महिनामा रु २२ हजार पाउन आठ÷नौ घण्टा उभिनुपर्ने र नचिनेका मान्छेलाई पनि ढोकामा सलाम ठोेक्नुपर्ने हुन्थ्यो । त्यो काम छोडेर अहिले किरण काकासँगै ज्यामी काममा भिड्नुभएको छ ।

अनौपचारिक क्षेत्रका श्रमिका बारेमा कानुन र नीति स्पष्ट छैन । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न उहाँले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा अनौपचारिक क्षेत्रका श्रमिकको पारिश्रमिक बढाउन आफू लागिपर्ने बताउनुभएको छ । श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने उहाँको ठोकुवा रहेको छ । उच्च तहका प्रतिबद्धताको कार्यान्वयन हुने हो भने अनौपचारिक क्षेत्रका श्रमिकले सम्मानपूर्वक ज्याला पाउनेमा विवाद छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजै ‘कानुन’ कार्यक्रममार्फत श्रमिकलाई कानुनीरूपमा सक्षम बनाउने घोषणा गरेको छ । विसं २०८० वैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने गरी गत मङ्सिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयले स्वीकृत गरेको थियो । यही वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेको जनाइएको छ ।

श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोख्रेल

अत्तरिया (कैलाली), १९ वैशाख : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले श्रमिक दिवस मजदुरको मात्र नभई कम्युनिष्ट पार्टीको पनि उत्सव भएको धारणा राख्नुभएको छ ।

आज १३५ औँ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले यसलाई एकता र सङ्र्घषको रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ–आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ ।”

उपमहासचिव पोख्रेलले सरोकारवाला पक्षले मजदुरको पक्षमा बनाइएका कानुनलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित गर्ने कामलाई व्यावहारिकरुपले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमिकले औजार चलाउन जान्नुपर्ने हुन्छ, जानेन भने रोजगारी पाउन समस्या हुन्छ ।”

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

मोरङ, १९ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग भएको बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिको दुई दिने तेस्रो अधिवेशन एवं मिडिया सम्मेलनको उद्घाटन गर्दै उहाँले पत्रकारले लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र कलमलाई निरन्तरता दिई यसको जगेर्ना गर्नुपर्ने जिम्मेवारी रहेको विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारलाई खबरदारी गर्ने र समाजलाई सकारात्मक बाटोमा लैजानु पत्रकारको दायित्व भएको बताउनुभएको छ । प्रजातन्त्रमा पत्रकारको भूमिका महत्वपूर्ण र अपूरणीय रहेकाले यसलाई राष्ट्रको चौथो अङ्गको रुपमा परिभाषित गरिएको विचार उहाँले राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “विकासलाई जनताको समृद्धिसँग जोड्नुपर्छ भनेर प्रदेशका गरिब एवं जेहेन्दार विद्यार्थीलाई चिकित्सक, इन्जिनीयरलगायत विविध क्षेत्रमा निःशुल्क अध्ययनका लागि बजेट एवं कार्यविधि तयार गरेको छु । मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचन रोक्नका लागि विधानभन्दा माथि संविधानको प्रयोग गरेर आफू मुख्यमन्त्री भएकाले संविधानले दुई वर्षसम्म विश्वास मत लिनुपर्दैन भनेर किटान गरेको दाबी गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सञ्चारकर्मीले सरकारले गरेको असल कामको प्रशंसा र खराब कामको खबरदारी गर्नुपर्छ भन्दै सञ्चार क्षेत्रको विकास र पत्रकारको वृत्ति विकासमा सरकारको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले आर्थिक समस्याले ग्रस्त सञ्चारकर्मी सञ्चार क्षेत्रबाट पलायन हुने कार्यलाई रोक्न महासङ्घको नेतृत्व संवेदनशील हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

महासङ्घ प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश उपाध्यक्ष हिमाकुमारी चेम्जोङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका प्रदेश अध्यक्ष सन्तवीर लामा, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रदेश उपाध्यक्ष सुमन पुरी, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासङ्घका केन्द्रीय सदस्यद्वय अमर खड्का, इकवाल अहमद, प्रदेश समितिका सल्लाहकार मोहनकाजी न्यौपाने, अनिता बराल, गिरिराज भट्टराई र महासङ्घ प्रदेशका महासचिव विवेक गौतमले सञ्चारकर्मीलाई निर्धारण गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने, पत्रकारको सुरक्षाप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नुभएको थियो ।

