`

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
हाँका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्नुभएको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

कम्युनिष्ट एकताका प्रयास भएका छन्ः अध्यक्ष नेपाल

काठमाडौँ, १७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गरेकाले अहिले जनताको विश्वास जित्दै आइरहेको बताउनुभएको छ ।

पार्टीनिकट अखिल नेपाल महिला सङ्घद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले समाज परिवर्तनका लागि विगतमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको अवलम्बन गरेको प्रस्ट पार्नुभयो । उहाँले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न चुनावका लागि चुनाव नभई जनतादेखि जनतासम्मको कार्यक्रम सञ्चालन गरी साङ्गठनिक सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको व्यापक जनसमर्थन र लोकप्रियता रहेको समयमा भएको टुटफुटले जनतामा निराशा र आक्रोश बढेको बताउनुभयो । देश र जनताको हितलाई सर्वोपरि राखेर कम्युनिष्ट एकताका प्रयास भएको बताउनुभयो । उहाँले त्यसका लागि बलियो आधार तयार हुन नसकेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले वामपन्थी शक्तिबीच एकतालाई कायम गर्न आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्रको माध्यमबाट सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्न सकिने विचार व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष नेपालले सङ्घका विभिन्न प्रकाशन विमोचन गर्नुभएको थियो ।

संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक

महेन्द्रनगर (कञ्चनपुर), १७ वैशाखः नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताको जडबाट मुलुकलाई जोगाउन कमीकमजोरी सुधारेर संविधान संशोधन गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।कार्यकर्ता भेटघाटका क्रममा आज यहाँको बेलौरी नगरपालिका–९ रतनपुरमा आयोजित कार्यक्रममा प्रमुख सचेतक लेखकले केन्द्रमा ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशमा चार सिट भएको पार्टीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । “यो जुन अस्थिरताको जड छ, यसबाट मुुलुकलाई जोगाउन हामीले आफूलाई सच्याउनु पर्छ”, लेखकले भन्नुभयो, “हाम्रा कमीकमजोरी छन् । संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।”

उहाँले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने आशय व्यक्त गर्नुभयो । उच्च मनोबलका साथ पार्टीको गतिविधि बढाउन नेता तथा कार्यकर्तालाई उहाँको आग्रह थियो । २०७३ सालमा आफू मन्त्री हुँदा सुरु गरिएको कञ्चनपुरको दक्षिण क्षेत्रको हुलाकी सडक योजना अझै पूरा नहुनुमा निर्माण कम्पनीको बेवास्ता भएको उहाँले बताउनुभयो । “दैजी बैल्डाडी, बेलौरी–डोकेबजारसम्म हुलाकी सडक अझै पूरा नहुनुमा बजेट अभावलगायत कारण होइनन्”, लेखकले भन्नुभयो, “सडक निर्माण पूरा गर्न सम्बन्धित निकायमा फेरि पहल गर्छु ।”

मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको होः वरिष्ठ उपाध्यक्ष पोखरेल

पर्सा, १७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको जानकारी दिनुभयो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई आज वीरगञ्जमा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमालेलाई सिध्याउने मनसाय राखि बनाएको सत्ता गठबन्धन नभई २०८४ सालमा हुने आम निर्वाचनमा एमालेलाई बहुमत हासिल गर्ने योजनाअनुसार वर्तमान सत्ता समीकरण बनाइएको प्रस्ट पार्नुभयो ।

उहाँले विकासको कुरा नगर्ने, भ्रष्टाचार, विभेद र छुताछूतविरुद्ध नबोल्ने एमालेका कार्यकर्ता हुनै नसक्ने बताउनुभयो । समाजिक सद्भावलाई खलल पु¥याउने र हिन्दूलाई मुस्लिमसँग जुधाउनेविरुद्ध खडा हुन नसक्ने नेकपा (एमाले)का कार्यकर्ता हुन नसक्ने उहाँले प्रस्ट पार्नुभयो ।

नेकपा एमालेका कुनै पनि नेता वा कार्यकर्ता जातीय सद्भावलाई खलबलाउने कार्यमा संलग्न भएमा दण्डको भागिदार हुने उहाँले बताउनुभयो । धार्मिक, सामाजिक सदभाव र आपसी भाइचाराले मात्र मुलुक बलियो नेपाली समाज समृद्ध हुन सक्ने उहाँको भनाइ थियो ।

नेकपा एमाले पर्साका इन्चार्ज विश्वम्बर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मुलुकमा उद्योग–व्यवसायको विकास नभई समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भएकाले वीरगन्जको चिनी काराखाना, कृषि औजार कारखानाजस्ता बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्न नेपाल सरकारलाई अपिल गर्नुभयो । उहाँले समग्र तराईकै विकासको सम्भावना बोकेको हुलाकी राजमार्गको अधुरो कामलाई चाँडै पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ, १७ वैशाख : आज यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन सफल भएको बताउनुभयो । लगानीकर्ता नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उहाँको भनाइ छ ।

“लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्,” उहाँले भन्नुभयो ।

सम्मेलनका क्रममा आइतबार तीनवटा सम्झौता सम्पन्न भएका थिए । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । उक्त सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको थियो ।

त्यसैगरी, आइतबार नै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष टान सी डाटो थायन लाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

त्यसैगरी, महासङ्घले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।

लगानी सम्मेलनको दोस्रो दिन आज नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभयो । उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पिपीपी पाइपलाइन सुदृढीकरण, पिपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयुक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।

यस सहकार्यले नेपालमा पिपीपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुपकुमार उपाध्यायले बताउनुभयो । “यस समझदारीले पिपीपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यावहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ,” उपाध्यायले भन्नुभयो ।

वापका अध्यक्ष जियाद–अलेक्जेन्डर हायकले पिपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पिपीपीले रूपान्तरण ल्याएको उल्लेख गर्नुहुँदै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताउनुभयो ।

स्विजरल्यान्डको जेनेभामा मुख्यालय रहेको वाप पिपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पिपीपी अभ्यासकर्ताहरूको संस्था हो ।
सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

त्यसैगरी, चिनीयाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी सम्पन्न भएका छन् । ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछभने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

यो लगानी सम्मेलनमार्फत मुगु जिल्लाको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । उक्त लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्नुभयो । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड बराबर लगानी गर्न लागिएको शाहले बताउनुभयो । यो परियोजना निर्माणका लागि दोस्रो चरणमा करिब रु ४० करोड बराबर लगानी गरिने जनाइएको छ । यो रिसोर्ट डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाइएको छ । स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी यो रिसोर्ट निर्माण हुनेछ । रिसोर्टको विस्तृत परियोजना प्रतिवेदन बनिसकेको शाहले बताउनुभयो ।

त्यसैगरी, सम्मेलनका क्रममा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एसोएिएसन (आइआइए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आइआइएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गर्नुभयो । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवद्र्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको एफएनआइसीका महासचिव खिमनारायण पराजुलीले जानकारी दिनुभयो । दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्यगरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल उद्योग व्यापार महासङ्घले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिनुभएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।

विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शत्प्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट कतार, राजकुमार श्रेष्ठ बहराइन, विनोद थापा मलेसिया, विनोद श्रेष्ठ इराक, विकास शाही युएई, विकल झा ओमन र टीकाराम खरेल जापानले हस्ताक्षर गर्नुभएको थियो । यो सम्मेलनका क्रममा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाका व्यावसायिक प्रतिनिधिबीच व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी सहजीकरण गर्नका पनि समझदारी भएको छ ।

लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलाई ऊर्जामन्त्री बस्नेतको आग्रह

काठमाडौँ, १७ वैशाख : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गर्नुभएको हो । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतले सहवित्तीयकरणमा लगानी गर्ने तयारी गरेका छन् ।यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजनामा एसियाली विकास बैङ्कले लगानीका लागि प्रतिबद्धतत जनाएको छ । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानीका लागि प्रारम्भिक इच्छा व्यक्त गरेको भए पनि प्रक्रिया अगाडि बढेको थिएन ।

विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीलाई मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट सबैभन्दा बढी प्रभावित भएकाले सहुलियतपूर्ण ऋण र जलवायु कोषबाट प्राथमिकता पाउनुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनमा भौगोलिक सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पनि ती आयोजना आवश्यक रहेको तथ्य पेस गर्दै लगानीका लागि आग्रह गर्नुभयो । जवाफमा विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीले नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहुलियतपूर्ण ऋण, व्यवसायीय ऋण वा अन्य कुनै वित्तीय उपकरणमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको बताउनुभएको थियो । लगानी सम्मेलनमा सहभागी हुन आउनुभएका विश्व बैङ्कका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङ मिङ यान लगायत अधिकारीले आज ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

रेमिट हाइड्रोमा ३९ प्रतिशत शेयर पूँजी पु-याउने : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, १७ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘रेमिट्यान्स’लाई सदुपयोग गर्दै जलविद्युत आयोजनामा ३९ प्रतिशत शेयर पूँजी पु¥याउने गरी छलफल अघि बढेको बताउनुभएको छ ।

आज लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा बस्ने नेपालीलाई पनि जलविद्युत् आयोजनामा लगानीको हिस्सेदार बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभएको हो ।

“जलविद्युत्को विकासमा गैरआवासीय नेपाली तथा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ, आयोजनाको कूल शेयर पूँजीको २९ प्रतिशत रहेकामा वैदेशिक रोजगारका लागि छुट्याउने गरि अब १० प्रतिशत शेयर पूँजी बढाउने लक्ष्य छ,” उहाँले भन्नुभयो, “विदेशी रोजगारीका लागि ३९ प्रतिशत, सरकारको ५१ प्रतिशत र १० प्रतिशत स्थानीयको शेयर पूँजी रहने गरी जलविद्युत् आयोजनामा लगानी गर्ने नीतिगत व्यवस्था गर्दैछौँ ।”

जलविद्युत् क्षेत्रमा ढुक्कका साथ लगानी गर्न उहाँले आग्रह गर्नुभयो । उत्पादन, प्रसारण र वितरणका काम प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । नेपालको जलविद्युत् विकासमा वैदेशिक रेमिट्न्सको भूमिका उत्तिकै रहेकाले उहाँले आम जनताको सहभागिता बढाउने गरी जनताको जलविद्युत् कार्यक्रमको खाका तय गरेको बताउनुभयो ।

नेपाल विश्वका लगानीकर्ताहरूका लागि उदीयमान गन्तव्य : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १७ वैशाख : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानी सम्मेलनबाट नेपाल विश्वका लगानीकर्ताहरूका लागि उदीयमान गन्तव्यका रूपमा सन्देश प्रवाह भएको बताउनुभएको छ । तेस्रो नेपाल लगानी शिखर सम्मेलनको समापन सत्रमा आज सम्बोधन गर्दै उहाँले लगानी प्रवद्र्धनका लागि नेपालसँग द्विपक्षीय लगानी सम्झौता टुङ्ग्याउन पनि मित्रराष्ट्रहरूलाई आग्रह गर्नुभयो । “हामीले सफलताका कथाहरूको प्रत्यक्ष कथा सुन्यौँ ।

हामीले नेपालमा प्रगतिशील लगानी–मैत्री वातावरणको एक सिंहावलोकन प्रदान गर्न सक्दो प्रयास गरेका छौँ । व्यापारिक घराना तथा सङ्घसंस्थाहरुबीच विभिन्न समझदारी र समझदारीपत्रमा हस्ताक्षर भएको छ,” उहाँले भन्नुभयो, “त्यसैगरी, हामीले प्रस्तावमा रहेका विभिन्न परियोजना प्रदर्शन गरेका छौँ र अर्थतन्त्रका विभिन्न क्षेत्रमा उपलब्ध लगानीको सम्भावना र अवसरका बारेमा चर्चा गरेका छौँ । तीमध्ये सरकार र विपक्षी दलका नेताहरूबाट हामीले उच्च राजनीतिक आश्वासनहरू देखेका छौँ ।”

यसैगरी, उपप्रधानमन्त्री श्रेष्ठले यी सबै प्रमाणले नेपाललाई लगानीको आकर्षक गन्तव्य बन्ने स्पष्ट सन्देश दिँदै सोही दिशातर्फ उन्मुख गरेको बताउनुभएको छ । उहाँका अनुसार हालका वर्षमा धेरैजसो राजनीतिक आकाङ्क्षाहरू पूरा गरिसकेपछि नेपालीको दीर्घकालीन विकास र समृद्धिको आकाङ्क्षालाई साकार पार्न उच्च आर्थिक वृद्धिको बाटोतर्फ सरकार अघि बढिरहेका छ । “तसर्थ आर्थिक विकास र समृद्धि देशको मुख्य ऐतिहासिक कार्य हो जसमा सरकार पूर्णरूपमा प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।

नेपालले सन् २०२६ मा एलडिसीको स्थितिबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्ने लक्ष्यलाई पछ्याउँदै एसडिजीसहित अन्तर्राष्ट्रिय रूपमा प्रतिबद्ध विकास लक्ष्यहरू हासिल गर्न प्रयासरत रहेकाले आर्थिक वृद्धि पनि महत्वपूर्ण हुनेमा उहाँको जोड छ ।

हामीले उच्च लगानी आकर्षित गर्ने लक्ष्य राखे पनि, यस्तो लगानी लगानीकर्ता र साझेदारहरूका लागि पनि पारस्परिक रूपमा लाभदायक हुनुपर्छ भन्नेमा हामी सचेत छौँ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “तसर्थ, हामी सम्पूर्ण व्यापार चक्रका लागि कुशल र प्रभावकारी सहजीकरणका साथसाथै लगानी, प्रतिफल र फिर्ताको अधिकतम सुरक्षा र सुरक्षा सुनिश्चित गर्दै हाम्रा लगानीकर्तालाई गतिशील लगानी परिदृश्य प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

सरकारले विभिन्न ऐन संशोधन गर्दै अध्यादेश जारी गरेको भन्दै उहाँले दुई साताअघि मात्रै मोडल फ्रेमवर्क द्विपक्षीय लगानी सम्झौता (बिआइए) लाई स्वीकृत गरी चासो दिने मुलुकसँग द्विपक्षीय लगानी सम्झौताको बाटो खुला गरेको स्पष्ट पार्नुभयो ।

“नेपाल इन्भेस्टमेन्ट समिटको यो तेस्रो एपिसोडले नेपाललाई विश्वका लगानीकर्ताका लागि उदीयमान गन्तव्यका रूपमा देखाउने मञ्च भएको मलाई विश्वास छ,” उहाँले थप्नुभयो, “यो शिखर सम्मेलन नेपाललाई लगानीको प्रमुख गन्तव्यमा परिणत गर्ने सरकारको अटल प्रतिबद्धताको प्रमाण हो ।” उहाँ असल मित्र र साझेदारहरूले नेपालमा लगानी बढाउन, हाम्रो पारस्परिक लाभका लागि हाम्रो सहयोगलाई अझ फराकिलो र गहिरो बनाउने हाम्रो प्रयासमा सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

विप्रेषणको रकम जलविद्युत आयोजनामा लगानी गर्न समझदारी

काठमाडौँ, १७ वैशाख : विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट कतार, राजकुमार श्रेष्ठ बहराइन, विनोद थापा मलेसिया, विनोद श्रेष्ठ इराक, विकास शाही युएई, विकल झा ओमन र टीकाराम खरेल जापानले हस्ताक्षर गर्नुभएको छ । वैदेशिक रोजगारीमा भएको वृद्धिसँगै विप्रेषण आप्रवाह प्रत्येक वर्ष वृद्धि हुँदै आएको परिषद्को भनाइ छ । आर्थिक वर्ष २०६५/६६ मा कूल विप्रेषण आप्रवाह रु दुई सय नौ अर्ब रहेकामा आर्थिक वर्ष २०७९/८० मा रु एक हजार दुई सय अर्ब नाघेको परिषद्को तथ्याङ्कमा उल्लेख छ ।

