`

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

फिक्कल (इलाम), १७ वैशाख : इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उहाँले सात हजार ६ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ ।एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहृत

दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्र नजिकै हतियारधारीहरूले अपहरण गरेको प्रहरीलाई उद्धृत गर्दै जियो न्युजले बताएको छ ।डेरा इस्माइल खानको प्रहरी उपरीक्षक मोहम्मद अदनानले घटनाको पुष्टि गर्दै ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्रको बीचमा रहेको बग्वाल गाउँमा न्यायाधीश कार्यालयबाट डेरा इस्माइल खान फर्किंदै गर्दा उक्त घटना भएको बताउनुभयो । अपहरणकारीहरूले न्यायाधीशको कार र चालकलाई घटनास्थलबाटै छाडेको उहाँले बताउनुभयो । उहाँको अपहरणको कसैले जिम्मेबारी नलिएको प्रहरीले बताएको छ ।

दुर्भाग्यपूर्ण घटनाप्रति प्रतिक्रिया दिँदै पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का केन्द्रीय सूचना सचिव फैसल करिम कुन्दीले चिन्ता र दुःख व्यक्त गर्नुभयो । उहाँले खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गन्डापुरलाई प्रान्तमा शान्ति स्थापनाप्रति उहाँको ‘गैर–गम्भीरता’ बारे स्पष्ट गर्न बोलाउनुभयो ।

उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले शान्ति स्थापनाप्रति किन गम्भीर नभएको र आतङ्कवादी किन खुलेआम छन् भन्नेबारे बताउनुपर्छ ।” उहाँले न्यायाधीशको अपहरणको खबरले जनतामा असुरक्षाको भावना सिर्जना भएको बताउनुभयो । उक्त विषयमा खैबर पख्तुनख्वाका मुख्यमन्त्री गन्डापुरले अपहृत न्यायाधीशलाई सकुशल उद्धार गर्न निर्देशन दिनुभएको थियो । उहाँले न्यायाधीश मारवातको उद्धारका लागि आपत्कालीन उपायहरू अपनाउनुपर्ने र उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अपहरणमा संलग्न तत्व न्यायबाट उम्किन नसक्ने बताउनुभयो ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न यातायातलाई गृहको पत्र

काठमाडौँ-गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले   भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।

कानुनमा तोकिएको भए सोही अनुसार कार्यान्वयन गर्न र नतोकिएको भए प्रतिघण्टा ४० किलोमिटर तल हुने गरी गति निर्धारणको व्यवस्थाका लागि आवश्यक निर्देशन वा समन्वय गर्न गृहले पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उक्त पत्रमा भनिएको छ, ‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरुमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरुको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरुको गति निर्धारण गर्न आवश्यक देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रतिघण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारितभन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ ।’

गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक कार्यालय र ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ तथा कार्यार्थका लागि पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद र साढे २५ करोड जरिवाना

काठमाडौँ-विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले  न्यौपानेलाई रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई रु १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाइएको थियो ।

गत चैत २५ गते अदालतबाट दोषी ठहर भए पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ साल असार १८ देखि २०५७ मङसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मङसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौँ, १६ वैशाख : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ । ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालय÷निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक – बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताउनुभयो ।

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही समययता देशभरि आगलागी, डढेलो र तातो हावा (लू) लगायत घटनाबाट जनधनको व्यापक क्षति भएको छ । पछिल्लो एकसातामा देशभरि झन्डै एक हजारभन्दा बढी स्थानका जङ्गलमा आगलागी तथा डढेलो लागेको छ । डढेलो नियन्त्रणका क्रममा कैयन् सर्वसाधारण तथा सुरक्षाकर्मी हताहत भएका घटनाहरूले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ ।”

महासचिव भुसालले तराई मधेस क्षेत्रमा र केही पहाडी भूभागहरूमा समेत तातो हावा लू चलिरहेकाले जनजीवन अस्तव्यस्त हुन सक्ने अवस्थालाई व्यवस्थापन गरी विपद् जोखिम न्यूनीकरणका साथै पीडित परिवारजनहरूलाई तत्काल उपचार, राहत र बसोबासको समेत यथोचित प्रबन्ध गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । महासचिव भुसालले समयमै यस्ता विपद्हरूको तथ्याङ्क सङ्कलन गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा पहल गर्नुपर्ने उल्लेख गर्नुभयो

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौँ, १६ वैशाख : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गर्नुभएको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

काठामाडौँस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ भिषा शुल्क नलिने जनाएको छ । ‘नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन दूतावासले भिषा शुल्क नलिने’ विज्ञप्तिमा भनिएको छ ।

एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेका छन् । नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । चीनसँगको प्रमुख सीमानाका खुलेको र नेपालमा चिनियाँ एअरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेकाले पछिल्लो समय चिनियाँ पर्यटक बढेको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “चीनले गन्तव्यको रुपमा नेपाललाई सकारात्मक रुपमा हेरेको देखिन्छ, यसरी प्राथमिकता दिइनुले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।”

नेपाली पर्यटन व्यवसायीले लामो समयदेखि नेपालीलाई निःशुल्क भिषा पाउनुपर्ने माग गर्दै आएका थिए । यसबाट नेपाली पनि सजिलै चीन जान सक्ने भएकाले दुवैतर्फको आवतजावतले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निर्देशक लामिछानेले बताउनुभयो ।

सन् २०२४ मा चिनियाँ पर्यटको आगमन बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको मार्च महिनामा १२ हजार ९३ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस्तै, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२३’ अनुसार सन् २०२३ मा ६० हजार आठ सय ७८ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा नौ हजार पाँच सय ९९ चिनियाँ नागरिक नेपाल आएका थिए ।

कोरोना महामारीपूर्व सन् २०१९ मा सर्वाधिक एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को दुई दिने विशेष बैठकको पहिलो प्यानल छलफलमा साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले गाजा युद्धसँगै युक्रेन र अन्य स्थानमा भएको द्वन्द्वले आर्थिक ’मुड’मा ‘ठूलो दबाब’ सिर्जना गरेको बताउनुभएको छ ।

जदानले भन्नुभयो, “देशमा शान्ति कायम हुनु र जनतामा आशाको विकाश हुनु आवश्यक छ । हाम्रो प्रयास अरब क्षेत्रसहित विश्व समुदायमा तनाव कम गरी नागरिकहरूलाई आशाको सुनिश्चितता गराउनुमा रहनुपर्छ ।”

