`

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान गरिने

महोत्तरी, १४ वैशाखस् महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ । आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने सामाजिक अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य सेवाप्रदायक, स्थानीय तह, प्रशासन र सामाजिक सङ्घ संस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो । महोत्तरी हात्तीपाइले रोग प्रभावित जिल्ला भएकाले रोग निवारणका लागि सामूहिकरूपमा अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधि खुवाउने तरिकाबारे अभिमुखिकरण गरिसकिएको गुप्ताले बताउनुभयो । “यसपालि औषधि सेवनमा एकजना पनि नछुटुन् भन्ने ध्येयका साथ योजना बनाइएको छ । स्वास्थ्यकर्मीले घरघरमा पुगेर औषधि खुवाउनेछन् । यस अभियानमा सहयोगका लागि सबैलाई आग्रह छ” गुप्ता भन्नुभयो ।

अभियानको क्रममा दुई वर्ष उमेर पुगेका सबैलाई उचाइमापन गरी औषधिको मात्रा दिइने छ । त्यसबाहेक दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डाइलासिस गर्नुपर्ने व्यक्तिलाई औषधि खुवाइने छैन । यस अभियानअन्तर्गत जिल्लाका सात लाख १६ हजार दुई सय ६४ जनालाई औषधि खुवाइने कार्यालयको तथ्याङ्क छ । मधेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहट गरी चार जिल्लामा हात्तीपाइले रोगविरुको औषधि खुवाइने छ । –

विरोध प्रदर्शन ’लोकतन्त्र’ को पहिचान भएको ब्लिन्केनको भनाइ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त राज्य अमेरिकामा भइरहेको विरोध प्रदर्शन लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । प्यालेस्टिनी लडाकू हमासमाथिको ‘मौनता’को आलोचना गरेका छन् ।

हमाससँग इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनलाई तितरबितर पार्न प्रहरीले संयुक्त राज्य अमेरिकाभरका विश्वविद्यालयहरूमा ठूलो मात्रामा गिरफ्तारी गरेको छ ।प्रदर्शनलाई नियन्त्रणमा लिन अमेरिकी प्रहरीले कतिपय स्थानमा अश्रुग्यास र ‘टेजर’को प्रयोग गरेको छ ।

उच्च पदस्थ अधिकारीहरूसँगको बैठकपछि बेइजिङमा बोल्दै ब्लिन्केनले भन्नुभयो, “यस्ता प्रदर्शनहरू ‘हाम्रो लोकतन्त्रको पहिचान’ हुन् ।” “हाम्रा नागरिकले कुनै पनि बेला आफ्ना विचार, चिन्ता, आक्रोश प्रकट गर्छन्,” ब्लिन्केनले चीन भ्रमणका क्रममा बेइजिङमा पत्रकारसँगको कुराकानीमा भन्नुभयाृ ।

उहाँले भन्नुभयो, “मलाई लाग्छ यसले देशको शक्तिलाई प्रतिबिम्बित गर्छ ।”प्रदर्शनकारीले अक्टोबर ७ मा इजरायलमाथि अभूतपूर्व आक्रमण गर्ने हमासको निन्दा नगरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले यसअघि पनि भनिसकेको छु, यदि हमासले आफ्ना हतियारहरूलाई प्रयोग गर्न रोकेमा वा सबै नागरिक सरह बसेमा वा बन्धकहरूलाई मुक्त गरेको भए युद्ध महिनौं अघि नै रोकिन सक्थ्यो ।”“निश्चितरूपमा उनीहरूले त्यसो नगर्ने निर्णय गरेका छन्,” उहाँले भन्नुभयो ।

आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न सभापति देउवाको निर्देशन

काठमाडौँ, १४ वैशाखः नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको हो ।

देशका विभिन्न जिल्लामा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु तथा सयौँ व्यक्ति घाइते, घर, खाद्यान्न, लत्ताकपडालगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौँ चौपायाको मरेकाप्रति पनि सभापति देउवाले दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले आगलागीका कारण आफ्नो घरबाससहित धनसम्पत्ति गुमाउनुभएका परिवारजनप्रति पार्टी र व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।
“आगलागीमा परी जीवन गुमाउनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दुछु । साथै, घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, विज्ञप्तीमा भनिएको छ ।

सभापति देउवाले आगलागीका कारण जलेर घाइते भएकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रवन्ध गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।

युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कश्यपद्वारा अर्थमन्त्री पुनसँग भेटवार्ता

काठमाडौँ, १४ वैशाखः अमेरिकी व्यवसायीहरुको संस्था युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अतुल केशपले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ ।यहि वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर नेपाल आउनुभएका केशपले आज अर्थ मन्त्रालयमा मन्त्री पुनसँग भेट गर्नुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष केशपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको र सूचना प्रविधि क्षेत्र तथा अन्तर्राष्ट्रियस्तरको फनपार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उहाँको भनाइ छ ।

“कोकाकोलाले धेरै ठूलो स्तरमा लगानी बिस्तार गर्दैछ । अन्तर्राष्ट्रिय स्तरको फनपार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न अमेरिकी लगानीकर्ता इच्छुक छन्”, वरिष्ठ उपाध्यक्ष केशपले भन्नुभयो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनाउनेमा अमेरिकी लगानीकर्ता आशावादी रहेको विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

भेटमा अर्थमन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि विदेशी लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने नीति लिएको उहाँको भनाइ छ ।

नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको अर्थमन्त्री पुनको भनाइ थियो । लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका नौ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याउन सिफारिस गरेको बताउनुभयो ।

“हामीले अध्यादेशमार्फत् हालसालै मात्र नौ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं । फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा यी कानुनमा थप सुधार गर्दै जाने सोचेका छौं”, अर्थमन्त्री पुनले भन्नुभयो ।

तनहुँका चार पालिकाको निर्णय : सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

दमौली (तनहुँ), १४ वैशाख ः तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरी कार्यान्वयन गर्न थालेका छन् । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, व्यास र शुक्लागण्डकी नगरपालिकाले सरकारी सेवा सुविधा प्राप्त गर्ने हरेकले छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय गरेको हो ।

आँबुखैरेनीले अघिल्लो शैक्षिक सत्र बाटै यो निर्णय गरी कार्यान्वयन गरिरहेको छ भने बाँकी तीन पालिकाले यस आर्थिक वर्षबाट उक्त निर्णय लागू गर्न थालेको हो । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले छोरा र भतिजलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुभएको छ । उपप्रमुख विकले छोरा सुप्रिम विकलाई खैरेनीटारस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना गराउनुभएको छ ।

उपप्रमुख विकले भन्नुभयो, “निर्णय गरेर मात्र भएन यसको सही कार्यान्वयन हुनुपर्छ, नगरपालिकाको निर्णय कार्यान्वयन गर्न अरुलाई दबाब होस् भनेर मैले यो निर्णय कार्यान्वयन आएको हो ।”नगरपालिकाले शैक्षिक वर्ष २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रुपमा घोषणा गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ बाट आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो ।

त्यस्तै सञ्चालित कक्षा, विद्यार्थी सङ्ख्या, विषयगत दरबन्दीको उपलब्धता तथा भौगोलिक अवस्थाका आधारमा विद्यालयलाई शैक्षिक सत्र २०८१ बाट लागू हुने गरी समायोजन तथा एकीकरण गर्ने र शिक्षक दरबन्दी मिलानलाई कार्यान्वयनमा ल्याउने निर्णय गरिएको उहाँको भनाइ छ ।

सदरमुकामस्थित व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउने सङ्कल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यो निर्णय गरिएको प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । सोही निर्णय कार्यान्वयन गर्दै नगरप्रमुख न्यौपानेले नाति नवनीत न्यौपानेलाई सदरमुकामै सत्यवती माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना गराउनुभएको छ । बन्दीपुर गाउँपालिकाले यसै शैक्षिक सत्र देखि जनप्रतिनिधि, शिक्षक कर्मचारी र सार्वजनिक पद धारणा गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नियम लागू गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीहरूले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीहरूलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउने निर्णय भएकाले सो निर्णय कार्यान्वयन गराउन अपिल गरेको छ ।

सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।संस्थागत विद्यालयहरू मात्रै गुणस्तरीय हुन्छन् र सामुदायिक विद्यालयहरू राम्रा हुँदैनन् भन्ने भ्रमलाई चिर्नका लागि यो निर्णय गरिएको उहाँको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका ६ वटा वडामा ३१ वटा सामुदायिक विद्यालयहरू रहेका छन्। ती विद्यालयहरूमा करिब दुई हजार एक सय विद्यार्थीहरू अध्ययनरत छन् । यस्तै गाउँपालिकाभित्र करिब दुई हजार विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् । आँबुखैरेनी गाउँपालिकाको उक्त निर्णय भने गत वर्षदेखि नै कार्यान्वयनमा आइसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, विभिन्न वडाका अध्यक्ष एवं कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाइरहनुभएको छ ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरुले समेत साथ दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो उहाँले भन्नुभयो, “जनप्रतिनिधिले अघिल्लो शैक्षिक सत्र मै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन् । शिक्षकहरुले पनि यो कदमलाई साथ दिनुभएको छ । यो ऐतिहासिक काम हो ।”

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

‘पूर्वमुख्यसचिव शाक्य बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो’

काठमाडौँ, १४ वैशाख: नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव स्वर्गीय तीर्थमान शाक्यको बहुआयामिक ब्यक्तित्वबारे आज यहाँ चर्चा गरिएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरुले कानुन मम्यौदा, सार्वजनिक प्रशासन, सवैधानिक अङ्ग र समाजसेवामा उहाँले पुर्‍याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो ।

उहाँको यही वैशाख ६ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लोक सेवा आयोगको पूर्वअध्यक्ष तथा रोटरी क्लब नेपालको डिष्ट्रिक गभर्नरसमेत हुनुहुन्थ्यो । सो अवसरमा सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनमा रुपान्तरण र कानुनी शरीर विज्ञानको विशेषज्ञ एवं खम्बका रुपमा स्व शाक्यको योदानलाई स्मरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको कानुन तर्जूमाको अधिकारिक व्यक्तिका रुपमा रहनुभएका शाक्य समाजसेवा, कानुन, सार्वजनिक प्रशासन र संवैधानिक अङ्गलाई नेतृत्व प्रदान गर्ने बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।”

सर्वाेच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले कानुन मस्यौदा निर्माणमा निपूर्ण शाक्य अदालतको फैसलामा गुणस्तरता कायम गर्न तथा न्यायनिरुपणलाई कसरी शीघ्रता गर्न सकिन्छ भन्नेमा सदासर्वदा आफूलाई राय सुझाव प्रदान गर्दै आएको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो, “सकारात्मक सोच, स्पष्ट वक्ता, तथस्थता र निष्पक्षताका पुजारी पूर्वमुख्यसचिव शाक्य नेपालको कानुनी क्षेत्र र सार्वजनिक प्रशासनका क्षेत्रमा विज्ञताको प्रतिमूर्तिका रुपमा रहनुभएको थियो ।”

पूर्वमन्त्री माधव पौडेलले इजलास सहायकदेखि मुख्यसचिवसम्मको जिम्मेदारीमा रही स्व शाक्यले पेशाप्रति निष्ठाको प्रतीकका रुपमा आफूलाई स्थापित गराउन सफल हुनुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरल, सालिन र स्पष्ट व्यक्तारुपमा रहनुभएका पूर्वमुख्य सचिव शाक्य कानुनको गुणस्तरीय मस्यौदा निर्माणका माध्यमद्वारा मुलुकलाई ठूलो गुनलगाउनुभएको छ ।” अर्का पूर्वमन्त्री अग्निप्रसाद खरेलले विधि र लोकतन्त्र बुझेका शाक्य पञ्चायतदेखि गणतन्त्रसम्म बनेका संविधान र कानुन मस्यौदाका ज्ञाता मात्र नभई निष्ठा, इमान र देशभक्त रहनुभएको बताउनुभयो । ललितपुर महागरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्व शाक्यले गर्न सक्ने विषयवस्तु मात्र बोल्न र पोखरी, पार्टी, पौवा जस्ता सम्पदाको संरक्षण गर्न दिएको सल्लाहलाई आफूले सधै शिरोधार्य गर्दै आएको बताउनुभयो ।

सो अवसरमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमले सार्वजनिक प्रशासन र संवैधानिक कानूनको क्षेत्रमा लामो समयसम्म काम गर्दा कुनै प्रश्नचिन्हको घेरामा नपर्नुभएका अध्ययनशील, शालिन र शिल्पी हुनुहुन्थ्यो भन्नुभयो ।

स्व शाक्यका परिवार जनका अतिरिक्त श्रद्धाञ्जली सभामा सर्वाेच्च अदालतका पूर्वन्यायाधीशहरु, उच्च अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्ता, पूर्वमुख्य सचिव, सचिव तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थिति हुनुहुन्थ्यो ।

खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्न जरुरीः नेता महत

त्रिशूली (नुवाकोट), १४ वैशाखः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै आएकाले तीन तहकै सरकारबाट आगामी दिनमा बजेटको आकार दोब्बरले बढाउँदै लैजानुपर्ने बताउनुभएको हो ।

“आगामी आवको बजेट विनियोजनमा खेल क्षेत्रमा बजेटको आकार बढाउँछाँै भनेर पूर्वउद्घोष गरिसकेका थियौँ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार बजेटको सिलिङ पेस गर्न खेलकुद मन्त्रालयले कार्यदेश पाएको छ । यसबीचमा सरकार परिवर्तन भए पनि उक्त कार्यदेशको सम्बोधन हुनेछ भन्ने विश्वास छ ।”

खेल क्षेत्रमा बढाइने बजेटबाट भौतिक संरचनाको निर्माण, नयाँ जनशक्तिको उत्पादन र राष्ट्रिय एकतामा सहयोग पुग्ने हुदाँ त्यसको नतिजा चौतर्फी रुपमा सकारात्मक आउने प्रवक्ता महतको भनाइ छ ।

उहाँले खेलकुदका गतिविधि बढाउन, खेल क्षेत्रलाई प्राथमिकता दिन र खेलाडीलाई आर्थिक रुपमा मजबुद बनाउ थप नयाँ कार्यक्रम ल्याउन तीनै तहमा रहेका सरकारलाई आग्रह गर्नुभयो ।

भारत सरकारद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण, तीन करोड ६७ लाख आर्थिक सहयोग

काठमाडौँ, १४ वैशाख: ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको उद्घाटन गरिएको छ । भारत सरकारको रु तीन करोड ६७ लाख आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको आज खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । सो अवसरमा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

यस परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्गे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको जनाइएको छ ।

परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद् विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ८९ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा एक सय छ वटा परियोजना रहेका छन् जसमा नौ परियोजना चितवनमा छन् ।

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताउनुभयो । समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो औँल्याउँदै उहाँले समाजमा विधमान सबै प्रकारका भेद्भावका अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र, मुलुक र जनताका एजेण्डालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समुन्नत एवं समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्न कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले सङ्घका विभिन्न प्रकाशन विमोचन गर्नुभएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

सुन्दरहरैँचा (मोरङ) १४ वैशाखः पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।

आज यहाँ आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरियो ।

विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ छ सय ३४, स्नाकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरियो । साथै इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ आठ सय ९२, स्नातकोत्तरतर्फ एक सय आठ जनालाई दीक्षित गरियो ।

चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ दुई हजार चार सय ६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा दुई हजार चार सय ७८ जनालाई उपाधि प्रदान गरियो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्कृष्ट विद्यार्थीहरुलाई उपाधि प्रदान गर्नुभयो । उहाँले विश्वविद्यालयको दीक्षान्त समारोहमा आफू तेस्रो पटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको व्यावसायिक जीवनमा लागि उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयको हित र उन्नतिका लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ, आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि थप प्रेरणा प्राप्त होस् ।” प्रधानमन्त्री दाहालले आजै एमविविएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि नवनिर्मित भवन पनि उद्घाटन गर्नुभयो ।

समारोहमा प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद् तथा पूर्वराजदूत केदारभक्त माथेमाबाट दीक्षान्त अभिभाषण भएको थियो ।पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति डा शैलेषमणि पोखरेलले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको बताउनुभयो ।

‘पूर्वाञ्चल विश्वविद्यालय समुदाय’मा भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको उहाँले उल्लेख गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा विसं २०५२ मा विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञानलगायत कोर्सको अध्यापन भइरहेको छ ।

पहिराको त्रासले भिमादका ६० घर विस्थापित

तनहुँ, १४ वैशाख : “पहिराले शौचालय र करेसाबारी मात्रै हैन घर पनि बगाउनै आँटेको छ”, भिमाद–६ भिमाद बजारका हरिप्रसाद पौडेलले दुखेसो गर्नुभयो, “पहिरामा परिएला कि भन्ने जोखिमले गर्दा पानी पर्दा रातभरि जागा बस्नुपर्ने बाध्यता छ ।’’

