`

खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा खेलमैदान आवश्यक: सभापति देउवा

गोदावरी (ललितपुर)-खः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा सुविधासम्पन्न खेलमैदान आवश्यक भएको बताउनुभएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नगरपालिकाभित्रै बहुउद्देश्यीय खेलमैदान निर्माण गरी यही मैदानमा प्रतियोगिता हुनु सुखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ्य नागरिकबिना देश समुन्नतिको यात्रामा अघि बढ्न सम्भव हुँदैन, त्यसैगरी व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ ।”

सभापति देउवाले पालिकास्तरमा खेलमैदान निर्माण गरी प्रतियोगिता आयोजना गरेकोमा नगरप्रमुख गजेन्द्र महर्जनलगायत सम्पूर्ण खेलाडीलाई बधाई दिनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका सभापति महर्जनले आगामी आर्थिक वर्षमा खेलमैदानका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । गोदावरी–१० टाखेलस्थित बहुउद्देश्यीय रङ्गशालामा आजदेखि सुरु प्रतियागिता वैशाख २९ गतेसम्म चल्नेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमशः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सार्वधिक गोलकर्तालाई रु २५ हजार, अनुशासित टोलीलाई रु ५० हजार, ‘प्लेयर अफ दी म्याच’लाई रु रु ५० हजारका साथै उत्कृष्ट खेलाडी, किपर, डिफेन्स, फरवार्ड र प्रशिक्षकलाई रु २५ नगद पुरस्कार प्रदान गरिने गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहका नौ, ललितपुरको चार स्थानीय तहका पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोलीको सहभागिता छ ।
तियोगिताको पहिलो खेल गोदावरी ‘ए’ र महालक्ष्मी नगरपालिकाबीच भएको थियो । आजको खेलमा कुनै पनि समूहले गोल नगरेपछि पेनाल्टी सुटआउटमा महालक्ष्मी नगरपालिका ४–३ गोलअन्तरले विजयी भयो । उद्घाटनका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य संविधानसभा सभासद मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री इन्द्र बानियाँलगायतका नेता विभिन्न नगरपालिकाका प्रमुख, वडाध्यक्षलगायतको उपस्थिति थियो ।

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

धरान (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन् ।महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले आज अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थी उपस्थित भएका हुन् । आतबारदेखि शुक्रअन्ध सुरु हुने भएकाले यति धेरै दर्शनार्थी सहभागी भएको उहाँको भनाइ छ ।

मेलामा भक्तजनको घुँइचो बढेपछि सवारी साधन पार्किङका लागि समस्या भएको थियो । मानिसहरुले टाढैबाट पैदल सो स्थानसम्म पुगेका थिए ।आयोजक समितिले एक महिना करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरेको थियो । कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् ।

कुम्भमा सहभागी हुन नेपालका विभिन्न स्थानसँगै भारतबाट भक्तजन आउने गरेका छन् । भारतका इलाहावाद, उज्जैन, नासिक, हरिद्वारमा पनि कुम्भमेला लाग्दै आएको छ । सुनसरीको बराह क्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला लाग्न थालेको हो । यहाँ छ–छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ ।

हिन्दू धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिकग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो । बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्षसमेत रहनुभएकी मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

बाल अधिकारका क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएकाले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्रीले निर्देशन दिनुभयो । बैठकले बालगृह, बाल सुधारगृहका विषयमा देखिएका समस्याबारे छानबिन गर्ने, संस्थालाई सवलीकरण बनाउने निर्णय गरेको छ ।

बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेरसमेत गरेको छ । जसअनुसार समन्वयलगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक जिम्मेवारी सदस्यसचिवले गर्नेगरी निर्णय गरेको हो ।

मन्त्री चौधरीले सडक बालबालिकामुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहनेगरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिनुभयो । “अब सडकमा बालबालिका देखिनु हुँदैन । अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल सङ्गठनहरू छन् । त्यसका लागि हाम्रो प्रतिबद्धता आवश्यक छ ।”

मन्त्री चौधरीले बालबालिकासम्बन्धी ऐन, कानुन, सेवा सुविधा, अदालतका फैसलालगायतका विषय समेटिएको बडापत्र निर्माण गर्नसमेत निर्देशन दिनुभयो । उहाँले परिषद्अन्तर्गतको उपसमितिलाई जिम्मा दिएर बडापत्र तयार गरी यससम्बन्धी निकाय तथा स्थानीय तहसम्म पुग्ने गरी बडापत्र जारी गर्न निर्देशन दिनुभएको हो ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले ओएनएमका लागि प्रारम्भिक कागपत्र तयार पारी मन्त्रालयले यसको थप कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले बालगृह र अस्थायी संरक्षण सेवा केन्द्रका विषयमा उठेका विषयमा मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्ने जानकारी दिनुभयो ।

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ), १५ वैशाख: मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ । पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा ५६ र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएको आयोजना जानकारी दिनुभयो ।

पाण्डेका अनुसार आयोजनाअन्तर्गत पूर्वीखण्डको निर्माणको म्याद गत वैशाख २ गते सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । विविध कारणले काममा ढिलाइ भए पनि केही समयका लागि म्याद गर्ने तयारीका साथ आयोजनाका बाँकी कामलाई निरन्तरता दिइएको पाण्डेको भनाइ छ । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरूभएको थियो । पूर्वीखण्डमा निर्माणको काम चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले गरिरहेको छ । सो खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुर, व्यासका विभिन्न ठाउँमा गरी १८ किलोमिटर दुईतर्फी र नौ किलोमिटर एकतर्फी सडक कालोपत्र भइसकेको छ ।

पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको र यस अण्डमा २० किलोमिटर सडक छ लेनको हुने इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमखण्डका तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडी बढाइएको छ ।

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ ।आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ ।

धुलिखेल मेडिसिटी परियोजना

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेशलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब छ । आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना छ । विश्वस्तरीय मेडिकल सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवा लिन मेडिकल टुरिजमको हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । यो अस्पतालबाट मुटु, हाडजोर्नी, न्यूरोलोजी, क्यान्सरसम्बन्धी उपचार, कस्मेटिक सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना

यो परियोजनाले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लाको यातायात अवस्थालाई सुधार गर्नेछ । परियोजनामा एक सय ७२ बस (६८ डिजेल बस, एक सय चार विद्युतीय बस) तथा ४७ बसबिसौनी प्रस्ताव गरिएको छ । धनगढीबाट चिसापानीसम्म २१ वटा, टीकापुर–लम्कीसम्म चारवटा, गड्डाचौकीबाट अत्तरियासम्म १० वटा र अत्तरियाबाट डोटीसम्म १२ वटा स्टप राखिनेछ । बीच–बीचमा पेट्रोलपम्प र चार्जिङ स्टेशन पनि राखिने छन् । यसको प्रस्तावित लागत रु ३१ अर्ब १३ करोड छ । यो परियोजना निर्माण सुरु भएको तीन वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।

सुदूरपश्चिम सार्वजनिक यातायात आयोजनाले यातायात पूर्वाधारमा जोड दिएको छ । यातायात व्यवस्था तथा ट्राफिक जामलाई कम गर्न तथा कमजोर सहरी पूर्वाधारजस्ता विद्यमान चुनौतीलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशमा यो परियोजना सुरु गर्ने आयोजना छ । सुदूरपश्चिममा विद्युतीय बस सञ्चालन र यातायात सुविधामा स्तरोन्नति गर्न सन् २०२३ मा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो ।

नौमुरे बहुउद्देश्यीय परियोजना

जलविद्युत् उत्पादन र सिँचाइका लागि नौमुरे बहुउद्देश्यीय आयोजना प्रस्ताव गरिएको छ । यो आयोजनाको लागत रु ९२ अर्ब अनुमान गरिएको छ । कुल दुई सय ८१ दशमलव ०४ मेगावाट उत्पादन क्षमताको यो परियोजनाले तीनवटा जलविद्युत् योजनालाई समेटेको छ । परियोजनामा नौमुरे (दुई सय १८ दशमलव ३४ मेगावाट), लामाताल (आठ मेगावाट) र सुरैनाका (५४ दशमलव सात मेगावाट) छन् ।

कपिलवस्तु सिँचाइ प्रणालीसँगै यसले देउखुरी उपत्यकाको विद्यमान सिँचाइ प्रणालीलाई पनि समेट्छ । यो परियोजनाबाट बाँके जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर र कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

+

एक हजार दुई सय १६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशयुयुक्त आयोजना दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्छ । यो नेपालका ठूला जलविद्युत् परियोजनामध्येको एक हो । यो आयोजनाको प्रस्तावित लागत अनुमान रु दुई खर्ब ८९ अर्ब ७७ करोड बराबर रहेको छ ।

हुम्ला कर्णाली जलविद्युत् आयोजना

हुम्ला कर्णाली जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता ६१ दशमलव दुई मेगावाट छ र यो परियोजनाले वार्षिक तीन सय ९० दशमलव २९ गिगावट आवर ऊर्जा उत्पादन गर्न सक्छ । यो परियोजना हुम्लाको नाम्खा गाउँपालिकामा पर्छ । यस गाउँपालिकामा हालसम्म नेपालतर्फबाट सवारीसाधनको पहुँच पुग्न सकेको छैन । यद्यपि हिल्सामा तिब्बत स्वायत्त क्षेत्र सीमा क्रसिङबाट निर्मित हिल्सा–सिमिकोट सडकखण्ड भने बनेको छ । यो आयोजनाको लागत अनुमान रु १४ अर्ब ७० करोड बराबर रहेको छ ।

माथिल्लो चमेलिया जलविद्युत् आयोजना

दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिकामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ५३ दशमलव ८५ मेगावाट रहेको छ । वार्षिक तीन सय १९ दशमलव २१ गिगावाट आवर ऊर्जा उत्पादन हुने अनुमान गरिएको यो परियोजनाको लागत रु ११ अर्ब ९० करोड बराबर छ ।