उहाँले पछिल्लो समय अरब क्षेत्रमा देखिएको राजनीतिक अस्थिरतासँगै फैलिएको निराशाले अरब समुदायलाई चोट परेको बताउँदै अरब क्षेत्रका नेताहरूलाई यहाँको क्षेत्रिय शान्ति र सद्धभावका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रमा स्थिरता को खाँचो छ ।”गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले दक्षिणी इजरायलमाथि गरेको अकल्पनीय आक्रमणपछि गाजामा इजरायलद्वारा युद्ध सुरु भएको थियो ।

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेपछि भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।उहाँका अनुसार नेपालगञ्जबाट माउन्टेन उडान सुरु गरिएलगत्तै कैलाश मानसरोवर जानका लागि ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटक आउन थालेको र अझै धेरैले यहाँ आउन बुकिङ गराएका छन् ।

त्यसबाट नेपालगञ्जका अधिकांश ठूला होटल भरिभराउ हुन थालेपछि होटल व्यवसाय पुनःएकपटक फस्टाउन लागेको अध्यक्ष सिग्देलको भनाइ छ । यो साता मात्रै पाँच सय बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगञ्ज आएको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो ।

तीमध्ये तीन सय भारतीय आफ्नो होटल सिद्धार्थ भ्यूमा बसेको जनाउँदै उहाँले ती पर्यटकका कारण होटल व्यवसाय फेरि फस्टाउने आशा पलाएको बताउनुभयो । उपाध्यक्ष न्यौपानेले नेपालगञ्जका अन्य होटलमा पनि दुई सय बढी भारतीय पर्यटक पुगेको बताउनुभयो ।

सोही प्रकारले करिब तीन सय नेपाली धार्मिक पर्यटक पनि मानसरोवर दर्शनका लागि नेपालगञ्ज आएका छन् । माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचारप्रसार हुन नसकेको जनाउँदै उहाँले पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले राम्ररी प्रचारप्रसार गर्ने हो भने नेपालगञ्जले धान्न नसक्ने गरी भारतीय पर्यटक ओइरिने बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज भारतको लखनउ, दिल्ली, गाजियाबाद, गोरखपुर, कानपुर, बाराबङ्की, आगरा र अयोध्यालगायतका ठूला सहरबाट निकै नजिक रहेकाले भारतीय यहाँबाट माउन्टेन उडानमार्फत कैलाश मानसरोवर दर्शन गर्न जानसक्ने भएकाले यसले बाँकेको आर्थिक विकासमा ठूलो टेवा दिने विश्वास लिइएको छ ।

अझै यो महिनामा धेरै भारतीय पर्यटक नेपालगञ्ज पुग्ने विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरू निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो ।

दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

तुलसीपुर (दाङ), १६ वैशाख-दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो ।सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताउनुभयो । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताउनुभयो ।

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक, १६ वैशाख : काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालयध धुलिखेलले जनाएको छ । जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् । कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन वन कार्यालय अन्तरगतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ । केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि केही स्थानमा आगलागी भइरहेको कार्यालयका सूचना अधिकारी सरिता लामाले राससलाई बताउनुभयो ।

लामाका अनुसार वैशाख दोस्रो सातासम्म सव–डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा चार सय २२ हेक्टर वनमा क्षति पुगेको छ । यस्तै सव–डिभिजन जनागालअन्तरगत चार स्थानको ३२ हेक्टर, सव–डिभिजन महादेवस्थान अन्तरगत पाँच स्थानमा १५ दशमलव ५ हेक्टर, सव–डिभिजन कटुन्जेअन्तर्गत दुई स्थानमा एक सय ८२ हेक्टरमा आगलागी भएको थियो ।

त्यस्तै सव–डिभिजन खोपासी अन्तरगत आठ स्थानमा ४३ हेक्टर, सव–डिभिजन नमोबुद्धअन्तरगत १३ स्थानमा एक सय २३ हेक्टरमा आगलागी भएको जनाइएको छ । तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा एक जनाको निधन भएको थियो । यस्तै आगलागीका क्रममा नौ जना घाइते भएका छन् । वनपाखा, घर–टहरा तथा जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थामा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यलय प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार वनमा आगलागी गर्ने केही व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएर कारबाही पनि गरिएको बताउनुभयो । “केहीको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो ।

आगलागीका कारण वन्यजन्तु, बोट बिरुवा र लोपोन्मुख वनस्पतिसमेत नष्ट भएको जनाइएको छ । डिभिजन वन कार्यालयले केही वन्यजन्तुको उद्धार गरेको लामाले बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ, भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो । दुम्सी मृत अवस्थामा फेला परेको छ ।

वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी सिकारीले जङ्गलीजन्तुको सिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङबोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ ।

नेपालमा लगानीका लागि धेरै सम्भावना छन् ढुक्क भएर लगानी गर्न आह्वान : मन्त्री चौधरी

काठमाडौँ, १६ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गर्नुभयो ।

उहाँले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिहहेको बताउनुभयो । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले पनि लगानी बढाउनका लागि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिनुभयो । “नेपालमा लगानी बढाउनका लागि लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्छ, सरकारले पनि कानुनमा देखिएका समस्यालाई अध्यादेशमार्फत सम्बोधन गरेको छ”, मन्त्री चौधरीले भन्नुभयो, “खासगरी जग्गाको हदबन्दी र नदी कोरिडोर र वातावरणीय विषय सम्बोधन गरिएको छ ।”

लगानीका दृष्टिले नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानुनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि उचित भएको बताउनुभयो । “नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावना छन्”, उहाँले भन्नुभयो, “खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्तालाई म लगानीका लागि आह्वान गर्न चाहन्छु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ता सबैका लागि यहाँ ठाउँ पनि छ, सम्भावना पनि छ ।”

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

काँक्रेविहार (सुर्खेत), १६ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेश गर्नुभएको छ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सुझाव पेश गर्नुभएको हो ।

नीतिगत सुधार गर्नुपर्ने भन्दै उहाँले सङ्घीय बजेट तर्जुमा गर्दा प्रादेशिक सन्तुलन कायम हुनुपर्ने बताउनुभयो । तुलनात्मक रुपमा पछाडि परेको कर्णाली प्रदेशमा सङ्घीय आयोजनाको सङ्ख्या अन्य प्रदेशको तुलनामा कम रहेकाले प्रदेशको आन्तरिक स्रोतसमेत न्यून भएकोमा सङ्घीय आयोजनाको वितरणमार्फत सन्तुलन कायम हुनुपर्ने माग राख्नुभयो ।