उहाँले भिमाद बजारका करिब २० घरका बासिन्दाको घर र करेसाबारी पहिराले बगाएपछि अन्यत्र बसाइँ सर्नुपरेको र करिब ४० घरका बासिन्दा पहिराका त्रासमा रहनुपरेकोे बताउनुभयो । घरतल सेती किरानामा बाढी आउँदा बलौटेमाटो रहेकाले पनि उक्त क्षेत्र पहिरामा परेको उहाँले बताउनुभयो । पौडेलले विसं २०५६ को बाढीले अधिकांश स्थानीयको शौचालय र करेसावारी बगाएको, विसं २०५८ को पहिराले घर पछाडिको भान्छाकोठा र विसं २०७२ को भूकम्पले घर पछाडिको गाह्रो नै बगाएपछि घर नै बन्द गरेर विस्थापित हुनुपरेको पौडेलले बताउनुभयो ।

अन्य मानिसले मूल ढोका लगाएर अन्यत्र गए पनि आफू भने दिनमा भाँडावर्तनको पसल सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । “पहिलोले बाँकी छाडेको यो एउटा कोठा पनि त्यसै बन्द गर्न मनले मानेन”, पौडेलले भन्नुभयो, “पानी पर्दा भने पहिराको त्रासले पसल नै नखोली बन्द गर्दै आएको छु ।”

उक्त क्षेत्रमा पहिराको त्रासले करिब तीन सय मिटर क्षेत्रका मानिस घरमा ढोका लगाएर अन्यत्र विस्थापित भएका छन् । स्थानीय एकबहादुर बानियाँ, सनत श्रेष्ठ, केशव भण्डारीलगायतले पहिराको त्रासले घर नै छाडेर अन्यत्र बसाइँ सरेको स्थानीय सङ्गीता भण्डारीले जानकारी दिनुभयो । घरपछाडिको भाग पहिराले बगाए पनि आफूले पानी नपर्दाको बखत होटल व्यवसाय सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

“पहिरामा परियो भने त सबै सकिइहाल्यो नि । त्यसैले पानी पर्दा पसल सञ्चालन गर्ने कुरा भएन”, भण्डारीले भन्नुभयो, “अन्य बेलामा पनि पहिरो जाला कि भन्ने चिन्ताले सताइरहन्छ ।” उक्त क्षेत्रबाट करिब एक सय मिटर तल सिधा पहिरो गएकाले पनि नयाँ आउने मानिस तर्सिने गरेको भण्डारीको भनाइ छ । उक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि तटबन्धनको काम भइरहे पनि त्यो प्रयास भने सुस्त गतिमा भएकामा आफूहरुको गुनासो रहेको भण्डारीले बताउनुभयो । “पहिराबाट यो क्षेत्रलाई बचाउने हो भने चाँडो गतिमा तटबन्धन हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “मानिसको जीउधनको सुरक्षा गर्नेजस्तो कार्य प्राथमिकतामा नपर्नु दुःखको कुरा हो ।”

उक्त क्षेत्र पहिराको उच्च जोखिममा रहेकाले तत्काल तटबन्धन गरी नागरिकको जीउधन बचाउनेतर्फ सङ्घीय सरकार गम्भीर हुनुपर्ने भिमाद नगरपालिका–६ वडाध्यक्ष श्यामसुन्दर जोशीले बताउनुभयो । केही वर्षपहिले किरण गुरुङ मन्त्री हुँदा रु १६ करोडको आयोजना विस्तृत प्रतिवेदन तयार गरी पञ्चवर्षीय योजनाअन्तर्गत कार्यक्रम विनियोजन हुने भनिए पनि सम्बोधन नभएकामा दुःख लागेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०८०÷८१ मा गण्डकी प्रदेशको रु ५० लाखको तटबन्धन गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको वडाध्यक्ष जोशीले बताउनुभयो । “पहिरो नियन्त्रणका लागि प्रतिवेदन अनुसारको कार्यक्रम सङ्घीय सरकारबाट नै बजेट विनियोजन हुन जरुरी छ”, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारबाट रु ५० लाख भए पनि विनियोजन हुनु सकारात्मक पक्ष हो ।’’ उक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि आफूहरुले प्रदेश र सङ्घीय सरकारलाई पटकपटक अनुरोध गर्दै आएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो ।

चीन भ्रमण गर्ने योजनामा पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौँ कार्यकाल सुरु भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

पुटिनले बिहीबार रुसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कङ्गे्रसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गर्नुभयो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समयपछि पुटिनको यस्तो घोषणा आएको हो ।

चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरुमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थायो । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो । लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।

त्यसबेलादेखि चीन र रुसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।

युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रुसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ । दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरुद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् ।

अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रुसी तेल आयात गरिरहेको छ ।पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गर्नुभएको थियो ।

पाकिस्तान र इरानबाट चार दिनमा करिब छ हजार अफगानी शरणार्थी स्वदेश फर्किए

छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगान ी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ ।

शरणार्थीहरु पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।

अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।

अफगानी सरकारी तथ्याङ्क अनुसार २५ लाखभन्दा बढी अफगान ी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्तिनै सङ्ख्यामा इरानमा रहेका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान ी आप्रवासीहरुलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।

दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

काठमाडौँ, १४ वैशाखः क्यानडा पठाइदिन्छु भनि दुवई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरुलाई क्यानडा पठाइसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पु¥याई बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए ।

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रवक्ता ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हवारीले क्यानडा जानका लागि रु ३० लाख लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा रु ११ लाख २८ हजार रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।”

पक्राउ परेका हवारीउपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालको भनाइ छ ।

किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामीले के खाने !

बेदकोट (कञ्चनपुर), १४ वैशाख : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ।

महिनौको मिहेनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले निकै चिन्तित हुनुहुन्छ ।“महिनौ मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन । आगोले क्षणभरमै सबै खरानी बनायो,” मगर भन्नुहुन्छ, “घरभित्रको अन्नपात पनि सकियो, भित्र््याउनै आँटेकोगहुँबालीपनि खरानी भएपछि अब के खानुर कसरी बाँच्नु !”

मगर परिवारले १२ कठ्ठा जमिनमा गहुँबाली उब्जाएको थियो । त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो । विगतका वर्षहरूभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवारले तुलनात्मकरूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो ।उहाँ भन्नुहुन्छ,“यो वर्ष तीन÷चार पटक सिँचाइ ग¥यौँ । उन्नत जातको बीउ र पर्याप्त मलखादको प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँमात्रै होइन हाम्रो आशा पनि खरानी बनाइदियो ।”

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो । यतिबेला कुमाललाई सात जनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैँसीलाई वर्षभरी कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।
“गहुँ काटेर मुठा बाँधिसकेका थियौँ । आगोले पूरै जलेर राख भयो । अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन,” उहाँ भन्नुहुन्छ, “घरभित्रको अन्न पहिल्यै खाएर सकिसक्यो । अब खानलाई अन्न छैन, कसरी गुजारा गर्ने होला!” कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहीँबाट आएको पैसाले घरखर्च चलाउने गरेको थियो ।
“विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरीलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो । यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन”, उहाँले दुःखेसो पोख्नुभयो ।
गत बिहीबार रुखको हागा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीयबासीको भनाइ छ । आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो ।
पसिना चुहाउँदै महिनौ मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ सङ्कलन गरिरहेका छन् ।तीन विघा जमिनको गहुँबाली जलेरपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर हुन्छ,“बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौँ । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकामा यो पटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ ।”

आगलागीबाट जोगिएको एक विघा जमिनबाट मात्रै यो वर्ष३० क्विन्टल गहुँ उत्पादन भएको उहाँको भनाइ छ । लालबहादुरले बाख्रा, भैँसी र बङ्गुरपालन पनि गर्नुभएको छ । तीन विघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैँसी र बङ्गुर पालनमा पनि धक्का लागेको उहाँको गुनासो छ ।

“गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन । चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो । दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो”, लालबहादुरको बुझाइ छ ।

बाली भित्र््याउने समयमा परेको विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन् । पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन् । दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्कालरु पाँच हजार वितरण गरेको छ ।

रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा राणाको जोड

पाटन (ललितपुर), १४ वैशाख : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उहाँले बालबालिकामा पोषणको धेरै ठूलो महत्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरुमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेेमा जोड दिनुभएको हो ।

