`

हेर्नुहोस् बैशाख १९ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि- शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि- जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि- स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि- आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि- पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि- आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि- आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ – पूर्वप्रधानमन्त्री डा भट्टराई

मोरङ, १८ वैशाख : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित नागरिक संवाद तथा चियापान कार्यक्रम–२०८१ मा उहाँले निर्वाचित जनप्रतिधिनिलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा सङ्घीय गणतन्त्र सृदृढ हुनुका साथै जनता एवं मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा रहेका केही कमीकमजोरीलाई सहमतिको आधारमा संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता राख्नुपर्छ भन्दै यसबाट मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुनका साथै विदेशी मुद्राको आर्जन गर्न सकिने विचार राख्नुभयो ।

अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा युवायुवतीको वैदेशिक अध्ययन र कामका लागि पलायन हुने मोह गम्भीर विषय हो भन्दै उनीहरुको देश र समाजप्रतिको अविश्वासलाई विश्वासमा परिणत गराउन राजनीतिक दल, नागरिक समाजलगायत हामी सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिका आधारमा छिमेक मित्रराष्ट्र भारतसँग कृषि, विद्युत्लगायतका अन्य क्षेत्रका समस्या समाधान गर्न गम्भीररुपमा छलफल गरी मुलुकको चुलिँदै गएको व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा आर्थिक चलायमान गर्न कृषिमा आश्रित जनसङ्ख्यालाई सेवा क्षेत्रमा परिचालन गरेमा औद्योगिक उत्पादनको खपत वृद्धि हुुनुका साथै उद्योग स्थापनामा स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बैंकिङ क्षेत्रले औद्योगिक एवं पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने जनाउँदै वित्तीय संस्था एवं बैंकबाट लिएको ऋण नतिर्न अफवाह फैलाउनेलाई ऐन, नियमअनुसार कारबाही गर्र्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिष्ट्रार डा दिलनाथ फुयाँल, नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष पवन शारडा, अधिकारकर्मी उत्तम ढुङ्गेल, शिक्षाकर्मी गोपाल गेलाल, समाजसेवी विजयहरि शर्मालगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

तुलसीपुर, १८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही वैशाख१४ गते शुल्क विवरण माग गरिएकोमा अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् ।

उपमहानगरपालिकाभित्र ६८ सामुदायिक विद्यालय हुन् । अझै २६ विद्यायले विवरण नबुझाएको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा ‘आइएमएस इन्ट्री’ रोकिदिने समेत उहाँले बताउनुभयो ।

पछिल्लो समय निजी विद्यालयले बढी शुल्क लिएको भन्दै अभिभावकले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाइ छ । “धेरै अभिभावकले शुल्क बढी भएको विषयमा गुनासो गर्नुभयो”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले सबैको विवरण माग गरेका छौँ, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडि बढ्नेछौँ ।” सकेसम्म सबै निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा

झापा, १८ वैशाख : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताउनुभएको छ । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिनुभयो । मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उहाँले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताउनुभयो ।

“म महामन्त्रीको रुपमा कांग्रेस हुँ, तर सांसदको रुपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ”, आफैँलाई उदाहरण दिँदै उहाँले भन्नुभयो, “जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको कुरा हेर्दिन । को कुन पार्टीको हो भनेर विभेद कहिल्यै गरेको छैन ।”

जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उहाँले जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफुले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताउनुभयो । उहाँले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सुझाव दिनुभयो । “प्रविधिप्रति अविश्वास गर्नुहुँदैन, भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्”, उहाँको भनाइ थियो ।

दुई पूर्वनगर प्रमुख सम्मानित

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्वनगर प्रमुखद्वय रवीन कोइराला र विमल आचार्यलाई यस क्षेत्रको सामाजिक तथा राजनीतिक विकासमा पु¥याएको योगदानका लािग सम्मान गरिएको थियो । उहाँहरुलाई सङ्घीय सांसद विश्वप्रकाश शर्माले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । पूर्वनगर प्रमुखद्वय कोइराला र आचार्यले काँकडभिट्टा खानेपानीको स्थापना र विस्तारमा ठूलो योगदान पु¥याउनुभएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौँ, १८ वैशाख : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज वार्षिक राष्ट्रिय तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपणबारे जानकारी गराएको हो ।चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ । आव २०७८/७९ मा अर्थतन्त्रको आकार रु ४९ खर्ब ७६ अर्ब रहेको अन्तिम विवरण सार्वजनिक गरिएको छ ।

चालु आवमा कृषि क्षेत्रको तीन दशमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आव २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर दुई दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको छ ।

त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८/७९ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर छ दशमलव ५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ ।समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गरिएको कार्यालयले जनाएको छ । चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

संशोधित विवरणअनुसार गत आव २०७९/८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमश : दुई दशमलव ७२ प्रतिशत, एक दशमलव ४० प्रतिशत र दुई दशमलव ३६ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८/७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ५० प्रतिशत, १० दशमलव ७९ प्रतिशत र पाँच दशमलव ३२ प्रतिशत कायम हुने तथ्यांक सार्वजनिक गरिएको छ ।

खानी तथा उत्खनन् क्षेत्रको चालु आवको कूल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा सामान्य गिरावट भएता पनि खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी सङ्कलनमा गत आवको तुलनामा उल्लेख्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर चालु आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको हो ।गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर शून्य दशमलव ९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर आठ दशमलव ८४ प्रतिशत कायम गरिएको छ ।

चालु आवमा उद्योग क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो । साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकूलताले विश्वव्यापी रूपमा अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो ।

चालु आवमा आवास तथा भोजन सेवाको कूल मूल्य अभिवृद्धि वृद्धिदर २१ दशमलव ८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आवमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो ।

गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८ दशमलव शून्य तीन प्रतिशत रहने संशोधित अनुमान छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १२ दशमलव ५६ प्रतिशत कायम गरिएको छ । सूचना तथा सञ्चारतर्फ चालु आवमा कूल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ । घरजग्गा कारोबारको सेवा चालु आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

घर जग्गाको कारोबार तुलनात्मक रूपमा कमी भएता पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव १८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर एक दशमलव ७२ प्रतिशत कायम गरिएको छ ।

लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ आयोजना

काठमाडौँ, १८ वैशाख : यहाँस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आज यहाँ ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ को आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घको अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताउनुभयो । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्व रहेको जानकारी दिनुभयो ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गर्नुभयो । काठमाडौँमा यही वैशाख १६ र १७ गते तेस्रो नेपाल लगानी सम्मेलन भएको थियोे । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुन क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागीता थियोे ।

उक्त बिटुबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र एमआइसीसीआइएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि लगानी सम्मेलनको एकदिन अगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।
–––

आगलागीसम्बन्धी प्रहरीको १२ बुँदे अनुरोध

काठमाडौँ, १८ वैशाख : सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको स्मरण गराउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १२ बुँदे अनुरोध सार्वजनिक गरेको छ ।