अहिलेको राजस्व बाँडफाँड र समानीकरण अनुदान वितरणको सुत्र कर्णाली प्रदेशलाई प्रभावकारी नभएकोले ठूलो र विकट भूगोल भएको क्षेत्र, मानव विकास सूचकाङ्कको अङ्कभार बढाउनुपर्ने बताउनुभयो । जनसङ्ख्याको आधारमा बजेट बाँडफाड गर्दा कर्णालीलाई घाटा भएकाले भूगोललाई आधार बनाउन उहाँले सुझाव दिनुभयो ।

समानीकरण अनुदान बाँडफाँडका आधार पुनरावलोकन हुनु जरुरी रहेको औँल्याउँदै उहाँले पूर्वाधार विकासको सूचकले पछाडि परेको प्रदेश र स्थानीय तहलाई थप पछाडि पार्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । खर्चको आवश्यकता र राजस्व क्षमताबीचको अन्तर पूरा गर्न समानीकरण अनुदान वितरण हुनुपर्ने भए पनि हाल यसको राम्रोसँग विश्लेषण नभएको उहाँको भनाइ छ ।

आन्तरिक राजस्वबाट धानिन सक्ने प्रदेश र आन्तरिक राजस्वको न्यून सम्भावना भएका प्रदेशमा जाने समानीकरण अनुदानमा खासै उल्लेख्य फरक नभएकाले झनै प्रादेशिक असन्तुलन बढाएकाले यसतर्फ ध्यान दिन आग्रह गर्नु भएको छ ।

सङ्घ सरकारले समानीकरण अनुदानको स्रोत दिएको आधारमा प्रदेश र स्थानीय तहले बजेट तर्जुमा गर्ने भएकाले पछि राजस्व कम उठेको आधारमा समानीकरण अनुदान कटाउँदा प्रदेश र स्थानीय तहको बजेट प्रभावित भई खरिद प्रक्रियामा गइसकेका आयोजना एवं कार्यक्रम अलपत्र पर्ने गरेको उहाँको भनाइ छ ।

सुरुमा दिएको स्रोत अनुसारको रकम उपलब्ध गराएमा मात्र प्रभावकारी हुने मुख्यमन्त्रीको सुझावमा उल्लेख छ । सङ्घ सरकारले विगतमा प्रदेशमा हस्तान्तरण गरिएका आयोजना स्रोत अभावमा अलपत्र पारेको पीडा उहाँले सुनाउनुभयो । उहाँले आयोजना हस्तान्तरण गर्दा रकमसहित हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । रकम विना आयोजना हस्तान्तरण भए प्रदेशले कार्यान्वयन गर्न सकिने अवस्था नरहेको जनाएको छ ।

भेरी बबई डाइभर्सन आयोजनाको पानी तथा सिँचाइ लुम्बिनी प्रदेशलाई वितरण हुने भएकाले यसबाट उत्पादन हुने विद्युत् रोयल्टी कर्णाली प्रदेशलाई उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ । स्थानीय तहमा आवमा खर्च नभई बाँकी रहेको सशर्त, समपुरक र विशेष अनुदानको रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था मिलाउन सुझावमा भनिएको छ ।

सरकारको विगत वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्वारको रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउन बजेटसहित कार्यान्वयनको व्यवस्था मिलाउन आग्रह गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नति गरी सङ्घीय राजधानीसँग कर्णाली प्रदेशको हवाई पहुँच र आन्तरिक उडान विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेशमा राष्ट्रिय गौरवका आयोजना नभएकोले यहाँका आधा दर्जन आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरी छुट्टै कार्यान्वयन संरचनासहित आवश्यक बजेटको व्यवस्था मिलाउनु सुझावमा ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्नका लागि कर्णाली करिडोर (सुर्खेत देखि हुम्ला) भेरी करिडोर (सुर्खेतदेखि डोल्पा) कर्णाली राजमार्ग (कालिकोटदेखि मुगु–रारा हुँदै मुगुम कार्मारोङ्ग सम्म) रहेको छ ।

प्रदेशको द्रूत विकासका लागि बबई–चिसापानी, छिन्चु–बबई सुरुङ्गमार्गको अध्ययन गरी कार्यान्वयन गर्न आग्रह गरिएको छ । सुर्खेत उपत्यकामा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी लिफ्ट खानेपानी आयोजनालाई द्रूत गतिमा सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित क्षेत्रको जनस्तरमा अनुभूति हुने गरी समग्र क्षेत्रको पुनः निर्माणको प्रभावकारी कार्यक्रम र योजना ल्याउन सुझावमा आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक,

गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ शनिबार सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफुहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए । हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताउनुभएको छ । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे उल्लेख गर्नुभएको छ ।
भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन् । उनीहरूले इजरायली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन् ।

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताउनुभयो ।दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनको डिजाइनलाई स्वीकृति दिएका छौँ, एक खर्ब २८ अर्ब एइडी (३४ अर्ब ८५ करोड अमेरिकी डलर) को लागतमा भवनको निर्माण सुरु भइरहेको छ ।”

एक पटक पूर्णरूपमा सञ्चालन भएपछि विमानस्थलले ‘वार्षिक २६ करोड यात्री क्षमताको व्यवस्थापन गर्ने’ सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’ को हुनेछ र ‘हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा हुनेछ ।’ दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थलमध्येको एक हो ।

दुबई नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष एवं ध्वजावाहक इमिरेट्सका प्रमुख कार्यकारी (सिइओ) शेख अहमद बिन सइद अल मकतुमका अनुसार परियोजनाको पहिलो चरण १० वर्षको अवधिमा तयार हुनेछ र यसमा वार्षिक १५ करोड यात्रीहरूलाई समायोजन गर्ने क्षमता हुनेछ ।

सहरको बाहिरी भागमा निर्मित अल मकतुम विमानस्थलले सन् २०१० देखि खाडी वित्तीय केन्द्रको हवाई ट्राफिकको अपेक्षाकृत सानो हिस्सा प्राप्त गरेको छ । अधिकारीहरूले उक्त विमानस्थलले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको स्थान लेओस् भन्ने चाहेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता १२ करोड यात्रीसम्म रहेको छ । सहरको केन्द्रमा रहेकाले उक्त विमानस्थलको विस्तार हुन सकेको छैन ।

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य नगर्न आग्रह गरेको छ ।मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य जो कसैबाट भए पनि निन्दनीय हुने सर्वोच्च बारले जनाएको हो ।