यसले मुलुकको बाह्य क्षेत्रलाई मजबुद बनाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिएको एनआरएनए अभियन्ता विनोद श्रेष्ठले बताउनुभयो । वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरुको हित सुरक्षित गर्ने गरी विप्रेषण आप्रवाहको रकमबाट बचत प्रवद्र्धन तथा लगानी योग्यपूँजी निर्माण गर्न र त्यस्तो पूँजी दिगो, प्रतिफलयुक्त लगानी हुने गरी मुलुकको आर्थिक तथा पूर्वाधार विकासमा उपयोग गर्न सकिने उहाँको भनाइ छ ।

यसैबीच, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाको कूल शेयर पूँजीको २९ प्रतिशत वैदेशिक रोजगारहरुका लागि छुट्याउने गरी हाल दुईवटा आयोजना निर्माणको चरणमा प्रवेश गर्न लागेको जानकारी दिएको छ ।वैदेशिक रोजगारको विप्रेषण आप्रवाहको उपयोग गर्ने गरी विशेष प्रकृतिको ऋण उपकरणका माध्यमबाट यस्ता आयोजनाका लागि लगानी जुटाउन सकिने परिषद्को भनाइ छ ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषण आप्रवाहको रकम नेपालको जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोगको सम्भावना खोजी गर्ने अभिप्रायले सम्झदारी भएको बताउनुभयो ।

कम्पनीले रेमिट हाइड्रोको अवधारणाअनुरुप अघि बढाएका ताप्लेजुङ जिल्लाका ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत् आयोजना र ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको शेयर लगानीमा कम्पनीको प्रतिबद्धताअनुरुप वैदेशिक रोजगारीमा संलग्नलाई सहभागी गराउने लक्ष्य राखेको छ ।यसैगरी, उक्त आयोजनाहरुको ऋण लगानीका लागि वित्तीय सम्भाव्यता र प्रचलित कानुनको अधीनमा रही वैदेशिक रोजगार केन्द्रित विशेष प्रकृतिका ऋण उपकरण जारी गर्ने जनाइएको छ ।

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सल्लेरी (सोलुुखुम्बु), १७ वैशाख : सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ ।

नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा एक हजार नौ सय ४३ किलो फोहोर सङ्कलन गरेको हो ।सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुृभयो, “फोहोर सङ्कलनको काम भइरहेको छ, अहिले नेपाली सेनाले आधार शिविरमै बसेर सङ्कलन गरिरहेको छ, जल्ने खालको एकैचोटि नाम्चेमा ल्याएर नष्ट गर्ने र नजल्ने काठमाडौँ लैजाने योजना छ ।”

हिमालमा मानवीय गतिविधिले फोहोर थुप्रिरहेकाले हिमालको स्वच्छता कायम गर्नमा अभियान सफल हुने उहाँको विश्वास छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख÷प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ ।

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान सेनापति प्रभुराम शर्माले बताउनुभयो ।

डढेलोका घटना रोकथाम र नियन्त्रणमा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी, १७ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग पैmलिरहेको डढेलो र त्यसले गराएको वातावरणीय प्रदूषणप्रति चिन्ता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले आज एक अपिल जारी गर्दै आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रणमा सचेत भएर लाग्न आग्रह गर्नुभएको छ । डढेलोले पर्यावरण, जडीबुटी, वन पैदावार, चराचुरुङ्गी, वन्यजन्तु, पुनरुत्पादित साना बिरुवामा अपूरणीय क्षति हुनाका साथै जैविक तथा पर्यावरणीय क्षति बढाउँदै जनजीवनमा प्रत्यक्षरुपमा नकारात्मक असर पारेको मुख्यमन्त्री अधिकारीले अपिलमा उल्लेख गर्नुभएको छ ।

वनजङ्गलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पु¥याउनाका साथै वन जङ्गलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको उल्लेख गर्दै उहाँले सुक्खा तथा हावाहुरी चल्ने यस मौसममा आगलागी र डढेलोको उच्च जोखिम रहेको सतर्कताका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

अपिलमा भनिएको छ, ‘आप्mनो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकाले आगलागी, डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि सचेत हुनुपर्दछ । ”डढेलो लागेमा सम्बन्धित निकायलाई यथासक्य चाँडो खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा हालसम्म चार सय ६७ स्थानको आठ हजार दुई सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको जनाइएको छ । 

‘सहरमा जनसङ्ख्या थुप्रिने र गाउँका जमिन बाँझो रहने अवस्था आयो’

देउखुरी (दाङ), १७ वैशाख : नीति निर्माण र बजेट बनाउँदा भौगोलिक विकटतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना, द एसिया फाउन्डेसनको सहकार्य र अपिल मिडिया प्रालिको समन्वयमा नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । दाङको भालुबाङमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पहाडका जिल्लाबाट तराईमा बसाइँसराइ तीव्र रुपमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ विज्ञले बसाइँसराइका कारणबारेमा अध्ययन गर्नुपर्छ । सुविधा र सेवा गाउँमा पुगिरहेको छ तर मानिस बसाइँसराइ गरेर सहरमा जाने क्रम बढिरहेको छ । गाउँमा जनसङ्ख्या पातलो भएको छ । ”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तथ्याङ्क उपप्रमुख डा हेमराज रेग्मीले नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोग विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले तथ्याङ्कका आधारमा देशका नागरिकको अवस्थाका बारेमा जानकारी हुने र त्यसका आधारमा नीति प्रक्रिया, योजना बनाउन, तथ्य थाहा पाउन, तुलनात्मक अध्ययन, प्रक्षेपण तथा लक्ष्य निर्धारण, अन्तर्राष्ट्रिय तुलना र अध्ययन÷अनुसन्धानका लागि तथ्याङ्क आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनगणना २०७८ का नतिजा र लुम्बिनी प्रदेशका १२ जिल्लाको जनगणना २०७८ का बारेमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय जनसङ्ख्याविज्ञ पूर्वमहानिर्देशक नेविनलाल श्रेष्ठले तथ्याङ्कले देशको अवस्थाका बारेमा जानकारी हुने बताउनुभयो । यसले नेपालीको जीवनमा पक्षहरु जनसङ्ख्याको आकार, प्रकार, संरचना, वितरण तथा विश्लेषण, आर्थिक अवस्था आदिका बारेमा चित्रण हुने छ भन्नुभयो ।

लुम्बिनी प्रदेशका सभासदस्य रामजीप्रसाद घिमिरेले जनसङ्ख्या जहाँ धेरै छ त्यहाँ विकासका योजना धेरै लगिने गरिन्छ यसो नगरी विकास नपुगेका स्थान वा भूगोललाई पनि समेट्न जोड दिनुभयो । उहाँले सहरमा जनसङ्ख्या केन्द्रित गर्ने नीति राख्न हुँदैन भन्नुभयो । सहरमा जनसङ्ख्या थुप्रिने र गाउँघरका जमिन बाँझो रहने अवस्था आएको बताउनुभयो ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले गाउँगाउँमा बाटो, शिक्षा र स्वास्थ्यको सुविधा पुगेको छ तर मानिस रोजगारी वा अन्य सुविधाका लागि बसाइँ सर्ने गरेका छन् भन्नुभयो । सभासदस्य वीरबहादुर राणाले योजना बनाउँदा पूर्वतयारी गरेर बनाउन र बसाइँसराइलाई रोक्नका लागि एकीकृत कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश नीति तथा योजना आयोगका सचिव खिमबहादुर कुँवरलगायतले आफ्नो धारणा राख्नुभएको थियो । द एसिया फाउन्डेसनका निर्देशक प्रणय स्थापितको अध्यक्षतामा कार्यक्रम भएको थियो । अपिल मिडिया प्रालिका अध्यक्ष चेतन अधिकारी र वरिष्ठ पत्रकार शेखर अधिकारीले नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगका बारेमा चर्चा गर्नुभएको थियो ।