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ, १९ वैशाख : अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ । यहाँ आज आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्नुहँुदै उहाँले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको र चालु आर्थिक वर्षमा नेपालले साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

चालु आवको बजेट बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार चालु आव २०८०÷८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको थियो । तर यो अनुमानभन्दा बढी अङ्कको आर्थिक वृद्धिदर हासिल हुने अर्थमन्त्री पुनले दाबी गर्नुभयो ।

“हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ । विश्व बैंकले तीन दशमलव तीन, एसियाली विकास बैंकले तीन दशमलव छ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ”, उहाँले भन्नुभयो, “यी सबै नौ महिनाका प्रक्षेपण हुन् । आव अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्च बढ्छ । हामीले केही सकारात्मक प्रयत्नहरु गरेका छौँ । अर्थ मन्त्रालयले चार दशमलव पाँच प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने अनुमान गरेको छ ।”

यद्यपि, अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो । अर्थमन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक परिदृश्य, श्रम बजारको अवस्था तथा श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर नेपालले आर्थिक नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान देशहरु भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर सरकारले नीति बनाइरहेको उहाँको भनाइ छ । आर्थिक शिथिलताकै बीचमा पनि चालु आवमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको अर्थमन्त्री पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने वृद्धिदर ऋणात्मक देखिएकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।

नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने भाक्ष्य आफूले नस्वीकार्ने पनि अर्थमन्त्री पुनको भनाइ छ । सरकारले लिएका ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्नसक्ने अवस्था बनेको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता

बागमती, १९ वैशाखः बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा प्रदेश प्रमुख शर्माले आज शुभकामना सन्देश जारी गरेर मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशको आवश्यकता र श्रम बजारअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्ने वैदेशिक रोजगारीलाई सीपयुक्त र थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई सम्मानपूर्ण रोजगारीको अवस्था सृजना गर्नुपर्ने महसुस गरेको र यसलाई प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता व्यक्त गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले नेपाली श्रमजीवी समुदायमा सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगामा पुर्याउने जिम्मेवारी पूरा गर्न अनवरत रूपमा लागिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ, १९ वैशाख : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताउनुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग मङ्गलबार मन्त्रालयमा भएको भेटमा उहाँले नेपाली भाषा, संस्कृति या कुन माध्यमबाट हुन्छ संसारका नेपालीभाषीहरूलाई नेपालसँग जोड्नुपर्ने बताउनुभएको हो ।

यसबाट एकपटकको नेपाली, सधैँको नेपाली भन्ने मान्यता पनि स्थापित हुन जाने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर एएनओले अन्य संस्थासँग समेत सहकार्य गरी नेपाली भाषा, संस्कार, सभ्यता र नेपाली परम्परामार्फत नेपालीभाषीहरूलाई एकीकृत गर्न सुझाव दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

भेटका अवसरमा एएनओका अध्यक्ष डिल्ली अधिकारीले आफूहरूले नेपाली भाषा, कला र संस्कृतिमार्फत भावी पुस्तालाई पनि नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना गर्ने उद्देश्यले यो अभियान सुरु गरेको जानकारी दिनुभयो ।

प्रवासमा रहेका नेपालीभाषी लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको माटोमा केही गर्न प्रेरित गरिरहेको जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष अधिकारीसहित महासचिव भट्टराई, सचिव चिरनजङ्ग थापा र संस्थापक सदस्यहरू बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङ सहभागी हनुहुन्थ्यो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीहरूको थाइल्याण्डको बैङ्ककमा गत चैतमा सम्पन्न भेलाले नेपाली जाति र नेपालीभाषीहरूलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एएनओ गठन गरेको थियो ।

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौँ, १९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आज शुभकामना व्यक्त गर्दै उहाँले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गर्नुभएको छ ।