सर्वोच्च बारका सचिव श्यामकुमार खत्रीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायमाथि आँच आउने गरी कोही कसैबाट हुने कुनै क्रियाकलाप सह्य नहुने र त्यसविरुद्ध बारले अग्रमोर्चामा रही स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायीको हकहितको रक्षार्थ एकजुट भएर लड्ने सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौँ ।”

यही वैशाख १४ गते सिधाकुरा डट कमबाट प्रकाशित तथा प्रसारित अडियो सम्बन्धमा सही, सत्य, तथ्य कुरा तुरुन्त छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याएर दोषीमाथि तुरुन्तै कारबाही गर्न माग गरिएको छ । सर्वोच्च बारले सर्वोच्च अदालतको संस्थागत धारणा तत्काल सार्वजनिक हुनुपर्ने भनी जोड्दार रुपमा माग गरेको छ ।

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम, १६ वैशाखः इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को मतगणना सकिएको छ । मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार एक सय ९७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले पाँच सय ९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्म पाँचहजार सातसय ७८ मत मणना भैसकेको उहाँले बताउनुभयो ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

कीर्तिपुर (काठमाडौँ), १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका-८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उदघाटन गर्नुभएको छ ।काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न र मर्स्याङदी नदी करिडोरमा उत्पादन हुने बिजुलीलाई काठमाडौँसम्म लैजान उक्त सबस्टेसन र विद्युत् प्रसारण लाइन प्रयोग हुनेछन् । अब उत्पादन हुने विद्युत् परिमाणलाई हाल रहेको एक सय ३२ केभी क्षमताको प्रसारण लाइनले धान्न नसक्ने अवस्था छ ।

कूल ८३ किलोमिटर लामो काठमाडौँ-मर्स्याङदी प्रसारणलाइन तनहुँ, गोरखा चितवन र धादिङ हुँदै काठमाडौँ ल्याइएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्षयता उत्साहजनक ढङ्गले वृद्धि भएको विद्युत् उत्पादनअनुरुप आन्तरिक खपतलाई गुणात्मक ढङ्गले बढाउन र बचत भएको विद्युत्लाई निर्यात गर्न मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो ।

उत्पादनमा वृद्धि भए पनि हिउँदयाममा कम उत्पादनका कारण आयात गर्नुपर्नेजस्तो असन्तुलित स्थिति अन्त्य गर्न कर्णाली चिसापानी, माथिल्लो अरुणजस्तो ठूला परियोजना र दूधकोशीजस्तो जलाशययुक्त परियोजना अघि बढाइएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

उत्पादनसँगै विद्युत्को आन्तरिक खपत बढाउन यससम्बन्धी कार्ययोजना अघि बढाइएको जानकारी उहाँले दिनुभयो । आगामी एकदेखि डेढ वर्षभित्र देशमा शत्प्रतिशत विद्युतीकरण गरिने उहाँले बताउनुभयो ।

छिमेकी मुलुकहरुसँग भएको विद्युत् सम्झौताले उत्पादित विद्युत्को बजार सुनिश्चित गरेको उहाँको भनाइ थियो । भारत र बङ्गलादेशसँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको र उत्तरमा चीनतर्फ पनि विद्युत् निर्यात गर्न चिलिमे केरुङ प्रसारण आयोजना अघि बढाइने जानकारी प्रधानमन्त्रीले दाहालले दिनुभयो ।

विश्वव्यापी मौसम परिवर्तनबाट देशको विद्युत् उत्पादन केन्द्रमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउने र अन्तर्राष्ट्रिय समुदायको ध्यान यससम्बन्धमा आकर्षित गर्न थालिएको उहाँले स्पष्ट पार्नुभयो ।

“विद्युत् आयोजना निर्माणका क्रममा आउने वन र जग्गा प्राप्तिसम्बन्धी व्यवधानलाई हटाउन विद्यमान कानुनलाई विकास निर्माणको बाधक नभई साधक बनाइनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उत्पादनलाई थप गति दिन हाल चलिरहेको लगानी सम्मेलनमा विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत्को खुद निर्यातक देश बन्दै गरेको अवस्थामा मातातीर्थ सबस्टेसन र काठमाडौँ-मातातीर्थ सबस्टेसन लाइन समृद्धिको सूचक भएको बताउनुभयो ।

सरकार आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यतर्फ अघि बढेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले उत्पादित विद्युत्मध्ये ५० प्रतिशत देशभित्रै खपत गर्ने र ५० प्रतिशत निर्यात गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । यसैगरी, विद्युत् उत्पादनमा जनतालाई प्रत्यक्ष सहभागी बनाउन ‘जनताको जलविद्युत्’ जस्ता कार्यक्रमलाई स्थानीय सरकारमार्फत अघि बढाइने उहाँले बताउनुुभयो ।

बझाङ-१ मा एमालेको अग्रता कायमै

चैनपुर (बझाङ), १६ वैशाख : बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ ।

प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ ।एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार तीन सय ७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार दुई सय ८९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले आठ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गर्नुभएको मूख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड वितरण गर्ने तयारी गरेको महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख पोखरेलका अनुसार उक्त बोर्ड अहिले खरिद प्रक्रियामा छ । केही दिनभित्रमा नै विद्यालयलाई वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । “अहिले कुनकुन विद्यालयलाई वितरण गर्ने यकीन भने भएको छैन”, उहाँले भन्नुभयो । हाल महानगरमा ८९ सामुदायिक विद्यालय छन् । सकेसम्म धेरै विद्यालयलाई वितरण गर्ने चाहना महानगरको छ ।

स्मार्ट बोर्ड, प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्ययन गराउने एउटा माध्यम हो । “आवश्यकताअनुसार भिडियो देखाउन मिल्नेछ, गुगल सर्च गरी पठन पाठन गर्न मिल्छ, आवश्यकता परे पावर पोइन्टको प्रयोग गरेर अध्ययन गर्न मिल्ने प्रविधि हो”, उहाँले भन्नुभयो ।

बोर्डसँगैले शिक्षकलाई अध्यापन गराउन सहजताका लागि ल्यापटपसमेत वितरण गर्ने तयारी रहेको जनाइएको छ । ल्यापटप पनि खरिद प्रक्रियामा रहेको पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी कामपाले नेपाल सरकाको मापदण्डअनुसार विद्यार्थीलाई अध्ययन गर्न सहज होस् भन्ने हिसाबले फर्निचरका सामग्री पनि खरिद गर्ने तयारी गरेको महानगरले जानकारी दिएको छ ।

कामपाले सामुदायिक विद्यालयलाई सुधारेकै कारण चालु शैक्षिकसत्रमा महानगरका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । न्यून शुल्कमा विषयगत शिक्षकमार्फत अध्ययन गर्न पाउने भएपछि महानगरका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी बढेका हुन् ।