चैत, वैशाख र जेठ महिनामा सुक्खा मौसम हुने, हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायत विगतका वर्षमा धेरै जनधनको क्षति भएकाले त्यसतर्फ नागरिकलाई सावधानी अपनाउनका लागि सार्वजनिक अपिल गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो । उपत्यका प्रहरीले आगो उत्पन्न हुने सलाइ, लाइटर, ग्यास सिलिन्डर र चुल्हो बालबालिकाबाट टाढै राख्न, होसियारीपूर्वक प्रयोग गर्न तथा काम सकिएपछि सुरक्षितस्थानमा राख्न पनि अनुरोध गरेको छ ।

प्रहरीले विद्युत्जन्य सामग्री (हिटर, गिजर, पङ्खा, आइरन, एसीआदि) लाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न, घरमा आगो निभाउने उपकरण राखी परिवारका सदस्यहरुलाई प्रयोग गर्ने तरिका सिकाउन, पूजा कोठामा सिन्के र बाटेको धूप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर छाड्नेजस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

यस्तै, आगालागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर निस्कन, ग्यास सिलिन्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिन्डरलाई घ्वाप्प छोप्न र ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए, नभएको यकिन गरेर मात्र प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

गाईवस्तु चरणका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो लगाउने कार्य नगर्न, वनमा पिकनिक गर्दा बालेको आगो र गाईबाख्रा चराउन जाँदा चुरोटका ठुटा पूर्णरुपमा निभाउन पनि प्रहरीले सचेत गराएको छ । प्रहरीले आगालागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन अनुरोध गर्दै आगालागी भएमा आफूलाई बचाएर अरूलाई जोगाउन भनेको छ । त्यस्ता विपद्जन्य घटना हुन नदिन र भई हालेमा पनि कमभन्दा कम क्षतिमा नियन्त्रणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै एआइजी थापाले उक्त कार्यमा जनस्तरबाटै उच्चस्तरको सहयोगको अपेक्षा पनि राखेको बताउनुभयो ।

सर्वोच्च अदालतको आदेशप्रति प्रेस चौतारीको ध्यानाकर्षण

काठमाडौँ, १८ वैशाख : प्रेस चौतारी नेपालले सिधा कुरा डटकम अनलाइन र युट्युब च्यानलको ‘द डार्क फाईल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्रीका सन्दर्भमा सर्वोच्च अदालतले दिएको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

चौतारीका उपमहासचिव शुरोजङ्ग पाण्डेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त आदेशप्रति ध्यानाकर्षण भएको जनाएको हो । “संविधानको अन्तिम व्याख्याता, मौलिक अधिकारका संरक्षक, न्यायका लागि जनताको आशाको केन्द्रका रुपमा स्थापित सम्मानित सर्वोच्च अदालत जस्तो गरिमामय संस्थाले संविधान प्रदत्त मौलिक हकमाथि प्रतिबन्ध लगाएको” विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको मौलिक हकअन्तगर्त धारा १९मा सञ्चारको हकअन्तर्गत विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने सुनिश्चत गरेको छ । प्रकाशन, प्रसारण गरेबापत प्रतिबन्ध नलगाउने, छापा वा अन्य सामग्री जफत नगर्ने, दर्ता खारेज नगर्ने व्यवस्था छ ।

सर्वोच्च अदाललते सोमबार उक्त अनलाइनले प्रकाशन गरेको समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो ।

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ ।

मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ ले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ ।

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो ।

मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १० दशलवलव आठ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको छ ।

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

चीनको मौसम विभागले मङ्गलबार देशका केही भागमा आँधीबेहरी, असिना र भारी वर्षाको पूर्वानुमानसहित सुन्तला मौसमी चेतावनी जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही भागमा आँधीबेहरीसहित असिना पर्नेछ । प्रतिघन्टा ८० मिलिमिटरभन्दा बढीको वर्षाले जियाङ्सी, फुजियान र गुआङडोङका केही भागमा असर पार्ने केन्द्रले जनाएको छ ।

जनतालाई बाहिरी कामकाजमा सजगता अपनाउन सल्लाह दिइएको छ । स्थानीय अधिकारीहरूलाई आपत्कालीन उद्धार प्रयासका लागि तयार रहन आग्रह गरिएको छ । केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ ।

चीनले मौसमी चेतावनीका लागि तीन–स्तरीय रङ–कोडित मौसम चेतावनी प्रणाली लागु गर्छ । यसमा सुन्तलाले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । त्यसपछि पहेँलो र नीलो हुन्छ ।

बङ्गलादेशद्वारा चिनियाँ कृषि कम्पनीलाई लगानी गर्न स्वागत

बङ्गलादेशले कृषि उद्योगलाई स्तरोन्नति गरी उच्च गुणस्तरको विकास हासिल गर्नका लागि चिनियाँ कृषि प्रशोधन उद्यम र कृषि मेसिनरी उद्यमलाई मुलुकमा लगानी गर्न स्वागत गरेको कृषिमन्त्री मोहम्मद अब्दुस शाहिदले बताउनुभएको छ ।

बङ्गलादेशका लागि चिनियाँ राजदूत याओ वेनसँग भेटमा शाहिदले बङ्गलादेशको विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै चीन बङ्गलादेशको सबैभन्दा असल मित्र र विकास साझेदार भएको बताउनुभयो । उहाँले चीनमा आँप निर्यातलाई बढावा दिएकामा चिनियाँ पक्षलाई धन्यवाद दिनुभयो ।

याओले बङ्लादेशबाट चीनमा ताजा आँपको निर्यातलाई बढावा दिन र बङ्गलादेशलाई आलुसम्बन्धी रोग नियन्त्रण गर्न चीनले व्यावहारिक उपायहरू गर्ने बताउनुभयो ।

चीनले थप बङ्गलादेशी कृषि प्राविधिकलाई चीनमा प्रशिक्षणका लागि आमन्त्रित गरी कृषिमा द्विपक्षीय सहयोगलाई मझबुत बनाई बङ्गलादेशलाई स्थिर आर्थिक र सामाजिक विकास हासिल गर्न मद्दत गर्ने अवसरहरू लिन चाहेको याओले उल्लेख गर्नुभयो ।

मन्त्री शाहिदले चीनबाट धेरै (कृषि) मेसिनरीहरू आयात गर्दै आएको उल्लेख गर्दै यसको मात्रा बढाउने योजना बनाएको बैठकपछि फाइनान्सियल एक्सप्रेसलाई बताउनुभयो ।

विशेष प्रकारका कृषि यन्त्रको आयात बढाउनका लागि प्रश्न गर्दा उहाँले कृषि उत्पादकत्व बढाउनका लागि आवश्यक पर्ने हार्वेस्टर र टिलरजस्ता कृषि यन्त्रलाई बढ्दो आयातमा समावेश गरिने बताउनुुभयो ।

दक्षिण कोरियाको निर्यात मार्चमा सातौँ महिना पनि वृद्धि

स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार साताँै महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

बैंक अफ कोरियाका अनुसार निर्यात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा शून्य दशमलव एक प्रतिशतले बढेको छ र यो वृद्धि गत वर्षको सेप्टेम्बरदेखि जारी छ ।