श्रम जीवन र जगत्को अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीले आह्वान पनि गर्नुभएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको उहाँले बताउनुभएको छ ।

हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा

सिमकोट (हुम्ला), १९ वैशाखः हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर यहाँका स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको सांसद डा शर्माले राससलाई बताउनुभयो ।

उहाँका अनुसार जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौँमा पनि निःशुल्क उपचार गरिने छ ।

सो निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

हुम्लाका स्थानीयले डा शर्मा नेतृत्वमा रहेका विशेषज्ञ चिकित्सकहरूको टोलीले आफ्ना गाउँघरमै आएर उपचार सेवा प्रदान गरेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

उहाँले सम्भव भएका नागरिकलाई सोही शिविरमै उपचार दिने र गम्भीर रोगको आशङ्का लागेकालाई बाटो खर्चसमेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा पनि निःशुल्क उपचार गरिने बताउनुभयो । दुर्गमका नागरिकहरू पैसा अभावमा उपचारको पहुँचबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो नेतृत्वमा देशका दुर्गम क्षेत्रमा समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको डा शर्माले बताउनुभयो । उहाँले आज मुगु जिल्लामा यस्तै निःशुल्क स्वास्थ्य शिविर सेवा दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । आज मुगुको गमगढीमा र २१ गते जुम्ला र कालिकोटको सिमानामा पर्ने नाम्मामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

फिक्कल (इलाम), १९ वैशाखः आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताउनुभयो ।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते हुनुभएको छ । उाँलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिनुभयो । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

भजनी (कैलाली), १९ वैशाखः बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले वर्षौँदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताउनुभएको छ । “वर्षौँदेखिको हाम्रो पीडा सरकारले सुनेको छ । हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदै छ । महिनौँसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैँका लागि अन्त्य हुनेमा विश्वस्त छौँ ।”

स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बन्नुभएको छ । घरको सबै जायजेथा बोकेर महिनौँ सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बन्नुभएको हो ।

पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन् । सत्तरी लाख ४९ हजार नौ सय २२ लागतमा निर्माण हुनलागेको ती घरका लागि नगरपालिकाको रु २४ लाख लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले रु २१ लाख २९ हजार छ सय लगानी गर्दा रु २५ लाख ३० हजार तीन सय २२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।

राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताउनुभएको छ । “प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ, “खासगरी सामाजिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ ।” परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताउनुभयो ।

‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ – मन्त्री यादव

काठमाडौँ, १९ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका उपप्रधानमन्त्री यादवले आज राष्ट्रसङ्घको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो । उहाँले शान्ति, समृद्धि र दिगो विकासका निम्ति अध्यक्ष फ्रान्सिसले अगाडि बढाउनुभएका प्राथमिकताप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासभाका अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको उल्लेखनीय सुधारको सराहना गर्दै नेपालको दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असर घटाउन राष्ट्रसङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि नेपालसहित डेनमार्क, आयरल्याण्ड, स्वीडेन, कोलम्बिया र संयुक्त अधिराज्यले राष्ट्रसङ्घमा संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले गरेका प्रगति तथा चुनौतीबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण भएको बताउनुभयो ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

भन्सार छलीका अठासी लाखका सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर), १९ वैशाखः दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ ।

यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नंं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताउनुभयो ।

बितेका दुई महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको रु २६ लाख ९७ हजार बराबरको किराना सामान, रु १६ लाख ५२ हजारको कपडा, रु १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र रु २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले चार सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ ।

“माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो”, चन्दले भन्नुभयो, “अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।” एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, १९ वैशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइने गरेको बताउनुभएको छ ।

