`

मन्त्रिपरिषद् बैठक : पुनरावेदन समितिको अध्यक्षमा न्यायाधीश भट्ट

काठमाडौँ, १३ वैशाख ः सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । साथै बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रियामा सरकारले सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई सोही अदालतको कामकाजसमेत गर्ने गरी पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार न्यायाधीश भट्टलाई पुरावेदन समितिको अध्यक्ष तोक्ने सरकारले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यसैगरी हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन सम्बन्धीत निकायलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत, १३ वैशाख : यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको हो । बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिनुभयो ।

हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ । जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ ।

आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । विकले भन्नुभयो, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।”

डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ । जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उहाँको भनाइ छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।

जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ ।

मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत)मा फैलिएको छ ।

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी, १३ वैशाख : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ वटा मात्रै बैठक बसेका छन् । प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट मात्रै बैठक चलेका थिए ।

सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो । विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेकमा मात्रै सैद्धान्तिक छलफल भयो । अधिवेशनभर हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकले प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

विसं २०८० फागुन १७ मा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन र सोही दिन बसेको तेस्रो बैठकमा हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक पेश गरी सैद्धान्तिक छलफल भएको थियो । त्यस्तै, २९ फागुनमा बसेको चौथो बैठकमा विशेष समितिको प्रतिवेदन पेस भएको थियो भने ३० फागुनमा भएको पाँचौं बैठकले सो प्रतिवेदन पारित गरेको थियो । त्यसैगरी चैत १९ मा भएको हिउँदे अधिवेशनको अन्तिम तथा छैटौँ बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनुभएको थियो ।

त्यसयता बैठक नै नबसी बुधबारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही बमोजिम प्रदेश प्रमुख शर्माले बुधबार साझ बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्यको निर्णय गर्नुभएको हो ।

आगामी आव २०८१÷८२ को बजेट निर्माणको तयारीमा रहेकाले अधिवेशन अन्त्य गरिएको र अगामी जेठबाट प्रि–बजेट छलफल सुरू गर्ने गरी बजेट अधिवेशन आह्वान गर्ने प्रदेश सरकारको तयारी छ ।

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकासको लक्ष्य हासिल हुननसक्ने भएकाले रचनात्मक रूपान्तरण आवश्यक परेको बताउनुभएको हो ।

“सोह्राँैं योजनाको दस्तावेजले नेपालको विकास प्रक्रियामा देखिएका मूलभूत सवाल तथा चुनौतीहरू स्पष्टरूपमा पहिचान गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “योजनाले पहिचान गरेका मूलभूत सवाल तथा चुनौतीहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् क्रमशः सम्बोधन गर्नेगरी काम गर्नुपर्छ।”

परम्परावादी कार्यहरूमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,“आवधिक योजनाले रूपान्तरणका क्षेत्रमा तय गरेका प्रमुख कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । अनिमात्र ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोच पूरा गर्न सकिन्छ ।”

सोह्रौँ योजनाले अर्थतन्त्रको वर्तमान अवस्थाको वास्तविक चित्रणसहित भावी कार्यदिशा र सोको कार्यान्वयनका लागि आवश्यकपर्ने रणनीति तय गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले योजनाअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत–साधनको यथार्थ अनुमान पनि समावेश गरिएको उल्लेख गर्नुभयो । उहाँले योजनाको सफल कार्यान्वयनका लागि समग्र सोच र उद्देश्यमा आधारित विषय, क्षेत्रगत सवाल, रूपान्तरणका रणनीति तथा प्रमुख कार्यक्रम तय गरिएको बताउनुभयो ।

“योजनामा उल्लेख भएका रणनीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबैको सामूहिक जिम्मेवारी र उत्तरदायित्व रहन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमदेखि नै क्रमिक रूपमा त्यस्ता कार्यक्रमलाई समाहित गरी कार्यान्वयनमा ल्याउने छ ।” उहाँले सातै प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रलगायत विकासका सबै साझेदार निकायहरूले पनि आ–आफ्नो तहबाट सोह्रौं योजना कार्यान्वयन पक्षलाई विशेष जोड दिने आफूले विश्वास लिएको बताउनुभयो ।

योजनाले लिएको लक्ष्यप्राप्तिका लागि प्रारम्भिक चरणमा अधिक स्रोतसाधन र पुँजीगत लगानीको आवश्यकतापर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारीरूपमा आन्तरिक स्रोत परिचालन गर्नुपर्छ । साथै वित्तीय अनुशासन कायम गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम् सदुपयोग गर्नुपर्ने देखिन्छ ।” उहाँले लगानी परिचालनका लागि सार्वजनिक क्षेत्रको साथै निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, सार्वजनिक–निजी साझेदारी र वैदेशिक सहायता तथा वैदेशिक लगानीलाई जोड दिनुपर्ने बताउनुभयो ।

आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटका बीचको सामन्जस्यताले मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउँदै उहाँले तीनै तहका सरकारका कार्यक्रमहरूमा एकरूपता कायम गरी कार्यान्यवनमा प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग, सहकार्य र साझेदारी रहने विश्वास व्यक्त गर्नुभयो ।

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौ, १३ वैशाखः जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

म्याग्दीका जङ्गलमा लागेको डढेलोका कारण ३० बढी गाउँमा खानेपानीको समस्या, पाइप जल्यो

गलेश्वर (म्याग्दी), १३ वैशाख : विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका कारण जिल्लाका मालिका, मङ्गला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकाका ३० बढी गाउँमा खानेपानीको समस्या भएको छ ।

फागुन दोस्रो सातादेखि म्याग्दीका जङ्गलमा निरन्तररुपमा डढेलो लागिरहेको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । बुधबारसम्म म्याग्दीका एक सय १२ वनमा डढेलो लागेको र करिब एक हजार हेक्टर वनक्षेत्र जलेर नष्ट भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

बजारमाथिको सामुदायिक वनमा डढेलो लागेपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङ क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ । त्यसैगरी लामो खडेरी र डढेलोका कारण खेतीयोग्य जमिनमा सिँचाइको अभाव भएपछि खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेको किसानले बताएका छन् ।

जिल्लाका मालिका, मङ्गला, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका ३० भन्दा बढी ठाउँमा डढेलोले मुहानबाट बस्तीसम्म पानी ल्याउने पाइपलाइन डढेपछि गाउँगाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले डढेलोका कारण जिल्लाभरि नै खानेपानी र सिँचाइ आयोजनाको पाइपलाइनमा क्षति पुगेको बताउनुभयो ।

“मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँबाट डढेलोले क्षति पुगेको पाइप लाइन मर्मतका लागि स्थानीयले पाइप माग गरेका छन् । जिल्लामा यस वर्ष डढेलोले खानेपानी र सिँचाइको पाइपमा ठूलो क्षति पुर्याएको छ”, ओझाले भन्नुभयो ।

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पनि डढेलोले खानेपानीको पाइप लाइन डढेपछि खानेपानी र सिँचाइको समस्या उत्पन्न भएको स्थानीय डिलबहादुर घिमिरेले बताउनुभयो । उहाँका अनुसार एक किलोमिटरभन्दा बढी क्षेत्रमा बिच्छ्याइएको पाइप डढेलोका कारण खरानी भएपछि खानेपानी र सिँचाइको समस्या उत्पन्न भएको हो ।

सडक निर्माणका क्रममा जमिनमुनि गाडिएको पाइप र बाहिर निकालेका पाइपमा क्षति पुगेको छ । पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौँ लगाएर पानी बोकी खानुपर्ने बाध्यता सिर्जना भएको स्थानीय टेकबहादुर थापाले बताउनुभयो ।

वन डढेलोका कारण बर्सेनि स्थानीयले सास्ती भोग्नु परिरहेको छ । जथाभावीरूपमा जङ्गलमा आगो लगाउनाले म्याग्दीमा हरेक वर्षजसो क्षति हुने गरेको छ । जिल्लामा डढेलो फैलिँदै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षति भएका खानेपानी र सिँचाइ आयोजना पुनःनिर्माणका लागि बजेट व्यवस्थापनको माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

डिभिजन वन कार्यालयको अभिलेख अनुसार जिल्लाको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमध्ये ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ ।

बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे

नेपालगञ्ज, १३ वैशाखः बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शम्शेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । तर कति सङ्ख्यामा मरे भन्ने विषयमा विवरण सङ्कलन भइरहेको उहाँको भनाइ छ ।

उहाँले डढेलोबाट हरिण र बँदेलजस्ता जनावर विस्थापित भएको पाइएको बताउनुभयो । जिल्लाको २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा ठूलो मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र सङ्कटमा रहेको बताइएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं २, ८, ५ र ६ का समुदायिक वन डुडूवा गाउँपालिका–५ स्थित गोकुल साुमदायिक वन, वैजनाथ गाउँपालिका–२ को सुनगाभा सामुदायिक वन र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको थियो । जिल्लाको २५ वटा सामुदायिक वनको दुई सय ५० हेक्टर क्षेत्रफल र चक्ला वनको पाँच सय हेक्टरमा डढेलो लागेको थियो ।

“हामीलाई दिउँसो डढेलो निभाउन सहज छैन, त्यसैले राति परेपछि धेरै सामुदायिक वनमा काम गरेका थियौँ”, उहाँले भन्नुभयो । गत वर्षभन्दा यस वर्ष धेरै सुक्खा भएकाले डढेलो झन् फैलिएको बताइएको छ । वन अधिकृत सुवेदीले डढेलो अहिले नियन्त्रणमा आएको उल्लेख गर्दै फाटफुट केही स्थानमा डढेलो रहेको बताउनुभयो ।

डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै उहाँले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गर्नुभयो । “फायरलाइन निर्माण गर्ने र त्यसलाई सफा गर्ने, समुदाय रूपमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले गाउँघरबाट भएको बदमासीका कारण निकुञ्जमा डढेलो लागेको उल्लेख गर्दै डढेलोका कारण विभिन्न प्रजातिका चरा र केही प्रजातिका बच्चा र अण्डा नष्ट भएको जानकारी दिनुभयो ।

“बासस्थान नष्ट भएको छ, त्यसैले केही जनावर विस्थापित पनि भएका छन्”, उहाँले भन्नुभयो । संरक्षण अधिकृत शाहले डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै पहिले केही दिनअघि अहिले डढेलो कम हुँदै गएको बताउनुभयो ।

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लव फाइनलमा

टक्सार (भोजपुर), १३ वैशाख ः भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा खेल बरावरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट चार गोल भएको थियो भने खोटाङ भगवतीले तीन गोल मात्र गर्न सफल भयो ।

अन्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको दुई मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्वर ३५ का खेलाडी बसन्त जिम्बाले एक गोल गर्दे खाता खोल्न सफल भएका थिए । त्यस्तै दोश्रो हाफमा खोटाङका तर्फबाट छ नम्वर जर्सीका खमिर गिलसानले एक गोल गर्दे खेललाई बरावरी अवस्थामा पुर्याउन सफल भएका थिए ।

पेनाल्टीतर्फ त्रिभुवन आर्मीका लागि जितेन्द्र कार्की, रिपु प्रधान, बसन्त जिम्बा र मानबहादुर आलेले गोल गरेका थिए भने सुरज बस्नेतले गोल गर्न सकेनन । यस्तै खोटाङ भगवतीका तर्फबाट मार्टिन, दिवस उराव, प्रसान्त अवस्थीले गोल गर्न सफल भए भने बिशाल दर्जी र सुदिप श्रेष्ठले गोल हान्न सकेनन ।

खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका खेलाडी सुरज बस्नेत भएका छन् । उनले नगद पाँच हजार र मेडल पाएका छन् । आठ टिमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गतको आइतवारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई ४–० गोल गर्दे सेमीफाइनल प्रवेश गरेको थियो भने सोमवारको दोश्रो खेलमा राजारानी फुटवल क्लवलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलवार भएको तेश्रो खेलमा डाँगीहाट यूथ क्लव मोरङलाई ४–० गोलले पराजित गर्दे सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै बुधवारको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेड, काठमाडाँैले सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

शुक्रवारको दोश्रो सेमिफाइनल खेल सलहेश युवा क्लव सिरहा र चर्च व्बाइज युनाइटेड, काठमाडौँ बीचमा हुने आयोजकले जनाएको छ । फाइनल खेल आगामी वैशाख १५ गते हुने छ । भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजममा यही वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भइरहेको छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।

हरिपूर्वामा आगोले चार घर जले

बरहथवा (सर्लाही), १३ वैशाख : सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर आज चार घर नष्ट भएका छन् ।

स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको छ । अन्य केही घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हँुदै थियो । सोही क्रममा एक्कासी आगलागी भएको हो । आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन बारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

भरतपुर (चितवन) १३ वैशाख : खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ ।

बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईंले जानकारी दिनुभयो । कार्यालय प्रमुख गुरागाईंले नारायणी लिफ्ट सिँचाइ योजनाबाटएक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा पनि पानी छाडिएको बताउनुभयो । उहाँले दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको बताउनुभयो ।

त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताउनुभयो । आकाशे पानी नपर्दा सिँचाइको वैकल्पिक उपायका रूपमा लिफ्ट सञ्चालन गरिएको र यसले स्यालो र डिप ट्युबेलका लागि पानी रिचार्जमा सघाउँ पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

महानगर प्रमुख दाहालले ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेका बताउनुभयो ।

‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि विसं ०६९ पछि यसवर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताउनुभयो ।

मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

महोत्तरी, १३ वैशाख : बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् । बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ । बनीबुतो र खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै भन्नुहुन्छ, “आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !”

मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा ।

“कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)”, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्नुहुन्छ, “आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला !” बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी जानुभएको थियो । घर फर्कदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस हुनुभएकी उहाँलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौको थातथलो देखेर अझै बेचैन हुनुहुन्छ ।

अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रुप लिँदै एक सय १० घर पूर्णरूपमा जलेर खरानी बनायो । आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षतिभएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो । सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो ।

आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो । आज अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीले सहयो प्रदान गर्नुभएको छ ।

यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरु र विभिन्न निकायसँग अपिल गरिएको बताउनुभयो ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धाः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १३ वैशाख: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित मनमोहन अधिकारीको २५औँ स्मृतिसभामा अवसरमा आयोजित कार्यक्रममा उहाँले मनमोहन अधिकारी समकालीन नेपाली राजनीतिमा एक निष्कलङ्क, सरल एवं निष्ठावान् राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित हुनुभएको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघि नै कम्युनिष्ट पार्टीको सदस्य भइसक्नुभएका मनमोहन अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व रहेको उहाँले बताउनुभयो ।

उहाँले मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँपुस्ताका लागि अनिवार्यरूपमा पढ्नै पर्ने खुला किताब जस्तै रहेको उल्लेख गर्नुभयो । “आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन”, उहाँले भन्नुभयो, “मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नतस्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।”

मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमका रूपमा रहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “यस कदमले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको छ ।”

मनमोहन अधिकारीले ज्येष्ठ नागरिकको सम्मानमा थालनी गरिएको कार्यलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्ने काम गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देशभरिका ज्येष्ठ नागरिकले आफ्नो सच्चा मित्र र असल नेताका रूपमा सम्झन्छन् र सम्मान गर्ने बताउनुभयो ।

अधिकारीले लामो र कठोर सङ्घर्षको घडीमा मात्र जनताको पक्षमा आवाज उठाउने र लडेको तथा प्रधानमन्त्रीकारूपमा उच्च पदमा आसीन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन नेकपा (एमाले)को नौ महिने सरकारको कुशलतापूर्वक नेतृत्व गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो ।

विसं २०५१ मा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नुभएका मनमोहन अधिकारीको नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता’ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सन् १९४२ मा वनारसमा अध्ययनरत छँदै भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएका मनमोहन अधिकारी नेपाल फर्कनुभएपछि २००३ सालमा भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा मनमोहन अधिकारी क्रियाशील हुनुभएको थियो ।

जहानियाँ राणाशासन तथा तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुने सिलसिलामा उहाँले पटकपटक गरी झण्डै १४ वर्ष लामो जेल जीवन बिताउनुभएको थियो ।

सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ विमोचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीका विचार र योगदानलाई चिरस्थायी बनाउनका लागि पार्टीले नै प्रतिष्ठान गठन गरेको बताउनुभयो ।

उहाँले नेपालमा कम्युनिष्ट पार्टीभन्दा पनि जेठो कम्युनिष्ट भनेर मनमोहन अधिकारीले चिन्ने गरेको उल्लेख गर्दै सादगीजीवन वाच्ने र विवादरहित व्यक्तिका रुपमा रहेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीबारेमा बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई र पद्मा अर्याललगायत नेताले मनमोहन अधिकारीको सालिनमा माल्यापर्ण गर्नुभएको थियो ।

मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देश–दर्शन कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्षको ज्येष्ठ नागरिक देश दर्शनमा सहभागी हुनुहुने ज्येष्ठ नागरिकलाई पूर्वराष्ट्रपति भण्डारीले माला लगाएर बिदाइ गर्नुभयो । विसं १९७७ जेठ २८ गते जन्मिनुभएका अधिकारी २०५६ वैशाख १३ आजैका दिन निधन भएको थियो ।

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल, १३ वैशाखः नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका छन् । पालिकाले गठन गरेको विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गर्ने क्रम अगाडि बढाएको हो ।

यसैक्रममा रोशी गाउँपालिकाभित्र सञ्चालित पाँच विद्यालय समायोजन गरिएको छ । विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गरी कार्यान्वयन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार वडा नं १ मा सञ्चालित ठेडाचौर प्राथमिक विद्यालय र चेतना माध्यमिक विद्यालय समायोजन भई ठेडाचौर चेतना माध्यमिक विद्यालय नामकरण गरेको छ ।

यस्तै वडा नं २ मा अवस्थित गणेश प्राथमिक विद्यालय र ग्रामस्थान प्राथमिक विद्यालय समायोजन भई ग्रामस्थान गणेश प्राथमिक विद्यालय, महाभारत प्राथमिक विद्यालय र भुसुने कालीदेवी प्राथमिक विद्यालय समायोजन भई भुसुने कालीदेवी महाभारत प्राथमिक विद्यालय नामकरण गरिएको छ ।

यसैगरी वडा नं ७ मा अवस्थित बुद्ध प्राथमिक विद्यालय र गौतमनाथ आधारभूत विद्यालय समायोजन भई गौतमबुद्ध आधारभूत विद्यालय र वडा नं ९ मा अवस्थित मङ्गलेश्वर प्राथमिक विद्यालय र विन्दावासिनी माध्यमिक विद्यालय समायोजन भई विन्दावासिनी मङ्गलेश्वर माध्यमिक विद्यालय भएको छ । त्यसरी गाभिएका विद्यालयमा भने बालविकास केन्द्र सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