मात्राको सन्दर्भमा अर्धचालकसहित कम्प्युटर, इलेक्ट्रोनिक र अप्टिकल उपकरणहरूका लागि आउटबाउन्ड ढुवानी मार्चमा वार्षिक आधारमा १४ दशमलव तीन प्रतिशतले बढी लगातार आठौँ महिनामा बढ्दो प्रवृत्तिमा देखिएको छ ।

कपडा, प्राथमिक धातु उत्पादन र मेसिनरीका लागि निर्यात मात्रा दोहोरो अङ्कमा घटेको छ । गत वर्षको समान महिनाको तुलनामा मार्चमा निर्यात मूल्य सूचकाङ्क एक दशमलव एक प्रतिशतले बढेको छ ।

आयात मात्रा सूचकाङ्क मार्चमा एक वर्षअघिको तुलनामा नौ प्रतिशतले घटेको छ । औद्योगिक र उत्पादनहरूको कम मागका कारण लगातार नवौँ महिनामा गिरावटको गति कायम राखेको छ ।आयात मूल्य सूचकाङ्क गत महिना १३ दशमलव दुई प्रतिशतले घटेर लगातार १३औँ महिनामा गिरावटको प्रवृत्ति कायम छ ।

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलरबा सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।

एसिया–प्रशान्त विश्वको सबैभन्दा गतिशील क्षेत्र रहने अपेक्षा गरिएको छ । यो क्षेत्रले सन् २०२४ मा विश्वव्यापी वृद्धिको लगभग ६० प्रतिशत योगदान पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

धेरै जसो आसियान देशहरूमा लचिलो घरेलु उपभोगदेखि प्रशान्त टापु देशहरूमा पर्यटनमा तीव्र वृद्धिसम्म यस क्षेत्रले विविध वृद्धि चालकहरूलाई अँगालेको आइएमएफले बताएको छ ।

निकट–अवधि जोखिमहरू अहिले व्यापकरूपमा सन्तुलित छन् । मुद्रास्फीतिमा कमी र पहिलेको मौद्रिक सहजताको सम्भावनाले नरम अवतरणको सम्भावना बढेको आइएमएफले उल्लेख गरेको छ ।

युरोप र संयुक्त राज्य अमेरिकामा अपेक्षितभन्दा बलियो वृद्धिले एसियाका निर्यातकर्ताहरूमा वृद्धि ल्याउने छ तर बढ्दो भू–आर्थिक विभाजन र भूराजनीतिक तनावले यस क्षेत्रको मध्यम–अवधिको वृद्धिमा गम्भीर नकारात्मक असरहरू उत्पन्न भइरहेको छ ।

आइएमएफले केन्द्रीय बैंकहरूले लक्ष्यमा मुद्रास्फीति सहजरूपमा फर्किने कुरा सुनिश्चित गर्नुपर्ने र नीति निर्माताहरूले फेडरल रिजर्भले अनुमानित ब्याज दर चालहरूमा अत्यधिक निर्भर निर्णयहरू गर्नबाट जोगिनु पर्ने सुझाव दिएको छ ।

पाकिस्तानमा भारी वर्षाका कारण अप्रिलमा कम्तीमा १४३ जनाको मृत्यु

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

अप्रिल महिनामा अचानक आएको बाढी, पहिरो र खराब मौसमका कारण केही क्षेत्रमा घरहरू भत्किएका थिए भने केहीमा बालीनाली नष्ट भएको थियो ।

पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले भन्नुभयो, “अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएको छ, जुन निकै असामान्य छ ।”

“हामीले जलवायु परिवर्तनको प्रत्यक्ष परिणामको रूपमा यी अनियमित मौसमी स्वरूपहरू देखेका छौं,” उहाँले एएफपीसँग भन्नुभयो ।

पाकिस्तान अप्रत्याशित मौसमको साथै सामान्यतया जुलाईमा हुने प्रायः विनाशकारी मनसुनी वर्षाको लागि बढ्दो जोखिममा छ ।

अप्रिलमा सबैभन्दा बढी मृत्यु उत्तरपश्चिमी खैबर पख्तुनख्वामा थियो । यस राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको थियो भने तीन हजार ५०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए ।

प्रान्तको विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता अनवर शहजादले एएफपीसँग भन्नुभयो, “छाना भत्किएर र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो ।”

देशको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको केही उत्तरी भागमा असिना र पानीले मुख्य खाद्यान्नमध्येको गहुँ बाली सखाप पारेको छ ।

वातावरणविद् मरियम शब्बीर अब्बासीले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “समग्र मौसमको ढाँचा लगभग डेढ महिना पछि परिवर्तन भएको छ, र हामीले अभूतपूर्व वर्षाका कारण हुने क्षतिबाट बच्न कृषि क्षेत्रका लागि हाम्रो क्यालेन्डर परिवर्तन गर्नुपर्छ ।

यस महिनाको सुरुमा अधिकारीहरूले पञ्जाबमा गहुँ काट्ने किसानसहित कैयौँ व्यक्तिको चट्याङ लागेर मृत्यु भएको र वर्षासँग सम्बन्धित विभिन्न घटनामा २१ जनाको मृत्यु भएको बताएका थिए ।

गत अप्रिलमा बलुचिस्तान प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । यी मध्ये चट्याङ लागेर सात जनाको मृत्यु भएको थियो भने वर्षाका कारण केही जिल्लामा जनजीवन अस्तव्यस्त हुनुका साथै विद्यालयहरू बन्द भएका थिए ।

पाकिस्तान प्रशासित काश्मिरको दक्षिणी सिन्ध प्रान्तमा आएको बाढीका कारण भएका १४ जनाको मृत्यु भएको छ भने सडक दुर्घटनामा परी बाढी र बर्षाका कारण भएका सडक दुर्घटनामा अन्य चार जनाको मृत्यु भएको छ ।

सन् २०२२ को ग्रीष्मऋतुमा पाकिस्तानको एक तिहाइ भूभाग अभूतपूर्व मनसुनी वर्षाका कारण डुबानमा परेको थियो जसका कारण लाखौं मानिस विस्थापित हुनुका साथै देशलाई ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको विश्व बैङ्कको अनुमान छ ।

यस महिना देशका धेरै भागहरूमा भारी वर्षा भइरहेका बेला सबैभन्दा ठूलो शहर कराँचीमा आइतबार वर्षकै सबैभन्दा गर्मी दिन भएको छ र तापक्रम ३७ डिग्री सेल्सियस (९९ डिग्री फरेनहाइट) पुगेको छ ।

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको हो ।

नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने जनाएको छ । श्रमसम्बन्धी ऐन नियममा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले उत्पादन र उत्पादकत्व बढ्ने उल्लेख गरेको छ ।

“चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनसमेत सरकारसँग माग गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “स्वास्थ्य सेवामा श्रमिकको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ ।”

सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।

क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

चितवन, १८ वैशाख : जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्लामा रहेका विभिन्न कारागारमा उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार ३० जना भीमफेदी कारागार कार्यालय मकवानपुर, १० जना वीरगञ्ज कारागार, नौ जना नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), आठ जनालाई सर्लाहीमा स्थानान्तरण गरिएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