शिक्षा विभागका अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गर्नका लागि सबै स्रोतसाधनले सम्पन्न प्रविधिमैत्री बनाउने प्रयासमा कामपा रहेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उपयुक्त वातावरण तयार गर्ने काममा नै कामपाको ध्यान केन्द्रित भएको प्रमुख पोखरेलले बताउनुभयो । शिक्षा क्षेत्रको सुधारकै लागि कामपाले चालु आर्थिक वर्षका लागि शिक्षामा रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

सर्वसाधारण भन्छन्– लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हाे

काठमाडौँ, १६ वैशाखः सरकारले आजदेखि दुईदिने लगानी सम्मेलन सुरु गरेको छ । सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरेको हो । जसमा विभिन्न एक सय ५१ वट परियोजना सोकेस समेत गरेको छ । लगानी सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब दुई हजार व्यक्ति आउनुभएको छ । सरकारले निकै महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनबारे सर्वसाधारण के भन्छन् त ?

बालाजुका रवि मित्रकोटी लगानी सम्मेलन मुलुकमा लगानी ल्याउनका लागि राम्रो अवसर भएको बताउनुहुन्छ । उहाँ विगतको लगानी सम्मेलबाट अपेक्षाकृत लगानी नआएको भन्दै यसपटक यो अवसर गुम्न दिन नहुन बताउनुहुन्छ ।

“देशमा लगानी हुनु त राम्रो कुरो हो तर, विगतको सम्मेलन कतिको प्रभावकारी भयो ? समीक्षा गर्न जरुरी छ”, उहाँ भन्नुहुन्छ, “कुरा गरेर मात्रै विकास हँुदैन, सरकारको कार्य परिणाम आउनुपर्छ ।” खासगरी नेपालमा पर्यटन र कृषि क्षेत्रमा लागनी हुनसके देशको अर्थतन्त्र उकास्न सकिने उहाँको धारणा छ ।

त्यस्तै अधिवक्ता भुपेन्द्र पोखरेलले सरकारकाले गरिरहेको लगानी सम्मेलन औपचारिकतामा सीमित हुन नहुने बताउनुहुन्छ । “लगानी ल्याउनका लागि देखिएका कानूनी र प्रक्रियागत झन्झट हटाएर विदेशीलाई हाम्रो देशमा लगानी गर्न सहज वातावरण सिर्जना गर्न आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “यस लगानी सम्मेलनमा लगानी अनुकुलको वातावरण बनोस् ।”

शङ्खमुलकी गौरा कायस्थले देश विकासमा लगानी जुटाउन सरकारले गरेको कदम प्रशंसनीय रहेको बताउनुहुन्छ । तर सम्मेलन लगानी ल्याउन कति प्रभावकारी हुन्छ भन्ने अर्थमा सफल र असफल भन्न सकिने उहाँको भनाइ छ । “पैसा मात्रै जुटाउनु ठूलो कुरा होइन, पैसाको सही स्थानमा प्रयोग भएन भने त्यसको अर्थ हुन्न”, उहाँले भन्नुभयो ।

एकता फाउन्डेशनका अध्यक्ष एवं अधिकारकर्मी रामहरि शाही समुन्द्रीले लगानीले भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक र बौद्धिक क्षेत्रको विकासमा पनि लगानी आह्वान हुनुपर्नेमा बानेश्वरका जीवन राईको तर्क छ । कला क्षेत्रमा करिअर बनाउँदै गर्नुभएको उहाँले कला क्षेत्रलाई पनि उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । “कलामा लगानी गर्नसके राज्यलाई फाइदै हुन्छ”, उहाँले भन्नुभयो ।

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताउनुभएको छ ।

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सवस्टेसनको आज उद्घाटन गर्दै उहाँले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको जानकारी दिनुभयो ।

“उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदैछ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।”

उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको जनाउँदै प्रधानमन्त्री दाहालले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरु गरिरहेको जानकारी दिनुभयो ।

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्री दाहालले भन्नुभयो, “विकास आयोजनाको काम रोकिनुहुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजना अगाडि बढाउन महत्वपूर्ण निर्णय गर्नै पर्नेछ ।” उहाँले विकास निर्माणको कार्यमा बाधक नभई व्यावहारिक बनिदिन अनुरोधसमेत गर्नुभयो ।

‘ठूला जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाइन्छ’- प्रधानमन्त्री दाहालले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठूला जलाशययुक्त आयोजना निर्माण गरिने जानकारी दिनुभयो छ । “एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना, छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।”

उहाँले भन्नुभयो, “साथै देशलाई दीर्घकालीन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्वका कर्णाली चिसापानी १० हजार आठ सय मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।” विश्व बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एसियाली विकास बैंकको नेतृत्वमा छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको उहाँले बताउनुभयो ।

देशभित्र उत्पादित विद्युत् स्वदेशमै खपत गर्न सरकारले विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले विद्युत् खपत बढाउनका लागि दिशानिर्देश गर्ने बताउनुभयो ।

अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा मुख्य खुडकिलो हो ।”

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सवस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो । यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती, १६ वैशाख : कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटाँैडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । सो नियमअनुसार अगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उहाँको भनाइ छ । ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, काल्चmे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ ।

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो

इलाम, १६ वैशाखः इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को अहिले सम्मको मतगणना सकिएको छ । मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एकहजार छ सय ३० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले चार सय ३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ ।

कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयो । कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । पहिचान नभएका रोगीको सङ्ख्या अझ धेरै हुनसक्ने उहाँको अनुमान छ ।

हात्तीपाइले रोग नियन्त्रणका लागि धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा पनि आजै अभियान सञ्चालन हुँदैछ । सामुदायिकस्तरको सङ्क्रमण नरोकिएकाले झापामा औषधि सेवन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख बाराकोटीले बताउनुभयो ।

यस वर्ष एकपटक, अन्तिमपटक’ नाराका साथ सञ्चालित अभियानलाई सफल बनाउन झापामा सात सय ५० स्वास्थ्यकर्मी र छ सय छजना स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार हालै जिल्लाको दक्षिणी क्षेत्रस्थित झापा गाउँपालिकामा गरिएको एक अध्ययनले लामखुट्टेको शरीरमा हात्तीपाइले रोग सङ्क्रमण गराउने परजीवीको सङ्ख्या एक दशमलव ४४ प्रतिशत पाइएको थियो । कचनकबल, अर्जुनधारा, मेचीनगरमा हात्तीपाइलेका रोगीको सङ्ख्या अधिक छ । गत वर्ष झापामा ७८ प्रतिशत जनसङ्ख्याले हात्तीपाइले निवारणका लागि औषधि सेवन गरेको थियो । यसपटक ९५ प्रतिशतलाई खुवाउने लक्ष्य छ ।