श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षामा लाग्न यस दिवसले प्रेरित गरेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“हाम्रो समाजमा श्रमलाई हेयको दृष्टिले हेर्ने पुरातन मान्यता कुनै न कुनै रूपमा अध्यापि कायमै रहेको देखिन्छ । श्रमलाई सम्मान हैन अपमान गर्ने यही पछौटे संस्कृतिका कारण स्वदेशमा रहँदा निश्चित प्रकारका कामहरू गर्न हिच्किचाउने, तर विदेशमा गएर त्यही काम गर्न बाध्य हुनुपर्ने अवस्था आज धेरै नेपालीले भोगिरहेको यथार्थ हो । तसर्थ, सामाजिक प्रतिष्ठाकै कारण देशका युवाहरू विविध कष्टहरू सहेर पनि वैदेशिक रोजगारीमा जाने वर्तमान अवस्थालाई व्यवहारिक रूपमा बदल्न स्वदेशमै रोजगारीको सिर्जना एवं श्रमिकको सम्मान हुने वातावरण निर्माण गर्नु अपरिहार्य छ”, सन्देशमा पूर्वराष्ट्रपतिले भन्नुभएको छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको तथा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हामी सबैको दायित्व भएको उहाँले स्मरण गराउनुभएको छ ।

श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

गैरकानुनी बाटोबाट किर्गीस्तानमा रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौँ, १९ वैशाखः इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताउँदै अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।

दूतावासले मङ्गलबार जारी गरेको सूचनामा भनिएको छ, “नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने गैरकानुनी काममा संलग्न हुने व्यक्ति÷समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ । ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”

इस्तानबुलको ‘ताक्सिम स्क्वायर’मा प्रदर्शनमा प्रतिबन्ध

इस्तानबुलको मध्य ‘ताक्सिम स्क्वायर’मा श्रमिक दिवस (मे दिवस) को दिन कुनै पनि विरोध प्रदर्शन गर्न नदिन मङ्गलबार टर्कीको प्रहरीले उक्त क्षेत्रमा प्रदर्शन गर्न प्रतिवन्ध लगाइएको घोषणा गरेको छ ।

एएफपीका संवाददाताका अनुसार प्रहरीले चोकको चारैतिर अग्लो धातुको बार लगाएको छ । सोमबार अधिकारीहरूले मे दिवस मनाउनका लागि ४० क्षेत्र निर्धारण गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।

सन् २०१३ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारविरुद्ध भएको प्रदर्शनको केन्द्रबिन्दु रहेको उक्त चोकको प्रयोग गर्न केही युनियनले माग गरेको तर यसलाई अनुमति नदिइने यर्लिकायाले बताउनुभयो ।

“तक्सिम स्क्वायर र यसको वरपरको क्षेत्र कुनै पनि प्रदर्शनका लागि सुविधाजनक छैन,” उहाँले भन्नुभयो । गत मार्च ३१ मा भएको स्थानीय चुनावमा विजयी भएको टर्कीको प्रमुख प्रतिपक्षी दल सीएचपी पार्टीले भने श्रमिक ¥यालीका लागि चोक खुला गर्न सरकारलाई दबाब दिएको छ ।

सीएचपीका नेता ओजगुर ओजेलले सोमबार गृहमन्त्रीलाई ताक्सिममाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “तक्सिमलाई प्रदर्शन गर्न निषेधित गर्नु भनेको संविधानको वर्खिलाप गर्नु हो ।”

एम्नेस्टी इन्टरनेसनलको अधिकार समूहले पनि यो प्रतिबन्ध पूर्णतया नक्कली सुरक्षा र सार्वजनिक व्यवस्थामा आधारित रहेको भन्दै यसलाई हटाउन माग गरेको छ ।एम्नेस्टीले उक्त चोकलाई ‘ठूलो साङ्केतिक महत्वको स्थान’ भनेको छ । एम्नेस्टीले भनेको छ, “एक दशकभन्दा बढी समयदेखि टर्कीका अधिकारीहरूले गैरकानुनी रूपमा मानिसहरूको भेला हुन पाउने अधिकारलाई प्रतिबन्धित गरेका छन् र चोकमा हुने शान्तिपूर्ण विरोध प्रदर्शनलाई अपराधीकरण गरेका छन् ।”

सरकार र प्रहरी प्रशासनले मे १ का लागि ४२ हजारभन्दा बढी प्रहरीलाई प्रदर्शन र यसका कारण निम्तिनसक्ने दङ्गा नियन्त्रणका लागि भन्दै तैनाथ गर्ने जनाएको छ ।

अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव

स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले हरेक वर्ष ४० वर्षको उमेरदेखि नै स्तन क्यान्सरको नियमित जाँच गराउनुपर्ने एक प्रभावशाली अमेरिकी निकायले मङ्गलबार सुझाव दिएको छ ।

सङ्घीय अनुदान प्राप्त गर्ने विज्ञहरूको स्वतन्त्र समिति ‘युएस प्रिभेन्टिभ सर्भिसेस टास्क फोर्स’ले यसअघि ४० वर्ष नाघेका महिलाले आफ्नो स्वास्थ्य इतिहासका आधारमा कहिलेदेखि स्तनको एक्सरे गरी क्यान्सर रोगको परीक्षण सुरु गर्ने भन्नेबारे व्यक्तिगत निर्णय गर्नुपर्ने र ५० वर्ष पुगेका व्यक्तिले अनिवार्यरूपमा परीक्षण गर्नुपर्ने बताएको थियो ।

यसको नयाँ मार्गदर्शन प्रमाणको समीक्षा र जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित एक मोडलिङ अध्ययनमा आधारित थियो । प्रस्तावित ड्राफ्ट सिफारिसलाई गत वर्ष अन्तिम रूप दिएको थियो ।

टास्क फोर्सका अध्यक्ष वान्डा निकोलसनले भन्नुभयो, “४० वर्ष भन्दा बढी उमेरका महिलाहरूलाई बढी स्तन क्यान्सर हुने गरेको छ भने हरेक वर्ष यो दर लगभग दुई प्रतिशतले बढिरहेको छ, त्यसैले यो सुझाबले देशभरका मानिसहरूका लागि ठूलो फरक पार्नेछ ।

उहाँले भन्नुभयो, “४० वर्षको उमेरमा सबै महिलाहरूको स्क्रिनिङ सुरु गरेर, हामी समग्रमा स्तन क्यान्सरबाट लगभग २० प्रतिशत बढी जीवन बचाउन सक्छौं ।”

स्तन क्यान्सर संयुक्त राज्य अमेरिकामा महिलाहरूको लागि क्यान्सर मृत्युको दोस्रो सबैभन्दा सामान्य क्यान्सर र दोस्रो सबैभन्दा सामान्य कारण हो, यहाँ गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो।

“क्यान्सरका कारण श्वेत महिलाको तुलनामा अश्वेत महिलाको मृत्यु हुने सम्भावना ४० प्रतिशत बढी हुन्छ, त्यसैले ४० वर्षको उमेरमा स्क्रिनिङ सुरु गर्दा अश्वेत महिलाका लागि अझ बढी फाइदा हुन्छ,” निकोल्सनले भन्नुभयो ।

नयाँ सिफारिस स्तन क्यान्सरको औसत जोखिममा रहेका लगभग सबै महिलाहरूका लागि लागू हुनेछ साथै स्तन क्यान्सरको पारिवारिक इतिहास भएका र ठूला स्तन भएका महिलाहरूका लागि पनि लागू हुनेछ ।

करिब आधा महिलाहरूमा घना स्तन तन्तु हुनेगर्छ र यो उनीहरूले सामान्यतया उनीहरूको पहिलो परीक्षणको समयमा मात्र पत्ता लाग्छ । स्तनको सघन तन्तुले स्तन क्यान्सरको जोखिम बढाउँछ र यसको अर्थ छाती वा स्तनले उनीहरूका लागि पनि काम नगर्न सक्छ ।

विशेषज्ञहरूले तत्काल थप अनुसन्धानको लागि आह्वान गर्दै भने, “दुर्भाग्यवश, कार्यदललाई स्तन अल्ट्रासाउन्ड वा एमआरआईको साथ अतिरिक्त परीक्षणको लागि सिफारिस गर्न वा विपक्षमा सिफारिस गर्न पर्याप्त प्रमाण छैन ।”

नयाँ सिफारिस रोगको व्यक्तिगत इतिहास भएकाहरू, वा केही आनुवंशिक मार्करहरूको कारण धेरै उच्च वृद्धि भएकाहरू, वा अघिल्लो बायोप्सीहरूमा पत्ता लागेको घाउ भएकाहरूलाई लागू हुँदैन । उनीहरूले चिकित्सकको परामर्शमा अधिक नियमित परीक्षणबाट लाभ उठाउन सक्दछन् ।