अहिले कारागार कार्यालय चितवनमा सात सय ३० जना कैदीबन्दी छन् । दुई सय ५५ जना पुरुष कैदीबन्दीको क्षमता रहेको बन्दीगृहमा अहिले छ सय ९० जना र २५ जना क्षमता रहेको महिला बन्दीगृहमा ३९ जना छन् । उनीहरुसँग आश्रित चार जना बालबालिका छन् ।

“बढ्दो गर्मी र कैदीबन्दीको चापका कारण सरुवा रोगको समस्या हुने भएकाले उनीहरुलाई स्थानान्तरण गरिएको हो”, प्रमुख आचार्यले भन्नुभयो ।

यस कारगारमा छिमेकी जिल्ला नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)बाट समेत कैदीबन्दी आउने हुँदा चाप बढ्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार यस आर्थिक वर्षमा पटक–पटक गरी एक सय चार कैदीबन्दी स्थानान्तरण गरिएको छ ।

‘प्यारोल’ अन्तर्गत पाँच जना कैदी रिहा

कारागारमा कैद भुक्तान गर्दै आएका पाँच जना कैदी रिहा भएका छन् । कारागार व्यवस्थापन विभागले ‘प्यारोल’ अन्तर्गत रिहा गर्न प्रक्रिया सुरु गर्ने परिपत्र पठाएअनुसार उनीहरु रिहा भएका हुन् । प्रमुख आचार्यका अनुसार उनीहरुलाई जिल्ला अदालत चितवनको आदेशमा वैशाख १६ गते रिहा गरिएको हो । रिहा हुनेमा चितवनका चार जना र मकवानपुरका एक जना छन् ।

जिल्लामा पहिलोपटक सुरु भएको यो प्रक्रियामा कैद अवधिमा दुई तिहाइ भुक्तान गरेपछि तोकिएको मुद्दामा चालचलन राम्रो भएका कैदीलाई प्यारोलअन्तर्गत रिहा गरिएको उहाँले बताउनुभयो ।

रिहा भएका कैदी घर गएर बस्न र घरायसी काम गर्न पाउने भए पनि जिल्ला बाहिर जाँदा कारागार प्रशासनसँग अनुमति लिएर जानुपर्ने हुन्छ । उनीहरु हरेक १५/१५ दिनको फरकमा कारागार प्रशासनमा तारेखका लागि आउनुपर्ने हुन्छ । प्यारोल अधिकृतको निगरानीमा रहने गरी उनीहरुलाई रिहा गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निश्चित सर्तको अधिनमा कैदीलाई रिहा गरिन्छ । सर्त उल्लङ्घन भएमा पुनः कारागारमा ल्याई बाँकी कैद भुक्तान गराइन्छ ।”

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ अनुरुप ‘प्यारोल’ कार्यविधि पास भएसँगै ०८० कात्तिक १ देखि कार्यान्वयनमा आएपनि जिल्ला पहिलोपटक अभ्यास गरिएको हो ।

फौजदारी कसुर सजाय निर्धारण ऐन, २०७४ को दफा ३९ को व्यवस्थाअनुसार सरकारले जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी मानव बेचबिखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण, क्रूर अमानवीय यातना, मानवताविरूद्धको अपराध, राज्यविरूद्धको अपराधबाहेक एक वर्षभन्दा बढी कैद सजाय पाएका असल आचरण भएका कैदीलाई दुईतिहाइ कैद भुक्तान गरेपछि प्यारोलमा राख्न सकिने छ ।

प्यारोलको सुविधा पाउनेले समाजमा बस्दाको अवधि समेत कैद भुक्तान भएको मानिने छ । गत पुसदेखि कार्यान्वयनमा आएको प्यारोल सुविधा नेपालको जेल प्रणालीमा नयाँ प्रयोग हो ।

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु – ओली

फिक्कल (इलाम), १८ वैशाख ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हाँसिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु ”, अध्यक्ष ओलीले भन्नुभयो, “ अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।”

अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।”

अध्यक्ष ओलीले स्व सुवास नेम्बाङले थाल्नुभएको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गर्नुभयो । उहाँले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ ।”

ओलीले आफ्ना उम्मेद्वार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) समेत धन्यवाद दिनुभयो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु”, उहाँले भन्नुभयो, “०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।”

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज धीरेन्द्र शर्मा र नेकपाका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज सुमन सीले बामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको जनाउँदै धन्यावाद ज्ञापन गर्नुभयो । सुहाङले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । सुहाङले २७ हजार सात सय ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी खड्काले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

‘आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने’

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको पूर्व-बजेट छलफलसम्बन्धी प्रतिवेदन २०८१ मा सहभागी सांसदहरुले विदेश पलायन रोक्नुपर्ने, बजेट फछ्र्योटमा छलफल हुनुपर्ने, रैथाने बीउ तथा बिजनको संरक्षणलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

समितिकी सभापति कमला पन्तले धेरै मन्त्रालयले बजेट नै खर्च गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मन्त्रालयहरुले बजेट खर्च गर्न सकेका छैनन् । तलब भत्ता र निर्माणमा मात्रै जोड दिएका छन् । जलवायु परिवर्तनदेखि सामाजिक सुरक्षा सम्मका बजेटको कुरा छ, सुशासनप्रति संवेदनशील नभएको भन्ने पनि आएको छ ।”

समितिका सचिव डा रोजनाथ पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सम्पूर्ण बजेट अनिवार्यरुपमा जलवायु, लैङ्गिक र दिगो विकास लक्ष्यअनुरुप समेटिनुपर्ने सुझाव दिनुभयो । प्रतिवेदनमा भनिएको छ, “दिगो विकास लक्ष्यअनुसार अनिवार्यरुपमा तीन तहका सरकारका बजेट कोडिङ नहुनु, भएको पनि औचित्यपूर्ण नहुनु, बजेट विनियोजन भएको अवस्थामा पनि खर्च हुन नसक्नु, अनाधिकृत रुपमा बजेट रकमान्तर गरी खर्च गर्नुजस्ता सरकारी तवरबाट बजेट अनुशासन पालना गरेको पाइएन ।”

पाण्डेले भन्नुभयो, “सरकारले वित्तीय व्यवस्थापन प्रभावकारी बनाउन बेरुजु फछ्र्योट, राजस्व असुली छानबिन र करका दायरा विस्तार गरी राजस्व वृद्धि गर्नेतर्फ कदम चाल्न जरुरी देखियो । बजेटको मिति नजिएकाले जति सक्दो छिटो छलफल गरी सुझाव पठाइहाल्नुपर्नेछ ।”

प्रतिवेदनमा सुझाव दिँदै सांसद उर्मिला अर्यालले आगामी बजेटले उद्योग सबलीकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनले धेरैजसो जलस्रोत, पयर्टन मात्र बढी समेटेको जस्तो लाग्यो । अहिले मुख्य कुरा बन्द भएका उद्योग सुचारु गर्नुपर्नेछ । खर्च उन्मुख भयौँ तर प्रतिफलमा सजग हुन सकेका छैनाँै ।”