वैदेशिक रोजगारीमा गएका झापाका छजना त्यहाँ हात्तीपाइले रोगको पहिचान भएपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपरेको छ । मेचीनगरका तीन, बाह्रदशीका दुई र कचनकबलका एकजना मलेसियाबाट नेपाल फर्किएका हुन् । झापामा १२ वर्षदेखि सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ ।

चिकित्सकहरूका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने एक प्रकारको सङ्क्रामक रोग हो । मसिनो धागो आकारको जुकाजस्तै परजीवीको सङ्क्रमणले यस्तो रोग लाग्छ । सङ्क्रमण भएको आठदेखि १३ महिनामा मात्र रोगका लक्षण देखा पर्छ । यो रोग लागेकाको खुट्टा, अण्डकोष र स्तन सुन्निन्छ ।

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौँ, १६ वैशाखः जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

“परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ ।

छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताउनुभएको थियो ।

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

नेकपा (एस) मकवानपुरको अध्यक्षमा दाहाल

बागमती, १६ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन हुनुभएको छ ।

सो पार्टीको हेटौँडामा आज बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन भएको हो । समितिको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टङ्कप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन हुनुभएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरले जनाएको छ ।

समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन हुनुभएको छ । अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिनुभयो ।

दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताउनुभयो । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिण अफ्रिकामा प्रजातन्त्र स्थापनाको ३० बर्ष : राष्ट्रपति रामाफोसाद्वारा व्यापक सुधारका काम गरिएको दाबी

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिकामा लोकतन्त्रको ३० औँ वर्षगाँठ मनाइरहँदा शनिबार आफ्नो पार्टीको नेतृत्वमा प्राप्त उपलब्धिको प्रशंसा गर्नुभएको छ ।

सन् १९९४ मा भएको पहिलो प्रजातान्त्रिक निर्वाचनले नेल्सन मण्डेला र अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी) पार्टीलाई सत्तामा ल्याएको तीन दशकपछि दक्षिण अफ्रिकीहरूले मे २९ मा मतदान गर्दैछन् ।’दक्षिण अफ्रिका आज ३० वर्षअघिको तुलनामा निकै राम्रो ठाउँ बनेको छ,’ रामाफोसाले प्रिटोरियास्थित युनियन बिल्डिङमा ‘स्वतन्त्रता दिवस’को अवसरमा गरेको सम्बोधनमा भन्नुभयो ।

निर्वाचनमा राम्रो नतिजा प्राप्त गर्न दलहरूले व्यापक प्रचारप्रसार गरिरहेका समय पहिलो पटक आफ्नो पूर्ण संसदीय बहुमत गुमाउने जोखिम रहेको ७१ वर्षीय एएनसी नेताले आफ्नो दलले गरेका सुधारहरूको सूचीको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “यो तीस बर्षमा हामीले भूमिसुधारको काम अघि बढाएका छौँ, जबर्जस्ती विस्थापित भएकालाई लाखौँ हेक्टर जमिन वितरण गरेका छौँ ।”राष्ट्रपति रामाफोसाले भन्नुभयो, “हामीले घर, क्लिनिक, अस्पताल, सडक, पुल, बाँध र अन्य धेरै सुविधा निर्माण गरेका छौं । दक्षिण अफ्रिकाका लाखौं घरमा बिजुली, पानी र सरसफाइ पु¥याएका छौँ ।”

इप्सोसले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणले सन् २०१९ को पछिल्लो राष्ट्रिय निर्वाचनमा ५७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सत्तारुढ दललाई दिएको समर्थन ४० प्रतिशतमा झरेको देखाएको छ ।

यदि उसले ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने हो भने एएनसीसत्तामा रहिरहनका लागि गठबन्धनका साझेदार खोज्न बाध्य हुनेछ ।भ्रष्टाचारको आरोप, गरिबी, अपराध, असमानता र बेरोजगारीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसक्दा एएनसीको छविमा नराम्रो चोट पुगेको छ ।

रामाफोसाले केही समस्याहरू अझै भएको स्वीकार गर्दै भन्नुभयो, “कतिपय अवस्थामा जानीजानी नबुझेको जस्तो गर्दै सबै पक्ष बिग्रिएको बताउनु न्योचित नहुने र यस्तो समस्या विश्व राजनीतिमा नै देखिने गरेको छ तर यो प्रचलनको अन्त्य हुनु जरूरी छ ।”

वस्तुनिष्ठ तर्कको आधारमा आलोचना गर्नु देश र देशबासीका लागि न्याय हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले धेरै प्रगति गरेका छौं र अझै धेरै काम गर्न हामी कटिबद्ध छौं ।”

इप्सोसको सर्वेक्षणमा सहभागी करिब दुई तिहाइ उत्तरदाताले देश गलत दिशामा अघि बढिरहेको बताएका छन् ।“उनीहरूले हामीलाई सपना देखाउने वाचा गरेका थिए, तर उनीहरूले केवल दुःस्वप्न मात्र देखाए,” प्रमुख विपक्षी दल डेमोक्रेटिक एलायन्स (डीए) का प्रमुख जोन स्टेन हुसेनले क्वाजुलु–नाटाल प्रान्तमा प्रतिद्वन्द्वीलाई सङ्केत गर्दै भन्नुभयो ।

“साँचो स्वतन्त्रता तब मात्र सम्भव हुन्छ जब तपाईंसँग आफ्नो परिवारको आवश्यकता पूरा गर्न र राम्रो भविष्य निर्माण गर्न रोजगारीको सहज व्यवस्था हुन्छ ।”

इप्सोसको अध्ययन प्रतिवेदनले डीएको पक्षमा करिब २२ प्रतिशत समर्थन रहेको देखाएको छ । त्यसैगरी वामपन्थी इकोनोमिक फ्रिडम फाइटर्स (ईएफएफ) ले ११.५ प्रतिशत प्राथमिकता प्राप्त गर्ने अनुमान गरिएको छ भने पूर्व राष्ट्रपति ज्याकोब जुमाको नेतृत्वमा रहेको युएमखोन्टो वी सिज्वे (एमके) ले ८.४ प्रतिशत प्राथमिकता प्राप्त गर्ने अनुमान गरिएको छ ।

विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने

गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको छ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुनेछन् ।

उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिनुभयो ।

सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ ।विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्नुहुने कार्यक्रम तय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ ।”उहाँले भन्नुभयो, “सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।”

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धमा करिब एक हजार १७० जनाको मृत्यु भएको इजरायली आधिकारिक आँकडामा उल्लेख छ ।गाजामा हमासले १२९ जना बन्धकलाई आफ्नो नियन्त्रणमा राखेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ ।

हमासको अकल्पनीय आक्रमणको कारण भएको क्षतिको बदलामा इजरायलले चलाएको प्रतिशोधात्मक सैन्य कारबाहीमा कम्तीमा ३४ हजार ३५६ प्यालेस्टिनीको मृत्यु भएको छ । उनीहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ ।

साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ ।

साउदी अधिकारीहरूले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको महत्त्वाकाङ्क्षी दृष्टिकोण सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पु¥याउन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

वनमा डढेलो लगाउनेलाई कडाकार्वाही गर्ने कानुन आवश्यकः मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडाकारवाही गर्ने खालको ऐन आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘नीति निर्माणकर्ताहरूसँग वन नीतिमा छलफल’ कार्यक्रममा मुख्ममन्त्री अधिकारीले त्यस्तो बताउनुभएको हो ।

‘वनमा जानीनजानी डढेलो लगाउँदा बहुमूल्य काठ तथा जङ्गली जनावर तथा चराचुरुङ्गी संकटमा पर्नुका साथै पारिस्थिक प्रणालीमै गम्भीर असर गर्ने गरेको छ । त्यसैले यस्ता कार्यमा सङ्लग्नलाई कडाकारवाही गर्ने कानुन आवश्यक छ”, उहाँले भन्नुभयो । त्यसैगरी उहाँले सामुदायिक वन उपभोक्ता महासंघले पनि डढेलो नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउदै समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वागमती प्रदेशसभा सदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वअध्यक्ष भारती पाठकले वनलाई समृद्धिको आधार बनाउने खालका नीति नियमको खाँचो आँैल्याउनुभयो । उहाँले उपभोक्ताले संरक्षणमा गरेको योगदानको उच्च कदर गर्दै वन पैदावारमा लगाइएको तेहेरो करको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख शाही, महासचिव पार्वती गौतम, प्रदेशका उपाध्यक्ष किशोर सापकोटा, महासचिव आशु विकलगायतले वनको महत्व र डढेलो असरबारे प्रकाश पार्नुभएको थियो ।

मटिहानी आगलागी पीडितका लागि तत्काल राहत प्याकेज ल्याउने मुख्यमन्त्री यादवको प्रतिवद्धता

महेन्द्रनगर (धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मुख्यमन्त्री यादवले शनिबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको एकीन विवरण पठाउन निर्देशन दिइसकिएकाले विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने बताउनुभयो ।

पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले हाल जिल्लास्थित विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालका लागि राहत वितरणका काम भइरहेका र क्षतिको विवरण आएपछि प्रदेश सरकारले छुट्टै राहत प्याकेज ल्याएर पीडितको पीडामा मलहम लगाउने कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यही वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेको थिए भने ६० भन्दा बढी घरमा क्षति पुगेको थियो ।

सुक्खा मौसम शुरू भएसँगै धरानमा खानेपानीको अभाव

धरान (सुनसरी)- सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ ।

धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ उहाँले आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पानी नआएको हप्ता दिन भएको भइसकेको छ । ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ । समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ ।”

पानीको अभावमा भोगिरहनुभएका विकास बनेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने अवस्था छ । धरानमा खानेपानीको समस्या समाधान कहिले हुन्छ होला पानीको अभावले धेरै दुःख पाइयो ।”

धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर मन्दिर क्षेत्र आसपासका बासिन्दाले घण्टाँै समय लगाएर धाराबाट खानेपानी बोकेर ल्याएर खानुपरेको बताउँछन् । स्थानीय पवित्रा सुब्बाका अनुसार पानी लिन एक घण्टा खर्चनुपर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ, “खत्री धाराबाट पानी ल्याउन त्यति सहज छैन पानी भर्नलाई लाइनमा बसेर निकै बेरपछि पालो आउँछ पानी पनि पर्याप्त छैन, धेरै समस्या छ ।”

पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्याङ्करको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षेनी सुक्खा मौसममा भूमिगत पानीको सतह सुक्ने, खोलाखोल्सीको पानी जम्मा गर्न नसकेको हुनाले पानीको अभाव बर्षेनि हुने गरेको छ ।” अहिले धरान–८ मा रहेको भूमिगत पानीको पम्प बिग्रिएपछि पानीको समस्या थपिएको उहाँले सुनाउनुभयो ।

विसं २०७८ को जनगणनाअनुसार धरानको जनसङ्ख्या एक लाख ६६ हजार पाँच सय ३१ छ । धरानमा हाल दैनिक दुई करोडदेखि तीन करोड लिटर पानीको माग छ । मागमध्ये आधा मात्रै पानी पनि उपलब्ध छैन ।

खानेपानी संस्थानले केही वर्ष अगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट वर्षायाममा असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आएको थियो । त्यसयता भने समस्या फेरि सुरु भएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचित भएरपछि झण्डै ४२ किलोमिटको दुरीबाट पानी ल्याउनुभएको थियो । तर दीर्घकालीनरुपमा भने समस्या समाधान हुन सकेको छैन ।

धरानमा अहिले करिब ३० हजार धारा जडान गरिएको धरान खानेपानी व्यवस्थापनबोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाइ छ । उहाँले खोलानाला सुकेर पानी ट्याङ्कीमा जम्मा हुन नसकेको कारण धरानका सबै ठाउँमा खानेपानीको अभाव भएको बताउनुहुन्छ ।

उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले धरानमा देखिएको खानेपानीको समस्याका लागि दीर्घकालीन उपाय खोजनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धरानमा खानेपानी समस्या समाधानका लागि भइरहेका प्रयास पर्याप्त छैनन्, दीर्घकालीनरुपमा समस्या समाधान हुने गरी काम गर्नुपर्छ ।” उहाँले योजनाबद्धरुपमा काम नहुँदा सुक्खा मौसम सुरु भएसँगै पानीको अभाव सुरु हुने गरेको बताउनुभयो ।