पाँचखाल विशेष आर्थिक क्षेत्र

काभ्रेपलाञ्चोक जिल्लाअन्तगर्तको पाँचखाल नगरपालिकामा यो परियोजना आर्थिक विकास र प्रवर्द्धन गर्ने रणनीतिक पहल हो । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेर पाँचखाल क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, रोजगारीलाई प्रोत्साहन गर्नेे निर्यात क्षमता अभिवृद्धि गर्ने लक्ष्य यो परियोजनाको छ । यो परियोजनाको प्रस्तावित लगानी एक अर्ब ५७ करोड छ । २०६९ सालमा नै यसको सम्भाव्यता अध्ययन भइसकेको छ ।

कवाडीखोला जलविद्युत् आयोजना

कुल ३० मेगावाट उत्पादन क्षमताको कवाडीखोला जलविद्युत् आयोजनाका लागि रु छ अर्ब ४१ करोड बराबर लागत अनुमान गरिएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकामा पर्ने यस परियोजनाले १० वर्षमा लगानीको प्रतिफल दिने अपेक्षा गरिएको छ । सार्वजनिक निजी साझेदारीअन्तर्गतको निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा यो परियोजना विकास गर्ने प्रस्ताव गरिएको छ । सन् २०२० मा सम्भाव्यता अध्ययन भएको यो परियोजनालाई विद्युत् विकास विभागले सोकेसका लागि प्रस्ताव गरेको हो । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसकेको छ ।

कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना

तनहुँ, पाल्पा, नवरपुर र स्याङ्जा जिल्लामा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता छ सय ५० मेगावाट रहने छ । कुल रु एक खर्ब ७४ अर्ब ७३ करोड बराबर लागत अनुमान गरिएको यो परियोजनाका लागि १० हजार नौ सय ३४ हेक्टर जमिन आवश्यक पर्नेछ । सत्तरी प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी रहनेगरी यो आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२५ सम्ममा वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसक्ने लक्ष्य राखिएको छ ।

भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना

तीन सय ७७ दशमलव एक मेगावाट उत्पादन क्षमताको रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनालाई पनि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न ‘सोकेस’मा राखिएको छ । कुल सय हेक्टर जमिन आवश्यक पर्ने यो आयोजना डोल्पाको ठूलीभेरी नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२४ भित्रै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि सकिसक्ने गरी विद्युत् विकास विभागले यो परियोजना लगानी सम्मेलनमा सोकेसमा राखेको हो ।

तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना

कुल ४० दशमलव ०२ मेगावाट विद्युत् उत्पादन क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका रूपमा तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पनि लगानी सम्मेलनमार्फत आशयपत्र मागका लागि सोकेसमा राख्न लागिएको छ । यो जलविद्युत् आयोजनाका लागि कुल रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका बन्ने यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन विद्युत् विकास विभागले गरिसकेको छ ।

सुपर बुढीगण्डकी जलविद्युत् आयोजना

गोरखा जिल्लामा निर्माण प्रस्ताव गरिएको सुपर बुढीगण्डकी जलविद्युत् आयोजनामा आशयपत्र आह्वानका लागि विद्युत् विकास विभागमार्फत लगानी सम्मेलनमा सोकेसमा राख्न प्रस्ताव भएको हो । कुल ३४ दशमलव ९३ मेगावाट उत्पादन क्षमता रहेको यो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ३४ करोड अनुमान गरिएको छ ।

पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र

लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजनाको अनुमानित लागत रु तीन अर्ब ७२ करोड रहेको छ । लगानी सम्मेलनमार्फत लगानी जुटाउने लक्ष्यका साथ यो परियोजना सोकेसमा राख्न लागिएको छ । प्रस्तावित यस परियोजनाले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यो परियोजनामा पाँचतारे होटल, रेष्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । जुन परियोजनमा पाँच सय जना अटाउन सक्ने एम्फीथिएटर, दुईवटा प्रदर्शनी हल, पाँचतारे होटल (दुई सय कोठा), रेस्टुराँ र फुडकोर्ट, सङ्ग्रहालय र स्मारिका कोठा, बाल उद्यान, तीन हजार मानिस अटाउने सम्मेलन हल, वनभोज क्षेत्र रहने प्रस्ताव गरिने छ ।

पोखराको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र पर्यटकीय अकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको सन्दर्भमा पर्यटक बढाउन यस्ता परियोजना सञ्चालन गर्न आवश्यक छ । बोर्डका अनुसार अत्याधुनिक सेवा सुविधा दिन सकिने, सङ्ग्रहालय र सांस्कृतिक आकर्षण, मनोरञ्जनका क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरको दूरीमा रहेको, पर्यावरण अनुकूल डिजाइन र सञ्चालन नै परियोजनाका मुख्य विशेषता रहेका छन् ।

दैजी औद्योगिक क्षेत्र

सम्मेलनमा ‘दैजी औद्योगिक क्षेत्र’ परियोजनाका लागि पनि लगानीकर्ताबाट आशयपत्र माग गर्न लागिएको छ । यो औद्योगिक क्षेत्रको अनुमानित लागत रु आठ अर्ब ६० करोड रहेको छ । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटडेटले यो परियोजनाको लागत र उद्देश्यको खाकासहित सम्मेलनमा सोकेसका लागि छनोट गरेको हो । सुदूरपश्चिम प्रदेशमा औद्योगिकीकरणका लागि दैजी औद्योगिक क्षेत्र निर्माण प्रस्ताव गरिएको छ । यस औद्योगिक क्षेत्रले औद्योगिक उत्पादन र उत्पादकत्वमा सुधार गर्ने र स्थानीय विशेषज्ञता, उपलब्ध स्रोतसाधनको उपयोग गर्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य छ । लगानी बोर्डका अनुसार एक सय औद्योगिक प्लट, ठूला सवारीसाधन पार्किङ क्षेत्र, प्रशासनिक ब्लक, हेलिप्याड, पेट्रोलपम्प, तौल स्टेशन, पानी आपूर्ति र फायर फाइटिङ सिस्टम, विद्युतीय प्रणाली जडान गर्ने कार्य यो परियोजनाका लागि प्रस्ताव गरिएको छ ।

बबरमहल प्रशासनिक प्लाजा

विभिन्न सरकारी कार्यालय राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न लागिएको छ । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजना विकासका लागि सहरी विकास मन्त्रालयले प्रस्ताव गरेको हो । यो परियोजनाको अनुमानित लागत रु १० अर्ब २० करोड रहेको छ ।

महादेव खोला जलाशय निर्माण

खानेपानी मन्त्रालयले अध्ययन गरेको यो परियोजनको अनुमानित लागत रु दुई अर्ब ४५ करोड छ । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण गर्न यो परियोजना सञ्चालन गर्न आवश्यक रहेको अध्ययनमा उल्लेख छ । मुख्यतया खानेपानी र अन्य घरेलु प्रयोजनका लागि पानीको नियमित उपलब्धता सुनिश्चित गर्न सहयोग गर्नेगरी परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ । महादेव खोला जलाधारलाई संरक्षण गर्दै भक्तपुरस्थित चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका बासिन्दालाई खानेपानीको दिगो उपलब्धता सुनिश्चित गर्ने परियोजनाको लक्ष्य छ । जलाशयको वरिपरि मनोरञ्जनका लागि पूर्वाधार (नगरकोट फल्स) निर्माण गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली चिसापानी वायुऊर्जा परियोजना

दश मेगावाट बराबरको ‘कर्णाली चिसापानी वायु ऊर्जा’ परियोजनाका लागि पनि लगानी सम्मेलनमार्फत लगानीका लागि आशयपत्र माग गर्न लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अध्ययन गरेको उक्त परियजनाको लागत भने रु १४ अर्ब ७३ करोड छ । नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता प्राप्त भएको र यसमा वायु ऊर्जाको हिस्सा न्यून रहेको भन्दै ऊर्जा सुरक्षाको दृष्टिले राष्ट्रिय विद्युत् प्रणालीमा उपयुक्त ऊर्जा मिश्रण अवलम्बन गर्न परियोजना सञ्चालन गर्न उपयुक्त रहेको अध्ययनमा उल्लेख छ ।

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रतमार्ग

लगानी बोर्डद्वारा अध्ययन भएको यस परियोजनाको अनुमानित लागत रु दुई खर्ब २१ अर्ब रहेको छ । प्रस्तावित यस दु्रतमार्गले चितवनबाट काठमाडौँ उपत्यका जोड्ने यातायात सञ्जाललाई छिटो र भरपर्दो बनाउने लक्ष्य राखेको छ । सडक पूर्वाधारका क्षेत्रमा लगानीका लागि प्रस्ताव गरिएको ठूलामध्येको यो पनि एक आयोजना हो ।

जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज

लगानी बोर्डद्वारा अध्ययन गरिएको यस परियोजनाको अनुमानित लागत रु दुई अर्ब ३५ करोड रहेको छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ । यसमा सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँको विकास र सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य छ । जसबाट यस क्षेत्रको सम्पदा, संस्कृति र परम्परा प्रदर्शन हुनुका साथै पर्यटकीय विकासको माध्यम बन्न सकिने अपेक्षा गरिएको छ । परियोजनाको मुख्य लक्ष्य भारतीयलाई आकर्षित गर्नु हो । नेपाल र भारतबीचको धार्मिक सम्बन्धको फाइदा उठाउँदै पर्यटक भित्र्याउने लक्ष्य छ ।

धौवादी फलाम खानी उत्खनन आयोजना

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–५ मा रहेको धौवादी खानी उत्खनन गर्ने र वार्षिक करिब पाँच लाख मेट्रिक टन स्टिल बिलेट (फलामको कच्चा पदार्थ) निकाल्ने उद्देश्यका साथ सरकारले यो आयोजना विकासको योजना अघि सारेको छ । यो योजनाका लागि रु ५१ अर्ब २५ करोड लागत अनुमान गरिएको छ । धौवादी फलाम खानी उत्खननका लागि सन् २०२३ मा सम्भाव्यता अध्ययन भइसकेको छ ।

सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५१ वटा परियोजना प्रस्तुत हुँदैछन् । तीमध्ये सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना छन् । यसैगरी यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको छ ।