सांसद कृष्णप्रसाद पौडेलले श्रमिकको सम्मान नभएकाले विदेश पलायन बढेको बताउनुभयो । “श्रमको पञ्जीकरण छैन । ‘ब्रेन ड्रेन’ होइन ‘लेबर डे«न’ भइरहेको छ । व्यावसायिक प्रतिष्ठानले यस्तोश्रम शोषण गरिरहेका छन् । न्यूनतम ज्याला पाएका छैनन्”, उहाँले भन्नुभयो, “किन यहाँ बस्छन् त, भर्ना भएका विद्यार्थी ड्रपआउटको सङ्ख्या बढिरहेको छ । उनीहरुलाई टिकाउने अवस्था के छ, यसमा पनि सोच्नुपर्छ ।”

सांसद वामदेव गौतमले आफ्नै देशमा उत्पादन गर्ने वातावरण मिलाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामूहिक उत्पादनमा जोड दिनुपर्छ । निर्माण, उत्पादन, वैज्ञानिक खोजमा लाग्नुपर्छ ।”

सांसद झक्कुप्रसाद सुवेदीले विकसित देशहरुले प्राथमिकता पत्ता लगाएर काम गरिरहेका र सफल भएको उदाहरण दिँदै भन्नुभयो, “हाम्रो प्राथमिकता के हो ? त्यसलाई पहिचान गर्न सक्नुपर्छ । ऊर्जामा धेरै गर्न सकिन्छ, यसले छिटो परिणाम दिन सक्छ ।”

तरकारी खेतीबाट आम्दानी लिँदै मुक्तकमैया, दुई लाखसम्म आम्दानी

बेदकोट (कञ्चनपुर), १८ वैशाख : कञ्चनपुरको बेदकोट नगरपालिका-३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ । विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो ।

मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ । यहाँका स्थानीय कोही घर बनाउने मिस्त्री र कोही कोही मजदुरी गर्थे । तर अहिले धेरैजसो मुक्त कमैयाका परिवार तरकारी खेतीमा सक्रिय छन् ।

कमैयामुक्तपछि जानकी चौधरीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । “कमैयामुक्तिपछि तरकारी खेतीको तालिम लियौँ । यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ”, उहाँले भन्नुभयो, “सिजनमा रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।”

कमैयामुक्तिपछि सरकारले एक परिवारलाई पाँच कट्ठाको दरले जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिघा जमिन अधियाँमा लिएर धान÷गहुँ खेती गर्नुहुन्छ । नौ कट्ठा जमिनमा चाहीँ काँक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत तरकारी खेती गर्नुभएको छ । उहाँले च्याउ खेती पनि गर्नुभएको छ ।

४० वर्षीय मानबहादुर डगौँराले १० कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । तरकारी बेचेरै उहाँले घरखर्च चलाउँदै आउनुभएको छ । वार्षिक रु दुई देखि तीन लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

“अटो रिक्सामा राखेर तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ, सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ”, उहाँले भन्नुभयो, “थोरै सिँचाइको असहजता छ, नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।” कमैया बस्दा मानबहादुरले पढ्न पाउनुभएन । कमैयामुक्ति भएपछि लिएको तालिमले तरकारी खेतीमा लाग्न प्रेरणा मिलेको उहाँको भनाइ छ । तरकारी खेतीबाटै कमाएको पैसाले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्दै हुनुहुन्छ ।

आशापुरकै विक्रम डगौँरा पनि तरकारी खेती गर्नुहुन्छ । कमैयामुक्त भएपछि उहाँ तीन पटक वैदेशिक रोजगारीमा जानुभयो । मथनर, दुबई र साउदीमा मजदुरी गर्नुभयो । श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किनुभएका विक्रम अहिले गाउँमै तरकारी खेती गरेर आम्दानी गरिरहनुभएको छ ।

“आठ÷नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरँे, अहिले राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “स्वदेशमै मेहनत गरे कमाइ हुने रहेछ ।”

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । उहाँले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताउनुभयो ।

आगो निभाउने प्रयास भइरहेको छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन् ।

आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । उक्त आगलागीमा करिब ६०/७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ । चालु आवको बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल हुने अनुमान तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो ।

तथ्याङ्क कार्यालयले आज आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । “चालु आव २०८०÷८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशत र उपभोक्ता मूल्यमा तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ”, कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चालु आव २०८०/८१ मा उपभोक्ता मूल्यमा आधारित मुलुकको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब पुग्ने अनुमान छ ।” त्यसैगरी, गत आव २०७९÷८० मा नेपालको अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब बराबर रहेको पनि तथ्याङ्क कार्यालयले जनाएको छ ।

तथ्याङ्क कार्यालयले चालु आवमा कृषि क्षेत्रको वृद्धिदर प्रक्ष्येपण तीन दशमलव ०५ र गैरकृषि क्षेत्रको वृद्धि तीन दशमलव ७५ प्रतिशत रहने अनुमान गरेको छ । त्यसैगरी, प्राथमिक क्षेत्र तीन प्रतिशत, द्वितीय क्षेत्र एक दशमलव दुई प्रतिशत र सेवा क्षेत्र चार र दशमलव पाँच प्रतिशत रहेको छ ।

चालु आवमा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन अमेरिकी डलर एक हजार चार सय ३४ हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर एक हजार चार सय ४५ रहने अनुमान गरिएको छ । चालु आवमा विभिन्न क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर हेर्दा स्वास्थ्य तथा सामाजिक कार्यतर्फ पाँच दशमलव ५२, शिक्षातर्फ दुई दशमलव ७१, सार्वजनिक प्रशासन तथा रक्षातर्फ चार दशमलव ४९, प्रशासनिक तथा सहयोगी सेवातर्फ चार दशमलव ०४, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापतर्फ चार दशमलव १५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ ।

त्यसैगरी, घरजग्गा कारोबारतर्फ दुई दशमलव ९८, वित्तीय तथा बीमा क्षेत्रतर्फ सात दशमलव ८०, सूचना तथा सञ्चारतर्फ चार दशमलव ९१ प्रतिशत, आवास तथा भोजन सेवातर्फ ८१ दशमलव ८४ प्रतिशत र यातायात तथा भण्डारण सेवातर्फ ११ दशमलव ८९ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।

थोक, खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवातर्फ शून्य दशमलव १६, पानी आपूर्ति, ढल व्यवस्थापनलगायत क्षेत्रमा दुई दशमलव ८०, विद्युत् ग्यास तथा वातानुकूलित आपूर्ति सेवातर्फ १७ दशमलव ४४, खानी तथा उत्खननतर्फ दुई दशमलव ३१, कृषि, वन तथा मत्स्यतर्फ तीन दशमलव ०५ प्रतिशत वृद्धि रहने अनुमान गरिएको छ ।

चालु आवमा उद्योग र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । उद्योग क्षेत्र एक दशमलव ६० र निर्माण क्षेत्र दुई दशमलव ०७ ले ऋणात्मक रहने कार्यालयले जनाएको छ । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्तरुपमा विकास गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय लेखा तथ्याङ्क अनुमान गरी प्रकाशन गर्दछ ।