डा राणाले आगामी बजेटमा पनि पोषणलाई प्राथमिकतामा राखेर बजेट बढाउनुपर्ने माग गर्नुभयोे । उहाँले भन्नुभयो, “पोषण सबैका लागि महत्वपूर्ण छ अझ बालबालिकामा यसको झन ठूलो महत्व छ । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणमा ध्यान दिएनौँ भने हाम्रो देशका नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको स्वास्थ्यमा यसले निकै असर गर्न सक्छ । उनीहरुको भविष्य कस्तो हुन्छ भन्ने कुरा पनि पोषणका कारण हुनसक्छ । त्यसैले राज्यले नै यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

उहाँले पोषणजस्तो महत्वपूर्ण एवं बालबालिकाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई राज्यले प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नै नीतिगत व्यवस्था र पहल हुनु जरुरी रहेको बताउँदै यस विषयमा सरकारको विशेष रणनीति हुनुपर्नेमा जोड दिनुभयोे ।

रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा राणाको जोड थियो । अहिले विभिन्न रणनीति रहेको भए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता र प्रभावकारिता नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित रहेकाले यी दुवै क्षेत्रमा नेपाल सरकारले हेर्नुपर्यो, आवश्यकताअनुरुप नै बजेट हुनुप¥यो ।”

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण महिला विकास र एकता केन्द्रद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन अभियानसम्बन्धी सो राष्ट्रिय परामर्श कार्यशालामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय कार्यकारी निर्देशक रोजिलिन गावरिलले पोषणमैत्री स्थानीय शासनको उद्देश्य, कार्यक्रमको पृष्ठभूमिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले हाल यो कार्यक्रम छ वटा प्रदेशका १६ जिल्लाका ५० पालिकाभित्रका दुई सय ७५ वटा वडामा लागू भइरहेको जानकारी गराउनु भयो ।

ग्रामीण महिला विकास तथा एकता केन्द्रका राष्ट्रिय निर्देशक डा कृष्णकुमार श्रेष्ठले मानिसको सामाजिक व्यवहार परिवर्तन नगरी पोषणमा सुधार ल्याउन नसकिने धारणा राख्नुभयो ।

सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटेर के भने ?

काठमाडौँ, १४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।

आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताउनुभयो । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताउनुभएको थियो ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्णः मन्त्री भण्डारी

काठमाडौँ, १४ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले पुँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

हस्तकला क्षेत्र उद्योग व्यापार मात्र नभइ यो देशको संस्कृति र सम्पदाको प्रतिबिम्ब पनि भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रले रोजगारी सिर्जनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

मन्त्री भण्डारीले, “हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि नेपाल हस्तकला महासङ्घले तयार गरी मन्त्रालयमा बुझाएको हस्तकला विकास नीतिको पनि सुुक्ष्म अध्ययन गरी हामी त्यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।” उहाँले हस्तकलाको वस्तु तथा डिजाइन विकास, गुणस्तर प्रमाणिकरण, बजार विकास र व्यवसाय विकास जस्ता सेवा एकीकृत रुपमा व्यवसायीहरुलाई उपलब्ध गराउन सार्क हस्तकला विकास केन्द्र नेपाल सार्वजनिक निजी साझेदारी मोडलमा स्थापना गर्न मन्त्रालय क्रियाशिल रहेको जानकारी गराउनुभयो ।

त्रिपुरेश्वरमा सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको जानकारी गराउँदै उहाँले अब जति सक्दो चाँडो सोही भवनबाट हस्तकला विकास केन्द्र सञ्चालन गर्ने गरी कार्यविधि सरकारले स्वीकृत गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले उद्योग व्यवसायको समुचित प्रवर्द्धनका लागि उद्योग मन्त्रालयबाट तर्जुमा गरिएको नेपाल व्यापार एकीकृत रणनीतिले समेटेका हस्तकला वस्तुको प्रवर्द्धनमा मन्त्रालयले कुनै कसर बाँकी नराखी प्रवर्द्धनात्मक कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

त्रिशूली (नुवाकोट), १४ वैशाख ः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । यहाँको एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो । उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ ।

रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैनः मन्त्री शर्मा

काठमाडाँै, १४ वैशाख ः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज यहाँ आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्नुहँुदै उहाँले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिनुभयो ।

सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उहाँले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिनुभयो । सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धिहुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताउनुभयो ।

“डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छ”, मन्त्री शर्माले भन्नुभयो । मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्रयाउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उहाँले निजी क्षेत्रपनि उत्साहित भएर अघि आउनुपर्ने बताउनुभयो ।

“सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छ”, मन्त्री शर्माले भन्नुभयो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक समृद्धिमा योगदान दिँदै आएका निजी क्षेत्रलाई सरकारले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको विकाससँगै अनलाइन व्यापारको अभ्यास बढ्दै गएको अवस्थामा अन्तरदेशीय भुक्तानीलाई सहज बनाइनुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले लगानीमैत्री वातावरण बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान आर्थिक संरचनालाई परिवर्तन गरेर उच्च आर्थिक वृद्धिको योजना ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिनुभएको हो ।

ऊर्जा सुरुक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उहाँहरुको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैबाट तयार हुनुपर्नेमा जोड दिनुभयो ।

“सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदैछ”, उहाँले भन्नुभयो, “बेलायतको एक अध्ययनले नेपालमा अन्य मुलुकको तुलनामा हाइड्रोजन सस्तोमा उत्पादन गर्ने देखिएको छ । सौर्य, वायू र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।”

काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनबाट गाडी चलाएको र चुल्हो बालेर साङ्केतिक रहेको भन्दै उहाँले सरकार र निजी क्षेत्र यसमा आउनुपर्नेमा आवश्यकता औँल्याउनुभयो । “अब सरकार र अन्य क्षेत्रले यसमा लगानी गर्नुपर्छ । एमोनिया भविष्यको ऊर्जा भएर आउँदैछ । यो एक ट्रिलियन डलरको बजार हुँदैछ । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा यसको अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो ।

काठमाडौं विश्वविद्यालयले बुद्धभूमि हाइड्रोपावरसँग हाइड्रोजन उत्पादनमा सहकार्य गरेको पनि उहाँले जानकार दिनुभयो । सरकारले हाइड्रोजन नीति बनाए पनि ऐन, नियम, कार्यविधि बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हाइड्रोजनसम्बन्धी कार्यविधि बनाएर निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न सकिन्छ । “नेपाल हाइड्रोजनका लागि ‘हव’ बन्नसक्छ । यसका लागि तयार हुनुपर्छ ।” हाल विश्वमा एक सय ५० अर्ब डलरको हाइड्रोजनको बजार भएको भन्दै यहाँले सरकारले यससम्बन्धी आवश्यक ऐन र कार्यविधि बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०४५ सम्म सरकारले कार्बन उत्सर्जन शून्यमा झार्ने भनेका छ । यसलाई कसरी प्राप्त गर्ने भन्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।”

इप्पानका सदस्य कुवेशमणि नेपालले ‘सोलार पोटेन्सियल एण्ड इम्प्लिमेन्टिएसन अन मिक्स इनर्जी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हालसम्म परम्परागत ऊर्जा ६० प्रतिशत रहेको बताउनभयो । उहाँले घरायसी काममा मात्रै ६० प्रतिशत ऊर्जा खपत हुने गरेको भन्दै यसको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताउनुभयो ।

सरकारले २०७२ सालमा जलविद्युत्, सौर्य र वायू गरी १० हजार मेगावाट उत्पादनको लक्ष्य राखेकामा नौ वर्षमा जम्मा एक सय चार मेगावाट सौर्य ऊर्जा उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले सरकार सोलार उत्पादनमा जुन रुपमा जानुपर्ने हो त्यसमा नगएको पनि टिप्पणी गर्नुभयो । उहाँले सौर्य ऊर्जासम्बन्धी छुट्टै नीति आवश्यक भएको बताउनुभयो ।

“सोलार आयोजना बनाउन छुट्टै नीति छैन”, उहाँले भन्नुभयो, “ हालको विद्युत् विधेयकमा यस विषयमा निकै कम उल्लेख छ । यसका लागि छुट्टै मन्त्रालयको व्यवस्था हुनुपर्छ ।”

वैकल्पिक ऊर्जा प्रवद्र्धक कुशल गुरुङले अग्र्यानिक फोहोरलाई पोखरामा परीक्षण गरिरहेका बताउनुभयो । नेपालमा करिब ६० प्रतिशत कुहिने फोहोर निस्किने गरेको र त्यसको २० प्रतिशत मात्रै प्रयोग गर्न सके २५ लाख टन अग्र्यानिक मल उत्पादन गर्न सकिने गुरुङको भनाइ थियो ।