रोशी गाउँपालिकाभित्र ६९ वटा सामुदायिक विद्यालय रहेकामा पाँचवटा समायोजन गरी ६४ वटा बनाइएको छ । गाउँ शिक्षा समितिको निर्णयलाई सङ्घीय सरकारको विद्यालय समायोजन आधार मापदण्ड समितिलाई मध्यनजर गरी कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

रोशी गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा यहाँका आठवटा विद्यालयको तह घटाइएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको तह घटाएर कक्षा १ देखि ३ सम्म अध्यापनको अनुमति दिइएको छ । जसमा वडा नं ४ मा अवस्थित थानापति प्रावि, वडा नं ७ मा अवस्थित जनज्योति प्रावि, खाँडादेवी प्रावि, वडा नं ८ मा रहेको खार्ता महादेवस्थान प्रावि, गायत्री प्रावि, देवीश्वरी प्रावि, वडा नं ९ मा रहेको भूमेस्थान प्रावि र वडा नं ११ मा अवस्थित सरस्वती प्राविको तह घटाइएको छ ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । भौगोलिक अवस्था र विद्यार्थी सङ्ख्यालाई हेरेर केही विद्यालयलाई नजिकको विद्यालयसँग समायोजन गरेको र केही विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भए पनि भौगोलिक कारण सुधार गर्न अनुरोध गरेको छ ।

त्यसैगरी बनेपा नगरपालिका–४ मा रहेको सृष्टकान्त आधारभूत विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यलायमा समायोजन गरी चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नामकरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार उक्त विद्यालय समायोजन गरेको बनेपा नगरपालिकाले जनाएको छ ।

तान्जानियामा बाढीमा परी १५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराउनुभएको हो ।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराउनुभयो ।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको उहाँले बताउनुभयो ।

मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ । “तान्जानिया राष्ट्रिय सडक सञ्जाल, तान्जानिया ग्रामीण र शहरी सडक निकाय, र तान्जानिया रेलवे कर्पोरेसनलाई क्षतिग्रस्त सडकहरू र रेलवेहरूको तत्काल जीर्णोद्धारको लागि तत्काल मूल्याङ्कन गर्न आदेश दिइएको छ,” उहाँले भन्नुभयो ।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ ।

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष

भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो । यसै साता एसियाका धेरै मुलुकमा चर्को तापक्रमले असर पुर्याएको छ । अत्यधिक गर्मीको पूर्वानुमानका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।

सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस हुनुभएको थियो । त्यहाँ उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहनुभएको थियो ।

घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उहाँलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । उक्त दिनपछि गडकरीले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “र्यालीका क्रममा गर्मीका कारण मलाई असहज महसुस भयो तर अहिले म पूर्ण स्वस्थ छु ।” उहाँले आफ्नो चुनावी प्रचार अभियान अघि बढाएको बताउनुभयो ।

भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनमा कम्तीमा नौ वटा पूर्वी र दक्षिणी राज्यमा भीषण गर्मीको अवस्था जारी रहने सम्भावना रहेको बताएको छ । “लुदेखि लिएर गम्भीर लुको अवस्था प्रबल हुने सम्भावना छ, केही स्थानमा पहिलादेखि नै तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ”, विभागले विज्ञप्तिमा जनाएको छ ।

छ सातासम्म चल्ने म्याराथुन निर्वाचनका बीच सम्पूर्ण भारतमा ठूला बाहिरी प्रचार र्यालीहरू आयोजना भइरहेका छन् । शुक्रबार मतदानको दोस्रो चरणमा लाखौँ मानिसले मतदान गर्दैछन् ।

भारतको निर्वाचन आयोगले ‘शान्तिदायक उपायहरू’ को दृष्टिले प्रत्येक चरणको मतदानअघि लु र आद्र्रताको प्रभावको समीक्षा गरिरहेको भन्दै यसले अहिले पनि नागरिकहरूलाई आफ्नो मत खसाउन अनुमति दिने बताएको छ ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।

केन्यामा बाढीका कारण ३८ को मृत्यु

केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपत्कालीन अवस्थाबाट विपत्तिको स्तरमा सर्दै गएको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ ।पछिल्लो समयमा अफ्रिकी राष्ट्रमा परेको भारी वर्षाले सामान्य व्यापारमा पनि बाधा पुरÞ्याएको छ । केन्याको राजधानी नैरोबीको माथारे बस्तीमा बुधबार परेको वर्षामा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।

यस बस्तीका प्रायः कम आम्दानी गर्ने तथा कमजोर वासस्थानमा बसोबास गर्ने समुदायका बासिन्दाहरू गम्भीर बाढीका कारण घरमै फसेको सिन्ह्वाले रिपोर्ट गरेको छ ।आँधीको पानीले सडकमा बाढी आएको कारण केही क्षेत्रहरू सहरबाट सम्पर्कविहीन नै भएका थिए । राजधानीको दक्षिणमा रहेको किटेङ्गेलाको मुख्य पुल अथी नदीले बगाएपछि हजारौँ व्यापारी तथा कामदारहरू अलपत्र परेका थिए ।

सिन्ह्वाका अनुसार मध्य केन्याको किरिन्यागा काउन्टीमा मङ्गmबार थिबा नदीको किनार फुट्दा उनीहरूको घर तथा व्यवसायमा बाढी आएपछि ६० भन्दा बढी परिवार घरबारविहीन भएका छन् ।

मार्च–अप्रिल–मेमा वर्षा सुरु भएदेखि नै धेरै काउन्टीले यसको प्रभाव महसुस गरेका छन् । प्रभावित घरपरिवार, विस्थापन, शिविरहरूको स्थापना, डुबानयोग्य जमिन, प्रभावित व्यवसाय र पशुधनको मृत्यु भएको मानवीय एजेन्सीले जनाएको छ ।

केन्या मौसम विज्ञान विभागका अनुसार केन्यामा अभूतपूर्व भारी वर्षा भएको छ भने केही क्षेत्रमा एकै दिनमा दुई सय मिलिमिटरसम्म वर्षा भएको छ । वर्षापछि देशभरि बाढी निम्त्याउने चेतावनी दिँदै काउन्टी र राष्ट्रिय सरकार दुवैस्तरका केन्याली अधिकारीहरूले तल्लो र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई उच्च भूमिमा जान सल्लाह दिएका छन् ।

आन्तरिक तथा राष्ट्रिय प्रशासनका क्याबिनेट सचिव किन्डिकी किथुरेले पूर्वी क्षेत्रको मासिङ्गा र मध्य क्षेत्रको थिबासहित बाँध नजिक बस्ने बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गर्नुभएको छ । थप वर्षाले विपत्ति निम्त्याउने सम्भावना भएकाले बस्तीहरूमा बाढीको प्रभाव बढी हुने उहाँले बताउनुभयो । सरकार उच्च सतर्कतामा रहेको र बहु–एजेन्सी टोलीले कम गर्ने प्रयासमा काम गरिरहेको उहाँको भनाइ छ ।

इन्टरगभर्मेन्टल अथोरिटी अन डेभलपमेन्ट (आइजिएडी) को क्लाइमेट प्रेडिक्सन एन्ड एप्लिकेसन सेन्टर (आइसिपिएसी) ले जारी गरेको सूचनामा केन्याले असामान्यरूपमा भारी वर्षाको अनुभव गर्ने हर्न अफ अफ्रिकाका देशहरूमध्ये एक भएको जनाएको छ ।

रुसद्वारा पोल्यान्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी

रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले बिहीबार नेटो आणविक केन्द्रहरू स्थायीरूपमा पोल्यान्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्ने सक्ने चेतावनी दिनुभएको छ ।

“संयुक्त नाटो आणविक मिसनको अभ्यासको विस्तारमा कुनै पनि मुलुक यो अभ्यासमा सम्मिलित हुनसक्ने भए पनि यो विशुद्धरूपमा अस्थिर प्रकृति हो र धम्कीपूर्ण हो”, रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उहाँले भन्नुभयो ।

उहाँले रुसी सीमा नजिकै नाटो मुलुकहरूले गर्ने आणविक मिसनको दृष्टिकोणले सुरक्षा खतरा बढाउने बताउनुभयो । “वार्सामा छलफल भइरहेको स्थायी तैनाथीका बारेमा मैले कुरा गरिरहेको छैन, त्यसैले पोल्यान्ड र बाहिर योजनाका बारेमा उत्साहपूर्वक छलफल गरिरहेका ती सबै राजनीतिज्ञहरूले ‘परिवर्तनले पोल्यान्डको सुरक्षामा कुनै वृद्धि हुँदैन तर सम्बन्धित केन्द्रहरू निश्चितरूपमा लक्ष्य बन्नेछन् र ती हाम्रा सैन्य योजनामा सबैभन्दा अगाडि हुनेछन्’ भनेर बुझ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले पोल्यान्डमा नाटो आणविक केन्द्रहरू तैनाथ गर्नेबारे भइरहेको छलफललाई ‘विकसित हुँदै गरेको कथा’ का रूपमा उल्लेख गर्नुभयो । “वार्साले यो विषयलाई कसरी सम्बोधन गर्नेछ भनेर मस्कोले नजिकबाट नियालिरहेको छ”, उहाँले भन्नुभयो ।