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौँ, १६ वैशाख : मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एसिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिङमिङ याङ, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनुहुनेछ ।

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौँ, १६ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौँ, १५ वैशाखः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गर्नुभएको छ ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव आज बेलुकी अमेरिका प्रस्थान गर्नुभएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको छ । आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नु भएको बस्नेतले बताउनुभयो ।

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ, १५ वैशाखः ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । दोस्रो सम्मेलन भएको पाँच वर्षपछि हुन लागेको सम्मेलनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक तयारी गरेको छ । आयोजना छनोटदेखि व्यवस्थापनको कामलाई समेत उत्तिकै महत्व दिइएको छ ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री वर्षमान पुनले अन्तरसरकारी निकाय, सरोकारवाला पक्ष, व्यक्ति र संस्थासँग निरन्तर छलफल गरिरहनुभएको छ । अर्थमन्त्री पुनले आफ्नै हस्ताक्षरमा विश्वभरका लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुभएको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार छ सय जनाको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डले सम्मेलनका लागि दुई हजार चार सय बढीलाई निमन्त्रणा पठाएको थियो ।

यसअघि सरकारले २०७३ र २०७५ सालमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । कोरोनालगायतका कारणले घोषणा भए पनि सम्मेलन हुनसकेको थिएन । नेपालको हकमा २०४९ सालमा सरकार र निजी क्षेत्रको सहकार्यमा सम्मेलन आयोजना भएको थियो । सोही सम्मेलनका आधारमा सरकारले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ तय गरेको थियो । बोर्डका अनुसार २०७३ को पहिलो लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब पाँच सयको सहभागिता थियो । सो सम्मेलनमा २३ देशका दुई सय ५० बढीको सहभागिता थियो ।

नेपाल लगानीका लागि तयार छ भन्ने सन्देश दिन सफल सो सम्मेलन विशेषगरी भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित थियो । बोर्डका अनुसार २०७५ सालमा आयोजित लगानी सम्मेलनमा ४० देशका सात सय बढीको सहभागिता थियो । रु १७ खर्ब ३० अर्ब बराबरको प्रतिबद्धता आएको सो सम्मेलनमा कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो ।

विसं २०७५ चैत १५ र १६ गते आयोजना गरिएको सम्मेलनमा ६६ आयोजनाको सूची प्रस्तुत गरिएको थियो । सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गरिएका थिए । विशेषगरी ऊर्जा, भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको थियो ।

अघिल्ला दुईवटा सम्मेलनको सकारात्मक पाटोलाई मूर्त बनाउँदै उपलव्धिको खोजी गर्ने लक्ष्यका साथ यसपटकको सम्मेलनलाई थप व्यवस्थित बनाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले रासससँगको कुराकानीका क्रममा जानकारी दिनुभएको थियो ।

सम्मेलनलाई केन्द्रमा राखेर सरकारले केही कानुनी र संस्थागत सुधार गरेको छ । ‘रेडी टु गो’ अवस्थामा रहेका आयोजनाको सूची तय भएको छ । बोर्डले यसअघि नै संयोजन गरेका आयोजनाको प्रगति अपेक्षित रूपमा राम्रो छ । कुल नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७५ प्रतिशतको हाराहारीमा छ । हुवासिन नारायणी सिमेन्ट उद्योग यसअघि नै सञ्चालनमा आइसकेको छ । अन्य आयोजनाको प्रगति पनि अपेक्षित रूपमा प्रभावकारी देखिएको छ ।

सम्मेलनलाई एउटा अवसरका रूपमा लिएर लगानीको साझा लक्ष्य तय गर्ने एवं लगानीकर्तालाई ‘नेपाल लगानीका लागि योग्य गन्तव्य’ हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको बोर्डको भनाइ छ । ऊर्जा क्षेत्रमा मुलुक आयातकर्ताबाट निर्यातकर्तामा रुपान्तरित भएको छ । कानुनी एवं संस्थागत सुधार भएको छ । ठूला जलविद्युत् आयोजना निर्माणमा प्रवेश गरेका छन् । सरकारले आन्तरिक स्रोतको परिचालनलाई पनि उत्तिकै ध्यान दिएको छ । सकारात्मक र लगानीमैत्री वातावरणको आलोकमा हुन लागेको सम्मेलनले एउटा नयाँ मार्गनिर्देश गर्ने विश्वास लिइएको छ ।

सम्मेलनको संयोजन गरेको बोर्डका अनुसार पहिलो सम्मेलनमा रु १४ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । दोस्रोमा रु २३ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । संयोग पनि कस्तो परेको छ भने पहिलो लगानी सम्मेलन आयोजना हुँदा प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्थ्यो । विसं २०७३ फागुन १९ र २० गते आयोजित सो सम्मेलन ‘विदेशी लगानी तथा प्रविधि हहस्तान्तरण ऐन, २०४९’ तय भएको २५ वर्षपछि आयोजना गरिएको थियो । सो सम्मेलनले नेपाल लगानीका लागि योग्य मुलुक हो भन्ने सन्देश दिएको थियो ।

दोस्रो सम्मेलन तत्कालीन वाम गठबन्धनले झण्डै दुईतिहाइ जनमत प्राप्त गरेपछि आयोजना गरिएको थियो । सो सम्मेलनमा रु २३ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भए पनि एकाधमात्रै आयोजना अगाडि बढेका छन् । सम्मेलन एउटा निरन्तरको प्रक्रिया भएकाले प्राप्त भएका प्रतिबद्धतालाई व्यावहारिक रूप दिन सरकार र सरकारी निकायले पनि निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता छ । यसपटक सरकार र निजी क्षेत्रले साझा प्रयास गरेका छन् । सम्मेलनको आयोजक सरकार छ भने निजी क्षेत्रले सक्रियतापूर्वक सहआयोजकजस्तै भूमिका निर्वाह गरेको छ ।

आर्थिक शिथिलता क्रमशः सुधारको दिशामा अगाडि बढिरहेको सन्दर्भमा आयोजना हुन लागेको सम्मेलनले एउटा स्पष्ट मार्गनिर्देश गर्ने विश्वास लिइएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले रासससँगको कुराकानीमा उल्लेख गर्नुभए जस्तै सम्मेलन एउटा राष्ट्रिय पर्व हो । यसलाई सबैले आ–आफ्नोतर्फबाट सहयोग गरेर सार्थक बनाउनु जरुरी छ ।

सम्मेलनको पूर्वसन्ध्यामा नै सरकारले मुलुकको सार्वभौम साख मूल्याङ्कनको कामलाई समेत अगाडि बढाएको छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वशर्तका रूपमा सो मूल्याङ्कनलाई लिने गरेका छन् ।

अर्थमन्त्री पुनले रेटिङको कामलाई कुनै ढिला नगरी अगाडि बढाउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । सरकारको समग्र तयारी, कानुनी, संरचनागत सुधारलगायतका कारणले यसपटकको सम्मेलन आफैँमा भव्य र विशिष्ट हुने आम रूपमा अपेक्षा गरिएको छ ।

सङ्खुवासभामा आगलागीबाट रु १९ लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा), १५ वैशाखः सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ । शुक्रबार राती मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिनुभयो । आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उहाँले बताउनुभयो ।

त्यसैगरी चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा स्थानीय झलकबहादुर अधिकारीको घर जलेर रु आठ लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो ।
केही दिनयता भएका आगलागीबाट मकालु गाउँपालिका–४ र वडा नं ५ मा चारवटा घर जलेका छन् ।

सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्

बरहथवा (सर्लाही), १५ वैशाखः सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् । जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नगरपालिका तथा धन्कौल र चन्द्रनगर गाउँपालिकाले पाठ्यपुस्तकका लागि रकम निकासा नदिँदा शैक्षिकशत्र सुरूभइसक्दा पनि पाठ्यपुस्तक वितरण गर्न नसकिएको स्थानीय विद्यालयले जनाएका छन् ।

पालिकाले आन्तिरिक समस्या देखाउँदै पाठ्यपुस्तक खरिदका लागि निकासा नगरेपछि पाठ्यपुस्तक वितरण नहुँदा पठनपाठन नै प्रभावित भएको हरिपुर्वा–२ स्थित प्राथमिक विद्यालयका शिक्षक दिनेश रायको भनाइ छ ।

हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्लेले भने प्रमुख प्रशासकीय अधिकृत नभएकाले पुस्तक खरिदका लागि निकासा दिन ढिलाइ भएको बताउनुभयो । प्रशासकीय अधिकृत आउनेबित्तिकै निकासा दिने गरी उधारोमा भए पनि पुस्तिक वितरण गर्न आग्रह गरिएको र धेरै विद्यालयले सोहीअनुसार व्यवस्था गरेका समेत उहाँले बताउनुभयो ।

त्यस्तै, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि पछि भुक्तानी गर्ने गरी विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो ।

चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न मावि बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले भने पालिकाहरूले समयमै पुस्तकको भुक्तानी नगर्ने भन्दै स्थानीय पुस्तक वितरकले उधारोमा कारोबार गर्न नमानेका बताउनुभयो । आफ्नो विद्यालयमा जस्तै निकासा रोकिएर समयमै पाठ्यपुस्तक नपाउँदा जिल्लाका धेरै विद्यालयलाई समस्या भएको उहाँको भनाइ छ ।

सर्लाहीमा चार सय ४२ सामुदायिक विद्यालयमा एक लाख १९ हजार सात सय सात विद्यार्थी भर्ना रहेका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिनुभयो । तिमध्ये उल्लेखित पाँच पालिका क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक वितरणमा समस्या छ ।

वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष नेपाल

मनहरी (हटौँडा) १५ वैशाख: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

शनिबार हेटौंडामा आयोजित एकीकृत समाजवादी मकवानपुरको नवौँँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती दिन प्रतिगामीहरू सक्रिय भएकाले त्यसको रक्षा गर्न परिवर्तन पक्षधर एकताबद्ध हुन जरूरी रहेको बताउनुभयो । “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, संविधान तथा सङ्घीयतामाथि नै चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थालेका छन् । त्यसैले यो व्यवस्था र संविधान जोगाउन सबै परिवर्तनकारी, सङ्घीयतावादी शक्ति एकताबद्ध हुन जरुरी छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