मुस्ताङमा एक मेगावाटको बिलेट लैजान सकिए एक हजार दुई सय मेगावाट सौर्य र नौ सय वायू ऊर्जा गरी दुई हजार एक सय मेगावाट ऊर्जा उत्पादनको सम्भावना अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो । सिम्पल इनर्जीका प्रमुख कार्यकारी निर्देशक अपार न्यौपाने उद्योगहरुका छानामा सोलार प्यानल राखेर उद्योगमा स्वच्छ ऊर्जा प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उप निर्देशक डा लक्ष्मण घिमिरेले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको ठाउँमा केन्द्रले ऊर्जा मीश्रणको काम सुरु गरेको जानकारी दिनुभयो । यस्तै उद्योगले सोलार राखेमा रु पाँच लाखसम्म सहुलियत दिने गरेको उहाँको भनाइ छ । विभिन्न माध्यम प्रयोग गरी १० लाख घरधुरीमा विद्युतीकरण गरेको घिमिरेले जानकारी दिनुभयो । दाउरा विस्थापनका लागि वायोग्यास प्रयोगलाई केन्द्रले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सीडीई लक्ष्मी झाले हाल नेपालको ऊर्जा जडित क्षमता तीन गिगावाट (तीन हजार मेगावाट) पुगेको, विद्युत् चुहावट घट्नेक्रममा रहेको र मन्त्रालयले तय गरेको १३ वटा सूचकको प्रगति राम्रो भएको बताउनुभयो । सरकारको नीतिले गर्दा वैकल्पिक ऊर्जाको विकास विस्तारै हुँदै गएको उहाँको भनाइ थियो । उहाँले ग्रीन हाइड्रोजनको नीति बनेको र यसको ऐनहरु बन्ने क्रममा रहेको बताउनुभयो ।

इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुँरागाईंले एकद्वार प्रणालीभन्दा पनि एक डेस्क स्थापना हुनुपर्नेमा जोड दिनुभयो । हाल लगानी बोर्डले विदेशी र ठूला लगनीकर्तालाई मात्रै समेटेको हुँदा यसका लागि सरकारले छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्नेे उहाँको भनाइ थियो ।

राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १४ वैशाखः टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । श्री अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुनुहुन्छ ।

राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालप्रति शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट टर्कीएका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीएका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो ।

राजदूत अधिकारीले नेपाल र टर्कीएबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताउनुभयो । साथै उहाँले टर्कीएसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

पाटन (ललितपुर), १४ वैशाखः खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाले उक्त संस्थालाई रु चार लाख ४३ हजार पाँच सयको चेक बिहीबार प्रदान गरेको हो । विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

“अपाङ्गता भएकाहरूको जीवन सहज बनाउन नसके हामीले भनेको ललितपुर महानगर ‘स्मार्ट’ सहर बन्दैन, त्यसैले हामी उहाँहरूसँगै छौँ । यो सुन्दरढोका साथीसेवाले अपाङ्गताको क्षेत्रमा उदाहरणीय काम गरेको छ । यस्तो संस्थासँग सहकार्य गर्दै अपाङ्गता भएकाहरूको मुहारमा खुसी ल्याउन हामी प्रतिबद्ध छौँे”, नगरप्रमुख महर्जनले भन्नुभयो ।

उहाँले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विनियोजन गरेको रकम तालिममा खर्च नगरी अपाङ्गता भएकाहरूका लागि ‘ह्वीलचियर’ खरिदमा खर्च गरिएको जानकारी दिनुभयो ।सुन्दर ढोका साथीसेवाका अध्यक्ष कोषविलास अधिकारीले प्राकृतिक खुट्टाविहीनलाई सहयोग गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । कृत्रिम खुट्टाका निम्ति सिफारिस भएका निशा बुढा र मोहन रोकाले प्राप्त सहयोगबाट आफूहरूलाई जीवन यापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

भक्तपुर, १४ वैशाखः देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।

बोर्डका अध्यक्ष डा शर्माले भन्नुभयो, “कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शान्तिपूर्ण रूपमा सुरु भएको छ । विद्यार्थी उत्साहका साथ परीक्षामा सहभागी भएको जानकारी पाएका छौँ । ”

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेकामा सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन भएका छन् । यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ ।

साढे १५ करोड लगानीमा मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

झापा, १४ वैशाखः मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् ।

मेचीनगरको समेत लगानी रहेको खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बनेका ती आयोजनामा रु १५ करोड ५७ लाख ३८ हजार छ सय ७७ खर्च भएको छ । काँकडभिट्टा खानेपानी आयोजनामार्फत मेचीनगर–४ बाहुनडाँगीमा निर्माण सम्पन्न भएको संरचना बिहीबारदेखि सञ्चालनमा आएको छ भने बाँकी दुईवटा आयोजना पनि शीघ्र सञ्चालन हुने मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले बताउनुभयो ।

अध्यक्ष पराजुलीका अनुसार बाहुनडाँगीमा रु छ करोड ३८ लाख चार सय १२, धुलाबारीमा रु चार करोड ८० लाख ७६ हजार दुई सय १० र चारआलीमा रु चार करोड ३८ लाख ४९ लाख ५५ को लागतमा आयोजना निर्माण गरिएको हो । आयोजनाका लागि बाहुनडाँगीमा स्थानीय अम्बिका कार्की र टेकबहादुर कार्कीले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उक्त जग्गा पर्याप्त नभएपछि थप दुई कठ्ठा खरिद गरेर ओभरहेड ट्याङ्की, फिल्टर, कार्यालयलगायत संरचना बनाइएको छ । बाहुनडाँगी खानेपानी आयोजनाबाट मेचीनगर नगरपालिकाका वडा नम्बर २, ३ र ४ का एक हजार नौ सय परिवारलाई स्वच्छ पेयजल प्राप्त हुनेछ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।

पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना समावेश गरिएका छन् ।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ । प्रत्यक्ष वैदेशिक लगानीका लागि लगानीकर्तालाई आमन्त्रण गरिने ती परियोजना यी हुन्ः

यातायात क्षेत्रका १९ आयोजना

बेथानचोक नारायणथान दर्शन केबलकार, काठमाडौँ चक्रपथ विद्युतीय बस ‘¥यापिड ट्रान्जिट’ प्रणाली आयोजना, चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग (एक्सप्रेस वे) आयोजना, चितवन–रामपुर–बुटवल द्रुतमार्ग आयोजना, चितवन–रामपुर–पोखरा द्रुतमार्ग आयोजना, विद्युतीय सवारीसाधनका लागि ‘फास्ट चार्जिङ स्टेशन’, सुदूरपश्चिम सार्वजनिक यातायात आयोजना, मधेस प्रदेश सार्वजनिक यातायात परियोजना, पाटन ढोका, जावलाखेल र लामाचौरमा बहुतले पार्किङ निर्याण परियोजना, मलेखु–लोथर सडक र सुरुङ परियोजना, दाउन्ने खण्ड रोड सुरुङमार्ग, हेम्जा–नयाँपुल खण्डसडक सुरुङमार्ग आयोजना, मिर्चैया–कटारी–घुर्मी सडक आयोजना, धरान लेउती रोड सुरुङमार्ग आयोजना, मेट्रो रेल १ः सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक, मेट्रो रेल २ः कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट, मेट्रो रेल ३ः कोटेश्वर–चाबहिल–स्वयम्भु–कोटेश्वर, आधुनिक टर्मिनलसहितको बसपार्क परियोजना, पोखरा महानगरपालिका र पोडवे आयोजना पोखरा महानगरपालिका रहेका छन् ।

पर्यटन पूर्वाधारका १७ आयोजना

खप्तड एकीकृत पर्यटन विकास आयोजना, प्रदर्शनी केन्द्र परियोजना, पोखरा महानगरपालिका, मूलबारी–सौनेथुप फुट ट्रेल (ह्वाइट वाल) परियोजना, बेगनास–रुपताल जल खेलकुद आयोजना, पोखरा महानगरपालिका, जानकी हेरिटेज होटल तथा सांस्कृतिक गाउँ परियोजना, लुम्बिनी करिडोरका पालिकाहरूमा ‘इलेक्ट्रिक मोबिलिटी करिडोर’ विकास आयोजना, ‘ग्रेटर लुम्बिनी टुरिस्ट सर्किट’ यातायात परियोजना, नुन्थर फिल्म सिटी परियोजना, मनोरञ्जन पार्क बागमारा, चितवन, रुद्रपुरगढी पर्यटन आयोजना, बढिमालिका पर्यटन विकास परियोजना, मुडी पर्यटन विकास परियोजना, ग्रेट हिमालयन ट्रेल पर्यटन परियोजना, दोलखा फिल्म सिटी परियोजना, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र तालतलैया बहुउद्देश्यीय पर्यटन आयोजना ।