‘लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लगिने छ’

काठमाडौँ, १८ वैशाख -सरकारले सोमबार काठमाडौँमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा उठान भएका महत्वपूर्ण विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ । लगानी बोर्डको मुख्य आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा उठाइएका विषयलाई सरकारले तत्काल कार्यान्वयन लैजाने तयारी गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन २०२४ निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले सम्मेलन सफल रहेको जनाउँदै यसपछि पनि निरन्तर ‘फलोअफ’ संयन्त्रका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । “उदाहरणका लागि लगानी बोर्डसँग गाँसिएको या कार्य क्षेत्रमा भएका १२ वटा परियोजनाको हकमा ४५ दिनको म्याद दिएर आइतबार नै सूचना प्रकाशन पनि गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “यो सुरु भइसकेपछि ती प्रस्तावकको आर्थिक प्राविधिक पक्षलाई मूल्याङ्कन गरेर सूचीकृत गर्ने छौँ । त्यसमा सिलबन्दी प्रस्ताव माग गर्ने छौँ र ठोस आयोजनाबाट अगाडि बढ्ने छौँ ।”

उहाँले लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन नेपाल सफल भएको बताउनुभएको छ । तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनामा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त भएको उहाँको भनाइ छ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रका प्राथमिकता एवं सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्न सफल भएका भट्टले बताउनुभयो ।

यसैगरी स्वदेशी लगानीकर्ताले पनि नेपालमा लगानी मैत्री वातावरण बन्दै गइरहेको जनाउँदै सम्मेलन सफल रहेको टिप्पणीसमेत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सम्मेलन सफल रहेको जनाउँदै अब कार्यान्वयनको पक्षलाई जोड दिन आग्रह गर्नुभएको छ । “फलोअफ नगरेकै कारण विगतका लगानी सम्मेलनमा कतिपय प्रतिबद्धता गरिएका लगानीहरु कार्यान्वयनमा आउन सकेनन्”, उहाँले भन्नुभयो, “सम्मेलनले नेपालमा लगानीको अवसर रहेको र राम्रो मुनाफा दिन सक्छ भन्ने लगानीकर्तालाई दिएको छ ।”

अध्यक्ष ढकालले तेस्रो लगानी सम्मेलन सुरु भएपछि जारी भएको अध्यादेशले निजी क्षेत्रलाई प्रोत्साहन दिन खोजेको बताउनुभयो । “हामीले कुन कुन कानुन सुधार गर्नुपर्छ भन्ने विषयमा सरकारलाई सुझाव दिएका थियौँ । हामीले दिएका कतिपय सुझाव अध्यादेशले समेट्न नसके पनि समग्रमा हाम्रो माग सम्बोधन भएको छ”, उहाँले भन्नुभयो, “सरकार आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनका लागि प्रयन्त रहेको सकारात्मक सन्देश गएको छ ।

भारत, चीन, अमेरिकालगायतका मुलुकबाट आउने लगानीकर्ता तथा विकास साझेदार निकायले नेपालमा लगानीको सम्भावना रहेछ भन्नुभयो । यसले पनि निकै सकारात्मक सन्देश दिएको छ ।” उहाँले ती लगानीकर्ताले नेपालको जलविद्युत्, पर्यटन, कृषि तथा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न उत्सुक देखिएको बताउनुभयो । सबै राजनीतिक दलले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताले महत्वपूर्ण सन्देश दिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब सरकारले नियमावली, कार्यविधि, बनाउने लगानी प्रतिबद्धता गर्ने लगानीकर्तालाई फलोअफ गर्दै जान आवश्यक रहेको छ । लगानी सम्मेलनमा सबै राजनीतिक दलहरु एकैढिक्का भएर प्रतिबद्ध हुनुले लगानीमैत्री वातावरण तय भएको सकारात्मक सन्देश प्रवाह गरेको अध्यक्ष ढकालको भनाइ छ ।

लगानी बोर्डका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया स¬ङ्कलन) नौ परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौत आज भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गर्नुभएको हो । सुपर खुदीको प्रतिकित्ता रु एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने रु ७५ करोड ९५ लाखको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी हुनुहुन्थ्यो । यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, १८ वैशाख -ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि साझा प्रयासको खाँचो आँैल्याउनु भएको छ । जलस्रोत तथा सिँचाइ विभागले आज यहाँ आयोजना गरेको ‘जलवायु र पानीजन्य प्रकोप नियन्त्रण’ विषयक कार्यशालालाई सम्बोधन गर्दै उहाँले नेपालले नगरेको गल्तीको सजाय पाइरहेकाले त्यसको उचित क्षतिपूर्ति पाउनै पर्ने बताउनुभयो ।

उहाँले मुस्ताङमा बेमौसमा गएको बाढी, मेलम्ची नदी र आपपासका क्षेत्रमा देखिएको विपद्जन्य प्रकोप र गत असारमा काबेली नदी करिडोरमा देखिएको विपत्तिको पछाडि जलवायु परिवर्तनको असर नै रहेकाले त्यसबाट जोगिनका लागि उपयुक्त विधिको खोजी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाललाई जलवायु कोषलगायतबाट राहत तथा अनुदान उपलब्ध गराइनुपर्नेमा जोड दिँदै उहाँले अन्तर्राष्ट्रिय निकायले यसमा विशेष ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले जलवा परिवर्तन र पानीजन्य प्रकोपबाट जोगिनका लागि पूर्वतयारी एवं प्रतिरोधी क्षमताको विकास गर्नैपर्ने र त्यसमा सम्बद्ध निकायको साझा प्रयत्न जरुरी रहेको बताउनुभयो ।

सरकारले त्यसका लागि आवश्यक तयारीको काम गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमबाट प्राप्त हुने सुझाव र निष्कर्षले आगामी दिनमा नीति निर्माणका लागि सहजता हुने उहाँको कथन छ । विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि कानुनी, संरचनागत एवं पूर्वतयारीको कामलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले तिनै तहका सरकार, सरोकार भएका निकाय र अन्तर्राष्ट्रिय समुदायको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराललगायतले विपद्, पानीजन्य प्रकोपविरुद्ध लड्न साझा प्रयासको आवश्यकता औँल्याउनुभयो । उक्त कार्यशाला बुधबारसम्म चल्नेछ ।

भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण

भोजपुर, १८ वैशाखः भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो ।

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले पीडितलाई प्रतिपरिवार रु २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गर्नुभएको हो । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो । गर्न आवश्यक छ ।”

बन्दीलाई ‘सोलार सेट’ वितरण

जिल्ला कारागारका बन्दीलाई रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । गाउँपालिकाले रु ७० हजार बराबरको ‘सोलार सेट’ वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । कारागारमा चार महिला, एक बालक र एक सय तीन पुरुष गरी एक सय आठजना बन्दी छन् ।