त्यसैगरी उहाँले एकीकृत समाजवादी सरकार फेरबदलमा केन्द्रीत नरहेको तर जनताको पक्षमा काम गर्ने बलियो तथा स्थायी सरकार निर्माण गरेर आर्थिक, सामाजिक विकासका काममा केन्द्रीत हुन नेतृत्वकर्तालाई खबरदारी गरिरहेको बताउनुभयो ।

पार्टीको दसौँ महाधिवेशनमा आफ्नो पार्टीले नेपाली समाज, राजनीति र विकासका बाधक पहिचान गरी समृद्धिको यात्रा तय गर्न चाहेको पनि अध्यक्ष नेपालको भनाइ भयो ।

अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ: मन्त्री भण्डारी

काठमाडौँ, १५ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटले अरु प्रदेशसरह सुदूरपश्चिम र कर्णाली प्रदेशको सन्तुलन कायम गरिने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडी–काठमाडौँ सम्पर्क मञ्चको नवाँै अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतका बजेटमा सुदूरपश्चिम र कर्णालीलाई अन्य प्रदेशभन्दा अनुपातका हिसाबले कम बजेट विनियोजन हुने गरेको बताउनुभयो । उहाँले अबको बजेटमा सरकारले केही हदसम्म भए पनि सबै प्रदेशको सन्तुलनता कायम गरिने उल्लेख गर्नुभयो ।

सरकारले अहिले देशमा भएका जडीबुटी, ऊर्जा, पर्यटन, कृषि तथा खानी उत्खननका माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि लैजान खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले ती सबै कुराको सुदूरपश्चिममा प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका स्रोतसाधनको सरकारले उच्चतम उपयोग गर्नेमा जोड दिनुभयो ।

सरकार सहकारीभित्रका समस्या चाँडै सम्बोधन गरेर निजी क्षेत्रसँगको सहकार्यमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन अगाडि बढेको उहाँको भनाइ छ । मन्त्री भण्डारीले उद्योग मन्त्रालयमा थन्किएर रहेका उद्योग तथा व्यापारसँग सम्बन्धित नीति तथा कानुनलाई आफूले कार्यान्वयनको चरणमा लैजान हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले आफूले सम्हालेको मन्त्रालयमा पार्टीको नीतिअनुसार शिर निहुरिने कुनै पनि गलत काम नगरी पार्टी र जनताको सर्वोपरि हित हुने काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “पार्टीको नीतिलाई लागू गर्न इमान्दारितापूर्वक काम गर्नेछु ।”

कार्यक्रमको उद्घाटन समारोहमा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटी सचिव इन्द्र भण्डारी, सचिवालय सदस्य तथा बैतडी–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज प्रेमराज भट्ट, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द, सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीलगायतले युवा शक्तिलाई परिचालन गर्दै मिसन २०८४ सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौँ, १५ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएका पनि उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिनुभएको पनि विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पु¥याउने विश्वास छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मीलगायतलाई पनि उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।-

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

फिक्कल (इलाम), १५ वैशाख : इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको छ । यो निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालन भएका छन् ।

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ, १५ वैशाख : नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उहाँले बताउनुभयो । भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे रासससँग कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताउनुभयो । तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका लागि तयार रहेको उहाँले बताउनुभयो ।
“हामी अब लगानीका लागि तयार छौँ । सम्भाव्य क्षेत्रहरु पहिचान भइसकेका छन् । सरकारले ऐन, नियम संशोधन गरेर सहजीकरण गरेको छ”, अध्यक्ष अग्रवालले भन्नुभयो, “नीतिगत, प्रक्रियागत र संरचनागत सुधारका लागि थप आवश्यकता देखिए त्यसका लागि सरकार तयार देखिन्छ । निजी क्षेत्र पनि सहयोग गर्न तत्पर छ ।”

यो लगानी सम्मेलनमार्फत यहाँका सम्भावना देखाउने र लगानीकर्तालाई लगानीका लागि विश्वस्त तुल्याउन सक्नेमा नेपाल सफल हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो । पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको आर्थिकमन्दीको केही असर नेपालमा पनि देखिएको र अर्थतन्त्र केही शिथिल भए पनि अब चाँडै लयमा फर्किने गरी आधार तयार हुँदै गएको अग्रवालले बताउनुभयो ।

“केही आर्थिक शिथिलताका कारण मुलुकको अर्थतन्त्र केही तनावमा छ तर आर्थिक शिथिलता सधैँभरि रहने होइन । निश्चित समयपछि अवश्य सुधार हुने नै छ”, उहाँले रासससँग भन्नुभयो, “लगानी गर्ने र प्रतिफल हासिल गर्ने विषय पनि लामो प्रक्रिया हो । अहिले लगानी गरेपछि भोलि नै प्रतिफल आइहाल्ने होइन । त्यसका लागि समय लाग्छ । यसकारण अहिले लगानी गरेर प्रतिफल लिने बेलासम्ममा मुलुकको अर्थतन्त्रले सकारात्मक गति लिइसक्नेछ ।”

लगानी वातावरण निर्माणका लागि सरकारले चालेका कदमबाट नेपालको निजी क्षेत्र उत्साही बन्दै गएको र लगानीका लागि आत्मविश्वास पलाउँदै गएको उहाँले बताउनुभयो । अध्यक्ष अग्रवालले विदेशी लगानीकर्तामाझ यो सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको उहाँले बताउनुभयो । यो लगानी सम्मेलनबाट नेपालको वास्तविक अवस्था अन्तर्राष्ट्रिय लगानीकर्तासम्म पुग्ने र त्यसले मुलुकको प्रचार मात्र नभई विदेशी लगानीसमेत बढ्ने उहाँको बुझाई छ ।

“नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भनेर हामीहरुलाई विश्वास बढ्दै गएको छ । यद्यपि, यो सुरुआत मात्रै हो । प्रारम्भिक चरणका प्रक्रिया पूरा गरेर लगानी आउने बेलासम्ममा अर्थतन्त्र अझ सुधार भइसक्छ भनेर हामी अघि बढ्नुपर्छ”, अध्यक्ष अग्रवालले भन्नुभयो, “हामीलाई विश्वास छ, हामीले राम्रो गरिरहेका छौँ । सम्मेलनले देशको पनि प्रचार हुन्छ ।”

लगानीकर्ताले नेपालमा गर्ने लगानी प्रतिबद्धता र त्यसको वास्तविक प्राप्तिमा केही असन्तुलन देखिएको उल्लेख गर्नुहुँदै उहाँले यो समस्यालाई मिहीन ढङ्गले विश्लेषण गरेर समाधान खोजिनुपर्ने बताउनुभयो । सरकारका केही कमजोरी कारण प्रतिबद्धता र प्राप्तिमा असन्तुलन देखिएको पनि उहाँको बुझाइ छ ।

“प्रतिबद्धताअनुसारका प्राप्ति किन भएनन् भनेर हामी आफँैले खोजनीति गर्नुपर्छ । लगानीकर्ताले चासो देखाएपछि त्यसको नियमित ‘फलोअप’ गर्न सक्नुपथ्र्यो । सम्झौता गरेको लामो समयसम्म पनि लगानी आएन भने किन आएन भनेर हामी आफैँले सोधीखोजी गर्नुपर्छ । त्यसमा हाम्रो कमजोरी छ”, परिसङ्घ अध्यक्ष अग्रवालले भन्नुभयो, “लगानीकर्तालाई कहाँनेर कस्तो अप्ठेरो परेका कारण उ आउन चाहेन भनेर खोजनीति गर्न सक्नुपथ्र्यो । कानुनी वा प्रक्रियागत जटिलता भए त्यसलाई फुकाउन सक्नुपथ्र्यो ।”

लगानीकर्तासँग निरन्तर सम्पर्कमा रहने, लगानी भित्र्याउन कानुनी, प्रक्रियागत र प्रशासनिक रुपमा सहजीकरण गर्ने जिम्मेवारी सरकार र मातहतका विभिन्न निकायको रहेको उहाँ बताउनुहुन्छ । लगानीकर्तालाई के कुरामा चित्त नबुझेका कारण उसले लगानी गर्न चाहिरहेको छैन भन्ने पहिचान गर्नु पनि सरकारी संयन्त्रको जिम्मेवारीभित्र पर्ने धारणा अग्रवालले राख्नुभयो । “कुनै विभाग वा मन्त्रालयमा फाइल अड्किएको छ भने त्यसलाई अघि बढाउन निरन्तर ‘फलोअप’ चाहिन्छ । लगानी भित्र्याउन पर्याप्त सहजीकरण गर्ने जिम्मेवारी हाम्रै निकायको हो”, उहाँले भन्नुभयो ।

लगानी भित्र्याउने विषय तत्काल नतिजा देखिनेभन्दा पनि दीर्घकालमा प्रतिफल दिने भएकाले यसको सम्पूर्ण प्रक्रिया र प्राप्तिका चरणबारे बुझ्न आवश्यक रहेको अग्रवालले बताउनुभयो । “प्रतिबद्धता आउनासाथ तत्कालै लगानी प्राप्ति भइहाल्ने होइन । वास्तविक लगानी आउनका लागि समय लाग्छ”, उहाँले भन्नुभयो, “प्रतिबद्धताअनुसारको रकम एकैपटक आउने पनि होइन । प्रारम्भिक चरणमा केही रकम आउला, परियोजना निर्माणको चरणमा केही बढी रकम प्राप्त होला । यसकारण तत्कालको प्राप्तिभन्दा पनि दीर्घकालको नतिजा महत्वपूर्ण हो ।”