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं,- पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताउनुभयो । अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औँल्याएको पनि उहाँले बताउनुभयो । “वायु प्रदूषणका कारण विद्यालय बन्दहुँदा र बाहिर हिँड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जिवीकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरेको पायौँ । साथै प्रदूषणले बालबालिका, महिला तथा न्यूनप्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानीकारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका, तथा न्यूनप्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यानदिन जरूरी रहेको उहाँको भनाइ थियो ।

प्रतिवेदनले बालबालिकाका समग्रहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता आँैलाएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरुको सम्बोधन गर्नुपर्नेमा जोडदिएको छ ।

कांग्रेसलाई कमजोर बनाउने क्रियाकलापमा कोही नलागौँः प्रवक्ता डा महत

त्रिशूली (नुवाकोट-नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गुटउपगुटले पार्टीलाई कमजोर बनाएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्दै गुटउपगुट बनाउँदा कसैलाई फाइदा नहुने भन्दै डा महतले विगतमा यस्तै क्रियाकलपा नुवाकोटसहित देशभर पार्टी कमजोर अवस्थामा पुगेको धारणा राख्नुभयो ।

उहाँले कांग्रेस सरकारमा रहँदा गरेका राम्रा कामबारे प्रचारप्रसार गर्नुसमेत अपिल गर्नुभयो । “नागरिकको राजनीतिक तथा सामाजिक स्वतन्त्रता, शासकीय व्यवस्था र शान्ति स्थापनामा कांग्रेसले पु¥याएको योगदानबाट नै देश विकास र समृद्धितर्फ अगाडि बढेको छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लैले ५० प्रतिशत मत ल्याउने गरी पार्टीलाई बलियो बनाउन लागौँ”, उहाँले भन्नुभयो ।

पार्टी कमजोर भएकै कारण गत आमनिर्वाचनमा गठबन्धन गर्न बाध्य बनाएकाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धन गर्ने भन्ने विषय आम नेता कार्यकर्ताको भूमिकामा भरपर्ने उहाँको भनाइ थियो ।

खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा खेलमैदान आवश्यक: सभापति देउवा

गोदावरी (ललितपुर)-खः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा सुविधासम्पन्न खेलमैदान आवश्यक भएको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नगरपालिकाभित्रै बहुउद्देश्यीय खेलमैदान निर्माण गरी यही मैदानमा प्रतियोगिता हुनु सुखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ्य नागरिकबिना देश समुन्नतिको यात्रामा अघि बढ्न सम्भव हुँदैन, त्यसैगरी व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

सभापति देउवाले पालिकास्तरमा खेलमैदान निर्माण गरी प्रतियोगिता आयोजना गरेकोमा नगरप्रमुख गजेन्द्र महर्जनलगायत सम्पूर्ण खेलाडीलाई बधाई दिनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभापति महर्जनले आगामी आर्थिक वर्षमा खेलमैदानका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । गोदावरी–१० टाखेलस्थित बहुउद्देश्यीय रङ्गशालामा आजदेखि सुरु प्रतियागिता वैशाख २९ गतेसम्म चल्नेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमशः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सार्वधिक गोलकर्तालाई रु २५ हजार, अनुशासित टोलीलाई रु ५० हजार, ‘प्लेयर अफ दी म्याच’लाई रु रु ५० हजारका साथै उत्कृष्ट खेलाडी, किपर, डिफेन्स, फरवार्ड र प्रशिक्षकलाई रु २५ नगद पुरस्कार प्रदान गरिने गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहका नौ, ललितपुरको चार स्थानीय तहका पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोलीको सहभागिता छ ।
तियोगिताको पहिलो खेल गोदावरी ‘ए’ र महालक्ष्मी नगरपालिकाबीच भएको थियो । आजको खेलमा कुनै पनि समूहले गोल नगरेपछि पेनाल्टी सुटआउटमा महालक्ष्मी नगरपालिका ४–३ गोलअन्तरले विजयी भयो । उद्घाटनका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य संविधानसभा सभासद मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री इन्द्र बानियाँलगायतका नेता विभिन्न नगरपालिकाका प्रमुख, वडाध्यक्षलगायतको उपस्थिति थियो ।

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

धरान (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन् ।महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले आज अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थी उपस्थित भएका हुन् । आतबारदेखि शुक्रअन्ध सुरु हुने भएकाले यति धेरै दर्शनार्थी सहभागी भएको उहाँको भनाइ छ ।

मेलामा भक्तजनको घुँइचो बढेपछि सवारी साधन पार्किङका लागि समस्या भएको थियो । मानिसहरुले टाढैबाट पैदल सो स्थानसम्म पुगेका थिए ।आयोजक समितिले एक महिना करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरेको थियो । कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् ।

कुम्भमा सहभागी हुन नेपालका विभिन्न स्थानसँगै भारतबाट भक्तजन आउने गरेका छन् । भारतका इलाहावाद, उज्जैन, नासिक, हरिद्वारमा पनि कुम्भमेला लाग्दै आएको छ । सुनसरीको बराह क्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला लाग्न थालेको हो । यहाँ छ–छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ ।

हिन्दू धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिकग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्षसमेत रहनुभएकी मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

बाल अधिकारका क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएकाले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्रीले निर्देशन दिनुभयो । बैठकले बालगृह, बाल सुधारगृहका विषयमा देखिएका समस्याबारे छानबिन गर्ने, संस्थालाई सवलीकरण बनाउने निर्णय गरेको छ ।

बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेरसमेत गरेको छ । जसअनुसार समन्वयलगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक जिम्मेवारी सदस्यसचिवले गर्नेगरी निर्णय गरेको हो ।

मन्त्री चौधरीले सडक बालबालिकामुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहनेगरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिनुभयो । “अब सडकमा बालबालिका देखिनु हुँदैन । अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल सङ्गठनहरू छन् । त्यसका लागि हाम्रो प्रतिबद्धता आवश्यक छ ।”

मन्त्री चौधरीले बालबालिकासम्बन्धी ऐन, कानुन, सेवा सुविधा, अदालतका फैसलालगायतका विषय समेटिएको बडापत्र निर्माण गर्नसमेत निर्देशन दिनुभयो । उहाँले परिषद्अन्तर्गतको उपसमितिलाई जिम्मा दिएर बडापत्र तयार गरी यससम्बन्धी निकाय तथा स्थानीय तहसम्म पुग्ने गरी बडापत्र जारी गर्न निर्देशन दिनुभएको हो ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले ओएनएमका लागि प्रारम्भिक कागपत्र तयार पारी मन्त्रालयले यसको थप कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले बालगृह र अस्थायी संरक्षण सेवा केन्द्रका विषयमा उठेका विषयमा मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्ने जानकारी दिनुभयो ।