व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि सम्झौता

दमौली (तनहुँ), १८ वैशाखः जिल्लाको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । नगरपालिकाले निर्माण व्यवसायीसँग पराशरमार्ग स्तरोन्नतिका लागि सोमबार सम्झौता गरेको हो । विश्व बैंकको ऋण सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने उक्त मार्ग कालोपत्रका निम्ति सम्झौता गरी काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उक्त सडकले बुल्दीखोला, बेल्टारी, फराकचौर, अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, कुमालगाउँ, समता स्कुल, कलेस्तीलगायत स्थान जोड्छ । दश दशमलगव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ ।

सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएलसँग सम्झौता भएको छ ।

संरचना हटाउन आनाकानी- दमौली बजार क्षेत्रका घरटहरा हटाउन सम्बन्धित पक्षले आनाकानी गर्दा मुग्लिन–पोखरा सडक विस्तारमा समस्या भएको छ । धुलोले बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ । आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड)सम्मको विस्तारमा व्यास नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन ।

वडा नं ४ का २१ र वडा नं २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय मुआब्जाका लागि आवेदन गर्न आएका छैनन् ।”

‘अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा, १८ वैशाखः गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।

उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ ।

घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेहलगायत समस्याबाट पीडित भएकाको परीक्षणका गर्नुका साथै दीर्घरोगीको स्वस्थ्य अवस्थाबारेमा जानकारी लिने गरेका छन् । गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य एकाइबाट चिकित्सकबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी, १८ वैशाखः गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् ।

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ । गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको रु एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित रु दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको छ ।

उपप्रधानमन्त्री यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबिच भेटवार्ता

काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहनुभएका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घले गरेको योगदानको सराहना गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताउनुभयो ।

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गर्नुभयो । उहाँले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । साथै उहाँले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गर्नुभयो । स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसङ्घीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उक्त नियोगका अनुसार महासचिव गुटेरेसले नेपालले जलवायु परिवर्तनका असर भोग्नुपरेकाले त्यसलाई सम्बोधन गर्न सम्बद्ध पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै नेपालले सहायता पाउनु उसको अधिकार हो भन्नुभयो । हरित ग्यास उत्सर्जनमा नगण्य गोयदान गरेको नेपाललाई ‘जलवायु न्याय’का आधारमा न्यूनीकरण तथा अनुकूलन सहायता प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

इलाम-२ मा रास्वपाका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम), १८ वैशाखः प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाउनुभएको थियो ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

लुम्बिनी, मधेस र कोशी प्रदेशका केही र बाँकी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पर्यटनमा लगानीको ढोका खुल्यो , अष्ट्रेलियन लगानीकर्ताले रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्न खोल्ने

काठमाडौँ-मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियन लगानी भित्रिएको छ । काठमाडौँमा सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनमा रिसोर्टमा लगानी गर्न अष्ट्रेलियाको ‘एक्सपर्ट ग्रुप’सँग सम्झौता भएको हो । यस्तै ललितपुरमा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि पनि लगानी सम्झौता भएको छ । रारामा रिसोर्ट लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्नुभयो ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड र दोस्रो चरणमा करिब रु ४० करोड लगानी गरिने शाहले जानकारी दिनुभयो ।

यस्तै ललितपुरमा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । लगानी सम्मेलनमा भएका विभिन्न सम्झौतामध्ये नेपालको पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण सन्देश हो । लगानी सम्मेलनले पर्यटन क्षेत्रमा लगानीको ढोका खुलेको सरोकारवालाको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लगानी सम्मेलनमा भएका दुई पक्षीय सम्झौता र पर्यटनमा लगानी गर्न व्यवसायीबीच भएको सम्झौताले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ढोका खुलेको बताउनुभयो ।

“अष्टे«लियन लगानीकर्ताले रारामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि आज लगानीको सम्झौता भएको छ, यसले नेपालमा लगानीको वातावरण राम्रो बन्दैछ भन्ने सन्देश गएको छ”, पर्यटनमन्त्री तामाङले भन्नुभयो, “यसबाट विस्तारै पर्यटन क्षेत्रको विकासका निमित्त ढोका खुलेको छ ।”

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले लगानी सम्मेलनले सकारात्मक सन्देश दिएको बताउनुभयो । कोरोना महामारीपछि मुलुकको पर्यटनलगायतमा आएका लगानी प्रतिवद्धताले समग्रमा सम्मेलन सफल भएको र आगामी दिनमा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिनसक्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले लगानी सम्मेलनमा अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि लगानी सम्झौता हुनुले नेपालमा लगानीमैत्री वातावरणको सन्देश दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ताखाले सम्मेलन नेपालका लागि उपयोगी हुने बताउनुभयो ।

“पर्यटनमा ठूलो खालको लगानी आवश्यक छ । आज जुन किसिमको सम्झौता भएको छ यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जागेको छ । आगामी दिनमा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिने सम्भावना छ”, उपाध्यक्ष सापकोटाले भन्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने, सडक मर्मत र स्तरोन्नति गरी सेवालाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि रु छ करोड २५ लाख लगानी स्वीकृत भएको छ ।

विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित राजपत्रअनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था रहेको छ ।

सरकारले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य अनुरुप नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको पर्यटनमन्त्री तामाङले बताउनुभयो । तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताउनुभएको हो । पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेकोले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाइने बताउनुभयो ।

सरकारले पर्यटन दशक (२०२३-२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पु-याउने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । सन् २०२४ मा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको मार्चमा कूल एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०११ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

हिमाल आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौँ-सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि.) सम्म बाटो खुलेको छ । पर्यट विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो ।

‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।

निर्देशक गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रुपमा आरोही आइरहेको बताउँदै अझै दुई÷चार आरोही समूहले अनुमति लिनसक्ने बताउनुभयो । अहिले विभागबाट धमाधम आरोहीले अनुमति लिइरहेका छन् । धेरै आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर- लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ ।प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो ।

बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो ।

हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव : बेलायती विदेशमन्त्री

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताउनुभएको छ । मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको बताउनुभयो ।

हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट जाँदैछ । यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ ।
“हमासले यो सम्झौताका लागि सहमति दिनेछ र स्पष्ट रूपमा भन्नुपर्दा विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरूले सम्झौताका लागि तयार हुनेछन्,”उहाँले भन्नुभयो ।

“यो प्रस्तावले हामी सवैका आखामा अप्रिय ‘लडाईमा रोक लगाउनेछ,” उहाँले भन्नुभयो ।इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन् । पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ ।

बेलायती विदेशमन्त्रीले भन्नुभयो, “इजरायलसँग सहअस्तित्वमा रहेको स्वतन्त्र प्यालेस्टाइन दुई राज्य समाधानका लागि राजनीतिक क्षितिजको रेखा प्रस्तावमा सुनिश्चित गरिएको छ ।”उहाँले भन्नुभयो, “हामीले प्यालेस्टिनी जनताको राजनीतिक भविष्य हेर्नुपर्छ, तर हामीले इजरायलका लागि सुरक्षा पनि हेर्नुपर्छ अर्थात् यी दुई कुरा सँगसँगै जानुपर्छ ।”