लगानी सम्मेलनका क्रममा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजना, निजी क्षेत्रका व्यवसायी–व्यवसायी (बिटुबी) बीच सहकार्य गर्नेलगायत विभिन्न अवधारणामा लगानी सहकार्य खोजिने उहाँको भनाइ छ । नेपालमा लगानीका लागि प्राथमिकताका क्षेत्र पहिचान भएका र क्षेत्रगत रुपमा विस्तृत विवरण नै बनेका कारण लगानीकर्तालाई जानकारी लिन सहज हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । नेपालमा जलजिद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायत लगानीका मुख्य क्षेत्र पहिचान भएका छन् भने सरकारले पनि यी क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

शिक्षा, स्वास्थ्य, यातायात तथा सहरी पूर्वाधारका क्षेत्रमा पनि उत्तिकै सम्भावना छन् । लगानी सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५० वटा आयोजना प्रस्तुत गर्ने निर्णय भएको छ ।

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

ढोरपाटन (बागलुङ), १५ वैशाख : बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताउनुभयो ।

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

इन्जिनियर पुनले भन्नुभयो, “ हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ ।

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल

वासिङ्टन डिसी, १५ वैशाख : कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहनुभएको थियो । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो ।

कोभिडको खोप निस्केको खबर सबैभन्दा पहिला अमेरिकामै आयो । तर त्यतिबेला अमेरिकामै सर्वसुलभ थिएन । नेपालसम्म पुग्नु त निकै परको कुरा । दिनहुँ अमेरिकामै हजारौैँ मानिसको मृत्यु भएको समाचार आउँथ्यो, खोप सबैमा उपलब्ध थिएन । यस्तो बेलामा नेपालका लागि खोपको ‘लबिङ’ कसरी गर्ने होला ? डा दामोदर पौडेलका मनमा दुविधा थियो, त्यही पनि पहल भने सुरु गर्नुभयो ।

“मैले काम गर्ने सहरको क्लिनिकमा त्यहाँका सिटी मेयर, रिपब्लिकन पार्टीका प्रतिनिधि अमेरिकी सङ्घीय संसद्का सिनेटर शेरेड ब्राउन पनि आउनुहुन्थ्यो । सबैभन्दा पहिला त मैले उहाँहरुसँगै प्रस्ताव राखेँ । नेपालको अवस्था दर्साएँ । सिनेटर ब्राउनमार्फत मेरो प्रस्ताव युएस कंग्रेसको खोप कमिटीसम्म पुग्यो । अमेरिकी कंग्रेसमै नेपालले खोप पाउन नसकेको कुरा पुगेपछि उहाँले जो बाइडेनका नजिकका मान्छेसँग कुरा गरेपछि खोप पाउने देशको सूचीमा नेपाल पनि पर्यो । मैले नेपाली दूतावाससँगको समन्वयमा नेपाल पठाउने प्रक्रियाको थालनी गरेँ”, डा पौडेलले भन्नुभयो ।

त्यसपछि डा पौडेलको सो प्रयासलाई अमेरिकी संसद्को खोप कमिटीमा भएको सुनुवाइमा कंग्रेसम्यान ब्राड विन्स्टपले समेत उठाउनुभएको थियो । यसले उहाँको प्रयासमा थप बल दियो । नेपालले खोप पाउने सूचीमा त नाम पर्यो तर धेरै देशको नाम त्यहाँ थियो । पछि कंग्रेसम्यानको यो पहलबाट ह्वाइट हाउसको सूचीमा नेपालको नाम माथि सार्न काम गर्यो र नेपालमा खोप जाने भयो ।

कोभिडको बेलामा अमेरिकाको ओहायो राज्य र आसपास बसोबास गर्ने नेपालीहरुका लागि स्वास्थ्य चेतना र कोभिडविरुद्धको सतर्कता अभियानमा उहाँ सक्रिय हुनुभयो । अमेरिकामा कोभिड सङ्क्रमणका कारण नेपाली समुदाय थप समस्यामा थिए । कतिलाई भाषाको समस्या त कतिलाई स्वास्थ्य जाँचका लागि अस्पताल या स्वास्थ्य संस्थासम्मको पहुँच नै समस्या थियो । त्यो अप्ठेरो अवस्थामा विशेष गरी नेपाली समुदाय केन्द्रित रहेर उहाँको अगुवाइबाट धेरै लाभान्वित भए ।

उहाँ र उहाँकी पत्नी डा सञ्जु महतो समेतले महामारीका समयमा निकै खटेर गर्नुभएको सेवाको यहाँका कैयौँ मिडियामा समाचार पनि बन्यो । उहाँहरुको यो योगदानको कदर गर्दै सिनेटर ब्राउनले उहाँहरुलाई एक कार्यक्रममा सम्मानपत्र प्रदान गर्नुभएको थियो भने यहाँको स्थानीय रेनोल्ड्स्वर्ग सिटीले प्रस्ताव नै पारित गरेको थियो । यसरी आफ्नो क्लिनिकमा उपचारमा आउने व्यक्तिमाफत जनस्तरको सम्बन्धलाई ह्वाइट हाउससम्म पुर्याएर महामारीका समयमा देशमा खोप ल्याउने सम्मको काम डा पौडेलले गर्नुभएको थियो ।

अमेरिकामा विगत दुई दशकदेखि चिकित्सा पेसामा रहेका डा पौडेल प्राइमरी केयर फिजिसियन र उच्च रक्तचाप, मधुमेह तथा मोटोपन (ओबेसिटी) सम्बन्धी रोगका विशेषज्ञ हुनुहुन्छ । अमेरिकाको ओहायो राज्यलाई कर्मथलो बनाउँदै आएका डा पौडेल ओहायोको कोलम्बस सहरमा रहेको होपवेल हेल्थ सेन्टरका मेडिकल डाइरेक्टर हुनुहुन्छ । अर्धसरकारी र गैरनाफामूलक यो स्वास्थ्य संस्थाको सेवा यहाँका २६ स्थानमा छ ।

अमेरिकीहरुमा सधैँ समस्याका बारेमा चर्चा हुने मोटोपनबारे हामीले किनहोला भनेर राखेको जिज्ञासामा उहाँ भन्नुहुन्छ, “अमेरिकीमा खाना, जीवनशैलीको कारण हो भन्ने छ । शारीरिक व्यायामको अभाव, ‘जङ्क फुड’ धेरै खाने बानीनै यहाँको ओबेसिटीका कारण हो । अमेरिकामा यो निकै बढ्दो छ । एक अध्ययनले त आगामी सन् २०४० सम्ममा यहाँको ६० देखि ७० प्रतिशतसम्म जनतामा ओबेसिटी बढ्ने देखाएको छ । यो चिन्ताजनक अवस्था हो ।”

नेपालको शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस गरेका डा पौडेलले ओहायोबाट एमडी गर्नुभयो । उहाँले अमेरिकामा २० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आउनुभएको छ । कोलम्बसस्थित आफ्नो हेल्थ सेन्टरमा आर्थिक समस्यामा परेका मुख्यगरी नेपालीमूलका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ ।

खासगरी जनस्तरबाट काम गर्न रुचाउने डा पौडेललाई हालै नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ओहायो राज्यका लागि नेपालको महावाणिज्यदूतमा नियुक्त गरेको छ । रासससँगको कुराकानीमा पौडलले भन्नुभयो, “हामीहरुले अमेरिका र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाएर अमेरिकाले हासिल गरेको सेवा तथा वस्तुहरुलाई समेत नेपालीमाझ पुर्याउन सकेमा नेपालको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्नेछ । मलाई दिइएको जिम्मेवारीअनुसार म सदैव क्रियाशील हुनेछु । अमेरिकामा रहेर दुई देशबीचको सम्बन्धमा विकास र नेपाल तथा नेपालीको हित मेरो पहिलो कर्तव्य हुनेछ ।”

अमेरिकी बजारमा सधैँ उच्च माग रहने औषधि, जुत्ता तथा गार्मेन्टलगायतका क्षेत्रमा नेपालको सम्भावना देखिएको छ । त्यसका साथै पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रमा पनि महत्वपूर्ण सफलता हासिल गरेका नेपाली अमेरिकनहरुलाई एकीकृत गर्दै अवसरको खोजीको आवाज उठिरहेको उहाँले बताउनुभयो ।

डा पौडेल यसका लागि एउटा संयन्त्रमार्फत काम गर्नुपर्ने धारणा राख्नुहुन्छ । पौडेलले भन्नुभयो, “नेपालमा उद्यमशीलतालाई अगाडि बढाइरहनुभएका उद्यमी, व्यवसायीहरुलाई अमेरिकी बजारमा पहुँच वृद्धि गराउनका लागि अनुसन्धान गर्न सुझाव दिन चाहन्छु । साथै म मेरो तर्फबाट गर्न सकिने समन्वय गर्न तत्पर रहेको छु ।”

पौडेलले स्थानीय समुदायलाई अमेरिकी स्थानीय, राज्य र सङ्घीय सरकारका निकायमार्फत जोड्नका लागि निर्वाचित प्रतिनिधिहरुमार्फत समन्वय समेत गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालीभाषीहरुको बाहुल्यता भएको राज्यमा हामी रहेकाले पनि यहाँ हामीहरु जनस्तरको सम्बन्ध विस्तारमा समेत सक्रियतापूर्वक लागेका छौँ । वास्तवमा कुनै पनि देशको सम्बन्धका विविध आयामहरुलाई मजबुद र प्रभावकारी बनाउन जनता जनताबीचको सम्बन्ध महत्वपुर्ण हुन्छ । यस्तो सम्बन्ध दिगो पनि हुन्छ ।”

त्यसैले नै उहाँकै पहलमा नेपाली सांस्कृतिक पर्वहरुमा स्थानीय जनप्रतिनिधिहरु, गभर्नरको कार्यालय लगायतका निकायका व्यक्तित्वहरुलाई आमन्त्रण गरेर मनाइँदै आएको छ । पौडेलको पहलमा स्थानीय सहरमा तिहारलाई नेपालीहरुको चाडको रुपमा स्वीकृति दिँदै सिटी काउन्सिलले समेत एक रिजोलुसन पारित गरेको छ । यस अगाडि अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्नुभएका अर्बपति माइक व्लुमवर्गसँगको प्रेसिण्डेन्सियल अभियानमा डा पौडेलले प्यानलिष्टको रुपमा समेत सहभागी भएर आफ्नो धारणा राख्ने अवसर पाएबाट पनि अमेरिकी समुदायमा उहाँको पहुँचका कारण पनि उहाँले यहाँ दुई देशबीचका जनता जनताबीचको कामलाई प्रभावकारी रुपम अघि बढाउन सक्नुभएको हो ।