पोलिस राष्ट्रपति आन्द्रेज डुडाले सोमबार फक्त अखबारसँगको अन्तरवार्तामा पोलिस अधिकारीहरूले नाटोको आणविक साझा व्यवस्थाको ढाँचाभित्र पोल्यान्डमा आणविक हतियार तैनाथ गर्ने सम्भावनामा अमेरिकासँग बारम्बार छलफल गरेको र आवश्यक भएमा तयारी अवस्थामा रहेको अभिव्यक्ति दिनुभएको छ ।

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा, इलाममा एक हजार तीन सय ६३ प्रहरी परिचालन

काठमाडौँ, १३ वैशाख ः आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी पूरा भएको जानकारी दिइएको हो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

“निर्वाचनको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा प्रहरी जुटेको छ”, उहाँले भन्नुभयो । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उहाँको भनाइ छ ।

प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोवस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदानस्थलमा खटिइसकेको जानकारी दिनुभयो । निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरेको छ । निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा एक हजार तीन सय ६३ प्रहरी परिचालन गरेको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी जनशक्ति परिचालन गरेको छ । सो क्षेत्रमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।

निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन

काठमाडौँ, १३ वैशाख : अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटका विषयमा आज अर्थविद्हरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो ।

श्रोतमा परेको चापका कारण सरकारले कडा खालका नीति अबलम्बन गर्नुपरेको र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउन चुनौती रहेको अर्थमन्त्री पुनको भनाइ छ । “अर्थतन्त्रमा केही सुस्तता छ । आम नागरिक र मुख्यगरी युवाले सरकारसँग धेरै अपेक्षा गरेका छन् । निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन अब केही बोल्ड निर्णय गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री पुनले बजेट बनाउनुअघि सरकारले सम्बद्ध सबै पक्ष र क्षेत्रको सुझाव लिने उल्लेख गर्नुभयो । सरकार वा मन्त्री परिवर्तन हुँदैमा मुलुकका नीतिमा परिवर्तन गर्न नहुनेमा जोड दिँदै उहाँले विगतका मन्त्रीका असल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

पूर्वबजेट छलफलमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा रेशम थापा, विभागका पूर्वप्रमुख डा रामप्रसाद ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका पूर्वरेक्टर तथा प्राडा शिव भुसाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सञ्जय आचार्य, विश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री गोविन्द तिमिल्सिना, अर्थशास्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता डा विजय पौडेल, पूर्व अर्थसचिव कृष्ण घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रलाई प्राथामकितामा राख्न अर्थविद्हरुले सुझाव दिएका छन् । कार्यान्वयन हुन नसक्ने महत्वाकांक्षी र ठूलो आकारको बजेट नबनाउन तथा बिना तयारीका आयोजनामा बजेट विनियोजन नगर्न पनि उहाँहरुबाट सुझाव आएको छ । सरकारी विनियोजनले रोजगारी सिर्जना गर्नुपर्नेमा पनि अर्थविद्हरुले जोड दिएका छन् ।

पूर्वबजेट छलफल कै क्रममा अर्थमन्त्री पुनले बुधबार सात पूर्वअर्थमन्त्रीसँग सुझाव लिनुभएको थियो । पूर्वअर्थमन्त्रीहरुले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने भन्दै यथार्थपरक बजेट ल्याउन सुझाव दिएका थिए ।

राष्ट्रिय महिला भलिबल : एपिएफ क्लब विजयी

काठमाडौँ, १३ वैशाख : विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो ।

आजको खेलमा एपिएफले सुरुआती दुई सेट २५–२३ र २५–२३ अङ्कले आफ्नो पक्षमा पा¥यो । त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अङ्कले जित्यो । खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अङ्कले जित्यो । जितसँगै एपिएफ क्लबले पाँच अङ्क जोडेएको छ ।

प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार, दोस्रो हुने टोलीले रु दुई लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ ।

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही वैशाख १७ गते आयोजना हुने भएको छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारको व्यापार प्रतिनिधिमण्डलबीच भएको सम्झौताअनुसार प्रत्येक दुई÷दुई वर्षमा सो मेला हुँदै आएको छ ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुनेगरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम मेला आयोजना गर्ने गरी तयारी गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

नेपाल चीन (तिब्बत)बीच दुई पक्षीय आर्थिक तथा ब्यापार आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको केन्द्रले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।

मेलामा चीन (तिब्बत)बाट स्वशासित क्षेत्र तिब्बतका सरकारी प्रतिनिधिको रुपमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लङ फुकुअनको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १२५ व्यापारी प्रतिनिधिको सहभागिता रहनेछ ।

मेलामा चीन (तिब्बत)को तर्फबाट ५० प्रदर्शनी कक्ष रहने केन्द्रले जनाएको छन् । तिब्बतका स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, विद्युतीय सवारी साधन र सौन्दर्य प्रशोधनका अतिरिक्त बिभिन्न व्यापारिक कम्पनीहरुले समेत भाग लिने छन् ।

यसैगरी नेपालको तर्फबाट १५ प्रदर्शनी कक्ष रहने छन् । नेपाली कक्षमा जडीबुटी, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायत विभिन्न कम्पनीका उत्पादनहरु प्रदर्शित गरिने छन् । मेलाको अवसरमा दुई पक्षबीच विभिन्न व्यवसायिक बैठकसमेत आयोजना हुनेछन् । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा (बाँके), १३ वैशाख ः चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठले आग्रह गर्नुभयो ।

अत्यधिक गर्मी हुने नेपालगञ्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताउनुभयो ।

दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगञ्ज बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन् । उनल नेपालले हाल अवलम्बन गरिरहेको मिश्रित निर्वाचन प्रणाली र शासकीय स्वरूपबीच तालमेल नभएकाले मुलुकको राजनीति र सरकारको स्थायित्व नभएको बताए । पूर्वमन्त्री राईले भने, “‘म र मेरो’ भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उहाँहरूमा देशप्रतिको कर्तव्य पालनामा कमी भएको हो कि भन्ने महसुस हुन्छ । अहिले हामीले अभ्यास गरिरहेको शासकीय स्वरूप र संसदीय प्रणाली पनि स्वस्थ्यकर देखिन्न ।”

झापा आन्दोलनको प्रभावबाट २०२९ सालमा वामपन्थी राजनीतिमा प्रवेश गरेका राईले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)को कोअर्डिनेसन केन्द्रको २०३३ मा सदस्यता लिए । विसं २०३५ मा भूमिगत हुनुभएका उहाँ २०४६ मा नेकपा (माले) को केन्द्रीय सदस्य भए । विसं २०४८ मा खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राई २०५९ मा नेकपा (एमाले) स्थायी कमिटी सदस्य र २०६५ मा सोही दलका उपाध्यक्ष हुनुभयो । विसं २०६९ मा एमाले परित्याग गरी सङ्घीय समाजवादी पार्टीका संस्थापक अध्यक्ष भएका उनी २०७० मा संविधानसभा सदस्य भए ।

विसं २०७९ को चुनावमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राई अघिल्लो सरकारमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको जिम्मेवारीमा थिए । उनले यसअघि पनि निर्माण तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा वातावरणमन्त्रीका रूपमा तीन पटक कार्यभार सम्हालिसकेका छन् । उनका ‘अँध्यारोभित्रको लिलिङुङ्गा’ कविता सङ्ग्रह सहलेखनका रूपमा आएको छ भने ‘शब्दाञ्जलि’ संस्मरण, ‘पहिचानमाथिको प्रश्न’ अन्तर्वार्तासङ्ग्रह प्रकाशित छ । पूर्वमन्त्री राईसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

 वर्तमान संसदीय अभ्यासलाई तपाईँले कसरी लिनुभएको छ ?

सांसद राईः अहिले हामीले गरिरहेको संसदीय अभ्यास स्वस्थ्यकर देखिन्न । पहिलो कुरा संविधान नै संसदीय र सङ्घीय दुई शासकीय प्रणाली तथा मिश्रित निर्वाचन प्रणाली रहने गरी बनाइयो । यो सम्मिश्रण संविधानमा छ । यी एकापसमा नमिल्ने विषय हुन् । मिश्रित वा समानुपातिक निर्वाचनमा जाने हो भने राष्ट्रपतीय प्रणाली राखौँ, होइन भने मिश्रित निर्वाचनले राजनीतिक स्थिरता दिँदैन भन्ने विषय संविधानसभाकै बखत नेतालाई धेरै अनुरोध गरिएको थियो । अहिले अपनाएको शासकीय स्वरूप राष्ट्रपतीय र संसदीय दुबै होइन । केही विशेषता संसदीय राखेर समावेशिताका निम्ति मिश्रित निर्वाचन प्रणाली राखेर आइयो । त्यसो भएर जतिसुकै पवित्र आकाङ्क्षा भए पनि संवैधानिक व्यवस्थाले नै अस्थिरताको विकार लिएर आएको छ । हामीले मुलुकमा ठुलो राजनीतिक परिवर्तन गरी लोकतन्त्र ल्याएका छौँ, त्यसको सुदृढीकरणका अभ्यासमा छौँ, तर हाम्रा नेताका मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न सकेको छैन । तर मेरो भनिरहँदा ‘मेरो देश’ भन्नेचाहिँ देखिन्न । उहाँहरूमा देशप्रतिको कर्तव्य मधुरो रहेको हो कि भन्ने महसुस हुन्छ ।

राजनीतिक दल र व्यक्ति विशेषका महत्त्वाकाङ्क्षा तथा इच्छामा भइरहने सत्ताको फेरबदललाई प्रणालीसँग जोड्न मिल्छ ?