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली

काठमाडौँ, १७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न आफ्नो पार्टी दृढ रहेको बताउनुभएको छ ।तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो ।उहाँले लगानी सम्मेलन नेपालका राजनीतिक दल र विकास साझेदारबीचको सहकार्य बढाउने एक उपयुक्त माध्यम भएको बताउनुभयो ।

सन् २०१९ मा आफू सरकारको नेतृत्वमा हुँदा भएको दोस्रो लगानी सम्मेलनको स्मरण गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाबमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको जानकारी गराउनुभयो ।

“त्यसबेला पनि आफूले विभिन्न कानुनमा संशोधन गरेको र श्रम विवादका विषय समाधान गरेका थियौँ, यो सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयन गराउन हामी पनि भूमिका निर्वाह गर्नेछौँ,” अध्यक्ष ओलीले भन्नुभयो, “यो सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ । यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । त्यसैले निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्दछु ।”

विद्यार्थी सङ्ख्या घट्दै गएपछि पर्वतमा धमाधम विद्यालय समायोजन

पर्वत, १७ वैशाख : विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो ।

गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यसमध्ये तीन विद्यालय भने पूरै कक्षा नै समायोजन गरिएको उहाँले बताउनुभयो ।विद्यार्थी सङ्ख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी सङ्ख्या कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

अध्यक्ष आचार्यका अनुसार विद्यार्थी सङ्ख्या कम रहेको जलजला–२ मा रहेको सिद्धबाबा प्राविको भन्दा माथिका कक्षा, वडा नं ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका कक्षा, वडा नं ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षा शिव माविमा समायोजन गरिएको छ ।

यस्तै वडा नं १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योतिमण्डल माविमा, वडा नं २ को दिनकल्याण प्राविको १ भन्दा माथिका कक्षालाई समाजकल्याण प्राविमा, विध्यवासिनी प्राविको तीनभन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नं ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी वडा नं ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिका कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिका कक्षालाई देविस्थान प्राविमा र धवला प्राविका सबै कक्षालाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ ।

वडा नं ५ को पञ्चमूल प्राविका ३ कक्षाभन्दा माथिकालाई देविस्थान प्राविमा, गद्देश्वर प्राविको ३ भन्दा माथिका कक्षालाई मालिका आधारभूत विद्यालयमा, वडा नं ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षाभन्दा माथिका कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ कक्षाभन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र आचार्यले जानकारी दिनुभयो ।

वडा नं ७ को भूमे प्राविको ३ भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिका कक्षा, सरस्वती प्राविका १ भन्दा माथिका कक्षा र देउराली प्राविका ३ भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ ।

सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नं ८ को जन जागृति प्राविको १ कक्षाभन्दा माथिका कक्षाहरू जनकल्याण माविमा समायोजन गरिएको छ ।

समायोजन गरिएका विद्यालयका कक्षामा कतै शून्य विद्यार्थी त कतै न्यून विद्यार्थी भएकाले कक्षा समायोजन गर्नुपरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । भोलिका दिनमा विद्यार्थी सङ्ख्या बढेमा समायोजन निर्णय फिर्ता गरिने र विद्यार्थी सङ्ख्या अझै घटेमा पूरै विद्यालय नै समायोजन गरिने उहाँको भनाइ छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको हाललाई अस्थायीरूपमा कक्षा घटुवा गरी नजिकको अर्को विद्यालयमा समायोजन गरिएको उहाँले बताउनुभयो ।

जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताउनुभयो ।

सो अवधिमा रु दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार आठ सय ९ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिकमन्दीका कारण राजश्व निर्धारित लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको गुप्ताको भनाइ छ । त्यसैगरी भारत सरकारले प्याजलगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजश्व सङ्कंलनमा समस्या आएको समेत उहाँले बताउनुभयो ।

सङ्कलित राजश्वमध्ये पेट्रोलियम पदार्थवाट ५३ दशमलव ९१ प्रतिशत अर्थात रु एक अर्ब ३५ करोड, कोइलाबाट आठ दशमलव तीन, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा (गुड) बाट दुई दशमलव तीन, सेरामिक्स तथा टायलवाट एक दशमलव १४, स्याउवाट शून्य दशमलव ६१, मसालाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दहमलव ५७ तथा अन्य सामानवाट एक दशमलव १४ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी विभिन्न मितिमा पक्राउ गरिएका सामानहरूको लिलामीबाट रु दुई करोड ६६ लाख ८८ हजार राजश्व सङ्कलन भएको पनि तथ्याङ्मा उल्लेख छ ।

भन्सार विभागले चालु आवमा रु तीन अर्ब ७३ करोड २३ लाख ६२ हजार छ सय ८७ राजश्व संकलन गर्ने लक्ष्य तोकेको र सो लक्ष्यबमोजिम राजश्व सङ्कलन गर्ने विश्वास रहेको सूचना अधिकारी गुप्ताको भनाइ छ । सो कार्यालयअन्र्तगत रहेका छोटी भन्सार कार्यालयबाट पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ ।

ठूला आयोजना अगाडि बढाउँदैछौः ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, १७ वैशाखः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताउनुभएको छ । लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उहाँले एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, छ सय ३५ मेगावाट क्षमताको दुधकोशी निर्माणमा जाने अन्तिम तयारीमा रहेको बताउनुभयो ।

उहाँले चार सय १७ मेगावाट क्षमताको नलसिंह गाड, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माणमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले ती आयोजना आन्तरिक रुपमा बिजुलीको सहज आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्यातका लागि समेत योग्य रहेको बताउनुभयो ।

दर्जनौ जलविद्युत् आयोजना, सौर्य परियोजना पाइपलाइनमा रहेको जानकारी दिँदै मन्त्री बस्नेतले ती आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ फड्को मार्ने र दिगो भविष्यका लागि समेत योग्य रहने स्पष्ट पार्नुभयो ।ऊर्जा क्षेत्रमा लगानी भित्र्याउनका लागि सरकारले ग्रीन बण्डको अवधारणामा काम गरिरहेको र त्यसमार्फत यस क्षेत्रमा थप लगानी विस्तार गर्ने बताउनुभयो ।

सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यसहित ऊर्जा मार्गचित्र तयार पारेको जानकारी दिँदै त्यसका लागि रु ४६ खर्ब बराबरको लगानी जरुरी रहेको स्पष्ट पार्नुभयो ।सरकारले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको एसआर–६ परियोजनालाई प्रक्रियामा अगाडि बढाएको जानकारी दिनुभयो ।

सरकारले सन् २०४५ सम्म शुन्य कार्बनको नीति अख्तियार गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धताअनुसार नै काम गर्ने विश्वास दिलाउनुभो । विश्व जलवायु कोष र ग्रीन फण्डमार्फत जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउन सकिने उहाँको कथन छ ।

विद्युत् व्यापारका लागि भारततर्फ विभिन्न पाँच वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको र सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा अगाडि बढेको उल्लेख गर्दैै मन्त्री बस्नेतले दुहवी–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन निर्माणलाई प्रक्रियामा लैजान लागिएको बताउनुभयो ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताउनुभयो ।उहाँले निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशीय प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि बताउनुभयो ।उहाँले निजी क्षेत्रले प्रसारणलाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युतको विश्वसनीयता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

“दक्षिण एसियामा ऊर्जाको माग भएका देशहरुमा क्रसबोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ । निजी क्षेत्रको सहभागीताले क्रसबोर्डर लाइन निर्माण, विद्युत् निर्यात र प्रविधि हस्तान्तरणलगायतलाई मुर्तरुप दिन सकिन्छ”, कार्कीले भन्नुभयो “तर, प्रसारणलाइन निर्माणमा पनि वन तथा वातावरण, जग्गा प्राप्ति र प्रक्रियागत झन्जटहरुसँग जुध्नुपर्ने समस्या छ ।”