काठमाडौँको फर्पिंङमा जन्मिएका डा पौडेल रस काउन्टी मेडिकल सोसाइटीका अध्यक्ष भइसक्नुभएको छ । अमेरिकी संसद्मा हालैमात्र गठन गरिएको नेपाल ककस स्थापनाका लागि पनि ओहायोबाट चारजना सङ्घीय सांसदलाई प्रतिनिधित्व गराउन उहाँले सफलता पाउनुभएको थियो । उहाँकै सक्रियतामा महाबीर पुनको राष्टिय आविष्कार केन्द्र र अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीको कृषि विभागबीच सम्झौता गराई आविष्कार केन्द्रका तीन जना इञ्जिनियरले सो विश्वविद्यालयमा व्यावसायिक तालिम गर्न पाएका थिए ।

आफू जहाँ रहेर पनि नेपालीमन र नेपालीपनमै रमाएर काम गर्ने बताउने डा पौडेल हालै बैंककमा भएको नेपाली मूलका नेपालीहरुको संस्था एएनओको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बन्नुभएको छ । महावीर पुन नेतृत्वको एनआइसी युएसएको अध्यक्ष उहाँ ओहायोका नेपालीहरुको संस्था सेन्ट्रल ओहायो नेपाली एसोसिएसन कोनाको प्रमुख संरक्षक तथा गैरआवासीय नेपाली सङ्घ एनआरएनए, अमेरिकाको सल्लाहकार भइसक्नुभएको छ ।

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ, १५ वैशाख : बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले राससलाई बताउनुभयो ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले शुक्रबार ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताको कार्यालयले एल फाशर शहरमा ‘समन्वित आक्रमण’ हुन सक्ने चेतावनी दिएको छ ।

“शहरमा आक्रमण भएमा सर्वसाधारणका लागि विनाशकारी परिणाम हुनेछ । तनावको यो वृद्धि पहिले नै अनिकालको सङ्घारमा रहेको अवस्थामा छ,” गुटेर्रेसले त्यहाँ युद्ध नगर्न यसअघि गरेको आह्वानलाई दोहो¥याउँदै कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाईं गत अप्रिल १४ देखि एल फाशरतर्फ अघि बढेपछि भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ४३ जनाको मृत्यु भइसकेको छ ।यसअघि शुक्रबार संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले पनि शहरनजिकै भएको लडाइँप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो ।

तुर्कको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उत्तरी डार्फरको एल फाशेर शहर र त्यस वरपर बढ्दै गएको हिंसाप्रति उहाँ गम्भीररूपमा चिन्तित हुनुहुन्छ यहाँ विगत दुई हप्तामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।”जनरल अब्देल फतह अल बुरहानको एसएएफ सेना र जनरल मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको एफएसआर अर्धसैनिक बलबीच गत वर्ष भएको लडाइँपछि देशमा लाखौं मानिस विस्थापित भएका छन् । केही समय अघिसम्म आरएसएफको नियन्त्रणमा नरहेका डार्फर राज्यको अन्तिम राजधानी एल फाशेर युद्धबाट तुलनात्मक रूपमा अप्रभावित थियो ।

चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिरु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धहरू सामान्यतया स्थिर भएका छन्, थप बिग्रनबाट जोगिएका छन्, तर नकारात्मक कारकहरू अझै बढ्दै छन् र जम्मा भइरहेका छन् ।”

चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताउँदै वाङले भन्नुभयो, “चीन–अमेरिका सम्बन्धलाई मानवताका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने विश्वव्यापी दृष्टिकोण, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हित र सहयोगका सिद्धान्तहरूको पालना गर्ने र एक अर्काको मुख्य हितहरूको लागि सम्मान प्रस्ताव चीनले गर्दछ ।”

गत वर्ष नोभेम्बरमा दुई देशका राष्ट्रपतिले सान फ्रान्सिस्कोमा भेट गरी चीन–अमेरिकाको स्थिर, स्वस्थ र दिगो विकासका लागि भविष्यउन्मुख सान फ्रान्सिस्को भिजनको संयुक्त

चिनियाँ सत्तचारमाध्यमका अनुसार उक्त वार्तामा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन् ।

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा -सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन ९मिटरब्याज० पीडितले गुनासो गर्नुभएको छ । शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गर्नुभयो।

मिटरब्याजपीडित सङ्घर्ष समितिका सङ्योजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाउनुभयो । उहाँले उल्टै मिटरब्याजपीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उहाँको भनाइ छ । समस्या समाधानको काम प्रभावकारी ढङ्गले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा देशका बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा पनि आंशिक बदली रही देशके बाँकी भागमा मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो – सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो । उहाँले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र भने स्थायी हुने र जनतासँग निरन्तर जोडिने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोे “नेपाली जनताको उन्नति, प्रगति कांग्रेसको चाहना हो । म पार्टीलाई बलियो बनाउने काममा एकजुट भएर लाग्न आग्रह गर्दछु । ”

यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध: मुख्यमन्त्री यादव

बारा – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शक्रबार बाराको सिमरामा तराई यातायात व्यवसायी सङ्घको १७औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री यादवले कार्यालयमा व्यवसायिकलगायत आम नागरिकले भोग्ने समस्या, ढुवानीका क्रममा हुने कठिनाइ समाधानका लागि सरकारले पहल गर्नेसमेत बताउनुभयो ।

“यातायात व्यवसायीले सवारीसाधन नवीकरण, सवारी चेकजाँच, कर दाखिलाका क्रममा झेल्नुपरेका समस्या समाधानका लागि मेरो ध्यानाकर्षण भएको छ । समस्या समाधानका लागि कानुनी र अन्य व्यवहारिक समस्या पहिचान गरी समन्वयात्मक ढङ्ले अगाडि बढ्ने छु”, मुख्यमन्त्री यादवले भन्नुभयो ।

त्यस्तै, यातायात व्यवसायिकको सहजताका लागि बाराको पथलैयामा सम्पूर्ण काम हुनेगरी कार्यालयको विस्तारका लागि समेत पहल गर्ने मुख्यमन्त्री यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले महोतरीको मठियानीमा भएको आगलागी पीडितका घर बनाउने उद्घोषसमेत गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले यातायात व्यवसायीले भोग्नुपरेका कानुनी र अन्य समस्या समाधानका लागि आफूले पनि आवाज उठाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घीय सांसद अच्युत मैनाली, मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव रोजेन्द्रविक्रम बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी

मनहरी (हेटौँडा) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको छ । उहाँले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिनुभएको हो । उमेरले ५० वर्ष पूरा हुनुभएका खनालले हेटौँडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिनुभएको हो । उहाँ विद्यालय पोसाक लगाएर परीक्षाका लागि परीक्षा केन्द्रमा पुग्नुभएको थियो ।

उहाँले अब पढाइलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो , “मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाइतर्फ लागेको हूँ ।” उहाँको जेठो छोरा सिभिल इञ्जिनीयर छन् र कान्छो छोरा विएस्सी सकेर बसेका छन् ।

वडाध्यक्ष खनाल बाल जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गर्नुभएको थियो । विसं २०५६ मा प्रवेशिका परीक्षा पास गर्नुभएका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाड्नुभएको थियो । उहाँले भन्नुभयो ,“विसं २०७८ सालमा कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रोसँग पढेर १२ पास पनि गर्छु । ” दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्छ । राजनीतिकसँगै सामाजिक कार्यमा क्रियाशील रहनुभएका खनाल मनहरीमा लोकप्रिय नेता हुनुहुन्छ ।

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौँ, १५ वैशाख आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ ।

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

ढोरपाटन (बागलुङ), १४ वैशाख ः बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको होभने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुग्नुभएका कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो । विहान ११ बजेदेखि बेपत्ता हुनुभएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको उहाँको भनाइ छ ।

घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । घाइते दुईजनाको शरीरका विभिन्न अङ्गहरु जलेको उहाँ बताउनुहुन्छ । शवलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताउनुभयो ।

आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उहाँको भनाइ छ ।“बिहानदेखि नै आगलागी भएको रैछ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरु आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्,” प्रहरी निरीक्षक सुनारले भन्नुभयो, “आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणबाहिर छ, तत्काल बस्तीहरु त जोखिममा छैनन् तर जङ्गल सबै जल्ने भयो ।”

मुलुक र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, १४ वैशाख-नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले मुलुक र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्ने बताउनुभएको छ । पार्टी निकट युवा सङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको भन्दै सामाजिक न्यायसहितको समुन्नत एवम् समृद्ध मुलुक निर्माण गर्ने दायित्व पूरा गर्न कम्युनिष्ट पार्टीको एकतामा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सामाजिक न्यायसहित आर्थिक तथा सामाजिक रूपान्तरणमा लाग्नुपर्ने समेत बताउनुभयो । त्यसैगरी उहाँले एकीकृत समाजवादी पार्टीलाई देशको समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने बताउनुभयो ।

“समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो छ । समाजमा विधमान सबै प्रकारका भेद्भाव अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि पार्टीलाई बलियो बनाउँदै लैजानुपर्छ”, सम्बोधनका क्रममा उहाँले भन्नुभयो । त्यसअवसरमा अध्यक्ष नेपालले सङ्घका विभिन्न प्रकाशन विमोचन गर्नुभएको थियो ।

प्रहरी परिसर र गोकर्णेश्वरबीच सहकार्य, जनचेतनामूलक पाठ्यसामग्री हस्तान्तरण

काठमाडौँ, १४ वैशाखः जिल्ला प्रहरी परिसर काठमाडौँ तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम आज आयोजना गरिएको छ ।सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त पाठ्यपुस्तक नगरपालिकाभरिका सबै विद्यालयमा सन्दर्भ सामग्रीका रुपमा कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज हस्तान्तरण एवं सम्झौता भएको यो जनचेतनामूलक पाठ्यक्रमले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सहयोग मिल्नेछ । यसलाई विद्यालय तहमा कार्यान्वयनमा लैजान नगरपालिका प्रतिबद्ध छ ।”