नयाँ सिफारिस ७४ वर्षको उमेरसम्म लागू हुने र त्यसपछि लाभ र जोखिमको सन्तुलन अनिश्चित हुने कार्यदलले जनाएको छ ।

“क्यान्सरविरुद्धको लडाइँमा एक्सरे परीक्षण एक शक्तिशाली उपकरण भए तापनि यसका सीमाहरू पनि छन्,” कार्यदलले वार्षिक रूपमा एक्सरे सफारिस नगर्नुको कारण स्पष्ट पार्दै भनेको छ । अत्यधिक परीक्षणले गलत सकारात्मक, वा आवश्यक नभएको उपचार प्राप्त गर्नुजस्ता हानिहरूको सङ्ख्या बढाउँछ ।

लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौँ, १९ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति-विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

“हामीले यस्तो विश्वको परिकल्पना गरौँ, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस्”, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले कार्यस्थलमा हुने शोषण, भेदभाव र असमानता उन्मूलनका लागि सबैले प्रयास गर्नुपर्ने बताउनुभयो ।

श्रमिक दिवस श्रमिकको त्याग र समर्पणलाई सम्झिने र उनीहरुलाई सम्मान गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यादवले भन्नुभयो, “श्रमिकहरु समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकतालाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरुको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।”

उहाँले विश्वभरका मजदुरले सामना गरेका सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्ने र उनीहरुको हित, अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहो-याउने अवसरका रुपमा विश्व श्रमिक दिवस रहेको स्मरण गर्नुभयो । श्रमिकको अधिकारको रक्षा र उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको औँल्याउँदै उहाँले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

“श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रुपमा लिन सक्नुपर्छ, श्रमिकको विगतका सङ्घर्ष र बलिदानको सम्मान गर्दै सामाजिक-आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्नसके मात्र श्रमिक दिवसको सार्थकता र महत्वको पुष्टि हुन्छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले समाज, देश र अर्थतन्त्रमा अतुलनीय योगदान पु-याउने सबै परिश्रमी श्रमिकको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौँ, १९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ ।

विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताउनुभएको हो ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”

विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।

त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताउनुभयो ।

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो ।

“यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भन्नुभयो, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।”

उहाँले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्नुहुँदै उहाँले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ ।

प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जनक शिक्षाद्वारा रु १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा रु १८ करोड ६७ लाख मूल्य बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ ।नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले उक्त मूल्य बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको हो । गत चैत १३ गतेबाट किताब बिक्री सुरु गरेको सो कार्यालयले हालसम्म १३ लाख ५१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको हो ।

कार्यालय प्रमुख रुद्र खनालले नयाँ शैक्षिक सत्र सुरु भएपछि कार्यालयले आफ्ना थोक बिक्रेतालाई सहजरुपमा पाठ्यपुस्तक उपलब्ध गराइरहेको छ । कार्यालयले गतवर्ष विद्यार्थी भर्नाका समयमा रु २७ करोड ६० लाख मूल्य बराबरको २१ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो ।

अहिले सो कार्यालयमा रु सात करोड १४ लाख मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उहाँले जानकारी दिनुभयो छ । कार्यालय प्रमुख खनालले यस वर्ष पुस्तकको अभाव नहुने जानकारी दिनुभयो । सुरु सुरुमा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गरिए पनि पछिल्ला समय मधेसका जिल्लामा समयमा पाठ्यपुस्तक बिक्री वितरण गरिएको हो ।

सो कार्यालयले आफ्ना सूचीकृत भएका ८२ पुस्तक बिक्रेतामार्फत कक्षा ५ देखि कक्षा १२ सम्मका पुस्तक बिक्री वितरण गर्दैआएको छ । कार्यालयले ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली तथा मधेस प्रदेशका जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गराउँदै आएको जनाएको छ ।