राजनीतिक स्थायित्व नहुनामा मनोवृत्तिसँगै प्रणालीको पनि दोष छ । कसैलाई मन नपर्नासाथ विश्वास र अविश्वासको खेल सुरु हुन्छ । अहिलेको निर्वाचन प्रणालीकै कारण कसैको बहुमत आउनै नसक्ने स्थिति छ । अर्कातिर मनोवृत्ति पक्ष पनि बलियो छ, बहुमत पाएका अवस्थामा पनि पाँच वर्ष सरकार चलाउन नसकेको उदाहरण छन् । दुई तिहाइ होस् वा सहज बहुमत (कम्फर्टेबल मेजोरिटी) का समयमा पनि सरकार पूरा अवधि टिकाउन र चलाउन सकिएन । प्रतिपक्षले पाँच वर्ष पर्खन र सरकारको जिम्मा लिनेबाट पूरा अवधि टिकाउन नसकेको अवस्था छ । गएको ३२ वर्षको अनुभव र अभ्यास यही छ ।

– विधायकको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि पछिल्लो डेढ वर्षको अनुभव र प्रगतिको समीक्षा गर्दा कार्यसम्पादन कमजोर देखिएको छ, यसमा तपाईँको टिप्पणी के छ ?

संसद् परिणाम दिने गरी कानुन निर्माण गर्न कमजोर छ । यसमा संसद् र सांसद दोषी छैनन् । सरकारले ‘बिजनेस’ दिँदैन भने संसद्ले के बनाउने भन्ने प्रश्न उब्जन्छ । संसद्लाई ‘बिजनेस’ सरकारले दिने हो । सरकार नै अस्थिरतामा रहन्छ भने कानुन कसरी बनाउन सक्छ ? संसदमा भएका विधेयकमाथि समितिमा छलफल चलि नै रहेका छन् । अरू ‘बिजनेस’ गएको छैन । संविधान कार्यान्वयनसँग जोडिएका ऐन कानुन पहिलो प्राथमिकतामा राख्नुपर्ने हो, त्यो भएको छैन । सरकारको अस्थिरतासँगै मन्त्रीमा हुने फेरबदलले कानुनमा ढिलाइ र अन्योलको अवस्था देख्छु । म केहीअघिसम्म शिक्षामन्त्रीका रुपमा कार्यरत थिएँ । त्यहाँ गएपछि मुलुकको शिक्षा प्रणालीमा अलमल र समस्या ऐन कानुनमा देखेँ । देशको समग्र शिक्षा र विज्ञान प्रविधिसँग सम्बन्धित ११ ऐन कानुन संशोधनका लागि सदनमा लगिएको थियो, सरकार फेरियो त्यो विषय अलमलमा परिहाल्यो । आगामी अधिवेशन बजेटमा केन्द्रित हुन्छ ।

–स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रबाट पनि आवश्यक सहयोग भएन भन्ने कतिपय नेताको गुनासो सुनिन्छ । यसमा तपाईं के भन्नुहुन्छ ?

हो, निजामतीतन्त्रमा अदब, अनुशासन र कार्यसम्पादन विगतका तुलनामा कमी छ । ‘सरकारको काम कहिले जाला घाम’ भनेजस्तो शिथिल अवस्था देखिन्छ । प्राप्त जिम्मेवारी कसरी छिटो सक्ने भन्ने हुटहुटी कम छ । व्यक्तिगत रूपमा केही सक्रिय, इमान्दार र पूरापुर काम गर्नुपर्छ भन्ने भावना देखिन्छ । तर समग्रमा कर्मचारीतन्त्रको ‘नट बोल्ट’ खुकुलोअर्थात् ढिलाढाला जस्तो छ । सही ढङ्गबाट नचलिरहेको जस्तो देखिन्छ । अन्तर–मन्त्रालय समन्वय जति हार्दिकतापूर्ण र तीव्र हुनुपथ्र्याे, त्यो पाइँन । रायका लागि पठाइएको फाइल तीन महिनादेखि तीन वर्षसम्म मन्त्रालयमा रोकिएर बस्ने अवस्था छ । नहुने भए त्यस समयमा हुन्न भन्नुप¥यो, हुने भए समयमै गर्न र बताउनुप¥यो । त्यस खालको समस्या देखियो । म चार वटा क्याबिनेटमा बस्दा त्यो भिन्नता पाएँ ।

– स्थायी सरकारका रूपमा रहेको राज्यको यो संयन्त्र किन शिथिल भयो ?

हामीले कर्मचारीतन्त्रलाई राजनीतिकरण गर्यौं। हरेक दलले आफ्ना समर्थकलाई गोप्यरूपमा सदस्य दिएर ट्रेड युनियन खोल्न लगायौँ । सामूहिक स्वार्थका लागि बोल्न एउटा ट्रेड युनियन दिन सकिन्थ्यो होला, तर हरेक राजनीतिक दलले कर्मचारी आफ्नो बनाउने होड चलायो । कर्मचारी संयन्त्रमा राजनीति प्रवेश गर्यौं । कर्मचारीमा राष्ट्र, राष्ट्रियता, जनताप्रतिको कर्तव्य, ऐन कानुन, विधिभन्दा बढी मेरो पार्टी भन्ने मनोविज्ञान दिमागमा हुलिदियौँ । अर्काे भनेको, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन । राजनीतिक नेताले पनि भ्रष्टाचार बेसरी गर्ने अनि कर्मचारीलाई पनि औजारका रूपमा प्रयोग गर्ने प्रवृत्ति छ । त्यस कारण राम्रा, इमान्दार कर्मचारी निरुत्साहित हुन पुगे । भ्रष्टाचार र अवसर प्राप्तिका निम्ति त्यस्तै खालका मानिसको प्रयोगले इमान्दारको उनीहरूको मनोबल खस्कियो । अर्कातर्फ अहिलेका निजामती कर्मचारी लोकसेवा उत्तीर्ण भए पनि समस्यालाई बुझ्ने र समाधानका उपाय निकाल्ने क्षमतामा कमी छ । अबको भर्ना छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । घोकेर, रटेर पाठ्यक्रमभित्रको प्रश्नलाई कण्ठ गर्नेभन्दा सिर्जनात्मक परीक्षण विधि थप्नुपर्छ । कर्मचारीलाई चुस्त तुल्याउन समयबद्ध तुल्याउन तालिम दिनपर्छ ।

– स्थायी सरकारका सदस्यका रूपमा रहेका कर्मचारीको वृत्ति विकास, सरुवा र जिम्मेवारीमा पनि समस्या छ ?

कर्मचारीलाई दक्ष, योग्य, कार्यकुशल बनाउनु सरकारको दायित्व हो । समयबद्ध तरिकाले तालिम, प्रशिक्षण, सरुवा र बढुवाको आवश्यकता छ । लामो समयदेखि एकतात्मक शासन प्रणालीको अभ्यास गरिआएकाले उनीहरूलाई सङ्घीयताको मर्म र भावना बुझाउन सकिएको छैन । सङ्घीयताको मर्म र भावनाबारे तालिम–प्रशिक्षण तथा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ । सङ्घीयता किन उत्कृष्ट शासन व्यवस्था हो, यो नेपालमा किन जरुरी छ भन्ने पाटो नबुझेर विरोध गरिएको छ । सङ्घीयतासँग सम्बन्धित करिब डेढ सय कानुन अझै बनाउन सकिएको छैन । त्यसैले प्रदेश कमजोर अवस्थामा छन् । प्रदेश टिकाइ मात्र राख्ने, काम गर्न नपाउने जस्तो अवस्था छ । सङ्घीयताको असल अभ्यास गर्ने हो भने सोहीअनुरूप ऐन, कानुन र संविधान संशोधन गरी कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि कर्मचारीतन्त्रको पुरानो मनोविज्ञान र धङधङीलाई सङ्घीयतातर्फ उन्मुख गराउनुपर्छ । सङ्घले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नचाहने प्रवृत्ति नेता र कर्मचारीमा छ । सरकार बाहिर बस्दा सङ्घीयता भन्ने तर सरकारमा गएपछि अधिकार किन दिने भन्ने प्रवृत्ति छ । यो अधिकार ऐन कानुन निर्माण गरेर हस्तान्तरण गर्नुपर्छ ।

– उपलब्धिको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनका लागि देशका प्रमुख शक्तिबीच एकता नभएको आरोप छ । तपाईँलाई केही भन्नुछ ?