भौतिक पूर्वाधारका पाँच आयोजना

काँच (ग्लास) उत्पादन परियोजना, डाबर नेपाल प्रालि क्षमता विस्तार तथा उत्पादन विविधीकरण, ग्रीन हाइड्रोजन एण्ड अमोनिया प्लान्ट, सूर्यतारा सिमेन्ट उद्योग प्राइभेट लिमिटेड र कागज कारखाना परियोजना ।

कृषि विकासका १५ आयोजना

एकीकृत ‘फिस ह्याचरी’, सुविधासम्पन्न रिसोर्ट निर्माण, वधशाला निर्माण एवं सञ्चालन, चियाको विद्युतीय लिलामी (ई–अक्सन) केन्द्र स्थापना र सञ्चालन एवं गोदाम निर्माण, छुर्पी (डग च्यु) निर्यात प्रवर्द्धन र गुणस्तर सुधार परियोजना, शीत भण्डारगृह (कोल्ड स्टोरेज)को स्थापना परियोजना, जैविक मलको नमूना परियोजनाको विकास, उत्पादन तथा अनुसन्धान केन्द्र, अदुवाको मूल्य शृङ्खलामा लगानी प्रवर्द्धन योजना, अलैँची आपूर्ति शृङ्खला सुधार तथा व्यापार अभिवृद्धि परियोजना, आलु मूल्य शृङ्खला परियोजना, टिमुर (सिचुआन पेपर) मूल्य शृङ्खला परियोजना, सेम्लार बजार निर्माण, बुटवल, कृषि वन परियोजना (रबर) र पोल सिजनिङ एण्ड ट्रिटमेन्ट प्लान्ट ।

औद्योगिक पूर्वाधार र व्यापार क्षेत्रका सात आयोजना

दैजी औद्योगिक क्षेत्र, शक्तिखोर औद्योगिक क्षेत्र, सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा औद्योगिक क्षेत्र विकास परियोजना (ब्लक डी एण्ड ई), पाँचखाल सेज, सिमरामा विशेष आर्थिक क्षेत्रको विकास तथा विस्तार (ब्लक बी र सी), चीन–नेपालमैत्री औद्योगिक पार्क र गोदाम (वेयरहाउस) परियोजना, पोखरा महानगरपालिका ।

ऊर्जा क्षेत्रका ३१ परियोजना

बेतान कर्णाली अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजना (चार सय ३९ मेगावाट), हुम्ला कर्णाली जलविद्युत् आयोजना (६१ दशमलव ०२ मेगावाट), माथिल्लो चमेलिया जलविद्युत् आयोजना (५३ दशमलव ८५ मेगावाट, कोखाजोर स्टोरेज जलविद्युत् आयोजना (६३ मेगावाट), कन्काई बहुउद्देश्यीय आयोजना (६० मेगावाट), कवाडी खोला जलविद्युत् आयोजना (३० मेगावाट), तम डोगर बुढीगण्डकी जलविद्युत् आयोजना (४० दशमलव २० मेगावाट), सुपर बुढीगण्डकी जलविद्युत् आयोजना (३४ दशमलव ९३ मेगावाट), ‘कम्प्रेस्ड बायो ग्यास प्लान्ट’ परियोजना, माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजना, ग्रीड जडित कोहलपुर सौर्य परियोजना (मेगावाट पिक) र बाणगङ्गा (४० मेगावाट) परियोजना, नौमुरे बहुउद्देश्यीय आयोजना (दुई सय ८१ दशमलव ०४ मेगावाट), खिम्ती शिवालय जलाशययुक्त जलविद्युत् परियोजना (एक हजार दुई सय १६ मेगावाट), कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना ( छ सय ५० मेगावाट), भारभुङ स्टोरेज जलविद्युत् आयोजना (तीन सय ३७ दशमलव एक मेगावाट), कर्णाली चिसापानी वायु ऊर्जा आयोजना (१० मेगावाट), नलगाड जलाशययुक्त जलविद्युत परियोजना (चार सय १७ मेगावाट), इनरुवा–अनारमणि चार सय केभी प्रसारण लाइन र सबस्टेशन निर्माण, अरुण हब (सितलपाटी–इनरुवा चार सय केभी ट्रान्समिसन लाइन र सबस्टेशन) परियोजना, तिङ्ला–दुधकोशी–ढल्केबर चार सय केभी प्रसारण लाइन र सबस्टेशन, मातातीर्थ–दुकुछाप दुई सय २० केभी प्रसारण लाइन परियोजना, दुकुछाप–टेकु दुई सय २० केभी प्रसारण लाइन आयोजना, तिङ्ला हब–नयाँ खिम्ती–सुनकोशी–ढल्केबर चार सय केभी प्रसारण लाइन परियोजना, बुढीगण्डकी करिडोर (फिलिम–गुम्बा–रातामाटे) चार सय केभी प्रसारण लाइन परियोजना, दमौली–कुश्मा–बाफिकोट चार सय केभी डबल सर्किट प्रसारण लाइन परियोजना, तमोर–ढुङ्गेसाँगु दुई सय २० केभी प्रसारण लाइन परियोजना, हितार–सितलपाटी (अरुण करिडोर) चार सय केभी प्रसारणलाई परियोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना (७० दशमलव तीन मेगावाट), किमाथाङ्का अरुण जलविद्युत् आयोजना (चार सय ५४ मेगावाट), मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना (एक हजार नौ सय दुई मेगावाट) र घुन्सा खोला जलविद्युत् आयोजना (७७ दशमलव ५ मेगावाट) ।

जल आपूर्तिका चार परियोजना

काँक्रे देउराली जल संरक्षण तथा आपूर्ति परियोजना, महादेव खोला जल संरक्षण, सिस्नेरी खानेपानी आयोजना, थोन्से खोला जल संरक्षण तथा पानी आपूर्ति परियोजना ।

शहरी विकास छ परियोजना

नयाँ सहर विकास परियोजना (इशान), अटो भिलेज परियोजना, पोखरा महानगरपालिका, लगनखेलमा भूमिगत पालिका बजार, बबरमहल प्रशासनिक प्लाजा, पश्चिम सेती टाउन प्लानिङ परियोजना र गोपी कृष्ण केन्द्रीय कम्प्लेक्स ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन परियोजना

सार्वजनिक विद्यालय सुधार परियोजना, गौतमवुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी परियोजना ।

सूचना तथा प्रविधि क्षेत्र
डाटा सेन्टर प्रोजेक्ट र आइटी पार्क÷टेक्नोपार्क (सूचना प्रविधि विकास पार्क)

खानी र खनिजजन्य क्षेत्रका १३ परियोजना

चुनढुङ्गा उत्खनन परियोजना, सब्दु, सितगङ्गा नगरपालिका, अर्घाखाँची जिल्ला, डोलोमाइट उत्खनन, बोजे, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, चुनढुङ्गा उत्खनन, धुनीबेसी घादिङ, ग्रेनाइट उत्खनन, काफलडाँडा, रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक, फलाम र तामा खानी उत्खनन्, झुन्लाबाङ, भुमे गाउँपालिका रुकुम, चुनढुङ्गा उत्खनन, जैतपानी र खामीलेख, कुपिण्डे नगरपालिका, सल्यान, म्याग्नेसाइट उत्खनन, त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका, उदयपुर, सुनखानी, ढोकाढुङ्गा–फुलिवन, सुनछहारी गाउँपालिका, रोल्पा, फस्फोराइट, ढिकगड, दोगडाकेदार गाउँपालिका, बैतडी, फस्फोराइट, सङ्गाउँ, पुर्चौडी नगरपालिका बैतडी, पेट्रोलियम अन्वेषण, ब्लक नम्बर–५, चितवन, पेट्रोलियम अन्वेषण, ब्लक नम्बर–४ लुम्बिनी र धौवादी फलाम खानी परियोजना ।