उहाँले विद्यालयस्तरका बालबालिकालाई कुलत तथा दुव्र्यसनबाट जोगाउन आज सम्झौता तथा हस्तान्तरण गरिएको जनचेतनामूलक पाठ्यक्रम (पाठ्यसामग्री) २०८१ सहयोगी हुने बताउनुभयो । उक्त सामग्री सबै क्षेत्रका स्थानीय तहका विद्यालयमा पनि हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
जनचेतनामूलक पाठ्यक्रम २०८१ लाई नगरभित्रका विद्यालयमा सन्दर्भ सामग्री एवं पाठ्यक्रमको अंशका रुपमा कार्यान्वयनमा गरिने नगर प्रमुख रिसालले प्रतिबद्धता समेत जानुभयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले पछिल्लो समय विद्यालयका बालबालिकामा दुव्र्यसनी बढेको पाइएकाले अभिभावकले पनि उक्त कुरामा सचेत हुन तथा आफ्ना सन्तानलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न तत्थ्याङ्क हेर्दा स्कुले बालबालिकामा पनि दुव्र्यसनी बढेको पाइएको छ, अभिभावकले पनि आफ्ना नानीबाबुका बारेमा विशेष ध्यान जरुरी छ ।” यसैगरी उहाँले जिल्ला प्रहरी परिसर काठमाडौँ तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त साझेदारीमा जनचेतनामूलक पाठ्यक्रम तयार पारिएकाले उक्त पाठ्यक्रमले बालबालिकामा सकारात्मक सोचको विकास हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “नगरभित्र शान्ति सुरक्षा कायम गर्न, सामाजिक सद्भावलाई थप सुदृढ बनाउन, लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न, धुमपान, मद्यपान, साइबर अपराधलाई न्यूनीकरण गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालित रहेका छन् ।”

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले आज हस्तान्तरण गरिएको उक्त पाठ्यपुस्तक (पाठ्यसामाग्री) विद्यालयमा लागू भएपछि त्यसबाट विद्यार्थीमा भए÷गरेका विभिन्न सकारात्मक पक्षका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले समय–समयमा अनुगमनसहित सुझाव लिई अन्य सकारात्मक कुराहरुका विषयमा काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजबाट दुव्र्यसनी अन्त्य गर्न प्रहरीसहित नागरिक र विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको छ, कुनै सहयोग गर्नुपर्ने भए जिल्ला प्रहरी परिसरमा खबर गर्न हामी सबैमा आग्रह गर्दछौँ ।”

जनचेतनामूलक पाठ्यक्रम तयार गरी विद्यालयस्तरमा पठनपाठन गराई विद्यार्थीलाई भविष्यका सुयोग्य एवं असल नागरिकमा रुपान्तरण गरी सर्वाङ्गीण विकासको प्रमुख आधार तयार गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी परिसर काठमाडौँको सक्रियतामा प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत तयार गरिएको जनचेतनामूलक पाठ्यक्रम २०८१ को सम्झौता तथा हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आज हस्तान्तरण तथा सम्झौता गरिएको उक्त जनचेतनामूलक पाठ्यक्रम २०८१ मा लागुऔषध दुव्र्यसनी, धुमपान मद्यपान, साइबर अपराधसम्बन्धी जानकारी र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर (अपराध), ट्राफिक सचेनता, विपद् जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका संकेत र बचाउने उपाय समावेश गरिएका छन् ।

यसैगरी घटनास्थलको सुरक्षा, आपराधिक दर्ता प्रणाली, प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्र, घटना हुन नदिने तथा रोकथाम गर्ने उपाय, असल नागरिकका कर्तव्य र जिम्मेवारी, जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय र चोरी तथा चोरी हुनबाट बच्ने उपाय समेटिएका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा तथा गोकर्णेश्वर नगरपालिकाका बिद्यालयका शिक्षकबीच उक्त पाठ्यसामग्रीमा आज हस्तान्तरण एवं सम्झौता गरिएको छ ।

एक करोड लगानीमा सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

काठमाडौँ, १४ वैशाखः सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार रु एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो । सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

“फोहोर र जलकुम्भीले ताल भरिएको थियो, तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो”, बोटेबोरा कम्पनीका सञ्चालक बिबि ढकालले भन्नुभयो, “हामीले आफ्ने लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गरेका हौँ ।” कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरे वापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो ।

तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । कम्पनीले यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ । कम्पनीले छिट्टै लमजुङको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालले जानकारी दिनुभयो ।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालमा पानीको सतह कम भएपछि केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याउने तयारी भइरहेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले चार इञ्चको एक सय ५० मिटर पाइप उपलब्ध गराउने विषयमा सहमति भइसकेको उहाँको भनाइ छ । “अहिले ताल सरसफाइ चलिरहेकै छ, टिकट काउन्टर पनि बनाउनुपर्नेछ”, उहाँले भन्नुभयो । कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चड्न रु दुई सय ५० तिर्नुपर्नेछ । उद्घाटन अवसरमा एक महिनाका लागि रु दुई सय निर्धारण गरिएको छ । उक्त शुल्कमा बुलबुले ताल चार पटक परिक्रमा गर्न पाइनेछ ।

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान गरिने

महोत्तरी, १४ वैशाखस् महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ । आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने सामाजिक अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य सेवाप्रदायक, स्थानीय तह, प्रशासन र सामाजिक सङ्घ संस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो । महोत्तरी हात्तीपाइले रोग प्रभावित जिल्ला भएकाले रोग निवारणका लागि सामूहिकरूपमा अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधि खुवाउने तरिकाबारे अभिमुखिकरण गरिसकिएको गुप्ताले बताउनुभयो । “यसपालि औषधि सेवनमा एकजना पनि नछुटुन् भन्ने ध्येयका साथ योजना बनाइएको छ । स्वास्थ्यकर्मीले घरघरमा पुगेर औषधि खुवाउनेछन् । यस अभियानमा सहयोगका लागि सबैलाई आग्रह छ” गुप्ता भन्नुभयो ।

अभियानको क्रममा दुई वर्ष उमेर पुगेका सबैलाई उचाइमापन गरी औषधिको मात्रा दिइने छ । त्यसबाहेक दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डाइलासिस गर्नुपर्ने व्यक्तिलाई औषधि खुवाइने छैन । यस अभियानअन्तर्गत जिल्लाका सात लाख १६ हजार दुई सय ६४ जनालाई औषधि खुवाइने कार्यालयको तथ्याङ्क छ । मधेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहट गरी चार जिल्लामा हात्तीपाइले रोगविरुको औषधि खुवाइने छ । –

विरोध प्रदर्शन ’लोकतन्त्र’ को पहिचान भएको ब्लिन्केनको भनाइ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त राज्य अमेरिकामा भइरहेको विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । प्यालेस्टिनी लडाकू हमासमाथिको ‘मौनता’को आलोचना गरेका छन् ।

हमाससँग इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले संयुक्त राज्य अमेरिकाभरका विश्वविद्यालयहरूमा ठूलो मात्रामा गिरफ्तारी गरेको छ ।प्रदर्शनलाई नियन्त्रणमा लिन अमेरिकी प्रहरीले कतिपय स्थानमा अश्रुग्यास र ‘टेजर’को प्रयोग गरेको छ ।

उच्च पदस्थ अधिकारीहरूसँगको बैठकपछि बेइजिङमा बोल्दै ब्लिन्केनले भन्नुभयो, “यस्ता प्रदर्शनहरू ‘हाम्रो लोकतन्त्रको पहिचान’ हुन् ।” “हाम्रा नागरिकले कुनै पनि बेला आफ्ना विचार, चिन्ता, आक्रोश प्रकट गर्छन्,” ब्लिन्केनले चीन भ्रमणका क्रममा बेइजिङमा पत्रकारसँगको कुराकानीमा भन्नुभयाृ ।

उहाँले भन्नुभयो, “मलाई लाग्छ यसले देशको शक्तिलाई प्रतिबिम्बित गर्छ ।”प्रदर्शनकारीले अक्टोबर ७ मा इजरायलमाथि अभूतपूर्व आक्रमण गर्ने हमासको निन्दा नगरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले यसअघि पनि भनिसकेको छु, यदि हमासले आफ्ना हतियारहरूलाई प्रयोग गर्न रोकेमा वा सबै नागरिक सरह बसेमा वा बन्धकहरूलाई मुक्त गरेको भए युद्ध महिनौं अघि नै रोकिन सक्थ्यो ।”“निश्चितरूपमा उनीहरूले त्यसो नगर्ने निर्णय गरेका छन्,” उहाँले भन्नुभयो ।

आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न सभापति देउवाको निर्देशन

काठमाडौँ, १४ वैशाखः नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको हो ।

देशका विभिन्न जिल्लामा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु तथा सयौँ व्यक्ति घाइते, घर, खाद्यान्न, लत्ताकपडालगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौँ चौपायाको मरेकाप्रति पनि सभापति देउवाले दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले आगलागीका कारण आफ्नो घरबाससहित धनसम्पत्ति गुमाउनुभएका परिवारजनप्रति पार्टी र व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।
“आगलागीमा परी जीवन गुमाउनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दुछु । साथै, घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, विज्ञप्तीमा भनिएको छ ।

सभापति देउवाले आगलागीका कारण जलेर घाइते भएकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रवन्ध गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।

युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कश्यपद्वारा अर्थमन्त्री पुनसँग भेटवार्ता

काठमाडौँ, १४ वैशाखः अमेरिकी व्यवसायीहरुको संस्था युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अतुल केशपले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ ।यहि वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर नेपाल आउनुभएका केशपले आज अर्थ मन्त्रालयमा मन्त्री पुनसँग भेट गर्नुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष केशपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको र सूचना प्रविधि क्षेत्र तथा अन्तर्राष्ट्रियस्तरको फनपार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उहाँको भनाइ छ ।