जिम्मेवारीलाई थप उर्जासहित निरन्तरता दिने स्पेनी प्रधानमन्त्रीको भनाइ

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजमाथि दक्षिणपन्थी र अति दक्षिणपन्थी प्रतिद्वन्द्वीबाट अन्यायपूर्ण आक्रमण भए पनि आफूले आफ्नो पदीय जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ । सान्चेजले स्पेनका राजा फिलिप छैटौंलाई भेट्नुअघि म्याड्रिडको बाहिरी इलाकामा रहेको पालासियो डे ला मोनक्लोआस्थित आफ्नो सरकारी निवासबाट गरिएको घोषणामा आफ्नो निर्णयको पुष्टि गर्नुभएको हो ।

स्पेनको एक अदालतले आफ्नी पत्नीविरुद्ध प्रभावको दुरूपयोगको रिपोर्टको लागि अनुसन्धान सुरु गरेपश्चात सान्चेजले गत बुधबार एक हप्ता आफ्नो सार्वजनिक कर्तव्यहरूलाई स्थगित गर्ने बताउनुभएको थियो ।

शनिबार र आइतबार सान्चेजका करिब ८० हजार समर्थक प्रधानमन्त्रीलाई समर्थन जनाउन उहाँको स्पेनिस सोसलिस्ट पार्टीको मुख्यालय र संसद् भवनबाहिर भेला भएका थिए ।

सान्चेजले भन्नुभयो, “सामाजिक परिचालनको लागि धन्यवाद । यसले मेरो निर्णयलाई प्रभावित गरेको छ । यदि सम्भव भयो भने म प्रधानमन्त्रीका रूपमा थप उर्जाका साथ काम गर्ने मैले राजालाई जानकारी गराएको छु ।”

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’ : मन्त्री यादव

वासिङ्टन डिसी, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताउनुभयो । तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।”

युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिनुभयो । उहाँले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेपनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक नरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट ट्रेड युनियनका प्रतिनिधिहरूसँग सोमबार भएको छलफलमा उहाँले श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सृजना हुन नसकेकाले श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर रहेको बताउनुभयो ।

मन्त्री अर्यालले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका लागि केही कानुनी व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । सरकारले उनीहरूको हकअधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियनसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा युनियनका अध्यक्ष विष्णु लम्सालले श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रमशक्ति थपिने गरेको बताउनुहुँदै मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न आग्रह गर्नुभयो ।

औपचारिक क्षेत्रमा करिब पाँच प्रतिशत र अनौपचारिक क्षेत्रमा ९५ प्रतिशत श्रमशक्ति कार्यरत रहेको जनाइएको छ । सो अवसरमा युनियनका प्रतिनिधिमण्डलले श्रम बजार वृद्धि, श्रमिकको सेवासुविधालगायत विषयमा मन्त्री अर्याललाई ध्यानाकर्षण गराएको थियो ।

लगानी आह्वान गर्दै सकियो तेस्रो लगानी सम्मेलन,अध्यक्ष ओली र उपप्रधानमन्त्री श्रेष्ठले गरे समापन

काठमाडौँ- सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन सोमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गर्नुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको बताउनुभयो । सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उहाँले दाबी गर्नुभयो ।

“तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त गरेका छौँ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा हाम्रा प्राथमिकता र सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक रुचाइएको तथा आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएका छौँ”, भट्टले भन्नुभयो, “आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित कूल एक सय ५४ परिरयोजना प्रस्तुत गरिएको थियो । यसबाहेक विभिन्न चरणमा रहेका अरू परियोजना पनि प्रदर्शन गरेका छौँ ।”

सम्मेलनका क्रममा लगानीकर्ताहरुसँग महत्वपूर्ण छलफल भएको पनि प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो । “प्रधानमन्त्री र अर्थमन्त्रीसँग लगानीकर्ताको प्रत्यक्ष छलफल र साक्षात्कार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्र एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक बसेका छन्”, उहाँले भन्नुभयो, “विश्व बैङ्क समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् ।”

यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको जिकिर पनि प्रमुख कार्यकारी अधिकृत भट्टले गर्नुभयो । लगानीकर्ताहरु नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उहाँको भनाइ छ ।

“लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउन लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्”, उहाँले भन्नुभयो ।

सम्मेलनका क्रममा आयोजना भएका विभिन्न सत्रले नेपालको लगानी परिदृश्य उजागर गरेका गरेको उहाँको भनाइ छ । “सम्मेलनका क्रममा पहिचान र सृजना भएका व्यावसायिक अवसरले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावना पेस गरेको छ । लगानीसम्बन्धी ऐनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको निरन्तर चासो र अनुरोधलाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनलगायत लगानीसम्बन्धी ऐन संशोधन गरेको छ भन्ने सन्देश हामीले दिएका छौँ,” भट्टले भन्नुभयो, “सम्मेलनको माध्यमबाट विश्व लगानी समुदायका लागि नेपालमा उपलब्ध प्रचुर सम्भावनामा लगानी आकर्षित गर्ने क्षमता मात्र होइन, सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरेका थियौँ ।”

समापन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास र समृद्धिको साझा आकाङ्क्षा पूरा गर्नका लागि लागि सबै राजनीतिक दलको साझा प्रतिबद्धता रहको बताउनुभयो । नेपाल लगानीका लागि नयाँ गन्तव्यका रुपमा स्थापित हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ नीति र लगानीका सम्भावनाबारे लगानीकर्तालाई विस्तृतमा जानकारी दिन यो सम्मेलन सफल भएको धारणा उहाँले राख्नुभयो ।

समापन सत्रमा बोल्नुहुँदै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानी वातावरण बनाउनका लागि नेपालले गरेका नीतिगल सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरुका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन सफल भएको बताउनुभयो । सम्मेलनमार्फत सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्नुभयो ।

“आर्थिक विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिन सफल भएका छौँ । लगानीको समग्र पारस्थितिक प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानी फिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । सबै लगानीका क्षेत्रमा समन्वय र सहजीकरणका लागि सरकारका तर्फबाट प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौँ-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।सोमबार यहाँ लगानी सम्मेलनको अन्तिम दिन आयोजित अन्तरक्रियामा बोल्दै उहाँले गृहमन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले नेपाल सरकार लगानीकर्ताको वाचाप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “लगानीकर्ताहरुले जुधिरहनुभएको समस्या र अवस्थासँग हामी जानकार छौँ । आगामी दिनका लागि यस्तो हुन नदिन हामी प्रतिबद्ध छौँ । गृह मन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “मेरो नेतृत्वमा गृहमन्त्रालयले सुरक्षाको निकायका रुपमा मात्र होइनौँ, हामी ‘एलाइनमेन्ट फोर्स’ एजेन्सी पनि हौँ ।”

उपप्रधान एवं गृहमन्त्री लामिछानेले पूर्वाधारको माध्यमबाट वैचारिक रूपमा पूँजी निर्माण आर्थिक वृद्धिको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै सडक, बिजुली र दूरसञ्चार उत्पादनका प्रमुख आधारमात्र नभएर सामाजिक पक्ष पनि उत्तिकै महत्वका साथ जोडिएको बताउनुभयो ।