निजी क्षेत्रद्वारा तयार गरिएका ३१ परियोजना-सिक्लेस अन्नपूर्ण केबलकार परियोजना, भरतपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटरल्याण्ड परियोजना, मध्य कालीगण्डकी जलविद्युत् आयोजना, तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना, आइएमई सिमेन्ट आयोजना (बैतडी), काठमाडौँ प्राविधिक विद्यालय, गोपीकृष्ण केन्द्रीय कम्प्लेक्स, जालपादेवी केबलकार परियोजना, कम्पोस्ट मल प्लान्ट, रिभोल्भिङ पार्किङ, माथिल्लो सानीभेरी अर्धजलाशययुक्त जलविद्युत् आयोजना, मुगु कर्णाली जलविद्युत् आयोजना, पेल्मा खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना, दानाखोला जलविद्युत् आयोजना, माथिल्लो बुढीगण्डकी जलविद्युत् आयोजना, लान्द्रुक मोदी जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना, चुवाखोला (माथिल्लो र तल्लो तटीय) क्यास्केड जलविद्युत् आयोजना, माथिल्लो चुवा लुरुप्या खोला अर्ध जलाशययुक्त जलविद्युत् परियोजना, नरखोला जलविद्युत् आयोजना, माथिल्लो अप्सुवा जलविद्युत् आयोजना, माथिल्लो भेरी जलविद्युत् आयोजना, सुर्के दूधकोशी जलविद्युत् आयोजना, माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत् आयोजना, अप्सुवा खोला–१ जलविद्युत् आयोजना, तीन चरणमा सगरमाथाको ट्रेलमा १० लक्जरी होटलहरू निर्माण परियोजना, पोडवे प्रयोग गरी चुनढुङ्गा उत्खनन, ह्याप्पी ल्याण्ड फनपार्क एण्ड रिसोर्ट, सुरुङ्गा, झापा, प्राकृतिक कृषि फार्म, गोरुसिङ्गे, तौलिहवा, कपिलवस्तु, महाकाली सेती क्यास्केड पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना (५४ मेगावाट) र सेती नदी पिकिङ जलविद्युत् आयोजना (७२ मेगावाट) छन् ।

प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका लागुऔषधको ओसारपसारकर्ता भारतमा पक्राउ

सुदूरपश्चिम – नेपालमा बस्दा विगतमा लागुऔषध र ठगीको मुद्दा लागेर फरार भएका दुई भारतीय नागरिकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका बिक्की गुप्ता र अङ्कित गुप्तालाई केही दिनअघि भारतीय प्रहरीले उत्तर प्रदेशको पलिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । यी दुवै जनालाई तीन सय ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताइएको छ । विगतमा बिक्कीलाई लागुऔषध र अङ्कितलाई ठगी विरुद्धको मुद्दा दर्ता भएको थियो ।

नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका यी दुई जनालाई नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले पक्राउ गरेपछि लागुऔषधको ओसारपसार नियन्त्रणमा ठूलो सफलता मिल्ने विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ बिक्की र अङ्कितको विरुद्ध नेपालमा मुद्दा दार्ता भएपछि भारतमा गएर बसेका थिए, कैलाली, कञ्चनपुर, र बर्दिया जिल्लासम्म लागुऔषधको कारोबारमा संलग्न यिनीहरु पक्राउ परेपछि अब ५० प्रतिशत लागुऔषधको समस्या समाधान हुने विश्वास छ ।”

यसअघि नेपाल सीमा नजिकको भारतको वनगाउँ बजारमा पनि भारतीय प्रहरीले छापा हानेर सात जनालाई पक्राउ गरेको जनाइएको छ । नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको भारतको उत्तर प्रदेशस्थित पलिया बजारमा हालै भएको सीमा समन्वय बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लागुऔषध रोकथामको मुद्दा सशक्त रुपमा उठाउनुभएको थियो । बैठकमा भारतीय पक्षले गरेको प्रतिबद्धताअनुसार नेपाल प्रहरीको अनुरोधमा बिक्की र अङ्कितलाई पक्राउ परेको जनाइएको छ ।

प्रहरीले लागु औषध भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर लागुऔषधको ओसारपसार कारोबार गर्नेको जालो तोड्ने प्रयास गर्दै आएको छ । पछिल्ला वर्षमा लागुऔषधका सेवनकर्ता र ओसारपसार बढ्दै जाँदा समाजमा यो समस्या डरलाग्दो रुपमा फैलिइरहेको देखिएको छ ।

समाजमा हुने गरेका अधिकांश अपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ । बढी सङ्ख्यामा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ । अभिभावकले गर्नुपर्ने उचित संरक्षण एवं रेखदेख नपुग्दा कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागु औषधको कुलतमा फस्ने गरेको देखिएको छ । यसबाहेक घरपरिवारको बिग्रेको माहोल, सञ्चार प्रविधिको दुरुपयोग, गरिबी, बेरोजगारी जस्ता कारण पनि कतिपय कुलतमा फस्ने गरेको पाइन्छ ।

लागुऔषधका सेवनकर्ता, कारोबारीलाई प्रहरीले धमाधम पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयको थुनावा कक्ष भरिन थालेको छ । विभिन्न अपराधमा दैनिक थुनामा बस्नेमध्ये आधा सङ्ख्याका लागुऔषधका थुनुवा हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन्द्र बोहराले थप्नुभयो, “नेपाल–भारत बीचको खुला सीमाको कारण यो समस्याको समाधानमा कठिनाइ भइरहेको छ ।” बोहराले थप्नुभयो, “विभिन्न अपराधको अनुसन्धानकै क्रममा थुनामा राखिनेको सङ्ख्या बढीमा दैनिक एक सय २५सम्म पुग्ने गरेको छ ।

योमध्ये आधा सङ्ख्याका थुनुवा लागुऔषधसहित पक्राउ परेका हुन्छन् ।” जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा वर्षेनी लागुऔषध मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आव २०७७÷७८ मा ब्राउन सुगर, नाइट्राभेटर, चरेसलगायतका लागुऔषधसम्बन्धी दर्ता भएका ९१ मुद्दामा ८९ व्यक्ति थुनामा परेका थिए । आव २०७८÷७९ मा एक सय एक मुद्दा दर्ता भई तीन सय १५ जना पक्राउ परेका छन् ।

यस्तै आव २०७९÷८० मा मुद्दाको सङ्ख्या बढेर तीन सय ४७ पुग्दा पाँच सय २२ व्यक्ति पक्राउ परेकोमा चालु वर्ष २०८०÷८१ को वैशाख १० गतेसम्म आइपुग्दा लागुऔषधका दुई ६९ मुद्दा दर्ता भई तीन सय ५३ व्यक्ति पक्राउ परिसकेका छन् ।

दुव्र्यशनीको कुलतमा लागेकाले समूहगत रुपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी लागुऔषध सेवन गर्ने गरेको बताइन्छ । कुलतमा लागेकाको लत छुटाइ पुनःस्थापना गराउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पहलमा धनगढी उपमहानगरपालिका क्षेत्रको फुलवारीमा सुधार केन्द्र हालै सञ्चालनमा ल्याइएको छ ।

कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमित रुपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ ।

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।विश्वका विभिन्न अठार देशले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन् । उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्याण्डका नेताहरूले एकैसाथ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसङ्ख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो । गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ ।”

“यसबाहेक, गाजाका बासिन्दाहरू ‘आश्रय र मानवीय प्रबन्ध सुनिश्चित गर्न पहिले नै तयारीका साथ आफ्नो घर र आफ्नो भूमिमा फर्कन सक्षम हुनेछन्”, विज्ञप्तिमा भनिएको छ, “हामी यस सङ्कटको अन्त्य गरौं ताकि सामूहिक रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरता ल्याउनका लागि हाम्रा प्रयासहरूमा ध्यान केन्द्रित गर्न सकौं ।”

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमा क्षेत्रबाट हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए ।

हासको आक्रमणको बदलामा भएको इजरायली आक्रमणका कारण गाजा पट्टीमा ३४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु हुनुका साथै ७७ हजारभन्दा बढी घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

इन्डिगोले एअरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न सहमति भएको एयरबसले बिहीबार जनाएको छ ।“भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोले ३० वटा एयरबस ए–३५०–९०० विमान खरिद्का लागि सहमति भएको एयरबसले पुष्टि गरेको छ,” युरोपियन विमान निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा हस्ताक्षर हुने र सूची मूल्यमा ९.५ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा भारतीय कम लागतको सेवाप्रवाही बजार शेयरको आधारमा देशको सबैभन्दा ठूलो कम्पनी इन्डिगोले ए–३५० समूहबाट थप ७० विमानहरू किन्ने थप प्रस्ताव पनि गरेको छ ।

आफूलाई लामो दूरीको बजारमा एक महत्वपूर्ण सेवा प्रदायकको रूपमा स्थान लिएको इन्डिगोले सन् २०२७ देखि विमान खरिद् सुरु हुने जनाएको छ । इन्डिगोले सन् २०२४ मा १० करोड यात्रु बोकेको थियो ।