“कोकाकोलाले धेरै ठूलो स्तरमा लगानी बिस्तार गर्दैछ । अन्तर्राष्ट्रिय स्तरको फनपार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न अमेरिकी लगानीकर्ता इच्छुक छन्”, वरिष्ठ उपाध्यक्ष केशपले भन्नुभयो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनाउनेमा अमेरिकी लगानीकर्ता आशावादी रहेको विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

भेटमा अर्थमन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि विदेशी लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने नीति लिएको उहाँको भनाइ छ ।

नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको अर्थमन्त्री पुनको भनाइ थियो । लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका नौ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याउन सिफारिस गरेको बताउनुभयो ।

“हामीले अध्यादेशमार्फत् हालसालै मात्र नौ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं । फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा यी कानुनमा थप सुधार गर्दै जाने सोचेका छौं”, अर्थमन्त्री पुनले भन्नुभयो ।

तनहुँका चार पालिकाको निर्णय : सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

दमौली (तनहुँ), १४ वैशाख ः तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरी कार्यान्वयन गर्न थालेका छन् । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, व्यास र शुक्लागण्डकी नगरपालिकाले सरकारी सेवा सुविधा प्राप्त गर्ने हरेकले छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय गरेको हो ।

आँबुखैरेनीले अघिल्लो शैक्षिक सत्र बाटै यो निर्णय गरी कार्यान्वयन गरिरहेको छ भने बाँकी तीन पालिकाले यस आर्थिक वर्षबाट उक्त निर्णय लागू गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले छोरा र भतिजलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुभएको छ । उपप्रमुख विकले छोरा सुप्रिम विकलाई खैरेनीटारस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना गराउनुभएको छ ।

उपप्रमुख विकले भन्नुभयो, “निर्णय गरेर मात्र भएन यसको सही कार्यान्वयन हुनुपर्छ, नगरपालिकाको निर्णय कार्यान्वयन गर्न अरुलाई दबाब होस् भनेर मैले यो निर्णय कार्यान्वयन आएको हो ।”नगरपालिकाले शैक्षिक वर्ष २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रुपमा घोषणा गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ बाट आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो ।

त्यस्तै सञ्चालित कक्षा, विद्यार्थी सङ्ख्या, विषयगत दरबन्दीको उपलब्धता तथा भौगोलिक अवस्थाका आधारमा विद्यालयलाई शैक्षिक सत्र २०८१ बाट लागू हुने गरी समायोजन तथा एकीकरण गर्ने र शिक्षक दरबन्दी मिलानलाई कार्यान्वयनमा ल्याउने निर्णय गरिएको उहाँको भनाइ छ ।

सदरमुकामस्थित व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने सङ्कल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यो निर्णय गरिएको प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । सोही निर्णय कार्यान्वयन गर्दै नगरप्रमुख न्यौपानेले नाति नवनीत न्यौपानेलाई सदरमुकामै सत्यवती माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना गराउनुभएको छ । बन्दीपुर गाउँपालिकाले यसै शैक्षिक सत्र देखि जनप्रतिनिधि, शिक्षक कर्मचारी र सार्वजनिक पद धारणा गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीहरूले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीहरूलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउने निर्णय भएकाले सो निर्णय कार्यान्वयन गराउन अपिल गरेको छ ।

सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।संस्थागत विद्यालयहरू मात्रै गुणस्तरीय हुन्छन् र सामुदायिक विद्यालयहरू राम्रा हुँदैनन् भन्ने भ्रमलाई चिर्नका लागि यो निर्णय गरिएको उहाँको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका ६ वटा वडामा ३१ वटा सामुदायिक विद्यालयहरू रहेका छन्। ती विद्यालयहरूमा करिब दुई हजार एक सय विद्यार्थीहरू अध्ययनरत छन् । यस्तै गाउँपालिकाभित्र करिब दुई हजार विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् । आँबुखैरेनी गाउँपालिकाको उक्त निर्णय भने गत वर्षदेखि नै कार्यान्वयनमा आइसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, विभिन्न वडाका अध्यक्ष एवं कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाइरहनुभएको छ ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरुले समेत साथ दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो उहाँले भन्नुभयो, “जनप्रतिनिधिले अघिल्लो शैक्षिक सत्र मै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन् । शिक्षकहरुले पनि यो कदमलाई साथ दिनुभएको छ । यो ऐतिहासिक काम हो ।”

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

‘पूर्वमुख्यसचिव शाक्य बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो’

काठमाडौँ, १४ वैशाख: नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव स्वर्गीय तीर्थमान शाक्यको बहुआयामिक ब्यक्तित्वबारे आज यहाँ चर्चा गरिएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरुले कानुन मम्यौदा, सार्वजनिक प्रशासन, सवैधानिक अङ्ग र समाजसेवामा उहाँले पुर्‍याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो ।

उहाँको यही वैशाख ६ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लोक सेवा आयोगको पूर्वअध्यक्ष तथा रोटरी क्लब नेपालको डिष्ट्रिक गभर्नरसमेत हुनुहुन्थ्यो । सो अवसरमा सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनमा रुपान्तरण र कानुनी शरीर विज्ञानको विशेषज्ञ एवं खम्बका रुपमा स्व शाक्यको योदानलाई स्मरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको कानुन तर्जूमाको अधिकारिक व्यक्तिका रुपमा रहनुभएका शाक्य समाजसेवा, कानुन, सार्वजनिक प्रशासन र संवैधानिक अङ्गलाई नेतृत्व प्रदान गर्ने बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।”

सर्वाेच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले कानुन मस्यौदा निर्माणमा निपूर्ण शाक्य अदालतको फैसलामा गुणस्तरता कायम गर्न तथा न्यायनिरुपणलाई कसरी शीघ्रता गर्न सकिन्छ भन्नेमा सदासर्वदा आफूलाई राय सुझाव प्रदान गर्दै आएको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो, “सकारात्मक सोच, स्पष्ट वक्ता, तथस्थता र निष्पक्षताका पुजारी पूर्वमुख्यसचिव शाक्य नेपालको कानुनी क्षेत्र र सार्वजनिक प्रशासनका क्षेत्रमा विज्ञताको प्रतिमूर्तिका रुपमा रहनुभएको थियो ।”

पूर्वमन्त्री माधव पौडेलले इजलास सहायकदेखि मुख्यसचिवसम्मको जिम्मेदारीमा रही स्व शाक्यले पेशाप्रति निष्ठाको प्रतीकका रुपमा आफूलाई स्थापित गराउन सफल हुनुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरल, सालिन र स्पष्ट व्यक्तारुपमा रहनुभएका पूर्वमुख्य सचिव शाक्य कानुनको गुणस्तरीय मस्यौदा निर्माणका माध्यमद्वारा मुलुकलाई ठूलो गुनलगाउनुभएको छ ।” अर्का पूर्वमन्त्री अग्निप्रसाद खरेलले विधि र लोकतन्त्र बुझेका शाक्य पञ्चायतदेखि गणतन्त्रसम्म बनेका संविधान र कानुन मस्यौदाका ज्ञाता मात्र नभई निष्ठा, इमान र देशभक्त रहनुभएको बताउनुभयो । ललितपुर महागरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्व शाक्यले गर्न सक्ने विषयवस्तु मात्र बोल्न र पोखरी, पार्टी, पौवा जस्ता सम्पदाको संरक्षण गर्न दिएको सल्लाहलाई आफूले सधै शिरोधार्य गर्दै आएको बताउनुभयो ।

सो अवसरमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमले सार्वजनिक प्रशासन र संवैधानिक कानूनको क्षेत्रमा लामो समयसम्म काम गर्दा कुनै प्रश्नचिन्हको घेरामा नपर्नुभएका अध्ययनशील, शालिन र शिल्पी हुनुहुन्थ्यो भन्नुभयो ।

स्व शाक्यका परिवार जनका अतिरिक्त श्रद्धाञ्जली सभामा सर्वाेच्च अदालतका पूर्वन्यायाधीशहरु, उच्च अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता, पूर्वमुख्य सचिव, सचिव तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थिति हुनुहुन्थ्यो ।

खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्न जरुरीः नेता महत

त्रिशूली (नुवाकोट), १४ वैशाखः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताउनुभएको हो ।

“आगामी आवको बजेट विनियोजनमा खेल क्षेत्रमा बजेटको आकार बढाउँछाँै भनेर पूर्वउद्घोष गरिसकेका थियौँ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार बजेटको सिलिङ पेस गर्न खेलकुद मन्त्रालयले कार्यदेश पाएको छ । यसबीचमा सरकार परिवर्तन भए पनि उक्त कार्यदेशको सम्बोधन हुनेछ भन्ने विश्वास छ ।”

खेल क्षेत्रमा बढाइने बजेटबाट भौतिक संरचनाको निर्माण, नयाँ जनशक्तिको उत्पादन र राष्ट्रिय एकतामा सहयोग पुग्ने हुदाँ त्यसको नतिजा चौतर्फी रुपमा सकारात्मक आउने प्रवक्ता महतको भनाइ छ ।

उहाँले खेलकुदका गतिविधि बढाउन, खेल क्षेत्रलाई प्राथमिकता दिन र खेलाडीलाई आर्थिक रुपमा मजबुद बनाउ थप नयाँ कार्यक्रम ल्याउन तीनै तहमा रहेका सरकारलाई आग्रह गर्नुभयो ।

भारत सरकारद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण, तीन करोड ६७ लाख आर्थिक सहयोग

काठमाडौँ, १४ वैशाख: ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको उद्घाटन गरिएको छ । भारत सरकारको रु तीन करोड ६७ लाख आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको आज खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । सो अवसरमा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

यस परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्गे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको जनाइएको छ ।

परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद् विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ८९ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा एक सय छ वटा परियोजना रहेका छन् जसमा नौ परियोजना चितवनमा छन् ।