पाखुरा सुर्किएर झगडा गर्ने नेपाली समाजको प्रवृत्ति सदनमा पनि देखिन्छ । त्यो नभई दिए हुन्थ्यो भन्ने लाग्छ । एउटै कुरालाई अनेक कोणबाट प्रस्तुत गर्न सकिन्छ । सदनमा आफ्ना विषयवस्तु रोचक, घोचक र मननीय हिसाबले प्रस्तुत गर्न सकिन्छ । सदन खण्डनमण्डनभन्दा पनि राष्ट्रको मनन र चिन्तन गर्ने थलो हो । त्यहाँ नेतृत्वले नरम र उदाहरणीय ढङ्गबाट प्रस्तुत भइदियोस् भन्ने लाग्छ । नेता सदमार्ग देखाउने अगुवा हो । ऊ समाज र जनतालाई असल मार्ग देखाउने हिस्साबाट प्रस्तुत हुनुपर्छ । विगतमा संसदीय अभ्यास नजानेर, नबुझेर गलत कार्य भए । तर यसबीचमा सदनमा अलि बढी नै तहसम्म गयो कि भन्ने छ । सदनमा एउटाले बोलेको अर्काले खण्डन गरिरहनुपर्ने होइन । सदन वाद विवादको मञ्च होइन, त्यो खासमा जनताको आवाज राख्ने मञ्च हो, कानुनसम्बन्धी छलफल गर्ने स्थल हो । सभामुखतर्फ मुख फर्काएर बोल्नुपर्नेमा अर्कैतर्फ मुख फर्काएर बोलेकोजस्तो देखिन्छ ।

– संसद् र विषयगत समितिका बैठक गणपूरक सङ्ख्या नपुगेर स्थगत हुनु सांसदको कर्तव्य र अनुशासनसँग सम्बन्धित विषय होइन ?

सांसदले आफ्नो जिम्मेवारी नबुझ्नुमा समस्या छ । विधायकले ऐन कानुन निर्माणको मूल भूमिका निर्वाह गर्नुपर्छ । जनताको अपेक्षा पानीको धारादेखि विश्वविद्यालयसम्मका लागि बजेट, कार्यक्रम र आयोजना ल्याउनुपर्छ भन्ने छ । जनताको इच्छामा मेरो जिम्मेवारी होइन भन्न सक्ने अवस्था छैन । त्यो भएर मन्त्रीलाई भेट्न मन्त्रालय धाउनुपर्ने स्थिति छ । हामी सबै धाइरहेकै छौँ । अहिलेको मानसिकता, प्रक्रिया र पद्धति नफेरिइन्जेल धाउनुपर्ने नै होला नि । समितिमा कोरम नपुग्ने विषय भने लाजमर्दाे छ । समितिका बैठक छाड्नै हुन्न, अनिवार्य उपस्थित हुनुपर्छ । समितिमा अर्काे गलत अभ्यास धेरैजसो सांसद सुरुमा हात उठाएर बोल्ने अनि हिँडिहाल्ने छ, त्यो हुनहुन्न । गहन र मसिनो छलफल गरी उपयुक्त निर्णय गर्नुपर्छ । त्यो नहुँदा गुणात्मक नीति र कानुन बनाउन हामीले ध्यान दिएका छैनौँ भन्ने लाग्छ ।

– प्रत्येक सरकारको प्राथमिकता सुशासन प्रवद्र्धन हो तर भ्रष्टाचार किन नियन्त्रण हुन सकेन ?

भ्रष्टाचार भनेको मनोवृत्ति हो । अन्त्यन्त सम्पन्न मुलुकका नेता र नेतृत्व पनि भ्रष्टाचारमा मुछिएको देखिन्छ । यो पैसाको लेनदेन मात्रै पनि होइन, नीतिगत भ्रष्टाचार पनि धेरै छ । यो पाप र लोभसँग सम्बन्धित छ । लोभी मनोवृत्ति भएका मानिस पाप गर्न पुग्छन् । भ्रष्टाचार प्रणालीगत रूपमा संस्थागत भएको प्रतिवेदन र सेवाग्राहीले बताइरहेका छन् । तलदेखि माथिसम्म कमिसनतन्त्र मौलाउँदो छ । अर्कातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीले पनि भ्रष्टाचारलाई बढाउने काम भइरहेको छ । निर्वाचनमा विभिन्न शक्ति, व्यक्ति र प्रवृत्तिले खर्च गरिरहेका हुन्छन् । हालको निर्वाचन प्रणालीले पार्टीलाई पैसा चाहिने अवस्था सिर्जना गरेको छ । त्यसका लागि उद्योगी, व्यापारीबाट चन्दामार्फत खर्च जुटाइन्छ । चन्दा लिने र दिने भएपछि नेताहरू दबाबमा पर्छन् । त्यो भएर हामीले प्रत्यक्ष निर्वाचन हटाएर समानुपातिकमा जाऔँ भनिरहेका छौँ । यसले समावेशीतालाई पनि सुनिश्चित गर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाऔँ । सांसदबाट मन्त्री नबनाउने, स्वच्छ छवि भएका व्यक्तिलाई लैजाने व्यवस्था हुनुपर्छ । सरकारलाई स्थायित्व दिऔँ, भ्रष्टाचारलाई स्रोतमै रोकौँ भनेर संविधानसभामा म धेरै कराएँ । अहिले अभ्यासमा रहेको शासन प्रणाली ‘कक्टेल’जस्तो भयो, निर्वाचन पनि ठिमाहा बनाइयो । मिश्रित निर्वाचन प्रणाली विकृतिपूर्ण छ । यसले लेनदेनको अवसर गराउँछ । अब पूर्ण समानुपतिक प्रणाली अवलम्बन गर्नुपर्छ ।

– नेपालीले संसारमै विश्वासिलो छवि बनाएका छन् तर यहाँको राजनीतिप्रति अविश्वास किन ?

बेरोजगारी समस्या र रोजगारीको अभावले पनि विदेश जाने युवा–विद्यार्थीको सङ्ख्या बढेको छ । आजको संसार विज्ञान, प्रविधि, यातायातका हिसाबले जोडिएर एउटा गाउँ र परिवारजस्तो भएपछि आवतजावत बढ्यो । अहिले जो जहाँ पनि पुग्न सक्ने अवस्था बन्यो । विकसित मुलुकमा न्यूनतम तलब–सुविधामा काम गर्ने श्रमिकको अभाव भयो । उनीहरूले हाम्रा मानिसलाई रोजगारी दिन थाले, अर्कातर्फ हाम्रो अर्थतन्त्र पनि कमजोर भयो ।

तुलनात्मक रूपमा विदेश गएकाहरूले बढी पैसा ल्याउन थाले । त्यो व्यक्ति गाउँमा जाँदा फुर्तीफार्ती बढ्यो, अनि अरू पनि त्यसबाट लालायित हुन पुगे । ‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने मनोवृत्ति मौलाउँदै गयो । अनि ठूलो संख्यामा युवा–विद्यार्थी विदेश दौडन थाले । त्यसलाई रोक्न मनोवैज्ञानिक रूपमा देशप्रेम भर्नुपर्छ । अवसर यहीँ सिर्जना गर्नुपर्छ, अर्थतन्त्र सुदृढ गर्नुपर्छ । राज्य व्यवस्थाभित्रको ढिलासुस्ती, भ्रष्टाचार तथा सेवाग्राहीलाई हेप्ने र दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । स्वदेशका विश्वविद्यालयले समयमै अध्ययन–अध्यापन गराउने, परीक्षा लिने व्यवस्था गर्नुपर्छ, राष्ट्रभक्ति दिने शिक्षा दिलाउनुपर्छ । त्यो अनुभूति गराउनुपर्छ । तर यहाँ मुड्की बजाएर नेता हुने प्रवृत्ति छ । अब्बल विद्यार्थी नेता हुने अवस्था अहिले देखिन्न । गुण्डागर्दी गर्ने, तालाबन्दी गर्ने, प्राध्यापक कुट्ने नेता हुने प्रवृत्ति छ । त्यसो भएर असल र मेहनतीको विदेश पलायन बढेको हो ।

– एउटा व्यक्तिले सङ्कल्प गरेमा देशको विकास सम्भछ भन्ने छिमेकी मुलुकहरुको प्रगतिबाट प्रष्ट हुन्छ । तपाईंबाट पनि जनताले त्यही आशा गरेका छन् । के भन्नुहुन्छ ?

मलेसिया र सिङ्गापुरको जस्तो उदाहरण विद्यमान शासन प्रणालीबाट नेपालमा एउटा व्यक्तिले गर्न र दिन सक्ने अवस्था छैन । राष्ट्रपतीय प्रणालीमा जाँदा आफूअनुकूलको मन्त्रिमण्डल बनाउन सकिन्छ । त्यस प्रणालीका आधारमा मात्र एउटा सज्जन, इमान्दार व्यक्तिको छनोट भएमा मुलुक बन्ने आधार तयार हुन्छ । अहिलेको प्रणालीमा एउटा नेता जतिसुकै सज्जन भए पनि केही लाग्दैन । खुट्टा तानेर लडाइदिन्छन् । शासकीय स्वरूपमा परिवर्तन गर्नैपर्छ । स्थानीय तहलाई पार्टी बाहिर राख्नुपर्छ । स्थानीय सरकारलाई सेवाग्राहीलाई सेवा उपलब्ध गराउन र विकास निर्माणमा संलग्न गराउनुपर्छ ।

अन्त्यमा, केही भन्नुछ ?