पन्ध्र हजार किलोमिटर (नौ हजार ३०० माइल) सम्मको दूरीमा चलाउन मिल्ने ए–३५० विमानको आपूर्तिले इन्डिगोलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सञ्जाललाई थप विस्तार गर्न सहज हुनेछ ।

“इन्डिगोसँगको हाम्रो घनिष्ठ साझेदारीमा यो एउटा रोमाञ्चक नयाँ अध्याय हो,” एयरबसका व्यावसायिक बिक्रीका कार्यकारी उपाध्यक्ष बेनोइट डे सेन्ट–एक्सुपेरीले भन्नुभयो । एयरबस र इन्डिगोले गत वर्षको पेरिस एयर शोमा ए–३२० नियो समूहका ५०० विमान खरिद्का लागि सहमति जनाएको १० महिनापछि यो अर्को सम्झौताका लागि सहमति भएको हो ।

उक्त बृहत् सम्झौताको सूची मूल्य ५५ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्छ । यद्यपि, वास्तविकतामा विमानसेवा कम्पनीहरूले यसमा महत्त्व छुट पाउँछन् ।

इन्डिगोका जनरल डाइरेक्टर पिटर एल्बर्सले एक विज्ञप्ति जारी गर्दै यो सम्झौताले ‘विश्व उड्डयनको एक प्रमुख खेलाडीमा रूपान्तरणको अर्को चरण’ लाई सङ्केत गरेको बताउनुभएको छ ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले बिहीबार आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड ४० लाख अमेरिकी डलरले कमी आएको जनाएको छ ।

अप्रिल १९ सम्ममा बैङ्कको कुल विदेशी विनिमय सञ्चिति घटेर करिब आठ अर्ब डलरमा झरेको एसबिपीले जनाएको हो ।“‘बाह्य ऋण भुक्तानीका कारण’ यो कमी आएको एसबीपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वाणिज्य बैंकहरूको कुल विदेशी सञ्चिति पाँच अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । बैङ्कका अनुसार पाकिस्तानसँग कूल तरल विदेशी सञ्चिति करिब १३ अर्ब ३० करोड डलर रहेको छ ।

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज

काठमाडौ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

बालिका बेचविखन गर्ने एक महिला पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौँको संस्थाको होस्टलमा राखिदिन्छौ भनी काठमाडौँ ल्याएर बिक्री वितरण गरेको अनुसन्धानमा खुलेको बताउनुभयो ।

पक्राउ विश्वकर्माले अढाई वर्षकी बालिकालाई गत चैत २९ गते पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखेर बालिकालाई झापाको काकरभिट्टासम्म पु¥याएर भारतको सिलगुढी माईती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई रु २० हजार दिएको अनुसन्धानमा खुलेको छ । प्रहरीले पीडित बालिकालाई बैशाख १० गते उद्दार गरि सुरक्षित आवास गृहमा राखेको छ । प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले बताउनुभयो ।

आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदै, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर- कक्षा १२ परीक्षाआजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो । उहाँ अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पु¥याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।––

खेलकुदमन्त्री श्रेष्ठ र विश्व ट्रायथलनको अध्यक्ष कसाडोबीच भेट

काठमाडौँ – युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तराष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच बिहिबार भेटवार्ता भएको छ । बिहिबार नेपाल आइपुग्नुभएकी कसाडो र मन्त्री श्रेष्ठबीच सिंहरदबारस्थित युवा तथा खेलकूद मन्त्रालयको कार्यकक्षमा भेट भएको हो ।

भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ट्रायथलनको विकासको लागि हुनसक्ने सहयोग र संभावनाको विषयमा पनि कुराकानी छ । यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ ।

कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहनुभएको छ । उहाँको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ १० वर्ष अगाडि नेपाल आउनुभएको थियो । उहाँ शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुने कार्यक्रम रहेको छ । सो च्याम्पियनसिपमा १५ देशका ६५ भन्दाबढी खेलाडीको सहभागीता रहनेछ । विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि भोलि नेपाल आइपुग्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै साना तथा मझौला उद्योग हुन् : मन्त्री भण्डारी

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा   भएको छलफलमा मन्त्री भण्डारीले भन्नुभयो, “निर्यातजन्य वस्तु साना मझौला उद्योगमै छ, यस्ता उद्योेगको प्रवर्द्धन र विकासमा हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

साना तथा मझौला उद्योगको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीको समस्या समाधानका लागि उचित नीति बनाइ कार्यान्वयन गराउन तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना घरेलु तथा लघु र मझौला घरेलु उद्योग नै हुन्, त्यसमा पनि अझ हाम्रो स्रोत र साधनमा आधारित उद्योगको निर्यातमा ठूलो योगदान रहन्छ ।”

देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगीका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि कार्यक्रम’ छिट्टै मन्त्रिपरिषद्मा लैजान लागेको बताउनुभयो । नेपाली उद्योगको समस्याकै रुपमा तयारी वस्तु र कच्चापदार्थमा एउटै कर हुँदा समस्या भएकोतर्फ ध्यानाकर्षण गर्दै उहाँले अब तयारी वस्तुमा धेरै र कच्चापदार्थमा थोरै कर लगाउने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग आर्थिक समृद्घिको सम्वाहकका रुपमा रहे पनि यस्ता उद्योगको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताउनुभयो । सरकारले महिला उद्यमी, कृषि उद्योग लगायतका उद्यमीलाई दिँदै आएको सहुलियतपूर्ण कर्जा र कोभिड–१९ पीडित उद्यमीलाई दिइँदै आएको पुर्नकर्जा कार्यक्रमलाई यथावत राख्दै साना उद्यमीलाई बैंकले कर्जा प्रवाहमा गर्ने भेद्भावपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न उहाँले मन्त्री भण्डारी समक्ष अनुरोध गर्नुभयो ।

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

काठमाडौँ, १३ वैशाख ः वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो।

मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने हुन्छ ।यतिलामो यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुका साथै लिखित आग्रह गरिएको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताउनुभयो ।

“खाना, खाजा तथा पानीसमेत नपाउँदा श्रमिकहरूले भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनिएपछि सरोकारवालालाई बोलाएर छलफल गर्यौ । छलफलपछि बुधबार नै सम्बन्धित निकायलाई जहाजको टिकटमै अत्यावश्यक सुविधा तोक्न आग्रह गरेका हौ”, घिमिरेले भन्नुभयो ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएकासम्बन्धमा पनि व्यवसायीलाई आफनो क्षेत्राधिकारभित्र रहेर काम गर्न सचेत गराइएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक : पुनरावेदन समितिको अध्यक्षमा न्यायाधीश भट्ट

काठमाडौँ, १३ वैशाख ः सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । साथै बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रियामा सरकारले सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सोही अदालतको कामकाजसमेत गर्ने गरी पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार न्यायाधीश भट्टलाई पुरावेदन समितिको अध्यक्ष तोक्ने सरकारले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यसैगरी हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन सम्बन्धीत निकायलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत, १३ वैशाख : यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको हो । बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिनुभयो ।

हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ । जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ ।

आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । विकले भन्नुभयो, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।”

डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ । जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उहाँको भनाइ छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।

जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ ।

मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत)मा फैलिएको छ ।

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी, १३ वैशाख : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ वटा मात्रै बैठक बसेका छन् । प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट मात्रै बैठक चलेका थिए ।

सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो । विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेकमा मात्रै सैद्धान्तिक छलफल भयो । अधिवेशनभर हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकले प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

विसं २०८० फागुन १७ मा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन र सोही दिन बसेको तेस्रो बैठकमा हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेश गरी सैद्धान्तिक छलफल भएको थियो । त्यस्तै, २९ फागुनमा बसेको चौथो बैठकमा विशेष समितिको प्रतिवेदन पेस भएको थियो भने ३० फागुनमा भएको पाँचौं बैठकले सो प्रतिवेदन पारित गरेको थियो । त्यसैगरी चैत १९ मा भएको हिउँदे अधिवेशनको अन्तिम तथा छैटौँ बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनुभएको थियो ।

त्यसयता बैठक नै नबसी बुधबारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रदेश प्रमुख शर्माले बुधबार साझ बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्यको निर्णय गर्नुभएको हो ।

आगामी आव २०८१÷८२ को बजेट निर्माणको तयारीमा रहेकाले अधिवेशन अन्त्य गरिएको र अगामी जेठबाट प्रि–बजेट छलफल सुरू गर्ने गरी बजेट अधिवेशन आह्वान गर्ने प्रदेश सरकारको तयारी छ ।