स्थानीय पालिकाले सो पुस्तकको रकम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउने तथा विद्यालयले उक्त पुस्तक आफ्ना विद्यार्थीलाई निशुल्क उपलव्ध गराउँदै आएको छ । सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि कतिपय विद्यालयले अभिभावकसँग रकम लिएर पुस्तक दिने गरेको गुनासोसमेत उठ्न थालेको जनाइएको छ । कार्यालय प्रमुख खनालले आफू नियमन गर्ने निकाय नभए पनि तोकिएको मूल्यभन्दा बढीमा पाठ्यपुस्तक बिक्री गरेको पाइएमा त्यस्ता बिक्रेतालाई कालोसूचीमा राखी कारबाही गरिने जानकारी दिनुभयो । अहिले मधेसका केही जिल्लामा निजी विद्यालयले ‘कमिसन’को लोभमा तोकिएको पसलबाट पुस्तक तथा पोसाक खरिद गर्न लगाउने गरेको अभिभावकको गुनासो रहेको पाइएको छ ।

कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा

काठमाडौँ, १९ वैशाख : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बद्र्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताउनुभएको छ ।

मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गर्नुभएको हो ।

सभापति देउवाले विसंं २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै तत्कालीन सरकारले त्यो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताउनुभयो ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै उहाँले कांग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा बताउनुभएको छ ।

विसं २०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गराउनुभएको छ ।

सभापति देउवाले आज पनि नेपालका श्रमजीवीहरूले अनेक समस्या बेहोरिरहनुपरेको उल्लेख गर्नुभएको छ । यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलनको सफलताको स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

नेपालमा पनि श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रुपमा यो दिवस मनाईँदै आइएको छ ।

श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ, १९ वैशाख : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले श्रमिकको हितका लागि निर्माण गरिएका नीतिगत व्यवस्थालाई कार्यान्वयन गरिनुपर्ने बताउनुभएको हो ।

शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभयो, “श्रमिक वर्गको हितका लागि रोजगारीको ग्यारेन्टी, व्यावसायिक सुरक्षा, स्वास्थ्योपचार, कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नै पर्दछ । मजदुरको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षाका लागि बीमालगायतका लोककल्याणकारी सेवा प्रवाहको क्षेत्रमा राज्यले नीतिगत व्यवस्थाका साथै कार्यान्वयनको तहमा लैजानुपर्दछ ।”

नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको तथा श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले श्रमिकका पक्षमा बनेका कानुन र संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने उल्लेख गर्नुभयो ।

नेपालका राजनीतिक परिवर्तनका लागि श्रमिक तथा मजदुर वर्गले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले बताउनुभएको छ । “नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्”, दाहालको शुभकामना सन्देशमा भनिएको छ, “किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।”

अन्तर्राष्ट्रिय श्रमिक दिवसले समस्त श्रमिकहरूलाई पेसागत हक हित र अधिकारका लागि सङ्गठित र एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने मैले विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

पहिलो पटक सन् १८८६ मई १ का दिन अमेरिकाको शिकागो सहरका मजदुरले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागसहित आन्दोलन गरेका थिए । त्यही दिनको स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरले १ मे लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

काठमाडौँ, १९ वैशाख : सभामुख देवराज घिमिरले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमिकलाई शुभकामना व्यक्त गर्नुहुँदै श्रमिक दिवसले समस्त मजदुर वर्गमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको कामना गर्नुभएको हो ।

“नेपालमा शारीरिक श्रम गर्ने र दैनिक ज्यालादारी मजदुरलाई सम्मानजनक रूपमा नहेर्ने प्रवृत्ति विद्यमान रहेको छ, जसको श्रमबाट निर्भर रहने उनीहरूलाई नै हेयको दृष्टिबाट हेर्ने नेपाली समाजको प्रवृत्ति बदल्न जरुरी छ”, शुभकामना सन्देशमा भनिएको छ, “संविधानको व्यवस्था बमोजिम श्रमिकको हक, हित तथा सुविधाको प्रबन्ध गर्न, असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।”

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

रोशी गाउँपालिकामा आगलागी,पन्ध्र घर नष्ट

धुलिखेल, १९ वैशाख: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् ।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।