अध्यक्ष कार्कीले आन्तरिक तथा अन्तरदेशिय विद्युत् व्यापारमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सहलगानी खोजी र पोलीसी लविइङलगायतका काम गरिरहेको उनले जानकारी गरानुभयो । निजी क्षेत्रले विद्युत् व्यापारका लागि इक्विटी, ऋण, प्रविधि, सञ्चालनलगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि कार्कीले बताउनुभयो ।

नेपालको स्वच्छ र हरित ऊर्जाको लागि रणनीतिक योजना बनाउँदै यस क्षेत्रको दीगो विकासका लागि पनि निजी क्षेत्रले योजना बनाइरहेको छ । नेपालमा निजी क्षेत्रको लागि विद्युत् उत्पादनमा मात्र नभएर प्रसारण तथा वितरण पूर्वाधार निर्माण, ऊर्जा दक्षता र विद्युत् व्यापारमा निकै ठूलो सम्भावना भएकोले नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्राउन विदेशी लगानीकर्तालाई कार्कीले आग्रह गर्नुभयो ।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकारले केही कुरामा ध्यान दिनुपर्ने भन्दै कार्कीले हाम्रो नीतिमा स्थायित्व र स्पष्टता हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानीको सुरक्षा गर्नुपर्ने बताउनुभयो । यस्तै, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्यूनीकरणका संयन्त्र, सहज स्वदेश फिर्तीको व्यवस्थालगायतका कुरामा ध्यान दिनुपर्ने पनि अध्यक्ष कार्कीको कथन छ । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयका सहसचिव सागरराज गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

चीन र भारतका बजारमा पहुँच पु-याउने अवसर छ : उद्योग मन्त्री भण्डारी

काठमाडौँ, १७ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भारतका बजारसम्म सजिलै पुग्नसक्ने भएकाले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

यहाँ आयोजित तेस्रो लगानी सम्मेलनको सत्रमा उहाँले नेपालले ठूला देशको बजारमा सहज पहुँच रहेकाले लगानीको उपयुक्त अवसर रहेको बताउनुभयो । “हामी विश्वका दुई ठूला अर्थतन्त्रका बीचमा छौँ, आन्तरिक बजारको साथै विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु छ,” उद्योगमन्त्री भण्डारीले भन्नुभयो, “अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीनतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकासमा विशेष जोड दिनुपर्नेछ ।”

पछिल्लो समय प्रविधिको विकासले उत्पादनको तरिका, स्थान र आपूर्ति प्रणाली परिवर्तन भएको उद्योगमन्त्री भण्डारीको भनाइ छ । बजारको माग र आपूर्तिका शृङ्खला परिवर्तन भएको उहाँले बताउनुभयो । “उपभोक्ताको चाहना र सन्तुष्टिको स्तर परिवर्तन हुँदै गएको छ । त्यसकारण हामीले अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “हामीले उद्यमशीलता, उत्पादन र आर्थिक वृद्धिमा केन्द्रित रहेर उद्यमशील, दक्ष र सीपयुक्त जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।”

उहाँले औद्योगिकीकरण, रोजगारी सृजना, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा नवप्रवर्तन अपरिहार्य रहेको धारणा राख्नुभयो ।

औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले नीतिगत, कानुनी र प्रक्रियागत सुधार गरेको उहाँले बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “औद्योगिक व्यवसाय ऐनमा आयकर भन्सार महसुल लगायतका कर छुटको व्यवस्था छ । नेपाल सरकारले महिला तथा लघु उद्यमीहरूका लागि विशेष सहुलियत, औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, एकल विन्दु सेवा केन्द्रलगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ”, उहाँले भन्नुभयो, “राजस्व नीतिलाई उत्पादन एवम् लगानीकर्तामैत्री बनाउँदै लगिएको छ । नवप्रवर्तनको प्रवर्द्धन, बौद्धिक सम्पत्तिको विकास र संरक्षण गर्न बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन तर्जुमा भइरहेको छ ।”

विदेशी लगानीसम्बन्धी कानुनमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र पूँजी लगानी कोष स्थापना गर्न सक्ने प्रावधानले नवप्रवर्तनमा योगदान पु-याउने उद्योगमन्त्री भण्डारीले विश्वास व्यक्त गर्नुभयो । अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा पूँजीगत खर्चको एक प्रतिशत रकम विनियोजनको सुरुआत गरेको उहाँले बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले भन्नुभयो, “सङ्घमा बिजनेस इक्युबेसन केन्द्र स्थापना गरिएको र प्रदेशस्तरमा समेत क्रमशः सो केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । उत्पादनमूलक क्षेत्रमा नवीनतालाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न स्टार्टअप उद्यम नीति तथा कर्जासम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । नियमनकारी निकायलाई प्रविधियुक्त बनाउँदै दर्ता, नवीकरण, अनुमति र सहुलियत दिनेजस्ता सेवालाई अटोमेसन गर्दै लगिएको छ । नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ जस्ता कार्यक्रममा सहयोग पु-याउँदै आएको छ ।”

आगामी दिनमा अनुसन्धान तथा विकासमा सरकार तथा निजी क्षेत्रको लगानी अभिवृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन सहुलियत, सूचना तथा प्रविधिसँग सम्बन्धित जनशक्तिको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “ट्रिपलहेलिक्स मोडेलमा आधारित रहेर प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सरकारबीचको सहकार्यमा नयाँ औद्योगिक वस्तुको विकास तथा उत्पादकत्व अभिवृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ ।”

हेमन्त ‘कान्छाको ‘जाउँ साइँली बेनी बजार’लाई १ लाख बढीले हेरे

काठमाडौं । गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइली र गायिका लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड गरिएको मौलिक झ्याउरे (लोकदोहोरी) गीत सार्वजनिक गरिएको छ । अग्रज लोकगायक स्वर्गीय पदम बिष्टको सम्मानमा गायक रसाइली र गायिका भट्टाराईको आवाजमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतलाई गायक रसाइलीको आधिकारिक युट्युब च्यानल हेमन्त ‘कान्छा’ रसाइलीबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा गायक तथा चर्चित मोडल प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन सुनिल बिक र कोरियोग्राफर रोशन विश्वकर्माले गरेका हुन् । भिडियो करन चैसिरले खिचेका हुन् । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ ।

पुराना गायक तथा संकलकहरुको सम्मानमा उक्त गीतलाई पुनः रेकर्ड गरिएको रसाइलीले बताए । ‘पुराना सर्जकहरुको सिर्जनालाई संरक्षण र सम्बर्धन गर्नु आजको पुस्ताको दायित्व हो’, उनले भने । नयाँ पुस्तालाई पुराना सिर्जनाहरुसँग साक्षात्कार गर्न आफूले सानो भूमिका खेलेको रसाइलीले बताए ।भिडियोलाई दुईदिनमा एक लाख बढीले हेरिसकेका छन् ।

इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै

फिक्कल (इलाम), १७ वैशाख : प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिनुभएको छ । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार दुई सय ७३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले दुई हजार आठ सय तीन मतसहित चौथो स्थानमा हुनुहुन्छ । मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले चार सय ६९, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राईले तीन सय २५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय २६ मत प्राप्त गर्नुभएको छ ।

छवटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ६, ७ र ८ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

हतियारसम्बन्धी गठित समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, १७ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लमिछानेले छानबिन समितिको प्रतिवेदनले औँल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताउनुभयो ।

व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिन चैत १५ गते गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो ।गृहमन्त्रालयद्वारा गठित उक्त समितिले गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

विसं २०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए–३५४७५२ हतियार फेला परेपछि उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्डसँग उक्त हतियार फेला परेको थियो ।

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ । सर्वाेच्चले उक्त विषयमा छानबिन गर्न आदेश दिएको थियो । देशभर हतियारको इजाजतपत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ ।

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा, १७ वैशाख : बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेको विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिनुभयो ।

संसद्मा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उहाँले बताउनुभएको छ । उहाँले संसदको आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिनुभयो । प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ प्रदेशसभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो ।

आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न माग

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न सरकारसँग माग गरको हो ।

आयोगले यससम्बन्धी आमसञ्चार माध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण गर्न समेत आग्रह गरेको छ । पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा आगलागी र डढेलोका घटनाबाट नागरिकको जीउधनको क्षति भइरहेको छ । आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा २०८१ साल वैशाख १२ गते भएको आगलागीबाट ९१ कच्ची र नौवटा अर्धपक्की गरी एक सयवटा घर जलेका थिए । उक्त घटनाबाट चार सय ५५ जना प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा एकजनाको मृत्यु हुनुको साथै चारजना घाइते भएका छन् ।

घटनापश्चात् तत्कालै राहत व्यवस्थापन हुन नसक्दा पीडित थप समस्यामा परेको देखिएको छ । विगत एक वर्षमा आगलागी तथा डढेलोबाट एक सय १४ जनाको मृत्यु भएको, पछिल्लो एक महिनामा १४ जनाको आगलागी र आठजनाको डढेलोमा परी मृत्यु भएको आयोगको जानकारीमा रहेको उल्लेख छ ।

सुरक्षाकर्मी तथा स्थानीयवासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा परिचालित हुँदा मानवीय क्षति भएको पाइएको आयोगको भनाइ छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम अत्यन्त न्यून रुपमा भएको र भएका पनि सहर केन्द्रित भएको देखिएको छ ।

“वायु प्रदूषण हुनमा आगलागी र डढेलोको प्रत्यक्ष भूमिका हुन्छ, पछिल्ला वर्षमा नेपाल विश्वमा सबैभन्दा धेरै वायु प्रदूषण हुने देशहरुको सूचीमा पर्दै आइरहेको छ, यसका विभिन्न कारणमध्ये आगलागी र डढेलो प्रमुख मानिएको छ,” विज्ञप्तिमा भनिएको छ, “नेपालको कूल क्षेत्रफलको ४४.७४ प्रतिशत वन क्षेत्र हुनु सकारात्मक पक्ष भएता पनि वनमा हुने आगलागी तथा डढेलो नियन्त्रण तथा न्यूनीकरण गर्न सरकारी वन, साझेदारी वन, सामुदायिक वन, कबुलियती वन, निजी वन लगायतको व्यवस्थापन कार्ययोजना प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ, वनजङ्गल संरक्षण तथा व्यवस्थापनका लागि परम्परागत ज्ञान, सीप र अभ्यासको खोजी तथा प्रवद्र्धन गर्न जरुरी छ ।”

विपद्का कारण नागरिकको जीउधनको सुरक्षा हुन नसक्दा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा, ३ मा उल्लिखित प्रत्येक व्यक्तिको जीवनको सुरक्षाको अधिकार, नेपालको संविधानको धारा, १६ मा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा, २५ मा उल्लिखित नागरिकले आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने मौलिकहकको संरक्षण हुन नसकेको आयोगले जनाएको छ ।

असारे विकासलाई पूर्णरुपले निरुत्साहित गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली, १७ वैशाख ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कँडेलले असार १ गतेभन्दा उता विनियोजित स्वीकृत योजना सम्झौता, कोटेसन र त्यही वर्ष कार्यान्वयन गर्ने गरी ‘टेन्डर’ गर्ने कुरा पूर्णरुपले बन्द गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “चालु आवका स्वीकृत योजना जेठसम्म सम्झौता गर्नुपर्नेछ । असारे विकासका नाममा हुने कामबाट सरोकारवालाले प्रश्न गर्ने स्थिति आउन दिनुहँुदैन ।” प्रदेश सरकारकाद्वारा विनियोजित बजेट थोरै तोकेका कारण कामको गति सुस्त नगरी काम द्रुत गतिमा अगाडि बढाउनुपर्ने जनाउँदै उहाँले सञ्चालित क्रमागत र बहुवर्षीय योजनाको दायित्व आफू नेतृत्वको सरकार पूरा गर्ने बताउनुभयो । विगतको सरकारको अनुभूति र अनुभवका आधारमा आगामी आव २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट विश्वास सदनलाई दिलाउनुभयो ।

सङ्घीय सरकारको बजेट निर्माण गर्ने अन्तिम प्रक्रियामा भएकाले सरकार गठन भएपछि कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सरोकारवाला सबैको प्रतिनिधित्व गर्ने चार योजनाका बारेमा आवश्यक जनमत र अनुभूति गर्ने गरी न्यूनतम प्रयत्न गरिएको उहाँले जनाउनुभयो । मुख्यमन्त्री कँडेलले अर्को अधिवेशन समाप्त नहुँदै जिल्लाको गतिविधिको प्रत्यक्ष अवलोकन गरी त्यहाँको अवस्था जानकारी गराएमा सरकारलाई नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “बनाउने हो, लुकाउनुपर्ने कुनै कुरा छैन । पारदर्शी योजना बनाएर जनविश्वास दिलाउने हो । सबैलाई संलग्न बनाएर सरकारको नीति कार्यक्रम र बजेट निर्माण गर्ने हो । नीति तथा सिद्धान्तको प्राथमिकता रहेर बजेटमा छलफल गर्नुपर्छ । जेठको पहिलो हप्तादेखि प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष सहभागितामा सरकारका तर्फबाट आवश्यक छलफल थालिने छ ।”

रु ३० र १५ लाखभन्दा मुनिका योजना कार्यान्वयनका लागि प्रदेशसभामा भएको सहमति र विगत सरकारको मर्मअनुसार कार्यान्वयन गरिने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले आफ्नो निर्वाचन क्षेत्रमा गएर वस्तुनिष्ठ प्रतिवेदन सहित सबै प्रदेशसभा सदस्यहरु अर्को अधिवेशन सहभागी हुने अपेक्षा गरेको जनाउँदै सदस्यको महत्वपूर्ण सुझाव सल्लाह सरकारका निम्ति मार्ग निर्देशन हुने विचार व्यक्त गर्नुभयो ।

राजपुर हाडबासको आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

घोराही (दाङ), १७ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री शर्माले सो घटनाप्रति दुःख व्यक्त गर्दै पीडाको क्षणमा घरबारविहीन पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको र नागरिकका घर, पशुपन्छीलगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल तथा जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै मन्त्री शर्माले सबै पक्षलाई गम्भीर हुन प्रेस विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गर्नुभएको छ । क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तीनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ ।

आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै मन्त्री शर्माले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गर्नुभएको छ । आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालन गर्न समेत उहाँले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गर्नुभएको छ ।

तातो हावाको लहर अझै बढ्ने,सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।

“तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।

सूचनामा भनिएको छ, “तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।”

सम्भावित असर तथा सुझाव

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै ः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

चैनपुर (बझाङ), १७ वैशाख : बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको छ । एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।

इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै

फिक्कल (इलाम), १७ वैशाख : प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको छ ।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार चार सय ८७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का पाँच हजार आठ सय ४४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार दुई सय ६२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार दुई सय ६९ मत प्राप्त गर्नुभएको छ । अहिले माङसेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ ।

इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ÷छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा (१० बाहेक) गरी ४२ वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याउनुभएको थियो । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार हुनुहुन्थ्यो । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

बसेरी (धादिङ), १७ वैशाख : धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो ।

पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्गको कामलाई अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न अगाडि बढाइएको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्र्धनात्मक तथा अन्वेषणात्मक कार्य सुरु गरिएको छ । गङ्गाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले सुरु गरेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्र्धनात्मक तथा अन्वेषणात्मको कामको आइतबार सोही गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गर्नुभयो ।

गोरखाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको बुढाथुममा भव्य समारोहबीच शुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष लामा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न उक्त पदमार्गलाई अगाडि बढाइएको बताउनुुहुन्छ ।

यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवद्र्धन गर्न गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो । सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन, पदमार्ग विकास तथा प्रवद्र्धन योजना, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गरिने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउनुहुन्छ ।