मतदाताले पनि मुलुकलाई सही ढङ्गले मार्गनिर्देश गर्न सक्ने नेतृत्व रोज्नुपर्छ । जनताले खोजिरहेको विकल्प उनीहरूको चाहनाअनुसारको नपर्ने हो कि भन्ने मलाइ लागेको छ । निरास नै हुनुपर्ने अवस्था छैन । मुुलुकले चाहेको जस्तो नेता मतका माध्यमबाट जन्माउनुपर्छ । त्यो क्षमता जनतामा छ । ती नै सर्वशक्तिमान् छन् । चित्त नबुझेका नेता र पार्टीलाई फालिदिने शक्ति उनीहरूमा छ । उनीहरूले त्यो अस्त्र प्रयोग गर्न सक्नुपर्छ ।

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा खोटाङमा तेह्र घर खरानी

खोटाङ, १३ वैशाख : सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् ।बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजारलगायत जलेको छ ।

यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ ।

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताउनुभयो ।गत साउनदेखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा रु चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

भेरी करिडोरमा ३६ करोड २५ लाखमा एकैपटक तीन पक्की पुल बन्दै

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १ छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताउनुभयो । चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनभत्र पूरा गर्ने सम्झौता भएको छ । तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ ।

छलगाड खोलमा निर्माण हुने पुलको वातावरणीय प्रभाव मूल्याङ्कनबारे सार्वजानिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रुपगाड खोलमाजस्तो पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए । सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ ।

 तिब्बतसँग सीमा जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधार्न चीनले सहयोग बढाउने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले बिहीबार जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो ।

दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका महावाणिज्य दूतावासले जनाएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए ।

बुधबार नै नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गरेका थिए । त्यसअवसरमा आपसी हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको थियो ।

सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा आगामी महिना आयोजना गरिने छ ।

राजदूत सुवेदीद्वारा इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १३ वैशाख : इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुभएको जेनेभास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो । उहाँले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर), १३ वैशाख : कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहनुहुन्छ । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा हुनुहुन्छ । “चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उहाँले भन्नुभयो, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ । पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ । निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ । उहाँ जेठी छोरी हो । आमाबुबा सुन्दरीफाँटामै खेती गर्नुहुन्छ । यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ ।
“परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन् । अहिले पसलमा काम गर्छिन् । अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ”, निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भन्नुभयो, “चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ ।” पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उहाँको गुनासो छ । “काम पाइएको बेला राम्रै आम्दानी हुन्छ । प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

विसं २०७५ मा उहाँले चित्र बनाउने र पेन्टिङको तालिम लिनुभएको थियो । चित्रकलामा महिलाको उपस्थिति नगन्य छ । जिल्लाभर चार–पाँच महिला मात्रै व्यावसायिक रुपमा चित्रकलामा आबद्ध रहेका नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सल्लाहकार सुरेश पथिकले बताउनुहुन्छ ।

८०औँ जन्मदिनमा सेरोग गाउँका नोन्जोमले पाए नागरिकता, खुशीको सिमा रहेन

मुगु, १३ वैशाख : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मनुभएका उहाँलाई उहाँको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले हिजो नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पैतिस वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न दुई÷तीन दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकताबारे जानकारी नहँुदा त्यसै बसेको उहाँले बताउनुभएको छ । “जब श्रीमान्को मृत्यु भयो घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,” उहाँले सुनाउनुभयो ।

श्रीमान्को नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि उहाँको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
असी वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो । विभिन्न सञ्चार माध्यममा उहाँका बारेमा समाचार सार्वजनिक भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङवा तामाङले उहाँको नागरिकता बनाउन सबै प्रक्रिया पू्रा गर्नुभएको थियो ।

उपनिर्वाचन : मौन अवधिमा के-के गर्न पाइदैन ?

काठमाडौँ – वैशाख १५ गते इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ । यस उपनिर्वाचनका लागि हिजो रातिदेखि नै प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

काठमाडौँ, १३ वैशाख: नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

का सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, रु २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र रु २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने उहाँले बताउनुभयो । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ ।

राहतको प्रतीक्षामा महोत्तरी मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार

महोत्तरी, १३ वैशाख : मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् । बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन् ।

अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन्भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति प्रयास भइरहको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गर्नुभएको छ ।

मटिहानी नगरपालिकाको आकष्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ । अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लाग्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको बताएको छ । महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताउनुभएको छ ।

स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

लेखनाथ (कास्की), १२ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । आफूलाई जागिरेका रुपमा नहेरी बिरामीको छिटोछरितो उपचार गर्न उहाँले आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार समाल्दै आउनुभएका मुख्यमन्त्री अधिकारीको स्वागतमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीले सीमित स्रोत र साधनभित्र रहेर पनि आफ्नो सेवा प्रवाह प्रभावकारी रुपमा फैलाउनसपर्नेमा जोड दिनुभयो ।

“सामान्य उपचारले पनि बिरामीको ज्यान बचाउन सकिन्छ, त्यसैले स्वास्थ्यकर्मीको जिम्मेवारी र महत्व समाजका लागि अतिआवश्यक छ । स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मी आफ्नो व्यक्तिगत सेवा र सुविधाका लागि दौडनेभन्दा पनि जनताको स्वास्थ्य सेवक भएर अगाडि बढ्न जरुरी छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

पालका दुर्गम गाउँमा अझै पनि स्वास्थ्य सेवा र औषधी नपाएर बिरामीको अकालमै मृत्यु हुने गरेको स्मरण गराउँदै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्मीले जनतामाझ स्वास्थ्यसम्बन्धी चेतना फैलाउनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले मन्त्रालयद्वारा गण्डकी प्रदेशमा भएका उपलब्धि, समस्या र चुनौतीबारे मुख्यमन्त्री अधिकारीलाई जानकारी गराउनुभएको थियो । निःशुल्क प्राप्त गर्ने औषधि पर्याप्त मात्रामा नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक

प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।

भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, “त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो ।गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ ।

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् ।सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराउनुभएको हो । मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो ।

एलभोभा–बेलोभाले भन्नुभयो, “पहिलो पटक ‘प्रत्यक्ष वार्ता’को ढाँचामा हामीले युक्रेनी पक्षसँग वार्ता ग¥यौँ । वार्ताबाट युद्धका क्रममा विस्थापित बनेका २९ जना बालबालिका युक्रेन र १९ जना रूस जाने छन् ।” ती बालबालिका किन रूसी वा युक्रेनी नियन्त्रण थिए वा उनीहरू कहाँबाट आएका थिए भन्नेबारे उहाँले केही बताउनुभएन ।

युक्रेनले सन् २०२२ को आक्रमण सुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा बढी बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४०० भन्दा कम लाई फिर्ता गरिएको जनाएको छ ।मस्कोले उक्त आरोपको खण्डन गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।

युक्रेनमा दुई वर्षअघि युद्ध सुरु भएदेखि नै बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको छ ।केही केटाकेटीका आमाबाबु मारिएका थिए भने अन्य आक्रमणको सुरुमा अग्रपङ्ती तीव्र गतिमा भएका आक्रमणका कारण परिवार वा उनीहरूका अविभावकहरूसँगबाट अलग भएका थिए ।विस्थापितमध्ये केही रूसले कब्जा गरेको इलाकामा युक्रेनी अनाथालयमा बसिरहेका बालबालिका पनि रहेका छन् ।

युक्रेनले मस्कोको सेनाले उनीहरूलाई गैरकानुनी रूपमा रूसमा निर्वासित गरेको र रूसी अधिकारीहरूले उनीहरूको युक्रेनी पहिचान मेटाउने प्रयास गरेको आरोप लगाएको छ ।युक्रेन फर्केका किशोरकिशोरीहरूले आफूहरूलाई रूसी देशभक्तिपूर्ण शिक्षा दिइएको र रूसी सेनाको प्रशंसा गर्न बाध्य पारिएको बताएका छन् ।

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै अन्तर्राष्ट्रिय आक्रोशका बावजुद आफ्नो योजनाबद्ध अभियानलाई ‘अगाडि बढाइरहेको’ बताएको छ । सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलनमा भन्नुभयो, “इजरायलले रफाहमा हमासलाई निशाना बनाउने हाम्रो अभियान अघि बढाइरहेको छ ।” उहाँले भन्नुभयो,“रफाहमा रहेका चार सैन्य बटालियन इज्रायलबाट जोगिने छैनन् । तिनीहरूमाथि आक्रमण हुनेछ ।”

प्यालेस्टिनी इस्लामिक आन्दोलनविरुद्ध गाजामा रक्षात्मक र सामरिक मिसनका लागि ‘दुई थप ब्रिगेड’ परिचालन गरिएको मेन्सरले बताउनुभयो । गत अक्टोबर २७ मा गाजामा इजरायलले स्थलआक्रमण सुरु गरेयता हमासका २४ बटालियनमध्ये कम्तीमा १८ वा १९ बटालियन ध्वस्त भइसकेको उहाँले बताउनुभयो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र रफाहमा इजरायली स्थल सेना प्रवेश गर्न बाँकी रहेको रयसलाई इजरायलले छिट्टै अघि बढाउने बारम्बार बताउँदै आउनुभएको छ ।

गाजामा इस्लामिक समूहलाई नष्ट गर्ने आफ्नो सरकारको युद्ध उद्देश्यका लागि रफाहमा हमासका बाँकी रहेका चार बटालियनको अन्त्य हुनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांशले रफाहमा शरण लिएका छन् र धेरैले अस्थायी शिविरमा आश्रय लिएका छन् ।इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकासहितका देशहरूले ठूलो सङ्ख्यामा नागरिक हताहत हुने डरले रफाहमा सेना नपठाउन इजरायलसँग आग्रह गर्दै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यसै महिनाको सुरुमा भन्नुभएको थियो, “रफाहमा पूर्ण सैन्य आक्रमणले त्यहाँ फसेका सर्वसाधारणमा निकै हानिकारक प्रभाव पार्नेछ र यसले अन्ततः इजरायलको सुरक्षामा असर पार्नेछ ।”रेडक्रसका अधिकारी फाब्रिजियो कार्बोनीले आक्रमण हुनुअघि रफाहका बासिन्दालाई शहरबाट अन्यत्र सार्ने योजनाबारे मानवीय समूहलाई कुनै जानकारी नभएको बताउनुभयो ।

उहाँले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “विनाशकारी मानवीय क्षति बिना सैन्य अभियान सञ्चालन गर्न सक्ने अवस्था छैन ।” हमास गाजामा स्थायी युद्धविराम चाहन्छ, जुन यस चरणमा नेतन्याहूलाई अस्वीकार्य छ । यसले हमासका सबै बटालियनहरूलाई ‘समाप्त’ गर्ने प्रतिज्ञा गरेका छन् । मेन्सरले गाजामा अहिलेसम्म भएको युद्धमा कम्तीमा २६ हजार आतङ्ककारी मारिएको, पक्राउ परेको वा घाइते भएको बताएका छन् ।

एएफपीले प्राप्त गरेको इजरायली आधिकारिक तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । आक्रमणका कारण कारण एक हजार १७० जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए ।हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजार २६२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

गण्डकी, १३ वैशाख-पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिनुुभयो ।

प्रतियोगिताअन्तर्गत ए लेबल मेन्स डबल, सी लेबल मेन्स डबल, ५५ वर्षभन्दा माथिको मेन्स डबल्स र वुमेन्स डबल्समा एक सय २६ टोलीको सहभागिता रहने उहाँले बताउनुुभयो । ए लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ४१ हजार, २२ हजार हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।

सी लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु ३५ हजार, १८ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । पचपन्न वर्षमाथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, १६ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा पानीको हाहाकार

वालिङ (स्याङ्जा- वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका ५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानी तथा सिञ्चाईकालागि ल्याइएको पाइप जलेपछि गाउँमा पानीको हाहाकार भएको हो ।

छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक हजार सात सय मिटर पाइपमध्ये करिब १००–१५० मिटर बाँकी रहेर अन्य सबै जलेर नष्ट भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले जानकारी दिनुभयो ।

“सोमबार रातिदेखि बस्ती नजिकैको जङ्गलमा लागेको आगोले गाउँमा ल्याइएको पाइप नष्ट ग¥यो”, उहाँले भन्नुभयो, “पाइप नष्ट भएपछि अहिले गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।” सोमबार रातिदेखि लागेको आगो अहिले पनि निरन्तररुपमा जलिरहेको छ । आगलागीबाट पाइप जलेर नष्ट भएपछि पाँडेथोक र पाखुरेका ३६ घरमा खानेपानी अवरुद्ध भएको हो ।

जङ्गलमा जमिनमाथि पाइप बिछ्याइएको छ । चट्टान र ठाडो भिर भएका कारण वनमा पाइप जमिनमुनि गाड्न नसकिएकाले समस्या भएको उहाँले बताउनुभयो । “बस्तीदेखि करिब एक हजार सात सय मिटर टाढा रहेको मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरुपमा नष्ट भयो”, उहाँले भन्नुभयो, “मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर प्रत्येक घरघरमा वितरण गरिएको छ ।”

गाउँमा खानेपानीको समस्या भएपछि मानिसले गाउँभन्दा तल रहेको गोभाने पँधेराबाट गाग्रीमा बोकेर पानी खान बाध्य भएका छन् । गाउँबाट झण्डै आधा घण्टाको दूरीमा रहेको गोभाने पँधेराबाट पालो पर्खेर एक गाग्री पानी ल्याउँदा बिहानै जाने गरेको उहाँले बताउनुभयो । “धेरै भयो पानी परेको छैन, जताततै खडेरी छ, खानेपानीका मुहान पनि सुक्दै गएका छन्”, उहाँले भन्नुभयो, “पानीको जोहो गर्न पुरानो कुँवा, पँधेरा तथा खोल्साखोल्सी धाएका छौँ ।”

मानिसले गाग्रीमा बोकेर गुजारा चलाए पनि पशुचौपाया तथा तरकारी खेतीमा समस्या भएको छ । व्यवसायीकरुपमा मौसमी तथा बेमौसमी तरकारी खेती हुँदै पाँडेथोक तथा पाखुरेमा पानी आउन बन्द भएपछि तरकारीका बोट बिरुवा सुक्न थालेका छन् । अहिले बारीमा रहेका काँक्रा, घिरौँला, टमाटर, बोडा बोडी, करेला, सिमीलगायतका तरकारीका झाल सुक्न थालेकाले किसानहरुमा चिन्ता थपिएको स्थानीय अगुवा व्यावसायिक कृषक यज्ञप्रसाद लामिछानेले बताउनुभयो । विसं २०६३ सालमा मुल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका स्थानीयले सिँचाइ र खानका लागि पानीको प्रयोग गर्दै आएका थिए ।

लामो दूरीमा रहेको पाइप जलेपछि अहिले गाउँमा खानेपानी र सिँचाइको समस्या भएको वडा नं ५ का वडा अध्यक्ष छविलाल आलेले बताउनुभयो । सबै पाइप फेरेर अर्को नयाँ पाइप बिछ्याउन वडामा पर्याप्त बजेट नभएकाले नगरपालिका कार्यालयसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।

गत वर्ष पनि पाँडेथोक र पाखुरेका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाइप जलेर नष्ट भएको थियो । “प्लाष्टिकको पाइपमार्फत वनमा अप्ठ्यारो र पहरो छिचोलेर पानी ल्याइएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष पनि जलेर नष्ट भयो, अहिले पनि सोही समस्या देखियो, वनमा पाइप पुर्न सकिने अवस्था छैन ।”

लामो समयसम्म पानी नपरेका कारण वडाका अन्य गाउँका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाइप जलेर नष्ट भएको उहाँले बताउनुभयो । “दिनहुँ जसो आगलागीका घटना भइरहेका छन्, जसले जमिनमा नपुरीकन ल्याइएका पानीका पाइपमा क्षति पु¥याएको छ”, उहाँले भन्नुभयो, “आगलागीकै कारण पाइप जल्दा अहिले वडाका झण्डै एक सय ९० घरधुरीमा खानेपानीको समस्या देखिएको छ ।” पाइपमार्फत घरघरमा आएका पानीमा समस्या देखिएपछि अहिले स्थानीय पुराना कँुवा, पँधेरा, खोल्सा खोल्सीको भर पर्नुपर्ने बाध्यता रहेको छ । गाउँमा देखिएको खानेपानीको समस्या समाधानका लागि वडाले पहल थालेको वडाध्यक्ष आलेले बताउनुभयो ।

ललितपुर महानगरपालिकामा महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु

पाटन (ललितपुर-ललितपुर महानगरपालिकामा महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले आज ललितपुर महानगरपालिका–१४ तिखेदवलमबाट शिविर सञ्चालन गरी गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हो ।

शिविर शुभारम्भ गर्नुहुँदै सामाजिक विकास समितिका संयोजक एवं महानगरका प्रवक्ता राजु महर्जनले एचपिभीडिएनए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर रोग लाग्नबाट बचाउने अभियान थालिएको बताउनुभयो ।“हामीले पाठेघर क्यान्सर रोकथामका लागि गत वर्षदेखि अभिमुखीकरण र स्क्रिनिङ कार्यक्रम सुरु गरेका थियौँ ।

गत वर्ष आठ वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा गरिनेछ । पहिला अभिमुखीकरण, त्यसपछि परीक्षण र परीक्षणपछि डाक्टरको परामर्शमा निःशुल्क उपचार गरिनेछ”, प्रवक्ता महर्जनले भन्नुभयो । ललितपुर महानगरले स्वास्थ क्षेत्रमा ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउन विगत दुई वर्षदेखि निःशुल्क खोप सेवासमेत सञ्चालन गर्दै आएको जानकारी गराउनुहुँदै उहाँले गत महिना चार सय जनालाई खोप दिइएको बताउनुभयो ।

महानगरले ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमअन्तर्गत चिकित्सकसहित घरमै सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने व्यवस्थासमेत रहेको बताउनुभयो । हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको प्रवक्ता महर्जनको भनाइ छ । स्वास्थ्य बिमामा आबद्ध भएका र हुनेहरुका लागि ५० प्रतिशत बिमा शुल्क वडाले बेहोर्ने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

हाल महानगरले यल स्वास्थ्य केन्द्र स्थापना गरेर बिमाका बिरामीलाई २४ सैँ घण्टा चिकित्सक, ल्याब, एक्सरे र औषधिसहितको सेवा प्रदान गर्दै आइरहेको छ । ललितपुर महानगर–१४ का वडाध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । “समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो”, उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपिभी डिएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताउनुभयो । सरकारले आव २०८०÷८१ मा कोशी, मधेस र बागमती र लुम्बिनीका आठ जिल्लाका १४ स्थानीय तहबाट एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा सुरु गरेको हो ।

नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपिभी डिइनए प्रभावकारी विधि हो । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले प्रत्येक १० जनामध्ये सात जनालाई नसर्ने रोग लाग्ने गरेको तथ्याङ्क रहेको बताउनुभयो ।

महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराउनुभयो । महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत वर्ष आठवटा वडामा एचपिभी डिएनए विधिद्वारा एक हजार तीन सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको र अहिले उहाँहरुको उपचार महानगरले गराइराखेको जानकारी गराउनुभयो । उहाँले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने जानकारी गराउनुभयो ।