गङ्गाजमुनाभित्र ‘क्यानोनिङ’ गर्न ठूलाठूला झरना, ‘रक क्वाइबिङ’का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाइन, अग्लो र लामो झोलुङ्गेपुल लगायतका पूर्वाधार रहेका छन् । यस्तै, उक्त गाउँपालिकामा ब्रह्माणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिको अनुभव लिन पाइन्छ । वरिष्ठ उपाध्यक्ष दाहालका अनुसार पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गङ्गाजमुनाको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ७० लाख बजेट विनियोजन गरेको बताउनुहुन्छ । “गङ्गाजमुनाबाट चुमभ्याली र रुवीभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’लाई पालिकाले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ”, उहाँ भन्नुहुन्छ ।

होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण भइरहेको छ । गङ्गाजमुनाको पर्यटन प्रवद्र्धन गर्न ठाउँठाउँमा सूचना पाटी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माणलगायत काम अगाडि बढाइएको छ ।

‘कृषि, पर्यटन र पूर्वाधार ः गङ्गाजमुना विकासको आधार’ नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ । नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल बताउनुहुन्छ । पूर्वपर्यटन व्यवसायीसमेत रहनुभएका उहाँ स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गङ्गाजमुना निर्माण गर्न पदमार्गबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । उक्त पदमार्ग भएर समुद्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ ।

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा, १७ वैशाख : भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन । स्थानीयकै पहलमा २०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनःनिर्माण तथा विकास समितिका अध्यक्ष सुककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“सरकारले उपलब्ध गराउने रु तीन लाख अनुदानसहित अपुग रकम घरधनीबाट पनि सङ्कलन गर्ने र केही आर्थिक सहयोग जुटाएर बस्ती निर्माण गर्ने योजना बनाइएको थियो”, उहाँले भन्नुभयो, “पहिलो किस्ताको रकम प्राप्त गर्न ढिलाइ हुने भएपछि ऋण नै खोजेर काम थाल्नुपर्ने बाध्यता भयो, अहिले ऋण पनि बढ्दै गएको छ, बस्ती निर्माण पनि सम्पन्न गर्न सकिएको छैन ।”

बस्ती निर्माण गर्न लामाचौरमा एक सय पाँच रोपनी जमिनमा प्रतिपरिवारलाई करिब ६ आना जग्गा पुग्ने गरी एक सय ३८ घर निर्माण थालिएको थियो । “निर्माण थालिएकामध्ये ९० घर निर्माण भइसकेका छन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पचास घरमा अहिले स्थानीय बस्न थालिसकेका छन् ।” उहाँले बाँकी रहेका घर निर्माणकै प्रक्रियामा रहेको बताउनुभयो ।

कतिपय घरधनीबाट प्रतिबद्धता गरेअनुसारको रकम प्राप्त हुन नसक्दा पनि समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । “निर्माण हुन बाँकीमध्ये केहीको अन्यत्रै घर भएकाले एकीकृत मिलन बस्तीमा घर बनाउन नचाहेको अवस्था छ”, उहाँले भन्नुभयो, “तत्काल केही घर नबनाई नहुने अवस्था छ, बजेट नहुँदा समस्या भएको छ ।”

घरधनीले प्रतिबद्धता गरेअनुसारको रकम उठे ऋण तिर्न नसके पनि तत्काल बनाउनुपर्ने अवस्थामा रहेका बाँकी घर बनाउन सकिने समितिले जनाएको छ । उहाँले बाँकी रहेका घर निर्माण गर्न आर्थिक स्रोतको खोजी भइरहेको बताउनुभयो ।

“घर निर्माण गर्न तत्काल बजेट प्राप्त हुने अवस्था देखिएन,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अन्यत्रबाट भए पनि आर्थिक स्रोत जुटाउन सकिन्छ की भनेर लागिपरेका छौँ ।” बस्तीमा प्रत्येक परिवारका लागि चार कोठाको दुईतला भएको घर निर्माण गरिएको छ । एउटा घर निर्माण गर्दा करिब रु ६ लाख ५० हजारभन्दा बढी खर्च भएको समितिले जनाएको छ । बस्तीभित्र विद्युत््, सडक, खानेपानी तथा ढल निर्माण लगायतका काम भइरहेका छन् । तीस वटा घर ‘अक्सफाम’ नामक गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएका हुन् ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा म्याग्दीमा ६० घरमा क्षति

म्याग्दी, १७ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ । उहाँले भन्नुुभयो, “वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको छ ।”

पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताउनुुभयो ।

घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

चैनपुर (बझाङ), १७ वैशाख : बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिनुभएको छ । उहाँले सात हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार एक दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो । हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

काठमाडौँ – मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडाँै उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको आइतबार उद्घाटन गरिएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गर्नुभयो । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०÷१३२ केभी, ३२० एमभिए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले जलविद्युत्को विकासमा गुणात्मक फड्को मारिरहेको तथ्याङ्कले नै पुष्टि गरिरहेको उल्लेख गर्दै देश विकासको युगतर्फ प्रवेश गरेकाले यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपालमा लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र जलविद्युत् नै भएको र यसको विकासका लागि सरकारले लिएको लगानीमैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको आकर्षण बढदै गएको जनाउँदै प्रधानमन्त्री दाहालले आजैदेखि सुरु भएको लगानी सम्मेलनमा भएको विदेशी लगानीकर्ताहरुको सहभागिताले समेत यसलाई पुष्टि गरेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्षबाट बङ्गलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता छिट्टै हुन लागेको बताउनुभयो ।

प्रसारण लाइनलगायत विकास आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानमा देखिएको समस्या समाधान गरी आयोजनाहरु अगाडि बढाउन व्यावहारिक र विकास विरोधी नभए साधक बन्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो । “प्रसारण लाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रूख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको छ । आयोजनाहरुको लागत र समय बढिरहेको छ । यसबाट एकतर्फ आयोजनाहरु महँगो बनिरहेका छन्,” उहाँले भन्नुभयो, “यसलाई कारण बनाएर विकास आयोजनाको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुने गरी योजनाहरु अगाडि बढाउन महत्वपूर्ण निर्णय गर्नैपर्नेछ ।”

विद्युत् प्रणालीमा देखिएको यस्तो प्रकारको मौसमी असन्तुलन हटाउन सरकारले एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना, छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको उहाँले उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सङ्घ, प्रदेश, स्थानीय तह तीनवटै सरकारको लगानी र आम नेपालको लगानीमा जलविद्युत् आयोजनाहरुको निर्माण अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको उल्लेख गर्नुभयो ।

नेपालका लागि नर्वेली राजदूत टोरुन ड्रामडालले विद्युत् प्रसारण र वितरण लाइनको निर्माणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताउनुभयो । यस्ता पूर्वाधार निर्माणले खाना पकाउन प्रयोग हुने ग्यासको आयातलाई विस्थापित गरी उपभोक्तालाई सस्तो विद्युत् उपभोग गर्न प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।

एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङमिङ याङले प्रसारण लाइन तथा सबस्टेसन निर्माण नेपालको ऊर्जा क्षेत्रको विकासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताउँदै ऊर्जा क्षेत्रको विकासमा सहयोग गर्न सधैँ तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् तथा प्रसारण लाइन निर्माणमा मुख्य समस्याका रुपमा रहेको वन कटानी तथा जग्गा प्राप्ति सम्बन्धी कार्यलाई सहज एवम् छिटो छरितो नबनाएसम्म विकास आयोजनाहरु पूर्वनिर्धारित समय र लागतभित्र सम्पन्न गर्न सम्भव नदेखिएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “एउटा प्रसारण लाइन लामो समय लगाएर सम्पन्न गर्दा युद्ध जितेको महसुस गर्नुपर्ने अवस्थाबाट हामी चाँडै मुक्त हुन सकेनौँ भने सरकार र जनताले चाहेको द्रुत गतिका विकासको अपेक्षा पूरा हुने सम्भावना न्यून देखिन्छ, तसर्थ ऐन कानुनमा व्यापकरुपले परिवर्तन गरी विकास मैत्री बनाउन जरुरी छ । साथै सम्बन्धित निकायहरु विकास मैत्री रुपले व्यावहारिक भइदिन पनि आवश्यक छ ।”

मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडाँै उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्मको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । तनहुँ, गोरखा, चितवन धादिङ र काठमाडौँमा निर्माण गरिएका प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारण लाइनमा दुई सय ३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मस्र्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनबाट आएको करिब एक÷एक हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ । मस्र्याङ्दी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत् प्रवाह हुने भएकाले काठमाडौँ उपत्यकाको भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न र देशको समग्र विद्युत् प्रणाली सुधार गर्न प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसन मेरुदण्ड हो ।

मस्र्याङदी–काठमाडौँ प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग १६ असार २०७३ मा एक करोड तीन लाख अमेरिकी डलर र रु ७६ करोड ६३ लाखमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण २०७३ भदौदेखि सुरु भएको थियो ।

प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोध र कोभिड-१९ महामारीका कारण निर्माणमा केही ढिलाइ भएको थियो । धादिङको सिद्धलेक गाउँपालिका-७ स्थिति पीपलटारमा स्थानीयको अवरोधका कारण झण्डै दुई वर्ष निर्माण प्रभावित भएको थियो ।

आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण कार्य अगाडि बढाइएको थियो । यसमध्ये मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भइसकेको छभने मार्कीचोक अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको हो । आयोजनाको लागत करिब रु आठ अर्ब रहेको छ ।

निर्वाचन प्रणाली संशोधन आवश्यक : डा कोइराला

बेलबारी (मोरङ) – मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताउनुभएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यासका क्रममा नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताउनुभयो ।

स्थिर सरकार नहुँदा जनताले अपेक्षा गरेअनुसार मुलुकको विकास हुन नसकेको उहाँको भनाइ थियो । “अहिलेको निर्वाचन प्रणालीको अवस्था यस्तै रहिरहने हो भने स्थिर सरकार बन्न सक्दैन”, उहाँले भन्नुभयो, “यो प्रणालीमा कुनै दलले बहुमत ल्याउने अवस्था छैन, कुनै दलले स्पष्ट बहुमत नपाउँदासम्म सरकार बनाउने र गिराउने खेल चलिरहन्छ जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्छ ।”

कार्यक्रममा नेता कोइरालाले मुलुकको विकासका लागि कांग्रेस र एमाले एक स्थानमा उभिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन गरी मुलुकलाई निकास दिन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकै स्थानमा उभिनुपर्छ, दुई दल एकस्थान नउभिँदासम्म संविधान संशोधन हुन सक्दैन ।”

कार्यक्रममा बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

बूढीगङ्गा गाउँपालिकालाई स्थानीय योगमाया कार्की र सोहार्द्र कार्कीले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको आठ कट्ठा दुई धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत रु ११ करोड ८६ लाखको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिनुभयो ।

ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा महतको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताउनु भएको छ ।आइतबारदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताउनुभयो ।

उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेको लगायतका कारण विदेशीहरुलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन उहाँले आग्रह गर्नुभयो । पूर्वअर्थमन्त्री डा महतले पार्टीहरुबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ता अन्योलमा रहनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । “विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौं । सरकारमा भए पनि नभए पनि हाम्रो धारणा एउटै हुन्छ, नीति र कानुनमा स्थिरता छ,” उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ । लगानीका धेरै अवसर छन्, त्यसैले अवसरको सदुपयोग गर्न आग्रह गर्छौं ।”

डा महतले जलविद्युत् लगानीको मुख्य क्षेत्र भएको उल्लेख गर्नुभयो । “बजारको समस्या छैन । भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छभने बङ्गलादेश पनि विद्युत् लैजान इच्छुक छ,” उहाँले भन्नुभयो ।भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो ।

डा महतले पर्यटन, कृषि र सूचना प्रविधि लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको उल्लेख गर्नुभयो । “फरक फरक तापक्रमको भूगोल छ । सांस्कृतिक पक्षमा उस्तै विविधता छ,” उहाँले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने बताउनुभयो ।“नेपाल अग्र्यानिक उत्पादनका लागि हब हो । कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ । यो उत्कृष्ट गन्तव्य हो,” उहाँले भन्नुभयो, “सूचना प्रविधि पनि लगानीको क्षेत्र हो, कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ ।”

सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्याङ्क छ । “हामीकहाँ सबैभन्दा तीव्ररुपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो । यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,” डा महतले भन्नुभयो ।उहाँले धेरैजसो उत्पादनको बजार नेपाल नै भएकाले लगानीकर्ता अलमलमा नपर्न आग्रह गर्नुभयो । नेपालमा व्यक्तिगत रुपमा सानो लगानीभन्दा व्यावसायिक रुपको ठूलो लगानीको खाँचो रहेको उहाँको भनाइ थियो ।

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

फिक्कल (इलाम), १७ वैशाख : इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले सात हजार ६ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ ।एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहृत

दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्र नजिकै हतियारधारीहरूले अपहरण गरेको प्रहरीलाई उद्धृत गर्दै जियो न्युजले बताएको छ ।डेरा इस्माइल खानको प्रहरी उपरीक्षक मोहम्मद अदनानले घटनाको पुष्टि गर्दै ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्रको बीचमा रहेको बग्वाल गाउँमा न्यायाधीश कार्यालयबाट डेरा इस्माइल खान फर्किंदै गर्दा उक्त घटना भएको बताउनुभयो । अपहरणकारीहरूले न्यायाधीशको कार र चालकलाई घटनास्थलबाटै छाडेको उहाँले बताउनुभयो । उहाँको अपहरणको कसैले जिम्मेबारी नलिएको प्रहरीले बताएको छ ।

दुर्भाग्यपूर्ण घटनाप्रति प्रतिक्रिया दिँदै पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का केन्द्रीय सूचना सचिव फैसल करिम कुन्दीले चिन्ता र दुःख व्यक्त गर्नुभयो । उहाँले खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गन्डापुरलाई प्रान्तमा शान्ति स्थापनाप्रति उहाँको ‘गैर–गम्भीरता’ बारे स्पष्ट गर्न बोलाउनुभयो ।

उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले शान्ति स्थापनाप्रति किन गम्भीर नभएको र आतङ्कवादी किन खुलेआम छन् भन्नेबारे बताउनुपर्छ ।” उहाँले न्यायाधीशको अपहरणको खबरले जनतामा असुरक्षाको भावना सिर्जना भएको बताउनुभयो । उक्त विषयमा खैबर पख्तुनख्वाका मुख्यमन्त्री गन्डापुरले अपहृत न्यायाधीशलाई सकुशल उद्धार गर्न निर्देशन दिनुभएको थियो । उहाँले न्यायाधीश मारवातको उद्धारका लागि आपत्कालीन उपायहरू अपनाउनुपर्ने र उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अपहरणमा संलग्न तत्व न्यायबाट उम्किन नसक्ने बताउनुभयो ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न यातायातलाई गृहको पत्र

काठमाडौँ-गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले   भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।

कानुनमा तोकिएको भए सोही अनुसार कार्यान्वयन गर्न र नतोकिएको भए प्रतिघण्टा ४० किलोमिटर तल हुने गरी गति निर्धारणको व्यवस्थाका लागि आवश्यक निर्देशन वा समन्वय गर्न गृहले पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उक्त पत्रमा भनिएको छ, ‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरुमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरुको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरुको गति निर्धारण गर्न आवश्यक देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारितभन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ ।’

गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक कार्यालय र ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ तथा कार्यार्थका लागि पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद र साढे २५ करोड जरिवाना

काठमाडौँ-विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले  न्यौपानेलाई रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई रु १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाइएको थियो ।

गत चैत २५ गते अदालतबाट दोषी ठहर भए पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ साल असार १८ देखि २०५७ मङसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मङसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौँ, १६ वैशाख : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ । ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालय÷निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक – बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताउनुभयो ।